You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

सँगै रुस गएका दाइ मारिए,भाइ दुई महिनादेखि अस्पतालमा

- भवानी भट्ट

(कञ्चनपुर)
काठमाडौंमा घर, कञ्चनपुरको वेदकोटमा पनि घरजग्गा छ । एक छोरा, एक छोरी र श्रीमतीसँगै काठमाडौंमै बस्थे वेदकोट नगरपालिका–९ सुन्दरपुरका ४३ वर्षीय विराजन विष्ट । १० वर्ष नेपाली सेनामा काम गरेका उनी जागिर छाडेर रोजगारीका लागि सिंगापुर, यूएई पुगिसकेका थिए । उनका ३९ वर्षीय भाइ नीराजनले पनि गाउँमा पसल चलाउँदै एउटा बस पनि किनेका थिए ।
अचानक रुसी सेनामा भर्ती खुलेको हल्ला सुने । आकर्षक तलब र रुसको पीआर पाउने लोभमा विराजनसँगै भाइ नीराजन र नाति पर्ने लोकेन्द्र पनि जोखिम मोल्न तयार भए । दलाललाई ७/७ लाख रुपैयाँ तिरेर गत मंसिरमा भारतको दिल्ली हुँदै दुई भाइ र ३० वर्षीय लोकेन्द्रसँगै रुस उडे ।
रुस पुगेपछि उनीहरूलाई सेनाको क्याम्पमा राखेर तालिम दिइयो । चैत मध्यसम्म युद्धमा पठाइएको थिएन । त्यतिबेलासम्म घरपरिवारसँग नियमित सम्पर्क भइरहन्थ्यो । रुस उडेको ६ महिनामै विराजनको वैशाख १७ मा दोहोरो भिडन्तमा परी मृत्यु भएको खबर आयो । घरपरिवारले सम्पर्क नभएको १४ दिनपछि मात्रै मृत्युको खबर पाएका थिए । त्यही बेलादेखि सम्पर्कविहीन भएका उनका भाइ नीराजन दुई महिनादेखि गोली लागेर घाइते भई अस्पतालमा उपचाररत छन् । उनको रुसको मस्कोमा रहेको सेनाको अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।
विराजनको मृत्युको खबरपछि परिवारले कुशको पुतला बनाएर अन्तिम संस्कार गरी काजकिरिया सके । वैशाख १७ मा मृत्युको खबर पाएका परिवारले वैशाख २६ मा अन्तिम संस्कार गरेका थिए । ‘नीराजन एक महिनापछि सम्पर्कमा आयो, गम्भीर चोट लागेर दुई महिनादेखि अस्पतालमै भर्ना गरेको छ,’ जानकीले भनिन्, ‘अझै कति लाग्ने हो, केही थाहा छैन ।’ उनका अनुसार दोहोरो भिडन्तका बेला दायाँ हात र छातीमा गोली लागेर नीराजन घाइते भएका हुन् । जानकीका अनुसार विराजनको मृत्यु हुँदा नीराजन पनि सँगै थिए ।
विराजनको मृत्यु हुनुभन्दा अघिदेखि नै नीराजनको परिवारसँग सम्पर्क हुन सकेको थिएन । जेठो छोराको मृत्युको पीडामा रहेकी आमा जानकीलाई कान्छोको पनि कस्तो खबर आउँछ भन्ने चिन्ताले सताइरहेको छ । जानकीलाई आएको खबरअनुसार दाइले भाइलाई जोगाउन प्रयास गरेका रहेछन् । युद्धका क्रममा दाइ विराजन दुई/तीन जनासँगै बंकरभित्र पसे । भाइलाई बंकरभित्र पस्न दिएनन् ।

दाजु बंकरभित्र पसेको डेढ/दुई घण्टासम्म नीराजन नजिकै कुरिरहे । त्यसपछि उनी त्यहाँबाट भागे । पछि दाइको मृत्यु भएको थाहा पाए । तर उनले दाजुको खबर घरमा भन्न सकेनन् । साथीलाई घरमा खबर गरिदिन भनेका थिए ।
दाजुको मृत्यु भएपछि नीराजनलाई दुई/तीन दिन युद्धमा पठाइएन । त्यसपछि फेरि उनी युद्धमा खटिए । त्यही बेला गोली लागेर घाइते भएको जानकीले बताइन् । ‘गोली लागेर घाइते भएपछि भागेर ज्यान जोगाएको रहेछ,’ उनले भनिन्, ‘शरीरकै कपडा च्यातेर घाउमा बाँधेर भागेको रहेछ ।’ त्यसपछि रुसी सेनाले उनलाई रुसको सीमा क्षेत्रमा रहेको अस्पतालमा भर्ना गर्‍यो । त्यहाँ निको नहुने भएपछि मस्को पुर्‍याएको नीराजनले बताएको उनले सुनाइन् ।
‘अहिले पनि अस्पतालमै छ, हिँडडुल गर्न सक्दैन,’ जानकीले भनिन्, ‘अब त निको हुने आशा जागेको छ ।’ उनी वैशाख २२ मा घाइते भएका थिए । गोली लागेको केही बेरमै बेहोस भएका उनलाई १४ दिनपछि होस आएको साथीहरूले बताएको उनले सुनाइन् । परिवारसँग सम्पर्कमा आएपछि रुस पठाउने दलालमार्फत कपडा र मोबाइल अस्पतालमै पुर्‍याएको
उनले बताइन् ।
नीराजनले निको भएपछि भदौ/असोजमा घर फर्किने योजना बनाएको जानकीले सुनाइन् । ‘अब जे भए पनि घर फर्कन भनेका छौं, निको भएपछि आउँछ भन्ने आस छ,’ उनले भनिन्, ‘सँगै गएका लोकेन्द्रलाई पनि लिएर आउन भनेका छौं ।’
नीराजनले रेखदेख गर्ने बस र पसल उनकी श्रीमती सीताले हेरिरहेकी छन् । सीताले श्रीमान्लाई रुस नजान पनि सुझाएकी थिइन् । तर दुई भाइ तयार भएपछि उनको केही लागेन । विराजनले घरपरिवारसँग पीआर पाएपछि मात्रै फर्किने भन्थे । नीराजन भने ६ महिना बसेर फर्किने योजनामा थिए । अहिले नीराजनको घरमा सान्त्वना दिन आफन्तहरू आइरहेका छन् । आगन्तुकलाई देख्नेबित्तिकै नीराजनकी आमा रुन थाल्छिन् । ‘नाति–नातिना स्कुल जान्छन् । बुहारी पसलमा, घरमा म एक्लै त हो,’ उनले भनिन्, ‘जेठो छोराका नाति–नातिना र बुहारी काठमाडौं बस्छन् । घरमा एक्लै बस्दा छोराकै बारेमा सोचिन पुग्दो रहेछ ।’
अहिले पनि अस्पतालको बेडमा छटपटाइरहेको कान्छो छोराको अवस्था कस्तो हुने हो भन्ने एकातिर चिन्ता छ, अर्कोतिर निको भएपछि पनि सहजै घर फर्किन पाउने हो कि होइन भन्ने विषयले उनलाई त्रसित बनाइरहेको छ । उनको परिवार २०३९ मा बैतडीको पुर्चौंडीबाट महेन्द्रनगर बसाइँ सरेको हो । श्रीमान् गोविन्दबहादुर विष्ट जिल्ला अदालतमा विचारी थिए । ‘उहाँको त्यही कमाइका भरमा हाम्रो परिवार तराई झरेको हो,’ उनले भनिन् । केही वर्ष महेन्द्रनगरमै कोठा भाडा लिएर बसेपछि सुन्दरपुरमा जमिन किनेर बसाइँ सरेको उनले बताइन् । ‘निकै दुःख गरेर यहाँ बसेका हौं, अहिले छोराहरूले यति टाढा गएर जीवन दाउमा लाए,’ आँसु पुछ्दै जानकीले भनिन्, ‘जेठो त गयो, कान्छोको आशा थियो त्यो पनि अस्पतालमै छ ।’ उनले नीराजन निको हुनेबित्तिकै जसरी भए पनि घर फर्किन भनेको बताइन् ।

मुख्य पृष्ठ

प्रधानमन्त्रीको पक्षमा अब ६३ मत, २८ गते विश्वासको मत लिने

- गंगा बीसी

(काठमाडौं)
दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस–एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई अटेर
गर्दै दाहालले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिन चाहेका हुन् । उनले संसद् सचिवालयलाई पत्र लेखी त्यस दिनका लागि विश्वासको मत लिने कार्यक्रम कार्यसूचीमा समावेश गरिदिन आग्रह गरेका छन् ।
सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले एमालेले सरकारबाट समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले प्रतिनिधिसभामा ‘फ्लोर टेस्ट’ गर्ने अधिकार प्रयोग गरेको बताइन् । ‘प्रधानमन्त्रीज्यूले संसद्मा फ्लोर
टेस्ट गर्छु भन्नु संवैधानिक अधिकार
हो,’ उनले भने, ‘कांग्रेस–एमालेले राजीनामा दिन जोडजबर्जस्ती गरे
पनि सरकारले संसद्मा विश्वासको
मत लिनेछ ।’ संसद्बाट विश्वासको मत लिन चाहनुलाई गैरराजनीतिक टिप्पणी गर्नु उचित नभएको पनि उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्रमा भनिएको छ, ‘मेरो नेतृत्वमा २०७९ पुस ११ मा गठित सरकारमा सहभागी दलमध्ये एक दलले समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय २०८१ असार २८ मा प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ ।’
प्रधानमन्त्रीले यो पत्र पठाइसकेपछि पनि संसद्मा ७ सिट भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिएको छ । दाहालको पक्षमा माओवादी (३२), रास्वपा (२१) र एस (१०) का गरी ६३ सांसद छन् । यसअघि सरकारलाई समर्थन गरेका जनमत (६) र नागरिक उन्मुक्ति (४) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।
एसका नेता झलनाथ खनालले सरकारलाई दिएको समर्थन कायम रहेको बताए । ‘हालसम्म समर्थन गर्‍यौं, अब सरकारबाट बाहिरिँदा पनि सँगै हुन्छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म सरकारमा रहन्छौं, बाहिरिएपछि विपक्षी दलको मोर्चा बनाएर अघि बढ्छौं ।’
एसका अध्यक्ष माधवकुमार
नेपालले सरकारले संसद्को सामना गर्नुपर्ने बताए । ‘हामी यो सरकारमा कायम छौं, यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ । पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्नुपर्छ,’ उनले महाधिवेशनपछि पत्रकारसँग भने, ‘सबै दलले
संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं ।’

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले सरकारका कामकारबाहीबारे स्पष्ट रूपमा तथ्य राख्दै विश्वासको मत माग्ने बताए । ‘संसद्को अंकगणित अनुकूल नभए पनि प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्नो धारणा स्पष्ट रूपमा राख्नुहुनेछ,’ उनले भने, ‘प्रतिनिधिसभाको अंकगणितले बहुमत नदेखाउन सक्छ तर राजनीतिक मुद्दाका हिसाबले विश्वास लिनु हुनेछ ।’ उनले समीकरण फेरबदल हुँदा सरकार कहिले बहुमत र कहिले अल्पमतमा पर्नु स्वाभाविक भएको बताए ।
रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीको आग्रहमा विश्वासको मत लिने दिनसम्म सरकारमै रहने बताए । ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने दिनसम्म साथ दिनुस् भनेपछि हामीले राजनीतिक रूपमा सहयोग गरेको हो,’ उनले भने । कांग्रेस नेता एनपी साउदले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहभागी हुँदा आफ्नो सरकारको उपलब्धि, अर्को गठबन्धन बन्नुको बुझाइ राख्न चाहेको हुन सक्ने बताए । ‘संसद्मा सरकारका काम,
आफ्ना विषय राखेर सरकारबाट बाहिरिन चाहेको देखिन्छ,’ उनले भने, ‘यसलाई संसदीय प्रक्रियामा स्वाभाविक रूपमा लिनुपर्छ ।’ एमाले मुख्य सचेतक महेश बर्तौलाले स्पष्ट बहुमत भएका दुई ठूला दल कांग्रेस र एमालेले समर्थन फिर्ता लिइसकेपछि पनि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन खोज्नु राजनीतिक ‘दाउपेच’ को छिद्र खोजेको आरोप लगाए । ‘दुई ठूला दलको सहकार्य भइसकेपछि प्रतिनिधिसभामा स्पष्ट बहुमत हुँदाहुँदै प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु उचित हुन्थ्यो,’ उनले भने, ‘सरकारले विश्वासको मत लिनु अधिकार भए पनि सत्ता दाउपेचको छिद्र खोज्ने प्रयास पनि हो ।’
पछिल्लोपल्ट प्रधानमन्त्री बनेयता दाहालले प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा २७० सांसदमध्ये २६८ मत, दोस्रो पटक २०७९ चैत ६ मा २६२ सांसदमध्ये १७२, तेस्रो पटक २०८० फागुनमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाको मत पाएका थिए । चौथो पटक २०८१ जेठ ७ मा १५८ मध्ये १५७ सांसदको साथ पाए । उनले असार २८ मा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।
यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएका छन् ।

समाजवादी मोर्चा क्रियाशील बनाउने तयारी
कांग्रेस, माओवादी र एस गठबन्धनका बेला गठन भएको समाजवादी मोर्चालाई क्रियाशील बनाउने पहल सुरु भएको छ । गत पुसमा एमाले, माओवादी र रास्वपालगायतको समीकरण बनेपछि निष्क्रिय रहेको मोर्चालाई फेरि ब्युँताउन लागिएको हो । मोर्चामा माओवादी, एस, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी छन् ।
एसका अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले मोर्चाको बैठक बस्न ढिला भइसकेकामा पनि जोड दिए । ‘अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश–प्रदेशमा पनि पार्नेछ । एउटा क्षेत्रमा मात्र प्रभाव पार्ने छैन, नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ, त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ । हामीले कसरी अघि बढ्ने हो ?’ उनले भने, ‘दलहरूसँग पनि वार्ता गर्नुपर्नेछ, समाजवादी मोर्चालाई क्रियाशील गर्नुपर्नेछ । माओवादी उपाध्यक्ष सापकोटाले कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधन गरी प्रतिगमनतिर जान खोजेको भन्दै विपक्षी दलहरूको साझा मोर्चा बन्ने बताए ।

 

Page 2
म्यागेजिन

करेन्ट लागेर मधेशमा मात्र ५ वर्षमा ४४९ को मृत्यु

- शिव पुरी

(रौतहट)
रौतहटको गरुडा–३, मलाही टोलकी ३० वर्षीया मनीषा सहनीलाई २०८० चैत २१ गतेको घटना सम्झिन पनि मन लाग्दैन । मकवानपुरको राक्सीराङ गाउँपालिका–९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा पढाउने उनका ४० वर्षीय पति मनोज त्यस दिन छुट्टीमा घर आएका थिए । तरकारी खेतीमा पानी लगाउन मोटर चलाउने क्रममा उनलाई करेन्ट लाग्यो । घटनाका बेला मनीषा र ६९ वर्षीय बुबा विश्वनाथ छेवैमा थिए । मोटरको तार छुँदा मनोज एक्कासि ढले । हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो ।
‘हेर्दाहेर्दै कल्पना नै नगरेको घटना भयो, हाम्रो आशाको दियो नै निभ्यो,’ मनीषाले सुनाइन्, ‘भगवान्को लीला पनि कस्तो ! कमाएर परिवार पाल्नेलाई उठाइदिने ? हाम्रो त बिजोगै भो ।’ परिवारको कान्छो छोरा मनोज एमएस्सीको पढाइ सकेर शिक्षक भएका थिए । बुबा विश्वनाथले भने, ‘तरकारी बेचेर छोरालाई शिक्षक बनाएँ । आज मेरो भरोसा नै गुमाउनुपर्दा साह्रै दुःखी छु ।’
मनीषाको घरमा जस्तै घटना भयो, सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित रामनगरका ३३ वर्षीय राम महतोको घरमा पनि । घटना वैशाख २८ साँझको हो । घरअगाडिको विद्युत् पोलमा तानिएको इन्टरनेटको तार तल भुइँमा लत्रिएको थियो । छिमेकका एक बालक लत्रेको तारमा अल्झिएर लडेको देखेपछि राम दौडिँदै उठाउन पुगे । लत्रिएको तार छेउतिर तान्न लागेका बेला रामलाई करेन्ट लाग्यो । उनी भुइँमा ढलेको देखेपछि आँगनमा रहेकी रामकी श्रीमती कसुम दौडिँदै पुगिन् । कसोकसो उनले श्रीमान्लाई करेन्ट प्रवाह भइरहेको तारबाट छुटाइन् । तर उनी भने त्यही बेला करेन्ट लागेर ढलिन् । विद्युतीय जलनले गम्भीर घाइते भएका रामले हेर्दाहेर्दै कुसुमको ज्यान गयो ।
यस घटनापछि राम हरेक दिन घरअघिको विद्युत्को पोल देख्दा श्रीमतीको यादले भावुक हुन्छन् । ‘सधैं उसैको याद आउँछ, फर्किन्छे कि जस्तो लागेर हेरिरहन्छु,’ रामले सुनाए, ‘काल मलाई आउनुपर्ने तर त्यसले त श्रीमतीलाई लिएर गयो ।’ यस घटनाका दिन करेन्ट लागेर गम्भीर घाइते भएका रामलाई तत्कालै सर्लाही अस्पताल बयलबास लगिएको थियो । १२ घण्टापछि होसमा आउँदा उनले हातखुट्टामा गम्भीर असर गरेको थाहा पाए । उक्त घटनाको यतिका दिनपछि पनि रामका हातखुट्टा पहिलेजस्ता भएका छैनन् । कमजोर आर्थिक अवस्थाका राम यतिबेला एकातिर श्रीमतीको निधनको चोटमा छन् भने अर्कोतिर दुई छोरा हुर्काउने दायित्व कसरी पूरा गर्ने होला भन्ने चिन्तामा छन् ।
रामको आक्रोश आफ्नी श्रीमतीको ज्यान जाने घटनामा इन्टरनेटको तार व्यवस्थित नगर्ने कम्पनीमाथि पनि उत्तिकै छ । इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले भने मृतकका परिवारले नै पोलमा टाँगिएको इन्टरनेटको तार काट्दा घटना भएको
दाबी गरे । ‘उनीहरू आफैंले तार काटेका रहेछन्,’ उनले भने, ‘केबल नेटवर्कवालाको लापरबाही देखिएको भए अवश्य पनि उसलाई कारबाही गर्थ्यौं ।’
घर आँगनमा आएको विद्युत्को उज्यालोसँगै आइपरेको अँध्यारो भोग्न बाध्य मनीषा र रामजस्ता थुप्रै पात्र मधेशमा छन् । गरुडा–२ गेडहीगुठी गाउँका दिनेश सहनीको परिवारमा विद्युत्ले निम्त्याएको शोकको कथा झनै गहिरो छ । घटना २०७९ भदौ १५ दिउँसोको हो । घरमा कोही थिएनन् । दिनेश काम विशेषले घरबाहिर थिए । आमा सुगन्धीदेवी पूजा गर्न मन्दिर गएकी थिइन् । १४ वर्षीय छोरी अमरिका स्कुलबाट फर्केर मोटर चलाएर चिसो पानी पिउन लागेकी थिइन् । त्यही बेला कसोकसो उनलाई करेन्ट लाग्यो । छिमेकीले अमिरा ढलेको खबर दिनेश र सुगन्धीलाई गरे ।
छोरीलाई करेन्ट लागेको खबर सुन्नासाथ सुगन्धी बाटोमै ढलिन् । उनको होस आउँदा उपचार गर्न भन्दै गरुडा अस्पताल पुर्‍याएकी छोरी अमरियाले संसार छोडिसकेकी थिइन् । दिनेशले भने, ‘बिहान विद्यालय जान लाग्दा छोरी राम्ररी जाऊ है भन्ने शब्द नै अन्तिम बन्यो ।’ छोरीको मृत्युको घटनापछि दिनेशले धाराबाट मोटर हटाए । घटनाबारे विद्युत् प्राधिकरणमा पनि जानकारी गराए । तर प्राधिकरणले यस्तो घटनाबारे अनदेखा गर्‍यो । गरुडा–३ का वडाध्यक्ष अम्बिका सहनीले पछिल्लो समय विद्युत् प्राधिकरणको लापरबाही र नागरिक सचेत नहुँदा करेन्ट लागेर मृत्यु हुने घटना बढेको सुनाए ।
‘धेरैजसो स्थानमा विद्युत्को तार तलैसम्म लत्रेको हुन्छ । तर प्राधिकरणले व्यवस्थित गर्दैन,’ उनले भने, ‘मैले पटकपटक प्राधिकरणको ध्यानाकर्षण गराएको छु । तर कुनै सुनुवाइ भएको छैन ।’ उनले विद्युत्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा अहिलेसम्म प्राधिकरणले ग्रामीण भेगमा कार्यक्रम नगरेको बताए । प्राधिकरणको लापरबाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुने घटना बढिरहेका छन् । अधिकांश घटना धारा र खेतमा जडान गरिएको मोटरमा विद्युत् सर्ट भई हुने गरेको छ । मधेश प्रदेश प्रहरीका अनुसार २०७५ सालयता मात्रै मधेश प्रदेशमा करेन्ट लागेर ४ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
गत वर्षको मंसिर २३ गतेको घटना हो । सर्लाहीको
ब्रह्मपुरी गाउँपालिका–२ स्थित खेतमा चैते धान रोप्नका लागि जोतिरहेको ज१त ४३१४ नम्बरको ट्र्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा सोही ठाउँका २७ वर्षीय चालक राजेश पासवानको मृत्यु भएको थियो । खेतमा पानी सिँचाइ गरिरहेको मोटरबाट विद्युत् प्रवाह भएर ट्र्याक्टरसम्म पुगेको थियो । यस घटनामा घाइते भएका चालक पासवानलाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा त पुर्‍याए तर उनलाई बचाउन सकिएन ।
२०८० वैशाख १३ गते दिउँसो रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँका विसा पासवानका १५ वर्षीय छोरा चन्दन पासवानको पनि करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै खेतमा विद्युत् मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगिएको थियो । चिकित्सकले उनलाई त्यहीं मृत घोषणा गरे ।
नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणको लापरबाहीले गर्दा कसैको ज्यान गयो भने ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको बताए । ‘मधेश प्रदेशमा बर्सेनि करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दो छ । मानिसहरू सचेत हुन सकेका छैनन्,’ उनले भने, ‘लापरबाहीका कारण धेरैको ज्यान गएको छ ।’ ठाकुरका अनुसार प्राधिकरणले लापरबाहीले मृत्यु भएको खण्डमा पीडितको निवेदन दर्तापछि प्राधिकरणले छानबिन समिति गठन गर्छ ।
जिल्ला प्रशासन र स्थानीय तहका प्रतिनिधिसहितको समितिले घरमा पुगेर वास्तविक पत्ता लगाउँछ । प्राधिकरणको लापरबाही हो भन्ने यकिन भएपछि मात्र ५ लाख क्षतिपूर्ति दिइन्छ । त्यस्तै प्राधिकरणले पशुको हकमा गोरु मरेको छ भने १५ र भैंसीको हकमा २० हजार रुपैयाँ क्षतिपूर्ति दिने गर्छ । उनले पोल ढलेर, तार झरेर वा हेलचेक्र्याइँले मानिसको ज्यान गएको छ भने मात्र प्राधिकरणले क्षतिपूर्ति दिने प्रस्ट्याए ।
ठाकुरले भनेजस्तो प्राधिकरणबाट क्षतिपूर्ति तत्काल पाउन त्यति सजिलो भने छैन । जस्तो कि, २०८० मंसिर २३ मा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा खेत जोतिरहेका बेला ११ हजार भोल्टको विद्युत्को तार खसेर लाग्दा स्थानीय बैजुलाल पण्डितको मृत्यु भयो । पण्डितसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको जिल्ला प्रहरी गौरले जानकारी दियो । मृतक पण्डितका छोरा अशोक पण्डितले बुबाको मृत्युको ५ महिनापछि प्राधिकरणले क्षतिपूर्तिका लागि बोलाएको बताए ।
नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका अनुसार पछिल्लो ५ वर्षमा विद्युत्कै कारण दुर्घटनामा परेर मृत्यु भएका मध्ये ३५ जनालाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । सिरहाका ५, धनुषाका १४, महोत्तरीका ३, सर्लाहीका ४, रौतहतका ६, बाराका ५ र पर्साका १ मृतक परिवारका सदस्यले क्षतिपूर्ति पाएका हुन् । यो तथ्यांकले करेन्ट लागेर मृत्यु भएकामध्ये ३८ प्रतिशतले मात्रै क्षतिपूर्ति पाएको देखिन्छ ।
मधेश प्रदेशका उद्योग तथा पर्यटनमन्त्री युवराज भट्टराई विद्युत्बाट हुने दुर्घटना कम गर्न गाउँ/गाउँमा सचेतना कार्यक्रम गर्नुपर्ने बताउँछन् । ‘विद्युत् जोखिम कम गर्न प्राधिकरणकै भूमिका धेरै हुन्छ,’ उनले भने, ‘स्थानीयको लापरबाही भनेर पन्छिन मिल्दैन ।’ गौर नगरपालिका प्रमुख शम्भु साहले पनि विद्युत्बाट हुने दुर्घटना कम गर्न विद्युत् प्राधिकरणले गाउँ/गाउँमा सचेतना कार्यक्रम नगरिरहेको बताए ।
करेन्ट लागेर हुने मृत्युका घटनापछि प्रहरीले पीडितबाट भवितव्यको जाहेरी दर्ता गर्दै आएको छ । जाहेरी दर्तापछि कसैले करेन्ट लगाइदिएको हो वा आफैं लागेको भन्ने गहिरिएर अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी रौतहटका मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । मधेशमा भएका अधिकांश घटना मृतकको लापरबाहीकै कारण हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको उनले बताए । ‘लापरबाही वा अरूले बदला लिन करेन्ट लगाइदिएको भन्ने अनुसन्धानपछि थाहा हुन्छ,’ प्रहरी निरीक्षक गुप्ताले भने, ‘आफैं करेन्ट लागेको हो भने भवितव्यमा जान्छ । अरूले नै लगाइदिएको हो भने कर्तव्य ज्यानमा मुद्दा चल्छ ।’

Page 3
समाचार

सहकारी ठगी आरोपमा गृहमन्त्रीको प्रतिरक्षामा एआईजी ज्ञवाली

- मातृका दाहाल

(काठमाडौं)
गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवाली देखिएका छन् ।
संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिना प्रकरणमा छलफलका लागि शुक्रबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख ज्ञवाली र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङलाई बोलाएको थियो ।
समितिका सभापति सूर्य थापाका अनुसार सीआईबी प्रमुख ज्ञवाली गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएका हुन् । ‘प्रमुख ज्ञवालीले पोखराको अनुसन्धानमा सघाउन मात्रै सीआईबी गएको तर सीआईबीबाट कुनै अनुसन्धान नभएको बताउनुभयो,’ थापाले भने । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सीआईबीबाट निरीक्षकको टोली पोखरा पुगेर अध्ययन गरेको थियो । सीआईबी टोली पोखरा गएपछि नै गीतेन्द्रबाबु (जीबी) राई संलग्न सबै सहकारीको सफ्टवेयर काठमाडौंको शंखमूलस्थित नेचर हबको कार्यालयबाट जफत गरी लगिएको थियो । सफ्टवेयर, अरू तथ्य र प्रमाणका आधारमा सीआईबी टोलीले सूर्यदर्शन प्रकरणमा लामिछानेका नाममा शंकास्पद रूपमा कर्जा प्रवाह भएको र त्यसमाथि छानबिन गर्नुपर्ने सुझावसहित प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदन सीआईबीका तत्कालीन प्रमुख किरण वज्राचार्यलाई बुझाइएको थियो । त्यसको केही समयमै वज्राचार्यको सीआईबीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भयो । उनको ठाउँमा ज्ञवाली आए । शुक्रबार समिति बैठकमा ज्ञवालीले आफू सीआईबी जानुअगावै भएको अनुसन्धाननबारे समितिलाई जानकारी नै गराएनन् ।
सूर्यदर्शनका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड हिनामिना भएको आरोपमा बचतकर्ताले २०८० माघमा दिएको पूरक जाहेरीपछि कास्की प्रहरीलाई सघाउन र वस्तुस्थितिसहितको प्रतिवेदन तयार पार्न वज्राचार्यले सीआईबी टोलीलाई कास्की पठाएका थिए । उक्त टोलीले तयार पारेको प्रतिवेदनसमेत सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ । जसमा ‘रवि लामिछानेका हकमा’ शीर्षकमा प्रतिवेदन तयार पारिएको छ । ‘चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी जम्मा एक करोड रकम वार्षिक ब्याजदर १४.७५ का दरले १२ महिनाको ऋण लिएको,’ प्रतिवेदनमा उल्लेख छ ।
सीआईबी प्रतिवेदन भन्छ, ‘लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रुपैयाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरिएको देखिन्छ ।’ ऋण फर्छ्योट गर्दा पनि सहकारीमा रकम फिर्ता गर्नुको सट्टा लामिछाने ऋणी रहेकामा त्यसको दायित्व गोर्खा मिडिया नेटवर्कमा सारिएको उल्लेख छ । ऋण तिर्नुको सट्टा ऋणीको नाम परिवर्तन गरी लामिछानेको ठाउँमा गोर्खा मिडिया नेटवर्क बनाइएको प्रहरी प्रतिवेदनमा पनि स्पष्ट उल्लेख छ । भनिएको छ, ‘ऋण हस्तान्तरण गर्ने सम्बन्धमा पनि कुनै आधिकारिक कागज फेला नपरेको ।’
यो प्रतिवेदन तयार भइसकेपछि लामिछाने उपप्रधानसहित गृहमन्त्री बने । यो प्रतिवेदन नै बाहिर ल्याउन दिएनन्, अनुसन्धान दबाए । लामिछानेकै जोडबलमा वज्राचार्यलाई प्रहरी प्रधान कार्यालय तानेर ज्ञवालीलाई सीआईबी पठाइयो । ज्ञवाली भने संसदीय छानबिन समितिमा वज्राचार्यका पालामा बनेको प्रतिवेदनबारे अनभिज्ञ रहेको भन्दै लामिछानेको बचाउमा लागेका हुन् । ‘सूर्यदर्शन सहकारीबारे सीआईबीले अनुसन्धान नै गरेको छैन । यसबारे सीआईबी प्रवेश नै गरेको छैन,’ यस्तो भन्दै ज्ञवाली पन्छिएको समिति स्रोतको भनाइ छ ।
रविको बचाउ गरे पनि प्रहरीले संसदीय समितिमा सहकारीबाट देशभर ११ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ ठगी भएकामा जीबी राईका कम्पनीमा सुप्रिम सहकारीबाट ६३ करोड रुपैयाँ गएको देखिएको जानकारी गराएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीबाट
११ करोड ९९ लाख रुपैयाँ गएको पनि जानकारी समितिलाई गराएको थियो । सूर्यदर्शन र सुप्रिम सहकारीसहित ५ सय ३ सहकारीविरुद्ध प्रहरीमा परेका ९८ जाहेरीको अनुसन्धान सकेर मुद्दा चलाइएको र यसमा ११ सय ५० प्रतिवादी रहेको तथा २ सय ९४ जना पक्राउ र बाँकी फरार रहेको प्रहरीको अभिलेखमा उल्लेख छ ।
समिति सदस्य ईश्वरी न्यौपानेले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नताबारे प्रहरीको धारणा मागेकी थिइन् । पोखराको सूर्यदर्शन सहकारीका पीडितले लामिछानेसहितलाई आरोपित गरेर प्रहरीमा दिएको जाहेरीको अनुसन्धान नै हुन सकेको छैन । सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रूपन्देहीमा दायर अभियोगपत्रमा रवि लामिछानेका नाममा कर्जा प्रवाह भएको किटान गरिएको छ । तर, प्रहरीले यसमा अनुसन्धान नै गरेको छैन । यिनै पृष्ठभूमिमा सदस्य न्यौपानेले लामिछानेमाथि अनुसन्धान नगरेकामा प्रश्न उठाएकी हुन् ।
‘सूर्यदर्शन र सुप्रिम सहकारीको बचत अपचलनमा रवि लामिछानेको नाम आएको छ, सुप्रिम सहकारीसम्बन्धी अभियोगपत्रमै लामिछाने भनेर नाम किटान गरिएको छ,’ समितिमा न्यौपानेको भनाइ उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘अभियोगपत्रमा भएका लामिछाने र गृहमन्त्री लामिछाने एउटै हुन् कि होइनन् ? सूर्यदर्शन सहकारीमा पनि लामिछानेको नाम स्पष्ट उल्लेख गरिएको छ, यसको जवाफ चाहियो !’
यसैबीच रास्वपाबाट समिति सदस्य रहेका शिशिर खनालले सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा समितिमा छलफल गर्न नपाइने भन्दै प्रतिवाद गरे । ‘सुप्रिम र सूर्यदर्शन सहकारीको बचत अपचलनको मुद्दा अहिले अदालतमा विचाराधीन छ, अदालतमा रहेको मुद्दा समितिमा छलफल गर्न पाइँदैन, सभापति (सूर्य थापा) बाट यसबारे स्पष्ट रुलिङ होस्,’ खनालले भने ।
यसपछि सदस्य न्यौपानेले समितिमा छलफलको विषय हुने भन्दै खनालको भनाइको प्रतिवाद गरेकी थिइन् । ‘सूर्यदर्शन र सुप्रिम सहकारीका विषयमा प्रहरीबाट भएको अनुसन्धानबारे विषय उठेका थिए, रास्वपाबाट सदस्य रहनुभएका माननीयले अदालतको क्षेत्राधिकारमा गएको विषय भन्दै रुलिङको माग पनि गर्नुभयो,’ समिति सभापति थापाले कान्तिपुरसँग भने ।
तर सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न कुनै बाधा नपर्ने सर्वोच्च अदालतका न्यायाधीशहरूको राय बाहिरिइसकेको छ । लामिछानेविरुद्ध परेको रिटमा अनुसन्धान निष्पक्ष भए/नभएको अनुगमन गर्न पनि अदालतले आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलास गृहमन्त्री लामिछानेलाई पदबाट हटाएर अनुसन्धान गर्नुपर्ने/नपर्ने विषयमा विभाजित भए पनि अनुसन्धान गर्नुपर्ने पक्षमा भने एक मत देखिएको छ । अनुसन्धान गर्ने निकाय (प्रहरी) लाई जाहेरी, सूचना, प्रतिवेदनमा निर्धक्क, निष्पक्ष र स्वतन्त्र भएर अनुसन्धान गर्न दिनु/दिलाउनु भनी गृहमन्त्रीका नाममा बिहीबार परमादेश जारी गरेको थियो । इजलासले संसद्को राज्यव्यवस्था समितिमा उपस्थिति र अभिव्यक्तिबाट समेत मन्त्रीको प्रभाव मातहतको प्रहरीमा देखिएको ठहरसमेत गरेको छ । त्यस्तै संसदीय समिति गठन भएकै कारण प्रहरी अनुसन्धान नरोकिने अदालतको आदेशमा उल्लेख छ ।
संसदीय समितिमा उपस्थित गृहसचिव अर्याल र प्रहरी महानिरीक्षक कुँवरले सहकारी ठगीसम्बन्धी अनुसन्धानका कठिनाइ, स्रोत/साधन अभाव र कानुनले नै सिधै प्रहरीमा जाहेरी दिन नपाउने भन्नेलगायत विषयका कठिनाइबारे आ–आफ्ना धारणा राखेका थिए । सभापति थापाका अनुसार गृह सचिव र प्रहरी प्रमुखलाई सहकारीसम्बन्धी थप विस्तृत विवरणसहित अर्को बैठकमा उपस्थित गराइने बताए ।

 

समाचार

सुन गाल्ने मेसिनसहित ६ पक्राउ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– ललितपुर महानगरपालिकाको ताल्छीखेल र काठमाडौंको बसुन्धाराबाट प्रहरीले एक किलो सुन, सुन पगाल्ने मेसिन र ५० लाख नगदसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट सुनजस्तो देखिने धातु, चाँदी, डिजिटल तराजु, ७ थान मोबाइल, हार्ड डिस्क, सिमकार्ड, चेकबुक तथा बैंकमा नगद जम्मा गरेको भौचर पनि बरामद गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको
फ्ल्याटमा खानतलासी गर्दा ती सामग्री भेटिएका हुन् ।

समाचार

संसदीय सुनुवाइ नहुँदै राजदूत सिफारिस हेरफेर हुने

- जगदीश्वर पाण्डे

(काठमाडौं)
कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै त्यसको असर कूटनीतिक वृत्तमा पनि पर्ने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले माओवादी–एमाले गठबन्धन सरकारबाट राजदूत सिफारिस भएकालाई हेरफेर गर्ने संकेत देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै
फिर्ता बोलाउने निर्णय गरेको थियो भने असार ७ मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । नयाँ सरकारले दाहाल सरकारले सिफारिस गरेका राजदूत हेरफेर र हाल यथावत् राजदूतसमेत फिर्ता बोलाउने सम्भावना छ ।
स्रोतका अनुसार नयाँ समीकरणले माओवादीको कोटाबाट चीन र श्रीलंका तथा नेकपा एसबाट अस्ट्रेलिया र रुसका लागि नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाउने सम्भावना छ ।
साथै, कांग्रेसको सिफारिसमा नयाँ राजदूतहरू सिफारिस गर्न सक्नेछ । ‘अब नयाँ समीकरणअनुसार सरकार बनेसँगै मुख्य गरी भारत, अमेरिका र चीनमा राजदूत नियुक्तिका लागि नयाँ नाम सिफारिस हुन सक्नेछ । कांग्रेस र एमालेले मुख्य गरी यी तीनसहित अन्य मुलुकमा राजदूत नियुक्तिका लागि छलफल गरेर टुंगो लगाउनेछन्,’ कूटनीतिक स्रोतले भन्यो ।
दाहाल सरकारले एमालेका ५, जसपाका दुई र माओवादीका तर्फबाट एक राजदूत सिफारिस गरेको थियो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको हो ।
मुसलमान र राजकर्णिकार जसपाबाट तथा पन्त माओवादीबाट सिफारिस भएका हुन् भने अन्य ५ जना एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् । प्याकुरेलले राजदूत पद अस्वीकार गरिसकेका छन् । सरकारले राजदूत सिफारिस गरेकाको नाम मन्त्रिपरिषद्ले टुंग्याए पनि परराष्ट्र मन्त्रालयले उनीहरूको सम्पूर्ण दस्ताबेज संकलन गरिरहेको छ । त्यसपछि फेरि मन्त्रिपरिषद्मा नाम पठाएर अनुमोदन गर्ने परराष्ट्रका एक अधिकारीले जनाए ।
प्रधानमन्त्री दाहालले राजदूत फिर्ता र नयाँ सिफारिस गर्दा दुवै पटक सम्बन्धित परराष्ट्र मन्त्रालयलाई नसोधी गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रस्ताव लैजानुभन्दा प्रधानमन्त्री दाहालले ठाडो प्रस्तावमा दुवै पटक निर्णय गरेका थिए । परराष्ट्र मन्त्रालयलाई बेवास्ता गरेकामा श्रेष्ठले मन्त्रिपरिषद्मै असन्तुष्टि जनाएका थिए । सुरुआतमै परराष्ट्रले सम्बन्धित व्यक्तिको विवरण हेरेर राजदूत नियुक्तिका लागि सिफारिस गर्नुपर्नेमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र विवरण संकलन गर्न थालिएको हो । अब इजरायल, कतार र पोर्चुगलमा राजदूत सिफारिस गर्न बाँकी छ । भागबन्डाअनुसार दुई राजदूतको कोटा पाएको रास्वपाले भने अझै नाम टुंगो लगाएको छैन । रास्वपाले सार्वजनिक रूपमा राजदूतका लागि आवेदन माग गरे पनि अब नयाँ समीकरणले प्रक्रिया अघि बढ्न गाह्रो भएको छ ।
सरकारले सिफारिस गरेका ८ राजदूतको संसदीय सुनुवाइका लागि संघीय संसद्मा नाम पठाउनुपर्ने हुन्छ । ‘हालसम्म राजदूतहरूको संसदीय सुनुवाइका लागि सरकारबाट कुनै पनि पत्र आइपुगेको छैन,’ संघीय
संसद्का प्रवक्ता तथा सहसचिव एकराज गिरीले भने । नयाँ समीकरणका कारण राजदूतमा सिफारिस भएकाहरू संसदीय सुनुवाइ नभएरै फिर्ता हुने सम्भावना बढेको छ । राजदूत सिफारिस भएकाहरू संसदीय सुनुवाइ नहुँदै फिर्ता हुन लागेको यो पहिलो पटक होइन । २०७८ साउनको पहिलो साता त्यसअघिको ओली सरकारले नियुक्त गरेका नौ राजदूतहरूलाई संसदीय सुनुवाइ नहुँदै शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस फिर्ता गरेको थियो ।
संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकमा एग्रिमो (स्वीकृति) का लागि पठाइन्छ र एग्रिमो
आएपछि राजदूतमा नियुक्त गरिन्छ । नेपालको इतिहासमै पहिलो पटक पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने कार्यक्षेत्रमा जान नपाउँदै दाहाल सरकारले जेठ २४ मा फिर्ता बोलाएको थियो । उनलाई गत माघ २६ मा दाहाल सरकारले नै राजदूत नियुक्त गरेकामा फागुन २१ मा गठबन्धन परिवर्तन भएपछि फिर्ता बोलाइएको हो ।
प्रधानमन्त्री दाहालले माओवादी कोटाबाट नियुक्त भएका र कमजोर प्रदर्शन गरेका राजदूतहरूलाई हालसम्म फिर्ता बोलाएका छैनन् । माओवादीको कोटाबाट चीनमा विष्णुपुकार श्रेष्ठ र श्रीलंकामा वासुदेव मिश्र राजदूत छन् । एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत भएका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले नेपालको विदेशस्थित कूटनीतिक नियोगमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने यिनै राजदूत हुन् । राजदूतको कार्यकाल ४ वर्षको हुन्छ ।
नेपालको अहिले ३० वटा राजदूतावास र ३ वटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगहरू छन् । यस्तै, ७ वटा महावाणिज्य दूतावासहरू छन् । राजदूत नियुक्त निर्देशिकाअनुसार ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिकतर्फबाट सरकारले राजदूत नियुक्ति गर्ने मापदण्ड छ ।

Page 4
युवा ग्यालरी

अमेरिकी पूर्वराष्ट्रपति बुसको जन्म


सन् १९४६ मा आजकै दिन (जुलाई ६) मा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको जन्म भएको थियो । उनी अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । बुसले २००१ जनवरी २० देखि २००९ जनवरी २० सम्म दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए ।
उनी अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच डब्लू बुसका छोरा हुन् । जर्ज डब्लू बुसले १९७५ मा हार्वर्ड बिजनेस स्कुलबाट स्नातक गरेका थिए । त्यसअघि केही समय उनले टेक्सास एअर नेसनल गार्डका युद्धक विमान उडाउँथे ।
उनी १९९४ मा टेक्सास राज्यको गभर्नर भएका थिए । आफ्नो कार्यकालमा उनले शैक्षिक तथा कानुनी क्षेत्रमा सुधारका कार्यक्रमहरू ल्याएका थिए । २००० मा भएको राष्ट्रपतीय चुनावमा जर्ज डब्लू बुसले डेमोक्रेटिक दलका अल गोरलाई पराजित गरेका थिए ।
आफ्नो राष्ट्रपतीय कार्यकालमा जर्ज डब्लू बुसले कर कटौती, शैक्षिक क्षेत्र सुधार, एचआईभी एड्सविरुद्धको आपत्कालीन योजना, स्वतन्त्र व्यापार सम्झौतालगायतका कार्यक्रम ल्याएका थिए । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आतंककारी आक्रमणपछि उनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थिए । २००४ मा जोन केरीलाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

युवा ग्यालरी

स्वास्थ्य सेवा सुधार्न खटेका खरेल

- बुद्धिसागर मरासिनी

(काठमाडौं)
गुल्मीको आँपचौरका रामु खरेल त्यतिबेला मात्र सात वर्षका थिए । कुरा २०५३ सालको हो, गाउँमा चिठी बाँड्दै आएका हुलाकीले कराउँदै भने, ‘खरेल तिम्रा बुबालाई डीभी पर्‍यो । अब तिमीहरू पनि अमेरिका जान पाउँछौं ।’ त्यतिबेला डीभी त परै जाओस्, अमेरिका पनि सुनेका थिएनन् खरेलले । त्यसैले उनलाई हुलाकीका कुरामा चासो हुने कुरै भएन ।
साथीहरूसँगै घुम्दै, डुल्दै घर पुगे उनी । उनका बुबा गुल्मीकै माध्यमिक विद्यालयका शिक्षक थिए । विद्यालयका शिक्षकहरूले त्यतिबेला सामूहिक रूपमा पोस्टल (हुलाकमार्फत) डीभी भरेका थिए । उनका बुबा अमेरिका गए, तर परिवारका सदस्यहरूको विवरण नभरेका कारण परिवारका अन्य सदस्य भने उतिबेला अमेरिका जान पाएनन् । बुबा अमेरिका गएको एक वर्षपछि खरेलकी आमा निकै बिरामी परिन् । उपचारका लागि पाल्पा लगे पनि उनी फर्किनन् ।
आँपचौरमा २०४६ मा जन्मिएका खरेलले केही समय तम्घासमै पढे । पछि बुबाले परिवारका सबैलाई अमेरिका लैजाने तयारी गरेपछि काठमाडौं आएर पढे । पछि अमेरिका पुगेर पढ्न थाले, ९ कक्षामा । सपना भने सानैदेखि डाक्टर बन्ने देखेका थिए खरेलले । त्यसमाथि बुबाले सानैदेखि उनलाई डाक्टर बन्ने हौसला दिन्थे । त्यसैले उनलाई जसरी पनि डाक्टर बन्नु थियो । अमेरिका गएपछि सुरुमा अंग्रेजी सिक्न निकै गाह्रो भयो उनलाई । तर पनि जसोतसो विद्यालय सकेर कलेज भर्ना भए । अंग्रेजी पनि सिक्दै गए ।
‘जसरी पनि मेजर बायोलोजी गर्छु भनेर कलेज भर्ना भएका थिएँ,’ उनी भन्छन्, ‘तर उर्दू विषयले मलाई यसरी तान्यो कि मूल विषय नै उर्दू रोजे ।’ उर्दूको पढाइसकेपछि फेरि उनी मेडिकल साइन्समा भर्ना भए । मेडिकल पढ्दापढ्दै केही समय ब्रेक लिएर हार्वार्ड विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर पनि सके । त्यसपछि पुनः मेडिकल साइन्सलाई निरन्तरता दिएका उनले अध्ययन पूरा गरे ।
अध्ययन सकेलगत्तै नेपालमा भूकम्प गयो । मातृभूमिलाई दुखेका बेला खरेलको मन अमेरिकामा अडिइरहन सकेन । ‘त्यसपछि म नेपाल आएँ र भूकम्प प्रभावितहरूको उद्धारमा जुटें,’ उनी भन्छन्, ‘त्यसयता भने म वर्षको दुई/तीन पटक नेपाल आएर स्वास्थ्य क्षेत्रमै जुटिरहेको हुन्छु ।’ त्यही समयमा उनले ‘हाप्सा नेपाल’ नामक गैरनाफामूलक संस्था सुरु गरे । भूकम्पअघि पनि उनी नेपालको स्वास्थ्य क्षेत्रमा क्रियाशील थिए । भूकम्पले साँखुको बज्रयोगिनी मन्दिरमाथि घुमारचोक गाउँको तामाङ बस्तीका घरहरू ध्वस्त भएका थिए । गाउँमा खरेलले भूकम्पको दुई वर्षअघि नै हात धुने अभियान चलाएका थिए । पछि त्यहाँ पुगेर खरेलसहितको टोलीले राहत तथा पुनःस्थापनामा सहयोग गर्‍यो ।
भूकम्पपछि पनि उनको टिमले लाकुरीभन्ज्याङमा स्थानीयलाई अग्रसर गराएर स्वास्थ्य सुधारसम्बन्धी काम गरे । करिब पाँच वर्षसम्म उनले यी दुई समुदायका स्वास्थ्य केन्द्र र स्वास्थ्य विकास कार्यक्रमहरू सञ्चालन गर्न आफ्नै अग्रसरतामा रकम संकलन गरी सहयोग गरे । हाप्साले स्वास्थ्य शिविर, वृद्धवृद्धालाई मोतियाबिन्दुको शल्यक्रिया लगायतका कार्यक्रम गर्‍यो । त्यसका साथै खरेलको अगुवाइमा स्थानीय समुदायलाई स्वास्थ्य सेवासम्बन्धी नीति निर्माणमा संलग्न गराइयो ।
अमेरिकाको रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयका इमर्जेन्सी मेडिसिनका सहप्राध्यापक खरेलको बुझाइमा विपत्ति एउटा अवसर पनि हो । ‘विगतमा नभएका काम नयाँ र व्यवस्थित ढंगले सुरु गर्न पनि सकिन्छ,’ उनी भन्छन्, ‘हामीले त्यहाँ भूकम्पअघिको स्वास्थ्य समस्या कस्तो थियो अहिले के छ भन्नेसमेत अध्ययन गर्‍यौं । स्वास्थ्य चौकीमा स्थानीय थिएनन् । त्यसलाई सम्बोधन गर्न पाइयो ।×’ कोभिड महामारीको समयमा पनि निकै खटे खरेल । कोभिडको तेस्रो लहरका बेला उनी इमर्जेन्सी डाक्टरका रूपमा नेपालमै थिए । महामारी र लकडाउनका बेला सामाजिक सञ्जाल टिकटकबाट ‘नमस्ते डाक्टर’ का नाममा कोभिडबाट बच्ने उपायबारे जानकारी दिन पनि उत्तिकै सक्रिय रहे ।
त्यतिबेला खरेल र सुमना श्रेष्ठ (वर्तमान शिक्षामन्त्री) लगायतको टोलीले ‘कोभिड अलायन्स नेपाल’ गठन गरेर काम गरेका थिए । यसबाहेक उक्त टोलीले सीसीएमसीसी लगायतसँग पनि मिलेर काम गरेका थिए । खरेलले विभिन्न स्थानीय सरकारका प्रमुख, स्वास्थ्य सेवा प्रदायक र सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कोभिड–१९ व्यवस्थापनबारे आवश्यक तालिम दिए । कोभिडको समयमा खरेल र हाप्सा टोलीले नेपालभरका समुदायलाई सक्रिय रूपमा सहयोग गरेको थियो । नेपालमा मात्र नभई उनले आफ्नो विश्वविद्यालयमार्फत करिब ५५ देशका स्वास्थ्य सेवा प्रमुखहरूलाई कोभिडबारे विभिन्न विषयमा तालिम दिएका थिए । त्यही बेला, हाप्सामार्फत उनले नेपालका ३० भन्दा बढी नगरपालिकामा कोभिड संक्रमित बिरामीलाई होम आइसोलेसन किट पठाउन पनि सफल भएका थिए ।
खरेल नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि हालसम्म निरन्तर खटिइरहेका छन् । खासगरी दुर्गम गाउँको स्वास्थ्य अवस्था सुधार्ने कार्यमा उनको क्रियाशीलता बढी छ । केही समयअघि जाजरकोटमा भूकम्प जाँदा पनि निःशुल्क स्वास्थ्य सेवासँगै राहत तथा पुनःस्थापना खटिएका थिए उनी । समग्रमा नेपालको स्वास्थ्य सेवा सुधारका लागि खटिरहेका छन् खरेल । खासगरी कोभिडपछि उनीसहितको टोलीले तीन किसिमले काम गरिरहेको खरेलले बताए । कोभिड महामारीका बेला खरेल नेतृत्वको टिमले हटलाइन सञ्चालनमा ल्याएको थियो । ‘त्यसलाई बन्द गर्नुभन्दा अन्य कुनै क्षेत्रमा प्रयोगमा ल्याउनेबारे छलफल भयो,’ खरेलले भने, ‘नेपालमा विष सेवनका कारण धेरैले मृत्युवरण गरिरहेका छन् । यससम्बन्धी खासै अनुसन्धानहरू पनि भएका रहेनछन् ।’
त्यो थाहा भएपछि भने उनीहरू नेपालमा ‘पोइजन सेन्टर’ स्थापना गर्ने निर्क्योलमा पुगे । ‘त्यसपछि करिब दुई वर्षअघि टिचिङ अस्पतालमा नेपाल ‘पोइजन सेन्टर’ स्थापना गरेर हटलाइन सञ्चालनमा ल्याइयो,’ खरेल भन्छन्, ‘२०२३ अक्टोबरमा सुरु गरिएको सेन्टरमा फोन गरेर विष सेवन गरेकालाई बचाउने उपायबारे सल्लाह लिन सकिन्छ ।’ कल सेन्टरमा देशभरबाटै फोन आउने गरेको र त्यसपछि तत्कालै समस्या समाधान गर्ने उपायबारे जानकारी दिने गरिएको खरेलले बताए । ‘अहिले हामीले अनुदान तथा सहयोग लिएर यसलाई सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘तर अब सरकारले नै बजेट छुट्याएर अघि बढाउनुपर्छ भन्ने लाग्छ ।’
उनका अनुसार सेन्टर सञ्चालनका लागि हाल वार्षिक कम्तीमा ३० लाख रुपैयाँ खर्च भइरहेको छ । सरकारले वार्षिक एक करोड रुपैयाँ लगानी गरेको खण्डमा यसको सेवा निकै प्रभावकारी हुने खरेल बताउँछन् ।
‘पोइजन सेन्टर’ सँगै खरेल ग्रामीण स्वास्थ्य सेवामा पनि उत्तिकै सक्रिय छन् । खासगरी नेपालका ग्रामीण भेगमा विभिन्न किसिमका दुर्घटना भइरहेका हुन्छ । ती दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि निकै ठूलो छ । ‘अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा हामी जुटिरहेका छौं,’ उनी भन्छन्, ‘अछाममा कम्युनिटी हेल्थ नेटवर्क सञ्चालन गरेका छौं ।’ गाउँमा हुने गरेका दुर्घटनाका पीडितको उद्धार गर्नका लागि स्थानीयलाई नै परिचालन गर्न उनीहरूले सिकाइरहेका छन् ।
दुर्घटना स्थलमा प्रहरी तथा स्वास्थ्यकर्मी तत्काल पुग्न सम्भव नहुने भएकाले यो प्रभावकारी हुने खरेल बताउँछन् । यस विषयमा अछामको बयलपाटा अस्पतालमा स्थानीयलाई सिकाएर एक अध्ययनसमेत गरिएको छ । अध्ययनअनुसार दुर्घटना, भूकम्प, बाढीपहिरो वा अन्य आपत्कालीन अवस्थामा स्थानीयबाटै उद्धार गर्ने विषयमा गरिएको प्रयोग ६० प्रतिशत सफल भएको पाइएको छ ।
‘स्थानीयलाई नै सिकाउने र परिचालन गर्ने कार्य केही गाउँपालिकामा विस्तार गर्ने र सफल देखिए क्रमशः देशका अन्य गाउँमा सुरु गर्ने योजना छ’ उनले भने, ‘यसमा खासगरी स्थानीय राजनीतिक नेताहरूलाई परिचालन गर्न सकिन्छ ।’
त्यसैगरी, खरेल ‘बेसिक लाइफ सपोर्ट’ का निम्ति पनि क्रियाशील छन् । उनका अनुसार ‘ब्रेन डेथ’ बाट रोक्नका लागि ‘बेसिक लाइफ सपोर्ट’ निकै महत्त्वपूर्ण छ । ‘यदि तपाईंको अगाडि कुनै व्यक्ति निसासिन्छ वा ढल्छ भने कसरी उसलाई बचाउने र थप उपचारका लागि लैजाने भन्नेबारे सबै नागरिकले जान्न जरुरी छ,’ उनी भन्छन् ।
हाप्सा नेपालले हालै नेपाल प्रहरीसँग जीवन बचाउने यी महत्त्वपूर्ण सीपसम्बन्धी तालिम दिन साझेदारी गरेको छ । खरेलका अनुसार डोटीमा सेना र प्रहरीलाई यसबारे प्रशिक्षण दिइसकिएको छ भने काठमाडौं महानगरपालिकामा पनि यो कार्यक्रम सुरु भइसकेको छ । कुनै पनि आपत्कालीन अवस्था वा दुर्घटनाबारे पहिले खटिने भएकाले पनि यसबारे नेपाल प्रहरीलाई जानकारी हुनुपर्ने उनको भनाइ छ ।
खरेलका अुनसार संयुक्त राष्ट्रसंघका अनुसार नेपाल जलवायुजन्य जोखिमका हिसाबले विश्वमै चौथो र भूकम्पको जोखिमका हिसाबले एघारौं स्थानमा छ । त्यसकारण नेपालमा सबैभन्दा पहिलो आकस्मिक सेवा सुधार्न आवश्यक रहेको उनले बताए ।
लामो समयदेखि विदेश (खासगरी अमेरिका,
पेरु र रुवान्डा) र नेपालको स्वास्थ्य सेवामा क्रियाशील खरेल नेपालको स्वास्थ्य सेवाको अवस्था कस्तो देख्छन् त ? उनको सिधा उत्तर छ– नेपालको सेवामा निकै विभेद छ । देश एउटै भएपछि तपाईं जहाँ भए पनि स्वास्थ्य समस्या सुधार्ने एउटै व्यवस्था हुनुपर्छ । ‘तर त्यस्तो भइरहेको छैन । खासमा हामीहरूको प्रयास नै स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ र यो सर्वसुलभ हुनुपर्छ भन्ने नै हो ।’

Page 5
अर्थ वाणिज्य

बर्खा लागेपछि सुस्तायो विद्युतीय तार भूमिगत गर्ने काम

- सीमा तामाङ

(काठमाडौं)
नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट सुरु गरेको काठमाडौं उपत्यकाका विद्युत् तार भूमिगत गर्ने काम बर्खा लागेसँगै सुस्ताएको छ । सडक विभागले असार, साउन र भदौमा नयाँ ठाउँमा खन्न नदिने हुँदा विद्युत् तार भूमिगत गर्ने काम सुस्ताएको हो । यद्यपि अहिले खनिसकेका ठाउँमा केबल तान्ने र फिनसिङ गर्ने काम भने जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दन घोषले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, भरतपुर र पोखरा गरी कुल ५ वटा आयोजनामार्फत विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ । कुल ३ अर्ब ८२ करोड ३९ लाख रुपैयाँमा ५ वटा आयोजना ठेक्का लगाइएको छ । हालसम्म २ अर्ब ३२ करोड २७ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम
सुरु गरेको थियो । दोस्रो चरणमा
काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । मैतीदेवीदेखि बागबजार पुग्ने भित्री सडकखण्डमा तार तान्ने काम भइरहेको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख प्रमुख सुमन श्रेष्ठले जनाए । पहिले अनुमति पाइसकेको र खनिसकेका ठाउँमा काम भइरहेको उनको भनाइ छ । समयमै अनुमति नपाउँदा र कोरोना महामारीका कारण काममा ढिलाइ भएको उनको दाबी छ । यस खण्डको भौतिक प्रगति ७६ प्रतिशत र वित्तीय
प्रगति ७५ प्रतिशत रहेको प्राधिकरणले बताएको छ ।
सडक विभागले असारदेखि भदौसम्म नयाँ ठाउँमा खन्न नदिने हुँदा काम सुस्ताएको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जनाए ।

‘नयाँ ठाउँमा खन्न पाएका छैनौं, खनिसकेका ठाउँमा केबल तान्ने काम भइरहेको छ,’ उनले भने । यो आयोजनाको भौतिक र वित्तीय प्रगति ७६ प्रतिशतका दरले रहेको प्राधिकरणले जनाएको छ । यी आयोजनााको ७३१ किमि पाइप बिछ्याउनुपर्नेमा गत जेठसम्म ५७५ किमिमा काम भइरहेको प्राधिकरणको भनाइ छ ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत खनिसकेको ठाउँमा तार तान्ने र फिनिसिङ गर्ने काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारले बताए । ‘अहिलेसम्म आयोजनाको ७५ प्रतिशत काम सकिएको छ,’ उनले भने । समयमा सडक खन्ने अनुमति नपाउँदा उल्लेख्य प्रगति गर्न नसकेको उनको बुझाइ छ । प्राधिकरणका अनुसार हालसम्म ७५ प्रतिशत भौतिक र ६० प्रतिशत वित्तीय प्रगति भएको छ । उपत्यकाका भक्तपुर तथा ललितपुरमा केबल तान्ने काम भइरहेको आयोजना प्रमुख योगेन्द्र ठाकुरले बताए । ‘भक्तपुर खण्डको ६५ प्रतिशत काम सकिएको छ, ललितपुरको ५ प्रतिशत मात्रै सकियो,’ उनले भने, ‘सडक खन्ने अनुमति नपाउँदा काममा ढिलाइ भइरहेको छ, अब तीन महिना नयाँ ठाउँमा खन्न पाइँदैन ।’ पहिले खनिसकेका ठाउँहरूमा केबल तान्ने, व्यवस्थित गर्ने र लाइन चार्ज गर्ने काम भइरहेको उनको भनाइ छ । भक्तपुर ललितपुरको भौतिक ३९ र वित्तीय प्रगति ३६ प्रतिशत छ ।
भरतपुर एवं पोखरा महानगरपालिकामा पनि प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने काम अघि बढेको छ । यो क्षेत्रको भौतिक प्रगति ६० र वित्तीय प्रगति ५४ प्रतिश रहेको प्राधिकरणले जनाएको छ । यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिने प्राधिकरणले बताएको छ ।
हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने प्राधिकरणको भनाइ छ । भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर
पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ ।

अर्थ वाणिज्य

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया लम्बियो

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया झनै लम्बिने भएको छ । सर्वोच्च अदालतले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार यही असार १८ मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको धितोपत्र बोर्ड अध्यक्षका प्रत्याशी एवं रिट दायर गरेका व्यक्ति सन्तोषनारायण श्रेष्ठले बताए ।
‘अदालतको पत्र आइसकेको छैन तर साउन दोस्रो सातासम्मका लागि पुरानै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको जानकारी पाएको छु,’ श्रेष्ठले भने । गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले तत्काल बोर्ड अध्यक्ष सिफारिसको प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशमा छलफलका लागि शुक्रबार विपक्षीलाई बोलाइएको थियो ।
धितोपत्र ऐन ०६३ अनुसार धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ सचिव र एक जना विज्ञ सदस्यसहितको समिति गठन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गत माघमै अध्यक्ष छनोट सिफारिस समिति बनाएको थियो । परेका आवेदनमध्ये समितिले कम्तीमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सत्तापक्षीय मुख्य दलहरूबीच अध्यक्ष कसलाई बनाउने विषयमा मतभेद हुँदा ६ महिनासम्म पनि समितिले अध्यक्ष छान्न सकेन । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले पहिलो चरणमा कृष्णबहादुर कार्की, नवराज अधिकारी, चिरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ गरी पाँच जनालाई छनोट गरेर कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । तर पहिलो चरणको छनोटमा परेका पाँच जनामध्ये कार्की, अधिकारी र चापागाईं कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित भएनन् ।
दुई जना मात्र अन्तर्वार्तामा सहभागी भएपछि सिफारिस समितिले कानुनबमोजिम कम्तीमा तीन जना सिफारिस गर्न सकेन । त्यसपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय माग्यो । महान्यायाधिवक्ताबाट पनि कानुनबमोजिम गर्नू भन्ने राय आयो । महान्यायाधिवक्ता कार्यालयबाट आएको कानुनी रायपछि गत साता सिफारिस समितिको बैठक बस्यो । बैठकमा तीन जना सदस्यबीच मत बाझियो ।
संयोजक श्रेष्ठ र विज्ञ सदस्य उदय निरौलाले पाँच जना सिफारिस गरौं भन्ने तर्क राखे । तर अर्थ सचिव मधुकुमार मरासिनीले कानुनले तोकेअनुसार तीन जना मात्र सिफारिस गरौं भने । यसरी समितिका सदस्यबीच सहमति हुन नसकेपछि गत शुक्रबार समितिले अध्यक्ष चयन प्रक्रिया रद्द गरेको थियो ।
अध्यक्ष छनोट प्रक्रिया रद्दको विरोधमा बोर्ड अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रक्रिया रद्द नगर्न निर्देशन दिएको हो । यता गत सोमबारको मन्त्रिपरिषद् बैठकले फेरि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । विज्ञ सदस्य निरौला र अर्थ सचिव मरासिनी सदस्य रहेको पुरानै छनोट समितिलाई सरकारले निरन्तरता दिएको छ । समिति पुनः गठन गर्ने सरकारको निर्णयको भोलिपल्ट अदालतले पुरानो प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यो आदेशपछि न त नयाँ समितिले काम गरेको छ न त पुरानो प्रक्रिया नै रद्द भएको छ । नयाँ स्टक एक्सचेन्जका लागि मुख्य व्यापारिक घरानाबीच ठूलै शीतयुद्ध चलिरहेको छ । व्यापारिक घरानाकै प्रभावमा परेर धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालले नीति परिवर्तन गरेर प्राइभेट लिमिटेड कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था गरेका थिए । यही कारण व्यापारिक घराना जसरी भए पनि एक्सचेन्जको लाइसेन्स आफ्नो पोल्टामा पार्ने रस्साकसीमा छन् ।
यो प्रक्रियामा सत्तापक्षीय मुख्य दलका नेताहरूको पनि मिलेमतो रहेको स्रोतको दाबी छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको र त्यसको हिस्सा मुख्य दलका नेतृत्वसम्म पनि पुगेकाले आफ्नो मान्छे नियुक्त गर्ने वातावरण नहुँदासम्म बोर्ड अध्यक्ष नियुक्त हुन नदिने रणनीतिमा उनीहरू छन् । यही कारण पुँजी बजारको एक मात्र नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष ६ महिनादेखि रक्त छ । विवादकै कारण छनोट प्रक्रिया सुरु गरे पनि सरकारले अझै अध्यक्ष नियुक्त गर्न सकेको छैन । धितोपत्र ऐनको व्यवस्थाअनुसार हाल अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नरेन्द्र रानाले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएकै कारण गत पुसयता प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्रलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको थियो । यद्यपि गत साता बोर्डले दुई कम्पनीलाई धितोपत्र निष्कासन अनुमति दिएको छ ।

Page 6
अर्थ वाणिज्य

एक अर्ब बक्यौता नतिरेपछि एनसेलको ब्यान्डविथ खरिदको मुद्रा सटही रोकियो

- सजना बराल

(काठमाडौं)
नेपाल दूरसञ्चार प्राधिकरणले २१०० मेगाहर्ज फ्रिक्वेन्सीसम्बन्धी शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटही सहजीकरण रोकिदिएको छ । प्राधिकरणले मुद्रा सटहरू रोकिदिएपछि छ महिनायता ब्यान्डविथ खरिदबापतको ५५ करोड रुपैयाँ सिंगापुरको टाटा कम्युनिकेसन्स इन्टरनेसनललाई तिर्न असमर्थ भएको छ । उत्त कारण एनसेलले आफ्नो सेवामा असर परेको र भविष्यमा सेवा अवरुद्धसमेत हुन सक्ने जनाएको छ । नियामक प्राधिकरणले नियमअनुसार बक्यौता नतिरेकाले सहजीकरण सुविधा रोकिएको जनाएको छ । एनसेलले करिब १ अर्ब रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध नगराएको प्रस्ट्याएको छ ।
‘एनसेलले सरकारलाई नियमअनुसार तिर्नुपर्ने दायित्व लामो समयदेखि नतिरेका कारण सहजीकरणका केही काम रोकिएका छन्,’ प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले भने, ‘फ्रिक्वेन्सी शुल्कका विषयमा एनसेल अदालत गएको छ तर अदालतबाट स्टे अर्डर आएको छैन । स्टे अर्डर आएको भए हामीले त्यहीअनुसार गर्नुपर्थ्यो । स्टे अर्डर नआएको हुँदा एनसेलले नियमअनुसार दस्तुर भुक्तानी गर्नुपर्छ ।’
एनसेलले ०७८ सालमा अक्सनबाट पाएको २१०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा सरकारले अक्सनको मूल्य तय गर्दा त्यसअघि नै प्रयोगमा रहेको सोही ब्यान्डको फ्रिक्वेन्सीमा समेत पछिल्लो अक्सनको मूल्य कायम गर्न खोजेको भन्दै एनसेल सर्वोच्च अदालत गएको थियो । उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले कारण देखाउ आदेश जारी गरी मुद्दाको अन्तिम छिनोफानो भएको छैन ।
नेपाल सरकारसँग एनसेलको यो मात्रै विवाद भने होइन । पछिल्लो पटक एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीसम्बन्धी विषयको उल्झन कायमै छ भने एनसेल आजिएटाले नेपाल सरकारलगायतलाई कर र गैरकर गरी तिर्नुपर्ने अर्बौं रकम पनि विभिन्न तहका निकाय र अदालतहरूमा विचाराधीन नै छ । तेस्रो पटकको नवीकरण शुल्कबापत गत जेठ १५ भित्र बुझाउनुपर्ने २० अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँ मात्रै बुझाएको एनसेलले बाँकी रकम किस्ताबन्दीमा तिर्ने सुविधा मागिरहेको छ ।
सरकारले ०६६ र ०७१ सालमा सरकारी स्वामित्वको नेपाल टेलिकमलाई नवीकरण शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिएपछि एनसेलले पनि किस्ताबन्दी सुविधा पाएको थियो । नेपाल टेलिकमले ०७६ सालमा गर्नुपर्ने तेस्रो नवीकरण लाइसेन्सको मिति गुज्रिनुभन्दा एक दिनअघि गत वैशाखमा एकमुष्ट २० अर्ब बुझाएको थियो ।

अर्थ वाणिज्य

सरकारले भुक्तानी नदिँदा आर्थिक दबाब बढेको निर्माण व्यवसायीको गुनासो

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सरकारले भुक्तानी गर्नुपर्ने रकम सयममै उपलब्ध नगराउँदा आफूहरूलाई समस्यामाथि समस्या थपिएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । निर्माण व्यवसायीलाई सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहे पनि आनाकानी गरिरहेको उनीहरूको भनाइ छ । जसकारण आफूहरूमाथि आर्थिक दबाब बढेको र कतिपय व्यवसायी आत्महत्याको स्थितिमा समेत पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
यही असार १५ मा डडेलधुरा, अमरगढी नगरपालिका–५ का निर्माण व्यवसायी डम्बरदत्त भट्टले आत्महत्या गर्नुको पछाडि सरकार दोषी रहेको महासंघको आरोप छ । ‘सरकारले दिने रकम समयमा भुक्तानी नहुँदा व्यवसायीलाई आर्थिक दबाब भइरहेको छ,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘यो झेल्न नसकेर ती व्यवसायीले आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आयो ।’
निर्माण व्यवसायीलाई सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महासंघका महासचिव रोशन दाहालले पनि जनाए । ‘सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भएपछि म्याद थप हुँदा सरकारले निर्माण व्यवसायीलाई ४० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ,’ उनले भने, ‘चालु आयोजनाको निर्माण कार्यमा बजेट अपुग तथा निकासा नभएको कारण लामो समय अघिदेखि बाँकी भएको २० अर्ब गरी जम्मा ६० अर्ब रुपैयाँ राज्यले व्यवसायीलाई दिन बाँकी छ ।’
चालु आर्थिक वर्षको सरकारी आयोजनाको भुक्तानी असार २४ सम्म मात्र भुक्तानी गर्ने कानुनी व्यवस्था छ । अब २/३ दिन मात्र समय रहेकाले निर्माण व्यवसायीले सरकारलाई समयमा भुक्तानी गर्न दबाब दिएका हुन् । निर्माण व्यवसायी देशको पछिल्लो राजनीतिक परिस्थितिले गर्दा आफ्नो भुक्तानी समयमा नपाइने भन्ने चिन्तामा छन् ।
‘हामीले नयाँ बन्न लागेको गठबन्धन सरकारलाई पनि भेटेर भुक्तानीको समस्याबारे जानकारी गराएका छौं,’ अध्यक्ष सिंहले भने, ‘अहिलेको सरकारलाई पनि बारम्बार दबाब दिइरहेका छौं । अब समयमै भुक्तानी हन्छ भन्ने आशा मात्र हामीसँग छ ।’ सिंहका अनुसार निर्माण व्यवसायीले चालु आर्थिक वर्षको आयोजनाको भुक्तानी रकमान्तरका लागि विभिन्न सरकारी कार्यालयबाट गएर अर्थ मन्त्रालयमा २० अर्ब रुपैयाँ अड्किएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले मात्र नभई अन्य मन्त्रालयले पनि व्यवसायीको रकम भुक्तानी गर्न बाँकी छ ।
‘भुक्तानी समयमा नहुँदा व्यवसायीलाई थप आर्थिक भार पर्छ,’ समस्या देखाउँदै सिंहले भने, ‘त्यसपछि प्रहरी, बैंक र कालोसूचीमा पर्ने डर हुन्छ ।’ सरकारले समयमा भुक्तानी गरे चालु आर्थिक वर्षमा राज्यको बजेट खर्च ४९ प्रतिशतबाट ७० प्रतिशतभन्दा बढी हुने उनको भनाइ छ । व्यवसायीहरूको रकम भुक्तानी नभएसम्म नयाँ ठेक्का ननिकाल्न, बजेट सुनिश्चितता नभएका र भुक्तानीलगायत समस्याले पूरा हुन नसकेका आयोजना कानुनअनुसार व्यवस्था गरिदिन महासंघले मागसमेत गरेको छ ।
महासंघले शुक्रबार सरकारलाई व्यवसायीको रकम समयमा भुक्तानी गर्न दबाबस्वरूप गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले दुई वर्षदेखि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गका ठेक्काको भुक्तानी सम्बन्धित कार्यालयबाट नपाएपछि मृतक भट्टले आत्महत्याको बाटो रोजेको दाबी गरे ।
मृतक भट्ट एक इन्जिनियर र झोलुंगे पुलको ठेक्का आयोजना काम गर्थे । ‘एक व्यवसायीले आफ्नै घाँटीमा चक्कु हानेर मर्नु कहाँसम्मको पीडा होला,’ महासंघ अध्यक्ष सिंहले सरकारलाई प्रश्न गर्दै भने, ‘हामीले एक दुई जना मात्र होइन, धेरै साथी यसरी गुमाइसकेका छौं ।’
भट्ट आफ्नै घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा भेटिएका थिए । धनगढीस्थित
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

अर्थ वाणिज्य

किसानीले फर्कायो बिदेसिएका पति

- सन्जु पौडेल

(लुम्बिनी)
बिहान होस् या साँझ । उनलाई प्रायः फुर्सद हुँदैन । कुनै न कुनै काममा व्यस्त हुन्छिन् । यस्तो व्यस्तताको कारण उनले गरिरहेको मौसमअनुसारको तरकारी खेती हो । रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक टोलकी ४७ वर्षीया बिना पुनको जाँगर भर्खर युवा उमेर टेकेको जस्तो छ । उनको खटनपटनले परिवारका सदस्यलाई समेत थुपुक्क बस्न दिँदैन । जहिलेदेखि घरबाहिर निस्किएर केही सिक्न पाइन्, त्यही बेलादेखि आफूले काम चिनेको उनको भनाइ छ । स्वरोजगारीका लागि श्रमको महत्त्व बुझेदेखि कामलाई प्राथमिकतामा राखेको उनले बताइन् । बिनाले अहिले बंगुरपालन गरेकी छन् । उनको खोरमा ८ वटा माउ र ३० बच्चा बंगुर छन् । तिनको स्याहारमा उनको दिनरात बित्ने गरेको छ ।
बिहान ५ बजे उठेर सुरुमा बुंगुरलाई दानापानी दिन्छिन् । खोर सफाइ गरेर उनी घरको काम पनि गर्छिन् । ‘दिउँसो र बेलुका पनि बंगुरको स्याहारमै बिताउनुपर्छर्,’ उनले भनिन्, ‘बच्चा च्यापिने डरले राति उठेर हेर्नुपर्छ ।’ एउटा सानो बंगुर बिक्री गर्दा ७ हजार रुपैयाँसम्म पर्छ । माउको मासु प्रतिकिलो साढे ४ सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले बताइन् । रुपन्देहीबाहेक, पश्चिम नवलपरासी, पाल्पा, गुल्मीसम्म बंगुर बिक्री हुने गरेको छ ।
०५४ सालमा वीरबहादुर रानासँग उनको बिहे भयो । त्यसपछि उनले घरमै २ वटा बुंगुर पाल्न सुरु गरिन् । भारतमा रोजगारी गरिरहेका
श्रीमान्सित एक वर्ष उतै बसेर फर्किएपछि उनलाई स्वरोजगारमूलक काम गर्न मन लाग्यो । श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाएर बिनाले बंगुरपालन गर्न थालिन् । ०६६ मा च्याउ
खेती गर्न सिकाउने तालिम आयो । श्रीमान्लाई सोधेर बिना तालिममा सहभागी भइन् । च्याउको बजारीकरण, उत्पादन, फाइदा र खेती प्रक्रियाबारे जानिन् । दुई सन्तानकी आमा बनेपछि उनले च्याउ खेतीको सीप सिकेर ०६७ बाट २० पोकामा च्याउ खेती सुरु गरिन् । त्यसबाट राम्रो उत्पादन र बिक्री भयो ।
च्याउबाट आम्दानी देखेपछि बिनाले खेती बिस्तार गरी ५ हजार ५ सय पोकामा बीउ राखेर उत्पादन गरिन् । त्यसबाट १ सय ४० क्विन्टल च्याउ उत्पादन भयो । उक्त च्याउ अर्घाखाँची, गुल्मी, परासीका थोक व्यापारीलाई बिक्री गरेको उनले बताइन् । च्याउ खेतीमा छोरी र छोराले समेत सघाउन थाले । कमाउन बिदेसिएका श्रीमान्लाई समेत घरमै आम्दानी हुने बताएर उनले ५ वर्षमै फिर्ता बोलाइन् । त्यसपछि उनको कृषि कर्म झनै फस्टायो ।
एक किलो च्याउको १ सय ४० रुपैयाँसम्म बजार भाउ पर्दा बिनाले लगानीसँगै आधाभन्दा बढी नाफा कमाउन थालिन् । हरेक वर्ष कात्तिकदेखि वैशाख पहिलो सातासम्म उनले च्याउन खेती गर्छिन् । खेतीका बेला उनले थप ३ जनालाई रोजगारीसमेत दिने गरेकी छन् । च्याउ खेतीलाई थप बढाएर ८ हजार डल्लासम्म राख्ने योजनामा रहेकी उनलाई यस कर्मबाट चिनाउन दायित्व, यूएनडीपी र नासो संस्थाले सघाएका छन् । ०६६ देखि ०७४ सम्म उनलाई यूएनडीपी र नासोले दुई वटा बुंगुर, च्याउका डल्ला बनाउने दुई वटा मेसिन, एउटा फ्रेस हाउस सञ्चालन गर्ने पसलसमेत खोलिदिएका थिए । त्यसबाट उनका श्रीमान्ले फ्रेस हाउस चालउन थाले ।
०७० मा दर्ता भएको बिनाको विशाल पशुपन्छी तथा कृषि फर्ममार्फत सिजनअनुसार काम हुने गरेको छ । वैशाखसम्म च्याउ खेती गर्ने र अन्य समयमा बंगुरसँगै कुखुरापालन पनि गर्छिन् । एक हजार ब्रोइलर कुखुरा पालेर उनले मासिक डेढ लाख बचाउने गरेको बताइन् । ‘बढी गर्मीमा चल्ला राख्दिनँ,’ उनले भनिन्, ‘च्याउको जति कमाइ नभए पनि बुंगर र कुखुराले पनि मलाई व्यावसायिक बनाएका छन् ।’ च्याउमा १ पटकमा ७ लाख लगानी गर्दा १४ लाख नै कमाइ हुने र कुखुरा र बुंगुरमा २ लाखसम्म नाफा हुने गरेको उनले जनाइन् ।
श्रीमान्ले सीप सिक्न जाऊ भनी दिएको साथ र छोराछोरीले घरको काममा सघाएकाले आफूलाई समाजमा चिनिन, व्यावसायिक कृषिमा लाग्न प्रेरणा मिलेको बिना बताउँछिन् । मिहिनेतले हाल मासिक सरदर ९० हजार रुपैयाँसम्म बचत हुने गरेको उनले सुनाइन् । ‘हामी सन्तुष्ट छौं । परिवारसँगै बसेर महिनामा ८०–९० हजार बचत गर्न सकेका छौं,’ भन्छिन्, ‘छोराछोरी पढाउन सकेका छौं । उद्यमी भनेर गाउँसमाजमा चिनिन पाएका छौं ।’

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


मिस्टर नेपालको मुख्य प्रायोजक रियलमी
काठमाडौं (कास)– स्मार्टफोन ब्रान्ड रियलमी नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको ‘मिस्टर नेपाल २०२४’ को मुख्य प्रायोजक भएको छ । मिस्टर नेपालसँग सहकार्य गर्न पाएकामा उत्साहित भएको रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले बताए । मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरका रूपमा रियलमीसँगको सहकार्य महत्त्वपूर्ण हुने मोडल्स नेपालका सीईओ रवि धमलाको भनाइ छ । मिस्टर नेपालको अडिसन झापाबाट सुरु भएर विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुने आयोजकले जानकारी दिएको छ ।
साओमीको ॅरेडमी नोट १३’ ज्याकपट अफर
काठमाडौं (कास)– साओमी नेपालले
आफ्नो उत्पादन ‘रेडमी नोट १३’ सिरिजमा ज्याकपट अफर ल्याएको घोषणा गरेको छ । शुक्रबार घोषणा भएको यो अफरमा ग्राहकले चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकले रेड्मी नोट १३, रेडमी नोट १३ प्रो र रेडमी नोट १३ प्रो
प्लस ५ जी खरिदमा छुट पाउने कम्पनीले बताएको छ । यो
छुट जुलाईभर रहने कम्पनीको भनाइ छ । नयाँ अफर ल्याउन पाउँदा कम्पनी खुसी भएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए ।
एभरेस्ट अस्पतालमा सेवा विस्तार
काठमाडौं (कास)– काठमाडौंको बानेश्वरस्थित एभरेस्ट अस्पताल प्रालिले सेवा विस्तार गरेको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर शनिबारदेखि सेवा विस्तार गरिने जानकारी दिएको हो । शनिबारबाट ब्लड बैंक स्थापना तथा सेवा, हेमोडायलसिस स्थापना तथा सेवा, दन्त विभाग स्थापना तथा सेवा, नेत्र विभाग स्थापना तथा सेवा, एनआईसीयू विभाग स्थापना तथा सेवा प्रारम्भ हुने अस्पतालले बताएको छ । तीन दशकदेखि सञ्चालनमा रहेको एभरेस्ट अस्पतालले सेवा थप गरेको दिन रक्तदान र निःशुल्क स्वास्थ्य शिविरसमेत राखेको जनाएको छ । यसअनुसार अस्पतालले ५०० युनिट रगत संकलन गर्ने लक्ष्यसहित बृहत् रक्तदान कार्यक्रम, निःशुल्क मिर्गौला जाँच शिविर, सुगर, युरिया, क्रियाटिनिन जाँच, दन्त स्वास्थ्य शिविर, आँखा परीक्षण शिविरलगायत छन् ।

Page 7
समाचार

चेपाङमा कुपोषणको मार, साउनयता ४ बालबालिकाको मृत्यु

- प्रताप विष्ट

(हेटौंडा)
कुपोषणका कारण मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा चार बालबालिकाको मृत्यु भएको छ । पाँच वर्षमुनिका २ बालिका र २ बालकको मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले गत साउनदेखि माघसम्म वडा ३, ४ र ७ का कुपोषणले ग्रस्त चार बालबालिकाको मृत्यु भएको बताए । जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ । राक्सिराङमा भने यस वर्ष कुपोषणका कारण ज्यान गएको घटना नभएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए ।
अशिक्षा र गरिबीको चपेटामा रहेको चेपाङ समुदायमा कुपोषणको समस्या घट्न नसकेपछि त्यसको पहिचान र उपचारका लागि कैलाश गाउँपालिकाले चालु आवदेखि कुपोषण निराकरण अभियान चलाउँदै आएको छ । पालिकाले कडा शीघ्र कुपोषण भएकालाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी तथा मध्यम शीघ्रकालाई नियमित रूपमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ । पालिकाले ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ सहित हरेक टोलमा पुगेर कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको हो । उक्त अभियानअन्तर्गत गाउँपालिकामा चालु आवमा ३४ महिला र ४८ बालबालिकामा कुपोषण पाइएको थियो । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका भेटिए ।
गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयंसेविका १० वटै वडामा परिचालन गरी एक साताको अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला/बालबालिकाको खोजी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख यादवले बताए । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु वर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरूलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख
यादवले बताए ।
कुपोषणग्रस्त गर्भवती तथा सुत्केरीका लागि गाउँपालिकाले ‘हरेक बार खाना चार’ कार्यक्रमअन्तर्गत अन्डा, क्वाँटी, हर्लिक्स, घिउ, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । यसैगरी कुपोषित बालबालिकाका लागि मासिक रूपमा पोषण खीर, पोषण खिचडी, पोषण हलुवा उपलब्ध गराउँदै आएको छ । सन्तुलित रूपमा नियमित पोषणयुक्त खानेकुरा पकाउनेबारे पनि सम्बन्धित परिवारका सदस्य राखेर जानकारीमूलक कार्यक्रम सञ्चालन
गरेको छ ।
कडा शीघ्र कुपोषणको उपचारका लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । वडा ३ को कटुन्जे स्वास्थ्य चौकी, ८ को भार्ता स्वास्थ्य चौकी र वडा ७ को निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । ‘उपचार केन्द्रमा कडा शीर्घ कुपोषणका सिकिस्त बिरामी भए भर्ना गरेर राखिन्छ, सामान्य भएपछि २ साताका लागि पूर्वतयारीयुक्त उपचारात्मक खाना दिएर पठाउने गरेको छ । पोषणयुक्त उपचारात्मक खाना नियमित खाएपछि कुपोषण कम हुँदै गएर स्वस्थ हुँदै आउँछ,’ स्वास्थ्य शाखा प्रमुख यादवले भने । गाउँपालिकाको ३, ४, ७ र ८ वडामा सबैभन्दा बढी कुपोषणका बिरामी छन् । ती वडाहरूलाई लक्षित गरी उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य मापदण्डअनुसार ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाप ११.५ सेन्टिमिटरभन्दा कम भएमा, खुट्टा सुन्निएको र भोक नलाग्ने समस्या देखिएमा त्यसलाई कडा शीघ्र कुपोषण मानिन्छ । साथै ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाम ११.५ देखि १२.५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टि गरिन्छ । यसैगरी गर्भवती र ६ महिनाभित्रको सुत्केरी महिलाको हकमा पाखुराको नाप २१ सेन्टिमिटरभन्दा कम भएमा कडा शीघ्र कुपोषण मानिन्छ । २१ देखि २५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टि गर्दै उपचार विधि सुरु गरिने स्वास्थ्य शाखाका प्रमुख यादवले बताए ।
अशिक्षा, गरिबी र बालविवाहका
कारण गाउँपालिकामा कुपोषण बढिरहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तानको भनाइ छ । ‘पहिलो कुरा त गरिबीका कारण सन्तुलित खाना खान पाउँदैनन्, अशिक्षाका कारण पोषणयुक्त खानेकुराको ज्ञान पनि छैन र सानै
उमेरमा बिहे गरी बच्चा जन्माउँदा
आमा र बच्चा दुवै कुपोषणको सिकार
हुने सम्भावना हुन्छ,’ अध्यक्ष मुक्तानले भने । कुपोषितको उपचारका साथै उनीहरूलाई आयआर्जनमुखी काममा जोड्न तरकारीको बीउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताए ।
कैलाशसँगै जोडिएको चेपाङ बाहुल्य रहेको अर्को राक्सिराङ गाउँपालिकामा पनि कुपोषित बालबालिका उल्लेख्य छन् । यहाँ ५ वर्षमुनिका ९८ बालबालिका कुपोषणले ग्रस्त छन् । पालिकाले उनीहरूका निम्ति पोषणको व्यवस्था गरेको छ । गत वर्ष वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययनअनुसार मकवानपुरमा ११ महिना उमेरसम्मका १ सय ४७ र १ वर्षदेखि २३ महिना उमेरका ७६ बालबालिका कुपोषणले ग्रसित रहेको पाइएको थियो । वाग्मती प्रदेशका १३ जिल्लामध्ये ११ महिनासम्मका बालबालिकामा सबैभन्दा धेरै कुपोषित ललितपुरका छन् ।
ललितपुरमा यो उमेर समूहका ७ सय ४ बालबालिका कुपोषित रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । ११ महिना उमेर समूहमा चितवनका २ सय ७ र धादिङका १ सय ९७ बालबालिका कुपोषणबाट ग्रसित छन् । १ वर्षदेखि २३ महिनासम्मका बालबालिकामा सबैभन्दा धेरै कुपोषितको संख्या २ सय ७५ धादिङमा रहेको निर्देशनालयले जनाएको छ । उक्त उमेर समूहका चितवनमा २ सय २० बालबालिका कुपोषणग्रस्त छन् । वाग्मती प्रदेशमा सबैभन्दा कम कुपोषित बालबालिकाको संख्या रसुवामा छ । उक्त जिल्लामा ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना गरेर रसुवामा ८ जना मात्र कुपोषित बालबालिका रहेको स्वास्थ्य निर्देशक दीपकबाबु तिवारीले बताए । सिन्धुलीमा २३ महिनासम्मका १ सय ३५ बालबालिका कुपोषित छन् भने सिन्धुपाल्चोकमा १ सय १० कुपोषित बालबालिका छन् ।
वाग्मती प्रदेशमा २३ महिनासम्मका १ लाख ५४ हजार ७ सय ५९ बालबालिका रहेकामा २ हजार ५ सय ९५ जना कुपोषणले ग्रसित छन् । कुपोषणग्रस्त बालबालिकामध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ रहेको निर्देशनालयका तथ्यांक अधिकृत भण्डारीले बताए । ‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका बस्तीका अधिकांश बालबालिका कुपोषणले ग्रसित भेटिएका छन्,’ निर्देशनालयका निर्देशक तिवारीले भने, ‘बालबालिकालाई कुपोषणबाट मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत अन्य निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’
बालबालिकालाई कुपोषणबाट मुक्त गर्नका लागि सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको भए पनि अधिकांश अभिभावकले बालभिटा खुवाउने नगरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । मकवानपुरको स्थानीय तहमा लक्ष्य र तथ्यांकअनुसार बालभिटा खाने बालबालिकाको संख्या ज्यादै न्यून छ । स्थानीय तहले बालभिटा खपत नभएपछि म्याद नाघेर नष्ट गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन् । जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फूर्तिलो बनाउनका
लागि बालभिटा खुवाउने गरिएको हो । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ ।
बच्चा जन्मेको ६ देखि ११ महिनासम्म, १२ देखि १७ महिनासम्म र १८ देखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले तीन पटक बालभिटा वितरण गर्ने गरेको छ । तर मकवानपुरको स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलो पटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम रहेको छ । बच्चा जन्मिएपछि दुई वर्षभित्रमा ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मी बताउँछन् । सरकारले निःशुल्क रूपमा बालभिटा वितरण गरिरहँदा पनि अभिभावकले बालबालिकालाई बालभिटा खुवाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको
छैन । ‘गाउँमा रहेका महिला स्वयंसेविकालाई बालबालिकालाई बालभिटा खुवाउन अनुरोध गर्दा पनि टेर्दैनन् । गर्भ परीक्षण गराउनुपर्छ र सुत्केरी स्वास्थ्य चौकीमा हुनुपर्छ भनेर जोडबल गर्दा पनि मान्दैनन्,’ राक्सिराङका स्वास्थ्य शाखा प्रमुख कापरीले भने ।
हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले स्तनपान, खाद्य असुरक्षा, स्वास्थ्य सेवामा पहुँच र खानामा पोषक तत्त्वको अभावले शीघ्र कुपोषणको समस्या देखिएको बताए । स्वास्थ्य संघसंस्थामा आएका कुपोषणबाट ग्रसित बालबालिकाको अवस्था भने सुधार भइरहेको उनले बताए ।

 

समाचार

जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा

- डीबी बुढा

(जुम्ला)
बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरू आमा बनेका छन् । स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा धेरै गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बनेका छन् । पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेका छन् । यो तथ्यांकले जुम्लामा बालविवाहको अवस्था निकै भयावह देखाएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाकी सिनियर अनमी मोर्चा शाही गाउँघरमा सानै उमेरमा विवाह गर्ने चलन कायमै रहेको बताउँछिन् । शिक्षाको कमी, गरिबी र देखासिकीका कारण बालविवाह हुने गरेको छ । बच्चा जन्माउने र हुर्काउनेबारे जानकारी नै नभईकन विवाह गर्दा आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘शरीरका अंग पूर्णरूपमा विकास भइसकेका हुँदैनन् । जसले गर्दा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने खतरा देखिएको छ । यो चिन्ताजनक अवस्था हो,’ अनमी शाहीले बताइन् ।
स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटा शिक्षाको स्तर बढ्दै गइरहेका बेला कम उमेरमै विवाह गर्नेको संख्या क्रमशः घटेको दाबी गर्छन् । उनका अनुसार कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएका परिवार रहेका छन् । जिल्लाका चारवटा वडा त बालविवाहमुक्त वडाका रूपमा घोषित भइसकेका छन् ।
गत आर्थिक वर्षमा जिल्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए । सबैभन्दा बढी चन्दननाथमा १ सय ९० जना किशोरी आमा बनेकामा पातारासीमा १ सय ३४ जना किशोरी आमा बनेका थिए । तातोपानीमा ६६ जना, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठीचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना किशोरी आमा बनेका थिए ।
बढ्दो बालविवाह रोक्न स्थानीय सरकारहरूले सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभतेरमा सहभागी नहुनेदेखि गाउँबस्तीमा सचेतना फैलाउने काम गरिरहेको जनाएका छन् । गुठीचौर–४ का वडाध्यक्ष टीकादत्त न्यौपाने बालविवाहले किशोरीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले कडाइ गरिएको बताउँछन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालविवाह
कुनै व्यक्ति र एक संस्थाको मात्र प्रयासमा नरोकिने भएकाले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँछन् । उनका अनुसार सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह सबैको प्राथमिकताको विषय बनेको भए पनि रोक्न नसक्नु विडम्बना भएको बताए ।
जुम्ला हिमा–१ का किशोरीहरू नै बालविवाह रोक्ने अभियानमा छन् । तर, उनीहरूले बारम्बार धम्की र दबाब खेपिरहनुपरेका छ । २०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ । तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुन सक्ने समस्याका बारेमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् ।

Page 8
खेलकुद

अनुभवी इंग्लिस र जोसिलो स्विसको जम्काभेट

- कान्तिपुर संवाददाता

रोयटर्स (डुसेलडोर्फ)
इंग्ल्यान्डको यस युरोमा सपना समाप्त भएकै स्थिति थियो । धन्न, जुड बेलिङ्घमको सुन्दर गोलले टोलीको प्रतिष्ठा जोगियो । यो भयो अन्तिम १६ को कथा । इंग्ल्यान्डले शनिबार क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दै छ । त्यसमा सामना गर्नुपर्ने चुनौती अझ बलियो हुने पक्का छ । गारेथ साउथगेटको इंग्ल्यान्डले लयमा देखिएको स्विट्जरल्यान्डको सामना गर्न लागेको हो । स्विस टिमले यो चरण पुग्न डिफेन्डिङ च्याम्पियन इटालीलाई हराएको थियो ।

यसले पनि स्विस टिम कति बलियो छ भनेर देखाउँछ । केही साता अगाडिसम्म पनि इंग्ल्यान्डले अन्तिम आठमा स्विट्जरल्यान्डलाई प्रतिद्वन्द्वी दिन्छु भन्दा खुसीले लिने थियो । स्विट्जरल्यान्डविरुद्ध इंग्ल्यान्डले खेलेका २७ खेलमा तीनपल्ट मात्र हार सामना गर्नुपरेको छ । अझ त्यसमध्ये अन्तिम हार त सन् १९८१ मा रहेको थियो । तर, मुरात याकिनको अहिलेको स्विट्जरल्यान्ड फरक टिम रहेको छ । यसले लगातार आत्मविश्वासले भरिएको खेल प्रदर्शन गरिरहेको छ ।

अझ याकिन आफ्ना समकक्षी साउथगेटप्रति सहानुभूति देखाउँछन् । हुन पनि साउथगेटको इंग्लिस मिडियामा चर्को आलोचना भइरहेको छ । किनभने टिमले आफ्नो अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । याकिन भन्छन्, ‘एक वर्षजति अगाडि म आफैं यस्तै स्थितिमा थिएँ । तर हाम्रो काम फुटबलमा केन्द्रित हुने हो, पत्रपत्रिकाले के लेख्छ, त्यसमा ध्यान दिने होइन । प्रशिक्षकले गर्ने भनेकै यही त हो ।’ साउथगेटमाथि लागेको एउटा गम्भीर आरोप के भने उनले टिममा खासै परिर्वतन गर्न खोजेका छैनन् ।

तर, सम्भवतः स्विट्जरल्यान्डविरुद्धको खेलमा उनी परिवर्तनबाट गुज्रिन बाध्य हुनेछन् । अभ्यासमा केयल वाल्करले मध्यभागको दायाँतर्फ रहेर खेलेका छन् भने बुकायो साका पछाडि झरेर विङ्गरको भूमिकामा देखिएका छन् । साउथगेटले डिफेन्सलाई लिएर पनि ठूलै निर्णय लिनुपर्नेछ, किनभने जोन स्टोन्स र ल्युक श घाइते छन् । मार्क गुएई एक खेलको प्रतिबन्धबाट गुज्रिइरहेका छन् । अर्कोतर्फ याकिन रक्षापंक्तिमा म्यानचेस्टर सिटीका म्यानुयल अकान्जी र न्युकासल युनाइटेडका फाबिन स्करमा निर्भर हुनेछन् ।
स्विस खेलाडी ग्रान्ट जाकाले भने मिडफिल्डरको प्ले–मेकरका रूपमा खेल्नेछन् । गत सिजन बायर लेभरकुजनलाई ऐतिहासिक बुन्डेसलिगाको उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी इटालीविरुद्ध आफ्नो टिमको प्रदर्शनबाट असाध्यै खुसी छन् । यस्तै प्रदर्शन इंग्ल्यान्डविरुद्ध पनि दोहोर्‍याउनुपर्ने मान्छन् । उनी भन्छन्, ‘इटालीको टिम यति कमजोर मैले यसअघि कहिले देखेको थिइनँ । खेलअघि नै हामी जितिसकेका थियौं, यति मानसिक रूपमा इटाली कमजोर थियो ।’

इंग्ल्यान्ड एघारौं पटक युरो खेल्दै छ । तर, टोली पहिलो उपाधि जित्ने उद्देश्यमा हुनेछ । स्विस टिम भने अहिलेसम्म सेमिफाइनल पुगेको छैन । इंग्ल्यान्डविरुद्ध जित निकाल्न सके यो स्विस फुटबलका लागि ऐतिहासिक हुनेछ । गारेथले पनि आफ्ना इंग्लिस खेलाडीलाई सजग रहेर खेल्न सुझाएका छन् । उनी भन्छन्, ‘उनीहरूले बलमाथि बढी नियन्त्रण राखेर खेल्ने गर्छन् । टिमले अगाडि बढेर खेल्ने र गोल गर्ने क्षमता राख्ने छ । त्यसैले हामी चनाखो रहनुपर्छ ।’

खेलकुद

बर्लिनमा टर्कीलाई समर्थकको साथ

- कान्तिपुर संवाददाता


बर्लिन (रोयटर्स)– नेदरल्यान्ड्सले युरोको अन्तिम १६ मा रोमानियामाथि प्राप्त जित नियमित प्रक्रियामा जस्तै थियो । त्यसलगत्तै टर्की भने अस्ट्रियामाथि रणनीतिक जित हात पार्न सफल रह्यो । जितेका यिनै दुई टिम प्रतियोगिताको अन्तिम आठमा शनिबार भिड्दै छन् । एक रोमाञ्चक खेलको पूरा अपेक्षा गर्न सकिनेछ । रोमानियामाथि नेदरल्यान्ड्सले एकछत्र प्रभुत्व जमाएको थियो । टर्कीले भने अस्ट्रियालाई बढी खेल्न दिए पनि काउन्टर आक्रमणमा जोड दिएको थियो ।
नेदरल्यान्ड्स र टर्की एकअर्काविरुद्ध भिड्दा यस्तै खेल देखिनेछ । यो खेलको विशेषता हो, बढीभन्दा बढी युवा र प्रतिभाशाली खेलाडी । टर्कीका अर्डा गुलर भर्खर १९ वर्षका भए । तर, उनको खेल परिपक्व देखिन्छ । कारण उमेरभन्दा बढी नै । उनी संयमित भएर खेल्छन् र काउन्टर आक्रमणमा अत्यधिक आफ्नो कौशलता देखाउँछन् । अस्ट्रियाविरुद्धको दोस्रो गोलमा उनले नै सहयोगी भूमिका निभाएका थिए । डच विङ्गर जाभी सिमोनको आफ्नो टिममा यस्तै प्रभाव छ ।
रोमानियाविरुद्ध कोडी गाक्पोले गरेको पहिलो गोलमा उनले नै अवसर मिलाइदिएका थिए । डच टिमले निर्णायक मोड आएर लय समातेको भए पनि टर्की समर्थक भने बढी नै उत्साहित छ । उनीहरूलाई लागेको छ, युरो २००८ दोहरिँदै छ । त्यसमा टर्की सेमिफाइनलसम्म पुगेको थियो । फेरि बर्लिन अत्यधिक टर्कीको डायस्पोराले भरिएको छ । त्यसैले लाइप्जिगमा टर्कीले अस्ट्रियालाई हराउँदा ठूलो संख्यामा टर्की समर्थक उपस्थित थिए ।
टर्कीका प्रशिक्षक भिन्सेन्जो मोन्टेला भन्छन्, ‘अहिले हामीलाई अत्यधिक समर्थकले पछ्याइरहेका छन् । फुटबलप्रति टर्कीमा अथाह माया र समर्पण छ । त्यसैले म टर्कीको फुटबललाई अझ अगाडि बढाउने लक्ष्यमा छु र यो गर्वको विषय पनि हो ।’ टर्कीका ९ खेलाडीले पहेँलो कार्ड खाइसकेको हुनाले ती सबैले होसियार भएर खेल्नुपर्नेछ । यदि जिते पनि यही कारणले टिमलाई समस्या हुन सक्नेछ, सेमिफाइनलमा । नेदरल्यान्ड्सका चार खेलाडी यही स्थितिमा छन् ।
टर्कीले ओरकेन कोक्चु र इस्माइल युक्सेकविना खेल्नेछ, किनभने उनीहरू एक खेलको प्रतिबन्धबाट गुज्रिरहेका छन् । तर, टिमका लागि सुखद समाचार पनि छ, एक खेलको प्रतिबन्धपछि मिडफिल्डर हाकन चालहान्ग्लु यस प्रतिस्पर्धामा फर्कंदै छन् ।
नेदरल्यान्ड्स भने अन्तिम पटक सन् २००८ को युरोमा क्वाटरफाइनल पुगेको थियो । डच टिमलाई लिग चरणमा अस्ट्रियाविरुद्ध बेहोरको हारको पीडा अझै छ । यसपालि सेमिफाइनल प्रवेश गर्न सके त्यो पीडा पक्कै कम हुनेछ ।

खेलकुद

'अतिवादी इसारा’ मा डेमिरलमाथि प्रतिबन्ध

- कान्तिपुर संवाददाता

 

बर्लिन (एएफपी)– टर्कीका डिफेन्डर मेरिह डेमिरलले युरोको शनिबार नेदरल्यान्ड्सविरुद्ध हुने क्वाटरफाइनल गुमाउने भएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनलाई दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अतिवादी राष्ट्रिय इसारा गरेको आरोपमा उनीविरुद्ध यो निर्णय गरिएको हो । टर्कीले भने यस निर्णयलाई एकपक्षीय र भेदभावपूर्ण भनेको छ । टर्कीले अन्तिम १६ मा अस्ट्रियाविरुद्ध प्राप्त २–१ जितमा दुवै गोल उनले नै गरेका थिए ।

दोस्रो गोल गरेपछि खुसी मनाउने क्रममा टर्कीको अतिवादी तथा दक्षिणपन्थी समूह ग्रे वोल्भ्ससँग जोडिएको इसारा गरेका थिए । यूईएफएले भनेको छ, डेमिरलले आधारभूत आचारसंहिता उल्लंघन गरेका छन्, खेलकुदमा यससँग गैरसम्बन्धित इसारा गरेका छन् । यसले फुटबललाई व्यवधान पुगेको छ । शनिबारको खेलमा टर्की विजयी रहे डेमिरलले इंग्ल्यान्ड वा स्विट्जरल्यान्ड विरुद्धको सेमिफाइनल पनि गुमाउने छन् ।

टर्कीका खेलमन्त्री ओसमन एस्किन बाकले भने यूईएफएको यो निर्णय राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हामी यूईएफएको यो एकपक्षीय र पूर्वाग्रही निर्णयको विरोध गर्छौं । यो कुनै कानुनी आधार टिकेर गरिएको निर्णय होइन । हामी मान्छौं, यो पूर्णतः राजनीतिबाट प्रेरित छ ।’

डेमिरलले भने आफ्नो खुसीयाली मनाउने तरिका टर्कीको पहिचान भएको बताएका छन् । युभेन्ट्सका पूर्व डिफेन्डर रहेका डेमिरल अहिले साउदी अरेबियाको प्रो लिगमा अल–अहलीका लागि खेल्नछन् । उनले आफ्नो इसारामा कुनै फरक र लुकेको सन्देश नरहेको बताए । उनले आफ्नो सामाजिक सन्जाल एक्समा गोलपछि मनाएको खुसीयालीको तस्बिर पनि हालेका छन् र त्यसको क्याप्सनमा लेखेका छन्, ‘म तुर्क हुँ भन्ने व्यक्ति कतिसम्म खुसी हुनसक्छ ।’ उनको यो कामले टर्की र युरो आयोजक जर्मनीबीच कूटनीतिक तनाव पनि सुरु भएको छ ।

टर्कीमा ३० लाखभन्दा बढी तुर्क रहेको मानिन्छ । जर्मनीका आन्तरिकमन्त्री नान्सी फिसरले त्यहाँका फुटबल रंगशालामा टर्कीको अतिवादी समूहसँग जोडिएका कुनै पनि प्रतीकका लागि ठाउँ नरहेको बताएकी छन् । टर्कीले भने बुधबार जर्मन राजदूतलाई बोलाएर यसबारेमा प्रश्न गरेको छ । टर्कीका राष्ट्रपति रजब तैयब इरदुगान जर्मनी राजधानीमा रहेको ओलम्पिया स्टेडियममा हुने खेलमा उपस्थित हुनेछन् । त्यो खेल दसौं हजार तुर्कले हेर्ने अनुमान छ ।

इरदुगानले पनि डेमिरलको समर्थन गर्दै आफ्ना खेलाडीले खुसीयालीका क्रममा उत्साहित भएर त्यस प्रकारको इशारा गरेको बताएका छन् । टर्कीका कतिपय मन्त्री तथा सत्ताधारी एकेपी पार्टीका प्रवक्ताले पनि जर्मन मन्त्री फिसरको प्रतिक्रियाको विरोध गरेका छन् । ग्रे वोल्भ्स समूह कट्टरपन्थी विचारको पक्षपाती छ । सन् ८० को दशकमा यो समूहले वामपन्त्री तथा अल्पसंख्यक जातिमाथि हिंसात्मक आक्रमण गर्ने गरेको थियो ।

यो समूह अस्ट्रिया र फ्रान्समा प्रतिबन्धित छ । तर, जर्मनीमा भने यसमाथि प्रतिबन्ध छैन । जर्मनीका कृषिमन्त्री केम आजडेमिरले डेमिरलको इशारा ग्रे वोल्भ्स समूहसँगै जोडिएकामा यो कसैबाट नलुकेको बताएका छन् । उनी आफैं तुर्क मूलका जर्मन राजनीतिज्ञ हुन् । उनले यो इसारा आतंक र फासीवादसँग जोडिएको पनि बताए । युरोपेली सांसदले सन् २०२१ मा यो समूहलाई आतंककारीको संज्ञा दिएको थियो । यो समूह कुर्द, आर्मेनियाली तथा ग्रिस पृष्ठभूमिका अल्पसंख्यकलाई आफ्नो शत्रु मान्छ ।

खेलकुद

बेलिङ्घममाथि कारबाही

- कान्तिपुर संवाददाता


जुड बेलिङ्घम भने युरोमा इंग्ल्यान्ड र स्विट्रल्यान्डबीचको खेलमा उपलब्ध हुनेछन् । अन्तिम १६ मा स्लोभाकियाविरुद्धको खेलमा विवादास्पद खुसीयालीका लागि उनलाई एक खेलको प्रतिबन्धको निर्णय गरिएको छ । तर यो तत्काल लागू भने हुने छैन । यूईएफएले प्रेस विज्ञप्ति जारी गर्दै बेलिङ्घमलाई ३० हजार युरो जरिवाना गरेको छ ।
स्लोभाकियाविरुद्धको खेलको अन्त्यतिर बराबरी गोल गरेपछि बेलिङ्घमले विपक्षी समर्थकतिर फर्केर विवादास्पद ढंगले इसारा गरेका थिए । इंग्ल्यान्डका लागि ४ खेलमा उनले २ गोल गरेका छन् । आफ्नो टिमका लागि सबैभन्दा राम्रो खेल्नेमा उनी अगाडि छन् । इंग्ल्यान्डसामु ५८ वर्षयता पहिलो पटक कुनै ठूलो प्रतियोगिताको उपाधि जित्ने बलियो अवसर छ ।
रियल म्याड्रिडका लागि खेल्नेक्रममा पनि बेलिङ्घमले यस्तो इसारा गर्ने गरेका थिए । तर, उनले आफ्नो यस प्रकारको इसारा इंग्ल्यान्ड विरोधीतर्फ इंगित नभएको दाबी गरेका छन् । उनले यो ख्यालठट्टामा गरिएको इसारामात्र रहेको बताएका छन् । बेलिङ्घम आफ्नो वास्तविक इसारा आफ्ना साथीतर्फ रहेको बताउँछन् । उनले स्लोभाकियाका खेलाडी र समर्थकप्रति आफ्नो पूर्ण समर्थन रहेको पनि बताएका छन् ।

Page 9
कोसेली

'मिडल क्लास केटी’ को आत्मगाथा

- शैलीका छेत्री


जतिखेर म विद्यार्थी थिएँ, सोच्ने गर्थें, ‘औसत मध्यमवर्गमा जन्मेकाले जीवन कति चुनौतीहरूले भरिएको छ ! अझै आरक्षणले झन् खराब बनाइसक्यो ।’ सधैं त्यो सोचबाट माथि उठ्न संघर्ष गरिरहेकी हुन्थें, तर पारिवारिक पृष्ठभूमि अनि व्यक्तिगत समस्यामा अल्झेर त्यही सोच वरिपरि घुमिरहेकी पनि हुन्थें । त्यसैले फतफताउँदै भनिरहेकी हुन्थें– ‘भविष्यमा त पक्कै धनी व्यक्ति बन्नेछु ।’
यसरी मध्यम वर्गीय परिवारमा जन्मिएकी मलाई धनी बन्ने चाहना भइरहन्थ्यो अनि सोच्थें, धनी जीवन बिताउँदा कस्तो अनुभूति हुँदो हो ! मध्यमवर्गका मानिसले धनीहरूका अघि आफ्नो हैसियत खोज्दै भौंतारिँदा सोच्दो हो– सायद म एक माझा चुँडिएको चंगा हुँ । तपाईंहरूलाई पनि मझैं धनी बन्ने चाहना हुँदो हो ! होइन र ?
हुन पनि हेर्नुस् न, मध्यम वर्गीय जीवनशैली कस्तो फुस्रो, पुरानो दिनचर्यामै सीमित छ– नौ घण्टा काम, छ घण्टा निद्रा, बाँकी समय हजारौं सपना मरेपछि मुहारमा सजाउनैपर्ने त्यो कृत्रिम मुस्कान । कत्ति दिक्कलाग्दो नि !
आम्दानीका आधारमा मध्यमवर्गलाई परिभाषित गर्नु गाह्रो विषय हो, कारण मध्यमवर्गको परिभाषामा पनि बेग्लै ‘क्यालिडोस्कोपिक’ दायरा छ । यो दायरामै कस्सिएर होला, आम मध्यम वर्गीय अभिभावकले बच्चाहरूलाई केवल कन्जुस नीतिहरूमा ‘मिडल क्लास’ जीवन जिउने ‘टिप्स’ दिन सक्छन् । त्यसरी होला, यो वर्गमा ‘मिडल क्लासोसिस’ जस्ता जटिल सोचको निर्माण हुन गएको ।
जोन मेनार्ड केन्सको पुस्तक ‘द जनरल थ्योरी अफ एम्प्लायमेन्ट, इन्ट्रेस्ट एन्ड मनी’ मा यस्तै ‘मिडल–क्लासोसिस’ आधारलाई पढेपछि मध्यमवर्ग र आर्थिक वृद्धिबीचको सम्बन्धमा सरकारले मध्यमवर्गलाई केवल लगानीको खपतका निम्ति आवश्यक मोहराका रूपमा प्रयोग गरेझैं भान हुन्छ ।
जब मैले ‘म्याड्रिड इन्स्टिट्युट फर एड्भान्स्ड स्टडी’का मानवविज्ञानी हाडास विस्को पुस्तक ‘हाउ सोसल मोबिलिटी मिस्लिड्स अस’ पढें, त्यहाँ मध्यमवर्ग विचारधाराहरू ‘मेरिटोक्रेसी’सँग जोडिएको पाएँ । जे होस्, तर एउटा मध्यम वर्गीय व्यक्तिलाई ‘फोर्ब्स’ पत्रिकाले धनी र उद्यमी बन्ने बाटोचाहिँ देखाउँदो रहेछ । तर, मध्यम वर्गीय वित्तसँग रूढिवाद पनि मिसिएपछि उद्यममा पैसा गुमाउने अनुमानमा त्यो बाटोतिर हाम फाल्दै हिँड्नु डर लाग्दोरहेछ । त्यो डरसँगै मलाई आयरिश लेखक जोनाथन स्विफ्टको भनाइ याद आउँछ– ‘बुद्धिमान व्यक्तिको मनमा होइन, दिमागमा पैसा हुनुपर्छ ।’ बडो दुःखले हासिल गरेको औपचारिक शिक्षा पनि अब सम्पत्ति कमाउन काम लाग्ने भएन । त्यसो भए उत्कृष्ट ‘ग्रेड’ के गर्ने ? यो ‘ग्रेड’ काम लाग्ने भए मझैं प्रत्येक स्नातक करोडपति बन्ने थियो होला । होइन र ? त्यसैले प्रत्येक धनी व्यक्तिलाई थाहा छ, पाठ्यपुस्तक कण्ठ गर्ने क्षमतासँग वित्तीय सफलताको सम्बन्ध छैन । यसको सट्टा धनी व्यक्तिहरू शक्तिशालीसँग ‘नेटवर्क’ विस्तारमा विश्वास गर्छन् ।
अहो ! यो सूत्रको आधारमा त म उही लुरे, अति साधारण, मध्यम वर्गीय केटीको गन्तीमै आउने भएँ, जोसित नामचिन व्यक्तिहरूले सम्बन्ध त राख्लान्, तर सामाजिक तौरमा त्यसलाई स्वीकार गर्न डराउँछन् । कारण, म उनीहरूको सामाजिक ‘स्टाटस’मा सुहाउँदो प्रतिनिधि होइन । म एक मध्यम वर्गीय जागिरे हुँ, तर उनीहरूलाई के थाहा, ल्याटिन अमेरिकामा परिपक्व पश्चिमी लोकतन्त्रलाई मध्यम वर्गीय समाजले कस्तो प्रभाव पारेको छ ? मध्यम वर्गीय भएरै मलाई सुस्त अर्थतन्त्रदेखि पेट्रोलसम्मको बढ्दो भाउ थाहा छ । मजस्ता शिक्षित, मध्यम वर्गीय परिवारका व्यक्ति नै हुन्छन्, जो धनीहरूको गन्तीमा आउने सपना लिएर विदेशिन्छन् । र, त्यसरी समाजमा सिर्जना हुन्छ अर्को व्यापक समस्या– ‘ब्रेन ड्रेन’ अर्थात् बौद्धिक पलायनको ।
मेरा बाबा शरद् छेत्रीले ‘ब्रेन ड्रेन’ विषयमा लेखेका रहेछन्– ‘धेरै दिनअघिदेखि नै ‘ब्रेन ड्रेन’ सम्बन्धी केही लेख्ने चाहना थियो, तर त्यस्तो समस्यासित जुध्ने मौका नपरेकाले सायद त्यस पक्षमा हात हाल्ने साहस राखिनँ । मेरो मगजमा– के यो विषय हाम्रो समाजमा उपयुक्त छ त ? भन्ने प्रश्न बाधा बनेर अघिल्तिर पहाडझैं निर्धक्क उभिएको थियो– तर, यस पटक त्यसको छातीमा एउटा पैह्रो देखें ।’
बाबाले भनेझैं ‘ब्रेन ड्रेन’ हाम्रो समाजमा आर्थिक पैह्रोसरह नै बन्न पुगेको छ । ‘ब्रेन ड्रेन’को कथा सुनाउँदै आमा भन्ने गर्थिन्– कलकत्ताबाट दादा अनि उनको हेर्दै ज्ञानी लाग्ने बंगाली साथी निलय यस पटक खडगपुरको सुप्रतिष्ठित संस्थान
‘इन्डियन इन्स्टिट्युट अफ् टेक्नोलजी’ (आईआईटी, खडगपुर) बाट भौतिक विज्ञान विषयमा स्नातकोत्तर तहको समापक परीक्षामा उत्तीर्ण भएर फर्किएका थिए । निलयसित बात गर्दा दादा भन्दै थिए रे– ‘निलय, तैंले त होल्यान्डतिर जाने निर्णय गरिस् क्यारे, होइन ?’
निलयको जवाफ थियो, ‘यूएसएमा पनि मौका पाएको छु, सायद होल्यान्ड नगएर त्यतातिर पो जानुपर्ला कि । यो देशमा हाम्रो योग्यताको कुनै कदर नै छैन । तसर्थ कदर पाउने हो भने विदेश जानु नै पर्छ । जाऔं सँगै ।’
यसमा भौतिक विज्ञान पढेका दादाले भन्दैथ्यो रे– ‘अहँ, म कतै पनि जान्नँ । मलाई पहाड मनपर्छ, म यहीं बस्छु । टिचिङ गर्छु ।’
निलयले भन्यो रे, ‘त्यो तेरो उमेरको जोसमात्रै हो, भावुकतामात्रै । व्यावहारिक बन्ने गर् । आफ्नो पढाइको योग्य काम तेरो यस पहाडमा कहाँ छ र ? तसर्थ विदेशतिर जाने निधो गर् ।’
निलय कलकत्ता फर्केर गएपछि आमाले विवेक दादालाई बुझाएर भनिछन्– ‘सायद, मेरो विचारमा पनि तैंले बाहिरै जानैपर्छ, यहाँ उचित स्कोप नै छैन ।’
परिवारबाट टाढा हुनु भावनात्मक रूपमा गाह्रो कुरा हो । प्रत्येक मध्यम वर्गीय घरमा आमाबाबाको उमेर बढ्दै जाँदा परिवारजनको स्वास्थ्य र कल्याणका चिन्ताहरू बढ्न थाल्छन् । त्यसैले दादालाई पनि विदेश जानु नै थियो । त्यस पहाडे केटासित अरू कुनै उपाय थिएन । ऊ त केवल एउटा सामान्य ‘ब्रेन ड्रेन’ तर्फको सानो चोट भोगिरहेको थियो, त्यसभन्दा ठूलो चोट पहाडे आमालाई थियो, जो केवल पेटका निम्ति तन्नेरी छोरोलाई अरूहरूको युद्धमा सिपाही बनाई पठाउन बाध्य थिइन् । यस्ता धेरै कुरा जान्दाजान्दै पनि मध्यम वर्गीय आमाले स्वयंलाई एउटा जटिल हिसाबमा पाएकी थिइन् होला, जुन हिसाबमा पहाडको छातीमा देखिने पैह्रोको आयतन नाप्ने कुनै सहज नियम थिएन, तसर्थ त्यसलाई रोक्ने उपाय कसरी गर्ने ?
भारतजस्ता विकासोन्मुख देशहरूमा ‘ब्रेन ड्रेन’ जनसंख्याको उच्च प्रतिशतको परिणाम हो । किनभने विश्वस्तरका संस्थाहरूमा भाग लिने दौड बढेको छ । संसार पैसाका लागि पागल छ र हामी मध्यम वर्गीय भारतीय फरक छैनौं । भारतभन्दा विदेशमा पैसा कमाउन सजिलो भएकाले अहिले प्रायः ‘ब्रेन ड्रेन’ समस्या मध्यम वर्गीय परिवारको आम विषय बनिसकेको छ ।
हुन सक्छ, भारतमा अपर्याप्त संस्थाहरू छन्, जुन
‘ग्लोबल एक्सपोजर’, सुविधाहरूको पक्षबाट पढेका ‘ब्रेन’का निमित्त पर्याप्त छैनन् । वा हुन सक्छ देशमा चलिरहेको राजनीतिक अस्थिरताले अवसरको अभाव छ । र, आरक्षणको बलियो चाप छ । तर, मलाई त ‘ब्रेन ड्रेन’को मुख्य कारण यस्तो लाग्छ– हामीमध्ये धेरैको सुस्त ‘मिडल क्लास’ सोच । प्रायः युवा राम्रो जीवनशैलीको खोजमै त विदेशिन्छन् । पढेर बौद्धिक रूपमा ठूलो भए पनि भारतमा बसेर फेरि उही
‘मिडल क्लास मेन्टालिटी’को सामना गर्नु नपरोस् भनेरै त हो, ‘ब्रेन ड्रेन’ देशमा देखापरेको । होइन र ?
त्यसैले मध्यमवर्ग ‘औसत आय’ मात्रै होइन । धेरै क्षेत्रमा यो वास्तवमा ‘औसत आयभन्दा माथि’ को अर्थ हो । यो विशेषगरी गरिब र धनीबीचको ठूलो भिन्नता भएका क्षेत्रहरूको मामला हो । जिम फ्रेडरिकले सन् २००२ मा ‘टाइम’ पत्रिकामा लेखेका थिए, ‘चीनको बढ्दो मध्यमवर्ग देशको भविष्यको चाबी हो ।’ अर्को लेखमा बर्डसल, ग्राहम र पेटिनाटो
(सन् २०००) ले बढ्दो विश्वव्यापीकरणको सामना गर्दै मध्यमवर्गको संकुचनमाथि चिन्ता व्यक्त गरेका छन्– ‘बजार अर्थतन्त्र र प्रजातन्त्र दुवैको मेरुदण्ड धेरै विकसित समाजहरूमा मध्यमवर्गका निम्ति संकुचित छ ।’
मध्यमवर्ग भारतीय जनसंख्याको प्रतिशत र निरपेक्ष दुवै हिसाबले सबैभन्दा छिटो बढिरहेको प्रमुख हिस्सा हो । यसले अहिले जनसंख्याको ३१ प्रतिशत प्रतिनिधित्व गर्छ र सन् २०३१ सम्म ३८ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

मध्यम वर्गीय औकात र आकाश
मध्यमवर्गमा हुर्केका जोकोहीलाई सानैदेखि परिवारको आय र खर्च, आकांक्षा र वास्तविकता, चाहना र आवश्यकतालाई सन्तुलनमा राख्न सिकाइन्छ । ‘छोरीलाई भविष्यमा सोझो व्यक्ति बनाउन’ बाबाले मलाई हृदयचन्द्रसिंह प्रधानको निबन्ध ‘सोझो’ पढाएका थिए । बाबा भन्ने गर्थे– ‘सोझाको उपस्थितिको कारण नै दुष्ट वा दानवहरूले समाजमा राज गर्दैछन् ।’ तर, म १६ वर्षको छँदा जीवनले यस्तो कोल्टे फेर्‍यो, मैले जीवनबाट ‘बाबा’ लाई सधैंका निम्ति गुमाएँ । अबउसो आमासित हुर्किनुपर्दा हामी पूर्ण रूपमा मध्यम वर्गीय जमातमा गनिन थाल्यौं । मध्यम वर्गीय समस्याहरूको चाबुकले मलाई ‘सोझो’ शब्दको असाध्यै गाह्रो भासमा पुर्‍यायो । त्यो भासले थिचिएर समाज अनि परिवारका निम्ति म केवल एक ‘होचो’ मध्यम वर्गीय केटी थिएँ, जसलाई भविष्यमा ऋण नलिईकनै एउटा सुन्दर घर, दामी गाडी अनि सुखी, धनी जीवनको लालसा थियो । र, मलाई लाग्छ, यो लालला हामी प्रत्येक मध्यम वर्गीय व्यक्तिको हुन्छ । जे होस्, मध्यम वर्गीय परिवारका बच्चाहरूलाई प्रायः अभिभावकले ‘कमजोर’ बनाउँछन्– कलिलैदेखि तिनका हृदयमा कलाप्रति मोह जगाइदिएर ।
म पनि ठहरिएँ उस्तै कमजोर मध्यम वर्गीय कलाप्रेमी । मलाई सानैदेखि गितार बजाउन खुब मनपर्थ्यो । ‘बा’ बितेर गएपछि मलाई उनले दिएको उपहार त्यो गितारसित लगाव बढेर गयो । म मेरो ‘ब्ल्याकबर्ड’ गिटार काँधमा बोकेर प्रायः कलेज जान्थें । हुनुपर्छ, स्नातकोत्तर तहको अन्तिम सत्रमा थिएँ । अनि मनमा त्यस वर्षको कलेज फि आफैं भर्ने संकल्प पनि गुथेकी थिएँ । त्यसैले कलेज अवधिपछि बेलुकी म स्थानीय चर्चमा गितार सिकाउन जान थालें । त्यसरी, त्यो वर्ष कलेज फिको जोगाड लगाइरहेकी थिएँ । तर, अचानक एक दिन विपक्षी राजनीतिक दलहरूको मतभेदले कलेज प्रांगणमा भयंकर भागदौड मच्चियो । क्याम्पस चारैतिर हिंसामा जले झैं देखिन्थ्यो । त्यो हिंसामा कसैले मेरो ‘ब्ल्याकबर्ड’ गितारलाई कुल्चिएर भाँचिदियो । अर्को गिटार किन्ने त अबउसो मेरो औकात नै थिएन । त्यतिबेला मेरो औकातले हियाउँदै भनिरहेको थियो, ‘ए लिलिपुट लुरे, तँ ‘मिडल क्लास’ केटी, तैंले मेरो सत्ता स्वीकार्नैपर्छ ।’
हुन त चुपचाप मैले ‘मिडल क्लास’को सत्तालाई स्वीकार गरेकी थिएँ । तर, त्यो कलेजको राजनीतिक आगो थियो, जसमा मेरो सपना जलेको थियो र त्यो आगो सेलाएपछि, त्यसको अस्तुबाट उठेको पिरो धूवाँले मलाई जीवनमा ‘बा’ नहुनुको यथार्थले खुब सतायो । अब थियो, आमाको आँखाबाट ‘ब्ल्याकबर्ड’ गिटारको पार्थिव अंशहरूलाई घरको अँध्यारो कुनातिर लुकाउने कार्य, जसको विचार मात्रैले मलाई व्याकुल बनाइरहेको हो । त्यो घटनापछि म मध्यम वर्गीय विचारधारालाई पूर्ण रूपमा स्वीकार गर्दै ‘दत्तचित्त योगी’ बन्ने बाटोमा हिँडिरहेको थिएँ ।
हो, ‘दत्तचित्त योगी’ । मलाई लाग्छ, हामी प्रत्येक मध्यम वर्गीय मान्छे ‘दत्तचित्त योगी’ नै हौं । प्रत्येक मध्यम वर्गीय व्यक्तिलाई उसको सपनाको हत्या हुँदा भयंकर पीडा हुन्छ ।

चोइटिएको मध्यम वर्गीय सपना
धेरैजसो वित्तीय अवरोधहरूले मध्यम वर्गीय विद्यार्थीको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । विद्यार्थीको ट्युसन शुल्क, पाठ्यपुस्तक, स्कुल ड्रेस, यातायात र व्यक्तिगत आवश्यकताजस्ता खर्चका लागि एउटा निर्धारित बजेट परिवारले तय गरेको हुन्छ । मैले जीवविज्ञानको स्नातकोत्तर तहको शिक्षापछि भारतको ‘सीएसआईआर जुनियर रिसर्च फेलोसिप’को परीक्षा उत्तीर्ण गरें । अनि कल्याणी विश्वविद्यालय अन्तर्गत एउटा ‘रिसर्च प्रोजेक्ट’मा सामेल हुने मौका पाएँ । त्यहाँ ‘रिसर्च’ छात्रालाई चौबीस हजार प्रतिमहिना दिइने गरिन्थ्यो । त्यहीं छँदा मेरो घनिष्ठता अन्य तीनजना बंगाली साथीहरूसित बढ्यो । बंगाली अभिभावकहरू आफू दुःखको जीवन बिताउँछन्, तर सन्तानलाई किञ्चित गाह्रो हुन दिँदैनन् । त्यसैले दुई साथीका अभिभावकले ‘रिसर्च सेन्टर’सम्म पुग्न उनीहरूलाई स्कुटी किनिदिएका थिए । म पनि तिनै साथीहरूको स्कुटीमा सधैं ‘रिसर्च सेन्टर’सम्म ‘लिफ्ट’ पाउँथे ।
तर, त्यसरी ‘लिफ्ट’ पाउने बानीले मलाई पनि साथीहरूझैं स्कुटीमा उड्ने जोस दियो । तब संकल्प गरें, जसरी पनि यस पटक ‘लोन’मा एउटा स्कुटी किन्छु । त्यसैले हरदिन आमालाई भन्ने गर्थें, ‘आमा, मेरो ‘रिसर्च सेन्टर’ म बसेको ‘होस्टेल’देखि धेरै टाढा छ, त्यहाँ जान मलाई धेरै समय लाग्छ, राति खुट्टा दुखेर फत्रक्क पर्ने गर्छु, म यसचोटि ‘ईएमआई लोन’मा स्कुटी किन्छु नि है ।’
पहिले त आमाले केही भन्नुभएन । तर, एउटै बहाना सधैं दोहोरिइबस्दा, एक दिन आमाले असाध्यै झर्किंदै भन्नुभयो, ‘अँ स्कुटीचाहिँ एकदम किन्नु पर्दैन, त्यो बडो महँगो पर्छ । के हो, भाइको शिक्षा भुलिस् ? त्यसलाई पढाउनु पर्दैन ? पर्खी स्कुटीको समाधान छ नि मसँग । एउटा साइकल किन् हौ बरु ।’ उफ् साइकलमा ‘रिसर्च सेन्टर’ पुग्नु ? मलाई ती स्कुटीमा आउने साथीहरू सम्झेर कुरीकुरी भयो । त्यसैले ‘रिसर्च’ अवधि पूर्ण नहुन्जेल मैले पैदल हिँडेर ‘स्वास्थ्य नै धन हो’ भन्ने हितोपदेशसित समय बिताएकी थिएँ ।
सायद तपाईंहरूमध्ये कैयौंले आफ्नो छात्रावस्थामा यस्तो सानोतिनो सपना चोइटिएको अनुभव पक्कै पनि गर्नुभएको छ होला ? होइन र ?
मध्यम वर्गीय व्यक्तिको स्थिति निकै दयनीय हुन्छ– तैमूर (हिन्दी फिल्मका नायक सैफ अलीको छोरा) जस्तो बचपन वा अनूप जलौटा जस्तो बुढ्यौली जीवनको भाग्य हुँदैन । तर, ती आफ्नै समस्याहरूमा अल्झेर व्यस्त देखिन्छन् ।
‘मिडल क्लास’मा हुनुको पनि आफ्नै फाइदा चाहिँ छ– चाहे ‘बीएमडब्लू’ गाडीको भाउ बढोस् वा नयाँ ‘आईफोन’ लन्च, मध्यम वर्गीयलाई बाल फरक पर्दैन ।
मध्यम वर्गीय जीवन संघर्षमय छ, तर उत्साहले भरिएको । जिउनु पर्दा जीवन गाह्रो लाग्न सक्छ । तर, जीवनको एउटा अर्थपूर्ण लक्ष्य हुन्छ नै ।
मध्यम वर्गीय जीवनको सहजताले व्यक्तिलाई भविष्यमा निःस्वार्थसित अरूको खुसी निमित्त बाँच्ने कला बीजारोपण गर्छ । त्यसैले यहाँ जीवनमा सानोभन्दा सानो उपलब्धिले पनि खुसी र सन्तुष्टि ल्याउँछ । त्यसैले मध्यम वर्गीय जीवनमा जति नै सपना चोइटिए पनि आफ्नोपनको न्यानो प्रेम र साथले परिवारमा खुसी दिन्छ । त्यसैले माथि लेखेझैं जीवन दिक्कलाग्दो मात्रै छैन त्यहाँ खुसी पनि छ ।

परीक्षा अनि मध्यम वर्गीय समस्या
अवकाश पक्कै पनि मध्यम वर्गीय जीवनको सुनौलो अवधि होइन । बाबाको अप्रत्याशित मृत्युपछि आमा नितान्त एक्लोपनमा गुज्रिइन् । अनि परिवारलाई ‘राम्रो भविष्य’ दिने बोझमुन्तिर लगातार घिस्रिरहिन् । उनी त्यो दिन सोफामा पल्टिएर, समाचार च्यानलहरू ‘स्विच’ गर्दै थिइन् । उनलाई घुँडाको दुखाइले सुत्न दिँदैनथ्यो । मध्यमवर्गको दुःख हो– बचत नहुनु । त्यसैले मैले आमासँग आउँदो कलेजको परीक्षाका निम्ति सिलगढी जाने र त्यहाँ होटलमा बस्ने पैसा माग्न सकिनँ । तसर्थ, साथी छायाँ विश्वासको घरमा बसेर परीक्षा दिने निधो गरें ।
छायाँ पनि मझैं मध्यम वर्गीय परिवारकी छोरी थिई । प्रायः ‘मिडल क्लास’की छोरीलाई ‘पर्सनल बेड’ अनि रुम विवाहउप्रान्त मात्रै प्राप्त हुँदो हो । त्यसैले हामीले परीक्षाका निम्ति खुला छप्परमा पढेर रात बिताएका थियौं । छायाँले त्यो दिन भनेकी थिई–
‘तिमीलाई थाहा छ, एउटा सच्चा ‘मिडल क्लास’ व्यक्तिले गिजर बन्द गरेर तबसम्म नुहाउँछ अरे, जबसम्म नलमा चिसो पानी आउँदैन । ‘मिडल क्लास’ व्यक्ति चन्दा दिने बेला अचानक नास्तिक हुन्छ, अनि प्रसाद खाने बेला आस्तिक । वास्तवमा ‘मिडल क्लास’ मन्दिरमा झुन्डिएको घन्टीसमान हुँदो रहेछ, जसलाई कमजोर, अल्पमत–पूर्णमत हरप्रकारको सरकारले बल लगाएर बजाउँछ । मध्यमवर्गले सरकारी सुविधा पाएका हुँदैनन् । त्यसमाथि सरकारी विभागमा जे गराएबापत पनि टेबुलमुनि वा माथिको शुल्क जरिवानाको तौरमा तिराउँछन् ।
मध्यम वर्गीय जनताको ऋण माफी हुँदैन । मध्यमवर्गका लागि निःशुल्क घर छैन, निःशुल्क बिजुली वा पानी छैन । मध्यमवर्गका मानिस लुटिनका लागि मात्रै हुन् । भारतमा मध्यमवर्गका मानिस सबैभन्दा उपेक्षित छन्, कारण हामीकहाँ सरकार वा चुनाव नतिजाहरूको खासै असर पर्दैन ।
‘मिडल क्लास परिवार सटीक बजेटमा चलिरहेको हुन्छ । महिनाको अन्तिममा तलब घरमा नपसे आमा चिन्ताले कन्तुर फुटाइरहेकी हुन्छिन् । जेजस्तो भए पनि मिडल क्लासको आधा जीवन ‘कति महँगो’ भन्ने शब्द रटेरै बितिजाँदो रहेछ । त्यसैले यस्तो जीवनबाट उम्किनैपर्छ ।’
म सोच्छु– तल्लो तहका स्त्रीसँग जीवनमा कुनै स्वतन्त्रता छैन, माथिल्लो वर्गका स्त्रीलाई भने त्यो स्वतन्त्रताको केवल भ्रम छ । सबैले मानेझैं ‘मिडल क्लास’ व्यक्तिमा अरू उच्च वर्गभन्दा जागरुकता ज्यादै हुन्छ, ‘बार्गेनिङ’ रगत–रगतमा बगेको हुन्छ, जुन उच्च वर्गका व्यक्तिसँग हुँदैन ।
छायाँले आफ्नो अति प्रिय कुर्ता देखाउँदै त्यो दिन भनेकी थिई– ‘यो कुर्ती म महिनामा एक वा दुई पटक मात्र लगाउँछु, त्यो पनि कलेज वा बाहिर घुम्न जाँदा । एक वर्षपछि यसलाई म घर बस्दा लगाउने कपडा बनाउँछु । त्यसपछि कत्ति वर्षको प्रयोगपछि यो कपडालाई आमा घरको झ्याल–ढोका सफा गर्न प्रयोग गर्छिन् । यो मेरो कुर्ताको भविष्य टालो बन्नु हो ।’
मध्यम वर्गीय व्यक्ति बसको खचाखच भीडमा ठेलिन्छ, पेलिन्छ, थिचिन्छ, उकुसमुकुस हुन्छ । र, उकुसमुकुस हुनु ऊ बाँच्नु हो । मार्क्स र वेबरले सामाजिक वर्गहरूको प्राथमिक वर्गीकरण आर्थिक मापदण्डमा आधारित हुन्छ भनेका थिए । मार्क्सले तर्क गरे, मध्यमवर्ग एउटा ‘सानो पुँजीपति’ हो, जसको निजी सम्पत्ति छ, तर अरूलाई रोजगार दिन सक्दैन । यसको विपरीत, वेबरको विश्वास थियो– मध्यम वर्गीय व्यक्तिसँग अकुशल श्रमिकहरूभन्दा फरक बजारयोग्य सीपहरू छन् । मार्क्सले मध्यमवर्ग समयसँगै घट्दै जाने बताए पनि वेबरले पुँजीवादी व्यवस्थामा मध्यमवर्ग विस्तार हुने तर्क गरे, जो आजको तारिखमा शतप्रतिशत सत्य लाग्छ ।
१८ औं शताब्दीमा एउटा नयाँ सामाजिक समूहको उदय भएको थियो, जसलाई मध्यमवर्ग भनेर चिनिन्थ्यो । वैदेशिक व्यापार र वस्तु उत्पादनको विस्तारले पछि त्यही मध्यमवर्गबाट नै धनी वर्गको उत्पत्ति हुन गयो । व्यापारी र निर्माताहरूबाहेक, मध्यमवर्गमा वकिल र प्रशासनिक अधिकारीहरू पनि थिए, जो शिक्षित जमातका थिए ।
सन् १९४७ को स्वतन्त्रतापछि ब्रिटिस संस्थाहरू भारतीय नेताहरूले अघि बढाए । र, त्यो भारतीय मध्यमवर्ग थियो, जसले ती संस्थाहरूमा नेतृत्वको भूमिका निभाए । यसर्थ भारतीय समाजमा तीन वर्गहरू देखापर्थ्यो– अदक्ष र दक्ष, श्रमिक–‘क्लर्क’, चपरासी, जो ‘स्पेक्ट्रम’को तल्लो छेउमा थिए । ठूला उद्योगपति र जमिनदारले उच्च वर्गको गठन गरे । र, अन्त्यमा सरकारी अधिकारी, डाक्टर, विश्वविद्यालयका ‘प्रोफेसर’ आदिबाट बनेको मध्यमवर्ग निर्माण भयो । भारतमा अशिक्षित, तर धनी व्यापारीलाई मध्यमवर्ग मानिँदैन । तसर्थ, भारतीय मध्यमवर्गलाई आयभन्दा शिक्षाले बढी परिभाषित गर्न सकिन्छ ।
त्यसैले मध्यमवर्ग हुनु भनेको विवेक, संस्कृति र सिद्धान्तवान् व्यक्ति बन्नु हो । यसैले त मध्यमवर्गलाई कुनै पनि समाजको मेरुदण्ड मानिन्छ । मध्यमवर्गको जस्तो परिभाषा भए पनि आफूलाई मध्यमवर्ग वा तल्लो वर्गको सम्झिनु चाहिँ व्यक्ति वा समाजको मानसिकतामा निर्भर गर्छ । प्रायःले मान्छन्, सरकारले तल्लो वर्गलाई अशिक्षित बनाउन चाहन्छ, साम्प्रदायिक हिंसा अनि भोट ब्याङ्क निमित्त ।
सरकारले मध्यमवर्ग सिर्जना गर्दा यो जमातलाई सबै प्रकारको सरकारी सहुलियतबाट वञ्चित राख्यो । त्यसरी यो जमात दैनिक जीवनका चिजहरू ठीक गर्न व्यस्त बन्यो । यो जमात शिक्षित त थियो, तर परिवारबारे चिन्तित रहँदा यसले सरकारको भूललाई विरोध गर्ने समय पाएन ।
प्रत्येक तीनमा एक भारतीय ‘मध्यमवर्ग’ हो, जसको वार्षिक आय रु. ६ लाखदेखि ३० लाखसम्म छ । र, भारतको सांस्कृतिक–राजनीतिक जीवनमा मध्यमवर्गको प्रभुत्व छ ।
भारतीय होस् वा नेपाली मध्यमवर्ग, त्यो केवल त्यहाँको मानसिकता हो । एउटा यस्तो मानसिकता, जसले जीवनमा स्थिरता खोज्छ र त्यो स्थिरताका निम्ति आफूलाई बारम्बार परिवर्तनतिर होमिरहन्छ । वास्तवमा, मध्यमवर्ग त्यो जमातको नाम हो, जोसँग समाज परिवर्तन गर्ने क्षमता हुन्छ ।
जोन लक, जिन ज्याक रुसो र मोन्टेस्क्युजस्ता दार्शनिकहरू समाजमा परिवर्तनमूलक क्रान्तिका लागि मध्यमवर्गलाई जिम्मेवार ठान्छन् । दार्शनिकहरूका अनुसार, मध्यमवर्गले स्वतन्त्रता, समान कानुन अनि सबै प्रकारका जागरुकताका अवसरहरूको विचार समाजमा फैलाइरहेका हुन्छन् । सलाम छ– मध्यमवर्गलाई ।
त्यसैले एक प्राइभेट ब्याङ्कमा लेनदेनको हिसाब–किताबमै टाउको दुखाउँदै जागिर खाए पनि म उही मध्यमवर्गमै गनिन्छु । सोध्न मन लाग्यो– यो लेख पढिरहनुभएको तपाईं पनि के म जस्तै मध्यम वर्गीय नै हुनुहुन्छ ?

Page 10
कोसेली

'भूपी र काइँला ओभररेटेड कवि’

- कान्तिपुर संवाददाता

हरि अधिकारीलाई चिनाउने केही व्यक्तित्व छन्– खरो समीक्षक, कथाकार, कवि । नेपाली चेतनाका आवाज हुन्, उनका कविता । समाजको विरोधाभास लेखिरहने अधिकारीले ५ दशकको अवधिमा लेखेका करिब सबै कविता संकलित छन्, उनको नयाँ किताब ॅकवितासँग पाँच दशक’ मा । यो किताब उनका प्रतिनिधिमूलक कविताको पूर्णकोश हो । ती कवितामार्फत बहुविध नेपाली समाज अध्ययन गर्न सकिन्छ । नेपाली कविताका आयामहरूमाथि हरि अधिकारीसँग दीपक सापकोटाको वार्ता ः

तपाईंको बहुचर्चित कविता छ– ॅहरि अधिकारी कुनै नाम होइन’, तर कवितामै लेख्नुभएको छ– ॅहुन सक्छ हरि अधिकारी एउटा गतिलै कविको नाम होस्’ । त्यो कविताको रचनागर्भसहित भनिदिनुस् न– असलमा हरि अधिकारी के हुन् ?
मलाई आफ्नो व्यक्तित्वका अनेक आयाममध्ये कवितासँग जोडिएको आयाम सबैभन्दा प्रिय लाग्छ । मैले साहित्यको आराधनाको आरम्भ नै कविता लेखेर गरेको हुँ । कालान्तरमा कविता कम र गद्यमा आधारित कथा र निबन्धजस्ता विधामा बढी लेखेको भए पनि मेरो सबैभन्दा प्रिय विधा कविता नै हो । कुनै दिन कसैले मेरा समग्र रचनावलीको अध्ययन गर्ने कष्ट उठायो र विधागत रूपमा मेरा उत्कृष्ट रचना छान्ने प्रयत्न गर्‍यो भने मलाई विश्वास छ, उसले मैले रचेका कविताहरूलाई अन्य विधाका रचनाभन्दा माथिल्लो स्थानमा राख्नेछ ।
‘हरि अधिकारी कुनै नाम होइन’ भन्ने त्यो कविता २०२८ सालमा रचिएको हो, जतिबेला म मध्यमाञ्चल शिक्षा निर्देशनालयमा खरिदारको पदमा कार्यरत थिएँ । मेरो शाखाकी हाकिम थिइन्– अधिकृत नीलम प्रधान । उनले कसैगरी मेरो कवि व्यक्तित्वका बारेमा थाहा पाइछन् र मलाई ‘कवि’ भनेर जिस्क्याइरहन्थिन् । उनको त्यो व्यवहार र साथीहरूले पनि ‘कवि कवि’ भनेर बोलाउने गरेबाट ‘अफेन्डेड’ भएको मैले आफ्नो कवि व्यक्तित्वलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्न त्यो कविता लेखेको थिएँ । त्यसमा प्रतिभाशाली कविका रूपमा उभारमा आउँदै गरेको एकजना सामान्य कर्मचारीको व्यक्तित्वका ती दुई फरक पाटाहरूका बीचको अस्वाभाविक घालमेललाई उजागर गर्ने प्रयत्न गरेको छु । मानिसहरूले मेरो लेखक व्यक्तित्वलाई सराहनाका रूपमा नहेरेर उपहासका दृष्टिले हेरेजस्तो पनि लागेको हुनुपर्छ मलाई । म के हुँ र कस्तो छु भन्ने चाहिँ मलाईभन्दा तपाईंहरूलाई बढी यकिनसाथ थाहा छ । मैले आफ्नोबारे भन्नू नै पर्‍यो भने चाहिँ म भनुँला– हरि अधिकारी आजको जीवन र जगत्का समस्त जटिलतासँगसँगै हिँडिरहेको एक सामान्य मान्छे र अविश्रान्त साहित्यप्रेमी हो ।

ॅकवितासँग पाँच दशक’ पुस्तकको भूमिकामा तपाईंको स्वीकारोक्ति छ– ॅकविता–लेखनको ५४ वर्षे अवधिमा औसतमा वर्षको पुगनपुग २ थान कविता लेखेछु । म संख्यात्मक रूपमा निक्कै गरिब एक अल्छी कवि हुँ ।’ तर, घमण्ड पनि छ– ॅपाँच दशकसम्म निरन्तर समानस्तरका कविता रच्न सक्नु कविका रूपमा उपलब्धि हो कि ?’ स्वीकारोक्ति र घमण्डबीच कविताको स्तर कसरी मापन गर्ने ?
म कम कविता लेख्ने कवि हुँ भनेर मैले गरेको जुन स्वीकारोक्ति छ, त्यो प्रामाणिक सत्य कुरो भएकाले त्यसलाई लिएर प्रतिरक्षात्मक हुनुपर्ने कुनै कारण देख्दिनँ । मलाई राम्रोसँग थाहा छ म गद्यकविताको चन्द्रप्रसाद न्यौपाने वा रमेशचन्द्र अधिकारी होइन । साथसाथै यो पनि भन्छु म भूपी शेरचन वा बैरागी काइँला जत्तिकै थोरै लेख्ने कवि पनि होइन । गद्यमा काम गर्ने आफ्नो अदम्य चाहना र अपनाएको पेसाले मागेको हुँदैनथ्यो भने मैले थप धेरै थान कविता लेखेको हुन्थें होला । नियतिले मबाट त्यो अवसर खोसेर लिएकाले म धेरै गद्यरचना र थोरै कविता लेख्ने लेखक बन्न पुगें । तपाईंले घमण्ड ठानेको र मैले उपलब्धिका रूपमा लिएको, मेरा अधिकांश कविताको लगभग समानस्तरको जुन विषय छ, त्यसबाट म पूर्णतः सन्तुष्ट छु र आफ्नो धारणाप्रति दृढ पनि । यो संग्रहमा मैले लेखेका समग्र कविता संकलित छन् । राम्रोसँग पढेर मेरा कविताको लगभग समरूप स्तरको जुन दाबी मैले गरेको छु, त्यसबारे राय बनाउन सक्नुहुनेछ ।

२०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा तपाईंको कविताले प्रथम भएर स्वर्णपदक जित्दा तपाईं १८ वर्षे जवान हुनुहुन्थ्यो । अब ती दिन रहेनन्, यो ५ दशकका नेपाली कवितामाथि तपाईंको मूल्यांकन के छ ?
बितेका पाँच दशकमा नेपाली समाजमा विशद् परिवर्तन आएको छ । यहाँको राजनीति, कला, साहित्य, चिन्तन, जीवन–शैली र हाम्रो समाजको मनोविज्ञानमा पनि वर्णनातीत पार्थक्य देखापरेको छ । नेपाली कवितामा पनि स्वाभाविक रूपले त्यो परिवर्तनको प्रभाव परेको छ । कविताको भावभूमिको निर्माण कविको समाज, उसले देखेको, भोगेको जीवन र उसँगसँगै बाँचिरहेका मान्छेहरूका कथा–व्यथाबाटै तयार हुने हुनाले समयको प्रवाहसँगै कविताको विषय–वस्तु, अभिव्यक्तिको भंगिमा, विम्ब–विधान एवं प्रतीक, उपमा र उपमेयहरूको छनोटमा पनि व्यापक विविधता आएको छ । समयले प्रयोगधर्मितालाई प्रोत्साहन गर्ने हुनाले नेपाली साहित्यका हरेक विधामा नयाँनयाँ प्रयोग भएका छन् । त्यस्तै प्रयोग नेपाली कवितामा पनि भएको छ । नेपाली कवितामाथि मूल्यांकन गर्न भन्नु भएर तपाईंले मबाट एउटा असम्भव कामको अपेक्षा गर्नुभएको छ । सानो कुराकानीमा त्यो काम पूरा गर्न सम्भव छैन । यति मात्रै भन्न सक्छु, बितेका पाँच दशकमा नेपाली कविताले लामो र अग्रगामी यात्रा तय गरेको छ ।

तपाईंका केही कविताका पात्र छन्– गार्मेन्टकी गायत्री, इँट्टा बनाउने रुकुमकी युवती, क्याबिनकी कल्पना...। यी पात्रले बहुबिध नेपाली समाज पढाउँछन् । तपाईंका लागि कवितामा यी पात्रको मूल्य के ? के कविता लेखेर तिनको जीवनमा बदलाव आउला ?
एउटा कुरा सुरुमै प्रस्ट पार्न चाहन्छु दीपकजी, म मैले लेखेको कविताले कसैको पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्नेमा अलिकति पनि विश्वास गर्दिनँ । मैले आफ्ना कविताको विषय–वस्तुका रूपमा नेपाली नारीहरूका विविध स्वरूप र अवस्थालाई लिएको चाहिँ कुनै पनि राष्ट्रको आधा आकाश मानिने नारीहरूका व्यथा–कथा, चाहना, संघर्ष, जीजीविषा, कमनीयता, जित र हारको एउटा सम्पूर्ण कोलाज मेरो कविताको फलकमा टाँगियोस् भनेर हो । मेरा यी कविताहरूलाई तपाईं–हामी लोग्नेमान्छेहरूलाई प्रेम, साथ, सम्बल एवं रगत र आँसुको सगुन दिएर बचाइरहेका नारीहरूप्रतिको वन्दनाका रूपमा पनि लिन सक्नुहुन्छ ।

हुन त लेखक सधैं सत्ताको विपक्षमा बसेकै सुहाउला । आक्रोश र विद्रोह तपाईंका कविताका स्वर हुन् । कवितामा ती तत्त्वको आयु कति हुन्छ ?
कविता भनेकै विद्रोहलाई वाणी दिने कलात्मक माध्यम हो । असल कवि जहिले पनि विपक्षमै टिकिरहेको हुन्छ । जुनसुकै प्रकारको सत्ताले पनि तृणमूलका साधारण मानिसहरूको आवाजलाई दबाएरै राख्न चेष्टा गर्ने हुनाले लेखक–कविहरू ती अकिञ्चनहरूको आवाज बनेर अगाडि आउनुपर्ने हुन्छ । कविताका माध्यमबाट मैले गरिरहेको पनि त्यति मात्र हो । कवितामा व्यक्त आक्रोश र विद्रोहजस्ता तत्त्वहरूको आयु कति लामो वा छोटो हुन्छ भन्ने प्रश्नको किटान उत्तर दिन सायद सम्भव छैन । कविले त्यस्तो आक्रोश र विद्रोहलाई कति राम्रोसँग वा भाँती मिलाएर कवितामा प्रस्तुत गरेको छ, त्यसले ती तत्त्वको आयु निर्धारण गर्छ भन्न सकिन्छ ।

आक्रोश मात्रै होइन, तपाईंका कवितामा कोमलता पनि छ । तपाईं विद्रोही कवि कि कोमल ?
एउटा कविता कुन परिस्थितिमा, कवि कुन मनोदशामा भएको बेलामा र कुन विषयमाथि लेखिएको छ ती कुराहरूले कवितामा कोमलता वा आक्रोश र विद्रोही कठोरता ल्याइदिन्छन् । म कवि र व्यक्ति दुवै रूपमा कोमल नै छु तर कविता लेख्दा विषयवस्तु अनुसारकै भाव सम्प्रेषण गरिरहेको हुन्छु ।

एकैछिन साहित्य र राजनीतिमाथि विमर्श गरौं । साहित्य जीवनकै खोजी हो, राजनीति जोडिइहाल्छ । वर्तमान नेपाली कवितामा राष्ट्रको राजनीति कसरी लेखिएको छ ?
आजको नेपाली कविता आजको नेपाली राजनीतिबाट निरपेक्ष छैन । अभिव्यक्तिको एउटा सशक्त माध्यमका रूपमा त्यसो हुन सम्भव पनि थिएन । तर राजनीतिक कविताले कलात्मक सीप र लालित्य गुमाउने जोखिमका कारण हाम्रा धेरै कविहरू पूर्णरूपेण राजनीतिक कविता लेख्नबाट बच्ने प्रयत्न गरिरहेकाजस्ता देखिन्छन् । पछिल्लो समयमा पहिचानको राजनीतिमा केन्द्रित भएर भने अनेक सामर्थ्यवान् कविहरूले कविता लेखेका छन् । त्यस छिमलका कविहरूले आफूलाई दोहोर्‍याउन थालेका हुन् कि जस्तो पनि लागिरहेको छ मलाई ।

राजनीतिले साहित्यलाई प्रभावित पार्छ भनिन्छ । हाम्रो साहित्यमा राजनीतिले कत्तिको प्रभावकारी भूमिका खेलेको छ ?
राजनीतिले साहित्यलाई मात्रै किन, तपाईं–हाम्रो जीवनका सम्पूर्ण आयामलाई प्रभावित मात्रै होइन नियन्त्रण नै गर्न खोजिरहेको हुन्छ । तर, राजनीतिको साहित्यमाथिको प्रभाव अत्यन्त छिपछिपे मात्र हुन्छ । यसको विपरीत शक्तिशाली साहित्यिक रचनाले राजनीतिको दिशा र गतिसम्म बदल्न सक्छ । आजको नेपाली राजनीतिले साहित्यमाथि पारेको प्रभावको कुरो गर्दा, प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूमा सत्ताधारी दलहरूका झोलेहरूलाई जागिर खुवाउन र सरकारी निकायहरूले वितरण गर्ने पुरस्कार नामक हन्डी आफ्ना भृत्यहरूलाई बाँड्नमै सीमित देखिन्छ ।

तपाईं कविता, कथा, निबन्ध, समालोचना विधामा सक्रिय हुनुहुन्छ । नेपाली सन्दर्भमा चाहिँ कुन विधा बढी प्रभावशाली छ ?
नेपाली साहित्यमा सबैभन्दा बढी फस्टाएको विधा कविता हो, जुन विधामा विश्वस्तरीय रचना उपलब्ध भएका छन् । अन्य विधालाई लिएर भने यस्तो दाबी गर्न उपयुक्त हुन्छ जस्तो लाग्दैन । केही दशकयता आएर नेपाली साहित्यका निबन्ध, रम्यरचना, समालोचना जस्ता विधा खुम्चिएर गएको देख्छु । आजको घडीमा महाकवि देवकोटा, जनकलाल शर्मा, राजेश्वर देवकोटा, शंकर लामिछाने, भैरव अर्याल, यदुनाथ खनाल, रामकृष्ण शर्माहरूले लेखेजस्ता प्राञ्जल गद्यरचना पढ्ने चाहना राख्नु नै पनि धृष्टता हुने डर छ ।

समीक्षकका रूपमा नेपाली कविताको वर्तमान कस्तो देख्नुहुन्छ ? अहिले लेखिरहेका कवि र आफ्ना समकालीनप्रतिको टिप्पणी के छ ?
नेपाली कविताको वर्तमानलाई लिएर मसँग कुनै गुनासो छैन । मेरा समवयी, मभन्दा थोरै कान्छाहरू र त्यसभन्दा अल्ली पछिका कविहरू अहिले पनि लेखिरहेका छन्, ठीकैठीकै लाग्छन् । विक्रमको २०३० दशकमा देखापरेका र एक समय निक्कै ठूलो आशा जगाएका केही कविहरूले भने जगाएको त्यो आशा अनुरूप लेख्न सकेनन् । त्यो थोरै निराशा जगाउने कुरो भयो । पछिल्लो पुस्तामा भने निक्कै राम्रा कविहरू आएका छन् । ती प्रतिभाशाली कविहरूलाई समेटेर म छिट्टै एउटा कविता संग्रह निकाल्दै छु ।

नयाँ पुस्ताका कविहरूका शक्ति र सीमा के हुन् ? उल्लेख्य कविहरू को–को हुन् ?
नयाँ पुस्ताका नेपाली कविहरूको सबैभन्दा ठूलो काव्यिक शक्ति तिनीहरूले आफूले लेख्ने कवितालाई राम्रो कविताको गुणबाट सम्पन्न गराउन गरेको प्रयत्न नै हो भन्ने लाग्छ मलाई । यी युवा कविहरूमध्ये धेरैमा शब्दानुशासन पनि देख्छु म । नाराबाजीबाट पनि बाँचेका देखिन्छन् । नयाँ पुस्ताका अधिकांश कविहरू आसलाग्दा नै छन् । खासगरी मौन आवाज, शरद पोखरेल, नवीन प्यासी, नीरा शर्मा, शान्ति प्रियवन्दना, निर्भीकजंग रायमाझी, सन्तोष थेबे आदिको नाम लिन चाहन्छु । यी कविहरूको सीमा भने देखिन नै बाँकी छ ।

नेपाली कवितामा ॅओभेररेटेड’ र ॅअन्डररेटेड’ कवि पनि त होलान् नि ?
मेरो विचारमा नेपाली कविमध्ये सबैभन्दा ‘ओभररेटेड’ भूपी शेरचन र बैरागी काइँला हुन् । ‘अन्डररेटेड’हरूको नाम लिन चाहन्न ।

भनिन्छ– कविले प्रारम्भमा अग्रज कविकै सिको गरेको हुन्छ । तपाईंको आरम्भिक कवितामा कुन अग्रज कविको प्रभाव थियो ?
म सुरुमा गोपालप्रसाद रिमाल र वासु शशीबाट प्रभावित थिएँ । ती दुवै कविहरू अहिले पनि मन पर्छन् । तर, मोहन कोइराला र उनका समकालीन कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, मदन रेग्मीहरूका कविता पढेपछि भने म उनीहरूको प्रशंसक भएँ । विशेषगरी मोहन कोइराला मेरा सर्वाधिक प्रिय कवि बनेका छन् ।

तपाईं नेपाली साहित्यको खरो समीक्षक मानिनुहुन्छ । लेखक र पाठकबीच समालोचकको भूमिका के रहन्छ ?
राम्रो समालोचकले पाठकलाई असल पुस्तकको चयन गर्न सहयोग गर्न सक्ने हुनाले पाठकका लागि समालोचक एक पथप्रदर्शक बन्न सक्छ ।

हाम्रोमा समालोचनाको स्तर कस्तो छ ? समीक्षा सम्यक् छ कि त्यो पूर्वाग्रही छ ?
नेपाली साहित्यमा समालोचनाको मृत्यु भइसकेको छ भन्दा अत्युक्ति हुनेछैन । एउटा मृत विधालाई सम्यक् वा पूर्वाग्रही भनेर कसरी वर्गीकरण गर्नु ?

कोसेली

चाादनी पासवानलाई हिसाब आउादैन

- रेणुका जिसी

 

चाादनी पासवानलाई
ढाकीमा गोबर सोहर्न आउाछ
र गुइाठा बनाउन आउाछ,
घोंघी खोज्न र जााड बनाउन आउाछ,
अधियाँमा पालेको मालिकको बकरी चराउन र मुझैला बुन्न आउाछ,
खसमको चप्पल, लालाबालाका लुगा
र, फाटेको आफ्नै मनलाई एकसाथ सिउन पनि आउाछ ।
उनलाई आफ्नो अनुहार र पहिचानै छोपिने गरी
घुाघटले ढाकिएको शिरमा
अनेक किसिमका बोझा बोक्न पनि आउाछ,
चुल्होमा दाउरा नबलेर
पुत्पुताउने पिरो न पिरो धूवाँमा सास फेर्न पनि आउाछ,
उनको छाप्रोमा छैनन् अनाज राख्ने कोठी
या किम्मती सामान लुकाउने बाक्सा,
तर, उनलाई आफ्ना आासुलाई मनको अज्ञात कुनामा
लुकाएर राख्ने तरिका आउाछ ।
सुखको गीत नआए पनि
उनलाई छठी माईको भजन आउाछ,
जिन्दगीको स्वाद थाहा नभए पनि
चामलको गुरी र बयरको स्वादिलो चटनी बनाउन आउाछ ।

उनलाई तमसुकमा ’आगुठाछाप’ लगाउन पनि आउाछ,
अभाव र महागीले सधैं उत्तानो पछारे पनि
उनलाई शीतलहर र लूसित लड्ने कला आउाछ,
जीवनका रहलपहल सुख बगाइलाने
बाढीबाट बााच्ने कौशल पनि आउाछ,
उनलाई त कहिल्यै आशीर्वाद नदिने देउताको
भित्तेचित्र बनाउन पनि आउाछ ।

बस्, उनलाई नआउने त हिसाब नै हो
उनलाई नआउने त आफ्नै जीवनको अंकगणित नै हो,
उनलाई दुईको पहाडा सोध्नुस्, आउादैन !
उनलाई तीन र तेह्रको योगफल कति हुन्छ सोध्नुस्, आउादैन !
उनले पाएकी छैनन् ज्याला
त्यसैले उनलाई मेरो श्रमको मूल्य यति हो भन्न पनि आउादैन ।

’अब त अति भएन र ?’
अचानक एकदिन उनले आफैंसित प्रश्न गरिन्
र, आत्तिइन् युगौं लामो आफ्नो मौनतासित ।
अनि सम्झाइन् आफैंलाई–
’ए, चाादनी पासवान !
तालाई हिसाब नआएर के भो ?
युगौंदेखि जसले तेरो भागको खुसीमा कब्जा जमाएका छन्
ती सबैसित हिसाब बराबर गर्न त आउाछ नि !’

त्यसै दिनदेखि
हो, ठीक त्यसै दिनदेखि
चाादनी पासवान अर्कै अर्कै भएकी छन् ।
अचेल उनले आफ्नो अपमान, दुःख
र गरिबीको इतिहास खोतल्न थालेकी छन् ।
अचेल उनले ती सबैलाई खोज्न थालेकी छन्,
जसले उनीमाथि उक्लन सक्ने
हरेक सिढी भााचिदिएका थिए,
अब उनलाई ती सबैसित यही प्रश्न सोध्नुछ —
’तिमीहरुले कहाा लुकाएका छौ मेरो भागको उज्यालो
र, मेरो सुखको बहीखाता ?’

कोसेली

सास्तीको साबिती बयान

- बीएन जोशी

 

पत्नीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि एक पतिले कतिसम्म दुःख भोग्छ ? कतिसम्म सास्ती पाउँछ ? त्यही सास्तीको बयान हो– संस्मरणात्मक पुस्तक ‘भुक्तमान’ । त्यसका भुक्तभोगी हुन्– धीरेन्द्र सिनाल । उनले किताबका प्रत्येक पृष्ठमा राज्यमाथि प्रश्न गरेका छन्, तर, राज्य भेट्न सकेनन् । मान्छे त्यत्तिकै विद्रोही बन्दोरहेनछ । सरकारी कर्मचारीहरूको अकर्मण्यता र तिनले दिने सास्तीले साँच्चिकै जनतालाई आक्रोशित बनाउँछ ।
बैतडीमा जन्मिएका धीरेन्द्रको पहिलो काठमान्डु यात्रा १२ कक्षाको पढाइपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिन निस्कँदाबाट सुरु हुन्छ । एक महिना सरकारी अधिकृतस्तरका दाइको साथीको घरमा बस्दा भोगेका अप्रिय अनुभवले सहरसमेत विभेद मुक्त रहेनछ भन्ने बुझ्छन् उनी । त्यसपछि पढाइ र आम्दानीको स्रोत खोज्दै बैतडी–महेन्द्रनगर आउजाउका संघर्ष यथेष्ट छन् । त्यसैक्रममा भेटिएकी सोनुसँग लगन जुराउनकै लागि ससुरालीका सर्तहरू पूरा गर्न बोकेको ऋणको भारको व्यथा उस्तै दुःखद छ, जसले नेपाली समाजको कुरूप अनुहार देखाउँछ । भयानक व्यवधान छिचोल्दै अघि बढिरहँदा अफसोच बिहे गरेको अर्को सालदेखि नै श्रीमती सोनुको स्वास्थ्यमा समस्या देखापरेपछि सुरु भएको घटनाक्रम नै ‘भुक्तमान’ पुस्तकको असली सार हो ।
एक साँझ घरको छिँडीमा बसिरहँदा अचानक सर्प देखापर्छ । त्यहींबाट एकपछि अर्को समस्याका लर्कन फैलिएको छ । अझै अपत्यारिलो लाग्ने घटना त भारतकै एक अस्पतालमा सोनुको अपरेसनपछि निकालेको सात महिने नवजात मृत शिशु गाड्न लैजाँदा देखापर्छ । उनका आफन्तीले शिशुलाई बेरेको पोको झाडीछेउ राखेर गाड्नका लागि खाल्डो खोस्रँदा अचानक एउटा सर्पले उक्त पोको घिसार्दै पानीमा लैजान्छ । सर्पको मुखले च्यापेको मृत बच्चाको पोको तान्ने हिम्मत कसैमा रहँदैन । देख्दादेख्दै पोको बिस्तारै पानीभित्रै बिलाउँछ । बिलकुलै नाटकीय लाग्ने यस्ता घटनाक्रम सोनु बितेको १० औं दिनसम्म पनि जारी रहन्छ ।
इन्जिनियर बन्ने हेतुले लागिपरेका धीरेन्द्र अन्तमा गैरसरकारी संस्था हुँदै चल्तीका स्थानीय पत्रकार बन्न पुग्छन् । त्यसबीच उनले आर्थिकोपार्जनका लागि अनेकन उपाय अपनाएका छन् । दाजुभाइ मिलेर दिल्लीदेखि कपडा ल्याएर स्थानीय बजारमा बेच्नेदेखि बैतडीमै बुवाको पसलमा बम्बै टेलर्स खोल्नेसम्मका । तर, कुनैमा पनि सोचेजस्तो सफलता हात पार्न सकेको देखिँदैन । निराशाका बाबजुद आशाको जून उनमा तीव्र देखिन्छ ।
सोनुको आगमनले उनको परिवारमा एक झमट खुसी त ल्यायो, तर त्यो क्षणिक बन्न पुग्यो । बिहे गरी राम्ररी रमाउनसमेत नपाउँदै रोगका लक्षणहरू देखिन थालेसँगै दुःखका दिनहरू क्रमशः देखापर्न थाल्छन् । दुवै जना आफ्नो चढ्दो उमेरलाई ध्यानमा राखेर बेलैमा बच्चा पाउने योजनामा पुग्छन् । तर, त्यो पूरा हुने क्रममै बच्चा सँगसँगै बच्चादानीसमेत निकालेर फाल्नु परेपछिका विकसित घटनाक्रम अत्यन्तै दर्दनाक लाग्छ । त्यसपछि सुरु हुन्छ अस्पतालहरूसँगको तारान्तार साक्षात्कार । मृगौला फेलका फेहरिस्त । किताबका अधिकांश पाना तिनै सोनुको उपचारको दौडधुपले भरिएको छ । अन्ततिर बुबालाई समेत सोही रोगले ग्रसित पारेपछि आलोपालोसमेत नभनी विभिन्न अस्पताल धाउनुपर्दाका रस्साकसी उत्तिकै छन् । जत्ति गर्दा पनि दुवै जनालाई गुमाउनु पर्दाको पीडाको गहिरो महसुस परिवार सँगसँगै यो किताब पढ्ने पाठकहरूले समेत गर्छन् ।
नेपालभन्दा भारतका सहरहरूमा सहज र सस्तोमा हुने ओखतिमुलोले सुदूरका सामान्य मानिसहरूलाई केही राहत दिएको देखिन्छ । तिनीहरूका लागि स्वदेशभन्दा विदेश आत्मीय लाग्छ । यसलाई देशको दुर्भाग्य ठान्नुपर्छ । हुन पनि देशको राजधानी धाउने खर्चले उतातिर उपचार नै भएको उनको कतिपय भोगाइले बताउँछ ।
नेपालमा आम मृगौलापीडितलाई ठूलो समस्याको जड हो– डायलासिस । सरकारीस्तरमा सहज रूपमा सुविधा नपाइने हुँदा यसको खर्च उत्तिकै महँगो छ नै । नेपालमा नाम मात्रैका निःशुल्क डायलासिस, निःशुल्क तनाव । बिरामी मरेपछि मात्रै डायलासिसको पालो आउने रहेछ नेपालका अस्पतालमा । यी निराशायुक्त शब्दले सरकारलाई रत्तिभर घोच्दैन सायद । मृगौला प्रत्यारोपणका सहज कानुन नहुँदाको परिणाम जनताले लामो समयसम्म सास्ती बेहोर्नु परिरहेको छ । मृगौला बिरामीको फेहरिस्तले भरिएको ‘भुक्तमान’ पढिरहँदा लाग्छ– हाम्रो राज्य भयानक कमजोर रहेछ !
पाठेघर झिकेकी श्रीमतीबाट यौनसन्तुष्टि नहुने हल्लाले उनलाई मात्रै होइन, श्रीमतीलाई पनि तनाव थपिदिन्छ । उनलाई ससुराले अर्को बिहे नगर्ने र कुनै बच्चा पनि ग्रहण नगर्नेजस्ता कच्चा कागजमा ल्याप्चे लगाउन बाध्य पारेका छन् उपचारकै क्रममा ।
नेपालका केही नाम चलेका डाक्टरहरूको रवैया उनले उल्लेख गरेका छन् नामै किटेर, जसले पैसाका लागि डाक्टरी पेसा अपनाएको भन्ने आशय छ किताबमा । त्यसविपरीत अर्काको देशका डाक्टरले गरेको आदर–व्यवहार र सत्कारलाई उनले भावुक भएर तुलना गरेका छन् ।
नेपालमा राजनीति यतिसम्म हाबी छ कि एउटा सरकारी स्वास्थ्य संस्थाले दिएको पत्रलाई अर्कोले नमान्ने विचित्र चलन पनि उजागर गरेका छन् लेखकले । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि कर्मचारीहरूसँगको मिलिभगत र सिन्डिकेटका प्रसंग किताबमा छ । स्वास्थ्य संस्था जस्तो जटिल सेवामूलक संस्थामा समेत यस्तो लापरबाही हुनु भ्रष्टाचारको पराकाष्टा हो । देशको राजधानीका ठूला अस्पतालले गर्न नसक्ने उपचार विधि भारतका सामान्य अस्पतालले गरेको देखिन्छ । झन्डै एक दशकको उपचार दौडधुपका अन्ततिर झन् कोरोनाकालका कारण स्थिति थप कष्टकर देखिएको छ । सिमाना बन्द हुँदाका झमेलाहरूले डायलासिसका लागि आउजाउमा अर्को विशाल पर्खाल ठडिन्छ । भनसुनका लागि नेता, मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको दैलो धाएका उल्झनहरू बग्रेल्ती छन् कितबामा । मृगौला दाता र दलालसँगको गोलचक्करको कथा पनि छ । जसरी पनि मृगौला प्रत्यारोपण गर्छु भन्ने लक्ष्य लिएर आर्थिक र कानुनी व्यवस्थापनतिर लाग्दै गर्दा सन् २०२२ को सुरुवातमै अचानक श्रीमती सोनुको निधन हुन्छ ।
किताबले राज्यलाई मात्रै होइन, निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र चिकित्सकलाई समेत प्रशस्तै प्रश्न गरेको छ । नेपालजस्तो मुलुकमा बिरामीले अस्पतालमा रोग मात्रै बोकेर जाँदैन, सँगसँगै ऋण पनि बोकेर जाने रहेछ । नेताहरूका लागि राज्यकोषमा जति पनि धन छ, सर्वसाधारणमाथि भने ऋण मात्रै । ‘भुक्तमान’ धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ ।

Page 11
कोसेली

लसकुस नेपालभाषा

- मल्ल के. सुन्दर

 

ॅगुगल ट्रान्सलेसन’
गएको जुन २७ तारेख बिहीबारका दिन अन्तर्राष्ट्रियस्तरमा एउटा विशेष जानकारी सार्वजनिक गरियो । लगत्तै नेपाल तथा अन्यत्रका नेवार समुदायले निकै हर्ष अनुभव गरे । र, आपसमा खुसी बाँडे, शुभकामना आदानप्रदान भए । त्यो विशेष सुखद विषय थियो– ‘गुगल सर्च टुल्स’मा नेवार समुदायको मातृभाषा नेपालभाषालाई पनि अन्य भाषाहरूमा रूपान्तरण गर्न सकिने ‘ट्रान्सलेसन टुल्स’ अन्तर्गत सूचीकृत गरिएको आधिकारिक घोषणा !
‘गुगल सर्च टुल्स’ यथार्थमा एउटा अथाह सूचना तथा ज्ञानको महासागरसम्म पुग्ने प्रभावकारी माध्यम हो । प्रारम्भमा अंग्रेजी भाषा सूचनाको प्रमुख माध्यम रहेको ‘गुगल टुल्स’मा क्रमशः संसारका अन्य प्रमुख भाषालाई पनि माध्यमका रूपमा स्थान दिइँदै आएको छ । विविध भाषा माध्यमका रूपमा उपलब्ध भएकाले अधिकतम प्रयोगकर्तालाई ‘गुगुल सर्च’ सहज र लोकप्रिय सूचना प्रविधि साधन भएको छ । यसले भाषागत विकल्पलाई व्यापक बनाइदिएको छ । आजसम्ममा विश्वका चार सयभन्दा बढी भाषा ‘गुगल सर्च’का लागि माध्यमका रूपमा व्यवस्था भइसकेको छ ।
‘वर्ल्ड नेवाः अर्गनाइजेसन’को पहलमा ‘गुगल सर्च टुल्स’का लागि नेपालभाषालाई पनि समावेश गराउनका प्रयत्न भइरहेको थियो । ‘गुगल सर्च टुल्स’ माध्यम भाषाको मान्यता दिलाउन उक्त
‘अर्गनाइजेसन’को आह्वानमा सयौं युवा नेवार अभियन्ता समुदायगत सहभागिताका रूपमा त्यस अभियानमा संलग्न हुँदै आएका थिए । विगत साढे तीन वर्ष यतादेखि निरन्तर ‘वेभनायर’मा सहभागी भएर उनीहरूले करिब पाँच लाख वाक्य सूचीकृत गराएका थिए । यद्यपि, तीमध्ये ‘गुगल ट्रान्सलेसन’को पद्धति र स्तरअनुसार सार्वजनिक प्रयोगका लागि हाललाई दस हजार वाक्य मात्रै प्रयोगका लागि अनुमोदन गरिएको छ । अबबाट नेपालभाषा पनि ‘गुगल ट्रान्सलेसन’का लागि सूचीकृत गरिएका अन्तर्राष्ट्रिय भाषामध्ये एक भएको छ । यद्यपि, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रविधिबाट गरिने यसखाले भाषा रूपान्तरमा भने अझै शुद्धताको खाँचो छँदै छ । तर, ‘गुगल ट्रान्सलेसन’का भाषाहरूको सूचीमा नेपालभाषा पनि समावेश हुनाले यसबाट अन्तर्राष्ट्रिय गरिमा वृद्धि हुनाका साथै नेपालभाषा–भाषीहरूका लागि आफ्नौ मातृभाषाको माध्यमबाट ‘गुगल सर्च’जस्तो विशाल ज्ञान भण्डारसम्म पहुँच बनाउन सहज भएको छ ।

ॅअनलाइन’ शब्दकोश र ॅयुटिलिटी एप्स’
राजधानीमा केही दिन पहिले एउटा सार्वजनिक समारोह भएको थियो, अलि बेग्लै प्रकृतिमा । भाषा, लिपि, साहित्य, संस्कृति र सम्पदा अनि प्रविधिको विशेष समागमनको क्षण थियो, त्यो । पुरातन सम्पदा र आधुनिक प्रविधिगत ज्ञानका सुवासका अतिरिक्त नौलो पुस्ताको सक्रिय संलग्नताले त्यसमा विशेष आकर्षण थपेको थियो । काठमाडौं महानगरपालिकाको अनुदानबाट नेपाल लिपि गुथि तथा दबुलि नामक गैरनाफामूलक संस्थाको पहलमा मोबाइल प्रयोगकर्ताका लागि तीन फरक–फरक
‘डिजिटल एप्स’ विकास गरिएको थियो । त्यस दिन ती तीनै ‘एप्स’हरू सार्वजनिक गरिएका थिए ।
विशेषतः नेपालभाषा ‘एकेडेमी’, लोक साहित्य परिषद्, कुतः प्रकाशन आदिबाट नेपालभाषाका हालसम्म मुद्रण गरी प्रकाशित शब्दकोशहरूबाट उद्धरण गरिएका शब्दहरू सार्वजनिक गरिएको ‘अनलाइन’ शब्दकोश
‘एप्स’ अन्तर्गत संकलित छन् । नेपालभाषाका त्यस्ता शब्दहरू एकचालीस हजारभन्दा बढी संख्यामा त्यस ‘एप्स’मा उपलब्ध छन् । अत्याधुनिक सूचना प्रविधि प्रयोग गरेर विकास गरिएको त्यस ‘एप्स’को माध्यमबाट नेपालभाषामा मात्र नभईकन नेपालीबाट नेपालभाषा, अंग्रेजीबाट नेपालभाषाका शब्दहरू खोजी गर्न सकिन्छ । त्यसका लागि प्रयोगकर्ताले देवनागरी लिपि, रोमन लिपिका अतिरिक्त नेपाल लिपिमध्ये कुनै एक आफ्नो सहजतामा छनोट गर्ने सुविधा छ । ती तीन लिपिमा लेखिएका कुनै शब्दलाई अन्य कुनै अर्को लिपिमा रूपान्तरण गर्दा पनि हुन्छ । कुनै एक शब्द प्रयोग गर्दा बन्न सक्ने नमुना वाक्य पनि प्रत्येक शब्द सन्दर्भमा राखिएका छन् । महत्त्वपूर्ण कुरा शब्दको सही उच्चारण कसरी गर्ने ? त्यसको सस्वर दृष्टान्त पनि सुन्न सक्ने गरी ‘एप्स’ले व्यवस्था गरेको छ । नेपालभाषाका दोलखा र भक्तपुर भाषिका अन्तर्गतका शब्दहरूसमेत त्यसमा समावेश छन् ।
बाह्र सय उखान टुक्का अनि नवजात शिशुहरूका लागि उपयुक्त हजार जति नामहरूका सूची यसै
‘एप्स’मा खोज्न सकिन्छ । भाषा सिक्न इच्छुकका लागि एकखाले नमुना सिकाइ पनि छ ।
त्यसै अवसरमा सार्वजनिक गरिएको थियो– नेपाल लिपि र रञ्जना लिपि लेख्ने विधि/शैली सिकाउने अन्य दुई ‘एप्स’ ! यद्यपि ‘माइक्रोसफ्ट’ कम्पनीसँगको लामो सहकार्यमा नेपाल लिपि गुथिको संयोजनमा यी दुवै लिपि सूचना प्रविधिमैत्री अवस्थामा केही वर्षअघि नै ‘सफ्टवेयर’ विकास गरिसकेको थियो । तर, अहिले ‘युनिकोड’सँग मेल खानेगरी तयार गरिएका यी ‘एप्स’बाट लिपिका एकल अक्षर तथा संयुक्ताक्षर कसरी सहज र सुन्दर तरिकाबाट लेख्ने भनेर पनि सिक्न सकिन्छ ।

क्यालिजात्रा ॅफाउन्डेसन’को लिपि अभियान
लोप हुन सक्ने अवस्थाका प्राचीन लिपि रञ्जना र नेपाल लिपि लेख्ने–पढ्ने व्यावहारिक ज्ञानको प्रचारप्रसारमा एकखाले अभियान सुरु गरेका थिए केही वर्ष अगाडि एक जमात युवाले । क्यालिजात्रा अर्थात् लिपिलेखन उत्सव नामकरण गरिएको थियो अभियानको । अभियान नेपालका थुप्रै ठाउँ पुग्यो । सार्वजनिक स्तरमा इच्छुक जोकोहीलाई निःशुल्क रञ्जना र नेपाल लिपि सिकाइयो । अभियान विदेश पनि पुग्यो । रञ्जना लिपि नेपालभित्र मात्रै नभई एसियाली थुप्रै देशमा श्रद्धापूर्वक धर्म, संस्कृति तथा प्राचीन ग्रन्थ लेखनका क्षेत्रमा प्रयोग हुँदै आइरहेको छ । तर, रञ्जना लिपिले त्यसअनुरूप अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । क्यालिजात्रा ‘फाउन्डेसन’ले भारतको ‘फन्ट डिजाइन कम्पनी’सँग सहकार्य गर्‍यो । नयाँ पिढीका एक जमात नेवाः प्राविधिज्ञले रञ्जना ‘युनिकोड फन्ट’ विकास गरेर त्यो सार्वजनिक गरे । नित्या रञ्जना नाम दिइएको त्यस ‘फन्ट’ देवनागरी र नेपाल लिपिमा आधारित ‘युनिकोड’मा कम्प्युटर तथा मोबाइल ‘एप्स’मा सार्वजनिक प्रयोगका लागि उपलब्ध छ ।
नेपाल संवत् प्रयोग एप्स
सरकारले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति तथा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरिसकेको छ । गएको वर्ष प्रधानमन्त्रीले यस संवत् सरकारीस्तरमा समेत प्रयोग गरिने सार्वजनिक प्रतिबद्धता पनि जाहेर गरेका थिए ।
‘स्प्रालाजिक’, सूचना प्रविधि संस्थाका युवा वैज्ञानिकको निरन्तर प्रयत्नमा यसै सन्दर्भमा एउटा विशेष ‘एप्स’ विकसित भयो । नासाद्वारा संकलित खगोलीय अध्ययनका सूचनाहरूसमेत प्रयोग
गरिकन ‘एल्गोरिज्म’का आधारमा नेपाल संवत् तिथि मिति निर्धारणका अत्याधुनिक, वैज्ञानिक अनि अचुक सूचना प्रविधि ‘एप्स’ तयार गरिएको थियो । मोबाइलमा समेत प्रयोग गर्न सकिने यस ‘एप्स’को प्रयोगबाट नेपाल संवत् अनुसार प्रत्येक दिनको तिथि, घडीपला, वार, महिनामात्र होइन, चन्द्र तथा सौर्य राशी अनि नक्षत्रसमेतको सहज जानकारी पाउन सकिन्छ । यसै ‘एप्स’को प्रयोगबाट आजभन्दा पाँच सय वर्षअघि वा पाँच सय वर्षपछिका दिन, बार, तिथि आदि इस्वी वा विक्रम संवत्मा रूपान्तरण गर्न सकिन्छ वा नेपाल संवत् अनुसारका तिथिमिति थाहा पाउन पनि सकिन्छ । डा. भगवानदास मानन्धर र साथीहरूको समूहले केही समयअघि यससम्बन्धी ‘नेसंतिकोडी’ नामक सूत्र तयार गरेका थिए । त्यसैका आधारमा यस ‘एप्स’ विकसित गरिएको हो ।

ॅअनलाइन डिजिटल’ पुस्तकालय
काठमाडौं महानगरको अनुदानअन्तर्गत त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागको संयोजनमा गत साल एउटा पहल गरियो । त्यो थियो– ‘अनलाइन डिजिटल’ पुस्तकालयको निर्माण ।
गएको चौध/पन्ध्र महिनाभित्रमा पुस्तक तथा पत्रपत्रिका अनि शोध ग्रन्थहरू अत्याधुनिक सूचना प्रविधिबाट ‘डिजिटलाइज’ हुँदै गएको छ । भनिन्छ, अहिलेसम्ममा बीस हजारभन्दा बढी शीर्षकका पुस्तक, पत्रपत्रिका र अन्य सामग्री सूचना प्रविधिअनुसार यस पुस्तकालयका लागि संगृहीत भइसकेको छ । लक्ष्यअनुसार पहिलो चरणमा सत्तरी हजार शीर्षकका पुस्तक आदि संगृहीत हुनेछ ।
‘अनलाइन’मा खुल्ला स्रोतका रूपमा राखिएका ‘डिजिटल’ सामग्रीहरू अब कुनै पनि अध्येताले पुस्तकालयसम्म नधाइकन घरबाटै अध्ययन गर्न सकिन्छ । यसरी ‘डिजिटलाइज’ संग्रहमा मूलतः नेपालभाषाका पुस्तक पत्रिका र शोधपत्रहरू छन् भने नेपालभाषा, नेपाल संस्कृति र इतिहाससम्बन्धी अन्य भाषाका पाठ्य सामग्रीहरू पनि यस पुस्तकालय अन्तर्गत भेट्न सकिन्छ ।

प्राचीन हस्तलिखित ग्रन्थ संग्रहालय
च्वसापासा नेपालभाषाको सबैभन्दा जेठो साहित्यिक संस्था हो । हीरक जयन्ती पार गरिसकेको यस संस्थाको विशिष्ट इतिहास छ । साहित्यकार प्रेमबहादुर कंसाकारको नेतृत्वमा भारत, कलकत्ता प्रवासक्रममा गठन गरिएको यस संस्थाअन्तर्गत एउटा अर्को स्वायत्त इकाई पनि छ, त्यो हो–आसा सफू कुथि
(संग्रहालय) ।
हस्तलिखित प्राचीन ग्रन्थहरू यहाँ संग्रहीत छन् । धर्मशास्त्र, स्त्रोत, आयुर्वेद, वास्तुकला, तन्त्रविद्या, पूजाविधिदेखि साहित्य, संगीत, नृत्य, इतिहास, अनि वैदिक र बौद्ध लोकाख्यान आदि विविध विधाका हस्तलिखित ग्रन्थहरू यहाँ छ । काष्ठकला, चित्रकला, मूर्तिकला, स्थापत्यकला, धातुकलाका थुप्रै लिखतहरू पनि छन् । वेद, पुराण, बौद्ध जातक, उपाख्यान तथा वंशावली र ऐतिहासिक टिपोटहरू पनि यहाँ पाइन्छन् । एकातिर सयौं वर्ष अगाडि लेखिएका प्राचीन सामग्रीहरू छन् भने अर्कोतिर त्यत्तिकै दुर्लभ सुन तथा चाँदीका धूलोबाट लेखिएका अमूल्य ग्रन्थहरू छन् । रञ्जना, भुंजिमोल, नेपाललिपि आदिमा लेखिएका ग्रन्थहरू धेरै नेपालभाषाका छन्, कतिपय संस्कृत, मैथिली, भोजपुरी, बंगाली, तिब्बती लिपिका पनि छन् । हरितालिका, ताडपत्र, भोजपत्र आदिमा लेखिएका यी महत्त्वपूर्ण ग्रन्थहरूको चोरीको खतरा त छँदै छ । साथसाथै वातावरणीय र आगलागी, प्राकृतिक प्रदूषण र कीराबाट पनि क्षय हुन सक्ने सम्भावना छ ।
दिवंगत प्रेमबहादुर कंसाकार तथा प्रोफसर कमलप्रकाश मल्लको संयुक्त प्रयासबाट आसा सफू कुथिका यी संगृहीत ग्रन्थ सुरक्षाका दीर्घकालीन योजना अगाडि बढाइएको थियो । जापान नागोया बौद्ध महाविहारका धर्मगुरु ताकाओकाबाट उपलब्ध गराइएको सहयोगबाट सुरु गरिएको थियो– प्राचीन ग्रन्थहरू आधुनिक डिजिटल प्रविधिबाट संगृहीत गर्ने कार्य । आजसम्म लगभग सात हजार अति दुर्लभ हस्तलिखित ग्रन्थहरू अभिलेखीकरण भइसकेको छ, जसमध्ये झन्डै एक हजार वर्षपहिले हरितालिकाका पत्रहरूमा लेखिएका पञ्चरक्षा ग्रन्थ पनि छन् ।
त्यस्तै पारिवारिक तथा निजी लेनदेन, सम्पत्ति किनबेच, अंशबन्डा आदिका ताडपत्र तथा तालपत्रहरू समेत गरी थप एक हजार दुई सय प्राचीन लिखतको पनि ‘डिजिटलाइज’ भइसकेको छ ।
हिजोआज फेरि जर्मनीका हायम्बर्ग विश्वविद्यालयसँगको सहकार्यमा अर्को बाह्र सय थान प्राचीन ग्रन्थको युवा जमातको संलग्नतामा अत्याधुनिक प्रविधिबाट ‘डिजिटलाइजेसन’ भइसकेको छ । यी सबै ‘डिजिटलाइज’ सामग्री स्वदेशी तथा विदेशी अध्येताका लागि सहज रूपमा आसा सफू कुथिमा उपलब्ध छन् ।

सबैका लागि सिकाइ र सन्देश
महत्त्वको कुरा यी सबै प्रयत्नमा नयाँ पुस्ताको विशेष सक्रियता र चासो छ । अनि नयाँ प्रविधि र वैज्ञानिक ज्ञान–सीप प्रयोग गरिएको छ । समुदायमा अग्रजबाट ऐतिहासिक कालक्रममा सिर्जिएका कला, साहित्य, लिपि, भाषा जस्ता अमूर्त सम्पदाको जगेर्नाका लागि युवा जमात आफैं अग्रसर भइदिनु अनि त्यसका लागि परिवर्तित समय, काल परिस्थिति अनुसार नयाँ प्रविधि, ज्ञान, सीपको प्रयोग हुनु अत्यन्त आशालाग्दो र अनुकरणीय हो ।
नेपालजस्तो विविध भाषा, साहित्य, संस्कृति र लिपि भएको मुलुकमा लामो समयसम्म जातीय एकल र संकीर्ण शासन सत्ताका कारण जुन खाले विभेद र अन्यायको अनुभव हुँदै आइरहेको थियो त्यसमा समुदायहरूको अमूर्त सम्पदामाथिको संकटको अवस्था आउनुमा राज्यलाई नै दोष दिँदै आइरहेका थियौं । अनि यिनको संरक्षण र संवर्द्धनको प्रमुख दायित्व सरकारकै हो भन्ने भाष्य पनि छ ।
तर, नेवार समुदायभित्र नयाँ पुस्ताले सचेतना र सक्रियतामा जसरी विविध आयामको प्रयत्न गर्दै, नयाँ प्रविधि र सीपबाट उपलब्धि प्राप्त गरे, त्यो अरूका लागि दृष्टान्त हुँदो हो अनि सकारात्मक सन्देशवाहक पनि ।

कोसेली

किराले लुटेको गरिबको सपना

- वसन्तप्रताप सिंह


किरा (यार्चा) को खोजीमा निस्किएका साइपाल गाउँपालिका–२ धलौनका २१ वर्षे लक्ष्मण धामी कुज्जड वनमा मूर्छित अवस्थामा भेटिए, गत जेठ २७ गते राति । उनका दाइ धनराज धामी निक्कै अत्तालिए ।
साँझ एकै पालमा सुतेका दुई भाइ बिहान सातै बजे खाना खाएर छुट्टिएका थिए । धलौनमै बढी किरा भेट्टाउनेमध्येमा कहलिएका लक्ष्मण कुज्जड वनतिर लागे, दाजु धनराज धलौन वनतिर । साँझ पालमा फर्किएका धनराजले दुई भाइका लागि खाना पकाए, भाइलाई कुरी बसे । तर, अबेरसम्म लक्ष्मण आइपुगेनन् । वनहरू चाहर्दै खोजिपस्दा एउटा भीरको पुछारमा लक्ष्मण लडिरहेका भेटिए ।
रातभरि बोकेर उनलाई २८ गते बिहान १० बजे गाउँ पुर्‍याइयो । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय हेलिकोप्टरको खोजीमा लागे । नेपाली सेनाको
हेलिकोप्टर हेली आउन नसक्ने भनियो । अन्त्यमा पालिकाले निजी कम्पनीको हेली बोलायो । साँझ साँढे ५ बजे मात्रै हेलिकोप्टर पुग्यो । घाइते लक्ष्मणलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगियो । दुर्भाग्य ! अस्पतालले भोलिपल्ट उनलाई मृत घोषणा गरिदियो । सँगै गएका दाजु धनराजले उनलाई भेरी किनारमा सदाका लागि बिदा गरेर फर्किए ।
बझाङका संकलकहरूले भन्ने किरा अर्थात् यार्चालाई विश्व बजारमा जीवनबुटीको नामले चिनिन्छ । यार्चाको नियमित–व्यवस्थित सेवनले यौन दुर्बलतादेखि दम, कलेजो, मृगौलाको समस्या निको हुने भनिन्छ ।
लक्ष्मणका लागि किरा उनका मूर्छित सपना ब्युँझाउने सञ्जीवनी थियो । छिमेकी तलकोट गाउँपालिकाकी एक युवतीसँग प्रेमसम्बन्धमा रहेका उनी असारमै विवाह गर्ने तयारीमा थिए । विवाहको एक, दुई वर्षपछि विदेश जाने सपना थियो । तर, सपनाको सञ्जीवनी खोज्न हिँडेका लक्ष्मणलाई बचाउन कुनै हनुमान प्रकट भएनन् । ‘यो वर्ष किरा टिपेको पैसाले विवाह गर्छु, त्यसपछि एक/दुई वर्ष मात्रै हो, यहाँ आउने,’ उनले भीरबाट लड्नु अघिल्लो रात पालमा दाजु धनराजदाइलाई भनेका थिए, ‘दुई वर्ष किरा टिप्यो भने विदेश जाने पैसा जुटिहाल्ला, नपुगेको तपाईंले थपिदिनु है ।’
संयोगले तिनै लक्ष्मणसँग २०७८ साल वैशाख अन्तिम साता मेरो धलौनमा भेट भएको थियो । यार्चा संकलन क्षेत्रमा रिपोर्टिङका लागि हिँडेको म धलौनको उकालो काटेर गाउँको सिरानीमा रहेको उनको घर नजिक पुगेको थिएँ । धलौनबाट काँकरकोट जाँदा करिब डेढ घण्टा उकालो छिचोलेपछि गाउँको अन्तिममा उनको घर भेटिन्छ । मैले भेट्दा उनी किरा–खोजीमा हिँड्न लेकको सरजाम बन्दोबस्ती गर्दै थिए ।
लक्ष्मणको दुर्घटनाको खबरले तीन वर्षअघिको त्यो भेट सम्झना आयो । उनको तस्बिर कतै भेटिन्छ कि भनेर मेरा कम्प्युटरका पुराना ‘फोल्डर’ चाहरें, भेटिनँ । सायद तस्बिरै खिचेको रहेनछु । तस्बिर–भिडियो हेर्दै गर्दा यार्चा संकलन क्षेत्रमा संकलकहरूसँग बिताएका ती दिनहरू मस्तिष्कमा ओहोरदोहोर गरिरहे ।
यही सिजनमा जेठ १७ गते मथिङ्गल रिंगाउने अर्को घटना भएको थियो । बझाङकै सुर्मा गाउँपालिका–५ सैनगाउँका दीपेन्द्र बोहरा जेठ १६ गते यार्चा संकलनका लागि घरबाट निस्केका थिए । २३ वर्षीया श्रीमती रविनाको साथ लेक हिँडेका उनको डेढ महिना जति धौलढुंगा लेकमा बस्ने र यार्चा टिप्ने योजना थियो । सानैमा आमाबुवा गुमाएका दीपेन्द्रले त्यो अवधिमा हेरचाह गरिदिनका लागि आठ वर्ष र चार वर्षका दुई छोरा फुपूको जिम्मा छोडेर गएका थिए । यो सिजनमा टिपेको यार्चा बेचेर घर बनाउँदा लागेको ऋण तिर्ने बोहरा दम्पतीको योजना थियो ।
विडम्बना, दीपेन्द्र दम्पतीका योजना पूरा हुन पाएन । धौलढुंगा लेक पुगेको भोलिपल्टै बिहानै सात बजे यार्चा खोज्न हिँडेका ३१ वर्षीय दीपेन्द्र हिउँमा चिप्लेर लडे । एउटा यार्चा नभेट्टाउँदै उनको मृत्युसँग भेट भयो । यार्चा टिपेर श्रीमान्सँगै खुसी बोकेर फर्किने उज्यालो सपना बुनेर गएकी रविनाले श्रीमान्को लाससँगै अँध्यारो भविष्य बोकेर फर्किनुपर्‍यो । उनको खुसी सदाका लागि उतै कतै लेकमा छुट्यो ।
पछिल्लो पटक २०७९ जेठमा म सुर्मा र २०७८ जेठमा साइपाल गाउँपालिकाका विभिन्न यार्चा संकलन क्षेत्रमा संकलकसँगै हिँडेको थिएँ । मैले थुप्रै पात्रसँग साक्षात्कार गरेको थिएँ, जसका परिवारका सदस्य पाटनमा सधैंका लागि छुटेका थिए । बाहुलीगाड खोलाको तीरैतीर आधा दिन हिँडेपछि संकलकहरू सँगै म बाँदर लड्ने भीरको यात्रामा थिएँ । तल हेर्‍यो रिङ्गटा लाग्ने छङ्गाछुर भीर, माथि हेर्‍यो नाक ठोक्किएला जस्तो
अजङ्गको पहरा । मुस्किलले आधा पैताला वा कुर्कुच्चा मात्रै टेक्न मिल्ने बाटोको निसानी पछ्याउँदै हामीले चार घण्टामा त्यो भीर छिचोलेका थियौं ।
ठाडो भीर काटेर चार हजार एक सय मिटर उचाइको पार्थीको चौरमा पुग्दा सुरक्षित भीर पार गरेकोमा संकलकहरूले पार्थीको देउरालीमा धुप बालेका थिए । हात जोडेर सुर्मादेवीप्रति कृतज्ञता जाहेर गरेको थिएँ मैले । मनमनै फर्केर त्यो बाटो नआउने प्रतिज्ञा पनि ।
फकिंदा कैयौं ठाउँमा ९० डिग्री ओरालो झर्नुपर्ने सम्झँदा मेरो आङका काँडा पटकपटक फुलेका थिए । डाँडामा पुगेपछि मलाई बाटो कटाउन सहयोग गर्ने जीवन बोहराले यही बाटो फर्कने क्रममा छ/सात वर्षको अवधिमा सात जनाको लडेर मृत्यु भइसकेको सुनाएपछि मेरो डरको पहाड अझ अग्लिएको थियो । ‘यो कुरा तलै सुनाएको भए तपाईं यहाँसम्म पुग्ने आँट गर्नु हुन्थेन सर, त्यसैले नभनेको,’ उनले कुन मान्छे लडेर कस्तो अवस्थामा भेटिएको थियो भन्ने बयान गर्दै यस्तो भनेका थिए । त्यहाँबाट खसेका दुई जनाको त छरिएका हाडखोर खोजेर दाहसंस्कार गरिएको उनले सुनाएका थिए ।
त्यो मृत्युमार्गमा हामीसाँ सुर्माको बिछाडा गाउँकी सिन्की बोहरा, उनका एक किशोर छोरा र उनका साथीहरू पनि थिए । अगाडि खोलाको अस्थायी होटलमा हामीले सँगै खाजा खाएका थियौं । उदास देखिने उनी निकै कम बोल्थिन् । ‘याँ नआया खान पुग्दैन । आयो फेरि घर फर्किन पाउने हो कि नाइँ भन्याँ चिन्ता’ उनले भीरको बाटोप्रति गुनासो सुनाएकी थिइन् । हाम्रो गन्तव्य धानसेरी हिमाल थियो, उनको व्याँसीमारे । अघिल्लो वर्ष मात्रै उनकी १३ वर्षकी छोरी यार्चा टिपेर फर्किने बेला यही बाटोमा पर्ने अगाड खोलामा बेपत्ता भएको उनको साथमा भएकी एक महिलाले मलाई खुसुक्क सुनाएकी थिइन् । सिन्कीको उदास अनुहारभित्रको पीडादायी विगत सुनाएपछि उनले भनेकी थिइन्, ‘यो बाटो हिँड्दा छोरीको सम्झनाले रोएकी रोयै छ ।’
१० दिन सुर्माका विभिन्न यार्चा पाटन घुमेर म चाँदेशिखर हिमालको बाटो हुँदै पुगें । घर पुगेकै भोलिपल्ट खबर सुनें– व्याँसीमारे हिमालमा गएको हिमपहिरोमा परेर सिन्की बेपत्ता भइन् । पहिरोको संकेत पाएर उनका पालबाट आमाछोरा हतार–हतार बाहिर निस्किसकेका रहेछन् । सिन्की भने यार्चा लिन फेरि पालभित्र जाँदा हिउँको पहाडले थिचिइन् । तीन महिनापछि भदौ अन्तिम साता मात्रै उनको शव फेला परेको थियो ।
यसरी ज्यानको बाजी राखेर संकलक किरा खोज्न झन्डै साढे पाँच हजार मिटर उचाइसम्म पुग्छन । कोही वर्ष दिन छाक टार्न पुग्ने पैसा कमाएर फर्किन्छन् । धनीमानी र सौखिनबीच हिमालयन भियग्राको नामले चर्चित किरा यहाँका स्थानीयका लागि जीविका धान्ने माध्यम हो । सम्पन्नहरूको सोख पूरा गर्न गरिबहरू भोकका कारण जोखिम मोल्छन् । कोही जीवनबुटीको खोजमा आफ्नै जीवन सदाका लागि उतै बिसाउँछन् । बझाङमा मात्रै विगत १५ वर्षको अवधिमा दुई सय ५० जनाको किराकै खोजी–क्रममा मृत्यु भइसकेको छ । घाइते र अंगभंग हुनेहरूको संख्या पनि त्यही हाराहारीमा छ ।
हिमाली कन्दराहरूमा भीर, पहरा छिचोल्दै किरा खोज्न पुग्नेहरूलाई माइनस डिग्रीको चिसोले उस्तैगरी सताउँछ । हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । यार्चा खोज्दाखोज्दा चिसोले हात खाइदिन्छ । सबैभन्दा समस्यामा हुन्छन्, बालबालिका । तीन–चार महिनाका दूधेबालक पिठ्युँमा बोकेर पुगेका आमाहरूलाई चिसोबाट सन्तान जोगाउन उस्तै सकस हुन्छ । यार्चा भेटिए संकलकहरू यी सबै दुःख भुल्छन्, तर पहिलाझैं यार्चा भेटिन पनि छोडेको छ । ‘उइलेका जति किरा पाइने भए त घर पुगेपछि यी दुःख बिर्सिहाल्थ्यौं,’ एक वर्षकी छोरी र तीन वर्षका छोरासहित साइपाल हिमालको बेस क्याम्पमा यार्चा टिप्न पुगेकी काजल गुरुङले भनेकी थिइन्, ‘कुनै दिन दिनभर चाहर्दा एउटा पनि भेटिँदैन । हिँड्दाहिँड्दा गलिन्छ मात्रै ।’
यार्चा बझाङसहित नेपालको दार्चुला, डोल्पा, जुम्ला, मुगु, रुकुम, म्याग्दी, मनाङ, गोरखा, सिन्धुपाल्चोक, संखुवासभा र रसुवा लगायतका जिल्लामा संकलन हुने गरेको छ । नेपालबाट मात्रै वार्षिक दुई हजार किलोग्राम हाराहारी यार्चा विदेश निकासी हुने गरेको वन विभागको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकको एक अध्ययन अनुसार, नेपालका ११ जिल्लामा वार्षिक ४ अर्ब ९२ करोड मूल्यको यार्चाको कारोबार हुने गरेको छ । विश्व बजारमा चीनपछि नेपाल यार्सागुम्बुको दोस्रो आपूर्तिकर्ता मानिन्छ । यार्चाको मूल्य चीनमा प्रतिकिलो ग्राम ७० लाख नेपाली रुपैयाँमा यार्चाको खरिदबिक्री हुने गरेको जानकारहरू बताउँछन् । इन्टरनेटमा उपलब्ध जानकारी अनुसार जर्मनी, फ्रान्स, अमेरिकालगायत देशमा यार्चा प्रतिकिलो ग्राम १ करोड २० लाखसम्म बिक्री हुने गरेको छ ।
तर, ज्यानको जोखिम मोल्ने संकलकहरूले प्रतिकिलो मुस्किलले १५ देखि २० लाख पाउँछन् । न त अन्तर्राष्ट्रिय बजारमा यार्चाको मूल्यबारे नै उनीहरू जानकार छन्, स्थानीय बिचौलियाले जति मूल्य तोक्छन्, त्यतिमै बिक्री गर्न बाध्य हुन्छन् । कतिसम्म भने संकलकबाट यार्चा उठाइसकेपछि बिचौलियाहरू यार्चा खरिद गर्नुपूर्व नै आपसमा बसेर कति रेट तोक्ने भन्ने सहमति गर्छन् ।
साइपालको माझावनमा किरा टिप्दै गर्दा भेटिएका रुन्छे बोहराले बेच्ने ठाउँ थाहा नहुँदा बिचौलियाले तोकेको मूल्यमा किरा बिक्री गर्नुपर्ने बाध्यता सुनाएका थिए, ‘हामी आफैं गएर बेच्ने ठाउँ थाहा छैन, अहिले दिए पनि पछि दिए पनि यहाँकै ठेकेदारलाई दिने हो ।’ उनले पाटनमै मूल्य नतोकेर (पछि लागेको रेट दिने सर्तमा) धेरैले बिचौलियालाई किरा दिने गरेको सुनाएका थिए ।
ज्यानको बाजी लगाएर किरा खोज्ने संकलकलाई पेस्कीको पासोमा पार्छन् बिचौलियाहरू । स्थानीय बिचौलियाले संकलकलाई अर्को वर्ष यार्चा टिपेर दिने सर्तमा अघिल्लै वर्ष नगद, खाद्यान्न र लत्ताकपडा पेस्की बापत दिन्छन् । संकलकहरूले जसको पेस्की खाएको छ, उसलाई आफूले संकलन गरेको सबै यार्चा मूल्य नतोकेरै दिन बाध्य पारिन्छ । सरकारले नै यार्चाको मूल्य तोकिदिए किराको आसमा ज्यान जोखिममा राख्नेहरूलाई थोरै भए पनि राहत हुने संकलकहरूको आशा छ ।

Page 12
कोसेली

पैसा कसले बनायो ?

- यज्ञ बञ्जाडे

राज्यद्वारा मुद्रा भनी घोषित गरिएको वस्तु नै मुद्रा हो – प्रोफेसर नेप ।

विनिमय माध्यमका रूपमा सर्वमान्य स्वीकार्य मूल्यको मापन तथा सञ्चय गर्ने कुनै पनि वस्तुलाई मुद्रा भनिन्छ – अर्थशास्त्री क्राउथर ।

मुद्रा त्यो वस्तु हो, जसलाई वस्तु तथा सेवाको मूल्य वा अन्य व्यापारिक दायित्वको भुक्तानीमा व्यापक रूपमा स्वीकारिन्छ –अर्थशास्त्री रोबर्टसन ।

अर्थशास्त्रीहरूका यी परिभाषाबाटै स्पष्ट हुन्छ, पैसा (मुद्रा) राज्यद्वारा कानुनी मान्यता प्राप्त त्यो वस्तु हो, जसलाई आम नागरिकले विनिमयको
(साटफेर) माध्यमका रूपमा प्रयोग गर्छन् । संसारमा पैसाको आविष्कार हुनुपूर्व विनिमय प्रथा थियो । त्यतिबेला आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटफेर गरिन्थ्यो । तर, वस्तुहरूको मूल्यांकन प्रणालीमा समानता नहुने, आफूलाई चाहिएको वस्तु अर्कोसँग हुने अनि उसलाई आफूसँग भएको वस्तु आवश्यक नहुने, वस्तुहरू साना–साना इकाइमा विभाजन गर्न नसकिनेलगायत यावत् समस्या भएपछि विनियम प्रथा मानिसलाई सहज भएन । त्यसपछि सबैलाई स्वीकार्य हुने विनिमय माध्यमको खोजी सुरु भयो, जसलाई मुद्रा (पैसा) भनियो ।
सर्वप्रथम पैसा (सिक्का) को थालनी इसापूर्वको छैटौं वा पाँचौं शताब्दीमा ग्रिसबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले टकसारी (निर्माण) गरेका सिक्का विश्वमा आधुनिक सिक्काको थालनी मानिन्छ ।
मानव सभ्यताको विकाससँगै विभिन्न वस्तुलाई पैसाका रूपमा प्रचलनमा ल्याइयो । सुरुवातमा पशुधन, बाघको छाला, बाँदरको पुच्छर, समुद्रमा पाइने मुगालगायत विभिन्न वस्तुलाई पैसाका रूपमा प्रयोग गरियो । त्यो चरणलाई वस्तु मुद्रा
(कमोडिटी मनी) भनिन्छ । त्यसपछि सुन, चाँदी, तामा, पित्तल, फलामलगायत घातुका मुद्रा बनाउन थालियो, जसलाई धातु मुद्रा (मेटालिक मनी) का रूपमा चिनिन्छ । धातुका मुद्रा ओसारपसारमा समस्या भएपछि सहजताका लागि कागजी मुद्रा बनाउन थालियो । यसलाई ‘पेपर मनी’ भनिन्छ । यो अहिले प्रचलनमा छ ।
अहिले कागजी मुद्राको काम गर्ने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न कागजात
(चेक, निक्षेप प्रमाणपत्र, ग्यारेन्टी पेपर) प्रयोगमा ल्याएका छन् । तिनलाई ‘बैंक मनी’ अवथा ‘क्रेडिट क्रिएसन’ भनिन्छ । पछिल्ला वर्षमा ‘डिजिटल’ मुद्राको चर्चा पनि राम्रौसँग चल्ने गरेको छ । विश्वका धेरै राष्ट्रले आफ्नै ‘डिजिटल’ मुद्रा बनाएर प्रयोगमा ल्याइसकेका छन् । नेपाल राष्ट्र बैंकले पनि ‘एनआरबी डिजिटल करेन्सी’ का लागि अध्ययन थालिसकेको छ ।
समग्रमा संसारभरकै पैसा निर्माणमा पशुधन, माटो, छाला, धातु, कागज, प्लास्टिक आदिको प्रयोग भएको देखिन्छ । यद्यपि अब अभौतिक (डिजिटल) मुद्राको सुरुवात भइसकेको छ, जहाँ वस्तुको प्रयोग हुँदैन । तर, हरेक राष्ट्रले जस्तोसुकै मुद्रा बनाए पनि त्यसमा सर्वमान्य, क्रयशक्ति, कानुनी मान्यता, सञ्चय क्षमता, मूल्यको मापन क्षमता लगायत विशेषता भने रहनुपर्छ ।
पैसा धातुबाट कागजी मुद्रामा रूपान्तरण भइरहँदा मानव जातिले ठूलै संघर्ष गर्नु परेको देखिन्छ । यो प्रसंगमा एउटा कथा निकै चर्चित छ । धातु मुद्राको समयमा एउटा व्यापारी (मानौं ए) ले अर्को व्यापारी (मानौं बी) सँग व्यापारका लागि पैसा बोकेर जाने क्रममा गन्तव्यमा नपुगी बाटोमै तेस्रो व्यापारी (मानौं सी) को घरमा बास बस्नुपर्ने अवस्था आयो । भोलिपल्ट धातु मुद्रा बोकेर ‘बी’ व्यापारीसँग पुग्नुपर्ने थियो । शरीरमा बिसन्चो भएकाले भोलि पनि ‘ए’ व्यापारीले पैसा बोकेर ‘बी’ सम्म पुग्न सक्ने अवस्था भएन । त्यसैबीच ‘सी’ व्यापारीले ‘बी’ लाई एउटा पत्र लेखिदियो । पत्रमा लेखिएको थियो, ‘ए व्यापारीको यत्ति पैसा मसँग छ । उसलाई पत्रमा उल्लिखित रकम बराबर कारोबार गर्न दिनू ।’ ‘ए’ त्यो पत्र लिएर ‘बी’ सँग गयो र पत्रमा उल्लिखित रकम बराबर व्यापार गरेर फर्कियो । त्यसपछि ए, बी र सी व्यापारीले महसुस गरे— कतै न कतै पैसा हुनुपर्दो रहेछ । तर कारोबार चाहिँ कागजकै (पत्र) आधारमा गर्न सकिने रहेछ । त्यसपछि कागजी मुद्राको थालनी भएको हो ।
अहिले पनि संसारभरका सबै कागजी मुद्रा माथिको कथामा ‘बी’ व्यापारीले लेखेको पत्रजस्तै हुन् । फरक यत्ति हो कि, अहिले त्यो पत्र कुनै व्यापारीले नभई राज्यको आधिकारिक निकाय वा केन्द्रीय बैंकले लेख्ने गर्छ र धितोका रूपमा बहुमूल्य धातु, ऋणपत्रलगायत वस्तु पनि उसँगै रहन्छ । कागजी मुद्रा छपाइ गर्दा बहुमूल्य धातु धितो राखिनुले पनि त्यो पुष्टि हुन्छ । हाल नेपाली कागजी मुद्रामा
(पैसा) ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक हजार तुरुन्त पाइनेछ’ भन्ने लेखिएको हुन्छ, जसमा गभर्नरले हस्ताक्षर गरेका हुन्छन् ।
राज्यले प्रमाणित गरिदिने भएकै कारण त्यो मुद्रा संसारभर सर्वमान्य भएको हो । यद्यपि विश्वमा सबैभन्दा पहिले चीनले कागजी मुद्रा (नोट) प्रचलनमा ल्याएको इतिहास छ ।

नेपालमा मुद्रा
नेपालमा लिच्छवि राजा मानदेवको शासनकालदेखि धातुका सिक्काको सुरुवात भएको मानिन्छ । लिच्छविकालमा मानांक, गुणांक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, वृष आदि मुद्राहरू प्रचलनमा आएको इतिहास छ । त्यसपछि मल्लकाल हुँदै शाहकालसम्म आइपुग्दा नोट र सिक्काको विकास हुँदै आएको छ ।
१९८९ सालमा टक्सार स्थापना गरी आधुनिक सिक्का र २००१ असोज १ मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन् । त्यस्ता कागजी मुद्रा १००, १०, ५ मोरुका थिए र तिनमा पहिलो खजाञ्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई जना खजाञ्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी मोरु नै नोट निष्कासन भएका थिए । यी नोट सदर मुलुकी खानाबाट निष्कासन भएका थिए ।
२०१३ वैशाख १५ मा केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएको हो । २०१६ फागुन ७ देखि हिमालयशमशेर जबराको हस्ताक्षरमा केन्द्रीय बैंकमार्फत कागजी नोट निष्कासन सुरु भएको हो ।
नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भएका छन् । विगतमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रुपैयाँ दरका नोट निष्कासन गरिएको थियो । हाल १, २, २५, २५० रुपैयाँ दरका नोट छपाइ गरिँदैन । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नोट मात्र निष्कासन हुँदै आएका छन् । १ र २ रुपैयाँका सिक्का मात्र छपाइ गरिन्छ ।
हाल प्रायः सबै राष्ट्रमा केन्द्रीय बैंकले मुद्रा छपाइको काम गर्दै आएका छन् । सामान्यतया कागजी मुद्रा र सिक्का निष्कासन गर्दा केन्द्रीय बैंकले निष्कासित मुद्रा बराबर बहुमूल्य धातु (सुन, चाँदी, सेयर, ऋणपत्र आदि) धितो राख्ने गर्छन् । विगतमा यस्तो प्रचलन अनिवार्य जस्तै थियो । सन् १९२४ पछाडि सुरक्षा कोष
(रिजर्भ फन्ड) का आधारमा कागजी मुद्रा निष्कासन गरिन्छ । यद्यपि धितोबिना कागजी मुद्रा निष्कासन गर्न नसकिने भने होइन । मुलुकको अवस्था अनुसार, धितो नराखेरै पनि नोट छपाइ गर्न सक्छन् । धितो नराखी छपाइ गरिने मुद्रा भविष्यमा सुन चाँदी लगायत बहुमूल्य धातुमा परिवर्तन गर्न मिल्ने परिवर्तनीय र अपरिवर्तनीय गरी दुई किसिमका हुन्छन । तर, नेपाललगायत धेरै राष्ट्रले हालसम्म धितोबिना नोट छपाइ गरेका छैनन् ।

कसरी छापिन्छ पैसा ?
नेपालमा मुद्रा छपाइबारे राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमारी निर्देशिका जारी गरेको छ । त्यसकै आधारमा नोट तथा सिक्का छपाइ हुँदै आएको छ । नोट तथा सिक्का छपाइ कहाँ गर्ने भन्नेबारे निश्चित तोकिएको नभए पनि अन्तर्राष्ट्रिय रूपमा बोलकबोल आह्वान गरेर मुद्रण कम्पनी छनोट गर्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका मुद्रण कम्पनी नभएकाले राष्ट्र बैंकले विदेशमा मुद्रा छपाइ गर्दै आएको छ ।
यसरी विदेशमा नोट छपाइ गर्दा ५ रुपैयाँका लागि प्रतिनोट १.६८ रुपैयाँ र एक हजारका लागि ३.३७ रुपैयाँ लागत लाग्दै आएको छ । राष्ट्र बैंक टक्सार विभागले करिब २० वर्षअघिसम्म नेपालमै सिक्का टकमारी गर्ने गर्थ्यो । त्यसयता राष्ट्र बैंकले सिक्का पनि विदेशमै छाप्दै आएको छ । यद्यपि गत वर्षदेखि टक्सार विभागले परीक्षणका रूपमा नेपालमै एक र दुई रुपैयाँका सिक्का छाप्न सुरु गरेको छ । नेपालमा दुई दशकअघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो । अहिले पुराना मेसिनलाई मर्मतसम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रूपमा केही थान सिक्का छपाइ गरिएको टक्सार विभागले जनाएको छ ।
केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती सिक्का विदेशमै छापिने भएकाले त्यसबाट धेरै रकम बाहिरिँदै आएको छ । राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको सिक्का अरू कागजी नोट जस्तो सम्पूर्ण रूपमा वित्तीय प्रणालीमा फर्किंदैन । यसकारण पनि हरेक वर्ष नयाँ सिक्का छाप्न करोडौं रुपैयाँ खर्च हुने, तर त्यो पैसा वित्तीय प्रणालीमा नफर्किने भएकाले बढी खर्चिलो हुँदै आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार, गत वैशाखसम्म ५ खर्ब ७४ अर्ब रुपैयाँ बराबरका मुद्रा चलनचल्तीमा छ । ०८० असारसम्म यस्तो रकम ५ खर्ब १४ अर्ब रुपैयाँ थियो । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ ।
पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्रै आधिकारिक निकाय राष्ट्र बैंक भएकाले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाइ गरी बजारमा पठाउने काम उसैले गर्छ । चलनचल्तीमा रहेको मुद्रा प्रायः घटबढ भइरहन्छ । बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ । बजारको मागअनुसार, निर्देशन मापदण्डभित्र रहेर राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ ।
राष्ट्र बैंकबाट बाहिरिएपछि त्यो चलनचल्तीमा गएको भनेर गणना हुन्छ । यसरी चलनचल्तीमा रहेको मुद्रा निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरूमार्फत राष्ट्र बैंकमा फर्किन्छ । जति पैसा राष्ट्र बैंकमा आइपुग्छ, त्यति नै मुद्रा चलनचल्तीबाट घटाइन्छ ।
राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही नोट विभिन्न कारण (मानिसको बदमासी, बाढी, पहिरो, आगलागी आदि) ले नष्ट भएको हुन सक्छ । तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ । यसकारण राष्ट्र बैंकले ‘चलनचल्तीमा छ’ भनेमध्ये सबै पैसा नागरिकको हातमा नहुन पनि सक्छ । यस्तो पैसा कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन ।

कोसेली

मैदानमा अब नयाँ पुस्ता

- हिमेश

 

सके दक्षिण अमेरिकाले, सकेन भने युरोपले । विश्व फुटबलमा दबदबा यिनै दुई महादेशको त छ । संयोगले यिनै दुई महादेशको सबैभन्दा ठूलो आफ्नै प्रतियोगिता चलिरहेको छ । एउटा जर्मनमा– त्यो भयो, युरो २०२४ । अर्को भयो, कोपा अमेरिका २०२४ । त्यो भने अमेरिकामा भइरहेको छ । अब साता दिनभन्दा बढी समयपछि दुवैतर्फका नयाँ च्याम्पियन पनि पाउनेछौं । जुनसुकै टिमले जितोस्, एउटा तथ्य भने निश्चित छ, लियोनल मेसीले आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका छन् । यता क्रिस्टियानो रोनाल्डो अन्तिम युरोमा भिडिरहेका छन् । आफ्नो जमानामा जत्तिकै राम्रो खेलाडी भए पनि उमेरसँगै त्यो नरहने त मेसी र रोनाल्डो दुवैले अहिले मज्जाले बुझिरहेकै होलान् ।
त्यसको अर्थ के हो भने यी दुई ठूला प्रतियोगिताको अन्त्यसँगै विश्व फुटबलमा एउटा अध्याय सकिनेछ । र, अहिले नै भन्न सुरु भएको छ, अब नयाँ पुस्ताको पालो । अब त्यस्ता केही खास खेलाडी देखिएका छन्, जसले अबको समय विश्व फुटबललाई हाँक्ने छन् । कोपामा त नयाँ अनुहारलाई लिएर त्यति धेरै हल्लीखल्ली मच्चिरहेको छैन, तर युरोमा भने कुरै नयाँ खेलाडीको छ । अनेक नयाँ खेलाडीले सबैको ध्यान आफूतिर खिचेका छन् । त्यसमा पनि त्यस्ता दुई नयाँ खेलाडी अगाडि आएका छन्, जसले अबका केही वर्ष विश्व फुटबलमा तहल्का मच्चाउने छन् । ठ्याक्कै नयाँ नामै चाहिँ होइन, किनभने युरोपतिरको फुटबल पछ्याउनका लागि दिन बिराएर आउने नाम नै हुन्, यी दुई ।
पहिलो भयो, स्पेनका लामिन यामल । अर्को इंग्ल्यान्डका जुड बेलिङघम । यी दुईले आफ्नै खुट्टामा बञ्चरो हानेनन् भने अबको दिनमा वाहवाही चल्ने उनीहरूकै हो । सबैभन्दा पहिले यामलकै कुरा । उनी बार्सिलोनाका विन्गर हुन् । सात आठ वर्षतिरै बार्सिलोनाको प्रसिद्ध एकेडेमीमा भर्ना भए । भर्खरै किशोर उमेरमा रमिरहेका छन्, तर नाम भने खुबै कमाइसकेका छन् । सन् २००७ मै मात्र हो, जन्मेका । त्यो अर्थमा १६ वर्षका भए । त्यसो त नाम सुन्ने बित्तिकै उनी स्पेनी खेलाडी जस्तो भने लाग्दैन । मोरक्काका बुबा र इक्वेटोरियल गुएनाका आमाबाट जन्मेका हुनाले उनी नामैले फरक सुनिन्छ । तर खेल्नै शैली उही ठ्याक्कै स्पेनी नै छ ।
उनलाई लिएर युरो अगाडि एउटा समाचार आएको थियो । यो समाचारभन्दा पनि सत्यमा आधारित हल्ला हो, जसले विश्व फुटबललाई प्रायः तरंगित बनाइरहन्छ । भयो के भन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यी किशोरलाई किन्नका लागि २६ करोड ८० लाख डलर तिर्न आफू तयार रहेको बताएछन् । कतारी लगानी रहेको पीएसजीको आर्थिक हैसियत कति बलियो छ भने उसले जति बोल्यो, त्यति तिर्न पनि सक्छ । बार्सिलोनाले उनलाई बेच्न चाहेन, कुरा यस्तै आएको छ । तर दुई पक्षबीच सहमति भएको भए, यामल विश्व फुटबलकै सबैभन्दा महँगा खेलाडी हुने थिए । बार्सिलोनाको एकेडेमीमा पछिल्लो समय साह्रै धेरै सम्भावना भएका खेलाडी उत्पादन भएका छन् ।  
त्यसमा यामलदेखि गाभी र पेड्री छन् । बार्सिलोना कति धेरै चलाख छ भने यामल जत्तिको खेलाडी अन्यत्र जाने हो भने करोडौं डलर तिर्नुपर्ने सर्त अनुबन्धमै राखेको छ । युरो चलिरहँदा यामलकै बढी चर्चा किन भन्दा एक त उनले एउटा कीर्तिमान बनाएका छन्, जसको धेरै अर्थ छ । स्पेनले क्रोएसियालाई हराएको खेलमा यामल युरो इतिहासमै यो प्रतियोगिता खेल्ने सबैभन्दा कान्छो खेलाडी बने । क्रोएसियाविरुद्धको त्यस खेलमा उनी खालि १६ वर्ष र ३ सय ३८ दिनका थिए । अनि त्यसै खेलमा एक गोलका लागि सहयोगी भूमिका पनि निभाए । यस्तोमा युरोकै इतिहासमा एसिस्ट निकाल्ने सबैभन्दा कान्छा खेलाडी पनि बने । उनले यसरी नै खेल्दै जाने हो भने नयाँ नयाँ कीर्तिमानमाथि कीर्तिमान बन्नेछ ।
उनको सबैभन्दा ठूलो विशेषता भनेकै ‘ड्रिब्लिङ’ हो । त्यो भनेको सक्दो छलाएर खेल्नुपर्ने । उनको खासमा खेल्ने पोजिसन भनेको राइट विन्गर हो । तर उनी सेन्ट्रल फरवार्डका रूपमा पनि खेल्न सक्छन्, अनि एटायकिङ मिडफिल्डरका रूपमा पनि । अनि उनको बढी चल्ने भनेकै बायाँ खुट्टा हो । उनी नेचुरल लेफ्ट फुटेट खेलाडी हुन् । बललाई घुमाउरो बाटो दिएर पोस्टको दिशा दिन्छन् । यो सबै कुरा सुन्दा अलिअलि मेसीकै गुण देखिन्छ । खासमा उनलाई मेसीसँगै तुलना गरिन्छ । मेसी पनि त बार्सिलोनाको एकेडेमीकै उत्पादन हुन् । यामलमाथि नेयमारको प्रभाव भने बढी छ भनिन्छ । नेयमारले पनि ठीक्कै समय बार्सिलोनाका लागि खेलेका छन् ।
स्पेनले सन् २००८ र २०१२ मा लगातार दुईपल्ट युरो जितेको थियो । त्यसबीच सन् २०१० मा विश्वकप पनि जित्यो । विश्व फुटबलमा त्यो स्पेनको युग थियो । स्पनले बलमाथि अत्यधिक नियन्त्रण र शृंखलाबद्ध पासको एउटा शैलीले त्यति बेला खेलेको थियो । त्यो अहिलेसम्म पनि लगभग चलिरहेकै छ । तर दुई युरो र एक विश्वकप उपाधिपछि स्पेनी फुटबल धेरै हदसम्म सेलायो । उसले ठूला प्रतियोगितामा थप चमत्कार गर्न सकेन, भलै यो एक शक्तिका रूपमा भने रह्यो । लगभग सेलाएकै स्थितिमा थियो, स्पेनी फुटबल । तर यामल र उनीका साथीहरूले स्पेनी फुटबलको पुनरुत्थान गर्ने विश्वास गरिएको छ, विशेषतः यामलमाथि धेरै विश्वास गरिएको छ ।
अब बेलिङघमको पालो । स्पेन जस्तै इंग्ल्यान्ड पनि विश्व फुटबलको शक्ति नै हो । अझ इंग्ल्यान्डको प्रिमियर लिग जत्तिको लोकप्रिय सारा विश्वमा अरू कुनै छैन । इंग्लिस फुटबलमा स्टार खेलाडीको कुनै कमी हुन्न । टिम पनि राम्रै हुन्छ । तर जित्ने भने केही होइन् । इंग्ल्यान्डले अहिलेसम्म जितेको एउटै ठूलो प्रतियोगिता भनेको विश्वकप हो, त्यो पनि सन् १९६६ मा । त्यसपछि एकपछि अर्को ठूला प्रतियोगिता आउँछ र जान्छ पनि । सुरुमा इंग्ल्यान्डमाथि ठूलै आस भरोसा गरिन्छ । तर अन्त्यमा निर्णायक मोडमा चुक्ने नै गर्छ । यस्तो कहिलेसम्म चलिरहने हो त ? विश्वास छ, ढिलो चाँडो इंग्ल्यान्डले केही जित्न सक्नेछ र यसको कारण हो, तिनै बेलिङघम जत्तिको खेलाडी ।
उनी भने २१ वर्षका भए, सन् २००३ मा जन्मेका हुन् । भर्खर जस्तो किशोर उमेर छाडेका खेलाडी । तर प्रदर्शन भने कोही पाका खेलाडी जत्तिकै । इंग्ल्यान्डकै खेलाडी भए पनि उनले प्रिमियर लिगमा खेल्दैनन्, स्पेनको रियल म्याड्रिडका लागि खेल्छन् । रियल आएयता उनले तहल्का नै मचाए । पछिल्लो सिजन उनले रियलका लागि दुई ठूला उपाधि जिते । पहिलो त स्पेनी ला लिगा नै भयो । त्यसपछि युरोपेली च्याम्पियन्स लिग पनि । त्यो सिजन त उनले रियलका लागि बबाल नै गरे । सन् २०२३ मै मात्र उनी रियल गएका हुन् । गएको सिजन नै आफूलाई प्रमाणित गरे, समर्थक सबैको प्रिय खेलाडी बने । त्यस अगाडि उनी जर्मनीमा थिए, बोरुसिया डर्टमुन्डका लागि खेलिरहेका थिए ।
उनी खेलाडीका रूपमा जन्मेको र हुर्केको भने बर्मिङघममा हो । शारीरिक रूपमा उनी तगडा छन् । बलमाथि अविश्वसनीय रूपमा नियन्त्रण राख्छन् । उनको खेलको सबैभन्दा ठूलो विशेषता भनेको जस्तै भूमिका खेल्न सक्ने हो, अलराउन्डरका रूपमा । ‘डु इट अल मिडफिल्डर’ एउटा नयाँ शब्दावली जस्तै हो । त्यसको अर्थ हो, जस्तो जिम्मेवारी आइपुग्यो, मिडफिल्डमा त्यसै अनुसार खेल्ने । चाहिएको बेला आक्रमण गर्ने । अनि चाहिएको बेला डिफेन्समा पनि उत्रने । उनी साँच्चै कत्तिको खेलाडी हुन्, त्यसको बखान गर्न एउटा खेल र त्यसमा गरेको उनको एक गोलले पुग्छ । यसपल्टको युरोको अन्तिम १६ मा इंग्ल्यान्ड स्लोभाकियाविरुद्ध भिडेको थियो ।
त्यस खेलमा केही सेकेन्ड मात्र बाँकी छँदा इंग्ल्यान्ड एक गोलले पछाडि थियो । प्रतियोगिताबाट बाहिरिने संघारमा थियो । इंग्ल्यान्डका समर्थकले त्यो स्थितिलाई पछाउनै सकेनन्, त्यसैले खेल सकिन अगाडि नै रंगशाला छाडिसकेका थिए । तर त्यही केही अन्तिम सेकेन्डमा बेलिङघमले युरो इतिहासकै एक उत्कृष्ट गोल गरे । उनले ओभर हेड किकको मदतले पेनाल्टी एरियाबाट गोल गरेका हुन् । त्यसलाई हाम्रोतिर बाइसाइकल किक पनि भनिन्छ । यो गोललाई शब्दमा बयान गर्नुभन्दा भिडियो रिप्लेमै हेरेको राम्रो । यसको क्लिप सजिलै उपलब्ध छ । अनि यसलाई हेरिसकेपछि भन्न बाध्य हुन्छ, गोल हुनु त यस्तो । यति धेरै जबरजस्त गोल थियो, त्यो । अनि सार के हो भन्दा यामल र बेलिङघम जस्ता खेलाडीले प्रमाणित गरेका छैनन् र विश्व फुटबलमा नयाँ पुस्ता अगाडि आउँदै छ भनेर ?