You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

निजी विद्यालयको गुठीकरण शिक्षा विधेयकको मुद्दा

माध्यमिक शिक्षासम्म स्थानीय तहको एकल अधिकार र शिक्षकको बन्दोबस्तसम्बन्धी व्यवस्थामा एउटै दलभित्रका सांसदबीच नै फरक मत
- सुदीप कैनी

(काठमाडौं)
विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको चरणमा प्रवेश गर्दै गर्दा शिक्षा क्षेत्रका मूल मुद्दामाथिको बहस झनै पेचिलो बन्दै गएको छ ।
निजी विद्यालयको व्यवस्थापन गर्दै गैरनाफामूलक गुठीमा लैजाने प्रावधान, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, माध्यमिक शिक्षासम्म स्थानीय तहको एकल अधिकार र विद्यालय शिक्षकको बन्दोबस्तसम्बन्धी व्यवस्थामा एउटै दलका सांसदमा पनि फरक–फरक मत देखिएको छ । विधेयकलाई संसद्मा दर्ता गराउने सांसदहरूको मत मूलभूत मुद्दामा विभाजित देखिएको हो । समितिले विधेयकमा आइतबारदेखि सैद्धान्तिक छलफल सुरु गर्दै छ ।
शिक्षक, व्यवस्थापन समिति, विद्यालय सञ्चालन, स्थानीय तहको विद्यालय शिक्षामा क्षेत्राधिकार, निजी विद्यालयको अस्तित्व र कक्षा ८ सम्म अनिवार्यसहित कक्षा १२ सम्म निःशुल्क शिक्षाका विषयमा दलपिच्छेका सांसद एकमत नदेखिएकाले विधेयकका मूल विषय झनै बरालिएको शिक्षाविद्हरू टिप्पणी गर्छन् । कतिपय विषयमा एउटै पार्टीका सांसदबीच पनि फरक मत रहेको छ भने कतिपयमा सत्तारूढ र प्रतिपक्षी सांसदले कित्ताकाट गरेको देखिन्छ । सरकारले शिक्षा विधेयक आठ वर्ष ढिला गरी गत भदौमा मात्र संसद्मा दर्ता गराएको थियो ।
संविधानले माध्यमिक शिक्षासम्मको एकल अधिकार स्थानीय तहलाई दिएको छ । तर विधेयकमा संशोधन दर्ता गराउने अधिकांश सांसदहरूले शिक्षकलाई संघ मातहत राख्नुपर्ने धारणा राखेका छन् । विधेयकको दफा ४३ मा शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण हुने उल्लेख छ । सत्तारूढ कांग्रेस, माओवादी र प्रतिपक्षी एमाले सांसदले शिक्षकलाई संघ मातहत राख्नुपर्ने धारणा राखेका छन् । विधेयकको व्यवस्थाअनुसार राहत दरबन्दीका ४६ हजार शिक्षक स्वतः दरबन्दीमा परिणत हुँदै छ । तीमध्ये ५० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विधेयकमा समावेश छ । सांसदहरूले भने शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने औंल्याएका छन् । कतिपय सांसदले ५० प्रतिशत पनि आन्तरिक गर्न नहुने मत व्यक्त गरेका छन् ।
निजी विद्यालयको व्यवस्थापन र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको विषयमा पनि सांसदका मत बाझिएको छ । निजी विद्यालयलाई ५ देखि २० वर्षभित्र गुठीमा लैजानुपर्ने अधिकांश सांसदको धारणा छ । धेरै सांसदले १० वर्षभित्र गुठीमा लैजान संशोधन हालेका छन् । उक्त प्रस्तावमा निजी विद्यालय सञ्चालकहरूको भने चर्को असन्तुष्टि रहेको छ । जबर्जस्ती गुठीमा बदल्न नमिल्ने विद्यालय सञ्चालकहरूको भनाइ छ । अर्कोतर्फ निःशुल्क शिक्षा कार्यान्वयन गर्न निजी विद्यालयले पनि शुल्क लिन नपाउने केही सांसदको विचार छ । केही भने निजीले स्थानीय तहले तोकेको शुल्क लिन पाउने औंल्याउँछन् । विधेयकमा पनि निजीले शुल्क लिन पाउने उल्लेख छ । निजीले शुल्क लिन पाउँदा निःशुल्क शिक्षा कार्यान्वयनमा बाधा हुने अर्को थरी धारणा छ ।
शिक्षाविद् टीका भट्टराईले संशोधन दर्ता गर्दा शिक्षा विधेयकका मूल मुद्दा झनै अन्योलपूर्ण हुन पुगेको टिप्पणी गरे ।
‘दूरगामी महत्त्व र असर राख्ने शिक्षाका मुद्दा संसद्बाट अल्पमत, बहुमतभन्दा पनि सहमतिबाट टुंगो लाग्नुपर्छ,’ भट्टराईले भने, ‘बहुमत अल्पमतले टुंगो लगाएमा विद्यालय शिक्षा दुर्घटनामा पर्छ, ऐन जारी भए पनि कार्यान्वयन नहुने जोखिम बढ्छ । अत्यधिक सहमतिमा विधेयक पास गर्ने बाटो खोजिनुपर्छ ।’ सांसदहरूले विचारधारागत रूपमा भन्दा पनि सुझबुझपूर्ण र व्यावहारिक निर्णय गर्नुपर्ने उनले औंल्याए । ‘समस्याको समाधानमुखी शिक्षा ऐन बनाउन सचेत हुनुपर्छ,’ भट्टराईले थपे, ‘शीर्ष नेताको सम्मेलन गरेर साझा धारणा बनाउनैपर्छ । त्यसका लागि गोलमेच सम्मेलन गर्न सकिन्छ ।’ शिक्षक, निजी क्षेत्र, स्थानीय तह, राजनीतिक नेतृत्व, शिक्षाकर्मी एक ठाउँमा बसेर शिक्षा ऐनलाई सहमतिको दस्ताबेज बनाउनुपर्नेमा उनले जोड दिए । ‘शिक्षा विधेयकमा कसको एजेन्डा ल्याउने, को ठीकभन्दा पनि सबैको साझा धारणा बनाउन अधिकतम प्रयास गर्नुपर्छ,’ उनले भने ।
मूल मुद्दामा स्थानीय तहका जनप्रतिनिधि, निजी विद्यालय सञ्चालक, सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, प्रदेश र केन्द्र सरकारले प्रत्यक्ष सरोकार राख्छन् । बहुमतका आधारमा ऐन पास गर्दा एक पक्षले स्वीकार नगर्ने जोखिम उच्च रहने उनले औंल्याए । ‘निजीलाई पनि निकास दिनुपर्छ । सञ्चालकहरूले लगानीको सुनिश्चितता खोज्नुभएको छ । कसैले पनि पैसा तिर्न नपाएर पढ्न नपाउने अवस्था हुनु भएन । संविधानको मर्म पनि समात्न सक्नुपर्‍यो । संविधानसम्मत नभए प्रतिकूल कुरा गर्न मिलेन । स्थानीय तह र गुठीकै पक्षमा निर्णय भए पनि कार्यान्वयन नभए त के भयो र ?’ उनले भने ।
कांग्रेस सांसद अर्जॅननरसिंह केसीले सार्वजनिक विद्यालयले विद्यार्थी, अभिभावकसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गर्नॅपर्ने संशोधन दर्ता गराएका छन् । तर कांग्रेसकै अर्का सांसद प्रदीप पौडेलको मत निजी विद्यालयले पनि शुल्क लिन नपाउने व्यवस्था गर्नॅपर्नेछ । एमाले सांसद गोकुल बाँस्कोटाले पनि सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादी सांसद देवेन्द्र पौडेलले भने अभिभावकले विद्यालयलाई आर्थिक सहयोग गर्न सक्ने व्यवस्था राख्नुपर्ने औंल्याएका छन् । कक्षा १२ सम्म निःशुल्क शिक्षा भने पनि सरकारी अनुदान पर्याप्त नहुँदा अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी, अभिभावकसँग शुल्क उठाउँदै आएका छन् ।
कम्पनी मोडलमा दर्ता निजी विद्यालयलाई गुठीमा लैजाने विषयमा सांसदहरू एकमत देखिए पनि कति वर्षमा लैजाने भन्नेमा चाहिँ चर्को मतभेद देखिन्छ । केही सांसदले ५ वर्ष, प्रतिपक्षी एमाले सांसदले ७ वर्ष, सत्तारूढ कांग्रेस–माओवादीका प्रायः सांसदले १० वर्ष र रास्वपाका सबै सांसदले २० वर्षभित्र निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गरेर सेवामूलक रूपमा सञ्चालन गर्नॅपर्ने संशोधन दर्ता गराएका छन् । विधेयकले नयाँ निजी विद्यालय स्थापनामा समेत रोक लगाइएको छ । त्यसले गर्दा निजी विद्यालयको एकाधिकार झनै बढ्ने मत शिक्षाकर्मीको छ ।
सत्तारूढ दलका सांसद गगनकुमार थापाले शिक्षक दरबन्दी स्थानीय तहमा रहने व्यवस्था गर्नॅपर्नेमा जोड दिएका छन् । तर कांग्रेसकै सांसद विश्वप्रकाश शर्मालगायत सांसदहरू शिक्षकलाई स्थानीय तहमा राख्न नहुने पक्षमा छन् । सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेलगायत अधिकांश सांसदले शिक्षक दरबन्दी संघमै रहनुपर्ने व्यवस्थासहितको संशोधन दर्ता गराएका छन् । एमाले सांसद रघुजी पन्तले संघमा रहेको शिक्षक दरबन्दी संघीय तहमै रहने व्यवस्था गर्नॅपर्ने औंल्याएका छन् । संघीय, कानुन र मापदण्डअनुसार मात्रै शिक्षक दरबन्दी स्थानीय तहले पुनर्वितरण गर्न सक्ने उनको भनाइ छ ।
माओवादी सांसद देवेन्द्र पौडेलसहितले पनि स्थानीय तहमा शिक्षक दरबन्दी हस्तान्तरण गर्ने विधेयकको प्रावधानमा सन्तुष्ट छैनन् । रास्वपाका सभापति रवि लामिछानेसहितका सबै सांसदले भने सरकारले गरेको प्रस्तावमा सहमति जनाएका छन् । विधेयकमा शिक्षकलाई स्थानीय तहअन्तर्गत राख्ने व्यवस्था गरिएको छ । त्यसमा असन्तुष्टि जनाउँदै गत असोज पहिलो साता देशभरका विद्यालय बन्द गराएर शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए । शिक्षकसँग सहमति गर्दै सरकारले उक्त मागमा पुनरावलोकन हुने सम्झौता गरेको थियो । त्यसपछि नगरपालिका संघ र गाउँपालिका महासंघले शिक्षक स्थानीय तहमै रहने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । स्थानीय तहको एकल अधिकारमा शिक्षा ऐन बन्दा हस्तक्षेप नगर्न स्थानीय तहका जनप्रतिनिधिले चेतावनी दिँदै आएका छन् । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरोकारवालासँग अधिकतम छलफलबाट मात्रै विद्यालय शिक्षा विधेयक संसद्मा पारित गर्नुपर्ने औंल्याए । ‘फरक–फरक मतमध्ये सर्वमान्य र लोकमान्य मत र तर्कलाई विधेयकमा समावेश गर्नुपर्छ । देश, शिक्षा प्रणालीको व्यवस्थासँग मिल्ने कुरा मात्रै औचित्यका आधारमा शिक्षा ऐनमा आउनुपर्छ,’ उनले भने । शिक्षकहरूले आफ्ना माग सरकार र संसद्सामु राखिसकेकाले ती संशोधनबाट समेटिनुपर्ने उनले बताए ।
हिसानका महासचिव लोकबहादुर भण्डारीले सबै सरोकारवालाको विचार सुनेर मात्रै विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘शिक्षा विधेयकमा पहिले पनि छलफल हुन पाएनन् । संसद्ले आग्रह/पूर्वाग्रह, बहुमत/अल्पमतभन्दा पनि सरोकारवालासँग व्यापक छलफल गरिनुपर्छ,’ उनले भने, ‘कुनै पनि विचारलाई निषेध गरेर जानु हुँदैन । सबैको विचार सुनेर मात्र निष्कर्षमा पुग्छ । सबैको अपनत्व हुने शिक्षा ऐन जारी हुने कुरामा ध्यान दिनुपर्छ ।’ निजी विद्यालय नभए देशको शिक्षाको अवस्था कस्तो हुन्थ्यो होला भनेर पुनर्विचार गर्नुपर्ने उनले जनाए । ‘सरकारी विद्यालय सुदृढीकरण गर्न ध्यान दिनुपर्छ । सँगै निजी विद्यालय नहुँदा त्यसको असर के हुन्छ त्यो पनि ख्याल गर्नुपर्छ ।’ अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर शिक्षा विधेयकका व्यवस्था निर्क्योल गर्नुपर्ने उनले सुझाव दिए ।

मुख्य पृष्ठ

दोस्रो वरीयताका लागि कांग्रेसमा विवाद

दोस्रो स्थानमा उपसभापति पूर्णबहादुर खड्कालाई निरन्तरता दिने वा ‘वरिष्ठ’ नेताको हैसियतमा शेखर कोइरालालाई ल्याउने भन्नेमा मतभेद
- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का छन् । १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उनले पार्टीमा ‘वरिष्ठ’ नेताको हैसियत पाएमा मात्रै सभापतिपछिको दोस्रो स्थानको मर्यादा पाउँछन् । अहिले उनी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछिको पहिलो नम्बरमा छन् । जसअनुसार कोइरालाको स्थान मर्यादाक्रममा २५ औं नम्बरमा छ ।
कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा समेत देखिन थालेको छ । संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरिएको छ । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएमा खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गर्ने गरेका छन् । शनिबार बागमती प्रदेशको सम्मेलन उद्घाटनमा उपसभापति खड्का र नेता कोइराला दुवै अनुपस्थित भए । प्रदेश कार्यसमितिका सदस्य जगदीशनरसिंह केसीका अनुसार बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्र बानियाँले उपसभापति खड्कालाई सभापतिपछिको विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेका थिए तर खड्का सुर्खेतको कार्यक्रममा व्यस्त भएकाले साँझ समापनमा कार्यक्रममा मात्रै सहभागी भए । कोइराला भने विराटनगर पुगेका थिए । केसीले कोइरालालाई आमन्त्रणसमेत नभएको जानकारी आफूले पाएको बताए ।
जनकपुरमा बिहीबार आयोजित सम्मेलनमा पनि देउवापछिको विशिष्ट अतिथिको स्थानमा नराखिएपछि कोइराला सहभागी भएनन् । उनी त्यस दिन मधेश प्रदेशको सम्मेलन छाडेर इनरुवा पुगेका थिए ।
मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरिएपछि उनी निकट स्थानीय नेताहरूले प्रदेश कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का र खड्का पुगेका कार्यक्रममा कोइराला नजाने गरेका छन् । पछिल्लो समय पार्टीका बैठक र औपचारिक छलफलबाहेकमा खड्का र कोइरालाको भेटघाट र संवादसमेत हुन छाडेको छ ।
कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन र परम्परालाई कायम राख्न पनि सभापतिले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । ‘आन्तरिक सन्तुलनका निम्ति पार्टीभित्र प्रतिपक्षको नेता जो छ, त्यसलाई सम्मानस्वरूप वरिष्ठ नेता दिने परम्परा हो,’ उनले भने, ‘सभापतिजीले त्यो परम्परालाई कायम राख्ने कि नराख्ने भन्ने कुरा उहाँमा निर्भर छ । वरिष्ठ नेता नबनाउँदा उपसभापतिले दोस्रो वरीयताको दाबी गर्नु अस्वाभाविक होइन ।’
पार्टी विधानमा ‘वरिष्ठ’ नेताको व्यवस्था छैन । ०६४ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस (प्रजातान्त्रिक) सँग एकीकरण गर्दा त्यसका सभापति देउवालाई वरिष्ठ नेताको स्थान दिएका थिए । १२ औं महाधिवेशनबाट सभापति बनेका सुशील कोइरालाले आफ्नो प्रतिस्पर्धी देउवालाई विधानमा नभए पनि वरिष्ठ नेताकै हैसियत दिएका थिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई उसैगरी वरिष्ठ नेताको हैसियत दिइएको थियो । १४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाका प्रतिस्पर्धी बनेका कोइरालालाई अघिल्ला परम्परा अनुसार नै वरिष्ठ नेताको हैसियत दिनुपर्ने आवाज संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । खड्कासहितका संस्थापन पक्षका अधिकांश नेताहरू भने महाधिवेशनमा पाएको भोटका आधारमा नभएर पार्टीमा गरेको संघर्ष, योगदान र क्रियाशीलताका आधारमा ‘वरिष्ठता’ निर्धारण हुनुपर्ने तर्क गर्दै आएका छन् । उनीहरूले जबर्जस्ती पगेरी दिनेभन्दा पनि मनबाटै वरिष्ठ नेता भनेर स्वीकार्य हुनुपर्ने तर्क अघि सार्दै आएका छन् । शनिबार बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने भन्दै कोइरालालाई वरिष्ठ नेता स्वीकार्य नहुने संकेत गरे ।
‘भोटका कारणले होइन । पार्टीमा जिन्दगी दिने, संघर्ष गर्ने, जेलनेल भोग्ने ‘सिनियर’ लाई मात्रै वरिष्ठ नेता मान्छन् । म महामन्त्री हुँदा सुशील कोइराला सभापति हुनुहुन्थ्यो । वरिष्ठ नेताको व्यवस्था विधानमा छैन । शेरबहादुरजीलाई बनाउँदा के हुन्छ भनेर भन्नुभयो । यसमा केको विवाद छ र ? सिनियर नहुँदा पो प्रश्न हो भनेर भनें,’ सिंहले सम्मेलनमा बोल्दै भने, ‘सिनियर हुँदै नभएकालाई वरिष्ठ मान्ने भन्ने हुन्न । जेल गएका, संघर्ष गरेका र पार्टीलाई जिन्दगी दिएका रामचन्द्र पौडेललाई सबैले वरिष्ठ नेता मानेकै हो । त्यसै वरिष्ठ हुने कुरा हुँदैन । कांग्रेसलाई सुधार गर्ने हो भने लिंग, उमेर र व्यावसायिक क्षेत्रमा सन्तुलन खोजौं ।’
राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टी सभापति देउवा र पौडेलले पाएको वरिष्ठ नेताको हैसियत महाधिवेशनमा पाएको मतका आधारमा नभएको बताए । ‘दुई पार्टी एकीकरण गर्दाको अवस्थामा तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) का सभापतिको हैसियतले पार्टी सभापतिलाई त्यतिबेला वरिष्ठ नेताको स्थान दिइएको हो । पछि सभापतिज्यूले पार्टीमा लामो संघर्ष गरेको र आफ्नो समकक्षीसमेत भएकाले पौडेल दाइलाई वरिष्ठ दिनुभएको हो,’ उनले भने, ‘नवौं महाधिवेशनमा गिरिजाप्रसादसँग प्रतिस्पर्धा गर्दा शेरबहादुर दाइलाई वरिष्ठ दिइएको होइन । आठौं महाधिवेशनमा चिरञ्जीवी वाग्ले पनि गिरिजाप्रसादसँग प्रतिस्पर्धा गर्नॅभएको थियो । उहाँले पनि वरिष्ठ पद पाउनुभएको होइन ।’
उनले वरिष्ठको खोजीभन्दा एकअर्कामा सम्मान गर्ने पद्धति बसाल्न पार्टीमा आवश्यक भएको बताए । ‘विधानमा व्यवस्था छैन । चुनावमा उठेको भरमै वरिष्ठ होला जस्तो लाग्दैन । कि त विधानमा राख्नुपर्छ । पार्टीको उपसभापति पनि चुनावबाटै आउने व्यवस्था भइसकेको छ, त्यसलाई पनि हेर्नुपर्छ,’ उनले भने, ‘अब यो विवादलाई धेरै लम्बाउनु हुन्न । यसलाई पार्टीले चाँडो टुंग्याउनुपर्छ । आफ्नो मर्यादाभन्दा पनि जनताका मर्यादालाई ख्याल गर्नुपर्ने समय आएको छ ।’

मुख्य पृष्ठ

वनभित्र बत्ती राख्दा जुनकिरीलाई सास्ती

प्रकाश प्रदूषणले बिथोलिादै छ जुनकिरी, पुतली, चरा र वन्यजन्तुको रात्रिजीवन
- दीपक परियार

(पोखरा)
घरबाट उत्तरपूर्वी डाँडातिर झलमल्ल बलेको बत्तीसहितको तस्बिर सामाजिक सञ्जालमा राखेर प्राणीशास्त्री प्राध्यापक हुमबहादुर गुरुङले लेखे, ‘पोखरामा दुईवटा जुन !’ पोखरा–१३ संगमटोलबाट खिचिएको उक्त तस्बिरमा चन्द्रमासँगै आर्बाको डाँडामा राखिएको ‘हाई मास्ट लाइट’ देखिएको हो ।
तस्बिरमा अर्का संरक्षणविद् करनबहादुर साहले कवितात्मक शैलीमा प्रतिक्रिया जनाए, ‘पोखरामा देखियो हजुर दुई–दुईवटा जुन, एउटा प्राकृतिक अनि कृत्रिमचाहिँ हो कुन ?’ दुई संरक्षणविद्को चिन्ता र चासो प्रकाश प्रदूषणले किरा–फट्यांग्रा र वन्यजन्तुलाई हानि पुर्‍याएको प्रति थियो ।
नेपाल विद्युत् प्राधिकरणले ‘उज्यालो सहर अभियान’ अन्तर्गत पोखरा महानगरपालिकासँगको ५०/५० प्रतिशत लागत साझेदारीमा २३ वटा ‘हाई मास्ट लाइट’ र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । चारैतिर उज्यालो हुने गरी मुख्य चोकमा राख्ने भनिएको हाई मास्ट लाइट भने पोखरा–१३ आर्बाको अग्लो डाँडामा पनि पुर्‍याइएको छ । १६ मिटर अग्लो हाई मास्ट लाइटमा २–२ सय वाट पावरका ८ वटा बत्ती छन् । वनभित्र राखिएको चर्को बत्तीले जुनकिरी, पुतलीलगायत किरा–फट्यांग्रा, चरा र वन्यजन्तुको रात्रिजीवन बिथोलिएको प्रति संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
संरक्षणविद् तथा वर्डलाइफ इन्टरनेसनल एसिया साझेदारी व्यवस्थापक गुरुङ प्रकाश प्रदूषण, कीटनाशक औषधिको प्रयोग र बासस्थान विनाशका कारण रातमा प्रकाश छर्दै उड्ने जुनकिरी विश्वभरकै सहरी क्षेत्रबाट हराउँदै गएको बताउँछन् । उनका अनुसार जुनकिरीले स्वच्छ हावा, शुद्ध पानी र शान्त अँध्यारो मन पराउँछन् । पृथ्वीको जमिनमध्ये झन्डै २३ प्रतिशत भूभागमा कुनै न कुनै कारणले उज्यालो बन्दा जुनकिरीलाई असर पुगिरहेको छ । बर्खामा बढी सक्रिय हुने जुनिकिरी अरू समय झाडी र सिमसारमा बस्छन् । जुनकिरीका भालेहरू प्रायः पछिल्लो भागमा बत्ती बालेर उडिरहन्छन् । चहकिलो बत्ती देखेपछि पोथी जुनकिरी भालेप्रति आकर्षित हुन्छन् । प्रकाश प्रदूषणले पोथी जुनकिरीले भालेको चहकिलोपना देख्दैनन् ।
फलस्वरूप भाले र पोथी जुनकिरीको संसर्गमा कमी हुन्छ । संसर्ग नहुँदा अन्डा, लार्भा हुँदै किरा बन्ने जीवनचक्र बिथोलिएर यिनको संख्या घट्दै जान्छ । धेरै उज्यालो प्रकाश चारैतिर हुँदा जुनकिरीको बत्ती निस्तेज हुन्छ । जुनकिरीले बत्तीसँगै छोड्ने गन्ध आउने रसायन शत्रुलाई टाढै राख्न मद्दत गर्छ । ‘विकास राम्रो कुरा हो । तर, नकारात्मक पक्षलाई ध्यान दिनुपर्छ । बिनायोजना हचुवाका भरमा त्यस्तो काम गर्दा हेर्दाको रमिता मात्रै हो,’ डाँडाको टुप्पोमा हाई मास्ट टावर लाइटको सान्दर्भिकता नभएको बताउँदै उनले भने, ‘जनप्रतिनिधिमा विकास गर्ने हुटहुटी छ । तर, दिगो विकासमा ध्यान दिनुपर्छ । नत्र भने विकासले विनाश मात्रै निम्त्याउँछ ।’
प्राणीशास्त्री प्राध्यापक साहका अनुसार जुनकिरीको अन्डा, लार्भा हुँदै किरा बनेर जीवनचक्र पूरा गर्न झन्डै एक वर्ष लाग्छ । कृषिमा नोक्सान पुर्‍याउने चिप्ले किरा, शंखे किरालगायतको संख्यालाई नियन्त्रण गर्न जुनकिरीको लार्भाले सहयोग पुर्‍याउँछ । वनभित्र चर्को बत्ती राख्नुको फाइदा र बेफाइदा दुवै भएको उनले बताए । ‘वनमा बत्ती राख्दा त्यहाँ किराहरू झुम्मिन्छन्, त्यसको मुनि हुने भ्यागुता र छेपाराको आहारा बन्छन्,’ उनले भने, ‘त्यसरी किरा–फट्यांग्रा मर्नेमा बाली नाशक पनि हुन्छन्, पराग सेचन गरेर कृषकलाई सहयोग पुर्‍याउने पनि हुन्छन् ।’ वन्यजन्तु, चार खुट्टे स्तनधारीलाई बासस्थानमा बत्तीको बानी नपर्ने भएकाले तर्सने समस्या पनि रहने उनले सुनाए । भने, ‘यस्तो काम गर्दा वातावरण प्रभाव मूल्यांकनका आधारमा गर्नुपर्छ ।’
‘उज्यालो सहर अभियान’ अन्तर्गत प्राधिकरणले विभिन्न सहरमा ११ हजार ५ सय स्मार्ट सडक बत्ती र हाई मास्ट लाइट जडान गरेको छ । प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख प्रमोद रिजाल सम्बन्धित स्थानीय तहको मागका आधारमा बत्ती जडान गरेको बताए । महानगरपालिकाका इन्जिनियर ध्रुव भट्टराईका अनुसार एउटा हाई मास्ट लाइट जडान गर्न १२–१३ लाख रुपैयाँ खर्च भएको छ । एउटा हाई मास्ट लाइटले गर्ने विद्युत् खपतबापत वार्षिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्राधिकरणलाई बुझाउनुपर्छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले आर्बामा धार्मिक पर्यटकीय स्थल महाप्रभुधामको गुरुयोजना बनिरहेकाले आवश्यकता महसुस गरेर नै हाई मास्ट लाइट राखिएको बताए ।

Page 2
म्यागेजिन

शताब्दीदेखि घुमिरहेछ तुलसीमेहरको चर्खा

उचित व्यवस्थापन र आर्थिक अभावमा घरेलु उद्योगको जिउादो इतिहास धर्मराउादै
- ऋषिराम पौड्याल

(काठमाडौं)
केही युवा आर्य समाजमा संगठित भएर समाजका विकृतिविरुद्ध लागेको राणाहरूलाई मन परेको थिएन । तिनै युवामध्येका एक थिए, तुलसीमेहर श्रेष्ठ । राणाहरूले उनलाई मृत्युदण्ड कि निर्वासन रोज्ने विकल्प दिए । उनले सीप सिक्ने चाहनाले भारत जाने विकल्प रोजे । १९७७ सालमा उनले बिन्ती चढाए, ‘मलाई जेल होइन, परदेशमा सीप सिक्न पठाइयोस् ।’ राणा प्रधानमन्त्री चन्द्रशमशेरले तुलसीमेहरको प्रस्ताव स्विकारे । खर्चसमेत
दिँदै चन्द्रशमशेरले भनेका थिए, ‘कपडा बुन्ने काम गर्नू, राजनीति नगर्नू ।
भारत गएपछि उनी सवारमती आश्रम, सेवाग्राम लगायतका स्थानमा रहेर महात्मा गान्धीसँग निकट रहे । गान्धीकै सल्लाहमा आफैंले बुनेको खद्दर (खादी) को लुगा लगाए उनले । ५ वर्षपछि १९८२ सालमा नेपाल आउँदा ल्याएको कपास र रकमबाट चर्खा प्रचारको काम गर्ने निधो गरेका थिए । तर, राणाहरूले त्यस्तो प्रचार गर्न र कपडा बनाउने घरेलु उद्योग खोल्ने अनुमति दिएनन् । राणाहरूलाई नैतिक दबाब दिन चर्खा चलाएर बसे, भद्रकालीस्थित मन्दिरअगाडि । उनी आफूले गरेको काम देखाउने चाहन्थे । किनकि सिंहदरबार जाँदा राणाहरू यही बाटो प्रयोग गर्थे । चर्खा चलाएर सत्याग्रहमा बसेपछि भने प्रधानमन्त्री चन्द्रशमशेर उनीसँग प्रभावित भए । त्यसपछि शंखमूलमा बसेर चर्खा र घरेलु उद्योगको काम गर्न अनुमति दिए । चर्खाको माध्यमबाट धागो कात्ने, रंग लगाउने र कपडा उत्पादन गर्ने उद्देश्य लिएर फर्किएका उनलाई राहत मिल्यो । उनकै नेतृत्वमा १९८३ मा श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी स्थापना भयो । जसमार्फत कपडा उत्पादन हुन थाल्यो । यसलाई नै नेपालको पहिलो संस्थागत घरेलु उद्योग मानिन्छ ।
राणाहरूले नचाहँदा नचाहँदै पनि सत्याग्रह बसेर झन्डै सय वर्षअघि भारतबाट ल्याएको कपास र भारु ८ सयबाट चर्खा प्रचारकको नाम दिएर सुरु भएको घरेलु उद्योगको इतिहास गर्विलो छ । लोभलाग्दो र प्रेरणादायी इतिहास जोडिएको उक्त संस्था भने अहिले नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीको नाममा आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेको छ । तथापि सीमित संख्यामा भए पनि घरेलु कपडा उत्पादन गर्ने र स्वदेशकै सीप सिकाउने अभियानको चर्खा भने घुमिरहेकै छ ।
उद्योगलाई प्रोत्साहन गर्ने र उत्पादित सामग्री बिक्री गर्ने उद्देश्यले विसं १९९७ मा पाटनको मंगल बजारमा चर्खा प्रचारक महागुठीको शाखा स्थापना गरिएको थियो । त्यहाँ सुधारिएको प्रविधिबाट कपडा बुनेको देखाउने र घरमा बुनेको खादीका कपडा बिक्री गर्ने उद्देश्यले बिक्री कक्ष पनि खोलिएको २०३५ सालमा प्रकाशित तुलसीमेहर स्मृति ग्रन्थमा उल्लेख छ । प्रजातन्त्र प्राप्तिपछि २००८ सालमा तुलसीमेहरले गान्धी स्मारक निधि नामक संस्था स्थापना गरे । संस्थाको उद्देश्य मुलुकमा पिछडिएका वर्गको सामाजिक र आर्थिक उत्थानका लागि कपास खेतीका कार्यक्रम सञ्चालन गर्नु थियो । संस्थालाई २००९ सालमा राजा त्रिभुवनबाट दानस्वरूप काठमाडौंको मनोहरामा ५५ रोपनी र धनुषामा ५५ बिघा जमिनसहित एउटा भवन प्राप्त भयो । गान्धी आदर्श महिला विद्यालय स्थापना गरिएको मनोहरामा अहिले गान्धी आदर्श माध्यमिक विद्यालय छ ।
चन्द्रकामधेनु चर्खा प्रचारक महागुठीबाट कपडा र हस्तकलाका सामान उत्पादन गर्ने र गान्धी स्मारक निधिबाट निम्न आय भएका व्यक्ति र असक्षम महिलालाई तालिम प्रदान गर्ने उद्देश्य थियो । २०२९ सालमा दुवै संस्थालाई एकीकृत गरी नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी नामकरण गरियो भने २०५७ सालपछि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको नामबाट क्रियाशील छ । भारत सरकारले २०३५ सालमा तुलसीमेहरलाई अन्तर्राष्ट्रिय नेहरू पुरस्कारबाट विभूषित गरेको थियो । पुरस्कारस्वरूप प्राप्त भारु १ लाख ४५ हजार उनले गुठीलाई नै दान गरेका थिए ।

महिलालाई सीप
काठमाडौं, ललितपुर, जनकपुर, मोरङ अमरदह र काभ्रेमा रहेको जमिन र भवनमा महिला उद्यमी उत्पादन गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ ।
यहाँ चर्खाको माध्यमबाट धागो कात्ने, खेलौना बनाउने, कपडा बुन्ने, सिलाउने र ब्युटिपार्लरको सीपसमेत सिकाइन्छ । २०३५ सालमा मनोहरामा स्थापित तुलसीमेहर महिला आश्रममा महिलाहरूले आवासीय तालिम लिने गरेका छन् । तालिमका लागि काँचो धागो र कपडा बजारबाट खरिद गरिँदै आएको छ ।
यहाँबाट बर्सेनि मुलुकभरका झन्डै ४ सय महिलाले सीप हासिल गर्छन् । भारतले बनाइदिएको छात्रावासमा बसेर तालिम लिने नै ६० जना छन् । खानेबस्ने सबै खर्च गुठीले बेहोर्छ भने उपत्यकाबाहिरबाट आएकालाई एक वर्ष तालिम दिने गरिन्छ । अहिले सिलाइबुनाइमा ७० जनाले तालिम लिइरहेका छन् । स्थानीय तहको सम्बन्धित वडाले गरिब, असहाय र विपन्नका रूपमा सिफारिस गरेका आधारमा तालिमका सहभागी छनोट हुने गरेको महागुठीका कार्यकारी अधिकृत प्रेमप्रसाद लामिछानेले बताए । ब्युटिपार्लरको तालिमका लागि हालै भूकम्प गएको जाजरकोट र रुकुमका महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ । ‘तीन–तीन महिनाको तालिम वर्षमा तीन पटक सञ्चालन हुन्छ,’ उनले भने, ‘अहिले दुई समूहमा २५ जनाले तालिम लिइरहेका छन् ।’ पार्लर तालिम लिएकाहरूले स्वदेश मात्र होइन, विदेशमा पनि रोजगारी पाउने गरेको महागुठीले जनाएको छ । चार दशकयता तालिम दिइरहेको महागुठीले उत्पादित जनशक्तिको भने यकिन तथ्यांक राखेको छैन । जनकपुर र काठमाडौंमा सय थान चर्खा सञ्चालनमा रहे पनि सीप सिकाउनेबाहेक बजारीकरणको काम हुन सकेको छैन ।
मनोहरास्थित महागुठी प्रांगणमा रहेको उद्योग भवनको शिलान्यास २०१६ जेठमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका थिए । भवनको उद्घाटन भने २०२३ असोजमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले गरिन् । भारतका तत्कालीन राष्ट्रपति राधाकृष्णन्ले २०२० कात्तिकमा छात्रावास भवनको शिलान्यास गरे । उद्योग र छात्रावासका रूपमा परिचित यी ऐतिहासिक भवन अहिले जीर्ण छन् । मनोहरास्थित गुठीको मुख्य कार्यालय बसेको १० वटा भवनमध्ये ६ वटा पुरानो र चारवटा नयाँ छन् । कपडा बुन्ने ह्यान्डलुम १० वटा, इलेक्ट्रिक मेसिन ५ वटा छन् । सिलाइका लागि २५ वटा मेसिनको खाँचो रहेको कार्यकारी प्रमुख लामिछानेले बताए । ५ वटा हातेलुम मर्मत नगरे सञ्चालन गर्नै नसक्ने अवस्थाका छन् । बनेपास्थित भवन पनि निकै जीर्ण भएकाले प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।
घरजग्गा भाडा र बैंकमा राखेको रकमको ब्याजसमेत वार्षिक करिब १ करोड २० लाख आम्दानी रहेको गुठीले तालिमका लागि पुराना मेसिन मर्मत र नयाँ खरिद गर्न सकेको छैन । आम्दानी भएको रकम कर्मचारीलाई तलब र आवासीय तालिममा खर्च हुने गरेको छ ।

गुठीमा स्वार्थ प्रवेश
२०२९ देखि २०५५ सालसम्म गुठीको अध्यक्ष मातृकाप्रसाद कोइराला थिए । २०५५ सालमा महेन्द्रनारायण निधि अध्यक्ष भए । त्यसपछि भद्रकाली मिश्र, भद्राकुमारी घले, टीकामान वैद्य र उदयमोहन श्रेष्ठले नेतृत्व लिए । गणतन्त्रको स्थापनापछि बिस्तारै राजनीतिक र व्यापारिक स्वार्थ बढ्दै गयो । गुठीको सम्पत्तिमा आफ्नो पहुँच कायम राख्न यस्तो खिचातानी भएको पूर्वसञ्चालकहरूको भनाइ छ । २०६३ को परिवर्तनपछि मुख्य गुठियार र सञ्चालकबीच नै टकराब बढेको हो । २०७७ सालमा महागुठीको दुईवटा कार्यसमिति बन्यो । विवादको क्रममा उदयमोहन श्रेष्ठ र उर्मिला गर्ग उपाध्यायले छुट्टाछुट्टै सञ्चालक समिति बनाएपछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तदर्थ समिति बनाएर अधिवेशन गराउन भने पनि सरकारले लामो समय बेवास्ता गरिरह्यो । सर्वोच्चले २०७७ मंसिरमा फैसला गरेपछि २०७९ जेठको अन्त्यमा तदर्थ समिति बन्यो ।
अध्यक्ष बन्न मुख्य गुठियार हुनुपर्छ । गुठियारको छनोट मुख्य गुठियारले गर्छ भने निर्वाचित अध्यक्षले नै पदाधिकारी मनोनीत गर्छ । २०७१ सालमा महागुठीको चल–अचल सम्पत्ति हिनामिना हुन लागेको भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उजुरी परेको थियो । उजुरीका विषयमा छानबिन गर्न मन्त्रालयले समाज कल्याण परिषद्लाई निर्देशन दियो । निर्देशनअनुसार दुई सदस्यीय छानबिन समितिले ‘क्राफ्ट विथ कन्साइन्स’ परियोजनाअन्तर्गत महागुठी नेपाल नामक कम्पनी दर्ता गरेर गुठीबाहिरका व्यापारीबाट सामान किनेर उत्पादन बिक्री गरी नाफा कमाएको उल्लेख गरेको छ ।
महात्मा गान्धीबाट प्रभावित भएर खुलेको महागुठीमा आन्तरिक समस्या बढेको भन्दै मुख्य गुठियार विपुलेन्द्र चक्रवर्तीले केही समयअघि राजीनामा दिएका छन् । ‘गान्धी पथ र तुलसीमेहरको नाम जोडिएको संस्थामा किचलो हुनुहुँदैन । कसैले स्वार्थ राखेर काम गर्नु पनि हुँदैन,’ महागुठीका साधारण सदस्य रहेका चक्रवर्तीले भने, ‘मलाई कामकारबाही चित्त नबुझेकाले राजीनामा दिएको हुँ ।’ उनी गान्धीको नाम जोडिएको संस्थामा कम्तीमा थोरै भए पनि आचरणमा सुधार हुनुपर्ने तर्क गर्छन् । महागुठीको नाममा व्यापार गरेको आरोपमा क्राफ्ट कन्साइन्स नामको कम्पनीविरुद्ध महागुठीले नै उजुरी गरेको छ । विवादका कारण क्राफ्टले तीन दिनअघि गर्न लागेको साधारणसभा रोकिएको छ ।
२०४१ सालबाट सञ्चालन भएको ‘गुठीसप’ परियोजनाअन्तर्गत मुलुकका विभिन्न भागबाट उत्पादित हस्तकलाका वस्तु बिक्री गरिन्थ्यो । उक्त सपको व्यवस्थापन गर्न छुट्टै समिति थियो । तर, सपलाई कम्पनीमा परिणत गरेपछि समस्या बल्झिएको हो । सपले नाफाको ४० प्रतिशत रकम महागुठीलाई दिनुपर्ने नीति थियो । अहिले महागुठीले सपबाट कुनै पनि आर्थिक सहयोग प्राप्त गरेको छैन ।
गुठीको नाममा मुलुकभर अन्दाजी हजार रोपनी जमिन छ । मनोहरामा ५६ रोपनी, मोरङमा २३ बिघा, जनकपुरमा ५० बिघा, ललितपुरको मानभवनमा १५ तथा बनेपामा ६ रोपनी जमिन छ । भवनहरू नयाँ पुराना गरी १७ वटा रहेका छन् । महागुठीको मुलुकभर १० अर्बभन्दा बढीको चलअचल सम्पत्ति छ । जनकपुरको हरिहरपुरस्थित १० बिघा जमिनमा कपास खेती गरिएको छ । यहाँ भारतको खादी आश्रमबाट नयाँ मेसिन ल्याएर कपासलाई प्रशोधन गरेर धागो र कपडा बनाउने तयारी महागुठीका कार्यकारी प्रमुख लामिछाने बताउँछन् । ‘चर्खा र खादी ब्रान्डलाई बजारीकरण गर्ने योजना हो,’ उनले भने, ‘यसका लागि जीर्ण भवनको मर्मत, नयाँ मेसिन खरिको तयारी छ ।’
तुलसीमेहरले २०१७/१८ सालमा जनकपुरमा कपास खेती नै गरेका थिए । कपास खेती गर्नकै लागि जमिन खरिद गरेका थिए । टेक्सटाइल इन्जिनियर विवेकानन्द मिश्र महागुठीले तयार गर्ने घरेलु उत्पादनलाई सरकारी संरक्षण आवश्यक रहेको बताउँछन् । खादी, पस्मिनालगायतका उत्पादनको बजार युरोप र अमेरिकासम्म रहे पनि लागत उच्च भएकाले बिक्रीमा समस्या हुने उनको विश्लेषण छ । ‘भारतबाट धागो सस्तोमा आउने भएकाले नेपालले प्रतिस्पर्धा गर्न कठिन छ । नेपालमा अर्गानिक कपास उत्पादन गरेर त्यसैलाई ब्रान्डिङ गर्न सक्नुपर्छ,’ उनले भने । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना बन्द भएको प्रसंग जोड्दै उनले नेपालले ठूला उद्योग खालेर विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने कठिनाइ सुनाए । ज्योति स्पिनिङ र बुटवल धागो कारखानामा काम गरेको अनुभव लिएका मिश्रले भन्छन्, ‘अहिले विश्वमा ब्याक टु नेचरको अवधारणा आएकाले घरेलु उत्पादनबाट फाइदा लिन सकिन्छ ।’
घरेलु इलम र खादी कपडाको प्रचारमा उल्लेख्य काम गरेका तुलसीमेहरले उतिबेलै आत्मनिर्भरको बाटो पहिल्याएका थिए । तर, राज्य यस्ता उद्योगबाट पाठ सिकेर सीपमूलक तालिम प्रदान गरेर रोजगारी सिर्जना गराउन अग्रसर छैन । मुलुकभर हजार रोपनीभन्दा धेरै जग्गा रहेको गुठीअन्तर्गतका उद्योगको संरक्षण गर्नुको बदला अनेक दाउपेच र राजनीतिक खिचातानीले यस्ता संस्थाको अभियान बीचैमा तुहिने गरेको छ । घरेलु उद्योगको जिउँदो इतिहासका रूपमा रहेको यस्ता संस्थातिर राज्यको आँखा कहिले पुग्ला ?

म्यागेजिन

गान्धीका विश्वासपात्र

ललितपुरको भेलाछोंटोलमा १९५३ साल पुसमा जन्मिएका तुलसीमेहर श्रेष्ठ माइला सन्तान हुन् । राणाकालमा उनका पिता कैलाशमेहर वन कार्यालयका सुब्बा थिए । उनको बाल्यावस्था जन्मघरमै बित्यो । सावाँ अक्षर चिन्ने भएपछि उनले गणेशमंगल जोशीको घरमा टोलका अन्य विद्यार्थीसँगै सरकारी कामकाजको विषय र हिसाबको अध्ययन गरे । सरकारी काम सिकेपछि पोताला अड्डामा लिखत लेख्ने काम गरे ।
सरकारी कामका सिलसिलामा तुलसीमेहरले भारतका विभिन्न सहर जाने अवसर पाए । उनले मदिरा र माछामासु नखाने तथा हिंसा नगर्ने अठोट गरेका थिए । उनको अठोट नेवारी परम्परा विपरीत भएकाले केही समय परिवार नै निकै अप्ठेरोमा परेको थियो । एक दिन उनले पत्रिकामा सत्यार्थ प्रकाश पुस्तकका बारेमा विज्ञापन पढे । यो पुस्तक खोजेर पढेपछि झूटो नबोल्ने, छुवाछूत र धार्मिक कुरीतिको विश्वास नगर्ने, जीवनमा सत्य मात्र बोल्ने बाटो अँगाले । उनी केही समय नवलपरासीको त्रिवेणीधाममा पनि बसे । त्यहाँबाट पाटनस्थित घरमा फर्केपछि नेवारी प्रसादका रूपमा घरमै बनाएको मासु, अन्डा, मदिरा पनि खान इन्कार गरे ।
उनी २१ वर्षको हुँदा पिताको निधन भयो । नेवारी रीतिरिवाज नमानेकाले आमासँग पनि धेरै राम्रो सम्बन्ध रहेन । उनले विवाह गरेनन् । आफूलाई एक्लो महसुस गरेपछि साथी चक्रबहादुर अमात्यसँग मिलेर कुपण्डोल (कानदेवतास्थान) मा तेल र सेन्ट बेच्ने पसल खोले । तुलसीमेहर बुबासँगै भारत गएका बेला त्यहाँ स्वतन्त्रता संग्रामको सुरुवात भएको थियो । स्वतन्त्रता संग्राममा जोडिएका भारतका सन्त दयानन्दको प्रभाव नेपालका माधवराज जोशीलगायतका युवामा परेको थियो । तिनै माधवराजका छोरालाई समेत सहभागी गराएर सत्याचरण मलामी गुठीको स्थापना गरियो । फत्यबहादुरको खिलटोलस्थित घरमा बसेर उक्त गुठी गठन गरिएको थियो । अमरराज जोशीको अध्यक्षतामा गठन भएको नौ जनाको गुठीमा तुलसीमेहर सहायक मन्त्री थिए ।
राणाहरूले आर्य समाजको नामबाट कुनै पनि गतिविधि गर्न बन्देज गरेका थिए । गुठीको नाम दिए पनि तुलसीमेहरले भित्रभित्र सत्यार्थ प्रकाशनको अध्ययन, आर्यसमाजी भावको प्रचारजस्ता गतिविधि गर्थे । विसं १९७७ चैतमा यो कुरा राणाहरूले थाहा पाए । जुद्धशमशेरको दरबारमा सूचना पुगेपछि गुठीमा समावेश भएका तुलसीमेहरसहितलाई पक्राउ गरेर भीमशमशेरको टंगाल दरबारमा लगेर ६ दिनसम्म बयान लिइयो । बयानका क्रममा आर्य समाजी मतको प्रचार गरेको ठहर गरी जनही १२ वर्ष कैद वा देशनिकालाको सजाय दिन उचित हुने राय तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको इजलासमा निर्णयार्थ प्रस्तुत गरियो । भाइभारदारसँगको छलफलपछि चन्द्रशमशेरले तुलसीमेहरसहित पक्राउ परेकालाई दुई वर्षको कठिन कराबासको सजाय वा देशनिकालाको फैसला सुनाए । यो निर्णय सुनेपछि तुलसीमेहरले आफू टुहुरो भएकाले दण्डको रकम तिर्न नसक्ने र काराबासमा पर्दा बिग्रन पनि सक्ने भएकाले सीप सिक्न भारत जान पाए देशकै सेवा गर्ने थिएँ भन्दै अनुरोध गरे । चन्द्रशमशेरले उनको अनुरोध स्विकारेर सीप सिक्न भारत जाने अनुमति दिए ।
भारतमा उनले गान्धीसँग भेट्ने अवसर पाए । मिहिनेती र इमानदार भएकाले गान्धीका विश्वासपात्र बने । गान्धी आश्रममा उनी चार वर्षभन्दा बढी समय बसे । त्यहाँ बस्दा उनले कपास धुने, कात्ने र कपडा बुन्ने काम सिके । हस्तकला र घरेलुको कामसमेत सिके । उनी स्वतन्त्र भारतका प्रथम गृहमन्त्री बल्लभभाइ पटेलको नेतृत्वमा भएको ‘बारदोली सत्याग्रह’ मा पनि सक्रिय रूपमा सहभागी भए ।
नेपालमा सोझा सिधा र पिछडिएका जनतालाई जनचेतना जगाउने र घरेलु सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले गान्धीले तुलसीमेहरलाई घर फर्कने क्रममा दुई बण्डल कपास, केही चर्खा, तान र ८ सय रुपैयाँ दिएको बताइन्छ । तुलसीमेहरले गान्धीसँग एक जोर खराउ पनि मागेर ल्याएका थिए । तुलसीमेहरलाई रक्सौल भन्सारबाट नेपाल आउन दिइएन । उनले चन्द्रशमशेरलाई आफूले गान्धी आश्रमबाट सीप सिकेर आएको र केही सामान पनि ल्याएकाले नेपाल भित्रिने अनुमति दिन आग्रह गरेको पत्र पठाए । चन्द्रशमशेरले भन्सारमा तुलसीले ल्याएको सामानको कर नलिनु र नेपाल आउन दिनू भन्ने आदेश पठाए । नेपाल फर्किएपछि उनले श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी स्थापना गरेर काठमाडौं, पाटन, भक्तपुर र काभ्रेका पिछडिएका महिलालाई घरेलु सीप सिकाउन थाले ।

Page 4
युवा ग्यालरी

मौलिक भाका संरक्षणमा स्रष्टा

- महेश केसी

(रुकुम पश्चिम)
पछिल्लो समय रुकुम र आसपासका मौलिक भाकामा शब्द र संगीत संकलन गरेर बजारमा ल्याउन युवा पुस्ता सक्रिय भएका छन् । त्यसैमध्येका एक हुन्, जय देवकोटा । रुकुम मुसीकोट–५ का ३२ वर्षीय देवकोटा काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा क्रियाशील छन् । उनले ५६ वर्षीया आमा देवकुमारीसँग मिलेर लोकभजन सार्वजनिक गरेका छन् । आफैंले शब्द संकलन गरेर मौलिक भाकामा गाएको भजनले रुकुम र आसपासमा चर्चा कमाएको छ ।
 एसएलसी पास गरेर ०६४ सालबाट व्यावसायिक रूपमा गायन थालेका देवकोटाले करिब १५ सय गीतमा शब्द, संगीत र स्वर दिएको बताउँछन् । ‘गाउन त मैले विभिन्न प्रकारका गीत गाएँ । तर मलाई आफ्नै गाउँठाउँका मौलिक भाकाले पहिचान दिलायो,’ उनी भन्छन् । ‘क्या राम्रो पुतली बस्यो, ए बड्डा र गाई चराउने चौर (सिंगारु), ‘बाजेको पालामा (टप्पा), ‘रन्देउ बगालौं (बनगारी) लगायत विभिन्न गीत देवकोटाका केही प्रतिनिधि हुन् । उल्लिखित गीतका टिपिकल शब्द संकलन गरेर संगीत भरी अन्य कलाकारसँगको सहकार्यमा स्वर दिएका उनका यस्तै थुप्रै गीत यो क्षेत्रमा निकै चर्चित छन् ।
‘हाम्रै बाबाआमा र दाजुदिदीहरूले घाँसदाउरा गर्दा गाएका भाका मैले रेकर्ड गराएको हुँ । यसमा मेरोभन्दा धेरै हाम्रै पाखापखेरामा रमाइरहेकाहरूको योगदान छ,’ देवकोटा भन्छन्, ‘यसकारण मौलिक गीतको रचनाकार होइन । म आफूलाई संकलक मात्रै भन्न रुचाउँछु ।’ पछिल्लो पुस्ताले मौलिक जीवनशैली र भाका बिर्सन लागेकाले यसको संग्रह र प्रचार–प्रसार जरुरी बनेको देवकोटा बताउँछन् । उनले मौलिक भाकाको खानीका रूपमा रहेको अघिल्लो पुस्ताबाट हामीले बेलैमा यस प्रकारका गीत–संगीतबारे जानकारी हासिल गर्न ढिला गर्न नहुने उनको तर्क छ ।
रुकुम पश्चिमका अरुण शाह पूर्वप्रहरी अधिकृत हुन् । ५९ वर्षका उनी ७ वर्षअघि डीएसपीबाट रिटायर्ड भए । प्रहरी सेवामा जोडिनुभन्दा पहिलेदेखि नै उनको गीत–संगीतमा विशेष रुचि थियो । खासगरी रुकुमसँगै साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र (हालको कर्णाली र लुम्बिनीको केही जिल्ला) मा गाइने मौलिक भाका संकलन गरेर रेकर्ड गरेको श्रेय उनलाई जान्छ । २०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका उनलाई रेडियो नेपालले वरिष्ठ लोकगायकको उपाधिसमेत दिएको छ ।
रुकुम आसपासमा गाइने ख्याली परिवारभित्रका विभिन्न भाकामा उनले स्वर र शब्द उनेका छन् । ‘मुसकोट टटेलामा पँधेर्नीको लाम छ, तर्केर जाने मायालाई सलाम छ’ बोलको गीत २०४२ सालमा पहिलोपल्ट रेकर्ड गराएको सम्झिँदै शाह आफूले हालसम्म करिब पाँच सय गीतमा शब्द र भाका संकलन एवं स्वर भरेको बताउँछन् । यस भेगमा प्रचलित विभिन्न लोक भाकाहरूमध्ये सिंगारु, पैसेरु, टप्पा, ठाडी भाका, साइलो जी र सोरठी ख्याली लोक परिवारभित्र पर्ने उनको भनाइ छ । ‘यससँगै
झ्याउरे र लोक भजन पनि हाम्रोतिर चर्चित छन्,’ उनले भने, ‘यी भाकाहरूभित्र पनि गाउँठाउँ विशेष फरक–फरक लय र विभिन्न हाँगाबिँगा छन् । यसको गहिरो अध्ययन जरुरी छ ।’
कर्णाली क्षेत्र ख्याली परिवारभित्रका मौलिक भाका र लोक संस्कृतिको खानीका रूपमा रहेको बताउँदै शाहले यसको उद्गमस्थल जुम्लाको सिञ्जा भएको बताए । त्यहीँबाट विकास तथा विस्तार हुँदै सुर्खेत, जाजरकोट, सल्यान र रुकुमसम्म यस प्रकारका गीतसंगीतको लहरो फैलिएको उनको बुझाइ छ । यहाँका मौलिक भाका अरू गीतजस्तो झट्टै नक्कल गर्न र बिगार्न नसक्ने बताउँदै शाहले २०४२ सालयता विभिन्न बेलामा आफ्नै शब्द संकलन, लय र स्वरमा रहेका केही मौलिक गीतका मूल शब्द यसरी सुनाए ।
ख्यालीः ‘जोगिनी मालभोगी केरा हाल दाजु अर्कल, रसी माया बसी लाउला भेट भयौं भर्खर ।’
सिंगारुः ‘उत्तरतिर सिस्ने हिमाल रुकुम कमल दह, पोखे पनि सकिँदैन यो मनको बह ।’
टप्पाः ‘मसीकोट साईकुमारी जुम्ला चन्दननाथ, माया लगाऊ मेरो हजुर बसौं एकैसाथ ।’
ठाडी भाकाः ‘रातामाटा पीपलनेटा सल्ले सेरिगाउँ, माया मेरो हत्केलीमा लेख्छु तिम्रो नाउँ ।’
यस प्रकारका मौलिक शब्दमा संगीत भरेर रेकर्ड गराएका शाह आफूले योसँगै करिब ५ सय बढी गीतमा स्वर, शब्द र संगीत भरेको बताउँछन् ।
यस्तै यहाँका अर्का चर्चित कलाकार हुन् तिलक परियार । ३३ वर्षका परियारले विसं २०६७ मा ‘गलीमा लाउने गली ठुमरा, कानैमा लाउने सुनकै भमरा’ बोलको सिंगारु गीतमा गायिका देवी घर्तीसँग स्वर दिएपछि उनको गायकीको व्यापक चर्चा भयो । लक्ष्मण ओलीले गरेको यो गीतको शब्द संकलनमा परियारले नै भाका चुनेका थिए । यसअघि नै केही गीत गाइसकेका परियार रुकुमका मौलिक गीत–संगीत संरक्षणमा जुटेका उम्दा कलाकार हुन् । उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य पनि छन् ।
 अहिले मौलिकभन्दा पनि व्यावसायिक गीतको बाढी आएकाले बजारमा बिक्ने गीतका कारण लोककला र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएको कलाकार परियारको बुझाइ छ । ‘हामीले सुनको भमरा ल्याएपछि मौलिक गीतको बाढी नै आयो । खासगरी दसैं–तिहारताका हामीले लोक सिर्जनामा जोड दियौं,’ उनले भने, ‘तर एउटा निश्चित भूगोल र समुदायको प्रतिनिधित्व गर्ने र उनीहरू नै रम्ने भएकाले हाम्रा गीतले राष्ट्रिय चर्चा पाउन भने सकिरहेको छैन ।’
‘माछी खेल्ने तालको पानीमा, जान्छ बैंस फर्केर आउँदैन लाम त माया जिन्दगानीमा’ बोलको झ्याउरे भाकामा स्वर दिएर सांगीतिक बजारमा झुल्किएकी रुकुमकै अर्की कलाकार हुन् राधा बीसी डाँगी । ३७ वर्षीया डाँगीले पनि यस भेगका विभिन्न मौलिक भाकामा स्वर दिएकी छन् । श्रीमान् रमेश डाँगीसँगको सहकार्यमा ‘माया जाने रुकुमको मुसीकोट’ बोलको लोक गीत र त्यसपछि जय देवकोटासँगको सहकार्यका ‘गुवालाले भैंसी लैगो निगालपानी भीरमा, कताबाट आउनुभयो रंगी रुमाल शिरमा’ बोलको सिंगारु भाकामा पनि स्वर भरिन् । श्रीमान् रमेशको लय तथा शब्द रहेको योसँगै अरू पनि विभिन्न गीतमा काम गरेको डाँगीको भनाइ छ । उनले भनिन्, ‘हाम्रा स्थानीय भाकाहरू नै त हाम्रा परिचय हुन् । तर यिनको संरक्षण गर्ने कुरामा हामी कलाकारकै मिहिनेत पुगेको छैन ।’
 २०६२ सालदेखि व्यावसायिक रूपमा संगीत यात्रा थालेका यहाँका अर्का कलाकार हुन् किरणबाबु पुन । ‘माया छ यो मनमा’ बोलको लोक गीतमा विष्णु माझीसँग स्वरमा सहकार्य गरेका पुन पनि निरन्तर लोकसंगीत जोगाउन लागिपरेका पछिल्लो पुस्ताका एक हस्ती हुन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जन्मेका पुनले १ सयभन्दा धेरै मौलिक गीतमा शब्द, संगीत र स्वरमा काम गरेको बताए । ‘गाउँघरका मेलापात र चाडपर्वमा गाइने भाकाहरू नै हामीले रेकर्ड गर्‍यौं । यसले गर्दा एकातिर ती गीत–संगीतको संरक्षण भयो अर्कोतिर हाम्रो परिचय र सांगीतिक सक्षमताको वृद्धि विकासमा सहयोग पुग्यो ।’
 पुनले आफ्नै शब्द, संगीत र स्वरमा सिंगारु गीत ‘सुन मैना, बुबाको शब्द संकलनमा गायिका टीका पुनसँगको स्वरमा सहकार्य गरेर अर्को सिंगारु भाका ‘तमाख्या ओइरागी’ का साथै आफ्नै शब्द संकलन र स्वरमा ‘हाय कान्छी कलिलै’ र ‘तम्रा–हाम्रा पिरिम’ बोलको सिंगारु भाका पनि बजारमा ल्याएका छन् । उनले तिलक परियारसँगको सहकार्यमा ‘बास्मती चावल’ बोलको पैसेरु भाकाका साथै ‘साई हजुर’ बोलको टप्पा गीत पनि बजारमा ल्याए । यीलगायतका विभिन्न गीतमा काम गरेका कलाकार पुनले गाएका कैयौं मौलिक भाका रुकुम र आसपासमा खुबै रुचाइन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला केन्द्रीय विभागमा संगीत विषयमा स्नातकोत्तर गरिरहेका पुनले यो क्षेत्रका भाकामध्ये पैसेरु र यससँग सम्बन्धित पक्षका विषयमा शोध अध्ययन गरिरहेको बताए । ‘हाम्रो मौलिक गीत–संगीतको संरक्षणका लागि यसको उत्पत्ति, विकास र अगामी दिनमा गर्न सकिने प्रयासका विषयमा गहन अध्ययन जरुरी छ,’ उनी भन्छन्, ‘सर्जक स्वयंले सिर्जना गर्ने गीतहरू बजारमा छिटो चर्चाको चुलीमा पुग्ने गरेका कारण संकलित सिर्जनातर्फ दर्शक–श्रोताको ध्यान जान सकेको छैन । तर हामीले हाम्रा भाकाहरूतर्फ दर्शक–श्रोताको ध्यान केन्द्रित गर्नका लागि थप मिहिनेत गर्न जरुरी छ ।’ रुकुम र आसपासका गीत संगीतलाई शब्द, स्वर र लयका माध्यमबाट संरक्षणमा जुटेका पछिल्ला पुस्ताका अन्य धेरै कलाकार छन् । लक्ष्मण ओली, भद्र नकाल, अमित परियार, प्रकाश रन्का, तुल देवकोटा, डिल्ली परियार, बलाराम विश्वकर्मा, निर्मल केसी, रमेश डाँगी, अमितबाबु रोका, जमुना सेर्पाली, संगीत सुनाम, यज्ञ ओलीलगायतका कलाकारले पनि विभिन्न मौलिक गीत–संगीत संरक्षण काम गरेका छन् । मौलिक भाका र त्यसमा कथिएका शब्दहरू सबैले सजिलै नबुझ्ने भएका कारण लोकगीत सर्वप्रिय हुन नसक्ने कलाकार अरुण शाह बताउँछन् ।
‘निश्चत भूगोलमा बसोबास गर्ने जाति, भाषा र समुदायको प्रतिनिधित्व गरेर लोकगीत तयार हुन्छन्,’ उनले भने, ‘यसकारण सबैले यसको मर्म नबुझ्न सक्छन् । सबै खोजीनिती गरेर चासोका साथ सुन्ने बनाउन पनि हाम्रो प्र्रयास पुगिरहेको छैन ।’ मौलिक भाका संरक्षण र प्रचारप्रसारका लागि गतिलै ढंगले काम हुन नसकेको अर्का कलाकार जय देवकोटाको भनाइ छ । ‘अहिले अडियो मात्रैले गीत चल्दैन । एउटा गीतको भिडियो बनाउन कम्तीमा २ लाख लाग्छ,’ उनले भने, ‘लाखौं लगानी गरेको गीतले लागत नै उठाउँदैन अनि बजारमा प्रतिस्पर्धा गर्न अरू प्रकारका गीत गर्नुपर्ने बाध्यता छ ।’ लोकसंस्कृतिसँग जोडिएका गीतको संरक्षण र प्रवर्धनमा स्थानीय सरकार र सरोकारवालाले कुनै चासो र चिन्ता नराखेको देवकोटाको गुनासो छ ।

युवा ग्यालरी

अफगानिस्तानमा सोभियत संघको आक्रमण

सन् १९७९ मा आजकै दिन

सन् १९७९ मा आजकै दिन (डिसेम्बर २४) मा सोभियत संघले अफगानिस्तानमाथि आक्रमण सुरु गरेको थियो । अफगान सरकारविरुद्ध मुस्लिम छापामारहरूले आक्रमण तीव्र पारेसँगै कम्युनिस्ट सरकारलाई सहयोग गर्ने बहानामा करिब ३० हजार सोभियत फौज अफगानिस्तान पसेको थियो ।
मोहम्मद दाउद खान नेतृत्वको अफगान सरकारलाई १९७८ को अप्रिलमा नूर मोहम्मद तराकी नेतृत्वको वामपन्थी खेमाका सैनिक अधिकारीले अपदस्थ गरेका थिए । त्यसलगत्तै मार्क्स–लेनिनवादी दुई राजनीतिक समूह पिपुल्स पार्टी र ब्यानर पार्टी मिलेर सरकार सञ्चालन गरेका थिए ।
जनताको निकै कम समर्थन रहेको सरकारले सोभियत संघसँग निकट सम्बन्ध स्थापित गर्दै प्रतिपक्षविरुद्ध दमनमा उत्रेको थियो । त्यसका साथै, बृहद् भूमि तथा सामाजिक सुधारका कार्यक्रम अघि सारेपछि मुस्लिम र कम्युनिस्ट विरोधी जनताले विद्रोह सुरु गरेका थिए ।
जसका कारण, सरकारमा सहभागी पिपुल्स र ब्यानर पार्टी पक्षधरबीच विवाद बढेसँगै सोभियत संघले हस्तक्षेप गरेको थियो । १९७८ मा सुरु भएको अफगान युद्ध १९९२ सम्म चलेको थियो । तर सोभियत संघको सेना भने १९८९ को फेब्रुअरी मध्यसम्म अफगानिस्तानमा रहेको थियो ।

Page 5
समाचार

गठबन्धन बनाउन रणनीति बुन्दै एमाले

जसपासाग तालमेल हुन सके सत्ता गठबन्धनमा विभाजन ल्याउन सकिने एमालेको बुझाइ
- गंगा बीसी

(काठमाडौं)
एमालेले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राख्ने भएको छ । रिक्त १९ सिटमा हुने निर्वाचनमा एमालेले जसपा र राप्रपासँग गठबन्धनका लागि वार्ताको तयारी गरेको हो ।
एमालेले मधेश प्रदेशमा जसपाको सरकारलाई समर्थन जारी राखेको छ । कोशीमा कांग्रेसबाट विद्रोह गरी मुख्यमन्त्री भएका केदार कार्कीको सरकार बनाउन एमालेले भूमिका खेलेको थियो । हाल कोशी सरकारलाई एमालेको समर्थन जारी छ । कार्की मुख्ममन्त्री हुनुअघि एमालेका हिक्मत कार्कीको सरकारलाई राप्रपाले समर्थन गरेको थियो । यही पृष्ठभूमिका आधारमा जसपा र राप्रपासँग राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका लागि प्रयास गर्ने जनाएको छ ।
राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले गठबन्धन गर्न वार्ताको ढोका खुला राखेको बताए । ‘जसपा र राप्रपासँग एक पटक छलफल गर्ने तयारी छ,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनका मतदाताको हिसाब गरी गठबन्धनको प्रयास हुनेछ ।’
जसपा सरकारप्रति असन्तुष्ट भएको मौका पारी एमालेले मधेश प्रदेशलाई केन्द्रित गरी गठबन्धनका लागि वार्ताको तयारी गरेको हो । राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ९ सांसदको पदावधि माघ २० देखि सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), कुमार दसौदी (लुम्बिनी), दीपा गुरुङ (गण्डकी), दिलकुमारी रावल थापा पार्वती (वाग्मती), नरपति लुवार (कर्णाली), भैरवसुन्दर श्रेष्ठ (कर्णाली) र रामचन्द्र राई (वाग्मती) ले बिदा लिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । यस्तै, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपाका १ सांसदको पदावधि सकिँदै छ ।
जसपासँग तालमेल हुन सके सत्ता गठबन्धनमा विभाजन ल्याउन सकिने एमालेको बुझाइ छ । एमाले प्रवक्ता राजेन्द्र गौतमले राष्ट्रिय सभा निर्वाचनमा मतदाताको विश्लेषण गरी रणनीति बनाउने बताए । ‘उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म आवश्यक रणनीति लिइनेछ,’ उनले भने, ‘अहिले नै कोसँग तालमेल गर्ने नीति बनाइसकेका छैनौं ।’ उनले पार्टीका प्रदेश कमिटीले राष्ट्रिय सभा मतदाताको विश्लेषण गरिरहेको बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभा निर्वाचनमा पहिलो तालमेलको सम्भावना सत्ता गठबन्धनसँग भएको बताए । गठबन्धन दलमा बैठक भएपछि राष्ट्रिय सभा निर्वाचनमा तालमेल स्पष्ट हुने उनको भनाइ छ । ‘पहिलो प्राथमिकता गठबन्धनमै रहेर उम्मेदवार दिने हुन्छ,’ उनले भने, ‘सम्मानजनक सिट बाँडफाँट हुनुपर्छ भन्ने मान्यता हो ।’ उनले गठबन्धनमा सिट बाँडफाँटमा समझदारी हुन नसके एमालेसँग छलफल गर्न सकिने बताए । ‘दलहरूबीच छलफल जहिले पनि खुला हुन्छ,’ उनले भने । जसपाबाट प्रमिला कुमारी (मधेश) पदावधि सकिँदै छ । जसपाले १९ मध्ये दुई सिट दाबी गरेको एक नेताले बताए । उसले मधेश र लुम्बिनी प्रदेशबाट दुई सिट दिनुपर्ने बताएको छ ।
राप्रपा महामन्त्री धवलशमशेर राणाले राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी प्रमुख दलसँग वार्ताको ढोका खुलै राखेको बताए । ‘अहिले कोसँग वार्ता गर्ने भन्ने टुंगो छैन । एमालेलगायत दलसँग छलफल गर्न सकिन्छ,’ उनले भने । गठबन्धन दलले एमालेका ९ रिक्त पदलाई भागबन्डा गर्ने तयारी गरेका छन् । गठबन्धन हुन नसके एमालेले १९ उम्मेदवार एक्लै उठाउने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिलेसम्म स्थिति हेर्दा एमालेले एक्लै उम्मेदवार दिने सम्भावना छ । यसको अर्थ अन्य दलसँग वार्ता नै नगर्ने भन्ने होइन,’ उनले भने ।
सत्ता गठबन्धनको भागबन्डा भएपछि मात्र एमालेले आफ्ना उम्मेदवार तय गर्ने जनाएको छ । गठबन्धनको मतभार बढी भएकाले एमालेमा राष्ट्रिय सभा उम्मेदवारका लागि तँछाडमछाड देखिँदैन । सत्ता गठबन्धनमा सहभागी सात दलमध्ये हाल राष्ट्रिय सभामा प्रतिनिधित्व भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीचमा मात्रै साझा उम्मेदवार तय भएमा पनि गठबन्धनको पक्षमा ५१ प्रतिशतभन्दा बढी मत देखिन्छ । करिब ५८ हजार मतभार रहेकामा चार दलीय गठबन्धनको मात्रै ३४ हजार ६ सय ११ मतभार छ । यो भनेको ६० प्रतिशत हो । प्रमुख प्रतिपक्ष एमालेको कुल मतभार १७ हजार २६ छ ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखका लागि १९ मतभार तोकेको छ ।
मंसिर १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको भेटमा वामपन्थी एकताको प्रसंग उठेको थियो । त्यही प्रसंगमा ओलीले दाहाललाई ‘वामपन्थी एकताको वातावरण बनाउने हो भने राष्ट्रिय सभामा मिलेर लडौं(’ भन्ने प्रस्ताव गरेका थिए । तर, दाहालले ‘हाल सम्भावना नरहेको’ प्रतिक्रिया दिए । माओवादीका एक नेताका अनुसार ओलीले गठबन्धन टुटाउने रणनीति अनुसार माओवादी, कांग्रेस, जसपासँग समयअनुसार विभिन्न प्रस्ताव गर्दै आएका छन् । राष्ट्रिय सभा निर्वाचनमा पनि उनले जसपासँग वार्ताको गृहकार्य सुरु गरेका हुन् ।

समाचार

प्रशासकीय अधिकृतलाई पालिकामा टिक्नै सकस

संघीय मन्त्रालयले पठाएका कर्मचारीलाई पालिकाले नमान्ने र त्यहीं कार्यरतलाई निमित्त तोक्दा बेथिति बढ्दो
- शिव पुरी

(रौतहट)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २२ मा जिल्ला समन्वय समिति रौतहटका शाखा अधिकृत ओमप्रकाश यादवलाई यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेर पठायो । पालिकामै कार्यरत सातौं तहका कर्मचारी कविराज राम श्रेष्ठलाई मन्त्रालयले मंसिर १३ मा निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिएको थियो । उनको जिम्मेवारी ८ दिनमै खोसेर मन्त्रालयले यादवलाई अधिकृत तोकेपछि विवाद बढ्यो । यादवलाई कामकाज गराउन असमर्थ रहेकाले फिर्ता पठाइएको भन्दै पालिकाले मन्त्रालयमा पत्राचार गरिसकेको छ ।
वृन्दावन नगरपालिकामा पनि दुई प्रमुख प्रशासकीय अधिकृत भएपछि विवाद बढेको छ । संघीय मन्त्रालयले गत कात्तिक १ मा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि पालिकाको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अधिकृतस्तर छैटौं तहका कर्मचारी रासनारायण पटेललाई जिम्मेवारी दिएको थियो । तर, त्यसअघि नै उपसचिव सुरेन्द्र प्रधानलाई पनि असोज २६ मा मन्त्रालयले जिम्मेवारी तोकेको खुलेपछि विवाद भएको हो । दुवै हाजिर भएपछि अहिले जनप्रतिनिधि र कर्मचारी अन्योलमा परेका छन् । अहिलेसम्म दुवैको जिम्मेवारी कायमै छ । पटेलका नाममा नगरपालिकाको खातासमेत सञ्चालन भइसकेको थियो । प्रधान हाजिर भएपछि कोष तथा नियन्त्रक कार्यालयले पटेलको नामको खाता रोक्का गरेको छ । अहिलेसम्म विवाद सुल्झिन नसकेको अधिकृत प्रधानले बताए ।
संघीय मन्त्रालयले रौतहटमा एकपछि अर्कोलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्न थालेपछि विवाद बढेको छ । जथाभावी सरुवा र खटनपटनले निजामती प्रशासनमा बेथिति झाँगिएको प्रश्न उठिरहेका बेला धमाधम निमित्तको जिम्मेवारी तोक्न थालेपछि स्थानीय तह र मन्त्रालयबीच द्वन्द्व बढेको हो । पछिल्लो समय संघीय मन्त्रालयले नियमविपरीत कर्मचारी खटाउन थालेको यमुनामाई गाउँपालिका अध्यक्ष मोहम्मद साउदले गुनासो पोखे । ‘चलखेलमै प्रमुखको जिम्मेवारी तोक्न थालियो,’ उनले भने, ‘मन्त्रालयले द्वन्द्व र टसल गर्ने काम गरिरहेको छ । कम्तीमा अधिकृतको जिम्मेवारी दिने बेला हाम्रो पनि सहमति लिनुपर्छ ।’ समन्वय समितिका शाखा अधिकृत यादवलाई जिम्मेवारी दिएकामा उनले आपत्ति जनाए । आफूले यादवलाई हाजिर नगराई फिर्ता पठाएको उनले सुनाए । यो नगरपालिकामा एक वर्षयता ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । विवाद गरेकै कारण गाउँपालिकामा हाजिर हुन नगएको यादवले बताए ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन वृन्दावन नगरपालिकामा प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीहरू निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि विवादित बन्दै आएका छन् । यो नगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचनयता पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव २०७९ असार ३ मा यहाँबाट सरुवा भएपछि उपसचिव खिमबहादुर भुजेल हाजिर भएका थिए । ८ महिनामै उनको सरुवा भयो । त्यसपछि मन्त्रालयका उपसचिव ओमप्रसाद पाण्डे पनि २ महिना टिक्न सकेनन् । मन्त्रालयले पटेललाई निमित्तको जिम्मेवारी तोकेपछि विवाद बढेको छ ।
गरुडा नगरपालिकामा एक वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन् । कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जैसवालले कार्यालयकै कर्मचारी कादिर देवानलाई निमित्तको जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गरेका थिए । मन्त्रालयले गौरीशंकर सिंहलाई जिम्मेवारी दिएको छ । केही पालिकामा मन्त्रालयले सरुवा गरेर पठाएका उपसचिवलाई हाजिरै हुन दिइएको छैन ।
संघीय मन्त्रालयका अनुसार रौतहटका १८ वटा पालिकामध्ये १४ वटामा स्वास्थ्य, शिक्षा, प्राविधिकले प्रशासकीय अधिकृतको काम गरिरहेका छन् । रौतहट सबैभन्दा धेरै निमित्तबाट आर्थिक कारोबार सञ्चालन गर्ने जिल्ला भएको मन्त्रालयले जनायो । जिल्लाको चन्द्रपुर, इशनाथ, फतुवाविजयपुर, गुजराबाहेक सबै पालिकामा निमित्तले अधिकृतको काम गरिरहेका छन् । मन्त्रालयले गत फागुन १६ मा सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई रौतहटका गढीमाई, गौर र कटहरिया नगरपालिकामा हाजिर हुन दिएन । यी पालिकामा मन्त्रालयले निमित्तको जिम्मेवारीमा अधिकृतको काम गर्न लगाएको छ ।
संघीय मन्त्रालयका प्रशासन शाखाका उपसचिव भोजराज घिमिरेले रौतहटका स्थानीय तहभित्रको अन्तरद्वन्द्वले समस्या ल्याएको बताए । ‘मेयर, उपमेयर, प्रदेश सांसद, मन्त्रीलगायत धेरै फ्याक्टर जुधेर यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘अहिले हाम्रो पनि बसमा छैन । खासगरी रौतहटमा बढी भद्रगोल देखिएको छ ।’
गौर नगरप्रमुख शम्भु साहले असार मसान्त पारेर मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत फेर्ने काम गरिरहेकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । ‘हामीसित पनि राय–सुझाव लिनुपर्छ, जथाभावी अधिकृत सरुवा गरेकामा हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘स्थानीय तह र मन्त्रालयबीच द्वन्द्व बढाउने काम नहोस् ।’ नगर प्रमुखहरू आफूअनुकूलका अधिकृत ल्याउन मन्त्रालय धाउने क्रम बढेको पाइएको छ । गढीमाई नगरपालिकाका प्रमुख श्याम यादवले मन्त्रालयमा धर्ना कसेर निमित्त अधिकृत नागेन्द्र यादवको ठाउँमा शाखा अधिकृत श्रीदेव यादवलाई जिम्मेवारी तोक्न लगाएर ल्याएका छन् ।
कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले संघीय मन्त्रालयले जसलाई पायो, त्यसैलाई निमित्तको जिम्मेवारी दिँदा रौतहटमा भद्रगोल भएको आरोप लगाए । ‘कुन कर्मचारीलाई पठाउँदा उचित हुन्छ, जिम्मेवारी दिँदा पछि समस्या आउने कुरालाई मन्त्रालयले हेक्का राख्नुपर्छ,’ उनले भने, ‘साता र महिना दिनमै प्रमुख प्रशासकीय अधिकृत फेर्न थालेपछि स्थानीय तहमा बेथिति बढेको हो ।’

Page 6
दृष्टिकोण

कर्पोरेट बलियो कि किसान ?

- सोमत घिमिरे

नयाँ संविधानले संघीयता व्यवस्थित गरेपछि नयाँ ऐनहरू संघीयताको लयमै बन्नुपर्ने हो । संघीयताको तीन तहको पहिलो निर्वाचनपछि प्राथमिकताको कार्यसूची ऐन–नियमावली हुनुपर्ने थियो । किनभने परिवर्तित राज्यको चरित्रको दिशानिर्देश नयाँ ऐनले गर्नुपर्थ्यो । ऐनका नयाँ राजनीतिक मान्यताहरू, रणनीति, संस्थागत व्यवस्थापन र कार्यशैलीसँग जोडिएको चरित्रलाई नयाँ ऐनले व्यवस्थित गर्नुपर्थ्यो । ऐन निर्माण गर्ने नीतिगत काम राजनीतिको प्राथमिकतामा परेन । नयाँ राज्य व्यवस्थालाई पुरानै ऐनद्वारा चलाइयो, जसले गर्दा नयाँ अनुभूति हुन सकेन । संघीय राज्यप्रणालीमाथि नै प्रश्न उठाउने वातावरण तयार भयो । लामो समयपछि भए पनि कृषि ऐन निर्माणको तरखर छ तर प्रक्रियागत रूपमा अत्यन्तै गुपचुप राखेर । संघीय कृषि ऐन बनाउँदा स्थानीय सरकारको सरोकार के हो ? प्रदेश सरकारको चासो के हो ? ऐनमा समेटिनुपर्ने कृषि राजनीतिका पक्षहरू के हुन् ? अझै पनि सार्वजनिक बहस छैन । यस लेखमा कृषिका आधारभूत समस्याहरूको समाधान गर्ने बाटो कस्तो हुनुपर्छ, कस्ता मान्यता ऐनले अँगाल्नुपर्छ भन्नेबारे चर्चा गरिएको छ ।
ऐन केवल कानुनी खेल नभएर निश्चित मान्यतामाथि उभिएको हुन्छ । कृषि ऐन निर्माण प्रक्रियाको नेतृत्व कर्मचारीतन्त्रले गर्नु हुँदैन, राजनीतिक नेतृत्व, संसदीय समिति, विज्ञ–अनुसन्धाताहरूको संलग्नता हुनुपर्छ । तर दुर्भाग्य, नेपालमा ऐन निर्माणको प्रक्रिया यति गुपचुप छ ! कर्मचारीतन्त्रले बनाउँछन्, अरू कसैलाई थाहा हुँदैन । संसद्मा ल्याप्चे लाग्छ । अनौठो छ, सांसदहरूले आफ्नो सार्वभौमिकता खोजेकै छैनन् ! नीति निर्माणको कामलाई फराकिलो बनाउनु अहिलेको आवश्यकता हो ।

राज्यसंरक्षित कृषि
अहिले हाम्रो कृषि एक कोणबाट हेर्दा राज्यसंरक्षित हो कि जस्तो देखिन्छ । उत्पादन, प्रशोधन, औद्योगिकीकरण, बजारीकरणको शृंखलामा हेर्ने हो भने हाम्रो कृषि राज्यद्वारा संरक्षित छैन । राज्यद्वारा कृषिको मूल अर्थ किसानको सामाजिक सुरक्षा, उत्पादन र बजारीकरणको शृंखलामा हो । किसानहरूले सामाजिक सुरक्षा महसुस गर्न पाएका छैनन् । स्थानीय उत्पादन भन्न नसकिने गरी घटेको छ । कृषि उपजको बजारमा निजी क्षेत्रको हालीमुहाली छ । अन्यायमा आधारित बिचौलियाहरू हाबी छन् । आन्तरिक मात्रै नभएर भारत र चीनको सन्दर्भमा पनि हाम्रो कृषि संरक्षित छैन । दुई छिमेकी मुलुक कृषि सेवा र अनुदानका माध्यमबाट उत्पादित कृषि उपजहरू सस्तोमा हामीकहाँ ल्याइपुर्‍याउँछन् । हाम्रो उत्पादन प्रतिस्पर्धी ठहर्नै सक्दैन । कृषि सम्बन्धित एउटा अनुसन्धानमा आजभन्दा पाँच वर्षअगाडि डोल्पा पुग्दा, जहाज चढाएर लगिएको प्याज डोल्पाको उत्पादनभन्दा सस्तो पाइएको थियो । अनि कसरी टिक्छ स्थानीय उत्पादन ? यसो भएको हुँदा राष्ट्रिय रूपमा किसानको सामाजिक सुरक्षा उत्पादन र बजारीकरणको शृंखलामा राज्यको संरक्षण आवश्यक छ । यसैगरी अन्तर्राष्ट्रिय सन्दर्भमा पनि हाम्रो कृषिलाई संरक्षित गर्न जरुरी छ । बाहिरका कृषि उपजहरूको करको दायरा बढाउने, हाम्रो कृषि उत्पादनलाई अनुदान, कृषि सेवा र बजारीकरणमा राज्यले सहजीकरण गर्ने हो भने यो काम गाह्रो छैन । कृषि बजारीकरणको काममा राज्यको उदासिनता होइन, सहकारी अभियान सञ्चालन गर्न जरुरी छ । किसानले उत्पादन गर्छन्, सहाकारीले संकलन र बजारीकरण गर्छन् । सहकारीलाई यो दिशा र ढाँचामा लैजान जरुरी छ । मूल पक्ष के हो भने, उत्पादनभन्दा बाहेक किसानले बजारको पीर गर्न नपरोस् । अहिलेका सहकारीबाट बजारीकरणको काम चल्दैन भने सहकारीहरूलाई पुनःसंगठित गर्न जरुरी छ । किसानको काम उत्पादनको र
बजारीकरणको काम सहकारीको हुनेछ ।

प्रकृतिसम्मत कृषि कि रसायनमा आधारित कृषि
हाम्रो कृषि कुन बाटोको हो, यसको छिनोफानो गर्नुपर्छ । बाहिरकै बीउ, बाहिरकै रसायन प्रयोग गरेर माटो र मानव स्वास्थ्यमा नोक्सानी पार्ने हो कि हाम्रो प्रकृतिको लयमा कृषि गर्ने हो ? मल, बीउ, रसायन, प्रविधि सबै बाहिरको ल्याएर हामीले गर्न खोजेको कृषि कस्तो हो ? यो सबैभन्दा प्रमुख विषय हो । प्रकृतिमाथि मानिसको सर्वोच्चता कृषिका माध्यमबाट लाद्न खोजिएको छ, जुन हाम्रो मौलिक बाटो होइन । रसायनसँग जोडिएर आएको अर्को कथित लोकप्रिय नारा छ— व्यावसायिक कृषि, जसले हाम्रो रैथाने ज्ञान, सीप र प्रविधिलाई सीमान्तमा धकेलेको छ । राज्यले व्यावसायिक किसानको नारा लगाउँदा पारिवारिक खेती गर्ने किसानहरू सीमान्तमा परेका छन् । भारतमा गरिएको एउटा अध्ययनमा साना र सीमान्त ९० प्रतिशत किसानले त्यस देशलाई पालेका छन् । हाम्रो चित्र पनि भारतकै जस्तो हुन सक्छ । हाम्रोमा यस्तो गहन अध्ययन भएको त छैन, तर विश्वकै कुरा गर्ने हो भने ७० प्रतिशत साना, सीमान्त र मध्यम किसानले संसार पालेका छन् । तर जसले संसारलाई पालेको छ, उही सीमान्तमा परेको छ । व्यवसायीकरणको नारा लोकप्रिय छ । रसायनमा आधारित कृषिले आर्थिक लोभका कारण एकल बालीलाई भित्र्याएको छ । उखु, सुर्ती पैसाका लागि रोपिएको छ, तर किसानले ऊखु र सुर्तीको न्यायोचित मूल्य पाउन सकेका छैनन् । माइतीघरमा देखिने प्रदर्शनले धेरै कुरा सिकाइसकेको छ । पहिलो कुरो त, खाद्य संकट बढ्दै गयो भने सुर्तीले पेट भरिँदैन । दोस्रो कुरो, सुर्तीले बजारबाट उचित मूल्य पनि पाउन सकेन । तेस्रो कुरो, हाम्रो जैविक विविधता भरपुर थियो । पारिवारिक खेतीअन्तर्गत अलिकति तरकारी, अलिकति मसला, थोरै फलफूल लगाएर खाद्य सम्प्रभुताको दिशामा अगाडि बढेको थियो । यो दिशालाई विगत ४० वर्षको अभ्यास र व्यवसायीकरणको रटानले भत्कायौं । न व्यावसायिक हुन सक्यो, आयात बढेकै बढेको छ न त हाम्रो मौलिकता बाँकी रह्यो । अबको कृषि ऐनले प्रत्येक परिवारले आफूलाई खान पुग्ने अन्न, तरकारी, मसला, विभन्न जातका फलफूल, दलहन, तेलहन पारिवारिक खेतीका माध्यमबाट उत्पादन गरेको देख्न सक्नुपर्छ । ऐन प्राथमिक रूपमा पारिवारिक खेतीलाई प्रवर्द्धन गर्न सक्ने हुनुपर्छ । सामुदायिक स्तरमा पारिवारिक खेतीलाई जगेर्ना गर्दै व्यावसायिकताको कल्पना गर्न सकिन्छ । मूल सर्त भनेको कृषिमा रसायनको बाटो होइन, कृषि उपज बेच्नका लागि मात्रै होइन । अब आउने ऐनले खानका लागि अन्न, फलफूल, दूध, तेलको संरक्षणको बाटो लिनुपर्छ । अबको कृषि ऐनले लिनुपर्ने मान्यता रसायनरहित जैविक विविधतामा आधारित हुनुपर्छ ।

प्रकृति र संस्कृतिको सन्तुलन
कृषिलाई प्राविधिक कर्मका रूपमा व्याख्या गरिएको छ । कृषि मूलतः स्थानीय कर्म हो । स्थानीय समुदायले आफ्नो संस्कृतिमा आधारित भएर प्रकृतिसँग संघर्ष गर्ने मामिला हो । त्यसो भएको हुनाले कृषिमा विविधता छ । कृषिका सभ्यताहरू आ–आफ्ना विशेषता छन् । हिमाली सभ्यता पशुपालनमा आधारित थियो । मध्यपहाडी आफ्नै संस्कृति छ । मिथिलाको आफ्नो संस्कृति छ । यी सबै कृषि संस्कृतिहरूलाई संरक्षण–प्रवर्द्धन गर्न जरुरी छ । एउटा सभ्यतालाई टिपेर अन्य सभ्यतालाई मास्न खोज्ने अहिलेको बाटोलाई फेर्न जरुरी छ । प्रकृति र संस्कृतिमा आधारित कृषिलाई संरक्षण गर्ने बाटो ऐनले लिनुपर्छ । कृषिको विविधतालाई स्वीकार गर्नुपर्छ । कृषिकर्म पहिचानसँग जोडिएको पक्ष पनि हो ।

कृषि ऐनले संरक्षण गर्नुपर्ने कर्पोरेट कि साना किसान
अहिले विश्वव्यापी रूपमा हेर्ने हो भने बिल गेट्स फाउन्डेसन सबैभन्दा ठूलो क्षेत्रफलमा कृषि कर्म गर्ने संस्था हो । नेपालकै सन्दर्भमा, ठूला घरानाहरू आकर्षित छन्, जसले आफैं जग्गा किनेका छन् । आफैं खेती गरेका छन् । आफैं प्रशोधन गरेका छन् । साना, मध्यम र सीमान्त किसानहरूको उठिबास लाग्ने सम्भावना छ । यसै त उठिबास लागेका किसानहरूलाई यस्ता घरानाहरूले मजदुरमा समावेश गर्न सक्दैनन् । नेपालको औद्योगिकीकरणको प्रक्रियाको ढाँचाकाँचाले अरू उद्योगमा रोजगारी पनि दिन सक्दैन । अनि मानिस सम्पत्तिबाट बेदखल हुन्छ । उत्पादनबाट बाहिर पर्छ । अन्तर्राष्ट्रिय श्रम बजारमा फस्ने चक्कर यही हो । उत्पादनबाट बाहिर परेपछि, सम्पत्तिबाट बेदखल भएपछि अरब, मलेसिया र कतार गुलजार हुने यही कारणले हो । तसर्थ हामीले अहिलेसम्मका पाठहरूबाट सिकेर किटेर भन्नुपर्‍यो— कर्पोरेट होइन, किसान बलियो बनाउने कृषि ऐन । कृषि ऐनले कर्पोरेट बाटो लियो भने, कर्पोरेटलाई शक्तिशाली बनायो भने ठूलो मात्रामा किसानहरू विस्थापित हुन्छन् । त्यो बेलाको भोकमरी, त्यो बेलाको संकट अहिले हामी कल्पनासम्म गर्न सक्दैनौं । बेलैमा सचेत हुन जरुरी छ ।

भूमि व्यवस्थापनको सवाल
नेपाली कृषिको चर्चा गर्दा भूमि व्यवस्थापन प्रमुख पाटो हो । नेपालको कृषियोग्य जग्गा वर्षेनी कति गैरकृषिमा गएको छ, यकिन तथ्यांक छैन । तर ठाडै देखिने के हो भने, उत्पादनयोग्य जमिन बेतोडले सहरी प्रक्रियामा छन् । सहर समथरमा मात्रै बस्न सक्छ भन्ने मान्यताले हामीलाई धेरै समय गाँज्यो । अब हामीले कम उत्पादन हुने क्षेत्रमा सहरीकरणको प्रक्रिया थाल्नुपर्छ । भलै राज्यका लागि अलिकति महंगो पर्न सक्छ, तर हामीसँग अर्को छनोट छैन । बाँझो जग्गालाई सामुदायिक रूपमा प्रयोगमा ल्याउने ढोका खोल्नुपर्छ । जग्गाको एकीकरण गरेर मात्रै सामुदायिकता हुने होइन । जग्गा बेग्लैबेग्लै रहे पनि सहकारी ढाँचाको, प्रयोगको मौलिक ढाँचा विकास गर्नुपर्छ । अन्यथा जग्गाजमिन छोडेर सहर पसेका र विदेश गएकाहरू खेती गर्न फर्किंदैनन् । जो गाउँमा बसेका छन्, उनीहरूकै सामुदायिक प्रयासबाट खेती गर्नेबारे सोचिनुपर्छ ।

कृषिको उचित शासकीय प्रबन्ध
अहिले कृषिका संरचनाहरू किसानका लागि ठूलो भार बनेका छन् । उत्पादन सहजीकरण गर्ने होइन कि शासन गर्ने संस्था बनेका छन् । यो साशकीय भार किसानहरूले बेहोर्नै सक्दैनन् । अबको शासकीय स्वरुपमा कृषिका कर्मचारीहरूलाई वडा तहमा उत्पादन एजेन्टका रूपमा तल लग्नुपर्छ । वडाका कृषि कर्मचारी वडामा बसेर कागजपत्र मिलाउने होइन, किसानसँगै उत्पादनमा सहभागी हुने सहजीकरणको मोडलमा लैजान जरुरी छ । त्यसपछि कर्मचारीहरूको भरपुर प्रबन्ध पालिकास्तरमा हुन जरुरी छ, जसले अनुसन्धान र प्रसारमा काम गरून् । प्रादेशिक रूपमा कृषि नीति, प्रादेशिक अनुसन्धान, प्रसारणमा संस्थाहरूको पुनर्गठन हुन जरुरी छ । उदाहरणका लागि, कर्णाली क्षेत्र शुष्क र अर्धशुष्क क्षेत्र हो । यस्तो क्षेत्रमा उत्पादन बढाउन यस्तै क्षेत्रमा अनुसन्धान गर्ने संस्था चाहियो । यसरी नै आफ्नो प्रादेशिक विशेषताअनुसारका संस्थाहरू निर्माण गर्ने हो । यसका लागि प्रदेशले पहल लिन जरुरी छ । संघीय ऐनले बाटो खोल्नुपर्छ । सफल कृषि देशका अनुभवहरू हेर्ने हो भने सक्षम र प्राविधिक जनशक्ति तल हुनुपर्छ । सिंहदरबारमा साना, सीमान्त र मध्यम किसान नचिन्ने कर्पोरेटसँग मात्रै हिमचिम गर्ने कर्मचारीको अनावश्यक फौज जरुरी छैन ।

सम्पादकीय

जातीय विभेदको पराकाष्ठा

दलितले छोएको औषधि चल्दैन ! यो उहिलेको होइन, अहिलेको कुरा हो । दलित समुदायमाथि गरिएको यस्तो अपमानको पराकाष्ठा मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा देखिएको छ । स्वास्थ्य चौकीकी अनमि तुलसाकुमारी विश्वकर्माले अन्य व्यवहारमा छुवाछूत र अपमान त सहनुपरेकै थियो, पेसागत कामका सिलसिलामा उनले दिएको औषधिसमेत बिरामीलाई चलेन । डेरादेखि कार्यालयसम्म समाजले दिएको यातनाका कारण उनी जागिर नै छाड्ने मनस्थितिमा पुगेकी छन् । कोही व्यक्ति कुनै समुदायमा जन्मेकै आधारमा यसरी अपमान र हिंसामा पर्नुपर्ने अवस्था लज्जाजनक त छ नै, विभेदजन्य कार्यमा जजसको संलग्नता छ, उनीहरू सबै कानुनी कारबाहीका हिस्सेदार हुन् ।
जात व्यवस्थामा आधारित छुवाछूत प्रथा अमानवीय छ । त्यसैले यसलाई कानुनले दण्डनीय बनाएको छ । जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने भनेर मुलुकी ऐनमा लेखिएकै ६ दशक बितेको छ । तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको पनि १७ वर्ष बितेको छ । छुवाछूतलाई समाजबाट निर्मूल पार्न सजाय हुने व्यवस्थासहितको छुट्टै कानुन बनेको पनि १२ वर्ष बितेको छ । कानुन बनेपछि फगत समय बितिरहेको छैन, समाजमा साक्षरता दर वृद्धि भएको छ, उच्च शिक्षा लिनेको संख्या उल्लेख्य छ, सूचना–प्रविधिमा पहुँच बढेको छ तर कतिपय समाजको सोच र व्यवहार कहाँ छ भन्ने बुझ्न मुगुको घटना पर्याप्त छ ।
तुलसाले सामना गर्नुपरेका अपमान र हिंसाका घटनाको फेहरिस्त छ । यी घटना एक दिन, एक साता, एक महिना होइन, झन्डै एक वर्षदेखि हुँदै आएका हुन् । दाङ, तुलसीपुरकी उनी कर्णाली प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति लिएर गत वर्ष माघमा खनैयाँ पुगिन्, तब दुर्व्यवहारको शृंखला सुरु भयो । दलित भएको थाहा पाएपछि डेरामा बस्न समस्या भयो । औषधि त चलेन नै, किनमेल गर्दा छोइन्छ भनेर सामान र पैसा भुइँमा राखेर लिनुदिनुपर्‍यो । सधैं लैंगिक दुर्व्यवहारको त्रासमा समेत रहनुपर्‍यो । असह्य भएपछि सरुवाका लागि तुलसाले पहल गरिन् तर सुनुवाइ भएन । समाजले गरिरहेको दुर्व्यवहारको घटना जब सार्वजनिक भयो, उनी उल्टै असुरक्षित हुनुपर्‍यो । प्रहरी र जनप्रतिनिधिले उद्धार गरेर तुलसालाई सदरमुकाम पुर्‍याएका छन् । सरकारी कर्मचारीले नै यति निकृष्ट व्यवहार सामना गर्नुपर्ने समाजमा सर्वसाधारण दलित समुदायको हबिगत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।
जातका आधारमा हुने छुवाछूतजस्तो अमानवीय व्यवहार नेपाली समाजकै कलंक हो । तुलसा खनैयाँमै पुनःस्थापित हुनुपर्छ । त्यहीको समाजले उनलाई सम्मानपूर्वक काम गर्ने वातावरण तयार गरिदिनुपर्छ । तुलसामाथि जजसले अपमान र हिंसा गरे वा त्यसका लागि प्रयास गरे, तिनीहरू सबैलाई कानुनी कारबाही गर्नुपर्छ । जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछूत वा भेदभाव कार्यमा मद्दत गर्ने, उक्साउने वा त्यस्तो प्रयास गर्नेलाई पनि सजाय हुने भनिएको छ । छुवाछूत वा भेदभावको कसुर गरे दुई महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँ जरिवाना तथा उक्साउने वा त्यस्तो उद्योग गर्नेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा हुने कानुनी व्यवस्था छ । कसुरमा सजाय पाएको व्यक्तिले पुनः उस्तै कसुर गरे दोब्बर सजाय हुन्छ । यस्तो कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
खनैयाँको घटनाले समाजबाट छुवाछूत निर्मूल पार्न अझ धेरै पहलकदमी आवश्यक छ भन्ने देखाउँछ । मानिस साक्षर बन्नुभन्दा सचेत हुनु महत्त्वपूर्ण छ भन्ने पनि यस घटनाले पुष्टि गर्छ । जातीय छुवाछूतविरुद्ध सचेतना अभियान कुनाकन्दरासम्मै पुर्‍याउनुपर्छ । जातीय भेदभावको कुनै घटना भए उजुरी गर्न पीडितलाई प्रेरित गर्नुपर्छ । दबाब र प्रभावमा परेर मिलापत्र गर्नु वा सहनु भनेको छुवाछूतलाई प्रश्रय दिनु हो । जातीय वा अन्य छुवाछूत र भेदभावको मुद्दा सरकारवादी हुन्छ अर्थात् पीडितका तर्फबाट सरकारले नै अदालतमा मुद्दा लडिदिन्छ, पीडितले प्रहरीमा उजुरी दिए पुग्छ । प्रहरीले उजुरी बेवास्ता गर्‍यो भने स्थानीय तह वा दलित आयोगमार्फत पनि अघि बढ्न सकिन्छ । समाजका अगुवा, जनप्रतिनिधि र सिंगो राज्य संयन्त्रको सजग एवं सक्रिय पहलले जातीय छुवाछूत छिट्टै अन्त्य गर्न सकिन्छ, गर्नुपर्छ । समाज विस्तारै आफैं परिवर्तन हुँदै जान्छ भनेर छुवाछूत गर्ने छुट कसैलाई पनि दिनु हुँदैन ।

सम्पादकलाई चिठी

‘सबै सपना पूरा हुँदैनन्’

'ब्रिगेडियर कमान्डरको सपना देखेका चन्द्रबहादुर अटोरिक्सा चलाउँदै' समाचारमा facebook.com/eKantipu बाट लिइएका केही टिप्पणी:

श्रमजीवीलाई सम्मान गरौं र गर्नु पनि पर्छ, तर तत्कालीन माओवादी विद्रोहमा यस्ता अनेक लोभ, लालचबाट धेरै युवा फसेका थिए भन्ने यो एउटा उदाहरण हो ।
– प्रकाशकुमार पटेल

डबल मास्टर्स गरेर पनि म सरसफाइको काम गरिराछु । नबुझ्नेले मलाई पनि इन्सल्ट गर्छ्न, तिमी/तँ भनेर सम्बोधन गर्न खोज्छन् । काम सानो ठूलो हुन्न भन्ने सोचले गर्दा नै म यो काम गरिरहेको छु ।
– लक्ष्मण भण्डारी

श्रमको सम्मान गरौं, गरिखाने मान्छेलाई खिसीटिउरी नगरौं । ठगेर खाने सामन्ती श्रमचोरहरू मुर्दावाद । श्रमिकहरू जिन्दावाद ।
– लीलाबहादुर शाही

शत्रुहरूलाई मार्छु वा मर्छु भनेर योद्धा बन्ने रहर गर्नुभन्दा आफ्नो समाजको सेवा गरेर म मेरो भविष्य कोर्छु भन्नु श्रमजीबीहरूका लागि एउटा अनुकरणीय पाठ हुन सक्छ । जे गर्नुभयो राम्रो गर्नुभयो, अरूले पनि श्रमको सम्मान गरेर प्रेरणा लिन सकून् ।
– रञ्जन पौड्याल

म पनि एउटा यात्री थिएँ, जीवनमा धेरथोर दुःख गरिएकै हो । लालयात्रामा समाहित सबैलाई मेरो अभिवादन । श्रम गर्नु श्रेष्ठ मानव जातिको पहिचान हो ।
– देवबहादुर पुन

ज्यानको बाजी लगाएर लडेको यही हो त नि परिवर्तन, अन्तमा श्रम त गर्नुपर्ने नै रैछ ।
– सुशील परियार

िभ्रष्टाचार गरेर खानेभन्दा श्रम गरेर खानेलाई उच्च सम्मान छ । मैले के पाएँभन्दा पनि देशलाई के दिएँ भन्ने कुरा महत्त्वपूर्ण छ ।
– कृष्ण योङहाङ

सपना देख्नु राम्रो हो, सबै सपना पूरा नहुन सक्छन् । जय श्रमिक जय श्रम ।
– सूर्य बस्नेत

देशमा बसेर घरको खाना खाएर अटो चलाउँदाको खुसी ! राम्रो रहोस् ।
– पवित्रा गेलाल

अटो चलाउनु के नराम्रो भयो त ? काम गरेको त राम्रो हो नि । कुनै पनि काम सानोठूलो होइन, सोचाइमा मात्र भिन्नता हो ।
– नारायण सुवेदी

बिचरा नेता जति ठेक्का गर्नुहुन्छ, कार्यकर्ता जति पेट पाल्न श्रम ।
– तिलक घर्ती

सम्पादकलाई चिठी

किनभने

ढाँट्न पाउँथ्यौं, कुट्न पाउँथ्यौँ
लुट्न पाउँथ्यौँ, मार्न पाउँथ्यौँ
किनभने,
त्यो बेला ‘हाम्रा लागि’ आन्दोलन गर्दै थियौं
अब अहिले त
बोल्न, विरोध गर्न
धर्ना बस्न र आन्दोलन गर्नसमेत
कडाइका साथ निषेध गरिएको छ
खालि–
हामीलाई हेर, हामीलाई सुन
हामीलाई पढ, ज्ञानी बन
किनभने,
सत्तासञ्जाल फिँजाएर
अहिले हामीले
‘देशै हाम्रो’ बनाएका छौं

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

सम्पादकलाई चिठी

जातमा पिसिएको देश

जातीय विभेद मेरो देश विकासका लागि बाधक र समग्र विश्वका लागि गम्भीर र कहालिलाग्दो समस्याका रूपमा खडा भएको छ । विश्वका जतिसुकै विकसित मुलुक हुन् वा हाम्रो जस्तो विकासले पछाडि परेका देश हुन्, जातीय विभेदका कारण समाज विभाजित भएको छ । विकसित देशमा अलग प्रकारको जातीय विभेदले विभाजन निम्त्याएको छ भने हाम्रो जस्ता देशमा जातीय विभेदले समाजलाई अवरुद्ध मात्र बनाएको छैन, समाज विकासको क्रमभंगसमेत भएको छ । जातीय विभेदका कारण हाम्रो समाजमा तिरस्कार, अपहेलना, मानसिक तनाव र शारीरिक असुरक्षाका अनेक घटनाको सामना मान्छेले व्यहोर्नुपरेका छन् । आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न पाए मात्र सबै बराबर भन्ने र आफ्नो अनुकूल समाजमा बस्ने साना जात भनेर हेप्ने, तिरस्कार गर्ने समाजमा अगाडि बढ्न नदिने परिपाटी बनेको छ । सरकार सचेत हुन्थ्यो भने जातीय छुवाछूतका कारण आफ्नो जागिर त्याग्ने सोच बनाएर मानसिक तनाव व्यहोर्दै प्रहरीमा सुरक्षाका लागि जानु पर्दैन थियो होला तुलसाकुमारी विश्वकर्माहरूले । हाम्रो नेपाली समाजमा धनी र गरिबबीच जस्तो सम्बन्ध छ, त्यस्तै कथित ठूला जात र साना जात भन्दै समाजमा आफ्नो हैकम जमाएर बसेका राजनीतिक दलाल र आफूलाई समाजको ठूलो मान्छे हुँ भन्नेहरूले आफ्नो स्वार्थपूर्तिका लागि जातलाई हतियार बनाएका छन् ।
जातीय विभेद अन्त्यसहितको समाज हाम्रो एक दुई पुस्ताले अझै देख्न पाउने देखिँदैन । आफ्नो मन र कर्मबाट सबै बराबर र समाजमा समान हुन् भन्ने चेतना नागरिक स्तरमा र गाउँगाउँसम्म पुग्न जरुरी छ । यसका लागि सबैभन्दा पहिला राजनीतिक इच्छाशक्तिको जरुरत छ भने पालिकामा खुलेका न्यायिक निकायले अब जातीय विभेदविरुद्धमा न्याय दिने वातावरण सिर्जना हुनुपर्छ । मान्छेको मन मस्तिष्कमा जातीय विभेद सामाजिक अपराध हो भन्ने धारणा पुर्‍याउन सक्नुपर्छ । जातीय विभेदविरुद्ध शून्य सहनशीलताको नीति सर्वत्र विकास हुनु जरुरी छ ।

भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

Page 7
अन्तर्वार्ता

'केन्द्रले हात–खुट्टा बाँधिराख्ने हो भने प्रदेशहरू आन्दोलनमा जान्छन्'

मुलुक संघीय संरचनामा प्रवेश गरेको पनि आठौं वर्ष बित्दै छ । यसबीच दुई–दुई पटक निर्वाचन सम्पन्न भएर तीन तहका सरकार बने । नयाा व्यवस्थामा प्रवेश गर्दा केही समय संक्रमणकालीन अवस्थामा गुज्रिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर आठ वर्ष बितिसक्दा पनि प्रदेश सरकार स्वायत्त हुन सकेको छैन । संघीय सरकार सञ्चालकको केन्द्रीकृत मानसिकता नबदलिादा संघीय संरचनामाथि नै प्रश्नहरू उठ्न थालेका छन् । संघीय संरचनाले पूर्ण क्षमतामा काम गर्न नपाउादै यसको स्थायित्वलाई लिएर स्वयं राजनीतिक वृत्तमै पनि आशंका उत्पन्न हुन थालेको छ । प्रदेशलाई संघको शासकीय एकाइजस्तो बनाउने काममा स्वयं केन्द्रका नेता तल्लीन छन् । प्रदेश सरकार चलाउन संघले आवश्यक कानुन नबनाइदिादा प्रदेशका मुख्यमन्त्रीहरू आन्दोलनको मानसिकतामा पुगेका छन् । यही पुस १३ मा हेटाौडामा मुख्यमन्त्रीहरूको बैठकसमेत बस्दै छ । यसै सन्दर्भमा संघीयता, प्रदेश सरकारको प्रभावकारिताजस्ता विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपाने र गंगा बीसीले गरेको कुराकानीको सम्पादित अंश:

कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा आफ्नै पार्टीको नेतृत्वप्रति लक्षित गर्दै 'तपाईंहरूको नालायकीपनले संघीय कानुन बन्न नसक्दा प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको छ' भन्नुभयो नि ?
पहिलो संविधानसभाबाट संघीयतालाई सबै राजनीतिक दलले अपनत्व लिएका हुन् । संघीयता सुरुमा माओवादीको एजेन्डा थियो । मधेशवादी दलहरूले आन्दोलन गरेपछि नै यो सबैको साझा एजेन्डा बन्न पुग्यो । २०७२ असोजमा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएपछि नै अहिलेसम्म दुई–दुईवटा निर्वाचन भए । यसबीच मुख्य राजनीतिक दलहरूका नेतृत्वले पटक–पटक सरकार चलाइसके । तैपनि आवश्यक कानुन बनाई संघीय संरचनालाई अधिकारसम्पन्न बनाएर स्वायत्त रूपमा काम गर्न सक्ने बनाउन कसैले चाहेको देखिएन । राजनीतिक दलहरूका शीर्ष नेताहरू संघीयताप्रति साँच्चै बफादार हुन्थे भने अहिलेसम्म कानुन बनिसकेको हुन्थ्यो । कानुन बनाउन कसैले अड्काएको थिएन । तीन तहका सरकारमध्ये सबैभन्दा बढी प्रदेश सरकारका बारेमा यति बेला टीकाटिप्पणी हुने गरेको छ । तर, हाम्रो अप्ठ्यारो कसले बुझीदिने ? संघीय सरकारले कानुन नबनाइदिएकै कारण संघीयता पूर्ण कार्यान्वयनमा आउन नसकेको हो भन्ने कुरा पहिला सबैले बुझिदिनुपर्‍यो । कतिपय प्रदेशले बनाएका कानुन पनि लागू गर्न पाइएको छैन । संविधानको अनुसूचीमा संघ, प्रदेश र स्थानीय तहका एकल अधिकार र साझा अधिकार जसरी लेखिए, तिनलाई प्रयोग गर्ने सवालमा कानुन निर्माण भएको छैन । संघले कानुन बनाएपछि मात्रै प्रदेशलाई कानुन बनाउन र बनाएको कानुन क्रियाशील गर्ने बाटो खुल्छ । विशेष गरी वनसम्बन्धी कानुन केही प्रदेशले बनाइसकेका छन्, तर कानुन लागू गर्न खोज्दा केन्द्रसँग बाझियो भनेर कार्यान्वयनमा नआएको स्थिति छ । संघले कानुन बनाइसकेपछि कार्यान्वयन गर्ने क्रममा बाधा–अड्चन भयो भने मात्रै फुकाउने कुराहरू हुन्छन् । यसपछि पनि प्रदेश सरकारले काम गर्न सकेन भने मात्रै प्रश्न गर्न सकिन्छ । एकातिर सिंहदरबारको अधिकारलाई गाउँ–गाउँ पुर्‍याउने भन्ने, अर्कातर्फ नेताहरूको मानसिकता केन्द्रीकृत नै हुने विरोधाभास छ । संघले राम्ररी काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा कानुन नबनाएर हेर्ने होइन, कानुन बनाएर परीक्षण गर्ने हो । अधिकार गाउँमा पुग्यो, डेलिभरी दिने सवालमा प्रभावी भयो, जनताको विकासको अपेक्षा पूरा गर्न थाल्यो भने संघीयताले काम गर्ने रहेछ भनेर बुझ्नुपर्छ । सकेन भने मात्रै प्रश्न उठाउने हो । कानुन नबनाइदिने, अधिकार केही नदिने अनि कामको परिणाम खोज्ने ? कसरी हुन्छ ? संघीयताप्रतिको प्रश्न जनताले उठाउँदासम्म ठीकै थियो । जब नेता र सांसदहरू नै बोल्न थाले अनि हामीलाई गम्भीर बनायो । नेता र सांसदहरूले कानुन नबनाइदिने, अनि संघीयताले खै के गर्‍यो भनेर दोष हामीले खाने ?

नेताहरूले कानुन बनाउन नचाहेका हुन् कि, हेलचेक्र्याइँ गरेका हुन् ?
अनौपचारिक अन्तरक्रियामा मैले सबैजसो पार्टीका अधिकांश नेताको मानसिकता केन्द्रीकृत रहेको पाएको छु । आफूले पाएको अधिकार नछाड्ने प्रवृत्ति नेताहरूमा छ । संघीयता त ल्यायौं, तर, अहिलेसम्म नेताहरूको मानसिकताबाट केन्द्रीकृत सोच हटाउन सकिएको छैन । प्रदेश सरकारले द्रुत गतिमा गर्नुपर्ने कामहरू केही नेताका कारण अड्केका छन् । अर्कातर्फ, नेताहरूलाई यो स्थितिमा पुर्‍याउन कर्मचारीतन्त्रको पनि ठूलो भूमिका छ । राजनीतिक दलहरूका नेतृत्वको भन्दा केन्द्रीकृत मानसिकता अझै कर्मचारीतन्त्रमा देखिन्छ । उनीहरूकै कारण नेतृत्व पंक्ति दोधारमा रहेको पाइन्छ । नेताहरूले चाहँदा पनि कर्मचारीका कारण प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउने बाटो थुनिराखिएको हो कि भन्ने पनि देखिन्छ । जस्तो— प्रहरी समायोजनका लागि दुईवटा कानुन बनिसकेका छन् तर प्रहरी नेतृत्वले प्रदेशलाई अधिकार दिन चाहिरहेको छैन । समायोजनका लागि इमानदार हुने हो भने प्रहरी ऐन संशोधन नभए पनि समायोजनसम्बन्धी प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रपतिबाट लालमोहर लाइसकेका दुईवटा कानुनमा प्रसस्त आधार छन् । त्यसमा टेकेर गर्न नसकिने होइन, तर संघीय कानुन नबनेको कारण देखाएर समायोजनमा ढिलाइ गर्ने काम भइरहेको छ ।

हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएर ठूलो धनजनको क्षति भयो । भूकम्पबाट प्रभावित क्षेत्रमा राहत, पुनरुत्थानका लागि प्रदेश सरकारले धेरै नै बल गर्‍यो । तर परिणाममा प्रदेश सरकारको ठूलो भूमिका देखिएन । कानुन नभएरै यस्तो भएको हो ?
अहिले चार–पाँचवटा कानुन नबनाई नहुने अवस्था छ । यति नबन्दासम्म प्रदेश संरचनाले प्रभावकारी काम देखाउन सक्दैन । पहिलो प्रहरी समायोजनकै विषय छ । शान्ति–सुरक्षादेखि सुशासन कायम गर्नसम्म प्रहरीको ठूलो भूमिका हुन्छ । तत्काल प्रहरी समायोजनका लागि नेपाल प्रहरी ऐनको संशोधन हुनुपर्‍यो । प्रधानमन्त्री आफैं ‘लाठीबिनाको पनि सरकार हुन्छ र’ भन्नुहुन्छ, तर अहिलेसम्म प्रदेश सरकारहरू लाठीबिनाकै छन् । जस्तो— सर्वोच्च अदालतले पोखराको फेवातालको अतिक्रमित संरचना खाली गर्न आदेश दिएको छ । काठमाडौंको वाग्मती किनाराको सुकुम्बासीलाई हटाउन त महाप्रलय भएको छ भने फेवाताल किनारमा रहेका झन्डै ५–६ सय संरचना भत्काउन कति गाह्रो होला ? अदालतले आदेश दियो तर प्रदेश सरकारसँग प्रहरी छैन, अदालतको आदेश कार्यान्वयन कसले गर्ने ? हाम्रो आदेशले प्रहरी चल्दैन । धन्न, अहिलेसम्म ठूलो घटना भएको छैन । जाजरकोट र रुकुम पश्चिमकै जस्तो घटना फेरि कुनै प्रदेशमा नहोला भन्न सकिन्न । त्यस्तो विपत्मा तत्काल परिचालन गर्नुपर्ने प्रहरीलाई केन्द्रको आदेश पर्खनुपर्छ । गृहमन्त्रीलाई भन्नुपर्छ । गृहमन्त्रीलाई भनेर प्रहरीको परिचालन गर्ने बेलासम्म परिस्थिति बिग्रिसकेको हुन सक्छ । अनि नजिकको सरकारले गाली खानुपर्छ । गृह मन्त्रालयले समयमा काम गरेन भनेर कराउन जनता पनि गृहमन्त्रीकोमा नभएर हामीसँग आइपुग्छन् । जनता स्थानीय तह र प्रदेश सरकारमा गएर ठोक्किन्छन् । आम जनताले आफ्नो पीर, मर्का र समस्या प्रदेश र स्थानीय सरकारसँगै राख्छन्, संघीयताको यो राम्रो पक्ष हो, तर आम जनअपेक्षाअनुसार काम हुन नसकेपछि गाली गरिने पनि हामीलाई नै हो ।
दोस्रो, निजामती ऐन पारित गर्नुपर्‍यो । कतिपय प्रदेशले निजामती ऐन बनाए पनि कार्यान्वयनमा जान बाधा–अड्चन देखाइएको छ, संघीय कानुन नआएका कारण कार्यान्वयनमा जान नसक्ने भनिएको छ । कर्मचारी संघीय सरकारले पठाएको हुन्छ । उनीहरूको उत्तरदायित्व प्रदेशप्रतिभन्दा संघीय सरकारप्रति नै हुन्छ । मेरो लागि उहाँहरू दुई दिनका पाहुना, उहाँहरूका लागि म पनि दुई दिनको पाहुनाजस्तो स्थिति छ । यसले गर्दा प्रदेश सरकारको निर्देशन माने पनि हुने, नमाने पनि हुने अवस्था छ ।
तेस्रो आवश्यक शिक्षा ऐन हो । स्थानीय र प्रदेशमा शिक्षा ऐन नहुँदा समग्र शैक्षिक क्षेत्र नै अन्योलग्रस्त छ । शिक्षकलाई कसले सार्ने, कसले परिचालन गर्ने, माध्यमिक र आधारभूत शिक्षाका लागि कसले गरिदिने हो ? यसले शैक्षिक क्षेत्र डामाडोल छ ।
चौथो नभई नहुने जग्गाप्राप्तिसम्बन्धी कानुन पनि छ । सार्वजनिक जग्गालाई आवश्यकता र औचित्यका आधारमा लिजमा दिन सक्ने गरी प्रदेश सरकारलाई जग्गाप्राप्तिको अधिकार दिइनुपर्छ । जस्तो, गण्डकी प्रदेशमा सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउने मन छ । त्यसका लागि केही विदेशी दातृसंस्था र नेपाल व्यवसायीहरू इच्छुक पनि छन् । उनीहरू ‘हामीलाई जग्गा उपलब्ध गराइदिनुहोस्, अस्पताल चलाउँछौं’ भन्न आएका छन् । कतिले ‘जंगलमा रिसोर्ट खोल्छौं’ भन्नुहुन्छ । उद्योगपतिहरू आएर ‘यो प्रदेशमा यो उद्योग चलाउनुपर्‍यो, जग्गा चाहियो’ भन्नुहुन्छ । तर, हामी कसैलाई जग्गा दिन्छौं भन्न सक्ने स्थितिमै छैनौं । हामीले चाहेअनुसार गर्न सकिने अवस्था नै भएन । संघले नै प्रदेशलाई बाँधेर राख्ने काम भएको छ ।

राजनीतिक दलहरू र कर्मचारीतन्त्रको नेतृत्वले नै खासमा संघीयता कार्यान्वयनको चाहना राखेको छैन भन्ने तपाईंको निष्कर्ष हो ?
एक हिसाबले नेता र कर्मचारीको यसमा स्वार्थ मिलेको छ पनि भन्न सकिन्छ, तर सबैलाई सामान्यीकरण गर्न मिल्दैन । अधिकांश राजनीतिक दलका नेता र अधिकांश कर्मचारी तल अधिकार दिन चाहँदैनन् भन्ने देखियो । शक्तिको अभ्यास आफैंले गरौं भन्ने मानसिकता छ । राजनीतिक नेतृत्वको कमजोरीका कारण पनि यस्तो भएको हुन सक्छ । बलियो राजनीतिक नेतृत्व कर्मचारीको केन्द्रीकृत स्वार्थलाई क्रस गरेर अघि बढ्न सक्छ । त्यस्तो अवस्था कुनै राजनीतिक दलको सरकार बन्दा पनि देखिएन । संघीयतालाई बलियो बनाउँछु भनी मनैदेखि कुनै प्रधानमन्त्रीले राजनीतिक निर्णय गरेर अघि बढ्ने सामर्थ्य देखाउन सक्नुभएको छैन । त्यसैले मैले नेताहरूलाई तपाईंहरूको नालायकीपनका कारण हामीले गाली खाइरहनुपरेको छ भन्न थालेको हुँ ।

कानुनको अप्ठ्यारोकै कारण तपाईंहरूले काम देखाउन नसक्नुभएको हो कि यो मुलुकमा संघीयता आवश्यक छैन भन्ने सन्देश दिन खोजिँदै छ ?
पहिला कानुनी अड्चन फुकाइसकेपछि मात्रै व्यावहारिकताको कसीमा परीक्षण हुने अवस्था हुन्छ । व्यावहारिक कठिनाइ पनि पर्न गयो भने त्यसलाई फुकाउने उपाहरू पनि हुन्छन् । उपाय खोज्दा पनि काम लागेन भने मात्रै संघीयता नै ठीक रहेनछ कि भनेर निचोडमा पुग्न सकिएला, त्यसपछि मात्रै पुनर्विचार गर्न सकिन्थ्यो । तर अहिले त प्रदेशहरूले सामान्य अधिकार पनि प्रयोग गर्न पाएका छैनन् व्यवहारमा कुनै समस्या पर्छ कि पर्दैन भन्नेमा प्रवेश नै गरिएको छैन । संरचनागत सुधार गर्ने र खर्च घटाउने थुप्रै ठाउँ छन् । संघमा आवश्यक नपर्ने कतिपय कार्यालय अझै पनि प्रदेशमा झर्न सकेका छैनन् । जस्तो— कम्पनी रजिस्ट्रारको कार्यालय किन राजधानीमा राख्ने ? किन सातवटै प्रदेशमा नलैजाने ? मलाई भेट्न आउने उद्योग–व्यवसायीहरूले ‘हामी कम्पनी रजिस्ट्रार र नवीकरणको सामान्य प्रक्रियाका लागि पनि काठमाडौं धाइराख्नुपर्‍यो’ भनेर गुनासो गर्नुहुन्छ । यति गर्न पनि संघ सरकार तयार छैन । विकास योजनाका कामबाहेक जनतालाई डेलिभरी दिने, सुशासन कायम गर्नेजस्ता कामहरू प्रदेशले गर्न नसक्नुमा कानुनकै अभाव हो, अरू कुनै कारण छैन । संघले दिने बजेटमा पनि ससर्त अनुदान र विशेष अनुदानको प्रबन्ध राखिएको छ । केन्द्रले दिएको बजेट विभिन्न क्षेत्रमा विनियोजित गर्न केन्द्रसँग स्वीकृत लिनुपर्ने व्यवस्था अहिले पनि छ । अनि कसरी प्रदेश सरकारले आफ्नो काम देखाउन सक्छ ? यसले एकातिर प्रक्रियालाई थप झन्झटिलो बनाएको छ, अर्कातर्फ असोजमा हुनुपर्ने काम अहिलेसम्म सुरु पनि नहुने स्थिति छ । साउनबाट बजेट क्रियाशील हुन्छ । भदौ–असोजमा बाँडफाँट हुन्छ । बाँडफाँटपछि सीधै ठेक्कापट्टातिर जानुपर्थ्यो । तर, केन्द्रसँग अनुमति लिनुपर्ने अवस्थाले ढिलाइ हुने गरेको छ ।
अन्तर प्रदेश मुख्यमन्त्रीको बैठकमा सत्रबुँदे मागपत्र राखेर मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउनुभएको थियो । तीमध्ये अहिलेसम्म कति कार्यान्वयनमा आए ?
त्यसमा प्रत्यक्ष देखिने गरी कुनै काम अघि बढेको छैन । कुनै काम तीन महिना, कुनै छ महिनाभित्र सक्ने भनिएको थियो । ढिलोमा छ महिनाभित्र सक्ने उल्लेख थियो । जस्तो— कार्य विस्तृतीकरण काममा केन्द्रले एउटा कार्यदल बनाएर सबै प्रदेशमा छलफल गर्‍यो । त्यसबाहेक कुनै काम अघि बढेको छैन । आवश्यक कानुन छ महिनाभित्र बनाउने भनिए पनि बनेको छैन । बैठकका निर्णयहरू, प्रधानमन्त्रीको उपस्थितिमा भएका समझदारी कार्यान्वयनको अवस्था के हो भन्नेबारेमा मुख्यमन्त्रीहरूको पुस १३ गते हेटौँडामा अर्को बैठक बस्दै छ । हामी कसरी अघि बढ््ने, त्यही बैठकबाट एउटा निष्कर्षमा पुग्छौं ।

मधेश प्रदेश सरकारले तपाईंले भनेजस्तै प्रदेशलाई अधिकार दिने सवालमा अल्टिमेटम नै दिएको छ । संघीय सरकारले माग पूरा नगरे आन्दोलनमा उत्रने भनेको छ । अब मुख्यमन्त्रीहरू संघीय सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बाध्यतै आएको हो ?
आन्दोलन गर्नुपर्ने अवस्था मुलुक र हामीले ल्याएको व्यवस्थाका लागि ठीक होइन । तर, आठ वर्ष बितिसक्दा पनि केन्द्रले हातखुट्टा बाँधेरै राख्ने हो भने हामीसँग अर्को विकल्प पनि छैन । अब कसरी जाने भन्नेबारेमा पुस १३ को मुख्यमन्त्रीहरूको बैठककले एउटा निष्कर्ष निकाल्छ । मैले नेताहरूलाई भन्दै आएको के हो भने, ‘तपाईंहरूलाई संघीयताप्रति मोह छैन, नचाहेको हो भने प्रस्ट भन्नुहोस्, पुनर्विचार गरेर के गर्ने हो स्पष्ट पार्नुहोस् । होइन भने संघीय सरकार, सांसद र राजनीतिक दलहरू कानुन बनाउन नलाग्ने, काम नगर्ने, अनि हामीले गाली खाइरहनुपर्ने ?’ अब हामीले नेताहरूसँग निर्णायक कुरा गर्नुपर्छ । हामीले राखेका मागहरू पूरा होलान् भनेर तीन महिना कुर्‍यौं, छ महिना कुर्‍यौं, कम्तीमा शतप्रतिशत नभए पनि पचास वा चालिस प्रतिशत काम हुँदै गएको भए नेपालको काम यस्तै हो, सुरुआत भएको छ, अर्को छ महिना धैर्य गरौं भन्न सकिन्थ्यो । तर, यहाँ त लक्षणै देखिएन । त्यसैले हामीलाई ‘या त कानुन बनाऔँ, या संघीयता नै खारेज गर’ भन्नुपर्ने अवस्थामा पुर्‍याइँदै छ । हामीलाई यो बाध्यतामा पुर्‍याइनु प्रणालीका लागि राम्रो होइन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई अगाडि राखेर नै मैले भनेको छु– ‘यो संघीयता ल्याउनमा देन तपाईंकै हो, यसमा दुई मत छैन । तपाईंको पालामा पनि कानुन नबन्ने र अधिकारसहितको संघीयता लागू नहुने हो भने अरू कसैको पालामा हुन सक्दैन ।’ नेताहरूको भनाइ, मानसिकता त हामीले बुझिरहेका छौं नि ! बच्चा जन्माउने मान्छेलाई त बच्चाको माया रहेन भने अरूले दूध खुवाएर हुर्काइदेला भन्ने विश्वास अब रहेन ।

दाहाल सरकारले पनि कानुन बनाएर प्रदेशलाई अधिकारसम्पन्न बनाउन सकेन भने संघीयता नै जान सक्छ भन्ने तपाईंको निष्कर्ष हो ?
प्रचण्डजीले गर्नुभएन भने अरु कोही आए पनि प्रदेशले अधिकार पाउँछ भन्ने मलाई लाग्दैन । प्रचण्डजीले नगरे पनि अरू आएर बनाइदेलान् भन्ने विश्वास मलाई चाहिँ छैन । जो संघीयताका लागि त्यत्रा मान्छे मर्ने–मार्ने खेलमा लाग्यो, उसैलाई चिन्ता नहुने हो भने अरू पार्टीका नेताहरूले गर्लान् भनेर के आशा गर्नु ? संविधानमा लेखिएकै कारणले मात्रै हामीले संघीय संरचना मानरिहेका छौं कि, व्यवहारमै कार्यान्वयन गर्न खोजिँदै छ भन्ने परीक्षण अब हुन्छ । यसमा मैले हाम्र्रै पार्टीका नेताहरूसँग पनि स्पष्ट हुनुपर्छ भनेको छु ।

संघीयता र गणतन्त्रको विरोधमा सडकमा समेत स्वरहरू सुनिन थालेका छन् । अर्कातर्फ वैकल्पिक पार्टीका नेताहरूले पनि संघीयता राजनीतिक दलहरूका नेता व्यवस्थापन गर्ने थलो मात्रै भयो भनेर टिप्पणी गरिरहेका छन् । तपाईंकै पार्टीका एक जिम्मेवार नेताले त चैतमा संविधान जाँदै छ भनेर सार्वजनिक रूपमै बोलेका छन् । संघीयता फाल्न कतै सबै राजनीतिक दलको गठजोड त हुँदै छैन ?
मैले यी सबै कुरा संघीयता मन नपराएका कारणले होइन, बाध्यताका कारण भनेको हुँ । सबै नेताले आफ्नो करिअरका बारेमा चिन्ता गर्छन् । राजनीतिक नेतृत्वले प्रभावकारिता देखाउन सकेन भने ऊ लायक गनिँदैन । एउटा मुख्यमन्त्री नालायक हुने स्थितिमा कसरी पुग्दै छ भनेर मैले आम जनतालाई भन्नुपर्ने बाध्यता भएर यी सबै कुरा भनिरहेको हुँ । म जुन परिस्थितिमा प्रदेशको नेतृत्व सम्हाल्न पुगें, त्यहाँ गइसकेपछि केही गर्न सकिएला भन्ने सोच थियो । आफ्नो क्षमताअनुसारको काम देखाउन नसक्ने हो भने म जनताको अगाडि नालायक हुन्छु । म यो स्थितिमा कसरी पुग्दै छु भनेर जनतालाई भन्नुपर्ने भएर भनेको हुँ । तर, सैद्धान्तिक रूपमा संघीयता खराब होइन । खराब बनाउने काम नेताहरूले गरेका हुन् ।

प्रदेश सरकार खर्चिलो भयो, सफल भएन, त्यसकारण यसको औचित्य छैन भन्ने प्रश्नहरू उठिरहेका छन् नि ?
प्रदेशसभामा जति सदस्य हुन्छन्, त्यसको २० प्रतिशत मात्र मन्त्रालय बनाउन सकिने संवैधानिक प्रावधान छ । त्यो बढी भयो कि कम, बहस गर्न सकिन्छ । गण्डकीमा ६० प्रदेश सदस्य छन्, त्योअनुसार १२ मन्त्री नियुक्त गर्न सकिन्छ । तर मैले ७ मन्त्री बनाएर काम गरिरहेको छु । थोरै मन्त्री भएका कारण काम हुन सकेन भने बढाउने ठाउँ छँदै छ । काम चल्छ भने किन मन्त्री बढाउने ? हामी आफैंले पनि प्रदेश सरकारको खर्च कम गर्नेबारे सोचिरहेका छौं । प्रहरी समायोजन भयो भने त्यसका लागि छुट्टै मन्त्रालय चाहिन सक्छ । अहिले आन्तरिक मामिला मन्त्रालय आफैंले राखेको छु । संघीयता हुनुअघि करिब ४,००० गाविस थिए । त्यस बेला गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षले भत्ता लिएकै थिए । अहिले ७५३ पालिका छन् । अहिले प्रदेश सरकारको खर्च धेरै भयो भन्ने हो भने त्यस बेला ठूलो खर्च भएको थिएन र ? मैले हिसाब गर्दा, करिब ७० वडामा हुने बराबर खर्च गण्डकी प्रदेश सरकारको छ । हाम्रोमा करिब ६०० वडा छन् । संघीयता हुनुअघि पाँचै विकास क्षेत्रमा निर्देशनालय थिए, क्षेत्रीय कार्यालय थिए । ती कार्यालयमा सरकार संयन्त्र थियो, त्यस बेला पनि ठूलै खर्च थियो । कतिपय संघका कार्यालय प्रदेशहरूमा छन् । संघका जुनजुन कार्यालय प्रदेशमा आवश्यक छैनन्, तिनलाई हटाउन सकिन्छ । प्रदेशका कतिपय कार्यालय जिल्लामा छन्, ती हटाएर खर्च घटाउन सकिन्छ । प्रदेशका केही कार्यालय स्थानीय तहलाई दिन सकिन्छ । विगतमा क्षेत्रीय कार्यालयहरूले गर्ने काम हाम्रा प्रदेश मन्त्रालयले गरेका छन् । सबै पाटोलाई हेर्ने हो प्रदेशमा ठूलो खर्च भएको छैन, हल्ला मात्र मच्चाइएको छ । त्यो गलत हो । गएको पाँच वर्ष र हालको अनुभवले प्रदेशको खर्च घटाएर प्रभावकारी काम गर्न सकिन्छ भन्ने देखाएको छ ।

प्रदेशको काम प्रभावकारी नहुनुको कारणचाहिँ के हो ?
केन्द्रबाट निर्देशन दिएर हुने काम र प्रदेशबाट आफ्नै आँखाले देखेर काम गराउँदा पक्कै पनि फरक पर्छ । संघीय मन्त्रीले निर्देशन दिनु र म मुख्यमन्त्रीले आफ्नै आँखाले देखेर काम गराउनुमा फरक छ । काम भएको छ तर कानुनी अड्चन– लगायत कारणले केही समस्या भने छन् । प्रदेश र स्थानीय सरकारले गरेका काम प्रभावकारी हुँदै अएका छन् । प्रदेश सरकारले काम गर्दै जाँदा धेरै कुरा बुझिन्छ र राम्रो गर्न सकिन्छ ।

प्रदेश सरकार बनेर काम गर्न थालेको बल्ल छ वर्ष भयो, प्रदेश सरकारको कामको परीक्षण हुन अझै बाँकी छ भन्ने तपाईंको भनाइ हो ?
हो । अहिले जसरी संघीयताका बारेमा प्रश्न उठाइएको छ, संघीयतालाई जोडेर व्यवस्थामाथि प्रश्न उठाइएको छ, मुलुकमा गणतन्त्र स्थापना भएपछि राजावादीहरूले मुलुकमा राजा चाहिन्छ भन्ने अवस्था थियो र ? हिन्दु धर्म राज्य चाहिन्छ भनेर आवाज उठ्न थाल्यो । यसमा धार्मिक सेन्टिमेन्ट पनि थियो । त्यसपछि संघीयता काम लाग्दैन भन्ने कुरा उठाइयो । अहिले आएर राजा चाहिन्छ भन्ने माग हुन थाल्यो । सुषुप्त रूपमा आवाज चर्को भएर आउन थाल्यो । संविधान जारी भएपछि असहमत समूहहरू आफ्नो असहमति एक्लाएक्लै मनमा राखेर बसेका थिए । अहिले ठूलो स्वर भयो । समयमै संघीयतालाई कार्यान्वयन गर्न अघि बढेनौं, आवश्यक कानुन निर्माण गरेनौं, जनतासँग वाचा गरेका कुराहरू दिन सकेनौं भने यो असन्तुष्टि अझै बढ्छ । यसबाट जसले यो संविधानलाई उल्टाउन खोजेका छन्, तिनलाई फाइदा हुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले हिन्दु धर्मको विषयमा बहस गर्न सकिने बताइसक्नुभएको छ । कांग्रेस पनि हिन्दु धर्मबारे बहस गर्न तयार हो ?
सभापतिजीले भनेको चितवनको कार्यक्रममा हो । त्यहाँ म आफैं पनि थिएँ । गणतन्त्रबारे प्रश्न छैन, राजतन्त्र आउनै सक्दैन । धर्मका बारेमा धेरै कोणबाट कुरा आएको छ । यसमा सबै पार्टी मिलेर छलफल गर्न सकिन्छ भन्नुभएको हो । छलफल गर्न सकिन्छ भनेपछि केही न केही कुरा त छ । यदि हामीले संघीयतालगायतका विषयमा राम्ररी काम गर्न सकेनौं भने जनआक्रोश बढाउने तत्त्वहरू झन् सक्रिय हुनेछन् ।

गठबन्धनमा रहेका दलहरूका आ–आफ्ना स्वार्थ हुने भएकाले सरकार चलाउन कति गाह्रो भइरहेको छ ?
गठबन्धनका कारण मलाई काम गर्न केही अप्ठ्यारो छैन । माओवादी, एकीकृत समाजवादी र हाम्रो पार्टी कांग्रेसको सरकार छ । गण्डकीमा प्रतिपक्ष दलले पनि अप्ठ्यारो पारेको छैन । प्रदेशको समृद्धि, संघीयतालाई कार्यान्वयन गर्ने सवालमा प्रतिपक्ष सहयोगी नै भएको छ ।

संघीय सरकारमा मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा चलेको छ, प्रदेशमा पनि यसको हावाले छोएको हो कि, सरकार चलाउन गाह्रो परेर हो ?
हामीले सुरुमै, सरकार बनाउने बेला एक वर्ष हेरौं भनेका हौं । एक वर्षपछि कार्यक्षमताका आधारमा वा आलोपालो मन्त्री बन्न छलफल गरेका थियौं । संघमा नभए पनि हाम्रो प्रदेशको अवस्था हेरेर मन्त्रिपरिषद् हेरफेर हुन सक्छ ।

संघ सरकारको एक वर्ष र तपाईं मुख्यमन्त्री भएको आठ महिनाको कार्यकालाई कसरी मूल्याकंन गर्नुहुन्छ ?
प्रधानमन्त्री आफैंले भनेजस्तो काम नभएको बताउनुभएको छ । उहाँले निर्देशन दिए पनि राज्यका संयत्रले काम नगरेको भनेजस्तै प्रदेशको अवस्था पनि त्यस्तै हो । मैले मुख्यमन्त्री हुने बेला जे प्रतिबद्धता गरेको थिएँ, त्यसमा म आफैं पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छैन । यसका कारण छन्, प्रदेशले भनेजस्तो काम गर्न नसक्नुमा कानुनी जटिलता रहे । अनुगमन गर्ने संस्थाहरूको पनि ढिलासुस्ती छ । अर्को, हाम्रो कर्मचारी संयन्त्रको इच्छाशक्ति कमजोर छ । प्रदेशमा संघबाट गएका कर्मचारी काजमा आएको भन्ने मानसिकता छ । समय कटाउने भने जस्तो छ । स्रोतसाधनको अभाव छ । सुरुमा मुख्यमन्त्री हुँदा १ खर्बको बजेट भए भनेजस्तो योजना गर्न सकिन्छ भन्ने लाग्थ्यो, तीन–चार जिल्ला घुमेपछि ३ खर्बजति बजेट भए पुग्थ्यो भन्ने भयो । म ११ जिल्ला पुगेपछि सबैको माग र आवश्यकता हेर्ने हो ५ खर्बको बजेट भए मात्र सम्बोधन गर्न सकिन्छ भन्ने बुझ्दै छु । तर, प्रदेशको आम्दानी जम्मा ५ अर्बजति छ, यो बजेटमा कति काम गर्न सकिन्छ र ?

गण्डकी प्रदेश पर्यटनका लागि प्रख्यात छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि बाहिर उडान हुन सकेको छैन । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उकास्ने विषयमा के गरिरहेको छ ?
हामीले पाएको तथ्यांकअनुसार, यस वर्ष पर्यटकको संख्या गत वर्षभन्दा बढेको छ । पर्यटक आउने क्रम कोभिड महामारीभन्दा पहिलेको जस्तै छ । यो उत्साहजनक कुरा हो । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने हो भने पर्यटकको संख्या अझ धेरै बढ्छ । मुग्लिन–पोखरा सडक निर्माणमा ढिलासुस्तीका कारण पर्यटनमा केही असर परेको छ । हामीले प्रधानमन्त्री र भौतिक योजना मन्त्रीसँग छलफल पनि गरेका छौं । अन्तर्राष्ट्रिय उडानका लागि हामीले प्रयास गरिरहेका छौं । संघ सरकारलाई अनुरोध गरेका छौं । प्रधानमन्त्रीलाई पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छौँ । अर्कातर्फ, पोखराबाट सबै प्रदेशमा उडान गर्न सकियो भने पर्यटन क्षेत्र झन् राम्रो हुन्छ । अरु प्रदेश, विमान कम्पनी र पर्यटन व्यवसायीसँग छलफल गरिसकेका छौं । यसका साथै हामी छिट्टै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौँ ।

Page 8
समाचार

राजनीति र शिक्षाशास्त्र विभाग प्रमुखमाथि प्राप्तांक अनियमितताको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विश्वविद्यालयका उपकुलपतिलगायत विभिन्न निकायमा उजुरी
- सुदीप कैनी

(काठमाडौं)
त्रिभुवन विश्वविद्यालयको राजनीतिकशास्त्र र शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुखमाथि विद्यार्थीको प्राप्तांक हेरफेर र आफूखुसी अंक दिई अनियमितता गरेको आरोप लागेको छ । उनीहरूविरुद्ध प्राध्यापक र विद्यार्थीले नै उक्त आरोप लगाउँदै छानबिन र कारबाहीका लागि माग राख्दै आएका छन् ।
राजनीतिशास्त्र विभागका प्रमुख ईश्वरीप्रसाद कँडेल र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख कविप्रसाद पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विश्वविद्यालयका उपकुलपतिलगायत विभिन्न निकायमा उजुरी परेको छ । विद्यार्थीले प्राप्त गरेको अंकमा मनोमानी रूपमा अनियमितता गर्ने कँडेल र पोख्रेललाई कारबाही हुनुपर्ने प्राध्यापक र विद्यार्थीले बताएका छन् । उनीहरूमाथिको आरोपबारे त्रिवि अनुगमन निर्देशनालयले पनि समिति गठन गरेर छानबिन थालेको छ ।
परीक्षा अनुत्तीर्ण भएका विद्यार्थीलाई राजनीतिकशास्त्र केन्द्रीय विभागका प्रमुख कँडेलले नम्बर थप गरेर पास गराएको उक्त विभागका एक अध्यापकले बताए । ‘कक्षामा हाजिर नै नभएर फेल भएका विद्यार्थीलाई अंक थप गरेर पास गराइएको छ । न्यूनतम हाजिर नभएका विद्यार्थी परीक्षामा सहभागी हुन नै अयोग्य हुन्छन् । थोरै नम्बर ल्याउने विद्यार्थीलाई आफूखुसी नम्बर थप गरिएको छ,’ ती अध्यापकले कान्तिपुरसँग भने, ‘राम्रो अंक ल्याएका विद्यार्थीको भने अंक घटाइएको छ ।’ स्नातकोत्तर प्रथम सेमेस्टरका विद्यार्थीको प्राप्तांकमा विभागका प्रशासन प्रमुख हरेराम रिजालसमेतको संलग्नतामा अनियमितता गरिएको विद्यार्थी दीपक पुनले दाबी गरे । अख्तियार र उपकुलपति कार्यालयमा विद्यार्थीले दिएको उजुरीमा राजनीतिक दर्शनशास्त्रका विषयगत शिक्षक प्रेमप्रसाद लिम्बू र आधुनिक राजनीतिक सिद्धान्त विषयका प्राध्यापक अस्वस्थामा भक्त खरेलले दिएको नम्बरसमेत विभागीय प्रमुखबाट फेरबदल गरिएको उल्लेख छ ।
सेमेस्टर प्रणालीमा ८० प्रतिशत हाजिर नभएका विद्यार्थीले आन्तरिक मूल्यांकनमा सहभागी हुन नपाउने व्यवस्था छ । विभागले भने कहिल्यै कक्षामा हाजिर नहुने र सरकारी सेवामा रहेका २२ जना विद्यार्थीलाई आफूखुसी अंक दिएर उत्तीर्ण गराएको उजुरीमा भनिएको छ । उत्तरपुस्तिका नियमविपरीत घरमा लगेर आफू अनुकूलका विद्यार्थीलाई बढी नम्बर दिने गरेको पनि उजुरीमा उल्लेख छ । ‘नियमित कक्षामा हाजिर हुने लिखित परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीको भन्दा कहिल्यै कक्षामा हाजिर नहुने विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनमा धेरै नम्बर दिइएको छ,’ पुनले भने । उजुरीकर्ता विद्यार्थीहरूले आर्थिक लेनदेन गरेर बढी नम्बर दिने गरेको आरोप लगाएका छन् । ‘नम्बर बढाइएका विद्यार्थी सरकारी कर्मचारीका रूपमा उपत्यकाबाहिरको कार्यालयमा कार्यरत रहेको देखिन्छ, त्यही समयमा यता विभागमा पनि उनीहरूको हाजिर छ । मिलेमतोबिना त्यो सम्भव छैन,’ अर्का एक विद्यार्थीले भने, ‘यो हदैसम्मको अनियमितता हो । निष्पक्ष ढंगले छानबिन हुनुपर्छ ।’
राजनीतिशास्त्र विभाग प्रमुख कँडेलले भने आफूमाथि लगाएको आरोप अस्वीकार गरे । ‘झूटा आरोप लगाएर उजुरी गरिएको छ । एक जना व्यक्तिले जताततै उजुरी गर्दै हिँडेका छन् । आफूले गरेको गल्ती ढाकछोप गर्न ती व्यक्तिले उजुरी गरेका हुन्,’ उनले भने, ‘विषय शिक्षकले दिएको नम्बर हामीले परिवर्तन गर्न मिल्दैन, गरिएको पनि छैन । परीक्षाको विषय गोप्य र संवेदनशील हुन्छ ।’ सुनियोजित रूपमा गरिएको उजुरीबारे छानबिन समितिलाई बयान दिइसकेकाले विस्तृत कुरा प्रतिवेदनमा नै आउने उनले बताए ।
शिक्षाशास्त्र विभाग प्रमुख कविप्रसाद पोख्रेलमाथि सेमेस्टर प्रणालीमा भर्ना भएर कहिल्यै कक्षामा हाजिर नभएका विद्यार्थीलाई आफूखुसी अंक दिएको आरोप लागेको छ । त्यस्ता विद्यार्थीलाई ४० पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा ३१ नम्बरसम्म दिइएको विभागका प्राध्यापक केशव पौडेलले बताए । एमएड तहमा भूगोल शिक्षा विषयमा विभागले नपढी, नपढाई विद्यार्थीलाई प्रमाणपत्र बेच्ने धन्दा सुरु भएको उनको आरोप छ । ‘कहिले कक्षामा हाजिर नहुने विद्यार्थीलाई प्रथम श्रेणीमा पास गराइएको छ । यो सेमेस्टर प्रणालीको नै बदनामी हो । त्रिभुवन विश्वविद्यालय कसरी सकिँदै छ भन्ने प्रमाण पनि हो,’ उनले भने ।
विभागले भदौ मसान्तसम्म पहिलो सेमेस्टरको परीक्षा सञ्चालन गर्ने समयावधि तोके पनि विभागले साउन ११ मै विद्यार्थीलाई अंक दिएर डिन कार्यालय पठाएको थियो । त्यसले पनि अंकमा अनियमितता भएको पुष्टि गर्ने विद्यार्थीले बताएका छन् । ‘८० प्रतिशत हाजिर भए ४ अंक र त्योभन्दा बढी हाजिर भए ५ अंकसम्म दिन पाउने व्यवस्था छ । ४ भन्दा कम अंक पाएका विद्यार्थी सेमेस्टर प्रणाली सञ्चालन कार्यविधिअनुसार परीक्षामा सहभागी हुन पाउँदैनन्,’ त्रिविका एक कर्मचारीले भने, ‘विभागले हाजिरमा ३ अंक दिएका विद्यार्थीलाई आन्तरिक परीक्षा भन्दै कम्तीमा ३० नम्बरसम्म बाँडेको छ ।’ एक दिन पनि कक्षा नलिएका ५ जना विद्यार्थीलाई विभागीय प्रमुखले आन्तरिक परीक्षामा कुस्त नम्बर दिएको समेत भेटिएको छ । दुवै विभागमा उपत्यका बाहिर सरकारी सेवामा रहेका सेना, प्रहरी र कर्मचारी रहेका परीक्षार्थीको प्राप्तांकमा अनियमितता भएको दाबी गरिएको छ । परीक्षामा अनियमितताको विषय विभागकै अध्यापक पौडेलले सार्वजनिक गरेका थिए । अनियमितता सार्वजनिक गर्दा विभागीय प्रमुखले आफूलाई फौजदारी अभियोगमा कीर्तिपुर प्रहरीमा उजुरी गरेको उनले गुनासो गरे ।
अख्तियारले उनीहरूमाथि परेको उजुरीको छानबिन गर्न विश्वविद्यालयलाई निर्देशनसमेत दिइसकेको छ । त्रिवि अनुगमन निर्देशनालयका प्रमुख विष्णु खनालले ती विभागका प्रमुखमाथि दर्जनौं गुनासो र उजुरी आएको बताए । ‘राजनीतिकशास्त्र र शिक्षाशास्त्र केन्द्रीय विभागका विषयमा प्राप्त उजुरीमाथि छानबिन भइरहेको छ,’ उनले भने । निर्देशनालयले सहप्राध्यापक पुष्कर रैखलाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेर काम थालेको उनले बताए । ‘१५ दिनभित्र प्रतिवेदन बुझाउन अख्तियारी दिएका छौं । समितिले आफ्नो काम गरिरहेको छ,’ खनालले भने । संयोजक रैखला अनुगमन निर्देशनालयका सदस्य हुन् । त्रिविमा शिक्षाध्यक्षमातहत उक्त निर्देशनालय रहेको छ ।
शिक्षाशास्त्रका विभागीय प्रमुख पोख्रलेले आफूमाथि झूटा आरोप लगाइएको दाबी गरे । ‘छानबिन समितिलाई सबै कागजात बुझाएका छौं । सत्य के हो त्यहींबाट आउँछ,’ उनले भने । आफूमाथि विभागकै अध्यापक पौडेलले ८ पटकसम्म आक्रमण गरेपछि सुरक्षाका लागि प्रहरीमा उजुरी दिइएको उनको भनाइ छ । ‘सोसल मिडियामा म र विभागमाथि जे पायो त्यही लेख्ने, मलाई कुटपिट गर्ने, धम्की दिने, त्रास सिर्जना गराउने अराजक मान्छेले आपराधिक गतिविधि गरेपछि नागरिक अधिकार प्रयोग गरेर उजुरी दिएको हुँ,’ कँडेलले भने । विभागकै लेटरप्याडमा उजुरी दिए पनि प्रहरीले बोलाएको छलफलमा भने उनी उपस्थित भएनन् ।

समाचार

रेडक्रसको दर्ता नवीकरण गर्न चलखेल सुरु

काठमाडौं (कास)– पाँच महिनाअघि दलीय भागबन्डामा चयन भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिले संस्था दर्ता नवीकरणका लागि ‘लबिइङ’ थालेको छ । तत्कालीन अध्यक्ष सञ्जीव थापा नेतृत्वले गरेको अनियमितता थाती राखेर रेडक्रससम्बन्धी अदालतमा परेका मुद्दा विचाराधीन रहेकै अवस्थामा र अदालतले कायमै राखेको तदर्थ समितिसँग परामर्शबिनै सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा साउनमा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।
संस्था नवीकरण नभईकन गरिने अधिवेशनलाई अवैधानिक भनेर पत्र लेख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिवेशन गर्न पाउने गरी यसअघि असार १० गते रेडक्रसको केन्द्रीय कार्यालयमा पत्र पठाएपछि दलीय भागबन्डामा कार्यसमिति चयन भएको थियो । प्रशासन आफैंले अवैधानिक भनेको प्रक्रियाबाट चयन भएको नेपाल नेतृत्वको कार्यसमितिले थालेको ‘लबिइङ’ अनुरूप नवीकरणलाई मान्यता दिन लागिएको रेडक्रसकर्मीले आपत्ति जनाएका छन् ।
नेपाल नेतृत्वको कार्यसमितिकी उपाध्यक्ष राधा नेपालीले संस्था नवीकरणका लागि काठमाडौं प्रशासनमा दुई महिनाअघि कागजात पेस गरेको बताए पनि सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले स्पष्ट खुलाउन चाहेनन् । ‘११ बुँदामा माग्नुभएको सबै कागजात बुझाएका छौं, उपशाखाका बुझाउन बाँकी छ,’ उपाध्यक्ष नेपालीले भनिन्, ‘कानुनी सल्लाहकारसँग सल्लाह गरेर मिलेसम्म नवीकरण गरिदिन्छौं भनेर प्रशासन र गृह मन्त्रालयका सचिवहरूले भन्नुभएको छ ।’ सहायक प्रजिअ अधिकारीले संस्था नवीकरणका लागि आवश्यक पर्ने कागजात बुझाएको खण्डमा नवीकरण हुने बताए । ‘तोकिएका कागजात बुझाएपछि नवीकरण हुन्छ, सबै संघसंस्थाको प्रक्रिया त्यही हो, रेडक्रसमा पनि सोही प्रक्रिया लागू हुन्छ,’ उनले भने ।
रेडक्रसमा महाधिवेशनअगावै कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नाममा पद छुट्याएर दलीय भागबन्डा भएको थियो । रेडक्रसमा दुवै केन्द्रीय समितिको निर्वाचन र विभाजनका घटनाक्रम तथा दलीय भागबन्डाप्रति रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले असन्तुष्टि जनाउँदै आएको छ । रेडक्रसको दर्ता नवीकरणको म्याद भने ०७६ असार मसान्तमा नै समाप्त भएको थियो ।

Page 9
अर्थ वाणिज्य

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा निजी क्षेत्रका तीन संस्था एकजुट

लोडसेडिङका बेला अतिरिक्त बिजुलीको महसुल बुझाउादै आए पनि ३ वर्षपछि फेरि बिल काटेर तर्साउन खोजिएको उद्योगीको भनाइ
- सीमा तामाङ

(काठमाडौं)
डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन भन्दै नेपाल विद्युत् प्राधिकरणले ४ वटा उद्योगको लाइन काटेपछि निजी क्षेत्रका तीन संस्थाहरू एकजुट भएका छन् । शनिबार डेलिगेसनका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा पुगेका उद्योगीको टोलीसँग तीन वटै संस्थाले छलफल गरी संयुक्त रूपमा अघि बढ्ने तयारी गरेका छन् ।
एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको संयोजकत्वमा बसेको आकस्मिक बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा निजी क्षेत्रका तीन वटै छाता संस्था एकजुट भएर अघि बढ्नु पर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ठूला उद्योगबाट लाइन काटेर महसुल उठाउन निर्देशन दिएका थिए । लगत्तै प्राधिकरणले शुक्रबार नै सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।
मुलुकमा लोडसेडिङका बेला उद्योगहरूले खपत गरेको अतिरिक्त बिजुलीको महसुल उद्योगीहरूले बुझाउँदै आएको भए पनि ३ वर्षपछि फेरि बिल काटेर उद्योगीलाई तर्साउने काम गरिरहेको एफएनसीसीआईकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् । ‘प्राधिकरणले कुन उद्योग तथा कम्पनीले कति खपत गर्‍यो भन्ने प्रमाण देखाउन सकेको छैन,’ उनले भनिन्, ‘प्रयोगकर्ताले नियमअनुसार तिर्छन् । पहिलेदेखि तिर्दै आएका छन् । नभएको बिल पठाउन त पाइएन नि ।’ टीओडी मिटरमा उद्योगले अतिरिक्त बिजुली खपत गरेको प्रमाण देखाउन समेत उद्योगीहरूले चुनौती दिँदै आएका छन् । उनका अनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा निजी क्षेत्रका तीन वटै छाता संस्था एकै ठाउँमा उभिएर अघि बढ्नुपर्ने बैठकको निर्ष्कष छ । ‘एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकालज्यू उपत्यका बाहिर हुनुहुन्छ, आइतबार बिहान उहाँकै उपस्थितिमा बैठक बस्छौं, त्यसपछि निजी क्षेत्रका अन्य दुई संस्थासँग छलफल गरेर अघि बढ्छौं,’ उनले भनिन् ।
कम क्षमतामा उद्योग चलिरहेकाले तत्काल पैसा तिर्न नसक्ने र प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको प्रमाण देखाउनुपर्ने एफएनसीसीआईका उपाध्यक्ष सुरजकृष्ण वैद्यको भनाइ छ । ‘प्राधिकरणले तथ्यांक नदेखाउने तर एकोहोर महसुल तिर भन्न मिलेन नि, त्यसैले यो विषयमा निजी क्षेत्रका तीन वटै संस्था एक भएर अघि बढ्नुपर्छ, त्यसका लागि छलफल हुँदै छ,’ उनले भने । पछिल्लो पटक डेलिगेसन जाँदा प्रधानमन्त्री स्वयंले आश्वासन दिए पनि बिहीबारको निर्णयले चकित भएको नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष रोहित गुप्ता बताउँछन् । उद्योगीले उपभोग गरेको बिजुलीको पैसा तिर्नुपर्नेमा दुई मत नरहेको उनको भनाइ छ ।
‘प्राधिकरणले टीओडी मिटर तथा डेडिकेटेड ट्रंकलाइनको तथ्यांक सार्वजनिक गरेको छैन, त्यसको आधारमा उद्योगीले महसुल तिर्ने हो । तर प्राधिकरणले टीओडीको तथ्यांक नै दिन सकेको छैन,’ उनले भने, ‘सरकारको यो नीतिले उद्योग व्यवसायीका लागि निरुत्साहित भएको छ ।’ अनौपचारिक रूपमा छलफल जारी भएपनि डेडिकेटेड र ट्रंकलाइन विषयमा सान्दर्भिक ऐक्यबद्धता बनाएर तीन वटै संस्था एकैसाथ अघि बढ्ने उनले बताए । उद्योगहरू ३०/४० प्रतिशत क्षमतामा चलिरहेको अवस्थामा सरकारले यो निर्णयले झन् अप्ठ्यारो बनाएको उनको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन देशमा उद्योग व्यवसाय गर्ने वातावरण हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । ‘बिजुली काटेर सरकारले उद्योग व्यवसायीलाई निरुत्साहित गर्नुहुँदैन, कानुनभन्दा माथि पनि कोही हुँदैन,’ उनले भने ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने व्यवसायीको लाइन काट्ने तयारी गरेको प्राधिकरणलाई गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै रोकेका थिए । बिहीबार भने उनैले लाइन काट्न निर्देशन दिए । गत भदौ १७ मा नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता
नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण पछि हटेको थियो । त्यसबेला पनि सूचना जारी भएलगत्तै एफएनसीसीआईका अध्यक्ष ढकाल नेतृत्वको करिब ४० उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले ‘विवादित विषय भएको र समाधान गर्नुपर्ने’ भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।
हालसम्म ६१ उद्योगको २२ अर्ब रुपैयाँ बक्यौता पुगेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सिलवालले जनाए । प्राधिकरणका अनुसार शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिलको सबैभन्दा बढी अर्थात् ४ अर्ब १४ करोड रुपैयाँ, गोल्यान समूहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड रुपैयाँ, संघाई ग्रुपको लगानी रहेको घोराही सिमेन्टको १ अर्ब ३६ करोड र मुरारका ग्रुपलगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड बक्यौता छ । प्राधिकरणले यी चार वटा उद्योगको शुक्रबार नै लाइन काटिसकेको छ । शनिबार सार्वजनिक बिदा भएकाले कुनै पनि उद्योगको लाइन नकाटिएको सिलवालले जानकारी दिए । उद्योगी व्यवसायीले भने यो विवादित विषय भएको भन्दै महसुल नतिर्ने अडानमा छन् । लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी उक्त रकम नतिर्ने अडानमा छन् ।
लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महागोमा बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले यो विवादित विषय भएको र समस्या समाधान गरिदिन सरकारसमक्ष निरन्तर अनुरोध गरिरहेका छन् । बिल तिर्नैपर्ने भए टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उनीहरूको माग छ । निवेदन दिएर डेडिकेटेड र ट्रंकलाइन जडान गरे ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने प्राधिकरणकै विद्युत् महसुल विनियमावलीमा छ । तर यसविपरीत रकम असुलीको प्रक्रिया अघि बढाइएको उद्योगीहरूको तर्क छ ।

अर्थ वाणिज्य

‘स्टार्टअपबारे सरकारमै स्पष्ट बुझाइको अभाव’

नेपालको मुख्य चुनौती भनेको यहाा स्टार्टअपको इकोसिस्टम बन्न सकेको छैन
- कान्तिपुर संवाददाता

(काठमाडौं)
स्टार्टअपबारे स्पष्ट बुझाइबेगर नै सरकारले यससम्बन्धी कानुन बनाउनेदेखि स्टार्टअप कोष र सहुलियत कर्जाको वकालत गरिरहेको उद्यमीहरूले बताएका छन् । नेपालमा स्टार्टअपको इकोसिस्टम बन्न नसक्नु र सरकारमा स्टार्टअपबारे स्पष्ट बुझाइ नहुनु दुःखद भएको उनीहरूले बताएका हुन् ।
शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्टमा व्यवसायीहरूले नेपालमा दक्ष जनशक्ति पलायन प्रमुख समस्या रहेको औंल्याएका थिए । ‘नेपालको मुख्य चुनौती भनेको यहाँ स्टार्टअपको इकोसिस्टम बन्न सकेको छैन, सरकारले स्टार्टअपसम्बन्धी कानुन बनाउने कोसिस त गरेको छ तर स्टार्टअप के हो भन्ने बुझाइमै सरकारमा स्पष्टता छैन,’ परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘स्टार्टअपका लागि पुँजीको पनि चर्चा हुने गरेको छ तर त्यो पनि अड्किएकै छ ।’ अग्रवालका अनुसार सरकारको सानो सहुलियतले नै नेपालका उद्योग–व्यवसाय आत्मनिर्भर बन्न सक्छन् । सरकारले बिजुली र यातायातको सुविधा उपलब्ध गराउनासाथ सिमेन्ट उद्योग आत्मनिर्भर भई हाल निर्यात गर्न सक्ने अवस्थामा पुगेको अग्रवालको भनाइ थियो ।
रमेश कर्पोरेसनका उपाध्यक्ष रोहित गुप्ताले हाल नेपालमा जनशक्ति जोगाउन गाह्रो भइरहे पनि यो चरण पार हुनासाथ बिदेसिएका दक्ष युवा नेपाल फर्किने बताए । ‘आजभन्दा २० वर्षअघि भारतमा पनि दक्ष जनशक्ति पलायनको समस्या थियो,’ रोहितले भने, ‘अहिले हामी त्यही चरणबाट गुज्रिरहेका छौं । तर, अबको ८/१० वर्षपछि यहाँ वातावरण राम्रो हुँदै जाँदा उनीहरू पनि अझै दक्ष भई फर्किएर थप योगदान पुर्‍याउनेछन् ।’
सन् २००५ देखि सुरक्षा सेवा उपलब्ध गराउँदै आएको गरुड सेक्युरिटिजका संस्थापक सबल शाहले स्टार्टअप सञ्चालन गर्नु गाह्रो काम भए पनि स्पष्ट उद्देश्यसाथ हिम्मत नहारी काम गरे सफल भइने अनुभव सुनाए ।
क्याटलिस्ट टेक्नोलोजीकी संस्थापक प्रतिभा पाण्डेले नेपालमा औषधिजन्य बोटबिरुवाको प्रयोग गरी विभिन्न उत्पादन तयार गर्ने क्षेत्रमा राम्रो अवसर देखेपछि अमेरिका र सिंगापुरको ओहोर–दोहोर छोडी यतै व्यवसाय विस्तार गरेको बताइन् । ‘अहिले हामी अर्किड प्रजातिमा अध्ययन गरी यसबाट छालाको स्याहारसँगै अन्य के–के उत्पादन बनाउन सकिन्छ भन्नेबारे खोजी गरिरहेका छौं,’ उनले भनिन्, ‘यो क्षेत्रमा पनि मिडलम्यानहरूको समस्या रहेछ । मैले विभन्न ठाउँहरूमा गएर औषधिजन्य जडिबुटी संकलन र प्रयोग गर्ने स्थानीयबासीहरूसाग भेट्ने गरेकी छु ।’
कार्यक्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले छिमेकी भारतमा व्यवसाय विस्तार गर्न पाए पूर्ण सफलता हासिल हुने अपेक्षा राखे । सीमावर्ती भारतीय जिल्लामा भाटभटेनीजस्तो व्यवस्थित सुपरमार्टेक नभएकाले त्यहाँ पुग्न पाए शतप्रतिशत सफलता हासिल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । मुख्य सचिव बैकुण्ठ अर्यालले आफू जन्मिनुभन्दाअघि नै विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बनेको हुनाले हाल भारतमा व्यवसाय विस्तार सम्भव नभए पनि सरकारले यस विषयमा चासो राखेको बताए ।
त्यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण भए डिजिटल प्लेटफर्म उपयोग गरी देशमा प्रशस्तै काम गर्ने अवसर रहेको भनाइ राखे । ‘डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ,’ उनले भने, ‘आईटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आईटीलाई प्रवर्द्धन गर्न जरुरी छ ।’

अर्थ वाणिज्य

केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन अन्तिम चरणमा

प्रारम्भिक अध्ययनअनुसार लागत २ खर्ब ७१ अर्ब ३६ करोड, दूरी ७२ किमि
काठमाडौंको काभ्रेस्थली अन्तिम बिन्दु
९८ प्रतिशत पहाड पर्ने र त्यसलाई छेडेर रेलमार्ग निर्माण गर्नुपर्ने
- विमल खतिवडा

(काठमाडौं)
काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट, रसुवा र काठमाडौं खण्डमा प्रारिम्भक सर्भे अन्तिम चरणमा पुगेको छ । यसै साताभित्र फिल्ड र ड्रोन सर्भेको काम सकिनेछ । त्यसपछि दोस्रो चरणका रूपमा भौगर्भिक अध्ययन सुरु हुने रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए । ‘प्रारम्भिक अध्ययनको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘यही साताभित्र ड्रोन सर्भे सकिएलगत्तै दोस्रो चरणको अध्ययन सुरु हुन्छ ।’
तेस्रो चरणमा अध्ययनको रिपोर्ट कम्पाइल तयार पारिनेछ । चिनियाँ टोलीले वातावरणीय प्रभाव मूल्यांकनको काम पनि सँगै गर्न भनेकाले यसबारे छलफल भइरहेको बिसुरालले बताए । ‘छिट्टै के गर्ने भन्नेबारे निर्णयमा पुग्नेछौं,’ उनले भने । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको चिनियाँ टोलीले एक वर्ष लगाएर तीन वटै जिल्लामा प्रारम्भिक चरणको अध्ययन गरेको हो । ‘अहिले काठमाडौंतर्फको टोखातिर अध्ययन भइरहेको छ, जहाँ रेलमार्गको अन्तिम बिन्दु काभ्रेस्थली हुनेछ,’ बिसुरालले भने, ‘नुवाकोटमा फिल्ड सर्भे सकिए पनि ड्रोनबाट अध्ययन गर्न छुटेकाले तीन दिनभित्र सक्ने गरी काम हुँदै छ ।’
भौगर्भिक रूपमा रेलमार्गमा पर्ने जमिनमुनिको माटोको समेत अध्ययन गरिने उनको भनाइ छ । सबै जिल्लामा यसरी अध्ययन हुनेछ । अहिले तीन जना चिनियाँ प्राविधिक टोलीले ड्रोन सर्भे गरिरहेका छन् । ‘पहिला–पहिला एरियल सर्भे हवाईजहाज र हेलिकोप्टरबाट हुन्थ्यो,’ उनले भने, ‘अहिले ड्रोनबाट गर्ने गरिएको छ ।’ त्यो बेला उदयपुरको गाईघाट–दिक्तेल जोड्ने सगरमाथा राजमार्गको एरियल सर्भे हवाई जहाज र हेलिकोप्टरबाट गरिएको थियो । ‘अहिले काठमाडौं–केरुङ रेलमार्गमा एरियल सर्भेका रूपमा ड्रोनबाट अध्ययन गरिएको हो,’ उनले भने, ‘जसले गर्दा छिट्टै काम सकियो ।’
ड्रोनमार्फत फोटो र भिडियो लिएर सर्भे गरिएको हो । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि हवाई रुट पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ड्रोनमार्फत अध्ययन गर्न केही ढिलाइ भएको महानिर्देशक बिसुरालले बताए । यसको अध्ययन ४२ महिनाभित्र सकिसक्नुपर्नेछ । अब अध्ययनको काम सक्न ३० महिना बाँकी छ । उक्त समयभित्र सम्भाव्यता अध्ययनको काम सकिसक्नुपर्नेछ । सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका थिए ।
अहिले फिल्डमा त्यही कम्पनीका प्राविधिकले काम गरिरहेका छन् । त्यसका लागि रेल विभागका प्राविधिक, कर्मचारी र स्थानीय जनप्रतिनिधिले सहयोग गरेका छन् । ‘बर्खाअघि ४३ जना प्राविधिक टोलीले सर्भे गरेका थिए,’ उनले भने, ‘अहिले ३ जना मात्र छन्, अध्ययनको प्रकृतिअनुसार प्राविधिकको संख्या हेरफेर भइरहन्छ ।’ यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ ।
सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्ने हो, त्यो पनि थाहा हुनेछ । यसमा छुट्टै विस्तृत सर्भे नगरिने र निर्माणका क्रममा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम अघि बढाइने उनको भनाइ छ । जुन बेला निर्माणको काम थालिन्छ, त्यही बेला यसको डीपीआर हुनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गरिरहेको छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
एक वर्षअघि सर्भे गर्न आएको टोलीले कसरी अध्ययन गरेको छ र के–कति अध्ययन भयो भनेर अनुगमन गर्न गत कात्तिक २३ मा चीनबाट ३ जनाको प्राविधिक टोली आएको थियो । चीन सरकारले पठाएको उक्त टोलीले फिल्डमै पुगेर दुई साता लगाई अनुगमन गरेर फर्किएको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ ।

अर्थ वाणिज्य

कार्गो रेलमा ढुवानी समस्याको समाधान चाँडै: प्रधानमन्त्री

नेपाल–भारत सन्धिमा त्रुटिका कारण कार्गो रेलमार्फत कच्चा पदार्थ र औद्योगिक उत्पादन ढुवानीमा समस्या

विराटनगर (कास)– मोरङ औद्योगिक क्षेत्रका उद्योगी कार्गो रेलमार्फत कच्चा पदार्थ र औद्योगिक उत्पादन ढुवानी गर्नबाट वञ्चित भएको स्विकार्दै प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समस्याको समाधान गर्ने बताएका छन् । उनले भारतीय उच्चस्तरीय टोली नेपाल आएका बेला निकास निकाल्ने बताएका हुन् ।
सुनसरी मोरङ व्यापार संघले सञ्चालन गरेको ट्रेड एक्स्पो २०२३ को उद्घाटनका क्रममा शुक्रबार प्रधानमन्त्री दाहालले दुई पक्षीय सन्धिका कारण कार्गो रेलमा ढुवानीमा समस्या आएको उल्लेख गरे । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ मा नयाँदिल्लीबाट संयुक्त रूपमा भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिब ८ किलोमिटर कार्गो रेलमार्गको उद्घाटन गरेका थिए, त्यसैदिन नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका तत्कालीन उद्योग तथा वाणिज्यमन्त्री पीयूस गोयलले संशोधित पारवहन सन्धिमा हस्ताक्षर पनि गरेका थिए ।
तर, संशोधित सन्धिमा कोलकाता पोर्टवाट विराटनगर आउने कार्गो रेलमा कोइला, क्लिंकर, सिमेन्ट र रासायनिक मलखाद मात्र ल्याउन पाउन मिल्ने उल्लेख छ । सन्धिमा यसबाहेक अन्य कुनै पनि सामान कार्गो रेलमार्फत ढुवानी गर्न नपाउने उल्लेख छ । यही प्रावधानका कारण उद्योगी व्यवसायी मर्कामा परेका हुन् । उद्योगी व्यवसायीले विभागीय मन्त्री र सरकारको कमजोरी तथा हेलचेक्र्याइँको कारण समस्या आएको बताएका छन् । उद्घाटनको दिन रेलले केही औद्योगिक कच्चा पदार्थ ल्याएको थियो । त्यो रेललाई यहाँका उद्योगी व्यवसायी र प्रशासनिक क्षेत्रका प्रतिनिधिले भव्य स्वागत गरेका थिए । तर, उद्घाटन भएको सात महिना बित्न लाग्दा कार्गो रेल पुनः फर्केर विराटनगर भन्सार यार्ड आएको छैन ।
विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार सन्धिमा कोलकाता पोर्टबाट सामान आयात गर्दा बल्कका चार आइटम मात्र कार्गो गर्न पाउने र विशाखापटनम पोर्टबाट चाहिँ जुनसुकै सामान रेलबाट कार्गो गर्न पाउने उल्लेख छ । उनका अनुसार विराटनगरमा कोलकाता पोर्टबाट औद्योगिक कच्चा पदार्थ आयात हुन्छ । यसबारे बुझ्न र संशोधनका लागि पहल गर्न भन्सार विभाग र वाणिज्य मन्त्रालयमा कार्यालयले पत्राचार गरिसकेको ढकालको भनाइ छ । ‘यो प्राविधिक गल्ती हो वा जानाजान हो । यहाँबाट बुझ्ने कुरा भएन,’ ढकालले भने, ‘वार्तामा को को बसेका थिए, उनीहरूलाई नै जानकारी हुने हो ।’
विभागीय मन्त्रीको लापरबाहीको कारण कार्गो रेलको सुविधा भए पनि उद्योगी व्यवसायीले त्यसको फाइदा उठाउन नपाएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । उनका अनुसार कोलकाता पोर्टबाट कार्गो रेलमार्फत औद्योगिक कच्चा पदार्थ आयात गर्दा ढुवानीमा कम्तीमा ४० प्रतिशत सस्तो हुने थियो । तेस्रो मुलुकबाट आयात हुने उक्त चार वस्तुबाहेक अन्य सामग्री कार्गो रेलबाट आयात गर्न नपाउने सन्धिमा उल्लेख छ । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विभागीय मन्त्रीको हेलचेक्र्याइँका कारण यस क्षेत्रका उद्योगी कार्गो रेल सेवाको सुविधाबाट वञ्चित हुन पुगेको बताए ।
नेपालका लागि भारतले उपलब्ध गराएको अर्को बन्दरगाह विशाखापटनमबाट जुनसुकै वस्तु तथा कच्चा पदार्थ आयात गर्न अनुमति भए तापनि त्यहाँबाट आयात गर्दा ढुवानी खर्च अत्यधिक लाग्ने भएकाले कोलकात्ता बन्दरगाह नेपाली उद्योगीका उपयुक्त नाका हो । निर्माण सुरु भएको १२ वर्ष बित्दा पनि स्टेसन यार्ड निर्माणका लागि सरकारले जमिन उपलब्ध नगराएपछि भारतको बथनाहदेखि मोरङको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर कार्गो ब्रोडगेज रेल्वे मार्गको स्टेसन यार्ड निर्माण अझै अलपत्र छ ।
भारतको बथनाहबाट नेपालको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाइ रहेको ब्रोडगेज रेल्बे मार्ग करिब चार अर्ब भारुको लागतमा भारतको इरकोन कम्पनीले सन २०११ मा निर्माण सुरु गरेको थियो । सन् २०१७ मा निर्माण सकिनुपर्ने उक्त योजना नेपाल पक्षले आवश्यक जमिन उपलब्ध नगराउँदा अहिले पनि अधुरै छ । भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिब आठ किलोमिटर कार्गो रेलमार्ग निर्माण गरेर गत जेठ १८ मा उद्घाटन गरिएको हो । कार्गो रेल्वे मार्ग निर्माणका लागि नेपाली पक्षले १ सय १९ बिघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनी इरकोनलाई उपलब्ध गर्नुपर्ने दुईपक्षीय सहमति थियो । तत्कालीन मुआब्जा निर्धारण समितिले प्रतिकट्ठा दुई लाखका दरले जग्गा अधिग्रहण गरेको थियो । तर कटहरी १ का २२ जना जग्गाधनीले उक्त मुअब्जामा आफ्नो ६ बिघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्चमा दशक पहिला मुद्दा दायर गरेका थिए । मुद्दा अझै विचाराधीन छ ।

Page 10
अर्थ वाणिज्य

अझै बढ्न सकेन घरजग्गा कारोबार

मंसिरदेखि घरजग्गा कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार अपेक्षाकृत रूपमा बढेको देखाउादैन
- सीमा तामाङ

(काठमाडौं)
जग्गा कित्ताकाटमा सहजीकरण गरेको चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीले बताउँदै आएका थिए । तर साउन ३० मा सरकारले भू–उपयोग नियमावली, ०८० संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति अपनाएको थियो । लगत्तै मंसिरदेखि घरजग्गा कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो । तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार अपेक्षाकृत रूपमा बढेको देखाउँदैन ।
नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले समेत मंसिरको तथ्यांकले घरजग्गा व्यवसायीलाई निराश बनाएको बताए । ‘मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा थियो । तर निराशाजनक भयो,’ उनले भने, ‘असोजको तुलनामा मंसिरमा राजस्व र कारोबार दुवै घट्यो ।’ चालु आर्थिक वर्षको अन्य महिनाको तुलनामा मसिंरमा १ लाख १० हजार ८३ पटक कित्ताकाट भएको छ । यसअघि चालु वर्षको असोजमा १ लाख ६ हजारसम्म भएको थियो ।
विभागको तथ्यांकअनुसार गत मंसिरको तुलनामा यो मंसिरमा समग्र कारोबार, कित्ताकाट र राजस्व बढेको देखिएको छ । तर अघिल्लो मंसिरको तुलनामा भने कम नै हो । सरकारले अघिल्लो मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत मंसिरमा २ अर्ब ६४ करोड राजस्व उठाएको सरकारले यो मंसिरमा २ अर्ब १६ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ । कारोबार पनि अघिल्लो मंसिरको तुलनामा यो मंसिरमा ४२ हजार १६१ ले कम हो । विभागका अनुसार अघिल्लो मंसिरमा १ लाख ६९ हजार ८ सय पटक कारोबार हुँदा गत मंसिरमा ८९ हजार २४६ पटक कारोबार भएको थियो । यो मंसिरमा १ लाख २७ हजार ६३९ पटक कारोबार भएको थियो । कित्ताकाट अघिल्लो मंसिरमा १ लाख ५८ हजार ३१० पटक कित्ताकाट हुँदा यो मंसिरमा १ लाख १० हजार ८३ पटक कित्ताकाट भएको छ । गत मंसिरमा ३० हजार ७२८ पटक मात्रै कित्ताकाट भएको थियो ।
गत वर्षको जेठ २३ मा भूउपयोग नियमावली, ०७९ जारी भइसकेपछि पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्रै कित्ताकाट गर्न पाइन्थ्यो । त्यसकारण साउनदेखि नै घरजग्गाको समग्र काम घटेको थियो । पालिकाले कृषि र गैरकृषि छुट्याई नसकेपछि मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो । त्यसैलाई सुल्झाउन गत वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो । तर वैशाख १२ मा मन्त्रिपरिषद्ले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको थियो । त्यसपछि निर्णयलाई अन्तिम रूप नदिई पुनः जग्गा कित्ताकाटसम्बन्धी विषयमा अध्ययन गर्ने प्रक्रिया अघि बढेको थियो । उक्त अध्ययन तथा सिफारिसका आधारमा साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
भू–उपयोग नियमावली, ०८० संशोधन गरी आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइन्नथ्यो ।
प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो । सरकारले नियमावली संशोधन गरेर जग्गा कित्ताकाटमा लचिलो नीति अपनाए पनि अपेक्षित रूपमा घरजग्गा कारोबार बढ्न सकेको छैन ।
मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा गरे पनि राष्ट्र बैंकको नीतिगत कठिनाइका कारण अझै बढ्न नसकेको महासंघका अध्यक्ष लोहनी बताउँछन् । ‘बैंक तथा वित्तीय संस्था ऋण दिन तयार रहँदा पनि राष्ट्र बैंकको नीतिका कारण ऋण ठप्प छ,’ उनले भने । मौद्रिक नीतिको संशोधन गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ । यसअघि मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशत थियो । यसलाई बढाएर शतप्रतिशत नै पुर्‍याउनुपर्ने लोहनीको माग छ । साउनमा राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । यसअघि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो । रियल स्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्‍याए पनि यसलाई सय प्रतिशत पुर्‍याउनुपर्ने उनको माग छ ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार व्यक्तिगत आवासीय कर्जा प्रवाह बढ्दा रियल स्टेट कर्जा ऋणात्मक देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा २८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (दुई करोडसम्म) प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा रियल स्टेट कर्जा ७ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । चालु आर्थिक वर्षको साउन–कात्तिकसम्म रियल स्टेट कर्जा ४ अर्ब ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । चालु आर्थिक वर्षको चार महिनामा १.९ प्रतिशतले ऋणात्मक देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।
रियल स्टेट कर्जाअन्तर्गत व्यावसायिक कम्प्लेक्स १६.५, अन्य रियल स्टेट (प्लटिङ तथा जग्गा खरिद) ४.२, ५ लाखसम्म वा उद्देश्य नखुलाइएको २.२ र अन्य १९.२ प्रतिशतले ऋणात्मक छ । बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा लगानीभन्दा प्रवाह गरिएको रकम बढी उठाउँदा ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा पर्याप्त कर्जा प्रवाह हुन नसक्दा ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

विजाडी गाड पुल ५ वर्षदेखि अलपत्र

मजदुरको ज्याला र स्थानीयको करोडभन्दा बढी उधारो नतिरी ठेकेदार सम्पर्कविहीन
- वसन्तप्रताप सिंह

(बझाङ)
खप्तडछान्ना गाउँपालिका–७ धर्तीबाडाकी चौरा चौहान गाउँनजिकै पक्की पुल बन्ने खबरले उत्साही थिइन् । एकल महिला उनले पुल बन्दा त्यहाँ काम पाइने र परिवारको खर्च चलाउन सजिलो हुने आशामा घरको अरू काम छोडेर तीन महिनासम्म गिट्टी कुटिन् । पुल निर्माण गर्ने ठेकेदारले उनले कुटेको गिट्टीको २५ हजार रुपैयाँ तोकेर पुलको ढलानमा प्रयोग गरे । पुलको ढलान बन्यो तर हातमा ठेला उठाएर गिट्टी कुटेको पैसा उनले तीन वर्ष बितिसक्दा पनि पाएकी छैनन् ।
‘पैसा आयो भने आपटसापट गरेको तिरौंला, घर खर्च चलाउँला सोचेर सकिनसकी ढुंगा फुटाएँ,’ उनले भनिन्, ‘भोलि दिउँला, पर्सि दिउँला भनेर ढाँट्यो । एक वर्षदेखि त ठेकेदार नै भागिसक्यो भन्छन् । तीन महिनासम्म हातमा ठेला उठाएको व्यर्थै भयो ।’ उनले गाउँका अन्य थुप्रै महिलाले गिट्टी कुटेको, बालुवा बोकेको र पुल निर्माणका क्रममा मजदुरी गरेको रकम पाउन बाँकी रहेको तर रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएपछि पसिना बगाएको पैसा डुब्ने हो कि भन्ने चिन्तामा रहेको बताइन् ।
सेती लोकमार्गअन्तर्गत पर्ने खप्तडछान्ना–७ विजाडी गाडमा निर्माणाधीन पुल अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि चौरा र उनका गाउँले मात्रै नभएर यो वडाका प्रायः सबैजसो स्थानीय पीडित भएका छन् । अन्तिम चरणमा पुगिसकेको निर्माणाधीन पुलको काम छोडेर एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएपछि यहाँको गडराय, धर्तीबाडा, गोर्खाली, लामागडा, बिणालगायत गाउँका श्रमिक मात्रै नभएर स्थानीय पसले, होटल सञ्चालकदेखि ढुवानी व्यवसायी समेतलाई आफूहरूको पाउनुपर्ने रकम फिर्ता नआउने हो कि भनेर चिन्ता छ ।
 ‘कामदारको त कुरा छोड्नुस् । ठेकेदारले पैसा तिर्न यहाँका कुनै होटल, पसल र व्यापारी कोही पनि बाँकी नहोलान् । गडरायबजारमा चिया पसल सञ्चालन गरिरहेका स्थानीय भरत रोकायाले बाहिर जिल्लाबाट आएका मजदुरहरूले आफ्नो होटलमा खाना र नास्ता खाएको मात्रै दुई लाख ५० हजारभन्दा बढी उधारो तिर्न बाँकी रहेको बताए । उनले भने, ‘पैसा आएपछि तिर्छौं भनेर स्थानीयसँग नगद पनि मागेर ठेकेदार गायब भयो । गाउँका सबैजसो मान्छेको रकम फसेको छ ।’ उनले ठेकेदारको विश्वास गरेर उधारोमै निर्माण सामग्री ढुवानी गरिदिएका स्थानीय ढुवानी व्यवसायीको पनि लाखौं रकम तिर्न बाँकी रहेको उनले बताए ।
ठेकेदारले वडाभरिका मानिसलाई विश्वासमा पारेर श्रम गर्न लगाएको र नगदसमेत लिएका कारण धेरै मानिस समस्या परेको स्थानीय महेश्वरी माध्यमिक विद्यालयका शिक्षक ज्ञानबहादुर रोकायाले बताए । ‘ज्याला नपाएको कारण मजदुरी गर्नेहरूको त समस्यामा परेकै छन् । ठेकेदारको विश्वासमा परेर कतिले ऋण खोजेरसमेत नगद रकम दिएका छन्,’ उनले भने, ‘काम रोकियो, कार्यालयबाट भुक्तानी आएको छैन । भुक्तानी आए पछि दिन्छौं भन्यो, हामीले पनि आफ्नो ठाउँको विकासको काम किन रोक्ने भनेर दिहाल्यौं । अहिले यस्तो अवस्था भयो ।’ उनले ठेकेदारले मजदुरको ज्याला, व्यापारी र स्थानीयबाट नगद लिएको रकम गरी एक करोडभन्दा बढी तिर्न बाँकी रहेको बताए । रकम असुल गराइदिनका लागि पटक–पटक स्थानीय सरकारसँग समेत आग्रह गरेको तर हालसम्म कसैले समस्या समाधानमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
२०७५ मा ठेक्का स्वीकृत भएर निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा अमर कन्स्ट्रक्सनले पाएको थियो । पाँच करोड करोड २६ लाख लागतमा निर्माण भइरहेको उक्त पुल निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने भनिए पनि हालसम्म अधुरै छ । २०७८ मा पुलको ढलान बाढीले बगाएका कारण काम ढिलो भएको र आफूले काम गर्न खटाएको प्रतिनिधिले स्थानीयबाट रकम लिएर भागेका अमर कन्स्ट्रक्सनका सञ्चालक भद्र शाहीले बताए । ‘०७८ सालमै काम सकिने थियो, बाढीले ढलान बगाइदियो । त्यसपछि कार्यालय (सेती लोकमार्ग) ले ठेक्काको म्याद थप्ने कुरामा भाँजो हाल्यो,’ सञ्चालक शाहीले भने, ‘त्यही बीचमा काम गर्न पठाएको मान्छेले पैसा खाएर भागेछ । सबै समस्या एकै पटक परेकाले काम त्यस्तो भएको हो ।’ उनले आफूले कार्यालयबाट १ करोड ९० लाख मात्रै भुक्तानी पाएको बताउँदै अहिले म्याद थपको प्रक्रिया अघि बढेको र केही दिनभित्रै काम सुरु हुने बताए । काम सुरु भएपछि मजदुर र स्थानीयको तिर्न बाँकी रकम हिसाब गरेर फिर्ता गरिने उनले बताए ।
उक्त पुलको काम हेर्ने जिम्मा यसअघि अछामस्थित सेती लोकमार्गको कार्यालयलाई रहेको र केही दिन अगाडि मात्रै उक्त पुल निर्माणको काम हेर्ने गरी सेती लोकमार्ग उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) को कार्यालयमा फाइल आएको चैनपुर ताक्लाकोट सडक कार्यालयले जनाएको छ । ‘पुलको ढलान गर्दा कार्यालयको प्राविधिक अनिवार्य उपस्थित हुनुपर्नेमा ठेकदारले प्राविधिकको उपस्थितिबिनै ढलान गरेको कारण कार्यालय र ठेकेदारबीच विवाद भएको रहेछ,’ कार्यालय प्रमुख तुलाराम शर्माले भने, ‘अहिले फाइल हामीकहाँ आएको छ । ठेकेदारलाई पनि सम्पर्क गरिसकेका छौं । अब काम सुरु हुन्छ ।’ उनले कामको प्राविधिकको अनुपस्थितिमा भएको काम ठीक भए नभएकोबारे परीक्षण गर्ने र पुलको लोड परीक्षण गरेर भुक्तानी दिने गरी ठेकेदारसँग कुरा गरिरहेको बताए ।

अर्थ वाणिज्य

जनशक्ति पलायन रोक्न राष्ट्रपतिको आग्रह

विराटनगर (कास)– राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गरेर जनशक्ति पलायन रोक्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि, वन र खनिजमा आधारित उद्योग विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा उनले जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगी र व्यापारीलाई आग्रह गरे । ‘मुलुकमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ ।’
सरकारबाट नयाँ नीति र ऐन निर्माण, निजी क्षेत्रमैत्री ऐन र कानुन परिमार्जन हुन जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा परिसंघले राष्ट्रपति पौडेललाई सम्मान गरेको थियो । त्यसक्रममा पौडेलले २१ जना प्रजातन्त्रका सेनानी र उत्कृष्ट निर्यातकर्ता उद्योगी व्यवसायीलाई सम्मान गरेका थिए ।

Page 11
समाचार

राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला

हुम्ला (कास)– सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । गत जेठबाट सुरु भई कात्तिकमा सम्पन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।
कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड–१ जैर, अदानचुली र ताजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसाग जोडिए पनि यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे । सलीसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाइ र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । सो बेलिब्रिज निर्माणका लागि १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कंगी निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।
बेलिब्रिज उद्घाटनका लागि सलीसल्ला पुगेका यातायातमन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई सघाउ पुर्‍याएको बताए । राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्लाको नाम आउने गरेकोमा आगामी असार मसान्तसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडेपछि यो उपमा पनि हट्ने उनको भनाइ छ । सिमकोट सडक जोड्नका लागि चुनौतीका रूपमा रहेको छारे क्षेत्रको चट्टानी भीरमा सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पनि आउँदो वैशाखसम्म बेलिब्रिज निर्माण सकिने गरी काम अगाडि बढेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘विकासका लागि सरकार एक्लैले चाहेर मात्र हुँदैन, यसमा जनताको पनि उत्तिकै सहयोग आवश्यक छ,’ उनले भने ।

Page 12
खेलकुद

सुल्झियो जटिल प्लेअफ समीकरण

लिग चरणको अन्तिम दिन मैदानबाहिर रहेरै सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम बन्यो झापा एफसी
- हिमेश

बुटवल–लुम्बिनी १–० वीरगन्ज
काठमाडौं १–० ललितपुर

(काठमाडौं)
अब प्रस्ट भएको छ नेपाल सुपर लिगको शीर्ष चारमा कुन–कुन टिम रहने छ भनेर । यसका लागि शनिबार लिग चरणको अन्तिम खेलको अन्तिम ह्विसलसम्मै कुर्नुपर्‍यो । तर, यसले गजबको संयोग भने अगाडि ल्याएको छ ।
लिगको आठौं चरणमा भिडेका टिम नै प्लेअफको सुरुआती दुई खेलमा भिड्नेछन् । त्यो भनेको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध धनगढी एफसी अनि इलिमिनेटरमा काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसी ।
दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल थियो डिफेन्डिङ च्याम्पियन काठमाडौं र ललितपुरबीच । खेलको नतिजा काठमाडौंको पक्षमा १–० ले रह्यो । टोलीलाई यो खेल जसरी पनि जित्नु थियो र जित्यो पनि । निर्णायक गोल भने आन्द्रेस निआको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डाइभिङ हेडको मदतमा गोल गरे । उनका लागि क्रस मिलाउने काम गरेका थिए विदेशी खेलाडी तोजिडिनोभ कोमोउनले ।
काठमाडौंको यो जितपछि १२ अंक भएको छ । ललितपुर भने १० अंकमै सीमित रह्यो । शीर्ष चारमा रहेर कसले कोसँग प्लेअफ खेल्ने हो, त्यसको निर्णयको आधार भने शनिबारकै पहिलो खेलले गरेको थियो । त्यसमा बुटवल–लुम्बिनी एफसीले वीरगन्ज युनाइटेडलाई १–० ले हराएको थियो । वीरगन्जले भने जित्नैपर्ने खेल थियो । तर जितेन । बुटवल–लुम्बिनीका लागि चन्दन दासले एरिक विष्टको पास सदुपयोग गर्दै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे ।
यो जितपछि बुटवल–लुम्बिनीको पनि १० अंक भयो । टोली छैटौं स्थानमा रह्यो । अन्तिम दिनको खेलमा मैदानमा सबैभन्दा ठूलो हार बेहोर्ने टिम वीरगन्ज भयो । मैदानबाहिर रहेर पनि खेल्दै नखेलेर सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम भने झापा एफसी रह्यो । झापा १० अंकसहित पाँचौं स्थानमा रह्यो । अन्तिम दुई लिग खेलको नतिजा टोलीको अनुकूल आएको भए झापाको पनि प्लेअफ खेल्ने सम्भावना जीवित थियो । तर, त्यो भएन ।
यो अर्थमा भाग्यमानी टिम भने ललितपुर सिटी रह्यो । तीन टिम समान १० अंकमा रहेकामा त्यसमध्ये झापा र लुम्बिनी–बुटवलभन्दा गोल अन्तरले ललितपुर अगाडि रह्यो । ‘कन्सर्न्ड टिम’ बीच ‘हेड टु हेड’ मा ललितपुर अगाडि रहेको हो । यी तीन टिमबीचको खेलमा ललितपुरले बुटवल–लुम्बिनीलाई २–० ले हराएको थियो भने झापासँग गोलरहित बराबरी खेलेको थियो । झापाले भने बुटवल–लुम्बिनीलाई १–० ले पराजित गरेको थियो । त्यस अर्थमा तीनै टिमबीचको खेलमा मात्र ललितपुर र झापाको ४ अंक भयो भने बुटवल–लुम्बिनीको शून्य । समान ४ अंकको स्थितिमा पनि ललितपुर गोलअन्तरमा झापाभन्दा अगाडि रह्यो । ललितपुरको प्लस टु । झापाको प्लस वान मात्रै । यसरी प्लेअफको समीकरण कठिन र जटिल बनाउने काम लिग चरणको अन्त्यतिर निस्केको अनपेक्षित नतिजाले नै गरेको थियो । यिनै अनपेक्षित नतिजाले नै लिग चरणको अन्तिम ह्विसलसम्म सनसनी कायम राख्यो ।
सुल्झियो जटिल ‘प्लेअफ’ समीकरण पनि । खेलपछि स्वभाविक रूपमा काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन खुसी देखिए । उनले भने, ‘आज जित्नैपर्ने आवश्यकता रहेको हुनाले हामी दबाबमा थियौं । पहिलो हाफमै गोल निस्केपछि हामीलाई सजिलो भयो । दोस्रो हाफमा एक खेलाडी कम भएर खेल्नुपर्दा पनि गाह्रो भयो ।’ खेलको ७५ औं मिनेटमा अमित तामाङलाई रेफ्री प्रज्ज्वल क्षेत्रीले सिधा रातो कार्ड देखाएका थिए । फोर्थ अफिसियल राम दसनसँगको सल्लाहमा यो निर्णय सुनाइएको थियो ।
पूरा घटना रेफ्री क्षेत्रीले आफैं देखेनन् । तर भएको के थियोभन्दा अमितले निखिल कदमलाई टाउकोले हानेर लडाएका थिए । हारमा ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलान निराश त रहे तर उनले अब नयाँ अवसर थपिएको माने । उनले भने, ‘यो हारमा हामी दुःखी छौं । तर हाम्रोसामु प्लेअफ अवसर पनि छ । त्यसैले अब हाम्रो ध्यानमा त्यसमा केन्द्रित हुनुपर्नेछ ।’ आइतबार एक दिनको विश्रामपछि प्रतियोगिता अब क्वालिफायर/इलिमिनेटरको चरणमा प्रवेश गर्नेछ ।

सोमबारको खेल (क्वालिफायर १)
पोखरा थन्डर्सविरद्ध धनगढी एफसी

मंगलबारको खेल (इलिमिनेटर)
काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी

बिहीबारको खेल (क्वालिफायर २)
इलिमेनेटर विजेता र क्वालिफायर १ विजेता

शनिबारको खेल
फाइनल

खेलकुद

घोडाघोडी विजयी

धनगढी (कास)– इलाइट युवा क्लब र घोडाघोडी युवा क्लब शनिबार एनआरएनए छैटौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी भएका छन् ।
धनगढी रंगशालामा इलाइट युवाले अल स्टार्स स्पोर्ट्स एकेडेमीलाई १–० ले हराउॅदै अन्तिम आठ तय गरेको छ । इलाइटका विदेशी खेलाडी फोडे फोफानाले एकमात्र गोल पेनाल्टीमा गरे । दोस्रो हाफको २६ औं मिनेटमा अल स्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई फोफानाले गोलमा परिणत गरे । उनी म्यान अफ द म्याच हुँदै ५ हजार पुरस्कार पाए ।
दोस्रो खेलमा घोडाघोडीले टेकबहादुर चोखाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–२ ले हराएर क्वाटरफाइनल तय गर्‍यो । निर्धारित समयमा २–२ को बराबरी भएको थियो ।
पेनाल्टी शुटआउटमा घोडाघोडीका सुजित बुढाथोकी, सन्जीव लामा माइकल शाही र करण रावतले पेनाल्टीमा गोल गरे । फाउन्डेसनबाट सुदीप विक र मदननाथ योगीले मात्रै गोल गरे । ज्ञानु भण्डारी र राजेन्द्रप्रताप सिंहको पेनाल्टी प्रहार बचाएका घोडाघोडीका गोलरक्षक राजेन्द्र विष्ट म्यान अफ द म्याच भए । उनले ५ हजार सहित ट्रफी पाएका छन् ।
आइतबार ब्वाइज युनियन लम्की र नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश तथा पुनर्वास युनाइटेड र ग्रीन युथ क्लब प्रतिस्पर्धा गर्नेछन । विजेताले ५ लाख र उपविजेताले २ लाख पाउनेछन् ।

खेलकुद

तुल्सीलाल स्मृति बुद्धिचाल पुसमै

काठमाडौं (कास)– ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त रूपमा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा लिगकम नकआउट आधारमा हुनेछ ।
विजेताले पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो हुने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक बोर्डमा पहिलो हुने ४ खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिने शनिबार पत्रकार सम्मेलनमा महासंघका महासचिव धरमबहादुर लामाले बताए ।
कुल पुरस्कार राशि ४ लाख ७० हजार रहेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराए । यसपालि फरक शैलीमा खेलाइने र प्रत्येक टिममा वैकल्पिकसहित ५ खेलाडीको सहभागिता रहनेछ । त्यसअनुसार प्रतियोगिता संरचनामा खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा विभागत गरिएको छ ।
समूह ‘ए’ मा उपाधि विजेता खेलाडी, पूर्वनेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट १० स्थान पाएका र १९०० रेटिङ माथिका खेलाडी रहनेछन् । समूह ‘बी’ मा १९०० रेटिङमुनिका खेलाडी, समूह ‘सी’ मा यू–२० र ‘डी’ मा यू–१६ या महिला खेलाडी रहनेछन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गजुरमुखी चेस क्लब, गोल्डेनगेट क्लब, लुम्बिनी इभेन्ट म्यानेजमेन्ट टिम, हिमालयन चेस क्लबलगायत सातै प्रदेशका टिमले भाग लिने कार्यबाहक अध्यक्ष हेराकाजी महर्जनले बताए ।
प्रतियोगिता आयोजना गर्न अनुमानित ३१ लाख लाग्ने जनाइएको छ । उक्त रकमको व्यवस्था वाग्मती प्रदेश खेलकुद परिषद् हेटौंडा, राष्ट्रिय खेलकुद परिषदसहित विभिन्न संघसंस्थाबाट जुटाइने जनाएको छ ।

खेलकुद

रसिला र प्रिन्स विजेता

छोटकरी

काठमाडौं (कास)– रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दुवै पहिलो संस्करणका विजेता हुन् । महिला एकलमा आर्मीकी रसिलाले आफ्नो क्लबकी अनुमाया राईलाई २१–९, २१–१५ ले र एपीएफका प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरे । पुलिसकी नीता लम्साल र आर्मीकी रेहना शेरचन तथा पुरुषतर्फ पुलिसका विष्णु कटुवाल र जीवन आचार्य तेस्रो भए । यू–१७ ब्वाइजमा आर्मीका कविर केसीले अभय महरालाई २१–९, २१–४ ले हराएर उपाधि जिते । सोही उमेरको गर्ल्समा कास्कीकी दिलाशा रानालाई २१–१८, २१–१० ले पराजित गर्दै रेहाना शेरचनले उपाधि जितिन् ।

खेलकुद

किड्स फुटसल हुने

छोटकरी

काठमाडौं (कास)– दियालो टीएफए किड्स कप फुटसल प्रतियोगिता हुने भएको छ । जीफोर फुटसल तारकेश्वर–१० मा हुने प्रतियोगिता यू–८, यू–११ र यू–१३ विधामा हुने राष्ट्रिय फुटसल टोलीका प्रमुख प्रशिक्षक गौरव बस्नेतले बताए । यू–८ मा ६, यू–११ मा ८ र यू–१३ मा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता विजेता र उपविजेतालाई पुरस्कृत गरिनेछ ।

खेलकुद

गोल्डेनगेट सफल

छोटकरी

काठमाडौं (कास)– गोल्डेन गेट र बूढानीलकण्ठ शनिबार समृद्धि यू–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेका छन् । गोल्डेनगेटले रोयल्सलाई ८५–६७ स्कोरले हरायो । गोल्डेनगेटका उर्गेनले २० स्कोर जोडे । बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले पराजित गर्दा प्रसोन मल्ल ठकुरीको १९ स्कोरको योगदान रह्यो ।

खेलकुद

चैतन्य विजयी

छोटकरी

काठमाडौं (कास)– चैतन्यले १२ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङलिस स्कुललाई ३७–११ ले पराजित गर्‍यो । चैतन्यका एलिस तामाङले २१ स्कोर गरे । गर्ल्समा अदिती चौधरीको ४ स्कोरमा चैतन्यले अल्बर्टलाई ६–२ ले हरायो ।