You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
जुम इन

थानेश्वरको गिनिज–यात्रा

जसले गिनिज बुक अफ वर्ल्डमा २२ पटक रेकर्ड राखे
- समर्पण श्री

थानेश्वर गुरागाई १९ वर्षका थिए, जतिबेला उनले पहिलो पटक गिनिज बुकमा विश्व रेकर्ड राखे । एक मिनेटमा ४ सय ४४ पटक बास्केटबल बाउन्स गरेर उनले आफ्नो करियरमै पहिलो फड्को हानेका थिए । त्यसअघि एक मिनेटमा ३ सय ८४ पटक बास्केटबल बाउन्स गरेर नेदरल्याण्डका नागरिक किरन हार्पलले रेकर्ड बनाएका थिए । यो रेकर्ड तोड्न थानेश्वरले ठूलै संघर्ष गर्नुपर्‍यो ।
गिनिज रेकर्ड सर्च गर्दै जाँदा थानेश्वरले गुगलमा कैयन त्यस्ता रेकर्ड देखे, जुन आफूले तोड्न सक्छु भन्ने उनीभित्र आत्मविश्वास पलाउन थाल्यो । त्यसपछि उनले गिनिज रेकर्डर आश्रिता फर्म्यानको रेकर्ड पल्टाएर हेरेँ, जसले सयभन्दा बढी विश्व रेकर्ड बनाएका छन् । थानेश्वरले त्यसैमध्ये एउटा रेकर्ड रोजे । त्यो थियो– बास्केटबल बाउन्सेस इन वान मिनेट । ती अमेरिकी नागरिकले एक मिनेटमा ३ सय २० पटक बास्केटबल बाउन्स गरेको रेकर्ड रहेछ । तबला बजाउन अभ्यस्त थानेश्वरलाई रेकर्ड तोड्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । लगत्तै उनी बजार गएर बास्केटबल किने ।
बास्केटबल किनेपछि उनले निरन्तर अभ्यास गरे । थुप्रैपटकको अभ्यासमा एक मिनेटमा एक सय ५० भन्दा बढी बाउन्स नै भएन । पछि गुगलमा खोज्दा ३ सय २० लाई पनि उछिनेर एक अमेरिकी नागरिकले ३ सय ८४ पटक बाउन्स गरिसकेको भेटे । यता आफ्नो अभ्यास जति बढाउँदा पनि स्पिड नबढेपछि थानेश्वर निराश हुन लागे । तर, हार मान्न नजान्ने उनको स्वभाव । आफ्नो मेहनतलाई जारी राखे । बिहान ६ बजेदेखि ७ बजेसम्म दैनिक १३ घण्टा अभ्यास गर्नु उनको दैनिकी बनेको थियो । यसरी अभ्यास गर्दा धेरैको सोचाइमा उनी ‘पागल’समेत ठहरिए ।
अभ्यास गर्ने क्रममा धेरैपटक उनको हात ‘फ्रिज’समेत भयो । परीक्षामा लेख्दा हात रोकिएर कतिपटक त लेख्नसमेत सकेनन् उनले । अस्पतालमा गएर चेककप गराए । उनको महिनौंसम्मको अभ्यासले एकदिन सार्थकता पायो । उनले एउटै हातले एक मिनेटमा ४ सय ४४ पटक बास्केटबल बाउन्स गर्न सक्ने भए । ‘पहिले राखिएको रेकर्डमा २ वटा हातले बाउन्स गरिएको रहेछ । तर, मेरो एउटै हातले ४ सय ४४ पटक जाने भयो,’ थानेश्वर सम्झन्छन् ।
उनी बल्ल रेकर्ड तोड्न सक्ने त भए । तर, रेकर्ड राख्ने प्रक्रिया निकै झन्झटिलो ।
सुरुमा त गिनिजलाई ‘एप्लिकेसन’ पठाउनुपर्थ्यो । ‘एप्लिकेसन’ पश्चात् योग्य ठहर गरेर उताबाट निर्देशन दिन नै ३ महिना लाग्थ्यो । बास्केटबलसम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति आफ्नो रेकर्डको साक्षी हुनुपर्थ्यो । उनले त्यतिबेला बास्केटबल एसोसिएसनका अध्यक्ष टेण्डी शेर्पा, अखिल नेपाल तेक्वान्दो एसोसिएसनका अध्यक्ष अनुयाज गौतम लगायतलाई निर्णायक राखे । सँगै दुई जना राष्ट्रिय खेलाडीलाई ‘टाइम किपर’ राखे । रेकर्डको समाचार पत्रपत्रिकामा आउनुपर्थ्यो । उनको कुनै पत्रकारसँग चिनजान थिएन । विभिन्न सम्पर्कमार्फत् केही पत्रकारलाई समाचारका लागि आग्रह गरे ।
रेकर्डको भिडियो फुटेज, फोटोलगायत सबै डकुमेन्ट्री व्यवस्थित साथ पठाउनुपर्थ्यो । खुसीको कुरा, उनले जो–जोसँग सहयोग मागे । सबैले निःश्वार्थ सहयोग पनि गरे ।
अन्ततः दाहिने हातले बास्केटबल बाउन्स गरेर सन् २०१० को अक्टोबर १० तारिखमा उनले रेकर्ड दर्ता गरे र डकुमेन्ट गिनिजलाई पठाए । २०११ जनवरीमा डकुमेन्ट स्वीकृत भएर सर्टिफिकेट आयो । गिनिज बुकमा आफ्नो करियरको पहिलो रेकर्ड बनाउन उनी सफल भए ।

बदलिएको बाटो
उमेरले भर्खरै ३० टेकेका छन् थानेश्वर । पछिल्लो पटक पेरिसमा ४ वटा रेकर्ड एकैपटक ब्रेक गरेसँगै गिनिज बुकमा २२ वटा रेकर्ड राखिसकेका छन् । यसलाई नेपालमात्र नभई सिंगो एसियामै हाइयस्ट रेकर्डको सूची मानिन्छ । तर, उनको सपना यतिमै सीमित छैनन् । भन्छन्, ‘५१ वटा रेकर्ड पुर्‍याउने मेरो योजना छ ।’
यसरी अनौठो किसिमले रेकर्ड राख्नमा माहिर थानेश्वरको बाल्यकाल पनि उत्तिकै रोचक छ । संखुवासभामा जन्मेका उनी सानोमा निकै चञ्चले थिए । रूखको हांगामा हिँडेर वा झ्यालका भित्ताहरू चढेर सबैलाई अचम्मित पार्थे । आफ्नो ‘चकचके’ स्वभावका कारण सधैं घरमा अभिभावकको पिटाइ खान्थे उनी । तर, जति पिटाइ खाए पनि त्यो चकचकेपन र हुटहुटी उनको स्वभावबाट हटेन । ११ वर्षको उमेरमा पहिलो पटक उनले गिनिज बुकको बारेमा दाइ, दिदीहरूबाट थाहा पाएँ । त्यतिबेलै उनलाई लागेको थियो– म पनि गिनिज बुकमा नाम लेखाउन पाएँ । सोच आए पनि बालक थानेश्वरले यो कुरा तत्कालै बिर्सिहालें । कक्षा ८ मा पढ्दा पढ्दै उनको अध्यात्मतिर झुकाब भयो । अध्यात्ममा लाग्दा उनले त्यतिबेलै बुझ्ने मौका पाए– आफूभित्रै अभूतपूर्व शक्ति हुन्छ । आफूले चाह्यो भने असम्भव भन्ने कुरा नै केही हुन्न ।
अध्यात्मको रस पसिसकेका थानेश्वर एसएलसी पास गरेपछि काठमाडौं पुगे । पुरानोबानेश्वरस्थित सिद्धाश्रम शक्ति केन्द्रमा उनले ५ वर्ष बिताए । आश्रममा बस्दा उनले मानिस भित्रको शक्ति बुझे । मुक्ति र मोक्षबारे खोजी गरेँ । भजन गाउँदा तबला बजाउन सिकेँ ।
ध्यानमा रमाउने थानेश्वरको बाटो त्यो दिनबाट बदलियो, जुन दिन उनको दिमागमा एउटा शब्दले ‘क्लिक’ गर्‍यो ।
थानेश्वरलाई कुरै कुरामा एकदिन एउटा साथीले भने, ‘तपाईं कति धेरै बोल्नसक्नु हुन्छ नि । यसरी बोलेरै गिनिज बुकमा नाम लेखाउनु होलाजस्तो छ ।’ सामान्य व्यंग्य गरिएको भए पनि थानेश्वरलाई ‘गिनिज बुक’ भन्ने शब्दले तान्यो । त्यसपछि उनलाई लाग्यो– मैले पनि गिनिज बुकमा नाम लेखाउन सक्छु । त्यसपछि उनको यात्रा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’तर्फ अगाडि बढ्यो ।
रेकर्डपछाडि थानेश्वरलाई प्रोत्साहन र तारिफ गनेहरू मात्र भेटिएनन् । रेकर्ड राखेको विश्वास नगर्ने पनि उत्तिकै भेटिए । तर, विश्वास नगर्नेहरूप्रति उनको कुनै गुनासो रहेन । बरु परिवारलाई खुसी बनाऊँ भन्ने लागेको थियो थानेश्वरलाई । परिवारलाई भने त्यो रेकर्डको कुनै चासो थिएन । थियो त राम्रो जागिर नखाएकोमा हरदिन गुनासो ।
तैपनि उनी पछि हटेनन् । दोस्रो पटक पनि रेकर्ड राखे– गिनिज बुकलाई आधा घण्टा औंलामा राखेर घुमाएर । त्यसअघि ६ मिनेटको मात्रै रेकर्ड थियो । दोस्रो रेकर्डपछि उनमा गिजिज बुकको बानी पस्दै गयो ।

चोटमा पनि खुसी
रेकर्ड राख्ने कुरा उनको अनुभवमा त्यति सहज छैन । कसैले जस नदिने कुरा त छँदै छ । तर, कतिपटक ठूलै चोटपटक लागेर अस्पताल बस्नुपरेको नमीठो क्षण पनि थानेश्वरले भोगेका छन् । तापनि उनको विश्वास छ, ‘जति चोट पटक लागोस् सहन्छु । तर मैले गरिनँ भने चोटभन्दा नगर्नुको पीडा बढी हुन्छ ।’ धखएकपटक ग्यास सिलिन्डर चिउँडोमा ‘ब्यालेन्स’ गर्न खोज्दा उनी चिप्लिन पुगे । सिलिन्ड झरेर चिउँडो हुँदै छातीमा बेसरी बजारियो । उनी लामो समय मुर्छा र अचेत परे । धेरै दिनसम्म उनलाई त्यो चोटले दुखाइरह्यो ।
सन् २०१६ तिर, उनी नाकमा १५ मिटरको पोल ब्यालेन्स गर्दै थिए । दुर्भाग्य, लक फुस्किएर १५ मिटर माथिबाट पाइपहरू झरे । एउटा मात्र होइन, चार पाँचवटा पाइप लगातार नाकमा ठोकिए । नाक भाँचियो । अनुहार रगताम्य भयो । अचेत थानेश्वरलाई तत्काल टिचिङको इमर्जन्सीमा लगियो । दुई दिनसम्म अस्पताल राखियो ।
धेरै महिना त उपचारमै बित्यो । त्यसपछि त्यो रेकर्डका लागि उनले अभ्यास गर्नै पाएनन् । पछि प्रयास त गरे, तर दुखाइका कारण सम्भव भएन । उनको नाक अझै पनि बांगो छ । अहिलेसम्म नाकको उपचारमा उनी धाई रहन्छन् । शारीरिक चोट पाए पनि थानेश्वरलाई आफूले केही गुमाजस्तो लाग्दैन । भन्छन्, ‘मैले केही नहुँदा सुरु गरेको चिज, अहिले यति धेरै नाम र सम्बन्ध कमाएको छु ।’
नेपाली हुनुको गर्व थानेश्वर चर्चामा कहिल्यै रमाउन सकेनन् । ‘सेलिब्रेटी छवि’बाट उनी टाढा छन् । ‘मेरो प्रकृति नै चर्चाबाट टाढा रहने किसिमको छ । म व्यस्तता र मेहेनतमा रमाउँछु,’ उनी सुनाउँछन् ।
उनी आफ्नो विश्व रेकर्डकै कारण १८ वटा देशमा प्रस्तुतिका लागि पुगेका छन् । यसरी विभिन्न देश पुग्दा त्यहाँ उनी एउटै कुराले गर्व गर्छन्– म व्यक्ति होइन, नेपाल देशको प्रतिनिधि हुँ । ‘विदेशमा मैले प्रस्तुति दिँदा त्यहाँ कसैले मेरो नाम लिँदैनन् । बरु मेरो अनुहार हेरेर भन्छन्– नेपालको प्रस्तुति क्या राम्रो । त्यतिबेला मलाई जीवनकै सबैभन्दा खुसी महसुस हुन्छ,’ थानेश्वर मुस्कुराउँदै भन्छन् ।

 

बाइस रेकर्ड

१ एक मिनेटमा सर्वाधिक
बास्केटबल वाउन्स– ४ सय ४४ पटक
२ एक मिनेटमा सर्वाधिक पटक टेनिसको र्‍याकेटबाट छिर्ने– ३८ पटक
३ टुथ ब्रसमा सर्वाधिक लामो समय बास्केटबल घुमाउने– ४० सेकेन्ड
४ एकै पटक तीनवटा बास्केटबल सर्वाधिक लामो समय घुमाउने– १२ सेकेन्ड
५ तीन मिनेटमा सर्वाधिक पटक टेनिसको र्‍याकेटबाट छिर्ने– ९६ पटक
६ दुवै हात र खुट्टाको बुढी औंलामा एकै पटक सर्वाधिक लामो समय
बास्केटबल घुमाउने– १० सेकेन्ड
७ औंलामा सर्वाधिक लामो समय गिनेज बुक अफ वर्ल्ड रेकर्डस्को किताब
घुमाउने– ३० मिनेट
८ टाउकोमा सर्वाधिक लामो समय बास्केटबल घुमाउने– २६ सेकेन्ड
९ तीस सेकेन्डमा कम्मरमा वरिपरि सर्वाधिक फन्को मार्ने– ५६ पटक
१० तीस सेकेन्डमा टेनिसको र्‍याकेटबाट छिर्ने– २२ पटक
११ सर्वाधिक लामो समय बास्केटबल
खुट्टाको बुढी औंलामा घुमाउने– २० सेकेन्ड
१२ सर्वाधिक लामो समय बास्केटबल नाकको टुप्पोमा घुमाउने– ९.४० सेकेन्ड
१३ सर्वाधिक लामो समय बास्केटबल कुहिनोमा घुमाउने– १३.९२ सेकेन्ड (२ पटक)
१४ सर्वाधिक चाँडो टेनिसको र्‍याकेटबाट छिर्ने तीन पटक– ४.९१ सेकेन्ड
१५ चिउडोमा सर्वाधिक ५ वटा
कुर्सीलाई अडाउने
१६ ८ गुणा ११ इन्चको रिङ्गमा एक मिनेटमा सर्वाधिक पटक छिर्ने– १० पटक
१७ ८ गुणा ११ इन्चको रिङ्गमा तीन पटक सर्वाधिक छिटो छिर्ने– २१ सेकेन्ड
१८ सर्वाधिक लामो समय चेनस्अ (इलेट्रिकल काठ काट्ने रेती)लाई चिउडोमा
अड्याउने– ५ मिनेट ७ सेकेन्ड
१९ सर्वाधिक लामो समय साइकललाई चिउडोमा अड्याउने– १ मिनेट ५२ सेकेन्ड
२० एक मिनेटमा फलामको रिङमा सर्वाधिक पटक छिर्ने– १५ पटक
२१ कुर्सीलाई सर्वाधिक लामो समय
चिउडोमा अड्याएर राख्ने– ४ मिनेट १८ सेकेन्ड

Page 3
समाचार

रहिनन् कुसुन्डा भाषाकी ज्ञाता

- साप्ताहिक संवाददाता

दाङ— दुई सातादेखि बिरामी परेर थलिएकी कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डाको शनिबार मृत्यु भएको छ । उनको शनिबार दिउँसो लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा निधन भएको बुहारी आशा पुनले बताइन् ।
पुस २८ गते एक्कासि चक्कर लागेर लडेपछि उनी थला परेकी थिइन् । उनलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिए पनि स्वास्थ्यमा सुधार आएको थिएन । कुसुन्डालाई दिमागमा डिजेनेरेटिभ चेन्जेज (उमेर बढ्दै जाँदा मस्तिष्कका सेलहरू नष्ट हुँदै जाने) र दमको समस्या थियो । कुसुन्डा जातिकी एक मात्र अग्रज र भाषाविज्ञको निधनले कुसुन्डा समुदायलाई अपूरणीय क्षति भएको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । ‘हाम्रो इतिहास ढल्यो, हाम्रो भाषाको अन्त्य भयो,’ उनले भने, ‘यसले हामीलाई विक्षिप्त बनाएको छ ।’ उनका अनुसार दाङमा ९८ र देशभर २ सय ३२ कुसुन्डा छन् । तीमध्ये ज्ञानीमैयाँ मात्रै भाषाकी पूर्ण जानकार थिइन् ।
लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैयाँ बिरामी हुँदा पनि बेहोसी तालमा कुसुन्डा भाषामै बर्बराउने गरेकी थिइन् । उनलाई आफूपछि कुसुन्डा भाषा कसले बचाइदेला भन्ने चिन्ता थियो । उनका एक छोरा र दुई छोरी छन् । एक मात्र छोरा प्रेमबहादुरको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । त्यसयता उनको हेरचाह बुहारी आशाले नै गर्दै आएकी थिइन् । आर्थिक अभावका कारण ज्ञानीमैयाँलाई राम्रो अस्पताल लैजान नसकेको भनेर परिवारले गुनासो गरेका थिए ।
बाल्यकाल जंगलमा बिताएकी ज्ञानीमैयाँले आमाबुवाबाट सिकेको कुसुन्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिइन् । कुसुन्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा–संस्कृति पनि संकटमा परेको थियो । ज्ञानीमैयाँले भाषा बचाउन अरूलाई पनि सिकाउँदै आएकी थिइन् । उनको सहयोग लिएर लमहीमा भाषा आयोगले कुसुन्डा भाषाको औपचारिक कक्षा नै चलाएको थियो । पहिलो चरणको कक्षा पूरा भएर दोस्रो चरणको सुरु गरेका बेला उनको निधन भएको कुसुन्डा भाषाका अध्येता एवं शिक्षक उदय आलेले बताए । उनको निधनले कुसुन्डा भाषा संरक्षणमा ठूलो क्षति पुगेको आलेले बताए । ‘पूर्ण रूपमा भाषा जान्ने उहाँ मात्रै एक्लो हुनुहुन्थ्यो । अरूलाई सिकाउन खोज्दाखोज्दै निधन भयो,’ उनले भने, ‘पूर्ण रूपमा भाषा सिकाउन नपाउँदै उहाँले संसार छाड्नुभयो ।’
अब केही मात्रामा कुसुन्डा भाषा बोल्न सक्ने उनकी काकाकी छोरी ४२ वर्षीया कमला कुसुन्डा मात्रै बाँकी छिन् । उनी लमहीमा बस्छिन् । ज्ञानीमैयाँको निधनले कुसुन्डा भाषा संकटमा परेको भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । ‘उहाँ एक्कासि गम्भीर बिरामी पर्नुभयो । उमेरका आधारमा पनि धेरै कमजोर भएकाले बचाउन कठिन भयो,’ उनले भने, ‘थप उपचारका लागि आर्थिक संकलन गर्दागर्दै उहाँको निधन भयो । यसले कुसुन्डा भाषामा ठूलो क्षती पुगेको छ । भाषा नै संकटमा परेको छ ।’
जंगलमा हिँड्दा कुसुन्डालाई वनका राजा मानिन्थ्यो । जंगलमा सिकार खेल्ने, गिट्ठा–भ्याकुर खाने उनीहरूको जीवनशैली थियो । संख्या घट्दै गएपछि कुसुन्डाहरू फिरन्ते जीवन त्यागेर जीवन बचाउन गाउँ पसेका थिए । त्यही गाउँ पस्ने समूहकी एक मात्र जीवित थिइन्— ज्ञानीमैयाँ । उनकी आमा गोकुली पुनले रोल्पाको जुर मसिनाबाट भागेर जंगलमा बस्ने कुसुन्डा बलबहादुर सेन ठकुरीसँग विवाह गरेकी थिइन् । कुसुन्डासँग भागेपछि उनलाई घरपरिवारले स्विकारेका थिएनन् ।
भागी विवाह भएको १९ वर्षपछि मात्र गोकुली छोराछोरीसहित माइती फर्किएकी थिइन् । श्रीमान्को दाङको हर्नोकस्थित जंगलमा मृत्यु भएपछि गोकुली दुई छोरा र तीन छोरीलाई लिएर माइतीमा फर्किएकी हुन् । अहिलेसम्म अन्य सबै छोराछोरीको मृत्यु भइसकेको छ । माइली छोरी ज्ञानीमैयाँ मात्रै हालसम्म जीवित थिइन् । उनी बाआमाका साथमा जंगली जीवन बिताउँदा कुसुन्डा भाषा बोल्थिन् । त्यही बाल्यकालमा सिकेको भाषा उनले अहिलेसम्म बचाएकी थिइन् ।

समाचार

स्काउटमा पाँच सय दीक्षित

- नवीन पौडेल

परासी— बुटवलकी अन्जली शाक्य एक सातासम्म स्काउट तालिममा सहभागी भइन् । एक हप्ताको अवधिमा स्काउट तालिम युवा वर्गका लागि अपरिहार्य महसुस गरेको उनले बताइन् ।
‘सुरुवातमा मैले खासै महत्त्व दिएको थिइनँ’ अन्जली भन्छिन्, ‘प्रशिक्षण लिँदै जाँदा सकारात्मक सोचको विकाससँगै सहयोगी भावना र निडर बन्ने प्रेरणा मिल्यो । सबै युवामाझ यो तालिम पुग्नु अनिवार्य छ ।’ तालिममा सहभागी युवा–युवती स्काउट मास्टरबाट दीक्षित भएपछि स्थानीय तह र विद्यालयस्तरमा प्रशिक्षण दिने छन् ।
परासीस्थित सगरमाथा एकेडेमीका प्रिन्सिपल अभिनाश रेग्मीलाई पनि स्काउटमा सहभागी हुन मन लाग्यो । उनले आफ्नो विद्यालयलाई संस्थागत रूपमा नै स्काउट कार्यक्रममा सहभागी गराए । ‘देशभक्ति र अनुशासनका दृष्टिकोणले यो अभियान राम्रो छ,’ उनले भने, ‘विपद्को समयमा उद्धारको तालिम पनि यसको अर्को राम्रो पक्ष लाग्यो ।’
स्काउटको आधारभूत तालिमबाट प्रदेश नम्बर ५ का ५ सय ३४ जना युवा–युवती माघ ८ गते दीक्षित भएका छन् । प्रदेश नम्बर ५ को १ सय ९ स्थानीय तहका युवालाई एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरेर दीक्षित गरिएको हो । तालिममा सहभागीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउट नियमानुसार शपथ गराएर दीक्षित गरेका हुन् ।
दीक्षान्त समारोहमा बोल्दै मन्त्री विश्वकर्माले अनुशासित युवा नै देश विकासको आधार भएको बताए । ‘केही वर्षदेखि स्काउट नेपालमा खासै सक्रिय थिएनन् । अहिले यसमा संलग्न युवाहरू समृद्ध राष्ट्रका लागि कर्तव्यबोध र सहयोगी भावना भएका युवा शक्ति निर्माणमा लागि पर्नुभएको छ,’ उनले भने, ‘यसले युवामा व्यक्तित्व विकाससँगै राष्ट्रप्रेम र विपद्को समयमा सहयोगी भावनाको विकास हुँदैछ ।’ एक हप्तासम्म सञ्चालन भएको तालिममा युवा–युवतीलाई विपद्को समयमा कसरी उद्धार कार्यमा सहभागी हुने, व्यक्तित्व विकासका लागि प्रशिक्षण दिइएको स्काउटका राष्ट्रिय सयोजक लोकबहादुर भण्डारीले बताए ।

समाचार

जोयको बिग ब्याङ अफरको विजेता

- साप्ताहिक संवाददाता

काठमाडौं— जोयको उत्कृष्ट उत्पादन हनि एन्ड आलमन्ड लोसनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित जोय हनि एन्ड आलमन्ड बिग ब्याङ अफरअन्तर्गत विजेताहरूको घोषणा गरिएको छ । सातदोबाटोस्थित सेल्सवेरी डिपार्टमेन्ट स्टोरमा ग्राहकहरूको उपस्थितिमा लक्की ड्रमार्फत विजेताको घोषणा गरिएको हो ।
२९ सेप्टेम्बर २०१९ देखि ३१ डिसेम्बर २०१९ सम्म सञ्चालित कार्यक्रममा सेल्सवेरी डिपार्टमेन्ट स्टोरबाट जोय हनि एन्ड आलमन्ड लोसनको खरिदमा प्राप्त कुपनबाट लक्की ड्र गरी विजेता घोषणा गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रमबाट प्रथम पुरस्कार ताल्छीखेलका सोमकुमार राईले एलजी वासिङ मेसिन, द्वितीय पुरस्कार महाराजगन्जका रामकाजीले डबल डुवरले रेफ्रीजेरेटर तथा तृतीय पुरस्कार बानेश्वरका रोजिन प्रधानले २५ हजार रुपैयाँ बरावरको स्मार्ट फोन प्राप्त गरेका थिए । अन्य १५ जनालाई सान्त्वना पुरस्कारका रूपमा इलेक्ट्रिक कित्ली प्रदान गरिएको थियो ।

समाचार

दाङमा महोत्सवको रौनक

- साप्ताहिक संवाददाता

दाङ– घोराही र तुलसीपुरमा शुक्रबारदेखि एकसाथ व्यापारिक तथा कृषि महोत्सव सुरु भएका छन् । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी तथा कला प्रदर्शन गरिएको छ । तुलसीपुर महोत्सवमा नायक राजेश हमालसमेत नाचे । उनी मोडल तथा कलाकारहरूसँग नाचेका थिए । हमालको नाच हेर्दा दर्शकहरू निकै रमाएका थिए । गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहीं, बेलायत नी यहीं’ गितले दर्शकहरूलाई धेरै नै नचायो । राधिका हमाल, टीका सानुलगायतका कलाकारले गाएका दोहोरीमा पनि दर्शकहरू झुमे । कमल गाउँलेको हास्यव्यंग्य प्रहसनले भरपुर मनोरञ्जन दिएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघले निर्माणाधीन बहुउद्देश्यीय सभाहलको पूर्णता र टरिगाउँ विमानस्थल विस्तारका लागि महोत्सव आयोजना गरेको हो । २० गतेसम्म सञ्चालन हुने महोत्सवमा १ करोड बढी आम्दानी हुने र त्यसबाट सभाहललाई पूरा गर्नुका साथै विमानस्थलको विस्तारमा लगानी गरिने संघका अध्यक्ष बिरबहादुर रावतले बताए । महोत्सवमा स्थानीय उत्पादनका साथै कला, संस्कृति र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गरिने संघका महासचिव रुकबहादुर खत्रीले बताए । माघ २२ सम्म चल्ने महोत्सवमा १० करोडको कारोबार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको उनले बताए । महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला र विभिन्न स्थानीय खानाका परिकारहरू राखिएको छ ।

Page 4
मनोरञ्जन

सहरमा नयाँ संस्कार गर्भोत्सव !

- कृष्ण आचार्य

तस्विर : नवराज वाग्ले 

नेपालका सहरी क्षेत्रमा ‘बेबी सावर’ले नयाँ संस्कारको रूप लिइरहेको छ । गर्भवती महिला सात–आठ महिना पुगेपछि परिवारका सदस्यबीच दही–चिउरा खाने चलन नेपालमा पुरानै हो । तर, त्यही गर्भोत्सव संस्कारले पछिल्ला वर्षहरूमा ‘बेबी सावर’ उत्सवको नाम पाएको छ ।
गर्भवतीमा आत्मविश्वास बढाउनु र गर्भमा रहेको शिशुको कुशलताको कामना गर्नु दही–चिउरा संस्कारको मुख्य उद्देश्य मानिन्छ । दही–चिउरा संस्कारमा परिवारका सदस्यहरू भेला भएर गर्भवती महिलाको आत्मविश्वास बढाउन मीठो खुवाउने र सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्थ्यो । दही–चिउरा संस्कारकै परिमार्जित रूप भनिए पनि बेबी सावरमा खानपान, तडकभडक र खर्चिलो भोजसमेत हुन थालेको छ ।
गर्भ देखाएर फोटो सुट गर्ने, बच्चाको बुबालाई गर्भमा चुम्बन गर्न लगाउने र तस्बिर सामाजिक सञ्जालमा राख्ने, रेस्टुराँ, पार्टी प्यालेस र घरमै पनि मदिरासहितको पार्टी गर्नेजस्ता कार्य गरेर गर्भावस्थाको सेलिब्रेसन गर्न थालिएको छ । सहरी क्षेत्रमा बेबी सावरलाई ब्याचलर पार्टी र जन्मोत्सव जत्तिकै महत्वका साथ मनाउन थालिएको छ । पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायतजस्ता देशमा बेबी सावर अनिवार्यजस्तै भएको छ । जसको पाश्चात्य प्रभाव नेपालमा परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । ‘नेपाल आर्य तपोभूमिको देश हो । हाम्रो आफ्नै धर्म, संस्कृति र परम्परा छन् । हिजो पुंसवन संस्कारमा रहेको खिचडी चढाउने संस्कार, त्यसपछिको दही–चिउरा संस्कार हुँदै आज यसले बेबी सावरको रूप लिएको छ’, प्रा. गौतमले साप्ताहिकसँग भने, ‘हुन त यी कुरा व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएलान् तर यसले हाम्रो संस्कृतिको मूल पक्षलाई लोप गराउन सक्छ ।’

सहरिया फेसन
सहर–बजारमा गर्भोत्सव बेबी सावरकै नाममा फेसन बन्दै गएपछि मानिसहरूले त्यसको सिको गर्न थालेको जानकारहरू बताउँछन् । खासगरी विदेश गएका नेपालीहरूले बेबी सावर मनाएको देखेर नेपालीहरूले त्यसको सिको गर्न थालेको पाइन्छ । पछिल्लो समयमा भने नेपालीहरूले आफैं यो संस्कारलाई आत्मसात् गर्न थालेको देखिन्छ ।
त्रिविका उपप्रध्यापक राजिन पनेरू धेरैले बेबी सावर मनाएको देखेपछि आफूहरूलाई पनि रहर लागेको बताउँछन् । कहिले घरमा त कहिले साथीहरूको आयोजनामा रेस्टुराँमा गरेर तीन–चार पटक नै बेबी सावर मनाउन परेको र त्यसो गर्दा आफूलाई केही असहज लागेको उनको अनुभव छ । ‘मलाई खासै रुचि त थिएन तर, परिवार र साथीभाइहरूको बीचमा नाइ–नास्ती गर्न सकिएन,’ राजिन भन्छन्, ‘यसका सकारात्मक पक्षहरू पनि छन् तर देखासिकी गर्नु, खर्चिलो र भड्किलो बनाउनुलाई म नकारात्मक रूपमै लिन्छु ।’ सुरुमा श्रीमतीले केही असहज माने पनि पछि सहज लागेको र यसबाट उनको प्रसन्नता बढेको देख्दा भने आफूलाई खुसी लागेको उनको भनाइ छ ।
पश्चिमा मुलुकमा बेबी सावरको नाममा गर्भवती महिलाको तर्फबाट आफन्त तथा साथीहरूलाई बोलाएर पार्टी दिने चलन छ । नेपालमा भने रेस्टुराँमा हुने सामान्य पार्टी आफन्त तथा साथीहरूको पहलमा हुन्छ । घरमा हुने पार्टीमा परिवारका सदस्य र आफन्तहरू सहभागी हुन्छन् । सबै व्यवस्थापन उनीहरूबाटै हुन्छ । पार्टी प्यालेस बुक गरेर, घरमा क्याटरिङ बोलाएर गरिने पार्टीहरू भने गर्भवती महिलाको परिवारबाटै आयोजना गरिन्छ । यस्तै एक पार्टीमा सहभागी भएकी नम्रता केसी भन्छिन्, ‘मलाई त बर्थ डे पार्टी हो कि बेबी सावर भन्ने छुट्याउनै गाह्रो पर्‍यो । केक पनि काटिएको छ, टीका पनि लगाइएको छ, उपहारहरू पनि दिइएका छन् । साथीभाइ तथा इष्टमित्र एक ठाउँमा भेला हुनुबाहेक अरू त सबै स्वाङजस्तै लाग्यो ।’
काठमाडौं इभेन्ट म्यानेजमेन्टका म्यानेजर दिनेश घिमिरे मध्यम वर्ग र माथिल्लो वर्गले फरक–फरक तरिकाले ‘बेबी सावर’ पार्टीको आयोजना गर्ने गरेको बताउँछन् । हुने खानेले आनै घरको कम्पाउन्डभित्र र मध्यम वर्गले पार्टी प्यालेसहरूमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको उनको अनुभव छ । सय जनादेखि ५ सयसम्मको सहभागितामा गरिने रक्सीबाहेकका सुविधासहितका यस्ता पार्टीमा न्यूनतम ३ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको उनी बताउँछन् । मानिसको सहभागिता र स्थानको सजावटअनुसार खर्च पनि घट्ने–बढ्ने उनको भनाइ छ ।
केही महिनाअघि बेबी सावर गरेकी सविना लामिछाने सुरुमा घरपट्टीबाट, त्यसपछि माइतीबाट र साथीहरूबाट उत्सवका रूपमा यस्तो पार्टीको आयोजना गरेको बताउँछिन् । घरपट्टि सासू, जेठानी, नन्द र केही नजिकका आफन्त र माइतीपट्टि आमा, दिदी–बहिनी, मामा–माइजू र केही नजिकका आफन्त मिलेर मनाइएको बेबी सावर आफूलाई ड्राई पिकनिकजस्तो लागेको उनको अनुभव छ । ‘घरमा गर्दा सबै मिलेर खानेकुरा ल्याउनुभएको थियो । मिलेर खायौं । रमाइलो भयो’ उनी भन्छिन्, ‘एकान्तम बसिरहँदा प्रेसर भइरहेको हुन्छ । यसरी परिवार, आफन्त र साथीभाइबीच आपसमा सेलिब्रेसन गर्दा रिफ्रेसमेन्ट हुन्छ, प्रसन्नता, आत्मविश्वास बढ्छ । मैले पनि सोही अनुभव गरेँ ।’
बेबी सावर मनाउँदा ‘टु बी मम, टु बी ड्याड’ लेखिएको ब्यानर पृष्ठभूमिमा लगाएर गर्भवती आमा र बाबु दुवैलाई सँगै राखिन्छ । घरमा मनाउँदा केक, ‘होम मेड’ खानेकुरा, फलफूल र मीठाईलाई प्राथमिकतामा राखिन्छ भने रेस्टुराँमा मनाउँदा केक काटिन्छ र त्यहाँ बन्ने विभिन्न परिकारहरू खाने–खुवाउने गरिन्छ । केक काटेर श्रीमान्–श्रीमती दुवैलाई टीका लगाइदिएपछि बच्चाका लागि उपहार र पैसा दिने चलन पनि छ । त्यसपछि नाचगान गर्ने र श्रीमान्लाई श्रीमतीको गर्भमा चुम्बन गर्न लगाउने गरिन्छ । ती तस्बिरहरू आगन्तुकले सामाजिक सञ्जालमा राख्छन् । र, अरूले पनि यसको नक्कल गर्न थाल्छन् । अझ केही सेलिब्रेटीहरूले यसो गर्दा त समाचार नै बन्ने गरेको छ । जसले गर्दा बेबी सावर परम्परा फेसनका रूपमा विकसित हुँदै गएको छ ।

फाइल तस्बिर : अनित र कविना दम्पतीले गरेको गर्भोत्सव । तस्बिर : नवराज वाग्ले

 

खिचडीदेखि केकसम्म
पूर्वीय शास्त्रहरूले मानिसको गर्भधानदेखि श्राद्धसम्म १६ संस्कार गर्नुपर्ने उल्लेख गरेका छन् । परापूर्वकालदेखि प्रचलनमा रहेका यी संस्कारहरू ऋषिमुनिले विकास गरेको धार्मिक तथा सांस्कृतिक मान्यता छ । ती १६ संस्कारमध्ये मानिसको जन्मअघि नै तीन संस्कार पर्छन् । गर्भाधान संस्कार, पुंसवन संस्कार र सीमन्तोन्नयन संस्कार । यसमध्ये सीमन्तोन्नयन संस्कार गर्भाधानको आठौं महिनामा गरिने संस्कार हो । संस्कृतविद्हरूका अनुसार गर्भस्थ शिशुको स्वास्थ्य र आमाको प्रसन्नताका लागि यो संस्कार मनाउने गरिन्छ । जसमा यज्ञमा आहुती दिएर बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आफ्नो प्रतिबिम्ब हेर्नुपर्ने हुन्छ ।
पछि यो संस्कार परिस्कृत हुँदै लोकजीवनमा दही–चिउरा खुवाउने संस्कारका रूपमा विकास भयो । गर्भवती महिलालाई दही खुवाउँदा आमा र बच्चा दुवै स्वस्थ जन्मने मान्यताका साथ यो संस्कारले मान्यता पाएको थियो । अहिले भने दहीको साटो गर्भवती महिलालाई केक, फलफूल र मिठाई खुवाउने गरिन्छ । कतिपयले दही पनि खुवाउने गर्छन् । केक काट्ने धेरैलाई आफूले बेबी सावर बनाएको हो वा दही–चिउरा भन्ने प्रष्ट छैन । उनीहरू यसलाई दही–चिउराकै परिवर्तित संस्कारका रूपमा लिइरहेका छन् ।
समयक्रमसँगै यो संस्कार मनाउने तरिकामा परिवर्तन आए पनि यसको मान्यतामा भने परिवर्तन आएको देखिँदैन । हिजो पनि गर्भवती महिलाको प्रसन्नता र आत्मविश्वास बढाउन, गर्वमा रहेको बच्चाको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्नका लागि यो संस्कार मनाउने गरेको पाइन्छ र आज पनि यसको उद्देश्य उस्तै छ । आठ महिनाकी गर्भवती लीला सुनुवार बेबी सावर पैसावालका लागि भएको बताउँछिन् । ‘हामीले त दही–चिउरा भनेरै मनायौं । केक पनि काटेनौं । मिठाई, फलफूल र दही खायौं’ उनी भन्छिन्, ‘कुरा एउटै हो । पद, प्रतिष्ठा र हैसियतअनुसार कोही तडक भडक गरेर मनाउँछन् त कोही सामान्य रूपमा ।’

गर्भ लुकाउने वा देखाउने ?
पश्चिमा समाजमा बेबी सावरको नामले चिनिँदै आएको संस्कृतिको आदिम प्रभाव प्राचीन वैदिक संस्कृति (पूर्वीय संस्कृति), प्राचीन इजिप्ट, प्राचीन ग्रीक हुँदै उत्तर अमेरिका तथा युरोपियन मुलुकहरूमा परेको पाइन्छ । यसलाई फरक–फरक भूगोल, जाति, संस्कृतिमा फरक–फरक ढङ्गले मनाइन्छ । यी सबैको एउटै उद्देश्य जन्मने सन्तानको आहार–विहार तथा चिन्तन स्वस्थ र सन्तुलित होस् भन्ने हो । हाम्रो प्रवृत्ति पश्चिमा मुलुकको सिको गर्‍यौं भने सभ्य भइन्छ भन्ने छ, जसको प्रभाव हिजोआजका संस्कृति देख्न सकिन्छ । ‘बर्थ डे’ वा ‘म्यारिज एनिभर्सरी’ जस्तै एउटा उत्सवका रूपमा बेबी सावर प्रचलित हुन थालेको छ ।
आफू गर्भवती हुँदै छु भनेर अरूलाई आफ्नो अवस्था देखाउनु हाम्रो संस्कार र संस्कृतिमा नभएको पञ्चाङ्ग समितिमा अध्यक्ष प्रा. गौतम बताउँछन् । उनी भन्छन्, ‘गर्भवती महिलाले चाहेको कुरा गर्न पाउनुपर्छ नत्र गर्भ दोषी हुन्छ भनेर शास्त्रमै लेखिएकै छ । त्यसैले रमाइलो गर्ने र उसले चाहेको कुरा खाने–लगाउने कुरामा उसलाई कसैले रोक्न सक्दैन । तर, गर्भको फोटो खिचेर सार्वजनिक गर्ने कुरा भने अलि अपाच्य नै छ । कुलवती नारीहरूले गर्भ छोपेर हिँड्छन् ।’
गर्भावस्थामा फोटोसुट गरेर सामाजिक सञ्जालमा अपलोड गरेकी रंगकर्मी सिर्जना सुब्बा गर्भावस्था लुकाउनुपर्ने विषय नरहेको बताउँछिन् । ‘आफूलाई के गर्दा खुसी मिल्छ, कसरी सकारात्मक ऊर्जाको विकास हुन्छ भन्ने कुराको ख्याल गर्दा बच्चालाई पनि त्यसले सकारात्मक प्रभाव पार्छ’, उनले भनिन्, ‘त्यसैले आफूसँग भएको कुरामा तनाब लिने होइन कि त्यसमा रमाउन सक्नुपर्छ । र, त्यो वातावरण आफूले तयार पार्ने हो ।’

बजारले पनि बढाउँदै !
पछिल्लो समय नेपालमा बेबी सावरकै लागि भनेर होटलहरूमा विशेष अफरहरू राखिन थालिएको छ । विभिन्न फोटोग्राफीसँग सम्बन्धित संस्थाहरूले पनि बेबी सावरका लागि विशेष फोटो सुटको व्यवस्था गर्न थालेका छन् । बेबी सावरकै लागि इभेन्ट म्यानेजमेन्ट सेवाहरूसमेत उपलब्ध हुन थालेको छ ।
अनलाइन सेवा ‘केक कोसेली’ कि रविता प्रजापति ‘बेबी सावर’ का लागि दिनमा ४ देखि ८ वटासम्म अर्डरहरू आउने गरेको बताउँछिन् । डिजाइन हेरेर एक पाउण्ड केकको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म पर्ने उनको भनाइ छ । काठमाडौं इभेन्ट म्यानेजमेन्टका म्यानेजर दिनेश घिमिरे आफूहरूले दैनिक ३–४ वटा बेबी सावरका कार्यक्रमहरू गर्दै आएको बताउँछन् । अन्य उत्सवहरूका लागि विशेष समारोह कुर्नुपर्ने भए पनि बेबी सावर हरेक महिना र दिनमा हुने भएकाले पनि यो राम्रो व्यवसाय बन्दै गएको उनको भनाइ छ ।
त्यस्तै, बेबी सावरका लागि डेकुरेसनको अनलाइन सुविधासमेत दिन थालिएको छ । ‘अफरिङ ह्याप्पिनेस’ ले विभिन्न प्याकेजमार्फत लोकेसन डेकुरेसन गर्ने काम गर्दै आएको छ । घरदेखि होटलसम्म ग्राहकको आवश्यकताको आधारमा आफूहरूले डेकुरेसन सेवा उपलब्ध गराउने अफरिङका सेल्स एस्क्युटिभ सुसन संग्रौला बताउँछन् । एउटा सामान्य डेकुरेसनको फोटो सुट र केकसहित ३८ हजार लाग्ने.उनले बताए । आवश्यक सेवा थप गर्न चाहेमा त्यो व्यवस्था पनि रहने र हालसम्म बढीमा ६० हजारसम्मको डेकुरेसन आफूहरूले गरेको उनले बताए ।
बेबी सावरमा सहभागी हुनेहरूले पसलमा गएर आमा र बच्चाका लागि विभन्न उपहारहरू समेत खरिद गर्छन् । बेबिज डे आउटका सञ्चालक ध्रुव मैनाली आफूहरूसँग बेबी सावर कार्यक्रम गर्नका लागि आवश्यक क्राउन, गाउन, ब्यानर, फोटो क्रपदेखि उपहारमा दिइने सबै सामानहरू रहेको बताउँछन् । दिन बिराएर बेबी सावरमा जानेहरू उपहारका लागि आउने र ५ सयदेखि १० हजारसम्मको उपहारहरू किनेर जाने गरेको उनको भनाइ छ ।
लिटिल स्वीट फोटोका संस्थापक मनिष श्रेष्ठ ‘बेबी सावर’ का लागि फोटो खिच्न दैनिक आफूहरू बुक हुने बताउँछन् । फोटो र भिडियो खिचेको ३५ हजार र फोटोमात्र खिचेको २५ हजार लिने गरेको उनको भनाइ छ । यसरी काठमाडौं, चितवन, बुटवल, पोखरा, इटहरीलगायतका देशका मुख्य सहरमा बेबी सावरप्रतिको आकर्षण सँगै व्यवसाय पनि बढ्दै गइरहेको छ ।

फाइल तस्बिर : दीप रायमाझी र अनिता अधिकारी दम्पतीले लण्डनमा गरेको गर्भोत्सव ।

 

दही–चिउरा संस्कृतिको नयाँ रूप

प्रा. डा. रामचन्द्र गौतम
अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति
गर्भवती भएपछि रमाइलो गर्नु ठीक हो तर गर्भको फोटो खिच्ने, देखाउने अलि उत्ताउलो कुराहरू हुन् । गर्भधारण सृष्टिसँग जोडिएको कुरा हो । कुलवती नारीहरूले आफ्नो गर्भ छोपेर हिँड्छन् । मूलको पानी कुलको छोरी भन्ने भनाइ नै छ । यसले मानिसहरूलाई संस्कारमा बाँधिन सिकाउँछ । स्वस्थ सन्तान होस् भन्ने कामना गर्दै सीमन्तोन्नयन संस्कारअनुसार खिचडी पकाएर चढाउने परम्परा थियो, त्यसपछि दही–चिउरा खुवाउने संस्कार बस्यो र अहिले केक काट्ने संस्कृतिको विकास हुँदैछ । सन्तान स्वस्थ र गुण सम्पन्न होस् भन्नका लागि १६ संस्कारमा पर्ने सीमन्तोन्नयन संस्कार मनाइने गरिन्थ्यो । दही–चिउरासम्म आइपुग्दा पनि ठीकै थियो । तर, केक काट्ने भन्ने हाम्रो शास्त्रमा छैन । जन्मदिनमा केक काटेर मैनबत्ती निभाउने पाश्चात्य चलन हाम्रोमा भित्रियो । हाम्रो शास्त्रमा त बत्ती बालिराख्ने भन्ने छ । बेबी सावर पाश्चात्य संस्कृतिको प्रभाव हो भन्ने मलाई लाग्छ । पाश्चात्य समाजमा कुलिनता हुँदैन । समाजमा देखाउनु, सन्तान जन्माउने भएँ भन्नु नराम्रो हो भन्न खोजेको होइन । तर, त्यसको नाममा उत्ताउलोपन हाबी हुनु गलत छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका हाम्रा संस्कारले विकृति–विसंगतिको रूप लिनु गलत हो । हामीले हाम्रो देश, परिवेश र समाज सुहाउँदो सस्कारको विकास तथा विस्तार गर्नुपर्छ । भएका संस्कारहरू पनि मासिँदै गएका छन् । त्यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

 

 

सांस्कृतिक क्षेत्रमा आएको रूपान्तरण हो

राजिन पनेरू
उपप्राध्यापक, नेपाली विभाग त्रिभुवन विश्वविद्यालय

समय कालखण्डमा आउने अनेकौं रूपान्तरणझैँ आज हामीले मनाउन सुरु गरेको बेबी सावर पनि एउटा सांस्कृतिक रूपान्तरण हो । रूपान्तरण हुने क्रममा जुन चिजले बढी स्थान ग्रहण गर्छ अथवा ‘हाइलाइट’ हुन्छ, त्यसैमा सबैको ध्यान केन्द्रित हुन्छ । मैले सैद्धान्तिक रूपमा सांस्कृतिक रूपान्तरण र खासगरी पश्चिमा संस्कारलाई गाली गर्नेहरूकै घर–आँगनमा यस्ता संस्कारलाई धुमधामसँग मनाएको देखेको छु ।
मेरो ताजा अनुभव भन्छ, यसले सन्तान जन्माउँदै गरेकी आमा, बुबा, सिङ्गो परिवारजन र साथी–सङ्गीबीच आत्मीय सम्बन्ध स्थापना गर्नुका साथै सोही आत्मीयताका कारण सन्तान जन्माउँदै गरेकी आमा र बुबालाई सन्तानप्रतिको जिम्मेवारीबोध पनि हुन जान्छ । बेबी सावर वा दही–चिउरा नामले मनाइएको फरक–फरक चार कार्यक्रममा सहभागी भएको अनुभवमध्ये पहिलोपटक असहज भएजस्तो अनुभूति भयो । जुन अनुभूति श्रीमतीमा बढी देखियो । तथापि अभ्यस्त भएपछि छुट्टै अनुभव भयो । ‘टु बी मम’ लेखेको ताज पहिरिँदा श्रीमती लाजले रातोपिरो भइन् तर पछिल्ला कार्यक्रममा उनलाई पनि रातोपिरो हुनु परेन ।

 

 

आफूलाई के गर्दा खुसी मिल्छ, त्यो गर्न सक्नुपर्छ


गर्भ लुकाउनुपर्छ भन्ने एउटा समय थियो । तर, अहिले त्यो छैन । घाउ त लुकायो भने झन् पछि झन् समस्या बल्झदै जान्छ भने गर्भ किन लुकाउने ? यसलाई त सेयरिङ गर्ने हो । कतिलाई सोध्न गाह्रो भएको बेला, कतिलाई सेलिब्रेसन गर्न गाह्रो भएको बेला मैले उहाँहरूको सहजताका लागि फोटोसुट गरेर सामाजिक सञ्जालमा राखेँ । मेरो कदमबाट गर्भवती नभएकालाई यस्तो पनि हुँदोरहेछ भनेर मानसिक रूपमा विकसित गराउन सहयोग पुग्यो भन्ने लाग्छ । गर्भावस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकारात्मक ऊर्जा हो । त्यसैले आफूलाई के गर्दा खुसी मिल्छ त्यो गर्न सक्नुपर्छ । आफूसँग भएको कुरासँग रमाउने सक्नुपर्छ । हामी एउटा मान्छेबाट अर्को एउटा मान्छे बनाउँदै छौं भने त्यो सानो कुरा होइन । एउटा किसिमको जीवन बिताइरहेका हामी अर्कोतर्फ टर्न हुँदा तनावहरू आउन सक्छन् । तर, हामीले ती तनाबहरू सेलिब्रेसनको माध्यमबाट कम गर्नुपर्छ । ‘बेबी सावर’ जस्ता कार्यक्रमहरू यी कुराको अनुभव हो । जीवनमा अघि बढ्ने एउटा आधार हो ।

- सिर्जना सुब्बा, रंगकर्मी 

Page 5
Page 6
Page 7
Page 8
अन्तर्वार्ता

‘एनआरएन कसैको स्वार्थपूर्तिको भर्‍याङ हुन सक्दैन’

- साप्ताहिक संवाददाता
तस्बिर : महेश प्रधान

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त एक उदीयमान नेपाली व्यवसायी हुन् । गोरखामा जन्मिएर सन् १९९७ मा पढाइका सिलसिलामा ग्रिस हँदै जर्मनी पुगेका उनको त्यहाँ राम्रो बन्द व्यापार छ । गत कात्तिकमा काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनबाट अध्यक्षमा चुनिएपछि उनको नेपाल आउने क्रम बाक्लिन थालेको छ । नेपाल आएको अवसर छोपेर हालैको एक दिन उनीसँग साप्ताहिकका जनक तिमिल्सिनाले नेपाली डायस्पोरा र एनआरएनका पछिल्ला गतिविधिका बारेमा गरेको कुराकानीको सम्पादित अंश :

संसारभर छरिएको नेपाली डायस्पोराको अवस्था के छ, यतिबेला ?
२०४६ सालको परिवर्तनपछि नेपालीहरू बिदेसिने क्रम सुरु भएको हो । अहिले झन्डै ७० लाख नेपाली बाहिर बस्दै गर्दा आधाभन्दा बढी जनसंख्या खाडी र मलेसियालगायतका देशमा छन् । त्यहाँका साथीहरू श्रमिकका रूपमा हुनुहुन्छ । यससँगै युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशमा ठूलो संख्यामा नेपाली दक्ष जनशक्ति छ । जब गैरआवासीय नेपाली संघ स्थापना भयो, हामीले नेपालीहरूले सिकेको ज्ञान, सीप, प्रविधि अनि पुँजी नेपालको हित र समृद्धिका निम्ति लगाउने भनेर भनेका थियौं । अहिले पनि मुलुकको अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा गैरआवासीय नेपालीहरूले पठाएको रेमिट्यान्सको पैसाले धानिरहेको छ । त्यसमा पनि रेमिट्यान्सको ठूलो हिस्सा मिडिल इष्ट र मलेसियाबाट नै छ ।

तर, तिनै श्रमिक एनआरएनका मुद्दा तपाईंहरूले उठाउनु भएन र एनआरएनलाई केही ‘एलिटहरूको क्लब’ बनाउनु भन्ने आरोप छ नि ?
त्यो एकदमै जायज गुनासो हो । खाडीको ठूलो वर्गलाई जुन रूपमा चासो दिनुपर्ने हो, त्यो ढंगले चासो नदिएको एकदम सही कुरा हो । तर अब हाम्रा प्राथमिकता र सोच फेरिएका छन् । हामीले श्रमिक कल्याणकारी कोष भनेर सुरु गरेका थियौं त्यसमा न्यून रकम थियो, म आउनेबित्तिकै पहिलो बैठकबाटै १ करोड ९ लाख रूपैंयाँ त्यसमा थपेर अगाडि बढायौं । नेपाल राष्ट्र बैंकसँग पनि तीव्र लबिइङमा छौं । प्रधानमन्त्रीज्यूसँग पनि छुट्टै भेटेर रेमिट्यान्सले अर्थतन्त्र धानिएको भन्नुहुन्छ, यो वर्गका लागि केही काम गरिदिनुपर्‍यो, दैनिक साथीहरू घाइते, अंगभंग भइराख्नुभएको छ, मृत्यु भएका साथीहरूको लाश ल्याएर परिवारलाई बुझाउन सक्ने अवस्थामा समेत हामी छैनौ, यसका लागि राज्य र हामी मिलेर काम गर्नुपर्‍यो । त्यसले वैदेशिक रोजगारीमा जाने मान्छेलाई पैसा पठाउन र लिगल च्यानल प्रयोग गर्न उत्साहित गरोस् भनेर भनेको छु । प्रधानमन्त्रीज्यूले पनि यो ठीक कुरा हो भन्नुभएको छ । अब हामी वैदेशिक रोजगारीमा जाने विशेषगरी खाडी, मलेसियामा जाने साथीहरूको हितका निम्ति आकर्षक कार्यक्रम लिएर आउँछौं ।

नेपालको विकास र समृद्धिमा लगानी गर्ने तपाईंहरूका नारा चाहिँ कता अलपत्र परे ?
गैरआवासीय नेपालीहरूले व्यक्तिगत रूपमा अथवा सामूहिक रूपमा ठूला–ठूला लगानी नेपालमा ल्याउनुभएको छ, त्यसले लाखौं रोजगारीका अवसरहरू सिर्जना भइरहेका छन् । ठूला हस्पिटल, होटल, बैंक, हाइड्रोपावरलगायतमा गैरआवासीय नेपालीहरूको लगानी छ । साना लगानीकर्ता साथीहरूले पनि सामूहिक रूपमा थुप्रै लगानी ल्याइरहनुभएको छ ।

सन् २००३ मा एनआरएन गठन हुँदा यसमा निकै आकर्षण थियो, झन्डै १७ वर्षको अवधिमा त्यो अहिले देखिँदैन । एनआरएनले लगानीका ठूला सपना देखाएको तर पूरा नगरेको आरोप लाग्छ, के भन्नुहुन्छ ?
गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएकाले आफैंले लगानी ल्याउने काम गर्दैन । तर, यसले लगानीका लागि वातावरणको सिर्जना गर्ने, साथीहरूलाई उत्प्रेरित गर्ने, नेपालमा ऐन–कानुन लगानीमैत्री बनाउन सरकारसँग लबिइङ गर्ने काम गर्छ । सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भयो, नेपालमा चरम द्वन्द्वको स्थिति थियो । त्यस्तो बेलामा पनि नेपालमा लगानीको सम्भावना छ, यो द्वन्द्व लामो समय रहँदैन । नेपालमा लगानी गर्न थाल्नुपर्छ, नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भनेर हामीले त्यतिबेलै ठम्याएको हो । अहिले धेरै साथी आफ्नो उतातिरको बिजनेस हाउस बन्द गरेर यहाँ खोल्न थाल्नुभएको छ । थुप्रै साथीले होटलमा लगानी गर्नुभएको छ । बैंकहरूको कुरा गर्ने हो भने सानीमा बैंक, माछापुच्छ्रे बैंक एनआरएनका लगानीका बैंकहरू हुन्, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकमा पनि धेरै एनआरएन साथीहरूको लगानी छ । तमोर, सानीमामाई, दोर्दीखोला हाइड्रोपावरजस्ता धेरै ठाउँमा पनि लगानी छ । यसरी हेर्दा गैरआवासीय नेपालीहरूले नेपालमा लगानी नै ल्याएनन् भन्ने कुरा साँचो होइन ।

ज्ञान सीप भित्र्याउने कुरा चाहिँ कहाँ पुग्यो ?
हामीले नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीले पठाएको पुँजीले मात्र हुँदैन रहेछ भनेर ठम्यायौं । यत्रो ठूलो संख्यामा विदेशमा दक्ष जनशक्ति छ, ०४६ साल पछाडि धेरै देश–विदेश जान थालेका मान्छेहरूले सिकेको ज्ञान यति धेरै छ, त्यो ज्ञान नेपालको आर्थिक समृद्धिका लागि अझ महत्त्वपूर्ण हुन सक्छ भनेर डेढ वर्षअघि अक्टोबरमा हामीले काठमाडौंमा ‘नलेज कन्भेन्सन’ गरेका थियौं । पूर्वाधार, स्वास्थ्य, हाइड्रो पावर, कृषिलगायतका क्षेत्रमा काम गर्ने झन्डै ५ सय साथी संसारभरबाट आउनुभयो । त्यसपछि एउटा श्वेत्रपत्र जारी गरेर सम्माननीय प्रधानमन्त्रीलाई बुझाएका थियौं । अहिले योजना आयोगले त्यसको कार्यान्वयनका लागि संयुक्त कार्यदल बनाउनुपर्‍यो भनेको छ ।
हामी फेरि दोस्रो ‘नलेज कन्भेन्सन’ गर्न गइरहेका छौं । यत्रो ठूलो संख्यामा नलेज हासिल गरिरहेका साथीहरूलाई नेपालमा ल्याउन पाउँदा यसले मुलुकको समृद्धिलाई निकै राम्रो गर्छ ।

नेपाली डायस्पोरामा हामीसँग कस्ता ‘ब्रेन’हरू छन्, कसरी हामीले प्रयोग गर्न सक्छौं ?
हामीसँग विज्ञान, पूर्वाधार, फिजिक्स, हेल्थ, टुरिज्म, हाइड्रोलगायतका क्षेत्रमा काम गर्ने नलेजको भण्डार छ । एक उदाहरण, म न्युजिल्यान्ड जाँदा एकपटक ३ जना स्याङ्जाका साथीहरू हुनुहुँदो रहेछ, एउटा गाई फार्ममा ११ सयवटा गाई थिए, ती गाई जम्मा तीन जना साथीले म्यानेज गर्नुभएको रहेछ । गाई दुहुने बेला दूधको खोलाजस्तो बग्दो रहेछ । अब हामी कृषिप्रधान मुलुक भन्छौं, हाम्रो अवस्था यस्तो छ । व्यावहारिक ज्ञान भएका साथीहरू पनि उत्तिकै छन् । इजरायलमा बसेर मरुभूमिमा तरकारी फलाउने साथीहरूको संख्या धेरै छ ।
पहिले हामीमाथि गैरआवासीय नेपाली संघ धनीहरूको संस्था हो, यसमा हाम्रो खासै भूमिका छैन भन्ने पनि साथीहरूलाई लागिरहेको रहेछ, जब हामीले नलेज कन्भेन्सन गर्‍यौं त्यसपछि धेरै विद्वान् साथीहरूले हामीलाई बल्ल गैरआवासीय नेपाली संघलाई तपाईंहरूले ठीक ठाउँमा ल्याउनुभयो, हामीले पनि नेपालको विकास र समृद्धिका लागि योगदान गर्न पाउने भयौं, तयार छौं भन्नुभयो । धेरै साथीहरू कुनै पनि शुल्क नलिई योगदान गर्न तयार हुनुहुन्छ ।

बाहिर आकर्षक सेवा–सुविधा पाएका विज्ञहरूलाई नेपाल ल्याउन कसरी मोटीभेट गर्नुहुन्छ ?
सबै साथीहरूलाई नेपालमा ल्याएर यही काम गराउने भन्ने कुरा तत्काललाई सम्भव छैन । किनभने, धेरै साथी त्यहाँ राम्रो तलब पाएर बसिरहनुभएको छ । हामीले देखेको कृषिमा धेरै विद्वान् साथीहरू विदेशमा हुनुहुन्छ, हामीले विभिन्न कन्भेन्सनमा आइडिया लिने, बैठक तथा कन्फ्रेन्सहरू गर्ने र उहाँहरूको आइडियालाई फ्लो गर्नका लागि केही निश्चित मान्छेहरू नेपालमा ल्याएर राख्ने भनेर सोचिरहेका छौं । हामीले अहिले कृषिलाई एकदमै प्राथमिकता दिइरहेका छौं । हाम्रै प्रविधि र हाम्रै लगानीसहित नेपालमा पुँजी र ज्ञानको कम्बिनेसन गर्ने गरी काम गरिराखेका छौं । साथीहरू बाध्यता र रोजगारीका कारणले उतै बस्न परे पनि केही साथी नेपालमा आएर काम गर्नका लागि पनि तयार हुनुहुन्छ । तर यसमा सरकारले पहलकदमी लिनुपर्छ ।

तपाईंहरू राजनीतिक रूपमा यतिधेरै ध्रुवीकृत हुनुहुन्छ, सोचेअनुरूप काम गर्न सक्नु होला ?
गैरआवासीय नेपाली संघ स्थापना हुँदा सुरुमा २० लाख मानिस मात्र विदेशमा थिए । अहिले ७० लाख मानिस बाहिर बस्छन् । यो संस्था पनि ठूलो बन्दै गयो, त्यतिबेला जम्मा ८/१० वटा देशमा समन्वय परिषद्हरू बनाएका थियौं, अहिले ८२/८३ वटा देशमा हाम्रा राष्ट्रिय समन्वय परिषद्हरू छन् । संगठनको विस्तारसँगै समस्याहरू आएका छन् । राजनीतिक सम्वद्धताका हिसाबले पनि गएको चुनावमा धेरै विकृति देखिए तर अब हामी यसलाई नियन्त्रण गर्छौं र यो संस्थालाई राजनीतिक संलग्नताबाट टाढा राख्छौं ।
व्यक्तिगत रूपमा संस्थाको महासचिव हुँदा विभिन्न राजनीतिक नेतृत्वकहाँ गएर यो संस्थालाई विशुद्ध सामाजिक संस्थाका रूपमा रहन दिनुहोस्, यसलाई राजनीतिकरण नगरिदिनुहोस् भनेर आग्रह गरियो । नेताहरूले राजनीतिकरण नगर्ने र सामाजिक संस्थाकै रूपमा रहन दिने प्रतिबद्धता गर्नुभएको हो । त्यति हुँदाहुँदै पनि पछिल्लो निर्वाचनमा राजनीतिको प्रभाव देखियो । अब मैले जितेर आइसकेपछि त्यसलाई सुधार गर्न नेपालकै राजनीतिक दलहरूबाट एनआरएनलाई बचाउनुपर्छ भन्ने सोचेर आगामी निर्वाचन नेपालमै नगर्ने भनेर मैले घोषणा नै गरिसकेको छु । आगामी निर्वाचन हामी बाहिरै गर्छौं, अहिलेको टेक्नोलोजीको जमानामा घण्टौं लाइन लागेर काठमाडौंमा भोट हाल्नुपर्ने आवश्यकता छैन । प्रविधिमार्फत अनलाइन भोटिङ सिस्टम अपनाएर निर्वाचन गर्छौं ।
संस्थामा आर्थिक चलखेल पनि एकदमै धेरै देखिन थाल्यो । त्यसले गर्दा अबदेखि यो संस्थाको सदस्य बन्नका लागि शुल्क तिरिराख्न नपर्ने, निःशुल्क पन्जीकरण गर्ने भनेर मैले भनेको छु । पैसा नै नतिर्नु परेपछि केका लागि पैसा खर्च गर्ने ? यसबाट संस्थामा हुने आर्थिक चलखेललाई मत्थर गर्न सकिन्छ । त्यसका लागि हामी विधान अधिवेशन गर्न लागिरहेका छौं ।

काठमाडौंमा हुने सम्मेलन केमा केन्द्रित हुन्छ ?
काठमाडौंमा हुने सम्मेलनहरू विशुद्ध समृद्धि र विकासका एजेन्डामा केन्द्रित गरिनेछ । गैरआवासीय नेपालीहरूले आर्जन गरेको पुँजी कसरी नेपाल ल्याउने, उनीहरूले हासिल गरेको ज्ञान कसरी ल्याउने, नेपाल सरकार र गैरआवासीय नेपाली संघ मिलेर कसरी नेपालको आर्थिक समृद्धिको निम्ति काम गर्ने, विदेशमा रहेका गैरआवासीय नेपालीहरूका समस्या के छन् ? वैदेशिक रोजगारीमा खाडी मुलुकहरूमा जाने नेपालीहरूका धेरै समस्या छन्, ती समस्यालाई कसरी निराकरण गर्ने विषयमा छलफल गर्छौं ।

एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि नेतृत्व चयनका बेला राजनीतिक विभाजन देखा पर्ने गर्छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हामी सबै कुरालाई केन्द्रीकरण गर्छौं । अहिले अमेरिकाले एउटा प्रविधिलाई अपनाएर चुनाव गर्छ, अस्ट्रेलियाले अर्को प्रविधि प्रयोग गर्छ । त्यसमा आर्थिक चलखेल हुन्छ । त्यसैले हामी सबैलाई डिजिटलाइज्ड गर्छौं । त्यसको निर्वाचन पनि यहीँबाट गर्छौं । त्यसपछि स्वतःस्फूर्त सबै सदस्य बन्न पाउँछन् । त्यसको निगरानी हामी केन्द्रबाटै गर्छौं ।

अहिलेका मुख्य समस्या के–के हुन् ?
अहिलेको एनआरएनको सबैभन्दा ठूलो समस्या भनेको वैदेशिक रोजगारीमा जाने साथीहरूको समस्या हो । हामीले राज्यसँग यसमा सहयोग मागिरहेको छौं । लगानी ल्याउन केही कानुनी अड्चनहरू नेपालमा छन्, जस्तो ल्याइसकेपछि लिएर जान नपाउने छ । नेपालमा लगानी गरेपछि अन्त लगेर चलाउनै पाइँदैन भनेपछि गाह्रो अवस्था सिर्जना हुन्छ, त्यसमा पनि हामीले सवालहरू उठाइरहेका छौं । दोहोरो करको समस्या पनि छ । दोहोरो कर तिर्नु नपर्ने सम्झौता राज्यले विभिन्न देशहरूसँग गर्नुपर्‍यो । गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न राज्यले सम्बोधन गर्नुपर्ने कुरा पनि धेरै छन् ।

सांगठनिक रूपमा गैरआवासीय नेपाली संघका चुनौती के छन् ?
झन्डै ७० लाख मान्छे बाहिर बस्दै आए पनि हाम्रो संस्थामा १ लाख हाराहारी सदस्य छन् । यसलाई ७० लाख मान्छेहरूबीचमा पुर्‍याउनुपरेको छ । त्यो पुर्‍याउनका लागि सबैले विश्वास गर्ने संस्था बनाउनुपर्ने छ, त्यो हाम्रो चुनौती हो । यो संस्था साँच्चै नेपाल र नेपालीको हितका निम्ति काम गर्छ भनेर अझै पनि केही वर्गलाई बुझाउन बाँकी छ । त्यतातर्फ हामीले चासो दिइरहेको छौं । एउटा विद्वान्वर्ग हामीबाट बाहिर थियो त्यो वर्गलाई जोड्नका लागि हामीले काम नै सुरु गरिसकेका छौं । हामीसँग ठूलो नेटवर्क छ । यत्रो ठूलो नेटवर्कलाई देखाउन पाउने हो भने त ठूलो च्यारिटीका कामहरू नेपालमा हुन्छन् । त्यो नेटवर्क पूरै परिचालन गर्नका लागि हामीले योजना बनाइरहेका छौं ।सबैलाई डिजिटालाइज्ड गर्ने भनेर हामीले ‘स्मार्ट एनआरएनए’ सुरु गरेका छौं ।

कतिपयले अब एनआरएनएका धनीहरू सकिए, अब संस्था चलाउन गाह्रो छ भनेर पनि टिप्पणी गर्छन्, के भन्नुहुन्छ ?
एनआरएनएमा काम गर्न भनेर तयार भएको युवापुस्ता लामबद्ध छ । त्यसैले धनी मान्छे हाम्रो संस्थामा आउँदैन कि भन्ने कुनै समस्या छैन । अर्को कुरा धन भएर मात्र नेतृत्वमा आउने होइन, बुद्धि भएको मान्छेले पनि संस्था चलाउन सक्छ । हामीले संस्थालाई कसरी आर्थिक रूपमा सम्पन्न बनाउने भनेर कोषाध्यक्षको अध्यक्षतामा एउटा टिम बनाएर कहाँबाट स्रोत जम्मा गर्ने र स्रोतलाई कसरी मोबिलाइज गर्ने भन्ने काम सुरु भइसकेको छ । जसले गर्दा मनग्य पैसा भएका साथीहरू पनि यो संस्थामा आएर योगदान गर्न तयार हुनुहुन्छ र पैसा नहुने साथीहरूलाई पनि संस्थाको नेतृत्वमा ल्याउने योजना बन्दैछन् ।

सञ्चारमाध्यममा एनआरएनएको ढुकुटी खाली भयो भन्ने खालको समाचार पनि आएको थियो नि ?
हामीले ठूला–ठूला तीनवटा प्रोजेक्ट एकैपटक गरेका थियौं । गोरखा लाप्राकको नमुना बस्ती, एनआरएनएको भवन, शंखमूल पार्क । शंखमूल पार्क बनाउन हामीलाई ठूलो बजेटको आवश्यकता थियो, भएको बजेट सबै त्यहाँ खर्च भैसकेपछि नयाँ बजेट जम्मा गर्नुपर्छ । फेरि हामीले नयाँ प्रोजेक्टहरू पनि ल्याइरहेका छौं । जस्तै, काठमाडौंका सार्वजनिक ठाउँहरूमा शौचालय बनाउने भनेर ४–५ वटा ठाउँमा महानगरपालिकासँग सम्झौता गर्दैछौं । साथै, आर्थिक पाटोलाई मजबुत बनाउने गरी कार्ययोजनाहरू बनिरहेका छन् ।

एनआरएनका आर्थिक स्रोतहरू के–के हुन् ?
फाउन्डेसन भइसकेपछि च्यारिटीका लागि ठूलो रकम बाहिरबाट आउँछ । अहिले पनि ८ सय वटा कर्पोरेट हाउसहरूसँग हामीले सम्झौता गरिसकेका छौं । हामीलाई स्पोन्सर गर्न चाहने संस्थाहरू पनि धेरै छन् ।

संसारभर रहेका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमितिर आकर्षित गर्ने योजना के छ ?
हामी त यहीं जन्म्यौं, यहीं हुर्कियौं । नेपालसँग छुट्टै सम्बन्ध छ । दोस्रो पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने अहम् सवाल हो । पहिले हामीले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्थ्यौं, त्यो त्यति प्रभावकारी भएन । कतिपय बच्चा त नेपाल घुम्न जाने भनेपछि अरुतिर जान पाए हुन्थ्यो, रमाइला ठाउहरू अन्त छन्, दुबई जाने भन्छन्, थाइल्यान्डतिर जाने भन्छन् । यो परिवर्तनका लागि हामी र राज्य मिलेर काम गर्नुपर्छ । अहिले हामी संसारका विभिन्न देशहरूमा नेपाली भाषाका कक्षाहरू सञ्चालन गरिरहेका छौं । नेपालसँग जोड्ने अर्को ठूलो कुरा खेल रहेछ, बच्चाहरूले खेल्ने फुटबललगायतका खेलहरूमार्फत दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानमा जोड्ने र त्यसलाई नेपालसँग जोड्ने भनेर हामीले एन्फासँग पनि कुरा गरिरहेका छौं । खेल क्षेत्रमा प्रतिस्पर्धा गराउने, नृत्य प्रतिस्पर्धा गराउने, भाषा अनिवार्य सिकाउनेजस्ता काम गर्नुपर्छ । बच्चाहरूको मनोरञ्जन लिने भौतिक पूर्वाधारहरू पनि छैनन् । चिल्ड्रेन पार्क, वाटर पार्कतिर पनि अब लगानी गर्नुपर्छ ।

दोहोरो नागरिकता पाइहाल्ने हुनुभो अब के छन् अरू माग ?
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था सरकारले गरिदिएको छ, त्यो ठीक छ । हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, हामीसँग भएको नागरिकता किन खोसिदिनुपर्‍यो । जबकि हामी विदेशमा गएका छौं, ३, ४, ५ वर्ष बसेपछि त्यहाँको राज्यले ल तिमी यहाँको नागरिकता लेऊ भनेर भन्छ भने हामी त यही देशमा जन्मेको, हुर्केको, यही देशको मान्छे, बावुआमा यहीं भएका मान्छेको नागरिकता किन खोसिदिनुपर्‍यो ? अहिले राजनीतिक अधिकारबाहेकको नागरिकता हामीलाई दिने भन्ने छ, यसलाई हामी स्विकार्छौं । तर, राजनीतिक अधिकार दिँदा पनि राज्यलाई केही फरक पर्दैन भन्ने हाम्रो भनाइ यथावत् नै छ । त्यो नागरिकताको निरन्तरताले पनि दोस्रो पुस्तालाई नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

एनआरएनमा अगाडि सार्दै आएको भिजन–२०२० मा कसरी काम भइरहेको छ ?
भिजन २०२० मा भएको कुरा भनेको पोलिसि इन्स्टिच्युट बनाएर जसमा गैरआवासीय नेपालीहरूलाई परिचालन गर्ने भन्ने छ । त्यो काम सुरु भइसकेको छ । विशेषगरी बाहिर बसेर काम गर्दै गर्दा राम्रो आयस्रोत भएका नेपाली बाहिर छन् । सुरुमा गैरआवासीय नेपाली संघ स्थापना हुँदा त्यस्तो अवस्था थिएन, तर अहिले मनग्य पैसा कमाउने साथीहरू बाहिर हुनुहुन्छ । त्यहाँ पैसा कमाइसकेपछि स्वाभाविक रूपमा कर तिर्नुपर्छ । त्यसैले कुनै एउटा फाउन्डेसनमार्फत च्यारिटी गरेर नेपालमा परोपकारी क्षेत्रमा काम गर्न पाइयो भने राम्रो हुन्थ्यो, तर फाउन्डेसनको अभावमा नेपालमा च्यारिटीका कामहरू कम आइरहेका छन् । त्यसैले अहिले हामीले संसारका विभिन्न ठाउँहरूमा फाउन्डेसन दर्ता गरेर नेपालमा च्यारिटीका कामहरू उत्प्रेरित गर्ने भनी सुरु गरिसकेका छौं । यसबाहेक संगठनका आन्तरिक कुराहरूमा पनि सम्बन्धित छन् । त्यसमध्ये ५ जना उपाध्यक्षलाई विभिन्न जिम्मेवारी दिने भनिएको थियो त्यो पनि सुरु भइसकेको छ । भिजन–२०२० को कार्यान्वयन गर्ने भनेर एउटा छुट्टै कमिटी बनाएर उपाध्यक्षको नेतृत्वमा एउटा टिम बनाएर काम सुरु गरिएको छ ।

एनआरएन केही टाठाबाठाले ‘पोलिटिकल नेक्सस’ का लागि मात्र बनाएका हुन् भन्ने आरोप तपाईंको कार्यकालले मेटाउँछ ?
अब हामीलाई त्यस्तो खाले चार्ज लाग्दैन । यसलाई हामी सुन्दर प्लेटफर्म बनाउन चाहन्छौं । यो प्लेटफर्मबाट राज्यले पनि आफूलाई चाहिएको कुरा लेओस् । साथै, गैरआवासीय नेपाली, श्रमिक साथीहरूले पनि आफूलाई चाहिएको कुरा मात्र लिऊन् । त्यसैले यो एउटा सुन्दर प्लेटफर्म बनाउने हो । अब यसलाई भर्‍याङ बनाएर कसैले आफ्नो स्वार्थपूर्ति गर्न खोजेको छ भने अब नसोचे हुन्छ ।

Page 9
Page 10
स्वास्थ्य स्याहार

महामारीको त्रास

नोबेल कोरोना भाइरस
चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ ।
- महेश तिमल्सिना

१० माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नोबेल कोरोना भाइरस देखिएको औपचारिक पुष्टि गर्‍यो । चीनबाट पढेर फर्किएका एक नेपालीमा रुघाखोकी र ज्वरो देखिएपछि २८ पुसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । अस्पतालका चिकित्सकहरूले उनमा नोबेल कोरोना भाइरसका शंकास्पद लक्षणहरू देखिएपछि नमुना परीक्षण गर्न हङकङ पठाए । उक्त नमुना पोजेटिभ देखिएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा नेपालमा चीनबाट फर्केका व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टि गर्‍यो ।
चीनको हुबे प्रान्तको वुहान ‘इपिसेन्टर’ मानिएको प्राणघातक कोरोना भाइरस यतिबेला तीव्र रूपमा फैलिरहेको छ । यो बुधबार बिहानसम्म २२ देशमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट १ सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्, उक्त प्रान्तका ३ हजारभन्दा बढी मानिस यसबाट प्रभावित भएको जनाइएको छ । श्वास–प्रश्वासबाट एकबाट अर्कोमा संक्रमण हुने यो रोग लक्षण देखिनुअघि नै अर्को मान्छेमा सर्न सक्ने जोखिमपूर्ण भएकाले भाइरस नियन्त्रण गर्न कठिन हुने ठानिएको छ ।
उत्तरी छिमेकी देश चीन नेपालमा दोस्रो बढी पर्यटक भित्र्याउने मुलुकमा पर्छ । त्यसबाहेक अध्ययन, व्यापार, भ्रमणजस्ता कुराले दुवै देशका नागरिक ओहोर–दोहोर गरिरहन्छन् । चीनमा कोरोना भाइरसको संक्रमण व्यापक बन्न थालेपछि त्यसको स्वाभाविक चिन्ता नेपालमा पनि सुरु भएको छ । नेपालमै चीनबाट फर्केका व्यक्तिमा समेत कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पहल थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल फर्केका एक नेपालीमा कोरोना भाइरसको पुष्टि भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा विदेशबाट आउने सबै यात्रीको निगरानीका लागि उपकरण र चिकित्सकसहितको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय सहरहरूमा स्वास्थ्य डेस्कको स्थापना र आइसोलेसन बेडसहितको अस्पतालको व्यवस्था मिलाइएको छ र राजधानीका सबै अस्पताललाई एलर्ट गरिएको छ ।’
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम अटोमेटिक रूपमा परीक्षण गर्ने ‘थर्मल स्क्यानर’ जडान गरेको छ । अहिले उक्त स्क्यानरबाट अमेरिका, थाइल्यान्ड, अस्ट्रेलियालगायतका कोरोना भाइरसको संक्रमण देखिएका २२ देशबाट आउने यात्रुहरूलाई निगरानी थालिएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले सोमबारदेखि नेपालमै नोबेल कोरोना भाइरसको परीक्षणसमेत सुरु गरेको छ ।


श्वास–प्रश्वासबाट सजिलै फैलिने भएकाले संक्रमितबाट हुने जोखिम न्यूनीकरण गर्न र उनीहरूलाई उपचार गर्न उपयुक्त प्रबन्ध गर्न मन्त्रालयले उपत्यकाका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल सर्भिस अस्पताल, पाटन अस्पताल र टेकु अस्पताललाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ । वुहानको सी मार्केटबाट फैलिएको आशंका गरिएको कोरोना भाइरस महामारीकै रूपमा देखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बेला–बेला फैलने महामारीहरूले आममानिसमा त्रास पैदा गरिरहेका हुन्छन् । हैजा, दादुरा, स्वाइनफ्लु, मलेरिया, डेंगु, स्क्रब टाइफस, हेपाटाइटिसजस्ता महामारीले बर्सेनि कैयौं मानिसको ज्यान लिन्छ । यस्ता महामारीहरू रोक्नका लागि सरकारले विभिन्न पहल गरे पनि मौसमअनुसार फैलिने विभिन्न भाइरसले नेपालीहरूमा आतंकित गराउँदै आइरहेको छ । आखिर महामारी कसरी फैलिन्छ ? महामारी फैलिनुमा एउटा मात्र कारण नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । ‘कुनै पनि भाइरस फैलिनका लागि एउटै मात्र आधार हुँदैन,’ डा. पाण्डे भन्छन्, ‘मानिसहरूको बदलिँदो जीवनशैली, नयाँ–नयाँ प्रविधि, दूषित खानेपानी, जलवायु परिवर्तनजस्ता कुराले नयाँ–नयाँ महामारी फैलिरहेको हुन्छ ।’
त्यसो भए कोरोना भाइरस रोकथाम र जोखिम न्यूनीकरण उपायहरू के हुन त ? डा. पाण्डे त्यसका लागि संक्रमितहरूको सम्पर्कबाट बच्नु नै पहिलो जोखिम न्यूनीकरणको उपाय मान्छन् । भन्छन्, ‘फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने, फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ ।’ त्यसबाहेक सरसफाइलगायतका कुरामा ध्यान दिनुपर्ने उनले सल्लाह दिए ।
नेपालमा संक्रमण फैलिनुपूर्व सरकारले तयारी गरे पनि महामारीको त्रास अझै छ । त्यसका लागि सरकारले नेपालका अस्पतालमा आइसुलेसनयुक्त उपचार कक्षहरूको निर्माण, चिकित्सक, स्वास्थ्यकर्मी र उपचारमा खटिनेहरूका लागि उपयुक्त मास्क तथा पोसाकहरूको व्यवस्था गर्नुपर्ने ठूलो चुनौती देखिएको छ । जसका लागि सरकारले तत्कालै पहल थाल्नुपर्ने सरोकारवालाहरूको बताउँछन् । ‘पर्सनल प्रोटेक्टिङ इक्युपमेन्टको राम्रो व्यवस्था गर्न सक्नुपर्छ,’ जनस्वास्थ्यविद् खेम कार्की भन्छन्, ‘कुनै भाइरसबाट संक्रमित भएको मान्छे आयो भने अस्पतालमा खटिने कर्मचारी, डाक्टर/नर्सहरूलाई पन्जा, गाउन, चस्मा, टोपी सबै सामानको प्रबन्ध गर्ने र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि सिकाउनुपर्छ ।’ साथै, संक्रामक रोगका लागि आइसोलेसन गर्ने क्षमता विकास गर्नुपर्ने, प्राकृतिक प्रकोपको पूर्वतयारी गरिएजस्तै नयाँ खालका महामारी नियन्त्रणको बृहत् पूर्वतयारी गर्नुपर्ने र त्यस्तै खाले संरचनाको विकासमा पर्याप्त लगानी गर्नुपर्ने उनको मत छ ।

के हो नोबेल कोरोना भाइरस ?
नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानवजातिमा पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो । यो भाइरस जीवजन्तुबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा संक्रमण हुँदै फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरसले सामान्य रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणहरू देखा पर्ने डा. पाण्डे बताउँछन् ।
कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । यसले मानिसको श्वास–प्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउने गर्छ । ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र केही सातापछि सास फेर्न गाह्रो हुनु यो रोगका प्रमुख लक्षण हुन् । कोरोना भाइरसका लागि छुट्टै खोप र औषधि छैन, तर यस्तो भाइरसको संक्रमण देखिएमा अस्पतालमै लगेर उपचार गर्नुपर्छ ।
तर, अहिले फैलिएको कोरोना भाइरस यसअघि देखिएको थिएन । त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नाम दिइएको छ । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वास–प्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । सार्स र मार्सपछि श्वास–प्रश्वासमा समस्या निम्त्याउने कोरोना भाइरस हो । यो भाइरस संक्रमण धेरैजसो बालबालिका, वृद्ध, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा हुन्छ ।

 

संक्रमणबाट कसरी बच्ने ?

डा. वासुदेव पाण्डे निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

  • सरसफाइमा ध्यान दिने ।
  • बाहिरबाट आएपछि साबुनपानीले हात धुने ।
  • बाहिर निस्कँदा माक्स लगाउने ।
  • अत्यधिक ज्वरो आएमा भने सिटामोल खाने ।
  • माछामासु राम्रोसँग पकाएर खाने ।
  • वैदेशिक यात्रा गर्दा सम्बन्धित देशका बारेमा अग्रिम जानकार हुने ।
  • खानेकुरामा ध्यान दिने । झोलिलो खानेकुरा बढी मात्रामा खाने
  • धूमपान–मद्यपान नगर्ने ।
  • फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने ।
  • फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
  • जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।

 

कस्तो छ रोकथामको तयारी ?

कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । मन्त्रालयले विशेष गरी वीर अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतलाई एलर्ट रहन निर्देशन दिएको हो । यसका लागि आइसोलेटेड वार्डको आवश्यकता पर्छ । त्यसका लागि अस्पतालहरू कत्तिको तयारी अवस्थामा छन् त ?
पाटन अस्पतालमा एउटा कोठालाई आइसोलेसन गरिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए । उनका अनुसार उक्त कोठामा पाँचवटा बेड राखिएका छन् । ‘हामी तयारी अवस्थामा छौं,’ शर्मा भन्छन्, ‘बिरामी आइहालेमा तत्काल इमर्जेन्सीमा राखेर उपचार गर्छौं, त्यसपछि तत्कालै आइसोलेटेडेट रुममा लैजाने व्यवस्था मिलाएका छौं ।’
सिभिल अस्पतालमा वार्डअन्तर्गत दुईवटा र आकस्मिक कक्षमा तीनवटा बेडको व्यवस्था गरिएको अस्पतालका निर्देशक दीर्घराज आरसीले जानकारी दिए । ‘हाम्रो क्षमताअनुसार तयारी अवस्थामा छौं,’ आरसी भन्छन्, ‘मन्त्रालयले दिएको प्रोटोकलअनुसार तयारी गरिएको छ ।’ कोरोना भाइरस संक्रमित बिरामी जाँच गर्ने डाक्टर/नर्सको टिम बनाइएको छ, साथै उनीहरूलाई आवश्यक पर्ने सामान र एक चरणको तालिम दिइसकिएको उनले बताए ।
शिक्षण अस्पताल, महाराजगन्जले मन्त्रालयले दिएको निर्देशनअनुसार तयारी गरिरहेको निर्देशक प्रेम खड्गा बताउँछन् । ‘आइसोलेसन वार्ड नै भन्ने छैन,’ खड्का भन्छन्, ‘कोरोना भाइरस आएपछि मन्त्रालयको निर्देशनअनुसार रेस्क्यु वार्डका ६ वटा बेड छुट्याइएका छौं ।’ डाक्टर नर्सहरूलाई पनि एलर्ट गरिएको उनले बताए ।
देशकै पुरानो अस्पताल वीर अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको अनुसन्धानका लागि ४ वटा, आइसियुमा २ वटा र आइसोलेसन ५ वटा बेड तयारी अवस्थामा राखेको छ । यदि संक्रमित बिरामीको चाप बढेमा त्यसलाई बढाउन सकिने अस्पतालका निर्देशक केदार सेन्चुरी बताउँछन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना भाइरस देखा परेपछि छुट्टै ६ वटा आइसोलेसन बेड बनाइएको छ ।

टिप्पणी

‘राज्यले पूर्वतयारी गर्नुपर्छ’

- साप्ताहिक संवाददाता

डा. खेम कार्की 

अहिले कोरोना भाइरस देखियो, तर यस्तो प्रकृतिका (चिकुनगुनिया, सार्स) जस्ता महामारी रोगहरू पहिला नै फैलिएका थिए । राज्यले यस्ता खाले संक्रामक रोगको महामारी फैलिएका बेला सातै प्रदेशमा सधैं खुला हुने अस्पताल बनाउनुपर्छ । साथै मेडिकल डाक्टर/नर्सको एउटा बलियो टिम बनाएर उनीहरूलाई नियमित तालिम गराएर तयारी अवस्थामा राख्नुपर्छ । साथै उनीहरूलाई पर्सनल प्रोटेक्टिङ इक्युपमेन्टको व्यवस्था राम्रो गर्नुपर्छ । जस्तै, कुनै भाइरसबाट संक्रमित भएको मान्छे अस्पताल आयो भने त्यहाँ काम गर्ने डाक्टर नर्सहरूलाई पञ्जा, गाउन, चस्मा, टोपी सबै सामानको प्रबन्ध गर्ने र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि सिकाउनुपर्छ ।
नेपालमा नयाँ खालको भाइरस वा रोग आयो भने त्यसको अनुसन्धान गर्ने गतिलो ल्याब छैन । बायोसेफ्टी लेबल थर्डसम्मको ल्याब हामीसँग सुविधा छ । यो पनि कोरोना भाइरसले गर्दा केही दिन अघिबाट मात्र चलेको छ । तर, यस्ता खाले भाइरस आउन थालेपछि हामीलाई चौथो तहको ल्याबको आवश्यकता पर्छ । त्यसैले राज्यको ध्यान यतातिर जानु जरुरी छ ।
हाम्रा विश्वविद्यालयहरूलाई नेपालमा कुनै नयाँ रोग अथवा भाइरस आयो र यसको अनुसन्धान गर्नुपर्‍यो भन्ने हो भने उनीहरूमा त्यो खालको क्षमता छैन । त्यसैले विश्वविद्यालयहरूलाई विभिन्न खाले रोगको अनुसन्धान गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । अरू देशमा लगातार अनुसन्धान गरिरहेका हुन्छन्, त्यसो त उनीहरूसँग त्यस्तै खाले क्षमता हुन्छ । त्यसैले राज्य पूर्वतयारीमा चुकेको छ । यतातर्फ राज्यको खासै ध्यान पुगेको देखिँदैन । कोरोना आइसकेपछि पनि कसैमा भाइरस देखा पर्‍यो भने हतार–हतार अस्पताल लाने, एम्बुलेन्सको व्यवस्था गर्ने भन्ने मात्र भइरहेको छ । तर, चाइनाको जस्तै नेपालमा पनि कोरोना भाइरस आउटब्रेक भइदियो भने यहाँ भागाभाग हुन्छ । त्यसैले यसको पूर्वतयारीमा राज्यको ध्यान जानु जरुरी छ ।
यस्तै, हाम्रो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था जीर्ण छ । त्यसको क्षमता विकास गर्नुपर्‍यो । अहिले हामीसँग आइसोलेसन गर्नुपर्‍यो भने आइसोलेसन वार्ड भएका अस्पताल नै छैन । त्यसैले यस्ता खाले संक्रामक रोगका लागि आइसोलेसन गर्ने क्षमता हामीकहाँ विकास गरिनुपर्छ । साथै सधैंभरि एक खालको एलर्ट टिम बनाउनुपर्छ । जसरी प्राकृतिक प्रकोपको पूर्वतयारी गरिन्छ, त्यसैगरी नयाँ खालका महामारी नियन्त्रणको बृहत् पूर्वतयारी गर्नुपर्छ र त्यस्तै खाले संरचनाको विकास गर्नुपर्छ । संरचना निर्माण र पूर्वतयारीका लागि यतिबेला राज्यले जति लगानी गरेको छ, त्यो पर्याप्त छैन ।
(डा. कार्की जनस्वास्थ्यविद् हुन्)

Page 11
Page 12
एवार्ड

१८ वर्षे बिलीलाई ५ ग्रामी

- साप्ताहिक संवाददाता

अमेरिकी गायिका तथा गीतकार बिली इलिसका लागि यो वर्षको ‘ग्रामी एवार्ड’ विशेष रह्यो । उमेरले १८ वर्षमा पाइला टेक्दै गरेकी यी गायिकाले गत सोमबार राति अमेरिकामा सम्पन्न एवार्डमा सर्वाधिक पाँच एवार्ड जितिन् । गायिका बिलीको एल्बम ‘ह्वेन वी अल फल एस्लिप, ह्वेर डु वी गो’ले ‘एल्बम अफ द इयर’को एवार्ड जित्दा उनले ‘ब्याड गाई’बाट ‘रिकर्ड अफ द इयर’ र ‘सङ अफ द इयर’को एवार्ड पनि पोल्टामा पारिन् । उनले ‘बेस्ट न्यू आर्टिस्ट’ र ‘बेस्ट पप भोकल एल्बम’को एवार्ड पनि जितिन् । यसअघि गायिका टेलर स्विफ्टले राखेको सर्वाधिक कम उमेरमा एवार्ड लिने गायिकाको रेकर्डलाई बिलीले तोडिन् ।
ग्रामीको इतिहास हेर्ने हो भने सन् १९८१ मा अमेरिकी गायक क्रिस्टोफर क्रसले पनि पाँच ग्रामी एवार्ड जितेका थिए । एवार्डमा बिलीका दाइ फिनिस ओकोनेलले बिलीको एल्बमका लागि ‘प्रोड्युसर अफ द इयर’को एवार्ड उचाले । ‘मैले यो एल्बम रेकर्डको काम घरमै गरेको थिएँ । म जहाँ आफूलाई सहज मान्छु, त्यहाँ म सिर्जनात्मक हुन्छु’, एवार्ड पाएपछि फिनिसले भने, ‘घरमा रेकर्ड गरिएको सिर्जनाले या एवार्ड पाउनु हाम्रा लागि ठूलो सम्मान हो । हामीले ग्रामी नै जित्छौं भनेर एल्बम बनाएका थिएनौं । हामीले डिप्रेसन र आत्महत्याको सोचसँगै जलवायु परिवर्तनका बारेमा चेतना फैलाउन एल्बम निकालेका थियौं ।’


एवार्डमा लिल नास एक्सले ‘ओल्ड टाउन रोड’ का लागि ‘भिडियो अफ द इयर’को एवार्ड जित्दा लिजोले ‘बेस्ट पप सोलो परफर्मेन्स’ सहित तीन एवार्ड पोल्टामा पारिन् । गायिका लिजोले एलिसिया किजसँगको सहकार्यमा एवार्डको शुभारम्भ गर्दा उनीहरूले सोमबार बिहान हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका बास्केटबल स्टार कोब ब्रायन्टलाई सम्झिए । ‘यो रात कोबका लागि समर्पित गर्न चाहन्छौं’, लिजोले भनिन्, ‘म रुन चाहन्छु, किनकि म तिमीलाई माया गर्छु ।’ आफ्नो प्रस्तुतिपछि स्टेजमा आएकी कीले कोबको परिवारलाई सम्झना दर्शकमाझ आग्रह गरिन् ।
अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामालाई ग्रामीको प्रिशोमा उनको बेस्ट सेलर संस्मरण ‘बिकमिङ’का लागि ग्रामी एवार्ड दिइएको थियो । ‘बिकमिङ’ एक अडियो बुक हो, जसमा ओबामाले नै आवाज दिएकी छन् । ओबामालाई पहिलो पटक ग्रामी एवार्ड मिलेको हो । यसभन्दा अघि उनी सन् २०१३ मा ‘अमेरिकन ग्रान ः द स्टोरी अफ द ह्वाइट हाउस किचन गार्डन एन्ड गर्डन एक्रोस अमेरिका’को मनोनयनमा परेकी थिइन् । मिसेल ग्रामीको विधामा राजनीतिक विजेताको सूचीमा समावेश भएकी छन् । यो सूचीमा हिलारी क्लिन्टन, तीन अमेरिकी राष्ट्रपति जिमी कार्टर, बिल क्लिन्टन र बराक ओबामा सामेल छन् ।


स्रोत : एजेन्सी

 

Page 13
कलिउड

२७ की एक

- साप्ताहिक संवाददाता

मिस नेपालका उपाधि विजेताहरू चलचित्रमा अभिनेत्रीका रूपमा आउने क्रम जारी छ । पछिल्लो पटक निकिता चाण्डक एउटा नयाँ चलचित्रमार्फत दर्शकमाझ आउँदैछिन् । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ मार्फत निकिता रजतपटमा कदम राख्दैछिन् । हुन त यसअघि पनि उनले एउटा चलचित्र पाएकी थिइन्, यद्यपि उक्त चलचित्र छायांकन प्रारम्भ भएको केही दिनमै रोकियो । भोजपुरी चलचित्रमा समेत राम्रो पकड बनाएका अभिनेता भट्टले आफ्नै मुख्य भूमिकासमेत रहेको चलचित्रमा निकितालाई कसरी छनोट गरे त ? अभिनेता भट्टले उनलाई छनोट गरेको रोचक प्रसंग शेयर गरेका छन् । चलचित्रको अभिनेत्रीका लागि भट्टले २७ जना अभिनेत्रीको सूची तयार पारेका थिए । चलचित्रको कथा तथा चरित्रलाई सुहाउने अभिनेत्रीको खोजी गर्दै जाँदा उक्त सूचीमा पाँच जनामात्र बाँकी रहे । त्यसरी छनोट गरिएका पाँच जना अभिनेत्रीहरूको अभिनय गर्ने क्षमता, व्यक्तित्व तथा हाउभाउको समेत परिक्षण भएपछि मात्र मिस नेपाल २०१७ निकिता चाण्डकले ‘साङ्लो’ मार्फत डेब्यू गर्ने मौका पाएकी रहिछन् । आफ्नो पहिलो चलचित्रमा निकिताले कस्तो अभिनय गरेकी छिन् भने कुरा अर्को साता चलचित्र प्रदर्शन भएपछि नै भन्न सकिने छ ।

कलिउड

रिल कि रियल ?

- साप्ताहिक संवाददाता

चलचित्र क्षेत्रमा यतिबेला एउटा जोडीको निकै खोजीनीति गर्न थालिएको छ । हुन त उनीहरू चलचित्रका जोडी हुन्, यद्यपि चलचित्र क्षेत्रमा भने उनीहरूलाई रियल जोडीकै नजरले पनि हेर्न थालिएको छ । उनीहरू हुन् अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री पूजा शर्मा । चलचित्र ‘रामकहानी’ देखि बाँधिएको आकाश र पूजाको जोडी आजका मितिसम्म उत्तिकै रोमान्टिक देखिएको छ । सुदर्शन थापा र पूजाले नै निर्माण गरेको रामकहानीमा आकाश एउटा तस्बिरका कारण छनोट भएका थिए । पहिलो चलचित्रमै दुवैको जोडीलाई दर्शकले रुचाए । त्यसपछि निर्माता–निर्देशकहरूलाई के चाहियो र ! सार्वजनिक समारोहदेखि छायांकनस्थलसम्म प्रायः सँग–सँगै देखिने उनीहरूको जोडी केही म्युजिक भिडियोहरूमा समेत देखियो । उनीहरूको जोडीलाई मन पराउने प्रशंसकहरूले फेसबुकमा उनीहरूकै नाममा पेज नै बनाइदिए । उनीहरूको जोडीले अभिनय गरेको दोस्रो चलचित्र ‘सम्हालिन्छ कहिले यो मन’ प्रदर्शन हुन बाँकी नै छ, तर तेस्रो चलचित्र ‘पोई पर्‍यो काले’ मा पुनः उनीहरूको जोडीलाई दर्शकले मन पराए । ‘सम्हालिन्छ कहिले यो मन’को बेलायतको छायांकनकै क्रममा उनीहरूको नाम जोडेर गसिपहरू समेत नबनेका होइनन्, यद्यपि दुवैले उक्त गसिपमा सत्यता नरहेको स्पष्ट पारे । उनीहरूको जोडीले भरखरै मात्र चलचित्र ‘सम्झना बिर्सना’ मा चौथो पटक अनस्क्रिन रोमान्स गरिसकेको छ भने निकट भविष्यमै यही जोडीले ‘मन परेसी’ तथा ‘पर्खी बसें–२’ मा जोडीकै रूपमा काम गर्ने सम्भावना छ । भन्नेहरू त आकाशले पूजाबाहेक अन्य अभिनेत्रीसंग काम नै नगर्ने अडान नै लिएका छन् पनि भन्छन् ।

 

 

 

कलिउड

छुल्ठिमका स्टाटस

- साप्ताहिक संवाददाता

अभिनेत्री छुल्ठिम गुरुङसँग यतिबेला चलचित्रहरू छैनन् । उद्घोषिकाका रूपमा समेत स्थापित उनी फुर्सदको क्षण सामाजिक सञ्जालमा बिताइरहिन्छन् । उनले फेसबुकको आफ्नो आधिकारिक पेजमा माया–प्रेमले भरिएका देखि सन्देशमूलक स्टाटसहरू लेखी नै रहेकी छिन् । यो जनवरी महिनामा मात्र उनले झन्डै एक दर्जनभन्दा बढी त्यस्ता स्टाटसहरू लेखिसकेकी छिन्, जसले मानिसलाई सोच्न बाध्य बनाउँछ । पछिल्लो पटक उनले लेखेको स्टाटसमा भनिएको छ—‘भ्यालेन्टाइन डे आउँदै छ रे, बसमा आउँछ कि, प्लेनमा आउँछ थाहा छ कसैलाई ?’ । अर्को स्टाटसमा उनी लेख्छिन्– ‘असल मान्छेसँगको सम्बन्ध उखु जस्तै हो । त्यसलाई भाँच्नुस्, काट्नुस्, निचोर्नुस् वा धूलो पार्नुस्, अन्त्यमा निस्कने त मिठास नै हो ।’‘संसारको सबैभन्दा सुन्दर चिज हेर्न र छुन सकिँदैन, त्यसलाई मात्र मनले अनुभव गर्न सकिन्छ, उनको अर्को स्टाटस हो यो । आमा–बुवालाई समर्पित गर्दै उनले लेखेकी छिन्—‘यहाँको चलन...१० मिलेर दुई लाई पाल्न सक्दैनन्, तर दुई मान्छे त्यस्ता हुन्छन्, जो दुई भएर पनि दशलाई पालिदिन्छन्—आमा–बुवा ।’ उनको अर्को एउटा स्टाटस भने निकै गम्भिर प्रकृतिको छ । उनले लेखेकी छिन्—‘जिन्दगीसित तपाईं जे पनि राम्रो भन्दा राम्रो लिन सक्नु हुन्छ लिनुस्, किनभने जब जिन्दगीले लिन सुरु गर्छ, तब स्वाससम्म छोड्दैन ।’

 

 

 

कलिउड

ब्रेकअप गर्ने अभिनेता !

- साप्ताहिक संवाददाता

अभिनेता सुशील श्रेष्ठको व्यस्तता ह्वात्तै बढेको छ । आफ्नो नयाँ चलचित्र लभ डायरिजको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी व्यस्त भएका हुन् । यसैबीच हालै चलचित्रको एउटा औपचारिक समारोहमा यी अभिनेतालाई सञ्चारकर्मीले प्रेम र ब्रेकअपका बारेमा जिज्ञासा राखे । जवाफमा उनले प्रेम र ब्रेकअप दुवै भइसकेको धारणा व्यक्त गरे । त्यसो त यी अभिनेताले उनकै जीवनमा घटेका कतिपय घटनाहरू चलचित्रमा समेत आइसकेको घुमाउरो शैलीमा स्वीकार गरेका छन् । केही अघि उनले आफ्नो देब्रे हातमा एउटा ब्यान्डेज लगाएका थिए । भन्नेहरूले त उनले ब्रेकअप भएपछि हात काटेको सम्म भन्न भ्याएका थिए । प्रेममा ब्रेकअप भएपछि हात काटेको जिज्ञासा उनैसँग राखियो । उनले पनि घुमाउरो शैलीमै जवाफ दिए– ‘ब्रेकअपपछि हाट काटेको होइन । एउटा दुर्घटनामा हातमा चोट लागेकाले ब्यान्डेज लगाएको थिएँ ।’ सुशीलको भनाइमा कति प्रतिशत सत्यता थियो भन्ने कुरा अहिले पनि खोजिकै विषय बनेको छ ।

 

 

कलिउड

बोर्डको अध्यक्ष को ?

- साप्ताहिक संवाददाता

केशव भट्टराईको असामयिक निधन भएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ । अहिले आएर उक्त पदमा नियुक्त हुने सौभाग्य कसको पुर्पुरोमा लेखिएको छ भन्नेबारेमा चलचित्र क्षेत्रमा टीका–टिप्पणी हुन थालेको छ । भन्नेहरू त चलचित्र निर्देशक दयाराम दाहालले उक्त जिम्मेवारी पाउने निश्चित भएको दाबीसमेत गरेका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाको गृह जिल्लाका दाहाललाई उक्त जिम्मेवारी दिइने तयारी भएका समाचारहरूसमेत प्रकाशित भइरहेका छन् । यता अभिनेताद्वय भुवन केसी तथा राजेश हमाललाई पनि बोर्डका सम्भावित अध्यक्षको रूपमा हेर्न थालिएको छ । उनीहरूसँगै अभिनेता/निर्माता नवल खड्का, कलाकार/निर्देशक लय संग्रौला, निर्देशक आकाश अधिकारी तथा निर्देशक केपी पाठकको नाम पनि चर्चामा छ । यसबीच भुवन केसीले आफू अध्यक्षको प्रत्याशी नभएको धारणा सार्वजनिक गरिसकेका छन् भने अन्य आकांक्षीहरूले आफ्नै प्रकारले लबिङ थालेको अनामनगरमा भेला हुने चलचित्रकर्मीहरूले चियागफको क्रममा बताएका छन् ।

Page 14
बलिउड

चलचित्रमा खेलकुद

- साप्ताहिक संवाददाता

सन् २०२० खेलकुदप्रेमी दर्शकका लागि निकै दिलचस्पी समय हुनेछ । बलिउडमा बनिरहेका खेलकुदप्रधान चलचित्रलाई विगतमा पनि दर्शकले निकै मन पराएका थिए, चाहे त्यो ‘एमएस धोनी’ जस्तो बायोपिक फिल्म होस् वा ‘चक दे इन्डिया’ जस्तो खेल समर्पित फिल्म होस् । यो वर्ष बक्सिङदेखि लिएर ब्याडमिन्टन, क्रिकेटजस्ता खेलमा बनेका ६ खेलसम्बन्धी चलचित्र थिएटरमा आउने तयारी गरिरहेका छन् ।
कंगना रणावत अभिनीत चलचित्र ‘पंगा’ वर्षको धमाकेदार सुरुवात गर्न थिएटरमा आइरहेको छ । यो चलचित्र राष्ट्रिय कबड्डी खेलाडीको कथामा आधारित छ, जसमा कंगना राष्ट्रिय कबड्डी खेलाडी जया निगमको भूमिकामा छिन् । यो चलचित्रलाई आश्विनी अय्यरले निर्देशन गरेका हुन्् ।
कविर खान निर्देशित चलचित्र ‘८३’ पनि बायोपिक चलचित्र हो । भारतका महान् क्रिकेटर कपिल देवको जीवनकथामा आधारित यो चलचित्र अप्रिल ३० मा रिलिज हुँदैछ । चलचित्रले भारतले सन् १९८३ मा विश्वकप क्रिकेट जित्दा त्योसँग जोडिएका र बाहिर सार्वजनिक नभएका कुरालाई उठान गरेको छ । चलचित्रमा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा उनको रियल लाइफकी श्रीमती दीपिका पादुकोणले नै रिल लाइफकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गरेकी छन् ।


अभिनेत्री परिणिति चोपडा स्टारर ‘साइना’ले ब्याडमिन्टर स्टार साइना नेहवालको जीवनलाई उतारेको छ । अमोल गुप्तको निर्देशनमा बनेको यो चलचित्र यसै वर्ष रिलिज हुँदैछ । यो चलचित्रमा परिणितिको स्थानमा श्रद्धा कपुरलाई लिइएको थियो, तर सुटिङको समय तालिका जुध्ने भएकाले श्रद्धाले यो चलचित्रमा काम गर्न सकिनन् । चलचित्रमा मानव कौल पनि प्रमुख भूमिकामा छन् । जो साइनाको कोच पुलेला गोपीचन्दको भूमिकामा देखिँदैछन् ।
चलचित्र ‘भाग मिल्खा भाग’ जस्तो ब्लक ब्लस्टर चलचित्रपछि राकेश ओमप्रकाश मेहरा र फरहान अख्तरको जोडी एकपटक पुनः बक्स अफिसमा धुम मच्चाउनका लागि चलचित्र ‘तुफान’ लिएर आउँदैछन् । ‘तुफान’ एक बक्सरको कथा हो, जहाँ प्रेमका कथा पनि जोडिएका छन् । चलचित्रमा परेश रावल र मृणाल ठाकुर पनि प्रमुख भूमिकामा छन् ।
आकर्ष खुरानाको निर्देशनमा बनेको चलचित्र ‘रश्मि रकेट’ गुजरातको एक एथलिटको फिक्सन कथा हो । यो चलचित्र पनि यसै वर्ष रिलिज हुँदैछ । सन् २०१९ अगस्ट ३० मा रिलिज भएको ‘रश्मि रकेट’को पोस्टर हेर्दा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा चलचित्रमा देखिँदैछिन् । यो चलचित्रको रिलिज जेट अहिलेसम्म सार्वजनिक भएको छैन । यो चलचित्र अघि नै तापसी ‘सुरमा और सांड की आँख’ जस्ता चलचित्रमा देखिइसकेकी छन् ।

बलिउड

भिलेन दिशा

- साप्ताहिक संवाददाता

आगामी फेब्रुअरी ७ मा रिलिज हुने चलचित्र ‘मलंग’ यो समयमा निकै चर्चामा छ । चलचित्रमा अनिल कपूर, आदित्य रोय कपुर, कुणाल खेमू र दिशा पटानी प्रमुख भूमिकामा छन् । यो चलचित्र दिशाका लागि विशेष किन छ भने चलचित्रमा उनले पहिलो पटक भिलेन चरित्रमा अभिनय गर्दैछिन् । ‘मैले चलचित्रमा आफ्नो भूमिकाका बारेमा थाहा पाउनासाथ म यति उत्साहित भएँ कि पाँचै मिनेटभित्र काम गर्ने इच्छा जाहेर गरें’, उनले भनेकी छन्, ‘यो चरित्र सुन्नासाथ मैले हलिउड अभिनेत्री एन्जोलिना जोलीलाई सम्झिएँ, किनभने उनले पनि यस्तै चरित्र निर्वाह गरेकी थिइन् ।’ दिशाले आफूलाई मनपर्ने र आफूले मान्ने कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । चलचित्रमा उनको अपोजिटमा आदित्य रोय कपूर छन् । चलचित्रमा मोहित सुरीको निर्देशन छ ।

बलिउड

कृषमा दीपिका

- साप्ताहिक संवाददाता

अभिनेत्री दीपिका पादुकोण हालका दिनमा चलचित्र ‘छपाक’लाई लिएर चर्चामा छिन् । चलचित्र प्रदर्शनमा आए पनि बक्सअफिसमा यसले ठूलो कमाल देखाउन सकेन, जसका कारण उनीमाथि आलोचना गर्ने क्रम बढेको छ । दीपिका माथि आलोचना बढिरहँदा उनीसँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ ।समाचारअनुसार दीपिका अभिनेता ऋतिक रोशनको चलचित्र ‘कृष’को चौथो फ्रेन्चाइजीमा देखिँदैछिन् । यो चलचित्रका लागि ऋतिक दीपिकालाई अनुबन्ध गराउने सोचमा छन् । ऋतिकका पिता राकेशले पनि ऋतिकको कुरामा सहमति जनाइसकेका छन् । तर, यो विषयमा आधिकारिक घोषणा भइसकेको छैन । यो चलचित्रको अघिल्ला सिरिजमा प्रियंका चोपडा प्रमुख भूमिकामा थिइन् । दीपिका पछिल्लो केही समयदेखि बलिउडका चलचित्रहरू निकै सोचेर र बुझेर साइन गर्न थालेकी छन् । उनले अभिनय गर्ने नयाँ चलचित्रमा आफ्नो भूमिका कत्तिको प्रभावशाली छ भनेर अध्ययन गरी सम्झौता पत्रमा हस्ताक्षर गर्न थालेकी छिन् ।

Page 15
हलिउड

वाकरका सवारीको लिलामी

- साप्ताहिक संवाददाता

श्रृंखलाबद्ध चलचित्र ‘फास्ट एन्ड फ्युरियस’ बाट चर्चामा आएका हलिउडका दिवंगत अभिनेता पउल वाकरको निधन भएको सात वर्षपछि उनका २१ वटा सवारी साधन (१८ कार तथा ३ मोटरसाइकल) २५ करोड ६० लाख रुपैयाँ (२ दशमलव ३३ मिलियन डलर) मा बिक्री भएका छन् । उक्त लिलामी अमेरिकाको एरिजोनाको स्कटडेलमा गरिएको थियो । एउटा समाचारमा जनाइएअनुसार लिलामीबाट संकलित रकम वाकरकी छोरी मेडोको एउटा ट्रस्टलाई हस्तान्तरण गरिनेछ । वाकरको निधन सन् २०१३ मा भएको एउटा कार दुर्घटनामा भएको थियो । उनको कार एउटा रूखमा ठोक्किएको थियो । वाकरका सवारी साधनहरूको लिलामी करिब एक हप्ता समय लगाएर गरिएको थियो । उनीसँग अल्पाइन ह्वाइट १९९५, बीएमडब्लू एम–३ जस्ता कारहरू थिए । तिनको अत्यधिक मूल्य ४ करोड ३६ लाख रुपैयाँसम्म थियो । एम–३ बीएमडब्ल्यूका पाँच लाइटवेट कारमध्ये एक थियो । २००९ को निशान ३७०–जेडमा बोली लगाउनेहरू सबैभन्दा बढी थिए । उक्त कारलाई ‘फास्ट फाइभ’ चलचित्रमा देखाइएको थियो । कम माइलेज भएको उक्त कार १ करोड २० लाख रुपैयाँमा बिक्री भएको थियो । अभिनेता वाकर कारका सौखिन थिए । मानिसहरूले लिलामीमा राखिएका उनका राम्रा कारहरू खुसी हुँदै किनेका थिए । ती कार किन्नेहरूले स्वयंलाई नयाँ पउल वाकरजस्तो सेलिब्रेटी भएको अनुभव गरेका थिए ।

हलिउड

किमलाई कानुनी समस्या

- साप्ताहिक संवाददाता

आफ्ना श्रीमान्सँगको रोमान्टिक तस्बिर पोस्ट गरेका कारण हलिउड सेलिब्रेटी किम कार्दशिन कानुनी समस्यामा परेकी छन् । किमका विरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा दर्ता गरेका हुन् । इन्स्टाग्राममा यी टेलिभिजन स्टारको उक्त पोस्टमा २० लाखभन्दा बढी लाइक आइसकेको छ । टीएमजेड वेबसाइटका अनुसार उक्त जोडीको तस्बिर सइदले खिचेका थिए र किमले त्यसलाई प्रयोग गर्ने अनुमति लिएकी थिइनन् । फोटोग्राफरले किमले उक्त तस्बिर पोस्ट गर्ने अनुमति नलिएको तथा कुनै शुल्कसमेत नतिरेको आरोप लगाएका छन् । उक्त तस्बिर नासको एल्बम रिलिज पार्टीमा खिचिएको बताइन्छ । वेबसाइटका अनुसार पछिल्ला केही महिनामा थुप्रै ठूला स्टार त्यस प्रकारले कपिराइट उल्लंघनका घटनामा फसिसकेका छन् । किमभन्दा पहिला केटी पेरी, आरियाना ग्रान्डे, जस्टिन बिबर, गिगगी हददी तथा एमिली रताजक्वोस्कीविरुद्ध पनि अनुमतिबिना तस्बिर पोस्ट गरेको आरोप लागिसकेको छ ।

 

हलिउड

यौनशोषणको अर्को घटना

- साप्ताहिक संवाददाता

मीटूको सबैभन्दा ठूला आरोपी तथा ८० भन्दा बढी अभिनेत्री तथा महिलाहरूलाई यौनशोषण गरेको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वे वेन्स्टिनका काला कर्तुत अहिले आएर पीडितमार्फत नै सार्वजनिक हुन थालेका छन् । हलिउड शो ‘द सोप्रानोस’ की अभिनेत्री एनाबेल स्कियराले हालै मात्र अमेरिकी अदालतमा रुँदै वेन्स्टिनद्वारा आफूमाथि गरिएको दर्दनाक अपराधका बारेमा बयान दिएकी छन् । उनले हार्वेले आफूलाई बलात्कार नै गरेको दाबी गरेकी छिन् । हार्वे उनको न्युयोर्कको अपार्टमेन्टमा मध्यराति जबर्जस्ती घुसेर आफूसँग जबर्जस्ती गरेको बताएकी छन् । त्यसक्रममा हार्वेले आफूलाई ओछ्यानमा पल्टाएर बलात्कार गरेको बताएकी हुन् । बलात्कारपछि उनीसँग ओरल सेक्स गरेको आरोप पनि उनले लगाएकी छिन् । उक्त आरोप अदालतमै रहेका ६७ वर्षीय हार्वेले निर्लज्ज भएर सुनिरहे । अभिनेत्री एनाबेलका अनुसार उक्त घटना सन् १९९३ मै घटेको थियो । बलात्कारपछि हार्वेले आफूलाई धम्क्याएकाले लामो समयसम्म उक्त घटनाका बारेमा मुख खोल्न नसकेको एनाबेलाले बताएकी छन् । कुनै बेला गड अफ हलिउडको नामले चिनिने हार्वेले विगतमा शेक्सपियर इन लभ, किल बिल तथा ग्याङ्स अफ न्युयोर्कजस्ता चर्चित चलचित्रहरू निर्माण गरेका छन् । उनीमाथि अभिनेत्रीहरूलाई यौन प्रताडना तथा बलात्कार गरेका गम्भीर आरोप लागेका छन् । एन्जेलिना जोली, रोज म्याकगाउन, उमा थर्मन, ग्वायनेथ पाल्त्रो, सलमा हायकजस्ता अभिनेत्री हार्वेको सिकार भइसकेको बताइन्छ ।

हलिउड

एकोनको नाममा सहर

- साप्ताहिक संवाददाता

गायक तथा र्‍यापर एकोनले अफ्रिकामा आफ्नो नामको सहर बसाइरहेको समाचार सार्वजनिक भएको छ । एकोन विश्वप्रसिद्ध र्‍यापर हुन् । उनले हालै मात्र सामाजिक सञ्जालमार्फ आफ्नो सहरका लागि सेनेगल सरकारसँग सम्झौता गरेको घोषणा गरेका हुन् । एकोनले आफ्नो सहर बसाउने उक्त योजनाका बारेमा सबैभन्दा पहिला सन् २०१८ मा उल्लेख गरेका थिए, जसले २०२० मा आएर अनुमति पाएको छ । यो सहर अफ्रिकाको सेनेगलमा बनाइनेछ । एकोन सिटीको निर्माण सेनेगलका राष्ट्रपति मेके सेलद्वारा एकोनलाई उपहारमा प्रदान गरिएको २ हजार एकड जमिनमा गरिनेछ । एकोनका अनुसार उक्त एकोन सहरमा सबै कुरा नवीकरणयोग्य हुनेछन्, एकोन–टेन्मेन्ट सोला सिटी हुनेछ । एकोन सिटीमा क्रिप्टोकरेन्सी एकाइन प्रयोग गरिनेछ । सन् २०१९ को मार्चदेखि प्रारम्भ भएको सहर निर्माणको काम एक दशकमा पूरा हुनेछ । सात वर्षको उमेरमा न्युजर्सी गएर बसोबास गर्न थालेका एकोनको जन्म सेनेगलमै भएको थियो । रिदम एन्ड ब्लुज–२०१९ को सूचीमा एकोन सबैभन्दा धनी गायकका रूपमा रहेका थिए । उनीसँग ८० मिलियन डलर सम्पत्ति छ । उनी लाइटिङ अफ्रिकाका प्रमुख पनि हुन्, जसले अफ्रिकाका १८ वटा देशमा सौर्य ऊर्जा प्रदान गरिरहेको छ ।

Page 16
Page 17
Page 18
आवरण

हाँसोको व्यापार

बढ्दै छ कमेडी क्रेज
- कला अनुरागी

हालै सम्पन्न झम्सिखेल महोत्सवमा खुशी हुँदै दर्शक । 

पछिल्ला दिनमा युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सबैभन्दा अगाडि देखिन्छ– कमेडी ! बुधबार युट्युब ट्रेन्डिङको ‘टप टेन भिडियो’ मध्ये चारवटा कमेडी नै भेटिए । यो साता पनि ‘कमेडी च्याम्पियन’, हास्य शृंखला ‘सक्किगो नि’, मुन्द्रेको कमेडी क्लब र हर्के हल्दार ट्रेन्डिङका १० स्थानमा तलमाथि गरिरहेका छन् । यसले युट्युबमा नेपाली दर्शकले हेर्ने सामग्रीमा कमेडी अघिल्लो स्थानमा रहेको देखाउँछ ।
प्रविधिमा आएको क्रान्तिले दर्शकलाई जति सुविधा दिएको छ, त्यति नै साधनसम्पन्न बनाएको छ कलाकारहरूलाई पनि । सामाजिक सञ्जालमार्फत लाइभ गर्नेदेखि युट्युबमा आफ्ना भिडियो अपलोड गर्नसम्म एउटा व्यक्ति स्वतन्त्र छ । युट्युब माध्यमले दर्शकको रुचि के हो भन्ने तत्कालै थापा पाउन सघाएको मात्रै छैन, रुचिअनुसारका भिडियो तत्काल दर्शकसम्म पुर्‍याउन पनि साथ दिएको छ । दर्शकले कमेडी रुचाउँछन् भन्ने थाहा पाएपछि कलाकार, निर्देशक, प्रोड्युसर सबै कमेडीतिर एकोहोरिन थालेका छन् । त्यसकारण पनि पछिल्ला दिनमा सिरियलदेखि स्ट्यान्ड अप शोमा पनि कमेडीले राम्रो भ्यूज पाइरहेको देखिन्छ । स्ट्यान्ड अप कमेडीमा नेप–ग्याज्म, कमेडी सर्कल, स्टोरी टेलर, कमेडी टुकटुक, नेक्सस कल्चरजस्ता समूह सक्रिय छन् ।
स्ट्यान्ड अप कमेडीको यो लोकप्रियतालाई नजिकबाट नियालिरहेका सिनेमा र रियालिटी शोमा काम गरिरहेका समूहले परिकल्पना गरेको ‘कमेडी च्याम्पियन’ अहिले दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । सिनेमा निर्देशक नवीन सुब्बा कमेडीको लोकप्रियतासँग समाजको मनोविज्ञान जोडिएको बताउँछन् । खुला समाजमा मानिसलाई हास्यले बढी प्रभाव पाउने उनको बुझाइ छ । सिनेमा क्षेत्रको अध्ययन र समीक्षा गरिरहेका अनुप सुवेदी भने समस्याको विविधताबाट भाग्न सजिलो हुने माध्यम भएकाले हास्य विधालाई मानिसले मन पराउने तर्क गर्छन् ।
कारण जे भए पनि पछिल्लो समय कमेडीको लोकप्रियता बढेको देखिन्छ । अहिलेको बेलालाई कलाकार तथा निर्देशक दीपाश्री निरौलाले हाँसी–हाँसी पैसा कमाउन सकिने बेला आएको बताउँछिन् । मानिसहरू हाँस्न चाहन्छन् भन्ने कुरा आफूहरूले निर्माण गरेको सिनेमाबाट प्रमाणित भएको उनको दाबी छ ।
‘कमेडीप्रधान सिनेमा कोहलपुर एक्प्रेस निर्माणपछि हामीले कमेडीलाई अझ नजिकबाट नियाल्यौं । एकातिर यसको बजार मूल्य राम्रो बनिरहेको पायौं’, हालै सुरु भएको कमेडी च्याम्पियनका निर्देशक रहेका विशाल भण्डारी आफूहरूको उत्पादनबारे भन्छन्, ‘अर्कातिर युवाहरू स्ट्यान्ड अप कमेडीमा आकर्षित छन्, मिहिनेत गरिरहेका छन्, त्यसलाई एउटा प्लेटफर्म दिन हामीले कमेडी च्याम्पियनको परिकल्पना गरेका हौं ।’

किन बिक्दैछ हाँसो ?
कमेडीको प्रयोग दर्शकहरूमा हाँसो पैदा गर्नका लागि हुन्छ । स्वाभाविक रूपमा हाँसो सबैको लागि प्रिय हुन्छ । कलाकार रिमा विश्वकर्मा भन्छिन्, ‘अहिलेको समय अनेकन तनावले मानिसलाई जेलिरहेको छ । त्यसबाट मुक्त हुनका लागि कुनै न कुनै बहाना खोजिरहेको हुन्छ । कमेडी त्यही बहानाको रूपमा उपयोग भइरहेको छ ।’
रिमाको विश्लेषण सिनेमा निर्देशक सुब्बाको विचारसँग मिल्छ । सुब्बा द्वन्द्वको समयमा शिव रेग्मी निर्देशित रोनाधोनावाला सिनेमा चल्नु र त्यसपछिको समयमा हास्यप्रवृत्तिका सिनेमा चल्नुलाई नेपाली समाजको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएको रुपमा व्याख्या गर्छन् । उनीसँग निर्देशक रामबाबु गुरूङ पनि सहमत छन् । गुरुङ भन्छन्, ‘डेढ दशक लामो द्वन्द्व हुँदा मानिसहरूले हाँस्ने अवसर पाएनन् । जब देशमा राजनीतिक स्वतन्त्रता पैदा भयो, त्यसले समाजलाई पनि स्वतन्त्रताको आभास भयो । यो समयमा मानिसहरू फ्रेस हुन चाहन्छन् । त्यही विधालाई बढी मन पराउन थालेका छन् ।’ त्यसैले आफूहरूले हास्य शैलीलाई प्राथमिकता दिएर काम गरिरहेको उनी बताउँछन् ।
त्यसो त यसलाई भारतीय सिनेमा र प्रवृत्तिलाई पछ्याउने नेपाली प्रचलनको निरन्तरता ठान्नेहरू पनि छन् । निर्देशक प्रकाश सायमी भारतमा सिनेमा, हास्य सिरियल, स्ट्यान्ड कमेडीको क्रेज बढ्दा यता पनि बढिरहेको आँकलन गर्छन् । चलचित्र समीक्षक अनुप सुवेदी यसमा अझ आलोचनात्मक दृष्टिकोण राख्छन् । हास्य विधाले मानिसको समस्याबाट भाग्न खोज्ने प्रवृत्तिलाई बढावा दिने भएकाले मानिसलाई त्यो मन परेको उनको दावी छ । ‘मानिस समस्याबाट भाग्न चाहने प्राणी हो । हास्य चलचित्रमा विषयको संवेदनशीलता कम हुने भएका कारण समस्याबाट भाग्ने अवसर प्राप्त हुन्छ । त्यसैले अहिले यो विधाको क्रेज देखिएको हो’, उनले भने । सामाजिक सञ्जालमा देखिने राजनीतिक, सामाजिक टिप्पणीबाट समाजको त्यो प्रवृत्ति प्रतिबिम्बित हुने उनको बुझाइ छ ।
तथापि विश्वमा नै हास्य चलचित्रको व्यावसायिक पाटो सफल देखिने गरेको उनको अध्ययनले बताउँछ । त्यसैले बजारलाई आधार बनाएर पनि अहिले कमेडी विधा विभिन्न स्वरूपमा देखिइरहेको उनको बुझाइ छ ।

– मदनकृष्ण श्रेष्ठ 
‘हास्यव्यंग्य गर्दा पुलिसले समात्थ्यो । भागी–भागी हिँड्नुपर्थ्यो । हास्यव्यंग्यको क्यासेट पनि झ्याल ढोका सबै थुनेर बाहिर कुरुवा राखेर सुन्नुपर्थ्यो ।’

पीडादायी थियो इतिहास
मह जोडीका ‘ह’ अर्थात् हरिवंश आचार्य आफूमा हास्यचेत भर्नमा भैरव अर्यालका हास्यव्यंग्यका कृतिको अध्ययनले सघाएको बताउँछन् । भैरव अर्याल त्यस्ता लेखक हुन्, जसले पूरा जीवन बाँचेनन् । चालिस बर्षको उमेरमा खोलामा हाम फालेर आत्महत्या गरे । लेखनमा जति नै अब्बल भए पनि त्यसले उनी र उनको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने अवस्था बनेन । उनको जीवनीमाथि ‘भग्न भैरव’ उपन्यास प्रकाशनको तयारीमा रहेका प्रोल्लास सिन्धुलीय भन्छन्, ‘उनको घाँटीमा समस्या थियो, त्यसमाथि जागीरका क्रममा गोरखापत्रका हाकिम केशवराज पिंडालीबाट पाएको तनाव थपिएछ । जसले उनलाई जीवनप्रति मोहभंग गराइरहेको थियो । क्षमता भएर पनि आर्थिक उपार्जनको बाटो बलियो नहुँदा परिवारले गर्ने चिन्ता र गुनासोले उनलाई मृत्युतिर धकेलेको देखिन्छ ।’
त्यसो हुँदा–हुँदै पनि उनले नेपाली हास्यव्यंग्य साहित्यमा बलियो मानक बनाए । जसलाई पढ्दै हास्यव्यंग्यको बाटो हिँड्ने पुस्ता तयार भयो । हरिवंश आचार्यदेखि मनोज गजुरेलसम्म अर्यालबाट उत्प्रेरणा लिन्छन र आफू पनि त्यसकोटीको हास्यव्यंग्य सिर्जनाको सपना देख्छन् । बीसको दशकबाट नेपालमै सिनेमा बन्न थाल्यो । त्यसपछि हास्यव्यंग्य प्रदर्शनीको प्रचलनमा तीव्रता आयो । सिनेमामा पनि हास्य कलाकारिताले स्थान पायो । तर, त्यसबेला पनि सजिलो थिए । अझ महिला कलाकारको सन्दर्भमा त निकै नै जटिल थियो । कलाकार बसुन्धरा भुसाल भन्छिन्, ‘काम गर्नै गाह्रो थियो । त्यसमा पनि हास्यव्यंग्य क्षेत्रलाई हेयको दृष्टिले हेरिन्थ्यो । आईमाई भएर जोकर भएर खेल्ने ? भन्थे । आर्थिक हिसाबले समस्या त थियो नै ।’
त्यसबेला राजनीतिक दृष्टिकोणले पनि समस्या थियो । पञ्चायतकालीन समयमा जुनसुकै व्यंग्यलाई पनि सरकारले गहिरो गरी निगरानी गर्थ्यो । कलाकार मदनकृष्ण श्रेष्ठ सम्झन्छन्, ‘पुलिसले समात्थ्यो । भागी–भागी हिँड्नुपर्थ्यो । हास्यव्यंग्यको क्यासेट पनि झ्याल ढोका सबै थुनेर बाहिर कुरुवा राखेर सुन्नुपर्थ्यो ।’
ती सारा चुनौतिसँग जुझ्दै मह जोडीले आफूलाई हास्यव्यंग्यमा अब्बल बनाए । पञ्चायती समयपछि जनआन्दोलनको समयमा साम्दे शेर्पा हास्यव्यंग्यमा उदाए । त्यही पथमा मनोज गजुरेलले ‘स्ट्यान्ड अप’ कमेडीलाई अघि बढाए ।
अहिले स्टेज र युट्युब दुवैमा स्ट्यान्ड अप कमेडी स्थापित भइसकेको छ । टेलिभिजनमा पनि त्यस्ता कार्यक्रमको स्थान राम्रो देखिन्छ । यसलाई गजुरेल हास्यव्यंग्यको सुखको युग ठान्छन् । उनी भन्छन्, ‘हाम्रो समयमा उत्प्रेरित गर्ने वातावरण पनि थिएन । न त यति धेरै माध्यम थिए । सरकारी सञ्चारमाध्यममा पहुँच कमैको हुन्थ्यो, त्यसमा पनि आलोचनात्मक स्वरलाई अवसर होइन, खतरा बढी थियो ।’

पहिले रंगमञ्च अनि सिनेमा
राणकालीन बन्द समयपछि खुला भएको समाजमा कलाकारहरू राजपाल, ध्रुव हाडालगायत रंगमञ्चमा देखिए । उनीहरूले रंगमञ्चमा हास्यप्रस्तुति सार्वजनिक गर्न थाले । त्यसबेला काठमाडौंका नेवार वस्तीका ‘दबु प्याखः’मा त्यस्ता प्रस्तुति हुने गरेको हरिवंश आचार्य सम्झन्छन् । मदनकृष्ण श्रेष्ठलाई उनले त्यही माहोलमा भेटे र उनले पनि आफ्नो प्रस्तुतिलाई निखारे ।
त्यसबेला राजपाल थापा र ध्रुव हाडाको जोडी, रामशेखर नकर्मी, गोपालराज मैनालीलगायत त्यस्ता कार्यक्रममा भेटिन्थे । श्रेष्ठले मुना सः (आवाजको जमघट) भन्ने संस्थाको स्थापना गरेर संगीत र कमेडीलाई संयोजन गरेर कार्यक्रम थालेका थिए । पञ्चायतको बन्द समय सुरु भएपछि रंगमञ्चको त्यो प्रस्तुति सिनेमामार्फत व्यक्त हुन थाल्यो । सिनेमा निर्देशक नीर शाह सम्झन्छन्, ‘नेपालमा छायाँकन भएको पहिलो चलचित्र आमामा नै हास्य विधाको प्रयोग भएको थियो । त्यसअघि सत्य हरिश्चन्द्रमा पनि हास्य रसको प्रयोग भएको पाइन्छ ।’ रंगमञ्चको हास्यले सिनेमामा स्थान त पायो, तर त्यसले मूल कलाकारिताको दर्जा भने पाउन सकेको थिएन ।

– नीर शाह 
‘नेपालमा छायाँकन भएको पहिलो चलचित्र आमामा नै हास्य विधाको प्रयोग भएको थियो । त्यसअघि सत्य हरिश्चन्द्रमा पनि हास्य रसको प्रयोग भएको पाइन्छ ।’

टेलिभिजन कमेडी शो
सिनेमामा आफ्नो प्रतिभा देखाउन पाएका र नपाएका दुवैथरी प्रतिभालाई ०४२ सालमा स्थापित नेपाल टेलिभिजनले स्थान दिन थाल्यो । पहिलो चरणमा नै ‘प्रतिभाको खोजी’ कार्यक्रममार्फत उसले धेरै कलाकारलाई स्थान दिएको तत्कालीन नेपाल टेलिभिजन प्रमुख नीर शाह सम्झन्छन् । त्यही क्रममा मह जोडीका साथै सन्तोष पन्त पनि टेलिभिजनमा स्थापित भए । जसले हास्यव्यंग्यलाई लोकप्रिय विधाको रूपमा स्थापित गर्न सघायो । नीर शाह सम्झन्छन्, ‘अहिलेका धेरैजसो हास्य कलाकार नेपाल टेलिभिजनकै माध्यमलाई प्रयोग गरेर आउनुभएका हुनुहुन्छ ।’
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चेतनामूलक श्रृंखला होस् या सन्तोष पन्तको ‘हिजोआजका कुरा’ नेपाल टेलिभिजनले धेरै कलाकार स्थापित बनाएको शाहको दाबी छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, सुरवीर पण्डित, जितु नेपाल, दमन रुपाखेती, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत कलाकारको यात्रा टेलिभिजनबाटै सुरु भएको उनले सम्झिए ।
नेपाल टेलिभिजनमा सन्तोष पन्तका कार्यक्रम ‘अप्रिल फूल’, ‘यस्तै हुन्छ’ पनि आए । त्यस्तै ‘दोषी को ?’, ‘नरिसाउनोस् है’ लगायतका कार्यक्रमले उनलाई चर्चित बनायो । पचासको दशकसँगै दीपकराज गिरी, दीपाश्री निरौलालगायत आए । दीपक–दीपाको रेडियो कार्यक्रम ‘रामविलास–धनियाँ’ श्रोतामाझ चर्चित बन्यो । साठीको दशकमा उनीहरूले सुरु गरेको ‘तीतो सत्य’ले पनि दर्शकलाई उत्तिकै आकर्षित गर्‍यो । दीपक सम्झन्छन्, ‘हामीलाई चाहिँ रेडियोले स्रोतामाझ परिचित बनायो । पछि टेलिभिजनमा दर्शकले रुचाए ।’
दमन रुपाखेती, जितु नेपाललगायत कलाकार यही दशकमा टेलिभिजनमा आए । दिनेश डिसीले चलाउने कायक्रम ‘ट्वाक्कटुक्क’मा दमन रूपाखेती र जितु नेपालले अभिनय गर्थे । त्यसपछि ‘जिरेखुर्सानी’, ‘मेरी बास्सै’, ‘झ्याईकुटी झ्याईं’, ‘हाकाहाकी– पक्कापक्की’लगायतका हास्य टेलिसिरियल बने । यसले दर्शकमाझ हास्यव्यंग्यको स्वाद स्थापित बनायो ।

विकल्प : युट्युब र सिनेमा
यही समय टेलिभिजनका कार्यक्रमको बजार भने खस्कियो । कार्यक्रम निर्माताले कलाकारलाई पैसा दिन सकेनन् । त्यसपछि धेरै कार्यक्रम बन्द भयो । कलाकार दीपकराज गिरी सम्झन्छन्, ‘जब आर्थिक हिसाबले टेलिभिजन कार्यक्रम गर्न नसकिने अवस्था आयो । हामीलाई विकल्प छनोट गर्नुपर्ने बाध्यता थियो ।’
त्यही बाध्यतालाई अवसरमा बदल्दै दीपक–दीपाको समूह सिनेमा निर्माणमा होमियो । उनीहरूसँग टेलिभिजनले निर्माण गरेको दर्शकको ‘क्रेज’ छँदै थियो, त्यसैलाई पुँजीकृत गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो ।
नेपाली सिनेमामा निश्चल बस्नेत निर्देशित ‘लुट’ले कमेडी विधालाई मूलधारमा स्थान दिन सकिन्छ भन्ने देखाइदियो । मूलधार भनिने विधामा जमिरहेका कलाकार नै कमेडी प्रस्तुतिमा देखिए । दीपक–दीपाको समूहका साथै कमेडी विधाका मह जोडी, धुर्मुस–सुन्तलीलगायत यही समयलाई समातेर सिनेमा निर्माणमा सक्रिय छन् । ‘छ एकान छ’बाट सिनेमामा प्रवेश गरेको दीपक–दीपाको समूहले वडा नम्बर छ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलाका साथै ‘छ माया छपक्कै’सम्म आइपुग्दा नेपाली सिनेमामा हास्यले बजारमा पनि बलियो उपस्थिति जमायो । यसलाई दीपाश्री निरौला ‘हाँसी–हाँसी कमाउन सकिने समय सुरु भएको’ बताउँछिन् । सिनेमामा पनि निर्देशक रामबाबु गुरुङ र प्रदीप भट्टराईले पनि कमेडीलाई आधार तत्वको रूपमा प्रयोग गरेर बजारमा बलियो उपस्थिति बनाएर पैसा कमाए ।

Page 19
Page 20
टिप्पणी

कमेडी दोकानमा द्वन्द्व

- मनोज गजुरेल

स्ट्यान्ड अप कमेडी
‘एकल प्रस्तुति’ अधिकांश हास्य कलाकारको विगत हो । त्यो अहिले प्रचलित ‘स्ट्यान्ड अप’ कमेडीकै स्वरूप हो । मह जोडी बन्नुअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि एकल प्रस्तुति दिनुहुन्थ्यो । सन्तोष पन्तले पनि एकल प्रस्तुति गर्नुभयो ।
मेरो हकमा पनि त्यही हो । मैले झापा दमकमा आठ कक्षामा पढ्दा अतिरिक्त क्रियाकलापमा व्यंग्य समाचार, प्यारोडी, क्यारिकेचरका साथै जनावरको आवाजसहितको ‘प्याकेज प्रस्तुति’ दिएको थिएँ । अहिले मैले जे गरिरहेको छु, त्यसैको विकसित स्वरूप हो । त्यो बेलामा मैले जानेर गरेको थिइनँ, पछिमात्र त्यो स्ट्यान्ड अप कमेडी रहेछ भन्ने थाहा भयो ।
मेरो अनुभवमा ‘स्ट्यान्ड अप कमेडी’ युगले जन्माउँछ । हाम्रो नेपालको सन्दर्भमा प्रत्येक १० वर्षपछि नयाँ युग जन्मिएको पाइन्छ । त्यसले कमेडीमा पनि नयाँ प्रतिभा स्थापित गरेको देखिन्छ । ०३६ को आन्दोलन सेरोफेरोको पञ्चायती समयले मह जोडी स्थापित गर्‍यो । ०४६ सालको जनआन्दोलनले साम्दे शेर्पालाई स्थापित गर्‍यो । त्यसपछि ०६२/६३ सालको आन्दोलनले पनि धेरै कलाकार स्थापित गर्‍यो ।
म पनि ०४६ सालको जनआन्दोलनसँगै आएको हुँ र साम्दे शेर्पाको बाटो पछ्याएको हुँ । उहाँले राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनालाई कमेडीमार्फत प्रभावकारी प्रस्तुत गर्नुभयो । अहिले पनि मेरो अभ्यास त्यसैमा हो ।

मौलिक अभिव्यक्ति
पछिल्लो समयमा कमेडीको बजारमा छाइरहेका सिनेमादेखि कमेडी च्याम्पियनसम्मलाई हेर्दा यसले मौलिक प्रस्तुतिको खोज गरेको मैले पाएको छु । त्यसो त, हामीले पूर्णरूपमा नयाँ विषय खोज्ने कुरा पनि कल्पना मात्रै हो ।
हामीले यही समाजमा भइरहेको विषय नै खोज्ने हो । त्यो कुनै नै कुनै रूपले हाम्रा अग्रज वा हाम्रो परिवेश मिल्ने अर्को देशका कलाकारले छोएको विषयसँग मिल्न जान्छ । हामीले अहिले जे गरिरहेका छौं, त्यो नयाँ पुस्ताले पनि पछ्याउने हो । तर, कलाको रूप, रङ र सन्दर्भ फरक हुने हो । त्यसर्थ धेरै नै नयाँ दिन्छु भन्ने दुस्साहस गर्नुहुँदैन ।
अहिले कमेडीमा जति पनि विविधता आइरहेका छन् । खुला समाजका प्रभावसहितका अभिव्यक्ति पनि आइरहेका छन् । यस सन्दर्भमा हामीले अहिले नै यो सही या यो गलत भन्न सकिने अवस्था छैन । हामीले हिँड्ने भने बीचको बाटो हो ।
यसो गर्दा नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्नु पनि आवश्यक छ । साथै हाम्रो संस्कार, संस्कृति र मूल्य मान्यतालाई पनि हेर्न आवश्यक छ । त्यसैले म यो ठीक या बेठीक भन्ने छैन । तर, कुन कुरा अश्लील या अराजक हो, कुन कुराचाहिँ खास कमेडी हो भन्नेबारे बहस सुरु भएको छ, योचाहिँ हुनुपर्छ । यसले हरेक कलाकारलाई पनि र त्यसमा लगानी गर्ने लगानीकर्तालाई पनि सचेत बनाउँछ ।

नीतिको स्थापना
हरेक पत्रिकाले उस्तै प्रकृतिका समाचार लेख्छन्, तर हरेकको आफ्नै सम्पादकीय नीति हुन्छ । त्यसैगरी कलाकारको पनि आफ्नो ‘सम्पादकीय नीति’ हुनुपर्छ । म राजनीतिक पृष्ठभूमिबाट आएको हुँ । कुनै समय कम्युनिस्टको मञ्चमा बसेर कांग्रेसलाई गाली गर्दा ताली बज्थ्यो । मलाई गज्जबको कमेडी गरेँ भन्ने लाग्थ्यो, तर त्यो कमेडी होइन रहेछ, गाली रहेछ । यो कुरा बुझेपछि मैले आफ्नो ‘बटमलाइन’ बनाएको छ ।
मेरो ‘बटमलाइन’ भनेको देश, आमा, मानवीयता र मानसिक संवेदना हाँसोका विषय होइनन् । त्यहाँभित्रका विसंगतिका विषय उठाउन सकिन्छ । तर, त्यससँग जोडिएको छ भने दश पटक सोच्नुपर्छ ।
मेरो अर्को भनेको कलाकारले अभिव्यक्त गर्छ, जीवनशैली पनि त्यस्तै हुनुपर्छ । हामीले गरेको काम वा सन्देशसँग इमान्दार हुनुपर्छ । राष्ट्रियताको कुरा गर्ने तलबचाहिँ अन्य देशको दूतावासबाट थाप्ने, संस्कार र संस्कृतिको कुरा गर्ने अनि त्यसलाई धज्जी उडाउन पनि पछि नपर्ने दोहोरो चरित्रले न आत्मसन्तुष्टि दिन्छ, न समाजलाई केही योगदान गर्न नै सक्छ ।
त्यही नीति स्थापना भयो भने कमेडी स्वाभावतः मर्यादित र मौलिक बनिहाल्छ । त्यसैले कमेडी च्याम्पियनसीपबाट आएका व्यक्ति आदर्श पात्र हुनुपर्छ भन्ने कुरामा मैले जोड दिइरहेको छु । अहिले कमेडीले चर्चा दिएको छ । आम्दानी दिन थालेको छ । भाइरल पनि हुन्छ । त्यसमा नागरिक दायित्वबोध र देशप्रतिको सम्मान तथा मानवीयता भन्ने चिज पनि जोडिदियो भने सुनमा सुगन्ध हुन्छ । कमेडी च्यम्पियनमा मैले त्यही खोजिरहेको हो ।

कमेडीको जटिलता
अर्को महत्वपूर्ण कुराचाहिँ कमेडी कलाकारले दर्शक हाँसे, त्यसैले सफल भएँ भनेर ठान्नु हुँदैन । मलाई पनि केही वर्षसम्म ताली खाँदा, दर्शक हाँस्दा सफल भइयो भन्ने लाग्थ्यो । तर, अहिले सम्झिँदा कमेडीको विषय अरूभन्दा जटिल हो । मैले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको क्यारिकेचर गर्नु हास्यमात्र थिएन । त्यस्ता भूमिका गर्दा सम्पूर्ण राष्ट्र नै प्रभावित हुनसक्छ । नाकाबन्दीको बेला नरेन्द्र मोदीको क्यारिकेचर गर्नु पनि त्यस्तै थियो ।
यसको अर्थ हो– हामी संवेदनशील विषयमा संवेदनशील हुनैपर्छ । अहिले अधिकांश कमेडी कलाकारले नेतालाई व्यंग्य गरिररहेका छन् । तर, व्यंग्य गरेर मात्रै हाम्रो दायित्व पूरा हुँदैन । त्यसले त अराजकता मात्र ल्याउँछ । ती विषयमा गहिरो ज्ञान हासिल गरेर सिर्जनात्मक आलोचनातिर हामी अघि बढ्नुपर्छ ।
त्यसको अर्थ फेरि हामी गलत प्रवृत्तिको पक्षपोषणतिर पनि लाग्नुहुँदैन । मेरो सन्दर्भमा भन्ने हो भने देश र आमाप्रति ठट्टा कहिल्यै गर्दिनँ । तर, सत्ताको गलत प्रवृत्तिको विपक्षमा हुन्छु । मलाई राजनीतिक नियुक्तिमा जानु सामान्य कुरा हो, तर त्यहाँ गएपछि मेरो सिर्जना मर्छ भन्ने ठान्छु ।
मलाई लाग्छ– जब एउटा स्रष्टा सत्ताप्रति सहानुभूति राख्न थाल्छ, उसको सिर्जना मर्छ । अझ हास्यव्यंग्यले आत्महत्या नै गर्छ । तर, आदर्शले मात्रै पेट भरिँदैन । आदर्शलाई जीवित राख्दै दालभातचाहिँ खानैपर्छ । त्यसका लागि व्यावसायिक सोचलाई पनि नकार्नु भने हुन्न । बजारले जे खोज्छ, त्यही दिँदै आफ्नो आदर्शलाई कायम राख्ने कुरामा सचेतना पैदा गर्नु आवश्यक छ ।

नयाँ पुस्ता : नयाँ अवसर, नयाँ चुनौती
अहिलेको पुस्तालाई अनेकन अवसर छन् । कमेडी अभिव्यक्तिका लागि सजिलो र प्रभावकारी माध्यम हो । त्यसलाई व्यक्त गर्ने माध्यममा पनि विविधता आएको छ । हाम्रो समयमा यसरी प्रोत्साहित गर्ने माध्यम थिएन । कला प्रस्तुत गर्न नेपाल टेलिभिजन र रेडियो नेपालको विकल्प थिएन । त्यसमा सबैले अवसर पाउँदैनथे । अझ आलोचनात्मक स्वरलाई त खतरा थियो । त्यसैले राजनीतिक संगठनका विद्यार्थीको मञ्च प्रयोग गर्नुपर्थ्यो । त्यसो गर्दा प्रशासनले राजनीति मुद्दाको रूपमा लिन्थ्यो ।
तर, अहिलेको पुस्तालाई प्रशस्त अवसर छ । प्रस्तुतिका लागि विभिन्न माध्यम छन् । यो विज्ञानको स्वाभाविक नियम हो– हरेक पुरानो मर्छ र नयाँ आउँछ । कमेडी क्षेत्रमा पनि नयाँ पुस्ताको प्रभावकारी उपस्थिति देखिएको छ । पुरानो पुस्ताको सिर्जनशीलता र उत्पादनशीलतामा ह्रास आउँदै जाँदा नयाँ पुस्ताले त्यो खाडल भर्छ । कमेडी च्याम्पियनले गरिरहेको प्रयत्न पनि त्यही हो । यसमा हामीले हाम्रो भन्दा ज्यादा अध्ययन भएको पुस्ता पाएका छौं । कतिपय कुरा हामीले नयाँ पुस्ताबाट सिक्न पाइरहेका छौं ।
व्यावसायिक दृष्टिकोणले पनि अहिले कमेडीमा लगानीकर्ता आकर्षित छन् । बिक्री हुने कुरामा लगानीकर्ता आकर्षित हुनु स्वाभाविक नै हो । तर, यसलाई कमाइ खाने दोकान मात्रै बनाउने कि जिम्मेवारीसहित दोकान बनाउने भन्ने संघर्ष हाम्रो सन्दर्भमा पनि थियो र अहिलेको पुस्तालाई पनि त्यो चुनौती छँदैछ ।

Page 21
मनोरञ्जन

‘कमेडी मनोरञ्जनसँगै व्यापार पनि हो’

- साप्ताहिक संवाददाता

कमेडीप्रेमी विशाल भण्डारी नेपाल आइडलको पहिलो सिजनको निर्देशकीय समूहमा सामेल भए । त्यस बेला उनले दर्शकको मनोविज्ञान बुझ्ने राम्रो अवसर पाए । नेपाल आइडलमा जतिबेला हास्य विषय आउँथे, दर्शकहरूको संख्या ह्वात्तै बढ्थ्यो ।
युट्युबमा त्यसैको ‘भ्यूज’ अत्याधिक हुन्थ्यो । त्यसपछि उनले
केकी अधिकारीसँग मिलेर हास्यप्रधान सिनेमा पनि बनाए– कोहलपुर एक्सप्रेस ।
त्यसपछि उनी अर्को रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा संलग्न भए । त्यसमा पनि दर्शकको मनोविज्ञान उस्तै थियो । उस्तै अर्थात् कमेडीप्रति क्रेज । त्यसले उनलाई कमेडी क्षेत्रमा थप काम गर्ने हुटहुटी जगाइरह्यो अनि भण्डारी राजधानीमा युवाहरूले विभिन्न समूह बनाएर गरिरहेका ॅस्ट्यान्ड अप’ कमेडी शो पछ्याउन थाले । त्यस क्रममा उनको ध्यान कमेडीको रियालिटी शो गर्नुपर्छ भन्नेमा केन्द्रित भइसकेको थियो । त्यसका लागि कस्ता सहभागी आउन सक्छन् भन्ने आँकलन गर्न उनलाई त्यस्ता शोहरू सहयोगी हुन्थे । निकैपटक त्यस्ता शोमा सहभागी भइसकेपछि उनी निष्कर्षमा पुगे, ॅयत्तिका सहभागीलाई ल्याउन सकियो भने राम्रो हुन्छ ।’ त्यसपछि उनले केकी अधिकारीसँग सल्लाह गरे । रिमा विश्वकर्मा पनि साथी भएकाले उनले अर्को ॅहोस्ट’ खोज्ने मूर्खता गरेनन् । त्यसो त रिमा आफैंले पनि समूहको हिम्मतलाई साथ दिइन् र निर्माण समूहमै संलग्न भइन् । कमेडीको शक्ति बुझ्ने राज घिमिरे र रेशु तामाङ पनि समावेश भए । अब शोका लागि बलियो समूह निर्माण भएको उनीहरूको निष्कर्ष निस्कियो । त्यतिबेलासम्म पनि पूर्णरूपमा शो सफल हुन्छ भन्ने आँकलन गर्न गाह्रै थियो । त्यसैले पहिलो चरणमा अनलाइन अडिसन गरे र त्यसपछि ढुक्क भएर ‘शो’ सुरु गरे ।‘शो’ बारे कार्यकारी निर्माता केकी अधिकारीसँग गरिएको कुराकानीः

 

तपाईंको सुरुवाती रुचि हेर्दा कमेडीभन्दा फरक क्षेत्रमा थियो । एक्कासी कसरी कमेडीमा पुग्नुभयो ?
पछिल्लो समय हाम्रो समूहले कमेडी बेसमा कोहलपुर एक्सप्रेस फिल्म बनाएको थियो । कतिले मन पनि पराउनुभयो र कतिले आलोचना पनि गर्नुभयो । ती सबै प्रतिक्रिया हामीले स्वीकार्यौं । सोचे र चाहे जत्तिको राम्रो गर्न नसकिएको हो कि भन्ने पनि लाग्यो । अब केही नयाँ गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यति नै बेला रियालिटी शो र कमेडीको मार्केटका बारेमा हाम्रो कुरा भयो । स्ट्यान्ड अप कमेडीमा देखिएको युवा पुस्ताको आकर्षण विशेष थियो । तर, उनीहरूलाई समेट्ने खालका कामहरू केही पनि भएका थिएनन् । त्यसैले आँट गरेर कमेडी च्याम्पियनको सुरुवात गरेका हौं ।

नयाँ कुरामा हात हाल्ने आँट कसरी आयो ?
विशाल, रिमा र म ह्याङ आउट साथी पनि हौं । हामी एकअर्कामा रहेको आइडिया सेयर गर्थ्यौं । बेलाबेला कमेडीको विषयमा पनि कुरा गर्थ्यौं । साथीहरूले आँट्ने हो त भन्दा मैले आँट गर्न सकिरहेकी थिइन । लगानी, मेहनत र समयका हिसाबले रियालिटी शो धेरै ठूलो कुरा थियो । आफूले गरिरहेको काममा पनि परेन । निर्देशक विशाल भण्डारी भने निकै विश्वस्त हुनुहुन्थ्यो । उहाँले समूह बनाएर काम गरौं भनेपछि हामी त्यसको तयारीमा लाग्यौं । समूह बन्यो । मलाई यो काम हुन्छ भन्ने विश्वास नहुँदा नहुँदै पनि मैले आफ्नो जिम्मामा आएको काम गर्न थालेँ । स्पोन्सरहरूसँग मिटिङ गर्न थालेँ । स्पोन्सरहरूले हामीलाई विश्वास गर्नुभएन । किन भने फ्रेन्चाइज शोहरूको मार्केट थियो । उहाँहरू फ्रेन्चाइज हो भनेमात्र सहयोग गर्छौँ भन्न थाल्नुभयो । अब हामीसँग कमेडीको मार्केटलाई आफैं प्रमाणित गर्नुबाहेक अर्को उपाय थिएन । एउटा डिजिटल अडिसन गरेर हेरौं न त कस्तो रेस्पोन्स आउँछ भन्नेमा पुग्यौं । डिजिटल अडिसनमा यस्ता राम्रा–राम्रा प्रतिभाहरू आउनुभयो कि हामीले उहाँहरूबाटै हौसला पायौं । यसरी हामी अघि बढ्यौं ।

चलचित्रमा काम गरिरहेको मान्छे तपाईं । निर्माताका रूपमा रियालिटी शो, त्यसमाथि कमेडीमा अनुभव कस्तो रह्यो ?
चलचित्रमा त एक पटकमा एउटामात्र प्रोजेक्टमा काम गरेको जस्तो अनुभव हुन्थ्यो । यहाँ एकै पटक १० वटा प्रोजेक्टमा काम गरेको अनुभव हुँदोरहेछ । धेरै लगानी छ । फरक कुराको फरक–फरक डिपार्टमेन्टहरू छन् । सेट डिजाइनदेखि लिएर हरेक कुरा फरक छ । रियालिटी शोमा प्रिप्रोडक्सन भनेकै सेट डिजाइन हुँदोरहेछ । यो कुराले नै शोको रुप निर्धारण गर्दोरहेछ । अनुभव संगाल्ने क्रम अझै जारी छ ।

कमेडी शो मनोरञ्जन हो कि व्यापार ?
हामीले बिजनेसको दृष्टिकोणले पनि हेर्नुपर्छ । कमेडी शो मनोरञ्जन सँगसँगै व्यापार पनि हो भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । पछिल्लो समय फिल्मभन्दा कमेडीको मार्केट राम्रो देखिएको छ । कमेडीमा युवाको आकर्षण पनि गज्जबले बढिरहेको छ । मूल समूह सानो भए पनि कमेडी शोसँग जोडिएर आउने मानिसहरू त धेरै छन् नि । मानिसहरूले भोट गर्ने कुरा भयो, शो हेरेपछि प्रतिक्रिया दिने र शोकै लागि भनेर समय खर्चने कुराहरू छँदैछन् । मानिसहरूको इन्भल्मेन्ट फराकिलो हुन्छ भन्ने अनुमान हामीले पहिल्यै गरेका थियौँ । सुरुवाती केही शोहरू सिक्ने रुपमा आएका थिए । यहाँसम्म आइपुग्दा हाम्रो अनुभव निखारिएको छ । कमेडियनहरूको प्रतिभा पनि निखारिएको छ । दर्शकले पनि रुचाउन थाल्नुभएको छ । हामी नेपाली कसैको न तारिफ गर्छौँ न कसैको आलोचना नै । मानिसहरू आफैंमा कुण्ठा पालेर बसिरहेका छन् । यस्ता कुराले मानिसलाई डिप्रेसनसम्म लान्छ । कमेडीमार्फत यी कुराहरू कम हुँदै गएका छन् । कमेडी होस् या फिल्महरू यी कुराले मानिसलाई आनन्द दिइरहेका छौं ।

पछिल्लो समय कमेडी फिल्मलाई दर्शकले विश्वास गरेको र राम्रो कमाई गरेको विधा कमेडी बनिरहेको अवस्थामा फिल्ममार्फत नै हामी दर्शकलाई हँसाउँछौं र व्यावसायिक बन्छौं भन्ने लागेन ?
नेपाली फिल्मले दर्शकलाई इमोसनल बनाउन सक्दैनन् । गहिरो अध्ययन गरेर कन्टेन्ट तयार पारिएको हुँदैन । यो कुरा सबैलाई थाहा छ । तर, दर्शकहरू यिनीहरूले हँसाउन सक्छन् भन्ने कुरामा चाहिँ विश्वस्त हुनुहुन्छ । त्यसले गर्दा पनि हामीलाई अलि सहज भएको हो बजार थाहा पाउनका लागि । त्यसै कमेडीले आर्थिक र बौद्धिक दुवै रूपमा फाइदामा जान्छ भन्ने हामीलाई लागेको थियो । त्यसैले दर्शकले रुचाएको कुरालाई हामीले अघि बढाएका हौं । अर्को कुरा फिल्म त अरूले पनि गरिरहनुभएको छ नि । हामी अलि नयाँ र फरक गर्न चाहन्थ्यौं । फिल्ममार्फत एक पटकमा एक–दुई जनालाई अवसर दिन सकिन्छ । तर, शोमार्फत त एकै पटकमा धेरैले अवसर पाउने भए नि ।

कमेडी पनि एउटा आर्ट फर्म नै हो । तर, यो अलिकति भल्गर भइरहेको छ जस्तो लाग्दैन तपाईंलाई ?
रोस्टिङ, क्यारिकेचरदेखि लिएर हरेक कुरामार्फत आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण हुन्छ । एउटा बाउन्ड्रीमा बसेर पनि यो कुरालाई प्रस्तुत गर्न सकिन्छ भने यो त सुनमा सुगन्ध भयो नि । एकातर्फ टेलिभिजन १६ वर्षभन्दा माथिका लागि मात्र हो भन्ने मान्यता पनि छ । त्यसैले कन्टेन्टहरू धेरै एड्भान्स नहोस् र समाजले पचाउने खालकै होस् भन्ने कुरामा हामी ध्यान दिन्छौं । हामी यसलाई पारिवारिक शो बनाउनका लागि के–कस्ता कन्टेन्ट हाल्ने भन्ने कुरामा ध्यान दिन्छौं । अर्को कुरा जुन कुरालाई हामी कसैको चित्त दुखाउने रुपमा लिइरहेका छौं, त्यो चिजमा कमेडी गर्दा कतै उसलाई हर्ट गर्दैन कि भन्ने हिसाबले पनि हामी सोच्छौं । हामी आफै कला क्षेत्रमा भएकाले हामी कलाको कदर गर्छौं । कमेडी एउटा कला हो । कमेडियनहरू पनि कलाकार हुन् । कसैलाई लगातार पाँच, १० या २० मिनेटसम्म हँसाउनु भनेको सानो कुरा होइन । त्यति सहज पनि छैन ।

कलामार्फत हाँसोलाई व्यापारको पाटो बनाइरहनुभएको छ । यतिसम्म आम्दानी हुनुपर्छ भन्ने कुनै योजना थियो ?
चलिरहेको कुराभन्दा फरक कुरा गर्दा या आउँदा त्यसलाई स्वीकार्न गाह्रो हुन्छ । स्वीकारिसकेपछि त्यसका आयामहरूमा विस्तारै परिवर्तन हुँदै जालान् । हिजो यही कुरालाई अस्वीकार गर्नुभएका स्पोन्सरहरूले आज यसलाई स्वीकार्नु नै सबैभन्दा ठूलो कुरा हो । जब उसलाई त्यस कुराले मनिटरिङ भ्यालुमा केही रिटर्न दिँदैन भने उसलाई आफ्नो खल्तीको पैसा सित्तैमै किन दिने ? सुरुवाती क्षणमा हामीले पाएको रेस्पोन्स हेर्दा स्पोन्सरहरूले एकदमै सकारात्मक रूपमा लिइरहनुभएको छ । समूह, ब्रान्ड र कमेडी आफैं एउटा तहमा पुगिसकेको छ । यी चिजहरूबाट एउटा सिस्टम नै दौडिरहेको हुन्छ । जब कुनै मानिसले कुनै कुरामा इन्भेस्ट गर्छ भने उसको दुई वटा उद्देश्य हुन्छ । एउटा पैसा कमाउने, अर्को समाजलाई केही योगदान पुर्‍याउने । हामीले कमेडी च्याम्पियन एउटा प्रोजेक्टको रूपमा सुरु गरेको हो । तर, हाम्रा माथिका दुवै उद्देश्य छन् । हामी अरूको फिल्म खेल्दा निर्मातालाई बचाउन लागिरहेका हुन्छौं भने आफैं लगानी गरेको चीजको महत्व नहुने कुरै भएन । तर, पहिलो सिजन भएकाले हामीलाई नाफाको त्यति धेरै लोभ थिएन । घाटा हुनुहुन्न भन्नेमा थियौं  ।

तपाईंहरू अहिले जसरी प्रस्तुत भइरहनुभएको छ । यो स्ट्यान्ड अप कमेडीको एउटा बृहत् रूप हो भन्ने धेरैलाई लाग्छ । भविष्यमा यसलाई स्ट्यान्ड अप कमेडीभन्दा फरक देखाउने कुनै योजना छ ?
हाम्रो विधा कमेडी हो । हामीले अर्को जेनेरेसनलाई तयार पारेका हौं । अहिलेको जमाना भनेको मल्डिमिडियाको हो । अर्को जेनेरेसन अझ निखारिएर आउँछ । त्यसैले उहाँहरू एउटै कुरामा रुमलिनुहुन्न । समयसँगै यसका आयामहरू परिवर्तन हुँदै जान्छन् । हामी हाँस्ने र हँसाउने कुरामा मात्र पनि सीमित छैनौं । भविष्यमा यही धारमा कमेडी शो चल्नुपर्छ भन्नेमा पनि हामी दृढ छैनौं । समय, परिवेश र अवस्थाअनुसार परिवर्तन हुँदै जाला । अहिले हामी सिक्ने फेजमा छौंँ । सिकेका अनुभवका आधारलाई लागू गर्दै जान्छौं ।

कमेडी शो र फिल्ममा के फरक रहेछ त ?
कमेडियन आफैं हिरो हो । फिल्ममा एउटा हिरो हुन्छ भने यहाँ धेरै हिरोहरू हुन्छन् । फिल्म कसैले बनाउने हो । कमेडीमा व्यक्ति आफैं हाबी हुन्छ । फिल्म रिलिज भएपछि त्यो अडियन्सको हातमा जान्छ । हामीले केही गर्न सक्दैनौँ । तर, रियालिटी शोमा पहिलो र दोस्रो एपिसोडमा आफ्नो कमजोरी पत्ता लगाउनुभयो भने तेस्रो एपिसोडमा त्यसलाई सुधार गर्न सक्नुहुन्छ । आफूलाई सुधार गर्दै झन्पछि झन् राम्रो गर्ने अवसर तपाईंले पाउनुहुन्छ । पहिला नाटक र फिल्ममा यस्तै फरक हुन्थ्यो । अहिले फिल्म र रियालिटी शोमा त्यो फरक देखिएको छ । हामी कमेडीमा हरेक हप्ता नयाँ कन्टेन्टमा काम गर्ने हुँदा कसरी आजभन्दा भोलि राम्रो गर्ने भन्ने हुन्छ । फिल्मले नेपाली मार्केटलाई टार्गेट गरेको हुन्छ भने कमेडी विश्वव्यापी रूपमा अगाडि आउँछ ।

कमेडी च्याम्पियनलाई पनि सबैले सकारात्मक रूपमा मात्र लिएका छैनन् । नकारात्मक कमेन्टहरू पनि आइरहेका छन् । यस्ता कमेन्टले कस्तो खाले चुनौती महसुस गरिरहनुभएको ?
गलत कुरालाई हामीले सहजै स्वीकार्न सक्नुपर्छ । सही कुरालाई पनि कसैले गलत भनिरहेको छ भने त्यो गलत हो । आफूले गरिरहेको कुरामा कुनै तुक छैन भने ऊ थाक्छ । तुक छ भने प्रयास गरिरहन्छ । सबैभन्दा पहिले आफू राम्रो हुनुपर्छ । त्यसपछि अरुको प्रतिक्रिया लिने या नलिने भन्ने दोस्रो पाटो हो । आजका अडिएन्स नै चेतनशील हुनुहुन्छ । उहाँहरू राम्रो र नराम्रो कुरालाई छुट्याउन सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।


होस्टिङमा पनि चुनौती थियो

रिमा विश्वकर्मा, होस्ट

कमेडी रियालिटी शो र अन्य शोमा होस्टिङ गर्नुमा केही फरक पाउनुभयो ?
रियालिटी शोमा होस्ट गर्नुअघि मेले थुप्रै इभेन्टहरू होस्ट गरिसकेकी थिएँ । होस्टिङ आफैंमा नयाँ नभए पनि मेरो लागि कमेडी भने नयाँ थियो । टिभीमा शो सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै हामीले तयारी सुरु गरेका थियौं । स्ट्यान्ड अप कमेडी हेरिरहेका थियौं । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सोचिरहेका थियौं । त्यो चुनौती थियो । काम गर्दै जाने क्रममा त्यसलाई हामीले अवसरमा बदल्यौं । मैले पनि जसरी हुन्छ, आफ्नो प्रस्तुतिलाई कमेडीमय बनाउने कोशिस गरेँ ।

यो समूहसँग कसरी जोडिनुभयो ?
केकी, म, विशाल भण्डारीजी कोहलपुर एक्सप्रेसमा काम गरिसकेका थियौं । हामी करिएरको यस्तो फेजमा थियौं कि हामी काम कुरेर बस्नुभन्दा कामको सृजना गर्नुपर्छ भन्ने भयो । हाम्रो समूह प्रोग्रेसिभ प्रकृतिको छ । अब के गर्ने भन्ने सोच्छौं । नेपालमा के छैन भनेर सोच्दै जाँदा कमेडी च्याम्पियनको विचार आएको हो ।

कमेडीको क्रेज किन बढेको होला ?
विश्वव्यापी रूपमा कमेडी बिकिरहेको छ । समाज यति प्रतिस्पर्धात्मक भयो कि अरुलाई जित्ने, अरूभन्दा माथि जाने तनाबमा हामी सानो सानो कुरामा पनि हाँस्न बिर्सिरहेका छौं । यस्तो बेला योगलगायतका कुरा चर्चामा आइरहेको छ । मानिसमा आफ्नो लागि समय निकाल्नुपर्छ भन्ने भावनाको विकास भइरहेको छ । अर्थात, मान्छेलाई यतिबेला मनको शान्ति चाहिएको छ । कमेडीले मानिसलाई तनावमुक्त बनाउँछ । हरेक विधामा कमेडी जोडियो भने त्यसले सहजता निम्त्याउँछ । यो विधा ग्रहण गर्न पनि सहज छ । त्यसैले यसको क्रेज बढेको हो भन्ने मलाई लाग्छ । 

Page 22
Page 23
केवल एक प्रश्न

नयाँ सभामुखलाई तपाईंको सुझाव के छ ?

- साप्ताहिक संवाददाता

पार्टीहितभन्दा पनि देशहितका विषयवस्तुलाई प्राथमिकता दिई सोहीअनुसार सदन अघि बढाउनुहोला ।
हेमन्त शर्मा, गायक

आफ्नो छवि खस्किन नदिनुहोला । साथै, तपाईंमाथि लागेको आरोपलाई प्रक्रियागत ढंगले सल्ट्याउनुहोला ।
प्रमोद अग्रहरी, अभिनेता

सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि पहल गर्नुहोला ।
विपिन कार्की, अभिनेता

उहाँलाई सफल कार्यकालको शुभकामना । उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसैले अब संसद्लाई जागरूक गराएर संसद् भरिभराउ बनाउने, संसद्को गरिमा जोगाउने, नियम पालना गर्ने र प्रतिपक्षका पनि कुरा सुन्दै राष्ट्रलाई हित हुने निर्णय गर्नुहोला ।
जितु नेपाल, हास्यकलाकार

सर्वप्रथम सभामुख बन्नुभएकोमा हार्दिक बधाई । सम्पूर्ण राजनीतिक दलहरूलाई एकतामा ल्याएर नेपालको अन्योलपूर्ण राजनीतिक अवस्थालाई सुधार ल्याउने काम गर्नुहोला ।
बादल घिमिरे, संगीतकार

उहाँ एउटा शिक्षक पनि हो, त्यसैले सदनमा सांसदहरूलाई मिलाएर पढाउन सक्ने क्षमता उहाँसँग धेरै छ । हामी कलाकारले के सुझाव दिनु र ? तर, एमसीसी पास नगराए चाहिँ कुनै काण्डमा जेल जाने सम्भावना देखिन्छ । सावधान रहनुहोला ।
दिनेश काफ्ले, हास्यकलाकार

सबै दलको भावना समेटेर कुनै दल विशेषभन्दा पनि राष्ट्रको हितमा काम गर्न सुझाव दिन्छु ।
दीपेन्द्र के खनाल, निर्देशक

काकालाई शुभकामना ! देश र जनताले सधै सम्झने काम गर्नुहोला ।
भोलाराज सापकोटा, कलाकार

राष्ट्रको हितमा आएको विषयमा मात्र निर्णय लिँदा राम्रो होला ।
टेकेन्द्र शाह, भिडियो एडिटर

सभामुख भएपछि मुख जोगाउनुहोला । मुखमा रक्सी थोपै नहाल्नुहोला, जथाभावी नबोल्नुहोला ।
राजा राजेन्द्र पोखरेल, हास्यकलाकार

कृपया अबदेखि संसद् भवनको कुर्सी टेबल भाँच्न हुँदैन भनेर सिकाउनुहोला है ।
शंकर बीसी, निर्देशक तथा मोडल

एउटा राजनीतिक दलको मात्र मुख नभएर सबैको राजनीतिक दलको मुख बन्न पर्छ कि ?एकनारायण भण्डारी, गीतकार तथा संगीतकार सदन राम्रोसँग चलाउन सक्नुहोस्, शुभकामना ।
राजनराज शिवाकोटी, गायक

प्रतिनिधिसभामा महिलाको हकमा आउने विषयवस्तुलाई चासो दिनुहोला ।
सुरक्षा पन्त, अभिनेत्री

नेतृत्वलाई सुझाव दिनु भनेको भगवान्लाई भेटी चढाउनु जस्तै हो, स्वीकार गर्छन् कि गर्दैनन् थाहै हुन्न । त्यसैले म सुझाव हैन, कामना मात्र गर्न सक्छु । सभामुख मामा (मेरा मावली सापकोटा हुन् क्या) । महराको जस्तो दुर्दशा, दुर्भाग्य र दुर्नाम नहोस् । हिसाब मिलाएर काम गर्नुहोला, शुभकामना ।
मनोज गजुरेल, हास्यकलाकार

सभामुख सदनको उच्चतम निर्णायक पद हो । त्यो पदको मर्यादा पनि उच्चतम हुने गर्छ । सभामुख आफ्नो दलप्रति बढी उत्तरदायी हुँदा या आफू आएको दलको दलगत स्वार्थबाट माथि उठ्न नसक्दा कतिपय राष्ट्रिय मुद्दामा पूर्वसभामुखहरू पूर्वाग्रही भएजस्तो देखिँदै आएको अवस्थामा अहिले सदनले नयाँ सभामुख पाएको छ । खास गरी प्रतिपक्षको आवाज दबाउने काममा कृष्णबहादुर महरा अगाडि देखिएजस्तै नयाँ सभामुखबाट त्यस्तो नहोस् भन्न चाहन्छु । दुईतिहाइ बहुमतको बलमा प्रतिपक्षलाई सरकारले ‘कुहिनाले ठेलेर’ निर्णय गर्न थालेको अवस्थामा समेत सभामुख सरकार पक्षीय भएर नबसून् । सबैलाई समान अवसर प्रदान गरून् । नैतिक रूपमा समेत उच्च नैतिकता प्रदर्शन गरून् । निर्वाचित भएकै दिन उनलाई बधाई दिन आएका अन्य सांसदहरूले हात मिलाउन खोज्दा समेत वास्ता नगरेर शीर्षस्थ नेतालाई भेट्न देखाएको हतार हेर्दा खासै राम्रोसँग जिम्मेवारी बहन गर्लान् भन्नेमा शङ्का लाग्छ । फेरि पनि उनीमाथि लागेका मुद्दाहरूको छिटै न्यायिक निरूपण होस् र सफलतापूर्वक कार्यकाल पूरा गरून् ।
दुर्गा पंगेनी, गीतकार

नयाँ सभामुखलाई मेरो सुझाव : सहस्र विद्रोहबाट सत्तामा पुग्नुभएको तपाईंको पार्टीको छाप आज पनि उही छ, हिजोको दिनका मुद्दा अझै सम्बोधन हुन सकेका छैनन् । हिजो तपाईं जिद्रोही भइरहँदाका मुद्दा धेरै छन्, तैपनि सडकमा तपाईंविरुद्ध नाराबाजी भइरहँदा पनि सरकारले तपाईंलाई सभामुख बनाएको छ । तपाईंको सरकार सफल रहोस् ।
चन्द्रमणि गौतम, सञ्चारकर्मी

देश र जनताको हितको सवालमा उठेका कुरालाई राजनीतिक आँखाले नहेरी पारित गराउनुहोला ।
सुशीला गौतम, गायिका

संसद्ले तपाईमा केही देखेरै तपाईंलाई सभामुखमा चयन गर्‍यो होला । त्यसैले आफ्नो कार्यकालमा राष्ट्रहितका लागि कदम चाल्नुहोला ।
पूर्णिमा लामा, अभिनेत्री

अग्नि परीक्षामा अग्नि सर ? म र मेरो मात्र नसोच्नु, ३ करोड नेपाली छन्, उनीहरूको पनि भनेर परीक्षा दिनु भन्छु ।
सुष्मा महरा, ब्युटिसियन

देश अहिले अलिक कठिनाइ अवस्थामा छ । किनभने धेरै युवा वैदेशिक रोजगारीका लागि बाहिरनुपर्ने अवस्था छ । हाम्रै देशमा नयाँ पुस्तालाई आकर्षण गरेर यही काम गर्ने वातावरण बनाइदिनुहोला । जति युवा बिदेसिन्छन्, त्यति नै देश पछाडि पर्दै गइरहेको छ । नयाँ सीप, नयाँ चुनौती र नयाँ अवसर पाएन भने हामीले कहिल्यै प्रगति गर्ने बाटो पाइँदैन । त्यसकारण प्रगतिका लागि हामी आफैं लागिपर्नुपर्छ र उहाँहरूले यस्तो प्लेटफर्म बनाइदिनुपर्‍यो कि युवाहरूले आफ्नो कुरा प्रस्ट राख्न पाउनुपर्‍यो ।
स्मृति पोखरेल, गायिका

सभामा मुख मात्र देखाउने होइन, मन पनि देखाउनु ।
रवीन्द्रसिंह बानियाँ, कलाकार

शरीर र नाकजस्तै काम पनि लामो समय सम्झिने गर्नुहोला ।
लोकेन्द्र लेखक, कलाकार

अपराध बोध गरेर कानुनसम्मत आफूलाई प्रहरीलाई सुम्पनुस् ।
भूपेन्द्र खड्का, गीतकार

सभामुखले जे भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निष्पक्ष भएर निर्वाह गर्नुहोला ।
राम अविरल, गीतकार

पार्टीलाई भन्दा राष्ट्रलाई ध्यान दिन सक्नुहुन्छ कि हुन्न । जो अन्यायमा परेका छन्, तिनीहरूलाई न्याय दिलाउन के गर्न सक्नुहुन्छ ? न्यायलाई मार्नु हुँदैन ।
देवीराम पराजुली ‘भोकलाग्यो’, कलाकार

राज्यसत्ता सञ्चालन गर्ने सञ्चालकहरूले आफ्नो पदको महत्त्व बुझेनन् । आफ्नो पदको मर्यादाअनुसारको आचरण गरेनन् । नेताहरूमा पदअनुसारको आचरणका लागि शिक्षाकै कमी भएको महसुस सबै जनमानसमा भइरहेको परिप्रेक्ष्यमा वर्तमान सभामुखले पदीय मर्यादा कायम राख्दै, विधिको शासनले निर्दिष्ट काम–कर्तव्यलाई अक्षरशः पालना गर्न र संसद् तथा सांसदहरूलाई राजनीतिक मूल्य–मान्यतामा अगाडि बढाउन आग्रह गर्छु ।
सुमन दाहाल, निर्देशक

न्याय, समानता र कानुनी शासनसहितको समृद्ध र राष्ट्रिय हितका लागि इमानदार, समझदार र जिम्मेवार भएर लाग्नुहोस् ।
लक्ष्मण शेष, संगीतकार

Page 24
अपराध

भयावह मानव तस्करी

महिला उच्च जोखिममा, बालबालिकामाथि पनि उत्तिकै जोखिम
- जनक तिमिल्सिना
  •  २९ मंसिरमा २२ वर्षीया पढेलेखेकी युवती रमिला (नाम परिवर्तन) लाई मोडलिङको अफर आयो । ५ फिट ११ इन्च हाइट भएकी रमिलाको भिडियो सुट गरेर लिइयो । सुरुमा २० हजार भनिएको पारिश्रमिक ४ दिनपछि ५० हजारसम्म पुर्‍याइयो । प्रस्ताव राम्रो देखेपछि युवतीले नकार्न सकिनन् । सुरुमा काठमाडौं गर्ने भनिएको कार्यक्रमपछि विराटनगर भनेर उनलाई टिकटसमेतको व्यवस्था गरेर उत्तै लगियो । समूहका व्यक्तिहरूले महिनावारी, मासु खाने/नखानेलगायतका अनौठा प्रश्न सोधेपछि रमिला पहिला आफैं प्रहरीकहाँ पुगेकी थिइन् । पछि कार्यक्रममा जाँदा उनले यो कुरा आफन्तमार्फत प्रहरीकहाँ पुर्‍याइन् । १० पुसमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ‘तान्त्रिक पूजा’का लागि भारत लैजाने तयारी गरिरहेको समूहका १ महिलासहित ७ जनालाई पक्राउ गर्दै विराटनगरबाट उनको उद्धार गर्‍यो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले मोटो रकम पाउने आशामा युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजना प्रहरीले असफल पारेको बताए ।
  •  १२ भदौमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले चीनमा विवाहको आडमा नेपाली महिलाको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्‍यो । विवाह गरेर चीन जाने प्रक्रियामा रहेका चार जना पीडित युवतीको उद्धार गरेको टोलीले उक्त कार्यमा संलग्न दुई जना चिनियाँ नागरिक र चार जना नेपालीलाई पक्राउ गर्‍यो । नेपाली युवतीहरूलाई चिनियाँ युवकसँगको विवाहमा लोभ्याएर चीनमा ओसार–पसार गर्ने कार्यमा उक्त गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुल्न आयो ।
  •  अध्ययनका लागि अस्ट्रेलिया लैजाने भनेर इन्डोनेसिया पुर्‍याएर अलपत्र पारेको उजुरीका आधारमा गत भदौमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गर्‍यो । उक्त गिरोहले आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी नेपालका विभिन्न स्थानबाट काठमाडौं ल्याउने साथै ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक प्रयोग गरेर अस्ट्रेलिया भिसा लगाउने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिएर काठमाडौं, मलेसिया हुँदै इन्डोनेसियामा पुर्‍याउने, त्यहाँ उनीहरूका राहदानी, नगद तथा भिसासमेतका कागजातहरू नियन्त्रणमा लिएर भारतीय मूलका व्यक्तिहरूसँग मिलेर बन्धक बनाएर कुटपिट गर्ने तथा चरम आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।

 

यीतीन त मानवताविरुद्धकै अपराध मानिने मानव बेचबिखन फरक शैलीमा कसरी हुँदैछ भन्ने दृष्टान्त मात्रै हुन् । बढ्दो आर्थिक क्रियाकलाप, बेरोजगारी तथा मानिसहरूमा विकसित असीमित लालसाका कारण पछिल्ला वर्षहरूमा अनेक बहानामा नेपालबाट हुने मानव तस्करीका घटना डरलाग्दो किसिमले बढिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षमा मात्रै मानव बेचबिखनसम्बन्धी १ हजार ५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । ती घटनाहरूमा संलग्न १ हजार १ सय ७६ जना पक्राउ परेका छन्, जसमध्ये नेपाली ८ सय ११ जना पुरुष र ३ सय १९ जना महिला छन् । यस्तै, ४३ जना विदेशी पुरुष र ४ जना महिला पनि समातिएका छन् । प्रहरी तथ्यांकले ती घटनामा संलग्न स्वदेशी तथा विदेशी गरी १ हजार ९ सय १९ जना फरार रहेको देखाएको छ ।
चालू आर्थिक वर्षमा प्रहरीले उपत्यकासहित देशका विभिन्न ठाउँबाट मानव तस्करको चंगुलमा परेका २ हजार ३ सय ३४ जनालाई उद्धार गरेको छ भने विदेशका विभिन्न ठाउँबाट २ सय ५० जनाको उद्धार गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनले अझ गम्भीर तथ्य बाहिर ल्याएको छ । उक्त प्रतिवेदनमा नेपालमा गत वर्षमात्रै ३५ हजार व्यक्ति मानव बेचबिखनमा परेको उल्लेख छ ।
यो डरलाग्दो आँकडालाई निरुत्साहित गर्नकै लागि गत वैशाख अन्तिममा नेपाल प्रहरीले छुट्टै ‘मानव बेचबिखन अनुसन्धान ब्युरो’ नै स्थापना गर्‍यो । मानव तस्करीजस्तो अन्तर्राष्ट्रिय सन्जाल भएको संगठित अपराध नियन्त्रण गर्न विशेष जनशक्ति र स्रोत साधनसहित गठन भएको ब्युरोले ९ महिनामै मानव बेचबिखनका २३ मुद्दामाथि अनुसन्धान गर्‍यो । ती घटनाबाट मानव तस्करहरूको फन्दामा परेका २ सय ७२ जनालाई उद्धार गरिएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलिया बताउँछन् । ब्युरोले नेपालभित्रका साथै भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मालवी, म्यानमारलगायतका देशहरूबाट मानव तस्करको चपेटामा परेकाहरूको उद्धार गरेको हो ।
प्रहरीको केन्द्रीय तथ्यांकले अझ डरलाग्दो आँकडा देखाउँछ । उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै प्रहरीले स्वदेशका विभिन्न स्थानबाट २ हजार ३ सय २४ लाई मानव तस्करहरूको चंगुलबाट उद्धार गरेको देखाएको छ । एक वर्षमा यति धेरै मानिस मानव तस्कर र दलालहरूको फन्दामा पर्नुलाई स्वाभाविक मान्न सकिँदैन ।
पढेलेखेको आधुनिक समाजमा अवैध लागूऔषध र हातहतियारको कारोबारपछि संसारमै तेस्रो ठूलो संगठित अपराध मानिने मानव बेचबिखन तथा ओसार–पसार किन मौलाइरहेको छ त ? नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भौतिक सुविधाप्रतिको ‘लालसा’ नै मानव बेचबिखनको प्रमुख कारण रहेको बताउँछन् । ‘भौतिक सुविधाप्रतिको लालसा नै मानव बेचबिखनको प्रमुख कारण हो,’ उनी भन्छन्, ‘मानिसहरू अशिक्षा, जनचेतना अभावलाई कारण मान्छन्, त्योभन्दा हाम्रो समाज निकै अघि आइसक्यो ।’
थापा क्षेत्री स्वाभाविक प्रश्न गर्छन् ? त्यसो भए स्नातकोत्तर पढेको मानिस कसरी मानव तस्करहरूको फन्दामा परिरहेको छ त ? हुन पनि हो, घटनाक्रमहरूले स्नातकदेखि स्नातकोत्तरसम्म पढेका मानिसहरू तस्करको फन्दामा परिरहेका देखाउँछन् ।


थापा क्षेत्री थप्छन्, ‘यदाकदा अशिक्षा र जनचेतना अभावले गर्दा मानव बेचबिखनमा परेका घटना होलान् । तर, बढी बेस्ट अपर्च्युनिटीको खोजीका क्रममा मानव बेचबिखनमा परेको देखिन्छ ।’ प्रहरी प्रवक्ता थापा क्षेत्रीको तर्कसँग राष्ट्रिय मानव अधिकार आयोगकी उपनिर्देशक मन्जु खतिवडा पनि सहमत देखिन्छिन् । ‘मीठो खाने, राम्रो लाउने र फेसनप्रतिको आकर्षणले पनि मानव बेचबिखन बढाएको छ,’ खतिवडा भन्छिन्, ‘सबै जनालाई पैसा चाहिएको छ । त्यसैले वैदेशिक रोजगारी रोज्छन्, बेचबिखनमा परिएला भनेर ख्यालै गर्दैनन् ।’
प्रहरीको मानव बेचबिखनसम्बन्धी एक प्रतिवेदनले गरिबी, रोजगारीको अवसर पर्याप्त नहुनु, अनियन्त्रित सञ्चालनमा रहेका रोजगारदाता संस्था तथा दलालहरू, धन–सम्पत्ति कमाउने तीव्र चाहना र नेपाल भारतबीच खुला सिमानालाई मुख्य मानव तस्करीका कारण मानेको छ । रोजगारमा लगाउने, उच्च अध्ययन गर्ने, स्थायी आवासीय अनुमतिपत्र बनाइदिने, झूटा विवाह वा नाता सम्बन्ध तयार गरेर लैजाने, खेलकुद वा सांस्कृतिक वा सेमिनारमा भाग लिने, रोगको उपचार वा अन्य तरिकालगायतका बहानामा केही वर्षयता मानव तस्करी भइरहेको उक्त प्रहरी प्रतिवेदनको निष्कर्ष छ । ‘मानव तस्करीको अवस्थाको बयान गरेर साध्य छैन,’ ब्युरोका प्रवक्ता थपलिया भन्छन्, ‘मानव तस्करीका मुख्य कारणका रूपमा गरिबी र बेरोजगारी नै मुख्य हुन् । व्यक्तिगत रूपमा विदेश जाँदा ध्यान नदिने कारण धेरैजसो मानव बेचबिखनको सिकार भइरहेका छन् ।’ उनका अनुसार घरेलु हिंसा, पारिवारिक विखण्डनजस्ता कारण पनि महिलाहरू मानव बेचबिखनको सिकार भइरहेको घटनाक्रमहरूले देखाउँछ ।
यसमा धेरथोर पैसा कमाउने ध्याउन्न बोकेका रिक्रुटमेन्ट एजेन्सीहरू पनि दोषी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘इथिकल बिजनेसमा ध्यान नदिँदा पनि यस्ता समस्या बढिरहेका हुन्,’ थपलिया भन्छन् । खुला सीमा, अनअराइभल भिसा दिने देशहरूको भिसा पोलिसीजस्ता कारणले पनि मानव बेचबिखनका घटनामा बढोत्तरी भइरहेको छ । अनअराइभल भिसा पाइने देशहरूमा पुग्न सजिलो हुने भएकाले कतिपय मानव तस्करहरू त्यस्तो देशमा लगेर त्यहाँबाट अन्य देशहरूको भिसा लगाउने प्रयास गर्छन् ।
प्रहरी तथा विभिन्न संघ–संस्थाको पहलका बाबजुद पनि नेपालमा मानव बेचबिखन किन नियन्त्रण नभएको हो त ? सुनिता फाउन्डेसनकी प्रमुख तथा चेलीबेटी बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार यसका लागि युवाहरूलाई टार्गेट गरेर नीतिहरू ल्याउने र युवा इम्पावरमेन्ट गरेर उनीहरूलाई सीप तथा रोजगारी दिलाउनुपर्ने बताउँछिन् । भन्छिन्, ‘युवामैत्री नीति, उनीहरूको इम्पावरमेन्ट र सीप तथा रोजगारी दिलाउनु नै यसको न्यूनीकरणको उपाय हो ।’ मानव बेचबिखन वर्षैपिच्छे डरलाग्दो रूपमा बढिरहेको उल्लेख गर्दै उनी यसलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने र पार्टीहरूले आफ्नो एजेन्डामा समेट्नुपर्नेमा जोड दिन्छिन् । उनी पीडितहरू समाजमा विस्थापित हुने र दलालहरूले राजनीति आडमा खुलेआम हिँड्ने अवस्थामा अन्त्य नभएसम्म मानव बेचबिखनविरुद्धको अभियान टुंगोमा पुग्न नसक्ने दाबी गर्छिन् ।
दनुवारजस्तै आयोगकी उपनिर्देशक खतिवडा पनि राजनीतिक संरक्षणले गर्दा मानव बेचबिखन न्यूनीकरणलाई समस्यामा पारेको बताउँछिन् । भन्छिन्, ‘आइडेन्टीफाई भएका पीडकहरू राजनीतिक संरक्षणका कारण सजिलै उम्कन्छन्, जसका कारण उनीहरू पुनः यही कार्यमा आउँछन् । मानवता विरुद्धको अपराध भएकाले पीडकहरूमाथि कडाभन्दा कडा कारबाही आवश्यक देखिन्छ ।’ राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नेपालले मानव बेचबिखन अन्त्य तथा न्यूनीकरण गर्न पर्याप्त कदमहरू सञ्चालन गरेको भए तापनि बेचबिखनका सबै क्षेत्र र जोमिखतालाई सम्बोधन गर्न नसक्नु, कानुनी कारबाहीमा पर्याप्त सुधार हुन नसक्नु र प्रभावितहरूको उद्धार तथा संरक्षणमा रहेको कमजोर लगानीका कारण नेपाल मानव बेचबिखनविरुद्ध सक्रिय पहिलो राष्ट्र हुन नसकेको उल्लेख छ ।
त्यसो भए बेचबिखन न्यूनीकरणका लागि कस्ता प्रयास आवश्यक छन् त ? आयोगकी उपनिर्देशक खतिवडा बेचबिखनमा रहेका जोखिमहरू न्यूनीकरण गर्न जनचेतना अति आवश्यक र शिक्षा महत्त्वपूर्ण रहेको बताउँछिन् । ‘अहिले बेचबिखनमा संलग्नहरूले नयाँ–नयाँ शैलीहरू अपनाइरहेका छन्,’ उनी भन्छिन्, ‘किशोर–किशोरीलाई प्रलोभनमा पारेर फसाइरहेको देखिन्छ । त्यसैले उनीहरूमा सचेतना जगाउन जरुरी भइसकेको छ ।’

बेचबिखनका ट्रान्जिट
नेपालबाट हुने मानव बेचबिखनको पहिलो ट्रान्जिटका रूपमा भारतलाई दलालहरूले प्रयोग गरेको देखिन्छ । त्यसको प्रमुख कारण नेपाल–भारतबीचको निर्वाध खुला सीमा हो । त्यसबाहेक इन्डोनेसियालाई पनि उनीहरूले अर्को ट्रान्जिटका रूपमा प्रयोग गर्छन् । किनभने, इन्डोनेसियाले नेपालीलाई अनअराइभल भिसा दिन्छ । दलालहरू इन्डोनेसिया पुर्‍याएर त्यहाँबाट अस्ट्रेलिया, क्यानाडा र अमेरिकाजस्ता देशहरूमा अवैधानिक रूपमा पुर्‍याउने नाममा लाखौं रकम झ्वाम पार्छन् । त्यहाँ पुर्‍याइएका नेपालीमाथि चर्को आर्थिक, शारीरिक तथा मानसिक शोषणसमेत थोपर्छन् ।
नेपालीहरूलाई दलालले पुर्‍याउने बेचबिखनका डेस्टिनेसनहरूमा भारत, खाडी मुलुक, अमेरिका, युरोप, माल्दिभ्सजस्ता देश हुन् । महिलाहरूलाई मनोरञ्जन र सेवा तथा सत्कारका क्षेत्रमा लगाउने भनेर अवैध रूपमा त्यहाँ पुर्‍याइन्छ । त्यहाँ पुर्‍याएपछि दलालहरूले रेस्टुराँमा नर्तकी बनाउनेदेखि यौनजन्य कार्यमा लगाउने काम गर्ने गरेको घटनाक्रमहरू देखाउँछन् । यसरी मनोरन्जनको क्षेत्रमा लगाउने भनेर दलालहरूले अफ्रिकन मुलुकमा पनि नेपाली चेलिबेटीहरूलाई पुर्‍याउने गरेको देखिन्छ । अफ्रिकन देशहरू केन्या, तान्जानिया, सुडान, लिबियादेखि द्वन्द्वग्रस्त इराकजस्ता देशहरूमा पनि नेपालीहरू पुर्‍याइएका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पछिल्ला ९ महिनामा भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मालवी, म्यानमारलगायतका १० देशबाट मानव बेचबिखनका दलालहरूको पन्जामा परेका नेपालीहरूलाई उद्धार गरेको देखिन्छ ।
रोचक पक्ष त के भने कुनै समय नेपाली युवतीहरूलाई नक्कली विवाह गरेर दक्षिण कोरिया पुर्‍याइन्थ्यो । पछिल्लो समय दुलही बनाएर मानव तस्करी हुने देशमा चीन पनि थपिएको छ । ‘दुलही बनाएर मानव बेचबिखन हुने देशहरूमा त दक्षिण कोरिया र चीन नै देखिएका छन्,’ एसपी थपलिया भन्छन्, ‘अरू देशहरूमा यसरी हुने मानव तस्करीका घटना सतहमा आएका छैनन् ।’ उनका अनुसार यौनशोषण र यौन व्यवसायमा लगाउने, पैसा कमाउने कामका लागि महिलाहरूलाई दलालहरूले फन्दामा पारेर तस्करी गरेर लैजान्छन् भने पुरुषहरूलाई भने बाध्यकारी काममा लगाउन दलालहरूले तस्करीको चक्रमा पार्छन् ।

महिला र बालबालिका उच्च जोखिममा
मानव तस्करहरूको चपेटामा सबैभन्दा बढी महिला र बालबालिका रहेको देखिन्छ । प्रहरीबाट प्राप्त आँकडाहरूमा त्यसको स्पष्टै झलक देखिन्छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पछिल्ला ९ महिनामा उद्धार गरेका २ सय ७२ जनामध्ये २ सय ६ जना महिला छन् । जबकि पुरुषको संख्या ६६ छ ।
यस्तै, प्रहरीले चालू आर्थिक वर्षमा उपत्यकासहित देशका विभिन्न भागबाट उद्धार गरेका २ हजार ३ सय ३४ जनामध्ये महिलाको संख्या १ हजार ४ सय ६४ छ भने पुरुष ३ सय ४९ जना छन् । १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको संख्या ५ सय २० छ, जसमध्ये ४ सय २५ बालिका छन् भने ९५ जना बालक छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन प्रतिवेदनमा १५ लाख मानिस बेचबिखनको जोखिममा रहेको उल्लेख छ, जसमध्ये १३ देखि १९ वर्षका १२ लाख ग्रामीण किशोरी, १ लाख बाल श्रमिक बेचबिखनको जोखिममा छन् । वयस्क मनोरन्जन व्यवसायमा रहेका श्रमिक २१ हजार, वैदेशिक रोजगारीमा रहेकाहरू १ लाख ८० हजार जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीका प्रवक्ता थापा क्षेत्री पनि तस्करीमा पर्नेमा अधिकांश महिलाहरू हुने बताउँछन् । भन्छन्, ‘तस्करीमा पर्ने ९० प्रतिशत महिला नै हुन्छन्,’ उनी भन्छन्, ‘१० प्रतिशत पुरुष होलान् ।’ त्यसो भए महिलाहरू किन दलालहरूको टार्गेटमा पर्छन् त ? सुनिता फाउन्डेसनकी अध्यक्ष दनुवार महिलाहरू बढी टार्गेटमा पर्नुका कारणका रूपमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्नु, लैंगिक विभेदका साथै आर्थिक अभावका कारण अवसरको खोजीका क्रममा दलालहरूको फन्दामा पर्ने गरेको बताउँछिन् । भन्छिन्, ‘सरकारी नीति महिलामैत्री भएन, दलालहरूले राजनीतिक संरक्षण पाए ।’ उनी बेचबिखनमा संलग्लन दलालहरू समाजमा खुला रूपमा हिँड्ने गरेको तर बेचबिखनमा परेकी महिला भने विस्थापित हुनुपर्ने दुर्भाग्य हाम्रो समाजमा रहेको गुनासो पोख्छिन् । आयोगकी उपनिर्देशक खतिवडा सामाजिक संरचनाका कारण किशोरीहरू सजिलै मानव तस्करहरूको फन्दामा पर्ने बताउँछिन् ।

Page 25
टिप्पणी

कार्यान्वयन गर्ने निकायबीच द्विविधा

- साप्ताहिक संवाददाता

गोविन्द थपलिया 

मानव बेचबिखन तथा ओसारपसार जघन्य एवं क्रूर अपराध हो । यो अपराधबाट विश्वमै सबैभन्दा बढी महिला र बालबालिकाहरू पीडित छन् । तर, वयस्क पुरुषहरूसमेत विभिन्न दलालको चंगुलमा फसेका छन् । अन्तरदेशीय श्रम प्रवासनको युगमा सुरक्षित माइग्रेसनको अभावका कारण विश्वमा दैनिक रूपमा लाखौं व्यक्ति मानव तस्करीको सिकार भइरहेका छन् ।
मानव बेचविखनसम्बन्धी आधुनिक प्रवृत्तिलाई हेर्दा बाध्यकारी श्रम यौनशोषण, मानव अंग व्यापार, कोख भाडा, अश्लील सामग्री, उत्पादन तथा व्यापार, आतंकवादी गतिविधिमा प्रयोग, बालसैनिकलगायत जोखिमयुक्त काममा प्रयोग गर्ने गरेको पाइन्छ । सुरुमा पीडितलाई राम्रो जागिर, स्थायी निवासी अनुमतिपत्र, उच्च शिक्षालगायत आकर्षक प्रलोभन देखाई आफ्नो बासस्थानबाट अन्यत्र लैजाने गरिन्छ । खासगरी आफैंले पैसा खर्च गरेर सहमतिमै बेचिन पुगेको अवस्था पनि छ । झट्ट हेर्दा यो असम्भव वा अस्वभाविकजस्तो लागे पनि अहिलेको मानव बेचबिखनको मुख्य प्रवृत्ति भनेको यही नै हो ।
झूटा विवाह, नक्कली धर्मपुत्र/पुत्री स्वीकार, झूटा कागजपत्र निर्माण, भ्रमण प्रवेशाज्ञा, आश्रित प्रवेशाज्ञा इत्यादिजस्ता उपायहरूको प्रयोग गरी व्यक्तिलाई विदेश पुर्‍याउने र त्यसपछि आफू अनुकूल पारी यौन व्यवसायमा लगाउने, बाध्यकारी श्रमलगायत श्रम शोषण गर्ने, मानवअंग बेचबिखन गर्ने तथा अन्य आपराधिक वा गैरकानुनी कार्य गर्न बाध्य पारी प्रयोग गरेको पाइन्छ । मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारणमा गरिबी, बेरोजगारी, व्यक्तिमा छिटो धनसम्पत्ति कमाउने चाहना, खुला सीमा, विभिन्न देशमा फरक–फरक भिसा नीतिजस्ता रहेका छन् ।
मानव बेचबिखन तथा मानव तस्करीका विद्यमान प्रवृत्ति र शैलीका सबै कुरालाई समेटेर त्यस्ता कार्यहरूलाई स्पष्ट रूपमा अपराधका रूपमा परिभाषित गरी दण्ड–सजायको व्यवस्था नभएकाले परिवर्तित अपराधका प्रवृत्तिहरू पूर्ण रूपमा निरुत्साहित हुन सकेका छैनन् । त्यसैगरी मानव बेचबिखन तथा ओसारपसारका पीडितलाई क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापना सम्बन्धमा पर्याप्त व्यवस्था हुन सकेको छैन । मानव बेचबिखन, वैदेशिक रोजगार र श्रमसम्बन्धी कानुन एकआपसमा बाझिएका कारण पनि कार्यान्वयन गर्ने निकायबीच द्विविधा सिर्जना भई अपराध अनुसन्धान तथा नियन्त्रण एवं कानुन कार्यान्वयनमा प्रभावकारिता आउन सकेको छैन ।
(थपलिया मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता हुन् ।)

Page 26
Page 27
सामाजिक सञ्जाल

फत्रकारलाई लाइसेन्स ?

- साप्ताहिक संवाददाता

Naran n Amrit@amritna
प्रतिनिधिसभामा फेल भएकालाई जस्केलाबाट छिराएर ‘पास’ गराएर माला लगाउनेहरूले अब पत्रकारको परीक्षा लिने रे । योझन्दा मजाक संसारमा अरू के हुन सक्छ सरजी ?

Sabita Dhimal@SabitaDhimal
नेता हुन आपराधिक लाइसेन्स । पत्रकार हुन आधिकारिक लाइसेन्स । देशको कमनसेन्स ।

Roshan Khadka@roshankhadka3
नेता बन्नचाहिं ८ कक्षा पास भए पुग्ने ? मन्त्री बन्न पनि मास्टर पास गर्नुपर्ने व्यवस्था गरौं न ! त्यसपछि पत्रकार बन्न लाइसेन्स पासको व्यवस्था गरौं ।

बिनी चाम्स@bin npal5
पत्रकार बन्न लाइसेन्स लिनुपर्ने, ड्राइभर बन्न एसएलसी पास हुनुपर्ने, तर राज्य चलाउने र नियम बनाउनेहरूचाहिं अनपढ भए पनि हुने क्या गजबको देश है ? अझै पनि देश यसरी नै चलिरहन्छ ।

सुजन खनाल@Dear_sujan
पत्रकारले लाइसेन्स लिनुपर्छ भन्ने कुरामा समर्थन छ । १ सय १ विद्वान् पत्रकारहरू हुनुहुन्छ, नाथे लाइसेन्सका लागि किन डराउनुभएको होला । पत्रकारको लाइसेन्स एक्जाममा रकेट, प्लेन उडाउन आउने हैन होला त, पत्रकारिता नै आउला । पास भए पत्रकार नभए लेख्नलाई फेसबुक, ट्विटर छँदैछ, ब्लगर बन्ने बस्ने ।

Bhanu Bhakta Achara@Achara Bhanu
पत्रकारलाई लाइसेन्स भन्ने विषय फेरि बहसमा आएको छ । एकातिर बालुवाटारमै पत्रकार बोलाएर सरकार शपथ खुवाउने, अर्कातिर लाइसेन्स । रमाइलो छैन त ।

उज्ज्वल आचार्य@KANepal
मन्त्री बन्न लाइसेन्स परीक्षा पास हुनुपर्ने भए त पत्रकार बन्न नि लाइसेन्स चाहिने कुरा ठीकै मान्न सकिन्छ ।

Prashant Ara l@Prashant68
पत्रकारिता एक सिर्जनात्मक पेसा तर सिर्जनाका लागिसमेत लाइसेन्स लिनुपर्ने भो ! अनि पत्रकार बन्न लाइसेन्स लिनुपर्ने कानुन बनाउने हजुरहरूलाई चाहिं चुनावमा ऊम्मेदवार बन्न कुनै योग्यता नचाहिने ?

Nirmal Prasai@NirmalPrasai
पत्रकारिता गर्ने लाइसेन्स शिक्षा आयोगले लिने हो, सरकारले होइन । योग्यता र क्षमताको जाँच सरकारले गर्न पाउँदैन । यो फाँसीवादी निर्णय हो, सच्याउनुपर्छ । देशमा भइरहेको वास्तविक स्थिति लेख्ने पत्रकारप्रति यति क्रुद्ध र क्रूर नबनौं । सबैले सरकारको भजन गाउन र भक्तिभाव गर्न जरुरी छैन ।

Suresh Dhakal@suracedhakal
पत्रकारिता गर्नको लाइसेन्स ? के यस्तै नियम पारित भा’को हो ? हुन लागेको हो ? अनि, लाइसेन्स दिनेले लाइसेन्स खारेजी पनि गर्न पाउने भो ? सरकारी पत्रकार सम्मेलनमा जाँदा लाइसेन्स देखाउनेपर्ने भो ? सरकारी सञ्चारमाध्यममा मन लागेको गरे भो, तर कर तिरेर चलेका सञ्चारगृहमा ? बुझिmएन है ब्रोहरू ।

Amrit Dulal@amritdulalad
सरकारको नियत । हरेक विषयवस्तुलाई कुनै व्यक्ति वा संस्थाको निगरानी राख्न लाइसेन्स वितरण गरिन्छ, जसले सजिलै आफ्नो अनुकूल निगरानी गर्न सकिन्छ । अब पत्रकार कसैको निगरानीमा बस्ने कि स्वतन्त्र भएर समाचार लेख्ने ?

Bishnu UPADHYAY@ubishnu
सांसद हुन निर्वाचित हुनुपर्छ । पत्रकार हुन मानिसको रूपमा जन्मिए पुग्छ । अझ वरिष्ठ पत्रकार हुन कपाल र जुँगा फुले पुग्छ (दाह्री त काटिहाल्छन्) ।

Ashish Ga wali @aga wali
पत्रकारितामा लाइसेन्सको व्यवस्थामा हाम्रा आरआरका साथीहरू उत्साहित बढी देखिए । यो स्वतन्त्रताविरोधी नीति हो । लाइसेन्स राजले जागिर ग्यारेन्टी गर्दैन, न तलब नै बढ्नेछ ।

Gajendra S.Budhathoki@gbudhathoki
हनुमानहरू (स्वदेशमा रहेका र विदेशमा हरियो लेउ उखाल्नेहरू) पत्रकारमाथि अंकुशका उद्देश्यले राखिएका परीक्षा र लाइसेन्स व्यवस्थाबारे ज्यान फालेर बचाउमा उत्रिएका छन् । भोलि यसलाई सरकारको आलोचना रोक्ने हतियार बनाइने पक्का छ ।नोट : पत्रकारितामा शुद्धीकरण आवश्यक छ, राज्यको नियन्त्रण होइन ।

Sanjee@ sanpokh
ट्विटर चलाउन परीक्षा दिएर लाइसेन्स लिनुपर्छ कि पर्दैन ठगेन्द्रजी ?

लिबाङी अराजकतावादी@libangi13
पत्रकारलाई लाइसेन्सको कुरा वाहियात हो । अनिवार्य पत्रकारिता अध्ययन नि त्यस्तै हो, सम्बन्धित क्षेत्रको ज्ञान त चाहिन्छ नै, अध्ययन नि भए फाइदाजनक र गज्जब हो । तर, पत्रकारिता र पत्रकारमा हजारौं समस्या छन्, अर्कातिर पत्रकारिताको नाममा मिसनकारिता नि भइरहेका छन् । नियमन भने आवश्यक छ ।

âtrea @Gandaki
हेलो सर्खार, पत्रकारलाई लाइसेन्स होइन कमनसेन्स देऊ ।

Ga waliG@Ga waliG
पत्रकारको परीक्षा लिने व्यवस्था गर्नु हुँदैन : गोकुल बास्कोटा पत्रकारलाई लाइसेन्स चाहिँदैन : अध्यक्ष लाइसेन्स चाहिने भए परीक्षा लिँदा के बिग्रन्छ ? लाइसेन्स त्यत्तिकै दिँदा वा नदिँदा के फरक फर्दो रै’छ ।

विद्रोही दमनधादि@damanbro66
पत्रकारलाई लाइसेन्स अनिवार्य भन्देको प्रतिपक्ष पत्रकारहरूको मुटु भट्याकभट्याक हुन थालेछ । हुन त पत्रकारितामा जनविचारबाट फेल भएकाहरूलाई यस्तो लाग्नु स्वाभाविक नै हो ।

wagle Sanji@ waglesanjiv
पत्रकारलाई लाइसेन्स र नेतालाई लाइसेन्स एउटै कुरा हो । पत्रकार बन्न लाइसेन्स लिनुपर्ने कुराको समर्थनमा उभिन सकिँदैन । सशक्त प्रतिरोध गरिन्छ । सरकार निरंकुशतातर्फ ऊन्मुख छ ।

Saral suman @saralsuman1
पत्रकारलाई लाइसेन्स ? यी ठगेन्द्रप्रसाद पुरी भन्ने को रहेछ ? यो प्रेसमाथि अंकुस लाउने कामको सुरुवात हो । यिनीहरू कर्पोरेट मिडिया मात्र राख्न खोज्दैछन । र, यो गम्भीर षड्यन्त्र हो ।

वरिष्ठहरूको ‘वरिष्ठ’ @ashkananda
वकिललाई लाइसेन्स चाहिने, डाक्टरलाई लाइसेन्स चाहिने, मास्टरलाई लाइसेन्स चाहिने अनि फत्रकारलाई चाहिँ नचाहिने ? हुन त चौथा अंगे हुन् के रे !

Uma Kanta Khanal@uma_journalist
पत्रकारलाई लाइसेन्स : मेरो जाँच लिने मान्छे कुनै दल आबद्ध ट्रेन्ड युनियनको, प्रेस युनियन, प्रेस संगठन वा कुनै दलको भ्रातृ संगठनको सदस्य नभएको, मैले भन्दा कम्तीमा पाँच वर्ष अघिदेखि हालसम्म काम गरिरहेको हुनुपर्छ । नत्र केको ल्याङल्याङ ?

Pradeep Raj Dahal@pradeeprdahal
पत्रकार बन्न परीक्षा दिनुपर्छ भन्ने सुनेपछि निमाले गेस पेपर छाप्न त थालिसकेको छैन नि ? ३ पत्रकारलाई लाइसेन्स

Arum Shah@ arunshah240
पत्रकारलाई लाइसेन्स दिएर उनीहरूको आम्दानीअनुसारको कर लगाउनपर्छ सरकार ! कति आम साधारण जनतालाई मात्रै करकर हो ?

Niraj Khatiwada @nirajnewa24
जे होस् काम पाइएको छ, लाइसेन्स परीक्षाको जो तयारी गर्नु छ । ३ पत्रकारलाई लाइसेन्स

kesu Nepal @Nepalkeshu1
पत्रकारलाई प्रेस कार्ड त सुनियो, लाइसेन्स पहिलो पटक परीक्षा उत्तीर्ण गर्नुपर्ने स्वयम् सञ्चारमन्त्री नि पहिला पत्रकार नै थिए । अब सँगै परीक्षा दिनुपर्‍यो ।

kaman Singh Pakhrin@
पत्रकारलाई पत्रकार बन्नका लागि अनिवार्य लाइसेन्स परीक्षा पास हुनुपर्ने प्रावधान र मापदण्ड विधेयकमा व्यवस्था गरिए जसरी नेता र जनप्रतिनिधि बन्नका लागि पनि राजनीतिक समाजशास्त्र अनिवार्य अध्ययन गरिएको हुनुपर्ने व्यवस्था विधेयकमा गरिए कसो होला ? सरकार महोदय ।

keshab Prasad Poudel @keshabpoudel2
हुन त नेपालमा उखान नै छ, कतै नभएको जात्र हाँडीगाउँमा वाक् र प्रकाशन स्वतन्त्रता नैसर्गिक अधिकार हो र पत्रकारलाई लाइसेन्सको व्यवस्था गरेर त्यो अधिकार खोसिएको छ । के त अब बोल्न र लेख्न पनि परीक्षा दिनुपर्ने रे ! जग नहँसाऊ प्रभु !

Madhukar Dahal @MadhukarDA
यता पत्रकारलाई लाइसेन्सको चर्चा भइरहँदा आफूलाई भने पत्रकारितामा एमए गरेर भोलिका पत्रकारलाई कलेजमा पत्रकारिता नै पढाइरहेका ती भाइले कहिले लेख्न जान्लान्, कहिले पत्रकार बन्लान् भन्ने पिरलो छ ।

KrlsHnA PoKhaRal @cris_pokharel
व्यावसायिक सीप नियमन गर्ने प्रायः सबैजसो काउन्सिलले लाइसेन्सिङ परीक्षाको व्यवस्था गरिसके भने मिडिया काउन्सिलले पत्रकारका लागि लाइसेन्स परीक्षा लिन व्यवस्थासँग कसैले किन आपत्ति जनाउनु ? आफ्नो योग्यतामा विश्वास नझएर कि कसो ?

Prashant Lamichhane@
माननीयज्यूहरूको ‘इन्ट्रान्स’ लिने हो भने कति फास हुनुहुँदो हो ? सिर्जनात्मकताका लागि लाइसन्स होइन ‘अक्कल’ चाहिन्छ ।

अजातशत्रु@mahatsujit
१. सरकारले दुई वर्षमा नागरिकलाई दिएका सुख र सुविधा तिनले नागरिकमा पुर्‍याएको खुस हाली ५ सय शब्दमा नबढाई सप्रसंग लेख्नुस् ।
२. नेपालको आर्थिक रूपान्तरणमा यति समूहको योगदान ४ सय शब्दमा व्याख्या गर्नुस् ।
(प्रस्तावित पत्रकार परीक्षाका प्रस्तावित प्रश्न, बाँकी प्रश्न थफ्नुस्)

Om Astha Rai@omastharai
सरकार, पत्रकारको परीक्षा लिने भए पहिलो नम्बरमा यो प्रश्न सोधौं है : 
(क) के तपाईं कुनै दल वा तिनका भ्रातृ संगठनमा आबद्ध हुनुहुन्छ ?

Page 28
सल्लाह

के होप्रोस्टेट क्यान्सर ?

- साप्ताहिक संवाददाता

मीरा शाह, पोषण विज्ञ कीर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल 

प्रोस्टेट क्यान्सरमा विभिन्न क्यान्सरमध्ये दोस्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकामा प्रत्येक नौ जना व्यक्तिमध्ये एक जना यो रोगबाट पीडित रहेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपालमा पनि दिन–प्रतिदिन प्रोस्टेट क्यान्सरको संक्रमण बढ्दै गइरहेको छ । प्रोस्टेट क्यान्सर पुरुषहरूमा देखिने प्रमुख रोगहरूमध्ये एक हो । अहिले नेपालमा ६० वर्षमाथिका पुरुषमा प्रोस्टेट क्यान्सर बढी भएको पाइएको छ । अव्यवस्थित जीवनशैली, खानपान, रहनसहन, कम शारीरिक परिश्रम तथा उचित पोषणको कमीले गर्दा यो रोग लाग्ने गरेको पाइएको छ । धूमपान, मद्यपान, धेरै आरामदायी जीवन, बाहिरको खानाको अधिक प्रयोग, बट्टा बन्द गरिएका खाना, जंकफुड तथा मैदाजन्य खानाको उपयोगले पनि प्रोस्टेटको समस्यालाई बढावा दिन्छ । उचित मात्रामा स्वस्थकर र पोसिला खानेकुरा, शारीरिक व्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचले यसको रोकथाम गर्न सकिन्छ ।

के खाने ?
राता फलफूल तथा तरकारी : अमेरिकन इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले हालसालै गरेको अनुसन्धानअनुसार राता फलफूल तथा तरकारी जस्तै— गोलभेंडा, खरबुजा तथा राता प्रकारका खाद्य पदार्थमा रोग प्रतिरोधात्मक तत्त्व हुने भएकाले प्रोस्टेट क्यान्सरको उच्च जोखिमलाई कम गर्ने पुष्टि गरेको छ ।

फलफूल तथा हरिया सागपात : हरिया सागपात तथा फलफूलमा रोगसँग लड्ने क्षमताले भरिपूर्ण गुण हुन्छन् । यसले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउन मद्दत गर्छ । फलफूलमा भएको यौगिक गुणले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्छ । यसमा रहेका यौगिक गुणले प्रोस्टेट क्यान्सरको प्रतिरक्षा गर्छ । ब्रोकाउली, काउली, बन्दा, सलगममा सल्फोराफाइन नामको रसायन हुन्छ, जसले प्रास्टेट क्यान्सर हुनबाट जोगाउँछ ।

माछा तथा ओमेगा थ्री : ओमेगा थ्री फ्याटी एसिडले प्रोस्टेट क्यान्सरको विरुद्धमा मुख्य भूमिका निर्वाह गरेको पाइएको छ । यो वनस्पति तथा जनावर दुवै प्रकारका पदार्थमा र खास गरी माछामा पाइन्छ । आलस, ओखर, बदाम तिलमा पनि ओमेगा थ्री पाइन्छ । यी खाद्यपदार्थको प्रयोगले पनि प्रोस्टेट क्यान्सरको जोखिम न्यूनीकरण गर्छ ।

फोलिट एसिडयुक्त खाना : अमेरिकन क्यान्सर समाजले सन् १९९० मा गरेको एक अनुसन्धानले शरीरमा फोलिट एसिडको कमी भएमा प्रोस्टेट क्यान्सरको खतरा बढी हुने देखाएको थियो । गेडागुडी, दाल, हरियो सागपात, ओट्समा फोलिट पाइने भएकाले यस्ता खानेकुराहरू खाने गर्नुपर्छ । सोयाबिन, तोफुमा पनि प्रोस्टेट क्यान्सरको जोखिम घटाउने तत्त्व हुन्छ ।

ग्रिन टीको सेवन : अन्य चिया, कफीको सट्टा ग्रिन टीको सेवन स्वस्थकर हुन्छ । सन् २०१४ मा गरिएको एउटा अध्ययनले ग्रिन टीको सेवन प्रोस्टेटको क्यान्सर न्यूनीकरण गर्न सफल भएको देखाएको थियो ।

  • फलफूल तथा यसबाट बनेको क्यान्डी ।
  • ताजा तरकारी तथा यसबाट प्रशोधित पदार्थ ।
  • बदाम, बीउ, ओखर, तील, आलस, काजु आदिमा खनिज तत्त्व, जिंक, प्रशस्त मात्रामा पाइने हुँदा यसको सेवन राम्रो मानिन्छ ।

के नखाने ?
अधिक तापक्रममा पकाएको मासु : मासुले यसै पनि प्रोस्टेटको क्यान्सरको खतरा बढाउँछ । त्यसमा पनि अधिक तापक्रममा पकाइएको मासुले यसको जोखिम अझ बढाउँछ ।
जनावरबाट प्राप्त चिल्लो पदार्थ : सन् २०१४ मा गरिएको एक अध्ययनले जनावरबाट उत्पादन गरिएको चिल्लो पदार्थको अत्यधिक प्रयोगले प्रोस्टेट क्यान्सरको उच्च जोखिम रहेको देखाएको छ । चिज, बटर, नौनी, रातो बोसोयुक्त मासुको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ ।

दुग्ध पदार्थ : दुग्ध पदार्थको अत्यधिक प्रयोग पनि प्रोस्टेट क्यान्सरको कारक बन्न सक्छ ।

चुरोट, बिंडी, खैनी आदि : धूमपानले धेरै रोग निम्त्याउँछ । चुरोट, बिंडी, खैनीको सेवनले छाती तथा फोक्सोको रोगका साथै प्रोस्टेटको समस्यासमेत बढाउने भएकाले यसको सेवन गर्नु हुँदैन ।

अन्त्यमा
धेरै मोटोपना तथा धेरै कम तौल हुनु पनि प्रोस्टेटको समस्याको आधार हुन सक्छन् । त्यसैले आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । सही तथा सन्तुलित, भोजनको सेवनले तन्दुरुस्त व्यक्तिलाई प्रोस्टेट तथा अन्य रोगहरूको समेत कम जोखिम हुने भएकाले शारीरिक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नुपर्छ । पौडी खेल्नु, योग गर्नु, फटाफट हिँड्नु, दौड्नु, साइकल चलाउनु, डोरी खेल्नु तन्दुरुस्त हुने सरल उपायहरू हुन् । यी उपायहरू अपनाएर प्रोस्टेट तथा अन्य रोगहरूबाट आफूलाई जोगाउन सकिन्छ । धेरै तारेको, फ्राइ, प्याकेटको सामान, मैदाको खानेकुरा, अत्याधिक चिल्लो पदार्थको उपभोग राम्रो मानिँदैन । सकारात्मक सोच, सक्रिय जीवनशैली, समयमा सुत्ने तथा उठ्ने गरेमा धेरै रोगबाट जोगिएर निरोगी बन्न सकिन्छ ।

Page 29
यौन जिज्ञासा र समाधान

यौन जिज्ञासा

- डा. राजेन्द्र भद्रा

म यौनसाथीसँग लामो समयसम्म यौनसम्पर्क गर्न सक्दिनँ । मेरा धेरै यौनसाथी छन्, तर तीनदेखि चार मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ । यौनसाथीहरूलाई पूर्ण सन्तुष्टि दिन सक्दिनँ । पहिलोपल्ट यौनसम्पर्क गर्दा त एक मिनेटमै सकिन्छ, दोस्रो तथा तेस्रोमा तीनदेखि पनि चार मिनेटभन्दा अगाडि जान सक्दैन । यो समस्या मेरो हार्मोन वा अन्य केही कारणले भएको हो ? यसको समाधान पाउन सकिएला ?
–पी.

 

यौनसम्पर्कको अवधि
पुरुषले योनिमा लिंग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समय ((Intraa ginal Ejaculation Latency Time) व्यक्ति–व्यक्तिअनुसार फरक पर्छ र एक व्यक्तिको पनि फरक समयमा फरक हुन सक्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । सामान्यतया उमेर बढ्दै जाँदा यो केही घट्ने देखिएको छ । त्यसैगरी किन्सेले गरेको अध्ययनमा योनिमा लिंग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखिएको थियो । कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव ०१ मिनेटमा वीर्य स्खलन भएको थियो ।

शीघ्र वीर्य स्खलन
प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा लिंग छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भएमा त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कबाट प्राप्त गर्ने सुख नपाइने कुरा सत्य नै हो ।
यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता (उझचायचबलअभ बलहष्भतथ) ले समस्या झनै बढाउँछ । आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन, त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक रूपमा चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या झनै बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय पनि छन् ।

वीर्य स्खलनको समय कसरी बढाउने ?
वीर्य स्खलन हुनासाथ यौनसम्पर्क टुङ्गिने स्थिति आउने भएकाले निम्न उपायले त्यसलाई लम्ब्याउन सकिन्छ :

  • यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडा नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।
  • पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भई यौनसम्पर्क गरे पनि शीघ्रस् खलनलाई कम गर्न मद्दत पुग्छ ।
  • यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना केही कम भएपछि फुनः यौनत्रीडा शुरु गर्ने ।
  • कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।
  • पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ ।
  • अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्, जसले शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास पनि अर्को राम्रो उपाय हो ।

यौनसाथीलाई सन्तुष्टि दिने कुरा
तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अंग ‘भगांकुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्त्वपूर्ण अंग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सक्छन् । स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ ।

धेरै यौनसाथीका कुरा
धेरै यौनसाथी हुँदाको रोमाञ्चकता र रमाइलो आफ्नै ठाउँमा होला । तपाईंलाई पक्कै थाहा होला कि जति धेरै यौनसाथी हुन्छन् त्यति नै यौनरोग तथा एचआईभीको जोखिम पनि बढ्ने खतरा हुन्छ । यस्ता यौनसम्पर्क गर्दा कन्डमको सही र नियमित रूपमा प्रयोग गरेर आफूलाई त्यस्ता जोखिमबाट बचाउनुभएकै होला भन्ने लिएको छु ।

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
कार्य सफल बनाउन थप मेहनत गर्नुपर्नेछ । प्रेमिका नौलो उपहारको अपेक्षामा छिन्, भावना बुझ्दा उत्तम हुनेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनको अवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । झन्झटिला कार्यको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । कालो रंगको सवारी साधन चलाउँदा सचेत रहनुहोला ।


वृष
भौतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । मन पराउने साथीको भावना कदर गर्दा उचित हुनेछ । नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्यको प्रारम्भ गर्ने मत मिल्नेछ । सुनौलो रंगको अनुसरणले परिणम नजिक पुगिनेछ ।

मिथुन
प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्नेछ । सहयोगीले दिएको सुझावको उपेक्षा नगर्दा लाभ पुग्न सक्छ । खरिद गरिएका सामान छुट्न सक्छन्, होस पुर्‍याउनुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला । बढी विश्वासले बेफाइदा नै हुन सक्छ ।

कर्कट
आकर्षक रोजगारी हात लाग्नाले चर्चित भइनेछ । आर्थिक लाभ होला । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुँदा विवेक पुर्‍याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंसा बटुल्न सकिनेछ ।

 

सिंह
आफ्नो प्रतिभा प्रस्तुत गरी इनाम प्राप्त गर्न सक्नुहुनेछ । तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । उथलपुथल पारिवारिक वातावरणबाट अनन्त साथ पाइनेछ । मन मिल्ने साथीको सुझाव विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेसँग सचेत हुनुपर्नेछ ।


कन्या
ठूला खाले व्यावसायिक योजना तर्जुमा गर्दा फजुल धन खर्च हुन सक्छ । लगानीका क्षेत्रबाट सोचेभन्दा कमै प्रतिफल हात पर्नेछ । प्रेमिकासँगको खटपटमा वादविवाद नगर्दा नै फलिफाप हुनेछ । काममा बेवास्ता गर्नाले अवसर अरूले उछिन्न सक्छन् । गोष्ठी–समारोहमा समावेश हुँदा नेतृत्वमूलक भूमिका पाइनेछ ।

तुला
प्रशस्त आम्दानी हुने कार्य गर्दा परिवारबाट प्रशंसा पाइनेछ । प्रेमिकाले भावी कार्ययोजना बढी नै मन पराउनेछिन् । गोपनीयता अवलम्बन गरे सहज महसुस होला । दान तथा पूण्य कार्यले तपाईंको व्यवसाय स्वतः उचाइमा पुगी रोकिएका कामसमेत बन्न सक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।


वृश्चिक
व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरको जिम्मेवारी प्राप्त गरिनेछ । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछ । कार्यव्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन् । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट र जालझेलमा भने सावधानी अपनाउनुपर्नेछ ।


धनु
अध्ययनका सिलसिलामा विदेशमा पाइला टेकिनेछ । भ्रमणका क्रममा नातेदार तथा कुटुम्बसित भेट भई मनोरञ्जन लिँदा खर्चले पिरोल्नेछ । व्यावसायिक क्षेत्रमा सुधार भई धातुको कारोबारबाट मुनाफा हात लाग्ने सम्भावना छ । पहेलो रंग अवलम्बन गर्नाले बोलीको थप प्रभाव पर्नेछ । परोपकार तथा दान–पूण्यले थप मानसिक शान्ति पाइनेछ ।


मकर
पारिवारिक मनमुटाव तथा खटपटमा निराशा छाउँदा प्रेमिकाले थप ऊर्जा दिलाउनेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । आर्थिक संकट पर्ला । मित्रहरूको आर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ । साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानी अपनाए बेसै हुनेछ ।


कुम्भ
प्रेमिकासँगको भ्रमणले अरूको मन लोभ्याउनेछ । राज्यस्तरमा थालिएका प्रशासनिक कार्यबाट सहयोग नै मिल्नेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हुँदै मठ–मन्दिर परिक्रमा गरिनेछ ।


मीन
साता सामान्य तवरले गुज्रनेछ । परिस्थिति पहिचान गरी पुरुषार्थ गरेमा प्रतिष्ठा पाइनेछ । मित्रले दिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला । राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ ।

Page 30
खेलकुद

मिसन ‘वान डे विश्वकप’

- हिमेशरत्न बज्राचार्य

अबको साता दिन नेपाली खेलकुद इतिहासकै एउटा ठूलो कोसेढुंगा उपलब्धिका रूपमा सम्झिइनेछ, किनभने यो समय नेपालले आफ्नो घरेलु मैदानमा पहिलोपल्ट खेल्दैछ— आधिकारिक वान डे क्रिकेट । नेपाली क्रिकेटको इतिहास निकै लामो छ, यसलाई खोज्न थाल्ने हो भने हामी राणाशासनसम्मै पुग्नुपर्ने हुन्छ । तर, उपलब्धिका आधारमा नेपाली क्रिकेटको इतिहास उत्तिकै छोटो पनि छ, दुई दशकभन्दा केही बढी समयको । यसै क्रममा एउटा ठूलो उपलब्धि थपिन लागेको हो, यसपल्ट ।
औपचारिक रूपमा नेपालले वान डे टिमको मान्यता पाएयता आफ्नै घरेलु मैदानमा खेल्न लागेको यो पहिलोपल्ट हो । र, प्रतियोगिता रहेको छ, त्रिकोणात्मक सिरिजका रूपमा । नेपालसँगै सहभागी टिम रहेका छन्, ओमान र अमेरिका । एउटा टिमले अर्को टिमसँग दुईपल्ट खेल्नेछन् । त्यो अर्थमा कुल ६ खेल हुनेछ, प्रत्येक टिमले चार–चार खेल खेल्नेछन् । माघ २२ मा नेपाल र ओमानबीचको खेलसँगै सिरिज सुरु हुनेछ भने माघ २९ मा नेपाल र अमेरिकाबीचको खेलसँगै सिरिज टुंगिनेछ ।
त्यो अर्थमा अबको केही दिन नेपाल फेरि एकपल्ट क्रिकेटमय हुनेछ । सिरिज कुल आठ दिन चल्नेछ र त्यति बेला सबैको ध्यान केन्द्रित हुनेछ, टीयू मैदानमा । नेपाली क्रिकेट समर्थकका लागि त यो पर्वकै रूपमा रहने निश्चित छ । नेपालले यसअघि खेलेका केही प्रतियोगिताका क्रममा नेपालमा क्रिकेटको ज्वरो अकासिएको थियो, विशेषतः ट्वान्टी–२० विश्वकपका बेला । तय छ, यसपल्ट पनि नेपालमा फेरि एकपल्ट क्रिकेटको चर्चा व्यापक ढंगले चुलिनेछ ।
नेपालले अहिलेसम्म ६ वान डे खेलेको छ र यो दुई सिरिजबाट सम्भव भएको हो । नेपालले पहिलो वान डे सिरिज नेदरल्यान्ड्सविरुद्ध सन् २०१९ मा खेलेको थियो । त्यसमा दुई खेल भएका थिए, त्यसमध्ये एक नेदरल्यान्ड्सले जित्यो भने अर्को नेपालले । सन् २०१९ मा नेपालले दोस्रो सिरिज खेलेको थियो, युएईविरुद्ध । त्यसमा समावेश चार खेलमध्ये दुई युएईले जित्यो भने दुई नेपालले । यी दुवै नेपालले आफ्नो घरबाहिर खेलेको सिरिज रहे, अब भने आफ्नै भूमिमा खेल्न लागेको हो ।
नेपाली टिमको नेतृत्व गरिरहेका छन्, ज्ञानेन्द्र मल्लले । उनी आफैं पनि नेपाली भूमिमा पहिलोपल्ट वान डे हुन लागेकोमा खुसी छन् र गर्व महसुस गरिरहेका छन् । यसअघिका कप्तान पारस खड्काले नेतृत्व छाडेपछि ज्ञानेन्द्रले यो ऐतिहासिक अवसर पाएका हुन् र यसलाई अविस्मरणीय बनाउन चाहन्छन् । उनले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘सिरिज ठूलो अवसरका रूपमा आएको छ र यो नेपाली क्रिकेट अगाडि बढ्ने मौका पनि हो ।’
सिरिजकै लागि भनेर टीयू मैदानमा स्तरोन्नतिका लागि काम भइरहेको हुनाले नेपाली टिमले केही दिन पोखरामा अभ्यास गरेको थियो । साता दिनअगाडि मात्र नेपाली टिम काठमाडौं फर्केको हो र टीयूमा अभ्यासको मौका पाएको हो । नेपाली टिमका प्रशिक्षक हुन्, उमेश पटवाल । उनी पनि सिरिजलाई निकै महत्त्वको मान्छन् र धारणा राख्छन्, ‘नेपाली क्रिकेटसामु ठूलो अवसर प्राप्त भएको छ र यो सिरिज विश्वकपको अन्तिम छनोटमा सीधै प्रवेशको अवसर पनि हो ।’

अवसर र चुनौती दुवै
प्रशिक्षक पटवालले भनेजस्तै यो सिरिज तीन टिमबीचको खेल मात्र होइन, यो त हो— ‘वान डे विश्वकप’ छनोटको यात्रा । यो सिरिज वर्ल्डकप क्रिकेट लिग टुअन्तर्गत हुन लागेको हो । यो चार वर्षको कार्यक्रम हो, जुन् २०१९ देखि २०२२ सम्म चल्नेछ । नेपालले भने यसमा पहिलोपल्ट खेल्न लागेको हो, बाँकी सबै टिमले यसअघि नै यसअन्तर्गतको सिरिज खेलिसकेका छन् । नेपालका लागि यो सिरिज अवसर र चुनौती दुवैका रूपमा रहेको छ र यो नै हो, वान डे विश्वकपमा छनोट हुने बाटो पनि ।
वर्ल्डकप क्रिकेट लिग टुमा कुल सात टिम छन् । त्यसमध्ये यसअघि नै वान डे मान्यता प्राप्त टिम हुन्, नेपालसँगै स्कटल्यान्ड र युएई । अरू टिम भने डिभिजन टु बाट माथि उक्लेका हुन् र तिनलाई पनि वान डे टिमको मान्यता प्राप्त छ । यी हुन्— नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका । प्रतियोगितामा अहिलेसम्म भइसकेका सिरिजपछि अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने ओमान आठ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यसबीच स्कटल्यान्ड ९ अंकमा दोस्रो र नामिबिया ८ अंकमा तेस्रो स्थानमा छ । कुनै खेल नखेलेको नेपाल छैटौंमा छ । पाँचौंमा रहेको युएईको ७ अंक छ । पपुवा न्युगिनीले आठ खेल खेलेर कुनैमा पनि जित निकाल्न सकेको छैन र अंकविहीन स्थितिमा पुछारमा रहेको छ । वर्ल्डकप क्रिकेट लिग टुका सबै खेल सकिएपछि त्यसको शीर्ष तीन टिमले सन् २०२२ को क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्नेछन् । अरू टिम भने रेलिगेसनमा पर्नेछन् र तिनले खेल्नेछन्, सन् २०२२ मै आईसीसी क्रिकेट वर्ल्डकप प्ले अफ ।
पछिल्लो समय अमेरिका र नामिबिया निकै बलिया टिमका रूपमा अगाडि आएका छन् र यही कारणले उनीहरू बलियो स्थितिमा छन्, विशेषतः अमेरिका । अमेरिका आफूले खेलेका ८ खेलमा ६ मा विजयी भएको छ । यी दुवै टिम बलियो हुनुपछाडिको एउटै कारण हो, उनीहरूको टिमबाट अन्य देशबाट आएका खेलाडीले खेल्नु । अमेरिका र ओमान दुवै टिममा आप्रवासी खेलाडीको प्रभुत्व रहेको छ, भारत र पाकिस्तानदेखि दक्षिण अफ्रिकी खेलाडीसम्म ।

आइकोनिक हुँदै टीयू मैदान
विश्व क्रिकेटको नक्सा तयार पार्ने हो भने अब त्यसमा कीर्तिपुरको टीयू मैदान पनि उल्लेख हुनेछ, किनभने यही मैदानले नेपाली भूमिमा पहिलोपल्ट आयोजना गर्दैछ, वाने डे अन्तर्राष्ट्रिय क्रिकेट । नेपाली खेलकुद भनेपछि त्यससँग ठ्याक्कै जोडिएर आउने गर्छ, दशरथ रंगशाला । त्रिपुरेश्वरको यो मैदानमा तीनपल्ट दक्षिण एसियाली खेलकुद आयोजना भइसकेको छ । त्यसमध्ये १३ औं संस्करणको साग त भर्खर मात्रै आयोजना भएको हो ।
यही दशरथ रंगशालाले फुटबलको सबै ठूला–साना प्रतियोगिता आयोजना गर्दै आएको छ, त्यसमा फुटबलका विश्वकप, एसियाकप, ओलम्पिक छनोटसम्म पनि पर्छन् । अब टीयू मैदानका पनि उत्तिकै महत्त्व हुनेछ, जति दशरथ रंगशालामा हुनेछ । जसरी दशरथ रंगशालासँग फुटबल जोडिने गर्छ, त्यसै गरेर टीयू मैदानसँग क्रिकेट जोडिन्छ । टीयू मैदानको इतिहास भने लामो छैन, क्रिकेट मैदानका रूपमा खालि दुई दशकभन्दा केही बढी समय मात्रै हो ।
तर यही मैदान धेरै अगाडिदेखि विभिन्न खेलकुदका लागि भने प्रयोग हुन्थ्यो । सन् १९८३ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा पनि यो मैदान प्रयोग भएको थियो । यसपल्टको सागका क्रममा पनि यो मैदान प्रयोगमा आयो, पुरुष क्रिकेटका लागि । सन् १९९८ मा पहिलोपल्ट नेपालमा एसीसी ट्रफी भएको थियो र त्यसै बेलादेखि यसले अहिलेको विशिष्ट रूप लिन थाल्यो । त्यसको एक वर्षपछि नै यहाँ टेम्पो लेजेन्ड कप भएको थियो ।
यो टीयू मैदानको सबैभन्दा ठूलो विशेषता हो, यहाँ दर्शकको कहिल्यै अभाव नहुनु । त्यसको अर्थ के भन्दा टीयू मैदानमा माथिल्लो दर्जाको क्रिकेट हुनुपर्छ, दर्शक हजारौं संख्यामा पुग्ने गर्छन् र मैदान आफैं आइकोनिक हुनेछ, नेपाली खेलकुदमै । जति बेला टीयूले वान डे क्रिकेटको आयोजना गर्नेछ, त्यति बेला पनि दर्शकको कमी हुनेछैन । खासमा यो नै नेपाली क्रिकेटको एउटा ठूलो गर्विलो विशेषता हो । यही कारणले त हो, टेस्ट क्रिकेट खेल्ने केही देशको तुलनामा नेपालमा क्रिकेट बढी लोकप्रिय छ भन्ने प्रमाण ।

सिरिजमा सहभागी हुने
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहम्मद आरिफ सेख, विनोद भण्डारी, अभिनास बोहरा, सुशान्त भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी, कुशल मल्ल र कमलसिंह एैरी ।

अमेरिकी टिम
शौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एलमोरे हटिचनसन, आरोन जोन्स, नोस्थुस केन्जिगे, जेभिएर मार्सल, मोनांक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्स र रस्टी थेरन ।

ओमानी टिम
सिंजसान मक्सुद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, महुम्मद नसिम, सन्दीप गौद, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमद फैज बट, कलिमुल्लाह र बिलाल खान ।

 


नजर पारसमाथि


पारस खड्काले लामै समय नेपाली क्रिकेट टिमको नेतृत्व सम्हाले । एक प्रकारले उनले समग्र नेपाली क्रिकेट नै हाँके भन्दा हुन्छ । निकै विस्तृत भूमिकामा थिए, पारस । महत्त्वपूर्ण खेलाडी र कप्तान त भयो नै । छनोटकर्तादेखि प्रतियोगिताका आयोजकसम्म पनि । नेपाल क्रिकेट संघ (क्यान) को अस्तित्व प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा उनी धेरै फरक–फरक भूमिकामा देखिनु स्वाभाविक पनि थियो, अझ समयको माग थियो भन्दा हुन्छ ।
तर अझ परिस्थिति फेरिएको छ । र, फेरिएका छन्, पारस पनि । केही समयअगाडि मात्र हो, उनले कप्तानी छाडेको । जुन दिन क्यानले आकार पाउने तय भएको थियो, त्यही दिन उनले नेतृत्वबाट राजीनामा दिए । त्यो धेरै अर्थमा अपेक्षित थियो । प्रश्न थियो, पारसले कहिलेसम्म नेपाली टिमबाट खेलिरहनेछन् ? डर थियो, कतै उनले खेल्न छाड्ने त होइन ? तय छ, नेपाली क्रिकेट टिमलाई अझै उनको उत्तिकै आवश्यकता छ ।
धन्न, उनले खेल्न छाडेका छैनन् र टिममा अझ बढी योगदान दिन तयार छन् । उनी कप्तान छैनन्, त्यसैले उनीमाथि जिम्मेवारी पनि धेरै घटेको छ । उनले आफूले आफैंलाई हल्का महसुस गरिरहेका छन् । त्यसो भनेको उनी क्रिकेटमा मस्त रमाइरहेका पनि छन् । त्यसको अर्थ उनी पूर्णतः आफ्नो खेलमा केन्द्रित हुन सक्छन् । त्यसको अर्थ के पनि हो भने उनले एक खेलाडीका रूपमा अझ राम्रा प्रदर्शन गर्न सक्छन् । अपेक्षा त यही हो ।
औपचारिक रूपमै उनले भनिसकेका छन्, टिमका लागि सबै खाले भूमिकाका लागि उनी तयार छन्, त्यसो भनेको उनी प्रारम्भिक ब्याट्सम्यानका रूपमा देखिन सक्छन् । अलराउन्डर भएको आधारमा उनको बलिङबाट पनि अपेक्षा हुने नै छ । उनी पनि मान्छन्, नेपाली भूमिमा वान डे अन्तर्राष्ट्रिय क्रिकेट हुनु आफैंमा ठूलो हो । यो त सुरुवात हो, अझ यसले विकसित रूप लेओस, उनी यही चाहन्छन् । पारसमाथि सबैको नजर हुनेछ, अनि शुभकामना पनि ।

Page 31
Page 32
जाँदाजाँदै

जोगीको कपडामा ढोंगीहरू धेरै छन्

- साप्ताहिक संवाददाता

ओशो तपोवन नेपालका प्रमुख स्वामी आनन्द अरुण ‘स्वामी’ हुनुअघि उद्योगी खानदानका मानिस थिए । पेसाले इन्जिनियर उनी सन् १९७४ मा ओशोबाट दीक्षित भएका हुन् । स्वामीसँग साप्ताहिकका लागि दीपक सापकोटाले गरेको कुराकानी :

तपाईं पेसाले इन्जिनियर, चक्रवर्तीकै बाटो हिँड्न सक्नुहुन्थ्यो । जिन्दगीको त्यो बाटो छाडेर जोगीपथमा कसरी हिँड्नुभयो ?
इन्जिनियरिङ पढ्दैदेखि मेरो कोठामा धर्मका किताब हुन्थे । स्कुलदेखि नै विवेकानन्द, योगानन्द, महर्षी, रामकृष्ण परमहंसका किताब पढ्थेँ । इन्जिनियरको किताबमा त्यति ध्यान दिन्नथेँ म । पटनाको लाइब्रेरीमा पुराना किताब थिए । म बाल्यकादेखि नै किताब पढ्थेँ । पढ्ने ठूलो सोख थियो । लाइब्रेरीमा गएर किताब पढ्ने भनेको धार्मिक किताब हो ।

त्यो बेलामा पढेको कुनै किताब आजका पाठकलाई रिफर गर्नुहुन्छ ?
सुरुमा मैले योगी योगानन्दको आत्मकथा पढेँ । अनि त्यतिबेला खुब नाम चलेको शिवानन्द हुनुहन्थ्यो, ऋषिकेशमा । उहाँको साहित्य, योग र ध्यानका किताब पढेँ । बिहारमा ‘मुंगेज स्कुल अफ योगा’ बनाउनुभएका सत्यानन्द सरस्वती हुनुहुन्थ्यो । योगलाई भारतमा स्थापित गर्नमा उहाँको धेरै ठूलो हात छ । उहाँको सबै साहित्य पढेँ । उहाँको योग सिकेँ । शिविरहरूमा पनि पुगेँ । ध्यानहरू सिकेँ । त्यो बेला धेरै प्रभावित गरेको गुरुहरूमा स्वामी विवेकानन्द र रामकृष्णको साहित्य पनि हो । अहिलेको युवाहरूलाई विवेकानन्दले विशेष गरेर धेरै प्ररेणा दिएका छन् ।

इन्जिनियरिङ पढ्दा पनि ध्यानतिरै ध्यान जान्थ्यो भन्नुभयो । इन्जिनियरिङको कस्तो पढाइ थियो ?
मैले इन्जिनियरमा धेरै राम्रो अंक ल्याउन सकिनँ । कारण के थियो भने पास भए पुग्छ भन्ने थियो । बढीचाहिँ अध्यात्म पढ्थे । साहित्य पनि पढ्थेँ । गहिरो रुचि पढेँ । अप्राविधिक विषयमा मैले मानविकीका विषय पढेँ । त्यसमा धेरै नम्बर आउँथ्यो । नत्र इन्जिनियरमा भने पास भए पुग्थ्यो ।

तपार्इंको आध्यात्मिक यात्राबारे भन्नुस् न । यस्ता केही मोड, जसले मानिसलाई एउटा बिन्दुमा पुर्‍याउँछ । त्यस्ता घटनाबारेमा भन्दिनु न ?
टिनएजमा गएपछि एउटा सेक्सुअल म्याचुरिटी हुन्छ । १४/१५ वर्षको उमेरसम्म सेक्सबारे ज्ञान हुँदैन । सेक्सुअल म्याचुरेट भएपछि मेरो शरीरमा खुब परिवर्तन र अनेक विचार आउन थाल्छ । त्यसले मलाई खुब दुःख दिन्थ्यो । किन यस्ता विचार किन आउँछ होला ? मलाई लाग्थ्यो मेरो मनमा मात्रै आउँछ । अन्य युवाहरूको मनमा पनि आउँदो रहेछ । मै एउटा गलत मान्छे हुँ । यो त ठीक भएन । धर्मका किताब पढ्थेँ । ब्रह्मचारी बन्छु भनेर सोचेको थिएँ । यस्ता कामवासनाको कुराहरू किन मनमा उठ्छ ? यसको उपचार गर्नुपर्‍यो, कसरी गर्ने ? अनि मैले जोगीहरूको किताब पढेँ । गान्धीजीको किताब पढेँ । गान्धीजी पढेपछि कामवासना नियन्त्रण र भोजनमा सुधार गर्नुपर्छ भन्ने भयो । स्कुल जीवनदेखि अथवा १४ वर्षदेखि भोजनमा निकै सुधार गरेँ । नेपालीको बानी मासु खुब खाने हुन्छ । मेरो परिवारमा पनि मासु खुब खाइन्थ्यो । शाही परिवारबाट आएकाले मासु धेरै खान्थे । चिया धेरै पिउँथेँ । गान्धीजीले भनेका छन्– नुन खाएन भने कामवासनामा ध्यान जाँदो रहेनछ । साँच्चै त्यो हुँदो रहेछ । चिनी पनि खानु हुँदैन भनेर छाडिदिएँ । तेल–घ्यू पनि छोडेँ । खानलाई केही बचेन । त्यो बेला १४–१५ वर्षको थिएँ । भोजनको सुधार गरेर कामवासनाको विचार हटाएँ । अतिमा गएँ । फलफूल खान थालेँ । दिनमा एउटा फल मात्रै खाएँ, चार–पाँच वर्ष कुनै अन्न खाइन । भोजनमा सुधार गरेर मैले योग गर्न थालेँ । भोजनमा सुधार गरेर यौगिक जीवन लिएपछि अहिले म ७६ वर्षभएँ । मेरो टाउको दुख्दैन । यतिसम्म कि ज्वरो आउँदा पनि टाउको दुखेन । अलिकति टेन्सन आए टाउको दुख्छ भन्छन् । मलाई ज्वरो पनि आउँदैन । शरीरलाई त फाइदा गर्‍यो ।

जीवनमा कहिल्यै रक्सी खानुभयो ?
रक्सी ? इन्जिनियरिङ कलेज जाँदा मेरो संगत बिग्रियो । स्कुलमा मैले अम्बा, गाजर, आँप, सुन्तला, स्याउजस्ता फलफूल खाएर हाइस्कुल पास गरेँ । चाट, आइसक्रिम, चकलेट खान्थे साथीहरू मचाहिँ फलफूल बोकेर हिँड्थे । पार्टीमा समेत मैले आफ्नो झोलाबाट फलफूल खान्थेँ । घरमा पुगेपछि दिक्क मान्नुहुन्थ्यो आमा । म घरमा पनि फलफूल खान्थेँ । घरमा दालभात पाक्थ्यो । घरमा पनि विवाद हुन्थ्यो । स्कुलमा पनि आफैं बनाएर खान पाइन्थ्यो । इन्जिनियिरिङ कलेजमा पुगेपछि करिकुलमअनुसार रातभरि पढ्ने गरियो । अनि मासु खाने, रक्सी खाने साथीहरू भए । पछि मेरो पनि बानी बिग्रियो । अनि मैले ६ महिनाजति रक्सी र चुरोट खाएँ । रक्सीको ब्रान्ड थियो–गोल्डेन इगल भन्ने बियर । पाँच रुपैयाँ पर्थ्यो । १० वटा बियरको बोतल सिसी फिर्ता गरे नयाँ बोतल पाइन्थ्यो । प्रतिबोतल ५० पैसा फिर्ता दिन्थ्यो ।

तपाईं आफूलाई आफैंले चिनाउँदा के भन्नुहुन्छ ?
म सत्यको मार्गको खोजी गरिरहेको जोगी हुँ । ओशोको शिष्य हुँ । म भाग्यमानी रहेछु कि ओशोजस्तो गुरु भेटेँ । ओशोजस्तो गुरु नभेटेको भए यो जन्ममा पनि एक्स्ट्रिम (अतिवाद) मै बिताएको हुन्थेँ । अब मैले अर्को जन्म लिनु पर्दैन । किन लिनु पर्दैन भने मेरो इच्छा छैन । कामवासना बाँकी छ भने अर्को जन्म हुन्छ । गुरुले मलाई आशीर्वाद दिनुभएको थियो, साधना गर भन्नुभयो । बोधिसत्व पनि भन्नुभयो । यही जन्ममा निर्वाण प्राप्त हुन्छ भन्नुभयो । अर्को जन्म हुँदैन । यो पदवी उहाँले दिनुभएको हो । त्यो बेला मलाई विश्वास लागेको थिएन । अहिले पनि उहाँले भनेको हुनाले मात्रै विश्वास लागेको छ ।

संसार पुँजीवादमा प्रवेश गरिसकेको छ । सबैतिर कम्पिटिसन छ । यस्तो टप–कम्पिटिसनमा दिमाग झन् तिख्खर हुनुपर्नेछ । यस्तो समयमा सबै मान्छे जोगी नै बन्न लागे भने संसार रोकिन्न त ?
सबै मान्छे जोगी भए पनि संसार स्वर्ग हुन्छ नै । तर, त्यस्तो कहिल्यै हुँदैन । बुद्धको पालामा कति नै मान्छे थिए ? बुद्धको पालामा १० जना शिष्य थिए । अहिले चाहिँ २ अर्ब ३० करोड मान्छे लागेका छन् । जिससको समयमा १२ जना मान्छे जिससको पछाडि लागेका थिए । धेरै मान्छे जोगी होलान् भन्ने हुँदैन । हामीहरूको पनि आशा थियो— नेपालमा शान्ति ल्याउँला, नेपालमा जोगी बनाउँला । धार्मिक बनाउँला भन्ने थियो । नेपाल सुखी र स्वर्ग बनाउला भन्ने थियो । बिस्तारै त्यसको रियालिटी थाहा भो । मान्छे ‘अनकन्सस’ छन् । नेपाल स्वर्ग छ । मान्छेले ‘कन्सन्स’ भएपछि नेपालमा आजै समृद्धि आउँछ । आजै स्वर्ग हुन्छ । तर, मान्छे विश्वमा धनधान्य छ । सबै मान्छे खान लाउन सुखी जीवन बाँच्न सक्छन् । लडाइँ जरुरी नै छैन । जस्तै एकताबद्ध देश छ । त्यसले देशका सीमाहरू परिभाषित गरिनुपर्छ । अब सेनाका जरुरी छैन । संसारको ३० प्रतिशत धन खर्च भइरहेको छ, सेनाकै लागि । भारतले अर्बौंको मिसाइल किनेको छ । पाकिस्तानले पनि किनेको छ । ४०–५० प्रतिशत मान्छे अहिले पनि बाथरुममैदानमा गएर गर्छन् तर त्यस्ता देशहरूले पनि मिसाइल किनिरहेका छन् । किनभने मान्छे ‘अनकन्सस’ छन । मान्छे बहोस छन् । धेरै मान्छे बेहोस बन्दैनन् । त्यसको चिन्ताको कुरै होइन । धेरै मान्छे बेहोस बन्दै बन्दैनन् । कहिले भएका थिएनन् र कहिले हुँदैहुँदैनन् ।

जति जोगी छन्, तिनीहरू वास्तवमा एकदमै ढोंगी देखिन्छन् । भेष मात्रै जोगी । साँच्चै जोगीलाई कसरी चिन्ने ?
तपोवनमा डा. भगवान कोइराला आउनुभएको थियो । उहाँले मैलेजस्तो लुगा र माला लगाउनु हुन्न । उहाँलाई म जोगी होइन भन्न सक्दिन । उहाँ भूमिगत जोगी हो । कुलमान घिसिङजी हामीभन्दा धेरै ठूलो संन्यासी हुनुहुन्छ । उहाँहरू असली संन्यासी हुनुहुन्छ । उहाँहरूले आफ्नो ठाउँबाट सेवा गर्नुभएको छ । देशका लागि काम गर्नुभएको छ । यस्ता व्यक्ति धेरै छन् देशमा । समाजको सेवा गर्नुभएको छ । उनीहरू श्रद्धाका पात्र हुन् । उहाँहरूले कपडा लगाउनैपर्ने र आश्रम आउनैपर्ने छैन । तर, यस्ता धेरै ढोगी जोगी छन्, जो कपडामा फेरबदल गर्छन् तर विचारमा ढोंगी छन् । देखावटी छन् केही जोगीहरू ।

तपाईं अझै कति वर्ष सक्रिय हुन सक्छु भन्ने आत्मविश्वास छ ?
आइ ह्याब नो डिजायर । केही खाऊँ, केही कमाऊँ, नाम कमाऊँ भन्ने इच्छा छैन । मलाई अब यो शरीरमा धेरै दिन बस्न मन छैन । शरीर बूढो हुँदैछ । शरीरमा धेरै कष्ट हुँदै छन् । भगवान्को दयाले स्वस्थ छु । कुनै ठूलो रोग लागेको छैन । अहिले पनि ६ महिना यात्रा गरिरहेको छु । शरीरले बुढेसकाल लागेको बताइरहेको छ । मलाई जोगी भएर मर्न मन छ, रोगी भएर मर्न मन छैन । जोगीको रूपमा हाँस्दै–खेल्दै–हिँड्दै मर्न पाइयोस् । हस्पिटलमा पुगेर आइसीयूमा गएर मर्न नपरोस् । भित्रबाट मलाई बस्न मन छैन, अब प्रभुको इच्छाले हो । अमेरिका २६ चोटी गएँ । रुस २० चोटी गएँ । सारा संसार गएँ । सबै कुरा भोग गरें । अब कुनै नयाँ इच्छा छैन । अब आश्रम अलिकति सुन्दर बनोस् भन्ने चाहना छ । ओशोको कामको विस्तार होस् भन्ने बाहेक केही इच्छा छैन । यहाँ ओशोको मन्दिर बन्ने छ । मेरो मनमा लालसा छ भने यही हो । भए पनि ठीक, नभए पनि ठीक । जति शरीर पुरानो हुँदै जान्छ, अरूको सहारा चाहिन्छ । शरीरमा धेरै बस्न मन छैन । शरीरमा रोग लाग्नुभन्दा अगाडि नै भगवान्ले लैजाऊन् ।