You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

बालकुमारी घटनामा सुरक्षा समन्वय अभाव

ललितपुरका सीडीओ मन्त्रालय र एसएसपी शाह प्रहरी प्रधान कार्यालय फिर्ता
मृतक परिवारलाई १०/१० लाख राहत
- मातृका दाहाल

(काठमाडौं)
वैदेशिक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा तयारी गरिरहेका दुई युवाको ज्यान जाने गरी शुक्रबार भएको घटनामा सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीमुक्त गरेको छ ।
पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को–बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले ‘घातक बल प्रयोग’ गर्दा शुक्रबार दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । परिस्थितिको पूर्वआकलन गरेर सुरक्षा सावधानी नअपनाएको तथा प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयले प्रजिअ पण्डितलाई मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई लगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए ।
प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्न जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएका डीएसपी उमेश लम्साल, रोजगार अनुमति प्रणाली ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका बडीगार्ड नेपाल प्रहरीका असई बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।
यस्तै, घटनामा ज्यान गुमाएका रावत र शाहका परिवारलाई प्रतिमृतक १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय शनिबारको मन्त्रिपरिषद्ले गरेको छ ।
साउनमा करिब ३२ हजारले पानीजहाज निर्माणसम्बन्धी कामका लागि कोरियन भाषा परीक्षा दिएका थिए । त्यसको नतिजा नआउँदै कोरियाले पुनः उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको थियो । तर, पहिले सहभागी भएकालाई पछिल्लो आवेदनमा सहभागी हुन नपाउने प्रवधान राखिएकामा त्यसविरुद्ध १८ जना उच्च अदालत पाटन पुगेका थिए । अदालतले निवेदकका पक्षमा आदेश सुनाउँदै आवेदन दिन भनेपछि उनीहरू शुक्रबार ग्वार्कोस्थित ईपीएस कार्यालय पुगेका थिए ।
साउनमा परीक्षा दिने अन्य परीक्षार्थी पनि उनीहरूको साथ लागेर आवेदन दिन गएका थिए । तर, ईपीएस शाखाले १८ जनाबाहेकलाई प्रवेश नदिएपछि कार्यालय पुगेका परीक्षार्थी प्रदर्शनमा उत्रिए ।
भडकिएको प्रदर्शनकै बीच बालकुमारी आकाशे पुलनजिकै मन्त्री ज्वाला झन्डावाला गाडीसहित पुगे । त्यसपछि स्थिति झन् तनावपूर्ण बनेको थियो । सुरक्षा निकाय र गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार गाडी रोकिएपछि मन्त्री बाहिर निस्केर आन्दोलनकारीसँग भनाभन गरेका थिए । मन्त्री ज्वाला र प्रदर्शनकारीबीच भनाभन भएपछि स्थिति थप तनावपूर्ण बनेको गृह मन्त्रालय स्रोत बताउँछ । त्यसपछि बडीगार्ड दनुवारले ‘नबोलौं हजुर’ भन्दै मन्त्री ज्वालालाई सुरक्षित स्थानतर्फ लगे । त्यसपछि प्रदर्शनकारीले गाडीको टायरबाट हावा खुस्काएर आगो लगाइदिएका थिए । त्यही क्रममा प्रहरीले हवाई फायर, गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
कान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्वालाले आफू घटनास्थल नपुगेको भन्दै ढाँटेका छन् । आफूलाई नजिकै आयोजित कार्यक्रम स्थलमा छाडेर गाडी मन्त्रालय जाने क्रममा रहेको उनले दाबी गरे । सामान्यतया भीआईपी सवार गाडी भीआईपीलाई कार्यक्रमस्थलमा छोडेर फर्किंदैन । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र यससम्बन्धी अनुसन्धान गरिरहेका सुरक्षा अधिकारीहरूका अनुसार मन्त्री ज्वाला घटनास्थलमै थिए । त्यस्तै गृहका एक अधिकारीसमेत मन्त्री ज्वालाको दाबी पत्याउने अवस्थाको नभएको बताउँछन् । नेपाली सेनाका एक उच्च अधिकारीको भनाइमा पनि मन्त्री ज्वाला गाडीबाट बाहिर निस्केपछि स्थिति झन् भयावह देखेपछि अंगरक्षकले नै गाडीबाट निकालेर सुरक्षित स्थानतर्फ लगेका थिए । ‘मन्त्रीलाई अंगरक्षकले त्यहाँबाट सुरक्षित स्थानतर्फ नलगेको भए स्थिति कल्पना गरेभन्दा अर्कै हुन सक्थ्यो, त्यो अवस्था आउनबाट अंगरक्षकले दिएनन्, अंगरक्षकका तर्फबाट त्यस बेला उचित जिम्मेवारी निर्बाह भयो ।’
सुरक्षा अधिकारीहरूका अनुसार बडीगार्डले गाडीमा आगो लाग्नुअगावै सुरक्षित ठाउँतर्फ मन्त्रीलाई लगेलगत्तै आगजनी र तोडफोड सुरु भएको थियो । त्यसपछि आगो लगाउन पुगेकामाथि प्रहरीबाट गोली, लाठी र बन्दुकको कुन्दा प्रहार भएको थियो । मृतक शाहलाई २ राउन्ड गोली लागेको प्रहरीले नै उल्लेख गरिसकेको छ । अर्का मृतक रावतको छातीलगायत शरीरका विभिन्न भागमा कुटपिटका नीलडाम देखिएको छ ।
गृह मन्त्रालयका एक अधिकारीले स्थिति तनावपूर्ण अवस्थामा हुँदाहुँदै त्यही क्षेत्रबाट गाडी लगेको तथा यसबारे भीआईपी सुरक्षा व्यवस्थापन गर्ने आफूभन्दा माथिल्लो निकायलाई खबर नगरेकोमा दनुवारलाई निलम्बन गरिएको बताए । डीएसपी लम्साललाई जिम्मेवारी तोकेर फिल्डमा खटाइए पनि त्यसअनुसार काम नगर्दा स्थिति भडकिएको देखाएर मन्त्रालयले निलम्बन गरेको हो । त्यस्तै, ईपीएस कोरिया शाखाका निर्देशक सुवेदीलाई अदालतको आदेश लिएर आएका १८ जनाबाहेकका निवेदकलाई परिस्थितिको आकलन नगरी कार्यालय प्रवेशमा रोक लगाएका कारण स्थिति भडकिएको भन्दै जिम्मेवार देखाइएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीलाई आदेश दिने प्रजिअलाई भने सरुवा मात्रै गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घटनाको छानबिन गर्न समिति गठन भइसकेको सन्दर्भमा छानबिनको काम सहज होस् भनेर प्रजिअ र जिल्ला प्रहरी प्रमुखलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको बताए । अरू तीन जनालाई छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सोहीबमोजिम हुने गरी हाललाई निलम्बन गरिएको उनको भनाइ छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका थिए । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।


सुर्खेतमा प्रदर्शन
सुर्खेत (कास)– ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावतको मृत्यु भएको विरोधमा वीरेन्द्रनगरमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने, सहिद घोषणा, मृतकका परिवारको शिक्षा, स्वास्थ्य र लालनपालनको ग्यारेन्टीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

मुख्य पृष्ठ

सरकारप्रति कांग्रेसमा असन्तुष्टि

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको एक वर्षको कामलाई लिएर सत्ता गठबन्धनकै मुख्य घटक नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ ।
कांग्रेसको बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री दाहाल र सरकारमा सहभागी आफ्नै मन्त्रीहरूको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरेका छन् ।
तीन दिनसम्म सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राख्दा मन्त्रीबाहेक अधिकांशले सरकारको आलोचना गरेका थिए । मुख्य गरी केन्द्रीय सदस्यहरू सरकारका कामकारबाही र आसन्न राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटको विषयलाई लिएर बोलेका थिए । बैठकले अवसर नपाएका, विभिन्न कारणले अवसरबाट वञ्चित भएका, राष्ट्रिय रूपमा प्रतिष्ठित, भूगोल र समुदायलाई समेत समेटेर उम्मेदवार तय गर्ने मापदण्ड बनाएको छ ।
राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनमा सातै प्रदेशबाट झन्डै एक हजारजति उम्मेदवार सिफारिस भएर केन्द्रमा आएका छन् । सिफारिस सबैको सूचीलाई संसदीय समितिमा लैजाने निर्णय पनि बैठकले गरेको छ । कांग्रेसको उम्मेदवार चयन संसदीय समितिले गर्ने गर्छ । तल्ला तहले सिफारिस गर्दा निर्वाचनमा पराजित भएका, समानुपातिक सूचीमा परेकादेखि आकांक्षी सबैका नाम हालेर केन्द्रमा पठाइएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यले हारेकालाई र समानुपातिक सूचीमा परेकालाई नल्याएर नयाँ, अनुभवी विज्ञलाई उम्मेदवार बनाउन जोड दिएका थिए ।
बैठकले सरकारका सवालमा परराष्ट्रका सम्बन्धमा केही सुधार भए पनि सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च हुन नसकेको, निर्माण व्यवसायीले आयोजनाको भुक्तानी पाउन नसकेको, रोजगारीको अवसर सिर्जना नभएको, निर्यात घटेको लगायतका विषय उठाउँदै मन्त्रीहरूलाई थप प्रभावकारी काम गर्न निर्देशन दिने निर्णय गरेको छ । फागुन ७–१० मा हुने पार्टीको महासमिति बैठकअघि मन्त्री परिवर्तन गर्न पार्टी सभापति शेरबहादुर देउवा तयार नभएकाले बैठकले अहिल्यै मन्त्री परिवर्तन गर्ने विषयमा केही निर्णय भने लिएको छैन ।
महामन्त्री गगन थापाले अहिलेकै धीमा गतिमा सरकार चल्ने हो भने मन्त्री मात्रै नभएर प्रधानमन्त्रीसमेत बदल्नुपर्ने धारणा बैठकमा राखेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सरकारका कामप्रति खुलेरै असन्तुष्टि जनाए । शर्माले ललितपुरको बालकुमारीमा भएको घटनाको दोषी प्रधानमन्त्री, गृहमन्त्री वा प्रदर्शनकारी को हो ? त्यसको जबाफ दिनुपर्ने बताए ।
केही दिनअघि प्रधानमन्त्री कांग्रेसकै मन्त्रीहरूको कामबाट असन्तुष्ट भनेर आएको समाचारप्रति संकेत गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीको कार्यशैली नै राम्रो नभएको बताए । ‘कांग्रेसका मन्त्रीहरूले मात्रै राम्रो काम नगरेका हुन् कि गठबन्धनका अरू मन्त्री र प्रधानमन्त्रीले पनि राम्रो काम गर्न नसकेको हो ? हामीलाई लाग्छ, प्रधानमन्त्रीले पनि राम्रो काम गर्न सक्नुभएको छैन । यस्तै काम गर्दै जाने हो भने मन्त्री मात्रै होइन, प्रधानमन्त्री फेर्ने हैसियत पनि कांग्रेसले राख्छ,’ थापाको भनाइ थियो । बैठकमा बसेर केन्द्रीय सदस्यहरूले सरकारप्रति राखेको धारणा नसुनिएकामा थापा आक्रोशित भएका थिए । मन्त्रीहरूले आफ्नो कार्यप्रगति राखेर बैठकबाट निस्केकोप्रति लक्षित गर्दै उनले यसरी नचल्ने बताए । ‘पार्टी र मन्त्रीका बीचमा समन्वय गर्न एकातिर संयन्त्र बन्न मन्त्रीहरूले अवरोध गर्ने, अर्कोतिर बैठकमा अरूका कुरा नसुन्ने । जसरी संसद् र समितिहरू सांसदहरूको अनुपस्थितिबाट प्रभावकारी हुन सकेको छैन । यहाँ पनि मन्त्रीहरूले त्यस्तै बहानाबाजी बनाएर निस्कने ?’ थापाले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा सरकारले परिणाम देखाउने गरी काम गर्नुपर्छ । नत्र प्रधानमन्त्री र मन्त्री दुवैको विकल्प खोजिन्छ ।’
पार्टीबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमाथि आलोचनाको प्रतिवाद गर्दै सरकारले मध्यम गतिमा काम गरेको बताए । उनले सरकारका बारेमा उठेका प्रश्नहरू प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने आश्वासन दिए । ‘केही पनि भएको छैन र सबै भएको छ भन्ने दुवै भाष्य ठीक छैन । खासमा सरकार मध्यम गतिमा मात्रै चलेको छ । मन्त्रीहरूले कुनै कान्ड घट्ने गरी काम गरेका छैनन् । राम्रो पनि हुन नसकेको सत्य हो,’ केन्द्रीय कार्यसमितिमा चर्को आलोचनापछि जबाफ दिँदै खड्काले भने, ‘साथीहरू तपाईंहरू पनि कुनै बेला मन्त्री हुनुहोला । तपाईंहरूको काम पनि हामी हेरौंला ।’
बैठकमा मन्त्रीहरूले सकारात्मक कार्यसम्पादनसहितको प्रगति विवरण प्रस्तुत गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले आफूले अर्थको नेतृत्व सम्हालेयता अर्थतन्त्रका सूचक सकारात्मक दिशामा अघि बढेको तथ्यांक प्रस्तुत गरेका थिए । रेमिट्यान्स बढेको, पर्यटक आगमनमा उल्लेख्य सुधार आएको, राजस्व परिचालनमा सुधार भएको उल्लेख गर्दै आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गर्न सरकारले खोजिरहेको बताए । अर्थमन्त्रीले सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गरी अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उत्पादन, उपभोग र लगानीमा प्रतिबिम्बित गराउने र सरकारको खर्चमा मितव्ययिता कायम गरेर लगानीमा विद्यमान अवरोधहरू फुकाउने दिशामा सरकार लागेको उनको भनाइ थियो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले उपलब्धिमूलक काम गर्न नसकेको र कांग्रेसका मन्त्रीले उल्लेख्य परिणाम दिन नसक्दा समुदायमा लैजाने विषय नै नपाएको बताए । पार्टी नेतृत्वको भूमिकाले पार्टी नै रक्षात्मक स्थितिमा पुगेको उनको भनाइ थियो । ‘सरकारले काम पनि नगर्ने, भोलि सरकारको नेतृत्व गर्ने अवस्थामा समर्थन प्राप्त नहोला कि भन्ने डरले केही पनि नगर्ने हो भने २०८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुन सक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म नेतृत्वको बचाउ गर्न सक्दिनँ ।’
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारको कामबाट चित्त बुझाउने ठाउँ नभएको भनाइ राखे । अर्का केन्द्रीय सदस्य रमेश लेखकले सरकार र मन्त्री नभएर काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताए । मन्त्रीहरूले जस्तोसुकै तथ्यांक दिए पनि व्यवहारमा सुधारको संकेत नआउँदासम्म त्यसको प्रभाव नपर्ने उनको तर्क थियो । राजनीतिक बेथिति र जनताको आम निराशालाई हेरेर संविधानको मूल भावना र मान्यतालाई कायम राख्दै अरू विषयमा संशोधन गर्न सकिने धारणा उनले राखेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामाजिक रूपमा बढिरहेको चुनौतीलाई सम्बोधन गर्न आवश्यक परे संविधानका विशेषताबाहेक अरू विषयमा संशोधन गर्न सकिने बताएका छन् ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बैठकमा सरकारको प्रतिरक्षा गर्ने केन्द्रीय सदस्य नै नभएको भन्दै यसले सरकारको कामकारबाही बदल्नुपर्ने नत्र मन्त्री नै बदल्नुपर्ने सन्देश दिएको बताए । अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले मन्त्रीका कार्यशैली परिवर्तन नभएमा मन्त्री नै फेर्नुपर्ने आवाज बैठकमा उठेको बताए । ‘सत्तामा पुगेपछि मन्त्रीहरूको अनुहार चिल्लो, गोरो भएको छ । तर, हामी गाउँमा जाँदा सरकारका कामले कालोमोसो खानुपर्ने अवस्था बनेको छ,’ खतिवडाले भने, ‘मन्त्री भएदेखि सरुवाबढुवामा लाग्ने तर काम नगर्ने प्रवृत्ति बनेको छ । कांग्रेसका मन्त्रीले मात्रै होइन, प्रधानमन्त्रीले पनि आफ्नो कार्यशैली बदल्नुपर्छ भन्नेमा कांग्रेस पुगेको छ ।’

मुख्य पृष्ठ

जुनाकी जलजला

पााच वर्षअघि मिर्गौला दान गरेर छोरीलाई दोस्रो जन्म दिएकी आमा
- मधु शाही

(काठमाडौं)
अस्पतालको शय्यामा छोरी छटपटाइरहेकी थिइन् । ‘मिर्गौला दिने जो हुनुहुन्छ, यता आउनुहोस्,’ महिला कर्मचारीले इसारा गर्दै बन्द कोठामा बोलाइन् ।
जुना परियार उपस्थित भइन् । कर्मचारीले सोधिन्, ‘तपाईं को हो बिरामीको ?,’ नाता खुलाउँदै जुनाले भनिन्, ‘आमा ।’
एक तमासले अनुहारमा हेर्दै ती महिला कर्मचारीले फेरि भनिन्, ‘तपाईंलाई थाहा छ, छोरीलाई किड्नी दिनुभयो भने तपाईंको जीवन अधुरो रहन्छ । समस्या आउन सक्छ, बिरामी पर्न सक्नुहुन्छ ।’ भय र त्रास मिश्रित यस्ता कुराले जुनाको अनुहारमा अलिकता पनि बदलाव ल्याएन । बरु निडर र दृढ विश्वास दर्शाउँदै उनले भनेकी थिइन्, ‘उनकी आमा हुँ, उनी नै रहिनन् भने म अपूरो हुन्छु ।’
पाँच वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला दिएर छोरीलाई दोस्रो जन्म दिएकी जुनाको पुरानो घाउमा अहिले बिस्तारै मलम लाग्दै छ । छोरी जलजलाले हार्मोनियममा जब सुर लाउँछिन्, जुना छोरीको कलामै नतमस्तक हुन्छिन् । उनलाई लाग्छ– मेरी छोरी नै गीत–संगीत हुन् । ‘तिमीलाई जति सुने पनि थाक्दिनँ छोरी,’ आमाको प्रशंसाले जलजलाको मुहार चम्किन्छ । अस्वस्थ शरीर कमजोरीले थाकेका बेला तिनै आमाका प्रेरणादायी शब्द सुनेर जलजलाका औंला चलमलाउन थाल्छन् ।
जलजला शारीरिक रूपले केही अस्वस्थ छिन् । दाहिने हात कुहिनोदेखि खुम्च्याउन मिल्दैन । कपाल कोर्न र भारी उचाल्न असम्भव छ । तर, हार्मोनियम र पियानोका काँटा चलाउन उनका औंला मजाले चल्छन् । मृर्गौला फेरेको व्यक्ति चिसोबाट जोगिनुपर्छ, नत्र रुघाखोकी र ज्वरोले सताउने उनी बताउँछिन् । यति मात्रै होइन, शरीरले साथ नदिँदा कहिलेकाहीँ जीवनजगत्सँगै पनि वैराग्य लाग्छ– जलजलालाई । जुना छोरीको तन मात्रै होइन, मन पढ्नसमेत सिपालु छिन् । ‘खोइ अचम्मै लाग्छ, आमाले मैले नभन्दै धेरैथोक बुझिसक्नु हुन्छ,’ जलजला भन्छिन् । गर्भमा ९ महिना राखेर संसार चिनाउने आमाले सन्तानको मौनता पढ्ने क्षमता राख्ने जुनाले सुनाइन् ।
अर्घाखाँचीको धारापानी गाउँमा जन्मिएकी जलजलाले गायन क्षेत्रमा चम्किनुअघि थुप्रै अँधेरी रातको सामना गर्नुपरेको छ । जुनाका अनुसार जलजला ६ महिनाकी हुँदा आँखामा समस्या देखा पर्‍यो । देख्न सक्ने क्षमता थिएन । आँखाको ज्योति गुमाएकी छोरीले भविष्यको ज्योति कसरी छर्लिन् ? जुनालाई यही कुराले मन पिरोलिरहन्थ्यो । डेढ वर्षको उमेरमा छोरीको आँखा अप्रेसन गरेर नजिकको दृष्टि ल्याउन सफल भइन् । तर, टाढासम्म ठम्याउन सक्ने ज्योति जलजलाले गुमाएकी छन् ।
नेकपा (मसाल) को सांस्कृतिक मोर्चा रक्तिम परिवारमा जलजलाका आमाबुबा आबद्ध थिए । गीत–संगीत र नाचगानमा उनको परिवार समाहित थियो । जुना छोरी बोकेरै नाचगानमा हिँड्थिन् । गर्भमै रहँदा जलजलाले गीत, संगीत र साहित्यको रस पाइन् । बाल्यकालदेखि नै नृत्य कार्यक्रममा अगाडि रहिन् । हार्मोनियम बजाउँदै ‘सोचेजस्तो हुन्न जीवन...’ गीत गुनगुनाउँदै गरेकी छोरीतिर हेरेर जुना भन्छिन्, ‘उनले सोचेकी थिइन्, डान्सर बन्ने, समयले गायिका बनाइदियो । सोचेझैं हुन्न रहेछ जीवन ।’
नाच्नमै फूर्तिली जलजलाले १० वर्षको कलिलो उमेरमै अर्को शारीरिक बज्रपात सहनुपर्‍यो । बाथ रोगले उनी तीन वर्षसम्म घरभित्रै कुँजिइन् । छोरी बोकेरै स्कुल पुर्‍याउने र घर ल्याउने काम आमाबुबाको हुन्थ्यो । नाच्ने शरीर चल्न छोडे पनि कलाप्रतिको लगाव मरेको थिएन । उनी एकान्तमा गुनगुनाउन थालिन् । एउटा कलाकारले अर्को कलाकारलाई सुन्न सक्छ, भनेझैं बुबा नारायणले छोरीको गायन क्षमता पहिचान गरे । घरमै हार्मोनियम बजाउन सिकाए । र, घरबाटै बाथजस्तो जटिल रोगसँग जुध्दै जलजलाले संगीत यात्रा थालिन् । उनी भन्छिन्, ‘आमाले पटक–पटक जन्म दिनुभयो भने बुबाले संगीतका अक्षर सिकाउनुभयो ।’
छोरीको गायन सिर्जनालाई साथ दिँदै अर्घाखाँचीबाट काठमाडौं बसाइँसराइ गरेको थियो, जलजलाको परिवार । उनको साथमा आमा, बुबा र भाइ सधैं रहिरहे । उनको भविष्यकै लागि पुर्ख्यौली थलो चटक्कै छोडेर परिवार सहरमा दुःख बेसाउन आए । पढाइसँगै गीत–संगीतमा छोरीको उपयुक्त वातावरण खोज्न जुनाले निकै संघर्ष गरिन् । बाथ रोग निको हँॅदै गयो । मुर्छना संगीत पाठशालामा संगीतकार, गायक मनोजबाबु सिवाकोटीसँग संगीत प्रशिक्षण लिँदै जलजला गायनमा वामे सर्दै गइन् । काठमाडौं आउनुअघि २०७१ सालमा जलजलाले ‘रेडियो नेपालको आधुनिक गायन प्रतियोगिता’ मा दोस्रो स्थान हासिल गरेकी थिइन् । संगीत गुरु सिवाकोटीको प्रशिक्षणले उनको सिर्जनामा निखार थपिँदै गयो । यही क्रममा ‘नेपाली तारा’ सांगीतिक रियालिटी शोमा सहभागी भई उत्कृष्ट ६ स्थानमा पुग्न सफल भइन् । बाटोमुनिको फूल–२ चलचित्रको गीत ‘केही कदम तिमीसँगै...’ गाइन् । यसबीचमा दर्जनौं गीत रेकर्ड गरिन् । जुनाले छोरीको उच्च शिक्षा संगीतमै गराउने सपना देखेकी थिइन् । ‘नेपाली तारा’ को सहभागिताले चर्चा कमाएकी जलजला कोलकाताको ‘रवीन्द्र भारती युनिभर्सिटी’ मा शास्त्रीय संगीत सिक्न पुगिन् । छात्रवृत्तिमा पढ्ने अवसर पाए पनि जलजलाले कोर्स पूरा गर्न पाइनन् । त्यतिबेलै उनी बिरामी परेर मिर्गौला प्रत्यारोपण गर्नुपरेको थियो । बिरामी भएपछि पढाइ बीचैमा छोडेर नेपाल फर्किइन् । उपचारपछि फेरि कोलकाता पढ्न गइन् तर शरीरले साथ दिएन ।
सन्तान रोगले छटपटाइरहेको क्षण देख्न एउटी आमाको हृदयलाई कति कष्टकर हुन्छ भन्ने संवेदना निकै गहिरोसँग महसुस गरेकी छन्, जुनाले । ‘उनी बिरामी हँॅदा पलपल प्रश्रव पीडाले छटपटिएझैं हुन्छु,’ जुनाले मनको बह पोखिन् । आमाको मिर्गौला दानले फेरि मुस्कुराएकी जलजला सधैं अनुगृहीत छिन् । उपहार के दिऊँ ? उनको आमाप्रतिको श्रद्धा अकासिँदै छ । मिर्गौला प्रत्यारोपणपछि सन् २०१९ मा नेपाल आइडलको टप १७ सम्म पुग्नु उनका लागि सफलता नै हो । त्यस्तै, मर्नै लागेको क्षणबाट बाँच्ने आशा पलाउँदाको भाव जलजलाले गीतमार्फत सार्वजनिक गरेकी छन् । ‘पुनर्जन्म...’ म्युजिक भिडियो उनले आमामै समर्पित गरेको बताइन् ।

Page 2
म्यागेजिन

नेपाली फिल्मको अन्तर्राष्ट्रिय उडान

सन् २०२३ मै आधा दर्जन नेपाली फिल्म प्रतिष्ठित फिल्म फेस्टिभलमा
- रीना मोक्तान

(काठमाडौं)
विश्व बजारमा उपस्थिति एवं पहुँचका हिसाबले सन् २०२३ नेपाली फिल्मका लागि सफल वर्ष रह्यो । संख्यात्मक र गुणस्तर दुवै हिसाबले अन्तर्राष्ट्रिय बजारमा यस किसिमको सहभागिताले फिल्म क्षेत्रकै लागि नयाँ ऊर्जा थपिएको फिल्मकर्मी र समीक्षकहरूको बुझाइ छ । विश्व प्रसिद्ध फिल्म फेस्टिभलमध्येको एक भेनिसमा फिडेल देवकोटा निर्देशित ‘रातो सुटकेस’ को वर्ल्ड प्रिमियर हुँदा क्यानडाको टोरन्टोमा प्रिमियर भएको नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ ले दर्शकदेखि समीक्षकसम्मलाई एक पटक सोच्न बाध्य बनाएको छ ।
‘गाउँ आएको बाटो’ को बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एसिया प्रिमियरमा निर्माण टिम एसियाकै चर्चित हस्तीहरूसँग रेड कार्पेटमा हिँड्यो । त्यस्तै साओ पाओलोमा साउथ अमेरिकन प्रिमियर समेत भएको यो फिल्म भारतकै अर्को चर्चित फेस्टिभल जिओ मामी मुम्बई फिल्म फेस्टिभल पनि पुग्यो । अहिले केरला र पुणेंको फेस्टिभलमा छ । फिडेल र निर्माता रामकृष्ण पोख्रेलको निर्माण रहेको ‘रेड सुटकेस’ पनि भेनिस मात्र पुगेन, सँगसँगै मुम्बईको मामी फेस्टिभल, जर्मनीको म्यानहाइम हेडेलवर्ग, जेनेभिया, सर्वियालगायत फेस्टिभलमा घुमिरहेको छ । रामकृष्णकै ‘गुराँस’ले चेक गणतन्त्रमा आयोजित दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्यो । कार्लोभीसँगै ‘गुराँस’ले यही वर्ष बुसान, मामी, केरला र कोलकातासहित ७ फेस्टिभलमा उपस्थिति जनाउँदै छ ।
यीसँगै सर्ट फिल्म ‘साक्षी रूख’ र डकुमेन्ट्री ‘ढोरपाटन’ ले पनि यस वर्ष विश्व बजारमा सशक्त उपस्थिति जनाए । ‘सेफिल्ड डकफेस्ट’मा वर्ल्ड प्रिमियर भएको ‘ढोरपाटन’ले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड नै जित्यो । राजन कठेत र सुनिर पाण्डेको संयुक्त निर्देशन रहेको ७९ मिनेटको यो डकुमेन्ट्री दर्जन बढी विदेशी फिल्म फेस्टिभल घुमिसक्यो । बुसानमा वर्ल्ड प्रिमियर भएको निरञ्जन भेटवाल निर्देशित ‘साक्षी रूख’ले रोट्रड्याम र क्लेरमोन्ट फेराडमा पकड जमायो ।
कुनै बेला वर्षमा एकाध फिल्म मात्रै विश्व बजारसम्म पुग्ने गरेकामा वर्ष २०२३ मा थुप्रै नेपाली फिल्मले विश्व बजारको यात्रा गरे । केसाङ छेतेनको ‘डाइभरसिटी प्लाजा’ त डकुमेन्ट्रीका लागि प्रख्यात प्लेटफर्म डक न्युयोर्कसम्मै पुग्यो । सर्ट फिल्मतर्फ सुनिल गुरुङको ‘विन्डहर्स’, विदुषी गिरीको ‘चिसो घर’ र ‘हेलेना’ले मामी हुँदै विश्व बजार ताक्दै छन् ।

विश्व बजारमा नेपाली फिल्मको स्वीकार्यता
नेपाली फिल्मको विश्व सयरलाई निर्देशक नवीन सुब्बा विश्व बजारमा नेपाली फिल्मको बढ्दो स्वीकार्यताका रूपमा अर्थ्याउँछन् । ‘२० वर्षअगाडि हामी फिल्म बनाउँछौं है भनेर बुझाउन गाह्रो थियो । पहिले नेपाली फिल्मकर्मीलाई त्यति पत्याउँदैन थिए,’ उनले भने, ‘अहिले त विश्वका प्रमुख फिल्म फेस्टिभलमा नेपालका फिल्म आए भने एकपल्ट हेरौं भन्ने भएको छ । अहिले त फेस्टिभलमा नेपाली फिल्मको विषयमा दर्शकबीच छलफल बढ्न थालेको छ । विश्वका फिल्म किनबेच गर्ने सेल्स एजेन्टलाई नेपाली फिल्मको प्रस्ताव पुर्‍याउँदा हेर्न तयार हुन थालेका छन् ।’ उनी निर्देशित ‘खाङ्ग्री’ले विश्व बजारमा नेपालबाट पहिलो पटक पाइला टेकेको थियो । उनी निर्देशित अर्को चर्चित फिल्म ‘नुमाफुङ’ ले त्यो बाटोलाई अझ फराकिलो बनाइदिएको थियो ।
निर्देशक सुब्बा त भारतीय फिल्म क्षेत्रको तुलनामा नेपाली फिल्मकर्मीले विश्व बजारमा फड्को मारिरहेको दाबी गर्छन् । ‘गएको वर्ष ‘गाउँ आएको बाटो’ को विषयमा इटालीदेखि पोर्चुगलका समीक्षकले लेखे । यो स्तरको छलफल दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ को समयमा भएको थियो,’ निर्देशक सुब्बाले थपे, ‘अहिले भारतीय समीक्षकले भारतीयभन्दा पनि नेपाली फिल्म अगाडि छन् भन्न थालेका छन् ।’ सुब्बाको भनाइमा सहमति जनाउँदै ‘ढोरपाटन’का निर्देशक कठेत नेपाली फिल्मलाई विश्व बजारले महत्त्व दिन थालेको सुनाउँछन् । ‘पहिला उनीहरू नेपाली फिल्म औसत हुन्छ भन्ने धारणा राख्थे । तर, अहिले नेपाली फिल्मकर्मी आफ्ना सृजनासहित त्यहाँ पुग्न थालेपछि नेपाली फिल्मलाई पनि ध्यान दिन थालेका छन्,’ उनले भने, ‘दक्षिण एसियामा पनि नेपालमा राम्रा कथा भन्ने छन् भन्ने हिसाबले लिन थालेका छन् ।’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुग्नु मात्र नभई नेपाली फिल्मले बलियो दाबेदारी नै प्रस्तुत गर्न थालेको उनले बताए ।
विश्व बजारमा नेपाली फिल्मको उपस्थिति हेर्दा गएको वर्ष उपलब्धिमूलक नै रहेको निर्माता रामकृष्ण पोख्रेलको विश्लेषण छ । मामीमा आफ्ना दुई फिल्मले एउटै विधामा प्रतिस्पर्धा गर्दाको खुसी उनले गएको वर्ष महसुस गरे । विश्व बजारमा नेपाली फिल्म पुग्दा धेरै दर्शकबीच नेपाली फिल्मको चर्चा मात्रै नभई उनीहरूको चासो पनि बढ्दै गएको पाइन्छ । गएको वर्षको उपस्थितिले आगामी दिनमा विश्व बजार पुग्ने नेपाली फिल्मको संख्या थपिँदै जानेमा उनी आशावादी छन् । ‘जहाँ–जहाँ नेपाली फिल्म पुगे, त्यहाँका दर्शकले नेपाली फिल्मको मौलिक स्वाद पाएका छन्,’ उनले भने, ‘यसरी निरन्तर नेपाली फिल्म विदेशी फेस्टिभलमा पुग्न थाले आउँदो वर्ष फिल्मको संख्या पनि बढ्ने पक्का छ ।’ विश्व बजारमा नेपालको प्रतिनिधित्व गर्ने फिल्मलाई राज्यले पनि साथ दिनुपर्ने निर्माता पोख्रेलको धारणा छ । ‘नेपाली फिल्मले विदेशमा मुलुककै प्रतिनिधित्व गरिरहेका छन् । देशको कला, संस्कृतिलाई फिल्मदेखि डकुमेन्ट्रीले विश्व बजारमा पुर्‍याइरहेका छन्,’ उनले भने, ‘राज्यले यी फिल्मकर्मीलाई साथ दिए, विश्व बजारमा पुग्ने फिल्मको संख्या पनि बढ्दै जानेछ ।’
‘लोरी’ बाट कान्स जितेका निर्देशक अविनाश विक्रम शाह हाम्रा कथा विश्वलाई सुनाउन पनि नेपाली फिल्मकर्मी विश्व बजारसम्म पुग्नुपर्ने विचार राख्छन् । ‘हाम्रो पनि केही भन्ने कुरा छ है भन्नका लागि हामी विश्व बजार त पुग्नैपर्छ । जसले गर्दा हामी पनि छौं है भन्ने कुरा उनीहरूले थाहा पाउँछन्,’ उनले थपे, ‘विश्वका फिल्मले मलाई कस्तो अनुभूति गराउँछ भन्ने कुरा पनि महत्त्वपूर्ण हो जस्तो लाग्छ ।’ फिल्मको बजार विस्तार गर्नुका साथै आफूलाई भन्न मन लागेको कथा भन्न नेपालीको पहुँच विश्व बजारसम्म पुग्नुपर्ने अर्का निर्देशक कठेतको पनि धारणा छ । निर्देशकलाई भन्न मन लागेको हरेक कथाका लागि घरेलु बजारका निर्माताले आर्थिक स्रोत जुटाउँछन् भन्ने हुँदैन । तर, फेस्टिभलमा फरक कथाका लागि विभिन्न आर्थिक स्रोत जुटाइदिने कार्यक्रम हुन्छन् । ‘ढोरपाटन’ले हङकङको एसिया फिल्म फाइनान्सिङ फोरम र दक्षिण कोरियाबाट करिब २५ हजार डलर अनुदान पाएको थियो । फेस्टिभलले दिने यस्तो अनुदानले आफूलाई भन्न मन लागेको कथा फिल्मकर्मीले सहजै भन्न पाउँछन् । स्वतन्त्र रूपमा फिल्म बनाउने नेपाली फिल्मकर्मी त्यहाँसम्म पुग्नैपर्ने उनी सुनाउँछन् । अब नेपाली फिल्मकर्मीले पनि विश्व बजारतर्फ जान सोच्नुपर्ने उनको जिकिर छ । ‘फेस्टिभलमा जाँदा तपाईंको फिल्मको प्रचार हुन्छ । अन्य देशमा यी फिल्म प्रदर्शन हुन पाउँछन्,’ राजनले भने, ‘यस वर्ष सुडानको ‘गुडबाइ जुलिया’ कान्समा छनोट भयो । यो फिल्म अहिले अन्य राष्ट्रहरूमा पनि प्रदर्शन हुँदै छ ।’ नेपाली फिल्मलाई च्यारिटीका रूपमा डायस्पोरामा रहेका नेपाली दर्शकबीच देखाउनुभन्दा विदेशी दर्शकमाझ प्रदर्शनको हैसियत बनाउन पनि नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजार ताक्नुपर्ने राजनको जिकिर छ ।
निर्देशक सुब्बा घरेलु बजारका व्यावसायिक फिल्मले पनि आफ्नो शैली बदल्दै विश्व बजार पुग्नुपर्ने बताउँछन् । ‘हामीले बनाइरहेका फिल्म मात्र फेस्टिभल पुगेर हुँदैन । घरेलु बजारले पनि आफ्नो अनुहार बदल्नु पर्‍यो । घरेलु बजारका फिल्म पनि विश्व बजार जानुपर्‍यो । मद्रासी फिल्मको कपी गरिएको फिल्मले हाम्रो पहिचान निर्माण गर्दैन । कोरिया, जापान र इन्डोनेसियाका घरेलु फिल्म नै विश्व बजार घुम्दै छन्,’ उनले भने, ‘तर, हामीकहाँ त्यस्तो काम भएको छैन । केही फिल्म त जाँदै छन् तर हाम्रा घरेलु फिल्मले आफ्नो पहिचान बनाउन सकेका छैनन् ।’
 नेपाली फिल्मले पहिचान, भाषा र रुचि निर्माण गर्न सके मात्रै हामी विश्व बजारसम्म पुग्न सकिने सुब्बाको अनुभव छ । प्रदर्शनको तयारीमा रहेको ‘गाउँ आएको बाटो’बारे पनि विश्व बजारका दर्शकले नेपाली फिल्मको भाषा, पहिचानलाई बोकेको प्रतिक्रिया दिए । ‘जति लोकल भयो त्यति ग्लोबल । यदि हामीले हाम्रो स्थानीयपन पहिचान निर्माण गर्‍यौं भने ग्लोबल्ली सजिलै पुग्छौं,’ उनले भने, ‘विश्व बजार त ठूलो छ । एउटा फिल्म नेटफ्लिक्सले नै किनिदियो भने अहिले कमाइरहेको पैसाभन्दा धेरै गुणा बढी आउँछ ।’ कोरियाको ‘स्क्वाइड गेम’, ‘प्याचिन्को’ ले घरेलु पहिचान बोकेकै कारण विश्व बजारले स्विकार्‍यो । नेपाली फिल्मको पहिचान र रुचि निर्माणले घरेलु बक्स अफिसमै पनि प्रभाव पार्ने सुब्बाको तर्क छ । अहिले कुनै ठूला हिन्दी फिल्म नेपालमा प्रदर्शनमा आए भने नेपाली फिल्मको भागम्भाग सुरु हुन्छ । नेपाली फिल्मको स्वाद, पहिचान निर्माण गर्न सके ती फिल्मसँग सहजै प्रतिस्पर्धा गर्न सकिने उनको दाबी छ । घरेलु फिल्म फेस्टिभलमा जान थालेसँगै विश्व बजारमा नेपाली फिल्मको उपस्थिति बलियो बन्ने सुब्बाको विश्लेषण छ । ‘हामीकहाँ कमर्सियल र फेस्टिभलको गलत बुझाइ छ,’ उनले भने, ‘जबसम्म हामीले हाम्रो घरेलु फिल्मको पहिचान, भाषा बनाउन सक्दैनौं, तबसम्म हामी विश्व बजारमा पनि जान सक्दैनौं । हाम्रो फिल्मकै बजार पनि दिगो बन्दैन ।’
 विश्व बजारमा उपस्थिति जनाउँदै गर्दा नेपाली कथालाई विश्वसामु कसरी सुनाउने भन्नेतर्फ पनि फिल्मकर्मीको ध्यान पुग्नुपर्ने निर्देशक शान्ता नेपाली सुनाउँछिन् । ‘जसरी विश्व बजारमा हाम्रा फिल्म पुगिरहेका छन्, त्यो सकारात्मक कुरा हो । यसरी हाम्रा फिल्म त्यहाँ पुग्नु अन्य फिल्मकर्मीका लागि पनि ढोका खुल्नु हो । त्यो बजारले पनि नेपाली फिल्म चिन्दै जान्छ,’ उनले भनिन्, ‘पहिलाको तुलनामा अहिले नेपाली फिल्मले विश्व बजारमा उपस्थिति बढाएको छ । तर, अब ग्लोबलमा हामीले हाम्रो कथा कसरी सुनाउने भन्नेतर्फ फिल्मकर्मीले बुझ्नु जरुरी छ ।’
 
नेपाली फिल्मको मार्केटिङ
नेपाली फिल्मका लागि विश्व बजारसम्म पुग्नु नै ठूलो चुनौती हो । संसारभरका फिल्मकर्मीमाझ नेपाली फिल्मकर्मीले आफूलाई उभ्याउनु चानचुने कुरा होइन । यद्यपि स्रोत र जनशक्तिले अब्बल देशका फिल्मकर्मीमाझ नेपाली फिल्मकर्मीले उभिने जमर्को गर्नु आफैंमा महत्त्वपूर्ण हो । तर, विश्व बजारमा पुगिरहँदा हामी कहाँनिर चुकिरहेका छौं त ? यो पनि महत्त्वपूर्ण प्रश्न छ ।
फेस्टिभलमै सीमित रहँदा नेपाली फिल्मको बजार विस्तारमा चुकिरहेको अविनाशको तर्क छ । फेस्टिभलहरू फिल्मको किनबेच हुने ठूलो बजार हो । फिल्म किनबेच गर्ने सेल्स एजेन्ट त्यहीं भेटिन्छन् । सेल्स एजेन्टसम्मको पहुँचमा हामी चुकिरहेको उनी सुनाउँछन् । ‘फिल्मको सहभागिता बढ्नु त एकदमै उत्साहजनक विषय हो । तर, हामी फेस्टिभलमै सीमित भयौं कि भन्ने लाग्छ,’ अविनाशको तर्क छ, ‘हाम्रो फिल्म त्यस्तो ठाउँमा छनोट हुनु त खुसीको कुरा हो । तर, त्यहीं हामीले युरोपियन, अमेरिकन बजारमा फिल्म किनबेच गर्ने सेल्स एजेन्ट भेट्छौं । फिल्म किनबेच गर्नेहरूबीच अहिलेसम्म हामी पुग्नै सकिरहेका छैनौं ।’
नेपाली फिल्मको मार्केटिङमा चुक्दा नेपाली फिल्म किनबेच सेलाइरहेको रामकृष्णको अनुभव छ । ‘हाम्रो क्षमता, सिर्जनाले हामी त्यहाँ त पुग्न सक्छौं । तर, मार्केटिङ, डिस्ट्रिब्युसनमा हामी चुक्छौं,’ उनले भने, ‘हामीले फिल्म बनाउनमै पैसा खर्च गरिसक्छौं । ठूला फेस्टिभलमा अन्य देशका फिल्मले जसरी मार्केटिङ गर्छन्, त्यसरी गर्न नसक्दा हाम्रा चलचित्र छायामा पर्छन् ।’
फेस्टिभलमा अन्य देशहरूले आफ्नो फिल्म/सर्जकको प्रचार गर्न सेल्स एजेन्ट नै बोलाएर कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । त्यस्तो प्रक्रियामा जान नेपाली फिल्मसँग आर्थिक स्रोत अपुग छ । ‘फिल्म किन्नेहरूको आँखामा पनि त्यस्ता फिल्म पर्छन्, जसले हामी यहाँ छौं है भनेर जानकारीमूलक कार्यक्रम गरिरहेका हुन्छन्,’ रामकृष्णले भने, ‘यो दृश्य हेर्दा राज्यले फिल्ममा ठूलै लगानी गर्नुपर्ने देखिन्छ ।’ नेपाली फिल्मले आफ्नो गुणस्तर बढाउँदै फिल्मको किनबेचमा ध्यान दिनुपर्ने अविनाशले बताए । निर्देशक शान्ता विश्व बजार पुग्ने पहिलो चरणमै नेपाली फिल्मकर्मीले भोग्दै आएको भिसालगायतका पक्षमा राज्यले सहजकर्ताको भूमिका निर्बाह गरिदिनुपर्ने बताउँछिन् । भारतजस्तो नजिकैको बजारमा पनि नेपाली फिल्मकर्मीले बजार विस्तार गर्दै जानुपर्ने उनी सुनाउँछिन् ।
‘गाउँ आएको बाटो’का निर्माता अमोद राई विश्व बजारमा नेपाली बजार विस्तार गर्न नेपाली फिल्मकर्मीले अध्ययन/अनुसन्धान गरेरै अगाडि बढ्नुपर्ने बताउँछन् । ‘बजार विस्तारका लागि अन्य देशले जुन प्रक्रिया अपनाउँछन्, त्यसमा हाम्रो अध्ययन र अनुभव नपुगेकै हो । तर, त्यसो भन्दै गर्दा हामी आत्तिहाल्नुपर्ने अवस्था छैन । फिल्म किनबेचको प्रक्रियातर्फ नेपाली निर्माताले गर्नुपर्ने धेरै काम बाँकी छ,’ अमोदले थपे, ‘हामी फेस्टिभलमा फिल्म पठाउनमै व्यस्त हुँदा रहेछौं । तर, त्यही समयमा किनबेचका लागि वितरक र सेल्स एजेन्टकहाँ पुग्ने अभ्यास छुट्दो रहेछ । त्यतातर्फ अब निर्माताले ध्यान पुर्‍याउनु जरुरी छ ।’

Page 3
समाचार

अदालतको आदेश र सरकारको निर्णय कोरियाले मान्ला ?

नयाँ परिस्थितिबारे कोरियासाग संवाद गरी समस्या सुल्झाउने तयारीमा श्रम मन्त्रालय
- होम कार्की

(काठमाडौं)
वैदेशिक रोजगार विभागले उत्पादन क्षेत्रको कोरियन भाषा परीक्षाका लागि पुस १६ देखि १८ सम्म आवेदन दिन पाउने गरी निर्णय गरेको छ । भाषा परीक्षा विवादमा शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनापछि उच्च अदालत पाटनले सबैका लागि उत्पादन क्षेत्रमा पनि आवेदन दिन पाउने निर्णय गरेको थियो । तर, यी निर्णयलाई कोरियाले मान्यता दिन्छ वा दिँदैन भन्ने प्रश्न उब्जिएको छ ।
कोरियाको भाषा परीक्षासम्बन्धी सर्तका कारण गत साउनमा पानीजहाज निर्माण क्षेत्र रोजेका ३२ हजार जना उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिनबाट वञ्चित भएका थिए । अदालत र विभागको निर्णयअघि नेपालमा रहेको कोरियाको मानव संसाधन विभाग (एचआरडी) सँग छलफल र सहमति गरिएको थिएन । विभागका महानिर्देशक डन्डुराज घिमिरेले अदालतको आदेशलाई कोरियाले अस्वीकार गर्ने अवस्था नहुने बताए । ‘अदालतले फाराम भर्न रोक नलगाउनू भन्ने आदेश दिइसकेको छ । यो नमान्ने भन्ने हुँदैन,’ घिमिरेले कान्तिपुरसँग भने, ‘कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षाको सन्दर्भमा नेपालको अदालतले दिएको आदेश मान्छ भन्ने आधार हामीसँग छ ।’
गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै कोरिया भाषा परीक्षाको आवेदन दिनेको योग्यता तोकेको थियो । जसमा फौजदारी अभियोगमा सजाय पाएका, कोरियाबाट निष्कासन (डिपोर्ट) भएका, कोरियामा ई–नाइन र ई–टेन भिसामा ५ वर्षभन्दा कम बसेका र सन् २०२३ भित्र कोरियाको भाषा परीक्षामा सामेल भएकाहरू भने परीक्षामा सहभागी हुन नपाउने प्रावधान थियो । जसले गर्दा पानीजहाजको परीक्षामा सहभागीहरूले उत्पादन क्षेत्रका लागि खुलाइएको पुस २ देखि ६ गतेसम्म भएको भाषा परीक्षामा आवेदन दिन पाएनन् । कोरियाको यो नीति नेपालसहित १६ वटा स्रोत देशका लागि एउटै हो । उत्पादन क्षेत्रको भाषा परीक्षामा नेपालमा मात्रै एक लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिइसकेका छन् । जुन अहिलेसम्मको सबैभन्दा बढी आवेदन हो । नेपालको निर्णयलाई कोरियाले स्वीकार गरेमा आवेदकको संख्या थप बढ्नेछ ।
सबैलाई फाराम भर्न दिइनुपर्ने भन्दै युवाहरू मंसिर १९ देखि नै नियमित धर्ना दिइरहेका थिए । यसबीच पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा दिएका १८ जनाले पुस ६ मा उच्च अदालत पाटनमा उत्पादनमूलक क्षेत्रका लागि पनि परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै रिट दायर गरे । उक्त रिटमा उच्च अदालतले रिट निवेदकहरूलाई परीक्षामा सहभागी गराउनू भन्ने अन्तरिम आदेश दिएको र त्यसैको आधारमा उनीहरूलाई मात्र परीक्षामा सहभागी हुने निर्णय गरिएको कार्यालयका तत्कालीन प्रमुख गुरुदत्त सुवेदीले बताए । सुवेदीका अनुसार त्यसपछि अदालतमा निवेदन लिएर जाने १८ जनालाई मात्र फाराम भर्न दिन कोरियाले मौखिक सहमति जनाएको थियो । त्यसैका आधारमा ईपीएस कार्यालयले उनीहरूलाई मात्र फाराम भर्न शुक्रबार बोलाएको थियो । उनीहरूसँगै कार्यालय पुगेकाहरूलाई फारम भर्नबाट वञ्चित गरिएपछि युवाहरू आक्रोशित बनेका थिए । उनीहरूको प्रदर्शन चर्किएपछि शुक्रबार बालकुमारीमा प्रहरीको हस्तक्षेपको क्रममा दुई जनाले ज्यान गुमाए ।
त्यसअघि पुस १२ मा थप ९० जनाले आफूहरूको रोजगार तथा श्रमका हक एवं संविधान तथा अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुगेको भन्दै उच्च अदालत पाटनमा विभिन्न ९ वटा रिट दायर गरेका थिए । उक्त रिटमा उच्च अदालतले शुक्रबार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सुविधा सन्तुलनको दृष्टिले निवेदकहरूलाई आवेदन फाराम भर्नबाट वञ्चित गराउनु मनासिब नहुने भन्दै निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि कार्यालयले सबैलाई फारम भर्न दिने निर्णय गरेको छ ।
‘१८ जनाले पाउने भएपछि अरूका लागि पनि बाटो खुल्छ, सबै जना आशावादी बनौं भनेर हामीले भनिरहेका थियौं । ईपीएस कार्यालयले पनि डीएसपीमार्फत सूचना प्रवाह गरेको थियो । म आफैंले पनि प्रमुख जिल्ला अधिकारीलाई भनेको थिएँ,’ महानिर्देशक घिमिरेले भने, ‘तर, शुक्रबार निकै अप्रिय घटना घट्यो ।’
शुक्रबार प्राप्त अन्तरिम आदेशको पूर्णपाठमा भने निवेदक र निवेदकसरहका अन्य सबैलाई सहभागी गराउनु भन्ने उल्लेख भएकाले सबै ३२ हजारलाई फारम भर्न दिने निर्णय भएको महानिर्देशक घिमिरेको भनाइ छ । ‘निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा निवेदकहरूलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरूलगायत निवेदकसरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लिखित मिति मंसिर १९ को सूचनाबमोजिम मिति पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनू र परीक्षा आवेदन फाराम भर्न दिनू/दिलाउनू भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
महानिर्देशक घिमिरेले अदालतको आदेश र विकसित घटनाक्रमका विषयमा कोरियाली पक्षसँग छलफल गर्ने बताए । ‘कोरियाका प्रतिनिधि बिदामा भएकाले तुरुन्तै छलफल गर्न पाएनौं । अदालतको आदेश आइसकेको हुँदा कोरिया पक्ष सहमत हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने । नयाँ उत्पन्न परिस्थितिलाई कोरियासँग संवाद गरी समाधान गर्ने श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले भने ।
सन् २००७ देखि उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लगिरहेको कोरियाले २०२३ देखि भने जहाज निर्माण क्षेत्रमा पनि कामदार लैजान थालेको थियो । यो तीनवटै क्षेत्रका लागि अलगअलग भाषा परीक्षा र सीप परीक्षण हुँदै आएको छ । ईपीएसअन्तर्गत कोरियाले विश्वभरबाट सन् २०२४ मा १ लाख ६५ हजार श्रमिक माग गर्ने जनाएको छ । कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो छ । ईपीएस लागू भएयता सबैभन्दा बढी गत आर्थिक वर्षमा २१ हजार ८ सय ७० नेपाली कोरिया गएका छन्, जुन नेपालबाट वैदेशिक रोजगारीमा जानेको ४.४२ प्रतिशत हो ।

समाचार

रूपन्देहीका १० सहकारी बन्द

बचत फिर्ता गर्न नसकेपछि केही सञ्चालक फरार केही पक्राउ
स्थानीय र प्रदेश सरकारको नियमन फितलो
- घनश्याम गौतम

(बुटवल)
डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् ।
बुटवलको योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था झन्डै ३ करोड बचत रकम फिर्ता गर्न नसकेपछि डेढ वर्षअघि बन्द छ । अहिले योगीकुटीबाट सहकारीको कार्यालय नै हटेको छ । कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिवशिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् । बुटवलमा तीन वर्षअघि कार्यालय खोलेको यो सहकारीमा झन्डै १७ सय बचतकर्ता थिए ।
भक्तपुरको कौशलटारमा प्रधान कार्यालय रहेको सहकारीका देशभर २६ शाखा र सेवा केन्द्र छन् । १ लाखभन्दा बढी बचत सदस्य रहेको यो संस्थामा बाँके कोहलपुरका केदारनाथ शर्मा सञ्चालक र उनकी श्रीमती गीता शर्मा कार्यकारी निर्देशक थिए । बचतकर्ताको रकम दम्पतीले आफ्नो शिखर अर्गनाइजेसन नामक कम्पनीमार्फत झन्डै डेढ दर्जन कम्पनी र उद्योगमा लगानी गर्ने गरेका थिए ।उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक अमिसराज भण्डारी र पुष्कर मल्ल पनि पक्राउ परेका छन् ।
बुटवलकै सुप्रिम, आगन्तुक, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ । तर, स्थानीय र प्रदेश सरकारको नियमन र अनुगमन फितलो छ । जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीले बचत संकलनको ६० प्रतिशत व्यापार व्यवसायमा र ४० प्रतिशत घरजग्गा, गाडीलगायतका अन्य क्षेत्रमा लगानी गर्ने गरेको बताए ।
‘सुप्रिमसहितका धेरै सरकारीले बिनाधितो जोखिमको व्यवसायमा लगानी गरेको देखिएको छ,’ उनले भने, ‘अन्य सहकारीमा पनि उस्तै खालको समस्या देखिएको छ । तर, सुप्रिम र शिवशिखरबाहेकका अन्य सहकारीका सञ्चालक स्थानीय नै भएकाले कारोबार बन्द भए पनि सम्पर्कमा छन् । रकम फिर्ताका लागि प्रयास पनि गरिरहेका छन् ।’ संस्थाले बचतकर्ताको रकम सुरक्षित गरेर मात्र लगानी गर्न निर्देशन दिने गरे पनि सुप्रिमजस्ता बाहिरका व्यवसायीले लगानी गरेका संस्थाका कारण स्थानीय सहकारीमाथि पनि अविश्वास बढेको उनले बताए । संघमा दर्ता भएको आगन्तुक, शिवशिखर र प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका सुनौलो, उपकार, सप्तदीपलगायतका सहकारीका सञ्चालकसमेत सम्पर्कमा नरहेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख गुणाकर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ सहकारीमा कुनै समस्या नरहे पनि संघ एवं प्रदेशमा दर्ता रहेका करिब एक दर्जन सहकारीमा बढी समस्या देखिएको बताए । उनका अनुसार नगर र प्रदेशमा दर्ता भएका समेत गरी बुटवलमा २ सय १५ भन्दा बढी सहकारी छन् । रूपन्देहीमा मात्र झन्डै आठ सय सहकारी छन् । ‘बुटवल उपमहानगरभित्रका ६० हजार सेयर सदस्यको ७ अर्ब ४० करोड रुपैयाँ सहकारीमार्फत लगानी भएको छ,’ उनले भने, ‘त्यसको सुरक्षाका लागि पालिकामार्फत हरेक तीन महिनामा छलफल गरेर समस्या र समाधानका प्रयास खोज्ने गरिएको छ ।’
बिनाधितो लगानीका कारण केही ठूला सहकारीबाटै समस्या आएको उनले बताए । खनालका अनुसार आगन्तुक बहुउद्देश्यीय र शिवशिखर संघअन्तर्गत दर्ता भएको र अन्य प्रदेशको सहकारी विभागमा दर्ता भएका सहकारी समस्याग्रस्त छन् ।
लुम्बिनी प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सहकारी दर्ताकै समयमा प्रभावकारी नियमनको व्यवस्था हुन नसक्दा अहिले खुलेका सहकारीले संकट निम्त्याउँदै गएको बताए । उनका अनुसार लुम्बिनीमा दर्ता भएका ४ हजार १ सयभन्दा बढी सहकारी सञ्चालनमै छन् । ६ लाखभन्दा बढी नियमित बचतकर्ता छन् । तिनको ६० अर्ब निक्षेप संकलन र झन्डै ४५ अर्ब रुपैयाँ लगानी छ । त्यसमध्ये झन्डै ७ अर्ब मात्र सेयर पुँजी छ । ‘अहिलेकै कानुन र प्रणालीले सहकारी संस्था सुधार्न मुस्किल छ,’ उनले भने । आर्थिक चलखेल र सहकारीमा देखिएका समस्याका बारेमा छानबिन हुने उनले दाबी गरे ।

समाचार

८ महिनादेखि मेयर फरार

बागलुङ (कास)– इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापकसमेत रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना पारेर फरार भएको ८ महिना नाघिसक्यो । गत वैशाख ७ मा रकम अभाव भएको सूचना जारी गर्दै उनी फरार भएका हुन् । त्यसयता पीडितहरू आन्दोलनमा छन् तर नेपाली हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
 नेपालीका नाममा बैंक र सहकारीमा पनि २२ करोड रुपैयाँ ऋण छ । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले शुक्रबार पनि पीडितले गण्डकी प्रदेशको सहकारी मन्त्रालयसमक्ष आफ्नो रकमको सुरक्षा र तत्काल फिर्ता गर्ने वातावरण बनाइदिन ज्ञापनपत्र बुझाएको बताए । फरार नेपाली गत मंसिर ५ मा फेसबुक लाइभमा आएका थिए । तर, उनलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको पीडितको आरोप छ । ‘हामीले खोजिरहेका छौं,’ जिल्ला प्रहरीका मुद्दा शाखाका निरीक्षक दीपक केसीले भने, ‘उजुरी परेका अरू पात्र पक्राउ परिसकेका छन्, उनीहरूकै सहयोगमा नेपालीको पनि खोजी भइरहेको छ ।’
पीडित १ हजार ५ सय ५० जनाले जिल्ला अदालतमा सहकारी ठगीमा जाहेरी दिएका छन् । जसमा उनीहरूको १ अर्ब ६० करोड रुपैयाँ हिनामिना भएको उल्लेख छ । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले साउन ५ मा पुर्पक्षका लागि थुनामा पठाएको छ ।

Page 4
युवा ग्यालरी

कोरियाली बैंकमा जमेकी नमुना

- सन्जु पौडेल

(लुम्बिनी)
मध्यम कदकी, झट्ट हेर्दा आफ्नो उमेरभन्दा कमकी देखिने । चकचके र धेरै बोल्ने स्वभाव त उनको बच्चैदेखिको हो । गुल्मीमा जन्मिएर दक्षिण कोरिया पुगेकी नमुना त्यहाँको बैंकिङ क्षेत्रमा जमेकी होलिन् भनेर पत्याउन जो कोहीलाई गाह्रै पर्छ । निकै फरासिली र पढाइमा टाठी नमुना हाल कोरियाको केइबी हाना बैंकमा एसिस्टेन्ट म्यानेजर छन् ।
नमूना २०५३ सालमा खगेश्वर र लक्ष्मी ज्ञवालीको तेस्रो सन्तानका रूपमा गुल्मीमा जन्मिएकी हुन् । उनको खास नाम श्रीदेवी हो । सानैदेखि नै निकै टाठीबाठी भान्जीको स्वभावकै कारण मामाले उनको बोलाउने नाम नमुना राखिदिएका थिए । त्यसयता उनलाई आफन्तले पनि नमुना नै भन्ने गर्छन् । परिवारभित्रै पढ्नेको बाहुल्यता रहेकाले उनलाई पढ्नुपर्छ, पढेरै अघि बढिन्छ भन्ने राम्रो ज्ञान थियो । यदाकदा साथीहरूसँग झगडा हुँदा लड्न नसके पनि पढेर जित्छु भन्ने आँट सानैदेखि पलाएको थियो उनमा ।
गुल्मीको हुँगास्थित जनजागृति माविबाट २०६७ सालमा एसएलसी गरेकी नमुनाले त्यसमाथिको अध्ययन रुपन्देहीमा गरिन् । बुबाआमा दुवै शिक्षण पेसामा आवद्ध थिए । उनीहरूको सरुवा भएपछि २०६८ मा सैनामैनामा बसाई सरेर आएको उनले बताइन् । सैनामैनाबाटै कक्षा १२ सम्मको अध्ययन सकेपछि स्नातक तह बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढिन् उनले । स्नातक पढ्दै गर्दा बैंकमा काम गर्ने अवसर पाएपछि वित्तीय क्षेत्रमा उनको प्रवेश सुरु भएको हो ।
नमुनाले स्नातक पढ्दै गर्दा दिदी सृजनाको विवाह भइसकेको थियो । विवाहपछि दिदी विद्यावारिधि गर्नका लागि दक्षिण कोरिया पुगेकी थिइन् । दिदीले त्यहाँको उरी बैंकमा जागिर गर्थिन् । उनै दिदीको प्रेरणाले स्नातक सकाएपछि सन् २०१८ मा नमुना दक्षिण कोरियामा आयोजित पर्सनल डेभलपमेन्ट कन्फरेन्समा भाग लिन कोरिया पुगिन् । टुरिस्ट भिसामा गएकी नमुनाले त्यहाँको वातावरण बुझेपछि उतै बसेर पढ्न थालिन् ।
‘सुरुमा कोरियन भाषा जान्नै पर्ने भएकाले त्यसकै अध्ययन गरें,’ उनले भनिन्, ‘घरमा सबैसँग सकभर कोरियाली भाषामै बोल्ने, भेटेका बेला स्थानीयसँग पनि बोल्थें । छोटो समयमै भाषा सिकेँ ।’ त्यसपछि उनले भाषा पढ्दै करिब डेढ वर्ष विश्वविद्यालयकै ग्लोबल लाउन्जमा काम गरिन् । ‘त्यसपछि भने राम्रो कम्पनीको अफर आयो । मार्केटिङ म्यानेजरका रुपमा काम सुरु गरेँ,’ नमुनाले भनिन् । उक्त जागिरका लागि कोरियन भाषा तीन लेभलसम्म जानेको हुनुपर्ने भए पनि उनले दुई लेभल सकेकै भरमा अवसर पाइन् ।
उनले कोरियाको राजधानी सोलमा नेपाली विद्यार्थीको संजालले गठन गरेको संस्था सोसाइटी अफ नेपलीज स्टुडेन्ट इन कोरियामा मार्केटिङ अफिसरको जागिरमा उत्तीर्ण भइन् र गर्न थालिन् । छोटो समयमै राम्रो अवसर र कोरियन भाषमा बोल्दै त्यहाँका मान्छेसँग काम गर्न पाउँछु भन्ने सोचेकै थिइनन् उनले । त्यो पनि, विश्वविद्यालय अध्ययन गर्नुअघि नै राम्रो जागिर । त्यही जागिरले नै आफुलाई परिपक्क बनाउँदै लगेको बताउँछिन् नमूना ।
यसैबीचमा स्नातकोत्तरका लागि केइमयुंग विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकालिन् । ‘पढाई सकेपछि वित्तिय क्षेत्रमा काम गर्ने रहर जाग्यो,’ उनले भनिन्, ‘भ्याकेन्सी खुलेको देखेपछि आवेदन दिएँ । प्रतिस्पर्धाका विभिन्न चरणबाट पास भएर काम गर्ने अवसर पनि पाएँ ।’ ‘आवेदन दिन नै तीन दिन लाग्यो,’ उनले भनिन्, ‘त्यसपछि पनि लामै प्रक्रिया थियो । जागिर पाए हुन्थ्यो भन्ने त थियो, तर त्यति साह्रै चिन्ता लिएकी थिइन् । दुई महिनापछि छनोट भएको खुसी साट्न पाएँ ।’
नेपालमा रहेका बुवा आमाले सरकारी जागिर गरिदिए हुन्थ्यो भन्ने सोच्थे । तर आफूले त्यो चाहना पुरा गर्न नसक्दा भने पिर लागेको बताउँछिन् उनी । उनले बुवाआमालाई नेपालको जस्तै जागिर छ भनेर चित्त बुझाउनका लागि पनि बैंकको जागिर रोजेको बताइन् ।
उनी कार्यरत बैंकको मुख्य कार्यालय कोरियाली राजधानी सोलमा छ । यसका विभिन्न २४ देशमा शाखा छन् । बैंकमा जागिर खान जानुअघि उनले आफ्नो पहिलेको काममा केही जानकारी गराएकी थिइनन् । तर बैंकमा जाने भए पनि भने पहिले कार्यरत संस्थाका हाकिमले ‘ई सेभेन’ भिसा बनाएर हामीसँगै राखेर अघि बढाएकी चेलीले छोड्ने भई भन्दा उनी निकै भावुक भएको बताइन् । संस्थाबाट नगइदिए हुन्थ्यो भन्ने आग्रह भए पनि गतिलो अवसर भएकाले गुमाउन सकिनन् नमुनाले । ‘पहिलो अफिस छोड्दा गाह्रो महसुस भयो,’ उनले भनिन्, ‘मेरो भिसा, कागजपत्रदेखि हरेक मेसो मिलाइदिएको संस्थाबाट टाढिन निकै गाह्रो पर्‍यो ।’
सुरुमा इन्टर्नसिप गर्नैपर्ने बैंकको नियम भए पनि उनले गर्नुपरेन । दुई पटकसम्म बेस्ट इम्प्लोइ अवार्ड पाइसकेकी नमुनाले आफ्नो चाहना अनुसारकै जागिरमा काम गरिरहँदा खुसी लागेको उनले बताइन् । बुवाआमा, आफन्त र कोरियास्थित नेपाली पनि उनको छलाङको प्रशंसा गर्छन् । तर अझै पनि बुवाको खुसीसँगै सरकारी जागिरको भूत भने कायमै रहेको उनले सुनाइन् ।
नमूनाले गत वर्ष विवाह पनि गरिन् । उनका श्रीमान् पुष्पराज अधिकारी पनि कोरियामै विद्यावारिधि गर्दै छन् । स्टुडेन्टको संस्थामा आबद्ध रहेका पुष्पराजको स्वभावले नै मायामा परेकी थिइन् उनी । दुवैजना त्यो समूहको उपाध्यक्ष थिए । नेपालबाट पनि विवाह गर्नुपर्छ भन्ने कुरा आइरहन्थ्यो । त्यहीबेला उनले पुष्पसँग विवाह गर्ने निधो गरिन् । अफिसियल कुराकानी गर्दागर्दै मायामा परेका थिए उनीहरू । दिदीले दाइलाई समेत उतै बोलाइन् । भाइ भने बुवाआमासँग रुपन्देहीको सैनामैनामै बसेर पढिरहेका छन् ।
कोरियामा बस्दै गर्दा नमुनाले धेरै नेपालीलाई चिन्ने, साथी बनाउने र संस्थामा आबद्ध हुने मौका पाइन् । उनी हँसिली र फरासिली भएकाले सबैको नजरमा राम्रै छिन् उनी । उनलाई हाल पुष्पराजको साथ र सहयोग पनि थपिएको छ । बिदामा नेपाली पुस्तक पढ्छु,’ उनले भनिन्, ‘यहाँ कोरियन भाषा र अंग्रेजी चल्छ । नेपाली पढ्दा बेग्लै मजा आउँछ ।’

युवा ग्यालरी

५१ दिनमा ‘दिमाग खराब’

काठमाडौं (कास)– निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । फिल्म निर्माण पक्षले काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रम गर्दै ५१ दिन मनाएको हो । कार्यक्रममा फिल्म निर्माता, निर्देशक, कलाकार, मिडियाकर्मीलगायतको उपस्थिति थियो ।
कात्तिक २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म रञ्जना सिनेप्लेक्समा प्रदर्शन भइरहेको छ । नेपालसहित अन्य केही देशमा चलिरहेको फिल्मले हालसम्म करिब १० करोडको व्यापार गरेको जनाइएको छ । निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिल्मको प्रवर्द्धनका लागि हालै अस्ट्रेलिया पुगेर फर्केका छन् । फिल्म चाँडै नै छिमेकी देश भारतमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बरालको मुख्य भूमिका रहेको छ । त्यस्तै, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।
सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्मका निर्माता रौनक विक्रम कँडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

युवा ग्यालरी

अमेरिकाद्वारा पनामा नहर हस्तान्तरण

सन् १९९९ मा आजकै दिन

सन् १९९९ मा आजकै दिन (डिसेम्बर ३१) मा अमेरिकाले पनामा नहर हस्तान्तरण गरेको थियो । १९७७ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र पनामाका जर्नेल ओमर टोरियोसले एक सम्झौता गर्दै १९०३ को सन्धि विस्थापित गरेका थिए । सम्झौतामा अमेरिकाले १९९९ को अन्त्यसम्ममा अमेरिकी नियन्त्रणमा रहेको नहर पनामा गणतन्त्रलाई हस्तान्तरण गर्ने उल्लेख थियो ।
पनामाको साँघुरो घाँटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने ८० किलोमिटर लामो मानवनिर्मित नहर वर्षौं लगाएर निर्माण गरिएको थियो । नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ को जनवारीमा काम सुरु गरेको थियो । तर काममा सोचेअनुसार प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो ।
निर्माण सम्पन्न भएपछि नहर १९१४ को अगस्ट १५ खुला भएको थियो । नहरबाट पहिलो पटक ‘एसएस एन्कन’ पानीजहाजले यात्रा गरेको थियो । नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तट बीचको दूरी करिब १२ हजार ८ सय ७५ किमि कम भएको थियो । नहर निर्माणका लागि निकै चासो देखाएका अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्टले निर्माण कार्यको निरीक्षणका लागि १९०६ को नोभेम्बर ६ मा पनामाको भ्रमणसमेत गरेका थिए । उनी अमेरिकाबाहिरको यात्रा गर्ने पहिलो अमेरिकी राष्ट्रपतिसमेत हुन् । नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारको ज्यान गएको थियो । तीमध्ये अधिकांशको नहर निर्माणका क्रममा फैलिएको मलेरिया र ज्वरोका कारण मृत्यु भएको बताइएको थियो ।

Page 5
Page 6
दृष्टिकोण

नेपाली समाजको बौद्धिक दुर्व्यसन

- विष्णु सापकोटा

लेखको सुरुआत एउटा ‘हाइपोथेसिस’ बाट गरौं । एक हिसाबले दशकौंदेखिका सदाबहारजस्ता तर केही महिनायता झन् घना भएर चलिरहेका नेपालको सार्वजनिक वृत्तका बहसहरूको अवलोकन गरेपछि पंक्तिकारले निकालेको निष्कर्ष हो— आम रूपमा नेपाली ‘बौद्धिक समाज’ ले सोच्नै जान्दैन । सोच्न त जान्नुपर्ने विषय नै होइन, यो त प्रत्येक जीवित मानिसले आफैं गर्ने प्रक्रिया हो भन्ने तपाईंलाई लाग्न सक्छ । हो, सत्रौं शताब्दीमै प्रख्यात फ्रान्सेली दार्शनिक डेकार्टले भने जस्तै, ‘हामीले सोच्छौं, तसर्थ हामी अस्तित्वमा छौं ।‘ तर केवल सोच्नु र सोच्ने कुरा कसरी सोच्ने भन्ने विषय अलग हुन् । नेपाली ‘बौद्धिक समाज’ सोचाइको यस्तो दुर्व्यसनमा फसेको छ कि त्यसले बृहत् समाजलाई नै आक्रान्त पार्न भूमिका खेलेको छ ।
यो विषय केही ‘प्रोभोकेटिभ’ छ । त्यसैले शुरुमै एक–दुइटा ‘व्याख्यात्मक टिप्पणी’ पनि पेस गरिहालौं । बुझाइको सजिलोका लागि ‘बौद्धिक समाज’ भन्नुपरेको भए पनि, यसो भन्दा स्वाभाविक रूपमा एउटा सामान्यीकरण भइहाल्छ । मानौं सबै जना त्यस्तै छन् । यस स्तम्भले सार्वजनिक वृत्तमा सधैंजसो सक्रियजस्ता देखिने पढेलेखेका, पेसागत समुदाय र बोलीचालीको भाषामा बुद्धिजीवी भनिने केही समूहलाई इंगित गर्छ जसले हर्दम देशको मात्र चिन्ता गरेका देखिन्छन् । र तीमध्ये धेरैलाई अक्सर ‘देशभित्र’ को कुनै पनि नीति र विषयको खासै चिन्ता त हुँदैन तर देशको चाहिँ चिन्ता भइराख्छ । दुनियाँको कुनै पनि कुराको चिन्ता गर्ने कसैको नैसर्गिक हकप्रति अरुले औंला उठाउन त मिल्दैन, तर यी पंक्तिका व्यक्तिहरूले सोच्न जानेका विषयहरू यस्ता मात्र छन्, जसलाई किन उनीहरूको बौद्धिक दुर्व्यसन नभन्ने भनेर प्रश्न गर्नु बृहत् समाजको स्वास्थ्यका लागि अनिवार्य भएको छ । अब लागौं केही उदाहरणसहित यो ‘हाइपोथेसिस’ लाई व्याख्या गर्न ।
दुःखका साथ भन्नुपर्छ— नेपाल अहिले जहाँ छ त छँदै छ, यो ‘देश बनाउने’ प्रतिस्पर्धामा आगामी दिनमा पनि हामीले धेरै राम्रो गर्ने लक्षण देखिँदैन । राष्ट्रहरू आधुनिक रूपमा बनेको यतिका शताब्दीपछि यस्तो तथ्य त सम्झिराख्नु नै नपर्नै हो । तर विडम्बना के छ भने, बौद्धिक दुर्व्यसनमा परेको वृत्तले देश भन्ने चिज बनेको किन हो या यो मानिसलाई किन चाहिने हो भन्ने नै सोच्न सक्दैन । ठाउँविशेषमा बस्ने जनताले बाँच्ने जीवनमा सहजता थप्न देश चाहिएको हो भन्ने आधारभूत सत्य नै उसले बुझ्दैन । बस्ने ठाउँ सहज भएन भने जनतामध्ये सक्नेजति अर्को गतिलो ठाउँ खोजेर हिँड्छन् । मानव इतिहासको कम्तीमा दस हजार वर्षदेखिका प्रमाणहरूले यही भन्छन् । हुनुपर्ने जीवनका लागि देश हो तर नेपालमा देशका लागि जीवन भएको छ । आफू धरतीमा आएकै देश बनाउन र ‘जनताका लागि गर्न’ भनेर सोच्नेहरूले यस्ता कुरा बुझ्ने ‘कोग्निटिभ’ क्षमता नै गुमाएका हुन्छन् । त्यसैले उनीहरूले पनि बुझ्ने भाषामा केही उदाहरण लिऔं ।
विगत तीन दशकमा तपाईंलाई कुनै एउटा वर्षको याद छ जहाँ यिनीहरूले ‘नेपाल अहिले भूराजनीतिक रूपमा निकै संवेदनशील स्थितिमा छ’ नभनेका होऊन् ? यतिका समयमा तपाईंलाई कुनै एउटा महिना याद छ जसमा यिनीहरूले नेपालको प्रमुख समस्या भ्रष्टाचार हो नभनेका होऊन् ? टेलिभिजनका ‘लोकप्रिय टक सो’ हरू र ‘वरिष्ठ’ पत्रकारहरूले चलाउने मिडिया प्लेटफर्महरूमा तपाईंले सुन्ने ‘कन्टेन्ट’ हरू कत्तिको याद गर्नुभएको छ ? त्यहाँ देश, व्यवस्था, भूराजनीतिजस्ता विषयबाहेक अर्को ‘कन्टेन्ट’ बारे, कुनै नीतिबारे कहिल्यै छलफल हुन्छ ?
बाटादेखि घाटसम्म सबैलाई थाहा छ, भ्रष्टाचार घटाउने जिम्मा कुनचाहिँ आयोगको हो भनेर । सबैले भन्छन्— पार्टी चलाउने भ्रष्टाचार गरेर, अनि आफैंले भागबन्डामा आ–आफ्ना आयुक्तहरू नियुक्त गरी भ्रष्टाचारको अनुसन्धान नै रोक्ने वा गर्न लगाएर चोख्याउने । त्यसबाट पनि जोगिन मन्त्रिपरिषद्बाट निर्णय गराउने त भइहाल्यो । अर्थात्, जनताले चुनेका प्रधानमन्त्री र तिनका मन्त्रीहरूको काम भ्रष्टाचार घटाउने हुनु नपर्ने । पार्टीहरूको काम आ–आफ्ना भ्रष्टहरूलाई जोगाउनेमा हुने, अनि देशमा भ्रष्टाचार घट्छ ? देशका सडकहरू राम्रोसँग बन्छन् ? देशले ‘इन्फ्रास्ट्रक्चर’ मा फड्को मार्छ ? त्यसैले विषय के हो भने, अहिलेको जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अब भ्रष्टाचार बरु बढ्ने भयो, घट्ने होइन । के गरौं, कस्तो कानुन बनाऔं भनेर सार्वजनिक वृत्तमा छलफल हुनुपर्ने होइन ? अर्को सबैभन्दा बढी भ्रष्टाचार अदालतहरूमा हुन्छ भनिन्छ । न्यायपरिषद्जस्ता निकायहरू यस्ता विषयमा लगभग निकम्मा छन् पनि भनिन्छ । अब के गर्ने त भनेर सार्वजनिक वृत्तमा बहसमा भाग लिन सक्ने उच्च तहका राजनीतिकर्मी कति होलान् अहिले देशमा ?
कतिपय उदाहरण त दोहोर्‍याउन पनि लाज लाग्छ । जस्तो, यसो सोचौं त यो देश भन्ने चीज किन बनेको होला जसले जनताले आफ्नै पैसा तिरेर गाडी चलाउने सवारी अनुमतिपत्र लिन्छुभन्दा पनि वर्षौंसम्म छाप्नसम्म सक्दैन ! सोचौं त, धेरैभन्दा धेरै जनताले दैनिक सेवा लिनुपर्ने सरकारी संस्थाका सर्भरहरू किन प्रत्येक अर्को हप्ता डाउन हुन्छन् ? संसारमा नेपालमा मात्रै ‘डाउन’ हुने सर्भरहरू कुन देशमा बन्छन् होला ? किन नेपालले त्यस्ता मात्र सर्भरहरू राख्छ होला ? नेपालजस्ता देशका मात्रै सडकहरूमा पिच गर्दा किन दायाँबायाँ किनारमा, धूलोका लागि भनेर खाली ठाउँ छाडिन्छ होला ? संसारका त्यति ठूला सहरहरूमा नउड्ने धूलो कुनचाहिँ भूराजनीतिक षड्यन्त्रका कारण नेपालमा मात्र उड्छ होला ? सहकारीको नाममा चलिरहेको धन्दाका कारण लाखौं सोझा जनताको अर्बौं रकम डुबिरहेको कति भइसक्यो, तर यसलाई कसरी नियमन गर्ने भनेर कानुन बनाउन नेपालमा मात्रै नसकिने के भएर होला ? यस लेखले यस्ता विषयबारे चर्चा गर्न खोजेको होइन, चर्चा गर्न खोजेको किन यस्ता विषयहरूमा नीतिगत बहस हुँदैन भन्ने हो । र त्यसको जवाफ हो— यस्ता विषयमा बहस गर्न धेरथोर बुद्धि चाहिन्छ । यस्ता विषय देश, भूराजनीति, व्यवस्थाजस्ता सजिला कहाँ हुन् र ?
एउटा थप उदाहरण हेरौं, राजावादीहरूको । नेपालका विश्वविद्यालयहरूको हालत कति दयनीय छ भनेर चर्चा गर्न धेरै विज्ञता नै चाहिँदैन । मानौं, यिनीहरूले भने जस्तो व्यवस्था आयो रे । अनि के गर्ने त विश्वविद्यालय बनाउन ? देशको विकास गर्ने त्यस्ता उपायहरू छन् भने अहिले नै सार्वजनिक गर्न उनीहरूलाई कसले रोकेको छ ? कि आफूले भनेको व्यवस्था आएपछि सबै कुरा आफैं ठीक हुँदै जान्छ जसरी माओवादीले २०६२–६३ सम्म भनेका थिए ? राजावादीहरू भन्छन्— राजा र हिन्दु राज्य भएपछि सब राम्रो हुन्छ (पहिले कस्तो थियो भन्ने पनि छाडौं), कांग्रेस भन्छ— आफूले एक्लै गर्न नपाएर हो (उसको एक्लै हुँदाको पनि छाडौं), एमाले भन्छ— फेरि केपी ओली नै चाहिने भयो (उनले केके बिगार्न सक्छन् भन्ने पनि छाडौं)। नयाँ आएका र आउन लागेकाले त भन्ने नै भए, पहिलेकाले भएन त्यसैले हामी आउनुपर्‍यो । यी सबैका दाबीहरू एक छिनलाई मानिदिऔं । त्यसो भए भन न त, उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालयलाई के गर्छौ ? विषयान्तर गर्ने चेष्टा नगरीकन कुनै अन्तर्वार्तामा बोल्न सक्छौ पन्ध्र मिनट ? नेपालको सार्वजनिक सेवालाई सुधार्न, कुनै एउटा सेवाको उदाहरण लिएर, दस मिनेट बोल्न आउँछ ? सायद आउँदैन । किनकि यस्ता विषयमा बोल्न त सोच्न जानेको हुनुपर्छ । व्यवस्था, साम्राज्यवाद, क्रान्ति, समाजवाद, पुँजीवादजस्ता शब्दावलीको प्रयोग गर्न कुनै खास विज्ञता चाहिँदैन । बुद्धि चाहिने भनेकै जनताको जीवनमा दैनिक जोडिने विषयमा आफूले के गर्छु भन्नका लागि हो, चाहे तपार्इं साम्यवादी हुनुहोस् या पुँजीवादी, हिन्दुवादी या समाजवादी ।
पुराना राजनीतिकर्मी त शताब्दी पहिलेका शास्त्रका ठेलीअनुसारका प्रशिक्षण लिएर हुर्केका भए जसलाई दशकौं पहिले घोकाइएका सूत्रबाहेक अरू सोच्न आउँदैन रे ! यस्तो स्थितिमा, कांग्रेसमा विगत पाँच वर्षमा नयाँ सदस्यता लिनेहरू कोको होलान् ? के सोचेर तिनीहरू शेरबहादुर देउवाको दलको सदस्य हुन आएका होलान् ? तपाईं–हाम्रो जीवनलाई सुखी बनाइदिऔं भनेर तिनीहरूले राजनीतिको संघर्षपूर्ण बाटो किन रोजेका होलान् ? एमालेको सदस्य हुन आउने कुनै नयाँ युवा जीवनमा के प्राप्त गर्न त्यो छहारीमा आएको होला ? किन उसलाई एकाएक आफ्नो व्यक्तिगत जीवन समाजका लागि अर्पण गर्न मन लागेको होला ? माओवादी, समाजवादीदेखि नयाँ खुलेका दलहरूसम्ममा आबद्ध हुन जानेहरूलाई त्यस्तो गर्न प्रेरणा दिने अन्तर्मनको स्रोत के होला ?
आधारभूत प्रश्नबाट भाग्ने समाज आधारभूत रूपमै पछि पर्नु स्वाभाविक हो । जस्तो, नेपालको भुराजनीति फेरिनेवाला छैन । भारत र चीनमा जोजो नेतृत्वमा आए पनि उनीहरूको मूल उद्देश्य सधैं नेपालजस्ता महात्माहरूको देशलाई कति आफ्नो फाइदामा नचाउने भन्ने नै हुनेछ । संसारका शक्तिशाली देशहरूको घर्षणले आफैं फेरिँदै जाने प्रक्रिया एउटा भयो, नेपालले खुरुखुरु ‘आफ्नो देश आफैं बनाऔं’ भन्नेबाहेक संसारमा अरू हामीले जे गरे पनि कुनै फरक पर्नेवाला छैन । नेपालका मार्क्सवादी र सबै दलका समाजवादीले जति कल्पे पनि उनीहरूको जीवनकालमा पुँजीवादको प्रभुत्व झन् बढ्नेछ, घट्ने छैन । साम्राज्यवादका आयाम केही फेरिएलान् तर त्यसमा नेपालको कुनै भूमिका हुनेवाला छैन । त्यसो भए, नेपालको सार्वजनिक वृत्तका विमर्शहरूमा यस्ता विषयमा मात्र छलफल गर्नुको के अर्थ छ त ? हो, यसको अर्थ यत्ति मात्र हो कि यस्ता विषयमा मात्र गफ गर्नु बौद्धिक दुर्व्यसन हो । संसारका धेरै देश यस्ता दुर्व्यसनबाट ‘रेह्याबिलिटेसन’ मा बसीवरी अहिले बौरिन थालेका छन् । नेपाल भने झन्झन् यसैमा अभ्यस्त हुँदै छ ।
धेरैले पन्छाउने तर राजनीतिमा रहने या गर्छु भनेर आउनेलाई सधैं सोध्नुपर्ने एउटा असजिलो तर आधारभूत प्रश्न छ— तपाईं आफ्नो सजिलो जीवनमा अप्ठ्यारो थप्न किन राजनीतिमा आउनुपरेको हो ? पहिले–पहिलेका त लौ लोकतन्त्र ल्याउन, साम्यवाद बर्साउन, हक–अधिकार सुनिश्चित गर्ने आन्दोलनमा सरिक हुन यता लागेका थिए रे ! अहिले नयाँ–नयाँ सदस्यता लिने र नवीकरण गर्ने नयाँ–पुराना दलका कार्यकर्तालाई त झन् सोध्नै पर्नेछ— कतै तपाईं ठेक्कापट्टा हात पार्न, सहकारीमार्फत जनतालाई ठग्न, टोलछिमेकमा बन्ने बाटोमा कमिसन खान वा अरु कुनै ‘गतिलो’ काम गर्ने योग्यता नभएर यता आउनुभएको त हैन ? मानव सभ्यताको लिखित इतिहास सुरु भएदेखि कुनै पनि स्थानमा समाजसेवीहरूको खडेरी परेको छैन । तसर्थ आफ्नो व्यक्तिगत सुखलाई छाडेर लोकको हितमा जीवन उत्सर्ग गर्न चाहने महात्माहरूलाई यस्ता प्रश्नले निरुत्साहित पक्कै नगर्लान् । तर, राजनीतिमा रहेका हरेक नयाँ वा पुराना सबैलाई सोध्नुपर्ने पहिलो प्रश्न नै यही हुनुपर्छ । जवाफ दिनका लागि उनीहरूले केही सोच्न सके भने, के थाहा उनीहरूलाई आफ्नो बौद्धिक दुर्व्यसनबारे पनि केही हेक्का हुन्छ कि ?

सम्पादकीय

समस्या कोरियाको नीतिमा कि यताको नियतमा ?

कोरियाली भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर शुक्रबार गरिएको प्रदर्शनमा सुरक्षा समन्वय र प्रहरीले संयमताको अभावमा दुई युवाको ज्यान गएको छ । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह कोरिया गएर परिवारलाई आर्थिक रूपमा समृद्ध बनाउने भन्दै गाउँ छाडेका थिए, तर उनीहरूको सपना राजधानीमै बिलाएको छ । युवाको प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गरेको थियो भने घटना निम्तिनुमा राज्यका अन्य निकायका असंवेदनशील र अपरिपक्व व्यवहार पनि जिम्मेवार छन् । यस्ता घटनाको पुनरावृत्ति हुन नदिन शुक्रबारको घटनामा जोडिने सबै पक्षमाथि निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको भागीदार बनाउनुपर्छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षामा तोकिएको मापदण्डबाट समस्या सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि पुस पहिलो साता आवेदन खुलाएको थियो, जसमा गत साउनमा भएको ‘सिप बिल्डिङ’ को भाषा परीक्षामा सामेल भएकाले आवेदन दिन नपाउने भनिएको थियो । ईपीएसको यस्तो मापदण्डविरुद्ध १८ युवा उच्च अदालत पाटन गए । अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिएपछि ग्वार्कोस्थित ईपीएस शाखाले उनीहरूलाई बोलायो । साउनमा सँगै परीक्षा लेखेका अरू युवा भने आफूहरूलाई वञ्चित गराइएको भन्दै प्रदर्शनमा उत्रिए । प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको केही घण्टामै ईपीएस कोरिया शाखाले आवेदन सबैका लागि खुला गर्‍यो । सूचनामा यसका लागि कोरियाको मानव संसासन विभाग (एचआरडी) को सकारात्मक प्रतिक्रिया रहेको उल्लेख छ । यो विषय नाटकीय छ । नेपालमा प्रदर्शन भएको केही घण्टामा कोरिया सकारात्मक भएको विषय पत्याउन गाह्रो छ । यसको सोझो अर्थ के हो भने या त कोरिया सरकार यो विषयमा पहिले नै सकारात्मक थियो, नेपाल सरकार असंवेदनशील थियो । या त उता जेसुकै भए पनि अहिले तत्काल नेपाली युवालाई अलमलाउने चाल मात्र पनि हुन सक्छ । होइन, कोरियाको एचआरडीबाट अप्ठेरो नहुने रहेछ भने किन पहिले नै ईपीएस कोरिया शाखाले सम्बोधनका लागि पहल गरेन भन्ने प्रश्न गम्भीर छ ।
साउनमा परीक्षामा सहभागीमध्येबाट १८ युवाले रिट दायर गर्दा उनीहरूलाई आवेदनबाट वञ्चित नगराउन अन्तरिम आदेश जारी भयो । जब वञ्चित अरू युवा फेरि अदालत गए, सबैका लागि खुला गर्न अन्तरिम आदेश आयो । अदालतले दुई दिनमा दुई किस्तामा आदेश दिँदा दुई जनाको ज्यान गइसकेको थियो । सबैका लागि खुलाउने गरी आदेश जारी गर्न मिल्ने रहेछ भने किन सुरुमै त्यस्तो आदेश जारी भएन भन्ने जिज्ञासा आम मानिसमा छ । अर्को कमजोरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सुरक्षाकर्मीको देखिएको छ । वस्तुस्थिति नबुझी मन्त्री सवार गाडीलाई प्रदर्शन भइरहेको सडक हुँदै किन लगियो ? अनि युवाहरूले प्रदर्शन गरिरहेको देखेपछि मन्त्रीले तत्काल वैकल्पिक मार्ग किन लिएनन् ? युवा प्रदर्शनलाई उत्तेजित बनाउने काम किन भयो ? यसप्रति सुरक्षा र राजनीतिक क्षेत्रबाट जेजस्तो कमजोरी भएका छन्, यसमाथि गम्भीर अनुसन्धान र जवाफदेहिता आवश्यक छ ।
प्रहरीले बल प्रयोग गर्दा अकल्पनीय घटना हुनुमा ललितपुरका प्रमुख जिल्ला अधिकारीको पनि कमजोरी देखिन्छ । प्रहरीसँग समन्वय गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी सुरक्षा समिति प्रमुखको हुन्छ । शुक्रबार अचानक प्रदर्शन भएको होइन । भाषा परीक्षाका लागि आवेदन दिन नपाएका युवाले केही दिनदेखि नै ईपीएस कार्यालय क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए । सुरक्षा समितिले त्यस क्षेत्रको सुरक्षा स्थितिको पूर्वविश्लेषण र तयारी गर्न सकेको देखिएन । स्थिति नियन्त्रणमा लिन सिलसिलेवार वैकल्पिक उपाय नअपनाई प्रहरीले हवाई फायर र गोली प्रहार गरेको देखिएको छ । गोली प्रहारबाट शाह र कुटपिटबाट रावतको मृत्यु भएको हो । निहत्था नागरिकमाथि गोली प्रहार गरिएको घटनामा निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ । छानबिनका लागि सरकारले शनिबार गठन गरेको तीन सदस्यीय समिति कमजोरी ढाकछोप गर्ने प्रपञ्चमा लाग्नु हुँदैन । शुक्रबारको घटनापछि नागरिक आक्रोश बढेको छ । स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको माइतीघरमा शनिबार युवाले प्रदर्शन गरेका थिए, जहाँ प्रहरीले धरपकड गरेको थियो । यस्तो संवेदनशील घडीमा सामान्य असावधानीले पनि स्थिति भड्किन सक्छ । त्यसैले सुरक्षा निकायले सधैं उच्च सतर्कता र संयमता अपनाउनुपर्छ ।

सम्पादकलाई चिठी

बालकुमारीमा ढलेको सपना

श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाले ज्यान गुमाए । यो घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय समिति बनाएको छ । मान्छे मरिसकेपछि छानबिनको के नाटक हो यो ? घटना घामजस्तो छर्लंग छैन र ? कि कसैलाई बचाउने षड्यन्त्र हो ? प्रदर्शनमा उत्रिएका युवाले मन्त्रीको गाडी जलाएका थिए । प्रहरीले भीड नियन्त्रण लिन अन्य उपाय उपनाउन सक्थ्यो । किन गोली नै चलायो ? अलिकति मानवता पनि देखाइएन । हतियार छ भन्दैमा दुरुपयोग गर्न पाइँदैन । सरकार, कोरियामा जान भाषा परीक्षामा सामेल गराउन माग राख्नु अपराध हो ? प्रहरीमा स्कुलिङ गतिलो हुनुपर्छ । प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न खटाइएको हो, मान्छे मार्न होइन । प्रहरीको व्यवहारमा कहिले परिवर्तन आउने ? गोली चलाउने प्रहरीलाई मात्र होइन, गोली चलाउन आदेश दिने हाकिमलाई पनि कारबाही हुनुपर्‍यो । पीडितलाई न्याय नदिने हो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

वीरेन्द्र शाह र सुजन रावत मात्र ढलेका छैनन्, आज सडकमा यी दुई जस्ता धेरै नेपाली मन, नेपाललाई माया गर्ने, नेपालमा नै केही गर्नुपर्छ भन्ने युवा, तिनीहरूको सपना र भविष्य सडकमा ढलेका छन् । हामी हाम्रो देश र समाजलाई कहिल्यै उठ्न नसक्ने गरी सडकमा ढालेका छौं । शाह र रावत पुलिसको गोली लागेर ढले । आफ्नो र परिवारको सपना बोकेर ढले । आज नेपालको हरेक युवा आफ्नो सुनौलो भविष्य र सपना पूरा गर्न बिदेसिनुपर्ने बाध्यता छ । युवा जनशक्तिलाई राज्य र सरकारले कहिल्यै गम्भीर रूपमा लिएन । उनीहरूलाई देश विकासका लागि प्रयोग गर्न सकेन । आफ्नो रहरले केही गर्छु भन्दा पनि केही गर्न दिन सकेको छैन सरकारले । देशका युवा बेरोजगारीको समस्याले चरम निराशामा छन् । सरकारले आफूलाई कहिल्यै जनताको नजिक रहेको अनुभव गर्न दिएन । देशमा जुन वाद र जुन तन्त्र आए पनि गरिब, निमुखा मानिस राज्यका सुविधाबाट वञ्चित नै हुनुपरेको छ । सत्तामा पुगेकाहरूले आफू र आफ्नोलाई मात्र सदैव भरणषोषण गर्ने अवस्थाले आज देश यो अवस्थामा आएको हो । जनताको माग सुशासन र रोजगारी हो । उनीहरूले आफ्नो जीवनयापन गर्न राम्रो काम र राम्रो पारिश्रमिक राज्यबाट आस गरेका छन् । देशमा रोजगारी नपाएपछि विदेशमा गएर परिवार पाल्छु भन्नेलाई अरू केही दिन नसके पनि सहज र खुसी भएर जाने वातावरण बनाइदिन त सक्नुपर्छ नि सरकारले ।
भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

पाँच दशकअघि कोरियाको अर्थतन्त्र नेपालको जस्तै थियो । थोरै प्राकृतिक स्रोतसाधन भएको नेपालभन्दा सानो राष्ट्रले सन् १९५३ को गृहयुद्धमा लाखौं नागरिक गुमाएको थियो । तर गृहयुद्धपछि कोरिया फिनिक्स चरा जस्तै उठ्यो । सामसुङ र हुन्डाईजस्ता विश्वका शीर्ष कम्पनीहरूको भूमि बन्यो । नागरिकको अनुशासन र कडा परिश्रम एवं नेताहरूको राष्ट्रवादी योजनाका कारण कोरियाले उच्चतम आर्थिक सफलता हासिल गरेको छ । यति बेला विकसित देशहरूमा पनि आर्थिक निराशा छ । तर आर्थिक निराशामा पनि नागरिकले सरकारी सम्पत्ति कहिल्यै नष्ट गर्नु हुँदैन । विधिको शासन कायम राख्नुपर्छ ।
उज्ज्वल श्रेष्ठ, ललितपुर

सम्पादकलाई चिठी

ज्ञान, अनुभव, शक्ति र व्यवहार

कान्तिपुरमा पुस ११ मा प्रकाशित केपी शर्मा ओलीको ‘मैले देखेको नेपाल’ मा नेपालको भूगोल, प्राकृतिक विविधता, जीवजन्तु, वनस्पतिबारे मिठो शैली र सरल भाषामा सत्य कुरा लेखिएको छ । त्यसमा मानव सभ्यताको विकास, धर्म, संस्कृतिको जननी पनि नेपालको वर्तमान भूमि भएको उल्लेख छ । विविध पक्षको यथार्थ उल्लेख गरी नेपाल ज्ञानभूमि, देवभूमि, वीरभूमि भएको क्षेत्र हो भन्दै त्यसको कारण पनि ओलीले दिएका छन् । लेखले नेपालको समग्र अवस्थाको चित्र देखाउँछ ।
पूर्वप्रधानमन्त्री ओलीको भाषण सुनेको हो, पुस्तक, लेख, दस्तावेज पढेको हो । नागरिकले आशा, भरोसा र विश्वास यसो भनेर गरेका थिए कि सपना देख्ने मार्क्सवादी चिन्तक हुनुका साथै शासकीय शक्तिमा पुग्ने चिन्तक र शासकले मिथकीय पुराणका कथा भनेर नागरिकलाई गुमराहमा राख्ने छैनन् । ज्ञान, अनुभव, शक्ति त्यसबेला सशक्त थियो जब उनी दुई तिहाइको शक्तिसहित सत्तामा पुगेका थिए । नागरिकले विश्वास गरेर सत्तामा पुर्‍याएका थिए । सपनालाई योजनाभित्र राखेर निश्चित समयभित्रै कार्यान्वयन गर्न सक्ने शक्तिशाली प्रधानमन्त्री भएका थिए । जानेको, बुझेको, भोगेको र सुझबुझ भएको एउटै मानिस सत्तामा पुग्ने कम हुन्छन् । ओली सत्तामा पुग्नासाथ त्यो ज्ञान व्यवहारमा उतार्न किन सकिएन ? कहाँ हरायो त्यो ज्ञान, योजना र सपना कार्यान्वयन गर्न शक्तिमा पुगेको बेला ? आम नागरिकले भरोसा गरेको बेला गुट र उपगुटमा विभाजित भएर, संसद् विघटन गरेर, गुटको सम्राट् बन्ने लोभ किन र कसका लागि पलायो ? बोली, ज्ञान, अनुभव एकातिर व्यवहार ठीक त्यसको विपरीत किन भयो ? त्यस बेला नेपालको प्राकृतिक छटा, जनक, गार्गी, याज्ञवल्क्य र बुद्धको सन्देश तथा साधन र स्रोत, ऐतिहासिक सम्पदाको चित्र अगाडि ल्याउन किन सकिएन ?
त्यसरी लेख्ने र त्यस प्रकारको गहिरो ज्ञान भएका नेपाली राजनीतिज्ञ कम छन् । ज्ञान भएर सत्तामा पुगेर पनि व्यवहारमा ठीक विपरीत गर्नु दक्षिण भारतीय सिनेमामा खेल्ने राजनीतिक चरित्र जस्तो भएन र ? अब चेतेको हो र साँच्चिकै लेखमा उल्लेख ‘अन्धविश्वासी, धोकापूर्ण, झूट वा अफवाहका मिथ बनाएर जनता अलमल्याउने परम्परा तोडनुपर्छ’ भन्ने कुरा इमान्दार भएर व्यवहारमा उतार्ने हो भने शक्तिमा पुग्ने बाटो झुलाघाटबाट चिवाभन्ज्याङ जति टाढा पनि छैन । बोली र व्यवहार एउटै होस् । आगामी दिनमा राजनीतिबारे लेख्दा आफ्ना कमीकमजोरी के के भए, त्यसबारे उल्लेख गरियोस् । ज्ञानलाई साँचो अर्थमा नागरिकलाई गुमराहमा नराख्ने गरी सत्तामा पुगेको बेला बोलेको कुरा मात्र गर्ने प्रतिबद्धता आओस् ।
विष्णुप्रसाद शर्मा पराजुली, काठमाडौं

Page 7
अन्तर्वार्ता

'युवा देशमा रोकिने कि नरोकिने राजनीतिले निर्धारण गर्ने हो'

पछिल्लो समय नागरिक आन्दोलनको अग्रपंक्तिमा आउनेमध्येको एक नाम हो— सञ्जीव उप्रेती । २५ वर्षसम्म उनी सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा प्राध्यापनरत रहे । सेवा अवधि बााकी रहादै केही असन्तुष्टि र केही व्यक्तिगत कारणले उनले ८ वर्षअघि विश्वविद्यालय छाडे । कक्षाकोठाको पठनपाठन छाडेर न्याय, समानता, सामाजिक मुद्दा उठाउादै हिाडेका प्राध्यापक उप्रेतीसाग नेपालको उच्च शिक्षा, त्रिविसहितका विश्वविद्यालय र समग्र शैक्षिक व्यवस्थाको अवस्था, समस्या र समाधानमा केन्द्रित रही कान्तिपुरका लागि सुदीप कैनीउपेन्द्रराज पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश ः


शिक्षाविद्, प्राध्यापक, शिक्षाकर्मीहरू नै नेपालको शिक्षा प्रणाली संकटोन्मुख रहेको बताउँछन् । साँच्चै, हाम्रो शिक्षा व्यवस्था दुर्घटनासम्मुख पुगिसकेको हो ?
संसारमै शिक्षाको व्यापारीकरण बढ्दै गएको छ । राम्रा शिक्षकहरू नै निजी कलेजतर्फ गइरहेका हुन सक्छन् । त्यसले गर्दा पनि सरकारी विश्वविद्यालयको स्तरमा ह्रास आएको हुनुपर्छ । शैक्षिक संस्थाहरू धराशायी हुनुका विभिन्न पक्ष हुन्छन् । एउटा, शिक्षाको व्यापारीकरण हुँदै गएकाले निजी विश्वविद्यालय/कलेजहरू सशक्त बन्दै गए । अर्को कारण राजनीतिक भागबन्डा नै हो । मैले त्रिवि अंग्रेजी केन्द्रीय विभागमा २५ वर्ष पढाएँ, सन् १९८९–९० देखि । त्यति बेलादेखि नै त्यहाँ भागबन्डा नभएको त होइन तर समयक्रमसँगै त्यो बढ्दैबढ्दै गयो । २०६२–६३ को आन्दोलनपछि यो घट्ला कि भन्ने थियो, झन् बढ्दै पो गयो । विश्वविद्यालयमा कि कांग्रेस, कि एमाले, कि माओवादी हुन थाले । मैले ‘एपोलिटकल’ हुनुपर्छ भनेको होइन । हामी सबै राजनीतिक प्रणाली हौं, राजनीतिक विषयमा सोच्नुपर्छ, विचार गर्नुपर्छ । नेपाल यस्तो देश हो, धारामा पानी आएन भने त्यहाँ पनि राजनीति हुन्छ ।

त्रिविमा संकट आउनुको मूल कारण नै अति राजनीतीकरण मात्र हो त ?
यहाँ पार्टी पलिटिक्स घटिया स्तरको भयो । विश्वविद्यालयमा शिक्षक पनि विद्यार्थी पनि कि एमाले कि कांग्रेस कि त माओवादी ! कर्मचारी पनि त्यस्तै । रेक्टर, उपकुलपति र रजिस्ट्रारको भागबन्डा हुन्छ । राजनीतिक दलहरूले पनि आफ्ना कार्यकर्ता बनाउने थलो विश्वविद्यालय र क्याम्पस नै हुन् भन्ने ठाने । यहाँसम्म कि एमएको थेसिस पनि कांग्रेसी विद्यार्थीको कांग्रेसी शिक्षकले हेर्ने, एमाले विद्यार्थीको एमाले शिक्षकले हेर्ने हुन थाल्यो । विश्वविद्यालय स्वतन्त्र विचारको थलो हुनुपर्ने हो जहाँ आलोचनात्मक चेतचाहिँ हुनुपर्छ । संसारलाई दोहोर्‍याएर हेर्न सक्नुपर्‍यो । लोकतन्त्र, सामाजिक न्याय, हाम्रो इतिहास भनेको के हो ? कुन इतिहास अहिलेसम्म हामीले पढिरहेका छौं ? त्यसलाई अर्को दृष्टिकोणले हेर्दा के देखिन्छ ? जेन्डरलाई कसरी बुझ्ने, जेन्डर अर्डर हाम्रो समाजमा कसरी चलिरहेको छ भनेर आलोचनात्मक ढंगले सोच्ने थलो हो विश्वविद्यालय । तर राजनीतिक भागबन्डाले क्रिटिकल थिंकिङको स्पेस नै बन्न सकेन । विश्वविद्यालयमा थेसिसहरू त लेखिन्छन् तर अधिकांशचाहिँ झारा टार्ने किसिमले । त्यसले विद्यार्थीलाई आलोचनात्मक बनाउनै सक्दैन । बर्सेनि थुप्रै थेसिस लेखिइरहेका छन्, केही त राम्रै पनि छन् । सबैलाई एकै ठाउँमा राखेर हेर्न पनि मिल्दैन । लेखिएका थेसिसहरू समाजसँग कुनै न कुनै रूपमा जोडिनुपर्ने हो नि ? अंग्रेजी विभागकै कुरा गर्दा, विद्यार्थीले टोनी मरिसनको कृतिमा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने बारेमा थेसिस गरिरहेका हुन्छन् । अमेरिका र अफ्रिकाका महिला अधिकार, जात र लैंगिक अधिकारका बारेमा थेसिस गरेका विद्यार्थी यहाँको महिला आन्दोलन, बलात्कारविरुद्धको प्रदर्शन वा घटनामा अलिकति पनि संवेदना देखाउँदैनन् । अमेरिका र ल्याटिन अमेरिकाका उपन्यासमा महिलाहरूलाई कसरी दर्साइएको छ भनेरचाहिँ हेर्छन्, तर नेपाली महिलाको स्थिति के छ भनेर सोच्दैनन् । शिक्षकहरू पनि विनिर्माणवाद, मार्क्सवाद, उत्तरआधुनिकतावादलगायतका विषयमा घण्टौं लेक्चर दिन सक्नुहुन्छ, तर रुकुममा हत्याकाण्ड हुँदा एक शब्द पनि बोल्नुहुन्न । जुन उच्च शिक्षा हामीले लिइरहेका वा दिइरहेका छौं, त्यो हाम्रो समाजसँग जोडिएकै देखिएन ।

विश्वविद्यालय दलीय भागबन्डाले मात्र होइन, त्यहाँभित्रका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूले आफ्नो भूमिका निर्वाह नगरेकाले पनि धराशायी बन्न पुग्यो भन्ने छ नि ?
उनीहरू पनि दोषी छन् । प्राध्यापकहरूमा अहिले सीधै भीसी, रेक्टर वा रजिस्ट्रार नभए पनि भोलि बनिहालिन्छ कि भन्ने छ । बन्नका लागि कुनै राजनीतिक दलको आशिर्वाद त चाहियो नै । त्यही भएर उनीहरू घोषित वा अघोषित रूपमा भागबन्डामा संलग्न हुन्छन् । त्यस्तो भएपछि स्वतन्त्र अनुसन्धान गर्ने, नयाँ ज्ञान पत्ता लगाऔं भन्ने विचारहरू आउँदैनन् । त्यहाँ उत्पादन भएको ज्ञान समाजसँग जोडिएकै छैन । विश्वविद्यालयका प्राध्यापकहरूले नेपाल के हो भनी बुझ्न सकिरहेको मैले देखेको छैन । अमुक समाजप्रति पूर्वाग्रही हुन्छन् उनीहरू । समाजको पीँधसँग उनीहरू जोडिइन सकिरहेका छैनन्, ज्ञान पनि उत्पादन गर्न सकेका छैनन् । हाम्रा युनिभर्सिटीहरूले आलोचनात्मक दृष्टि दिन सकेनन्, दिए त केवल कम्फर्टेबल नलेज ।

स्नात्तकोत्तर तहका थेसिसहरू झारा टार्ने गरी लेखिन्छन् भन्नुभयो । विद्यार्थीहरूले पनि केन्या, नाइजेरिया, पाकिस्तान, ल्याटिन अमेरिका वा कुनै विदेशी लेखकको कृति र भाषा–संस्कृतिलाई आफ्नो शोधपत्रको विषय बनाइरहेका छन् । विश्वविद्यालय, खास गरी प्राध्यापकहरूले नेपाल र यहीँका भाषा, संस्कृति र समाजको अध्ययन हुने गरी विद्यार्थीलाई शोधपत्र लेखाउनचाहिँ सक्दैनन् ?
पहिलेदेखि नै हामीले एक किसिमको इतिहास पढ्दै आयौं । एकजातीय, एकभाषीय खालको हाम्रो इतिहास रह्यो । हामीले यहीँका लिम्बू, गुरुङ, मगर वा अन्य कुनै संस्कृतिलाई बाहिरको भन्दा सजिलो गरी पनि बुझ्थ्यौं । भाषा अलि बढी बुझ्थ्यौं । मेरै हजुरआमाले लिम्बू भाषा फरर्र बोल्नुहन्थ्यो । तर हामीलाई नेपाली भाषा नै मुख्य हो, ब्राह्मण–क्षेत्री संस्कृति नै मुख्य हो भन्ने सिकाइयो । त्यसलाई हामीले प्रश्न गर्नुपर्छ भनेर कसैले पनि भनेन । यदि विश्वविद्यालयले यहीँका भाषा, संस्कृति र समाजबारे अध्ययन–अनुसन्धान गराएको भए यत्रो विविधतासहितको समाजलाई जोड्ने काम पनि हुन्थ्यो । तर कतिपय प्राध्यापककै मनमा एउटै भाषा, एउटै संस्कृति भन्ने कुरा गडेर बसेको छ । प्राध्यापकहरूले आफू कम्फर्ट जोनमा बस्नका लागि पनि विद्यार्थीहरूलाई बाहिरका विषयमा शोधपत्र गर्न लगाउँछन् । विश्वविद्यालयले त्यो कम्फर्ट जोनलाई घटाउनुपर्‍यो, आफैंलाई अप्ठेरा प्रश्न सोध्न सक्ने बनाउनुपर्‍यो । एउटा त बाहिरी संसारतिर निर्देशित आलोचनात्मक चेतको विकास गर्नुपर्‍यो । अर्को, आफैंभित्र ‘हामी आफैं कति लोकतान्त्रिक छौं’, ‘हामी आफैंले नेपाललाई कति बुझ्या छौं’ भनेर क्यामेराको लेन्स फरक गर्नुपर्‍यो । हामी सबैले आलोचनात्मकका साथै आत्मालोचनात्मक चेतको विकास गर्नैपर्छ ।

भीमकाय शैक्षिक र भौतिक संरचना रहेको सबैभन्दा जेठो विश्वविद्यालयमा देखिएका मूल समस्याचाहिँ के हुन् ?
पहिलो कुरा त विश्वविद्यालयमा राजनीतिक भागबन्डा पूर्ण रूपमा रोक्नैपर्छ । स्वतन्त्र सोच, आलोचनात्मक र आत्मालोचनात्मक चेतसहितको थलो बनाउनुपर्छ । अहिले प्रधानमन्त्रीले मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त हुन्छन् त भन्नुभएको छ, तर अहिले पत्याउनैपर्ने आधार छैन, गरेर देखाउनुभयो भने हेरौंला । नेताहरूले यस्तो वाचा पहिले पनि गरेकै हुन् । उहाँमा राजनीतिक दृढता कति रहला, त्यो पनि यसमा निर्णायक होला । मानौं, प्रधानमन्त्री प्रचण्डले मेरिटका आधारमा उपकुलपति नियुक्त गरिदिनुभयो रे ! तर यहाँ त छिनछिनमा प्रधानमन्त्री परिवर्तन हुन्छन् । यसपछि आउनेले गर्छ कि गर्दर्नै ? प्रधानमन्त्रीको व्यक्तिगत तजबिजभन्दा पनि एउटा सिस्टम नै बनाउनुपर्छ ।

एउटा उपकुलपति मेरिटका आधारमा नियुक्त गर्दैमा विश्वविद्यालयका बेथिति हटेर कायापलट हुने पनि होइन होला ।
एउटा उपकुलपति मात्र मेरिटका आधारमा नियुक्त गरेर पनि हुँदैन, पूरै राजनीतिक भागबन्डाको कल्चर नै हटाउनुपर्छ । त्यसको लागि मलाई लाग्छ, प्रधानमन्त्रीको तजबिजीमा भन्दा पनि सरकारबाट एउटा बोर्ड अफ ट्रस्टी बनाएर नियुक्त गर्दा राम्रो हुन्छ । त्यो पनि समाधानको एउटा उपाय हुन सक्छ । राजनीतिक भागबन्डा हटाउनैपर्‍यो । तर त्यो हट्नेबित्तिकै सबै समाधान भइहाल्छ भन्ने पनि होइन । संसार परिवर्तनशील छ । हामीलाई जे ‘सत्य’ भनेर सिकाइएको छ, त्यो ‘गलत’ पनि त हुन सक्छ । त्यसलाई चिर्नका लागि, अघि पनि मैले जोड दिएकै कुरा, आलोचनात्मक र आत्मालोचनात्मक चेत निर्माण गर्ने थलोका रूपमै विश्वविद्यालयलाई अगाडि बढाउनुपर्छ ।

विश्वविद्यालयका शैक्षिक संस्थाहरूले समयमा कक्षा सञ्चालन, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सकिरहेका छैनन् । यस्तोचाहिँ किन भइरहेको छ ?
मुख्य कुरा त विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाएर त्यसलाई कडाइका साथ लागू गर्नुपर्‍यो । त्यसले कक्षा सञ्चालन, पढाइ र नतिजालाई नियमित बनाउँछ । अर्कोतिर, शिक्षकहरूको समस्या समाधान गर्नुपर्छ । लामो समयदेखि पार्ट–टाइम शिक्षकहरू छन्, यसका लागि पनि कति–कति समयमा सेवा आयोग खोल्ने भन्ने स्पष्ट व्यवस्था गर्नुपर्‍यो । समयमै परीक्षा नहुँदा विद्यार्थीको करिअरमा धक्का पुग्न सक्छ । यहाँ ढिलो हुने देखेर विद्यार्थी पनि बाहिर गइरहेका छन् । यसलाई विश्वविद्यालयले सम्बोधन गर्नैपर्छ ।

उच्च शिक्षाका करिब ८० प्रतिशत विद्यार्थीको चाप रहेको त्रिविको शैक्षिक–भौतिक पक्ष अत्यन्तै ठूलो भयो, थेग्न र सम्हाल्नै नसकिने भयो भन्ने गुनासो छ । मुलुक संघीयतामा गइसकेकाले त्यसैअनुसार त्रिविको पनि पुनःसंरचना गर्नुपर्ला कि ?
विश्वविद्यालयलाई डिसेन्टर त गर्नैपर्छ । त्रिवि सम्हाल्नै नसकिने गरी भीमकाय भएको सत्य हो । अमेरिकामा मेरै अनुभव छ, त्यहाँ हरेक शिक्षकलाई आफ्नै कोर्स डिजाइन गर्न दिइएको हुन्छ, त्यो अनन्तकालसम्म जाने पनि होइन । त्यस किसिमले यहाँ हुन्छ कि हुँदैन, मलाई थाहा छैन, तर केही न केही हिसाबमा डिसेन्टर त गर्नैपर्छ । नेपाल विविधतायुक्त देश भएकाले पनि एउटै मोडलको शिक्षा सबै भेगमा उपयुक्त नहुन पनि सक्छ । इलामको कुनै क्याम्पस, नेपालगन्जको क्याम्पस र दार्चुलाको क्याम्पसमा एकै प्रकारको विषय नहुन पनि सक्छ । किनभने ती ठाउँहरू नै फरक भए, इतिहास नै फरक हुने भयो । सांस्कृतिक कुराहरू फरक छन्, त्यहाँका वनस्पति फरक छन् । त्यहाँ उब्जनी हुने अनाज फरक छन् । उदाहरणका लागि, कृषिका लागि कोर्स डिजाइन गर्दा इलाम, नेपालगन्ज र दार्चुलाका लागि एउटै बनाएर त भएन नि ! कुनै ठाउँमा केन्द्रित रही ब्लुप्रिन्ट नै बनाएर प्रादेशिक र स्थानीय तहमा त्यहाँको संस्कृति र विविधतालाई जोडेर कोर्स बनाउन सकिन्छ । कम्तीमा अहिले प्रदेशका हिसाबले त गर्न सकिन्छ होला । अति केन्द्रीकरणले पनि परीक्षा, पठनपाठन र नतिजा समयमा हुन नसकेको हो । अहिलेको भद्रगोल हेर्दा त्रिविको पुनःसंरचना आवश्यक नै छ ।

२०८० को दशक सुरु हुँदै गर्दा विश्वविद्यालय स्थापनाको होडबाजी चलिरहेको छ । क्याम्पसहरू विद्यार्थी नपाएर समायोजनमा गइरहेका बेला संघदेखि प्रदेशसम्म नयाँ विश्वविद्यालय स्थापना भइरहेको विषयलाई तपाईंले कसरी हेर्नुभएको छ ?
क्याम्पसहरू खोल्नु आफैंमा नराम्रो त होइन । आवश्यक पूर्वाधारसहित ठाउँ–ठाउँमा क्याम्पस पुर्‍याउनु राम्रो हो । यदि कर्णालीमा राम्रो क्याम्पस खुल्ने हो भने त्यहाँका विद्यार्थी काठमाडौं वा अन्य ठाउँ आउनुपर्दैन । तर यसमा पनि व्यापारीकरणको चक्कर हुन सक्छ । नाफाकै हिसाबले त्रिविको अनुबन्धन लिएर पैसा कमाउने हिसाबले प्रदेश स्तरमा क्याम्पस पुर्‍याइएको हुन सक्छ । अर्को कुरा, राजनीतिक दलहरूले बाहिर केही नभने पनि ती क्याम्पस कांग्रेस, एमाले र माओवादी नेताले चलाएको भन्ने हुन्छ । हामीले क्याम्पस र विश्वविद्यालय प्राज्ञिक छलफलको थलो होऊन् भन्ने बहस गरिरहेका बेला क्याम्पस मात्र पुर्‍याएर मात्र पनि नहोला । यसमा विशेष ध्यान दिनैपर्छ ।

विश्वविद्यालयहरू सबै शैक्षिक–भौतिक मापदण्ड पूरा गरेपछि बन्ने हुन् कि राजनीतिक पहुँचका आधारमा संसद्बाट विधेयक पास पारेर स्थापना हुने हुन् ? हाम्रोमा त कागजमा स्थापना गरेर भाडाको घरमा पनि विश्वविद्यालय सञ्चालन भइरहेका छन् १
कम्तीमा सम्भाव्यता अध्ययन त पहिले नै हुनुपर्छ । कति विद्यार्थी आउँछन्, त्यसको लेखाजोखा गरिनुपर्छ । हचुवाको भरमा जहाँ पनि खोल्दै जाने प्रवृत्ति अवश्य राम्रो होइन । तर शिक्षा सबैको अधिकार पनि हो, विश्वविद्यालय खुल्नु वा कुनै शैक्षिक संस्था खुल्नु आफैंमा नराम्रो होइन । कुन हिसाबमा खोल्ने ? पूर्वाधार कस्तो छ ? कुन विषय पठनपाठन गराउने ? त्यसको निर्क्योल पहिले नै हुनुपर्छ । आवश्यकताका आधारमा मात्र खुल्नुपर्छ । सम्बन्धनप्राप्त कलेज भन्ने कुरा बाहिरी देशहरूमा खासै धेरै हुँदैनन् । हाम्रोमा सबैभन्दा बढी सम्बन्धनकै क्याम्पस छन् । जस्तो— हार्वर्ड विश्वविद्यालयले सम्बन्धन दिएको कुनै कलेज मैले देखेको छैन । सम्बन्धन त व्यापार नै हो । हाम्रो शिक्षामा व्यापारी र राजनीतिकर्मीहरूको नेक्सस देखिन्छ । राजनीतिक पकडका आधारमा विश्वविद्यालय, क्याम्पस खोल्ने कामबाट पछि हट्नैपर्छ ।

तपाईं नागरिक आन्दोलनको पनि नेतृत्वमा हुनुहुन्छ । करिब दुई वर्षअघि 'शैक्षिक प्रतिगमन' विरुद्ध खबरदारी अभियान सञ्चालन गर्नुभएको थियो । अचेल शैक्षिक मुद्दा र बेथितिका विषयमा आवाज किन मधुरो बन्दै गएको हो ?
नागरिक आन्दोलनका निश्चित सीमा र दायरा छन् । यसको कुनै स्रोत छैन । अभियन्ताहरूले आफैं स्रोत जुटाएर घरपरिवारलाई दिने समय आन्दोलनका लागि खर्च गरिएको हो । हामी नागरिक आन्दोलनलाई एनजीओ र राजनीतिक दलजस्तो नबनाउने कुरामा पनि सचेत र सजग छौं । एक पैसा कसैसँग नलिने हाम्रो बटमलाइन नै हो । अफिस पनि छैन, बैंक खाता पनि छैन । यस्तो अवस्थामा, समाजका विभिन्न मुद्दा आइरहेका हुन्छन्, सबैतिर लाग्न हामीलाई पनि गाह्रो भइरहेको छ । शैक्षिक मुद्दामा लाग्न नसकेको कुरा हामीभित्र पनि उठेको छ । उच्च शिक्षामा पनि केही गर्ने कि भनेर भर्खरै एउटा समूह बनाएका छौं । विद्यार्थी, शिक्षक, प्राध्यापकहरू नै अभियानमा जोडिनुभयो भने त्यो शक्तिशाली हुन्छ भनेर प्रयास पनि गरिराखेका छौं । अझ त्रिविबाटै त्यसको सुरुआत भए त्यसलाई हामी पछाडिबाट समर्थन गर्थ्यौं । नागरिक आन्दोलनले मात्रै सबै आन्दोलनको नेतृत्व लिइराख्नुपर्छ जस्तो लाग्दैन । मिटरब्याजीपीडितहरू आए, ‘तपाईंहरू अघि लाग्नुस्, हामी पछाडिबाट सहयोग गर्छौं’ भन्यौं । ‘शिक्षामा आमूल परिवर्तन गरौं, दबाब दिऔं’ भनेर कुनै समूह देखा परेको थिएन, तैपनि हामी केही गर्न त चाहन्छौं । स्रोतसाधनकै कमीले पनि चाहेका धेरै कुरा गर्न सकिएको छैन । विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्छ, मेरिटका आधारमा नियुक्ति हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । आन्दोलनलाई कसरी लैजाने भन्नेमा चाहिँ सोच्नै बाँकी छ । धेरै साथी जोड्न खोजिरहेका छौं । नागरिक आन्दोलनको सदस्यता पनि हुँदैन । स्वतःर्स्फूत धेरै जना जोड्ने प्रयासमै छौं । म आफैं पहिले विश्वविद्यालयमा सक्रिय भएकाले पनि मलाई त्यसमा काम गर्ने इच्छा अत्यन्तै छ ।

पछिल्लो समयमा सामाजिक संकायमा विद्यार्थी आकर्षण घट्दै गएको तथ्यांक छ । ८ वटा सेक्सन चलेका ठाउँमा मुस्किलले एउटा चलेको देखिन्छ । नेपाल र समयाअनुकूल पाठ्यक्रम नहुँदा पनि यस्तो भएको हो ?
पढाइको कुरामा जबरजस्ती हुँदैन । विद्यार्थीले के खोजेका छन् ? के चाहेका छन् ? त्यसमा ध्यान दिनुपर्छ । अहिले विश्वभरि नै उपभोक्तावादी समाज छ । कुन विषय पढ्दा चाँडै जागिर पाइन्छ, त्यसमै धेरैको ध्यान हुन्छ । कुनै बेला मैले अंग्रेजी विभागमा पढाउँदा पहिलो वर्षमा एक हजार, दोस्रो वर्षमा अर्को एक हजार जना पनि हुन्थे । माइक पनि हुन्थेन, कक्षामा सबैले सुन्ने गरि भाषण गरेजस्तो कराएर बोल्नुपर्थ्यो । पछि कीर्तिपुरमा मात्रै नभएर धेरै क्याम्पसमा अंग्रेजीको पठनपाठन हुन थाल्यो । अन्य विषयका पनि क्याम्पसहरू विस्तार हुँदै गए । अहिले कीर्तिपुरमा भन्दा पनि क्याम्पसहरूमा विद्यार्थी भर्ना हुन थालेका छन् । निजी क्षेत्रबाट पनि शैक्षिक संस्था खुले । त्यता पनि विद्यार्थी बाँडिए । कम्प्युटर साइन्सलगायतका नयाँ विषय अहिले आएका छन् । विद्यार्थीहरू नयाँ विषयतर्फ जाने पनि हुन्छन् । विद्यार्थीले विषय खोज्दा भोलिकै सम्भावना हेर्छन् । यी कुरा समयले पनि मिलाउँदै लगेको छ । पुराना विषयलाई समयअनुकूल परिमार्जन गर्न नसक्दा पनि विद्यार्थी आकर्षण घट्दै गएको हुन सक्छ । अंग्रेजीमा धेरै समय सेक्सपियर, किट्स, वर्ड्स वर्थ नै पढाइयो । अंग्रेजी साहित्य पढ्यो भने हामी बढी सभ्य हुन्छौं भन्ने माइन्ड सेट थियो । पछि एमफिल खुल्यो, हामीले त्यसमा नेपाल स्टडी पनि थप्यौँ । अन्तर्राष्ट्रिय साहित्य पनि पढौं, सँगै यहीँका लेखक–कविका पनि साहित्य पढौं भनेर पाठ्यक्रममा सुधार गर्‍यौं । उच्च शिक्षाको पढाइ नेपालको समाजसँग जोडिएको पनि हुनुपर्छ । यसतर्फ काम त अझै धेरै गर्नै बाँकी छ ।

अब समग्र शिक्षा प्रणालीको कुरा गरौं । कक्षा १ मा भर्ना भएका आधा विद्यार्थी कक्षा १२ सम्म पुग्दा हराउँछन् । १२ को परीक्षा दिने ५० प्रतिशत मात्रै उच्च शिक्षा पढ्न योग्य ठहरिन्छन् । राज्यले कक्षा ८ सम्म अनिवार्य र विद्यालय शिक्षा निःशुल्क भनेको छ । अर्कातर्फ, १२ पास गर्नेमध्ये आधा विद्यार्थी विदेश जान एनओसी लिन्छन् । यो रहर हो कि बाध्यता ?
विद्यालय शिक्षामा बालबालिकाले कक्षा छाड्ने कुरालाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । बीचैमा कक्षा छाड्ने कुन वर्गका छन् ? कुन, जात, क्षेत्र, लिंगका छन् ? यसलाई भिन्नभिन्न कोणबाट हेर्नपर्छ । संरचनाको पीँधमा रहेका मान्छे नै शिक्षाबाट पनि वञ्चित भइराखेका छन् । मेरो विचारमा जात, वर्ग, भूगोलका कारण विद्यार्थी ड्रपआउट भएका हुन् । दुर्भाग्य, सबै युवाको इच्छा विदेश नै जाने देखिएको छ । ‘यहाँ केही हुँदैन, केही गर्न सकिँदैन’ भन्ने धारणा आम मानिसमा बलियो बन्दै गइरहेको छ । युवाहरू देशमा रोकिने–नरोकिने निर्धारण राजनीतिले नै गर्ने हो । यसमा दुइटा कारण देखिन्छन् । पहिलो, अर्थतन्त्र । एउटा युवाले देशमा कुनै पनि सम्भावना देखिरहेको छैन । समाज आफैं केही उत्पादन नगर्ने, श्रम गर्न श्रमिक पठाउने र उतैबाट आएको सामान किन्ने भइरहेको छ । हाम्रो जनशक्तिलाई उत्पादनमूलक बनाउन सकेका छैनौं । ज्ञान उत्पादन हुन सकेको छैन, कुनै उद्योगधन्दा चलाउन सकेका छैनौं । भएका पनि बन्द हुँदै गए । आफैंले बेच्न सक्ने केही छैन, रेमिट्यान्सबाट आएको पैसा पनि बाहिरका सामान किन्नमै खर्चिएका छौं । देश रेमिट्यान्सले धानिएको छ । बाहिर गएर पनि युवा बेचिएको छ । आफ्नो श्रम बेचेको छ, त्यहाँबाट आएको पैसाले उतैबाट आएको सामान किनिरहेको छ । यो त अनुत्पादन भयो नि ! मान्छे उत्पादनसँग जोडिन चाहेको छ, तर त्यो अवस्था छैन । त्यसैले नैराश्य पनि आएको छ ।
दोस्रो, राजनीतिक रूपमा पनि निराशा देखिन्छ । माओवादी जनयुद्ध र २०६२–६३ को जनआन्दोलनपछि अब समाजमा केही होला भन्ने आशा थियो । समाजमा परिवर्तन आउने हुटहुटी थियो । राजतन्त्र हटेपछि लोकतन्त्र–गणतन्त्र आउँछ, सबैले अवसर पाउँछन्, सीमान्तकृत वर्गले समेत अवसर पाउँछ, उनीहरूको परिचयको स्वीकृति हुन्छ इत्यादि आशा थियो । राजतन्त्र, अधिनायकवादसँग भिड्ने कुरा पनि क्लियर थियो । अहिले हामी धमिलो वातारणमा बाँचिराखेका छौं । लोकतन्त्र चलिरहेको छ, बेलाबेला चुनाव हुन्छ, अदालत चलिराखेकै छ, तर न्याय पाइएन भनेर बेलाबेला मान्छेहरू काठमाडौं पनि आइरहेका छन् । यहाँ समाजवादको पनि कुरा भएकै छ, वर्गीय खाडल पनि बढ्दै गएको छ । हुने–नहुनेबीचको खाडल हरेक हिसाबमा झनै बढेको छ । ५० प्रतिशत विद्यार्थी ड्रपआउट भइरहेकै छन् । राष्ट्रिय परिचयपत्र लिँदासमेत वर्गीय विभेद हुन्छ । कोही चिनजानको मान्छे छ भने एकै छिनमा काम हुन्छ, भुइँमान्छेले नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स पाउन गाह्रो छ । हाम्रोमा न्याय, लोकतन्त्रको राम्रो अभ्यास भएको छैन ।
लोकतन्त्रलाई जोगाउने संस्थाहरूले पनि राम्रो गर्न सकिरहेका छैनन् । जस्तै— अख्तियार, निर्वाचन आयोगले काम त गरिरहेका छन्, तर भ्रष्टाचार पनि सँगै चरम रूपमा फैलिरहेको छ । यस्तो हुँदा त मान्छे निराश हुन्छ नि ! यो देशमा केही पनि हुने रहेनछ भन्ने धारणा त्यही भएर बनेको हो । जोसँग शक्ति छ, उसैले मोजमस्ती गरेको छ । भ्रष्टाचारी पनि पहुँतवाला छ । जेलै परे पनि चाँडो निस्कन सकिने रैछ भन्ठान्छ ऊ । भरसक त्यस्तो व्यक्ति समातिँदैन, समातिइहाले पनि कुनै बहानामा चाँडै निस्कन्छ । जेलभित्र पनि सेटिङ छ । करोड खर्च गर्न सक्ने छिट्टै निस्कन्छ । न्यायाधीशको रेट जेलभित्रै तोकिन्छ भनिन्छ । यस्तो समाजमा बाँच्दा निराशाबाहेक के हुन सक्छ र ? नक्कली लोकतन्त्र छ, न्यायको अभ्यास पनि नक्कली भइरहेको छ । लोकतन्त्र नाटक जस्तो भएर चलिराखेको छ । मान्छेले कतिसम्म सहन्छ ? बरु विदेशै जाने निर्णयमा पुग्छ । यसलाई शिक्षाले नै नियन्त्रण गर्नुपर्ने थियो । यदि उच्च शिक्षा शक्तिशाली, विश्वविद्यालय विचारको थलो बन्न सकेको भए, यी कुरामा ठुल्ठूला डिस्कोर्स हुन सक्थे । लोकतन्त्रले किन काम गर्न सकिरहेको छैन, संघीयताले किन काम गरिरहेको छैन भनेर डिबेट नै हुन सकेको छैन । राजनीतिक प्रश्न र चेतना जागृत हुन सकेको छैन ।

अहिले शैक्षिक संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने वा सार्वजनिक गुठीमा लैजानुपर्ने बहस पनि उठेको छ । यो कति सम्भव होला ? शिक्षा नाफा हो कि सेवा ?
हाम्रो संविधानमै देश समाजवाद–उन्मुख भनिएको छ । शिक्षा सेवामूलक नै हुनुपर्छ तर यो त्यति सजिलोचाँहि छैन । यसका विभिन्न पक्ष छन् । शिक्षामै असमानता हुँदा समाजवादको बाटोमा अघि बढ्न सक्दैनौं । मेरै उदाहरण दिन्छु, म झापामा जन्मेको हुँ । गाउँको स्कुलमा नेपाली माध्यममा पढें । त्यति बेला निजी स्कुल थिएन । आर्थिक रूपमा म राम्रै पृष्ठभूमिबाट आउँथें । मेरै कक्षामा गरिबका सन्तान पनि आउँथे । अरु त स्पेस नै थिएन । त्यसले एक प्रकारको समानता पनि कायम गरेको थियो । अहिले त निजीले गर्दा धनी र गरिबको स्पेस नै छुटिएको छ । निजी स्कुल, निजी कलेजमा पढ्ने र सरकारीमा पढ्ने वर्गको निर्माण र वर्गीय खाडल बन्दै गएको छ । त्यो पुर्न धेरै गाह्रो हुन्छ । म त्रिविमा प्राध्यापक भएपछि महसुस गर्न थालें— त्यहाँ फरक–फरक वर्गका विद्यार्थी पढ्न आइरहेका हुन्थे । कोही अति गरिब र सरकारी स्कुल पढेका, कोही मध्यम वर्गका र सरकारी–निजीमा पढेका मिक्स अनि कोही उच्च वर्गका र निजीमा मात्र पढेर आएका थिए । अब त त्यो पनि रहेन । उच्च वर्गको विद्यार्थी त्रिवि पनि जान्छ कि जाँदैन ! किनकि उसका लागि निजी कलेजहरू पनि खुलिसकेका छन् । शैक्षिक संस्थाले बनाएका यस्ता खाडल नपुरिने त होइनन्, तर यो काम एकदमै गाह्रो भने छ । शिक्षाको सुरुआतबाटै विभाजन गर्नु राम्रो हुँदै होइन । यसलाई म ठूलो समस्या देख्छु । देश समाजवाद–उन्मुख हो भने त यसले समाजवादको जरोमै हिर्कायो । अनि कसरी समाजवाद हुन्छ ?
मेरिटको कुरा गर्छौं । कमजोर त मेरिटमा कहिल्यै आउन सक्दैन । म भर्खरै मुसहर बस्तीबाट फर्किएँ । त्यहाँका केही बालबालिका देख्दैमा मेधावी छन् । मान्छेको आधारभूत प्रतिभा त संसारभर एउटै हो, कुनै अब्बल र कुनै कमजोर बन्ने हुँदैन, उसले कति अवसर पाउँछ त्यो मुख्य कुरा हो । मुसहर बस्तीको बच्चा मेरिटमा आउनै सक्दैन । किनकि उसको अवस्था सरकारी स्कुलसम्म जान नसक्ने छ । समाजवादको जरा हामीले विद्यालय शिक्षाबाटै काटिरहेका छौं । यो अत्यन्तै ठूलो समस्या हो । समाधानको उपाय सबै निजी शैक्षिक संस्थालाई बन्द नै गर्नु हो, तर अहिलेको अवस्थामा यो पनि भरपर्दो उपाय हुन सक्दैन, सम्भव पनि छैन । निजी नहुँदा हुनेखानेले आफ्नो बच्चा बाहिर पढाउँछन्, पैसा पनि बाहिर जान्छ भन्ने तर्क पनि छ । त्यसैले निजी पनि हुने, सरकारी संस्थालाई दह्रो बनाउँदै पनि लैजाने मध्यमार्गी बाटो हुन सक्छ । त्रिवि लगायतका सरकारी विश्वविद्यालय, विद्यालयलाई बलियो बनाउँदै लैजानुपर्छ । गैरनाफामूलक तर निजी भनेको आफैंमा विवादित कुरा हो । नाफा नपाउने भए निजी किन चलाउँछन र ? बन्द गर्लान् नि ! यसको सजिलो समाधान छैन । बाहिरतिर सरकारी पनि निजी शैक्षिक संस्थाजस्तै तगडा छन् । हामीले पनि सरकारी शैक्षिक संस्थाहरूलाई उत्तिकै दह्रो बनाउनुपर्छ । समाजवाद भन्ने हो भने सरकारी शैक्षिक संस्थालाई माथि उठाउनैपर्छ । त्यसका लागि राज्यको लगानी बढाउनुपर्छ । निजीसँग प्रतिस्पर्धा गर्ने विद्यालय र विश्वविद्यलाय बनाउनुपर्छ ।

Page 8
समाचार

भारतबाट फर्किनेमा कोरोना संक्रमण

नयाँ भेरिएन्ट ‘जेएन वान’ देखिन थालेपछि गौरीफन्टा नाकामा परीक्षण
- भवानी भट्ट

(कञ्चनपुर)
भारतका विभिन्न क्षेत्रबाट घर फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लो १० दिनमा भारतबाट घर फर्किने ९ जनामा संक्रमण देखिएको हो । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि गौरीफन्टा नाकामा परीक्षण तीव्र पारिएको छ ।
गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पुस ३ देखि १३ सम्म ३ सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । उनका अनुसार भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावाद लगायतका क्षेत्रबाट आउनेमा संक्रमण देखिएको हो । ‘संक्रमण देखिएकालाई होम आइसोलेसनमा बस्ने गरी घर पठाएका छौं,’ साउदले भने, ‘सेनेटाइजर र मास्कको प्रयोग गरी सार्वजनिक यातायातमै घरतर्फ पठाइयो ।’ उनका अनुसार अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिको मात्रै परीक्षण भइरहेको छ । भारतका विभिन्न राज्यमा नयाँ भेरिएन्टको संक्रमण बढिरहेको छ । संक्रमण पुष्टि भएकाहरूको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको साउदले बताए । नयाँ भेरिएन्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइएको उनले बताए ।
कञ्चनपुरको गड्डाचौकी नाकामा पनि हेल्थ डेस्कले शंकास्पद व्यक्तिलाई नियमित रूपमा परीक्षण गर्दै आएको छ । भारतमा संक्रमण बढ्न थालेपछि पुस ७ देखि यहाँ पनि परीक्षण सुरु गरिएको हेल्थ डेस्कका प्रमुख प्रेमसिंह भण्डारीले बताए । गड्डाचौकीमा भने हालसम्म संक्रमण देखिएको छैन । भण्डारीका अनुसार अहिले दैनिक अढाई सय जना नेपालतर्फ भित्रिरहेका छन् । जसमध्ये ३०/४० जनाको मात्रै परीक्षण भइरहेको छ । भारतको दिल्ली र देहरादुनसम्म चल्नै मैत्री बसहरूले नाकामा रोक्न अटेर गर्दा परीक्षणमा समस्या भएको उनले बताए ।
‘संक्रमण देखिन सक्थ्यो, तर हामीले परीक्षण गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘भारतका विभिन्न सहरबाट आउने बसहरू यहाँ रोक्दैनन् ।’ उनका अनुसार नाकामा परीक्षणका लागि बसहरू रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग आग्रह गरिएको छ । नाकामा परीक्षण नहुँदा र संक्रमण देखिएकालाई पनि सार्वजनिक यातायातमै घरतर्फ पठाउँदा समुदायमै संक्रमण फैलिन सक्ने जोखिम रहेको छ । स्वास्थ्यकर्मीहरूसमेत नाकामा परीक्षणमा कडाइ हुनुपर्ने बताउँछन् ।

समाचार

सामुदायिक विद्यालयमा एसओएसको प्रविधि उपयोग कार्यक्रम

काठमाडौं (कास)– एसओएसअन्तर्गतको एसओएस बालग्राम नेपालले सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा १८ महिनासम्म परियोजना सञ्चालन गरिएको हो । पनौतीको शान्ति निकेतन मावि, बनेपाको गणेश भारती विद्यालय र बालग्राम श्रीखण्डपुरमा सञ्चालित परियोजनामार्फत ती विद्यालयमा विद्यार्थीलाई २० वटा ल्यापटप, ट्याब्लेट्स १ हजार १० वटा, स्मार्ट बोर्ड तीनवटा र १८ महिनाको इन्टरनेट उपलब्ध गराइएको थियो ।
परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभावबारे समीक्षात्मक कार्यक्रम गरेको एसओएस बालग्राम नेपाल परियोजनाकी संयोजक रोशनी सिलवालले जानकारी दिइन् । ‘परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभाव, विद्यार्थीमा सिकाइका लागि भएको रुचि र परियोजनाका क्रममा देखिएका समस्या, समस्या समाधानका लागि चाल्नुपर्ने कदम तथा शिक्षामा स्थानीय सरकारको भूमिकाबारे छलफल भएको छ ।’ शुक्रबार बनेपामा भएको कार्यक्रममा परियोजना कार्यान्वयन भएका विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन, शिक्षक तथा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि पनि सहभागी थिए ।

Page 9
अर्थ वाणिज्य

आइस्पान र प्राधिकरणबीच इन्टरनेट सेवा नरोक्ने सहमति

नेपाली नेटवर्क सेवा प्रदायकले १० महिनादेखि ब्रोडब्यान्ड खरिदको भुक्तानी दिन नसकेपछि भारतका टाटा, एयरटेल र सिफीले नेपालमा इन्टरनेट बन्द गरिदिने चेतावनी दिएको आइस्पानको दाबी
- सजना बराल

(काठमाडौं)
इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच हाललाई इन्टरनेट सेवा अवरुद्ध नगर्ने विषयमा सहमति भएको छ । प्राधिकरणले शुक्रबार आइस्पानलाई पत्र पठाउँदै इन्टरनेट सेवा बन्द नगर्न आग्रह गरेपछि आइस्पानले भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई केही दिनका लागि सेवा जारी राख्न अनुरोध गरेको जनाएको छ ।
‘प्राधिकरणले हामीलाई शुक्रबार पत्र पठाएर सेवा नरोकिदिन अनुरोध गरेको थियो,’ आइस्पान अध्यक्ष सुधीर पराजुलीले भने, ‘त्यसपछि हामीले भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई केही दिन कन्सिडर गरिदिनुस् भनेर इमेल गरेका छौं । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उताबाट कुनै प्रतिक्रिया आएको छैन ।’ भारतीय कम्पनीले आफूहरूको अनुरोध स्वीकार गर्छन्/गर्दैनन्, यकिन नभएको पराजुलीले जनाए ।
नेपाली नेटवर्क सेवा प्रदायकले विगत १० महिनादेखि ब्रोडब्यान्ड खरिदको भुक्तानी दिन नसकेपछि भारतका टाटा, एयरटेल र सिफीले नेपालमा इन्टरनेट बन्द गरिदिने चेतावनी दिएको आइस्पानको निष्कर्ष छ । डिसेम्बर ३१ भित्र केही रकम तिर्न भनेकामा सरकारले विदेशी मुद्रा सटही सुविधा रोकिदिएकाले रकम तिर्न नपाएको आइस्पानले जनाएको छ । इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुको विषयमा विवाद बल्झिएसँगै ७५ प्रतिशतसम्म इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानले घोषणा गरेको थियो ।
सेवा प्रदायकहरूले सरकारलाई बुझाउनुपर्ने भनिएको करिब २ अर्ब २५ करोड रुपैयाँ बेरुजु चुक्ता नगरेकाले मुद्रा सटहीमा सहजीकरण नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जनाएको छ । बेरुजु चुक्ता नहुन्जेल सहजीकरण नगर्ने भन्दै मन्त्रालयले यसअघि प्राधिकरण र सेवा प्रदायक दुवैलाई पत्र पठाइसकेको छ । यस विषयमा मन्त्रालयले एक समिति नै बनाएर अध्ययनसमेत गरेको थियो । यस विषयमा खोजी गर्नुका साथै कैफियत भए पत्ता लगाई नियमनको काम गर्न र बक्यौता भए उठाउन भन्दै मन्त्रालयले प्राधिकरणलाई सुझाएको थियो ।
मन्त्रालयका एक अधिकारीले यस विषयमा प्राधिकरणको स्पष्ट धारणा नआएको र नियामकले बक्यौता छैन भनेको खण्डमा मात्रै मन्त्रालयले मुद्रा सटहीलगायतको प्रक्रिया अघि बढाउने बताएका छन् । यसबीच प्राधिकरणले मंसिर १५ मा देशभरका ३० वटा दूरसञ्चार सेवा प्रदायकको सूची नै निकालेर तिनले केही वर्षको रोयल्टीसहित अन्य बक्यौता रकम नतिरेको हुनाले सम्पर्कमा आउन निर्देशन दिएको थियो । अटेर गर्ने सेवा प्रदायकको अनुमतिपत्र खारेजी प्रक्रिया अगाडि बढाइने उल्लेख थियो । त्यसपछि केही सेवा प्रदायक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ ।
सेवा प्रदायकले भने तिर्नै नपर्ने रकम तिर भन्दै मन्त्रालयले अड्डी लिएको बताउँदै आएका छन् । गत वर्ष वैशाखमा पनि इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुका विषयमा विवाद हुँदा सेवा प्रदायकले देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका थिए । त्यति बेला आइस्पानले विज्ञप्ति जारी गर्दै स्थानीय तह चुनावका बेला देश इन्टरनेटविहीन हुन सक्ने बताएको थियो । देशभर इन्टरनेट पूर्ण रूपमा बन्द भए त्यसको जिम्मेवार सरकार हुने भन्दै आइस्पानले सरकार निजी क्षेत्रमैत्री नभएको गुनासो गरेको थियो ।
विदेशी मुद्रा सटहीका लागि आवश्यक समन्वय गरिदिन भन्दै वर्ल्डलिंक कम्युनिकेसन्सले मंसिर १९ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएको थियो । सञ्चार मन्त्रालयले १०३ दिनदेखि विदेशी मुद्रा सटहीसम्बन्धी स्वीकृति प्रदान नगरेका कारण इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको पत्रमा उल्लेख थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंसिर २२ मा सञ्चार मन्त्रालयलाई पत्र लेखी सेवा प्रदायकको सो समस्या सम्बन्धमा सहजीकरण गरिदिन भनेको थियो ।

विवादको जरो
कर विवादको सुरुवात ०७५ सालबाट भएको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क (टीएससी) लिने घोषणा गरेका थिए । त्यसअघि ब्रोडब्यान्ड सेवामा टीएससी थिएन । यससँगै इन्टरनेटको शुल्क वृद्धि भएकोबारे सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई सूचना पठाएपछि यसको चौतर्फी विरोध भयो । लगत्तै सरकारले मूल्य समायोजन समिति बनाएर सेवा प्रदायकले सेवा प्रदान गर्दाको बिलमा कुल अंकको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लगाउन पाउने र त्यसमा टीएसएसी नलगाउने निर्णय गरेको थियो ।
त्यति बेला सञ्चार मन्त्रालयले अर्थ मन्त्रालय र दूरसञ्चार प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पठाएको पत्रमा इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटबाहेकका अन्य गैरदूरसञ्चार सेवामा दूरसञ्चार सेवा शुल्क नलाग्ने उल्लेख गरेको थियो । त्यसको एक वर्षपछि भएको दूरसञ्चार नियमावलीको नवौं संशोधनमा आईएसपीहरूले ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लगाउन पाउने उल्लेख भए पनि दूरसञ्चार सेवा भनेको के हो वा के होइन भनेर स्पष्ट खुलाइएको छैन । तथापि नियमावलीको अनुसूचीमा मर्मतसम्भार सूचीकृत नभएकाले यो गैरदूरञ्चार सेवा भएको आईएसपीहरूको बुझाइ छ । आर्थिक ऐन ०७७ मा पनि मर्मतसम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर (टीएससी) नलाग्ने उल्लेख भएको उनीहरूले दाबी गर्दै आएका छन् । यद्यपि महालेखापरीक्षकको ५५, ५६ र ५८औं प्रतिवेदनले सञ्चार मन्त्रालयका नाममा लगातार दूरसञ्चार बेरुजु देखाएपछि विवाद चुलिँदै आएको हो ।
मन्त्रालयले बेरुजु चुक्ता गर्न ताकेता गरेपछि वर्ल्डलिंक कम्युनिकेसन्सले सर्वोच्च अदालतमा मुद्दासमेत हालेको थियो । सर्वोच्चले ०७७ असारमा बेरुजु रकम नउठाउन अन्तरिम आदेश दियो । तर ०७८ सालमा प्रकाशित महालेखापरीक्षकको ५८औं प्रतिवेदनले इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहकसँग असुलेको मर्मतसम्भार र सपोर्ट चार्ज गरी दुई अर्ब ७३ करोड ७० लाख र त्यस रकमबापत हुने ४ प्रतिशत रोयल्टी करिब १० करोड दाखिला गर्नुपर्ने पुनः औंल्यायो ।
उता, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको २१ र २२औं वार्षिक प्रतिवेदनमा भने मर्मतसम्भारबापत ग्राहकसँग लिइने शुल्कमा कर नलाग्ने भनिएको छ । ‘लेखा समितिको एउटा प्रतिवेदनमा सपोर्ट चार्ज, वार्षिक मर्मतसम्भार, टेक्निकल चार्ज र मनिटरिङ चार्ज जस्ता गैरदूरसञ्चार सेवामा आरटीडीएफ र रोयल्टी नलाग्ने भएकाले बेरुजु लगत
हटाउनू भने पनि अर्को प्रतिवेदनमा असुल गर्नु भनिएकाले समितिकै बुझाइमा अलमल देखिन्छ,’ सञ्चार मन्त्रालयका अधिकारी भन्छन् ।
सेवा प्रदायकहरूले प्रतिमहिना करिब ५० करोड रुपैयाँको ब्यान्डविथ भित्र्याउँदै आएका छन् । तिनले भारतीय कम्पनीलाई १० महिनाको करिब ५ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । इन्टरनेटलाई अत्यावश्यक सेवा मानिएकाले विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने सेवा प्रदायकको भनाइ छ । बेरुजुसम्बन्धीको यो विषय केही कानुनी जटिलता, सेवा प्रदायकसँग सरकारको प्रतिबद्धता र त्यसले सिर्जना गरेको विवाद भएको प्राधिकरण नेतृत्वको बुझाइ छ ।

अर्थ वाणिज्य

आर्थिक वृद्धि ५ प्रतिशतभन्दा माथि रहने अर्थमन्त्रीको दाबी

- कान्तिपुर संवाददाता

(काठमाडौं)
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतभन्दा माथि रहने अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । अहिलेको सरकारमा आफ्ना मन्त्रीहरूको कार्यसम्पादनमाथि तीन दिनदेखि चलिरहेको नेपाली कांग्रेसको कन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री महतले यस्तो दाबी गरेका हुन् । बैठकमा अर्थमन्त्री महतले मुलुकको विद्यमान अवस्था र भावी दिशा विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । एसियाली विकास बैंकले ४.३ र विश्व बैंकले ३.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण यसअघि नै गरिसकेका छन् । तर अर्थमन्त्री महतले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा बढी नै हुने दाबी गरेका हुन् ।
अर्थतन्त्रका बाह्य सूचक सबल बन्दै गए पनि आन्तरिक अर्थतन्त्र शिथिल छ । उद्योग गतिशील रूपमा सञ्चालन हुन सकेका छैनन्, उत्पादन र उत्पादकत्व घटिरहेको छ, लगानी बढ्न सकेको छैन, रोजगारी सिर्जना भएको छैन । बैंकमा पैसा थुप्रिएर बसेको छ । आयात, निर्यात, मूल्यवृद्धि सबै घटेका छन् । अर्थतन्त्रको विद्यमान अवस्थालाई अर्थविद्हरूले आर्थिक मन्दीको संज्ञा दिइरहेका छन् । तर अर्थमन्त्री महतले आर्थिक गतिविधिमा सुधार भइरहेकाले ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने दाबी गरिरहेका छन् ।
‘मैले कार्यभार सम्हाल्दा आर्थिक वृद्धि १.८६ प्रतिशत थियो । हाम्रो लक्ष्य ६ प्रतिशत हो । हालको हाम्रो अनुमानअनुसार ५ प्रतिशतभन्दा माथि रहन्छ,’ अर्थमन्त्री महतले भने, ‘०७९ फागुनसम्ममा राजस्व वृद्धिदर १४.९ प्रतिशतले नकारात्मक थियो । ०८० मंसिर मसान्तमा सो ११.१८ प्रतिशतले वृद्धि भएको छ ।’ पछिल्लो डेढ वर्षमा राजस्व परिचालनमा देखिएको शिथिलता घट्दै गई क्रमशः सुधारोन्मुख हुँदै जानुले आगामी महिनामा स्रोत व्यवस्थापनमाथिको दबाब कम हुँदै जाने र समग्र अर्थतन्त्रसमेत गतिशील हुँदै जाने अपेक्षा अर्थमन्त्री महतको छ ।
गत आर्थिक वर्षको फागुनसम्ममा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा रहे पनि चालु खाता ४४ अर्ब रुपैयाँले घाटामा थियो । रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशत र विदेशी विनिमय सञ्चिति १९.७ प्रतिशतले बढेको थियो । समग्रमा त्यस बखत बाह्य क्षेत्र सुधारतर्फ केन्द्रित भए पनि सार्वजनिक वित्तका परिसूचक भने कमजोर थिए र अर्थतन्त्रलाई गतिशील बनाउने कार्य जटिल र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतले बताए ।
‘०७९ फागुनपछि ९ महिनाको अवधिमा भने प्रायः परिसूचक सुधारोन्मुख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको छ । आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट संकेत देखिन्छ,’ महतले भने, ‘चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राजस्व परिचालन ११.२ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्राप्ति र राजस्वसहित संघीय सरकारको आय ७.६ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा खर्च र आयबीचको अन्तर करिब ७१ अर्ब रुपैयाँ रहेको हुँदा तुलनात्मक रूपमा स्रोतमाथिको दबाब कम हुँदै गएको छ ।’
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आयमा २६.४ प्रतिशतको उल्लेख्य वृद्धि रहेको छ । शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब र चालु खाता ९६ अर्बले बचतमा छन् । विदेशी विनिमय सञ्चिति ३६.१ प्रतिशतले बढेको छ । यसबाट समग्र बाह्य क्षेत्र स्थिरता कायम हुनुका साथै यस क्षेत्र थप सबल र सुदृढसमेत हुँदै गएको अर्थमन्त्री दाबी महतको छ । ‘वस्तु तथा सेवा निकासी प्रवर्द्धन गरी व्यापार घाटा सुधार गर्दै जानेतर्फ थप प्रयास गरिएको छ,’ उनले भने, ‘वित्तीय क्षेत्रमा विगतमा देखिएका तरलतालगायत समस्या पछिल्लो समयमा नरहेको हुँदा यस क्षेत्रसमेत सुदृढ हुँदै गएको छ ।’ समग्रमा, स्रोत व्यवस्थापनमा देखिएको दबाब क्रमशः न्यून हुँदै गएको र बाह्य क्षेत्र सन्तुलन कायम रहिरहनुको साथै थप सबल एवम् सुदृढ हुँदै जानुले आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने अर्थमन्त्रीको दाबी छ । बाँकी अर्थतन्त्रलाई गतिशील बनाउन लगानीको वातावरण निर्माण गर्न प्रक्रिया सरलीकरण गर्दै लगिएको र सोही क्रममा एक सय रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको अर्थमन्त्री महतले बताए । निजी क्षेत्रको मनोबल वृद्धि गर्न निजी क्षेत्रसँग निरन्तर संवाद गरिएको, पुँजीगत खर्चको प्रभावकारिता बढाउन पहल गरिएको, मौद्रिक नीति लचिलो पार्दै लगिएको, लगानीको लागत कम गर्न वित्त र मौद्रिक नीतिमार्फत पहल गरिएको उनको भनाइ छ । तरलता प्रवाहमा सहजीकरण गर्न स्थानीय तहको निक्षेप गणना गर्ने सुविधा दिइएको, जग्गाको कित्ताकाट फुकुवा गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको छ । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको दाबी पनि अर्थमन्त्री महतको छ ।

अर्थ वाणिज्य

३३ हजार भूकम्पपीडितले गरे अनुदान सम्झौता

- विमल खतिवडा

(काठमाडौं)
भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङका ३३ हजार ५ सय ४९ जनाले अस्थायी आवासमा पहिलो किस्ताका लागि सम्झौता गरेका छन् । त्यसका लागि जिल्ला विपद् कोष हुँदै स्थानीय पालिकाबाट लाभग्राहीको खातामा रकम पठाइएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म पाँच जिल्लामा ६७ हजार ७ सय ८० लाभग्राही कायम भएका छन् । यसमा आधाभन्दा केही बढीले मात्र रकम सम्झौता गरेका हुन् । आवास निर्माणका लागि सम्झौता गर्नेले पहिलो किस्ताका रूपमा २५ हजार रुपैयाँ पाउनेछन् । घर बनाएपछि थप दोस्रो किस्ता पाउनेछन् ।
अहिले भूकम्प प्रभावित जिल्लाका लागि भनेर प्राधिकरणले २ अर्ब २६ करोड रुपैयाँ जिल्ला विपद् कोषमा पठाइसकेको छ । यसअनुसार अस्थायी आवास निर्माणको काम भइरहेको छ । भूकम्पपीडित अस्थायी आवास निर्माणमा व्यस्त रहेको र घर बनाइसकेपछि पनि किस्ताका लागि सम्झौता गर्न मिल्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए । ‘भूकम्पपीडित अस्थायी आवास निर्माणमा व्यस्त भएकाले आवास निर्माणको रिपोर्टिङ गर्न भ्याएका छैनन्,’ उनले भने, ‘अहिले प्राप्त रिपोर्टभन्दा बढी आवास निर्माण भएको छ । सबैतिर निर्माण भएपछि यसको पूर्ण तथ्यांक आउँछ ।’
विभिन्न संघसंस्था, पार्टी र तिनका भ्रातृ संघसंगठनलहरूले समेत अस्थायी आवास निर्माण गरिरहेका छन् । केहीले निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् । ‘त्यो सबै तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘पछि ककसले आवास निर्माण गरे, तथ्यांक आउनेछ ।’ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघअन्तर्गतका जिल्लाका संस्थालाई भूकम्प प्रभावित जिल्ला र नजिकका बजारमा निर्माणमा प्रयोग हुने सामग्री अभाव हुन नदिन भनिएको प्रवक्ता खड्काले जनाए ।
भूकम्पपीडितका लागि जिल्ला विपद् कोषमा पैसा पठाए पनि नगरपालिका, गाउँपालिकाले थप माग्न नसकेको उनले बताए । ‘जति लाभग्राही कायम भएका छन्, ती सबै सम्झौता गर्न आएका छैनन्,’ उनले भने, ‘लाभग्राही कायम भइहाल्यो, पैसा आइहाल्छ भन्नेमा उनीहरू ढुक्क भएर काम गरिरहेका छन् ।’ सम्झौता गर्नसाथ रकम पाइने भए पनि भूकम्पपीडित कमै आएको र पैसा पालिकाहरूमा गएर बसेको उनको भनाइ छ ।
सम्झौता गर्न बाँकी लाभग्राहीको संख्या ३४ हजार २ सय ३१ छ । अहिले फाट्टफुट्ट रूपमा मात्र लाभग्राहीको संख्या थपिरहेको प्रवक्ता खड्काले जनाए । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी लाभग्राही रहेको जाजरकोटमा १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छन् । जब कि यो जिल्लामा कायम लाभग्राहीको संख्या ३५ हजार१ सय ४० छ ।
यो जिल्लाका लागि १ अर्ब ४ करोड जिल्ला विपद् कोषमा निकासा भएको छ । उक्त कोषबाट ८४ करोड ९५ लाख ७५ हजार स्थानीय तहमा निकासा गरिएको छ । लाभग्राहीको खातामा भने २० करोड २८ लाख ५० हजार पठाइएको छ ।
सबैभन्दा बढी लाभग्राही कायम भएको जिल्ला रुकुम पश्चिममा १६ हजार ३ सय २३ जनाले किस्ताका लागि सम्झौता गरेका छन् । यस जिल्लामा १७ हजार ४ सय ३४ लाभग्राही कायम छन् । यहाँका लागि ८४ करोड पठाइएकामा स्थानीय तहको खातामा ५९ करोड २ लाख पुगेको छ । स्थानीय तहबाट लाभग्राहीको खातामा ४० करोड ८० लाख ७५ हजार पठाइएको छ ।
‘अहिलेसम्म पैसाको समस्या भएको छैन,’ प्रवक्ता खड्काले भने, ‘सबै जिल्लामा रकम निकासा भएको छ । सम्झौता भएपछि भूकम्पपीडितले सहजै रकम पाउँछन् ।’ बझाङमा ४ हजार ५ सय ७३ लाभग्राही कायम भएकामा १ सय २४ जनाले मात्र सम्झौता गरेका छन् । यो जिल्लाका लागि २५ करोड रकम निकासा भएकामा पालिकाको खातामा ११ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
पालिकाहरूबाट लाभग्राहीको खातामा ३१ लाख मात्र गएको छ । सम्झौता गर्न आउने लाभग्राहीले मात्र रकम पाएका हुन् । बाजुरामा २ हजार ७ सय २९ लाभग्राही कायम भएकामा २ सय ८८ जनाले मात्र अहिलेसम्म सम्झौता गरेका छन् । यस जिल्लामा प्राधिकरणबाट ६ करोड निकासा भएको छ । जिल्ला विपद् कोषबाट ३ करोड ७७ लाख २५ हजार रुपैयाँ पालिकाको खातामा र पालिकाबाट ७१ लाख ५० हजार रुपैयाँ लाभग्राहीको खातामा पठाइएको छ । सल्यानमा १ हजार ७ सय ३० लाभग्राही रहेकामा ५ सय ८० जनाले सम्झौता गरेका छन् । यो जिल्लाका लागि ७ करोड निकासा भएकामा १ करोड ८० लाख पालिकाको खातामा पुगेको छ । पालिकाबाट लाभग्राहीको खातामा भने १ करोड ४५ लाख रुपैयाँ पठाइएको छ । निकासा भएको कुल रकममध्ये अहिलेसम्म लाभग्राही कायम भएको संख्याका आधारमा दोस्रो किस्ता दिन थप १ अर्ब १२ करोड ९० लाख रुपैयाँ अपुग हुने देखिन्छ ।

Page 10
अर्थ वाणिज्य

बढ्दै विद्युतीय सवारी, न्यून पूर्वाधार

विद्युतीय सवारी आयातको संख्या सयबाट हजार पुगे पनि त्यसका लागि आवश्यक चार्जिङ स्टेसन सयमै सीमित
- सीमा तामाङ

(काठमाडौं)
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय ९० वटा सार्वजनिक विद्युतीय सवारी आयात भए । गत वर्ष सोही अवधिमा १ सय १५ वटा आयात भएका थिए । चालु आर्थिक वर्षको मंसिरसम्म ३ हजार ६ सय ८६ निजी विद्युतीय सवारी आयात हुँदा गत वर्ष सोही अवधिमा १ हजार ३ सय ५३ वटा आयात भएको भन्सार विभागको तथ्यांक छ ।
उल्लिखित तथ्यांकले विद्युतीय सवारी आयातसँगै प्रयोग बढ्दै गएको देखिन्छ । तर यसका लागि आवश्यक पूर्वाधार न्यून छ । सरकारले सन् २०२५ सम्ममा कुल सवारीसाधन बिक्रीमध्ये निजी विद्युतीय सवारीतर्फ २५ प्रतिशत र सार्वजनिक विद्युतीय सवारीतर्फ २० प्रतिशत बेच्ने लक्ष्य लिएको छ । २०३० सम्म निजी सवारीसाधनमध्ये ९० प्रतिशत र सार्वजनिकमध्ये ६० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने सरकारले जनाएको छ । सार्वजनिक र निजी क्षेत्रका यातायातको शून्य उत्सर्जनमा रूपान्तरित हुनेमा केन्द्रित रहेको जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना (०८०–८७) मा उल्लेख छ ।
तर यो लक्ष्य जति कर्णप्रिय छ, प्राप्त गर्न त्यति नै गाह्रो रहेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन् । यद्यपि सरकारले विद्युतीय सवारीको प्रयोगको प्राथमिकतालाई भने बढावा दिँदै जानुपर्ने उनको भनाइ छ । सरकारको यो लक्ष्य नयाँ भने होइन । सरकारले २०७१ मै वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गर्दै ०७७ सम्ममा यस्ता सवारीको संख्या २० प्रतिशतभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको थियो । वातावरणमैत्री सवारी तथा यातायातका साधनको संख्या २० प्रतिशत पुर्‍याउने सरकारको यो लक्ष्य कार्यान्वयनमा आउन सकेको छैन ।
स्थिर नीति र विद्युतीय सवारीमा उदार नीति लिएको खण्डमा सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका विद्युतीय सवारी समितिका सभापति राजनबाबु श्रेष्ठले बताए । ‘सरकारको कर नीति स्थिर रहनुपर्छ । पूर्वाधार निर्माणमा पनि खर्च गर्नुपर्‍यो,’ उनले भने, ‘विद्युतीय सवारीको इकोसिस्टमअन्तर्गत चार्जिङ स्टेसन, मानव संसाधन विकास, मर्मतसम्भारका लागि वर्कसपलगायत बढाउँदै गए ग्राहकलाई विद्युतीय सवारीमा विश्वास बढ्दै जान्छ र प्रयोगकर्ता पनि वृद्धि हुन्छन् । यसो गर्न सके सरकारको लक्ष्य पनि पूरा हुन्छ ।’
आर्थिक वर्ष ०७७/७८ मा विद्युतीय सार्वजनिक सवारी २६ वटा मात्रै थिए । ०७८/७९ मा त्यो संख्या तीन गुणा बढेर ८४ पुग्यो । ०७९/८० मा सार्वजनिक विद्युतीय सवारीको संख्या २ सय ८१ पुगेको छ । मुलुकमा विद्युतीय सार्वजनिक सवारीसाधनको संख्या अघिल्लो वर्षका तुलनामा गत वर्ष २ सय ३४ प्रतिशतले बढेको हो । निजी सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक वर्ष ०७७/७८ मा विद्युतीय कार २ सय ४९ वटा थिए भने ०७८/७९ मा त्यो संख्या १ हजार ८ सय ७ पुग्यो । ०७९/८० सम्म ४ हजार ५० वटा निजी विद्युतीय कारको आयात भयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निजी विद्युतीय सवारी आयात १ सय २४ प्रतिशतले वृद्धि भएको हो ।
विद्युतीय सवारी आयातको संख्या सयबाट हजार पुगे पनि त्यसका लागि आवश्यक चार्जिङ स्टेसन सयमै सीमित छन् । नेपाल विद्युत् प्राधिकरणले देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । विद्युतीय सवारी बिक्रीकर्ता स्वयंले भने देशभर १ सय ६७ वटा चार्जिङ स्टेसन निर्माण भएको जनाएका छन् । यसका अतिरिक्त केही होटलले पनि विद्युतीय सवारी चार्जिङ स्टेसन राखेका छन् । निजी सवारीलाई अहिले चार्जिङ स्टेसन पुग्दो भए पनि सार्वजनिक सवारीका लागि एकदमै न्यून रहेको नाडाका विद्युतीय सवारी समितिका सभापति श्रेष्ठले जनाए ।
निजी क्षेत्र पनि चार्जिङ स्टेसनमा लगानी गर्न आकर्षित हुने गरी सरकारले नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘विद्युतीय सवारीमा परिवर्तन भइरहेको कर नीतिले गर्दा निजी क्षेत्र लगानी गर्न सोच्नुपर्ने अवस्थामा छ,’ उनले भने, ‘विद्युतीय सवारीको इकोसिस्टममा लगानी गर्न समग्र निजी क्षेत्र नै डराइरहेको छ ।’
यातायातविज्ञ गजुरेल पनि विद्युतीय सवारीसाधन सञ्चालनका लागि मुख्य चुनौती चार्जिङ स्टेसन रहेको बताउँछन् । ‘प्राधिकरणले बनाएका चार्जिङ स्टेसन सबै सवारीका लागि हुन्छन् । तर निजी कम्पनीको चार्जिङ स्टेसन सम्बन्धित कम्पनीका सवारीसाधनलाई मात्रै हो,’ उनले भने, ‘मुलुकमा १ लाख किलोमिटर सडकको सञ्जाल छ । त्यसैले १ सय २६ वटा चार्जिङ स्टेसन थोरै हो ।’ चार्जिङ स्टेसनसँगै विद्युतीय सवारीको प्रयोगपछिको ब्याट्री व्यवस्थापन अर्को चुनौती रहेको उनले जनाए ।

साना विद्युतीय सवारीमा करको दर बढ्दा पनि आकर्षण उस्तै
सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढे पनि उपभोक्ताको आकर्षण उस्तै रहेको पाइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक सवारीदेखि धेरै उपभोक्ताले खरिद गर्ने ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार दर यथावत् राखे । तर ५० किलोवाटभन्दा माथिका र सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधनमा थप ५ प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार दर लगाइएको छ । यसअघि १० प्रतिशत भन्सार दर मात्रै थियो । चालु आर्थिक वर्षको साउन र भदौमा सय किलोवाटभन्दा मुनिका सवारीसाधन नै धेरै आयात भएको देखिएको छ ।
सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधन ३ हजार ६ सय २३ वटा आयात हुँदा सय किलोवाटभन्दा माथिका सवारी ६३ वटा मात्रै आयात भएको विभागले जनाएको छ । साउनदेखि मंसिरसम्म ९ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरका निजी विद्युतीय सवारी आएका छन् । त्यसमध्ये ८ अर्ब ७६ करोड ६७ लाख रुपैयाँको सय किलोवाटभन्दा कमका सवारीसाधन आयात भएको विभागले बताएको छ ।
यस्तै ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ बराबरका सय किलोवाटभन्दा माथिका ६३ वटा विद्युतीय सवारी आयात भएका छन् । गत आर्थिक वर्ष सोही अवधिमा ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरका सय किलोवाटभन्दा मुनिका १ हजार ३ सय २० वटा विद्युतीय सवारी आएका थिए । सय किलोवाटभन्दा माथिका १५ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरका ३३ वटा विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ०७७/७८ मा विद्युतीय सवारीमा कर बढाउने नीति अघि सारेका थिए  । उनले भन्सार र अन्तःशुल्क बढाउँदा ०७६/७७ को तुलनामा विद्युतीय सवारी आयात घट्यो । त्यसलाई ०७८/०७९ को बजेटमार्फत हटाइयो । आर्थिक वर्ष ०७९/८० का लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पुनः विद्युतीय सवारीको भन्सार दर र अन्तःशुल्क बढाए । शर्माले १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० र अन्तःशुल्क ३० प्रतिशत बनाएका थिए ।
चालु आर्थिक वर्षमा भने अर्थमन्त्री प्रकाशशरण महतले भन्सार घटाएर १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर २० र अन्तःशुल्क २० प्रतिशत कायम गरेका छन् । २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ र अन्तःशुल्क ४५ प्रतिशत थियो । अर्थमन्त्री महतले भन्सार दर ४० र अन्तःशुल्क ४५ प्रतिशत तोकेका छन् । अर्थमन्त्री महतले ११ देखि १४ सम्म सिट क्षमता भएका विद्युतीय माइक्रोबसको भन्सार दर र अन्तःशुल्क १०/१० प्रतिशत पुर्‍याएका छन् । यसअघि भन्सार दर १ प्रतिशत मात्रै थियो ।

अर्थ वाणिज्य

भरतपुर सडकमा बजेट र म्याद सकियो, काम सकिएन

- रमेशकुमार पौडेल

(चितवन)
भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमि सडकलाई ६ लेन बनाउने काम म्याद थप्दा पनि पूरा हुन सकेन । ०७७ भदौमा सुरु भएको सडक विस्तारको म्याद गत मंसिर २३ मा सकिएको हो ।
बजेट पनि पर्याप्त नभएकाले ३० प्रतिशत काम बाँकी रहेको र दोस्रो पटक म्याद थप गर्ने तयारी भइरहेको छ । ‘सडक विस्तारका लागि यस वर्ष आएको पाँच करोड रुपैयाँ असोजसम्मको भुक्तानी दिँदैमा सकियो । थप बजेट मागेका छौं । आउला भन्ने विश्वासले काम रोकिहालेका भने छैनौं,’ भरतपुरस्थित डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्देश्वर साहले भने । बाँकी कामका लागि कम्तीमा ४०/५० करोड रुपैयाँ आवश्यक पर्ने उनले बताए । ‘म्याद थप र रकम माग गर्दै हामीले प्रक्रिया अगाडि बढाएका छौं । नयाँ निर्णय केही भइसकेको भने छैन,’ इन्जिनियर साहले भने ।
सुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो । तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थप्ने योजना बनिरहेको छ । मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा यसरी विलम्ब हुँदा सर्वसाधारणले सास्ती पाएका छन् भने व्यापार व्यवसाय चौपट भएको व्यवसायी गुनासो गर्छन् । नारायणगढ बजारको अवस्था गत वर्षदेखि अस्तव्यस्त बनेको व्यवसायी बताउँछन् । गत वर्षको पुसमा सडक सीमाभित्र पर्ने घर डिभिजन सडक कार्यालयले धमाधम भत्काएको थियो । पसल रहेका बजारका घर भत्काएपछि लामो समय व्यवसाय ठप्प जस्तै भएको चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रीश पन्तको भनाइ छ । घरहरू जेनतेन बनाएर भ्याएपछि फेरि सडकपेटी भत्काउन सुरु भयो । अहिले नारायणगढमा एकातर्फ सडकपेटी बनेर भ्याइए पनि अर्कोतर्फ भर्खर खन्न सुरु भएको छ ।
सडक कार्यालयले पेटी भत्काएपछि खाडल बनेकै ठाउँमा सामग्री फिँजाएर व्यापार गर्न बसेकी छन् नसिमा खातुन । उनको अगाडि एक जुत्ता सिलाउने पनि बसेका छन् । ‘तीन/चार वर्ष भयो नारायणगढको पेटीमा बसेर सामान बेचेको । अब अहिले पेटी नै छैन । त्यही भएर खाल्डोमा बसेर सामान राखेकी छु,’ नसिमाले भनिन् । सडकको दुरवस्थाले सताएका ग्राहक खाल्डोमा झरेर उनका सामान किन्ने सम्भावना निकै कम छ । तर अन्य उपाय नभएपछि बाध्य भएर यस्तो गरेको उनले सुनाइन् ।
फुटपाथ मात्रै नभएर कुनै बेला राम्रो व्यापार गर्ने पसलमा पनि सडकको दुरवस्थाको प्रभाव परेको छ । नारायणगढको लोकप्रिय खाजा हो ‘तास’ । यही तास बिक्री गर्ने लोकनाथ भट्ट अहिले होटल व्यवसायी संघ चितवनका अध्यक्ष पनि छन् । ‘नारायणगढमा मेरो होटल निकै चल्नेमध्ये पर्छ । तर सडक विस्तारको काम सुरु भएर खन्न भत्काउन लागेपछि व्यापारमा ७० प्रतिशत कमी भएको छ । चल्ने पसलको त यस्तो हालत छ । अरूको झनै के होला,’ भट्टले भने ।
कोरोना संकटले थलिएको व्यापारिक क्षेत्रमा हुँदै गरेको निर्माणको काममा कुनै ढिलासुस्ती नभएको भए राम्रो हुने थियो भन्छन् उनी । तर म्याद थप्ने मात्रै गर्दा झनै संकट बढेको उनले बताए । उनले सडक बनेर भ्याए पनि नारायणगढको व्यापार सुधार नहुने देखेका छन् । ‘सडकको वल्लो किनार र पल्लो किनारका मान्छे वारपार गर्न नमिल्ने देखिन्छ । पार्किङ छैन । बन्दै गर्दा त यस्तो संकट छ । बनेर भ्याएपछि पनि व्यापारमा राहत होला भन्ने छैन,’ भट्टले भने । ६ किमि सडकलाई ६ लेनको बनाउने लागत एक अर्ब २३ करोड रुपैयाँ रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडक विस्तारका लागि ठाउँठाउँमा खन्ने काम भएको छ ।

Page 11
Page 12
खेलकुद

ललितपुर सिटी एनएसएल च्याम्पियन

नेपाल सुपर लिगको दोस्रो संस्करणमा ललितपुर सिटी बन्यो ‘ट्र्यु च्याम्पियन’, धनगढी एफसी दोस्रोपल्ट पनि उपविजेतामै सीमित
- हिमेश

(काठमाडौं)
ललितपुर सिटी एफसीको विरोधी हुन पाइन्छ । सिटीको समर्थक हुनैपर्छ भन्ने केही छैन । तर, तिनले मात्र होइन, अरू सबैले मान्नैपर्ने तथ्य के हो भने नेपाल सुपर लिगले त्यस्तो च्याम्पियन पाएको छ, जसलाई साँच्चैको ‘ट्र्यु च्याम्पियन’ मान्नैपर्छ ।
फुटबलमा प्रायः प्रयोग हुने शब्द हो यो, ‘ट्र्यु च्याम्पियन’ । यसको सिधा अर्थ हो, विजेता बन्नका लागि सबै अर्थमा हकदार र योग्य । ललितपुरले शनिबार धनगढी एफसीलाई ३–२ ले हराएर उपाधि जित्दाको यात्रा यस्तै रह्यो ।
आलोचक जति सबलाई चुपचाप बनाउने । अझ नतमस्तक पार्ने । खासमा ललितपुर च्याम्पियन हुनुको पटकथा सुरुमै लेखिएको थियो, जतिबेला खेलाडीको ‘लिलामी’ चलेको थियो । त्यसको अन्त्य भने अन्तिम खेलसँगै सुखद रूपमा भयो । मैदानमै पनि ललितपुरको सुरुआत नै राम्रो रह्यो । बीचमा केही छुच्चोपन ललितपुरले देखाएकै थियो, जतिबेला लिग चरणका अन्तिम तीन खेलमा टोलीले कुनै जित निकाल्न सकेन । तर, त्यसपछि थप अन्तिम तीन खेलमा भने लतिलपुरको प्रदर्शन अद्वितीय नै रह्यो ।
प्लेअफका दुई खेल अनि फाइनलमा ललितपुरले निकालेको जितमा गुनासो र आलोचना गर्न लायक ठाउँ नै रहेन । खासमा यस पटकथाका दुई नायक रहे । एक त प्रशिक्षक इयान एन्ड्र्यु गिलान र अर्को कप्तान अनन्त तामाङ । गिलानले आफूले जाने जत्तिका सबै अनुभव टिमका लागि खन्याए अनि अनन्तले मैदानमा यसरी नेतृत्व गरे कि टिम एकजुट र मजबुत पारे । गिलानले भने जस्तै फुटबलमा उति साह्रो गोप्य कुरा भन्ने पनि हुन्न ।
ललितपुरको यो सफलताका लागि खेलाडीले मैदानमा जति मिहिनेत गरेको थियो, त्यत्तिकै मिहिनेत मैदानबाहिर टिमका मालिक र व्यवस्थापनले पनि गरेको थियो । यो नै जितको सूत्र रह्यो । त्यसैले त प्रशिक्षक गिलानले अन्त्यमा निचोड निकाल्दै भने, ‘म घमण्डी भएको होइन, यो प्रतियोगितामा ललितपुर जत्तिको राम्रो टिम अर्को थिएन । यसले जस्तो राम्रो खेल अरू कसैले खेलेन । त्यसैले त हामी च्याम्पियन बन्यौं । च्याम्पियन पनि कस्तो भन्दा हकलाग्दो, खेलेरै कमाएको उपाधि जस्तो ।’

उत्कृष्ट पुनरागमन
फाइनल अगाडि डर थियो, कतै पाँच दिनमा तेस्रो खेल खेल्दा ललितपुर थाकेर खेल्नै नसक्ने स्थितिमा त हुँदैन ? तर, त्यस्तो केही भएन । बरू ललितपुरको खेलले लागिरहेको थियो, ५ दिनमा मस्त आराम पाएको धनगढी लड्खडाएको छ, उसमा दम छैन । भलै, खेलमा अग्रता भने धनगढीले नै लिएको थियो । खेलको ३८ औं मिनेटमा नाइजेरियाली आफिज ओलावालेले गोल गरे । लेवनानी मोहम्मद हिजाजीले सिर्जना गरेको सुरुआती अवसरमा गोल भएको हो ।
उनको प्रहार ललितपुरका फ्रान्सेली गोलरक्षक जेफरी विल्लीले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । त्यसमै फुत्काएको बलमा ओलावालेले गोल गरे । त्यसपछि सुरु भयो, ललितपुरको उत्कृष्ट पुनरागमन । यसका नायक रहे अर्को नाइजेरियाली खेलाडी इमो इजिकेल । उनले दुई गोल गरे । इजिकेलले पहिलो हाफको इन्ज्युरी समयको १० औं मिनेटमा फ्रिकिकबाट गोल गरेका हुन् । उनले २५ यार्डबाट गरेको प्रहार सिधा बाटो तय गर्दै गोलमा परिणत भयो र खेल बराबरीको स्थितिमा पुग्यो ।
ललितपुरले दिनेश हेन्जनको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो । आदित्य शाक्यको पासमा उनले सजिलै गोल गरे । तेस्रो गोल भने आफैंमा उत्कृष्ट रह्यो र यसका लागि इजिकेलले ओभरहेड किकको मदतले ५८ औं मिनेटमा गोल गरे । यससँगै उनी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । उनको यो प्रतियोगितामा छैटौं गोल हो । खेलको ७९ औं मिनेटमा धनगढीका रिचर्ड ओसेइ दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र टिम १० खेलाडीमा सीमित रह्यो ।
दोस्रो हाफको इन्ज्युरीको आठौं मिनेटमा हिजाजीले धनगढीका लागि एक गोल फर्काए । तर, यो सान्त्वना गोलमात्रै रह्यो । तय थियो, यो हारले धनगढीका खेलाडी स्तब्ध रहे । प्रशिक्षक युगलकिशोर राई त असाध्यै निरास नै रहे । उनले भने, ‘म त अति नै दुःखी छु । हामी फेरि एकपल्ट फाइनलमा पराजित रह्यौं ।’ उनलाई हारले बढी नै चोटग्रस्त बनाएको थियो । तर, त्यसमै टिकेर पनि प्रशिक्षक राईले माने, ‘ललितपुर साँच्चै च्याम्पियन टिम रह्यो । फाइनलमा उसको प्रदर्शन उत्कृष्ट रह्यो ।’
खासमा धनगढीले फाइनलमा खेल्नै सकेन । ललितपुरले अग्रता लिएपछि त धनगढीको खेलमा दम नै रहेन । यस्तो स्थितिमा प्रशिक्षक राईले ‘प्लान बी’ पनि लागू गर्न सकेनन् । दबाबमा उनीसँग यसका लागि समय पनि बचेन । खेल एकनासले कमजोर र शिथिल रह्यो ।
वर्ष ०७८ को संस्करणमा पनि धनगढी फाइनल त पुगेको थियो । अहिले पनि कथा त्यस्तै रह्यो । सायद ललितपुरको तुलनामा धनगढीप्रति सहानुभूति राख्ने धेरै रहे । तर, ललितपुरको खेलले त्यो सहानुभूतिलाई निकै कमजोर साबित गरिदियो ।

फाइनलको सन्देश
फाइनलको कथा लतिलपुरले जितेको पटकथा मात्र रहेन । यसले पूरा नेपाली फुटबललाई नै ठूलो सन्देश दिएको छ । फाइनल हेर्न धेरै लामो समयपछि दशरथ रंगशाला भरिभराउ भयो । रंगशालामा अपार दर्शक आए । यसलाई देख्नेले अब भन्ने सक्ने छैनन् नेपाली फुटबलमा दर्शक छैन भनेर । धेरै छन् । यसलाई नेपालमा दुई महिना जतिको समय बिताएका प्रशिक्षक गिलानले पनि राम्रोसँगै बुझेका रहेछन् । त्यसैले उनले यसबारे बोले ।
उनले भने, ‘नेपाली फुटबलमा जे जस्तो चलिरहेको छ, त्यसमा मलाई केही भन्नु छैन । यसले राम्रो गर्दैन, त्यो पक्का छ । नेपाली फुटबललाई नेपाल सुपर लिग जस्तो प्रतियोगिता चाहिन्छ । यस्तै प्रतियोगिताले त हो नेपालमा फुटबलको विकास गर्ने । फुटबलको विकास प्रतियोगिताले गर्छ, विवादले होइन ।’ यत्तिको सत्य बोल्न सक्ने प्रशिक्षक नेपाल ल्याएकोमा ललितपुरलाई धन्यवाद दिर्नैपर्छ । यस्तै राम्रा कामले त हो ललितपुरले उपाधि जितेको ।

खेलकुद

स्टार सिटीलाई पशुपति कप

- चित्रांग थापा

(धनगढी)
स्टार सिटी युवा क्लब धनगढीले शनिबार एनआरएनए छैटौं फारवेस्ट पशुपति कप फुटबलको उपाधि रक्षा गरेको छ ।
दोस्रोपल्ट च्याम्पियन बनेको स्टार सिटीले ५ लाख रुपैयाँ पुरस्कार जित्यो । सिटीले फाइनलमा इलाइट युवा क्लब कैलालीलाई ३–२ ले हराएको हो । पहिलो सहभागितामै फाइनल पुगेको इलाइटले २ लाख पायो ।
धनगढी रंगशालामा बाक्लो संख्यामा उपस्थित दर्शकबीच पहिलो हाफमा दुवैले २–२ को बराबरी खेले । नवौं मिनेटमा इलाइटका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा स्टारका क्षितिज भण्डारीले गोल गरे । २६ औं मिनेटमा इलाइटले खेल बराबरीमा ल्यायो । इलाइटले पनि पेनाल्टीमै गोल गरेको हो । इलाइटका विदेशी खेलाडी नोग्नाउले गोल गरे । बराबरीमा अघि बढेको खेलमा ३९ औं मिनेटमा इलाइटका विनोद केसीले गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन । ४१ औं मिनेटमा स्टार सिटीका प्रदीप लामाले गोल गरी खेल २–२ को बराबरीमा ल्याए । दोस्रो हाफको २२ औं मिनेटमा प्रदीप लामाले गरेको व्यक्तिगत दोस्रो गोल नै स्टार सिटीको जितमा निर्णायक बन्यो । उनै प्रदीप म्यान अफ द म्याच र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए । उनले कुल ३० हजार पुरस्कार पाए ।
फारवेस्ट पशुपति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा स्टार सिटीका अमानत शेख उत्कृष्ट गोलरक्षक र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरूले जनही १५ हजार प्राप्त गरे । इलाइटका चेतन थारु उत्कृष्ट रक्षक र आयोजक क्लबका सुशील विश्वकर्मा उदीयमान खेलाडी भए । उनले १५ हजार प्राप्त गरे । स्टारकै निलेश विष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले १० हजार पाए ।
च्याम्पियन स्टार सिटीका कप्तान कुवेर सिंहले अघिल्ला खेलजस्तै तालमेल मिलाएर खेलेका कारण आफ्नो टिम च्याम्पियन भएको बताए । स्टार सिटीका प्रशिक्षक निलेश विष्टले रणनीतिअनुसार नै खेलेर उपाधि जितेको बताए ।
इलाइट क्लबका कप्तान योहन्ना चौधरीले आफूहरूले राम्रो खेलेको भए पनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौका गोलमा परिणत नहुॅदा पराजित भएको सुनाए । इलाइटका प्रशिक्षक अमर चौधरीले आशा गरिएका खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे । विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्यसचिव दीपकबहादुर सिंह, गैरआवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावतलगायतले पुरस्कृत गरे ।

खेलकुद

एसियाडका खेलाडीलाई सम्मान

काठमाडौं (कास)– नेपाल ओलम्पिक कमिटीले शनिबार चीनको हाङचाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा सहभागी तथा विजेता खेलाडीलाई सम्मान गरेको छ ।
उनीहरूलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता थियो ।
नेपालले प्रतियोगितामा एक रजत र एक कांस्य पदक जितेको थियो । करातेकी एरिका गुरुङले ६७ केजी तौलमा ऐतिहासिक रजत जितेकी थिइन् । महिला कबड्डीमा नेपालले कांस्य जितेको हो ।
त्यसअघि एनओसीको १५ औं साधारणसभा भएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले बन्दसत्र सञ्चालन गरेका थिए । त्यस अवसरमा कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सन् २०२३ को प्रगति विवरण पेस गर्दै उल्लेखनीय कार्यक्रम गर्न संस्था सफल बताए । कोषाध्यक्ष रतन टण्डनको प्रतिनिधित्व गर्दै कर्मचारी राजन श्रेष्ठले सन् २०२३ को आर्थिक विवरण पेस गरे । उनले आगामी वर्षको अनुमानित बजेट पनि पेस गरे । सभाले दुवै प्रतिवेदन अनुमोदन गरेको थियो । कमिटीअन्तर्गत विभिन्न कमिसनले पनि आफ्नो कार्य प्रगति तथा योजना पेस गरेका थिए । सभाको उद्घाटन युवा तथा खेलकुद डिगबहादुर लिम्बूले गरेका थिए ।
उद्घाटन कार्यक्रममा वक्ताहरूले हाङचाउ एसियाली खेलकुदमा नेपालको प्रदर्शनको समीक्षा हुनुपर्ने बताउँदै अबको संस्करणका लागि चाँडै तयारी सुरु गर्नेमा जोड दिएका थिए ।

खेलकुद

फाइनलमा अभिलाषा र सुनीरा

- कान्तिपुर संवाददाता

(पोखरा)
पोखरामा भइरहेको २० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसको मेन्स सिंगल्सको फाइनलमा नेपाल नम्बर एक प्रदीप खड्का र पूर्वनेपाल नम्बर एक संरक्षकभूषण वज्राचार्य पुगेका छन् । महिला सिंगल्सतर्फ नेपाल नम्बर एक रहेकी साबिक विजेता अभिलाषा विष्ट र सुनीरा थापा उपाधिका लागि भिड्दै छन् ।
पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार सेमिफाइनलमा साबिक विजेता प्रदीपले भारतीय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा हराए । अर्को सेमिफाइनलमा संरक्षकले ऋतिक रानालाई ६–२, ६–३ ले हराए ।
अभिलाषाले माहिका राणालाई ६–३, ४–६, ६–१ ले र सुनीराले रायना शाहलाई ६–३, ६–७, ७–५ ले हराए । ३५ वर्षमाथि भेट्रान्स सिंगलको फाइनलमा सन्तोष खत्री र पूर्वनेपाल नम्बर एक कमल भण्डारी भिड्ने छन् । सेमिफाइनलमा सन्तोषले जितेन्द्र परियारलाई ४–६, ६–३, १०–८ ले र कमलले अनिल शाहीलाई ६–४, ७–५ ले हराए । ५५ वर्षमाथि फाइनलमा जीवन घिमिरे र विमल गुरुङ पुगेका छन् । जीवनले समिर शेरचनलाई ६–०, ६–१ र विमलले भारतीय थोङवाम तुलेश्वरलाई ७–६, ६–३ ले हराए ।
४५ वर्षमाथि फाइनलमा रोहित सुनुवार र महेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । रोहितले प्रदीप शाहलाई ६–०, ६–० र महेशले गोपी भट्टराईलाई ६–०, ६–२ ले हराए ।

दाजुभाइलाई उपाधि
मेन्स डबल्सको उपाधि वज्राचार्य दाजुभाइ संरक्षक र सम्यकभूषणको जोडीले जितेको थियो । उनीहरूले भारतीय जोडी अभिनन्सु ठाकुर र सिद्धान्त डेकालाई ७–५, ६–४ ले हराए । भेट्रान्स ६५ वर्षमाथिको उपाधि मनोज राणाले जितेका छन् । विदुर विष्टविरुद्धको फाइनल मनोजले ४–१, ४–० ले जिते । ३५ वर्षमाथिको डबल्समा अनिल शाही र सीमान्त गुरुङको जोडी च्याम्पियन भयो ।

खेलकुद

एपीएफ र कोशी भिड्ने

छोटकरी

काठमाडौं (कास)– नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको क्वालिफायर १ मा कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम र वाग्मती प्रदेशबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एपीएफले राउन्ड रोबिन लिगमा सबै ७ खेल जितेर शीर्षस्थानमा रह्यो । कोशीले ७ मध्ये ६ खेल जित्यो । सुदूरपश्चिमले ५ र वाग्मतीले ४ खेल जितेर शीर्ष चार स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेका हुन् । मधेश प्रदेश ३, लुम्बिनी २ र गण्डकीले १ खेल जितेका थिए । कर्णाली प्रदेश सबै ७ खेल हारेर पुछारमा रह्यो ।
क्वालिफायर १ को विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले फाइनल पुग्नका लागि सुदूरपश्चिम र वाग्मतीबीचको विजेतासँग फाइनलमा पुग्न एक खेल खेल्ने मौका पाउनेछ ।
एपीएफले शनिबार वाग्मतीलाई ४७ रन र कोशीले लुम्बिनीलाई ७ विकेटले हराएको थियो । अन्य दुई खेलमा सुदूरपश्चिमले गण्डकीलाई २४ रन र मधेशले कर्णालीलाई ७८ रनले हरायो ।

खेलकुद

क्विन गोर्खाज पराजित

छोटकरी

लमजुङ (कास)– बेसीसहरस्थित सहजी खेलमेदानमा भइरहेको ३१ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा शनिबार अभिषेक चर्च रजहरले क्विन गोर्खाज सिग्नल्स फुटबल क्लब युकेलाई २–० ले पराजित गरेको छ । नेपाल भानु युनाइटेड तनहुँ पराजित भएको छ । पहिलो खेलमा अभिषेक चर्च रजहरले क्वीन गोर्खाजलाई २–० गोल अन्तरले हरायो । विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा नेपाल भानु युनाइटेड तनहुँलाई ५–३ ले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ को बराबरी भयो । भानुले डिफेन्डर गौरव श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

खेलकुद

आर्मी टिम च्याम्पियन

छोटकरी

काठमाडौं (कास)– आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले शनिबार राष्ट्रिय मिक्स रिले दौडमा स्वर्ण जितेका छन् । कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा आयोजित १० किमि दूरीको दौड आर्मी टिमले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको थियो । एउटा टिमबाट २–२ पुरुष/महिला खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किमि तय गर्नुपर्ने थियो । पुलिसका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिरले ३३ मिनेट ४५.५६ सेकेन्डबाट दोस्रो स्थान हात पारे । ३४ मिनेट २२.७३ सेकेन्डबाट एपीएफका फुलमति राना, सन्जिव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङको टिम तेस्रो भयो ।