You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'आगामी वर्षायामबाटै बंगलादेशलाई ४० मेगावाट बिजुली’

- सीमा तामाङ

(काठमाडौं)
बंगलादेशमा आउँदो वर्षायामबाटै ४० मेगावाट विद्युत् निर्यात गर्ने अन्तिम प्रक्रिया नेपाल सरकारले अघि बढाएको छ । बंगलादेशसँग विद्युत् व्यापारको सुरुवात नेपालको जलविद्युत् क्षेत्रमा ऐतिहासिक उपलब्धि हुनेछ । बंगलादेशले किन्ने प्रस्ताव गरेपछि नेपालले महसुल दरसहित सिलबन्दी विस्तृत विवरण पठाएको हो ।
बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय लिएको थियो । उक्त निर्णयअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्राचार गरेको थियो । बंगलादेशको पत्राचारपछि नेपाल विद्युत् प्राधिकरणका अधिकारी सिलबन्दी फाइल लिएर बंगलादेश गइसकेका छन् ।
‘हाम्रो प्रस्तावका आधारमा बंगलादेशले जवाफ पठाउनेछ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘मलाई लाग्छ, केही दिनमै बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गर्छौं र वर्षायामबाटै ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ ।’
बंगलादेशसँग पहिलो पटक व्यापार हुन लागेकाले सुपथ मूल्य नै प्रस्ताव गरिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘भारतसँग गरिरहेको दररेट आसपासकै प्रस्ताव पठाएका छौं,’ उनले भने । उक्त मूल्यसहितको सिलबन्दी फाइललाई नेपालबाट पठाइएका विद्युत् व्यापार विभागका एक जना इन्जिनियरले माघ २१ (४ तारेख) भित्र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमा दर्ता गर्ने घिसिङको भनाइ छ । ‘हामीले पठाएको प्रस्ताव हेरेर खबर आउनेछ । केही मिलाउनुपर्ने भए मिलाउनेछौं, नभए सम्झौता हुनेछ,’ उनले भने ।
बंगलादेशले नेपालको बिजुली भारतीय प्रसारण लाइन प्रयोग गरेर लैजानेछ । गत फागुनमा भएको नेपाल–भारत सचिवस्तरीय बैठकमा भारतले आयोजनाको नाम पठाए अनुमति दिने बताइसकेको छ । भारतको पावर ट्रेडिङ कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत बंगलादेशसँग विद्युत् व्यापार हुने प्राधिकरणले जनाएको छ । एनटीपीसी विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग त्रिपक्षीय सम्झौताका लागि आवश्यक समझदारी बनिसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
‘त्रिपक्षीय सम्झौतापछि नेपालले भारतको बाटो हुँदै बंगलादेश बिजुली निर्यात गर्नेछ,’ उनले भने, ‘कुनै अप्रत्याशित अवस्थामा बाहेक आगामी वर्षायामबाटै नेपालको बिजुली बंगलादेश पुग्नेछ ।’ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बंगलादेशमा ४०
मेगावाट विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच सम्झौताका लागि ड्राफ्ट तयार भइसकेको बताए ।
भारतलाई ‘बिलिङ चार्ज’ बुझाएर बंगलादेशमा बिजुली बिक्री गरिनेछ । प्रसारण लाइन प्रयोग गरेबापत तिरिने शुल्क ‘बिलिङ चार्ज’ हो । प्राधिकरणका कार्यकारी उपनिर्देशक प्रदीपकुमार थिकेका अनुसार ‘बिलिङ चार्ज’ बंगलादेशले तिर्नेछ । उनका अनुसार बंगलादेशले मागेको प्रस्तावको मस्यौदा अनुरोध (रिक्वस्ट अफ प्रपोजल) बोलपत्र जस्तै हो । कति पैसामा बिजुली बेच्नेलगायत जानकारी राखेर नेपालले प्रस्ताव पठाइसकेकाले उक्त महसुल दर पारित भएपछि औपचारिक
रूपमा ४० मेगावाट बिजुली व्यापारको सम्झौता हुनेछ ।

‘हामीले बेच्ने बिजुलीको महसुल दर, अरू स्पेसिफिकेसन, समयलगायतलाई समेटेर प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘जुन महिना (वर्षायाम) देखि मात्रै बिजुली निर्यात हुने भएकाले त्यसअघि नै औपचारिक सम्झौता भइसक्नेछ ।’
सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आन्तरिक खपत १३ हजार मेगावाट, भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । हालै भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतासमेत भइसकेको छ । बंगलादेशले नेपालमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गरी त्यसको बिजुली पनि लैजान चाहेको छ । जेठ पहिलो साता भएको नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल–बंगलादेश मिलेर यो आयोजना निर्माण गर्ने सहमति भएको थियो । भारतीय कम्पनी जीएमआरले ९०० मेगावाटको माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेगावाट बिजुली पनि बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।
अघिल्लो भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो । त्यतिबेला बंगलादेशको भेरामारामा रहेको हाई भोल्टेज डाइरेक्ट करेन्ट संरचनामा विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिद–बिक्री सम्झौताका लागि भारतलाई आग्रह गर्ने सहमति भएको थियो । बंगलादेशले भारतको बहरामपुर–भेरामारा प्रसारण लाइनबाट विुद्यत् आयात गर्ने जनाएको छ । बंगलादेशले सेवा प्रदायकका रूपमा भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत नेपालबाट बिजुली आयात गर्नेछ । अहिले पनि बंगलादेशले भारतबाट बिजुली खरिद गरिरहेको छ । भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगमले बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिजुली बिक्री गर्दै आएको छ ।

मुख्य पृष्ठ

सिटौला राष्ट्रिय सभा अध्यक्ष कि सरकारमा ?

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
राष्ट्रिय सभाको अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणबाट बढ्दै गरेको माओवादीसँगको अविश्वासले चिन्ता बढाएको छ । माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सिटौलाले चुनाव जित्दा सत्ता गठबन्धनबाटै माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । आफ्नो उम्मेदवार हार्नुमा कांग्रेस संस्थापनइतरको असहयोग रहेको माओवादीको ठम्याइ छ ।
यसअघि पनि सत्ता गठबन्धनको निर्णयविपरीत कांग्रेसभित्रकै ‘विद्रोह’ ले माओवादीले कोशीमा मुख्यमन्त्री पाउन नसकेको गुनासो पनि छ । पछिल्ला दुई घटनाले गठबन्धनको निरन्तरता रहे पनि कोशीमा कांग्रेससँग सहकार्य तोड्न माओवादी नेतृत्वलाई दबाब परिरहेका बेला राष्ट्रिय सभाको अध्यक्ष कसले पाउने भन्ने मुद्दा चर्चाको केन्द्रमा छ ।
संवैधानिक आयोगका पदाधिकारी सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि राष्ट्रिय सभाको अध्यक्ष दुवै पार्टीका लागि उत्तिकै महत्त्वपूर्ण छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई नै अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याएको एकथरी नेताहरूको दाबी छ । कोशीमा बारम्बार कांग्रेसबाट ‘धोका’ पाएको भन्दै माओवादी नेताहरूले भने अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने सर्त अघि सार्न थालेका छन् । माओवादीका उपमहासचिव वर्षमान पुनले सोमबार कान्तिपुर टेलिभिजनको
टक शो ‘फायरसाइड’मा आलोपालो प्रधानमन्त्री बन्ने समझदारीअनुसार सरकारको नेतृत्वबाट हट्दा संवैधानिक परिषद्मा माओवादीको एक जना पनि सदस्य नहुने कारण देखाउँदै अध्यक्षमा स्वतः दाबी रहने बताएका छन् । पार्टीभित्र पनि उनीसहितका केही नेताहरूको लबिइङ अध्यक्ष आफ्नै पार्टीले लिनुपर्ने पक्षमा छ ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावकै बेला सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनकै लागि कांग्रेसले उम्मेदवार बनाएको प्रतिक्रिया दिएका थिए । कतिपय नेताहरूले त्यसविपरीत राष्ट्रिय सभाको अध्यक्ष नभएर उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा सिटौला जान चाहेको दाबी गरेका छन् ।
‘कांग्रेसभित्र शक्तिकेन्द्र बढाएर दुई वर्षपछि हुने १५ औं महाधिवेशनमा आफ्नो प्रभाव बढाउन सिटौलाजीका लागि राष्ट्रिय सभाको अध्यक्षभन्दा पनि महत्त्वपूर्ण कार्यकारी भूमिका मुख्य लक्ष्य हो भन्ने मलाई लाग्छ,’ कांग्रेसका एक नेताले भने, ‘पार्टी सभापति (शेरबहादुर देउवा) जी आफ्नो स्वार्थबाहेकका अरू जुनसुकै विषयमा पनि सम्झौता गरिदिन सक्ने भएकाले माओवादीले अध्यक्ष छाड्न नचाहे सिटौलालाई सरकारमा पठाउने निर्णय गठबन्धनबाटै पनि हुन सक्छ ।’

सिटौलालाई अध्यक्ष नदिँदा मन्त्रिपरिषद् पुनर्गठनका बखत कांग्रेसले उनका लागि गृह मन्त्रालय माग्न सक्ने बुझाइ माओवादीभित्र छ । सरकारको एक वर्षको कार्यकालमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सुशासनमा उल्लेखनीय काम भएको भन्दै गृह मन्त्रालय आफैंले राख्नुपर्ने आवाज माओवादीभित्र यतिबेला सशक्त उठिरहेको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा चलिरहेका बेला माओवादीभित्र अध्यक्षभन्दा पनि गृह मन्त्रालय आफूले राख्नुपर्ने मत प्रबल छ ।
तर, नेता सिटौलाले कार्यकारी भूमिकामा जाने आफ्नो कुनै इच्छा नै नभएको बताए । ‘कार्यकारणीतर्फ मेरो कुनै ध्यान छैन । सुशील कोइराला प्रधानमन्त्री हुँदादेखि नै नीति निर्माणमा मेरो रुचि रहनुपर्छ भन्ने मान्यतामा रहेको हुँ । प्रचण्ड, शेरबहादुरजी प्रधानमन्त्री बन्दा पनि सरकारमा गइनँ । गगनजीलाई मन्त्री बनाएँ । सरकारमा मेरो रुचि छैन । हुन पनि हुन्न भन्ने मलाई लाग्छ । संविधानको वास्तविक कार्यान्वयन दिशामा जोडिएका नीति निर्माण र कानुन निर्माणमा मेरो रुचि रहनुपर्छ । त्यसैमा मेरो भूमिका रहन्छ भन्ने मलाई लागेको छ,’ सिटौलाले कान्तिपुरसँग भने, ‘गठबन्धनका नेताहरूको सहमतिबाट जे जिम्मेवारी प्राप्त हुन्छ, त्यसैमा म जान्छु । व्यक्तिगत रूपमा मेरो कुनै आग्रह हुन्न ।’
राष्ट्रिय सभाको अध्यक्ष हुने वा नहुने भन्नेमा गठबन्धन दलका नेताहरूको सहमतिका आधारमा निर्भर रहने उनले बताए । ‘मेरो आकांक्षाभन्दा पनि राजनीतिक दलहरूको सहमतिका आधारमा बन्ने हो । गठबन्धनका दलका नेताहरूले सोच्ने कुरा हो । उहाँहरूले जे
निर्णय गर्नुहुन्छ, त्यसैलाई मानेर मैले हिँड्नुपर्छ,’ उनले थपे, ‘शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन र संविधानको कार्यान्वयन जनताको पक्षमा द्रुत गतिमा लैजान यससँग सम्बन्धित कानुनहरू चाँडै संसद्बाट पारित गराउने दिशामा नै मेरो मुख्य जिम्मेवारी हुनुपर्छ भन्ने ठान्छु । शान्ति प्रक्रियासँग सम्बन्धित कानुन पनि सहमतिबाटै टुंग्याउनुपर्छ भन्ने मान्यता मेरो छ । अब आउने संसद्ले द्रुत गतिमा कानुन बनाउनुपर्छ । त्यसका माध्यमबाट जनताले राहत पाउनुपर्छ । संसद्मा नहुँदा पनि सडकबाट पनि मैले भन्दै आएको हो । संसद्मा पुगेपछि मेरो जिम्मेवारी नै यही हो ।’
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको दूतका रूपमा शान्ति प्रक्रियामा विशेष भूमिका निर्वाह गरेका सिटौलालाई राष्ट्रिय सभाकै अध्यक्ष बनाएर बाँकी रहेको काम टुंगोमा पुर्‍याउने दिशामा उनको सहजीकरण दाहाल र देउवा दुवैले खोजेका छन् । शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्‍याउनका लागि यससँग सम्बन्धित विधेयक अहिले संसद्मा अड्किएको छ । कानुन नबन्दा पीडितलाई न्याय दिने र परिपूरण भर्ने काम अघि बढ्न सकेको छैन । माओवादीका एक नेताका अनुसार पार्टीभित्र जतिसुकै दबाब आए पनि सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँदा शान्ति प्रक्रियालाई टुंग्याउन सहजता हुने बुझाइ छ । माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै दाहाल र सिटौलाबीचको सम्बन्ध पनि हार्दिकतापूर्ण छ ।
०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सिटौला गृहमन्त्री थिए । दाहाल र माओवादीकै तत्कालीन नेता बाबुराम भट्टराई ०६३ असार २ मा कास्कीको सिकलेसबाट पहिलोपल्ट सार्वजनिक भएका हुन् । त्यसको दुई दिनमा गृहमन्त्री सिटौला दाहाल र भट्टराइलाई काठमाडौं ल्याउन कास्कीको लामाचौरमा हेलिकोप्टर लिएरै पुगेका थिए । त्यसै घटनालाई लिएर कांग्रेसभित्र सिटौलालाई बेलाबखत ‘प्रचण्ड’ को सवारी मन्त्री भनेर आलोचनासमेत हुने गर्छ । यसबीचमा कांग्रेस र माओवादीबीच धेरै उत्तरचढावपूर्ण सम्बन्ध रहे पनि दुई नेताबीचको सम्बन्धमा भने कहिल्यै दरार नआएको नेताहरू बताउँछन् । वैचारिक रूपमा मतान्तर रहे पनि दाहाल र सिटौलाबीच सम्बन्ध जहिल्यै हार्दिकता रहनुमा शान्ति प्रक्रियाको कामबाटै हो ।
उनै सिटौलाले कुन जिम्मेवारी पाउने हुन् भन्नेमा चासोका साथ हेरिएको छ । उपाध्यक्ष एवं माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा आआफ्ना दाबी रहेको बताए । ‘यसबारे गठबन्धनमा ठोस छलफल भएको छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिए । तर, गृह मन्त्रालय अग्रणी मोर्चामा भएकाले माओवादीले छाड्न नहुने उनको भनाइ छ । ‘हामीले गृह मन्त्रालय छाड्ने कुरा हुँदैन,’ माओवादीका अर्का एक पदाधिकारीले भने, ‘सरकारको एक वर्षको समीक्षा गर्दा गृहले नै साख जोगाएको छ ।’ गृह छाडेर अर्थ मन्त्रालय लिए पनि मुलुकको आर्थिक अवस्था सुधार हुन समय लाग्ने माओवादीको बुझाइ छ । प्रधानमन्त्री दाहाल अर्थमन्त्री प्रकाशशरण महतप्रति सबभन्दा धेरै असन्तुष्ट छन् । उनले अर्थ माओवादीले लिए के हुन्छ भन्नेबारे निकट नेताहरूसँग अनौपचारिक छलफलसमेत गरेका छन् । यसबारे माओवादीभित्र दुई धार छ । पहिलो अर्थ मन्त्रालय लिएर ‘जनमुखी’ बजेट ल्याउन सकिनेछ भने दोस्रो, अर्थ मन्त्रालयबाट अपेक्षाअनुसार आर्थिक सुधार गर्न सम्भव नहुने तर्क छ ।
अर्कातर्फ गृहमन्त्री एवं पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई फिर्ता बोलाउँदा ‘गलत अर्थ लाग्ने’ भय प्रधानमन्त्रीलाई छ । कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गर्न गृहमन्त्रीको मुख्य भूमिका भएको भन्दै उनलाई हटाउन पहिल्यैदेखिको दबाब छ । माओवादीका महासचिव देव गुरुङले समग्र राष्ट्रिय राजनीतिको दृष्टिकोणले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनु न्यायोजित र राजनीतिक सन्तुलन हुने बताए । ‘यस विषयमा अहिल्यै राजनीतिक दलहरूबीचमा छलफल भइसकेको छैन । हिजो (मंगलबार) को गठबन्धनको बैठकमा कोशीको घटनाक्रमबारे समीक्षा गर्ने काम भयो । अध्यक्षको कुरा चर्चामा आएन । नेताहरूले पहिल्यै समझदारी गरेको भए छुट्टै कुरा हो, नत्र कोशी प्रकरण र राष्ट्रिय राजनीतिकै दृष्टिकोणले अध्यक्ष माओवादीको सिफारिसमा हुनु राम्रो हुन्छ, माओवादीको दाबी स्वाभाविक हुन आउँछ,’ गुरुङले भने ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालबीच सिटौलालाई नै अध्यक्ष बनाउने समझदारी भइसकेको छ भन्ने छ नि भन्ने प्रश्नमा गुरुङले त्यस्तो भए छलफलमा ल्याउनुपर्ने बताए । अहिलेसम्म नेताहरूले आफूहरूबीच समझदारी भए नभएकोबारे मुख नखोलेको उनको भनाइ छ । पार्टीको १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी भनेर पार्टीभित्र तेस्रो धारको बीजारोपण गरेका सिटौला आठ वर्षको अवधिमा दुईवटा संसदीय निर्वाचनको हारसँगै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा पनि कमजोर बन्दै जान थालेका थिए । खासगरी महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलले उनको साथ छाडेपछि सिटौलाको शक्ति पार्टीभित्र कमजोर बन्दै गएको थियो । उनीनिकट नेताहरूका अनुसार उमेर पुगिसकेका सिटौला सम्मानजनक राजनीतिक बहिर्गमनको खोजीमा छन् र राष्ट्रिय सभाको अध्यक्ष उनका लागि अवसर हुने बताउँछन् ।

मुख्य पृष्ठ

नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण

- स्वरूप आचार्य

(काठमाडौं)
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।
‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं । यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले भने, ‘बाहिर कसैको भर नगरी हामीले २०७२ सालदेखि नै तयारी थालेका थियौं, जुन आज पूर्ण भयो ।’
अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् ।
अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या
आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले जानकारी दिए । ‘२७ गते शल्यक्रिया गरेर कलेजो प्रत्यारोपण गरेपश्चात् उनलाई
दुई साता आईसीयूमा राखेर वार्डमा सारिएको थियो,’ उनले भने, ‘हामीले उहाँलाई बिहीबार डिस्चार्ज गर्दै छौं ।’

उनले त्रिविमै जनरल सर्जरीमा एमसीएच गरेर कलेजो प्रत्यारोपण तथा प्याङ्क्रियाज शल्यक्रियाका लागि अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्सबाट फेलोसिप प्राप्त गरेका थिए । नेपाल फर्किएसँगै उनले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका हुन् । ‘हाम्रो जनशक्तिबाट प्रत्यारोपण गर्न सफल भएपछि मात्रै यो दिगो हुन्छ,’ उनले भने, ‘त्यसैले यो सफलता सबैको हो । एक्लो प्रयासले मात्रै यति ठूलो शल्यक्रिया सफल बनाउन सकिँदैन ।’ उनका अनुसार सामान्य अवस्थामा पनि कलेजो प्रत्यारोपण गर्न १० घण्टाभन्दा बढी समय लाग्छ । यस्तोमा डोनर (दाता) र रिसिपियन्ट (प्रापक) दुवैको शल्यक्रिया ११ घण्टामा सक्नुलाई ठूलो सफलता मानिन्छ । ‘कलेजोको प्रत्यारोपण कठिन छ, त्यहाँ धेरै प्रकारका स–साना नसा हुन्छन् र अत्यधिक रक्तस्रावको जोखिम सधैं रहन्छ,’ उनले भने, ‘यो प्रत्यारोपणका लागि पनि करिब १५ युनिट विभिन्न प्रकारका रगतको आवश्यकता परेको थियो ।’
त्रिवि शिक्षण अस्पतालमा सबै प्रकारका उपचार सेवा रहेकाले पनि प्रत्यारोपण सहज भएको डा. भण्डारी बताउँछन् । ‘शल्यचिकित्सक, एनेस्थेसिया, सघन उपचार विज्ञ, नर्सिङ स्टाफ, इन्टरभेन्सनल रेडियोलोजी, रगत बैंक सबैको समूहगत प्रयास नभएसम्म यति ठूलो शल्यक्रिया गर्न सकिन्न,’ उनले भने, ‘हाम्रो टोलीले सहयोग लिएर १० वटा प्रत्यारोपण गरेको अनुभवले पनि अब आफैं गर्न सकिन्छ भन्नेमा पुगेका हौं ।’ शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै महिनाको एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको उनले बताए । नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ । यही शल्यक्रिया भारतमा गर्दा कम्तीमा करोड खर्चिनुपर्छ । डा. भण्डारीका अनुसार नेपालमा यकिन तथ्यांक नभए पनि जनसंख्याको अनुपात र उपचारका लागि आउने बिरामीको संख्या हेर्दा वार्षिक दुईदेखि तीन सय जनालाई प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ । ‘नेपालमै विज्ञ जनशक्ति थपिएर प्रत्यारोपणको संख्या बढेमा एक त बिरामीलाई सहज हुन्छ, अर्को देशको ठूलो धनराशि विदेशिनबाट जोगिन्छ,’ उनले भने । अल्का अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठ नेपाली चिकित्सकको मात्रै संलग्नतामा सफल प्रत्यारोपण हुनु कोसेढुंगा भएको बताउँछन् । ‘अब बल्ल नेपालमा वास्तवमै कलेजो प्रत्यारोपण हुन्छ भन्न सकिने अवस्था आयो,’ उनले भने, ‘यो त्रिवि शिक्षण अस्पतालका लागि मात्रै नभएर नेपालको स्वास्थ्य क्षेत्रकै लागि गर्व गर्न लायकको पल हो ।’
नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका प्रत्यारोपण शल्यचिकित्सकसहितको ७ विज्ञ टोलीले कलेजो प्रत्यारोपण गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा भने २०७६ जेठ १७ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो, जसका लागि भारतको अपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोली नेपाल आएको थियो । त्यसयता शिक्षण अस्पतालमा १० जनाको कलेजो प्रत्यारोपण गरिएको छ । बाँकी ९ वटा प्रत्यारोपणका लागि भारतकै फोर्टिस अस्पतालका विज्ञले सहयोग गरेका थिए ।
विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण २०७३ सालयता नेपालमा सुरु भए पनि विदेशी विज्ञहरूको भर पर्नुपर्ने बाध्यता छ । मानव अंग प्रत्यारोपण केन्द्रबाहेक चितवनस्थित सीएमसी अस्पताल तथा ललितपुरस्थित किस्ट अस्पतालमा पनि कलेजो प्रत्यारोपण भएका थिए । त्यहाँ पनि भारतकै विशेषज्ञको सहयोग लिइएको थियो । सीएमसीमा भने केही समययता कलेजो प्रत्यारोपण हुन सकेको छैन । हालसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म १८ जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।

Page 2
म्यागेजिन

सत्ताको निसानामा इमरान

- उत्तम अर्याल

(काठमाडौं)
दक्षिण एसियाली देशहरू विशेष गरी पाकिस्तान र भारतमा रगतमै बग्छ क्रिकेट । यो क्षेत्रमा क्रिकेटलाई धर्मसरह बनाउने श्रेय इमरान खानलाई पनि जान्छ । औसत टोली रहेको पाकिस्तानलाई खानले आफ्नो कप्तानीमा सन् १९९२ को एकदिवसीय विश्वकप जिताएपछि दक्षिण एसियामा क्रिकेटको लहर झनै बढेको थियो ।
खानले कुशल अलराउन्डर र निडर कप्तानको भूमिका निर्वाह गरेपछि नै पाकिस्तान विश्व च्याम्पियन बनेको हो । १९८० को दशकमा आफ्नो खेल कौशलले प्रभाव बनाएका खान पछि पाकिस्तानी क्रिकेट टिमको कप्तान बन्दै पाकिस्तानलाई पहिलो पटक एकदिवसीय विश्वकप प्रतियोगिता जिताउन उल्लेखनीय भूमिका खेले । पाकिस्तानले जितेको एकमात्र एकदिवसीय विश्वकप प्रतियोगिताका नायक खान अहिले भने पाकिस्तानकै पन्जाबस्थित अटक जेलमा कैद छन् । क्रिकेटबाट राजनीतिमा छलाङ मारेका ७० वर्षीय उनी किन जेल जीवन भोग्दै छन् त ?
लाहोरको कुलीन परिवारमा जन्मिएका खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा लिएका थिए । क्रिकेटमा पारिवारिक लगावले उनलाई पनि बाल्यकालदेखि नै छोएको थियो । १९८० को दशकमा क्रिकेटमा वेस्टइन्डिज, इंल्यान्ड र अस्ट्रेलियाको दबदबा थियो । दक्षिण एसियाली देशका खेलाडी प्रतिभावान् भए पनि मानसिक रूपमा कमजोर र उच्च आत्मबल नभएका मानिन्थे । त्यस समयमा खानले पाकिस्तानलाई तीव्र बलिङ प्रतिभा, ब्याटिङ कौशल र निडर टिमका रूपमा क्रिकेट जगत्मा उभ्याए । विदेशी भूमिमा गएर भारत तथा इंल्यान्डविरुद्ध टेस्ट शृंखला उपाधि दिलाए, १९७६ देखि १९९५ सम्म वेस्टइन्डिजविरुद्ध टेस्ट शृंखला नहार्ने एकमात्र टिमका रूपमा पाकिस्तानको पहिचान बनाए ।
सन् १९९२ को एकदिवसीय विश्वकप प्रतियोगिता पाकिस्तानी क्रिकेटको सबैभन्दा महान् समय थियो । त्यतिबेला सहभागी ९ राष्ट्रले राउन्ड रोबिन लिगमा एकअर्काविरुद्ध आठ खेल खेल्नुपर्ने थियो । जसका सुरुवाती पाँच खेलमा एउटा मात्र पाकिस्तानले जितेको थियो । सबैलाई लागिसकेको थियो कि पाकिस्तान अर्को चरणमा पुग्न अब असम्भव नै छ । खानको नेतृत्वमा पाकिस्तानले बाँकी ३ खेलमा लगातार जित हासिल गर्‍यो र सेमिफाइनल पुग्दै विश्वविजेता नै बन्यो ।
प्रतियोगिताका क्रममा खानको दाहिने काँधको हड्डीमा चोट लागेको थियो तर यसलाई गोप्य राख्दै उनले खेलिरहे । त्यही कारणले पनि उनले पाकिस्तानीको मात्र नभई विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भए । काँधको चोटका कारणले नै उनी मैदानमा देखा पर्न सकेनन् र विश्वकप फाइनल नै खानको खेल जीवनको अन्तिम खेल बन्न पुग्यो ।
दक्षिण एसियाली देशमा क्रिकेटपछि राजनीतिमा लागेका खेलाडीका उदाहरण थुप्रै छन् । भारतमा त थुप्रै क्रिकेटर सांसद भएका छन् । खानले पनि आफ्नो जीवनको दोस्रो इनिङ्स राजनीतिमा बिताउने निधो गरे र त्यसको सुरुवात भने समाजसेवाबाट थाले । उनले लाहोरमा पाकिस्तानकै पहिलो विशेष क्यान्सर अस्पताल र रिसर्च सेन्टर खोले । पाकिस्तानले विश्वकप जितेपछि पाएको पुरस्कार रकम उनले आफ्नो आमाका नाम बनाइएको क्यान्सर अस्पतालमा खर्च गरेपछि नै पाकिस्तानी क्रिकेटमा विभाजनको मत देखिएको थियो । त्यसपछि १९९६ मा तेहरिक–ए–इन्साफ (पीटीआई) स्थापना गरे ।
भारतमा ब्रिटिस शासन सकिने बेलामा विभाजित भएर बनेको पाकिस्तानको राजनीति सुरुवातदेखि नै अस्थिर छ । विशेष गरी शासन सत्तामा सेनाको हस्तक्षेपका कारण पनि राजनीतिक उतारचढाव पाकिस्तानमा नौलो मानिँदैन । यहाँको राजनीति विशेष गरी दुई परिवारको वरिपरि घुम्दै आएको छ, सरिफ र भुट्टो । पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग र जुल्फिकर अलि भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्प पार्टी (पीपीपी) नै पाकिस्तानी सत्ताको केन्द्रमा रहँदै आएका छन् । खान नेतत्वको पीटीआईले भने यिनै दुई पार्टीलाई चुनौती दिँदै पाकिस्तानको राजनीतिमा पाइला टेकेको हो ।
क्रिकेटबाटै लोकप्रियता कमाइसकेका खानले राजनीतिको सुरुआतमै भने सफलता पाएनन् । १९९७ को चुनावमा उनको पार्टीले एउटा पनि सिट जित्न सकेन । त्यसबाट निराश नभएका उनी कल्याणकारी राज्य, भ्रष्टाचार अन्त्य, सुशासन र राष्ट्रवादको पक्षमा चर्का नाराका साथ राजनीतिक मैदानमा डटिरहे । २००८ को चुनाव बहिष्कार गरेको पीटीआई २०१३ को चुनावमा भने तेस्रो ठूलो दल बन्यो । पीटीआईले २०१८ मा १ सय १६ सिट जितेपछि भने खान प्रधानमन्त्री बनेका थिए ।
पाकिस्तानको राजनीतिमा खानको उदय सेना तथा इन्टेलिजेन्स ब्युरोको सहयोगमा भएको आरोप लाग्ने गरेको छ । २०१८ को चुनावमा खानलाई जित हासिल गर्न सेनाले सहयोग गरेको भन्दै विपक्षीले आलोचनासमेत गरेका थिए । सेना र खान दुवैले यसलाई अस्वीकार गर्दै आएका छन् । खान प्रधानमन्त्री बनेपछि उनले प्रतिबद्धता गरेअनुसार भ्रष्टाचारप्रति कठोरता देखाए । पुराना नेतालाई भ्रष्टाचारको आरोपमा धमाधम समात्न थाले । अमेरिकासँग दूरी बनाएका उनले चीन र रुससँग पाकिस्तानको सम्बन्ध बढाए ।
२०२२ अप्रिलमा अविश्वास प्रस्तावमा हारपछि उनले सत्ता गुमाउनु परेको थियो । यसको कारण मानिएको थियो, पाकिस्तानी सेना र गुप्तचर निकायसँग उनको बिग्रँदो सम्बन्ध । त्यसयता खानले पनि पाकिस्तानी सेनाको कडा आलोचना गर्दै आएका थिए । पहिले अमेरिकी षड्यन्त्रमा आफूलाई सत्ताबाट हटाएको आरोप लगाउँदै आएका उनले पछि सेना र अन्य राजनीतिक दललाई पनि दोष लगाए । गत वर्ष वाजिरावादमा भएको एक कार्यक्रममा खानमाथि गोली प्रहार पनि भएको थियो । उनको खुट्टामा गोली लागेको थियो । त्यसयता सेना र सरकारविरुद्ध उनको पार्टीको प्रदर्शन झनै बढेको थियो ।
सत्ताच्युत भएयता खानमाथि सयभन्दा बढी मुद्दा परेका थिए । यसअघि गत महिना इस्लामावाद जिल्ला अदालतले सरकारमा हुँदा प्राप्त गरेका उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको तोसाखाना भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । उक्त सजायसँगै पाकिस्तानी निर्वाचन आयोगले खान पाँच वर्षका लागि चुनाव लड्न अयोग्य हुने जनाएको थियो ।
खान गोप्य दस्ताबेजसम्बन्धी मुद्दामा पछिल्लो समय मंगलबार मात्रै दोषी ठहर भएका छन् । गोपनीयता अधिनियमअन्तर्गत स्थापित पाकिस्तानको विशेष अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । कुरेसीमाथि वासिङ्टन र इस्लामावादबीचको कूटनीतिक दस्ताबेज सार्वजनिक गरेको आरोपमा सजाय सुनाइएको हो । मुद्दाको फैसला भएको भोलिपल्ट अर्थात् बुधबार खान र उनकी पत्नी बुसरा बिबीलाई तोसाखाना अर्थात् सरकारी स्वामित्वको एक विभागबाट पाएका उपहारबारे जानकारी नदिएको मुद्दामा पनि दोषी ठहर गरिएको छ ।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामावादस्थित एक अदालतले खान दम्पतीलाई तोसाखानासम्बन्धी मुद्दामा १४/१४ वर्ष जेल सजाय सुनाएको छ । अदालतले उनीहरूलाई उपहारबारे जानकारी नदिएको र बिक्री गरेको विषयमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । कैद सजायसँगै अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिवानासमेत तिर्न आदेश दिएको छ ।
१९७४ मा स्थापित तोसाखाना मन्त्रिपरिषद् मातहतको एक विभाग हो । यसमा राष्ट्रपति, प्रधानमन्त्री, राज्यप्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ । विदेश भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले अभिलेख राख्ने त्यस्ता उपहार स्वदेश फर्किएपछि तोसाखानामा जम्मा गरिन्छ । त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ । त्यस्ता उपहार ३० हजार रुपैयाँभन्दा कम भएमा पाउने व्यक्तिले आफूसँगै राख्न पाउने र सोभन्दा बढी भएमा लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिने व्यवस्था छ ।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा त्यस्तो सम्पत्तिबारे उल्लेख गरेका थिएनन् । त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार बेचेको र उनलाई फौजदारी कानुनमार्फत सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो । त्यसयता उनले उक्त मुद्दामा सुनाइएको तीन वर्षको जेल सजाय काटिरहेका थिए । अदालतको फैसलापछि खानपत्नी बुसराले आत्मसमर्पण गरेकी छन् । खानलाई तोकिएका दुवै सजाय सँगसँगै जाने ठानिएको छ । तर, यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ । २०१८ मा प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै खान र बुसराको विवाह भएको थियो । खान प्रधानमन्त्री हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन् ।
बुधबारको फैसलाबारे खानले कुनै टिप्पणी गरिसकेका छैनन् । मंगलबारको फैसलापछि भने खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका थिए । अमेरिकी षड्यन्त्रमा आफूमाथि कूटनीतिक दस्ताबेजसम्बन्धी झूटो मुद्दा लगाइएको उनको दाबी थियो । सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्ना समर्थकलाई शान्त रहँदै फेब्रुअरी ८ मा हुने मतदानमार्फत प्रत्येक अन्यायको प्रतिशोध लिन आह्वान गरेका थिए ।
खानको पार्टी पीटीआईले फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने जनाएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको पार्टीको दाबी छ । पीटीआईले ‘कंगारु कोर्ट’ (कसुर पुष्टि गर्न प्रमाण नचाहिने, विरोधीलाई सिध्याउन गठन गरिने निकाय) मा गरिएको सुनुवाइ मान्य नहुने जनाएको छ । दलका नेताहरूले उच्च अदालतले खानलाई तोकेको जेल सजायको फैसला उल्ट्याउने विश्वास गरेका छन् । खानका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन् । अदालतको फैसलापछि खान १० वर्षसम्म सार्वजनिक पदमा रहन पाउने छैनन् ।
पछिल्लो समय भने खान र कुरेसीमात्र नभई पीटीआईका शीर्षस्थ नेताहरू पनि राज्यको निसानामा पर्न थालेका छन् । उनीहरूमाथि विभिन्न आरोपमा अनुसन्धान तथा पक्राउ गर्ने र मुद्दा लगाउने कार्यलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ । गत अप्रिलमा संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री पद गुमाएका खान अमेरिकाप्रति निकै कठोर रूपमा प्रस्तुत भएका थिए । आफूलाई प्रधानमन्त्री पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र भएको उनको दाबी थियो । त्यस्तै, रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि खानले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेटेका थिए । जसका कारण अमेरिका तथा उसका साझेदार देशसँग खानको सम्बन्धमा दरार आएको थियो ।
पाकिस्तानको राजनीतिलाई निर्देशित गर्ने सेनाले पटक–पटक ‘कु’ मार्फत सत्ता हातमा लिने गरेको छ । त्यसका साथै चुनावी नतिजामा समेत सेनाको भूमिका मुख्य रहन्छ । यसअघि खान सत्तामा आउनुमा पनि सेनाको भूमिका मुख्य रहेको ठानिन्छ । तर, सत्ता गुमाएसँगै सेना र अमेरिकाप्रति कटु आलोचक बनेपछि भने पाकिस्तानको राजनीतिक समीकरण फेरिएको छ ।
खासगरी पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वदेश फिर्तीपछि खानको दल समस्यामा परेको हो । पाकिस्तानी सेनाका लागि लामो समय ‘काँडा’ का रूपमा रहेका ठानिएका सरिफलाई २०१८ को निर्वाचनअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो । उक्त निर्वाचनमा खानको दल विजयी भएको थियो । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । चौथो कार्यकाल ताकेका सरिफको पीएमएल–एन, विलावल भुट्टो जर्दारीको पीपीपी र खानको पीटीआईबीच चर्को प्रतिस्पर्धा हुने सर्वेक्षणहरूले देखाएका छन् ।
पछिल्लो समय खानको लोकप्रियतामा केही कमी आएको बताइन्छ । तर, खस्कँदो आर्थिक व्यवस्थालाई यसअघिको शहबाज सरिफको सरकारले सम्हाल्न नसक्दा खानप्रति भरोसा राख्ने पाकिस्तानीको संख्या पनि उत्तिकै छ । पछिल्लो डेढ वर्षमा पाकिस्तानको आर्थिक अवस्था खस्कनुमा सत्ताको नेतृत्व गरेको पीएमएलएन पार्टी जिम्मेवार रहेको विश्लेषक एजाज सैय्यद बताउँछन् । ‘शहबाज सरिफको सरकारले खराब प्रशासनिक निर्णयका कारण अहिलेको अवस्था आएको हो,’ उनी भन्छन् । अर्का विश्लेषक जाहिद हुसेन सत्तामा टिक्न भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण चुनावपछि पनि पाकिस्तान अस्थिर नै रहने जोखिम रहेको बताउँछन् । ‘सत्तामा सेना तथा मुट्ठीभरका कुलीन परिवारको दबदबा छ,’ उनले भने, ‘त्यसैले पाकिस्तानमा राजनीतिक तथा आर्थिक स्थिरता प्राप्त गर्ने खासै अपेक्षा छैन ।’
पाकिस्तानको राजनीतिक अस्थिरताको असर भने आमनागरिकले भोग्नुपरेको छ । कोभिड–१९ का कारण अर्थतन्त्र शिथिल भएको पाकिस्तानमा पछिल्लो वर्ष लाखौं मानिस बाढीले प्रभावित भएका थिए । यस वर्ष पनि बाढीपीडितको संख्या झनै बढेको छ । मूल्यवृद्धि अकासिएको छ भने चरमपन्थीको आक्रमणका घटना बढिरहेका छन् । पाकिस्तान सरकारसँग विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएको छ । लगातारको आग्रहपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धताले भने अहिले केही राहत दिएको छ । गत अगस्ट १४ मा कामचलाउ प्रधानमन्त्री बनेका अनवार उल हक काकरलाई ९० दिनभित्र चुनाव गराउने जिम्मेवारी दिइएको थियो । तर करिब तीन महिना ढिला गरी अर्को साता (फेब्रुअरी ८) मा निर्वाचन हुन लागेको छ ।
(एजेन्सीहरूको सहयोगमा)

Page 3
समाचार

कष्ट छल्न वैकल्पिक मार्गमा भीड

- दीपेन्द्र बडुवाल,नवीन पौडेल

(भैरहवा)
पूर्व–पश्चिम राजमार्ग विस्तारमा भइरहेको ढिलाइबाट आजित सवारी चालकले कष्ट छल्न वैकल्पिक मार्गको प्रयोग बढाएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ चार र ६ लेनमा विस्तार भइरहेको छ । तोकिएको समयमा काम पूरा नहुँदा लामो समयदेखि चालक र यात्रुले सास्ती भोगिरहेका हुन् । १ सय १४ किलोमिटर बुटवल–नारायणगढ खण्ड पार गर्न अहिले ६ घण्टा लाग्छ ।
पछिल्लोपटक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्ड ६ लेनमा विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ । जसले गर्दा बुटवल पश्चिमका बासिन्दासमेत उपयुक्त वैकल्पिक मार्गको खोजीमा रहेका बेला कपिलवस्तुको चन्द्रौटाबाट दक्षिण बहादुरगन्ज हुँदै तौलिहवा भएर पूर्व–पश्चिम ओहोरदोहोर गर्नेको संख्या बढेको हो । हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडक खण्ड निर्माण भएसँगै यस सडकबाट यात्रा गर्ने बढेका हुन् । अहिले चन्द्रौटाबाट रूपन्देहीको लुम्बिनी, भैरहवा हुँदै पश्चिम नवलपरासी सदरमुकाम परासी भएर भुमहीसम्म यात्रा गर्न सकिन्छ । केहीले भुमही नभएर परासीबाट जिल्लाको भित्री भाग हुँदै बर्दघाटको चौपत्ता हुँदै पूर्व–पश्चिम राजमार्ग निस्किने गरेका छन् । यसले यात्रा सहज बनाएको छ ।
राजमार्गको बुटवल–बर्दघाट खण्ड विस्तार सुस्त गतिमा भइरहेको छ । सडकमा खाडल र धूलो छ । जसले गर्दा बुटवलका बासिन्दा हुलाकी मार्गअन्तर्गत भैरहवा–परासी–चौपत्ता हुँदै बर्दघाट पुग्ने गरेका छन् । केही वर्षअघिसम्म वैकल्पिक मार्गबारे जानकारी नभएकाले धेरैले कष्ट सहेर बुटवल–बर्दघाट खण्डमा यात्रा गर्थे । ‘भैरहवा हुँदै बर्दघाट निस्किन सहज लाग्छ,’ बुटवल–११ का टीकाराम पाण्डेले भने, ‘बुटवलबाट सिधै बर्दघाट कति बेला पुगिन्छ, ठेगान हुँदैन, सडक खराब भएकाले अचेल त मोटरसाइकल, स्कुटर खाल्टामा खस्न थाले ।’ यस्ता निर्माण कार्य गर्दा वैकल्पिक सडक व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । बुटवल–नारायणगढ खण्डमा भइरहेको ढिलासुस्तीले विकास निर्माणप्रति नागरिकमा वितृष्णा जागेको उनले बताए ।
कपिलवस्तुको बहादुरगन्जका मनीष गुप्ताले चन्द्रौटाबाट १० किलोमिटर दक्षिण बहादुरगन्ज भएर गाडी चल्न थालेपछि बजारमा चहलपहल छाएको बताए । पहिले मुलुकका पूर्वी र पश्चिमी क्षेत्रमा यात्रा गर्नुपरेमा बहादुरगन्जका बासिन्दा चन्द्रौटा पुग्नु पर्थ्यो । ‘अहिले घरअगाडिबाटै बस चढ्न पाइएको छ,’ उनले भने, ‘पहिले बहादुरगन्ज–तौलिहवा मात्रै बस चल्थे, अहिले मुलुकभरिबाट यही बाटो भएर गाडी गुड्छन् ।’ हुलाकी सडक स्तरीय नभएका बेला कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत ओहोरदोहोर गर्ने मालवाहक र पर्यटक गाडी चन्द्रौटा हुँदै पूर्वतर्फ लाग्थे । अहिले बहादुरगन्जबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै जाने गरेको उनले बताए । यसले दूरीसँगै यात्रुको समय बचत भइरहेको उनले बताए ।
पूर्व–पश्चिम सञ्चालन हुने दिवा र रात्रिबस यही मार्ग भएर गुडिरहेका छन् । कपिलवस्तु र रूपन्देहीअन्तर्गत बीचका बजारमा यात्रु ओराल्ने र चढाउनुपर्ने भए मात्रै बस पूर्व–पश्चिम राजमार्ग भएर बुटवल पुग्ने गरेका छन् । बीचबाट यात्रु चढाउन र ओराल्न नपर्ने लामो दूरीका बस वैकल्पिक मार्ग भएर ओहोरदोहोर गर्छन् । कपिलवस्तु सदरमुकाम तौलिहवाका व्यवसायी गोपी शर्माले हुलाकी मार्ग भएर यात्रु, मालवाहक र निजी गाडीको ओहोरदोहोर बढेसँगै मानिसको आवागमन र चहलपहल बढेको बताए । बुटवल–बर्दघाट खण्डको कष्ट छल्न वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । लगत्तै बुटवल–गोरुसिङ्गे खण्ड ६ लेन विस्तारको काम थालनी हुने भएकाले हुलाकी मार्गमा गाडीको चाप बढ्ने उनले बताए । ‘सडकले नधान्ने अवस्था आउँछ,’ उनले भने, ‘अहिले नै गाडीको चाप धेरै भइसक्यो ।’
उनका अनुसार बहादुरगन्ज–तौलिहवा खण्ड फराकिलो छ । दुई लेन उक्त खण्डले केही हदसम्म गाडीको चाप थेग्न सक्छ । तर, तौलिहवा–लुम्बिनी खण्डमा अत्यधिक गाडीको चाप भएमा दुर्घटनाको जोखिम हुने भएकाले ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । बहादुरगन्जदेखि लुम्बिनीको बीचमा कपिलवस्तुका खुनुवा र कृष्णनगर नाकाबाट आउने मालवाहक र निजी गाडी थपिने भएकाले ट्राफिक अस्तव्यस्त हुन सक्ने उनले औंल्याए । ‘गाडीको ओहोरदोहोरले बजारमा चहलपहल बढेको छ, सुनसान बजार अहिले रातिसम्म जाग्ने गरेका छन्,’ उनले भने, ‘सर्वसाधारणले पनि लामो दूरीको यात्राका लागि घरअगाडिबाटै बस चढ्न पाइरहेका छन् ।’ उनका अनुसार यसअघि पूर्व–पश्चिम राजमार्गका कारण जिल्लाका उत्तरी क्षेत्रमा हुने चहलपहल हुन्थ्यो । वैकल्पिक मार्गको प्रयोगले दक्षिण क्षेत्रमा समेत त्यस्तै रौनक बढेको उनले बताए ।
पश्चिम नवलपरासीबाट भैरहवा आउजाउ गर्ने यात्रु पूर्व–पश्चिम राजमार्ग छाडेर बर्दघाटबाट दक्षिण चौपत्ता हुँदै नारायणचोक पुग्ने गर्छन् । नारायणचोकबाट पश्चिम १३ किलोमिटर हुलाकी सडकको यात्रा गरेपछि सदरमुकाम परासी बजार आइपुग्छ । त्यसपछि २४ किलोमिटरको दूरीमा भैरहवा पुगिन्छ । बुटवल जाने यात्रु पनि सहजताका लागि यही रुट भएर जाने गर्छन् । भित्री सडक भए पनि कालोपत्रे सडक र कालोपत्र नभएको स्थानमा पनि खाडल नभएको कारण यात्रुले वैकल्पिक मार्ग रोजेको बताउँछन् । ‘पूर्व–पश्चिम राजमार्गमा धूलो र हिलोले हिँडी नसक्नु छ । काम भएको स्थानमा सवारी जाम पनि हुने गर्छ । धूलो र जामको सास्ती खेप्नुभन्दा भित्री सडकमा यात्रा गर्न आनन्द आउँछ,’ बर्दघाटका देवीदत्त पौडेलले भने, ‘हामी स्थानीय मात्र होइन, लामो दूरीमा घुम्न आउने र आफ्नै सवारी भएका अधिकांशले अहिले वैकल्पिक मार्गको बढी प्रयोग गर्ने गर्छन् ।’
बर्दघाटबाट चौपत्ता, नारायण चोक हुँदै जमुनिया बजार, भटौलिया, मनहरी बजार हुँदै परासी पुगिन्छ । अझ छोटो बाटो जान्छु भन्नेहरू बर्दघाटबाट त्रिवेणी सडक हुँदै चौपत्ता बजारबाट जमुनिया निस्किएर हुलाकी सडक हुँदै परासी पनि निस्कन्छन् । हुलाकी मार्गको भटौलिमायामा चौधरी खाजा पसल सञ्चालन गर्दै आएका रवीन्द्र चौधरीका अनुसार पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हुलाकी सडकको प्रयोग बढेको छ । जसका कारण यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटकीय क्षेत्रको समेत प्रचार भएको छ । ‘मुख्य राजमार्गमा यात्रा गरिसक्नु छैन,’ उनले भने, ‘हुलाकी सडकमा केही स्थानमा कालोपत्र नभए पनि अधिकांश कालोपत्र भएको छ । भित्री सडक प्रकृतिको आनन्द लिँदै यात्रा गर्न रमाइलो हुने भएकाले निजी सवारी साधन भएकाले यो सडकको प्रयोग बढी गर्छन् । सार्वजनिक सवारीले पनि सडक अवरुद्ध हुँदा यही सडकको प्रयोग गर्ने गर्छन् ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख बजिरसिंह विष्टले बर्दघाटबाट दक्षिण हुलाकीमार्ग भएर सिधै चन्द्रौटा हुँदै ओहोरदोहोर गर्ने सवारीका साधन बढेकाले सडकमा ट्राफिक बढेको बताए । पूर्व–पश्चिम राजमार्ग विस्तारको कामले यात्रा असहज हुन थालेपछि दक्षिणका सडकको प्रयोग बढेको उनले बताए । पश्चिमका महेन्द्रनगर, धनगढी, नेपालगन्जबाट लामो दूरीमा चल्ने गाडी हुलाकी मार्ग हुँदै
ओहोरदोहोर गरिरहेका छन्,’ उनले भने, ‘बुटवललगायत राजमार्गका सहरमा यात्रु चढाउन र ओराल्न पर्ने भएमात्रै बुटवल हुँदै पूर्व–पश्चिम जान्छन् । नत्र वैकल्पक मार्ग
प्रयोग गर्छन् ।’ अधिकांश मालवाहक र निजी गाडीले वैकल्पिक मार्ग प्रयोग गरिरहेको उनले बताए । नयाँ बाटोमा ट्राफिक बढेपछि रूपन्देहीका धकदही, बेथरी, भैरहवा र लुम्बिनीमा ट्राफिक प्रहरी परिचालन गरेर व्यवस्थापनको काम भइरहेको उनले बताए ।

समाचार

दाउन्नेको विकल्प 'नयाँ सडक’

- कान्तिपुर संवाददाता


पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि हिउँद होस् या वर्षा यात्रुलाई सताउने गर्छन् । सडक विस्तार गर्न लागिएकाले यो खण्ड चालक र यात्रुको टाउको दुखाइ बन्दै आएको छ । अहिले यसको विकल्पका रूपमा पश्चिम नवलपरासीको बर्दघाटमा सडक निर्माण सुरु भएको छ । बर्दघाट नगरपालिकादेखि गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास जोड्ने गरेर सडक निर्माणको काम सुरु भएको हो । बर्दघाट–१० देखि पहाडी क्षेत्र जोड्नका लागि पहुँच मार्गका रूपमा विस्तार गर्न लागिएको यो सडक निर्माण सुरु भएपछि दाउन्ने सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग हुनेछ । दाउन्ने खण्डमा पहिरो तथा अन्य कारणले सडक अवरुद्ध हुँदा घण्टौं जाम हुने समस्याबाट छुटकाराका लागि यो सडकलाई बहुवर्षीय योजनाका रूपमा पक्की सडक निर्माण गर्न लागिएको हो ।
पहाडी बाटोमा वर्षामा भलपानी र पहिरोले सडक बगाउने तथा हिउँदमा समेत सुक्का पहिरो जान थालेपछि सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । बर्दघाट नगरपालिकाको विकट पटुके बस्तीका स्थानीयलाई नगरपालिकाको केन्द्रसम्म पहुँच पुर्‍याउनका लागि केही वर्षअगाडि कच्ची सडक निर्माण गरिएको थियो । अहिले त्यही सडकलाई पक्की निर्माण गरेर वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न लागिएको हो । बर्दघाट–१०, भुताहादेखि विनयी त्रिवेणीको दुम्कीबाससम्म १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । चालु आर्थिक वर्षमा ४ किलोमिटर सडक निर्माणको काम हुनेछ । बाँकी निरन्तर रूपमा सडक निर्माणलाई अगाडि बढाइने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘नगरपालिकाभित्रकै सेवाग्राही नगरपालिकाको केन्द्रसम्म आउन कठिनाइ भएको अवस्था थियो । अब यो सडकले नगरबासीलाई मात्र होइन, लुम्बिनी र गण्डकी प्रदेशलाई नै जोड्ने काम गर्नेछ,’ उनले भने, ‘दाउन्ने सडकको विकल्प अत्यावश्यक थियो, सडकलाई लुम्बिनी र गण्डकी प्रदेश जोड्ने फास्ट ट्र्याकका रूपमा समेत लिइएको छ ।’

समाचार

मलेसिया गएका थापा १२ वर्षदेखि बेखबर

- केदार शिवाकोटी

(दोलखा)
चाडबाड होस् या अभिभावक दिवस, अरूका बुबा देख्दा सीता थापा आफ्नो बुबा सम्झेर भक्कानिन्छिन् । कालिञ्चोक गाउँपालिका–६ लेप्टुङकी सीता २ वर्षकी छँदा बुबा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनी १६ वर्ष पुगिन्, अझै बुबाको अत्तोपत्तो छैन ।
२०६६ सालमा रोजगारीका सिलसिलामा मलेसिया गएका ४० वर्षका मानबहादुर थापा १२ वर्षदेखि बेपत्ता छन् । मलेसिया गएको २ वर्षसम्म उनले घरमा रकम पनि पठाए । त्यसपछि भने सम्पर्कविहीन छन् । ‘अरूका बुबाले हात समातेर स्कुल लैजाँदा मेरा पनि बुबा छन् भन्ने लाग्छ, आमासँग बुबा खोइ भन्दै रुन्थें,’ सीताले भनिन्, ‘अझै पनि बुबा फर्किनु हुन्छ जस्तो लाग्छ ।’ बुबा नहुँदा सानै उमेरबाट निकै कष्ट सहनुपरेको उनले बताइन् । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् ।
लामो समयदेखि मानबहादुर सम्पर्कमा नआएपछि उनका बुबा इन्द्रबहादुर छोरा खोजिदिन भन्दै विभिन्न निकायमा धाए । छोरा खोजिदिने भन्दै उनी धेरै पटक दलालको चंगुलमा समेत फसे । यस क्रममा ७ लाख रुपैयाँजति खर्च भएको उनी सुनाउँछन् । उमेर ७० टेक्नै लागेका उनी छोरो खोजिदिन आग्रह गर्दै अहिले पनि सरकारी निकाय धाइरहेका छन् । ‘घरको जेठोबाठो छोरा कमाउन विदेश गएको थियो । सम्पर्कमा नआएको १२ वर्ष भयो,’ उनले भने, ‘छोरा खोज्दै भौंतारिएर कहिले दलाल त कहिले सरकारी अड्डा धाएँ, कतैबाट पहल भएन ।
छोरा खोजिदिने नाममा दलालले धेरै दुःख दिएको उनले बताए । ‘काठमाडौंबाट तपाईंको मान्छे भेटियो, पैसा बोकेर आउनु भन्छन्,’ उनले सुनाए, ‘ऋण गरेर छोरो लिन जान्छु तर दलालले रकम दिएपछि मात्रै छोरो फिर्ता हुन्छ भनेर झुक्याउँछ ।’ पटक–पटक आफू र बुहारीलाई छोरो भेटियो भन्दै काठमाडौं बोलाएर दलालले रकम माग्दै रित्तो हात फर्काउने गरेको उनले गुनासो गरे । दलालले कति पटक अस्पताल लगेर तपाईंको छोराको शव हो भन्दै चिनाउने गरेको उनले सुनाए । ‘कति पटक तपाईंको छोराको शव आउँदै छ, लिन आउनु भनेर पनि दलालले फोन गरेर बोलाउँथ्यो,’ उनले भने, ‘हतास हुँदै काठमाडौं पुग्थें तर रकम अभावमा आउन पाएन भनेर फर्काइन्थ्यो ।’ यति रकम भए छोरा फर्काउने भन्दै रकम खोज्न घर फर्काउने गरेको पनि उनले बताए । १२ वर्षदेखि यसरी नै आफूलाई दलालले दुःख दिएको उनले बताए । पैसा सबै सकिएपछि उनी एक वर्षदेखि थाकेका छन् ।
मानबहादुरकी आमा इन्द्रकुमारी कोही झोला बोकेर गाउँ आए छोरो फर्क्यो कि भनेर टोलाउँछिन् । ‘आज आउँछ कि भोलि आउँछ भनेर बाटो हेरेर बस्छु,’ उनले भनिन्, ‘मनमा सन्तोक छैन, दिमागले काम गर्न छाडिसक्यो, छोरोको यादमा आँखाको पानी पनि सुकिसक्यो ।’
२०६६ सालमा खुम्बु ओभरसिज म्यानपावरबाट रोजगारीका लागि मानबहादुर मलेसिया गएका थिए । हाल उक्त म्यानपावर कम्पनी सञ्चालनमा छैन । इन्द्रकुमारीका ३ छोरामध्ये उनी जेठा हुन् । नाबालक २ छोरी छोडेर रोजगारीका लागि मलेसिया गएका उनी उतै बेपत्ता भएपछि श्रीमती कमलाले निकै कष्ट सहेर छोरी हुर्काएको बताइन् । श्रीमान् खोज्न ऋण काढेर ससुरा–बुहारी १२ वर्षदेखि राज्यका हरेक निकायमा धाएको उनले बताइन् । ‘पैसा नभएका कारण एक वर्ष भयो, श्रीमान्को खोजी गर्न छाडेको,’ उनले भनिन्, ‘ऋण काढेको पैसा तिर्न सकेका छैनौं, श्रीमान् खोज्न अब कसले ऋण दिन्छ ?’

 

Page 4
युवा ग्यालरी

सेलिब्रेटी बारिस्टा

- नवीन पोखरेल

(लन्डन)
बेलायती सेनामा भर्ती हुने सपना पूरा नभएपछि धन तामाङलाई देशमा बस्नै मन लागेन । सन् २००५ को कुरा हो, २० वर्ष मात्रै टेकेका थिए उनले । जसरी हुन्छ विदेश जाने भूत सवार भएपछि म्यानपावर कम्पनी खोजे । खाडी मुलुक कुवेत जान कम्पनीलाई दुई लाख रुपैयाँ बुझाए ।
मेनपावर कम्पनीले २० हजार तलब हुने आशा देखाएपछि २००६ मा कुवेत गए तामाङ । सुरुमा दुई महिना त उनले काम नै पाएनन् । कारण, बिदेसिनुअघिको अन्तर्वार्तामा उनले कफी बनाउन आउँछ भनेर ढाँटेका थिए । कफीको धुलो दूध र पानीमा घोलेर बनाउने होला भन्ने थियो उनलाई ।
तर कुवेत पुगेपछि मात्र उनलाई कफिका प्रकारबारे थाहा भयो । लाट्टे, क्यापाचिनो, अमेरिकानो जस्ता नाम उतै सुनेको उनले स्मरण गरे । त्यसपछि भने उनको कफी यात्रा सुरु भयो कुवेतबाट । अमेरिकी कफी चेन यूएस ग्रीन बिन्सको आउटलेट थियो । ७० केडी (करिब १७ हजार रुपैयाँ) तलबमा दुई वर्ष काम गरेपछि भने उनले धेरै सिके । तर खाडी मुलुकमा कामको चाप र गर्मीमा उनी लामो समयसम्म भने टिक्न सकेनन् ।
दुईवर्षको कन्ट्र्याक्ट सकिएपछि २००८ मेमा नेपाल फर्किए तामाङ । नेपाल फर्कंदा ह्यान्ड बुकहरू लिएर गएका थिए । नेपालमा आफैंले कफी बनाउन सिकाउन थाले, काम पनि गरे । पछि आफ्नै ह्यान्ड बुक निकाले । गेट कलेज धुम्बाराही र ठमेलको द फ्याक्ट्रीमा सिकाउन पनि थाले । राति बार टेन्डरको काम पनि गर्थे ।
काभ्रे तिमालमा जन्मिएर त्यहीं हुर्किएका हुन् तामाङ । एसएलसी सकेर २०५८ सालमा काठमाडौं गएपछि चार वर्षजति त्यहाँ बसेर पढाइ, काम गर्न थाले । ठहिंटीको हिरालाल क्याम्पसमा पढाइ थियो, काम ठमेलको एउटा कार्गोमा । त्यतिखेर मासिक तलब आउँथ्यो करिब दुई हजार पाँच सय रुपैयाँ ।
सन् २०१० फेब्रुअरीमा विद्यार्थीको डिपेन्डेन्टमा बेलायत आए उनी । लन्डन उत्रिएपछि जिन्दगीको अर्को च्याप्टर सुरु भयो, जिरोबाट । बेलायतमा काम गरेपछि कुवेत, नेपालभन्दा त बढी पैसा आउँथ्यो तर विद्यार्थी जीवन धेरै संघर्षपूर्ण थियो । नेपालबाट आउँदा लिएको २० लाख रुपैयाँ ऋण तिर्नुपर्ने थियो ।
गाउँको सरकारी विद्यालयमा पढेकाले अंग्रेजी भाषामा समस्या हुने नै भयो । अंग्रेजी सिक्न अंग्रेजी मुभी हेर्न थाले, लाइब्रेरीमा गएर अंग्रेजीका किताब पढ्न थाले । काम र अवसरको खोजीमा उनले बेलायतका हेस्टिङ, वुलबिच, प्लमस्टिड र हन्स्लो वेस्ट चहारे । काम चाहिँ आएदेखि नै कफी सपमा गर्ने धोको थियो ।
सुरुमा गेल्स् बेकरीमा काम थालेको डेढ वर्षमै असिस्टेन्ट म्यानेजर बने । यही सिलसिलामा सन् २०११ को सुरुतिर हन्स्लो वेस्ट रेल स्टेसन छेउमा नेपलिज मःम बनाएर बिक्री गर्न पनि थाले । दिनमा करिब एकसय प्लेट मःम बिक्थ्यो । ८ महिनाजति मःम बेचेर पैसा राम्रै कमाइ भयो । तर, मुख्य भिजा समस्या छँदै थियो ।
भिजा सकिन लागेको चिन्ता थियो । अवसरको खोजीमा भौंतारिरहँदा सन् २०११ नोभेम्बरमा विनचेस्टर सरे । लन्डनमा बसेर अंग्रेजी पनि नसिकिने देखेपछि उनले इंग्ल्यान्डको विनचेस्टर जाने सोच बनाएका थिए । यही बेला क्याराकोली कफी हाउसले राम्रो जागिरको अफर गरयो, वर्क परमिट (टियर टु भिजा) पनि दिन्छु भन्यो । बस्ने प्ल्याट पनि । हाइ स्ट्रिटमा तल पसल थियो, माथिल्लो तलामा बस्ने आवासगृह ।
उक्त कफीले दोस्रो पसल खोल्दै थियो उनले मौका पाइहाले । जागिर पनि हेड बारिस्टाका रूपमा थियो । सन् २०१३ मा ब्रान्च म्यानेजर भए । त्यही वर्ष लन्डन कफी फेस्टिबलमा यूके लाट्टे आर्ट च्याम्पियनसिप भएको थियो, उनी च्याम्पियन बने । उक्त टाइटिल हरेक बारिस्टाले देख्ने सपनामध्ये एक थियो । यो उनको लाइफको ‘यू टर्न’ पनि बन्यो । कुनै बेला लन्डन कफी फेस्टिबलमा सेलिब्रेटी हेर्न जान्थे उनी । जितेपछि त अरू आएर उनको फोटो खिच्न थाले । बीबीसीदेखि कयौं म्यागेजिन, लोकल रेडियो पत्रपत्रिकामा अन्तर्वार्ता छापिए, प्रसारण भए । काममा तलब पनि बढ्यो । त्यसपछि फ्रान्समा भएको वर्ल्ड लाट्टे आर्ट च्याम्पियनसिपमा भाग लिन गए धन । त्यो पनि अरूले नै सबै खर्च बेहोरिदिएर । उक्त प्रतियोगितामा उनी विश्वभरका बारिस्टासँग प्रतिस्पर्धा गर्नु परेको थियो, २४ औं परे । सन् २०१६ मा चीनको सांघाईमा भएको विश्व च्याम्पियनमा उनी ४ नम्बरमा पर्न सफल भएका थिए । यूकेबाट पहिलो पटक उनी नै त्यो स्थानमा पुग्न सफल भएका थिए ।
उनले ‘यूके लाट्टे आर्ट च्याम्पियनसिप’ मा लगातार ६ वर्ष टाइटिल जिते । यसपछि उनी कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् २०१६ मार्चमा आफैंले सानो कफी सप कफी ल्याब यूके खोले विनचेस्टरमा । आफैंले सप खोल्नुको प्रेरणा पछाडि रोचक प्रसंग रहेछ । सन् २०१५ मा स्वीडेनमा वर्ल्ड लाट्टे आर्ट च्याम्पियनसीपमा जांदा उनी त्यतैबाट कोपेनहेगन घुम्न गए । एउटा कफी सपमा छिरेपछि सामान्य लगानी र ठाउँमा कफी सप राम्रोसँग चलेको देखे । उनलाई लाग्यो कफी सप खोल्न लाखौं पाउन्ड मात्र चाहिने रहेनछ । आँट, सीप भए त हुने रहेछ । अब जसरी पनि खोल्छु भनेर बेलायत फिर्ता भएका उनले विजनेरु सुरु गरेको पहिलो वर्ष नै ५ वटा कफी सप खोले विनचेस्टर, साउथ
ह्याम्पटन लगायत सहरमा ।
कोभिड अगाडि उनका १३ वटा कफी सप, एउटा बेकरी र एउटा डिटी कफी रोस्ट्री थियो । तर, कोभिड महामारी अरू जस्तै उनको व्यवसायका लागि अभिसाप बन्यो । लकडाउनमा ती पसल सबै बन्द गर्नुपर्‍यो । लकडाउन पछि फेरि व्यवसाय खोल्न थप चुनौती भयो । विगत जस्तो निरन्तरता दिन सकेनन् र ९ वटा सप बन्द गरे । धन कोभिड महामारीका कारण
आफ्नो झन्डै दुई मिलियन पाउन्ड बढी घाटा भएको स्मरण गर्छन् ।
व्यवसायमा चुनौती त हुन्छ नै । तर उनले हरेस खाएनन् । सन् २०२१ मा ठूलो लगानीमा विनचेस्टर र इप्सबीचमा दुईवटा कफी सप कफी ल्याब यूके नाममा खोले । एकपछि अर्को संकट थोपरिँदै गएपछि गत वर्ष कफी ल्याब यूकेको सिइओबाट राजीनामा दिएर उनले आफ्नो सबै सेयर बेच्ने निधो गरे ।
त्यसरी सेयर बेचेर राजीनामा दिएपछि बेलायती कानुनअनुसार एक वर्ष नयाँ व्यवसाय खोल्न मिल्दैन । २०२२ देखि २०२३ को दुई वर्ष अवधिमा उनले विश्वका हरेक कफी महोत्सवको यात्रा गरे । कफी फेस्टिबलकै लागि झन्डै ५० वटा देश पुगेको बताउँछन् उनी ।
तामाङ अहिले पनि ५ वटा कम्पनीमा ग्लोबल ब्रान्ड एम्बास्डर भएर काम गरिरहेका छन् । कोन्टी नामक फ्रेन्च कफी मेसिन उत्पादक कम्पनी, फ्रेन्चकै १८८३ सिरप कम्पनी, ब्यारी क्यालिबाउ, रुड हेल्थ र लाट्टे आर्ट फ्याक्ट्रीका ब्रान्ड एम्बास्डर हुन् उनी । कोस्टा, प्रेट अ म्यान्जर, डंकिन डोनोट आदि फ्रेन्चाइजमा कन्सल्टिङको काम पनि गर्छन् धन । मेकालेन ह्वीस्की, स्नाप च्याटसँग पनि कोलाब्रेसन गरेको अनुभव छ उनीसँग । उनले कफी बनाउने तरिका सिकाउनेमात्र होइन, रेसिपी, बिजनेस प्लान पनि गर्ने गरेको सुनाए ।
यही वर्ष विनचेस्टरमा ६ हजार स्क्वायर फिट क्षेत्रफलमा भवन बनाएर उनले खोल्नेछन् नयाँ व्यवसाय । उक्त कफी सप साउथ इंग्ल्यान्डकै ठूलो हुने दाबी उनको छ । कभी सप तीन तलाको हुनेछ । तल कफी बार, दोस्रो र तेस्रो तलामा कफी बनाउन सिकाउने स्कुल रहने उनले सुनाए । उक्त बिजनेस नेपालीमूलका काउन्सिलर धनबहादुर सार्कीसँगको पार्टनरसिपमा खुल्न लागेको हो ।
बेलायतमा जुन कुनामा पनि अवसर देख्छन् उनी, यत्ति हो लगाव र सीप चाहिन्छ । उनी आफूलाई कति सफल मान्छन् ? ‘मानिसलाई पैसा जति भए पनि पुग्दैन । पैसा र नामले मात्र पनि सफल हुने होइन्, खुसी पनि सफलता हो’, उनले भने, ‘टाइटिल, बिजनेस त एउटा जीवनको जर्नी हो । गन्तव्यमा पुग्न हिँडिरहनुपर्छ ।’
धनले सन् २०१७ मा ‘कफी आर्ट’ नामक किताब निकाले जुन संसारभर पुगेको छ । १० पाउन्ड पर्ने उक्त किताब ७ वटा भाषामा उपलब्ध छ । अंग्रेजी, फ्रेन्च, डच, जर्मन, हंगेरीयन, चाइनिज र इन्डोनेसियन भाषामा प्रकाशित किताब अमेजनमा कफी र बेभरेज सेक्सनमा वेष्ट सेलर छ । विश्वभर करिब दुई लाख प्रति बिकेको उनले सुनाए ।
कफी आर्ट र कन्सेप्टमा केन्द्रित छ उक्त किताब । ’कफी आर्ट कोर्ने मात्र होइन, टेकनिक पनि हो,’ उनले भने, ‘नौलो कन्सेप्ट भएकाले किताब पपुलर भयो । यसबाट कफी लभर, बारिस्टाहरूले धेरै सिक्न पाएका छन् ।’
धनको ‘कफी आर्ट मास्टर क्लास’ भन्ने अर्को पुस्तक हालै प्रकाशनमा आएको छ । पुस्तक अक्टोपस पब्लिसिङ ग्रुपले बजारमा ल्याएको हो । बेलायतमा कफी पिउने संस्कार बढी भएको र यो बिजनेस एक दशकयता नेपालमा पनि निकै छिटो बढेको उनको बुझाइ छ ।
गत जुलाईमा नेपाल कफी प्रोड्युसर एसोसिएसनले पहिलो पटक आयोजना गरेको नेपाल बारिस्टा च्यापियनसिप र नेपाल लाट्टे आर्ट च्यापियनसिपमा उनी चिफ जज बनेर गएका थिए । नेपालमा पनि कफी कल्चर बढिरहेको उनले सुनाए । ३७ वर्षीय धन श्रीमती कमला लामा र ४ वर्षीय छोरा केल्साङका साथ विनचेस्टरमा बस्छन् ।

 

युवा ग्यालरी

बोरिस यल्तसिनको जन्म

- कान्तिपुर संवाददाता


सन् १९३१ मा आजकै दिन (फेब्रुअरी १) मा रुसका पूर्वराष्ट्रपति बोरिस यल्तसिनको जन्म भएको थियो । यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । १९९१ जुन १२ मा राष्ट्रपतिमा निर्वाचित भएका यल्तसिनले १९९९ सम्म पदभार सम्हालेका थिए ।
यल्तसिन रूसमा लोकतन्त्रको जग बसाल्ने महान् नेताका रूपमा परिचित छन् । सोभियत संघको विघटनसँगै रुसमा १९९१ को मार्च १७ मा भएको जनमतसंग्रहले राष्ट्रपति पदको व्यवस्था गरेको थियो । त्यसपछि भएको पहिलो निर्वाचनमा उनी विजयी भएका थिए । यल्तसिनले आफ्नो दोस्रो कार्यकाल बाँकी छँदै १९९९ को डिसेम्बर ३१ मा राजीनामा दिएका थिए । दोस्रो कार्यकाल निर्वाचित भएपछि क्रमशः लोकप्रियता गुमाउँदै गएका यल्तसिनको राजीनामाले अधिकांश रुसी नागरिकहरू खुसी भएको सर्वेक्षणहरूले उल्लेख गरेका थिए । टेलिभिजनमार्फत सम्बोधन गर्दै यल्तसिनले आफ्नो प्रशासनले रुसमा सांस्कृतिक, राजनीतिक र आर्थिक स्वतन्त्रताको प्रत्याभूति गरेको दाबी गरेका थिए । उनको २००७ अप्रिल २३ मा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

युवा ग्यालरी

'पुजार सार्की’मा जातीय विभेदविरुद्ध संघर्ष

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– दिनेश राउतले निर्देशन रहेको फिल्म ‘पुजार सार्की’को छायांकन सुरु भएको छ । जातीय विभेदविरुद्ध कम्युनिस्ट नेताले गर्ने संघर्षको कथावस्तुमा आधारित फिल्मको छायांकन पोखराको कास्कीकोटबाट सुरु भएको हो । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का लगायतको अभिनय रहेको छ ।
विकास सुवेदीले लेखेको फिल्मको सबै छायांकन कास्कीकोटमै हुने निर्देशक राउतले बताए । फिल्मले जातीय विभेदविरुद्धको संघर्षको कथा पेस गर्ने राउतले बताए । फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बू पनि अभिनय गर्दै छन् । बराइलीले यसअघि ‘महापुरुष’ र परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’ मा अभिनय गरिसकेका छन् । त्यसबाहेक फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीलगायतको अभिनय रहनेछ ।

Page 5
समाचार

अनुदानको बजेटमा बयलपाटा अस्पताल र सरकारबीच 'माथापच्ची’

- अर्जुन शाह

(धनगढी)
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयलपाटा अस्पताल पक्षधर र सुदूरपश्चिम प्रदेश सरकारबीच बजेट मागको विषयलाई लिएर ‘माथापच्ची’ चलिरहेको छ । तीन वर्षदेखि प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान रकम यस वर्ष रोकिँदा सेवा नै प्रभावित हुने अवस्था आएको भन्दै अस्पताल व्यवस्थापन र अछामका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले सामूहिक सरोकार राखिरहेका छन् । यता प्रदेशस्थित सरकारी पक्षले भने आठ महिनादेखि उनीहरूलाई अलमल्याउँदै आएको छ ।
राजनीतिक दबाबमा परेर मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री झपटबहादुर साउदले रकम दिन्नौं पनि भन्न सकेका छैनन् । राजनीतिक नेतृत्वले आश्वासन दिए पनि सम्बन्धित सामाजिक विकास मन्त्रालयका अधिकारीहरूले यस बेला नयाँ शीर्षक खडा गरेर बजेट विनियोजन गर्ने कुनै आधार नभएको जिकिर गर्दै प्रक्रिया नै अघि बढाउन मानेका छैनन् । बयलपाटा अस्पताल सुदूरपश्चिमकै नमुना मानिन्छ । न्याय हेल्थ नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित यो अस्पताललाई यसअघिका तीन आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । २०७७/७८ मा ७ करोड, २०७८/७९ मा ८ करोड र गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड दिएको थियो । अस्पतालले उक्त रकम त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको पारिश्रमिकमा खर्च गरेको थियो । तर, यस वर्ष प्रदेशमा स्वास्थ्य क्षेत्रको तालुकदार निकायका रूपमा रहेको सामाजिक विकास मन्त्रालयले भने चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मात्र विनियोजन गर्‍यो । त्यो पनि अस्पतालको मागभन्दा फरक शीर्षकमा ।
बजेट विनियोजन नभएपछि अछामस्थित सम्पूर्ण राजनीतिक दलका नेता एकढिक्का भएर ८ महिनादेखि प्रदेश सरकारसँग विभिन्न तहमा डेलिगेसन गइरहेका छन् । यता, सरकारले भने अहिलेसम्म रकम दिन्नौं पनि भनेको छैन र दिने निर्णय पनि गर्न सकेको छैन । ‘मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूसँग पटक–पटक वार्ता, छलफल भएका छन् । उहाँहरू हामी पैसा दिन तयार छौं, दिन्छौं भन्नु हुन्छ तर निर्णय गर्न सक्नु हुन्न,’ प्रदेश सरकारसँगका छलफलमा सहभागी हुँदै आएका एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले भने, ‘परिस्थिति जटिल बन्दै गएको छ ।’
मुख्यमन्त्री शाहसहित मन्त्रीहरू पनि बयलपाटा अस्पताललाई रकम दिन चाहेको बताउँछन् । ‘तर आर्थिक वर्षको बीचमा आएर नयाँ शीर्षक सिर्जना गरेर चालुतर्फ रकम विनियोजन गर्न कानुनी अड्चन देखिएकाले सकस भइरहेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘बयलपाटा अस्पतालले उत्पन्न गरेको तनावको घेरामा छौं ।’ बयलपाटा अस्पतालले कार्यरत कर्मचारीको तलब शीर्षकमा खर्च गर्ने गरी रकम माग गरिरहेको छ । तर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरू गैरसरकारी संस्थाले सञ्चालन गरिएको अस्पतालका कर्मचारीको पारिश्रमिकका लागि सरकारले पैसा दिनै नमिल्ने अडानमा छन् । ‘गैरसरकारी संस्थाका कर्मचारीलाई तलब खुवाउन सरकारले पैसा दिने प्रक्रिया अघि बढाउन सक्दैनौं,’ मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले भने, ‘त्यसो गरे हाम्रो हातमा हतकडी लाग्छ । त्यो जोखिम मोल्न म तयार छैन ।’ यता, अस्पताल व्यवस्थापन र अछामस्थित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू भने निमित्त सचिव सिंहको तर्कसँग सहमत छैनन् । उनीहरू भन्छन्, ‘त्यसो हो भने विगतका तीन वर्षमा प्रदेश सरकारले मागेकै शीर्षकमा कसरी रकम दियो त ?’
बयलपाटा अस्पताल पक्षधरको उक्त तर्कमा निमित्त सचिव सिंह विगतका वर्षमा विनियोजित रकमका विषयमा उजुरी परे उक्त निर्णय गर्ने अधिकारीले समेत कानुनी कठघरामा उभिनुपर्ने अवस्था रहेको बताउँछन् । उनले विगतमा गएको रकम बेरुजु रहेको बताए । अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीसहित कर्मचारीको पारिश्रमिकका लागि यस वर्ष साढे ६ करोड अपुग भएको बताएको छ । ‘प्रदेश सरकारले उक्त रकम नदिने हो भने कर्मचारी कटौती भएर अस्पतालको सेवा प्रभावित हुन्छ,’ अस्पतालका व्यवस्थापक हेम विकले भने, ‘अस्पताल सञ्चालनका लागि वार्षिक २३ करोड आवश्यक पर्छ । अपुग रकम न्याय हेल्थ नेपालले जुटाइरहेको छ ।’ यतिबेला नयाँ शीर्षक सिर्जना गरेर रकम विनियोजन गर्न प्रदेशसभाले पारित गरेको विनियोजन ऐन, आर्थिक कार्यविधि, सुशासन ऐनका प्रावधान र अख्तियार दुरपयोग अनुसन्धान आयोगको पछिल्लो निर्देशनविपरीत हुने भएकाले कुनै पनि कर्मचारीले जोखिम लिन नसक्ने एक अधिकृत बताउँछन् । ती अधिकृतका अनुसार सामाजिक विकास मन्त्रालयका सचिवले फाइल तयार नगरेपछि राजनीतिक दबाबमा मुख्यमन्त्रीले रकम विनियोजन गर्न क्याबिनेटमा ठाडो प्रस्ताव लैजानुपर्ने हुन्छ । त्यस अवस्थामा क्याबिनेटले निर्णय गरे पनि प्रमुख सचिवले उक्त निर्णय प्रमाणित नगर्दासम्म कार्यान्वयन सम्भव हुँदैन । स्रोतका अनुसार पारिश्रमिक शीर्षक सिर्जना गरेर रकम विनियोजनको निर्णयमा प्रमुख सचिवसमेत सहमत छैनन् ।
‘बजेटमा भएको शीर्षकमा रकम अपुग भयो भने आवश्यकता र औचित्य पुस्ट्याइँ गरेर सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा रकम माग्न सक्छ तर कर्मचारीलाई पारिश्रमिक दिने प्रयोजनका लागि रकम विनियोजनको टिप्पणी सामाजिक विकास मन्त्रालयका कुनै पनि कर्मचारीले गर्ने देखिँदैन,’ ती अधिकृतले भने, ‘विगतमा अख्तियारले खर्चमा मात्रै हेर्ने गर्थ्यो । तर, अहिले त बजेट विनियोजनका प्रक्रियामा पनि हेर्न थालियो । तत्कालीन समयमा अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख रहेका बेला सचिव मधु मरासिनीले कानुनविपरीत काम गरेको भन्दै उनीमाथि गत असोजमा मुद्दा चलेपछि अहिले बजेट विनियोजनमा कुनै पनि कर्मचारीले जोखिम लिने अवस्था छैन ।’ अछामका जनप्रतिनिधिहरू भने जुनसुकै तरिकाले पनि प्रदेश सरकारले बजेट दिनुपर्ने जिकिर गरिरहेका छन् । प्रदेशसभा सदस्य मेघराज खड्का, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर, पूर्वनगर प्रमुख कुलबहादुर कुँवरले दर्जनौं पटक प्रदेश सरकारका पदाधिकारीसँग वार्ता गर्दा पनि परिणाम नआएकाले कठोर कदम चाल्न बाध्य भएको बताए । यसबीचमा बयलपाटा अस्पताललाई रकम दिन प्रदेश सरकारले नयाँ जुक्ति निकाल्दै गठन आदेश जारी गरेर मातहत लिने प्रक्रिया पनि सुरु गरेको थियो । सामाजिक विकास मन्त्रालय निमित्त सचिव गणेशबहादुर सिंहले न्याय हेल्थका प्रतिनिधिहरूले आफ्नो बहुमत चाहिने भएपछि गठन आदेश प्रक्रिया पनि अघि बढ्न नसकेको बताए । यता, बयलपाटा अस्पतालका व्यवस्थापक विक निमित्त सचिव सिंहले ‘सफेद झूट’ बोलेको आरोप लगाउँछन् । ‘त्यो वाहियात आरोप हो । हामीलाई त बयलपाटा अस्पतालको सबै जिम्मेवारी प्रदेश सरकारले लिन तयार हो भने पनि आपत्ति छैन,’ उनी भन्छन् ।
चालु आर्थिक वर्षको बजेटमा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत ५० लाख पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेको छ । मन्त्रालयका निमित्त सचिव सिंह उक्त शीर्षकमै रकम अपुग भएको हो भने थप रकम दिन सकिने बताउँछन् । तर, अस्पताल पक्षले पुँजीगत शीर्षकमा जति रकम दिए पनि काम नभएको बताइरहेको छ । सामाजिक विकास मन्त्रालयलगायत सम्बद्ध मन्त्रालयका अधिकारीहरू बयलपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरू संख्या र उनीहरूको पारिश्रमिक सरकारी सेवाका कर्मचारीभन्दा कैयौं गुणा माथि रहेको भन्दै त्यसप्रति पनि नकारात्मक छन् । ‘बयलपाटा अस्पतालका कर्मचारीहरूको तलब धेरै छ । प्रदेश सरकारले के आधारमा त्यो बेहोर्न सक्छ ?,’ प्रदेश सरकारका एक अधिकृतले भने ।
प्रदेश सरकार र बयलपाटा अस्पतालबीच २०७९ भदौ ३१ गते सम्झौता भएको थियो । प्रदेश सरकारले जिल्ला अस्पतालहरूसरह औषधि र सामग्रीहरू बयलपाटा अस्पताललाई पनि उपलब्ध गराउने व्यवस्था सम्झौतामा छ । तर, उक्त सम्झौताको बुँदा नम्बर ३.२ मा अस्पतालको सेवा निःशुल्क हुने, निःशुल्क सेवाको मापदण्ड अस्पतालले निर्धारण गर्ने र त्यसको प्रशासनिक र आर्थिक दायित्व बयलपाटा अस्पतालले लिने उल्लेख छ । यस्तै, बुँदा नम्बर ६.१ मा जनशक्तिको कारणले प्रदेश सरकारलाई तत्काल र भविष्यमा कुनै थप आर्थिक दायित्व सिर्जना नहुने उल्लेख छ । सम्झौताको बुँदा १२.१ मा अस्पतालको सञ्चालन समितिसम्बन्धी व्यवस्था गरिएको छ । ११ सदस्यीय सञ्चालक समितिमा साँफेबगर नगरपालिकाका प्रमुख अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत, स्वास्थ्य कार्यालय अछामका प्रमुख, न्याय हेल्थका दुई जना, समाजसेवी चार जना र सदस्य–सचिव बयलपाटा अस्पतालका प्रमुख रहने व्यवस्था गरिएको छ ।
न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले बयलपाटा अस्पताल सञ्चालन गरिरहेको छ । यो अस्पताल देशकै नमुना अस्पताल मानिन्छ । २०६५/६६ को अछाम जिल्ला परिषद्बाट बयलपाटामा यो अस्पताल सञ्चालन गर्ने पहल भएको हो । अस्पतालका अनुसार वार्षिक १ लाख बढी बिरामीलाई यस अस्पतालले सेवा प्रदान गर्दै आएको छ । सम्पूर्ण सेवाहरू निःशुल्क उपलब्ध हुने यस अस्पतालमा अछाम, बाजुरा, डोटी, दैलेख, मुगु, हुम्लाका बिरामी सेवा लिन आउने गर्छन् । अस्पतालका व्यवस्थापक विकका अनुसार कुल १ सय ९४ कर्मचारी कार्यरत रहेको यस अस्पतालमा बहिरंग सेवा तथा २४ सै घण्टा अन्तरंग सेवा, आकस्मिक सेवा, प्रयोगशाला तथा एक्सरे सेवा उपलब्ध छ ।

समाचार

नेपाली सांसद टोली दिल्लीमा

- कान्तिपुर संवाददाता

(नयाँदिल्ली)
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका आठ जना सांसद भारत भ्रमणमा आएका छन् । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा नेपाली समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदको टोली नयाँदिल्ली
आएको हो ।
सभापति यादवले भारतको संसद् तथा समितिहरूले कसरी काम गरिरहेको छ भन्नेबारे प्रत्यक्ष अनुभव बटुल्ने उद्देश्यले यो भ्रमण भएको बताए । भारतले यतिका वर्षमा व्यवस्थापिकाको कार्य कसरी गरिरहेको छ, त्यसबारे जान्ने, बुझ्ने तथा अनुभव साटासाटका लागि भ्रमण उपयोगी हुने उनको भनाइ छ । नेपाली टोलीले बुधबार भारतको नयाँ संसद् भवनको अवलोकन तथा लोकसभा अध्यक्ष ओम बिड्लासँग भेटेका छन् । त्यसबाहेक संसद्का अन्य पदाधिकारी तथा विदेश मामिला समितिसँग अन्तरर्क्रिया भएको सांसद हरि उप्रेतीले बताए ।
नयाँ संसद् भवनमा माथिल्लो सदन राज्यसभा तथा तल्लो सदन लोकसभाको भ्रमण र त्यसबारेको जानकारी नेपाली टोलीलाई गराइएको छ । दुई देशबीचको सांस्कृतिक, धार्मिक, ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन दुवैतिरका विधायिकाले पनि योगदान गर्नुपर्ने भारतीय लोकसभाका अध्यक्ष बिड्लासँगको भेटमा कुराकानी भएको उप्रेतीले जानकारी दिए । उनले सांसदबीच दुई पक्षीय भ्रमणको आदानप्रदान, अनुभव साटासाटको क्रमलाई बढाउने सन्दर्भमा पनि कुराकानी भएको बताए ।
नेपाली टोलीमा अन्य सांसदहरू क्षिरिङ शेर्पा, गंगाराम चौधरी, योगेश गौचन, शिशिर खनाल, सम्झना थपलिया, सुनिता बराल, हरिप्रसाद उप्रेती छन् । त्यस्तै, समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि टोलीमा छन् । सांसदहरूले भारतीय विदेशमन्त्री एस.जयशंकर तथा पर्यटनमन्त्री जी किसन रेड्डीलाई भेट्ने कार्यक्रम पनि छ ।
समितिका सभापति यादवले सरकारी अधिकारी तथा मन्त्रीसँगको भेटमा आफूहरूले नेपाली पक्षको सरोकारका विषयहरू उठाउने बताए । प्रधानमन्त्री तहमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा हुने गरेको ढिलाइबारे आफूहरूको चासो रहने उनले बताए । त्यसबाहेक जनस्तरबाट उठ्दै आएका कतिपय मुद्दाहरू पनि उठाइने उनले जानकारी दिए । मंगलबार आइपुगेका सांसदहरूको टोलीले दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा तथा दूतावासका अधिकारीसँग छलफल गरेको थियो । भारत प्रस्थानपूर्व भारतमा उठाउन सकिने विषयबारे टोलीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा वैदेशिक मामिलाका जानकारहरूसँग पनि छलफल गरेको थियो । दिल्लीपछि नेपाली टोलीले गोवा, मुम्बई तथा लखनऊ र बनारस भ्रमणको कार्यक्रम छ । नेपालमा लगानी सम्मेलन हुन लागेकाले मुम्बईमा उद्योगी व्यवसायीसँगको भेटमा त्यसबारे पनि जानकारी गराउने यादवले बताए । राज्यका मुख्यमन्त्रीहरूसँग पनि नेपाली टोलीको भेटघाट हुनेछ ।

 

समाचार

इमेज सहकारीकी कोषाध्यक्ष सुनार कारागार चलान

- कान्तिपुर संवाददाता


बागलुङ (कास)– सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् । उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो । बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक फरार थिए । नेपालीसागै उनीसमेत फरार थिइन् । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन् । सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहितको ठगी मुद्दामा ९ जनालाई पक्राउ आदेश जारी भएको छ । तीमध्ये अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

Page 6
सम्पादकीय

भ्रष्टाचारको भुमरी


सरकारले ‘भ्रष्टाचारमा शून्य सहनशीलता नीति’ लाई वर्षौंदेखि थेगोजस्तै बनाउँदै आएको छ तर व्यवहारमा त्यस्तो देखिँदैन, जसलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले थप पुष्टि गरेको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सीको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनमा नेपाल अति भ्रष्टाचार हुने मुलुकहरूको सूचीमै छ । प्रतिवेदनले केही सूचकमा झिनो सुधार त देखाएको छ तर सन्तोषजनक छैन ।
नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १८० मुलुकमध्ये १०८ औं स्थानमा परेको छ, गत वर्ष ११० औं स्थानमा थियो । समग्र मूल्यांकनमा नेपालले एक सयमा ३५ अंक पाएको छ, गत वर्ष यो अंक ३४ थियो । ५० भन्दा कम अंक पाउने देशलाई ट्रान्सपरेन्सीले भ्रष्टाचार नियन्त्रण र सुशासनका दृष्टिकोणले खराब सूचीमा राख्छ । सर्वेक्षणले मुलुकको भ्रष्टाचार र सुशासनको समग्र अवस्थालाई यथार्थ रूपमा चित्रण नगर्न सक्छ तर यसले भ्रष्टाचार नियन्त्रणका लागि नेपाल सरकारबाट खासै पहल हुन नसकेको प्रस्ट संकेत गर्छ ।
ट्रान्सपरेन्सीको प्रतिवेदनअनुसार राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिकासँग सम्बन्धित तथा सरकार, अदालत, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पद दुरुपयोगबारे सर्वेक्षणमा नेपालको स्थिति केही सुधारिएको छ । सन् २०२३ मा ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, सुराकी परिचालनका नाममा बेहिसाब खर्चलगायतका अनियमितता एवं अपराधमा सरकारले केही सकारात्मक कदम चालेको थियो । यसका साथै, अदालतमा ‘बेन्च सपिङ’ नियन्त्रण गर्न गोला प्रणाली लागू गरिएको थियो । तर पद दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि हुने कारबाही र भ्रष्टाचार नियन्त्रण प्रयास, सरकारबाट सार्वजनिक पदाधिकारीको कामकारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच, सीमित व्यक्तिको राज्य सञ्चालनमा पकडजस्ता विषयमा सुधार देखिएको छैन । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, व्यापार–व्यवसाय, ठेक्कापट्टा र न्यायिक निर्णयजस्ता विषयमा पनि भ्रष्टाचारको अवस्था अघिल्लो वर्षको जस्तै छ ।
दक्षिण एसियाली मुलुकहरूमा सुशासनका दृष्टिले नेपालभन्दा अगाडि भुटान २६ औं (६८ अंक), भारत र माल्दिभ्स ९३ औं (समान ३९ अंक) स्थानमा छन् । नेपालभन्दा पछि श्रीलंका ११५ औं (३४ अंक), पाकिस्तान १३३ औं (२९ अंक), बंगलादेश १४९ औं (२४ अंक) र अफगानिस्तान १६२ औं (२० अंक) स्थानमा छन् । दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा नेपाल पर्नु गर्वको विषय होइन । नेपालले प्राप्त गरेको अंकको अर्थ ६५ प्रतिशत खराब भन्ने हो । नेपालको स्थिति यति खराब हुनुका पछि सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण कार्यमा दशकयता प्रगति हुन नसकेको निष्कर्ष ट्रान्सपरेन्सीको छ । यस्तै, कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको तथा नेताहरूले न्यायलाई अवमूल्यन गर्दा भ्रष्टाचारमा दण्डहीनता बढेको पनि उसले औंल्याएको छ ।
नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र हो । पक्ष राष्ट्रको हैसियतमा नेपालले भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना–२०६९ पनि ल्याएको छ । भ्रष्टाचार नियन्त्रणकै उद्देश्य राखेर विभिन्न कानुन बनाइएका छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत संयन्त्र खडा गरिएका छन् । तर रणनीति तथा कार्ययोजना, नियम–कानुन कार्यान्वयनको प्रभावकारिता र राज्य संयन्त्रको कार्यसम्पादनमा समस्या छ । न्यायिक निरूपण गर्ने निकाय पनि प्रश्नरहित हुन सकेका छैनन् । राजनीतिक दलका नेता, सरकारी कर्मचारी, उद्योगी–व्यवसायी लगायतको मिलेमतोमा अनियमितता भएका घटना सार्वजनिक भइरहेका छन् । यस्ता घटनामा निकटस्थलाई संरक्षण गर्ने प्रपञ्च पनि उत्तिकै देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अलावा अख्तियार, महालेखापरीक्षकको कार्यालय लगायतले पनि अनियमिता रोक्दै सुशासन कायम गर्नका लागि सरकारलाई नियमित रूपमा सुझाव दिइरहेका हुन्छन् । तैपनि सुधारका लागि उल्लेखनीय पहल गर्न नसक्नु, नचाहनु उदेकलाग्दो छ । सरकारी संयन्त्र र राजनीतिक नेतृत्वको अहिलेकै कार्यशैलीबाट मुलुकले भ्रष्टाचार नियन्त्रणमा फड्को मार्न सक्दैन ।
भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार तथा राजनीतिक दलहरू दृढ अठोटका साथ अघि बढे मात्र नेपाल अति भ्रष्टाचार हुने मुलुकहरूको सूचीबाट बाहिर निस्कन सक्छ । भ्रष्टाचारमा शून्य सहनशीलता नारामा होइन, व्यवहारमा हुनुपर्छ । संसद्मा विचाराधीन भ्रष्टाचारसम्बन्धी विधेयकका प्रावधान खुकुलो बनाउन कतिपयबाट जसरी प्रयास भइरहेको छ, त्यो गलत छ, त्यसलाई रोक्नुपर्छ । अनियमितता भइसकेपछि अनुसन्धान र कानुनी कारबाहीमा जति कडाइ आवश्यक छ, त्यति नै भ्रष्टाचार नै नहुने वातावरण निर्माणका लागि पहल पनि गर्नुपर्छ ।

सम्पादकलाई चिठी

पूर्वउपकुलपति बाँस्कोटालाई प्रश्न


माघ १७ को कान्तिपुरमा ‘उपकुलपति नियुक्ति र उच्च शिक्षा सुधार’ शीर्षकमा त्रिविका पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाको लेख पढ्न पाइयो । उहाँले त्रिविको वस्तुस्थितिबारे यथार्थ कुरा राख्नुभएकै छ । तर उहाँ आफैं उपकुलपति भएर मैदानमा उत्रिसकेपछि एक्सनमा जानुपर्नेमा समयावधि बिताउनतर्फ नै केन्द्रित हुनुभयो । उहाँ आफू कसको आशीर्वादमा उपकुलपति हुनुभएको थियो ? जसले नियुक्ति दिए, उनीहरूले के कस्ता काम गर्न दबाब दिएका थिए ? ती काम गर्नुभयो या भएन ? कार्यकालभरि कतिवटा राजनीतिक हस्तक्षेप व्यहोर्नुभयो ? त्यसको फेहरिस्त दिएको भए कम्तीमा उनीहरूले फेरि हस्तक्षेप गर्ने आँट गर्ने थिएनन् । राजनीतिक हस्तक्षेप कुन–कुन काममा कसरी गरेका थिए भनेर आगामी दिनमा लेख्नुहोला ।
पूर्वउपकुलपति बाँस्कोटाले विद्यार्थी ठूलो संख्यामा बिदेसिनुको कारणमा विश्वविद्यालयमा भइरहेका चरम राजनीतिक हस्तक्षेप र गतिविधि, विश्वविद्यालयभित्र हुने आपराधिक क्रियाकलाप र यस्ता समूहलाई प्राप्त राजनीतिक दल र सरकारसमेतको संरक्षण भन्नुभएको छ । वास्तविकता त्यो होइन । वास्तविकता जागिरमूखी
पाठ्यक्रम नहुनु, विद्यार्थीलाई काम गर्दै पढ्दै गर्न सक्ने गरी पाठ्यक्रम नबनाउनु, पाठ्यक्रममा सीप सिक्ने समय भार बढी राख्नुभन्दा घोकन्ते पढाइलाई समयभार बढी राख्नु, प्रश्नहरू सिर्जनशील उत्तरभन्दा रटन्ते उत्तरको अपेक्षा गरेर सोधिनुले नेपालको पढाइ विद्यार्थीले मन नपराएका हुन् ।
प्राविधिक विषयमा मोफसलमा पढाउन स्वीकृति माग्नेलाई अदालतमा जस्तै गरेर धाउन लगाइन्छ । अन्त्यमा अनेक बार्गेनिङ गरेर स्वीकृति नदिँदा विद्यार्थीले आफूले चाहना गरेका विषय आफ्नो पायक पर्ने ठाउँमा पढ्न पाएका छैनन् । सहरी क्षेत्रमा रहेका क्याम्पसहरूमा खेर गइरहेको जग्गालाई व्यावसायिक रूपमा प्रयोग गर्न नसक्नु, प्रयोग गरेका स्थान पनि कौडीको भाउमा ठेक्का लगाउनुजस्ता समस्या छन् । प्राध्यापकहरूलाई अनिवार्य रिसर्चका लागि अवसर दिने र समय उपलब्ध गराउने कामलाई प्राथमिकता नदिनु, शैक्षिक क्यालेन्डरसमेत लागू गर्न नसक्नु र पटक पटक शैक्षिक क्यालेन्डर मात्र निकालिरहने तर कार्यान्वयनमा स्वयं पूर्वउपकुलपतिले समेत चाासो नलिनु, परीक्षा प्रणाली गेसपेपरमूखी हुँदा पनि एकले अर्कालाई दोष लगाएर रमाउने काम मात्र गर्नुजस्ता धेरै कुरा छन् । यसतर्फ पूर्वउपकुलपतिको ध्यान किन गएन ? आफ्नो कमजोरी लुकाएको जस्तो देखियो ।
मैले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेको २५ वर्ष पूरा भइसकेको छ । एक कार्यकाल पूरा गरेर बिदा भएका उपकुलपति बाँस्कोटालाई दीर्घ सेवा पदक लिने बेला मञ्चमा लाइनमा भेटेको बाहेक कहिल्यै भेट्नुपरेन । उपकुलपतिहरू पनि एक दर्जन समर्थकबीचमै सधैं रमाएर बसे भने समग्र विश्वविद्यालयको वस्तुस्थिति कसरी थाहा हुन्छ ? वस्तुस्थिति थाहा पाएपछि मात्र विवेक पुर्‍याएर सही निर्णय गर्न सकिन्छ । तर धर्मकान्त बाँस्कोटा उपकुलपति भएभन्दा हामीजस्तालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेजस्तो किन भयो ? किनकि त्रिभुवन विश्वविद्यालयको कर्मचारी, प्राध्यापक र विद्यार्थीको हितका लागि केही गरेको भए पो ?
होला, उहाँ असल हुनुहुन्थ्यो । काम गर्न खोज्नुभएको थियो होला । उहाँले भनेजस्तै राजनीतिक दबाब र अपराधीकरणले उहाँलाई काम गर्न दिएन होला । त्यसो हो भने आफ्नो स्वभिमान बचाउन जुन दिन काम गर्न दिने रहेनछन् भन्ने लाग्यो त्यही दिन राजीनामा दिएर बाहिरिएको भए मैले आज यति लेखिरहनु नै पर्ने थिएन । तर पूरै समय जेनतेन गरेर बस्ने धेरै पात्रमध्ये एक जना उपकुलपति बाँस्कोटा पनि हुनुहुन्छ, जसले त्रिविमा माखो मार्न पनि सक्नुभएन किन नभन्ने ?
– विजयप्रसाद मिश्र, सहप्राध्यापक, त्रिवि, कीर्तिपुर

सम्पादकलाई चिठी

अर्थमन्त्रीको प्राथमिकता राजस्व कि स्वास्थ्य ?


हिजो आज अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रको ढुकुटीमा ३५ अर्ब रुपैयाँ कमी भएको र त्यो कमी सरकारले विद्युतीय गाडीमा राजस्व छुट दिँदा हुन पुगेको भन्ने गरेका छन् । अर्थमन्त्रीको यस्तो भनाइ सुन्दा अचम्म लाग्यो । के उहाँका लागि आम जनताको स्वास्थ्यभन्दा राजस्व संकलन नै महत्त्वपूर्ण हो ? जनताको स्वास्थ्यलाई पैसासँग तुलना गर्न मिल्छ ? विद्युतीय गाडीको आयात र खपत बढ्नु खुसीको विषय हो । यसको खपत बढे मात्र सहरको प्रदूषण घट्छ, आम मानिसले सफा हावामा श्वास फेर्न पाउँछन्, आफ्नै देशको विद्युत् खपत हुन्छ, आयातित पेट्रोलको खपत घटी विदेश जाने मुद्रा बचत हुन्छ । विद्युतीय गाडी खपत हुँदा अर्थमन्त्री महत खुसी हुनुपर्ने होइन ?
कसैलाई दमको रोगले सताएको होला रे । ती व्यक्ति बाक्लो धूवाँ निस्किरहेको चाबहिल, चक्रपथ, कोटेश्वरजस्ता ठाउँमा कसरी हिँड्न सक्लान् ? त्यो बेला पैसाको चिन्ता होला कि आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ? मानिसले अरू कुरामा सम्झौता गरे पनि स्वास्थ्य, शिक्षा र खानामा सम्झौता गर्दैनन् । यो मानवीय स्वभावलाई अर्थमन्त्री महतले बुझ्न जरुरी छ । राजस्वलाई मात्र मध्यनजर गरी जनताको स्वास्थ्य बिगार्ने काम गरे भोलिको दिनमा जनताले सराप्ने छन् । यसर्थ कसरी प्रदूषण कम गरी जनताको स्वास्थ्य रक्षा गर्न सकिन्छ, त्यसतर्फ सोच्ननुपर्छ । बरु सकिन्छ भने विद्युतीय गाडीलाई अझ राजस्व छुट दिई सन् २०३० भित्र नेपालका सबै प्रमुख सहरबाट पेट्रोल गाडीलाई बिदा गर्ने नीति बनाउनुपर्छ । विद्युतीय गाडीलाई निरुत्साहित हुने गरी कुनै नीति नल्याइयोस् । सकिन्छ भने सार्वजानिक प्रयोगमा आउने ठुल्ठूला विद्युतीय गाडीलाई अझ थप सहुलियत दिइयोस् ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

सम्पादकलाई चिठी

बाँदर र रूख काट्ने अभियान


पोखरा महानगरपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकाले बाँदर र बँदेलको समस्याबाट मुक्ति पाउन आफ्नो घर खेतबारी अगाडिका झाडी फाँड्न तथा रूखबिरुवा काट्न उर्दी जारी गरेको विषय यति बेला चर्चामा छ । पोखरा महानगरपालिका वडा नं. १९, लामाचौरले त ‘मेरो रूख म काट्छु’ भन्ने अभियान नै घोषणा गर्‍यो । के रूखबिरुवा काट्दैमा ती जनावरको बिगबिगी र तिनीहरूले दिएको दुःख कम हुने हो र ? के रूखबिरुवा भनेका ती जनावरले मात्रै आश्रय र प्रयोग गर्ने कुरा हो ? स्थानीय तह र प्रदेश सरकारले के आधारमा यो अभियानका लागि बजेट निकासा गरे ?
त्यहाँ स्थानीय मान्छेले बाँदर र बँदेलबाट विभिन्न समस्या भोग्दै आएका छन् । बालीनाली जोगाउन दिनरात रेखदेख गर्नुपर्ने अवस्था छ । तर बाँदर र बँदेलले दिएको दुःख र खेतीपाती नष्ट सम्झेर वातावरणलाई प्रतिकूल असर गर्ने गरी वनजंगलका रूखबिरुवा काट्न उर्दी जारी गर्नु गलत हो । रूख काटेर मात्रै बाँदर र बँदेलको दुःखबाट छुटकारा पाउन सकिने के आधार छ ? के रूख नै ती जनावर गाउँमा आउने प्रमुख कारण हो त ?
वन विनाशले वातावरण र पर्यावरणलाई एकदम नकारात्मक असर परेको छ भनेर बुझ्न चाहँदैनन् सरकार र जनता । रूखबिरुवा काटेपछि बालीनालीमा विनाश केही कम त होला तर पछि भूक्षय, पानीको समस्या आउँछन्, जसलाई कसरी समाधान गर्न सकिन्छ ! हामी आफ्नो क्षणिकको समस्या समाधान गर्ने नाममा वर्षौंपछि निम्तिने समस्यालाई मतलब गर्दैनौं । वन्यजन्तु खानेकुराको खोजीमा बस्तीसम्म आइनपुग्ने अवस्था बनाउने उपाय खोज्न जरुरी छ न कि रूखबिरुवा काटेर । रूखबिरुवा काट्दैमा ती जनावरको हैरानी हट्छ भन्नु भ्रम मात्रै हो । अहिले रूखबिरुवा अल्झेर बस्ने बाँदरले पछि घरघर आएर उपद्रो नगर्ला भन्ने के बेर ? के त्यति बेला घर भत्काउन लगाउने ? त्यसैले हुर्केका रूख काट्ने काम बन्द गरौं । जनावर धपाउने अन्य उपाय खोजी गरौं ।
– भगवान पुडासैनी, जोरपाटी, कठमाडौं

सम्पादकलाई चिठी

बोर्ड अफ ट्रस्टी निर्विकल्प


सोमबारको कान्तिपुरमा प्रकाशित निरञ्जन पराजुली र माधवी भट्टको ‘त्रिवि सुधार्न राष्ट्रिय सहमति आवश्यक’ लेखमा ‘विश्वविद्यालयको कुलपति तथा सहकुलपति प्रधानमन्त्री तथा शिक्षामन्त्री हुने प्रावधान खारेज’ गर्न वकालत गरियो । तर सँगसँगै बोर्ड अफ ट्रस्टीलाई ‘अनावश्यक संरचना’ भन्दै विद्यमान त्रिवि सिनेटलाई विश्वविद्यालयको सर्वोच्च निकाय बनाउनुपर्ने राय पनि अघि सारियो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने त्रिविमा बोर्ड अफ ट्रस्टी मोडलका लागि वकालत गर्नेहरूले अघि सार्न खोजेको आधारभूत माग प्राज्ञिक स्वायत्तताको हो, जसका लागि हालको विश्वविद्यालय संरचनामा कायापलटकै खाँचो छ । प्रधानमन्त्री अध्यक्ष र शिक्षामन्त्री उपाध्यक्ष रहेको विद्यमान त्रिवि सिनेट प्राज्ञिक स्वायत्तताको विपरीतार्थक हो । विश्वविद्यालयको ‘गभर्निङ स्ट्रक्चर’ को सर्वोच्च बोर्डलाई के नाम दिने त्यो गैरप्राथमिक कुरा हो, तर त्रिवि सुधारका लागि विद्यमान त्रिवि सिनेटको खारेजी अपरिहार्य छ ।
– निमेश दाहाल, बुद्धशान्ति–१, झापा

दृष्टिकोण

ओझेलमा परेका प्रदेशसभाका ६ वर्ष

- खिमलाल देवकोटा

 


भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो । प्रदेशसभाका सदस्य र पालिकाका प्रमुख र उपप्रमुखहरू राष्ट्रिय सभाका मतदाता हुन् । निर्वाचन आयोगले प्रदेशसभाका सदस्यको मतभार ५३ (प्रतिसदस्य) र पालिकाको मतभार १९ कायम गरेको थियो । मतभार धेरै भएका कारण पालिकाभन्दा प्रदेशसभा सदस्यको भूमिका बढी नै थियो/हुन्छ । उपनिर्वाचनताका म आफैंले पनि अलि बढी जोड प्रदेशसभा सदस्यमा गरेको थिएँ । एक प्रदेशसभा सदस्यलाई कन्भिन्स गर्नु भनेको तीन पालिकालाई कन्भिन्स गर्नु हो भन्ने ध्येय थियो । आखिर उम्मेदवार जो भए पनि गर्ने यही नै हो । सिंगो संघीय संसद् निर्माणका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीहरूसमेत जोडिएका हुन्छन् । तर प्रदेश र स्थानीय तहका समस्याका विषयमा संघीय संसद्मा खासै छलफल हुँदैन । प्रदेशसभाको कुरा गर्ने हो भने, यो ओझेलमा छ । बरु सञ्चारमाध्यमहरूमा अलि बढी चर्चा प्रदेश सरकारको हुन्छ, तर प्रदेशसभाप्रति खासै चासो गरिँदैन । यो आलेखमा ओझेलमा परेका सातै प्रदेशसभाको ६ वर्षको कार्यकालको संक्षिप्त समीक्षा गरिएको छ ।
संविधानको भाग १४ मा प्रदेश व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुने जसलाई प्रदेशसभा भनिने (धारा १७५) र यसको गठन सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने चुनिने निर्वाचन प्रणालीबमोजिम आएका सदस्यसंख्याको दोब्बर हुन आउने सदस्य र यसरी कायम हुने सदस्यसंख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशतमा समानुपातिक प्रणालीबाट आउने सदस्य गरी मिश्रित निर्वाचन प्रणालीका आधारमा प्रदेशसभाको गठन हुन्छ (धारा १७६) । यसरी प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित हुने १६५ जनाको दोब्बर संख्याले हुने जम्मा ३३० जना र बाँकी २२० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । समग्रमा सातै प्रदेशसभा सदस्यको संख्या जम्मा ५५० हुन्छ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दिँदा जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्यसंख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधान जारी भएपश्चात् पहिलो पटक प्रदेशसभाको निर्वाचन २०७४ मंसिर १० र २१ मा भएको थियो । सोही मितिमा प्रतिनिधिसभाको निर्वाचन पनि भएको थियो । प्रदेशसभाको पहिलो अधिवेशन २०७४ माघमा भएको थियो ।
प्रदेशगत चर्चा गर्दा, कोशी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ५६ र समानुपातिक प्रणालीतर्फ ३७ गरी ९३ सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ मा बसेको थियो । प्रदेशको राजधानी विराटनगर राख्ने निर्णय २०७६ वैशाख २३ को प्रदेशसभा बैठकले गरेको थियो । पहिलो कार्यकालमा प्रदेशको नामकरण हुन सकेन । प्रदेशको नामकरण भने दोस्रो कार्यकालमा २०७९ फागुन १७ को बैठकले गर्‍यो, कोशी प्रदेश भनेर । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा अर्थ समितिसहित ७ संसदीय विषयगत समिति थिए, जुन अहिले पनि छन् । दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म संसदीय समितिका सभापतिहरूको मनोनयन भएको छैन । पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ६२ विधेयक स्वीकृत गरेको थियो । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार, दोस्रो कार्यकालको पहिलो वर्षमा ८ विधेयक, बजेटसँग सम्बन्धितसहित, स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको कोशी प्रदेशसभाको बैठक २९४ पटक बसेको थियो ।
संविधानसभाले संविधान जारी गर्दा प्रदेशको नामकरण र प्रदेश राजधानी तोक्न सकेन । यसको जिम्मेवारी प्रदेशसभालाई नै दियो । यो आफैंमा
अप्ठ्यारो विषय थियो । तर ढिलोचाँडो भए पनि सबै प्रदेशसभाले यो काम सम्पन्न गरेका छन् । कोशीको नामकरणका सम्बन्धमा भने जनस्तरमा केही विवाद देखिएको छ ।
मधेश प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ६४ र समानुपातिक प्रणालीतर्फ ४३ गरी जम्मा १०७ सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको नामकरण मधेश प्रदेश र राजधानी जनकपुर २०७८ माघ ३ मा पारित गरेको थियो । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा प्रदेश मामिला समितिसहित ७ संसदीय विषयगत समिति थिए, जुन यथावत् छन् । प्रदेशसभा सचिव मनोज गिरीका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ५५ विधेयक तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा बजेटसँग सम्बन्धित ३ विधेयक मात्र स्वीकृत भएका छन् । पहिलो कार्यकालमा ९ अधिवेशन गरेको मधेश प्रदेशसभाको बैठक २२८ पटक बसेको थियो ।
वाग्मती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ६६ र समानुपातिक प्रणालीतर्फ ४४ गरी ११० सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ १८ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको नामकरण वाग्मती प्रदेश र राजधानी हेटौंडा २०७६ पुस २७ मा तय गरेको थियो । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा अर्थ तथा विकास समितिसहित ५ संसदीय विषयगत समिति थिए, जुन अझै छन् । तर प्रदेशसभा गठन भएको एक वर्षभन्दा बढी भइसक्दा पनि समिति सभापतिहरूको निर्वाचन भएको छैन । सभापति नहुँदा समितिहरू क्रियाशील हुन सकेका छैनन् । प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ७० विधेयक तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा ९ विधेयक, बजेटसँग सम्बन्धितसहित, स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको वाग्मती प्रदेशसभाको बैठक २५२ पटक बसेको थियो ।
गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ३६ र समानुपातिक प्रणालीतर्फ २४ गरी ६० सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको राजधानी पोखरा २०७५ असार १८ तय गरेको थियो भने नामकरण असार २२ मा, गण्डकी प्रदेशका रुपमा । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा सार्वजनिक लेखा समितिसहित ४ संसदीय विषयगत समिति थिए, जुन यथावत् छन् । प्रदेशसभा सचिव हरिराज पोखरेलका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ५९ विधेयक तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा ६ विधेयक, बजेटसँग सम्बन्धितसहित, स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको गण्डकी प्रदेशसभाको बैठक ३०१ पटक बसेको थियो ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ५२ र समानुपातिक प्रणालीतर्फ ३५ गरी ८७ सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरी २०७७ असोज २० मा पारित गरेको थियो । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा प्रदेश मामिला तथा कानुन समितिसहित ६ संसदीय विषयगत समिति थिए, जुन अहिले पनि छन् । तर प्रदेशसभा गठन भएको एक वर्षभन्दा बढी भइसक्दा पनि समिति सभापतिहरूको मनोनयन हुन सकेको छैन । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ७२ कानुन तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा ४ विधेयक, बजेटसँग सम्बन्धितसहित, स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको लुम्बिनी प्रदेशसभाको बैठक २०९ पटक बसेको थियो ।
कर्णाली प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने २४ र समानुपातिक प्रणालीतर्फ १६ गरी ४० सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत २०७४ फागुन १२ मा पारित थियो । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा प्रदेश मामिला समितिसहित ४ संसदीय विषयगत समिति थिए, जुन यथावत् छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ५३ विधेयक तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा बजेटसग सम्बन्धित ३ विधेयक मात्र स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको कर्णाली प्रदेशसभाको बैठक २१७ पटक बसेको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने ३२ र समानुपातिक प्रणालीतर्फ २१ गरी ५३ सदस्य रहने व्यवस्था छ । यस प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ मा बसेको थियो । प्रदेशसभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी २०७५ असोज १२ मा पारित गरेको थियो । प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा विधायन तथा प्रदेश मामिला समितिसहित ४ संसदीय विषयगत समिति थिए, जुन अझै छन् । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार, पहिलो ५ वर्षे कार्यकालमा यस प्रदेशले ६७ विधेयक तर्जुमा गरेको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा बजेटसँग सम्बन्धितसहित ४ विधेयक स्वीकृत भएका छन् । पहिलो कार्यकालमा १० अधिवेशन गरेको सुदूरपश्चिम प्रदेशसभाको बैठक २६२ पटक बसेको थियो ।
प्रदेशसभाको मुख्य काम कानुन तर्जुमा गर्नु, सरकारलाई नागरिकप्रति जवाफदेह बनाउनु, प्रदेश सरकारले गरेका कामहरूको अनुगमन गर्नु हो । सरकार निर्माणको काम त प्रदेशसभाको हुँदै हो ।
५ वर्षका दौरान सातै प्रदेशले करिब ४५० वटा ऐन जारी गरेका छन् । पहिलो पटक प्रदेश सरकार गठन भएका र संविधानप्रदत्त प्रदेश सरकारका अधिकार कार्यान्वयनका लागि कानुनको आवश्यकता रहेको हुँदा जेजस्तो रुपमा भए पनि फटाफट कानुन तर्जुमा गरिनुपर्दछ भन्ने मान्यतामा चलेको देखिन्छ । कतिपय कानुन संघीय सरकारले बनाएको कानुनको फोटोकपी जस्तो भएको र केही प्राथमिकताबिनाका रहेको पाइएको छ । कतिपय कानुन त अहिलेसम्म पनि कार्यान्वयनमा नआएको स्वयं प्रदेश सरकारको धारणा छ । कसैको लहडमा कानुन तर्जुमा गर्ने काम पनि पहिलो कार्यकालमा भयो । पहिलो कार्यकालका कानुनहरूको समीक्षा गर्न पनि त्यत्तिकै जरुरी छ । प्रदेशसभा र प्रदेश सरकारहरू पूरै केन्द्रीय नेतृत्वको छायामा छन् । नेताहरूको निर्देशन र सल्लाहबिना एक इन्च पनि अगाडि नबढ्ने मानसिकताका कारण प्रदेशहरू अपेक्षित रूपमा परिणाममुखी हुन सकेका छैनन् । अहिलेसम्म कतिपय प्रदेशसभाका विषयगत समितिहरू क्रियाशील हुन नसक्नु र एक/दुई प्रदेशमा मन्त्रिमण्डलसम्म बन्न नसक्नु यसको उदाहरण हो ।
संघीय संसद्जस्तै प्रदेशसभाहरू पनि गतिशील र क्रियाशील छैनन् । कतिपय प्रदेशमा त समिति सभापतिहरूको चयन पनि हुन सकेको छैन, जसका कारण प्रदेश सरकारलाई नागरिकप्रति जवाफदेह गराउनेलगायतका काममा व्यवधान उत्पन्न भइरहेको छ । चाहे संघीय संसद् होस् या प्रदेश संसद्,
संसद्लाई बिजनेस दिने काम सरकारको हो । सरकारले संसद्लाई बिजनेस नदिँदा सांसदहरू कामविहीन अवस्थामा छन्, जसका कारण संसद्को भूमिकाप्रति नागरिक सन्तुष्ट छैनन् । नागरिक असन्तुष्ट हुनु भनेको संविधान र व्यवस्थाप्रति नै वितृष्णा बढ्नु हो । यस पाटोमा पनि संघीय सरकार र प्रदेश सरकारहरू संवेदनशील हुन जरुरी छ ।

Page 7
दृष्टिकोण

वर्ल्ड इकनोमिक फोरमको औचित्यमाथि प्रश्न

- हरि रोका


सन् १९७१ मा स्विस–जर्मन अर्थशास्त्री क्लाउस स्वाबले विश्वव्यापी रूपमा राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा व्यापक छलफल र सहयोग आदानप्रदानमा सहजीकरणका गर्न एउटा संस्थाको आवश्यकता पर्छ भनेर वर्ल्ड इकनोमिक फोरम स्थापना गर्नुपरेको बताएका थिए । राजनीतिक–आर्थिक–सामाजिक क्षेत्रका जटिल मुद्दाहरूमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्यका लागि यो फोरममा दिमाग हल्लाउने गरी बहस होस् र समाधान निकालियोस् भन्ने चाहना रहेको पनि उनको भनाइ थियो । नाफा आर्जन नगर्ने, असंलग्न रहने र कुनै पनि विशेष स्वार्थको प्रभावमा फोरम पर्नेछैन भनेर घोषणा गरिएको थियो । त्यसयता ५४ वर्षदेखि वर्षैपिच्छे डाभोसमा लगातार कन्फरेन्स हुँदै आएको छ । लगभग १९८० को दशकदेखि बैंक तथा वित्तीय संस्था तथा विभिन्न उद्यम चलाइरहेका कर्पोरेसनका सीईओ, राजनीतिज्ञ र पत्रकार, कहलिएका विषयविज्ञहरूको चार दिन लगातार भाषणबाजी चलिरहन्छ । यद्यपि बिहान र दिउँसो हुने यी माथापच्चीभन्दा साँझ र बेलुका हुने ड्रिंक–डिनर पार्टीहरूले नीति कार्यान्वयनहरूमा निर्णायक भूमिका खेल्ने
अड्कल काटिन्छ (डेभिड वाल्स, ‘ह्वाट इज डाभोस एन्ड ह्वाई इज इट इम्पोर्टेन्ट,’ युरोन्युज डटकम, १५ जनवरी २०२४) ।
यस पटकको वर्ल्ड इकनोमिक फोरमको मूल एजेन्डा विश्वासको पुनर्निर्माण (रिबिल्डिङ ट्रस्ट) थियो । सायद विश्वव्यापी रूपमा अविश्वासको हिमालय खडा भइसकेको आभास भएर होला, यो पटक ५० जना राष्ट्रप्रमुख तथा प्रधानमन्त्री एवं लगभग ३०० जना मन्त्री र सांसद उपस्थित थिए, ४५० वटा सेसन चलाइए । यद्यपि बहसमा जुन रौनक हुने गर्थ्यो र विश्व मिडियामा यसबारे जस्तो विश्वासका साथ चर्चा–परिचर्चा हुने गर्थ्यो, यस पटक त्यस्तो भएन । फोरमका हर्ताकर्ताले विश्वासको पुनर्निर्माणको सिद्धान्त भनेर पारदर्शिता, एकरूपता, जिम्मेवारी, आदर र विविधताको रटान लगाउने गरेका छन्, जसमा अत्यन्त न्यून विश्वास जनाएको अनुभूति हुन पुग्यो (जेमिमा केली, ‘इन रिमेम्बरेन्स अफ डाभोस टाइम्स पास्ट,’ फिनान्सियल टाइम्स, १८ जनवरी २०२४) ।

फोरमको विकास मोडल
सन् १९९० को दशकमै फोरमले सरोकारवालाहरूको शासन (मल्टी–स्टेकहोल्डर गभर्नेन्स) को मुद्दा उठाएको थियो । समाजमा सरोकारवालाहरू धेरै हुन्छन्, उनीहरूका आ–आफ्नै स्वार्थ हुन्छन् र सत्ताधारीहरूले यस्ता विविधतालाई सम्बोधन गर्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरिएको थियो । सबै सरोकारवाला, धनी, गरिब, मध्यमलाई समेट्ने गरी फोरमले सार्वजनिक–निजी–साझेदारी (पब्लिक–प्राइभेट–पार्टनरसिप ः पीपीपी) मोडलको आर्थिक कार्यसूची अगाडि सार्‍यो । विश्वव्यापी रूपमा बढेको असमानता कम गर्ने नाममा उसले यो पहिलो सहकार्य (मल्टी–स्टेकहोल्डर कोलाबरेसन) आह्वान गरेको थियो । हामी सबैलाई थाहा छ, नेपालमा पनि पीपीपी मोडलसम्बन्धी कानुन कार्यान्वयनमा छ । र, हालै पनि सानाठूला सयौँ प्रोजेक्ट यही अवधारणामा सञ्चालित छन् ।
पीपीपी मोडलमा काम गर्न फोरमले आफ्नै पहलमा खोज–अनुसन्धान गरी केही अवधारणाको विकास गर्‍यो, जस्तो— (१) बट (बिल्ड–अपरेट–ट्रान्सफर), (२) बु (बिल्ड–वोन–अपरेट), (३) बुट (बिल्ड–वोन–अपरेट–ट्रान्सफर), (४) बिल्ट (बिल्ड–लिज–ट्रान्सफर), (५) बोल्ट (बिल्ड–वोन–लिज–ट्रान्सफर), (६) डीबीएफओ (डिजाइन–बिल्ड–फिनान्स–अपरेट), (७) एलडीओ (लिज–डेभलोप–अपरेट), (८) डीसीएमएफ (डिजाइन–कन्सट्रक्ट–म्यानेज–फिनान्स), र (९) ओएमटी (अपरेट–मेन्टेन–ट्रान्सफर) । यिनका अतिरिक्त सार्वजनिक–निजी–साझेदारीका अन्य केही मोडल पनि विकसित गरिए र व्यवहारमा लागू गरिए, जस्तो— (१) व्यवस्थापन करारमा उपलब्ध गराउने मोडल (म्यानेजमेन्ट कन्ट्र्याक्ट मोडल), (२) लिज कन्ट्र्याक्ट मोडल, (३) बोट एन्युटी, (४) इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन मोडल, (५) हाइब्रिड एन्युटी मोडल आदि ।
फोरमले यी मोडलले विकसित मुलुकहरूका उद्यमी र निर्माण कम्पनीहरूलाई विकासशील र अति कम विकसित मुलुकहरूमा लगानी गर्ने र नाफा आर्जन गर्ने अवसर उपलब्ध गराइदियो । नयाँ र विकसित प्रविधि भित्रिने र
आफ्ना कामदारले पनि सिक्ने आशाले विकासशील र अति कम विकसित मुलुकहरूले लागत उच्च भए पनि विकासका यी मोडल भित्र्याए । तर अत्यधिक उच्च लागत तथा अनिश्चित उत्पादकत्वका कारण पीपीपी मोडल सार्वजनिक लागतमा निजीका लागि (खास गरी वैदेशिक कम्पनीले) फाइदा उठाउने औजार बन्यो (जोमो क्वामे सुन्दरम्, ‘पीपीपीज प्राइभेट गेन एट पब्लिक एक्सपेन्स,’ आईपीएस न्युज, २४ जनवरी २०२४) । नेपालमै पनि हामी यस्ता अभ्यास धेरै देख्न सक्छौँ । मध्य मर्स्याङ्दीदेखि मेलम्ची हुँदै तामाकोशीसम्म आइपुग्दा होस् या अन्य राष्ट्रिय गौरवका आयोजनाहरूमा, निर्माण समयमा कहिल्यै पूरा नगर्ने अनि नेता–कर्मचारी मिलेमतोमा करार म्याद थप्ने वा नयाँ करार बनाएर म्याद थप्ने कार्यले निजी नाफाचाहिँ बढ्ने तर राज्यलाई भरमार खर्च थपिने कामले तीव्रता पायो र यो क्रम जारी छ । पीपीपी मोडलको उच्च लागत र वित्तीय जोखिमका कारण सरकारले सार्वजनिक हितमा खर्चिनुपर्ने रकममा कमी आयो । खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा अलगानी (डाइभेस्टमेन्ट) गर्ने प्रवृत्ति तीव्र बन्यो । पीपीपी मोडल अर्धसरकारीजस्तो देखिने तर उचित रूपमा नियमन र रेखदेख हुन नसक्ने देखियो । समग्रमा पीपीपी मोडल वैदेशिक कर्पोरेट धनाढ्य र राजनीतिज्ञहरूको नेक्ससलाई बलियो बनाएर मुलुक लुट्ने हतियारजस्तो बन्न पुग्यो ।

डाभोस म्यान र असमानता
हज गर्न गएकालाई हाजी भनिएझैँ डाभोस सम्मेलनमा भाग लिन सौभाग्य पाउने व्यक्तिहरूलाई ‘डाभोस म्यान’ भन्ने गरिन्छ । डाभोस म्यान शब्दावली राजनीतिशास्त्री स्यामुयल हन्टिङ्टनले पहिलो पटक प्रयोगमा ल्याएका थिए । डाभोस फोरममा संस्थागत रूपमा उपस्थित हुन चाहने कर्पोरेसनहरूलाई चार जना मान्छेमध्ये कम्तीमा एक महिला उपस्थित गराउनुपर्ने सर्त हुन्छ । भीआईपीहरूको सुरक्षार्थ ५ हजार स्विस आर्म्ड गार्ड तैनाथ गरिने उक्त सम्मेलनमा अधिकांश पुरुष, खास गरी उद्योगी–व्यापारी र राजनीतिक भूमिका निर्वाह गर्नेहरूको बाहुल्य देखिन्छ जसमा यथार्थ धरातलमा श्रम गरीखाने अर्बौं मानिसको जीवन पद्धति कसरी चलिरहेको होला भन्ने थाहा नपाएकाहरू बढी हुने गर्छन् । इकनोमिक फोरमले दाबी गरेझैँ डाभोस म्यान हुने सौभाग्य निष्पक्ष, स्वतन्त्र र स्वार्थरहित हुन्न भन्ने प्रस्ट देखिएको छ ।
न्युयोर्क टाइम्सका आर्थिक संवाददाता पिटर गुडम्यानले आफ्नो लोकप्रिय किताब ‘डाभोस म्यान ः हाउ द बिलिनेयर्स डेभोर्ड द वर्ल्ड’ मा संसारका अर्बपति र खर्बपतिहरूले खडा गरेका समस्याहरूवारे लामो व्याख्या प्रस्तुत गरेका छन् । उनका अनुसार, संसार यति बेला विश्वसंकटको मूलधारमा उभिएको छ । कोभिड–१९ ले छोडेका घाउहरू अझै निको भइसकेका छैनन् । करोडौँ मानिस चरम गरिबीको हालतमा पुगेका छन् । अर्बौं मानिसको रोजीरोटी छिनिएको छ । ब्रिटिस च्यारिटी अक्सफामको इनइक्वलिटी इन्क–२०२४ ले प्रकाशित गरेको डाटाअनुसार, ५ धनाढ्यको सम्पत्ति दोब्बरले बढेर ८७० अर्ब डलर पुगे पनि ५ अर्ब सर्वसाधारण असाध्य गरिबी झेल्न बाध्य भएका छन् ।
गुडम्यानका अनुसार, फोरममा भेला हुने पात्रहरू १ प्रतिशत धनाढ्य मानिसका पनि ०.१ प्रतिशत प्रतिनिधि हुन् । उनीहरूले बसालेको आर्थिक तथा सामाजिक प्रणालीको मूल्य संसारभरका सामान्य मानिसहरूले बेहोर्नुपरिरहेको छ । उदाहरणका रूपमा कोभिड–१९ मा वितरित भ्याक्सिन र त्यसको वितरणलाई लिन सकिन्छ । उनले आफ्नो किताबमा ५ जना मुख्य डाभोस म्यानको कथा हालेका छन् र अरू २० जनाबारे व्याख्या प्रस्तुत गरेका छन् । पहिलो नम्बरमा सिलिकन भ्याली सेल्सफोर्स नामक सफ्टवेर कम्पनीका सीईओ मार्क बेनियोफ छन् । डाभोस ट्रस्ट बोर्डका सदस्य उनले सन् २०२२ को फोरमको भर्चुअल बैठकमा भनेका थिए, ‘कोभिड–१९ माहामारीमा सीईओहरू नै वास्तविक हिरो हुन् । माइन्ड नगर्नुहोला, फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सक र अन्य सहयोगीभन्दा पनि बढी, किनभने तिनीहरूले हामीलाई भ्याक्सिन र स्यानिटाइजर, गाउन उपलब्ध गराए, गरिब मुलुकहरूलाई ऋण उपलब्ध गराए र टाट पल्टिनबाट बचाए ।’ यो निकै चर्चित बकवास हो । उनीहरूले यो काम सित्तैमा गरेका थिएनन् । राज्यहरूले अनुसन्धानमा खर्च गरेर फर्मुला तयार पारेपछि तिनीहरूले ‘मास लेभल’ मा भ्याक्सिन तयार पार्ने लाइसेन्स प्राप्त गरेका थिए । गरिब र असहाय देशहरूलाई महँगोमा बेचेर अत्यधिक नाफा आर्जन गरे । फोरमको सम्मेलनमा अक्सफामले प्रस्तुत गरेको त्यस बेलाको प्रतिवेदनअनुसार, यी भ्याक्सिन उत्पादन र पैठारी गर्ने विश्वका १० धनाढ्यको सम्पत्ति ७०० अर्बबाट बढेर दोब्बर अर्थात् १.५ खर्ब डलर पुग्यो (पिटर एस. गुडम्यान, ‘डाभोस म्यान ः हाउ द बिलिनेयर्स डेभोर्ड द वर्ल्ड,’ हार्पर कोलिन्स, २०२२) । उनले उक्त पुस्तकमा एसेट्स म्यानेजर ल्यारी फिन्क, प्राइभेट इक्विटी म्याग्नेटका म्यानेजर स्टेभ स्वाजरम्यान, अमेजनका सीईओ जोफ बेजोज र जेपी मोर्गान चेसका सीईओ जेमी डेमनबारे उल्लेख गरेका छन्, जो वर्ल्ड इकनोमिक फोरमका शक्तिशाली स्टेकहोल्डर तथा वास्तविक डाभोस म्यान हुन् र तिनले विश्वका सर्वसाधारणलाई कसरी लुटिरहेका छन् भनी उल्लेख गरेका छन् ।

हाबी हुँदै गरेको दक्षिणपन्थी लोकप्रियतावाद र
फोरमको औचित्य
विश्वका आधाभन्दा बढी अर्थात् ६० देशका मानिसले सन् २०२४ मा आफ्नो मत खसाल्न गइरहेका छन् । यस पटक दक्षिण अफ्रिका, भारत, रुस, मेक्सिको, इन्डोनेसिया, भेनेजुएला, संयुक्त अधिराज्य बेलायतदेखि संयुक्त राज्य अमेरिकासम्ममा निर्वाचन हुँदै छ । एक–दुई छोडेर अधिकांश देशमा दक्षिणपन्थी राष्ट्रवादीहरू निर्वाचित हुन सक्ने अनुमान एग्जिट पोलहरूको छ, जस्तो— अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी आदि । वर्ल्ड इकोनोमिक फोरम आफैँले प्रकाशित गरेको ग्लोबल रिस्क रिपोर्ट–२०२४ मा यी दक्षिणपन्थीहरूले निर्वाचनमा सफलता हासिल गर्दा उत्पन्न गर्ने जोखिमको आकलन पनि गरेको छ । यी निर्वाचनपछि सामाजिक सद्भाव बिथोलिनेछ र राजनीतिक ध्रुवीकरण असाध्य बढ्नेछ, जसका कारण नाजीवाद र फाँसीवाद नयाँ ढंगले अघि बढ्न सक्ने बताइन्छ । दोस्रो, आर्टिफिसियल इन्टेलिजेन्समार्फत गलत सूचना प्रवाह गर्ने र वास्तविक सूचना लुकाउने कामले जातीय, भाषिक, आर्थिक, सामाजिक र राजनीतिक द्वन्द्व विस्तार गर्ने सम्भावना बढ्नेछ । तेस्रो, अत्यधिक नाफा आर्जन गर्ने लोभले प्रकृतिदोहन विस्तार हुँदा अत्यधिक खराब जलवायु अर्थात् मौसमको सामना गर्नुपर्नेछ । बेरोजगारी, अशिक्षा, विभेदका कारण विद्रोह र युद्धहरूसमेत झेल्नुपर्ने हुन सक्छ भन्ने आशय उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ (द ग्लोबल रिस्क रिपोर्ट, १९ औं संस्करण, मार्स मेकलेनन र जुरिक इन्सुरेन्स ग्रुपसँगको सहकार्यमा वर्ल्ड इकनोमिक फोरम, २०२४) ।
तर फोरमले आफ्नो पुरानो सैद्धान्तिक प्रतिबद्धताविपरीत ‘हार्डकोर’ दक्षिणपन्थी जातिवादी ठानिएका अर्जेन्टिनाका राष्ट्रपति हाबिएर मिलेलाई कि–नोट स्पिकरका रुपमा निमन्त्रण गरेको थियो । त्यति मात्रै होइन, २५ हजारभन्दा बढी निहत्था प्यालेस्टाइनीको नरसंहारको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा खेपिरहेको इजरायलका राष्ट्रपति इसाक हर्जोगलाई साथमा राखेर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युरोपेली कमिसनकी अध्यक्ष्य उर्सला भन डेर लेयनलाई प्रजातन्त्रको व्याख्या र कानुनी राज्यको अवधारणा प्रस्तुत गर्न लगायो । त्यही समयमा प्यालेस्टाइन डाक्टर अलजजिरा टेलिभिजनमा आफ्नै छोरीको बमको छर्रा लागेको खुट्टा दुखेको थाहा नपाउने औषधि नलगाई काट्नुपरेको पीडा सुनाइरहेका थिए (अप्रिल हलकोम्ब, मन्थ्ली रिभ्यू अनलाइन, २६ जनवरी २०२४) ।
‘डाभोस म्यान ः हाउ द बिलिनेयर्स डेभोर्ड द वर्ल्ड’ का लेखक पिटर गुडम्यानजस्तै फाइट इनइक्वलिटी अलाएन्सकी ग्लोबल कन्भेनर जेनी रिक्स पनि डाभोसको अब काम छैन भन्ने निष्कर्षमा पुगेकी छन् । उनी लेख्छिन्, ‘कतिन्जेल समानता, पारदर्शिता, आदर, विविधताका नाममा डाभोसले सर्वसाधारणका आँखामा धूलो छ्याप्ने ?’ उदाहरणसहित उनी भन्छिन्, ‘उनीहरू (डाभोस बैठकका आयोजकहरू) लाई राम्ररी के थाहा छ भने, कोभिड महामारीबाट कसले बेजोड नाफा कमाएर र कसरी करोडौँले उपचार खर्चका कारण हातमुख जोड्ने आडभरोसा गुमाउनुपर्‍यो ? फाइजर भ्याक्सिनका सीईओ अल्बर्ट बौर्ला — जसले सन् २०२१ मा व्यक्तिगत रुपमा २ करोड ४३ लाख अमेरिकी डलरको भ्याक्सिन बेचे — लाई डाभोसमा गरिबी निवारण सम्बन्धमा भाषण दिन किन बोलाइयो ? जाम्बियाका खानीहरूको अवैधानिक र वातावरणीय प्रभावलाई कुल्चिएर नाफा आर्जन गरिरहेका र कर छली गरेर मुलुकको अर्थतन्त्र धराशायी बनाइरहेका कर्पोरेट बोसहरूको पक्षमा वकालत गर्ने आईएमएफ प्रमुख क्रिस्टलिना जोर्जिएभाले बखान गर्ने सामाजिक न्यायको भाषणलाई सर्वसाधारणले कसरी पत्याउने ? कसरी डाभोसले समस्याहरूको निदान गर्छ भनेर आशावादी हुने ?’ (‘डाभोस इज डेड,’ अलजजिरा अनलाइन, २३ मे २०२२) ।
यद्यपि कसलाई चाहिएको छ डाभोस ? अर्थात्, विश्व आर्थिक मञ्च ? निजी क्षेत्र, कर्पोरेट बिजिनेस हाउस, भीमकाय धनाढ्य, कर्पोरेट सीईओहरूसँग मितेरी साइनो जोडेका नेताहरूलाई डाभोस चाहिन्छ । तिनीहरू प्राइभेट जेट चढेर विश्वव्यापी रूपमा गरिबी निवारण तथा जलवायु प्रदूषण गर्ने विषयमा भाषण दिन सकून् । तर ती सबै कसको मूल्यमा ?
वर्ल्ड इकनोमिक फोरम वास्तवमा आफैँबाहेक कसैप्रति पनि जवाफदेह छैन । ऊ विगतमा वाचा गरेअनुसार कहीँ प्रतिबद्ध देखिन्न । धनाढ्यहरूमाथि कर लगाएर असमानता हटाउनुपर्छ, असमान युद्ध रोकिनुपर्छ र विश्वशान्ति बहाली हुनुपर्छ, अनावश्यक व्यापार तथा आर्थिक प्रतिबन्ध लगाएर मुलुकहरूलाई टाट पल्टाउनुहुन्न, व्यापार मार्ग रोकेर सप्लाई चेन अवरुद्ध पारी मुद्रास्फीति बढाउने काम गर्न हुन्न, पीपीपी मोडलमार्फत शोषण बढी भएकाले त्यसको विकल्प हुनुपर्छ भन्नेजस्ता विश्वव्यापी मुद्दाहरूमा फोरममा हिजो प्रतिबद्धता जाहेर गरेको देखिए पनि यथार्थमा यी उसका विषय थिएनन् । कोरोना महामारीपछि मूल्यवृद्धि अकासिएको छ, आम गरिबी बढिरहेको छ, असमानताको खाडल गहिरिँदो छ, मानिसको जीवन पद्धति कष्टकर बन्दो छ तर यी फोरमका लागि यी मुद्दा नै गनिँदैनन् । आम मानिसमा पनि डाभोसमा समाधान खोजिन्छ भन्ने विश्वास हराइसक्यो ।
यद्यपि दी इकोनोमिस्टकी प्रधान सम्पादक जेनी मिन्टन बेडोसले भनेझैँ यी सारा कमजोरीका बाबजुद धनाढ्य मुलुकहरूका बादशाहहरू र कर्पोरेट वर्ल्डका नाफाखोरहरू संसारका अनेक विषयमाथि वर्षमा एकअर्कासँग छलफल गर्छन् र एक खालको निर्णयमा पुग्छन्, त्यो पनि राम्रै हो । वास्तवमा डाभोस हाई–वेमा रहेको चिया अखडाजस्तो बनेको छ, जहाँ भेट हुनेहरूले एकअर्कालाई खासै भाउ दिँदैनन् ।

दृष्टिकोण

बालमैत्री स्थानीय शासनको सवाल

- विष्णुकुमारी लामिछाने

बालबालिकाको हरेक पक्षमा संवेदनशील बन्दै बालअधिकार प्रवर्द्धन गर्नका लागि अघि सारिएको बालमैत्री स्थानीय शासन अवधारणाले सन्निकटताको सिद्धान्तअनुरूप बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषण गर्दै संस्थागत विकासमा समेत जोड दिन्छ । अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्न बालबालिकासम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि बनाई कार्यान्वयनमा ल्याइएको छ । यद्यपि कानुनी तथा संरचनात्मक व्यवस्था र कार्यान्वयनबीच तालमेल हुन सकिरहेको छैन ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा व्यवस्था गरिएबमोजिम नेपाल सरकारले सबै स्थानीय तहलाई विसं २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाउमा १४, बाल संरक्षणमा १०, बाल विकास र बाल सहभागितामा ६–६ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक उल्लेख गरिएका छन् । निर्दिष्ट सूचकहरू पूरा गरेपश्चात् वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न जिल्ला समन्वय समितिबाट सहमति लिएर वडा समितिको सिफारिसमा कार्यपालिकाको बैठकबाट स्वीकृति लिनुपर्ने, गाउँपालिका तथा नगरपालिकालाई सम्बन्धित प्रदेश मन्त्रालयबाट स्वीकृति लिएर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सकिने प्रावधान छ ।
आर्थिक वर्ष २०७९/८० सम्ममा सूचक पूरा गरेर २३ स्थानीय तहले मात्र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका छन् भने ४६ वडा मात्र घोषणा भएका छन् । आर्थिक वर्ष २०७८/७९ मै ६० नगरपालिका, १०० गाउँपालिका र १,४३२ वडा घोषणा गर्ने योजना रहेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा उल्लेख छ । यसबाट बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लक्ष्य तोकिएको समयमा हासिल गर्न सकिनेमा विश्वस्त हुन सकिँदैन । स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने सन्दर्भमा सूचककेन्द्रित केही सवाल उठेका छन् जसको समाधान स्थानीय तहले मात्र गर्न सम्भव हुन्न ।
घोषणाका लागि घोषणा गर्ने या शासन प्रणाली र समाज सुधारमा व्यापक फड्को मार्दै बालअधिकार सुनिश्चित गर्ने भन्ने सवाल हामीसामु छ । ५१ सूचक सुगम र दुर्गम क्षेत्रमा समान तबरबाट पूरा गर्न सकिन्न । दुर्गम क्षेत्रमा बस्तीहरू छिरलिएका छन्, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका सेवासुविधा त्यस्तो बस्तीमा पुर्‍याउन स्थानीय सरकारलाई निकै कठिन भइरहेको छ । डाँडाकाँडामा छिरलिएका सबै घरधुरी, त्यो पनि पानीको उपयुक्त स्रोत नभएको स्थानमा स्वच्छ सफा खानेपानीको शतप्रतिशत सुविधा पुर्‍याउन झनै कसरी सम्भव होला ?
बालसंरक्षणअन्तर्गतका १० सूचकमध्ये एउटा ‘कुलतमा लागेका बालबालिकाका लागि सुधारगृहमा राख्ने व्यवस्था मिलाएको हुनेछ’ भन्ने छ । नेपालमा रहेका ८ बालसुधार गृहमा बालबिज्याइँमा परेका बालबालिकालाई नै राख्न पर्याप्त स्थान नभएको, बालसुधार गृहको वातावरण बालमैत्री नभएको, बालबालिकाका लागि स्वास्थ्य, सिकाइ र सुधारको उपयुक्त व्यवस्थापन हुन नसकेको भन्ने विषयले सञ्चारमाध्यममा निकै चर्चा पाइरहेको छ । बालबालिकासम्बन्धी ऐन–२०७५ को दफा ४३(१) मा नेपाल सरकारले कानुनको विवादमा परेका बालबालिकाको सुधार र पुनःस्थापना नभएसम्म उनीहरूलाई राख्ने प्रयोजनका लागि आवश्यकताअनुसार बाल सुधार गृहको स्थापना गर्ने उल्लेख छ । यस सन्दर्भमा स्थानीय तहले कुलतमा लागेका बालबालिकालाई बाल सुधार गृहमा राख्ने व्यवस्था कसरी मिलाउन सक्छ होला भन्ने सवाल पनि उब्जिन्छ ।
बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउन सबै विद्यालयको पूर्वाधार र वातावरण बालमैत्री हुनुपर्दछ । भयरहित सिकाइसँगै कक्षाकोठा, फर्निचर, खेलमैदान, खानेपानी धारा, छात्रछात्राका लागि अलगअलग शौचालयसमेत शतप्रतिशत बालमैत्री, अपांगमैत्री र सुरक्षित भएको हुनुपर्ने व्यवस्था बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा उल्लेख छ । दुर्गम क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयका संरचना बालमैत्री, अपांगमैत्री बनाएर सुरक्षित तुल्याउन त्यति सहज देखिँदैन । साँघुरो क्षेत्रफलमा सञ्चालनमा रहेका सुगम दुर्गम सबै क्षेत्रका विद्यालयमा पर्याप्त खेलमैदानको व्यवस्था गर्न पनि कठिन छ । सबै विद्यार्थीले विद्यालयमा शैक्षिक गतिविधिको समयावधिमा भयरहित, शारीरिक तथा मानसिक यातनामुक्त भएको महसुस गर्ने सुरक्षित वातावरण बन्न सकेको छैन । सबै विद्यालयले बालमैत्री स्थानीय शासन अवलम्बनलाई उत्तिकै महत्त्व नदिई थप व्ययभार र बोझको अनुभूति गर्नुले पनि यो अभियानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न असहज भइरहेको छ ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ को दफा २१ मा त्यस्ता व्यक्तिलाई नेपाल सरकार वा स्थानीय तहबाट सञ्चालित वा नेपाल सरकारबाट अनुदानप्राप्त शैक्षिक संस्थाद्वारा निःशुल्क रूपमा उच्च शिक्षा उपलब्ध गराइने भनिएको छ । संविधानको धारा ३१ मा आधारभूत तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको छ भने माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क । तर अपांगता भएका बालबालिकाका लागि पर्याप्त स्रोत कक्षाको व्यवस्था हुन सकेको छैन । अपांगताको प्रकृतिअनुसार फरकफरक र पायक पर्ने स्थानमा स्रोत कक्षा अर्थात् विद्यालयको व्यवस्था हुन नसक्दा पठनपाठन गर्न इच्छुक बालबालिका र अभिभावक, जीवनोपयोगी सीपमा जोडिन चाहने (बौद्धिक, अटिज्म तथा सिकाइमा समस्या भएका) बालबालिका शिक्षाबाट वञ्चित हुन पुगेका छन् । थोरै सिट संख्यामा सञ्चालनमा भएका स्रोत कक्षा पनि लगानीको पर्खाइमा छन् ।
भौगोलिक विकटताका कारण घण्टौं हिँडेर ३ वा ५ कक्षासम्म मात्र पढ्ने बालबालिकाको संख्या थुप्रै छ । थप दरबन्दी सिर्जना गरी विद्यालयलाई स्तरोन्नति गर्ने सन्दर्भमा राखिएका प्रावधान नै व्यवधान बनेकाले दुर्गम भेगका बालबालिका आधारभूत तथा माध्यमिक तहको शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित छन् । यसले गर्दा बालबालिका बालविवाह, बालश्रम, कुलत, हिंसा, दुर्व्यवहार तथा ओसारपसारजस्ता जोखिममा पर्ने गर्छन् । शिक्षाको वञ्चितीकरणबाट निम्तिएका र निम्तिन सक्ने जोखिमको आकलन गरेर बालबालिकामा लगानी गर्ने दूरदृष्टि सबै तहका सरकारमा हुनु आवश्यक छ, अन्यथा ‘बालमैत्री’ आदर्श नारामा मात्र सीमित हुन पुग्छ ।
बाल बचाउअन्तर्गतको सूचकमा ६ महिनासम्मको शिशुलाई आमाले अनिवार्य रूपमा पूर्ण स्तनपान गराएका हुनेछन् भन्ने छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)–२०२२ अनुसार, सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै ६ महिनासम्म पूर्ण स्तनपान गराउँछन् । केही अपवादबाहेक पूर्ण स्तनपान गराउने रहर सबै आमामा हुन्छ, सचेतना पनि अधिकांशमा छ, तर कामकाजी आमाहरू ६ महिनासम्म बिदा पाउन नसक्दा र दूध नै नआउने आमाहरू रहर हुँदाहुँदै पनि बोतलको दूध खुवाउन बाध्य छन् । रोजगारीमा जोडिने आमाहरूको संख्या बढिरहेको सन्दर्भमा ६ महिना सुत्केरी बिदाको व्यवस्था नभएसम्म पूर्ण स्तनपान गराउने आमाको संख्या निरन्तर घट्दै जाने भएकाले यस विषयमा सरकारको समयमै ध्यान जानुपर्छ ।
प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने व्यवस्था नेपालको संविधानमा छ । जन्मदर्ता बालबालिकाका लागि पहिचान हो, कानुनी आधार हो भने घटना दर्ताको महत्त्वपूर्ण पाटो पनि हो । सडकमा रहेका, नागरिकताविहीन अभिभावकबाट जन्मिएका, बालविवाह गरेका बाबुआमाबाट जन्मिएका, बाबु विदेशी नागरिक भएका, संस्थागत हेरचाहमा रहेका र अभिभावकविहीन बालबालिकाको जन्मदर्ता गर्न निकै कठिन भइरहेको छ । यसले गर्दा नेपालमै जन्म भएका हजारौं बालबालिका अनागरिक बन्न सक्ने सम्भावना उत्तिकै देखिन्छ । विद्यालयमा जन्मदर्तालाई अनिवार्य गर्ने भनिए पनि व्यावहारिक रूपमा सबै बालबालिकाको जन्मदर्ता बन्न नसकेकाले यो व्यवस्था लागू हुन सकेको छैन । बालमैत्री स्थानीय शासनका सूचकमा ५ वर्षमुनिका शतप्रतिशत बालबालिकाको जन्मदर्ता हुनुपर्ने प्रावधान रहेको भए पनि कानुनी जटिलताले नेपालको सरहदभित्र जन्म भएका केही बालबालिकाको जन्मदर्ता नबन्नु पनि बालमैत्री अभियानमा चुनौतीको विषय बनेको छ ।
भनिन्छ, सुधारको विकल्प सुधार नै हो । सूचकहरू पूरा गर्दै स्थानीय तहहरूलाई बालमैत्री बनाउन केही चुनौती भए पनि निरन्तर लागिपर्दा बाल भविष्य निर्माणमा दरिलो आधार तयार गर्न सकिन्छ, बालबालिकाप्रतिको संवेदनशीलतामा अभिवृद्धि गर्न सकिन्छ । जसरी खुला दिसामुक्त अभियानले खुला रूपमा हुने शौचलाई असभ्य साबित गर्‍यो, त्यसरी नै बालमैत्री अभियानले पनि हरेकको मनमस्तिष्कमा बालमैत्री बोली, व्यवहार, आचरण र वातावरणलाई प्रोत्साहन गर्ने माहोल बनाउँछ । यसका लागि स्थानीय तहको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले संघ र प्रदेशले समेत जिम्मेवारी बोध गरी साझा प्रयासको थालनी हुन सके मात्र सूचक पूरा गरी बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा र दिगोपना कायम गर्न सकिन्छ ।
लामिछाने हेटौंडा उपमहानगरपालिकाकी निर्देशक हुन् ।

Page 8
परदेश

झारखण्डका मुख्यमन्त्री पक्राउ

- राजेश मिश्र

(नयाँदिल्ली)
भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
ईडी केन्द्र सरकारमातहतको निकाय हो । उक्त निकायले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ । मुख्यमन्त्रीको पदमा रहेकै अवस्थामा सोरेन पक्राउ परेका हुन् । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ । राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो ।
बिहारमा सत्ता उलटफेर भएको दुई दिनपछि बिहारबाटै फुटेर बनेको झारखण्डमा पनि राजनीतिक उथलपुथल भएको हो । सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । सोरेन दिल्ली आएको सूचना पाएर ईडी उनको निवासमा पुगेको थियो । तर, उनी भेटिएनन् । ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो । झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिए । उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।
सोरेनको राजीनामा तथा उनको पक्राउ प्रकरणपछि झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोरेनको पार्टी झारखण्ड मुक्ति मोर्चाले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको छ । बहुमत सांसदहरू राज्यपाल कार्यालय अगाडि राति अबेरसम्म जम्मा भएका थिए । उनीहरूले राज्यपाल अगाडि बहुमत पुष्टि गर्न ‘परेड’ नै गर्ने प्रयास गरे पनि भवनमा प्रवेशको अनुमति दिइएको थिएन ।
८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।
बिहारमा सत्ता उलटफेर भएलगत्तै त्यहाँका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव र उनका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवसँग पनि ईडीका अधिकारीले घण्टौं बयान लिएको छ । ईडीका अधिकारीले लालुसँग सोमबार लगातार १० घण्टा र त्यसको अर्को दिन मंगलबार तेजस्वीसँग बयान लिएको थियो । जागिरको बदला जमिन लिएको आरोपमा लालु र उनको छोरामाथि ईडीले अनुसन्धान गर्दै छ । लालु रेलमन्त्री रहेका बेला जमिन लिएर केही व्यक्तिलाई जागिर दिएको उनीमाथि आरोप छ । बिहारमा आइतबार नीतिश कुमारले लालुसँगको सहकार्य छाडेर भाजपालाई साथमा लिएर सरकार बनाएका छन् ।
त्यस्तै, ईडीका कारण दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको पनि समस्या बढाएको छ । ईडीले केजरीवाललाई बयानका लागि आउन पाँचौं पटक पत्र पठाएको छ । हरेक पटक केजरीवालले त्यसलाई पन्छाउँदै आएका छन् । मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार भएको आरोपमा ईडीले केजरीवाल नेतृत्वको सरकारमाथि अनुसन्धान गर्दै आएको छ । ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो । त्यस्तै, आम आदमी पार्टीका नेता राज्यसभा सदस्य सञ्जय सिंह पनि उक्त मुद्दामा जेलमा छन् ।

 

Page 9
अर्थ वाणिज्य

स्तरोन्नति सुस्त, यात्रुलाई सास्ती

- विमल खतिवडा

(धादिङ)
नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर लगाइएको ठेक्काको काम भने सुस्त देखिएको छ । नागढुंगादेखि नौबिसे र नौबिसेदेखि मलेखुसम्मको खण्डमा जथाभावी सडक भत्काएर काम गर्दा यात्रुले धूलो र ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ । पुरानो कालोपत्र सडक खनेर भत्काइएको छ । कतै नाली बनाइरहेको छ त कतै पर्खाल निर्माण गरिरहेको देख्न सकिन्छ । केही–केही खण्डमा भने अहिलेसम्म काम नै सुरु भएको छैन । मलेखुदेखि मुग्लिङसम्मको खण्डमा फाट्टफुट्ट मात्र काम भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यस सडकको पहिलो खण्ड नागढुंगा–नौबिसे छ । १२.२६ किमि दूरीको यो खण्डको १ अर्ब ३० करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७९ जेठ २६ बाट थालिएको थियो । २ वर्षभित्र सक्नुपर्नेमा निर्माण थालेको १९ महिना बितिसक्दा भौतिक प्रगति भने ३६ प्रतिशत मात्र छ । जाङ्सु–सगुन जेभीले लिएको ठेक्का ५ महिनाभित्र ६४ प्रतिशत काम सकिने अवस्था देखिँदैन । तर सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर त्रिलोकनाथ घिमिरेले भने पर्खाल र नाली निर्माणको धेरै काम सकिइसकेको बताए । ‘यो खण्डमा पर्खाल र नालीको धेरैजसो काम सकिइसकेको छ, सडक कालोपत्रका लागि पनि तयारी भइरहेको छ,’ उनले भने, ‘केही–केही ठाउँमा रूख कटानको समस्या भएर पनि काममा ढिलाइ भएको हो ।’ तोकिएकै समयमा सक्ने गरी प्रयास भइरहेको उनले जनाए ।
दोस्रो खण्ड नौबिसे–मलेखुको ४३.५४ किमि दूरीको ठेक्का रकम ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । ठेक्का जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । जेडआईसीजी चिनियाँ कम्पनी हो । ठेक्का सम्झौता ०७९ वैशाख १४ मा भएको र कार्यादेश जेठ २६ मा दिइएको थियो । सुरु सम्झौताअनुसार ०८२ जेठ २५ भित्र स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ । तर निर्माणको समय १७ महिना बाँकी छँदा यो खण्डको भौतिक प्रगति भने १४ प्रतिशत मात्रै छ । ‘यो खण्डमा भने अपेक्षाभन्दा कम प्रगति छ, केही समयअघि सबै क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्री पर्याप्त उपलब्ध हुन सकेन,’ उनले भने, ‘जसको प्रभाव निर्माणको काममा परेको हो ।’ स्थानीयस्तरमा निर्माण सामग्री उत्खननमा विभिन्न समयमा
अवरोध हुने गरेकाले समस्या आएको घिमिरेको भनाइ छ ।
तेस्रो खण्ड मलेखु–मुग्लिङको ठेक्का शर्मा–जेडआईसीजीले लिएको छ ।

४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ ठेक्का रकम रहेको यसको दूरी ३८.८६ किमि छ । ठेक्का सम्झौता ०७९ पुस १५ मा भएको यस खण्डको निर्माण तीन वर्षभित्र सकिनुपर्नेछ । निर्माण सुरु भएको एक वर्षमा भौतिक प्रगति २ प्रतिशत मात्र छ । ‘यो खण्डमा प्रगति कम छ, काम ढिला सुरु भएको हो,’ महाशाखाका इन्जिनियर घिमिरेले भने, ‘काम तोकिएको समयभित्र सक्नुपर्नेछ ।’ सडकको स्तरोन्नति थालिएसँगै यो खण्डमा व्यापार–व्यवसाय गर्दै आएकाहरूले मारमा परेको गुनासो गरेका छन् । बजार र पसल अगाडि माटो र ढुंगाको थुप्रो लगाइएको छ । घाम लाग्दा धूलो र पानी पर्दा सडक हिलाम्मे बन्ने गरेको छ । मुलुककै ‘लाइफलाइन’ सडकका रूपमा रहेको यो खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक निर्माण गरिनेछ । यही खण्ड भएर राजधानीका लागि लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तु भित्रिने गरेको छ । जसले गर्दा सडक निर्माणमा ढिलाइ गरिए दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत समस्या हुँदै आएको छ ।
सडक विभागका अनुसार दुई लेनको सडक ४८ किमि, क्लाइम्बिङ लेन ३७.५ किमि र चार लेन सडक ९.४ किमि बन्नेछ । यो खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिनेछ । अहिले दुई लेनका पुल छन् । तिनै पुलका छेउमा थप दुई लेनका नयाँ पुल निर्माण गरिनेछ । उक्त सडक खण्डहरूमा निर्माणमा ढिलाइ भइरहेको गुनासा आएकाले विकास सहायता कार्यान्वयन महाशाखाले निर्माण व्यवसायीहरूलाई बोलाएर तोकिएको समयभित्र काम सक्न भनेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले बताए । ‘अब कामको गति केही बढ्नेछ,’ उनले भने, ‘जनशक्ति र मेसिनको पनि समस्या थियो, अब सबै व्यवस्थापन गरेर काम अघि बढाउन व्यवसायी सकारात्मक भएको बुझिएको छ ।’ उनका अनुसार रूख कटानले गर्दा पनि निर्माणको काममा केही ढिलाइ भएको हो । नागढुंगा–मुग्लिङ सडक खण्ड भएर दैनिक १० हजार बढी ठूला साना सवारी ओहोरदोहोर गर्छन् ।

अर्थ वाणिज्य

मध्य पहाडी सडक : १३ किमि कालोपत्र गर्न १० वर्ष

- हरिराम उप्रेती

(गोरखा)
पुष्पलाल (मध्य पहाडी) राजमार्गको आरुघाट–ओख्ले १३ किमि सडक खण्ड कालोपत्र गर्ने कामको सुरुवात भएको नौ वर्ष बितिसकेको छ । यो अवधिमा ठेक्काको म्याद आठ पटक थप भइसक्दा पनि अझै १४ प्रतिशत काम बाँकी नै छ । निर्माण कम्पनी रसुवा एलाइट सूर्य जेभीले दुई वर्षभित्रै काम सक्ने गरी २०७१ पौषमा ठेक्का सम्झौता गरेको थियो । पटक–पटक म्याद थप हुँदा पनि निर्माण पूरा नभएको कम्पनीलाई पछिल्लो म्याद २०८१ वैशाखसम्म थप भएको छ ।
मध्य पहाडी राजमार्ग योजना कार्यालय पालुङटारको तारन्तार ताकेतापछि ठेकेदारले काम थालेको छ । साढे दुई किमि सडक कालोपत्र सक्ने गरी उक्त खण्डको काम सुरु भइसकेको राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर विदुर सुवेदीले बताए । ‘१० किमि कालोपत्र भइसकेको छ, बाँकी साढे दुई किमिमा सवबेस गरेर कालोपत्रको तयारी थालिएको छ,’ उनले भने, ‘लगातार काम भए दुई महिनामा यो खण्डको काम सकिन्छ ।’ बुढीगण्डकी डुबान क्षेत्रअन्तर्गत आरुघाट बजार क्षेत्रमा डीपीआरअनुसारको एलाइमेन्ट क्लिएर नहुँदा पनि उक्त खण्डको काममा ढिलाइ भइरहेको थियो । मुख्यतया ठेकेदारको ढिलासुस्तीले नै कामले पूर्णता पाउन नसकेको कार्यालयले जनाएको छ ।
मध्य पहाडी सडकअन्तर्गत आरुघाटदेखि पालुङटारसम्मको ६३.३६ किलोमिटर सडकमा पाँच खण्ड छुट्याएर काम भइरहेको छ । करिब ३० किमि खण्डको कालोपत्रको काम भने सकिएको छ । ओख्ले–निवेल खण्डअन्तर्गतको १६.८६ किमि सडक कालोपत्र तीन वर्षभित्र सक्ने गरी २०७२ माघमा एमपी एससीएफ ईसीसी जेभीले जिम्मा लिएको थियो । उक्त कम्पनीलाई ६ पटकसम्म म्याद थप हुँदा पनि निर्माण पूरा हुन सकेको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । ‘१५/२० दिन भयो मोबिलाइज भएर रिपेयर मेन्टिनेन्सतिर लागिरिहनुभएको छ,’ उनले भने, ‘यो खण्डमा काम गर्न कुनै समस्या छैन, साइट क्लिएर छ ।’ उक्त खण्डअन्तर्गत पाँच किमि मात्र कालोपत्रको काम सकिएको सुवेदीले बताए । उक्त खण्डको कामलाई गति दिन ताकेता गर्दै आएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । ‘कामलाई गति दिनुपर्‍यो भनेर ८/१० पटक त छलफल गरिसक्यौं,’ उनले भने, ‘गाउँपालिकाभित्रको धेरै क्षेत्र मध्य पहाडी सडकमा पर्छ, यही सडकमा बर्खामा हिलो र हिउँदमा धूलोले आजित छौं, सडक नबन्दा जनतासँग फेस सेफ गर्न हामीलाई पनि गाह्रो भइसक्यो ।’
एक साताअघि पछिल्लो पटक ठेकेदारका प्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरी सडक निर्माणलाई गति दिन आग्रह गरिएको उनले बताए । ‘ठेकेदारले काम गरेको पैसा पाएको छैन भन्ने गुनासो पनि छ, अप्ठेरो परेको ठाउँमा सहजीकरण गर्छौं, कामलाई गति दिनुस् भनेका छौं,’ उनले भने, ‘अहिले कामदार आएर निर्माण कार्य भने सुरु गरिरहेका छन् ।’
निबेल–मसानेठाटी खण्डको १२.३ किमि कालोपत्रको काम भने सम्पन्न भइसकेको छ । मसानेठाँटी–ठाँटीपोखरी खण्डको काम अझै अलपत्र छ ।

१५.७ किमि कालोपत्रको जिम्मा पाएको हिन्दुङ प्यासिफिक जेभीले हालसम्म २८ प्रतिशत मात्र काम गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र गोरखा–२ अन्तर्गत पर्ने उक्त खण्डको काममा ढिलासुस्तीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यसमेत गरेका थिए । केही साताअघि मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा गोरखा आएका ओलीले भनेका थिए, ‘प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र रहेछ, सय किलोमिटर हिँडियो भनेको वल्लो छेउ आएर सोध्दा १६ किलोमिटर मात्रै रहेछ । १६ किलोमिटर हिँड्दा यस्तो छ, बाँकी अंश कस्तो होला ?,’ उनले भनेका थिए, ‘अन्यत्र पनि बिग्रिएको, भत्किएको पायौं, अरू ठाउँमा भन्दा पनि यहाँ बन्दै नबनेको हो कि बनेर बिग्रिएको हो, पिच भएजस्तो लागेन ।’ पालुङटार नगरपालिका–१ खोप्लाङ क्षेत्रमा पर्ने उक्त खण्ड पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको क्षेत्र पनि हो ।
मसानेपाटी–ठाटीपोखरी खण्डको काम २०७७ असार २६ बाट काम सुरु भएको थियो । ‘यो खण्डमा अपेक्षित प्रगति छैन,’ इन्जिनियर सुवेदी भन्छन्, ‘अघिल्लो वर्ष रूख कटानलगायतको कार्य भयो, अहिले कुनै जटिलता छैन, निर्माण व्यवसायीको तदारुकतामा कमी छ, साइटमा अहिले काम भए पनि अपेक्षित हुन सकेको छैन ।’ हिउँदमा धूलो र बर्खामा हिलोले सताएको भन्दै यस क्षेत्रका बासिन्दाले कामलाई गति दिन माग गर्दै पटक–पटक जिल्ला प्रशासन, सडकलगायतका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आएका छन् । गत असारमा म्याद सकिएको उक्त खण्डको निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीलाई पुनः म्याद थपको प्रक्रियामा छ । ठाँटीपोखरी चेपे खण्डको ५.५ किमि सडकको काम पनि पूरा हुन सकेको छैन ।
२०७२ चैतबाट उक्त सडक निर्माण सुरु भएको थियो । हाल ९२ प्रतिशत काम भएको उक्त खण्डको छैटौं पटक म्याद थपको प्रक्रिया पनि चलिरहेको छ । उक्त खण्डको काम लगभग सकिएको र मर्मत सम्भारको काम बाँकी रहेको कार्यालयले जनाएको छ । मध्य पहाडीको सडक नालासहित ९ मिटर फराकिलो हुने आयोजनाले जनाएको छ । सात मिटर कालोपत्र तथा नालासहितको सडक बन्नेछ ।

अर्थ वाणिज्य

पुनर्बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २० अर्ब हुनुपर्ने

- यज्ञ बञ्जाडे

(काठमाडौं)
अबको एक वर्षभित्र पुनर्बिमा कम्पनीहरूले चुक्ता पुँजी बढाएर न्यूनतम २० अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने भएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बुधबार उक्त निर्देशन दिएको हो । सञ्चालक समितिको निर्णयअनुसार सञ्चालनमा रहेका पुनर्बिमा कम्पनीहरूले २०८१ माघ ३० भित्र न्यूनतम २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने निर्देशन जारी भएको नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अबको १५ दिनभित्र पुनर्बिमा कम्पनीहरूले एक वर्षभित्रमा तोकिएको पुँजी पुर्‍याउन पुँजीगत योजना पेस गर्नुपर्ने निर्देशन पनि बुधबार जारी भएको पौडेलले जानकारी दिए । हाल पुनर्बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
‘नेपालमा बिमा क्षेत्रको दायरा विस्तार भइरहेको छ, कम्पनीहरूको पनि जोखिम बहन क्षमता बढिरहेको छ । यस्तो अवस्थामा बिमा कम्पनीहरूको जोखिम बहन गर्ने पुनर्बिमा कम्पनीहरूको पनि क्षमता बढाउनुपर्ने भएकाले पुँजी वृद्धिको निर्णय गरिएको हो,’ उनले भने, ‘पुँजी वृद्धिले पुनर्बिमा कम्पनीहरूको पुँजीगत आधार बलियो हुने भएकाले जोखिम बहन क्षमता पनि वृद्धि हुन्छ ।’ १५ दिनभित्र कम्पनीहरूले पुँजी वृद्धिको योजना पेस गर्ने र त्यसका आधारमा एक वर्षभित्रमा न्यूनतम पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ । पुँजी वृद्धिका लागि कम्पनीहरूलाई हकप्रद सेयर निष्कासन गर्न दिने/नदिनेबारे भने प्राधिकरण मौन छ । कम्पनीहरूले पुँजी वृद्धिको कस्तो योजना बनाउँछन्, त्यसलाई अध्ययन गरी हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न दिने वा नदिनेबारे निर्णय हुने प्राधिकरणका प्रवक्ता पौडेलले बताए ।
नेपालमा अहिले नेपाल पुनर्बिमा र हिमालयन रिइन्स्योरेन्स गरी २ वटा कम्पनी सञ्चालनमा छन् । नेपाल पुनर्बिमा कम्पनीमा सरकारको पूर्ण स्वामित्व छ भने हिमालयन रिइन्स्योरेन्समा निजी क्षेत्रको लगानी छ । प्राधिकरणको निर्देशनअनुसार यी कम्पनीहरूले २०८१ माघभित्र न्यूनतम २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । गत असारसम्म नेपाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ३१ करोड रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १० अर्ब रुपैयाँ रहेको छ । अब नेपाल पुनर्बिमाले थप करिब पौने ८ अर्ब र हिमालयन रिइन्स्योरेन्सले १० अर्ब रुपैयाँ पुँजी बढाउनुपर्नेछ । ०७८ चैतमा प्राधिकरणले बिमा कम्पनीहरूको पनि पुँजी वृद्धि गरेको थियो । जसअनुसार ०७९ चैतभित्र जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने निर्देशन थियो । तर, धेरै कम्पनीको पुँजी पुगे पनि केहीको अझै पुगेको छैन ।
सञ्चालनमा रहेका दुई पुनर्बिमा कम्पनीहरूलाई नियामक निकाय बिमा प्राधिकरणले व्यावसायिक रूपमा संरक्षण गर्दै आएको छ । जसअनुसार हाल बिमा कम्पनीहरूले प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) अन्तर्गत अनिवार्य गर्नुपर्ने पुनर्बिमा नेपालमा रहेका दुई पुनर्बिमा कम्पनीलाई समान रूपमा बाँड्दै आएका छन् ।

प्राधिकरणले ०७९ जेठदेखि उक्त व्यवस्था गरेको हो । त्यसअघि कम्पनीहरूले प्रत्यक्ष हिस्साको कम्तीमा २० प्रतिशत नेपालकै कम्पनीमा मात्र पुनर्बिमा गर्दै आएकामा उक्त व्यवस्था परिमार्जन गरेर प्राधिकरणले हाल सञ्चालनमा रहेका दुई कम्पनीलाई समान वितरण गर्नुपर्ने व्यवस्था गरेको थियो ।
प्रत्यक्ष हिस्सा भनेको बिमा कम्पनीहरूले बिमा शुल्क संकलन गरेलगत्तै कम्तीमा २० प्रतिशत सिधै पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर भन्नु हो । यो निर्णयपछि अब बिमा कम्पनीहरूले आव २०७९/८० र ०८०/८१ सम्म प्रत्यक्ष हिस्साअन्तर्गत २० प्रतिशत हिस्सा सञ्चालनमा रहेका नेपाल पुनर्बिमा र हिमालयन पुनर्बिमा कम्पनीलाई १०/१० प्रतिशतका दरले वितरण गर्नुपर्ने भएको हो । आव ०८१/८२ देखि हरेक वर्ष दुई प्रतिशतका दरले यस्तो हिस्सा कम हुँदै जाने र ०८५/८६ देखि यो व्यवस्था खारेज हुने निर्णय बिमा प्राधिकरणको निर्देशन छ । यसअनुसार बिमा कम्पनीहरूले ०८१/८२ मा ८/८, ०८२/८३ मा ६/६, ०८३/८४ मा ४/४, ०८४/८५ मा २/२ प्रतिशतका दरले दुवै पुनर्बिमा कम्पनीमा प्रत्यक्ष हिस्साअन्तर्गतको पुनर्बिमा गर्नुपर्नेछ । यही निर्णय कायम रहे ०८५/८६ देखि यो व्यवस्था खारेज हुनेछ । २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले प्रत्यक्ष हिस्साको २० प्रतिशत अनिवार्य नेपाल पुनर्बिमा कम्पनीमा गराउनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता ०७९ जेठसम्म बिमा कम्पनीहरूले नियमित रूपमा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्दै आएका थिए ।

अर्थ वाणिज्य

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यवृद्धि गरिएको हो ।
माघ १८ देखि लागू हुने गरी बढाइएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टीतेलमा प्रतिलिटर २ र एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

Page 10
अर्थ वाणिज्य

१ करोड अनुदान पाएका उद्योगको प्रतिफल शून्य

- महेश केसी

(रुकुम पश्चिम)
सदरमुकाम मुसीकोट खलंगानजिकै करिब एक करोड बढी सरकारी अनुदानमा स्थापना भएका दुई वटा उद्योगले प्रतिफल दिन सकेका छैनन् । मुसीकोट नगरपालिका–४ शीतलपोखरीमा २०७८ सालमा दाना उद्योगका लागि भनेर ठूला दुई वटा मेसिन ल्याइयो । स्थानीय जनहित कृषि सहकारी संस्थामार्फत चलाउने योजनाका साथ नगरपालिकाले ४८ लाख रुपैयाँ खर्चेका यी मेसिन उपयोगविहीन भएका छन् ।
प्राविधिक ज्ञान र दिगो योजना नहुँदा यी मेसिन यसरी थन्क्याइएको दुई वर्षभन्दा बढी भएको जनहित कृषि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर बुढाथोकीले बताए । ‘हामीलाई त यो खरिदबारे कुनै थाहा पत्तो नै थिएन । मेसिन ल्याएपछि सहकारीबाट चलाउनुपर्छ भनेर राखिदिएका हुन् । राम्रै होला भनेर हामी पनि तम्सियौं । टहरो पनि बनायौं,’ उनले भने, ‘मेसिन राख्ने टहरो बनाएको खर्चसमेत नगरपालिकाले भुक्तानी नगर्दा उपभोक्ता समितिका नाममा अहिले उल्टै करिब १० लाख ऋण छ ।’ नगरपालिकाले उक्त रकम भुक्तानी नगर्दा ब्याज बढिरहेको भन्दै बुढाथोकीले अहिले यो आफूहरूलाई ‘निल्नु न ओकल्नु’ भएको बताए ।
यहाँको मकै उत्पादनले दाना उद्योग चलाउन सकिने अवस्था नै नभएको भन्दै स्थानीय वसन्त पुनले पूर्वआकलन र योजनाबिनै मेसिन किनेकाले चल्न नसकेको बताए । ‘यसले त टनका टन मकै राखेर मात्रै दाना बन्छ । अनि त्यत्रो मकै कहाँबाट कसरी ल्याउने ?’ उनले भने, ‘अर्को कुरा, यो कसरी चलाउने हो भन्नेबारे प्राविधिक ज्ञान पनि कसैसँग छैन । अनि मेसिन किनेर मात्रै उद्योग कसरी हुन्छ त ?’
त्यस्तै शीतलपोखरीदेखि नजिकै कोटचौतारामा छ मुसीकोट साबुन उद्योग । यो पनि नाम मात्रकै उद्योग हो भन्दा फरक पर्दैन । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७७ को सुरुमा ४० लाख त्यसपछि २० लाख गरी ६० लाख अनुदान सहयोग गरेको यो उद्योगबाट सुरुवातमा परीक्षणका लागि केही थान साबुन निकालिएको बाहेक सञ्चालनमा छैन । यससँगै कुखुरा फर्म र मादल–डेरी उद्योग बनाउने योजना पनि अलपत्र छ । उद्योग सञ्चालक समितिका अध्यक्ष आसपुन गन्धर्वले आफूहरू उद्योग चलाउन नसकिने अवस्थामा पुगेको बताए । सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने र यहाँ बनाएर बेच्न पनि सजिलै सकिने अवस्था नभएका कारण सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । ‘तीन वर्षअघि हामीले ३ लाख ऋणसमेत लिएका थियौं । त्यो पनि ब्याजले दोब्बर भयो । उद्योग चलाउने त परको कुरा, त्यो ऋण नै कसरी तिर्ने भन्ने समस्या भइरहेको छ,’ गन्धर्व भन्छन्, ‘यहीसँगै कुखुरा फर्म र मादल–डेरी उद्योग बनाउने भनेको पनि केही हुन सकेन ।’
उद्योग चलाउन नसक्नुको कारणबारे थप स्पष्ट पार्दै गन्धर्वले भने, ‘सुरुमा परीक्षणका रूपमा केही थान साबुन निकालियो । त्यसपछि बजारमा नांगो साबुन बेन्च नमिल्ने नियम आयो । यसको कभर बनाउन अर्को लगानी चाहिने भएर गर्न सकिएन ।’ जिल्ला सदरमुकाम खलंगामै रहेका यी दुई उदाहरण मात्रै हुन् । दशकयता पहुँचका भरमा बिनाउद्देश्य अनुदानका नाममा रकम ल्याएर काम गरेजस्तो मात्रै गरेर सरकारी बजेट दुरुपयोगका कयौं उदाहरण छन् । यी विषयमा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अघिल्लो सरकारले यस प्रकारका अनुदानका काममा जोड दिएको आरोप लगाएका छन् । जथाभावी खरिद अनुदानको काम गर्दा परिणाम भने आउन नसकेको कुरा केसीले स्वीकार गरे । ‘यही वरिपरि पनि थुप्रै यस्ता उद्योग छन् । कहाँ के कस्तो अवस्थामा छन् ? हामी खोजबिन गरेर चलाउन सकिने नसकिनेबारे अध्ययन गर्दैछौ,’ उनले भने, ‘मैले सम्बन्धित शाखा र कर्मचारीलाई निर्देशन गरेको छु । यस विषयमा आवश्यक निर्णय गरेर अघि बढिन्छ ।’ यसरी जथाभावी सामान खरिद गर्ने र अनुदान बाँड्ने सरकार र यसबाट लाभ लिन तँछाड–मछाड गर्ने केही व्यक्तिका कारण ठूलो सरकारी रकम दुरुपयोग भइरहेकाले यसबारे छानबिन गरी हिसाब–किताब दुरुस्त पार्नुपर्ने रुकुम पश्चिमका नागरिक अगुवा पुस्तक चन्दले बताए ।

अर्थ वाणिज्य

'भ्रष्टाचार नियन्त्रण र सुशासनमा चार्टर्ड एकाउन्टेन्ट अपरिहार्य’

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालमा वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका निकै महत्त्वपूर्ण रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । वित्तीय लेखाजोखाको मूल्यांकन गर्ने काम चार्टर्ड एकाउन्टेन्टको रहेकाले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने उनको भनाइ थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को २७ औं वार्षिकोत्सव एवं छैटौं दीक्षान्त समारोहमा बुधबार अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
बुधबार दीक्षित हुने चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै अर्थमन्त्री महतले दीक्षित हुने बेला गरेको प्रतिबद्धता मात्रै पनि पालना गरिदिएको अवस्थामा मुलुकको आर्थिक प्रणाली आफैं अनुशासित हुने टिप्पणी गरे । ‘तपाईंहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा आउने लोभ, लालच, धम्की वा डरबाट किञ्चित नहिचकिचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता गर्दछु भन्नुभएको छ,’ उनले भने, ‘यही प्रतिबद्धता मात्र पनि पूर्ण रूपमा पालना गर्नुस्, वित्तीय अनुशासन आफैं ठीक ठाउँमा आउँछ ।’
भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको अवस्था निराशाजनक देखिएकाले वित्तीय सुशासनमा सुधार ल्याउनुपर्ने र त्यसका लागि चार्टर्र्ड एकाउन्टेन्टको भूमिका अपरिहार्य रहेको उनले बताए । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा यथावत् छ । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल भ्रष्टाचार नियन्त्रण र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । जुन गत वर्षको ११० औं स्थानभन्दा दुई अंकले सुधार हो । नेपालको कर प्रणाली सुधारका लागि उक्त सेवामा चार्टर्ड एकाउन्टेन्टलाई कसरी जोड्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेको उनले बताए । ‘हाम्रो कर प्रणालीलाई अझै चुस्त बनाउन संरचनात्मक र प्रणालीगत सुधार गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि चार्टर्ड एकाउन्टेन्टहरू उपयुक्त स्रोत हुन सक्छन् ।’
अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलिया रहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर घट्दो क्रममा रहे पनि सरकारी वित्तको अवस्थामा अझै अपेक्षित सुधार हुन नसकेको अर्थमन्त्री महतले दाबी गरे । ‘सरकारी वित्तमा पनि सुधारका संकेतहरू देखिएका छन्,’ उनले भने, ‘सरकारी वित्त सुधारका लागि धेरै प्रयास भइरहेकाले अब बिस्तारै नतिजा आउनेछन् ।’ यस्तै, मुलुकमा दिगो आर्थिक विकास र वित्तीय अनुशासन कायम गर्न हामी कहाँ चुक्यौं भन्नेबारे सूक्ष्म रूपमा मूल्यांकन गर्नुपर्ने बेला भएको कार्यवाहक महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले बताए । नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको उत्कृष्ट प्रतिस्पर्धी क्षमतालाई सार्वजनिक वित्त व्यवस्थापनमा उपयोग गर्नुपर्ने पनि उनले बताए । ‘सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय कामकारबाहीलाई अझ चुस्त बनाउनुपर्ने चुनौती कायमै छ,’ उनले भने, ‘हामी सबैको सामूहिक प्रयासबाट मात्र उक्त चुनौती सामना गर्न सकिन्छ ।’
प्रतिस्पर्धी क्षमताकै कारण चार्टर्ड एकाउन्टेन्टहरूले नेपालको हरेक क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘चार्टर्ड एकाउन्टेन्ट विषयको पढाइ नै यति चुनौतीपूर्ण छ कि त्यो पास गरेपछि जीवनमा आउने जस्तोसुकै चुनौती पनि सामान्य लाग्छन्,’ उनले भने । यस्तै, बुधबार आयोजित छैटौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोहमा ८४ जना विद्यार्थी दीक्षित भएका छन् ।

अर्थ वाणिज्य

टनेल परीक्षण गर्दै ७१ मेगावाटको नीलगिरि क्यास्केड

- घनश्याम खड्का

(म्याग्दी)
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि–२ (एन–२) जलविद्युत् आयोजनाले टनेल परीक्षण सुरु गरेको छ । नीलगिरि खोलामा एकसाथ निर्माणाधीन २ वटा जलविद्युत् आयोजनामध्ये नीलगिरि–२ (क्यास्केड) को टनेलमा मंगलबारदेखि पानी राखेर परीक्षण गर्न लागेको हो ।
आयोजनाको प्रबन्धक नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडले सूचना प्रकाशित गरी आयोजनाको सुरुङ परीक्षण हुने भएकाले माघ १६ देखि २५ सम्म खोलामा पानीको बहाव थपघट हुने हुँदा माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र खोलामा आवतजावन नगर्न भनेको छ । ‘माघ २५ सम्म टनेलमा पानी भर्ने सिपेज भए/नभएको हेरिने भएकाले पानी भर्ने/छोड्ने भइरहन्छ । टनेल परीक्षण अपेक्षित रहे अर्को १० दिनपछि पेनस्टक पाइपमा पानी भर्ने र टर्बाइनहरूको वेट टेस्टको काम हुन्छ,’ नीलगिरि खोला जलविद्युत् कम्पनीका इन्जिनियर केशव वाग्लेले भने, ‘आगामी एक महिनाभित्र आयोजनाले परीक्षण उत्पादन थाल्ने लक्ष्य राखेका छौं ।’
टनेल परीक्षण गर्न कम्तीमा १५ दिन लाग्न सक्छ । नीलगिरि खोलामै सोही कम्पनीबाट निर्माणाधीन अर्को ४०.७ मेगावाट क्षमताको नीलगिरि–१ (एन–१) पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । इन्जिनियर वाग्लेका अनुसार नीलगिरि–१ को पुस मसान्तसम्म ९० प्रतिशत काम भएको छ । नीलगिरि–१ तर्फ अहिले टनेलको भुइँ ढलान र सुरुङभित्र पाइप बिछ्याउने तथा पावर हाउसका केही कामसँगै भइरहेको छ । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोड्न छोटेपा–दोबिल्ला हुँदै दाना सबस्टेसन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइनका २४ मध्ये २३ वटा
टावर तथा लाइन तान्ने काम सकिएको छ ।
निजी क्षेत्रको लगानीबाट निर्माण भइरहेको जिल्लाको ठूलो नीलगिरि जलविद्युत् आयोजनाले नीलगिरि–१ बाट निक्लने पानीलाई सोझै नीलगिरि क्यास्केडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । नीलगिरि क्यास्केडको छोटेमामा बाँध र तल दोबिल्लामा विद्युत्गृह रहने छन् । आयोजनाले नीलगिरि क्यास्केडको विद्युत्गृहदेखि नीलगिरि–१ को बाँधस्थलसम्म १४ किलोमिटर पहुँचमार्ग पनि बनाएको छ ।

Page 12
खेलकुद

सुवास एक्लैको ५ विकेट

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सुवास भण्डारीले ५ विकेट लिए पनि नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा बुधबार बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगिताको सुपर सिक्समा आफ्नो पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपालले बंगलादेशसँग ब्याटिङमा प्रभाव देखाउन सकेन ।
ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ रोजेको नेपाल एक बलअघि अर्थात् ४९.५ ओभरमा १ सय ६९ रनमै अलआउट भयो । जिसन अलाम र आरिफुल इस्लामले अर्धशतक बनाएपछि बंगलादेशले २५.२ ओभरमै लक्ष्य पूरा गर्‍यो । सुवासले निकै दबाब दिए पनि यी दुईको इनिङ्समा बंगलादेशले नेपालको चुनौती पन्छाएको हो ।
बंगलादेशले १२ ओभरभित्र ६७ रन जोडेर राम्रो सुरुआत गरेको थियो । सुवासले आसिकुर रहमानलाई १६ रनमा आउट गरेर उक्त साझेदारी तोडेका थिए । अलामले आक्रामक खेल्दै ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५५ रन बनाए । इस्लामले ३८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरी अविजित ५९ रन बनाए । बंगलादेशको झरेका सबै ५ विकेट अफ स्पिनर सुवासले लिएका थिए । उनले ८ ओभरमा ४४ रन खर्चिए । नेपाली खेलाडीले यस विश्वकपको एकै खेलमा ५ विकेट लिएको यो दोस्रो अवसर हो ।
आकाश चन्दले अफगानिस्तानविरुद्धको समूह चरणको अन्तिम खेलमा पनि ५ विकेट नै लिएका थिए । बुधबार नेपालको सुरुआत राम्रो हुन सकेन । अर्जुन कुमालले पहिलो ओभरमै २ चौका प्रहार गरे पनि त्यसपछि लगातार विकेट गुमायो । विपिन रावल २ र आकाश त्रिपाठी ३ रन बनाई आउट भए । अर्जुन पनि धेरै टिकेनन् । उनले १४ रनमात्र बनाए । कप्तान देव खनालले विशालविक्रम केसीसँग चौथो विकेटमा ६२ रनको साझेदारी गरेका थिए । देवले ६० बल खेल्दै ३ चौका प्रहार गरी ३५ रन बनाए ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका विशालले ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरे । गुलशन झा, दीपक बोहरा र दीपेश कँडेल समान ३ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा अविजित रहे । उनले ३४ बल खेले पनि कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । आकाश चन्दले खाता खोल्न सकेनन् भने दुर्गेश गुप्ताले १ छक्का प्रहार गर्दै १४ बलमा ९ रन जोडे । बंगलादेशका लागि रोहनत बोरसनले ४ विकेट लिए । प्लेयर अफ द म्याच उनले ८.५ ओभरमा ४४ रन खर्चे । शेख जीवनले ३ विकेट लिए ।
नेपाललाई पराजित गर्दै बंगलादेशले भने अघिल्लो चरणमा प्रवेश गर्ने झिनो सम्भावना देखाएको छ । पाकिस्तानलाई अन्तिम खेलमा पराजित गरे बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
सुपर सिक्सको ग्रुप १ मा भारत र पाकिस्तानको ६–६ अंक छ भने नेपाललाई पराजित गरेको बंगलादेशसँग ४ अंक छ । सेमिफाइनल दौडबाट बाहिरिसकेको न्युजिल्यान्डको २ अंक छ भने नेपाल र आयरल्यान्ड अंकविहीन छन् । नेपालले अब शुक्रबार भारतसँग खेल्नेछ ।

खेलकुद

एपीएफ शीर्ष चारबाटै बाहिर

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा पुग्न असफल भएको छ । कर्णाली प्रदेशसँग बुधबार २१ रनको हारसँगै एपीएफले शीर्ष चारभित्र पर्ने मौका गुमाएको हो ।
कर्णालीलाई पराजित गरेको भए एपीएफ तेस्रो स्थानमा पुग्थ्यो । तर, हारपछि प्रधानमन्त्री कपका शीर्ष चार टोलीबीच नेपाल क्रिकेट संघले भविष्यमा आयोजना गर्ने भनिएको प्रतियोगिता पनि एपीएफ गुमाउने छ । पहिलो आठै खेल जितर नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
त्रिभुवन आर्मी क्लब, वाग्मती र मधेश प्रदेश समान १२ अंकसाथ क्रमशः दोस्रोदेखि चौथो स्थानमा छ । आर्मीले बिहीबार हुने खेलमा गण्डकी प्रदेशलाई पराजित गरेमा पुलिससँगको फाइनल निश्चित गर्नेछ । एपीएफ १० अंकसहित पाँचौं स्थानमा छ । समान ८ अंकसहित सुदूरपश्चिम र कर्णाली क्रमशः छैटौं र सातौं स्थानमा छ ।
आसिफ शेखले शतक बनाए पनि २ सय ७ रनको लक्ष्य पाएको एपीएफ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४४ ओभरमै १ सय ८५ रनमा अलआउट भयो । आसिफ र अमर राउटेलाले सातौं विकेटमा ८७ रनको साझेदारी गर्दा एपीएफ विजयतर्फ लम्किएको थियो । आसिफले १ सय १२ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । ४२ औं ओभरमा आसिफलाई प्रकाश जैसीले आउट गरेपछि कर्णालीले खेल नाटकीय रूपमा पल्टाएको थियो ।
प्रकाशले अर्को ओभरमा चन्दन राम, मौसम ढकाल र रमेश कुर्मीलाई आउट गरेपछि कर्णालीलाई नाटकीय विजय दिलाए । प्लेयर अफ द म्याच प्रकाशले ४ विकेट लिए । उनले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चे । दीपेन्द्र राउत र युनिश सिंहले २–२ तथा दिनेश अधिकारी र दिवान पुनले १–१ विकेट लिए । एपीएफबाट राउटेला ७१ बलमा अविजित २८ रन रहे । लोकेश बम ११, कप्तान रोहित पौडेल १४, सुमित मण्डल ९, सन्दीप जोरा २, भुवन कार्की ३ र प्रदीप ऐरी २ रनमा आउट भए ।
पुलिसले मूलपानी मैदानमा लुम्बिनी प्रदेशलाई १ सय ३ रनले हरायो । पिचो गिलो भएका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नियमित कप्तान दीपेन्द्रसिंह ऐरीविना खेलेको पुलिसले ३७.३ ओभरमा अलआउट हुँदै २ सय ४५ रन जोडेको थियो । कार्यबाहक कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित ७६ रन बनाए ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा ७ चौका र १ छक्कासहित ४८ रन बनाए । अर्जुन साउद २४, रशिद खान १२ र रोशन बुढा १० रनमा आउट भए । तल्लोक्रममा करण केसीले २७ बलमा समान ५ चौका र छक्कासहित ५७ रन बनाए । लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४, वीर मगरले ३ तथा कृष्ण कार्की र अभिषेक गौतमले १–१ विकेट लिए ।
लुम्बिनी ३६.३ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । दिलसाद अलीले ४६ बलमा ५ चौका र २ छक्कासहित ३६, नरले ३ चौका र २ छक्कासहित ३१, विराट भण्डारीले १६, कप्तान सुशान्त थापाले १४ र प्रज्ज्वल थापाले १२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ३, करणले २ तथा ललित राजवंशी, सागर ढकाल, रशिद र आरिफले १–१ विकेट लिए ।

 

खेलकुद

थ्रीस्टार फाइनलमा

- दीपक परियार

(पोखरा)
थ्रीस्टार क्लबले जावलाखेल युथलाई बुधबार १–० ले पराजित गर्दै २३ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । ललितपुरको दुई क्लबबीचको भिडन्तमा यसपालि थ्रीस्टार भाग्यशाली ठहरिएको हो ।
खेलको ६७ औं मिनेटमा मैदान छिरेका दीपेश घलेको निर्णायक गोलमा थ्रीस्टारले उपाधि यात्रा बलियो बनाएको हो । थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले आदित्य शाक्य र रोशन रानामगरको स्थानमा वैकल्पिक खेलाडी दीपेश घले र नीरज चौधरीलाई मैदान पठाएका थिए । खेलको ७८ औं मिनेटमा अर्का खेलाडी दीपेश आलेमगरको पासलाई सेकेन्ड बार च्यापेर घलेले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलमा दीपेश घले प्लेयर अफ द म्याच भए ।
पहिलो हाफमा जावलाखेलमाथि थ्रीस्टार हाबी भए पनि कुनै गोल गर्न सकेन । दोस्रो हाफ ठीक विपरीत बन्यो । खेलको आठौं मिनेटमा थ्रीस्टारले एक अवसर गुमायो । आशिष चापागाईंले पेनाल्टी क्षेत्रबाट गोल प्रहार गर्न खोज्दा जावलाखेलका डिफेन्डरले क्लियर गरिदिए ।
खेलको ३६ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको क्रसमा सुनील खड्काको प्रहार फितलो साबित भयो । सुनीलको प्रहारले पोस्टको दिशा लिए पनि थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाए ।
खेलको ७५ औं मिनेटमा जावलाखेलले अर्को अवसर गुमायो । राष्ट्रिय टोलीमा रहेका हिसुबले प्रहार गरेको बल विपक्षी गोलरक्षकबाट रिबाउन्ड भयो । रिबाउन्ड बल प्रदीप बुढाथोकीको प्रहार सफल हुन सकेन ।
जावलाखेलले पहिलो खेलमा मछिन्द्रलाई १–० ले र त्यसपछि छ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीलाई सडन डेथमा हराएर सेमिफाइनल यात्रा तय गरेको थियो ।
थ्रीस्टारले यसअघि ०६३, ०६७, ०६९, ०७१ र ०७५ मा गरी पाँचपल्ट आहा–रारा गोल्डकप जितेको छ । यसपालि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ र क्वाटरफाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार उपाधि यात्रामा लम्किएको हो ।
०७५ सालमा थ्रीस्टारले उपाधि जित्दा टिम कप्तान रहेका विक्रम लामा यसपालि प्रशिक्षकको रूपमा पोखरा आएका छन् । कप्तानभन्दा प्रशिक्षकको भूमिका निभाउँदा बढी दबाब हुने गरेको अनुभव उनले सुनाए । पहिलो हाफमा योजनाअनुसार नै खेले पनि दोस्रो हाफमा कमजोरी भएको उनले स्वीकारे । केही खेलाडी घाइते भएकाले पनि आक्रामकभन्दा काउन्टर अट्याकको रणनीति अपनाएको र त्यसमा सफल भएको उनले सुनाए । ‘जावलाखेल पनि दुई म्याच जितेर आएको बलियो टिम थियो,’ उनले भने, ‘खेलाडीबीचको समन्वय भइरहेको टिमसँग खेल्दा गाह्रो पक्कै भयो ।’
जावलाखेलका प्रशिक्षक नरेश थापाले मनाङसँगको क्वाटरफाइनलमा सडनडेथसम्म खेल्डा खेलाडीलाई बढी ‘लोड’ भएकाले आराम नपुगेको बताए । ‘दोस्रो हाफमा केही राम्रा अवसर सदुपयोग नगर्दा पराजित हुनुपर्‍यो,’ उनले भने । बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

खेलकुद

एनआरटीलाई सफलता

- कान्तिपुर संवाददाता


मकवानपुर (कास)– हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले विजयी सुरुआत गरेको छ । साबिक उपविजेता हिमालयन शेर्पामाथि ३–० को जित निकाल्दै एनआरटीले दोस्रो चरण पक्का गरेको हो । विजेताका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले गोल गरेका थिए ।
हिमालयनविरुद्ध सरोजले खेलको २९ औं मिनेट, रोहनले ५७ औं मिनेट र सुमितले ८५ औं मिनेटमा गोल गरेका हुन् । एनआरटीका सरोज तामाङ म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरुमा दुई गतिला मौका खेर फाल्दा हिमालयन पहिलो खेलबाटै बाहिरिन पुगेको हो । विदेशी फरवार्ड नेपोलियन २२ र २४ औं मिनेटमा एनआरटीका गोलरक्षक प्रिसोसँग वान भर्सेज वानको अवस्थामा गोल गर्न चुकेका थिए । प्रिसोको लगातार बचाउसँगै एनआरटी हिमालयन शेर्पामाथि हाबी भएको हो ।
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले खेलाडीको मिहिनेतका कारण सहजै जित प्राप्त भएको बताए । ‘हाम्रो योजनाअनुसार सबै खेलाडीले खेलेका कारण जित सम्भव भयो । विपक्षी कमजोरभन्दा पनि हाम्रो लगातार स्कोर निस्कियो ।’
हिमालयन शेर्पाका प्रशिक्षक शिव लामाले नियमित प्रशिक्षण नभएका कारण खेलाडीबीच तालमेलमा समस्या देखिएको बताए । बिहीबार एपीएफ र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

 

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


खेलकुद प्रतिभा सम्मान प्रदान
काठमाडौं (कास)– युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई बुधबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा एसियाडकी रजत विजेता पदक विजेता करातेकी एरिका गुरुङसहित कांस्य विजेता कबड्डकी कप्तान मेनुका राजवंशी, टेबलटेनिसका नविता श्रेष्ठ, शिवसुन्दर गोथे र शुभश्री श्रेष्ठ तथा पारा तेक्वान्दोकी एसियाड कांस्य विजेता पलेशा गोवर्धन छन् । प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र चिकित्सकतर्फ फिजियो आविष्कार पुडासैनी (फुटबल) छन् । सम्मानित सबैले जनही एक लाख रुपैयाँसहित सम्मानपत्र पाए । राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मी सम्मानित भए । उनलाई ५० हजार नगदसहित सम्मान गरिएको हो । प्रदेशतर्फ पत्रकारिता प्रोत्साहन पुरस्कारमा अनलाइन खबरका गोविन्दराज नेपालसहित आठ पत्रकार २५ हजार राशिको प्रोत्साहन पुरस्कारमा सम्मानित भए । सबैलाई खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सम्मानपत्र प्रदान गरेका थिए ।
विभागीय टोलीको दबदबा
कञ्चनपुर (कास)– महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा बुधबार विभागीय टोलीले दबदबा कायम रह्यो । नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लबसँगै गण्डकी प्रदेश विजयी भएका छन् । पुलिसले कोशी प्रदेशलाई २५–१३, २५–१३, २५–२० ले, एपीएफले आयोजक सुदूरपश्चिम प्रदेशलाई २५–१७, २५–१३, २७–२५ ले र आर्मीले लुम्बिनी प्रदेशलाई २५–२०, २५–८, २५–१७ ले पराजित गरे । गण्डकीले कर्णालीलाई २५–१८, २५–१८, ३२–३० ले हरायो ।
हाफ म्याराथन चैतमा
काठमाडौं (कास)– नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशको आयोजनामा तेस्रो किसुनजी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थानका विजेताले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार जित्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट सुरु भई पुनः त्यही पुगेर टुंगिने छ । ‘रन फर फनमा ५ किमि दौड हुनेछ । यसमा पुरुष/महिलातर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् ।
टिम इभेन्टमा होप्स विजयी
काठमाडौं (कास)– होप्स एकेडेमीका ‘ए’ र ‘बी’ दुवै टोली छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार फाइनल पुगेको छ । सेमिफाइनलमा दुवै टिमले विभागीय टोलीलाई हराएको थियो । लैनचौरस्थित
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा होप्स ‘ए’ ले नेपाल एपीएफ क्लबलाई ३–१ र होप्स ‘बी’ ले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । महिला टिम इभेन्टमा पनि होप्स फाइनल पुग्यो । होप्सले पुलिसलाई ३–१ ले हरायो । चीनको लान्फेङ टेबलटेनिस क्लबसँग फाइनल भेट पक्का गर्‍यो । अर्को सेमिफाइनलमा लान्फेङले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीलाई ३–० ले पन्छायो ।