You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
Page 4
Page 5
Page 6
Page 7
सम्पादकीय

कालापानीले मागेको राष्ट्रिय एकता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो साता सम्पादकहरूसँग ‘दिल्लीसँगको सम्बन्ध सम्मानजनक अवस्थामा आइपुगेको’ दाबी गरेकै दिन भारतबाट नयाँ नक्सा सार्वजनिक भएको सूचना चुहियो । द्विदेशीय सीमांकन गर्दा काठमाडौँसँग परामर्श गर्नुपर्ने कूटनीतिक अनिवार्यता भुलेर दक्षिणी छिमेकी प्रस्तुत भयो । यस्तोमा नेपालले नाकाबन्दीपछि नयाँ शिराबाट अघि बढेको भनिएको सम्बन्धबारे फेरि एकपल्ट पुनर्विचार गर्नुपर्ने भएको छ ।
सुदूरपश्चिम पहाडको कालापानी क्षेत्रअन्तर्गतका नेपाल–भारत सिमानामाथि किचलो उठेको यो पहिलोपल्ट होइन । सुगौली सन्धिमै काली नदी द्विदेशीय सिमाना मानिने, नेपाली पक्षले त्यसउता नचिहाउने, भारतीय पक्ष पनि यता नपस्ने उल्लेख छ । तर हाम्रो राष्ट्रिय स्मरणलाई अभिव्यक्त गर्ने कागजपत्रको व्यवस्थापन अनि तिनको व्याख्यामा देखिएको कमजोरीबाट भारतीय पक्षले फाइदा उठाइरहेको बुझ्न सकिन्छ । अनि अरू बेला
आफ्ना अडानमा रहने तत्कालीन राजसंस्था, प्रजातन्त्रयता खुलेका राजनीतिक दलहरू, पूर्वप्रधानमन्त्रीहरू, विभागीय मन्त्रालयको आत्मविश्वास समयमै प्रकट नभएको तीतो विगत छ ।
कालापानीमा यसपालि त्यस्तो नहोस् । नेपालले भारतलाई आफ्नो परिपक्व कूटनीतिक अडान र पहलकदमीबाट जवाफ दिनुपर्ने बेला आएको छ । हेर्दाखेरी जम्मु कश्मीरको राजनीतिक अधिकार र सीमाका कारण ७० वर्षयताको प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतले कडा राष्ट्रवादी रुझान पोख्न खोजेको देखिन्छ । तर त्यसको प्रत्यक्ष असर भने नेपाली पक्षले भोग्दै छ । नेपालको राज्य अनि प्रत्येक जागरुक नागरिकका लागि आफ्नो स्वरले यसबेला अर्थ राख्नेछ । सडकमा उठेका नागरिक आक्रोश बिलकुलै जायज छन् । सरकारले भने समस्याको निदान संवादमार्फत मात्रै व्यक्त गर्न सक्छ । चार वर्षअघि भारतको अर्को छिमेकी बंगलादेशले त्यस्तै द्विदेशीय सीमा विवाद वार्ता र सम्झौतामार्फत हल गरेको दृष्टान्त छ ।
दिल्ली संस्थापनले यसबेला बुझ्नुपर्नेछ– त्यहाँ जुनसुकै पार्टी सत्तामा आउने गरे पनि नेपालमाथि बलमिच्याइँको शृंखला अहिलेसम्म रोकिएको छैन । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग आफ्नो सम्बन्ध औपचारिक नभई आत्मीय रहेको दाबी गर्ने गरेका छन् । बोलीलाई व्यवहारमा उतार्ने हो भने चार वर्षअघि नेपालमा जारी संविधानको निहुँमा भारतीय पक्षबाट थोपरिएको नाकाबन्दीले उत्पन्न गरेका खराब प्रभावबाट मोदी सरकारले सिक्नुपर्छ । लिम्पियाधुरा, कालापानी, लिपुलेकमा नेपाली भूभागतर्फ मिचिएको सिमानालाई सदर गराउने अनि त्यहाँ आफ्ना सेना अझै पनि राखिराख्ने रवैया हेर्दा लाग्छ, भारतीय पक्षले अझै पाठ सिक्न खोजेको छैन ।
परराष्ट्र मन्त्रालयले वक्तव्यमार्फत भारतीय कदमको विरोध जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक डाकेका छन् । उनी स्वयं यसबारे प्रस्ट गर्न २५ कात्तिकमा संसदीय समिति जाँदै छन् । सरकारका सुरुआती कदम ठीकै दिशातर्फ अघि बढेका देखिन्छन् । यसलाई बिनाउत्तेजना निष्कर्षमा पुर्‍याउने दायित्व सरकारसमक्ष छ । प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय बलमिच्याइँविरुद्ध रोष प्रकट गरेर राष्ट्रलाई सही सन्देश प्रवाह गर्न खोजेका छन् । कुनै पनि राष्ट्रका सामुन्ने आउने यस किसिमका संकटलाई दल, क्षेत्र वा समुदायविशेषको नजरबाट माथि उठेर समाधान गर्न अघि बढ्नु नै सही बाटो हो । यस अर्थमा यो राष्ट्रिय एकता दर्शाउने अभूतपूर्व अवसर पनि हो ।
नेपाल सिमानाको विषयलाई लिएर कुनै पनि छिमेकीविरुद्ध युद्धमा जान चाहन्न । त्यो सुझबुझपूर्ण विकल्प हुन सक्दैन । तर यसको मतलब यो होइन, सरकार मूक बसेर राष्ट्रिय अडानमा सम्झौता गरोस् ।

Page 8
Page 9
Page 10
Page 11
मुलुकबाहिर

टेपवर्मले १५ वर्ष दिमाग खाएपछि

- नेपाल संवाददाता

मस्तिष्क शरीरको सबैभन्दा महफ्वपूर्ण भाग हो । मस्तिष्क यति विकसित नहुँदो हो त मानव जीवन अन्य प्राणीभन्दा फरक हुने थिएन । तर यति महफ्वपूर्ण मस्तिष्कमा टेपवर्मजस्तो खतरनाक परजीवीले १५ वर्षदेखि घर बनाए के होला ?
वाङ लेई नामका चिनियाँ युवाको मस्तिष्क टेपवर्मले १५ वर्षदेखि बिस्तारै खाँदै गरेको मिररडटकोडटयुकेले जनाएको छ । अनलाइनअनुसार सन् २००७ देखि नै वाङको बायाँ भागको मस्तिष्क अचेत हुँदै गएको थियो ।
विशेषज्ञहरुले धेरै पटक उनको अवस्था हेरेर मस्तिष्कमा ट्युमरको आशंकामा उपचार गरेका थिए । तर रोग निको हुनुको साटो स्वास्थ्य झन् खराब हुँदै गयो र बारम्बार बेहोस भइरहे । सन् २०१८ मा मात्र डाक्टरले वाङको मस्तिष्कमा टेपवर्म रहेको पत्ता लगाए । तर टेपवर्म बसेको ठाउँ अप्रेसन गर्दा ज्यानै जान सक्ने भएकाले अन्य उपचार गर्न डाक्टरले सल्लाह दिए ।
भर्खरै उनले चीनको ग्याङडोङ सान्जिउ ब्रेन हस्पिटलमा अप्रेसन गरेर टेपवर्म हटाएका छन् । दुई घन्टाको अप्रेसनपछि स्पारगानम म्यानसोनी प्यारासाइट वाङको मस्तिष्कबाट झिकिएको हो ।

त्यस बखतको नेपाल

बुनू केसीको करिश्मा

- नेपाल संवाददाता

किन करिश्मा कभर पेजमा ? यो प्रश्न धेरै पाठकहरूको मनमा आउन सक्छ । यही प्रश्नमाथि नेपाल पाक्षिकभित्रै कार्यरत हामी आफैंले पनि धेरै छलफल गरेका थियौं । र, अन्ततः यो निष्कर्षमा पुगिएको थियो कि तीन वर्ष नपुग्दै पिता गुमाएकी, आमाको सानो किराना पसलबाट जीविका धान्दै एउटा गार्मेन्ट फ्याक्टरीमा कपडा गन्ने कामसमेत गरेकी बालिका बुनू के.सी. कसरी आज सम्भवतः सबैभन्दा बढी चिनिने नायिका करिश्मा मानन्धरको स्थानसम्म आइपुगिन्– त्यो कहानीले विशिष्ट महत्त्व राख्दछ । यो बुनू केसीबाट करिश्मा मानन्धरसम्मको कथा नभएर नेपाली चलचित्र उद्योगको विकासको कथा पनि हो । आगामी दिनहरूमा पनि हामी बिनाहिचकिचाहट गैरराजनीतिक व्यक्तित्वहरूलाई पत्रिकाको ‘कभर स्टोरी’ बनाएर नेपाली मूलधार पत्रकारिताबाट राजनीति र राजनीतिज्ञहरूको एकाधिकारलाई तोडिदिने प्रयास गर्नेछौं ।
कला, संस्कृति, साहित्य, उद्योग, व्यापार आदि पनि ती चाहिने धेरै चीजमध्येका हुन् । जबसम्म राष्ट्रको सम्पूर्णतामा विकास हुँदैन, ‘राजनीति’ मात्र मूलधार पत्रकारितामा अनावश्यक एकाधिकार जमाएर बसिरहन्छ र जबसम्म समाजमा हुनुपर्ने हदसम्म ‘डिपोलिटिसाइजेसन’ हुँदैन, तबसम्म समाजले महसुस गर्न सक्ने परिवर्तन आउँदैन ।
नेपाल, १–१५ मंसिर २०५७

Page 12
परिहास

देउवालाई रिस किन उठ्छ ?

- सुरेश किरण

नेपाली कांग्रेस समर्थित नेविसंघले बूढाखाडा नेताहरुलाई संघको पदाधिकारी बनाएकामा विरोध जनाएको छ । विद्यार्थी संघमा बूढाहरु किन ?
अहिले नेविसंघ कार्यकर्ताको माग नै यही रहेको छ । नेविसंघले यस्तो माग तेर्स्याएपछि पार्टी सभापति शेरबहादुर देउवा भने अत्यन्तै रिसाए । टेलिभिजनमा प्रसारणै गर्न नमिल्नेसम्मको शब्द प्रयोग गरी कार्यकर्तालाई गाली गरे । त्यो स्वाभाविकै हो । किन स्वाभाविक भने विद्यार्थी संघ भन्दैमा त्यहाा बूढाहरु राख्नै हुादैन भन्ने केही छ ?
हाम्रो त भनाइ नै छ, विद्या आर्जन गर्न उमेरले छेक्दैन । जो विद्या आर्जन गर्छन्, ती विद्यार्थी हुन् । अहिले पनि हेर्नुस्, ६५ वर्ष उमेर पुगेका बूढा विद्यार्थी नातिनातिनासाग एसईई परीक्षा दिन आइरहेका छन् । विद्यार्थी संघ भनेपछि उमेर जतिसुकै होस्, विद्यार्थीलाई सदस्य हुने अधिकार दिनैपर्छ ।
पोहोर साल हेर्नुस्, नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई पास गरे । अहिले उनीहरु प्लस टू पढिरहेका छन् । भोलि करिश्माले नेविसंघको सदस्यता मागिन् भने दिन्न भन्न पाइन्छ ? अब यसरी करिश्मालाई समेत सदस्यता दिनबाट रोक्ने खालको माग तेर्स्याएपछि देउवालाई रिस उठ्दैन ?

परिहास

बिरामी मिर्गौला

- सुरेश किरण

प्रधानमन्त्री केपी ओली बिरामी परेको समाचार सार्वजनिक भएपछि देशैभरिबाट सुझाव आउन थालेका छन्– अब प्रधानमन्त्रीले पद छाड्नुपर्छ, आराम लिनुपर्छ ।
सुझाव दिनु त राम्रै हो । तर दिइएजति सबै सुझाव लिनु भने राम्रो हुन्न । किनभने सबै सुझाव लिन सम्भवै हुँदैन । सम्भवै नभएको काम गरेपछि कसरी राम्रो हुन्छ ?
शुभचिन्तक, पार्टी नेता एवं कार्यकर्ता सबैले भनिरहेका छन्, प्रधानमन्त्री ओली अहिले बिरामी छन् । वास्तवमा पहिलो कुरो त के भने यो बिरामी भन्ने कुरो नै मिल्दैन । किनभने अहिले जो बिरामी परेको चर्चा छ, त्यो प्रधानमन्त्री ओली बिरामी परेका होइनन् । प्रधानमन्त्री आफैँले भनेका छन्– म बिरामी भएको छैन, मेरो मिर्गौला मात्रै बिरामी भएको हो ।
कुरो त प्रस्टै छ । प्रधानमन्त्री ओली अहिलेसम्म बिरामी भएकै छैनन् । बिरामी त उनको मिर्गौला मात्रै भएको हो । अब मिर्गौलालाई कसरी ठीक पार्ने हो ? त्यो डाक्टरको काम भयो, त्यसमा प्रधानमन्त्रीले चिन्ता लिनुपर्ने कुरै छैन ।
प्रिय पाठक वृन्द ! अब भन्नुस्, जो मान्छे बिरामी नै परेकै छैन, उसले आराम किन लिने ? अब आराम लिनैपर्ने हो भने पनि बालुवाटारमा जत्तिको आराम त अरु कहाा मिल्ला र ? होइन त ?

परिहास

भैँसागाडामा हेटौँडा

- महर्षि

उहिले केपी ओली बयलगाढा चढेर अमेरिका (गणतन्त्र) मा पुगिन्न भन्थे क्यारे । तर उनले चाहे भैँसागाढा चढेर प्रदेश प्रमुखसम्म भने पुगिने रहेछ । ०७४ को चुनावमा मेचीनगर नगरपालिकाको मेयरका लागि उम्मेदवार बनेका विष्णु प्रसाई भैँसागाडा चढेर हिँडे पनि कतै पुगेनन् । त्यसको २० महिनापछि भने भैँसागाडालाई हेटौँडा पुर्‍याएका छन्, प्रदेश प्रमुख बनेर ।

परिहास

छिमेकी होडबाजी

- छुल्याहा गुरु

नेपालमा आफ्नो प्रभाव जमाउने विषयमा चीन र भारतको होडबाजी चलिरहन्छ । केही अघि चीनका ६ जना चोर आएर नेपालका एटीएम ह्याक गरी लाखौँ रुपैयाँ चोरी गरे । भारत मात्र के कम ! एक भीआइपी भारतीय चोर गाडी लिएर नेपाल छिरेछ र एक्लैले झापालगायत ठाउँमा दस मिनेटभित्रै चोरी गर्न सफल भएछ । ६ जना बराबर एक भन्दै भारत दंग ।

परिहास

उपेन्द्रको चित्त

- लाल कुमाल

‘के उपेन्द्र यादव सरकारबाट बाहिरिएलान् ?’ बेमौसमी जोखना हेर्न पनि गाह्रो के ! उहिले–उहिले विजय गच्छदार, कमल थापा, कृष्णबहादुर महरालाई लोकसेवा पास बाह्रमासे मन्त्री भनेर खिस्याउने उपेन्द्र अहिले उनीहरुकै लहरमा विराजमान छन् । गाइँगुइँ सुनिन्छ, उनको पार्टीका प्रदेश प्रमुखलाई एक शब्द नसोधी हटाइयो । (सोधेर हटाएको भए मन्त्रीजीको चित्त दुख्दैनथ्यो ।) यतिका समयसम्म संविधान संशोधनको गुन्जायस छैन । (यो त जति ढिला भो, उति हाइसन्चोले मन्त्री खाने काइदा हो ।) जसले जति भाके पनि उपेन्द्रले सरकार छाड्दैनन् । प्रधानमन्त्री हुने ग्यारेन्टी नभई मन्त्री किन छाड्ने ? अब केपी ओली नै सरकारबाट बाहिरिएचाहिँ कुरा बेग्लै हो ।

Page 13
परिहास

सानेपामा प्रतिपक्षीय भूमिका

- सुरेश किरण

पछिल्लो समय नेपाली कांग्रेसका गतिविधि हेर्दा यस्तो लाग्छ, अब कांग्रेस पुनः पूर्ण शक्तिका लागि आफ्नो प्रतिपक्षीय भूमिकामा फर्केको छ । केही समय भयो, देशमा प्रतिपक्षी शून्य भइरहेको । कुनै भूमिका नभएका कारण मानिस प्रतिपक्षी खोइ भनेर खोज्न थालिसकेका थिए । सायद त्यसैले पनि होला, कांग्रेस पुनः प्रतिपक्षीय भूमिकामा फर्केको ।
कांग्रेस प्रतिपक्षीय भूमिकामा फर्क्यो भन्नुभन्दा पहिले यो बुझ्नु जरुरी हुन्छ कि यो प्रतिपक्षीय भूमिका भनेको के
हो ? प्रतिपक्षीय भूमिका भनेको मूलतः विरोध गर्नु, नाराबाजी गर्नु, जुलुस निकाल्नु, पर्चा–पम्प्लेट प्रदर्शन गर्नु आदि–इत्यादिलाई बुझ्न सकिन्छ । कांग्रेसले प्रतिपक्षी पार्टी भईकन पनि यस्तो कुनै गतिविधि नगरेको धेरै भइसक्यो ।
सायद अहिले कांग्रेसको चेत खुलेको छ । त्यसैले कांग्रेसका विभिन्न भ्रातृ संगठन अहिले यिनै प्रतिपक्षीय गतिविधिका साथ प्रकट हुन थालेका छन् । त्यसको पहिलो प्रदर्शन गत साता कांग्रेस केन्द्रीय कार्यालय सानेपामै देखियो । नेविसंघका भाइबहिनीले पार्टी कार्यालयमै बसेर नाराबाजी गरे । पर्चा बााडे । पम्प्लेट देखाए । नेताहरु आउादा घेराबन्दी पनि गरे ।
भलै पार्टीको आफ्नै कार्यालयमा गरेको किन नहोस्, प्रतिपक्षी सुहाउादो गतिविधि भने अवश्य थियो । त्यसमाथि पार्टी सभापति शेरबहादुर देउवाले अर्को सुहाउादो गतिविधि देखाए । नाराबाजी गर्ने कार्यकर्तालाई उनले पूरा अपशब्दका साथ गाली गरे ।
गालीमा के शब्द (अथवा अपशब्द) प्रयोग गरिएको थियो, त्यो हामीलाई थाहा भएन । किनभने टेलिभिजनहरुले त्यो शब्दै बजाएनन्, ‘म्यूट’ गरिदिए । तर शब्द ‘म्यूट’ गरिए पनि त्यसको भाव भने सुन्न सकिन्थ्यो । प्रतिपक्षीको अर्को काम गाली गर्नु पनि हो । प्रतिपक्षी नेता देउवाले त्यो पनि पूरा गरेका छन् । भलै त्यो आफ्नै कार्यकर्तालाई गरेको गाली किन नहोस्, प्रतिपक्षी चरित्र त पूरै देखाए नि । यसमा हामी किन खुसी नहुने ?

परिहास

अकुपाई टुँडिखेल !

- सुरेश किरण

काठमाडौँका जुझारु सम्पदाप्रेमीको एक समूहले गत साता पूरा माखेसाङ्लो बनाएर टुाडिखेल घेर्‍यो । टुाडिखेल घेर्ने त्यो कार्यक्रमलाई ‘अकुपाई टुाडिखेल’ नाम दिइएको थियो ।
आफू पनि सम्पदाप्रेमी भएको नाताले ‘अकुपाई टुाडिखेल’ लाई समर्थन नगर्ने कुरै भएन । तर ‘अकुपाई टुाडिखेल’ भनेर जस्तोसुकै भव्य कार्यक्रम गरे पनि यो सम्पदाप्रेमीको मौलिक अथवा नितान्त नौलो कार्यक्रम भने होइन । किनभने यस्तो ‘अकुपाई टुाडिखेल’ कार्यक्रम सम्पदाप्रेमी आउनुभन्दा धेरै नै पहिले नेपाली सेनाले सम्पन्न गरिसकेको छ । नपत्याए हेर्न जानुस्, नेपाली सेनाले काठमाडौँको सानो टुाडिखेल पूरै ‘अकुपाई’ गरिसकेको छ । ठूलो टुाडिखेल पनि ‘हाफ अकुपाई’ गरिसकेको छ, ‘हाफ’ मात्रै बााकी छ । यसोउसो गर्दा ७५ प्रतिशत टुाडिखेल त सेनाले उहिल्यै ‘अकुपाई’ गरिसक्यो । अब हामी बचेखुचेको २५ प्रतिशत टुाडिखेल मात्रै आफूले ‘अकुपाई’ गरी ७५ प्रतिशतचाहिा सेनालाई नै ‘अकुपाई’ गर्न दिने दिशातिर लागेका हौँ ?

परिहास

पार्टीभित्रका विपक्षी

- भर्जिन ब्वाय

माधवकुमार नेपाल अचेल टेन्सनमा छन् । केपी–पीके पाइलट आसनमा छन् । दुई तिहाइको सरकार र पार्टी अन्धाधुन्ध उडारहेकै छन् । माधव कहिले चेपुवामा पार्छन्, कहिले तानातानमा गुल्ट्याइन्छन् । हुँदाहुँदा हरुवाहरु प्रदेश प्रमुख बने । उनलाई झोँक चल्यो । नोट अफ डिसेन्टसम्म धस्काए । दुई क्षेत्रमा सानदार ढंगले हारेर पनि प्रधानमन्त्री भोगिसकेको सायद उनले बिर्से । डबल नेकपाले गतिलो प्रतिपक्ष नपाए पनि कम्तीमा पार्टीभित्रचाहिँ माधव कमरेडलाई झेलेकै छ ।

Page 14
हाम्रो नेपालमा

मृतात्माको सम्झना

- सुनिता लोहनी
तस्बिर : सरोज बैजु

३१ अक्टोबरमा क्रिस्चियन धर्मावलम्बीले हलोविन मनाए । हलोविन अर्थात् मृतात्मालाई सम्झने दिन ।
मृतकको सम्झनास्वरूप धर्मैपिच्छे विभिन्न चाडपर्व छन् । नेपालमै पनि मृतकको सम्झनामा गाईजात्रा मनाउने चलन छ भने भूतप्रेतलाई पूजा मन्छाउने पर्वको रूपमा गठेमंगल । तर हलोविनजस्तो नेपाली गाईजात्रा र गठेमंगलको ब्रान्डिङ भने त्यहीअनुरूप हुन सकेको छैन ।
कुनै बेला प्यागन (प्रकृतिलाई पूजा गर्ने) संस्कृतिमा मनाइने हलोविन पछिल्लो समय क्रिस्चियानिटीको नामबाट विश्वभर चर्चित भइरहेको छ । खासमा हलोविन मरेका, योगी र सहिदको सम्झनामा मनाउने चलन छ । फर्सीको टाउकोमा बत्ती, आगो बालेर, मुखले च्यापेर स्याउ निकाल्ने र व्यक्तिको भविष्य बताउने भविष्यवाणीजस्ता खेल खेलेर, भूतको चलचित्र हेरेर र भूतका कथा भनेर मनाइन्छ ।
हलोविनको अर्को विशेषता यसको कस्ट्युम अर्थात् पोसाक हो । कसैको आङ नै सिरिंग गर्ने खालका डरलाग्दा मेकअप र कस्ट्युम लगाएर हलोविन मनाइने चलन छ । नेपाल किन पछि पर्थ्यो र Û ३१ अक्टोबरमा ठमेल, दरबारमार्ग, पोखराजस्ता सहरमा त्यस्तै दृश्य देखिए । कालो, सेतो, कतै त्रिशूलजस्तो बोकेको गेटअपमा युवा जमात बाहिर निक्लिए, हलोविन मनाउन । उनीहरूको पोसाक, अनुहारमा लगाएका जंगली मनुवाजस्तो मेकअप, भूतका चलचित्रमा पात्रले लगाएका पहिरनमा सजिएका युवायुवती हेर्ने मान्छेको भीड लागेको थियो ।
हलोविन संसारमा र युवायुवतीमा मात्र होइन, सेलिब्रिटीमाझ पनि उत्तिकै चर्चित छ । हलिउडका सेलिब्रिटी हलोविनको कस्ट्युममा ठूल्ठूला पार्टीमा सहभागी भएका समाचार सञ्चार माध्यममा चर्चित बनेका थिए । मेट्रोडटकोडटयुकेले त उत्कृष्ट हलोविन पहिरन भन्दै १० सेलिब्रिटीको नामै सार्वजनिक गरेको थियो । त्यसमा हेइडी क्लमले लगाएको पहिरन फ्र्यान्केस्टाइन र स्पेसिज चलचित्रबाट प्रभावित एलियन लुक बनाएकी थिइन् । फ्र्यान्केस्टाइनको जस्तो कंकाल शरीर र एलियनको जस्तो टाउकाले उनी डरलाग्दी र अद्भुत देखिन्थिन् ।

Page 15
Page 16
स्मरण

शिख समुदायको नेपाल साइनो

- प्रीतम सिंह

‘सडक बादशाह’ को उपमा पाएको शिख समुदायले नेपाललाई कहिलेदेखि थातथलो बनाएको थियो भन्नेमा प्राचीन–आधुनिक दुवै मत पाइन्छन् । शिख समुदायले नेपाललाई धार्मिक, सैनिक सहयोग र ट्रान्सपोर्ट व्यवसाय सञ्चालनार्थ थातथलो बनाएको विभिन्न घटनाले देखाएका छन् ।
पहिलो मतअनुसार मल्लकालीन राजा जयजगत मल्लको समय शिख गुरु आदिदेव धार्मिक यात्राका क्रममा काठमाडौँ आएका रहेछन् । तिनै शिख गुरुले राजाका मानसिक सन्तुलन गुमाएका छोरालाई बिसेक गरिदिएपछि बालाजु, म्हैपीमा करिब १६ सय रोपनी जग्गा बक्सिसस्वरुप पाएछन् । त्यसपछि शिख समुदाय काठमाडौँ उपत्यकामा बस्न थालेको मानिन्छ ।
ब्रिटिस शासनकालमा करिब डेढ सय वर्षअघि शिख समुदाय नेपाल आएको अर्को प्रसंग पनि छ । भारतमा अंग्रेजको पोल्टामा पुगिनसकेको स्वतन्त्र पञ्जाब राष्ट्र र संसारमै बहादुर लडाकुको देशका रुपमा परिचित नेपालबीच भाइचारा सम्बन्ध थियो । ब्रिटिस अंग्रेजसँगको लडाइँमा पराजित हुनु परेपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पञ्जाबका महाराजा रणजीत सिंहसँग सैनिक सहयोग मागे । महाराजा सिंहले नेपालको सहयोगार्थ शिख सेना पठाए । अमरसिंह थापा सेनापति थिए । तर, नेपाल–अंग्रेजबीच सुगौली सन्धि भयो । त्यसपछि नेपालको सहयोगार्थ आएको १० हजार सैनिकसहितको परिवारलाई बाँके नेपालगन्जमा बसालिएको सन्दर्भ शिख हेरिटेज अफ नेपाल पुस्तकमा छ ।
नेपालगन्जलाई थातथलो बनाएकै कारण अहिले पनि बाँकेका शिखनापुर, जमुनाह, वनकटहवा, बकौली, मनिपुर्वालगायत स्थानमा शिख समुदायको बाक्लो बस्ती छ । यही शिख समुदायले भारतमा अंग्रेज शासन अन्त्यसँगै भारत–पाकिस्तान विभाजनको पीडा पनि खेपेको थियो ।
पछिल्लो समय शिख समुदायको नेपाल प्रवेश सन्दर्भमा म आफैँ जोडिएँ । ट्रान्सपोर्ट व्यवसायलाई विस्तार गर्ने उद्देश्यले नेपाल प्रवेश गर्‍यौँ, सन् १९५६ मा । नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्‍यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे । जम्मु कश्मीरबाटै आएको यातायात जनशक्तिले कालान्तरमा ड्राइभर, मेकानिक्स, प्लम्बरजस्ता काममा नेपालीलाई दक्ष बनायो ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरका कम्पनी चलाउन परिवारका सदस्य र ट्रान्सपोर्टमा कार्यरत जनशक्तिले पनि नेपालका मुख्य सहरलाई आफ्नो थातथलो बनाए । काठमाडौँ मुख्य स्थल छँदै थियो । काठमाडौँपछि पहिलोपल्ट सन् १९६० मा शिख समुदाय वीरगन्ज पुग्यो । त्यहाँ पुगेपछि थातबास बनायो । यातायात विस्तारकै क्रममा केहीले बुटवल, कृष्णनगरलाई बासस्थान बनाए भने केहीले धनगढीमा अड्डा जमाए । केहीले नेपालगन्जलाई पनि रोजे ।
दुई–तीन सय वर्ष अघिदेखि बाँकेलाई थातथलो बनाउँदै आएका शिख नेपाली नागरिक भइसकेका छन् । नेपाली नागरिकता पनि प्राप्त गरिसकेका छन् । तिनीहरु थोरै संख्यामै भए पनि पुलिस, सशस्त्र प्रहरी, प्राविधिकजस्ता सरकारी पदमा कार्यरत छन् । बाँकेका विभिन्न स्थानमा बस्ने शिख समुदायको संख्या अहिले ५ हजारजति होला । ६२ वर्षदेखि ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा नेपाल आएको १० हजार जनशक्तिमध्ये अहिले विविध कारणले यस्तै ३ हजार मात्र होला । कामका लागि नेपाल बसेको ठूलो हिस्सा भने विविध कारणवश आफ्नै देश फर्कियो ।
नेपालमा शिख समुदायको थातथलो बढ्दै गयो । हाम्रै कम्पनीका लागि जम्मु कश्मीरबाट आएको जनशक्ति नेपाल बसेको दशकौँ भइसकेको थियो । पञ्चायत समय नेपालमा नागरिकता प्रावधानमा कडाइ थियो । ट्रान्सपोर्ट व्यवसाय विस्तार र त्यसका अप्ठेरा फुकाउन बेलाबेला राजा महेन्द्रले मलाई दरबारमा निम्तो गर्थे । त्यही बेला मैले राजासँग नागरिकता विषयमा पनि कुरा उठाएँ । राजा महेन्द्रले नागरिकता पाउन इच्छुक शिख समुदायका व्यक्तिको नाम मागे ।
राजा महेन्द्रको विकास क्षेत्र भ्रमणअन्तर्गत हेटौँडा सवारी भएको थियो । त्यतिबेलै शिख समुदायको अगुवाइ गर्दै राजालाई भेट्न म हेटौँडा गएँ । हाम्रो समुदायका तर्फबाट डेढ–दुई सयको नाम टिपायौँ । पछि राजासँग दरबारमा भेट हुँदा शिख समुदायका व्यक्तिको नागरिकता बनाउन गृह मन्त्रालयमा कारबाहीका लागि अगाडि बढाएको मलाई जानकारी दिएका थिए । तर हामीले बुझाएको २ सयको संख्यामध्ये १७ जनाले मात्र नागरिकता पाए । नेपालमा यातायात सुरु भएदेखि नै ट्रान्सपोर्ट व्यवसायमा संलग्न म आफैँ पनि अहिलेसम्म नेपाली नागरिक हुन पाएको छैन ।
शिख समुदाय सहिष्णु भएकै कारण नेपालको मुस्लिम बहुल क्षेत्रमा वर्षौंदेखि अड्डा जमाएरै बसेको छ । शिख हिन्दु धर्म सम्प्रदायका भए पनि सामाजिक अन्तरघुलनकै कारण नेपालगन्ज, वीरगन्ज, कृष्णनगरजस्ता मुस्लिम क्षेत्रमा बाक्लो बस्ती बसाउन सकेका हुन् ।

Page 17
शिक्षा

त्रिविको ढाकछोप

प्रश्नपत्रसम्बन्धी विवाद लुकाउन एकपछि अर्को गल्ती
- कल्पना भट्टराई

२९ पुस ०७५ मा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र स्नातकोत्तर तह फस्ट सेमेस्टरको पुरानो पाठ्यक्रम क्वान्टम मेकानिक्स विषयको परीक्षा केन्द्र थियो, महेन्द्ररत्न क्याम्पस ताहाचल । विद्यार्थीले पाठ्यक्रमबाहिरबाट प्रश्नपत्र आएको होहल्ला गरेपछि केन्द्राध्यक्षले वितरण गरिसकेको प्रश्नपत्र फिर्ता लिए र त्रिविमा खबर गरे ।
त्रिविबाट आएका विज्ञान तथा प्रविधि अध्ययन संस्थानको परीक्षा शाखा प्रमुख एवं सहायक डीन तेजबहादुर बिसी र विषय स्थायी समिति सदस्य प्रा नारायणप्रसाद अधिकारीले परीक्षा नरोक्न निर्देशन दिए । पाटन बहुमुखी क्याम्पसका विद्यार्थी रमेश भण्डारी भन्छन्, “डेढ घन्टापछि फेरि त्यही प्रश्नपत्र बाँडेर परीक्षा सञ्चालन गरियो । पढेर आए पनि पाठ्यक्रम बाहिरबाट प्रश्न आउँदा राम्ररी लेख्न सकिनँ ।”
उनले त्यस विषयमा ‘बी’ ग्रेड ल्याएका छन् । भण्डारीसँगै परीक्षा दिएका सेन्ट जेभियर्स कलेजका चिन्ताहरण साहले पनि ‘बी’ प्लस ग्रेड ल्याएका छन् । “पाठ्यक्रमबाट नभई बाहिरबाट प्रश्न आउँदा फेल भइन्छ कि भन्ने डर थियो । धन्न पास भइयो,” उनी भन्छन् ।
पाठ्यक्रमबाहिरबाट प्रश्न सोधिएको र एक पटक वितरण गरिएको प्रश्नपत्र पुनः वितरण गरी परीक्षा सञ्चालन गरिएको भन्दै २० विद्यार्थीले परीक्षा दिएनन् । परीक्षा नदिएका निरज सिंह भन्छन्, “प्रश्नपत्रको गोपनीयतामाथि प्रश्न उठेकाले परीक्षा रद्द गरेर पुनः परीक्षा गर्नुपर्छ ।” साढे १२ बजे प्रश्नपत्र बाँडेर फिर्ता लिई डेढ घन्टापछि पुनः सोही प्रश्नपत्रबाट परीक्षा लिँदा त्यसको वैधता नहुने उनको दाबी छ ।
परीक्षा शाखा प्रमुख एवं सहायक डीन बिसीले सतर्कता केन्द्रलाई पठाएको जवाफमा पाठ्यक्रमबाहिरबाट प्रश्नपत्र आएको भन्दै विद्यार्थीले हल्ला गरेपछि वितरण भइसकेको प्रश्नपत्र र उत्तरपुस्तिका नियन्त्रणमा लिई पुनः परीक्षा सञ्चालन गरिएको उल्लेख छ ।
विद्यार्थीले उक्त दिनको परीक्षा रद्द गरी अर्को परीक्षा सञ्चालन गर्न डीन कार्यालयलाई सोही दिन निवेदन दिएका थिए । उक्त परीक्षा केन्द्रमा नयाँ र पुरानो पाठ्यक्रमका ८२ विद्यार्थीमध्ये ४७ जनाले परीक्षा दिएका थिए । सबै प्रश्न नयाँ पाठ्यक्रमसँग मिलेपछि उक्त प्रश्नपत्रबाट परीक्षा दिन लगाइएको सेन्ट जेभियर्स कलेजका नयाँ पाठ्यक्रमका विद्यार्थी अनिल सापकोटा बताउँछन् ।
सापकोटाका अनुसार नयाँ पाठ्यक्रमका केही प्रश्न पनि बाहिरबाट सोधिएकाले त्यसका प्रश्नपत्र फिर्ता लिएर पुरानो पाठ्यक्रमको प्रश्नपत्रबाट परीक्षा दिन लगाइएको थियो । पुरानो पाठ्यक्रमको तेस्रो सेमेस्टरमा भएको पाठ्यक्रमलाई नयाँ पाठ्यक्रमको प्रथम सेमेस्टरमा समायोजन गरिएको छ । परीक्षामा तेस्रो सेमेस्टरको पाठ्यक्रम पहिलो सेमेस्टरमा सोधिएकाले विद्यार्थीलाई उत्तर लेख्न कठिन भएको उनी बताउँछन् ।
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, ०५० को परिच्छेद (६३) को नियम २४६ को खण्ड (क) मा प्राश्निकबाट प्रश्नपत्र तयार गर्दा नयाँ र पुरानो पाठ्यक्रमको छुट्टाछुट्टै प्रश्नपत्र तयार गर्नुपर्छ । नयाँको प्रश्नपत्र पुरानो पाठ्यक्रमको आधारमा तयार गरे वा पुरानो पाठ्यक्रमको प्रश्नपत्र तयार गर्दा नयाँको आधारमा तयार गरेको प्रमाणित भए प्रश्नपत्र बनाउनेमाथि विभागीय कारबाही हुने व्यवस्था छ ।

अन्तहीन विवाद
प्रश्नपत्रसम्बन्धी विवाद एक वर्ष पुग्न लाग्यो । कामु उपकुलपतिको हैसियतमा शिक्षाध्यक्ष सुधा त्रिपाठीले परीक्षा रद्द गर्नु नपर्ने भनी आफैँले दिएको ८ बुँदे निर्देशन त्रुटिपूर्ण भएको भन्दै फिर्ता लिएकी थिइन् । उनले प्रा सीताराम व्याहुत संयोजकत्वको छानबिन समितिकै निष्कर्षअनुसार निर्णय गर्न डीनलाई निर्देशन दिएकी थिइन् । तर डीनले त्रिपाठीको निर्देशन मानेनन् ।छानबिन समितिले कुल ४५ अंकमध्ये २५ अंकको प्रश्न (अथवा समेत लिएर) पाठ्यक्रमभित्रैबाट र ५ अंकको प्रश्न छ–छैन भनी दुवै अर्थ लाग्ने निष्कर्ष निकालेको छ । समिति संयोजक व्याहुत प्रश्नपत्र प्रतिवेदनमा भनिएअनुसार नै भएको बताउँछन् । छानबिन नटुंगिउन्जेल ट्रान्सक्रिप्ट रोक्का गरिएको थियो ।
२३ वैशाखमा उक्त समितिले शिक्षाध्यक्षको कार्यालयमा उक्त रायसहितको प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदन आएपछि थप निर्णय गर्न कार्यकारी परिषद्मा पठाइएको थियो । तर कार्यकारी परिषद्का तत्कालीन अध्यक्ष तथा उपकुलपति प्रा तीर्थराज खनियाले छानबिन समितिको प्रतिवेदन पुनः शिक्षाध्यक्षको कार्यालयमै फिर्ता पठाएका थिए ।
१२ जेठमा शिक्षाध्यक्ष त्रिपाठीले छानबिन समितिले पाठ्यक्रमबाहिरबाट भने पनि त्यसलाई बाहिरबाट भन्न नमिल्ने र प्रकाशित परीक्षाफलबारे उत्तीर्ण विद्यार्थीले विरोध नगरेकाले परीक्षा रद्द गर्नु नपर्ने
भनी डीन कार्यालयलाई आठ बुँदे निर्देशन दिएकी थिइन् ।छानबिन समितिको प्रतिवेदन र डीन कार्यालयलाई दिइएको आठ बुँदे निर्देशनबारेको जानकारी विद्यार्थीलाई नदिई गुपचुप राखिएको पीडित विद्यार्थी शुक्र दाहाल बताउँछन् ।त्रिविले विवाद विषयमा कुनै पनि कदम नचालेपछि २४ भदौमा पुनः सतर्कता केन्द्र, मुख्यसचिवको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी गरेको पीडित विद्यार्थी आशीष पौडेल सुनाउँछन् । तीनै निकायले उजुरीपछि प्रश्नपत्रको विवाद समाधान गर्न त्रिविलाई निर्देशन दिएका थिए ।
१५ असोजमा उत्तरपुस्तिकाको पुनः परीक्षण गर्न र उत्तरपुस्तिका नष्ट हुनबाट जोगाइदिन सतर्कता केन्द्रमा पीडित विद्यार्थी पोडैलले उजुरी गरेका थिए । ३१ असोजमा पछिल्लो पटक सतर्कता केन्द्रले विवाद समाधान नभएसम्म कुनै पनि उत्तरपुस्तिका धुल्याउने कार्य नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको थियो । केन्द्रले उक्त विवादित उत्तरपुस्तिकाको पुनः परीक्षण गरे–नगरेको विषयको सम्पूर्ण विवरण माग गरेको छ । केन्द्रका प्रवक्ता ज्ञानु सुवेदी माग गरिएअनुसारको विवरण अहिलेसम्म त्रिविले नपठाएको बताउँछन् ।“प्रतिवेदनमा प्रश्न पाठ्यक्रमभित्रबाटै आएको भनिएको छ”, उपकुलपति डा धर्मकान्त बाँस्कोटा भन्छन्, “अब यस विषयमा कुनै पनि छानबिन हुँदैन, च्याप्टर क्लोज भइसक्यो ।”



त्रिविको मनोमानी
विद्यार्थीले पुनः परीक्षा गराउन माग गरी डीन कार्यालयमा निवेदन दिएका थिए । परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस्मिक बैठकबाट निर्णय गर्नुपर्नेमा आठ दिनपछि मात्रै विषय समितिसँग राय माग गरेको थियो ।
भौतिकशास्त्र विभागीय प्रमुख तथा विषय समिति अध्यक्ष प्रा विनिल अर्यालले ‘अत्यन्त जरुरी’ छाप लगाएको पत्रमा तीन दिनभित्र निर्णय गरी प्रतिवेदन उपलब्ध गराउनुपर्छ । अर्यालले विषय समितिको बैठक नबोलाई स्थायी समितिको बैठक बोलाएर ‘प्रश्नहरू पाठ्यक्रमबाहिरबाट नभई भित्रैबाट रहेको’ बेहोराको झुटो रायसहितको प्रतिवेदन डीन कार्यालयमा बुझाएका थिए ।
डीन कार्यालयले सतर्कता केन्द्रलाई पठाएको जवाफमा विषय समितिको बैठकले समेत पाठ्यक्रमभित्रैबाट प्रश्न सोधिएको ठहर गरेको बेहोरा उल्लेख छ । तर डीन कार्यालयले दाबी गरेजस्तो विषय समितिको बैठक नै नबोलाइएको समिति सदस्यहरू बताउँछन् । विषय समितिकी सदस्य प्रा नीलम श्रेष्ठ प्रधान भन्छिन्, “हामी कसैलाई पनि यसबारे बैठक बसेको जानकारीमा छैन ।”
व्याहुत समितिले २३ वैशाखमा बुझाएको प्रतिवेदनमा ३० अंक पाठ्यक्रमभन्दा बाहिरबाट र १० अंक पाठ्यक्रमभित्रैबाट प्रश्न सोधिएको उल्लेख छ । बाँकी १० अंकको प्रश्न भने पाठ्यक्रमभित्रबाट हो वा बाहिरबाट आएको हो, स्पष्ट किटान गरिएको छैन । छानबिन समितिको यो प्रतिवेदनसँगै डीन कार्यालयले सतर्कता केन्द्रलाई पठाएको जवाफ झुटो भएको खुलासा भएको थियो ।
व्याहुत संयोजकत्वको छानबिन समितिको प्रतिवेदनलाई आधार मान्ने हो भने स्थायी समिति र डीन कार्यालयबाट अख्तियारको दुरुपयोग भएको देखिन्छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १९ मा झुटो प्रतिवेदन बुझाउनेलाई कसुरको मात्रा हेरी १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनादेखि १ वर्षसम्म कैद सजाय व्यवस्था छ ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, ०५० को परिच्छेद ५७ मा कार्यकारी परिषद्द्वारा नियुक्त वा तोकिएको सावधिक पदाधिकारीलाई कारबाही प्रक्रिया र सजायको नियम १९८ मा सामान्य सजाय र विशेष सजाय व्यवस्था छ । सामान्य सजायअन्तर्गत सचेत गराउन वा नसिहत दिन सकिन्छ भने विशेषअन्तर्गत पदबाट हटाउन सकिने व्यवस्था छ ।
अर्यालले पाठ्यक्रमबाहिरको प्रश्न नसोधिएको बेहोराको रायसहितको प्रतिवेदन बुझाएपछि डीन कार्यालयले उक्त दिनको परीक्षालाई वैधता दिएको छ । स्रोतका अनुसार प्रश्नपत्र निर्माणमा उनी पनि संलग्न थिए ।
बिसी र अधिकारीले भने परीक्षा केन्द्रमा पुगेर बाहिरिइसकेको प्रश्नपत्रमा परीक्षा दिन आग्रह गरेका थिए । विनिल प्रतिवेदनको सदस्यसमेत रहेका अधिकारी विद्यार्थीले भनेजस्तो पाठ्यक्रमबाहिरबाट प्रश्न नआएको दाबी गर्छन् ।
परीक्षामा प्रश्नपत्रको गोपनीयता भंग भएको, परीक्षाको परिणाम फेरबदल गरेको र प्रश्नपत्र प्रकरणमा मुछिएका विनिल अर्यालले झुटो प्रतिवेदन पेस गरेकाले पुनः परीक्षा गर्नुपर्ने मागसहित विद्यार्थीले २४ चैत ०७५ मा सतर्कता केन्द्रमा उजुरी गरेका थिए ।
५ वैशाखमा सतर्कता केन्द्रले सो विषयमा के भएको हो, प्रतिक्रिया पठाउन निर्देशन दिए पनि डीनले त्यसलाई अटेर गर्दै ११ वैशाखमा परीक्षाफल प्रकाशन गरेका थिए । त्यसको भोलिपल्ट नेविसंघले त्रिविको भौतिकशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेको थियो । दुई महिनासम्म ताला नखुलेपछि विभागीय प्रमुख विनिल अर्यालले विवादित परीक्षा पुनः सञ्चालन गर्ने र सीताराम व्याहुत प्रतिवेदन पालन गर्ने विषयमा सहमति गरेपछि ताला खोलिएको नेविसंघ, विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्य बताउँछन् । भन्छन्, “चार महिना बितिसक्दा पनि उक्त सहमति कार्यान्वयन गरिएको छैन ।”

प्रश्नपत्र विवादसम्बन्धी विभिन्न दस्तावेज



अर्को परीक्षा
विद्यार्थीको विरोधका बाबजुद ५ असोजमा सोही विषयको परीक्षा सञ्चालन गरियो । शिक्षामन्त्रीले समस्या समाधान गर्न निर्देशन दिए पनि अटेरी गरेको भन्दै विद्यार्थीले त्रिवि रजिस्ट्रार, विज्ञान प्रविधि अध्ययन संस्थानको डीन कार्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग र परीक्षा शाखामा ताला लगाए । तर प्रशासनले ताला फोडेर परीक्षा सञ्चालन गरेको थियो ।क्वान्टम मेकानिक्स विषयमा ५ असोजमा हुने परीक्षा स्थगित गर्न माग गर्दै ताला लगाएको पीडित विद्यार्थी अच्युत दाहाल बताउँछन् । २९ पुस ०७५ मा पाठ्यक्रमबाहिरबाट सोधिएको परीक्षा रद्द गरी अर्को लिएर मात्र नियमित परीक्षा लिने व्यवस्था गर्न माग गरिएको उनको भनाइ छ । तत्कालीन उपकुलपति तथा शिक्षाध्यक्ष त्रिपाठीले परीक्षा नगर्न डीनलाई निर्देशन दिने आश्वासन दिए पनि कुनै कदम नचालेको पीडित विद्यार्थी आशीष पौडेल बताउँछन् । डीन रामप्रसाद खतिवडा कुनै पनि हालतमा परीक्षा रद्द नहुने बताउँछन् ।

फाइल बन्द
२४ चैत ०७५ मा पाठ्यक्रमबाहिरबाट प्रश्नपत्र सोधिएको, प्रश्नपत्रको गोपनीयता भंग भएको, त्रिवि पदाधिकारीले अनियमितता गरेको भन्दै विद्यार्थीले सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।तर अख्तियारले उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भन्दै ९ भदौमा उक्त उजुरीलाई तामेलीमा राखिएको जनाएको छ । विद्यार्थीको उजुरीपछि डीन कार्यालयले सतर्कता केन्द्रलाई पठाएको जवाफमा विषय समितिसँग राय मागेकामा प्रश्नपत्र पाठ्यक्रमभित्रैबाट भएको उल्लेख छ ।छानबिनकै क्रममा रहेको सतर्कता केन्द्रले पुरानै प्रतिवेदनअनुसार बाहिरबाट प्रश्नपत्र नआएको र त्रिवि विषय समितिबाट प्राप्त रायलाई विश्लेषण गर्न नसकिने भन्दै यस विषयको छानबिन गरिरहेको अख्तियारमा प्रतिवेदन बुझाएको थियो । तर १७ वैशाख ०७६ मा शिक्षाध्यक्षबाट गठित छानबिन समितिले अधिकांश प्रश्न पाठ्यक्रमबाहिरबाट सोधिएको निष्कर्ष निकालेको थियो । शिक्षाध्यक्षले नयाँ प्रतिवेदन अध्ययन नै नगरी पुरानो प्रतिवेदनका आधारमा १७ असारमा यो उजुरीको फाइल बन्द गरेको स्रोतको भनाइ छ ।

आफ्नै निर्देशन फिर्ता
१२ जेठ ०७६ मा परीक्षा रद्द गर्न नपर्ने भनी दिएको आठ बुँदे निर्देशन तत्कालीन कामु उपकुलपति प्रा डा सुधा त्रिपाठी आफैँले बदर गरिन् । भदौ ३ मा डीनलाई दिएको उक्त निर्देशन बदर गरेकी हुन् ।
ॅतीन सदस्यसहितको छानबिन समिति र विषय समितिले दिएको प्रतिवेदनलाई एकैसाथ राखी अध्ययन गरेपछि प्राप्त निष्कर्ष कार्यान्वयनका लागि निर्देशन दिइएकामा उक्त निर्देशनलाई फिर्ता लिएकी छु ।’ डीनलाई पठाएको पत्रमा भनिएको छ, ॅप्रा डा सीताराम व्याहुत संयोजकत्वको छानबिन समितिबाट प्राप्त प्रतिवेदनमा उल्लिखित राय सुझाव अध्ययन गरी आवश्यक निर्णय लिई सोको जानकारी यस कार्यालयलाई गराउनुहुन निर्देशन दिएकी छु ।’निर्देशन लत्याइदिएपछि शिक्षाध्यक्ष त्रिपाठी र डीन खतिवडाबीच दूरी बढेको थियो । कार्यवाहक उपकुलपति त्रिपाठीले कारबाही गर्न सक्ने भए पनि त्यसो गर्न चाहिनन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा पन्छिइन् ।

Page 18
Page 19
Page 20
विशेष

खोइ नियन्त्रण तयारी ?

मिचाहा कीराले बर्सेनि बाली नोक्सान गरिरहेका बेला फेरि अर्को फौजी कीराको आतंक
- यम बम,बसन्त बस्नेत

नुवाकोट, त्रिशूलीस्थित मकैबालीमा ०२९ मा फौजी कीरा देखिँदा नेपाली कीट वैज्ञानिकहरूले धानबालीसमेत नष्ट होला भनी सायदै सोचेका थिए । तर त्यसको ३ वर्षमै पश्चिम तराईको कैलाली र कञ्चनपुरमा धानबालीमा देखियो । ०३४ मा त चितवन, दाङ र बागलुङका धानबालीमा फौजी कीरा फैलिएको थियो ।
त्यतिखेर कृषि विभागको कीट विज्ञान महाशाखाका कीटविज्ञ समुद्रलाल जोशी सम्झन्छन्, “पूर्वी र दक्षिण एसियामा पाइने फौजी कीराले नेपालमा देखिएको केही वर्षमै प्रकोपको रूप लियो ।” यो कीरा मुलुकमा पाइएको पुष्टि (कीट वैज्ञानिक भीमसेन केसीले गरेको) भएको ४७ वर्ष पुग्दा धानसहित २८ बाली निशानामा छन् । यो वर्ष सात वटै प्रदेशका कुनै न कुनै जिल्लामा प्रकोपको रूप लिएको फौजीका लार्भा पाकेको धानको बाला काटिरहेका छन् ।
माईथिम्ना सेपरेटा नाम रहेको मिचाहा प्रजातिको यो कीरा भर्खर नेपालमा देखिँदा चीन र जापानमा टाउको दुखाइको विषय थियो । अहिले ती देशले फौजी नियन्त्रणका लागि प्राकृतिक शत्रु अर्थात् फौजीलाई आक्रमण गर्ने कीरा प्रयोग गरिरहेका छन् । त्यसबाहेक तुरुन्त कीरा नियन्त्रण पद्धति र विषादी प्रयोग गरिरहेका छन् ।
कृषि अनुसन्धान परिषद् (नार्क) ले फौजीका बच्चामा फुल पारेर उसलाई मार्ने र आफ्नो बच्चा जन्माउने कोटेसिया (जाति), रुफीक्रूस (प्रजाति) को परीक्षण गरे पनि प्रयोगमा ल्याइएन । यो ४७ वर्षको अवधिमा फौजीले प्रकोप लिँदा नियन्त्रणका लागि नयाँ खोज गर्ने, अरू बेला सुतेझैँ देखिए, कृषिका निकाय । नार्कले विषादी सिफारिसलाई गर्वको विषय ठान्यो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई झक्झक्याउने काम नार्कले नै गरिरहे पनि यसको गति भने धीमा छ । गरिमा नामक धानको नक्कली बीउबाट ठगिएका किसानमाथि अर्को बज्रपातको रूपमा रहेको फौजी कीराले धानबाली नष्ट गरिरहेको छ । नार्क बल्ल कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अनुसन्धानमा जुटेको छ ।
नार्कका कीटविज्ञ सुनील अर्याल भन्छन्, “जैविक विषादीको परीक्षण गरेका छौँ, पहिलो चरणमा सफल भएपछि थप अनुसन्धान भइरहेको छ ।” फौजी झुन्डमा रहेर बाली नोक्सान पुर्‍याउँदै हिँड्ने कीरा हो । दिउँसो धानको गाँज, मकैको गुभोमा लुकेर बस्ने र राती पात खाने, डाँठ नांगो पार्ने र बाला नै काट्ने फौजीका लार्भा मार्न बाराको महागढीमाई नगरपालिका बरियारपुरमा ६ कात्तिकमा परीक्षण भएको हो । नार्कले ढुटो (धान कुट्दा निस्केको भुस), भेली (उखुको पकाएको रस) मर्चा र विषादीको मात्रा मिलाएर बनाएको दानेदार जैविक विषादी धानबालीमा छर्दा फौजीका लार्भा मरेका थिए ।
यो वर्ष फौजीले पाकिरहेको धानमा आक्रमण गरेको छ, जसले गर्दा किसानले नार्कबाट सिफारिस विषादीसमेत छर्न सकेका छैनन् । नार्कका कीटविज्ञ अर्याल भन्छन्, “बाली पाक्ने अवस्थामा विषादी छर्दा अन्नबालीमा अवशेष रहन्छ, त्यसले मानव स्वास्थ्यमा असर गर्ने भएकाले जैविक विषादी परीक्षणमा छौँ ।”
कीट वैज्ञानिकहरूले धान पाक्ने र फौजी कीराको लार्भा हुने अवस्था सँगसँगै परेकाले प्रकोपको रूप लिएको बताएका छन् । “आद्रता मन पराउने कीराले उचित तापक्रम र वातावरण पाएपछि फैलियो,” कीटविज्ञ जोशी भन्छन् । विशेषगरी हल्दीनाथ–१ धान पाक्ने र फौजीका लार्भाको संख्या बढ्नु एउटै समय परेको छ ।
हाल धानबालीमा नोक्सान पुर्‍याइरहेका लार्भा पुतली बनेर अनुकूल वातावरण पाएर जीवितै रहे गहुँबालीमा हुने क्षति नकार्न सकिँदैन । एउटा पुतलीले ३–४ सय फुल पार्छ । ०७३ मा भैरहवाको गहुँ खेतीमा यसको प्रकोप देखिएको थियो ।


रैथाने भइसकेको फौजी कीराले किसानलाई हरेक वर्षझैँ दुःख दिइरहेका बेला अमेरिकाबाट आएको छ, सोही प्रजातिको अर्को मिचाहा कीरा । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने फौजी कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो । त्यसलगत्तै अफ्रिकामा देखिएको हावामा समेत तैरिने फल आर्मी वर्म नामक फौजी कीरा नवलपुरस्थित गैँडाकोटको मकैबालीमा भेटिएको नार्कले २६ वैशाखमा पुष्टि गर्‍यो । यद्यपि विज्ञहरूले झापा र सिन्धुलीबाट यो कीरा भित्रिएको प्रारम्भिक निष्कर्ष निकालेको रिपोर्ट नेपालले २६ फागुन ०७५ मा प्रकाशित गरेको थियो । अघिल्लो वर्ष दक्षिणी भारतको कर्नाटकमा भेटिएसँगै यो कीरा नेपाल छिर्न सक्ने आशंका गरिएको थियो ।
फौजी कीरा सिन्धुलीलगायतका जिल्लामा देखिइसक्दा पनि त्यो फल आर्मी वर्म हो–होइन भन्नेमा कृषि मन्त्रालय र नार्कबीच जुँगाको लडाइँ चल्यो । स्वयं कृषिमन्त्री चक्रपाणि खनाल नेपालसँग स्वीकार्छन्, “अहिले नआए पनि कुनै बेला नेपालमा आउला भनेर सचेत त भइएकै थियो तर नेपालमा फल आर्मी वर्म प्रवेश गरेको हो–होइन भन्नेमा विवाद गर्दै थुप्रै समय खेर गयो ।”
विवाद त्यत्तिमा सकिएन । नार्कले वैशाखमै पुष्टि गरे पनि राष्ट्रिय बिरुवा संरक्षण संगठन यसलाई मान्न तयार भएन । डीएनए बारकोड परीक्षणपछि मात्र २७ साउनमा ‘नेपालमा अमेरिकी फौजी कीरा भेटिएको’ पुष्टि गर्‍यो ।
अनुसन्धानको नेतृत्व गरेका नार्कका कीटविज्ञ अजयश्रीरत्न वज्राचार्य आर्मी वर्म नामक अमेरिकी फौजी कीराले नेपालमा मकैमा आक्रमण गरे पनि अरू बालीमा नभेटिएको बताउँछन् । यो कीराले विशेषतः मकै मन पराउने भए पनि ८० प्रकारका बालीमा नोक्सान पुर्‍याउँछ । यो सिजनमा मात्र अमेरिकी फौजी कीराको संक्रमण १५ जिल्लाका मकैबालीमा देखिएको थियो ।
यो कीरा गर्मी ठाउँमा सक्रिय हुन्छ । तर पूर्वी पहाडका भोजपुर, खोटाङलगायत जिल्लामा मकैबालीमा पनि देखिएको थियो । यसलाई कतिपयले विश्वव्यापी तापमान वृद्धिको असर र अधिक रूपमा विषादी प्रयोगलाई औँल्याएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वृद्धिको दर वार्षिक अधिकतम ०.०५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियस छ । कतिपय अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको दृष्टिले नेपाल विश्वमै छैटौँ स्थानमा रहेको देखाएका छन् ।
अमेरिकी फौजी कीराबारे जानकारी दिँदै नार्कले भनेको छ, ‘यस कीराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुंगा तथा घोगामा समेत असर पुर्‍याउँछ । भरखरै फुलबाट निस्केका साना लार्भाले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र बाँकी राख्छन् । लार्भा हुर्किंदै जाँदा गुभोभित्र प्रवेश गरेर खान्छन् । घोगा लाग्न थालेपछि यस कीराले मकैको जुंगाका साथै खोस्टा छेडेर घोगासमेत खाने गर्छ ।’


यो कीराको पुतली एक रातमा १ सय किलोमिटरसम्म उड्न सक्ने बताइन्छ । तर नेपालमा यसअघिदेखि नै रहेको फौजी कीरा उड्ने भए पनि हावामा तैरिँदैन । फलतः यो कीरा एसिया र ओसेनियामै केन्द्रित छ ।
वज्राचार्य फौजी कीरा नियन्त्रणका लागि छुट्टै कार्यक्रम नभए पनि कीराको जीवनी अध्ययन, गुण नियन्त्रण, विषादी परीक्षणको काम भइरहेको बताउँछन् । नार्कले पछिल्लो समय फौजी कीराका प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न बारुला जातका सिकारी कीरा र विभिन्न खपटे कीरा पाल्ने प्रयास थालेको छ ।
वज्राचार्य भन्छन्, “शत्रुकीरा (फौजी) को फुलमाथि मित्र (बारुला) कीराले फुल पारेपछि आउने बच्चा भनेको मित्रकीराको हुन्छ । यद्यपि यो अझै प्रयोगशालामा परीक्षण क्रममै छ ।”



भद्रगोल तयारी
धानको बाला नै काट्ने फौजी कीराको प्रकोप सात वटै प्रदेशमा फैलिएको छ । १ कात्तिकसम्मको प्रारम्भिक तथ्यांकअनुसार साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको थियो ।
त्यतिन्जेल गण्डकी, प्रदेश ६ र ७ मा फौजी कीरा फैलिएको थिएन तर हाल ती प्रदेशका कुनै न कुनै जिल्लामा यसले प्रकोपको रूप लिएको छ । तर कति क्षति भयो, त्यसको तथ्यांक सरकारी निकायसँग छैन ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईं भन्छन्, “संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने हो, हुन सकेको छैन । नयाँ संरचना हुनाले पनि समस्या छ ।”
कृषिमन्त्री खनालले प्रदेश सरकारमार्फत स्थानीय तहसम्म समन्वय गर्न कृषि मन्त्रालयले तयारी गरिरहेको बताउँछन् । मकै, धान मात्र नभई अरू ८२ वटा बालीमा संक्रमण फैलिने सूचना पाएको भन्दै उनले नेपालसँग भने, “हालको बजेट कम भएकाले अर्थमन्त्रीसँग कुरा गरिरहेको छु, रकमान्तर गरेरै भए पनि प्रदेश र स्थानीय तहमा जानुपर्नेछ । मंसिर पहिलो सातासम्म ठोस कार्यक्रम आइसक्छ ।” यसका लागि कृषि मन्त्रालयका अधिकारीहरूको नेतृत्वमा टिम निर्माण गरिसकेको, त्यसमा नार्कका विज्ञ पनि सहभागी हुने उनी बताउँछन् ।
अमेरिकी सहयोग नियोग (युएसआइडी) बाट सञ्चालित परियोजनामार्फत क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका बाली संरक्षण अधिकृतलाई तालिम दिनुबाहेक खासै प्रयास भएको देखिँदैन । अहिले नार्क र क्वारेन्टाइनका किट वैज्ञानिकहरू तालिम दिनकै लागि जिल्लाजिल्ला पुगेका छन् । तर एकीकृत रूपमा नियन्त्रणको प्रयास थालिएको छैन ।
फल आर्मी वर्म नियन्त्रणकै लागि भनेर अमेरिकी सहयोग नियोगले कृषि मन्त्रालय, नार्क र इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्रेनर (आइडीई) का लागि ५ लाख डलरको परियोजना दिने भएको छ । विश्वभरिका बालीनालीमा लाग्ने कीराको जैविक अध्ययन गरिरहेको अमेरिकी संस्था इन्टेग्रेटेड पेस्ट म्यानेजमेन्ट इनोभेसन ल्याबका निर्देशक डा मुनि मुनियाप्पन मंसिर पहिलो साता काठमाडौँ आएका बेला यसको हस्तान्तरण गरिने बताइएको छ । मुनियाप्पन तिनै हुन्, जसले भारत, नेपालमा फल आर्मी वर्मले कुनै पनि बेला आक्रमण गर्न सक्ने भविष्यवाणी गरेका थिए ।
“हाम्रोमा कति क्षति भएको छ, त्यसको मूल्यांकन र कीरा नियन्त्रणको ठोस पहल अबचाहिँ होला,” नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कृषि वैज्ञानिक प्रमोद झा भन्छन्, “तर हाम्रोमा पैसा आएपछि मात्रै तात्तिने प्रवृत्ति छ । सरकार आफैँले पनि ठोस पहल गरे भइहाल्छ नि ।”


राष्ट्रिय किसान समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारी मुलुकको मुख्य खाद्यान्न बाली धानमा फौजी कीराको आक्रमण, नक्कली बीउ प्रकरण बाहिरिँदा पनि सरकारले ठोस कदम चाल्न नसकेको टिप्पणी गर्छन् । गरिमा नामक धानको नक्कली बीउ लगाउँदा कति किसान ठगिए भन्नेबारे पनि सरकारी निकायसँग आधिकारिक तथ्यांक छैन । फौजी कीरा नियन्त्रणमा पनि उही ताल छ ।
कीरा नियन्त्रणका लागि प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुखको नेतृत्वमा समिति गठन भएको थियो । तर अहिलेसम्म प्रतिवेदन नै तयार भएको छैन ।
फल आर्मी वर्म नियन्त्रणकै लागि भनेर कृषि वैज्ञानिक विभिन्न अध्ययन–अनुसन्धानमा लागिरहेका छन् । तान्जानियामा गत सेप्टेम्बर २२ देखि २५ सम्म भएको भेलामा १० देशका कृषि वैज्ञानिक सामेल थिए, जसमा इटाली र अमेरिकाका वैज्ञानिकले विश्वभरि यो मिचाहा कीराले गरेको नोक्सानी विवरण सुनाएका थिए । त्यसमा नेपालबाट सामेल वैज्ञानिकहरूले पछिल्लो तथ्यांक पेस गरे पनि अहिलेसम्मको क्षति मूल्यांकन भने यकिन गर्न सकेनन् ।
उनीहरूले एकीकृत शत्रुजीव नियन्त्रण गर्दा वातावरणलाई क्षति नहोस् भन्नेमा ध्यान दिन विश्वभरिका कृषि वैज्ञानिकलाई सुझाएका थिए । औषधीको अनुचित प्रयोगले खेतबारीको उर्बराशक्ति दीर्घकालसम्म रुग्ण हुने हुँदा बरु कीराकै प्रयोगमार्फत फौजी कीरा नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ थियो । “मकैबाली, धानलगायत सयभन्दा बढी बाली–बिरुवामा यो फैलिइसकेको निष्कर्ष छ, त्यसैले अब फौजी कीरा समग्र खाद्य सुरक्षाकै लागि चुनौती बन्दै छ,” तान्जानियाबाट फर्केका नास्टका कृषि वैज्ञानिक झाले अनुभव सुनाए, “फौजी कीरा नियन्त्रण गर्ने नाममा जथाभावी केमिकल प्रयोग गरे त्यसले थप क्षति निम्त्याउने उनीहरूको भनाइ थियो ।” एकीकृत शत्रुजीव नियन्त्रण अर्थात् इन्टिग्रेटेड पेस्टमार्फत झन्डै ८० प्रतिशतसम्म समस्या नियन्त्रण गर्न सकिन्छ ।

 

विशेष

धान भित्र्याउन पाएनन् किसानले

- बाराबाट लक्ष्मी साह
जितपुरसिमरा उपमहानगरपालिका–१८ मनहर्वा कुस्माडीमा फौजी कीराले नोक्सान गरेको पाकेको धान | 

फौजी कीराले झुलेका धानका बाला काट्न थालेपछि बारा, सिम्रौनगढ नगरपालिका–९ का किसान रामविलास साह तेलीले रातारात धान भित्र्याए पनि जोगाउन सकेनन् । भन्छन्, “सबै बाला कीराले काटेर भुइँमा असरल्ल पार्‍यो । अब त खेत रोपेको खर्च पनि निस्किन मुस्किल छ ।”
माईथिम्ना सेपरेटा फौजी कीराको आतंक नै फैलिएपछि बाराका किसान मारमा छन् । कीराको प्रकोप बढेपछि कतिपय किसानले रातारात हरिया र आधा पाकेको धान काटे । यो कीराको आतंकले
कैयौँ किसानले पाकिसकेको भदैया जातको धान भित्र्याउन पाएका छैनन् । फौजी कीराले रातारात सयौँ बिघा पाकेको धानबाली नोक्सान गरिरहेको छ । कृषि ज्ञान केन्द्र बाराका बाली विकास अधिकृत राजनारायण साहका अनुसार कीरा संक्रमणले कतिपय किसानको ७० प्रतिशत धानबाली नोक्सान गरेको छ । जिल्लामा ७ सय बिघाको धानबालीमा क्षति हुँदा उत्पादनमा झन्डै १ हजार ५ सय मेट्रिक टनले गिरावट आउने अनुमान छ । “कीराको प्रकोप निरीक्षण गर्न कृषि ज्ञान केन्द्रले दुई सदस्यीय कृषि प्राविधिक टोली परिचालन गरेको छ,” उनी भन्छन् ।
किसानले कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट प्राविधिक सहयोग पाउन सकेका छैनन् । बाढीपछि एकाएक सुक्खा मौसम हुँदा फौजीको प्रकोप बढ्ने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक बताउँछन् । “तापक्रम जति बढ्दै गयो, उति यी कीराको प्रकोप बढ्छ, तापकक्रम जति घट्दै जान्छ, त्यत्तिकै यो फौजी कीराको आतंक घट्दै जान्छ,” कृषि ज्ञान केन्द्र बाराका प्रमुख कृषि विकास अधिकृत जितेन्द्र यादव भन्छन्, “यसपालिको बाढीपछि १६ डिग्री सेल्सियसभन्दा कम तापक्रम नभएकाले यो कीराको प्रकोप जिल्लाभरि फैलिएको हो ।” उनका अनुसार सम्बन्धित निकायमा समस्याबारे अवगत गराए पनि कतैबाट खासै ॅरेस्पोन्स’ आएको छैन ।
पुतलीझैँ देखिने उक्त कीराले एकैपल्टमा सयौँको संख्यामा लार्भा उत्पादन गर्ने हुँदा बालामा बढी नोक्सानी गरिरहेको बताइन्छ । फौज (आर्मी) जस्तै झुन्ड बनाएर एकैपल्ट आक्रमण गर्ने गरेकाले यसलाई फौजी कीरा भनिएको हो ।
फौजी कीराको संक्रमण अगहनी धानमा पनि फैलन सक्ने जोखिम बढेको छ । १५ कठ्ठामा लगाएको राधा–४ जातको धान कीराले भसक्कै पारेको जितपुरसिमरा उपमहानगरपालिका–१८ कुस्माडीका हर्क लामा बताउँछन् । भन्छन्, “पाकेको धान कीराले सखाप पार्‍यो । वर्षभरि खाने अन्न एक–दुई रातमै सखाप भयो ।”

Page 21
Page 22
Page 23
Page 24
सुरक्षा

अमेरिकी प्रोपागान्डा

नेपाल आतंकवादी समूह इन्डियन मुजाहिद्दीनको ‘हब’ बनेको अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदन
- मनबहादुर बस्नेत

वासिङ्टनस्थित अमेरिकी डिपार्टमेन्ट अफ स्टेट र उसको प्रतिवेदनमा नेपालबारे उल्लिखित अंश

अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्‍यो, १५ कात्तिकमा । नियमित कार्यतालिकाअनुसार प्रकाशित ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिजम– २०१८’ नामक प्रतिवेदनको एउटा अंशले नेपाललाई आतंकवादको खतरनाक बिन्दुमा रहेको चित्रण गरेको छ । नेपाल आतंकवादी समूह इन्डियन मुजाहिद्दीनको ‘हब’ बन्दै गएको दाबी चिन्तित तुल्याउने किसिमको छ ।
सन् २००७ देखि भारतीय भूमिमा विध्वंसात्मक गतिविधिमा सक्रिय देखिएको मुजाहिद्दीनलाई सन् २०१० देखि भारतले र सन् २०११ मा अमेरिकाले आतंकवादी संगठन मानेको थियो । मुजाहिद्दीन भारतका एक दर्जन भागमा शृंखलाबद्ध विस्फोट गराएको संगठन हो । ती विस्फोटमा डेढ सयभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । दक्षिण एसियामा इस्लामिक खिलाफत (धार्मिक राज्य) स्थापना गर्ने उद्देश्यले यो संस्था सक्रिय छ ।
यति खतरनाक समूहले नेपाललाई आफ्नो उर्बर भूमि बनाइरहेको अमेरिकाको दाबी छ । साँच्चै नेपाल विदेशी आतंककारी गतिविधि सञ्चालन गर्न अनुकूल भूमि बन्दै गएको हो वा अमेरिकी प्रोपागान्डा मात्र हो ?

अमेरिकी र भारतीय बोली !
नेपाल प्रहरीको आतंकवादविरुद्ध काम गर्ने विशेष ब्युरोले अमेरिकी प्रतिवेदनमा उल्लिखित अंशलाई विश्लेषण गरिरहेको छ । ब्युरोका एक उच्च अधिकारीका अनुसार अमेरिकाले दाबी गरेजस्तो नेपाली भूमि आतंकवादी संगठनका लागि ‘हब’ हुँदै होइन । बरु दुई वर्षअघिसम्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा मुजाहिद्दीनका केही गतिविधि देखिने गरेको थियो । “भारतमा कुनै घटना गराएपछि उनीहरू नेपालमा लुक्न आएको पाइन्छ । अहिले त भारतमै मुजाहिद्दीनको प्रभाव शून्यजस्तो भइसक्यो,” ब्युरोका ती अधिकारी भन्छन्, “त्यसैले अमेरिकाको यो भनाइमा बढी राजनीतिक गन्ध लुकेको हाम्रो निचोड हो ।”
२६ वर्षपछि चिनियाँ सर्वोच्च नेताको भ्रमणलगत्तै अमेरिकाबाट नेपाललाई भयावह चित्रण गरिएको प्रतिवेदन आएको छ । २५ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ आएर नेपालसँग दूरगामी महत्त्वका रणनीतिक विषयमा सम्झौता गरेका थिए । चीन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपालमा रेल र सडक मार्गबाट जोडिन थालेपछि अमेरिकाले इन्डो–प्यासिफिक स्ट्र्याटेजी (आईपीएस) अवधारणा ल्याएको थियो । त्यसमा अमेरिकाले नेपाललाई समेत सदस्य राष्ट्र मानेको छ । यद्यपि नेपालले आफू आईपीएसको सदस्य नभएको बताउँदै आएको छ ।
यसै विषयमा चीन र अमेरिकी राजदूतबीच वाक्युद्धसमेत भएको थियो, चार महिनाअघि । सीको नेपाल भ्रमण अगाडिसमेत अमेरिकाले आईपीएस रणनीति नभई कार्यक्रम मात्र भएको प्रस्टीकरण काठमाडौँस्थित दूतावास र वासिङ्टनबाट दिएको थियो । यस्तो पृष्ठभूमिमा नेपाललाई अमेरिकाले आतंकवादी संगठनका लागि सुहाउँदो वातावरण भएको मुलुकमा दर्ज गरेको हो ।
अमेरिकी प्रतिवेदनलाई विश्वास गर्ने हो भने त नेपालमा आतंकवादी संगठनले आफ्नो आधारभूमि नै तयार गर्ने तरखरमा छन् । “चीनलाई कमजोर बनाउने अमेरिकी कार्ड तिब्बत मामिला हो । त्यसका लागि नेपालमा अमेरिकाले आफूअनुकूलको वातावरण बनाउनुपर्छ, आईपीएसमार्फत सम्भव नदेखेपछि नेपाललाई आतंककारीको हब भनेर प्रचार गरेको हो,” पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लको विश्लेषण छ, “नेपालमा मुजाहिद्दीनको गतिविधि अस्थायी सेल्टरजस्तो मात्रै हो, आधारभूमि होइन ।” हुन पनि भारतमा समेत मुजाहिद्दीनको गतिविधि पहिलेजस्तो छैन । भारतीय आन्तरिक खुफिया एजेन्सी इन्टेलिजेन्स ब्युरो (आईबी) को सहयोगमा दिल्ली प्रहरीको विशेष सेलले सञ्चालन गरेको कारबाहीबाट मुजाहिद्दीनलाई कमजोर पारिदिएको छ ।
पूर्वडीआईजी मल्लका अनुसार अमेरिकाले रणनीतिक महत्त्वको नेपालमा आफू आउने वातावरण तयार गर्न यो प्रचारबाजी रचेको हो । “यहाँका सुरक्षा अंग आतंककारी गतिविधि रोक्न असफल भएको देखाएर अमेरिकीहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आउन खोजेका हुन सक्छन्,” उनी भन्छन् ।
नेपाललाई मुजाहिद्दीनको पकड क्षेत्र देखाउनुमा भारतीय स्वार्थसमेत मिलेको हुन सक्छ । मुजाहिद्दीनको सम्बन्ध भूमिगत संगठन लस्कर–ए–तोइबा, हर्कत–उल–मुजाहिद्दीनसँग जोडिन्छ । पाकिस्तानले यी संगठनलाई आफूविरुद्ध प्रयोग गरिरहेको भारतीय पक्षको आरोप छ । भारतीय जाली नोटसमेत पाकिस्तानको सहयोगमा आफ्नो देशमा भित्रिने गरेको भारतले दाबी गर्छ । यी गतिविधिमा पाकिस्तानले नेपाली भूमिमार्फत सघाउने गरेको भारतीय बुझाइ छ । यही पृष्ठभूमिमा भारतविरुद्ध अपराध गर्ने तेस्रो पक्ष (नेपाली र भारतीयबाहेक) लाई नेपालले आफूलाई सुपुर्दगी गर्नुपर्ने सन्धि गर्न भारतले दबाब दिँदै आएको छ ।
०६१ मै ‘तेस्रो मुलुक’ शब्द उल्लेख नगरी नेपाली नागरिकबाहेकका व्यक्तिलाई सुपुर्दगी गर्न सकिने प्रावधानसहितको नयाँ सुपुर्दगी सन्धिको मस्यौदा तयार भएर सचिवस्तरीय हस्ताक्षर भएको थियो । तर सन्धिको व्यवस्था पाकिस्तान लक्षित भएपछि नेपाल त्यसलाई अगाडि बढाउन इच्छुक छैन । मन्त्रीस्तरीय हस्ताक्षर नहुँदा सुपुर्दगी सन्धि अड्किरहेको छ । यो सन्धिमा हस्ताक्षर भए नेपाल र भारतबीच २०१० सालमा भएको पुरानो सुपुर्दगी सन्धि प्रतिस्थापित हुनेछ ।
नेपालमा मुजाहिद्दीनको प्रभाव नराम्ररी फैलिएको सन्देश जाँदा भारतसमेत लाभान्वित हुनेछ । किनभने यही कारण देखाएर भारतले तेस्रो मुलुकका नागरिकलाई समेत सुपुर्दगी गर्न मिल्ने सन्धिमा नेपाललाई मनाउन दबाब दिन सकिने दाउ हेरिरहेको छ ।

विगतको पाठ
अमेरिकाले दाबी गरेजस्तो आतंकवादीका लागि नेपाल स्वर्ग मान्न नसकिए पनि सम्भावित खतराबाट भने मुक्त नभएको विगतका घटनाले प्रस्ट सन्देश दिन्छ । मुजाहिद्दीनकै दर्जनभन्दा बढी सदस्य नेपाली भूमिबाटै पक्राउ परेको विगत छ । यी घटनाक्रमले नेपाललाई आतंककारी समूहले लुक्ने सुरक्षित थलो बनाएको पुष्टि हुन्छ । भारतमा सुरक्षा निकायले मुजाहिद्दीनविरुद्ध अपरेसन छेडेपछि यसका धेरै सदस्यले नेपाललाई सेल्टर बनाएका थिए ।
दुई वर्षअघि मात्रै भारतको ओसामा बिन लादेन भनेर चिनिने मुजाहिद्दीनका प्रमुख नेता अब्दुल शुभान कुरेसी ‘ताकिर’ नेपालबाटै पक्राउ परेका थिए । चार वर्षदेखि उनी कपिलवस्तुको एक मदरसामा शिक्षकको भेषमा थिए । कुरेसी पक्राउ परेको केही समयपछि नै काठमाडौँको नारायणचौरबाट मुजाहिद्दीनका अर्का सदस्य अरिज खान गिरफ्तार भए । अरिजले त नेपाली युवतीसँग विवाह गरेर मोहम्मद सलिमका नाममा अंगीकृत नागरिकतासमेत लिएका थिए । कुरेसी र अरिज ०७४ पुस र माघमा पक्राउ परेका थिए ।
त्यसअघि ०७० मा मुजाहिद्दीनका दुई र लस्कर–ए–तोइबाका एक व्यक्ति नेपालमै गिरफ्तार भएका थिए । भदौमा मुजाहिद्दीनका मोहम्मद अहमद सिद्दिबापा उर्फ यासिन भट्कल, असादुल्लाह अख्तर ‘हड्डी’ र चैतमा तहसिन अख्तर ‘मोनु’ क्रमशः पोखरा र काठमाडौँबाट समातिएका थिए । भट्कललाई समात्न पर्यटकको भेषमा आईबीका अधिकारी पोखरामा लामो समय बसेका थिए । भदौमै लस्कर–ए–तोइबाका सइद अब्दुल करिम टुन्डा पाकिस्तानबाट आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समातिएका थिए ।
यी त केही चर्चित घटना मात्रै भए, नेपालमा पक्राउ गरेर भारत लगिएका । सुटुक्क सुपुर्दगी गरिएका घटना पनि थुप्रै छन् । यति मात्र होइन, नेपालीसमेत संलग्न भएर भारतको यात्रुवाहक रेलमा विस्फोट गराउने योजनासमेत बनेको थियो, ०७३ मा । तर प्राविधिक गडबडीका कारण रेल ट्र्याकमा राखिएका बेला बम विस्फोट भयो । विस्फोट गराउन गिरी बाबा भनिने बारा कलैयाका वृजकिशोर गिरीले भारतीय नागरिक दीपक राम, अरुण रामलगायतलाई अह्राएका थिए । गिरीलाई विस्फोटका लागि दुबईमा बस्ने समसुल होदाले चार लाख रुपैयाँ पठाएका थिए ।
होदा ०७० को संविधानसभा चुनावमा राष्ट्रिय मधेस समाजवादी पार्टीका उम्मेदवार थिए । चुनावमा पराजित भएपछि उनी दुबई पुगेर आतंकवादी समूहका लागि काम गरेको विशेष ब्युरोको अनुसन्धानले खुलाएको थियो । होदाको सम्बन्ध नक्कली भारतीय नोटका कारोबारी पाकिस्तानी नागरिक सफीसँग देखिएको थियो । योजनाविपरीत अर्कै ठाउँमा विस्फोट भएपछि सूचना चुहिने डरले गिरीले सुपारी दिएर रामद्वयलाई मारिदिएपछि यो योजना पर्दाफास भएको थियो ।
यी घटनाक्रमले नेपाल आतंकवादीका लागि आश्रित थलो बन्दै जाने जोखिम देखाउँछ । पूर्वगृहसचिव गोविन्द कुसुमका अनुसार नेपाललाई कुनै पनि समयमा आतंकवादीले सूचनाको ‘नेटवर्क स्पट’ का रूपमा प्रयोग गर्ने सम्भावना छ । यसका आधार हुन्, खुला सीमा र कमजोर नियमन प्रणाली । “नेपालका मदरसा, गुम्बा, चर्चहरूमा को, किन आउँछन् भन्ने अभिलेखीकरण छैन,” उनी भन्छन्, “यसले सधैँ नै हामीलाई जोखिममा राखिरहन्छ ।
नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात आतंकवाद दक्षिण एसियाकै लागि चुनौती रहेकाले हल्का रूपमा लिन नहुने बताउँछन् । अमेरिकी प्रतिवेदनलाई सूचनाका रूपमा लिएर त्यसको जाँचपड्तालपछि आफ्नो धारणा नेपालले सार्वजनिक गर्नुपर्ने उनको राय छ । भन्छन्, “आएको सूचनालाई बेवास्ता गर्नेभन्दा पनि हाम्रो यथार्थ के रहेछ भनेर जाँच्नु बुद्धिमानी हुन्छ ।”

Page 25
Page 26
फलोअप

बल्ल बोल्यो अख्तियार

हायात होटलमा आफ्नो हक बलियो बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन तर तारागाउँ विकास समिति चार महिनादेखि नेतृत्वविहीन
- माधव बस्नेत

‘..हकप्रद सेयर खरिद गर्न तारागाउँ रिजेन्सी होटल लिमिटेडले तारागाउँ विकास समितिलाई पटक–पटक अनुरोध गरेको तर समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्नुबाहेक कारबाहीका लागि अग्रसरता लिएको देखिएन । प्रस्तुत पृष्ठभूमिमा तारागाउँ विकास समितिले अविलम्ब आवश्यक प्रक्रिया पूरा गरी आफ्नो हिस्साको हकप्रद सेयर प्राप्त गर्न उपयुक्त हुने देखिन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असोज ०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा उल्लिखित अंश हो, यो । पत्रमा अनुसन्धान अधिकृत धर्मराज लामाले हस्ताक्षर गरेका छन् ।
१३ साउन ०७० मा बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले अनियमित ढंगले सरकारी जग्गा कब्जा गरेकोलगायत शीर्षकमा अख्तियारमा उजुरी परेको थियो । तारागाउँ रिजेन्सी हायात होटलका नामले चिनिन्छ ।
अख्तियारले ५ वर्ष २ महिनापछि उजुरीउपरको छानबिन पूरा गरेको छ । तर आश्चर्य के भने ५ वर्ष २ महिना लगाएर गरिएको छानबिनमा संघीय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत अग्निप्रसाद सापकोटा संयोजकत्वको तारागाउँ विकास समिति अध्ययन, अनुगमन उपसमितिको प्रतिवेदन ०७५ र तारागाउँले होटलमाथि गरेको छानबिन प्रतिवेदन भने अख्तियारले अनुसन्धानको दायरामा समेटेको पाइएन ।
१९ मंसिर ०७५ मा संघीय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न सापकोटाको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । त्यसका सदस्य थिए, नारदमुनि राना, पुष्पा भुसाल, प्रेमप्रसाद तुलाचन र सानु सिवा ।
समितिले ४ महिनाभन्दा लामो समय लगाएर अध्ययन, अनुगमन गरी २४ चैतमा समितिसमक्ष ४२ पृष्ठको प्रतिवेदन बुझाएको थियो । अध्ययन, अनुगमन उपसमितिले तारागाउँ विकास समितिको रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाएर हायात होटल व्यवस्थापन समूहले गैरकानुनी रूपमा आफूलाई लाभ पु‍र्‍याएको ठहर गरेको थियो ।
यता, तारागाउँ विकास समितिले पनि ०७२ मै
‘तारागाउँ रिजेन्सी होटल्स कम्पनी लिमिटेडसम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन’ तयार पारेको थियो । त्यसको १ वर्षपछि साउन ०७३ मा समेत विकास समितिले होटलले गरेको अनियमिततामाथि अर्को प्रतिवेदन बनाएको थियो । स्रोतका अनुसार यी दुवै प्रतिवेदन अख्तियारले लगेको थियो । सापकोटा संयोजकत्वको प्रतिवेदन पनि आयोगमा पुगेको थियो ।
आयोगको ‘निर्णय कार्यान्वयन सम्बन्धमा’ पत्र नियाल्दा ती दुई प्रतिवेदनमाथिको अनुसन्धानमा आँखा चिम्लिएको सहजै बुझ्न सकिन्छ । आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार प्रवक्ताको काम आयोगले गरेको निर्णयको विषय सार्वजनिक गर्ने मात्र हो । निर्णय गर्नुअघि हेरिएका कागजात र अपनाइएका विधि भन्न मिल्दैन ।
“कुन–कुन विषय र प्रतिवेदन अनुसन्धान गरियो भन्नेबारे कानुनबमोजिमका सक्षम निकायबाट माग भई आए तिनमा पेस गर्ने हो,” कोइराला भन्छन्, “त्यसबाहेक अनुसन्धान किन विलम्ब भयो ? पछिल्ला प्रतिवेदनमा अनुसन्धान भयो–भएन ? ती प्रतिवेदनमा के थियो भन्न सक्दिनँ ।” अख्तियारले मन्त्रालय र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई निर्णय कार्यान्वयनका लागि चार बुँदा समेटेर पत्राचार गरेको छ । ‘अत्यन्त जरुरी/गोप्य’ भनिएको बुँदा नम्बर १– ‘सेयर अनुपात घटेको सम्बन्धमा, २– लगानी र प्रतिफलका सम्बन्धमा, ३– जग्गा भाडा सम्बन्धमा र ४– गुरुयोजनाको कार्यान्वयन सम्बन्धमा’ व्याख्या गरिएको छ ।
बुँदा नम्बर २ मा लेखिएको छ, ‘..तारागाउँ विकास समितिले होटलमा गरेको लगानी र प्रतिफलको विश्लेषण गर्नुका साथै होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण गर्न होटल सञ्चालक समितिको हैसियतले विधिसम्मत ढंगबाट आवश्यक देखिन्छ ।’
बुँदा नम्बर ३ मा उल्लेख छ, ‘प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सोही मितिमा (०५०/१२/१८) लिजमा दिने जग्गाको सम्बन्धमा ‘उचित तबरले पुनः मूल्यांकन गरी उपयोग गर्ने’ सम्बन्धमा दिइएको निर्देशनमा हालसम्म कुनै कारबाही भएको देखिएन । तसर्थ, तारागाउँ विकास समितिको हितलाई ध्यानमा राख्दै सार्वजनिक लेखा समितिको निर्देशनअनुरूप लिजमा दिइएको जग्गाको समयसापेक्ष मूल्यांकन गर्न आवश्यक देखिन्छ ।’ चौथो बुँदामा पनि तारागाउँ विकास समिति अर्थात् मन्त्रालयकै हात माथि पार्न निर्देशन दिएको छ ।

मन्त्रीको मौनता
विडम्बना के भने अख्तियारको निर्देशन कार्यान्वयन गराउने तारागाउँ विकास समिति यसबेला नेतृत्वविहीन छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कार्यकारी प्रमुख, सदस्य सचिव र एक जना बोर्ड सदस्यको राजनीतिक नियुक्ति हुन्छ । ती पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ । यसअघि मन्त्री कृपाशुर शेर्पाले कार्यकारी प्रमुख र सदस्यसचिव दुवैको कार्यभार सम्हाल्ने गरी नारद लुइँटेल र बोर्ड सदस्यमा मधुसूदन उपाध्यायलाई नियुक्त गरेका थिए । २४ असारमा उनीहरूको समयावधि पूरा भइसकेको छ । त्यसयता झन्डै चार महिना बित्न लाग्दासमेत नयाँ नेतृत्व नियुक्त भएको छैन । यसले तारागाउँ विकास समितिभित्रको दैनिक गतिविधि त चौपट भएको छ नै, अख्तियारको निर्देशनसमेत कार्यान्वयन हुन सकिरहेको छैन । लुइँटेल र उपाध्यायको पदावधि सकिँदा पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हालिरहेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले नयाँ मन्त्री आएपछि नियुक्त गर्छन् भनेका थिए । १५ साउनमा मन्त्री भएका योगेश भट्टरार्ईले पनि तारागाउँ विकास समितिको नियुक्तिमा चासो दिएको देखिँदैन ।
काठमाडौँ बौद्धमा रहेको तारागाउँ विकास समितिको २ सय ९८ रोपनीमध्ये १ सय ५० रोपनी २२ असोज ०४९ बाट हायात होटलले सेयर मूल्यांकनमा लिएर उक्त जग्गाको लालपुर्जा आफ्नो नाममा बनाइसकेको थियो भने बाँकी १ सय ४८ रोपनी पनि कौडीको भाउमा भाडामा उपभोग गरिरहेको छ । बौद्धमा तारागाउँ विकास समितिको ३ सय ४ रोपनी जग्गा थियो । त्यसमध्ये सरकारले ६ रोपनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई दिएको छ । त्यसबाहेकका सबै जग्गामा हायात होटलले कब्जा जमाएको छ । अध्यक्ष भएपछि लुइँटेलले तारागाउँ विकास समितिको चल, अचल सम्पत्ति खोजी गरेका थिए । यस क्रममा हायात होटलले अपनाएको रबैया खुलासा भएको थियो, जुन यसअघि नै नेपालले सार्वजनिक गरिसकेको छ ।



विघटनको दौडधूप
मन्त्रालय स्रोतका अनुसार हायात होटल पक्षधर लुइँटेलको पुनर्नियुक्ति चाहँदैनन् बरु उनीहरू तारागाउँ विकास समिति नै विघटन गर्न लागिपरेका छन् । तारागाउँ विकास समिति विघटन भए त्यसको सोझो फाइदा हायात होटल सञ्चालक समितिमा एकछत्र राज गरिरहेकालाई हुनेछ । त्यसैले हायात होटल व्यवस्थापन पक्ष तारागाउँ विकास समितिकै विघटन गराउने दौडधूपमा लागेको जानकार बताउँछन् । त्यसका लागि होटल व्यवस्थापन पक्षले पटक–पटक मन्त्रालयका उच्च अधिकारीसँग भेट गरिरहेको स्रोतको दाबी छ । समिति विघटन भए गाभिने संस्थाभित्र अन्योल हुने हुँदा सरकारी जग्गालाई आफ्नो स्वामित्वभित्र पारिरहन सहज हुने निष्कर्षमा पुगी हायात होटल व्यवस्थापन लागिपरेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् । “हायात होटल पक्षधर दुइटा अस्त्र लिएर हिँडिरहेका छन्,” उनी भन्छन्, “पहिलो– तारागाउँ विकास समिति नै विघटन गराउने । दोस्रो– विघटन गराउन नसके राजनीतिक नियुक्ति आफूअनुकूल गराउने । यही विषयमा अन्योल हुँदा तारागाउँ विकास समितिले नयाँ नेतृत्व पाउन नसकेको हो ।”
निवर्तमान कार्यकारी प्रमुख लुइँटेल मन्त्रालय स्रोतको भनाइ सत्य रहेको अनुमान गर्छन् । भन्छन्, “मैले पनि हायात होटल व्यवस्थापनको व्यापक चलखेलले नयाँ नियुक्तिमा विलम्ब भएको बुझेको छु । त्यसमा तिनका धेरै स्वार्थ छन् । ती स्वार्थ के–के हुन्, मैले नै खुट्याउन सकेको छैन ।”

Page 27
Page 28
आवरण

कालापानीमा दुखेको देश

कालापानी क्षेत्रमा भारतीय पक्षले बनाएको काली देवताको मन्दिर । यही मन्दिरछेउ भएर बग्ने नदीलाई उनीहरूले पछिल्लो समय नेपाल–भारतको सीमा नदी दाबी गर्छन्
- टीका ढकाल

१६ कात्तिकमा भारतीय गृह मन्त्रालयद्वारा प्रकाशित नयाँ मानचित्रमा नेपालको दार्चुला जिल्लास्थित उत्तर–पश्चिम सीमा क्षेत्रसँग जोडिएको कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र मिलाएर हुन आउने ३ सय ७२ वर्गकिलोमिटर नेपाली भूभागलाई सामेल गरेपछि नेपाल–भारत सीमा विवाद नयाँ कोणबाट छेडिएको छ ।
यस आलेखमा सरलताका लागि यस सम्पूर्ण क्षेत्रलाई कालापानी मात्र भनिएको छ, जुन यसको हाल प्रचलित नाम पनि हो । कालापानी क्षेत्रमाथि भारतको दाबी नयाँ होइन । इतिहासका अनेक तथ्य र प्रमाणले यो भूभागमा नेपाली सम्प्रभुताको पुष्टि गर्छन् ।
कमजोर नै भए पनि कूटनीतिक प्रयासबाट दशकौँदेखि प्रस्तुत गरिएका नेपाली प्रमाणलाई भारतले अस्वीकार मात्र गर्दै आएको छैन, उसको सुगमताअनुसार नेपाली तथ्य र प्रमाणको प्रतिरोधमा नयाँ तथ्य ‘निर्माण’ गर्दै त्यहाँ आफ्नो सैन्य उपस्थितिको बचाउ गर्ने प्रयास पनि गर्दै आएको छ ।
नेपालको इतिहासमा बारम्बार विभिन्न स्वरूपमा दोहोरिने, केही समय चर्चा हुने तर समाधान हुन नसकेर थाँती रहने मुद्दाका रूपमा कालापानी सिमाना बल्झिरहेको छ । सुगौली सन्धियताका प्रमाण, ब्रिटिसकालीन भारतका विभिन्न आधिकारिक नक्सा तथा नेपाल सरकारले ऐतिहासिक चरणमा गरेको प्रशासनिक अभ्यासलगायतका प्रमाणले कालापानी नेपालको हो भन्नेमा विवाद गर्नुपर्ने देखिँदैन । तर चीनसँग उतर्सिएको जब्बर भारतले उसको राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘दोक्लम’ (भुटान, भारत र चीनबीचको त्रिदेशीय बिन्दु) जस्तै सामरिक महत्त्वको यस भागबाट पछि हट्न नमानेकाले विवाद जारी रहेको हो ।
यस पटक सार्वजनिक भएको भारतीय नक्साले नेपालमा उत्पन्न गरेको बहसलाई आश्वस्त बनाउन परराष्ट्र मन्त्रालयद्वारा कात्तिक २० मा जारी वक्तव्यले कालापानीमा नेपालको पुरानो अधिकार रहेको तथ्य दोहोर्‍याएको छ । त्यसको भोलिपल्टै प्रत्युत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले पनि भारतको पुरानै दाबी पेस गरेका छन् । यससँगै नेपाली र भारतीय दुवै पक्षले भनेको साझा कुराचाहिँ के हो भने कूटनीतिक माध्यमबाट कालापानीलगायतका सीमा समस्याको समाधान खोज्ने कार्य जारी राखिनेछ ।
कालापानीबारे नेपालले प्रस्तुत गर्न सक्ने वा गरेका प्रमाणका विषयमा यसअघि धेरै दस्तावेज लेखिएका छन् । यस आलेखले दुई देशसँग उपलब्ध समाधानका विकल्प, नेपालका तर्फबाट गर्न सकिने प्रयास र चालिनुपर्ने कदमबारे प्रवेश गर्न चाहेको छ । त्यसअघि कालापानीका सन्दर्भमा नेपालले सार्वजनिक बहसमा गरिरहने दुई गल्तीबारे छलफल गर्नु अत्यावश्यक छ ।

सैन्य उपस्थिति कहिलेदेखि
सन् १९६२ को लडाइँमा चीनसँग युद्ध लड्न हिमालयसम्म आइपुगेको भारतीय सेना कालापानी क्षेत्रमा बस्न थालेको र युद्ध समाप्तिपछि फिर्ता नगएको सामान्य नेपाली बुझाइ त्रुटिपूर्ण छ । कालापानीमा भारतीय सेनाको उपस्थिति संस्थागत स्मरणको अभाव हुने नेपालका लागि पहेली बन्न पुग्नाले अनेक कोणबाट आउने भारतीय दाबीलाई एक–एक गरी जवाफ दिने नेपालको सामर्थ्य कमजोर बन्न पुगेको छ । अरू त अरू, काली नदीको प्राकृतिक मुहानलाई पनि भारतले नयाँ कृत्रिम मुहान बनाएर विस्थापित गर्ने प्रयास गर्दै आएको छ, जसको सशक्त र प्रामाणिक जवाफ नेपालले दिनुपर्ने देखिन्छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफ्नो बोर्डर म्यानेजमेन्ट अफ नेपाल पुस्तकमा ९ जुन १९५२ देखि नेपालभित्र १८ वटा भारतीय सैन्य चेकपोस्ट स्थापना गरी तैनाथी सुरु भएको उल्लेख गरेका छन् (पृष्ठ २५९) । नेपालमा त्यसबेला ००७ सालको क्रान्तिपछि मातृकाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकार थियो । नेपाली सेनाको आधुनिकीकरण तथा प्राविधिक क्षमता वृद्धि गर्न सघाउने घोषित उद्देश्य राखेर यी भारतीय सैनिक नेपाल छिराइएको थियो, जसलाई भारतीय इच्छाअनुरूप तत्कालै उत्तरी सिमानाको ‘रेखदेख’ मा खटाइयो । थप भारतीय र बेलायती स्रोतहरू खोज्दै जाँदा सन् १९४९ मा तिब्बतलाई चीनले आफ्नो स्वशासित क्षेत्रका रूपमा मिलाएपछि सिमानामा चिनियाँ सेनाको सम्भावित उपस्थिति अवलोकन गर्न कालापानीमा भारतीय सेना पुगेको संकेत भेटिन्छ ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिपछि आदानप्रदान भएको गोप्य ‘लेटर अफ एक्सचेन्ज’ मा उल्लिखित ‘तेस्रो देशले गर्न सक्ने सम्भावित आक्रमणको सामना गर्न उपयुक्त प्रतिरक्षात्मक कदम उठाइने’ प्रावधानले नेपालमा भारतीय सैन्य उपस्थितिलाई भूतप्रभावी वैधानिकता प्रदान गर्न खोजेको पुष्टि हुन्छ । यो पत्र आदानप्रदान भएको नौ वर्षपछि मात्र सार्वजनिक भयो, जुन बेला नेपालमा भारतीय सैन्य चेकपोस्ट बस्न थालेको नै तीन वर्ष पुगिसकेको थियो ।
करिब १४ वर्षपछि एक वर्षको समयसीमा तोकेर भदौ १५, ०२७ (सन् १९७० अगस्त ३१) सम्ममा नेपालभित्र रहेका सबै भारतीय चेकपोस्ट बन्द गरी सैनिक फिर्ता गर्नुपर्ने गरी भएको सम्झौता सात महिनामै कार्यान्वयन हुँदासमेत कालापानीबाट भारतले उसका सैनिक फिर्ता लगेन । चीनले तिब्बतलाई आफूमा विलय गराएको बहानामा तत्कालीन भारतीय गृहमन्त्री बल्लभभाइ पटेलले नेपाल, सिक्किम र भुटानसँग जोडिएका संवेदनशील उत्तरी नाकामा भारतीय सेना तैनाथ गरेको तथ्य तत्कालीन भारतका इन्टेलिजेन्स ब्युरो प्रमुख रहेका बीएन मल्लिकले सन् १९७१ मा प्रकाशित आफ्नो पुस्तक माइ इयर्स विथ नेहरू ः द चाइनिज बिट्रेयलमा उल्लेख गरेका छन् । पटेलले ७ नोभेम्बर १९५० मा नेहरुलाई लेखेको पत्रमा दिएको जानकारीलाई यसको अर्को प्रमाण मान्न सकिन्छ ।
संवत् ०२६ (सन् १९६९) को नेपाल–भारत सहमति मातृकाप्रसाद कोइरालाको पालामा नेपाल ल्याइएका भारतीय सैनिक फिर्ता गर्नेसम्बन्धी मात्र थियो, जसअनुसार नै प्रधानमन्त्री कीर्तिर्निधि विष्टले उक्त सम्झौता कार्यान्वयन गराए । नेपाललाई पत्तै नदिई कालापानीमा पहिलेदेखि राखिएका भारतीय सेनालाई भने राजा महेन्द्रले पञ्चायती प्रणालीको स्थायित्वका लागि लेनदेनको विषय बनाए । त्यसैले तत्कालीन विदेशमन्त्री ऋषिकेश शाहले भनेका हुन्– महेन्द्र सरकारले कालापानीमा अहिले चुप लाग्न भनिबक्स्यो (सुधीर शर्मा ः मूल्यांकन, २०५५ साउन) ।
त्यसबेलाको अन्तर्राष्ट्रिय राजनीतिक परिवेशले पनि नेपाल र भारत दुवैलाई दबाबमा राख्न मद्दत गर्‍यो । एकातिर कम्युनिस्ट चीन भर्खरै सोभियत संघसँग युद्ध गरेर आफैँले साम्राज्यवादी करार गरेको अमेरिकी सहयोग लिँदै थियो भने लोकतान्त्रिक मानिने भारतचाहिँ पाकिस्तान–अमेरिकी गठजोडका कारण सोभियत खेमातिर लाग्यो । भियतनाम युद्ध छेडिएको थियो, क्युबाली मिसाइल संकटको पृष्ठभूमि तीव्र रूपले विकसित भइरहेको थियो । भारत–पाकिस्तान र भारत–चीन युद्ध सकिए पनि दक्षिण एसियामा अर्को युद्धको त्रास झनै बढेको थियो । पाकिस्तान र चीनसँग द्वन्द्वमा फसिसकेको भारतले नेपालजस्तो अर्को छिमेकीलाई थप चिढ्याउन चाहेन (लियो रोज, नेपाल ः स्ट्राटेजी फर सर्भाइभल, २७४–२७५) ।
यस परिस्थितिमा भारतसँग राजा महेन्द्रको लेनदेनले नेपाली राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्‍यो । पञ्चायती व्यवस्थाले बल्ल भारतको पूर्ण समर्थन पायो, जेलमुक्त भएर भारत पुगेका बीपी कोइरालामाथि निगरानी र नियन्त्रण तीव्र बनाइयो । भारतीय व्यवहारबाट निराशा मात्र हात लागेपछि नेपालमा हुन सक्ने सम्भावित मृत्युदण्डको परर्बाह नगरी राजासँगै नयाँ शिराबाट वार्ता गर्न बीपी नेपाल फर्के । पुष्पलालसँग मिलेर प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन गर्ने सहमति यत्तिकै अलपत्र पर्‍यो ।

लिपुलेक भन्ज्याङ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका दौरान १५ मे सन् २०१५ मा जारी संयुक्त वक्तव्यमा लिपुलेक भन्ज्याङको विषय उल्लेख भएपछि नेपाली समाज यस पटकजस्तै आक्रोशित भएको थियो । सम्झौताले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेकामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसमक्ष विरोध जनाए । सत्तारुढ नेकपा एमालेले विरोधमा बोल्यो । त्यसबेला र अहिले पनि हामीमध्ये धेरैलाई लागेजस्तो लिपुलेकमाथि भारत र चीनबीच समझदारी भएको त्यो पहिलो पटक भने थिएन ।
२९ अप्रिल १९५४ मा चीन र भारतबीच सम्पन्न व्यापार सम्झौताको धारा ३.२ मा पूर्वको शिक्पी–ला (सिक्किम) देखि पश्चिमको लिपुलेकसहितका ६ वटा नाका प्रयोग गरी व्यापार तथा आवतजावत गर्ने भनी उल्लेख छ । सन् १९९१ मा चीनका प्रधानमन्त्री ली पेङ भारतको भ्रमणमा जाँदा हस्ताक्षर भएको समझदारी पत्रमा पनि लिपुलेक उल्लेख थियो । नेपालले पछिल्लो पटक औपचारिक रूपमा यसबारे आपत्ति जनाउँदा चीनले कूटनीतिक तबरमा ‘कमजोरी’ भएको मानेको छ, जसले नेपालको पक्षलाई एक हदसम्म बल पुग्छ । तर भारतले यिनै पुराना सम्झौता देखाएर नेपालको ऐतिहासिक कमजोरी स्मरण गराइदिने गरेको देखिन्छ । चीनले लिन सक्ने सम्भावित ‘पोजिसन’ भारतसँग उसका पुराना सम्झौताका कारण निम्छरो भइसकेको छ ।
माथिका यी दुई प्रसंगले नेपालको सीमा व्यवस्थापनमा देखिएको राष्ट्रिय कमजोरी उजागर गर्छन् । कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नेपालको सरहदभित्र पर्छ भन्नेमा विवाद गर्नुपर्ने नै होइन । साझा सिमानामा प्रकट भइरहने भारतीय एकल प्रभुत्व निन्दा गर्नुपर्ने विषय हो । भारत ठूलो र बलियो छिमेकी भएको हुनाले उसले जिम्मेवारीपूर्वक र उदार हृदयका साथ आफूलाई प्रस्तुत गरोस् भन्ने नेपाल चाहन्छ । तर ऊ आफ्नो तीखो राष्ट्रिय स्वार्थले प्रेरित छ । यसका साथै एउटा सार्वभौम राष्ट्रले आफ्नो सिमाना जोगाउन गर्नुपर्ने राजनीतिक, कूटनीतिक र भौतिक यत्न नेपालले जुटाउन नसकेको पनि त्यत्तिकै ठूलो यथार्थ हो । सीमासम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रमा नेपालको प्रस्तुति फितलो हुनु, दसगजाजस्तो नेपाल र भारतको सिमानाबीच खाली रहनुपर्ने क्षेत्रमा बस्ती विस्तार रोक्न नसक्नु, सीमा सुरक्षामा राष्ट्रिय एकमत बनाउन कुनै पनि सरकारले पहल नगर्नु, सीमा विवादलाई तुच्छ राजनीतिक स्वार्थका लागि दलहरूले प्रयोग गरिरहनु नेपालले गर्दै आएका कमजोरी हुन् । पछिल्लो विवादले पनि यी कमजोरी सुध्रिने छाँट देखाएको छैन ।

नेपाली भूमि लिपुलेकमा तैनाथ इन्डो–टिबेटियन बोर्डर फोर्सका भारतीय अर्धसैनिक


नेपालसँग उपलब्ध विकल्पहरू
सीमा सुरक्षा कुनै राष्ट्रवादको विषय होइन, हरेक नागरिकको राष्ट्रिय दायित्व हो । इतिहासदेखि गाँठो परेर बसेको जटिल विषयलाई कुनै खास नेता वा सरकारको टाउकोमा हालेर निशाना साँध्ने कार्यले अन्ततोगत्वा देशलाई नै दीर्घकालीन हानि हुन्छ । तसर्थ गम्भीर र एकीकृत साझा राष्ट्रिय प्रयासद्वारा समाधानको खोजी गर्नु सरकारको दायित्व हो भने त्यस प्रयासका कमजोरी पहिचान गर्दै सरकारको प्रयासमा सघाउनु नागरिक कर्तव्य हो ।
यहाँ भन्नैपर्छ, यही सीमा विवाद वा अन्य कारणबाट नेपाल–भारत सम्बन्धमा दरार पैदा होस् र त्यसबाट राजनीतिक लाभ लिन सकियोस् भन्ने तत्त्व नेपालको राजनीतिमा उपस्थित छ । कालापानीका सन्दर्भमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले इंगित गरेको ‘भेस्टेड इन्ट्रेस्ट’ पदावलीले भारतीय राजनीतिमा पनि त्यस्तो तत्त्व उपस्थित रहेछ भन्ने देखाउँछ । दुवै देशका सरकारहरू यसप्रति चनाखो रहँदै समस्या समाधानतर्फ अग्रसर हुनुपर्छ ।
सीधा भन्नुपर्छ, सीमा विवाद सुल्झाउने उपाय केवल दुइटा छन् : कूटनीतिक प्रयास वा युद्ध । नेपाल र भारतबीच कूटनीतिक प्रयास जारी राख्नुबाहेक अर्को विकल्प कसैले सुझाउँछ भने त्यो हदैसम्मको मूर्खता हुन जान्छ । आफ्नो कूटनीतिक प्रयासलाई थप बलियो बनाउनचाहिँ विगतमा हुन नसकेका नेपालले तत्काल गर्न सक्ने केही काम छन्, जसलाई सम्पन्न गर्ने कार्यको नेतृत्व वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ ।
पहिलो– नेपालमा अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरूले विगतमा सरकारको वा परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहँदा भारतसँग धेरै पटक सीमासम्बन्धी वार्ता भएका छन् । यसकारण दलीय नेतृत्व समस्याबारे पूर्ण जानकार छ । अब सरकारले तत्काल पहल गरेर सीमासम्बन्धी विषयमा साझा राष्ट्रिय धारणा निर्माण गर्नुपर्छ । राजनीतिक ‘माइलेज’ लिन सीमाजस्तो संवेदनशील विषयलाई कुनै पनि दलले प्रयोग गर्नु हुँदैन ।
दोस्रो– नेपाल र भारतबीच सीमा विवाद सुल्झाउन हालसम्मका वार्तामा के–कति प्रगति भए, समस्या के छन्, दुवै देशले कस्ता प्रमाणहरू राखेका छन् र तिनमा एकअर्कालाई मान्य–अमान्य पक्षको सम्पूर्ण जानकारीसहितको श्वेतपत्र अंग्रेजी र नेपाली भाषामा जारी गर्नुपर्छ । साझा सहमतिको राष्ट्रिय दस्तावेजले हाल आम नागरिकमा रहेको भ्रम चिर्न मद्दत गर्छ भने सरकारको अडानलाई बल पुग्छ । सिमानाको रक्षा गर्न इमानदार प्रयास गर्ने जुनसुकै सरकारलाई नेपाली नागरिकको व्यापक समर्थन रहन्छ ।
तेस्रो– नेपाल र भारतबीच हाल कायम रहेको सिमाना सुगौली सन्धिले निर्धारण गरेको हो । त्यसैले सिमाना व्यवस्थापन र निर्धारणका प्रमाण जुटाउने कार्यमा यही सन्धि आधारबिन्दु हुनुपर्छ । काली नदीको मुहान लिम्पियाधुरा हो र सीमानदी त्यहीँबाट पैदा हुने नदी हो भन्ने मान्यता र ऐतिहासिक सत्य स्थापना गर्न नेपालका तर्फबाट के–कस्ता प्रमाण पेस भएका छन् र तिनमा भारतको असहमति के–कति हो भन्नेबारे तथ्य सार्वजनिक हुनुपर्ने देखिन्छ । विगतमा नागरिक तहबाट भएका प्रयासलाई पनि यसमा एकाकार गर्नुपर्छ ।
चौथो– नेपालको पश्चिम–उत्तर सिमानाको त्रिदेशीय बिन्दु निर्धारण गर्न नेपाल, चीन र भारतका सरकारबीच यथासम्भव चाँडै वार्ता हुनुपर्छ, जसको पहल नेपाल सरकारले गर्नुपर्छ । यस्तो वार्ताको अभावमा लिपुलेक प्रकरण बारम्बार दोहोरिन सक्ने खतरा रहन्छ ।
पाँचौँ– नेपाल र भारतबीच सीमा व्यवस्थापनसहितका विषय सम्बोधन गर्न संयुक्त प्रबुद्ध समूह गठन भएको हो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा गठित उक्त समूहले आफ्नो प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनले कालापानी र अन्य सीमा विवाद तथा व्यवस्थापन सम्बन्धमा के सिफारिस गरेको रहेछ भन्ने विषय दुवै देशका नागरिकको सरोकार भएकाले उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्नुपर्छ ।
छैटौँ– छिमेकमा विश्वासको सम्बन्ध स्थापित हुन सक्दा अप्ठ्यारा सीमा विवाद पनि सजिलै समाधान हुन्छन् भन्ने तथ्यलाई भारत र बंगलादेशबीच ६ जुन २०१५ मा भएको सीमा सम्झौताले पुष्टि गरेको छ । बंगलादेशको स्थापनादेखि चलेको द्विदेशीय सीमा विवाद यही सम्झौताले समाधान गरेको हो । नेपाल र भारतबीच सहज सम्बन्धका प्रशस्त आधार छन् । दुवै देशको नागरिक समाज र जानकार वर्गले पारस्परिक अन्तरक्रिया तीव्र बनाउँदै आफ्ना सरकारहरूलाई समस्या सुल्झाउने सहयोगी वातावरण निर्माण गर्न सघाउनुपर्छ ।
नेपालले आफ्ना प्रमाण अन्तर्राष्ट्रिय अदालतमा लैजानेलगायत विकल्प नभएका होइनन् । आजको समयमा यसले विषयलाई रोमाञ्चकृत त गर्छ तर समस्या समाधानका लागि द्विपक्षीय सार्थक कूटनीतिक बाटो नै उत्तम रहेकामा कसैले भ्रम पाल्नु हुँदैन ।

भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र
@TikaDhakaal

Page 29
Page 30
Page 31
Page 32
Page 33
आवरण

भारतको सामरिक स्वार्थ

नेपालको आर्थिक, सांस्कृतिक र रणनीतिक महफ्वको सीमा क्षेत्रमा भारतको बलमिच्याइँ
- योगेश ढकाल
२९ असोज ०५३ को कान्तिपुरमा नारायण वाग्लेको यो स्थलगत रिपोर्ट, जसमार्फत कालापानी पहिलोपल्ट राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुगेको थियो 

नेपालीका लागि ६५ वर्षसम्म चहर्‍याइरहेका घाउ हुन्, लिम्पियाधुरा, कालापानी र लिपुलेक । भारतीय अतिक्रमणका ती घाउमा कहिल्यै खाटा बस्न पाउँदैनन्, अनेकन बहानामा दुखाइरहन्छ, दक्षिणी छिमेकी । ४ वर्षपहिले त्यही घाउमा नुन छरेको भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा नेपालीका लागि अर्को गहिरो पीडा दिने सन्देश भइदियो । आखिर भारतले लिम्पियाधुरा–लिपुलेकसम्मको ३ सय ८५ वर्गकिलोमिटर क्षेत्रमा किन यति धेरै अतिक्रमण गरिरहेछ ? सैन्य, व्यापारिक, जलस्रोत र धार्मिक महत्त्वको रणनीतिले नै यो क्षेत्रमा भारतले आँखा लगाएको बुझ्न गाह्रो छैन ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतका लागि सामरिक महत्त्वका केन्द्र हुन् । भारत सहजै ती क्षेत्र छाड्ने मनसुवामा देखिन्न । लिपुलेकले उत्तरी सीमा तिब्बतको पुराङ/ताक्लाकोट र दक्षिणमा भारतको उत्तराखण्ड जोड्छ । भारतीय नागरिक कैलाश मानसरोवर जान मात्र होइन, कतिपय व्यापारिक प्रयोजनका लागि लिपुलेक भन्ज्याङ प्रयोग गर्छन् ।
सीमा अध्येता रतन भण्डारीको विश्लेषणमा भारतको पहिलो स्वार्थ– लिम्पियाधुरा भारतीय नदी जडान योजनासँग मेल खान्छ । महाकाली नदीको पानी दिल्ली हुँदै राजस्थान पुर्‍याउने योजना छ । तसर्थ भारतका लागि महाकालीको जलाधार क्षेत्रमा आधिपत्य कायम राख्नु अनिवार्य हुन्छ ।
भण्डारीको भनाइमा महाकाली क्षेत्रको महत्त्व यस कारण पनि बढ्यो कि महाकाली सिञ्चित क्षेत्र भारतका ६ जना पूर्वप्रधानमन्त्रीको चुनावी थलो हो । अझ गान्धी परिवार सबैको चुनावी क्षेत्र महाकाली सिञ्चित कमान्ड नै रहेको छ ।
दोस्रो– भारतीय स्वार्थ व्यापारिक नाका हो । च्याङ्ला भन्ज्याङ/लिपुलेक तिब्बतसँग जोडिएको प्राचीन व्यापारिक नाका मात्र होइन, नयाँ दिल्लीबाट चीन जोड्ने सबैभन्दा नजिक पर्छ । लिपुलेक नाकाको सहज सञ्चालनले भारतको ठूलो बजार लाभान्वित हुनेछ । लिपुलेक महाकाली नदीको उद्गम थलो लिम्पियाधुराबाट ५३.१२ किमि पूर्व र भारतको नयाँ दिल्लीबाट ७ सय ९९ किमिमा पर्छ ।
तेस्रो स्वार्थ– भारतको सैन्य उपस्थितिसँग जोडिन्छ । कालापानी भारतका लागि चीन चिहाउने सामरिक केन्द्र हो । कालापानीबाट तिब्बत करिब १० किमि मात्रै टाढा भएकाले लिपुलेकबाट चीन छिर्न तुलनात्मक रूपमा सहज छ । त्यति मात्र होइन, यो सन् १९६२ को चीन–भारत युद्धसँग जोडिएको नाका पनि हो । त्यसमाथि नेपालको उत्तरी सीमामा रहेका १७ वटा चेकपोस्ट हटाउनुभन्दा पहिला नै कालापानी भारतीय कब्जामा थियो । चेकपोस्ट हट्दा पूरा नभएको स्वार्थपछिको पीडा र आक्रोशले कालापानी छाड्न भारत राजी हुने कुरै थिएन । राजा महेन्द्रले त्यसमा आँखा चिम्लिदिँदा भारतले कमजोरीको फाइदा राजनीतिक नक्सा फेरबदल गरेरै लियो ।
त्यसबाहेक धार्मिक महत्त्वका केन्द्र पनि हुन्, लिम्पियाधुरा र लिपुलेक । लिम्पियाधुरास्थित जोलिङकन पर्वतमालामा प्रसिद्ध तीर्थस्थल ‘आदिकैलाश’ छ । तिब्बतको कैलाश मानसरोवर पुग्न नसक्नेहरू आदिकैलाशको दर्शन गरेर फर्किन्छन् । र, नजिकै पार्वती तालमा स्नान गरेर फर्किन्छन् । व्यास उपत्यकाको पश्चिम–उत्तरको अन्तिम गाउँ हो, कुटी । धार्मिक किंवदन्तीअनुसार पाँच पाण्डव स्वर्ग जाँदा यो बाटो प्रयोग गरेका थिए । त्यही सन्दर्भसँग जोडेर कुटी गाउँ नाम रह्यो । सीमा अध्येता भण्डारीका अनुसार लिपुलेकतिरबाट आउने खा यक्ति, जसलाई लिपुखोला भनिन्छ, त्यो खोलादेखि पूर्वतिर प्राकृतिक रूपमै ॐ देखिने अलौकिक पर्वत छ । व्यास ऋषिको तपोभूमिका रूपमा पनि यो क्षेत्र चिनिन्छ ।

भारतद्वारा अतिक्रमित क्षेत्र समेटिएको नयाँ नक्सा (बायाँ) र नेपाली भूमि जनाउने नेपालको नक्सा

लिपुलेक नियन्त्रणमा लिन भारत ६५ वर्षदेखि प्रयासरत देखिन्छ । भारतीय प्रयासमा चीनले समर्थन दिँदै आएको छ । सन् १९५४ देखि सन् २०१५ सम्म एक दर्जनभन्दा बढी पटक भारत–चीनबीच लिपुलेकबारे सम्झौता भएका छन् ।
नेपालले आफ्नो भूमिमा तेस्रो पक्षले सम्झौता गर्दा बोल्न नसक्ने कमजोरी त झल्किन्छ नै, चीनले पनि नेपालको अखण्डताविरोधी भारतीय गतिविधिमा समर्थन दिएको पुष्टि हुन्छ । जस्तो, सन् १९५४ मा ‘भारत र तिब्बतबीच व्यापार तथा आवतजावतसम्बन्धी सम्झौता’ भयो । र, भनियो– माने भन्ज्याङ, नीति भन्ज्याङ, सिप्की भन्ज्याङ, कुंग्री, बिङ्ग्री, दर्मा र लिपुलेक भन्ज्याङलाई भारत–चीनका नागरिकका लागि आवतजावतमा खुला गर्ने ।
यद्यपि सम्झौताको ६ वर्ष बित्न नपाउँदै भारत–चीनबीच २१ दिने युद्ध हुँदा यी नाका सञ्चालनमा समस्या आयो । तर भारत सहजै छाड्ने मनस्थितिमा नहुँदा सन् १९८८ मा पुनः भारत–चीनबीच समझदारी भयो, लिपुलेकबारे । भारतीय प्रधानमन्त्री राजीव गान्धीको चीन भ्रमणका क्रममा सन् १९६२ को युद्धले बन्द नाका खोल्ने सहमति भयो ।
त्यही सहमतिअनुसार सन् १९९२ मा लिपुलेक नाका खुल्यो । र, आजसम्म भारत–चीनले त्यसलाई उपयोग गरिरहेका छन् । नेपाली भूमि लिपुलेकलाई भारतकै भएको स्वीकारेर चीनले १५ मे २०१५ मा सम्झौता गर्‍यो । त्यसपछि भारतले नेपालको गुन्जीमा ‘ट्रेड अफिस’ नै खोलेको छ । र, मिठीमा ‘इन्डो–टिबेटियन बोर्डर पुलिस’ स्टेसन छ, जसले ट्रेड अफिससहितको सुरक्षा गर्छ । हरेक वर्ष १ जुनदेखि ३१ अक्टोबरसम्म चीन र भारतबीच यो नाकाबाट व्यापार हुने गर्छ ।
यहीँनेर चीनले नेपालसँग दोहोरो चरित्र देखाएको चर्चा पनि छ । तर चीनले ०१८ सालमा नेपालसँगको सीमा सम्झौतामा तिंकर, लिपुलेकलाई नेपाल–चीन नाकाको रूपमा स्वीकारेको छ । त्यतिबेला राजा महेन्द्र र चिनियाँ नेता ल्यु साओचीले हस्ताक्षर गरेको सम्झौतामा नेपाल–चीन सीमारेखा काली नदी र तिंकर भन्ज्याङ लिएको छ ।

भारतद्वारा अतिक्रमित क्षेत्र समेटिएको नयाँ नक्सा जारी भएपछि परराष्ट्र मन्त्रालयको विज्ञप्ति


फितलो प्रयास
नेपालले सुस्ता, कालापानीको सीमा विवाद सल्टाउने प्रयास त गरेको देखिन्छ । तर कमजोर कूटनीति र भारतीय दबदबाका कारण गाँठो फुक्न सकेको छैन । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सुस्ता र कालापानीसहितको सीमा विवाद सल्टाउने सहमति जुट्यो ।
सुस्ता र कालापानी विवादमा परराष्ट्रसचिव स्तरीय समिति र अन्य विवादित स्थान सल्टाउन नापी विभागका महानिर्देशकको नेतृत्वमा ‘बोर्डर वर्किङ ग्रुप’ गठन गरियो । ग्रुप सुस्त गतिमै रह्यो तर भारतीय अरुचिकै कारण कालापानी र सुस्ताको मुद्दा सल्टाउनुपर्ने सचिवस्तरीय समितिको बैठकसमेत भएन ।
निरन्तरका सीमा विवाद टुंग्याउन सन् २५ फेब्रुअरी १९८१ मा नेपाल–भारत संयुक्त प्राविधिक स्तरीय सीमा समिति गठन भयो, जसको पहिलो बैठक १५–१७ नोभेम्बर १९८१ मा नयाँ दिल्लीमा बस्यो । ३८ वर्षका ३१ बैठकले समेत कालापानी र सुस्ताको विवाद सल्टाउन सकेन । बरु सीमा समिति नै १ जनवरी २००८ मा विघटन भयो ।
त्यही समितिले टुंग्याएको १ सय ८२ थान सीमा नक्साभन्दा बढी छलफल गर्न भारत चाहँदैन । र, यत्तिमै हस्ताक्षर गर्न दबाब दिए पनि नेपाल एकै पटक टुंगो लगाउने अडानमा छ । त्यसको बेवास्ता गर्दै भारतले हालै राजनीतिक नक्सा प्रकाशन गरेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको सहमतिबिना अन्तर्राष्ट्रिय
सीमा नक्सा सार्वजनिक गर्न मिल्दैन । पूर्वसचिव सूर्यनाथ उपाध्याय भन्छन्, “यसलाई भारतले एकतर्फी नेपालमाथि गरेको आक्रमणको रूपमा बुझ्नुपर्छ र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”
कालापानी अतिक्रमणको मुद्दा संयुक्त राष्ट्रसंघसम्म पुगेको छ । राष्ट्रसंघका महासचिवको रेकर्डमा पुगेको मुद्दाबारे भारतीय पक्ष जानकार नभएको पनि होइन । तत्कालीन नेकपा मालेको नेतृत्वमा नौ वाम समूहले १५ असार ०५५ मा यूएनडीपीका नेपाल प्रमुख क्यारोल लङमार्फत संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई अपिल पठाएका थिए । त्यसको जवाफमा अन्नानले ‘नेपाल सरकारको प्रस्तावपछि मात्रै छलफल गर्न सकिने’ बताएका थिए ।
कालापानी अतिक्रमणमाथि राज्यमा कसिलो गरी आवाज उठाउने व्यक्ति हुन्, बहादुरसिंह एतवाल । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको सरकारमा वन सहायकमन्त्री रहेका एतवाल दार्चुलाको छाँगरु क्षेत्रका वासिन्दासमेत हुन् । उनकै जोडबलमा १२ असोज ०३० मा सरकारले कालापानी अतिक्रमण अध्ययन समिति बनायो । त्यसमा गृह पञ्चायतका अधिकृत पुरुषोत्तम रेग्मी र परराष्ट्र अधिकृत हरिप्रसाद खत्री संलग्न थिए । उनीपछि संसद्मा निरन्तर आवाज उठाउने व्यक्ति भने प्रेमसिंह धामी हुन् । पञ्चायत मात्र होइन, बहुदलकालका अध्ययन प्रतिवेदन पनि न छलफलमा आए, न त भारतीय पक्षसँग दरिलो अडान राख्न सके । सीमा अतिक्रमण मुद्दा आन्तरिक राजनीतिमा खपत एजेन्डा मात्रै बनेका छन् ।

आफ्नै भूमिमा भिसा : दार्चुलाको व्यास क्षेत्रमा जान जारी बहुयात्रा अनुमति सिफारिस

 

नेपालका तीन आधार
पश्चिमी सीमा लिम्पियाधुरा हो भन्नेमा नेपालको अडान धमिलो छ । केही राजनीतिक नेताहरू र मन्त्रीसमेत लिपुलेकलाई सीमा मान्ने पनि छन् । तर नेपालले तीन आधारमा पश्चिमी नाका लिम्पियाधुरा दाबी गर्न मिल्ने विज्ञहरूको भनाइ छ । पहिलो– इस्ट–इन्डिया कम्पनी सरकारले प्रकाशित गरेको ऐतिहासिक नक्सा । दोस्रो– जल विज्ञान । तेस्रो– कुमाउ कमिसनरलाई पठाएको पत्र । सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीको पूर्व नेपालको सीमा हो । त्यसको सुरुआत बिन्दु काली नदी हो, जसको मुहान लिम्पियाधुरा हो । ००९–०११ सालमा गरिएको नेपालको पहिलो जनगणनाअनुसार ती क्षेत्रको तथ्यांकमा ४ सय ३२ घरधुरीमा १ हजार ८ सय १६ जनसंख्या थियो । विसं ०१८ को जनगणनामा तत्कालीन जोनल अफिसरका रूपमा भैरव रिसालले कुटी, तिङ्कर, छाँगारु, नाभी, गुन्जी र गर्ब्याङ गाउँको तथ्यांक लिएका थिए ।
सीमा अध्येता भण्डारीका अनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधिकारिक आधार इस्ट–इन्डिया कम्पनी र सर्भे अफ इन्डियाले प्रकाशन गरेका त्यतिबेलाका नक्सा हुन् । जस्तो, सुगौली सन्धि हुनुभन्दा २ महिनापहिला २ जनवरी १८१६ मा ब्रिटिस सम्राटका हाइड्रोग्राफरले प्रकाशन गरेको नक्सामा महाकाली नदीको मुहान लिम्पियाधुरा देखाइएको छ । सुगौली सन्धि भएको ३ वर्षपछि सन् १८१९ मा सर्भे अफ इन्डियाले प्रकाशन गरेको नक्साले पनि काली नदीको मुहान लिम्पियाधुरा नै देखाएको छ । त्यति मात्र होइन, सन् १९०३ मा नेसनल लाइब्रेरी अफ चाइनाले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुरा नै काली नदीको मुहान भएको देखाइएको छ । चीनद्वारा सन् १९२१ र सन् १९३४ मा प्रकाशित नक्सामा पनि काली नदीको मुहान लिम्पियाधुरा नै देखाइएको छ ।
जल विज्ञानमा मूल र सहायक नदी छुट्टयाउन नदीको लम्बाइ, नदीले ओगटेको जलाधार क्षेत्र, पानीको मात्रा, गहिराइ र क्रमांक आधार मानिन्छ । त्यस आधारमा हेर्दा सहायक नदीभन्दा लामो दूरीबाट आउने, पानीको मात्रा बढी भएको, गहिरो र जलाधार क्षेत्र धेरै भएको नदी मूल मानिन्छ । सोही आधारमा लिम्पियाधुरा उद्गमित नदी पानीको आयतन बढी भएको, जलाधार क्षेत्र पनि ठूलो भएको, अन्य सहायक नदीभन्दा टाढाबाट बगेर आएको र गहिरो पनि भएकाले महाकालीको मुहान त्यसैलाई मानिएको छ ।
तेस्रो तथ्य के भने इस्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्यसचिव जे आदमले गभर्नर जनरलको रूपमा सन् १८१७ मार्च २२ मा कुमाउका कमिसनरलाई ॅकालीपूर्वको व्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालकै भएकाले ती गाउँ नेपालमा सुम्पिन’ भनेर लेखेका थिए । खासमा व्यास प्रगन्ना भोटिया जमिनदारले ॅब्रिटिस शासनअन्तर्गत रहन पाऊँ’ भन्ने निवेदन दिएपछि आदमको पत्र आएको हो । सोही पत्रका आधारमा कालीपूर्वमा कुटी, नाभी, गुन्जी, छाँगरु, तिङ्कर पर्थे । ती क्षेत्रका स्थानीयको विसं १९९७ सम्म मालपोत कार्यालय बैतडीमा तिरोतिरानका तथ्य पनि भेटिएका छन् ।

Page 34
आवरण

‘अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

- रतन भण्डारी

 

सुगौली सन्धिको धारा ५ मा भनिएको छ– नेपालका राजा र उनका उत्तराधिकारीले मानेको महाकाली नदीदेखि पश्चिमको भाग परित्याग गर्ने । यसको अर्थ नेपालले महाकाली नदीभन्दा पश्चिमको भूभाग मात्रै त्यागेको हो । तर अहिले भारतले महाकालीदेखि पूर्वको तीन गाउँ कुटी, नाभी र गुञ्जा कब्जा गरेर बसेको छ । सन् १८१६ को सुगौली सन्धिदेखि सन् १८५६ सम्म इस्ट–इन्डिया कम्पनी सरकारले बनाएका सबै नक्सामा लिम्पियाधुराबाट बगेर आएको नदीलाई काली नदी भनिएको छ । सन् १८५६ को नक्सामा नेपालको पनि सहमति जुटाइएको छ । दुईपक्षीय सहमतिका आधारमा जारी नक्सामा काली नदीको मुहान लिम्पियाधुरा भनेर प्रस्ट उल्लेख छ । भारतले सन् १९५४ मा भारत–चीनबीच भएको सहमतिअनुसार क्याम्प बसेको भन्ने गरेको छ ।
पछिल्लोपल्ट १५ मे ०१५ मा चीन–भारतबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता भएपछि नेपालमा त्यसको चर्को आलोचना भयो । ऐतिहासिक तथ्यका आधारमा हेर्ने हो भने भारत र चीनबीच सन् १९५४ मा एउटा सम्झौता भएको देखिन्छ, लिपुलेक सम्बन्धमा । जतिबेला चीनसँग नेपालको दौत्य सम्बन्ध कायम भइसकेको थिएन । त्यसैलाई आधार मानेर भारतले सम्झौताताका नेपालले विरोध नगरेको दाबी गरेको छ, जुन कुतर्क हो । भारतले के पनि भन्छ भने त्यतिबेलाको सम्झौताअनुसार सन् १९६२ सम्म पारवहन र आवतजावत थियो । सन् १९६२ को युद्धपछि त्यो प्रक्रिया अवरुद्ध भयो । सन् १९८४ मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको चीन भ्रमणका बेला बाटो खोल्ने प्रयास भएको थियो । सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंह चीन भ्रमणमा गएका थिए । त्यतिबेलै अमर उजालाका पिथौरागढ संवाददाताले लिपुलेकमा फेरि सम्झौता भयो भनेर समाचार लेखेका थिए । त्यो समाचारपछि नेपालमा ठूलै तरंग आयो । अनि, काठमाडौँको एक कार्यक्रममा चिनियाँ राजदूत जे जेवाङले भनेका थिए, ‘भारत र चीनबीच लिपुलेकबारे कुनै सम्झौता भएको छैन । तर नेपाल–भारतबीच समस्या रहेको कालापानीको मुद्दा सल्टाउने हो भने लिम्पियाधुरालाई त्रिदेशीय बिन्दु बनाउनेबारे छलफल गर्न सकिन्छ ।’
राजदूतको यो भनाइ चीनको तर्फबाट कालापानी र लिम्पियाधुराको हकमा पहिलोपल्ट बोलिएको थियो । सन् २००५ मा चिनियाँ प्रधानमन्त्री वेन जियावाओको भारत भ्रमणमा लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता भएको थियो । लिपुलेकबारे सन् २००७ मा भारतको संसद्मा कुरा उठ्यो । एक सांसदले उठाएको त्यो प्रश्नमा सभामुखले लिपुलेकबारे चीन–भारतबीच सम्झौता भएको प्रस्टीकरण दिए । सन् २०१३ मा पनि सी चिनफिङको भारत भ्रमणमा अर्को सम्झौता भयो, लिपुलेकबारे । त्यो बेला पनि यो कुरा उठेन । सन् २०१५ मा मोदी चीन भ्रमणमा जाँदा अर्को सम्झौता भएपछि बल्ल नेपालमा मुद्दा तात्यो ।
नेपालको पश्चिमी नाका लिम्पियाधुरा हो भन्ने ऐतिहासिक तथ्य, प्रमाण, पत्राचार, मालपोत तिरो, मोठ हामीसँग सुरक्षित छन् । ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म प्रकाशित गरेका नक्सा प्रमाणको रूपमा छन् । ब्रिटिस सरकारको विदेश सचिवले कुमाउ कमिसनरलाई लेखेको पत्रमा ‘कुटी, नाभी, गुञ्जी नेपालको भूमि भएकाले त्यो भूमि बम शाहलाई सरेन्डर गर’ भनेका छन् । यी थुप्रै तथ्य प्रमाणका आधारमा नेपाल सरकारले भारतसँग कूटनीति संवादबाट मुद्दा सल्टाउनुपर्छ । त्यतिले मात्र पुगेन भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सल्टिने सम्भावना नदेखिए अन्तर्राष्ट्रिय अदालत गुहार्ने वातावरण बनाउनुपर्छ ।
(भण्डारी अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक पुस्तकका लेखक हुन्)

Page 35
Page 36
Page 37
Page 38
Page 39
Page 40
परिभ्रमण

नभन्ठान्नुस्, पृथ्वी तातेर मलाई केही हुन्छ र !

- अजय दीक्षित

नरेन्द्र मोदीसित अनौपचारिक भेटपछि सी चिनफिङ असोज २५ मा नेपाल आए । रात्रिभोजमा दिएको सम्भाषणमा चीनका राष्ट्रपतिले भने, ‘हामी जलवायु परिवर्तनको सम्बोधन धेरै पक्षबाट अगाडि बढाई हाम्रो साझा, विशेषगरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौँ ।’
विश्वको निधि सगरमाथाले हिमालयको प्रतिनिधित्व गर्छ । राष्ट्रपति सीको भनाइ यसकारण महत्त्वपूर्ण छ । ४० वर्षयता चीनले अद्भुत प्रगति गरे पनि वातावरण र जल प्रणालीमा ह्रास भोग्दै छ । वातावरण संरक्षण चीनका लागि चुनौतीको विषय हो । मानवीय प्रगति र प्रकृतिबीचको सन्तुलन राख्ने उद्देश्यले सन् २०१६ मा चीनको कम्युनिस्ट पार्टीले ‘पर्यावरणीय सभ्यता’ अवधारणा पारित गर्‍‍यो ।
उपलब्ध दस्तावेजअनुसार पर्यावरणीय सभ्यता चीनको दिगो विकास योजना हो । अवधारणाले हरियो विकास, सर्कुलर विकास र न्यून कार्बन विकासका साथै आर्थिक फाइदा र पर्यावरण संवर्द्धनबीच सन्तुलनको उद्देश्य राखेको छ । नेपाल र चीन सम्बन्धका संकथनमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), रेल, बाटाघाटा, दुईपक्षीय सम्बन्ध र भूराजनीति छन्, पर्यावरणीय सभ्यताले स्थान पाएको छैन ।
राष्ट्रपति सीको भ्रमण हुँदै गर्दा पश्चिमा मुलुकहरूमा ‘एक्सटिन्सन विद्रोह’ चलेको थियो, चल्दै छ । पात्रहरू शान्तिपूर्ण प्रदर्शन र स्वगिरफ्तारी दिँदै छन् । जैविक विविधता विनाश रोक्ने माग विद्रोह निर्देशित छ । विद्रोहको अर्को त्यान्द्रो ग्रेटा थनबर्गले नेतृत्व गरेको युवा आन्दोलन हो ।
जलवायु परिवर्तनको असर र जैविक विविधताको विनाश हिमालय क्षेत्रले पनि भोग्दै छ । ह्रासका केही क्षेत्रीय कारण पनि छन्, गाडी चलाउँदा निस्केको धुवाँ । दक्षिण एसियाका पश्चिमी मैदानी भेगमा धान काटेपछि गहुँ लगाउनुअघि किसान खेतमा बाँकी रहेका ठुटा बाल्छन् । धुवाँले वायु प्रदूषण बढाउँछ, विषाक्त पार्छ, स्वास्थ्यमा प्रतिकूल असर गर्छ । हावाले उडाएर हिमालतिर पुर्‍याएका कण हिउँको पत्रमा थिग्रिन्छन् । थिग्रिएका काला कणले सूर्यको किरण बढी सोस्ने हुँदा हिउँ पग्लने दर अझ बढ्न थाल्छ ।
हिमाल, सगरमाथाको रक्षा वायुमण्डलमा अत्यधिक मात्रामा थुपारिएका हरितगृह प्रभाव पार्ने ग्यास हटाएर (डिकार्बनाइजेसन) र पर्यावरणीय संवर्द्धनले गराउँछ । कार्बन दहनमा आधारित विश्वव्यापी आर्थिक विकास बाटोको नवीकरणीय ऊर्जामा रूपान्तरण जरुरी छ । हिमालय क्षेत्रको पारिस्थितिकीय प्रणाली संवर्द्धन यस रूपान्तरणको अभिन्न आयाम हुनुपर्छ । प्रगतिका प्रस्ताव र यात्रामा प्रकृतिलाई बिर्सनु हाराकिरी गर्नुसरह हुनेछ ।
सन् १९९२ मा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) भयो । त्यस समय विश्व वायुमण्डलमा कार्बनको मात्रा ३५६ पीपीएम हाराहारी थियो, सन् १८५० को भन्दा ७० बढी । २८६ बाट पीपीएम ३५६ पुग्न १४२ वर्ष लागेको थियो, वार्षिक ०.५० को वृद्धि दरमा । सन् २०१९ मा पीपीएम ४१० पुगेको छ । १९९२ पछि ५४ पीपीएम थपियो, २७ वर्षमा वार्षिक २ पीपीएमको वृद्धि दरले ।
विगतमा र सन् १९९२ यता उत्सर्जित ग्यासले कार्बन जल प्रणालीलाई उथलपुथल पार्नेछ । परिवर्तित जल प्रणालीसित अभ्यस्त रहनु ठूलो चुनौती हो । हिमालयदेखि डेल्टासम्म करोडौँ घातमा पर्नेछन् । पढेलेखेका, जानेबुझेकाले नकारात्मक प्रभावबाट आफूलाई बचाउलान्, सीमान्त, स्रोतविहीन, साना किसान, विपन्न मानिस नयाँ संकटमा पर्नेछन् ।
शीतयुद्धको कालखण्डमा अमेरिकी जासुसी उपग्रहले विभिन्न समयमा हिमालय क्षेत्रको तस्बिर लिएका थिए । तस्बिरको तुलनात्मक अध्ययनले हिमालयमा रहेको हिउँको अवस्था स्पष्ट पारेको छ । तुलनाका अनुसार सन् १९७० देखि २००० सम्म ४ अर्ब घनमिटर हिउँ पग्लियो भने सन् २००० देखि सन् २०१६ सम्म त्यसको दोब्बर ८ अर्ब घन मिटर, ४६ वर्षमा १२ अर्ब घनमिटर । स्थानीय तथ्यांकले पुष्टि गर्नै बाँकी हुँदा निर्क्योल सांकेतिक मान्नुपर्छ । तर १९५० यता विभिन्न समय हिमाली क्षेत्रमा गरिएका अध्ययन, तस्बिर र स्थानीयका अनुभव भन्छन्, पग्लिँदै छ ।
सन् २०१९ को एउटा प्रतिवेदनले असरको परिदृश्य प्रस्तुत गरेको छ । काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको हिमालय क्षेत्रको बृहत् अध्ययन प्रतिवेदनअनुसार ‘सन् २१०० सम्म विश्व वायुमण्डलको औसत तापक्रम १.५ डिग्री सेल्सियस बढेमा एक तिहाइ र दुई डिग्री पुग्यो भने दुई तिहाइ हिमनदी पग्लनेछन् ।’ शताब्दीको अन्त्य पुग्न अझै ८० वर्ष छ । हामीलाई लाग्छ– मलाई केही हुँदैन, चिन्ता लिनुपर्दैन तर हाम्रा निकट भावी पुस्तालाई अस्तित्वको खतरा हुनेछ ।
औद्योगिक कालखण्डमा वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो, अहिले एक डिग्री बढेको छ । एक डिग्री केही पनि होइनजस्तो लाग्न सक्छ । एक लिटर पानी एक डिग्री तात्ने ऊर्जा अन्दाज गरौँ, सिंगो पृथ्वीको औसत तापक्रम एक डिग्री तात्न कति ऊर्जा चाहिएला ? दुई सय वर्षयता हरितगृह ग्यासले वायुमण्डलको तापक्रममा गरेको वृद्धि हो यो, समुद्र, मरुभूमि, पहाड, वनजंगल, सबैतिर ।
नवीकरणीय ऊर्जाको माग बढाउनुको सट्टा नेपाल खनिज इन्धन वितरणका जेथामा बाँधिँदै छ । मोतीहारी–अमलेखगन्ज खनिज इन्धन आपूर्ति पाइप लाइन चितवनको लोथरसम्म पुर्‍याउने प्रस्ताव छ । हाम्रो ऊर्जा यात्रा पछाडि लाग्दै गरेको अनुभूति हुन्छ । खनिज इन्धन आयात खर्च मात्रै होइन, नेपालको कार्बन उत्सर्जन परिमाण र दर दुवै वृद्धि हुनेछ, यद्यपि हाल नेपालको उत्सर्जन विश्व कार्बन बजेटको ०.०२५ प्रतिशत मात्रै हो । विश्व कार्बन बजेटमा तात्त्विक फरक नपर्ला तर नेपालको पेरिस अभिसन्धिको लक्ष्यलाई कस्तो असर पर्ला ? हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता के होला ?
गत आर्थिक वर्ष नेपालले करिब २ सय १४ अर्ब रुपैयाँको तेल आयात गर्‍यो । यो रकम व्यापार घाटाको ठूलो अंश हो । खनिज इन्धनमा निर्भरताले हाम्रो अर्थ प्रणालीलाई दुई किसिमले घात गर्नेछ, आयात बजेट र वायु प्रदूषणले ल्याउने सामाजिक खर्चमा निरन्तर वृद्धि ।
औद्योगिक सभ्यताले सुरु गरेको र विश्वव्यापी स्वीकृति पाई संस्थागत भएको विधिमा प्रकृतिले भोग्ने खर्चको उचित हिसाब गरिएन । फलस्वरूप जलवायु परिवर्तन र प्रकृति विनाश पृथ्वीबासीका लागि ठूलो चुनौती बन्न पुगेको छ । चिनियाँ राष्ट्रपति सीको हिमालय बचाउने प्रतिबद्धतालाई यही परिप्रेक्ष्यमा हेरिनुपर्छ ।
चीन पहिलो उत्सर्जक हो । सन् १९९२ मा विश्व वायुमण्डलमा २२ गिगाटन हरितगृह ग्यास थियो, जसमा अमेरिका चीन र भारतको उत्सर्जन क्रमशः २३, १२ र ३ प्रतिशत थियो । २५ वर्षपछि २०१७ मा ३६ गिगाटन पुग्दा तिनको उत्सर्जन क्रमशः १४.६, २७ र ६.८ प्रतिशत पुग्यो । पहिलो चीन, अमेरिका दोस्रो र भारत तेस्रो । कार्बन उत्सर्जन रोकिएको छैन । केही दिनअघि १ सय ५३ मुलुकका ११ हजार वैज्ञानिकले बायो साइन्स जर्नलमा सामूहिक चिट्ठी प्रकाशित गरी ‘ जलवायु संकट देखा परिसकेको’ बताए । चिट्ठीमा प्रकृतिसित सन्तुलन स्थापित गर्ने एवं खनिज इन्धनमा निर्भरता कम गर्ने सुझाव छन् ।
विश्वव्यापी स्तरमा न्यूनीकरणको विकल्प छैन । यो ऐतिहासिक दायित्व पहिलो, दोस्रो र तेस्रो उत्सर्जक, चीन, अमेरिका र भारतले लिनुपर्छ । भारत र चीनले एसियाली शताब्दीको अगुवा बन्ने हो भने उत्सर्जन कम गराउने बाटोमा मुलुकका अर्थ र ऊर्जा प्रणालीलाई रूपान्तरित गराउनैपर्छर् ।
नवीकरणीय ऊर्जा चीन र भारतको प्राथमिकतामा नभएको होइन । भारतले ४५० गिगावाट नवीकरणीय ऊर्जा स्थापना गर्ने लक्ष्य राखेको छ । चीन नवीकरणीय ऊर्जा प्रविधिको अगुवा हो । न्याचुरल रिर्सोसेस डिन्फेस काउन्सिलका अनुसार सन् २०१८ सम्म चीनमा १७५ गिगावाट सौर्य र १८४ गिगावाट वायुमिल जडान गरिएको छ ।
तर कोइला अझै तिनको ऊर्जाको मुख्य स्रोत रहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको प्रतिवेदन उल्लेख गर्दै विजेता रतानी र शेखर दीपक लेख्छन्, ‘सन् २०१७/२०१८ मा मुलुकमा उत्पादन भएको झन्डै ८५ प्रतिशत बिजुलीको कोइला दहन थियो भने सन् २०१८ मा चीनमा ५९ प्रतिशत ।’
डिकार्बनाइजेसनको यात्रामा चीन, भारत र विकसित पश्चिमा मुलुकले आफ्नो दायित्व कसरी निर्वाह गर्लान् ? नेपालले आफूलाई कसरी प्रस्तुत गर्ला ? यी प्रश्नको ठ्याक्क जवाफ कसैसित छैन । नयाँ प्रणाली तुरुन्त स्थापना भइहाल्दैन । सहकार्य जरुरी छ तर सजिलो छैन । पेरिस सम्झौता मुलुकहरूले सहकार्य गर्ने एउटा आधार हो । अभिसन्धिका प्रावधानले आफ्नो अर्थव्यवस्थालाई अनुचित बोझ पार्ने भन्दै अमेरिकी सरकारले हालै अभिसन्धिबाट बाहिरिने औपचारिक सूचना दिएको छ । विकसित मुलुकमा जलवायु परिवर्तन भएको छ–छैन भन्ने विवाद चल्दै छ । डिकारबनाइजेसनको बाटो राष्ट्रिय राजनीतिसित जोडिएको छ ।
विश्वको सबैभन्दा शक्तिशाली मुलुकको निर्णयको कस्तो असर पर्ला ? नेपाल र नेपालीले के गर्ने ? कम उत्सर्जक भए पनि नेपालको जिम्मा हो, पर्यावरणीय सभ्यताको गन्तव्यतर्फ लाग्दै नवीकरणीय ऊर्जाको क्रान्तिबाट फाइदा लिनु । खनिज तेलको प्रयोगमा व्यापक कटौती र प्राकृतिक प्रणालीको अनवरत संवर्द्धन, नेपाल र नेपालीको हितमा छन् । दुवैले हामीलाई समृद्धि र कुल न्यूनीकरण हासिल गर्ने बाटोमा लैजान्छन् । तत्अनुरूप आर्थिक र सामाजिक विकासको बाटो तय गर्नुपर्छ ।
जलवायु परिवर्तनले भविष्यमा पर्न सक्ने विभिन्न प्रभाव अब परिदृश्य होइनन्, वास्तविकता बन्दै छन् । ठीक–बेठीक के गरियो, हाम्रै जीवनकालमा स्पष्ट हुँदै जानेछ ।

Page 41
Page 42
अर्थ

हुटहुटीले बनायो व्यवसायी

तीन युवाका जोसिला स्टार्टअप पाइला
- सुनिता लोहनी

टुटल र पठाओ, दराज अनलाइन, खाली सिसी केही सफल स्टार्टअप व्यापार हुन् । यिनै व्यवसायको सफलता देखेर वा केही नयाँ गर्ने होडमा सयौँ युवा स्टार्टअपमा लागिरहेका छन् । तर सरकारी झन्झटिलो नीति नियम, सोचमा लगानी नहुँदा कैयौँ स्टार्टअप कागजमै मात्र सीमित हुन पुगेको छ । तैपनि केही युवा जोशलाई भने यी समस्याले पनि रोक्न सकेका छैनन् ।
कसरी सुरु हुन्छ एउटा स्टार्टअप ?
शिवजन चौलागाई, ३३, सिन्धुलीको विकट गाउँका पहिलो इन्जिनियर हुन् । गाउँ यति विकट कि अहिलेसम्म बिजुलीबत्ती पुगेको छैन । शिवजनसँग गाउँका समस्या पनि ठूला र गाउँलेका अपेक्षा पनि ठूलै । यसलाई सबै थाहा छ भन्दै बिरामी बाख्रा नै डोर्‍याएर ल्याउने गाउँले । तर उनी थिए, इलेक्ट्रोनिक इन्जिनियर ।
तारविहीन प्रविधिबाट दुर्गम गाउँमा सञ्चार प्रवाह गरेका महावीर पुनबाट प्रभावित शिवजनलाई ०६७ मा इलेक्ट्रोनिक इन्जिनियरिङ उत्तीर्ण गरेपछि जागिर खानेभन्दा पनि केही गर्ने हुटहुटीले आफ्नै गाउँ डोर्‍यायो । गाउँका अरू विद्यार्थीले गुणस्तरीय शिक्षा पाऊन् भन्ने मनसाय बोकेर उनले सोलार पावर कम्प्युटर ल्याब बनाए । उनले बनाएको सोलार ल्याब ७ भन्दा बढी विद्यालयमा प्रयोगमा आयो । गाउँकै विद्यालयमा अंग्रेजी, विज्ञान र कम्प्युटर पढाउन थाले । तर कृषिप्रधान देशका नागरिकले कृषिमै यति धेरै अन्याय र सास्ती भोगेको प्रत्यक्ष देखेपछि शिवजनले कृषिमा केही गर्ने सोचे । यही सोचले जन्म दियो, कृषि गुरु एप । भन्छन्, “व्यावसायिक खेतीपाती तथा पशुपालन गर्न, बिक्री वितरण गर्न, कृषि मन्त्रालयले दिने गरेका अनुदान र सहयोग तथा कृषिसम्बन्धी समस्या समाधान गर्न विज्ञसँग परामर्श लिन कुनै प्लेटफर्म थिएन ।”
कृषिमा सूचना अभाव थियो । उनी यही कमी पूरा गर्न चाहन्थे । अन्ततः ०७० मा उनले आईसीटी फर एग्री नामको एप बनाए । पछि त्यही एपलाई परिमार्जन गरेर कृषि गुरु एप बनाए । पहिलेको एपबाट एसएमएस गर्ने कृषकले मात्र फाइदा लिन सक्थे । तर अहिलेको एपले नेपालभरि जता रहे पनि कृषकले निःशुल्क फाइदा लिन सक्छन् ।
व्यावसायिक तालिम लिन एक साता या एक महिनाको सब्सक्राइब गर्न सकिन्छ । पहिलो महिना निःशुल्क हुन्छ भने दोस्रो महिनादेखि केही शुल्क लाग्छ । १२ जना कृषि विशेषज्ञसँग कुनै पनि बेला कुरा गर्न सकिन्छ । तर सरकार र सरकारी निकायबाट भने उनी सधैँ रित्तो हात फर्कनुपर्दा कृषि गुरुको प्रयोग जुन अनुपातमा देशभर फैलनुपर्ने हो, त्यो हुन सकेको छैन ।
समुद्रराज अर्याल, २५, ले साउथ इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बीबीए गरे, ०७२ मा । कलेजमा अन्टरप्रिनियर विषय पढ्थे । साथी–साथीबीच छलफल चल्थ्यो । के व्यापार गर्ने भनेर राम्रा उपाय पनि सिर्जना हुन्थ्यो । जस्तो, मोबाइल फुड ट्रक । स्याङ्जा घर भएका समुद्रको गाउँमा सरकारी जागिर आकर्षणको पद हो । त्यसमा रुचि नभए पनि उनी १ वर्ष लोकसेवामा डुले । पछि साथीसँग मिलेर कपडा रेन्ट प्राइभेट लिमिटेड दर्ता गरे । ०७४ बाट काम सुरु गरे । उनी आफ्नो व्यवसायलाई परिचयको चरणमै रहेको मान्छन् ।
समुद्रराजलाई अरू व्यापारिक योजनाभन्दा कपडा रेन्टमा चाहिँ थोरै लगानीमा काम गर्न सकिन्छ कि भन्ने लाग्यो । भारतमा कपडा भाडामा लिने र दिने ठूलो व्यापार छ । नेपालमा भने पार्टीवेयर कपडा भाडामा दिने र लिने चलन दर्ता गर्ने कपडा रेन्ट पहिलो हो । तर महँगा कपडा भाडामा दिने उपाय कसरी फुर्‍यो त ?
समुद्रसँग १० हजार खर्च गरी किनेको सुट थियो । भोजभतेरमा एक–दुई पटक लगाएपछि ती सुट थन्किथे । यसरी ३ वटा सुट थन्किसकेपछि उनलाई यो सोच फुरेको हो । सेवा दिने व्यापार भएकाले यो फरक छ । भन्छन्, “होटलमा आएर मःम खाएजस्तो होइन । भाडामा दिएपछि कपडा पुनः फिर्ता पनि लिनु छ ।” व्यापार सोच राम्रो भए पनि सञ्चालनमा भने समस्या हुने समुद्रको बुझाइ छ । कपडा च्यातिने, बिग्रिने, बटन फुस्कने, धागो निस्कने आदि यो व्यापारका लागि ठूला चुनौती हुन् ।
त्यसो त सामाजिक सन्जालको जेनेरेसनले कपडा रेन्टजस्ता व्यापारलाई सजिलो पनि तुल्याइदिएको छ । फेसबुक, इन्स्टा, टिकटकजस्ता सामाजिक सन्जालमा फोटो अपलोड गर्ने चलन छ । युवतीहरू एकपल्ट भोजमा पहिरेको लुगा अर्को ठाउँमा लगाउँदैनन् । यसले व्यापार गर्न सहज भएको समुद्रराज बताउँछन् । भन्छन्, “पार्टीवेयर महँगा हुन्छन् । सबै पार्टीका लागि नयाँ–नयाँ किन्न सकिँदैन । त्यहाँ हाम्रा लागि ठूलो अवसर हो ।”
५ लाख रकमबाट व्यापार सुरु भएको कपडा रेन्टमा कपडा लिँदा १० प्रतिशत भाडा लिन्छन् । कपडा बिगारे हेरेर थप जरिवाना लिइन्छ । कपडा फिर्ता नदिने केसबाट बच्न, समयै कपडा फिर्ता ल्याउन ग्राहकलाई उत्प्रेरित गर्नुपर्छ । भन्छन्, “१० हजारको कपडालाई १५ सयमा दिन्छौँ । कपडा घरमा राखे के हुन्छ भन्नेजस्ता नकारात्मक कुरातिर ग्राहकको ध्यान जानै दिँदैनौँ । उनीहरूलाई समस्याभन्दा पनि केही गल्ती भए समाधान के हुन्छ, त्यो बताउँछौँ ।” सुरक्षाका लागि ग्राहकको परिचय कार्डपछि व्यापार गर्न सजिलो हुन्छ भन्दै फोटो खिचेर राख्ने गरिन्छ ।
कपडा रेन्टमा गाउन, सारी, ककटेल पहिरन राखिएका छन् । यसको फेसबुक पेज र वेबसाइटसमेत छ । समुद्रका अनुसार संसारमै कपडाबाट निस्कने प्रदूषण दोस्रो ठूलो हो । यस कारण पनि कपडा रेन्ट उत्तम व्यवसाय हो । कपडा रेन्ट राम्रो व्यवसाय भए पनि कतिपय ग्राहकमा चर्म रोग लाग्न सक्ने कारण अरूले लगाएको कपडा लगाउनुहुन्न भन्ने अवधारणा छ । तर समुद्र भन्छन्, “हामीले कपडा दिनुअगाडि फर्म भराउँछौँ । कपडा ल्याइसकेपछि ड्राईक्लिनिङमा दिन्छौँ । यो सुरक्षित हुन्छ । अहिलेसम्म यस्तो कम्प्लेन कसैले गरेको छैन ।”
हाम्रो ध्यान कुहिने चीजमा मात्र जान्छ । तर नकुहिने सामानजस्तो सिसाका बोतल, गिलासको के हुन्छ ? व्यापारी हेम भण्डारी, ३२, लाई यो कुराले निकै रुचि जाग्यो । यसबारे खोज्दै जाँदा उनले सिसाका केही बोतल फोहोरमैलाकै भाँडामा फालिने थाहा पाए । राम्रा र महँगा बोतल भारतमा लगेर बेचिने गरेको बुझे । ती बोतल सरदरमा करिब ७ रुपैयाँ किलोमा नेपालबाट जाँदो रहेछ, भारत । तर अचार कम्पनीले भारतबाट एउटा बोतललाई २५ देखि ३० रुपैयाँमा किन्दा रहेछन् । उनलाई लाग्यो, यसलाई कम गर्न सकिन्छ ।
सिसाका गुण–अवगुणबारे बुझ्ने क्रममा उनले बोतल ३ थरीका हुने थाहा पाए– सेतो, नीलो र खैरो रङ । रङअनुसार बोतल विभाजन गरेपछि त्यसलाई मेसिनले पिसेर धुलो (कलेक्ट) बनाइन्छ । यस्ता कलेक्टको माग भारतमा उच्च छ । सो कलेक्टको मूल्य पनि बढी पर्छ । हेमका अनुसार ८० प्रतिशत त्यो कलेक्ट पुनः सिसाका बोतल बनाउनै प्रयोग हुन्छ । भन्छन्, “त्यो कलेक्ट सडक निर्माणदेखि खेलकुद चौरसम्म बनाउन प्रयोग गर्न सकिन्छ । यसले बालुवाको काम गर्छ र बालुवाभन्दा सस्तो पर्छ ।”
हेमले ग्ल्यास्को नेपाल नाम दिएको यस व्यापार योजना काठमाडौँ महानगरपालिकाले गरेको स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्जको उत्कृष्ट २५ मा पर्न सफल भएको थियो । तर धुलो बनाउने मेसिन महँगो भएकाले उनले ‘प्रोटो टाइप’ वस्तु बनाएरै भने देखाउन सकेका छैनन् । तर यत्तिकैमा हेम हार मान्नेवाला छैनन् । भन्छन्, “केही वर्षभित्रै आफ्नो योजनालाई जसरी पनि साकार पार्नेछु ।”

Page 43
Page 44
व्यक्तिचित्र

खाँटी अनुवादक

- राजकुमार बानियाँ
राजकुमार बानियाँ

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि टीएच भारिएरको संस्मरण एक पिताका सम्झनाहरू । सत्यजित रेका कथाहरू पनि उनकै करकमलबाट नेपालीमा आयो ।
यसपालि पत्रकार विजय कुमारले आफूलाई आइलागेको जीवनी ‘खगेन्दाइ’ लाई सुम्पिए । आफ्ना पार्टनरको फर्माइस उनले पनि टारिहाल्न सकेनन् । अन्तिम अनुवाद असलै होस् भनेर सकारे पनि । उनले त्यो कामका लागि बाहिरफेर कतै निस्केनन् । कार्यक्रममा कहीँ देखिएनन् । हातेफोन बन्द गरे । र, अढाई महिनामा सन्दुक रुइत फत्ते भयो ।
कन्नड लेखक विवेक शानभागको उपन्यास घाचर घोचरको विमोचनमा यी ‘सुपरस्टार अनुवादक’ ले फेरि त्यही दुखिया घोषणा गर्नुपर्‍यो, ‘अब म बूढो भएँ । अनुवादबाट सन्न्यास लिएँ ।’ त्यो धम्कीजस्तो, घुर्कीजस्तो पनि सुनिएन । संग्रौलाले भने, ‘अब म बूढो भएँ । आइन्दा युग पाठक मेरो अनुवाद उत्तराधिकारी हो । अनुवाद लेखिमाग्न कोही आए म सोझै उनैकहाँ पठाइदिन्छु ।’
त्यसो त संग्रौला हालसालै बूढा भएका होइनन् । उनको विश्रामको चाहना पनि स्वाभाविकै हो । बुढेसकालमा धेरै फूर्ति गरेको सुहाउँदैन पनि । उनलाई जीवन निर्वाहकै लागि अनुवाद गर्नुपर्ने अवस्था छैन । अखबारी लेखनबाट पनि केही कमाउँछन् । भौतिक आवश्यकता सीमित छन् । छोराछोरी पखेटा लागेर उडिसके, पत्नीको पेन्सन आइहाल्छ ।
खास भन्ने हो भने संग्रौलालाई मौलिक सिर्जनाभन्दा अनुवादले नै चिनाएको छ । चार दशकपहिले नै उनको अनुवादक हुलिया बनिसकेको थियो । ०२६ मा बीएको जाँच दिएर बसेका थिए । ‘महेन्द्ररत्न छात्रवृत्ति’ सिद्धिसकेकाले साथीभाइकहाँ आश्रित थिए । भोटाहिटीमा निरञ्जनगोविन्द वैद्यको लाल पुस्तक पसलमा भेटे, भियतनामी लेखक न्युयन न्होकको उपन्यास द भिलेज द्याट वुड नट डाई । ख्यालख्यालैमा त्यसलाई अनुवाद गरे, अजम्मरी गाउँ ।
त्यतिबेलासम्म उनले कलेजमा ‘स्पेसल इङ्लिस’ बाहेक अनुवाद सिद्धान्त पढेका थिएनन् । अनुवाद गर्न सकिन्छ कि सकिँदैन, छापिन्छ कि छापिँदैन, केही चिन्ता थिएन । फ्रान्सेली उपनिवेशविरुद्ध स्वाधीनताको लडाइँसम्बन्धी त्यो उपन्यास उनले आफ्ना सधैँका साथी स्वनाम साथीलाई देखाए । साथीले गजब
छ भनेर मात्रै उकासेनन्, प्रकाशकको खोजीमा हिँडिहाले ।
त्यो समय काठमाडौँका प्रकाशक थिए, साझा प्रकाशन, रत्न पुस्तक भण्डार र पुस्तक संसार । यी तीन वटैबाट संग्रौलाको अनुवाद छापिने गुन्जायस थिएन । कम्युनिस्ट साहित्य, त्यो पनि हो चि मिन्हको देशको । स्वनाम र संग्रौलाका घनिष्ठ वाम साथी थिए, ताप्लेजुङका केबी श्रेष्ठ । रेफ्रिजेरेटर मेकानिक्स । किताब छाप्न उनले आफ्नो देब्रे नाडीमा बाँधेको रोलेक्स घडी नै बेचिदिए ।
हातहातै किताब बेच्ने अनि मालामाल भएर फेरि रोलेक्स किन्ने सपना देखेका थिए केबीले । किताब छापिएपछि दुई–चार ठाउँमा बाँडे । तर पैसा उठाउन जाँदा धेरैजसो पुस्तक पसल नै भेटिएनन् । कतिपयमा साहूजी फेरिएछन् । कतिपयले किताबबारे थाहै नभएको ठाडो जवाफ दिए । त्यो अनुवादबाट संग्रौलाले युवा क्रान्तिकारीको धाप पाए अनि केबीले प्रकाशक बन्न पाएकामा चित्त बुझाए । बस् । रोलेक्स घडीको किस्सा आफ्नो ठाउँमा छ, संग्रौलाका निम्ति त्यो अनुवाद स्मरणीय र सुखद छ ।
त्यसपछि उत्तर कोरियाली गीतिनाटक द फ्लाबर गर्लको उल्था गरे फूल बेच्ने केटी । तिनै वैद्यले दिएको काम थियो, त्यो । ५०, ६० पाने गीतिनाटकबापत झन्डै सय रुपैयाँ पारिश्रमिक पनि पाए उनले । “शब्दकर्ममा मैले पाएको पहिलो पारिश्रमिक त्यही हो । त्यतिबेला त्यो पनि ठूलै पैसा थियो,” उनी सम्झिन्छन्, “गीति लयमा मेरो पकड देखेर दुर्गालाल श्रेष्ठ छक्क परे । दाइ, दाइ भन्दै प्रशंसा गरे ।”
बीए सकेपछि शिक्षक भए संग्रौला । शिक्षक आन्दोलनमा लाग्दा तीन महिना वीरगन्जमा जेल परे । त्यहाँ उनले म्याक्सिम गोर्कीका कथाहरूका साथै निकोलाई गोगोलको गभर्मेन्ट इन्स्पेक्टरलाई नाटक बनाए, सरकारी निरीक्षक । चितवनबाट पञ्चायती लखेटाइमा परेर काठमाडौँ आएपछि पूर्णकालीन अनुवादक भए । ०४० देखि ०४४ सम्म दिनको १५–१६ घन्टासम्म घोटिए । याङ मोको उपन्यास द सङ अफ् युथलाई युवाहरूको गीत बनाइदिएको उनैले हो । माओका चार ठेली, लु सुनको जीवनी, माओ तुनको सिल्क रोड एन्ड अदर स्टोरिज आदि उनकै उल्था–कलाको परिणाम हुन् ।
संग्रौला सोझै अंग्रेजीबाट अनुवाद गर्थे । किनभने उनलाई हिन्दी फिटिक्कै आउँदैन । युवाकालमा न हिन्दी फिल्म हेरे, न त मधेस बसे अनि कसरी आओस् हिन्दी ? माओका रचनाबाटै उनले मार्क्सवादको कखरा सिके । लालगीता मानिने रेडबुकका माओका सूक्ति उनलाई कण्ठ थियो । जस्तै, ‘नौजवान हो, यो संसार हाम्रो पनि हो, तिम्रो पनि हो, अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो ।’
माओका चार ठेली अनुवादको प्रसंग रोचक छ । बन्दीपुरका चीजकुमार श्रेष्ठले नेपाल स्टडिज संस्था खोलेका थिए । त्यसमार्फत उनी गोरालाई पढाउने ठेक्का लिन्थे । उनको ठेकेदारीअन्तर्गत कुल्ली काम गर्थे संग्रौला । चीजकुमारले उनलाई नेपाली पढाउन खटाएका थिए, बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म यूएसएआईडीमा ।
त्यतिबेला संग्रौलाको डेरा थियो, यूएसएआईडीको अफिस सोल्टीमोडबाट टाढा हाँडीगाउँमा । त्यसैले उनी क्यान्टिनमा एक कप कफी पिएर लाइब्रेरी पस्थे । सुरुमा त उनलाई त्यहाँ बसेर माओको ठेली अनुवाद गर्ने आँटै आएन । उनी सबैभन्दा कुनामा बस्थे । केही किताब पल्टाएर राख्थे अनि ठेली उल्था गर्थे । उनलाई ध्यान दिने फुर्सद कसलाई ! “गोरालाई नेपाली सिकाउने, सडकमा अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने, यूएसएआईडीमा बसेर माओको ठेली अनुवाद गर्ने विचित्रको मानिस मै थिएँ,” उनको विस्मयकारी अनुभव छ ।


खासमा माओका पाँच वटा ठेली छन् । पहिलो ठेलीको उल्था कृष्णराज श्रेष्ठले गरे । त्यसबापत वैद्यले उनलाई २० हजार दिएछन् । दोस्रो ठेली पहिलोभन्दा दोब्बर ठूलो थियो । वैद्यले संग्रौलालाई जम्मा ६ हजार मात्र दिएछन् । तैपनि उनले झिँजो नमानी चार वटा ठेली अनुवाद सके । “चिनियाँहरूले माओ विचारधाराको प्रचारका लागि वैद्यलाई कुस्त पैसा दिएको सुनिन्थ्यो,” उनी हाँस्छन्, “वैद्य दाइले मलाई ठगे तर मैले ठगिएको पाटो बिर्सने हो भने अनुवाद मेरो प्रिय कर्म हो ।”
प्रगतिशील प्रकाशनका वैद्य र शान्तदास मानन्धरसित उनी कृतज्ञ छन् । सरकारी जागिर पाउने कुनै सम्भावना नभएको अप्ठेरो स्थितिमा पत्याएर थोरबहुत पैसा दिनु सानो कुरा होइन । प्राण धान्न सघाएकामा उनी फेरि पनि धन्य छन् । उज्ज्वल प्रसाईंले लेख्दै गरेको संग्रौलाको जीवनीमा यस्ता ‘अनटोल्ड स्टोरी’ धेरै आउनेवाला छन् ।
अर्को रमाइलो प्रसंग के भने युवाहरूको गीत, लु सुनको जीवनी, गुनिला चिनियाँ कथामाला, गोर्कीका कथाको अनुवाद उनले टाइपराइटरमै गरेका थिए । ०२६ अगावै नक्सालमा टाइपराइटर सिकेका थिए उनले । ०४० तिर स्वनाम साथीले आकर्षक प्रस्ताव ल्याए, ‘ए भेना, टाइपराइटर किन्ने हो ?’ अन्ततः जर्मन रेमिङ्टो टाइपराइटर किने २ हजारमा ।
धेरैजसो कम्युनिस्ट नेता–कार्यकर्ता उनकै अनुवाद पढेर क्रान्तिकारी बनेको सुनाउन हिचकिचाउँदैनन् । पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्मले दाइको साइनो लगाउँदै उनलाई सुनाएका पनि छन् । उसो त संग्रौलाले ‘क्रान्तिको सेवा’ मात्रै गरेनन्, यूएसएआईडी, एसिया फाउन्डेसन, युनिसेफजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ‘एक ट्रक विकासे स्रेस्ता’ पनि अनुवाद गरे । उनले त्यस्ता काम किन गरे भने समाजलाई घाटा थिएन, उनलाई फाइदा थियो ।
संग्रौलाले विदेशी भाषाका कति किताब अनुवाद गरे त ? उनलाई ठ्याक्कै यकिन छैन । ३४ वा ३५ ? अनि कमाइ ? “जोन उड र सन्दुक रुइतको प्रकाशक एउटै हो, जोनको २६ हजार पाएँ, रुइतको दुई लाख,” उनी भन्छन्, “सामान्यतः अनुवादकलाई प्रकाशकले ठग्छन्, सर्वाधिकार र रोयल्टी पनि दिन्नन्, रुइतकोमा चाहिँ थोक र रोयल्टी दुइटै पाउने समझदारी छ ।”
यसरी अनुवाद अलिकति प्यासन, अलिकति व्यवसाय भयो उनको । चावहिल, गणेशस्थान घरमा पनि नर्स पत्नी र उनको अनुवादको अंश छ । “जेसुकै भए पनि अनुवाद लोकहितकारी चीज हो,” उनी भन्छन्, “किताबको चयन अरूको हुँदा पनि मैले सैद्धान्तिक आस्थाको अभिव्यक्ति गर्न पाएँ ।”


अंग्रेजी क्लासिक्सलाई नेपालीमा अनुवाद गर्ने ऋद्धिबहादुर मल्ल, शान्तदास मानन्धरप्रति उनी गौरव गर्छन् । गतिला अनुवादकको नाम लिनुपर्‍यो भने उनलाई पनि कन्नैपर्ने हुन्छ । उनका शब्दमा राम्रो अनुवादकको कसी हुन्– शब्दप्रति कति इमानदार छ ? वाक्य छाड्यो कि छाडेन ? दोहोर्‍याएर पढ्दा आँखा नबिझाओस्, किरकिराहट नहोस् । “म निष्ठावान अनुवादक हुँ तर कुशल अनुवादक धेरै नभएकाले आफूलाई ठिक्कै ठान्छु,” उनको आत्मसमीक्षा छ, “पुलिस लाग्ने पनि होइन, अख्तियार लाग्ने पनि होइन । सरदरभन्दा राम्रो हुँ, उत्कृष्ट हो कि होइन म जान्दिनँ ।”
साहित्य, कला, संस्कृति, दर्शन, समाजशास्त्र, सौन्दर्यशास्त्रका गम्भीर कृतिको अनुवादप्रति गरिएको उपेक्षा उनलाई निको लाग्दैन । कतिपय बुज्रुक उनलाई सुझाउँछन्, मौलिक चिन्तन र सिर्जना भएको मान्छे के अनुवादमा अलमलिइराख्या ? उनलाई के थाहा छ भने जे अनुवाद गर्छन्, त्यस्तो लेख्न सक्दैनन्, अनुवाद एक हिसाबले त्यो अज्ञानता र अभावको क्षतिपूर्ति हो ।
उनको अनुभवमा अधिकांश लेखकलाई आफ्ना खोट र सीमाबारे थाहै छैन । सिर्जनशील र स्वप्नशील हुन अनुवादले सघाउँछन् । कुनै समय उनी अन्ना कारेनिना अनुवाद गर्न चाहन्थे । लाल स्कुलमा हुर्के पनि दस्तोवयस्कीको जोडा देख्दैनन् । सिमोन बाउभारको द सेकेन्ड सेक्सको अनुवाद बीचमै छाडिदिए । गोर्कीको मदरको अनुवाद गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।
हुनलाई अनुवाद नभएको केही छैन तर गजब भएको पनि केही छैन । गुणवत्ताको हिसाब बरबादी मात्रै छ । रातारात अनुवाद गरेर नामको व्यापार मात्र गर्नेहरूप्रति उनी आक्रोशित छन् । “कृति भनेको लेखकको जीवनभरको तपस्या, निष्ठाको अभिव्यक्ति हो,” उनी भन्छन्, “अनुवादको प्राणपखेरु जोगाउन अब सिर्जनशील लेखक नै उत्रिनुपर्ने अवस्था छ ।”
संग्रौलाका शब्दमा अनुवाद एक संस्कृतिको अर्को संस्कृतिसितको संवाद, आदानप्रदान र लेनदेन हो । अनुवादक भनेको हल्कारा हो । देश, संस्कृति र सभ्यतालाई अर्को भूगोल र सभ्यतासम्म पु‍‍र्‍याउने अनि एक भाषाबाट अर्को भाषासम्म नित्य हिँडिरहने ।
हाम्रो समयका अर्गानिक र अब्बल अनुवादक हुन्, संग्रौला । कुनै गतिलो किताब हात पर्‍यो भने उनको प्रौढ मन चञ्चल भइहाल्छ । यही साल वा अर्को साल उनको अन्तिमभन्दा अघिको किताब आउने
छाँटकाँट छ । त्यो अनुवाद सुरु भएको नै १५ वर्ष नाघिसक्यो ।
बदलिँदो विश्वमा चिन्तन र सौन्दर्यशास्त्रको रिक्तता देखेर उनलाई क्यानेडियन–अमेरिकन साथी मेरी डेसेनले जिम्मा दिएको प्रोजेक्ट हो, त्यो । ग्राम्स्की, आइन्स्टाइन, ब्रेख्त, सइद, गालिआनोलगायतका १२ दार्शनिक निबन्धका लागि सीके लालले भूमिका लेखिसकेका थिए । डेसेन आफूले पनि लेख्ने इच्छा गरिन् । उनको भूमिकाका लागि दुई वर्ष कुर्दा प्रकाशककै अस्तित्व बिलायो ।
“मेरीले भूमिका सिध्याउन लागेको भनेकै १२ पल्ट भयो । भाकाकबुल गरेका थुप्रै शुक्रबार गए,” उनी भन्छन्, “अब मै एक महिनापछि अमेरिका जान्छु । मेरीलाई भेट्छु । कि उनको भूमिका सकेर ल्याउँछु कि उनको भूमिका हुन्न भन्ने निश्चिन्त भएर आउँछु ।” त्यसैले त भनेको, संग्रौलाले हानेको अन्तिम ढुंगो खासमा अन्तिम होइन । अन्तिमअघिको चाहिँ हुन सक्छ ।

तस्बिर:रवि मानन्धर

Page 45
Page 46
Page 47
रङ

पुनर्मिलन

- नेपाल संवाददाता
तस्बिरहरू : सरोज बैजु

मान्छेको जीवन, विचित्र अनौठो
कथाहरुको संगम हो
यसमा तिमी पनि छौ, म पनि छु
तिमी कता म कता, सबै कता–कता
भाग्यले जुरायो, समयले बोलायो
सबैको भावनालाई, एकै साथ ब्युँझायो

चार महिनाअघि यी शब्द लेख्दा अमेरिकामा थिए, फिरोज स्याङ्देन । उतिखेरै नेपाल आउन चाहन्थे तर चाँजोपाँजो मिलेन । त्यसैले शब्दमै सही, भावना पोखिहाले । त्यो यादगार क्षण थियो, १९७४ एडीको ‘रियुनियन’ । यता, एड्रियन प्रधान, निराकार याक्थुङ्बा, मनोज केसी र सञ्जय श्रेष्ठ ब्यान्डको नयाँ यात्राका लागि एक हुँदै थिए । उता, फिरोज ब्यान्डकै उतारचढावलाई कागजमा कोर्दै थिए ।
केही समयपछि फिरोज नेपाल आए, गीत रेकर्ड भयो र ब्यान्डको नयाँ एल्बम ‘निरन्तरता’ मार्फत बजारमा आइसकेको छ । यो चार महिनामा उनीहरुले अरु आठ गीत रेकर्ड गरे, जसमध्ये दुइटा पछिका लागि साँचेका छन्, सात वटा ‘निरन्तरता’ मा छ । झम्सिखेलस्थित ब्यान्डको अभ्यास कक्षमा भेटिएका निराकार भन्दै थिए, “पहिले–पहिले एउटा एल्बम तयार पार्न चार–पाँच वर्ष लाग्थ्यो तर यस पटक लामो समयपछि सँगै काम गरेकाले हुनुपर्छ, ऊर्जाको बाँध फुट्यो ।” उनका अनुसार यस एल्बममा यस्ता गीत छन्, जुन १९७४ एडीबाट श्रोताले अपेक्षा राख्छन् । अर्थात्, ब्यान्डको मौलिक स्वादका सिर्जना ।
नेपालमा यस्तो एउटा पुस्ता छ, जो १९७४ एडीको गीत सुन्दै हुर्कियो । रक–पप पारखीको त ढुकढुकी नै हो, यो समूह । फोक, ज्याज, फंक, रेगे र ब्लुजहरु पनि गाए । १३ एल्बम निकाले, देश–विदेशमा सयौँ कन्सर्ट
गरे । तर चार वर्षअघि ब्यान्डले ‘ट्रयाजिडी’ भोग्यो, लिड भोकलिस्ट एड्रियन अलग भए । उनी आफैँ निक्लिए या ब्यान्डले निकाल्यो, स्पष्ट भएन तर फ्यान निराश भए । सामाजिक सन्जालमा व्यक्त प्रतिक्रियाको आशय एउटै हुन्थ्यो, ‘न एड्रियनबिना ब्यान्ड पूर्ण हुन्छ, न त ब्यान्डबिना एड्रियन ।’ सन् २००९ मा भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन अमेरिका जाँदा फ्यानको मन पोलेको थियो, एड्रियन पनि बाहिरिएपछि घाउमा नुनचुक छरेझैँ भइहाल्यो ।
पाँच वर्षको छटपटीपछि ब्यान्डले सन् १९९८ मा स्थापना हुँदाकै लाइनअप पाएको छ । त्यो भनेको, एड्रियन ड्रम र भोकल, फिरोज गिटार र भोकल, निराकार र मनोज गिटार अनि सञ्जय पर्कसन (मादल, धिमे, तबला आदि) । अहिले सँगै गाउँदा सुरुआती दिन सम्झन्छन्, कहिले भावुक हुन्छन्, कहिले रमाउँछन्, आफ्नोपन र आत्मीयता महसुस गर्छन् । एड्रियन भन्छन्, “हामी छुट्टिँदा फ्यानहरु बुबा–आमा डिभोर्स भएका सन्तानझैँ दुःखी थिए । अहिले बुबा–आमा फेरि मिलेझैँ खुसी भएका छन् । यो प्रेमले हामीमा ऊर्जा र उत्साह थपेको छ ।” शिखर चुमेको ब्यान्ड किन टुक्रियो ? अहिले किन मिल्यो ? निराकारसँग यसको जवाफ छ, “समयले मिलायो, समयले छुटायो ।” त्यसो भए, त्यो समय र परिस्थिति कस्तो थियो ?
ब्यान्डका सुरुआती सदस्य हुन्, फिरोज र निराकार । उनीहरुले हिट हुन ब्यान्ड खोलेकै थिएनन् । आफ्नो धित मर्ने गीत गाउने उद्देश्य मात्र थियो, पछि एड्रियन र मनोज थपिए । उस्तै शैलीका गीत सुन्दा–सुन्दा वाक्क भएका श्रोतालाई यो ब्यान्डले हुरुक्कै बनायो । पहिलो एल्बम सम्झी बस्छुका १३ वटै गीत रुचाइए, ‘परेलीमा...’, ‘छुँदैन तिम्रो मायाले...’ आदि–आदि । कन्सर्टबाट अफर आउन थाल्यो तर त्यति होइन, जति उनीहरुका गीत हिट थिए । कारण, ब्यान्डमा धेरै सदस्य हुने भएकाले व्यवस्थापन गर्न आयोजकलाई थोरै असहज हुन्थ्यो, त्यसैले सोलो गायक नै बोलाइन्थे । यहीबीच एड्रियनले आफ्नो व्यक्तिगत करिअर पनि सुरु गरे । कारण यसरी सुनाउँछन्, “ब्यान्डको कमाइले मात्र जीवन चलाउन धौ–धौ भयो, त्यसैले ब्यान्डलाई असर नपर्ने गरी एक्लै गाउनुको विकल्प भएन ।” ब्यान्डमा तुषको बीजारोपण
यहीँबाट भयो ।
असमझदारी पाखा लगाउँदै ब्यान्डले एल्बम निकालिरह्यो, गीत लोकप्रिय भइरहे, कन्सर्ट गरिरहे तर बाहिर ब्यान्डको जति चर्चा हुन्थ्यो, भित्री एकता त्यति बलियो थिएन । मनोज सम्झन्छन्, “पारिवारिक दायित्व बढ्दै गयो तर गीत चल्दा पनि ब्यान्डले प्रतिफल दिन सकेन । त्यसैले ब्यान्ड खुकुलो हुँदै गयो, कता–कता मियो नभएजस्तै ।” आर्थिक उन्नति नभएकै कारण फिरोज अमेरिका जानुपर्‍यो । उनी गायक मात्र थिएनन्, असली सर्जक पनि थिए । उनको अभाव पूर्ति गर्न ब्यान्डलाई असाध्यै मुस्किल भयो, गायन एड्रियनले मात्र धान्नुपर्‍यो, ड्रम छाडेर गिटार बजाउनुपर्‍यो । एड्रियनलाई लाग्दो रहेछ, गीतको गुणस्तर यहीँबाट खस्कन गयो । त्यसको प्रमाण हो, फिरोजबिना निकालेको आठ अठार एल्बम । निराकार स्वीकार्छन्, “फिरोजको अनुपस्थितिले एल्बम औपचारिकतामा मात्र सीमित भयो, श्रोतालाई रिझाउन सकेनौँ, हामीलाई पनि मज्जा भएन ।”
फ्यानको अपेक्षा र प्रेमको चाङ यति अग्लो थियो, ब्यान्डले विश्राम लिने अवस्थै थिएन । तर ब्यान्डभित्रको कलह र असन्तुष्टि बढ्दै थियो । एड्रियनले समय दिन नसक्दा कति कन्सर्ट गर्न पाएनन् । सोलो करिअरले पनि गति लिएकाले ब्यान्डलाई पूरै समय दिन सक्ने स्थितिमा एड्रियन थिएनन् । एड्रियन भन्छन्, “सँगै बस्दै जाँदा हामीमा प्रतिशोध जन्मियो, त्यसलाई निराकरण गर्न सकेनौँ, जसले विछोड निम्त्यायो ।” त्यसपछि ब्यान्डमा भित्रिए तीन नयाँ सदस्य, भोकलिस्टद्वय रोहित जोन क्षत्री र प्रज्ज्वल मुखिया अनि टम्बोन वादन प्रतीक बानियाँ । यो नयाँ लाइनअपलाई पुरानै गति दिन ब्यान्ड जोडतोडले लाग्यो । हजार सपना एल्बम निकाले तर यसको हालत आठ अठारभन्दा भिन्न रहेन । कन्सर्ट पनि गरे तर ब्यान्डको ‘सिग्नेचर’ स्वाद पस्कन नसकेको आभास हुन थाल्यो । मनोज भन्छन्, “तर अगाडि बढ्नुको विकल्प थिएन हामी सँगै बढिरह्यौ तर सन्तुष्टि मिलिरहेको थियो, केही छुटेको महसुस हुन्थ्यो ।”
एड्रियनले पनि ब्यान्डलाई खुब ‘मिस’ गरिरहेका थिए । जहाँ जान्थे, एउटै सामना गर्नुपर्थ्यो, ‘ब्यान्ड किन छाडेको ?, अब कहिले फर्कने ?’ फिरोज अमेरिकाबाट फर्किएर उनीहरुले एकसाथ कन्सर्ट गरे तर मन भरिएन । एड्रियनको ब्यान्डसँग सम्पर्क टुटेको चार वर्ष भइसकेको थियो । भन्छन्, “नढाँटीभन्दा त्यस अवधिमा हामीबीच हाईहेल्लो पनि भएन ।” तर एउटा इभेन्टमा निराकारसँग संयोगले भेट भयो । एकअर्काको कमजोरी र नहुँदाको पीडा सेयर गरे । दुवै निष्कर्षमा पुगे, ‘हामी फेरि मिल्नुपर्छ र त्यसले मात्र ब्यान्ड ब्रान्ड जोगिन्छ ।’ निराकार भन्छन्, “त्यही भेटपछि हामीले रियुनियनका लागि गृहकार्य गर्‍यौँ । मुख्य कुरा, पहिले ब्यान्डको व्यवस्थापक नभएर डाँवाडोल भएको रहेछ । त्यसैले अब व्यवस्थित र व्यावसायिक ढंगले अगाडि बढ्ने योजना बनायौँ ।”
यो खबर सुनेपछि अमेरिकामा रहेका फिरोज पनि फुरुंग भए । ब्यान्डका भोकलिस्ट रोहितले एकल गायनमै भविष्य देखे, सायद । बाँकी दुई नयाँ सदस्य विदेश गइसकेका थिए, जसले एड्रियन–फिरोजको पुनरागमनलाई सहज तुलाइदियो । अहिले उनीहरुले ब्यान्डको म्यानेजर राखेका छन्, फुर्सद हुँदा सबैले आ–आफ्नो काम गर्न पाउँछन् । जस्तो, फिरोज अमेरिकामा हुन्छन्, कन्सर्ट हुँदा नेपाल आउँछन् । एड्रियनले एकल गायकको रुपमा कन्सर्ट गर्न पाउँछन् । सञ्जयको अर्को रेगे ब्यान्ड छ अनि निराकारको ज्याज । मनोजचाहिँ काठमाडौँ ज्याज कन्जर्भेटरीमा आबद्ध छन् । पुनर्मिलनपछि काठमाडौँ, चितवन र पोखरामा कन्सर्ट गरे । सन् २०२० मा १९७४ एडीको ‘वर्ल्ड टुर’ हुनेछ, दक्षिण कोरियादेखि अमेरिका, अस्ट्रेलियासम्म । ब्यान्डका प्रोड्युसरसमेत रहेका मनोज भन्छन्, “अहिले हामीबीच पर्याप्त समझदारी छ, प्रतिशोध शून्य छ, जोश छ । यसलाई ब्यान्डको पुनर्जन्म भन्दा हुन्छ ।”

Page 48
Page 49
Page 50
यात्रा

मध्यपहाडी लोकमार्गमा एक फन्को

- बालकृष्ण माबुहाङ

पहिले दसैँको छुट्टीमा घर गइन्थ्यो । पछि घर गाउँबाट काठमाडौँमा सर्‍यो । छुट्टीमा घर जाने रहर भने रहिरह्यो । दसैँतिहारमा टीका लगाउने, पूजाआजा गर्न छाडेको पनि झन्डै २० वर्ष भयो । सुरुमा भौतिकवादी भएर, पछि महफ्व हराएर । हरेक वर्ष दसैँको छुट्टीमा कहीँ न कहीँ डुल्न निस्कन्छु ।
बेलुकी ५ बजेतिर पााचथरको च्याङ्थापु पुगियो । साँगा डाँडा, बस्तीको अन्तिम सीमा मावली ससुराली पुगियो । मध्यपहाडी लोकमार्ग साँगामा अडिन्न । अझै अगाडि बढ्छ ।
करिब २७ फिटको चौडा बाटो चिवाभन्ज्याङबाट सुरु भएर पश्चिम झुलाघाट पुग्ने लक्ष्य छ । चिवाभन्ज्याङ पुग्ने बेला साँगुरिँदै गए पनि चिवा एउटा ठूलै ठाउँ, गाउँ, सहर पुग्ने आशाले मन पुलकित हुन्छ । वास्तविकता भने सिंहलीला पहाडी शृंखलाको एउटा भन्ज्याङ रहेछ, जुन करिब ३१ सय ३९ मिटरको उचाइमा अवस्थित छ।
चिवाभन्ज्याङ वारिपारि केही छैन । सुनसान ठाउँमा एउटा सानो पोखरी छ र सामुन्ने एउटा आधुनिक शैलीको एक तले टहरा बन्दै छ । कसैले होमस्टे भने, कसैले सीमा सुरक्षा बस्ने घर, हेर्दा सरकारको कस्टम अफिस बनेको हो कि भन्ने लाग्छ । अलि माथि भारतीय सीमा सुरक्षा निकायको एउटा सानो टावर देखिन्छ ।
सिक्किम सरकारको सुरक्षा निकायका २ जवान भेटिए, बाँकी दसैँको छुट्टी मनाउन घर गएका रहेछन् । एक जना भुटिया र अर्का गुरुङ दुवैले नेपाली भाषा बोले र मित्रता देखाए । उनीहरुकै भान्सागोठमा पकाई खान अनुमति पाउँदा धन्य मानेर चिया, चाउचाउ पकाएर खाएर एकछिन राहतको सास फेर्नुबाहेक अर्को उपाय छैन ।
बस्तीविहीन चिवाभन्ज्याङसम्म चौडा सडक, अर्बौँ खर्च गरेर नेपालले किन पुर्‍याएको होला Û चिवा आउने बाटोपारि देब्रेपट्टि ट्र्याक खोल्न भित्तो खनेका घाउ देखिन्छन् । वन र वातावरण विभागको हैरानीले भारतपट्टिको बाटो चिवा आउन अझै कठिन भएको स्थानीयको भनाइ छ ।
सिंहलीला पहाडमुनि साँगा गाउँमा दसैँको कुनै सुरसार देखिएन । झापाबाट आउँदा बाटामा दायाँबायाँ सम्भवतः राँगा भेजो हानेर मासु बाँडीचुँडी गरेर हिँडिरहेका जनजाति इलाम रक्सेमाथिबाटै देखिन्थे । साँगा डाँडाको देब्रे पाटो राई बस्ती छ भने दाइने बेघा थरका लिम्बूहरुको घना बस्ती छ । सूर्यकिरण आधारभूत विद्यालय, याङ्वारक–२, साँगा डाँडाको प्रांगणमा फुटबल म्याचसहित दसैँ मेला लागेको थियो । टीकाको दिन फाइनल थियो । बाहुन, क्षत्री, दलितको निधारमा रातो टीका छपक्कै भरिएको थियो । तर राई, लिम्बूको निधारमा न टीका, न त जमरा । सबै आ–आफ्नो लर्कोमा देखिन्थे ।
मेजर थुम्का छिचोलेसँगै देउराली पुग्दा तेर्सो बाटो करिब १ घन्टा हिँडेपछि सिंहलीला पहाडको शृंखला पुगियो, जहाँ देउराली पनि छ । चिवाबाट सिक्किम हुँदै आउने बाटो त्यहीँ देउरालीमा मिसिन्छ र सोझिन्छ । शृंखलाको नेपाल–भारत सीमा नछोडी उकालो–ओरालो र तेर्सो भएर ।
टोड्के र चित्रेमा नरबहादुर बेघाका दुइटा गोठ छन् । तिम्बु जाने तीर्थयात्री वा पदमार्गी कम्तीमा १५–२० जना बास बस्ने बेघाको भनाइ छ । उनी तीर्थयात्री वा पदमार्गीलाई गाँस, बास र कपास व्यवस्था गर्न सक्ने बताउँछन् । गाँसमा चामलको चल्तीको मूल्य तिर्नुपर्छ, बाँकी सबै निःशुल्क । नरबहादुरले ४० गाई पालेका छन्, जसमध्ये १७ वटा दुहुना छन् । प्रत्येक दिन ४० लिटर दूध, डेढ केजी घ्यु र डेढ केजी छुर्पी उत्पादन गर्छन् । घ्यु र छुर्पीको बजार समस्या नभएको बताउँछन् । लोकेन्द्रको गोठको अलि माथि भेडीगोठ छ । करिब ३ सय भेडा बथानले पूरै चौर, पहरा ढाकिएको थियो । कान्छाका अनुसार वर्षमा ८० वटा भेडीले पाठा पाए भने करिब ८० हजारदेखि १ लाखसम्म आम्दानी हुन्छ, ऊन र मासुको हिसाब छैन । कहिलेकाहीँ फिल्म खेल्नेले भेडी बथान जम्मा गरिदिादा केही रकम दिन्छन् ।
लोकेन्द्र नाम्नुसितको भलाकुसारीले गोठ र गोठालोको संसार बुझ्न सम्भव भयो । उनको गोठमा तीर्थालु वा पदमार्गी सुत्ने ठाउँ प्रशस्त छ । ४५ वटा गाई पालेकामा हाल १६ वटा दुहुना छन् । तीर्थयात्री वा पदमार्गीले आफ्नै व्यवस्थामा आएका छन् भने बास बस्न, पकाई खान सक्छन् तर स्ट्यान्डर्डबिना कुनै सामल, फिटो पदमार्गी हुन् भने चामलको दाम तिर्नुपर्छ, खान, बस्न फ्री ।
असार पहिलो साता गोठवालाहरुले आफ्नो वस्तु पारे मेगुमा पुर्‍याउँछन् । असार, भदौसम्म पारे मेगुमा राखेका गाई, भदौ अन्तिमतिर सुकेधाप सार्छन् । असोजको पहिलो सातातिर सुकेधापमा ल्याएर करिब कात्तिकभर त्यही चराउँछन् । त्यसपछि गाउँ झार्ने र पातालमा छाडिदिन्छन् । त्यस बेलासम्ममा गाई सबै थाकेका हुन्छन् । फागुन अन्ततिरबाट ब्याउन थाल्ने दुहुना गाई लिएर गोठ हिँड्न सुरु हुन्छ । असार पहिलो सातातिर पुनः पारे मेगुतिर पुग्छन् ।
लोकेन्द्रको मुख्य उत्पादन छुर्पी र घ्यु हो । घ्यु र छुर्पीबाट वार्षिक सात लाख रुपैयाँजति आय हुने रहेछ । घ्यु सिक्किमे व्यापारीले लग्छन् भने छुर्पी बिर्तामोड, दमक, उर्लाबारी, इटहरी र धरानसम्म जाने रहेछ । छुर्पी अमेरिकामा पनि कुकुरको भोजनको रुपमा निर्यात हुँदो रहेछ । लोकेन्द्र र उनका दुई भाइसमेत तीन जनाको पेसा, व्यवसाय गोठ र गोठालोको रुपमा दैनिक, महिना र वर्ष बित्छ । एक प्रकारले गाउँबाट उनीहरुको सम्बन्ध बिच्छेद छ । कहिलेकाहीँ सामल लिन गाउँ जानेबाहेक कुनै पनि चाडबाड वा कर्म उनीहरुको अनुपस्थितिमा गाउँघरमा सम्पन्न भइरहेको हुन्छ ।
सिंहलीला शृंखलामा ‘सरकार’ को उपस्थिति केही उभिएका, कोही लड्न लागेका र कोही बेपत्ता भएका नेपाल–भारत सीमास्तम्भजस्तो मात्रै थियो । आठराई क्षेत्र चेतनाका हिसाबले मसालजस्तै मानिन्थ्यो । आठराईमा शिक्षाको सुरुआत ००३ सालमा त्रिमोहन माध्यमिक विद्यालय, संक्रान्ति बजारमा र शारदा मावि चुहानडाँडामा स्थापना भएको थियो । प्रधानमन्त्री केपी ओलीको घर इवामा लड्न लागेको छ भने कृष्ण सिटौलाको रुग्ण घर संक्रान्तिमा कोही रुँगालु भएको बुझियो ।
आठराई गाउँपालिका उपाध्यक्ष रुपा कन्दङ्वाको अनुभवमा बिनाअनुसन्धानको शिक्षा र शैक्षिक जनशक्तिले भरपर्दो योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्न नसकेको गुनासो थियो । म्याङलुङ नगरपालिकाका मेयरको विचारमा आजको शिक्षा के हो ? बिनाउद्देश्य, कार्यक्रम, ध्येय स्थानीय सरकारले लगानी गरिरहनु हो । लालीगुराँसका मेयर अर्जुन माबुहाङको विचारमा, ‘शिक्षामा आमूल परिवर्तन गरी समुदायमा आधारित शिक्षा बनाउनु जरुरी भइसकेको छ, जसका कारण शिक्षित जनशक्तिले गाउँघर, समुदाय नछाडून् ।
गाउँमा सामान्य प्लम्बर, इलेक्ट्रेसियन, भवन बनाउने सिकर्मी–डकर्मी किन पाउन्न ? किन २७ फिटको मध्यपहाडी लोकमार्ग बनेको होला ? कोही कसैलाई परबाह छैन । विकास जत्रो–जसरी आए पनि आफ्नो घरमा आइपुगे हुन्थ्यो भन्ने सोचमा गाउँ डुबेको छ । साना किसानको स्वामित्वको जग्गा सडकले दुई फेरो लगाउँदा सुकुम्बासी बनेका उदाहरण पनि सुनियो । गोठको अर्थतन्त्र, समाजशास्त्र, ज्ञान–विज्ञान, वातावरण र भूगोल सीमान्तकृत विषय भए ।
उच्च पहाडी धरातल वा हिमाली क्षेत्रबारे कसरी अध्ययन गर्ने, बहसको विषय हो । माउन्टेन जिओग्राफरलाई कति पढाइन्छ तर जब हिमालसँग सम्बन्धित अध्ययन–अनुसन्धानको कुरा गर्छौं, समस्या सिंहलीला पहाडको मात्र नभई काठमाडौँदेखि, महेन्द्र राजमार्ग अनि गाउँघरसम्मै छ, समाधान छैन । यी सारा समस्या मन्साउने एउटै उपाय भनेको उच्च शिक्षा हो ।
मध्यपहाडी लोकमार्ग, जो राज्यले अर्बौँ खर्चेर बनाउँदै छ, त्यसको उपयोगिता के हो, कसैलाई थाहा छैन । चिवाभन्ज्याङ पुगेर उक्त लोकमार्गका प्रणेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एक प्रसंगमा ‘सम्भावनाहरु प्रशस्त छन्’ भनेको सुन्नेमध्ये साविक च्याङ्थापु गाविसका पूर्वअध्यक्ष जगत राई भेटिए । तर ती सम्भावनाबारे उनलाई पनि थाहा छैन । यो यात्रामा देखिएको एउटा आकलन, मध्यपहाडी लोकमार्गको पूर्वी छेउ चिवाभन्ज्याङमा बिहान स्टार्ट गरेको मोटरबाइकबाट बेलुकी खोटाङ पुग्न सक्छ । उच्च शिक्षा समुदाय, क्षेत्र, स्थान विशेष आधारित भई दुरुस्त सांसारिक ज्ञानको बनाउने हो भने मध्यपहाडी लोकमार्ग त्यसको एउटा महफ्वपूर्ण पूर्वाधार बन्न सक्छ ।
स्थानीय सरकारहरुले आवधिक विकासमा बजेटको ठूलो हिस्सा भौतिक निर्माणमा गरिरहेको लगानी ‘स्याचुरेट’ हुनेबित्तिकै तिनले मानव विकासमा लगानी गर्नुपर्छ । स्थानीय सरकारहरुको आवश्यकता उच्च शिक्षामा सिफ्ट हुन्छ । संघीय वा प्रादेशिक सरकारले वा संघीय प्रादेशिक विश्वविद्यालय सञ्चालनार्थ अनुमति दिँदा पुग्छ । वैकल्पिक उच्च शिक्षा स्थानीय सरकारहरुले विश्वविद्यालय खोलेर चलाउन सक्छन् । शिक्षा विकास, लोकतन्त्र र जनवादका निम्ति व्याख्या गर्ने र मुलुकका लागि आवश्यक कामकाजी जनशक्ति उत्पादन गर्ने संयन्त्र बन्न सम्भव छ ।

Page 51
Page 52
पुस्तक

मध्यमवर्गीय गडबडी

- राजकुमार बानियाँ

कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, ‘घाचर घोचर’ । ‘कोड स्विच’ जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए । विश्वका दुई दर्जनजति भाषामा अनुवाद भइसक्दा पनि यसले आफ्नो हुलिया बदल्नु परेको छैन, शब्दकोश पल्टाउनु परेको पनि छैन ।
निश्चित अर्थ नभए पनि घाचर घोचरले मोटामोटी त बताउँछ नै, मध्यमवर्गीय जीवनको गडबडी, सहरी व्याकरणको गडबडी या एउटा परिवारको गडबडी । अब थपिरहनु परेन, घाचर घोचर गडबडीको कथा हो । सन् २०१३ मा पहिलो पटक कन्नड भाषामा प्रकाशित अनि न्युयोर्क टाइम्स र द गार्डियनबाट सर्वश्रेष्ठ पुस्तकमा चयनित यो उपन्यास हालै नेपाली भाषामा उही शब्दमा ल्याएका छन्, युग पाठकले ।
दक्षिण भारतको बैंगलुरुमा एउटा संयुक्त परिवार छ– बाबुआमा, काका बैंकटचाला, दिदी मालती, पत्नी अनिता र लेखकसहितको । खासमा घरमूली लेखकको बाबु हुनुपर्ने हो । तर चियापत्ती कम्पनीको मामुली सेल्सम्यानलाई पहिलो दर्जा कसले दिने ? मध्यमवर्गीय परिवारको ड्राइभिङ सिटमा सोना मसलाको बोस बस्ने नै भयो ।
तेस्रो दर्जामा मात्रै छन्, आमा, मालती र लेखक । यिनले कमाउनेको खातिरदारी गर्नैपर्छ । उसका तमाममा व्याभिचारलाई नदेखेजस्तै गरी आँखा चिम्लिदिनुपर्छ । पहिलो नम्बरको काका अविवाहित छ तर हिमचिम धेरै महिलासित छ । उसका लागि मसुरको दालकरी लिएर आउने सुहासिनी नामक महिलालाई सँघारबाटै लखेट्छन्, आमा र मालती । आफ्नो गृहिणी दर्जा कुनै महिलाबाट विस्थापित नहोस् भन्ने मनोविज्ञान छ, आमामा । लोग्नेले दोकानमा धेरै समय दियो, आफूलाई दिएन भनेर माइती बसेकी छे, मालती ।
हैदरावादकी प्रोफेसरपुत्री अनिता खासमा सोना मसलाको डाइरेक्टर भन्ने भ्रममा विवाहबन्धनमा बाँधिएकी हुन्छे । तर हनिमुन उपहार किनमेल प्रकरणपछि उसले थाहा पाउँछे, लोग्ने अर्काको कमाइमा बाँचेको परजीवी हो । कफीहाउस धाएर जवानी बिताएको छ, बस् । अनिता क्रमशः विद्रोही हुँदै गएकी छ ।
परिवारमा कमाउने मान्छे सिर्फ एउटा काका छ । ऊ हुने–नहुने दुवै काम गर्छ । बूढो सेल्सम्यानको लगन, परिश्रम अनि नमिलेको जोडघटाउसँग परिवारका सदस्यलाई कुनै मतलब छैन । पतिसित मोहभंग भएकी अनिता सात दिनका लागि हैदरावाद गएकी छे तर फर्कने कुनै लक्षण छैन । बरु उसको सम्भावित दुर्घटना सोचेर बस्छ पति । सबका सब घाचर घोचर भएको स्थितिमा छ, लेखक ।
सोना मसलाको अस्तित्व नभएको भए त्यो परिवार के हुन्थ्यो ? मालती, लेखक वा अनिताको खुसी फलेफुलेको हुन्थ्यो पक्कै । उपन्यासमा कफी किङ, अन्नदाते, जुग्नु कुरकुरे, रानी एम आदि रमाइला उपनाम छन्, पात्रका । तिनको घर भने बारुदको थुप्रोमाथि बसेजस्तो विस्फोटक परिवेशमा छ । एकअर्कामा कटाक्ष, छेडखानी, घोचपेच अनि जवाफी फायर चलेको चल्यै छ ।
साँच्चै सहरी मध्यमवर्गीय जीवन लम्पट, खोक्रो र यान्त्रिक छ । मानवीय संवेदना क्रमशः मर्दै गएको छ । मानिसले पैसालाई होइन, पैसाले मानिसलाई नियन्त्रण गर्छ । रातारात धनी हुनेहरु जूनको उज्यालोमा पनि छाता ओढ्छन् । आफ्नो स्वार्थका लागि अर्कालाई बलि दिनु सामान्य ठान्छन् ।
घाचर घोचरले भारतीय समाजमा परिवार, विवाहजस्ता पुराना संस्थामा आएको १ सय ८० डिग्रीको अदलबदलबारे छर्लंग्याएको छ । यद्यपि उपन्यासका पात्रमा हाम्रै घरपरिवारको पनि छाया छ । उपन्यासमा सासू र बुहारीको रस्साकसी वास्तवमा आधुनिकता र परम्पराबीचको द्वन्द्व हो । प्रेम र धनको तनावले परिवार विघटनको सँघारमा छ । संयुक्त परिवारको धर्मराउँदो अस्तित्व, बुर्जुवा जीवनको भ्रम अनि सम्बन्धको दरार सटिक ढंगले देखाउन उपन्यास सफल छ ।
कफीहाउसबाट सुरु यो लघु उपन्यास कफीहाउसबाटै अन्त्य भएको छ । चित्रात्मक भाषामा लिखित यो आख्यान पुँजीवादी नैतिक पतनको दृष्टान्त पनि हो । घाचर घोचरको जुन अर्थहीनता छ, त्यही किसिमको विसंगत र निस्सार छ, जीवन ।
त्यसो त अनुवाद अब्जसी काम हो । कहिलेकाहीँ त्यो असफल प्रयत्न मात्रै भइदिन्छ । न मूल लेखकले चित्त बुझाउँछ, न त पाठकले नै । युग पाठक अनुवाद शिल्पमा अब्बल देखिएका छन् । कृतिको लेखनशैली, रोचकता र मिठास जोगाएर नेपाली स्वाद दिनु चानेचुने होइन ।
रुसी लेखक आन्तोन चेखबसित तुलना गरिएका लेखक शानभागले आश्चर्यजनक रुपमा सहरी त्रासदीको कथा भनेका छन् । कम्तीमा उपन्यास भनेको कथाको लम्बाइ होइन भन्ने बोध हाम्रा लेखकलाई समेत गराएका छन् । विवेक शानभागको लेखन–इन्जिनियरिङबाट हाम्रा लेखकले पनि केही न केही सिके हुने !

Page 53
तीन किताब

मुन्धुम र मार्क्सवाद

- गुरुङ सुशान्त

भोगीराज चाम्लिङ लेखक

विश्व परिवेशमा फ्रेडरिक एंगेल्सले वर्ग र राज्यको ऐतिहासिकता बुझाउन जुन काम गरे, नेपाली सन्दर्भमा सीताराम तामाङको त्यस्तै प्रयत्न हो, नेपाल : समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण । यसले ऐतिहासिक भौतिकवादी कोणबाट नेपाली इतिहास अध्ययन गर्नुका साथै राजतन्त्रकेन्द्री इतिहास लेखनको खण्डन गरेको छ । विवरणात्मक इतिहास लेखनको परम्परागत ढाँचामाथि प्रश्न उठाउने पुष्पलालको इतिहासदृष्टिलाई तामाङले विस्तार गरेका छन् । सिद्धान्तका कुरा गर्दा हामी मार्क्सबाट सुरु गरेर माओमा टुंग्याउँछौँ तर नेपाली इतिहासलाई जरामा पुगेर खोतल्दैनौँ । आदिम साम्यवाद, दास युग, पुँजीवाद भनेर मार्क्सवादले गरेको युग विकासको विभाजन नेपाली परिप्रेक्ष्यमा मेल खाँदैन भन्ने दाबी किताबको छ । सिंगै गाउँ कसैलाई बिर्ता दिँदा दासहरु जन्मिए पनि युग नै घोषणा गर्ने तहको दास व्यवस्था नेपालमा थिएन । दास व्यवस्था बलियो नहुनुको प्रमुख कारण हो, सहकार्य र सहअस्तित्वमा टिकेको आदिवासी–जनजातिको सांस्कृतिक विरासत । जात व्यवस्थाले उत्पादन सम्बन्धमा प्रत्यक्ष प्रभाव पारेकाले नेपाली समाजमा निर्माण भएको वर्गलाई पुरानै खाले मार्क्सवादी व्याख्याले मात्रै नधान्ने विचार यो किताबमै थियो, जुन विचार पछिल्लो समय घनीभूत भएको छ । लिच्छविकालमा एक थरी जग्गा राज्यको, अर्का थरी गुठी र बिर्तावाल अर्थात् जागिरेहरुको स्वामित्वमा थियो । यसरी लिच्छविकालमै वर्ग र वर्णव्यवस्था एकअर्कामा घोलिएको थियो भन्ने मौलिक दृष्टि र तीक्ष्ण विश्लेषण छ । नेपाली समाजको वास्तविक तस्बिर भएकाले समृद्धिको लक्ष्य राख्ने जोकोहीले वस्तुगत इतिहासबोधका लागि यो पुस्तक अध्ययन गर्नुपर्छ ।
लेनिनले भनेका छन्, ‘प्लेखानोभ नपढी मार्क्सवाद र सोभियत संघ बुझिँदैन ।’ सोभियत संघको पहिलो मार्क्सवादी तिनै जी प्लेखानोभको अनएड्रेस्ड लेटर्स, आर्ट एन्ड सोसल लाइफ पढ्दा मलाई भने मुन्धुम बुझ्ने ढोका खुलेजस्तो अनुभव भयो । मन्धुम मूलतः आदिम समाजमा किराातीहरुले विकास गरेको चिन्तन, ज्ञान र अनुभवको संग्रह हो । कृषि चाडको रुपमा मनाइने उभौली–उधौलीमा मुन्धुम गाउँदै साकेला नाचिन्छ, खेतीपाती आरम्भको संकेत दिइन्छ र श्रमबाट थोरै विश्राम लिइन्छ पनि । पछिल्लो समय मन्धुम अध्ययनमा घोरिरहेको मलाई एक/डेढ सय प्रकारले नाचिने सिलीलाई नयाँ ढंगले हर्ने कोण र सन्दर्भ यो किताबले दियो । प्लेखानोभका अनुसार कला, संगीत र खेल श्रमको सन्तान हो । कुनै पनि जातिलाई आफ्नो जीविकोपार्जनको अनुकरणबाट आनन्द प्राप्त हुँदो रहेछ । किराात समुदायमा पनि बाघ र अन्य पशुपन्छीको हाउभाउका साथै सिकार खेलेको नृत्य हुन्छ । खेतीपाती गरेजस्तै अनुकरण नृत्य पनि किरााती लोक–संस्कृतिमा प्रचलित छ । बहुसंख्यक आदिवासी–जनजातिहरुको श्रुतिपरम्परामा आधारित ज्ञानलाई वस्तुगत ढंगले व्याख्या गर्न प्लेखानोभको यो किताबले नयाँ चस्मा दिन्छ । एकातिर मार्क्सवादी चिन्तक प्लेखानोभ, अर्कातिर आध्यात्मिक मुन्धुम । कतिलाई लाग्ला– यो विरोधाभासी अध्ययन पो भयो कि Û तर मुन्धुमलाई हेर्ने आ–आफ्नै दृष्टि छन् । सभ्यता अध्ययन गर्ने विधि छन् । कसैले मुन्धुमलाई धार्मिक कोटरीमा राख्लान्, कसैले वैज्ञानिक । अध्यात्मवादीहरु सुम्निमा–पारुहाङलाई अलौकिक शक्ति भन्लान् तर मार्क्सवादी कोणबाट हेर्दा मातृसत्ताकालीन पात्रहरु देखिन्छन्, ती । सुम्निमा र पारुहाङ लोग्ने–स्वास्नी हुन् र माइती–चेली पनि । यो सम्बन्धलाई मातृसत्ताकालीन परिवार र विवाह प्रणालीमा लगेर व्याख्या नगरी बुझिँदैन । एउटै परिवारका सदस्यबीच यौन सम्बन्ध हुने प्रणाली त आदिम परिवारको हो ।


अन्तर्राष्ट्रिय पुरातफ्वको अध्ययन र लुम्बिनी उत्खननमै संलग्न भएपछि लाग्यो– मुन्धुमलाई गहिराइमा विश्लेषण गर्न पुरातफ्वमा पुग्नैपर्छ । मुन्धुममा पाठ मात्रै भेटिन्छ, पुरातफ्वमा भौतिक प्रमाण नै हुन्छ । जब प्रमाण र पाठलाई जोडेर अध्ययन गरिन्छ, तब निष्कर्ष वैज्ञानिक हुन सक्छ । किरााती मुन्धुमको पाठ चिनियाँसँग नजिकझैँ लाग्थ्यो । अनुसन्धान सामग्री खोज्दै जाँदा बेलायतबाट झिकाएँ, ली लु तथा सीङक्या चेनको द आर्कियोलोजी अफ चाइना । यसमा ह्वाँङ्हो नदीलाई केन्द्र बनाएर कृषि प्रणाली, बसाइसराइ र सांस्कृतिक विकासक्रमको प्राज्ञिक अध्ययन र सरल प्रस्तुति छ । सबैभन्दा पहिले चीनमा कागुनीलाई वन्यवस्तुबाट कृषि अन्न बनाइएको रहेछ । ह्वाँङ्हो नदीको आसपास सुँगुर र कुकुरलाई घरेलु जनावर बनाइएको मानिन्छ । धामी प्रथाको थालनी प्रमाण पनि त्यही नदीकै आसपास भेटियो । अजिंगरलाई ठूलो सांस्कृतिक विम्ब मान्ने परम्परा अझै पनि चीनमा छ, त्यसको अवशेष पनि पुरातफ्वले त्यहीँ फेला पार्‍यो । तीन चुल्होको प्रमाण पनि त्यही नदीमा भेटियो । यी सबैसँग किरााती संस्कृति मिल्दोजुल्दो देखिन्छ ।
करिब दस हजार वर्षअघि चीनमा खेतीपाती गर्न थालिएको कागुनी प्रजातिकै साइम्मालाई अन्नको राजा मानेर किराातीहरुले पितृलाई चढाउँछन् । यसरी हेर्दा किरााती मुन्धुमको ऐतिहासिकता चिनियाँ सभ्यतासँग जोडिँदो रहेछ । आनुवांशिक रुपमा पनि ह्वाङ्हो नदी वरपरका मानव र किराँतीहरुको जिन मिल्दोजुल्दो छ भन्ने तथ्य पनि बाहिरिएका छन् ।

Page 54
कोलाज

क्लब कल्चरमा एलओडी

- सुनिता लोहनी

गीत त सुन्नुभएकै होला, ‘मैने होंठो पे लगाइ तो हंगामा हो गया...’ । बलिउडको यो गीत क्वीनमा कंगनाले क्लबमा नाचेपछि नयाँ पुस्तामाझ झनै प्रसिद्ध भयो । रानीको भूमिका वहन गरेकी कंगना चलचित्रमा पहिलोपल्ट क्लब गएकी थिइन्, त्यो पनि पेरिसको ।
डिस्को संगीतको आविष्कारसँगै सन् १९७० देखि क्लबिङ अर्थात् क्लब जाने संस्कार विकास भयो । जब डिजेवाला बाबुले ८० को दशकमा ढिक्चुक–ढिक्चुक नाच्ने संगीत बजाउन थाले, डान्सपार्टी आयोजना हुन थाल्यो, तब यसको विकास भयो । ९० को दशकको सुरुमा डान्सपार्टी गैरकानुनी रुपमा सञ्चालन हुन्थ्यो । तर त्यही दशककै अन्त्यतिर क्लब जीवन युवाको अभिन्न अंग बनिसकेको थियो ।
नेपालमा क्लब जीवनको सुरुआत धनाढ्य विनोद चौधरीले आत्मकथामा पनि बताएका छन् । उनले काठमाडौँमा क्लब सञ्चालन गरेका थिए । ‘समाजले त्यसलाई खासै राम्रो मान्दैनथ्यो’, उनले पुस्तकमा भनेका छन् ।
तर अहिले परिस्थितिमा बदलाव आएको छ । नेपालमा यस्ता दर्जनौँ सानाठूला क्लब छन्, जहाँ युवायुवती झुम्छन् । डिस्को लाइट अनि डिजेको संगीतमा झुम्नु आधुनिक पुस्ताको जीवन शैलीको अभिन्न अंग बन्दै गएको छ । नेपालको क्लब संस्कारमा नयाँ आयाम थप्न आएको छ, एलओडी ।
एलओडी अर्थात् लर्ड अफ द ड्रिंक्स । ठमेलको नयाँ चहलपहल जहाँ हरियो, पहेँलो, बैजनी, नीलो रङका बत्ती बल्छन्, झिमिक्क–झिमिक्क । यही बत्तीमा स्वदेशी र विदेशी कलाकारका गीतमा झुम्मिन्छन्, नेपाली पुस्तासँगै विदेशी पर्यटक ।
०६८ देखि हस्पिट्यालिटी व्यापारमा लागेका रविन श्रेष्ठ एलओडीका प्रबन्ध निर्देशक हुन् । उनी एलओडीलाई क्लबभन्दा बरु रक बार भन्न रुचाउँछन् । साढे ११ बजेसम्म रक बार र पछि क्लब बन्ने गर्छ एलओडी, जहाँ युवापुस्ता संगीतमा झुम्मिन्छन् । ठूलो क्षेत्रफलमा फैलिएको क्लब अन्तर्राष्ट्रिय स्तरको छ । लाइट, स्टेज, ध्वनि, सिट व्यवस्था, हाइड्रोलिक लाइट र डी एन्ड बी अडियो टेक्निकले क्लबलाई गुणस्तरीय बनाएको छ ।
क्लबलाई फिल्म हलमा जस्तै गोल्ड, सिल्भर र प्लाटिनममा विभाजित गरिएको छ । टेबल बुक गरे कार्यक्रमअनुसार ३० हजारदेखि १ लाखसम्म पर्छ । एक पटकमा १ हजार जनासम्म दर्शक अटाउने क्लबलाई विश्वको उत्कृष्ट सय क्लबमा पार्न खोजेको एलओडीले आशा गरौँ, डेजा भुबाट पाठ सिक्नेछ । क्षमताभन्दा बढी दर्शक राखेर क्लब संस्कृतिमा विचलन ल्याउने छैन ।

कोलाज

कमजोर मेरुदण्ड

- गोकर्ण गौतम

जग्गा नामसारी गर्दा मालपोतका हाकिमलाई दाम चढाउनुपर्ने हाम्रो नियति प्रतिविम्बित छ, फिल्म घामड शेरेमा । हाम्रो राज्य प्रणालीका यिनै उल्झनलाई घामड शेरेमा बुनिएको छ । समाज र भुइँमान्छेको भोगाइबाट सिनेमा टाढा भइरहेको आरोपलाई यसले थोरै चिर्न खोजेको छ । तर समस्या के भने विषयको गाम्भीर्यअनुरुप प्रस्तुति विश्वसनीय छैन । यो फिल्मका निर्देशक तथा पटकथाकार हुन्, हेमराज बिसी ।
हामीकहाँ कमेडी फिल्मको अप्राकृतिक लहर छ । फिल्ममेकर नवीन कथा भन्न होइन, जसरी पनि दर्शक हँसाउन मरिहत्ते गर्दै छन् । घामड शेरेले हँसाउने चक्करमा कथा, पात्र र प्रवृत्तिमाथि मजाक गरेको छैन ।
तरकारी खेती गर्ने उद्देश्य बोकेर स्वदेश फर्किएका छन्, शेरबहादुर । जग्गा किन्छन् । तरकारी लगाउँछन् तर त्यही वर्ष बाढीले खेतलाई बगर बनाउँछ । बुझ्दै जाँदा त पहिल्यै बगर बनेको जग्गामा माटो थपेर उनलाई बेचिएको हुन्छ । जग्गा बेच्नेविरुद्ध प्रहरीकहाँ रिपोर्ट गर्छन् तर माखो मर्दैन । केही सीप नलागेपछि स्थानीय निकायको न्यायिक समितिमा खोलाविरुद्ध मुद्दा दिन्छन् । उनको डुबेको रकम खोलाबाट असुलउपर होला ? यो लफडासँगै शेरबहादुरको वैवाहिक जीवनको उतारचढावमा केन्द्रित छ, फिल्म । क्लाइमेक्स अनुमानअनुरुप नै भए पनि रोचक लाग्छ ।
गुन्डा पाल्ने ठेकेदार नेता, फरक पार्टीका मेयर–उपममेयरबीचको खिचातानी, स्थानीय सरकारका कर्मचारीलाई जनप्रतिनिधिको रुष्ट व्यवहार, कर्मचारीको घुस्याहा शैली, निमुखालाई उकासेर फाइदा लुट्ने कानुनी परामर्शदातादेखि प्राकृतिक प्रकोपपीडितप्रति राज्यको उदासीनतासम्म अटाएको छ । पात्रको भोगाइ, चालढाल र बातचितले बरोबर हसाउँछ तर त्यो जबर्जस्ती हुलिएको छैन, स्वाभाविक लाग्छ । शेरबहादुरको वैवाहिक जीवनको संकटले मध्यान्तरपछि धेरै समय खाएको छ । जग्गा विवाद भुलेर पत्नी खोज्ने उपक्रम सुरु हुन्छ । निर्देशकमा चारैतिरबाट ठगिएको ‘बिचरो’ पात्र बनाउने लहड देखिन्छ । पतिपत्नीको रासलीलाले आमाबुबाको निद्रा खल्बलिन्छ । यस्तो ‘क्लिसे’ हर्कतबाट नेपाली फिल्म कहिले मुक्त होला ?
मध्यान्तरपछि साली–भेनाको प्रेम दर्शाउने र शेरबहादुरले पीडा पोख्ने उस्तै आशयका दृश्य दोहोरिएका छन् । पात्रका हिसाबले शेरबहादुर अर्थात् निश्चल यो फिल्मको मेरुदण्ड हुन् । विडम्बना Û उनै कमजोर छन् । स्वस्तिमाले हुलिया, हाउभाउ र बोल्ने शैलीमार्फत चरित्र आत्मसात् गरेकी छन् । तर राष्ट्रिय अवार्ड जितिसकेकी अभिनेत्री यही स्तरका चरित्रमा रमाउनु प्रीतिकर हुन्न । छुच्ची पत्नीका रुपमा सुष्मा निरौला फिट छिन् । गौरी मल्लको लबजमा फेरबदल हुनु शोभनीय होइन । बरु बादल भट्ट, रोयदीप, लोकेन्द्र लेखकजस्ता सहायक कलाकारले तारिफयोग्य काम गरेका छन् । हेमराज बिसीका अघिल्ला फिल्मभन्दा कथाको प्रकृति र प्रस्तुतिमा घामड शेरे अलग छ । सम्भवतः यो उनको करिअरको उम्दा कोसेली हो तर सातौँ फिल्मसम्म आइपुग्दा पनि निर्देशकमा परिपक्वता देखिँदैन ।

कोलाज

‘प्रकृतिसँग सिक्दै कान्छो कीर्तिमान’

१ हजार ५ सय ५० मिटर उचाइको ताप्लेजुङ, लेलेप गाउँमा जन्मिए, मिङमा डेभिड शेर्पा, ३० । बुझ्दैनबुझी पर्वतारोही बनेका मिङमासँग सबैभन्दा कान्छो उमेरमा विश्वका १४ वटै हिमाल चढ्ने पहिलो नेपालीको कीर्तिमान छ ।
- मनबहादुर बस्नेत
मिङमा डेभिड शेर्पा

३० वर्षमै अग्ला हिमाल चढिसक्छु भन्ने सोच्नुभएको थियो ?
सानो छँदा केही त्यस्तो सपना थिएन । काम गर्दै जाँदा पाएको सफलता हो, यो । हिमाल आरोहणमै पनि म संयोगले आएको हुँ ।

ख्यालख्यालमै हिमाल आरोहणमा .... ?
सन् २००८ मा काठमाडौँ घुम्न आइयो । स्कुलको लामो बिदामा केही गर्नुपर्‍यो भनेर पोर्टरको रुपमा अन्नपूर्ण क्षेत्र ट्रेकिङ गएँ । गाइड बन्न मन लाग्यो । अर्को साल किचन ब्वाई बनेर मनास्लु बेस क्याम्प पुगेँ । नजिकै हिमाल देखेपछि चढ्न मन लाग्यो । मामा पर्ने हिमाल चढ्थे । उनलाई भनेपछि पहिलोचोटिमै सगरमाथा चढ्ने अवसर मिल्यो, २०१० मा । तर एसएलसीको जाँच दिँदादिँदै सगरमाथा चढ्न चीन जानुपर्ने भयो । परीक्षै छाडेर हिँडेँ । त्यसपछि तालिम लिँदै लगातार २ वर्ष सगरमाथा चढेँ ।

पढाइ छुटेकामा पछुतो लाग्दैन ?
सानोमा पढ्ने रहर थियो । तर द्वन्द्वकालले गर्दा नियमित पढाइ नभएपछि मन बिथोलियो । पछि एसएलसी पास गरे पनि अगाडि पढ्न मन भएन ।

अग्ला १४ हिमालमध्ये फरक अनुभव कुनमा भयो ?
प्राविधिक रुपमा उच्च जोखिम भएको पाकिस्तानको केटु हिमालमा आरोहणको पूर्ण मज्जा छ । आइस क्लाइम्बिङ, रक क्लाइम्बिङ, सफ्ट स्नोट सबैको अनुभव यो आरोहणमा लिन पाइन्छ । यस्तो कहीँ पाइँदैन ।

आरोहणमा ‘क्रेजी’ रेकर्ड आउन थाल्यो, झन् प्रतिस्पर्धा भएको हो ?
प्रतिस्पर्धाभन्दा पनि प्रकृतिसँग सिक्ने क्रममा बनेका कुरा हुन्, ती । प्रतिस्पर्धा होइन, प्रकृतिसँग मानिसले रिसर्च गर्दा प्राप्त भएको । प्रकृतिले दिएको अवसर हो, त्यो । आरोहण प्रकृतिसँगको रिसर्च हो । प्रतिस्पर्धा हुन्थ्यो भने रेकर्डवालाले सहयोग गर्दैन । आरोहणमा रेकर्ड तोडिन्छ भनेर थाहा पाउनेले नसोचेको सहयोग गरिरहेको हुन्छ ।

सगरमाथामा आरोहीको जाम कसरी व्यवस्थापन गर्न सकिएला ?
आरोहणको बाटो खोल्ने काम अहिलेभन्दा अलि चाँडो भए केही हदसम्म जाम घटाउन सकिन्छ ।

तपाईं उद्धारक पनि हो । नेपालमा यो अभ्यास कस्तो छ ?
आरोहण आफैँमा जोखिम हो । अग्ला हिमाल, अग्लै जोखिम । हामीकहाँ अग्ला हिमाल धेरै भए पनि आरोहणका लागि उद्धार टिम छैन । सरकारले उद्धार संयन्त्र बनाउनुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हिमाल सुरक्षित छन् भन्ने सन्देश जानेछ र आरोहण व्यवसाय फस्टाउनेछ ।

Page 55
Page 56
नेपाल मण्डल

दोहोरो चोटमा नम्रता

- महेश प्रधान

नम्रता श्रेष्ठ कम फिल्म खेल्छिन्, राम्रै ब्यानर छान्छिन् तैपनि फिल्म हिट हुन्न । उनको अभिनयले पनि भनेजस्तो प्रशंसा पाउँछ । मौन, मेघा, तान्डव, पर्व, क्यासिक, नोभेम्बर रेन फ्लप फिल्मको सूची लामो छ । प्रसादले चाहिँ हल्का राहत दियो । कम्तीमा लगानी उठायो । त्यसपछि उनले सफलताको स्वाद चाख्ने अनुमान थियो, जाइराबाट । यसमा उनको अभिनय मात्र थिएन, लगानी पनि थियो । एक्सन भूमिकामा थिइन्, मनग्ये प्रमोसन गरिन् तर फिल्म बक्स अफिसमा पूरापूर घुँडा टेक्यो, हेर्नेले पनि तारिफ गरेनन् । दोहोरो चोटले हुनुपर्छ, नम्रता नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन् । उनी निर्मित सोल सिस्टरले पनि यस्तै नियति झेलेको थियो । 

नेपाल मण्डल

दराजको मेगा सेल डे

सपिङ गर्न कसलाई मन पर्दैन ? अझ भारी छूटसहित बार्गेनिङ नै नगरी सपिङ गर्न पाए कति मज्जा Û
पश्चिमा र ठूल्ठूला देशमा चलेको यो मेगा सेल नेपालमा पनि भित्रिएको छ । बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल डे ११.११ सेल (एक दिनको सेल) २५ कात्तिकको मध्यरातबाट सुरु हुने घोषणा गरेको छ ।
११ नोभेम्बरलाई चीनमा सिंगल्स डे भनेर त्यस दिन एकताको रुपमा मनाइन्थ्यो । तर अलिबाबाले २००९ मा आफ्नो सपिङ प्लेटफर्म टी मलमा भारी छूट दिई ११.११ को आयोजना गरेदेखि परिस्थिति बदलिएको छ ।
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले २५ कात्तिक ०७५ मा नेपालमा एकै दिन साधारण दिनभन्दा ८० गुणा बढी व्यापार गरेको थियो । साथै, २ लाखभन्दा बढी उपभोक्ता, १ हजारभन्दा बढी बिक्रेता तथा ब्रान्ड एकै दिन दराज एपमा जम्मा भएका थिए ।
दराजले यसपालि ३ लाखभन्दा बढी सामानमा आकर्षक छूट लिएर आएको छ । ४ लाखभन्दा बढी प्रयोगकर्ता सहभागी हुने अनुमान आयोजकको छ । मेगा डेबारे पत्रकार सम्मेलनमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ गफिए, ”हामी उपभोक्तालाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न सक्छौँ भन्ने विश्वास राख्छौँ ।“

नेपाल मण्डल

कोरियन स्वाद

ऊ धोबीघाटको मिस्टर जिम बाब रेस्टुराँ अघिल्तिर उभियो । जिम बाबको स्वाद उसको नाकैमा ठोक्कियो । हेर्दाहेर्दै चेक फ्रक सेतो सर्ट र कालो कोर्ट सिन्ह्वा हाइस्कुलको पोसाकमा ज्यान्डी टिफिन लिएर ऊसामु आई । ब्वाइज ओभर फ्लाबर कोरियन ड्रामामा देखिएकी ज्यान्डीले ड्रामामा देखाएजस्तै टिफिन खोली अनि उसलाई किम बाब खान दिई । हेर्दा भेन्टाको बोक्राले भातलाई बेरेर बनाएजस्तो लाग्ने किम बाब अधिक मीठो थियो ।
एक्स क्युज मी । ऊ झस्कियो । तपाईं के लिनुहुन्छ ? हामीसँग किम बाबका धेरै भेराइटी छन् ? तपाईं कुन लिनुहुन्छ ? धोबीघाटमा रहेको मिस्टर जिम बाब कोरियन रेस्टुराँ कोरियन खाना जिम बाब उर्फ किम बाबका लागि प्रसिद्ध छ । कोरियन कुजिनको स्वाद लिन तपाईं पनि जाने कि ?

Page 57
नेपाल मण्डल

प्रेरणाको प्रेरणा

- नेपाल संवाददाता

फेसनबारे चर्चित भनाइ छ, ‘म आफैँ आफ्नो प्रेरणा हुँ ।’ हामी कसैले केही प्राप्त गरे उनीहरुबाट प्रेरित भइहाल्छौँ । तपाईं आफ्ना लागि प्रेरणा बन्न सक्नुभए पनि नभए पनि मोडल प्रेरणा बलाया भने आफ्ना लागि प्रेरणा बनेजस्तो लाग्छ । जसको नामै प्रेरणा छ, उसलाई अरुको प्रेरणा के चाहिएला र ?
फेरि कालो गाउनमा सजिएकी प्रेरणा स्टाइलिस र आत्मविश्वासी देखिन्छिन् । उनको पहिरन छनोट शैली र पोज हेर्दा जोकोहीलाई पनि साँच्चै प्रेरित बनाउँछ ।

Page 58
नोटबुक

एम सरको ‘गम्भीर गल्ती’

- रविराज बराल

एम सर अर्थात् कृष्णबहादुर महराले ढाँटेकामा अध्यक्ष प्रचण्डलाई ठूलो दुःख छ । दाङ पुगेर भने, ‘महराजीले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’ प्रचण्डले थाहा नपाएझैँ गरिदिए– महराले पूरै देशलाई ढाँट्न खोजेका थिए । कर्मचारी समायोजनको रिसमा आफ्नो राजनीतिक प्रतिष्ठा सिध्याउन भएको षडयन्त्रका रुपमा उनले घटनालाई अर्थ्याएका थिए ।
मिडियामा समाचार आएपछि महराको सचिवालयले भन्यो– घटना भएको भनिएको दिन उनी बालुवाटारमै थिए । सचिवालयले ‘कठपुतली तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास भएको’ दाबी ग‍र्‍यो । महराले दुनियाँलाई ढाँट्न खोजेका रहेछन् भन्ने एकपछि अर्को समाचारका तथ्य र प्रहरीसँग रहेको सीसीटीभी फुटेजले प्रस्ट्यायो । दोस्रो गल्ती महराले राजीनामा दिादा गरे । ‘छानबिन नसकिँदासम्म’ भन्दै उनले राजीनामामा सर्त राखे । छानबिनपछि निर्दोष सावित भइहाल्छु भन्ने महराको मनसाय देखिन्थ्यो । दोस्रो पटक उनले सर्त हटाए ।
मिडियामा खबर छरपस्ट भएपछि प्रचण्डले जोखबहादुर महरा र नारायणकाजी श्रेष्ठलाई बुझ्न पठाएछन् । त्यसपछि आफैँ पुगेछन्, ‘जे हो, त्यो जस्ताको तस्तै भन्नुस् ।’ देशलाई अल्मल्याउन खोजेका महराले किन सत्य बोल्थे ? त्यसपछि देश दसैँमा रमाएका बेला महरा कसरी बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परे र डिल्लीबजार कारागार पुगे, सबैलाई थाहै छ । एकछिनलाई प्रचण्डले भनेको मानिदिऔँ– महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे । तर नढाँटीकन नेतृत्वलाई सबै कुरा भनेका भए पनि एम सरको नियति फेरिन्थ्यो होला र !

सडकभरि डरैडर
फूलपातीको दिन । पत्रपत्रिकालाई दसैँ लागे पनि अनलाइनहरू अपडेट थिए । महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा संसद् सचिवालयकी कर्मचारीले उजुरी दिएकी थिइन् । एम सरकै कारण दसैँमा पनि पाठकको अभाव थिएन । ‘महराविरुद्ध बलात्कार प्रयासको उजुरी...’ सहितका समाचार पोस्ट गरेर घर फर्किंदै थिएँ । सडक खाली थियो । तीनकुने पुगेपछि सोचेँ– बानेश्वर प्रहरी वृत्त भवनको दुई चार फोटो लिइहालूँ, काम लाग्न सक्छ ! फोटो खिचेर सिभिल अस्पतालपट्टिबाट नयाँ बानेश्वरतर्फ हुत्तिँदै थिएँ, कसैले रोक्यो । ‘ब्रदर...’ उसले अँगालो हाल्दा ‘दसैँ’ ह्वास्स गन्हायो । तर्किन खोजे पनि फेरि बाटो छेक्यो । नजिकै रहेका साथीहरुलाई पनि बोलाइसकेछ । “बाटो किन छेक्छौ ?” म फुत्किन खोजेँ । सिभिल गेट पुग्नै लाग्दा फेरि समाते । चार जनासँग प्रतिकार गर्ने स्थिति थिएन । “मलाई छाडिदेओ नत्र पुलिस बोलाउँछु”, मोबाइल निकालेर १०० मा कल गरेँ । लोकेसन दिएँ– सिभिल अस्पताल गेटअगाडि । ‘किन पुलिस बोलाइस् ?’ मलाई झम्टे । अस्पताल गेटमा थुप्रै मानिस थिए । “उनीहरु मलाई कुट्न खोज्दै छन्, जोगाउनुस्,” कराएँ । अहँ ! कोही आउँदैन । प्रहरीले पनि समय लगायो । यतिन्जेलमा मैले एक मुक्का र एक लात भेटिसकेको थिएँ । प्रहरीले उनीहरुलाई भ्यानमा कोच्यो । ‘तपाईं पनि हिँड्नुस्,’ फेरि बानेश्वर वृत्त पुगियो । मैले ‘नपिट्नुस्’ भन्दाभन्दै उनीहरुले प्रहरीको खुब गोदाइ भेटे । उनीहरुमाथि मुक्का बज्रिएर मेरो दुखाइ कम हुनेवाला थिएन । त्यो रात उनीहरु ‘मामाघर’ मै बसे । ११–१२ पढ्दै गरेका ती भाइहरु भोलिपल्ट कागज गरेर छुटे ।

‘भाग मिल्खा भाग’
पहिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पु‍र्‍याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु पनि भनिनँ । सीधै ज्यान जोगाएँ । ‘धोबीखोला करिडोर’ हुँदै घर फर्किंदै थिएँ । कोही अपरिचितले बाटो छेक्यो– ‘ब्रदर मोबाइल पाउँ न, मेरो ब्यालेन्स सकियो ।’ लाग्यो– रातको बेला उसलाई अप्ठेरो परेको पनि हुन सक्छ । तर उसलाई ढाँटेँ, “मेरो मोबाइलमा पनि पैसा छैन यार ।” यति भनेर म बाटो लागेँ ।
‘ए पख् पख्’, ऊ त मेरो पछि पो आउँदै छ । परबाट अरु दुई जना दौडिँदै यतै आउँदै छन् । लाग्यो– उसैका साथी हुन् । दह्रो गरी खुट्टा टेकेँ । ऊ जोसिँदै आयो र दुई हातले काँधमा समातेर मलाई लडाउन खोज्यो । न्वारानदेखिको बल लगाएर उसलाई धकेलेँ र सडकमा पछारेँ । म भागिसकेको थिएँ । तर ऊ लड्दा कुनै धातुको चर्को आवाज आएजस्तो लाग्यो । पछाडि फर्केर हेर्ने स्थिति थिएन । सोचेँ– ऊसँग रडजस्तै केही थियो, जुन ऊ लड्दा सडकमा बज्रियो ।
पुगनपुग एक मिनेट दौडेपछि म अडिएँ । सास तान्दै पछाडि फर्कें । बाटो खाली थियो । लाग्यो– उसले मलाई ‘फलो’ गर्न सकेन । धन्न ! बााचियो, म खुसी भएँ ।

Page 59
Page 60