You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

वान–डे अन्तर्राष्ट्रिय मान्यता

- विनोद पाण्डे
जिम्बावेमा बिहीबार भएको विश्वकप क्रिकेट छनोटको प्ले–अफमा सन्दीप लामिछानेले पपुवा न्यु गिनीका माहुरु दाइको विकेट लिएपछि खुसी मनाउँदै नेपाली टिम । तस्बिर : आईसीसी

काठमाडौं– नेपाल पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनेको छ । जिम्बावेमा भइरहेको विश्वकप छनोटमा पाएको सफलताले एकदिवसीय क्रिकेटमा नेपालले आधिकारिक मान्यता पाएको हो । योसँगै प्रथम श्रेणी क्रिकेटको मान्यता पाएको अन्तरमहादेशीय कपमा पनि नेपालले अबका चार वर्ष प्रतिस्पर्धा गर्न पाउनेछ ।


बिहीबार हरारेमा भएको प्ले–अफ खेलमा वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नैपथ्र्यो । त्यसबाहेक हङकङ प्ले–अफको अर्को खेलमा नेदरल्यान्ड्ससँग पराजित हुनुपथ्र्यो । दुवै खेलमा अनुकूल नतिजा प्राप्त भएपछि नेपालले विश्व क्रिकेटमा छलाङ मारेको हो ।
‘हामी निकै खुसी छौं, यो खुसीको सीमा छैन । बच्चादेखि देखेको एउटा सपना आज पूरा भएको छ,’ जिम्बावेबाट नेपालका कप्तान पारस खड्काले बिहीबार बेलुका कान्तिपुरसँग भने, ‘जहिल्यै पनि नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्‍याउन चाहन्थ्यौं, त्यसमा हामी फेरि एकपटक सफल भएका छौं । सबैको मिहिनेत र समर्पणले अहिलेसम्मकै ठूलो सफलता प्राप्त भएको हो । खेलाडीहरू सबै बसेर खुसी बाँडिरहेका छौं ।’


समीकरण यस्तो थियो कि पपुवा न्यु गिनीसँगको खेलमा पराजित भएको भए नेपाल रेलिगेसनमा परेर डिभिजन २ मा झर्ने थियो । अझ यसअघिका तीन खेलमा पपुवा न्यु गिनीले नेपाललाई पराजित गर्दै आएको थियो । नेपालले टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी नेपाली स्पिनरका सामु अडिन सकेन । लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४/४ विकेट लिएपछि नेपालले पपुवा न्यु गिनीलाई २७.२ ओभरमा १ सय १४ रनमा अलआउट गर्‍यो ।


दीपेन्द्रले अविजित ५० रन बनाएपछि नेपालले २३ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपाललाई बिहीबार वान–डे मान्यता पाउन यो सफलता मात्रै पर्याप्त थिएन । १ सय ७४ रनमा अलआउट भएको नेदरल्यान्ड्सले हङकङलाई ४३ ओभरमा १ सय ३० रनमा अलआउट गरेपछि मात्र नेपाली क्रिकेटको बहुप्रतीक्षित सपना पूरा भएको हो ।


जिम्बावेमा पाएको सफलताले नेपाल विश्व क्रिकेटको शीर्ष १६ राष्ट्रभित्र परेको छ । अब नेपालले माथिल्लो १५ राष्ट्रसँग आपसी समझदारीमा वान–डे अन्तर्राष्ट्रिय म्याच खेल्न पाउनेछ । भारत, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई नेपालभन्दा वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा माथिल्ला राष्ट्र हुन् ।
स्कटल्यान्ड र यूएईले विश्वकप छनोटबाटै वान–डे अन्तर्राष्ट्रिय मान्यतालाई कायम राखेका हुन् । नेदरल्यान्ड्सले यस प्रतियोगितापछि यो मान्यता पाउँदै छ । टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान र वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेदरल्यान्ड्सबाहेक विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका अन्य ५ राष्ट्रमा शीर्ष तीनभित्र रहनेले वान–डे मान्यता पाउने थियो । हङकङ र पपुवा न्यु गिनीभन्दा माथि रहँदै नेपालले सफलता हात पारेको हो ।


प्रतिस्पर्धी १० टोलीको वरीयतामा पुछारमा रहेको नेपाल छनोटको पहिलो तीन खेलमा जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिने निश्चित जस्तै भएको थियो । समूह चरणको अन्तिम खेलमा हङकङ र त्यसपछि पपुवा न्यु गिनीमाथिको विजयले नेपाललाई क्रिक्रेटमा माथिल्लो राष्ट्रको सूचीमा उभ्याएको हो ।


अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनेको हो । नेपालले विश्व क्रिकेट लिग डिभिजन छनोट २००५ देखि खेलेको हो, जुन वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्नका लागि छनोट प्रतियोगिता हो । २००८ मा डिभिजन ५ मा खेल्दै नेपाल आधिकारिक रूपमै विश्व क्रिकेट लिगमा छिरेको थियो । २०१० मा डिभिजन ५, २०१२ मा डिभिजन ४, २०१३ मा डिभिजन ३ जित्दै नेपालले २०१४ मा विश्वकप छनोटमा पुगे पनि सहभागी १० राष्ट्रमा नवौं भएपछि रेलिगेसनमा परेको थियो । गत महिना नामिबियामा भएको डिभिजन २ मा फाइनल पुग्दै नेपालले विश्वकप छनोट लगातार दोस्रोपटक खेल्न पाएको हो । २०१४ मा नेपालले विश्व टान्टी–२० खेलेको थियो ।


वान–डे अन्तर्राष्ट्रियमा झन्डै ४ हजार खेल हुने क्रममा छ । जिम्बावे भ्रमणपछि नेपालले दुई देशबीचको सहमतिमा वान–डे अन्तर्राष्ट्रिय खेल आयोजना गर्न वा ती देशमा गएर खेल्न सक्छ । नेपाल क्रिकेट संघ हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनको अवस्थामा छ । संघ निलम्बनमा रहेका कारण नेपालले तत्काल वान–डे अन्तर्राष्ट्रिय म्याच खेल्न नपाउने स्थिति पनि आउन सक्छ । यस्तो अवस्था रहेमा सेप्टेम्बरमा भारतमा हुने एसिया कप छनोटमा यूएईसँगको खेल नेपालको वान–डे अन्तर्राष्ट्रियमा पहिलो बन्न सक्छ । ढिलो–चाँडो नेपाल वान–डे अन्तर्राष्ट्रिय खेल्ने २६ औं राष्ट्र बन्नेछ ।

गृह पृष्ठ

पराजुलीमाथि भ्रष्टाचार मुद्दा लाग्ने

‘पदमुक्त भइसकेको व्यक्तिले जरुरी नै नभएको राजीनामा एकाएक राष्ट्रपतिसमक्ष बुझाउनुको मुख्य उद्देश्य सम्भावित भ्रष्टाचारको मुद्दाबाट उम्किने प्रयास’
‘सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति भए/नभएको छानबिन गरी स्रोत नखुलेको सम्पत्ति भेटिए विशेष अदालतमा मुद्दा दायर गर्न सक्छ’
- घनश्याम खड्का

काठमाडौं– निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौती दिँदै बिहीबारको पेसी आफैंले तोक्ने दाबी गरिरहेका थिए, तर जब बिहानै सर्वाेच्च प्रशासनले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्वाेच्चको वेबसाइटमा पराजुलीको फोटो हटायो, तब दिउँसो उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिए ।
पराजुली बिदामा बस्नसमेत नमानेकाले सर्वाेच्चका न्यायाधीशै विवादित भएको परिदृश्यमा पदबाट हटाइएपछि एकाएक उनले किन राजीनामा दिए जबकि त्यसको जरुरतै थिएन ।


कानुनविद्हरू भन्छन्– ‘आफूमाथि लाग्न सक्ने सम्भावित मुद्दाबाट जोगिन ।’
स्रोतका अनुसार केही पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता तथा केही पूर्वसांसदले ‘पराजुलीलाई के गर्दा सबभन्दा उपयुक्त हुन्छ’ भन्ने सल्लाह सुझाएपछि सोहीअनुसार प्रधानमन्त्री केपी ओलीले त्यसैअनुसार अघि बढ्न संकेत गर्दै अटेर गरे महाअभियोग लाग्न सक्ने जनाउ दिएका थिए । महाअभियोगबाट गुज्रिए संविधानको प्रावधानअनुसार सीधै भ्रष्टाचार मुद्दामा पनि तानिन सक्ने भएकाले त्यसबाट पनि जोगिने झिनो प्रयासमा उनले हठात् राजीनामा गरेका हुन् । ‘तर पनि कानुनत: उहाँलाई भ्रष्टाचार मुद्दा सीधै लाग्छ,’ अधिवक्ता लेखनाथ भट्टराईले भने, ‘यो अवस्थामा अब भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसार उहाँ सजायको भागीदार देखिनुहुन्छ ।’


यही डरले पराजुलीले आफूले गर्नै नचाहेको राजीनामा गरेको हुन सक्ने उल्लेख गर्दै भट्टराईले थपे, ‘र यसको कुनै अर्थ छैन किनभने सर्वाेच्चमा एकै दिन दुई प्रधानन्यायाधीश भएको अर्थ लाग्ने हुँदा राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत हुने ठाउँ छैन । उहाँ बुधबारै पदमुक्त भइसक्नुभएको छ । अर्काे कुरा राजीनामै गरेको भए पनि भ्रष्टाचार मुद्दाबाट उहाँ बच्ने ठाउँ छैन ।’


आफूले पाउनेभन्दा ७ महिना ९ दिन बढी पदमा बस्नु नै पराजुलीबाट भ्रष्टाचार भएको पुष्टि भइसकेकाले अख्तियारलाई मुद्दा चलाउन कुनै बाधा नभएको कानुन व्यवसायीहरूको ठम्याइ छ । यसमा आकर्षितचाहिँ ‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६’ नै हुने उनीहरूको भनाइ छ । ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झूटो विवरण दिएमा’ भ्रष्टाचार निवारण ऐनको दफा १६ मा भनिएको छ, ‘वा सोसम्बन्धी झूटा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्राअनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’


२००९ साउन २१ मा जन्मिएका पराजुलीले उमेर हदका कारण ६५ वर्ष पुगेको दिन २०७४ साउन २१ गते नै अवकाश पाइसकेका थिए ।
तर उनले उमेर ढाँटेर र प्रमाण लुकाएर आफूले पाउने अवधिभन्दा ९ महिना बढी प्रधानन्यायाधीश हुने गरी पदमा बस्ने व्यवस्था मिलाएका थिए । त्यसको पोल खुल्नासाथ परिषद्ले उनलाई बुधबार पदमुक्त गरेको हो ।


संविधानको धारा २३९ को उपधारा २ बमोजिम यसरी पदमुक्त भएको व्यक्तिमाथि भ्रष्टाचार निवारण ऐनअनुसार अख्तियारले मुद्दा दायर गर्न सक्छ । उक्त धारामा भनिएको छ, ‘धारा १०१ बमोजिम महाअभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति, न्यायपरिषद्बाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐनबमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सकिनेछ ।’
यसरी अनुसन्धान गर्दा अभियुक्तले भ्रष्टाचार गरेको देखिन ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्ने’ व्यवस्था पनि उक्त धाराकै उपधारा (३) मा छ । यसका अतिरिक्त पराजुलीमाथि सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति भए/नभएको छानबिन गरी स्रोत नखुलेको सम्पत्ति भेटिए विशेष अदालतमा मुद्दा दायर गर्न सक्छ । यसरी पराजुलीमाथि किर्ते र ठगीबाहेक भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लाग्ने कानुनविद्हरूको राय छ । पराजुलीले आफूले हकै नलाग्ने पदमा बसेर गरेको न्यायसम्पादन र प्रशासनिक निर्णयमाथि पनि वैधताको प्रश्न उब्जिएको कानुविद्हरूको ठहर छ ।


‘तर राज्य संयन्त्रले उनले गरेका तमाम फैसला उल्टाउन सक्ने सामथ्र्य छ जस्तो मलाई लाग्दैन,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘उनले गरेका प्रशासनिक निर्णयहरू भने उल्ट्याउन बाधा छैन । आफ्नो स्वार्थ पूरा गर्न उनले भान्जीज्वाइँलाई एकै पटक उच्च अदालतको मुख्य न्यायाधीश बनाउनेदेखि आफ्ना मान्छेलाई विभिन्न ठाउँमा सरुवा, बढुवा गरेर सेटिङ मिलाउनेसम्मका काम गरेका छन्, जसले न्यायालयमा विष वृक्ष रोपिन पुगेको छ । 

गृह पृष्ठ

जोशी कामु प्रधानन्यायाधीश

काठमाडौं (कास)– सर्वोच्च अदालतमा उत्पन्न अन्योल चिर्दै वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बिहीबारदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । न्यायपरिषद् सचिवले प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि गत साउन २१ गते सकिइसकेकाले उनी पहिल्यै पदमुक्त भइसकेको बुधबार अपराह्न जानकारी गराएपछि पराजुली आक्रोशित भएका थिए ।


उनले त्यसलाई मान्यता नदिई पूर्ववत् अदालत जाने घोषणा गरेका थिए भने वरिष्ठतम न्यायाधीश जोशीले बिहीबार कार्यालय समय सुरु हुनु
केहीअघि नै पेसी सूची तोकेर कार्यभार सम्हालेको जनाउ दिए । त्यसअघि राति नै सर्वोच्च अदालतको वेबसाइटबाट पराजुलीको नाम हटाई कायममुकायम प्रधानन्यायाधीशमा जोशीको नाम प्रकाशन भइसकेको थियो । जन्ममिति र प्रमाणपत्र विवादमा पराजुलीको किर्ते सबैतिरबाट प्रमाणित भइरहे पनि उनी हठपूर्वक कुर्सीमा बसिरहेका थिए । जोशी स्वत: कामु प्रधानन्यायाधीश बनेपछि बिहीबार पराजुलीले राष्ट्रपतिसामु राजीनामा पेस गरेका थिए । जोशीले बिहीबारदेखि सर्वोच्च अदालत प्रशासनको नेतृत्व सम्हालेका छन् ।


संवैधानिक तथा कानुनी मामिला पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले न्यायालयभित्रको अव्यवस्था हटाई व्यवस्थित बनाउने र छिटोछरितो न्याय सम्पादन व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । ‘हामीले काम गर्दै र सिक्दै जाने हो, त्यस क्रममा संयम अपनाउनुपर्छ,’ उनले भने, ‘न्यायालयभित्रको अव्यवस्था अन्य कारणले नभई हाम्रै कारणले हो, त्यसलाई सुधार गर्नेछौं ।’


उनले पेसी व्यवस्थापनमा सुधार गर्ने, सन्तुलित रूपमा इजलास व्यवस्थापन गर्ने, आफ्नो र सरोकारावालाको मुद्दा सकेसम्म आफैं नहेर्ने रणनीति अपनाउने बताए । कानुन व्यवसायी न्यायालयको अभिन्न अंग रहेको उल्लेख गर्दै उनीहरूसँग सुमधुर सम्बन्ध बनाउने पनि उनले बताए । संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश चयन भएपछि न्यायपालिकाले आफ्ना पूर्वप्रमुख गोपाल पराजुलीलाई बोलाएर बिदाइ गर्ने सोच बनाएको उल्लेख गर्दै उनले न्यायपरिषदका सचिवको पत्रमा प्रश्न गर्न सकिने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘न्यायपरिषदका सचिवलाई तपाईंले देखेको रेकर्ड अद्यावधिक राख्नुस् भनेर परिषद्ले जिम्मेवारी दिएको हुन्छ, त्यसैअनुसार सचिवस्तरीय निर्णय भएको हो,’ उनले भने, ‘सचिवज्यूले आफ्नो भूमिकाअनुसारै काम गर्नुभएको हो ।’


गत जेठ ३० मा आफूले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई आफ्नो निर्णय आफंै गर्नु हुँदैन भनेर सुझाव दिएकोण् समेत उनले बताए । आफ्नो कार्यकालमा न्यायपालिकासँग सम्बन्धित ऐतिहासिक महत्त्वका अभिलेखहरू राख्ने गरी न्यायपलिकासम्बन्धी संग्रहालय स्थापनाको सोच बनाएको उनले जनाए ।

Page 2
समाचार

डोल्माकी आमालाई डा. सन्दुकको साथ

- देवेन्द्र भट्टराई
डोल्माका आमाछोरी

काठमाडौं– गोरखा सदरमुकामबाट पैदल करिब एक सातामा पुगिने तिब्बतको सीमावर्ती गाउँपालिका चुम्चेत ९ की ७५ वर्षीया डोल्मा याङजोङ लामा पहिलोपटक काठमाडौं आएकी थिइन् । त्यो पनि छोरी डोल्माले बलजफ्ती ल्याएकी ।


‘आमाले आँखा देख्न छाडेको ५/७ वर्षै भएको रहेछ,’ झन्डै १२ वर्षपछि गाउँमा आमा भेट्न गएकी डोल्माले सुनाइन्, ‘घरका अरू सदस्यले जे खान दियो, त्यही खाने, जता बसायो, त्यतै बस्ने अवस्था रहेछ । त्यही भएर आँखा उपचारकै लागि भए पनि हेलिकप्टरमा काठमाडौं ल्याएँ ।’
१२ वर्षअघि घरेलु कामदार बनेर कुवेत गएकी र सहकर्मी हत्याको अभियोगमा १० वर्षभन्दा बढी जेल सजाय बेहोरेर घर फिरेकी डोल्मासँग आमाको आँखा उपचारका लागि खर्च थिएन । गोरखाको चुम्चेतबाट हेलिकप्टरमा राखेर ल्याउन लाग्ने २० हजार रुपैयाँ पनि डोल्माले ऋण काढेकी थिइन् । ‘मेरो आर्थिक अवस्था र आमाको इच्छाबारे कान्तिपुरमा समाचार पढेर तिलगंगा अस्पतालले नि:शुल्क उपचार गरिदियो,’ मंगलबार तिलगंगा आँखा अस्पताल परिसरमा आमासँगै भेटिएकी डोल्माले थपिन्, ‘आमाले यतिका वर्षपछि फेरि मलाई देख्नुभयो, मेरो गाला छामेर खुसीले हाँस्नुभयो ।’


तिलगंगामा डा. सन्दुक रुइत आफैंले तदारुकता देखाएर डोल्मा याङजोङको मोतिबिन्दुको शल्यक्रिया गरिदिएका थिए । उठबस गर्न, हिँडडुल गर्न र खानपिनमै पनि अरूको सहारा लिएर हिँड्नुपर्ने अवस्थामा रहेकी डोल्मा याङजोङले आँखा देख्न सक्ने भएपछि छिट्टै गाउँ फिर्न चाहेको बताइन् । ‘यसरी आँखा देखौंला भन्ने थिएन, डाक्टर सरहरूले सहयोग गरिदिनुभयो । म असाध्यै खुसी छु,’ चुम उपत्यकामा बोलिने स्थानीय लामा भाषामा आमाले भनिन्, ‘नयाँ जीवन पाएजस्तो भएको छ ।’ डोल्मा याङजोङको दाहिने आँखा पहिलेदेखि फुटेको अवस्थामा थियो भने देब्रे आँखाको मोतिबिन्दुको अप्रेसन गरिएको हो ।


डोल्माले कुवेतमा जेल सजाय बेहोरिरहेका बेला ‘डोल्मा बचाउ’ अभियान भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायमा आर्थिक सहयोग उठाएर गैरआवासीय नेपाली संघले आफ्नो खातामा झन्डै ४० लाख रुपैयाँ मौज्दात राखेको छ । तर, डोल्माको जीवनरक्षा भइसकेकाले उक्त रकम वैदेशिक रोजगारमा गएका अन्य कामदारको हितमा खर्च गर्ने भन्दै संघले आफ्नै कोषमा सञ्चित गरेको छ । माइती नेपाल, शेर्पा संघलगायतले उठाएको रकम पनि डोल्माले पाएकी छैनन् ।

समाचार

‘जन्ममिति किटान, अद्यावधिक गर्ने र अभिलेख राख्ने’

न्यायपरिषद् सचिवको क्षेत्राधिकार
- कृष्ण ज्ञवाली

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयबाट निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिबारे नयाँ तथ्य भेटिएपछि
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले उनी पदमा नरहेको जानकारीसहित राष्ट्रपति कार्यालय, प्रधानन्यायाधीश सचिवालय, संवैधानिक परिषद्लगायतका निकायलाई पत्र लेखे । पत्र पाएलगत्तै पराजुलीले न्यायपरिषद् सचिवलाई त्यस्तो अधिकार नभएको भन्दै निर्णय नमान्ने प्रतिक्रिया दिए । वरिष्ठ अधिवक्ता एवं माओवादी सांसद रामनारायण बिडारीले पनि सचिवले पत्र लेख्नु गलत भएको टिप्पणी गरे । तर, न्यायपरिषदका सचिवहरूले न्यायाधीशहरूको जन्ममिति किटान गर्ने र त्यसको अभिलेख राख्ने काम वर्षांैदेखि गर्दै आएको तथ्य कान्तिपुरले फेला पारेको छ ।


२०७४ जेठ ३० गतेको न्यायपरिषद् निर्णयले पराजुलीको जन्ममिति २०१० वैशाख १६ गते कायम गर्‍यो । त्यही निर्णयका क्रममा परिषद्ले अन्य न्यायाधीशहरूको जन्ममिति यकिन गर्ने अधिकारसमेत न्यायपरिषद् सचिवलाई प्रत्यायोजन गरेको थियो । उक्त निर्णयमा भनिएको थियो, ‘उल्लिखित कानुनी व्यवस्था र सर्वोच्च अदालतको आदेशअनुकूल हुने गरी सचिवले उमेर यकिन गरी अन्य न्यायाधीशहरूको अभिलेख अद्यावधिक गर्ने ।’ यही निर्णयले गरेको अधिकार प्रत्यायोजनअनुसार नयाँ विवरणका आधारमा सचिवले अवकाशको पत्र लेखेका हुन् ।


सर्वोच्च अदालतका एक पूर्वन्यायाधीशले हालको न्यायपरिषद् ऐनको दफा ३६ को उपदफा २ अनुसार सचिवले न्यायाधीशको उमेर अभिलेख राख्ने जिम्मेवारी नै पाएको बताए । उपदफा २ (ख) मा ‘न्यायपरिषद् सचिवले सचिवालयमा रहने अभिलेख प्रमाणित गरी अद्यावधिक, व्यवस्थित र सुरक्षित राख्ने’ भन्ने उल्लेख छ । ‘अभिलेख प्रमाणित गरी अद्यावधिक राख्ने भन्ने व्यवस्थाले अरू विवरणका साथै जन्ममितिसमेत जनाउँछ,’ ती न्यायाधीशले भने, ‘उपदफा २ (छ) मा ‘न्यायपरिषद्ले तोकेको अन्य कामसमेत गर्ने’ उल्लेख छ ।’


२०५६ सालअघि निजामती किताबखानाले न्यायाधीशहरूको समेत व्यक्तिगत अभिलेख (सिटरोल) का साथै अन्य अभिलेख राख्ने गरेको थियो । न्यायपरिषद्का तत्कालीन सचिव काशीराज दाहालका अनुसार त्यतिबेला नियुक्त सर्वोच्चका न्यायाधीश लक्ष्मण अर्यालले आफू निजामती नभई संवैधानिक पदमा नियुक्त भएकाले निजामती किताबखानाको सिटरोल नभर्ने अडान राखेपछि न्यायपरिषद्को सचिवालयले नै अभिलेख राख्न थाल्यो । ‘सिटरोललगायतका अभिलेख न्यायपरिषद्का सचिवले प्रमाणित गरेर राख्नुपर्ने व्यवस्था थियो । नयाँ तथ्य भेटिएमा सचिवले नै कानुनबमोजिम परिमार्जन गर्ने हो,’ हाल प्रशासकीय अदालतका अध्यक्ष रहेका संवैधानिक कानुनविद् दाहालले कान्तिपुरसँग भने, ‘वर्षौंदेखि सचिवले न्यायाधीशलाई अवकाशको सूचना दिने गरेका छन् । त्यसलाई कानुनविपरीत भन्न मिल्दैन ।’


२०७३ सालमा न्यायपरिषद् ऐन आउनुअघिको पुरानो ऐनमा समेत यस्तै व्यवस्था थियो । त्यही व्यवस्थामा टेकेर २०६४ सालमा तत्कालीन प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले न्यायपरिषद्का सचिव प्रकाशकुमार ढुंगानालाई सबै न्यायाधीशहरूको नागरिकता, शैक्षिक प्रमाणपत्र तथा सिटरोल हेरी जन्ममिति किटान गरी अवकाश हुने मितिसमेत तोक्न निर्देशन दिएका थिए । त्यतिबेलाका सचिव ढुंगाना हाल उच्च अदालत पाटनका मुख्य न्यायाधीश छन् । ‘त्यतिबेला निर्णय गरेर, न्यायाधीशहरूको उमेर यकिन गर्ने र अभिलेख राख्ने जिम्मेवारी सचिवको हो भनी अधिकार दिएको थियो,’ स्रोतले भन्यो, ‘त्यो निर्णयअनुसार उनले त्यतिबेला पुनरावेदन अदालतका न्यायाधीश रहेका गोपाल पराजुलीसहित सबै न्यायाधीशको उमेर उल्लेख गरेर अवकाश हुने मितिसमेत अभिलेखमा राखेका थिए ।’


त्यसपछि लामो समयसम्म न्यायाधीशहरूको उमेर विवाद देखिएन । २०७१ सालमा सर्वोच्च अदालत पुगिसकेका न्यायाधीश गोपाल पराजुलीले नै आफ्नो जन्ममिति २००९ साल साउन २१ बाट २०१० साल वैशाख १६ गते कायम गरिदिन न्यायपरिषद्मा निवेदन दिए । त्यतिबेला नै तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले सचिव कृष्ण गिरीलाई अभिलेख राख्न आदेश दिएका थिए । उनले दोहोर्‍याएर ‘सचिवले हेरेर निर्णय गर्ने’ भनेर आदेश गरेका थिए । २०७३ साल पुस १ गते तत्कालीन प्रधानन्यायाधीश एवं न्यायपरिषद् अध्यक्ष सुशीला कार्कीले तत्कालीन न्यायाधीश पराजुलीलगायतका केही न्यायाधीशको जन्ममितिलगायतको अभिलेख राख्न लगाएकी थिइन् । त्यही आधारमा न्यायपरिषद्का तत्कालीन सचिव कृष्ण गिरीले आदेशमार्फत् पराजुलीको जन्ममिति कायम गरेका थिए । उनले उमेर मात्रै उल्लेख भएको नागरिकताको प्रमाणपत्र र पछि प्रतिलिपि लिँदाको फरक जन्ममितिमध्ये नागरिकता लिने मितिका आधारमा कायम जन्ममिति २००९ साउन २१ गते कायम हुने भनी निर्णय गरेका थिए । त्यतिबेला पराजुलीले परिषद् सचिवको निर्णयमाथि कुनै चुनौती दिएनन् ।


न्यायपरिषद्का तत्कालीन सचिव गिरीले पुनरावेदन अदालत पाटनका न्यायाधीश देवेन्द्रराज शर्माले दायर गरेको मुद्दाको फैसलाका आधारमा मिति कायम गरेका थिए । त्यतिबेला आफूलाई छिटो अवकाश दिई परिषद्बाट अन्याय भएको भन्दै शर्मा सर्वोच्च अदालत पुगेका थिए । उनले त्यतिबेलासमेत न्यायपरिषद्को सचिवालय, अध्यक्ष र सचिवलाई विपक्षी बनाए पनि सदस्यहरूलाई भने मुद्दा हालेनन् । किनभने उनको मिति सच्याउने निर्णयमा सदस्यहरू संलग्न थिएनन् । अध्यक्षकै निर्देशनमा सचिवले मिति कायम गरेका थिए । यो मुद्दामा समेत सुरुमा पेस भएको जन्ममितिकै आधारमा अवकाश हुने फैसला भएको थियो ।


‘न्यायपरिषद् सचिवले न्यायाधीशहरूको नागरिकता र अन्य प्रमाणपत्र हेरी अवकाश प्राप्त हुने मिति अभिलेख राखी त्यसको जानकारी सम्बन्धित पक्षलाई दिन सक्ने व्यवस्था स्वत: कायम रहेको हो,’ सर्वोच्च स्रोतले भन्यो, ‘सबै अभिलेख सचिवले राख्ने र प्रधानन्यायाधीशलगायत अरू न्यायाधीशको अवकाशबारे उनले नै जानकारी दिने भनेर हालको न्यायपरिषद् ऐनमा व्यवस्था छ । यो विषयलाई न्यायपरिषद्का पदाधिकारीहरूको बैठकले निर्णय गरिरहनु पर्दैन । न्यायपरिषद्ले कुनै न्यायाधीशलाई अवकाशको जानकारी गराउँदा पूरै पदाधिकारीले निर्णय गर्ने नभई सचिवले नै पत्राचार गर्ने हो ।’ तर सचिवलाई नै अधिकार प्रत्यायोजन गरिएको विषय भए पनि २०७४ जेठ ३० गते भने न्यायपरिषद्का पदाधिकारीसहितको बैठकले पराजुलीको उमेरबारे निर्णय गरेको थियो । पराजुली स्वयं संलग्न भएर आफ्नो पदावधि बढाउने निर्णय गरेकाले त्यसमा ‘स्वार्थको द्वन्द्व’ समेत देखिन्थ्यो । पराजुलीले बुधबार साँझ यही निर्णयलाई आधार मान्दै पदाधिकारीहरूले गरेको निर्णय सचिवले उल्ट्याउन नसक्ने दाबी गरेका थिए ।


अधिकार प्रत्यायोजनमार्फत यस्ता निकायको क्षेत्राधिकार सचिव/सहसचिवसम्म सर्न सक्छ भन्ने उदाहरण निवर्तमान प्रधानन्यायाधीश पराजुलीले नै कायम गरिदिएका छन् । न्यायसेवा आयोगले गत फागुन ९ गते जिल्ला न्यायाधीशहरूको नतिजा निकाल्यो । प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् । कानुनमन्त्रीको जिम्मेवारी नतोकिएको, महान्यायाधिवक्ता भोलिपल्ट (फागुन १० गते) नियुक्त हुन लागेको अवस्थामा आयोगका अध्यक्ष पराजुलीले नतिजा निकाल्न सहसचिव यमबहादुर बुढामगरलाई निर्देशन दिए । जब कि आयोगका सचिव रहेका नृपध्वज निरौलालाई यसबारे थाहै दिइएन भने कानुनले कुनै भूमिका नदिएको सर्वोच्चका मुख्य रजिस्ट्रार राजन भट्टराईको रोहबरमा नतिजा निकालिएको थियो । ‘आफूले त्यही काम गर्दा हुने, अरूले गर्दा कानुन मिचियो भन्ने अभिव्यक्ति उहाँ हिजोसम्म पदमा रहँदाको मर्यादाले सुहाउने विषय होइन,’ सर्वोच्चका ती न्यायाधीशले भने ।

समाचार

‘न्यायालय पारदर्शी हुनुपर्छ’

अमेरिकी राजदूत

काठमाडौं (कास)– लोकतन्त्रलाई संस्थागत गर्नुका साथै मानव अधिकार संरक्षण र अब्बल न्याय सम्पादनका लागि न्यायालय पारदर्शी हुनुपर्ने अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले बताएकी छन् । नेपाल र अमेरिकाका विभिन्न कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीको ‘मुट कोर्ट इभेन्ट’ को सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसँग संयुक्त रूपमा आरम्भ गर्दै उनले यस्तो बताएकी हुन् । अदालत पारदर्शी र जनमुखी हुन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्नुका साथै वाक् स्वतन्त्रताको पनि सम्मान हुने उनले बताइन् ।


पछिल्लो समय नेपालमा अदालतको विषयमा छुट्टै प्रकारको बहस चलिरहँदा यस्तो कार्यक्रम काठमाडौंमा हुनुलाई संयोगका रूपमा मात्र लिनुपर्ने उनले बताइन् । उनले नेपालमा लोकतन्त्रको असली अभ्यास भइरहेको उल्लेख गरिन् । ‘मुट कोर्ट इभेन्ट’ मा नेपाल र अमेरिकाका कानुनका विद्यार्थीले बहस गर्नेछन् । दुईपक्षीय सहकार्यदेखि विविध क्षेत्रमा छलफल हुनेछ । ‘यस्तो छलफल र बहसले जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास दूतावासको छ,’ टेप्लिट्जले भनिन्, ‘सरकारीस्तरमा मात्र होइन, कूटनीतिमा जनस्तरको सम्बन्ध अर्को महत्त्वपूर्ण पाटो हो, हामीले त्यसमा ध्यान दिएका छौं ।’ नेपालका विभिन्न पाँच कानुन क्याम्पस र अमेरिकाको हर्बर्ट विश्वविद्यालयका सात कानुनका विद्यार्थीबीच यो बहस तीन दिनसम्म चल्नेछ । न्यायाधीश, उच्च प्रहरी अधिकारी, प्राध्यापक, अधिवक्तालगायतको उपस्थिति रहने बहसमा विभिन्न क्षेत्रका व्यक्तिले मुटकोर्टको न्यायाधीश बनेर बहस सुन्नेछन् ।


कार्यक्रममा न्यायाधीश मल्लले नयाँ पुस्ताले पुरानाबाट सिक्ने र नयाँ ज्ञानको उपयोगसमेत हुने भएकाले यस्ता बहसको महत्त्व हुने बताइन् । ‘पछिल्लो चरणमा अदालतबारेजनतामा उत्पन्न अन्योलको चरण पार भएको उनको भनाइ थियो ।

Page 3
समाचार

राष्ट्रपतिलाई भारत र चीनको बधाई

काठमाडौं (कास)– नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकीद्वय भारत र चीनका राष्ट्रपतिहरू क्रमश: रामनाथ कोविन्द र सी चिनफिङले बधाई दिएका छन् । उनीहरूले छुट्टाछुट्टै शुभकामना सन्देश पठाएर सफल कार्यकालको कामना गरेका हुन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले बिहीबार शीतलनिवास पुगी राष्ट्रपति सी चिनफिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी थिइन् । राजदूत होङ र राष्ट्रपति भण्डारीबीच दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको थियो । राष्ट्रपतिलाई बंगलादेशका राष्ट्रपति अब्दुल अहमद र सार्कका महासचिव अमजद बी सियालले पनि बधाई दिएका छन् ।

 

समाचार

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गरिने, फोरम सहभागी हुँदै, राजपा अनिर्णीत सल्लाहकार समूह र सचिवालय ‘सानो र छरितो’
- दुर्गा खनाल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले संसद्बाट दुई तिहाइभन्दा बढीको विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् । अब दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना उनको छ । राष्ट्रपति निर्वाचनसमेत सकिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा उनले बिहीबार वाम गठबन्धनका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरे ।


‘मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमै दुई अध्यक्षबीच कुरा भएको हो । सम्भवत: शुक्रबारसम्म गरिसक्ने तयारी छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कान्तिपुरसँग भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलो गर्नु हुँदैन भन्नेमा प्रधानमन्त्री हुुनुहुन्छ, एक/दुई दिनमा पूर्णता पाउँछ ।’
गत फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा ल्याउन मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ गरिरहेका थिए । एक महिना अवधिमा प्रधानमन्त्री ओलीले फोरम र राजपालाई आफ्ना पक्षमा ल्याएका छन् । दुवै दलले संसद्मा ओलीका पक्षमा विश्वासको मत दिए । त्यसैले अबको विस्तारमा दुवै दललाई समेट्ने तयारी छ । फोरमसँग अन्तिम कुराकानी भइसकेको छ । त्यसैले अबको विस्तारमा फोरम पनि सहभागी हुने सम्भावना रिमालले औंल्याए ।


फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सामेल हुन अब आफूहरूलाई समस्या नरहेको बताए । ‘संविधान संंशोधनलगायतका विषयमा करिब सबै कुरा मिलिसकेको छ, त्यसैले अब सरकारमा सहभागी हुन हामीलाई समस्या छैन,’ श्रेष्ठले भने, ‘कति वटा मन्त्रालय, कुन मन्त्रालय भन्ने टुंगिएको छैन, तर अब यो विषयकै कारण सरकारमा संलग्न नहुने भन्ने अवस्था छैन ।’ फोरमले वाम गठबन्धनसँग तीनवटा मन्त्रालय मागेको छ । तर गठबन्धनले दुइटा मात्र दिने तयारी गरेको छ । दुइटा मन्त्रालय पाउँदा राष्ट्रिय सभाको उपाध्यक्ष वा उपसभामुख आफूले पाउनुपर्ने अडान फोरमको छ । तर उपसभामुखमा एमालेले आफैं उम्मेदवारी दिएकाले अब दुई मन्त्री र एक राज्यमन्त्री फोरमलाई दिने सम्भावना छ ।


राजपा भने तत्कालै सरकारमा सहभागी हुने कि नहुने भन्ने स्पष्ट भइसकेको छैन । शुक्रबारसम्म उनीहरूसँग पनि अन्तिम कुरा गर्ने तयारी गठबन्धनको छ । राजपासँग कुरा नटुंगिए पनि अब पर्खने मनस्थितिमा प्रधानमन्त्री छैनन् । फोरमलाई मात्र लिएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको योजना छ ।


प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् हाल ७ सदस्यीय छ । मन्त्रालयको संख्या १८ कायम गरिएकाले अब ११ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुपर्नेछ । अहिले एमालेबाट ४ जना मन्त्री बनिसकेका छन् भने माओवादीबाट २ जना मन्त्रिपरिषद्मा सामेल छन् । एमाले र माओवादीले १० र ७ वटा मन्त्रालय भागबन्डा गरेका थिए । अब फोरमलाई दुइटा मन्त्रालय दिने भए दुवै दलले आ–आफ्नो कोटाबाट बाँडफाँट गर्नेछन् ।


मन्त्रिपरिषदमा सहभागी हुने नेताहरूको नाम भने बिहीबारसम्म दुवै दलले तय गरिसकेका छैनन् । मन्त्री छनोट गर्ने जिम्मेवारी दुवै दलले पार्टी अध्यक्षलाई दिएका छन् । मन्त्रिपरिषद् विस्तार हुने बेला नै अध्यक्षहरूले नाम सार्वजनिक गर्ने एक नेताले बताए । दुवै दलमा आकांक्षीहरूको संख्या धेरै भएकाले नाम तय गर्न सकस परेको हो । नाम सार्वजनिक गरिहाल्दा झन् दबाब बढ्ने भएकाले अन्तिम समयमा छनोट गर्ने दुवै दलका अध्यक्षको योजना छ । मन्त्री बनाउँदा प्रादेशिक सन्तुलन र समावेशितालाई पनि ध्यान दिइने तर काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रधानमन्त्रीको मनस्थिति छ ।


यसपटक प्रधानमन्त्री कार्यालयमा अधिकारसम्पन्न मन्त्री राख्ने तयारी छ । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलगायतका शक्तिशाली निकायहरू पनि प्रधानमन्त्री कार्यालयमा गाभिएपछि त्यहाँ मन्त्री नै राख्न लागिएको हो ।


प्रधानमन्त्री ओलीले यसपटक आफ्नो सल्लाहकार र स्वकीय सचिवालयको समूह पनि छरितो बनाउने भएका छन् । विगतमा जस्तो धेरै व्यक्ति नराखिने प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए । ‘राज्यकोषमा धेरै आर्थिक भार पर्ने काम नगर्ने भन्ने छ, त्यसैले कामकाजी खालको सानो सल्लाहकार समूह मात्र राख्ने तयारी छ,’ रिमालले भने, ‘प्रधानमन्त्री कार्यालयको कर्मचारी संयन्त्रलाई नै बढी कामकाजी र जिम्मेवार बनाउने भन्ने छ ।’ प्रधानमन्त्रीसँग जोडिने व्यक्तिहरूका क्रियाकलापले पनि कतिपय काममा विवाद र अप्ठ्यारो आउन सक्ने भएकाले छरितो समूहबाट काम लिने योजनामा प्रधानमन्त्री छन् ।


प्रधानमन्त्रीको समूहमा हाल प्रमुख राजनीतिक सल्लाहकारका रूपमा रिमालसहित सञ्चार सम्प्रेषकका रूपमा रामशरण बजगाईं र स्वकीय सचिवालयमा राजेश बज्राचार्य र दीपेन्द्र दाहाल मात्र औपचारिक रूपमा नियुक्त भएका छन् । अब राष्ट्रिय सुरक्षा सल्लाहकारको अवधारणाअनुसार अलिक शक्तिशाली भूमिकाको सल्लाहकार नियुक्त गर्ने तयारी छ ।

समाचार

उपसभामुखमा तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धी

काठमाडौं (कास)– प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारूढ एमालेबाट शिवमाया तुम्बाहाम्फे तथा प्रमुख प्रतिपक्षी कांग्रेसबाट पुष्पा भुसालले उम्मेदवारी दिएका छन् । उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ ।
सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने कानुनी व्यवस्था छ । सभामुखमा पुरुष निर्वाचित भइसकेकाले उपसभामुखमा महिलाको मात्रै उम्मेदवारी परेको हो । वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा रहेकाले उनीहरू एक भएपछि सभामुख र उपसभामुख एउटै दलको हुने भन्दै कांग्रेसले आफ्नो उम्मेदवारी दिएको हो । जबकि कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको थिएन । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्धारित समय सीमाभित्रै चुनाव हुन लागेको हो ।

समाचार

गोर्खा मुद्दाको दस्ताबेज तयार

लन्डन (कास)– बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले गोर्खा मुद्दाको अन्तिम दस्ताबेज तयार पारेको छ । बुधबार लन्डनस्थित नेपाली दूतावासमा भएको त्रिपक्षीय प्राविधिक समितिको पाँचौं चरणको वार्ताले भूपू गोर्खाले उठाउंँदै आएका मुद्दाको लिखित दस्ताबेजलाई अन्तिम रूप दिएको हो ।


उक्त दस्ताबेज यही मार्च २२ तारिखमा बेलायती रक्षा मन्त्रालय (एमओडी) मा बुझाइने दूतावासका उपनियोग प्रमुख एवं वार्तामा नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले जानकारी दिए । प्रतिवेदन नेपाल सरकारलाई काठमाडौंमा समेत हस्तान्तरण गरिनेछ । गेसो सभापति कृष्णकुमार राईले यसअघि चार चरणको वार्तामा भएका एजेन्डालाई आधिकारिकता दिइएको जनाए । ‘हामीले उठाउँदै आएका सबै माग र बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिको भनाइमा सहमति जुटाई हस्ताक्षर भएको छ,’ उनले कान्तिपुरसँग भने । राईका अनुसार दूतावासका तर्फबाट शरदराज आरण र बेलायती रक्षा मन्त्रालयका डामियन प्याटरसनबीच हस्ताक्षर भएको हो ।


समितिको अन्तिम प्रतिवेदनमा तीन दशकदेखि भूपू गोर्खाले उठाउँदै आएका सबै माग समेटिनु र दुई देशका सरकारी प्रतिनिधिबीच हस्ताक्षर हुनु गोर्खाहरूको विजयसरह भएको गेसो सभापति राईको बुझाइ छ । ‘हामीले यतिबेला नेपाल र बेलायत सरकार दुवै गोर्खाका समस्यामा चिन्तित पाएका छौं । वार्तामा बसेका बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिले समेत समान पेन्सन सवाललाई सकारात्मक रूपमा लिएकाले गोरखाका लागि राम्रो परिणाम आउनेमा विश्वस्त छौं,’ राईले भने, ‘अब नेपाल सरकारले कसरी हाम्रा कुरा उठाउन सक्छ, त्यसमै गोर्खाहरूको सफलता निर्भर हुन्छ ।’

समाचार

मलेसियामा एक नेपालीको मृत्यु

छोटकरी

क्वालालम्पुर (कास)– मलेसियाबाट स्वदेश फर्कने तयारीमा रहेका अंगेश तामाङको मंगलबार मृत्यु भएको छ । गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिनाअघि पक्राउ परेका तामाङ मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) मा थिए । दूतावासका द्वितीय सचिव महेश्वर त्रिपाठीका अनुसार तामाङ जेल सजाय पूरा गरेर मार्च २२ मा स्वदेश फिर्ने मिति तय भएको थियो । उनको मृत्युबारे फिर्ती केन्द्रले बुधबार दूतावासलाई जानकारी गराएको हो । माझीफेदा गाविस, काभ्रेका तामाङको सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘स्वदेश फर्काउन टिकट लिने तयारी भइरहेको थियो । तर, अचानक उनको मृत्यु भएको खबर आयो,’ उनलाई स्वदेश फर्काउन समन्वय गर्दै आएका नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पाले भने । तामाङको शव परिवार वा आफन्तजनबाट आधिकारिक मञ्जुरीपत्र प्राप्त भएपछि नेपाल पठाइने दूतावासले जनाएको छ ।

समाचार

अध्यागमन सुरक्षामा अमेरिकी चासो

छोटकरी

काठमाडौं (कास)– काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन सुरक्षा सम्बन्धमा गृह मन्त्रालयसँग सहकार्य गर्ने प्रस्ताव राखेको छ । गृहमन्त्री रामबहादुर थापासँग बिहीबारको भेटमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले यस्तो अपेक्षा राखेकी हुन् । राजदूतले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषयमा पनि ध्यानकार्षण गराएकी थिइन् । राजदूत टेप्लिजले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेकी थिइन् ।

समाचार

पूर्वउपकुलपति शर्माको निधन

छोटकरी

काठमाडौं (कास)– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ । कलेजोका बिरामी शर्माको निधन रूसमा भएको हो । उनी तीन वर्षदेखि रूसी पत्नीका साथ उतै बस्दै आएका थिए ।

Page 5
समाचार

कैलाली घटनामा १० पक्राउ

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा ४ जना र बोक्सी भन्दै यातना दिने ६ जना सार्वजनिक
- डीआर पन्त

धनगढी– प्रहरीले अघिल्लो साता कैलालीमा भएका दुई छुट्टाछुट्टै घटनाका १० जना आरोपीलाई बिहीबार सार्वजनिक गरेको छ ।


घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार कार्यकर्ता र एक किशोरीलाई बोक्सी आरोप लगाउँदै यातना दिने अन्य ६ जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।


नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का कमल क्षेत्री, ९ का भरत शाह, धनगढी उपमहानगरपालिका–८ का पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का हृदयराज बोगटी पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले घटनामा संलग्न रहेको भन्दै १३ जनाका नाममा किटानी जाहेरी रहेकाले अन्यको खोजी भइरहेको बताए । ‘आक्रमण घटनाको थप अनुसन्धान जारी राखेका छौं,’ उनले भने । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका कसैले पनि कसूर स्वीकार नगरेको तर प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न सबैको पहिचान गरिसकेको एसपी घिमिरेले बताए । पक्राउ परेकामध्ये केहीले भने पार्टीको निर्देशनमा घटना भएको तर आफूहरू संलग्न नरहेको दाबी गरेको एक प्रहरी स्रोतले बतायो ।


नगरप्रमुख चौधरीले आर्थिक अनियमितता गरेको, नगरपालिकाको साधनस्रोतको दुरुपयोग गरेको, बोक्सी प्रकरणमा संलग्नलाई जोगाउन खोजेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले सामाजिक सञ्जालमा उनलाई कारबाहीको सूचीमा राखेको उल्लेख गर्दै आएको थियो । त्यसको केही दिनमा नै नगरप्रमुख चौधरीलाई राति ८ बजे घरबाट बाहिर निकाली खुकुरी र गोली प्रहार गरिएको थियो ।


नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले नगरप्रमुख चौधरीलाई जनताले कारबाही गरेको दाबी गरे । उनले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि प्रहरीले दमन गरेको आरोपसमेत लगाए । ‘जिल्लाभरका निर्दोष कार्यकर्ताको घरमा खानतलासीका नाममा प्रहरीले ज्यादती गरिरहेको छ,’ उनले भने ।


यस्तै प्रहरीले फागुन २४ गते घोडाघोडी नगरपालिकाको देवकलियामा बोक्सी आरोपमा एक किशोरीलाई यातना दिएको आरोपमा पक्राउ परेका ६ जनालाई पनि बिहीबारै सार्वजनिक गरेको छ । घटनाको मुख्य अभियुक्त मानिएका भोलेबाबा भनिने रामबहादुर चौधरी, बाबाकी मुख्य सहयोगी किस्मती चौधरी, स्मारिका चौधरी, घोडाघोडी ५ बस्ने वेदप्रसाद चौधरी, सोही ठाउँका चनकला चौधरी र सीतारानी चौधरीलाई सार्वजनिक
गरेको छ ।


किशोरीलाई यातना दिन सहयोग पुगाउने र पहिचानमा आएका थप केही व्यक्तिलाई पनि प्रहरीले खोजिरहेको जनाएको छ । दुवै घटनामा प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

समाचार

कतारमा ४० नेपाली अलपत्र

मानव तस्करी
- होम कार्की
आजाद भिसाको नाममा कतार पुर्‍याएर अलपत्र पारिएका नेपाली । 

काठमाडौं– चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् ।


ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्ेरडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्ेरड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्ेरडिङ र फोल्रा ट्ेरडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् ।


के हो ‘आजाद भिसा’ ?
कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् ।


यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’


गुमराहमा श्रम स्वीकृति
कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’


राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् ।


पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए । पीडितलाई खानाका लागि प्रबन्ध गैरआवासीय नेपाली संघ कतारले मिलाइरहेको युवा सहसंयोजक नारायण भण्डारीले बताए ।


नेपाली दूतावासले कामदार ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । ‘दूतावासले पठाएको पत्रअनुसार तत्काल श्रम स्वीकृति रोकिसकेका छौं,’ विभागका प्रवक्ता मोहन अधिकारीले भने, ‘म्यानपावरले मानव तस्करी गरेको विषयमा विस्तृत अनुसन्धान थालिसकेका छौं ।’

समाचार

सडक निर्माणमा अलमल

- डिल्लीराम खतिवडा

बेल्टार (उदयपुर)– वैकल्पिक मार्गका रूपमा अघि बढाइएको धरान–चतरा–हेटौंडा सडक निर्माण निर्धारित समयभित्र सकिने सम्भावना धकेलिँदै गएको छ । ३ वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएकामा सडक विभागले अधिग्रहण गर्नुपर्ने क्षेत्रका घरटहरा, बिजुली पोल, रूख हटाउने र मुआब्जा वितरण अघि बढाउन सकेको छैन ।


समयमै बजेट व्यावस्थापन नहुँदा कामै रोकिने अवस्था सिर्जना भएको छ । १५ दिनभित्र बजेट नआए काम रोकिने पूर्वी खण्ड ठेक्का लिएको जेडआईईसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरले जनाएको छ ।
उक्त सडक योजना दुई खण्डमा छुट्याएर काम भइरहेको छ । धरानदेखि सिन्धुलीको भिमादसम्म पूर्वी खण्डमा पर्दछ । विस्तार हुने जंगल क्षेत्रका रूख काटिए पनि घर–टहरा र विद्युत पोल हटाउने काम हुन सकेको छैन । ‘समयमै घरटहरा, विद्युत् पोल र मुआब्जा समस्या समाधान नहुँदा सोचेअनुसार काम गर्न सकिएन,’ कम्पनीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले भने, ‘काम गर्दै जाँदा घर भएको स्थानमा पुगेपछि रोकिनुपर्छ, विद्युत् पोलले समेत बाधा छ ।’ गत वर्ष कात्तिकबाट निर्माण सुरु गरिए पनि वर्ष दिनमा झन्डै साढे ५ महिनाजति मात्र राम्ररी काम गर्न पाएको उनले बताए ।


‘बाँकी साढे ६ महिना त्यत्तिकै बित्यो,’ पोखरेलले भने, ‘यही कारण तीन वर्षभित्र काम नसकिने भयो ।’ लक्ष्यअनुसार अहिलेसम्म २५ प्रतिशत सकिनुपथ्र्यो । चौडण्डीगढी नगरपालिकाको वीरेन्द्र चौकदेखि सिन्धुलीको भिमादसम्म १ सय ३४ किमि जिम्मा पाएको जोइन्ट भेन्चरले यो अवधिमा ३१ किमी क्षेत्रमा अलिकति पनि काम अघि बढाउन सकेन । यस क्षेत्रको ८ किलोमिटरजतिमा पुल हाल्नुपर्नेछ । त्यसै गरी ५७ किमि जंगल क्षेत्रमा समयमै रूख नकाटिँदा काममा ढिलाइ भएको प्रोजेक्ट मेनेजर पोखरेलले बताए । ‘विभागले रूख कटान, घरटहरा हटाउने अनि मुआब्जा विवाद टुंग्याएर हामीलाई काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो,’ उनले भने । कम्पनीले बाधा व्यवधानका बावजुद काममा २० प्रतिशत प्रगति गरेको दाबी गर्दै आएको छ ।


पूर्वी खण्डका योजना प्रमुख उमेशविन्दु श्रेष्ठ पनि बजेट अभावले काम प्रभावित भएको बताउँछन् । ‘बजेट अभाव छ, माग हुँदैछ, अर्थ मन्त्रालयले दिने भने पनि दिएको छैन,’ उनले भने, ‘अहिलेसम्म बजेटकै कारण काम रोकिएको भने छैन ।’ सिन्धुलीतर्फ विद्युत् पोल सार्ने कामको ठेक्का लागे पनि काम सुरु भइनसकेको श्रेष्ठले बताए । ६ महिनायता पूर्वी खण्डको सडक विस्तार अघि बढाइएको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सडक बनाउने गरी काम थालिएको हो ।

Page 6
सम्पादकीय

पराजुली प्रकरणको पाठ

लामो समयदेखि विवादको घेरामा तानिएका गोपाल पराजुली अन्तत: प्रधानन्यायाधीश पदबाट मुक्त भएका छन् । न्यायपरिषद् सचिवालयले उमेर हद सात महिनाभन्दा पहिल्यै पूरा भइसकेको जानकारी गराएपछि बुधबार पराजुली स्वत: पदमुक्त भएका हुन् । सरकारी निकायहरूमा फरक–फरक जन्ममितिका नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गरेका पराजुलीको कानुनी प्रावधानअनुसार गत साउन २१ मै पदावधि पूरा भएको प्रमाणित भएको थियो । त्यही मितिबाट सेवानिवृत्त भइसकेको पत्र थमाइए पनि उनी सेवामा रहिरहेको देखाउने मनसायले बिहीबार राजीनामा बोकेर राष्ट्रपतिकहाँ पुगेका थिए । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेसँगै सर्वोच्च अदालतमा उत्पन्न अन्योल हटे पनि पराजुलीका खराब आचरण, हर्कत एवं कीर्ते कार्य छानबिन गरी कारबाहीको दायरामा ल्याउने दायित्व थपिएको
छ । यसमा आमचासो छ । खराब क्रियाकलापमा संलग्न राज्यका उपल्ला पदाधिकारीलाई ‘पदमुक्ति’ का भरमा चोख्याउने परम्परा अन्त्य हुनुपर्छ । त्यसो भए मात्र मुलुकमा लोकतन्त्र क्रियाशील रहेको र विधिको शासन स्थापित भएको सन्देश जानेछ ।


जन्ममितिमा फरक–फरक तथ्य सार्वजनिक भएपछि त्यसमा जवाफ दिनुको बदला प्रश्न गर्नेहरूविरुद्ध प्रतिशोध साध्न न्यायालयको शक्ति दुरुपयोग गरेपछि पराजुली चरम विवादमा पर्दै आएका थिए । सँगै, उनले व्यक्तिगत अनुचित कर्मलाई न्यायालयसँगको मर्यादा र गरिमासँग जोडी न्यायिक इतिहासमै लज्जाजनक दृश्य मञ्चन गराए । त्यसअघि न्यायाधीश चोलेन्द्र शमशेर राणाले उनको उमेर हदका कारण पदावधि सकिएको आदेश सुनाइसकेका थिए । न्यायाधीशको आदेश र न्यायपरिषद्को सूचनापछि पनि जबरजस्ती प्रधानन्यायाधीश बनिरहने उनको दुस्साहस बिहीबार निरर्थक साबित भएको छ ।


जन्ममिति विवादमा परेर बहालवाला प्रधानन्यायाधीश पदमुक्त भएको न्यायिक इतिहासमै यो पहिलो घटना हो । पराजुलीको हठ र प्रतिशोधपूर्ण मनसायका कारण सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेको, एक न्यायाधीशले इजलासबाटै पराजुली पदमुक्त भइसकेको घोषणा गरेको न्यायिक इतिहासमा दुर्लभ दृश्य पनि देखापर्‍यो । यस प्रकरणसँगै न्यायाधीश नियुक्तिका विधि/प्रक्रिया, षड्यन्त्र, दलीयकरण, राजनीतिक दलहरूको भूमिकालगायत विषयमा अनेक प्रश्न उठेका छन् । न्यायालयको गरिमाप्रति चिन्ता र चासो पनि प्रकट भएका छन् । यी प्रश्न, चिन्ता र चासो न्यायालयलाई निष्पक्ष र विश्वसनीय बनाउँदै न्यायिक सर्वोच्चता कायम गर्न नै लक्षित हुन् । त्यसैले यो प्रकरण सम्बन्धित सबैका लागि पाठ बन्न सक्नुपर्छ ।


जन्ममितिमा प्रश्न उठाउने डा. केसीविरुद्ध अवहेलना मुद्दा दायर गर्दै तत्काल आदेश जारी गराएर रातारात पक्राउ गर्नुले पराजुलीको प्रतिशोधपूर्ण कार्यशैलीलाई झल्काउँछ । जन्ममितिबारे तथ्य सार्वजनिक गर्दा कान्तिपुरमाथि पनि पूर्वाग्रहपूर्ण ढंगले अवहेलना मुद्दा लगाएर आफैं अन्तरिम आदेश जारी गर्दै उनले प्रेसमाथि नियन्त्रण (प्रि–सेन्सरसिप) लगाउन खोजेका थिए । उनका पालामा गरिएका विभिन्न अन्तरिम आदेशका कारण करिब ६१ अर्ब रुपैयाँ राजस्व प्रभावित हुने अवस्था आयो । मुख्य न्यायाधीशमा आफन्तलाई सिफारिस गर्न भ्याए । पराजुलीको कार्यकाल शक्ति दुरुपयोग, विवादास्पद फैसला र आदेशहरूमै बित्यो । यसले उनी न्यायालयलाई ध्वस्त पार्न उद्यत रहेको देखाउँछ ।


लोकतन्त्रमा जिम्मेवार निकायका सबै पदाधकारी आआफ्ना सीमामा बस्नुपर्छ । तर पराजुलीले त्यसको ख्याल गरेनन् । त्यसैले पनि न्यायालयबाट उनको शीघ्र बहिर्गमन अत्यावश्यक थियो । अन्तत: न्यायपरिषद् सचिवले बुधबार न्यायपरिषद् ऐनको दफा ३१ अनुसार पराजुलीलाई पदमा नरहेको जानकारी गराएपछि उनी पदमुक्त भए । अभिलेख राख्ने निकायले दिएको जानकारीलाई अन्यथा लिइनु हुँदैन । यो र लोकमानसिंह कार्की प्रकरणले जसले जे गरे पनि हुन्छ भन्ने अवस्था रहेनछ भन्ने देखाएका छन् । यो राज्यको प्रणाली सबै बिग्रिसकेको रहेनछ, कुनै एउटा कमजोर/लापरबाह भए अर्काले नियन्त्रण एवं नियमन गर्न सक्छ भन्ने सन्देश पनि हो ।


पराजुलीका बेग्लाबेग्लै जन्ममिति उल्लेख भएका कागजात सार्वजनिक भएका थिए । त्यही आधारमा उनको ६५ वर्षे उमेर हदका कारण २०७४ साउन २१ मै पदावधि सकिएको हामीले लेख्दै आएका थियौं । नागरिक अभियन्ता डा. केसीले समेत त्यही विषयलाई निरन्तर आवाज उठाउँदै आएका थिए । न्यायाधीशको नक्कली योग्यता र नागरिकतासम्बन्धी प्रश्नलाई न्यायालयको अवहेलनासँग जोडेर कान्तिपुर र डा. केसीलाई मुद्दासमेत दायर गरिएको थियो । प्राकृतिक न्यायको सिद्धान्तविपरीत तत्कालीन प्रधानन्यायाधीश पराजुलीले अवहेलनासम्बन्धी मुद्दा आफ्नै इजलासमा तोक्दै आएका थिए । यसले पनि उनको प्रतिशोधपूर्ण मनसायलाई प्रतिबिम्बित गथ्र्यो । पराजुलीले आफूसँग सम्बन्धित विषयमा परेको अवहेलना मुद्दा प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफ्नै इजलासमा राख्ने अनैतिक दृश्य प्रदर्शन गर्न कुनै कसर बाँकी राखेनन् । अर्कातर्फ महाअभियोग लगाउने पर्याप्त प्रमाण सार्वजनिक भइसक्दा समेत राजनीतिक दलहरूले मौनता साधे । प्रधानन्यायाधीशका अनुचित क्रियाकलापविरुद्ध समयमै प्रश्न उठाइदिएको भए यस्तो परिस्थिति उत्पन्न हुने थिएन ।


यतिबेलाको मूल प्रश्न योग्यतामै विवादित पराजुली र लोकमानसिंह कार्कीजस्ता पात्रले कसरी उच्च संवैधानिक पदमा नियुक्ति पाउँछन् भन्ने हो । योग्यता नपुगेका कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइयो । यस्ता अनुचित सवालमा नागरिक तहबाट बारम्बार प्रश्न र आवाज उठाइरहे पनि नियुक्तिकर्ता नेतृत्ववृत्तले कहिल्यै जवाफ दिनु आफ्नो दायित्व ठानेन । पछिल्ला समयमा संवैधानिक अंग/निकायमा पदाधिकारी नियुक्तिमा दलीयकरण, पैसा र शक्तिकेन्द्रको चलखेल, चरम खेलबाडका दृश्य नेतृत्व तहबाटै प्रदर्शन भएका छन् । अब यसको अन्त्य हुनुपर्छ ।


चार वर्षअघि इमानदार र स्वच्छ छविको पहिचान बनाएका प्रकाश वस्ती, भरतराज उप्रेतीलगायत पाँच अस्थायी न्यायाधीशलाई षड्यन्त्रपूर्वक अवकाश दिइयो । सर्वाेच्च अदालतका स्थायी न्यायाधीश पदमा आश्चर्यजनक र अस्वाभाविक ढंगले ‘अन्य पात्र’ लाई ल्याइयो । त्यही ‘चोर बाटो’ बाट गोपाल पराजुलीहरू सर्वोच्च आइपुगे र न्यायिक नेतृत्वमा पुग्ने अवसर पाए । संवैधानिक परिषद् र न्यायपरिषद्मा संलग्न पदाधिकारीहरूको षड्यन्त्रकै कारण तिनीहरू बाहिरिनुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति बन्यो । न्यायपरिषद्भित्र हुर्किएको दलीयकरण प्रवृत्तिकै कारण यसबीचमा न्यायाधीश पदको शपथ लिएर पार्टी कार्यालयमा ‘आशीर्वाद’ लिन गएको दृश्यसमेत देखियो । न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद्मा न्यायाधीशभन्दा राजनीतिक पृष्ठभूमिका व्यक्तिको संख्या बढी हुने व्यवस्था गरिएपछि नै नियुक्तिमाथि प्रश्न उठ्न थालेको हो । त्यसकारण न्यायपरिषद्को वर्तमान संरचनामा आमूल परिवर्तन गरिनु जरुरी छ ।


नियुक्तिअघि संसदीय सुनुवाइको प्रावधान ‘कर्मकाण्डी’ मा सीमित हुनु अर्को कमजोरी हो । न्यायाधीश हुँदाका बखत भएका अनेकन विवादित फैसलाका शृंखलाकै बीच पराजुली संसदीय समितिबाट अनुमोदित हुँदै प्रधानन्यायाधीश हुनु विडम्बनापूर्ण थियो । मेडिकलसम्बन्धी प्रकरणहरूमा ‘जता पराजुली उतै रिट’ पार्ने र आदेशमार्फत् मेडिकल माफियाहरूलाई फाइदा पुर्‍याएको विषयमा तथ्यगत समाचार कान्तिपुरले प्रकाशनमा ल्याइसकेको थियो । नियुक्तिपछि पनि थप तथ्य–प्रमाण सार्वजनिक भइरहँदा र विवादास्पद फैसलाले निरन्तरता पाइरहँदा पनि राजनीतिक दलहरू पराजुलीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा लैजान चुके । त्यसैले संवैधानिक अंग/निकायमा पदाधिकारीमा सक्षम, योग्य र निर्विवाद आउने गरी नियुक्तिको विधि र प्रक्रियामा परिमार्जन आवश्यक छ ।


शक्तिको चरम दुरुपयोग गरेका लोकमानसिंह कार्की राजनीतिक दल र सम्बन्धित निकायको नालायकीका कारण भागेर विदेश पुगे । कार्कीको कार्यकालका अख्तियार दुरुपयोगमाथि राज्यका कुनै निकायबाट छानबिन नहुनु ‘दण्डहीनता’को पराकाष्ठा हो । यो स्थिति पराजुलीका सन्दर्भमा दोहोरिनु हुन्न । गल्ती गर्नेलाई उन्मुक्ति दिँदै जाने हो भने गलत माध्यमबाट पदमा पुग्ने र शक्ति दुरुपयोग गरेर अराजकता मच्चाउने प्रवृत्ति रोकिन सक्दैन । पराजुलीका किर्ते कागजात, सम्पत्तिलगायत सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राज्यका अन्य सरोकारवाला निकायले अनुसन्धान गरी उनलाई कारबाहीको दायरामा पुर्‍याउनुपर्छ । यस्तै, अर्बौं रुपैयाँ राजस्व प्रभावित हुने गरी उनले गरेका फैसलाहरू पुनरावलोकन गरेर राज्यलाई नोक्सानी हुनबाट जोगाउनुपर्छ । न्यायालयभित्र गरेका गलत निर्णयहरूमाथि पनि छानबिन हुनुपर्छ । अब न्यायालयलाई बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । न्यायमूर्तिहरूबाट हुने छिटोछरितो र निष्पक्ष न्यायसम्पादनले न्यायालयप्रति नागरिकमा विश्वास र भरोसा बढाउँछ । त्यही विश्वास र भरोसाले न्यायालयलाई सम्मानित, मर्यादित र शक्तिशाली बनाउने हो । त्यसैले न्यायाधीशहरूको ध्यान अब त्यसतर्फ हुनुपर्छ । सक्षम, योग्य र निर्विवाद व्यक्तिलाई न्यायसम्पादन गर्ने ठाउँमा पुर्‍याउने गरी विधि तय गर्ने जिम्मेवारी पनि सरकारले पूरा गर्नैपर्छ ।

दृष्टिकोण

चिनियाँ राजनीति र नेपाल

चीनको शासकीय पद्धतिबाट प्रभावित भई त्यसलाई लागू गर्ने अवस्था नभए पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरूद्धको शून्य सहनशीलताको प्रण कार्यान्वयन गर्नकै निम्ति चीनबाट सिक्ने कि ?
- ध्रुव कुमार

सन् २०१३ मा चिनिया राष्ट्रपति सी चिनफिङसित नौ घण्टाको संवाद र वार्तापछि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा माओपछिका शक्तिशाली नेता भनेका थिए । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबारे आफ्नो मन्तव्य राख्दै २०१७ मा ओबामाकै कथ्य दोहोर्‍याएका थिए । आफ्नो १० पल्टको असफल प्रयासपछि १९७३ मा मात्र चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिन सफल सीले पार्टीको विभिन्न संगठनात्मक अंगमा कार्यरत भई महत्त्वपूर्ण महासचिवको ओहदामा पुग्नुसितै संविधानअनुसार महासचिव नै राष्ट्राध्यक्ष हुने प्रचलन कायम भएपछि गत अक्टोबरमा सम्पन्न १९ औं महाअधिवेशन लगत्तै यस वर्ष मार्च ५ देखि बसेको राष्ट्रिय जनकांग्रेसको अधिवेशनद्वारा राष्ट्रपतिको दुई कार्यकालको संवैधानिक व्यवस्था खारेज गरी उक्त पदमा आजीवन कायम रहन सक्ने प्रस्ताव पारित गराएका छन् । उक्त प्रस्तावका पक्षमा २,९५८ र विपक्षमा जम्मा २ जनाको मत परेको हुँदा त्यसमा विवाद र बहस निरर्थक भए पनि चीनमा विकसित राजनीतिक परिवेशले विश्वकै ध्यानाकर्षण गरेको छ ।


यसो हुनुको मुख्य दुई कारण छन् । एक, तंग सीयाओ फिङले सामूहिक नेतृत्वको अवधारणा अघि सारी माओकालीन शक्ति दुरुपयोग गर्ने अवस्था नदोहोरियोस् भनेर १९८२ देखि आलंकारिक भए पनि राष्ट्रपतिको दुई कार्यकालको संवैधानिक व्यवस्था गरेका थिए । यो व्यवस्था पार्टीका महासचिव केन्द्रीय सैनिक आयोग, २०१३ मा स्थापित पार्टीको राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षका साथै प्रान्तीय सरकारहरूमा पकड जमाएका सी चिन फिङले राष्ट्रिय जनकांग्रेसको अधिवेशनबाट आजीवन राष्ट्रपति हुने अभिभाराको ‘लालमोहर’ लिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवलाई राष्ट्रिय जनकांग्रेसको सर्वाधिक समर्थन रहनु भनेको वैधानिकता पाउनु नै ठहर्छ । हुन त पार्टीको ९ करोड सदस्य समर्थित महासचिव सीलाई ‘रबरस्ट्याम्प’ कै रूपमा रहेको जनकांग्रेसको अनुमोदन लोकलाजबाट जोगिने उपाय मात्र हुन सक्छ । दोस्रो, राज्यव्यवस्थाको सन्दर्भमा पार्टीको एकलौटी नियन्त्रण हुनुपर्ने विषयमा सम्झौता नगरे पनि राज्य र पार्टीलाई अलग राखी सरकारको दैनिक सञ्चालन प्रक्रियामा पार्टीले दखल दिन नहुने तंगको उद्देश्य थियो । ताकि पार्टीको एकमना राज्य अधिनायकवादबाट सर्वसत्तावादतिर उन्मुख नहोस् । तर १९ औं पार्टी महाधिवेशनमा आफ्नो स्पष्ट धारणा राख्दै सीले तंगको विचारप्रति असहमति जनाएका थिए । उनको विचारमा ‘सरकार, सेना, समाज र प्राज्ञहरू (गोलाद्र्धको) उत्तर, दक्षिण, पूर्व र पश्चिमजस्तै समान रूपले महत्त्वपूर्ण भए पनि त्यसको केन्द्रमा पार्टी रहेको छ । पार्टीले नै सबैको नेतृत्व गरेको छ ।’ महासचिव सीको यो भनाइ माओकालीन ‘पोलिटिक्स इन कमान्ड’ कै अवधारणाको प्रारूप भएकाले यसले तंगको १९८० मा पोलिटब्युरो सम्बोधनमा पार्टी र राज्यबीच लक्षमणरेखा कोर्ने आह्वानलाई विस्थापित गरेको छ ।


शक्तिशाली नेताहरूले मुलुकको परिस्थिति आफू अनुकूल ढाल्न चाहनु कुनै अपवाद होइन । आफ्नो निहित स्वार्थ पूर्तिको निम्ति संविधान संशोधन मात्र होइन, पुनर्लेखन समेत गर्न चुक्दैनन् सत्ताधारीहरू । जसले गर्दा आफ्नो नेतृत्वको सत्तावधि अजम्बरी होस् र विपक्षीहरू निरीह बनून् । लोकतान्त्रिक व्यवस्थामा यस्तो हुनु अवसाद भनिन्छ । तर लोकतान्त्रिक पद्धतिका उपज नेताहरू नै पनि तानाशाही र सर्वसत्तावादी भएको विश्व इतिहास साक्षी छ । चीन त यसै पनि एक दलीय राज्य हो । शक्तिशाली दल र त्यसको प्रतिष्ठामा आँच आउनुले चीनको सार्वभौमिकतासमेत ह्रास हुन सक्ने मनोवैज्ञानिक आशंकाबाट चिनियाँ नेतृत्व वर्ग अझै मुक्त हुन सकेको छैन । चिनियाँ जनताको आशा र अपेक्षाको मूल नै पार्टी रहेको तथ्य सबैले स्विकारेका छन् । तसर्थ चीनमा विकासका क्रममा वैभवसितै भ्रष्टाचारको फैलदो जालोबाट प्रभावित पार्टी संरचनाको कारण सर्वसाधारणमा पार्टीप्रतिको आस्था घट्दै गएको महासचिव सीले प्रत्यक्ष अनुभव गरेका छन् । उनी पार्टीको केन्द्रीयस्तरमा पुग्नुअघि नै १९९१ मा फुजियन प्रान्तको मध्यमस्तरीय नेताको रूपमा कार्यरत छँदै ‘राजनीति धन्दा होइन, सेवा हो’ भनेका थिए । यही अवधारणाले अभिप्रेरित सीले २०१२ को १८ औं पार्टी अधिवेशनपछि मुख्य नेता (कोर लिडर) अथवा चिनियाँ भाषामा ‘लिङस्यु’ (अति मान्यवर व्यक्ति) को उपमा पाएपछि आफ्नो पहिलो ५ वर्षे कार्यकालदेखि नै व्याप्त भ्रष्टाचारविरुद्धको अभियान छेडेका छन् । यसले गर्दा पार्टीभित्र र बाहिरका सम्भ्रान्त वर्ग उनीप्रति आशंकित छन् । तर गृहनीतिमा पूर्ण पकड हुनुका साथै भ्रष्टाचारविरुद्धको अभियान प्रशंसनीय हुनुकै कारण उनी अर्काे ५ वर्षे कार्यकालभन्दा पनि बढी सत्तामै रहने अनुमान १९ औं पार्टी महाधिवेशनताका नै गरिएको थियो, जुन अहिले सत्य साबित भएको छ ।


चीनमा शक्तिशाली नेतृत्वको उदय हुनुको अर्काे सम्भावित अनुकूल कारण विश्वराजनीति, खासगरी पश्चिमेली स्थापित लोकतान्त्रिक मुलुकहरूमा जबरजस्त देखा परेको दक्षिणपन्थी धार, लोकतान्त्रिक मान्यताको अवमूल्यनका साथै अनिश्चितता र अन्योलले गर्दा चिनियाँ जनतामा बढेको स्थिरता र स्थायित्वको चाहनाले पनि हुन सक्छ । यही सन्दर्भमा विश्वका एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसमेत घरभित्रै कमजोर र विवादित भएका छन् । विश्व रंगमञ्चमा अनपेक्षित तवरबाट अमेरिकाको साख गिरेको छ । युरोजोन ब्रेक्जिटले गर्दा चर्केको छ । यही परिप्रेक्षमा बेइजिङ विश्वविद्यालयअन्तर्गतको समसामयिक चीन अनुसन्धान केन्द्र (रिसर्च सेन्टर फर कन्टेम्पोररी चाइना) को सहयोगमा चीनका ५० सहरका छानिएका जिल्लाहरूको सर्वेक्षणद्वारा पश्चिमेली लोकतन्त्रप्रति चिनियाँ जनता त्यति विश्वस्त नरहेको पुष्टि भएको तथ्य ब्रुस जे. डिक्सनले २०१६ मा प्रकाशित आफ्नो पुस्तक ‘दि डिक्टेटर्स डेलिमा’ मा लेखेका छन् । जनताको जीवनस्तर उकासिनुसितै अन्तर्राष्ट्रिय सन्दर्भमा समेत चीनको प्रभाव बढ्नाले चिनियाँ जनतामा आत्मविश्वास बढेको हँुदा तिनीहरू पश्चिमेली लोकतन्त्रमा झाँगिँदै गएको दक्षिणपन्थी धार र राजनीतिक अस्थिरताको सट्टा स्थिरता र स्थायित्व रोज्छन् । यो निष्कर्षले चिनियाँ जनमत लोकतान्त्रिक पद्धतिप्रति अझै उदासीन रहेको झल्काउँछ ।


माओकालीन उथलपुथलबाट अहिले चीन मुक्त छ । तर यो उथलपुथलको ऐतिहासिकता नै चीनको विद्यमान आर्थिक विकास, वैभव तथा स्थायित्वको आधारशीला रहेको भनाइप्रति महासचिव सी सहमत छन् । यसैले सी चिनफिङले सर्वसत्तावादी भएर चीनलाई माओकालीन अवस्थामा पुर्‍याउन खोज्ने हुन् कि भनी व्यक्त आशंका निराधार नभए पनि त्यसको सम्भाव्यता भने न्यून छ । किनकि माओकालीन चीनको ‘क्यापिटलिस्ट रोडर्स’ प्रतिको आक्रामक सांस्कृतिक क्रान्ति वर्तमान चीनमा सम्भव छैन किनभने त्यसबेला पार्टी नै माओको कोपभाजनको सिकार भएको थियो, जसले गर्दा चरम वामपन्थी चण्डाल चौकडी (ग्याङ अफ फोर) को अवसरवादलाई हुर्काएको थियो । त्यस्तो परिस्थिति दोहरिएमा चीनलाई आर्थिक र सामरिक विकाससितै ‘बीआरआई’ को कार्यान्वयन गर्दै समुन्नत महाशक्ति राष्ट्रको स्तरमा उभ्याउने सीको महत्त्वाकांक्षा धराशायी हुनेछ । तसर्थ सीले माओको गल्तीबाटै सिकेर अगाडिको बाटो तय गर्नेछन् । उनले राष्ट्रपतिका रूपमा सत्तामा निरन्तरता खोज्नुको प्रमुख कारण नै भ्रष्टाचारमुक्त, सुशासन र अनुशासित गृहनीति र अन्तर्राष्ट्रिय स्तरमा चीनको प्रभावशाली उपस्थितिको जगेर्ना गर्नु रहेको छ । भ्रष्टाचार निर्मूल गर्ने उद्देश्यले नै उनले अति शक्तिशाली निकाय गठन गरेका छन्, जुन न्यायपालिकाभन्दा बढी प्रभावकारी हुनेछ । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र परिस्कृत गर्न केन्द्रमा अनुभवी र दक्ष व्यक्तिहरूको विदेशनीति समूह गठन गरेका छन् । विश्वमै सबै मुलुकको दाजोमा बढी विदेशी मुद्रा सञ्चिति भएको चीनले आफ्नो उद्देश्य पूर्तिकै निम्ति पनि मित्र राष्ट्रहरूलाई आवश्यकताअनुसारको आर्थिक टेवा पनि दिनेछ ।


चीनमा विकसित आन्तरिक राजनीतिक घटनाक्रमसित हामीले किन सरोकार राख्ने कसैले भन्लान् । साधारणतया यो हाम्रो चासोबाहिरकै विषय हो । हामी पनि नेपालको आन्तरिक राजनीतिमा अरुले चियो चर्चा नगरून् भन्ने नै चाहन्छौं । तर चीन हाम्रो साँध जोडिएको निकट छिमेकी मात्र नभई विश्व राजनीतिकै प्रमुख पात्रहरूमध्येको शीर्षस्थ राष्ट्र पनि हो भनी हामीले बिर्सनु हँुदैन । त्यसैले चीनमा सरकारी तहमा हुने फेरबदल, त्यहाँको राष्ट्र प्रमुखको निर्दिष्ट धारणा, नीति तथा निर्णयले विश्वराजनीतिसमेत प्रभावित हुने सम्भावनाको कारणले पनि नेपाल अछुतो रहन सक्दैन । चीनसित हाम्रो द्विपक्षीय सम्बन्ध सरकारी स्तरमा उच्चस्तरीय भ्रमणका साथै पार्टी–पार्टीबीचको सम्बन्धमा मात्र सीमित छैन । न चीनको उपस्थिति अब भव्य दूतावास भवनले मात्र जनाउँछ । सरकारी स्तरमा चीनको लगानीसितै नेपालमा पर्यटक आगमन र पर्यटन व्यवसायमा चीनको लगानी बढ्नु र काठमाडौंकै घना बस्तीभित्रै ‘चाइना टाउन’ समेत स्थापित भएको छ । चीनको ‘सफ्ट पावर’ प्रयोग ‘कन्फुसियस स्कुल’ र छात्रवृत्तिमा मात्र सीमित छैन । नेपाल र चीनबीच पारवाहन सन्धिसितै हामीले चीनको ‘बीआरआई’ योजनामा सहभागिता स्विकारेका छौं । आफ्नो महत्त्वाकांक्षी योजनाको कार्यान्वयनकै निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्पर्क र सान्दर्भिकता कायम गर्नकै लागि पनि सी चीनफिङलाई राष्ट्रपति पदको कार्यविधि सीमितता खारेज गर्नुपर्ने बाध्यता महसुस भएको हुन सक्छ । उनी पार्टीको शक्तिशाली महासचिव भए पनि राष्ट्रपतिको ओहदाबिना विश्वराजनीतिको निर्णायक तहमा उनको सम्पर्क, संवाद र बर्चश्व कायम रहन सक्नेछैन । यसैले उनी राष्ट्राध्यक्ष नै रहेर २०२२ पछि पनि विदेश नीति नियन्त्रण र सञ्चालन गर्न सक्रिय हुन चाहन्छन् ।


सी चिनफिङको यो निर्णय आशंका रहित भने छैन । कतिपय विश्लेषकहरू उनी सर्वसत्तावादी हुन खोजेको तर्क गर्छन् । हामी आफैंकहाँ वाम गठबन्धनले निर्वाचन जित्दा कतिपयले ‘अब सिद्धियो’ भनी सुस्केरा हालेका थिए र छन् पनि । अझ दक्षिणी छिमेकमा ८ रेक्टर स्केलको भुइँचालोसमेत गएको थियो । वाम गठबन्धनले करिब दुई तिहाइ मतद्वारा संसदीय निर्वाचन जित्नु, संसद्मा गठबन्धन सरकारले दुई तिहाइभन्दा बढी विश्वासको मत पाउनु, संसद्को दुवै कित्तादेखि राष्ट्रपति र उपराष्ट्रपतिसमेत गठबन्धन सरकारको दाहिना पर्नुबाट प्रधानमन्त्री केपी ओली नेपालको लोकतान्त्रिक इतिहासकै सर्वथा शक्तिशाली सरकार प्रमुख भएका छन् । प्रतिपक्षले ओलीमा शक्तिको दम्भ र सर्वसत्तावादी हुन सक्ने गन्ध पाउनु अस्वाभाविक होइन । तर हामीले बहुलवादी, बहुदलीय लोकतान्त्रिक पद्धति अनुसरण गरेका छौं । हामीकहाँ अभिव्यक्ति स्वतन्त्रता छ, प्रेस जीवन्त छ र जनता बन्देजपूर्ण जीवनको विपरीत सोचाइका छन् । त्यसैले सरकारको अभीष्ट शक्तिको सदुपयोग हुनुपर्छ, जसले गर्दा सर्वसाधारण जनताले परिवर्तनको आभास गर्न सकून्, जनताको जीवनस्तर उकासिनुसितै राष्ट्रिय हितको संवद्र्धन हुन सकोस् ।


चीनमा राष्ट्रपति सीले भ्रष्टाचारलाई देश विकासको मुख्य बाधक र पार्टीको सबैभन्दा ठूलो शत्रु भनी त्यसविरुद्धको अभियानलाई अझै सशक्तता प्रदान गरेका छन् । गत ५ वर्षको कार्यकालमा उनले सेनाका उच्चपदस्थदेखि पार्टीका शक्तिशाली नेताहरूलाई भ्रष्टाचारको निम्ति छुट दिएनन् । हामीकहाँ भने चुनदाम नभएकाहरूले अकूत सम्पत्ति कमाएकामा राजनीतिक संरक्षण पाएका छन् । तिनीहरू नै अचेल सम्भ्रान्त वर्गमा दरिएका छन् र तिनीहरूकै हालीमुहाली चलेको छ । पार्टी राजनीति तिनीहरूले नै धानिदिएको गलत सोचाइका कारण नेताहरूले शक्ति दुरुपयोग गर्दै आएका छन् । भ्रष्टाचारी आचरणले न्यायको पवित्र स्थलसमेत बिथोलिएको छ । चीनको शासकीय पद्धतिबाट प्रभावित भएर त्यसलाई लागू गर्ने अवस्था नभए पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको प्रण कार्यान्वयन गर्नकै निम्ति पनि सी चिनफिङको चीनबाट केही सिक्ने कि ? अहिलेलाई कमसेकम वर्ष दिनको विकास बजेट असार महिनामा मात्र खर्च गर्ने चलन रोक्नसके पुग्छ ।

पाठक मञ्च

यथार्थ बुझेर दोष लगाऔं

फागुन ३० गते प्रकाशित मधु राईले लेख्नुभएको ‘अमेरिकी दूतावासलाई प्रश्न’ को विषयमा केही कुरा भन्न मन लाग्यो । विषय वा प्रसंगले अर्को अर्थ नलागेमा मैले यहाँ अमेरिकी दूतावासको प्रतिरक्षा गर्न खोजेको चाहिं होइन । अरूलाई दोष दिनुपूर्व आफूबाट भएका गल्ती कमजोरीलाई खोजी गरौं भन्न खोजेको मात्र हो । हामी आम नेपाली अरूको दोष खोज्न र अरूलाई दोषी देखाउन माहिर छौं, यो कुरामा दुईमत नहोला । प्रस्तुत लेखमा लेखकले आफूले भिसा नपाएको दोष अमेरिकी दूतावासलाई दिँदै त्यसको कारकतत्त्वको रूपमा नेपाली जनताको गरिबी र अमेरिकी दूतावासको ज्यादतीका रूपमा प्रस्तुत गर्न खोज्नुभएको जस्तो देखियो । जहाँसम्म ९० प्रतिशतले भिसा नपाउने कुरा छ, त्यसमा बहुसंख्यक विद्यार्थी भिसा र युवाहरूले गरेको आवेदनमा यो सत्य देखा पर्छ । तर जहाँसम्म छोराछोरीहरूको दीक्षान्त समारोहमा बाबुआमालाई भिसाको कुरा छ, अधिकांशले त्यो पाएका हुन्छन् । भिसा नदिएको खण्डमा पनि नदिनुको कारणको कारकतत्त्वको केही सुइँको चाहिं उनीहरूले दिन खोजेका हुन्छन् ।


मधु राईको सन्दर्भमा चाहिं उहाँ छोरीको दीक्षान्त समारोहका लागि जान खोज्दा भिसा नपाउनुको कारकतत्त्वमा छोरा देखिएका छन् । उहाँले अमेरिकी दूतावासलाई दोष दिनुभन्दा पहिले छोरालाइ दुइटा कुरा सोध्नुपर्‍यो १) उसले आफ्नो पढाइ चालु राखेको छ वा छोडिसक्यो ? २) उसले भिसाका लागि आवेदन गर्दा दूतावासमा प्रस्तुत गरिएको सम्पत्ति विवरणमा केके उल्लेख गरिएको थियो, कति वटा घर भनी उल्लेख गरिएको थियो ? त्यसपछि आफ्नो कारणबाट गल्ती नभए मात्र अरूलाई दोषारोपण गर्नु ठीक हुन्छ ।


यहाँ अर्को उदाहरण पनि प्रस्तुत गर्न चाहन्छु । एक आमाबुबाले छोरीको दीक्षान्त समारोहका लागि अमेरिका जान फारम भरे, दुई छोराछोरीका बाबुआमा ती, छोरी अमेरिकामा छोराचाहिं अस्ट्रेलियामा । उनीहरूलाई पनि छोरा कहाँ छ अहिले भनेर सोधेछन् । उनीहरूले पनि सही उत्तर दिए । कति भयो गएको भनेर सोधेछन, फेरि सही उत्तर दिए ३ वर्ष भो भनेर । उनीहरूले पनि भिसा पाएनन् , दोष अमेरिकी दूतावासलाई दिँदै गाली गरे तर आफ्नो गल्ती देखेनन् । गरेछन् के भने छोरा ३ वर्षदेखि अस्ट्रेलिया बसिरहेको छ, ६ महिनाअघि बनाएको राहदानीमा चाहिं केही गरी आपतकालीन भएमा नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाममा चाहिं त्यही अस्ट्रेलिया बस्ने छोराको नाम लेखेका रहेछन् । छोराछोरीको दीक्षान्त समारोहका लागि जान खोज्दा भिसा नपाउनुमा यस्ता विविध कारण हुन सक्छन्, जसलाई हामीले ध्यान दिन सकेका हुँदैनौं ।
– नवीन घिमिरे
काठमाडौं

पाठक मञ्च

विवादित न्यायालय

इतिहासमै नभएको जात्रा यतिखेर सर्वोच्च अदालमा भइरहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा देखिएको कैफियतले गर्दा न्यायालयमाथि प्रश्नचिह्न खडा भएको छ ।

पराजुलीले प्रस्तुत गरेका नागरिकताले कार्यकाल समाप्त भएको भन्दै रोलक्रममा उभिएका न्यायाधीशले विवाद गर्दै इजलासमा काम गर्न छाडे र बहिष्कार गर्ने न्यायाधीशको संख्या थपिँदै गयो र न्यायपरिषद्ले पराजुलीको उमेरसम्बन्धी विवादमा गत साउन २१ मा अवकाश भइसकेको उल्लेख गरी पत्र पठाएपछि पदमुक्त हुन पुगे । सर्वोच्च अदालतका प्रधान न्यायाधीशले किर्ते गरी आफ्नो कार्यकाल लम्ब्याउन खोजेको देख्दा न्यायालप्रति विश्वास कम हुनुको साथै न्यायामूर्तिप्रति शंकाले हेर्नुपर्ने अवस्था आएको छ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएपश्चात् शपथ कोबाट लिने भन्ने प्रश्न देखिए पनि अन्तत: पदमुक्त प्रधानन्यायाधीशबाटै शपथ लिने काम पनि सम्पन्न भइसकेको छ । राष्ट्रपतिको शपथ प्रधानन्यायाधीशबाट हुने कानुनी प्रावधान छ तर प्रधानन्यायाधीशले पेस गरेको नागरिकतालाई आधार मान्ने हो भने कार्यकाल समाप्त भइसकेको हुनाले शपथ कार्यक्रम केही दिनका लागि रोकेको भए पनि हुने थियो ।
– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

पाठक मञ्च

कार्यालयसँग छैन रेकर्ड

सरकारले चैत १ गतेदेखि २० वर्षे पुराना गाडी विस्थापन गर्ने निर्णय गर्‍यो किनकि ती पुराना गाडीका धूवाँले प्रदूषण बढाएका कारणले पार्ने वातावरणीय असरले केही भए पनि मुक्ति पाउने देखियो । यसरी थोत्रा गाडी हटाउँदा जनतालाई केही थोरै राहत पनि हुन सक्ने अपेक्षा सरकारको हुन सक्छ । जामको समस्याबाट मुक्त हुन केही हदसम्म सहज होला भन्ने ठम्याइमा सरकार पुगेको होला पनि । तर कति छन् त त्यस्ता पुराना गाडी भन्ने यकिन लागत यातायात कार्यालयसँग रहेनछ । निजी क्षेत्रले लगभग ६–७ हजार होलान् भनी अनुमान गर्न सके पनि सम्बन्धित यातायात कार्यालयले त्यसको खास तथ्यांक देखाउन नसकेको अवस्थाबाट यातायात निकाय गुज्रिएको देखिनु लाज मान्नुपर्ने विषय हो । व्यवसायीलाई तपाईंको सवारीसाधनको च्यासिस र इन्जिन नं उल्लेख भएको सवारी दर्ता किताब अर्थात ब्लुबुक ल्याउनुहोस् तर २० वर्ष म्याद सकिएका भए हामी नियन्त्रणमा लिएर कवाडीमा पठाउँछौँ भन्नु सान्दर्भिक होला ?


यातायातसँग पुराना सवारी दर्ता र त्यसका अभिलेख यथार्थपरक रहेनछन् त ? तर नियमले नै च्यापेर सवारीसाधन चलाउनै अनुकूल नभएको महसुस गराएर सवारीधनीले नै नचलाउन इच्छुक बनाउन किन विगतका पछिल्लो यातायात कार्यालयले सकेन त भन्ने पनि प्रश्न उब्जिन्छ । तर झ्यालका सिसा नभएका, ब्रेक भनेको बेलामा नलाग्न,े सेल्फ स्टार्ट नभएर धकेलेर स्टार्ट गर्नुपर्ने, धूवाँको मुस्लो फ्याँक्ने, बत्तीहरू नबल्ने, देख्दै जीर्ण र भगवान् भरोसामा चलेका गाडी भए पनि आजसम्म चल्दै आएका र तिनले आजसम्म कुनै न कुनै तरिकाले किन र कसरी छुट पाएका रहेछन् भन्नेतिर कसैको ध्यान पुगेको देखिँदैन । सबै यातायात कार्यालयमा दर्ता भएको सरकारले यदि पुराना गाडी विस्थापन नै गर्ने योजना कार्यान्वयनकै निम्ति ल्याएको हो भने सबै प्रकृतिका २० वर्ष काटेका बस, ट्रक ट्याक्सी वा राता प्लेटका भए तिनको समेत लागत उतारेर सूची तयार पार्नुपथ्र्यो र वातावरणीय प्रभाव मूल्याकनअनुसार जायज छैनन् भनी प्रमाणित गरिदिनुपथ्र्यो । र, नवीकरण रोक्नका लागि सार्वजनिक पत्राचार गराउनुपथ्र्यो ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ काठमाडौं

पाठक मञ्च

दुर्घटनाको पीडा

फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडांैमा भएको यूएस बंगलाको विमान दुर्घटनाबारे २९ गते प्रकाशित समाचारका साथै ३० गते प्रकाशित ‘अब यस्तो नहोस्’ सम्पादकीयले हामी नेपाली, बंगलादेशी मात्र नभएर विश्वकै नागरिकलाई धेरै दु:ख लागेको छ । किनभने काठमाडांै उपत्यकाभित्र, अझ धावनमार्गमै टेकिसकेको विमान दुर्घटना हुनु, चाहे विमानचालक, परिचालक, डाक्टर बनिसकेका, पढ्दै गरेका, यातायातकर्मी, व्यापारी, विदेशी पाहुना, वैदेशिक रोजगारीका लागि परदेसिएका, अबोध बालबालिकालगायत यात्रीसमेतको अकल्पनीय मृत्युले सबैको मन दुख्नु, पीडा हुनु स्वाभाविकै हो । मृत आत्माको चिर शान्तिको कामना । समयमै उद्घार गर्ने सरकारी, गैरसरकारी सुरक्षाकर्मी र व्यवस्थापन धन्यवादका पात्र हुन् । आखिर किन यस्तो भयो ? विनाकाम केही गल्ती नभई त्यत्तिकै आगो त लागेन होला । हुन त जे जसो भएको हो, सबै कारणको छानबिन समिति समयमै गठन भई कामसमेत सुरु भइसकेको हुनाले प्रतिवेदनले सबै छर्लंग होला नै । तर उक्त दुर्घटनाको कारणका प्रारम्भिक विभिन्न अनुमान आइरहेका छन्, जसमा एयर ट्राफिक कन्ट्रोलरले समयमै विमानचालकलाई सही सूचना दिन नसकेको, एयर ट्राफिक कन्ट्रोलर र विमान चालकबीचको सञ्चारमा भ्रम परेको, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल साँगुरो, धावनमार्ग साँगुरो र नेपाली आकाश नै अपर्याप्त भएको आंैल्याइएका छन् ।


के विमान दुर्घटना नेपाली आकाशमा मात्र भएका छन् ? २८ गते नै अमेरिकामा पनि विमान दुर्घटना भएको समाचार सुनिएकै हो । विगतमा बेलायत, जापान, अफ्रिका, चीन, मलेसिया आदि देशमा पनि त विमान दुर्घटना भएका थिए, अब ती सबै देशका आकाश नै विमान उडाउनका लागि अनुपयुक्त हुन् त ? देशको राजधानी काठमाडौंको खुला स्थानमा भएको, वर्षौंदेखि आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरबाट मान्यता प्राप्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी दोष दिन मिल्छ ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अनुपयुक्त मान्ने हो भने भुटान, श्रीलंकाका विमानस्थललाई के भन्ने ? अर्कोतिर एयर ट्राफिक कन्ट्रोलर र यूएस बंगला विमानचालकबीचको संवाद सार्वजनिक भएकै हो, जसमा एयर ट्राफिक कन्ट्रोलरले ०.२ धावनमार्ग (दक्षिण कोटेश्वरतिर) बाट आउने आदेश दिँदादिँदै २.० (उत्तर बौद्घतर्फ) बाट जहाज उतार्न किन खोजियो ? जबकि २.० रुट खाली नै देखिन्थ्यो ।
– गंगाराज अर्याल,
पाणिनी–८, पाली अर्घाखाँची

Page 7
विविधा

‘स्मार्ट सिटी’ कसरी बनाउने ?

नेपालका सहरहरू रोजगारीका केन्द्रभन्दा सुविधा, उपभोग र अपराध केन्द्र बनिरहेका छन् ।
- किशोर थापा


स्थानीय तहको निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले आ–आफ्नो नगरलाई छरितो सहर अर्थात् ‘स्मार्ट सिटी’ बनाउने उद्घोष गर्दै चुनाव उठे र कतिपय निर्वाचित पनि भए । त्यसैगरी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि धेरै दल र तिनका उम्मेदवारले ‘स्मार्ट सिटी’को नारा जोडदार रूपमा उठाएका थिए । उनीहरूमध्ये कतिपय प्रदेशका मुख्यमन्त्री वा मन्त्री नियुक्त भइसकेका छन् र त्यो एजेन्डा बोकेर प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरू पनि मन्त्री नियुक्त हुने क्रममा छन् । सञ्चार माध्यम, विभिन्न सभा, गोष्ठीमा छरितो सहरको चर्चा निकै हुनथालेको छ । विकसित देश जस्तै– अमेरिका, द. कोरिया, जापान, सिंगापुर र विकासशील देश जस्तै– मलेसिया, चीन, भारतमा पनि छरितो सहर निर्माण भइरहेका छन् र अरु देशले त्यसको अनुकरण गर्दैछन् । सुरुमा सूचना प्रविधिको क्षेत्रबाट अघि सारिएको छरितो सहरको अवधारणा अहिले सहरी विकासको एउटा आकर्षक मोडलको रूपमा विकासोन्मुख देशमा पनि व्यापक छलफलको विषय बनिसकेको छ ।


नेपालमा पनि सूचना प्रविधि र सहरी विकासका क्षेत्रमा कार्यरत विज्ञहरू छरितो सहर सम्बन्धी नीति निर्माण, योजना र कार्यक्रम तर्जुमा र कार्यान्वयनमा संलग्न हुँदैछन् । तर बाहिरबाट आयातित यो अवधारणालाई नेपालको सन्दर्भमा कसरी व्यावहारिक बनाउने र छरितो सहरको नेपाली मोडल कस्तो हुने भन्ने विषयमा अझ धेरै विचार–विमर्श गर्नुपर्ने आवश्यकता छ । नेपालका राजनीतिकर्मीहरूको जिब्रोमा झुन्डिएको ‘स्मार्ट सिटी’को पर्यायवाची नेपाली शब्द के हुनसक्छ भन्नेबारे धेरैमा अन्योल छ । तथापि सहरी विकासको क्षेत्रमा धेरथोर अनुभवका आधारमा यस पंक्तिकारले ‘स्मार्ट सिटी’को भाव र अर्थसँग मेल खाने पर्यायवाची नेपाली शब्द ‘छरितो सहर’ हो भन्ने निष्कर्षमा पुगेको छ । यो आलेखको उद्देश्य छरितो सहर भनेको के हो ? र नेपालको सन्दर्भमा त्यस्तो सहर कसरी निर्माण गर्न सकिन्छ ? भन्ने विषयमा राजनीतिकर्मी, नीति–निर्माता, विकास कार्यकर्ता र आम नागरिकलाई सामान्य जानकारी दिनु हो ।

 

छरितो सहर
सूचना प्रविधिका क्षेत्रमा कार्यरत विज्ञहरूले सूचना प्रविधिलाई अनिवार्य पूर्वाधारका रूपमा पहिचान गरिएको सहरलाई छरितो सहरका रूपमा मान्छन् भने वातावरणका क्षेत्रमा कार्यरत विज्ञहरूले नवीकरणीय ऊर्जाको प्रयोग भएको, ऊर्जा र पानीको खपत कम भएको, ठोस तथा तरल फोहोरको वैज्ञानिक व्यवस्थापन भएको, कार्बन तथा हानिकारक ग्यासको उत्सर्जन कम भएको, जैविक तथा नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक यातायात प्रणाली भएको, पर्याप्त खुला क्षेत्र भएको र पानीका प्राकृतिक स्रोतहरूको संरक्षण गरिएको सहरलाई छरितो सहर मान्छन् । भौतिक योजनाकारहरू योजनाबद्घ रूपमा बसाइएका, निश्चित मापदण्ड अनुसार भौतिक पूर्वाधार तथा संरचना निर्माण गरिएका साना तथा मझौला आकारका सहरलाई छरितो सहर मान्छन् । अर्थशास्त्रीहरू वस्तु तथा सेवाको छरितो उत्पादन तथा वितरण प्रणाली भएको, माग र आपूर्तिबीच उचित सन्तुलन भएको सहरलाई छरितो सहर मान्छन् । प्रशासन तथा शान्ति सुरक्षासँग सम्बन्धित विज्ञहरू सेवाग्राही र सेवा प्रदायकको भौतिक सम्पर्कविना नै नागरिकलाई छिटोछरितो सेवासुविधा प्रदान गर्न सकिने, सकेसम्म थोरै सुरक्षाकर्मी परिचालन गरेर बढी सूचना संकलन गर्न सकिने, कानुन तथा व्यवस्था कायम गर्न सकिने, सवारी व्यवस्थापन र अपराध नियन्त्रण गर्न सकिने सहरलाई छरितो सहर मान्छन् ।
औपचारिक परिभाषा देश, काल र परिस्थिति अनुसार फरक–फरक हुने भए तापनि छरितो सहरका लागि निम्न पक्ष महत्त्वपूर्ण छन् :

 

छरितो बस्ती
छरितो सहर बनाउन योजनाबद्घ रूपमा बस्ती विकास हुनु जरुरी छ । नागरिकका लागि चाहिने बाटाघाटा कहाँ कस्तो बनाउने, खानेपानी तथा ढल निकास प्रणाली कस्तो हुने, कहाँ कस्तो घर बनाउने, कहाँ पार्क वा खुला क्षेत्र राख्ने, विद्यालय, स्वास्थ्य केन्द्र, बसपार्क, बजार केन्द्र कहाँ कस्तो राख्ने आदि कुराको निर्णय गर्न भौतिक योजना तयार गरी त्यही अनुसार सहरको निर्माण गर्नुपर्छ ।


अहिले नेपालमा भइरहेको अव्यवस्थित सहरीकरण, विना योजना खेतबारीमा आफूखसी भइरहेको प्लटिङ गर्ने र घर बनाउने प्रचलन, पर्याप्त सार्वजनिक सुविधाको व्यवस्था नगरी सडकका दायाँ–बायाँ ठूलठूला निजी घरमात्र बन्ने प्रवृत्ति छरितो सहर निर्माणका लागि बाधक छन् । छरितो सहर हुन जसले जहाँ जस्तो पनि भवन वा संरचना निर्माण गर्न पाउने अहिलेको छाडा प्रवृत्तिमा रोक लगाउनुपर्ने हुन्छ । बस्ती विस्तारका लागि खेतबारीमा जथाभावी घर बनाउन रोक लगाउने र जग्गा एकीकरणको माध्यमबाट पहिले सडक र ढल सञ्जाल सहितको व्यवस्थित बस्ती विकासको खाका तयार गरेपछि मात्र भवन र अन्य संरचना निर्माण गर्ने पद्घति बसाल्नुपर्छ । सहरलाई वडा, टोल र ब्लकमा विभाजन गरी पूर्वाधारको तहगत वर्गीकरण गर्नुपर्छ । जस्तै– खुला क्षेत्रको व्यवस्था गर्दा ब्लकस्तर, टोलस्तर, वडास्तर र नगर स्तरको हुनुपर्छ ।


सहरी योजनाका दृष्टिले करिब ५० हजार देखि १ लाखसम्मको जनसंख्या अट्ने सहरलाई छरितो सहरका रूपमा विकास गर्न सकिन्छ । नेपालको भौगोलिक अवस्था, पूर्वाधारको अवस्था र व्यवस्थापन क्षमताका आधारमा छरितो सहर निर्माण गर्न साना (५० हजार देखि १ लाख जनसंख्या भएका) तथा मझौला( १ लाख देखि ३ लाख जनसंख्या भएका) सहर उपयुक्त हुन्छन् । अहिले सरकारले बाराको निजगढ, रूपन्देहीको लुम्बिनी र गोरखाको पालुङटारलाई छरिता नयाँ सहरका रूपमा विकास गर्ने नीति लिएको छ र त्यस अनुसारको योजना तर्जुमा हुँदैछ । देशमा अहिले रहेका २९३ नगरपालिकामध्ये कतिपय पुराना सहर बजारहरू छन् भने कतिपय भर्खर सडक सञ्जालले जोडिएका ग्रामीण क्षेत्रहरू छन् । ती नवघोषित नगरपालिकाका उपयुक्त स्थानमा योजनाबद्घ रूपमा छरितो सहरी बस्ती निर्माण गर्न सकिन्छ । अव्यवस्थित बस्तीका हकमा भने भौतिक संरचनामा ठूलो फेरबदल नगरिकन छरितो सहरका केही सिर्जनात्मक कार्यक्रम लागू गर्न सकिन्छ । अरु देशमा सरकारका साथै निजी क्षेत्रले पनि योजनाबद्घ रूपमा सहर निर्माण गर्छन् । तर नेपालमा निजी क्षेत्रको भूमिका केही आवासीय कोलोनी निर्माण गर्ने कार्यमा मात्र सीमित छ । स्थानीय निर्वाचित तहको अभावमा विगत १५ वर्षदेखि सरकारी क्षेत्रबाट नयाँ सहरी बस्ती निर्माण गर्ने कार्य रोकिएकोमा हालै सम्पन्न स्थानीय निर्वाचनसँगै अब त्यो क्रम सुरु हुने अवस्था सिर्जना भएको छ ।

 

छरितो पूर्वाधार
छरितो सहर निर्माणका लागि पूर्वाधार पहिलो आवश्यकता हो । पूर्वाधार भन्नाले सडक तथा यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोर–मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट जस्ता भौतिक पूर्वाधार तथा विद्यालय, खुला क्षेत्र, सार्वजनिक पार्क, प्रहरी चौकी, स्वास्थ्यचौकी, देवस्थल, पुस्तकालय, हुलाक, मसानघाट जस्ता सामाजिक पूर्वाधार पर्छन् । ती पूर्वाधारको निर्माण गर्दा निर्माण तथा मर्मत–सम्भार सजिलै गर्न सकिने, किफायती, वातावरण–मैत्री र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाका लागि सहज हुने खालको हुनुपर्छ । सकेसम्म पैदल मार्ग, साइकल मार्ग र सार्वजनिक यातायातलाई प्राथमिकता राखी सडक तथा बाटाघाटा निर्माण गर्नुपर्छ ।


नेपाल जस्तो विदेशबाट महँगो तेल आयात गरेर सवारी साधन चलाउनुपर्ने देशमा पैदल मार्ग, साइकल मार्ग र विद्युतीय सवारी साधन चल्न सक्ने बाटोघाटो निर्माण गर्नु बुद्घिमानी ठहरिन्छ । बाटाघाटा निर्माण गर्दा भूबनोट, भौगर्भिक अवस्था र पानीको उचित निकासको राम्रो ख्याल गर्नुपर्छ । साँघुरा, अत्यधिक उकालो–ओरालो र तिखा घुम्ती भएका, फुटपाथविहीन र धुलाम्य सडकले नागरिकलाई सकसमात्र दिन्छ । निजी सवारी साधनका सट्टा सार्वजनिक यातायात प्रणालीलाई जोड दिँंदै व्यस्त सहरी जीवनमा तनावमुक्त हुन सार्वजनिक उद्यान, देवस्थल, मनोरञ्जन स्थलको उचित व्यवस्था हुनुपर्छ । फोहोर पानीको व्यवस्थापन, ठोस फोहोरलाई स्रोतमा नै छुटयाएर त्यसको पुन: प्रयोग वा औद्योगिक कच्चा पदार्थका रूपमा उपयोग गर्न सकिन्छ । भवन निर्माण गर्दा सकेसम्म प्राकृतिक रूपमा प्रकाश र हावाको उपयोग गर्ने, पानी र ऊर्जाको कम खपत गर्ने, जमिन मुनिको पानीको स्रोतको पुनर्भरण हुने, भवनभित्रै वनस्पति र हरियालीको विकास गरिएको हुनुपर्छ । पूर्वाधारको निर्माणसँगै त्यसको व्यवस्थापन र मर्मत–सम्भार कसरी किफायती र सजिलो तरिकाले गर्न सकिन्छ, त्यसतर्फ पनि ध्यान पुर्‍याउन जरुरी छ ।

 

छरितो सार्वजनिक सेवा
छरितो सहरमा सरकार र निजी क्षेत्रले दिने सेवालाई छरितो र किफायती बनाइएको हुन्छ । यसका लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जनसम्पर्क हुने कार्यालयहरूमा अनलाइन सेवा, सवारी व्यवस्थापन र शान्ति सुरक्षाका लागि डिजिटल कन्ट्रोल रुम, मानवरहित गस्ती (ड्रोन प्याट्रोलिङ), अनलाइन बजार सेवा, होटल, सिनेमा, बससेवा, विमान सेवाको अनलाइन बुकिङ, अनलाइन पत्रिका, इमेल, ई–बैंकिङ आदिको विकास गर्दा यातायात खर्चमा कमी आउने, समय र इन्धनको बचत हुने, भ्रष्टाचारमा कमी आउने र सेवा तथा वस्तुको उत्पादन तथा वितरण छिटोछरितो हुन्छ । यसबाट जनजीवन सहज, सरल र आरामदायी हुन्छ । अति आवश्यक वस्तु तथा सेवा प्राप्त गर्न घन्टौं लाग्ने र अनेकन तनावबाट गुज्रनुपर्ने अवस्थाबाट छरितो सहरका वासिन्दा मुक्त हुनेछन् ।


नेपालमा पनि सूचना प्रविधिको विकाससँगै धेरै प्रकारका सेवासुविधा घरै बसी प्राप्त गर्न सकिने अवस्थाको विकास हुँदै गएको छ र अझ धेरै सेवासुविधा विद्युतीय माध्यमबाट प्रवाह गर्न सकिने सम्भावना हँुदाहँुदै पनि धेरै सहरमा ब्रोड व्यान्ड इन्टरनेटको राम्रो विकास नभइसकेकाले डिजिटल प्रविधिबाट सोचे अनुसारको लाभ लिन सकिएको छैन । त्यसका लागि नगरपालिकाहरूले आफ्ना वडा केन्द्र र नगर केन्द्रलाई अप्टिकल फाइबरबाट जोड्ने, आफ्नो छुट्टै एकीकृत विद्युतीय डाटा केन्द्र स्थापना गर्ने र नगरका विभिन्न क्षेत्रमा निशुल्क वाइफाइको व्यवस्था गर्न सक्छन् । सूचना प्रविधिको प्रयोगलाई भरपर्दो बनाउन आवश्यक जनशक्ति र उपकरणको व्यवस्था र नागरिकलाई तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ ।

 

छरिता नागरिक
सहर भनेको वस्तु तथा सेवा उत्पादन तथा वितरण हुने ठाउँमात्र होइन, यो मानव सभ्यता, साहित्य, कला तथा संस्कृतिको केन्द्र पनि हो । स्वस्थ, जाँगरिला र फुर्तिला नागरिकले नै राम्रो सहर निर्माण गर्छन् । छरितो सहर निर्माण गर्न आफ्नो कर्तव्यप्रति जिम्मेवार नागरिक आवश्यक पर्छ । कुनै सीप र दक्षता नभएका, कुनै इलम गर्न नसक्ने वा नचाहने, परजीवी, आवश्कताभन्दा बढी उपभोग गर्ने, अल्छी, असभ्य, रोगी, भ्रष्ट र आफ्ना हरेक समस्याको कारण सरकार नै हो भन्ने भ्रममा परेका नागरिकहरूको बाहुल्यता भएको ठाउँ छरितो सहर हुन सक्दैन । संसारका विभिन्न देशको उदाहरणबाट पनि यो स्पष्ट हुन्छ कि राम्रो र छरिता सहरहरू त्यहाँका नेता वा सरकारले बनाएका होइनन्, बरु त्यहाँका नागरिकको मिहेनत, सीप, जाँगर र सिर्जनशीलताबाट बनेका हुन् । सरकारले त केवल पूर्वाधार र नीतिगत आधार बनाइदिएको हो ।


नेपालको सन्दर्भमा पनि छरितो सहर निर्माणका लागि नागरिक शिक्षा अति आवश्यक देखिन्छ । सभ्य समाज निर्माण गर्न आम नागरिकको कर्तव्य के हो ? संविधान र कानुनले नागरिकलाई के कस्तो अधिकार दिएको छ र त्यसको प्रयोग कसरी गर्न सकिन्छ ? आफ्नो टोल, वडामा सरकारले कुन–कुन कार्यक्रम र बजेट दिएको छ ? समुदाय स्तरमा नागरिकले गर्नसक्ने काम के–के हुन् ? यावत् कुरा नागरिक शिक्षा अन्तर्गत पर्छन् । नागरिक अधिकार र कर्तव्यको ख्यालै नगरी गलत मानिसलाई भोट दिएर जिम्मेवारीको पदमा पुर्‍याउने, आफ्नो निजी स्वार्थमा लिप्त भई सार्वजनिक हितलाई चटक्कै बिर्सने, सरकारबाट प्राप्त भएको रकम हिनामिना गर्ने वा त्यसो गर्न प्रोत्साहन गर्ने, उपभोक्ता समितिका नाममा कामै नगरी रकम पचाउने वा गुणस्तरहीन काम गर्ने, कुनै निर्माणको ठेक्का लिइसकेपछि वर्षौंसम्म काम अल्झाइराख्ने, विकास निर्माण कार्यमा विभिन्न अत्तो थापी काम गर्न नदिने जस्ता हाल देखिएका गैरजिम्मेवार प्रवृत्तिमा सुधार नभएसम्म छरितो नागरिक समाज बन्न सक्दैन ।


ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा नागरिकहरूबाट बढी सभ्यता, जवाफदेहिता र कर्तव्यपरायणताको अपेक्षा गरिन्छ । ‘मुला खाई वन पस, अदुवा खाई सहर पस’ भन्ने हाम्रो पुरानो उखानले सहरमा पस्दा बढी जिम्मेवार बन्नुपर्छ भन्ने शिक्षा दिएको छ । छरिता नागरिकले छरितो शासन खोज्छन्् र त्यसका लागि छरितो नेतालाई वडा प्रमुख वा नगर प्रमुख बनाउँछन् । अनि छरिता नेताले छरितो सहरको निर्माणको नेतृत्व गर्दै आम नागरिकलाई सुखी र समृद्घ बनाउँछन् ।


अन्त्यमा, अहिले देशमा ७५३ वटा स्थानीय सरकार गठन भएका छन् । तीमध्ये २९३ वटा नगरपालिका र ४६० गाउँपालिका रहेका छन् । जनसंख्याको हिसाबले कुल जनसंख्याको ६२ प्रतिशत नगरपालिकामा बस्छन् । राजनीतिक रूपमा हेर्ने हो भने अब गाउँभन्दा सहरमा मतदाता बढी छन् र अबको राजनीतिको केन्द्रविन्दु सहर हँुदैछन् । रेमिटेन्सले धानेको सहरी अर्थतन्त्रमा उत्पादनभन्दा उपभोग बढ्दै गएको छ । नेपालका सहरहरू रोजगारीका केन्द्रभन्दा सुविधा, उपभोग र अपराध केन्द्र बनिरहेका छन् । कमजोर पूर्वाधार, फितलो सहरी व्यवस्थापन र दीर्घकालीन योजना र सोचको अभावमा हाम्रा सहरहरू शिक्षित एवं क्षमतावान युवाहरूलाई विदेश पलायन गराउने अखडा बन्दै जाने खतरा देखिन्छ । तीव्र सहरीकरणको चपेटामा परेको हाम्रो मुलुकमा परम्परागत योजना र तौरतरिकाले अहिलेको युवा पुस्ताका लागि सुविधायुक्त बसोबासको व्यवस्था हुन सक्दैन । सूचना प्रविधिको युगान्तकारी विकासको संघारमा रहेको अहिलेको पुस्ता र भविष्यको पुस्ताको आवश्यकता पूरा गर्न नयाँ छरिता सहरको निर्माण गर्न र पुराना सहरको मौलिकतामा आँच नपुग्नेगरी सहरी सेवासुविधा वृद्घि गर्न ढिला भइसकेको छ । यसका लागि नीति निर्मातामा स्पष्ट सोच, कर्मचारीमा पेसागत दक्षता तथा इमानदारिता, लगानीकर्तामा प्रतिस्पर्धात्मक भावना र जोखिम मोल्ने क्षमता तथा नागरिकहरूमा अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक छ ।
थापा विवेकशील साझाका नेता तथा सहरी विकास मन्त्रालयका पूर्वसचिव हुन् ।

विविधा

यौनिक अल्पसंख्यक आन्दोलन

नेपालमा लैंगिक पहिचानसहितको अधिकार भनेर संविधानमा व्यवस्था गरिए पनि अन्य नीति निर्माण हुन सकेको छैन ।
- मनीषा पौडेल

हाम्रो समाजमा महिला र पुरुष बाहेकका भिन्न यौन चाहना राख्ने व्यक्तिहरू पनि छन् । उनीहरू अहिले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र अवसरका लागि संघर्षरत छन् । जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कंदै जाँदा उनीहरूमा प्रतिविम्बित हुने यौन चाहनाले नै उनीहरूको लैंगिक पहिचान निर्धारण गर्छ । यस समुदायमा रहेका फरक–फरक यौनिक अल्पसंख्यक समूहलाई जनाउन अंग्रेजीमा एलजीबीटीआई अर्थात लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्सुअल भन्ने गरिन्छ । नेपालमा यो समुदायलाई समग्रमा तेस्रोलिंगी भनेर बुझिन्छ । यस समुदायका मानिसको यौन व्यवहार सामान्य मानिसको भन्दा पृथक हुन्छ भने अन्य व्यवहार सामान्य हुन्छ ।


नेपालको नीलहीरा समाज र अमेरिकी संस्था विलियम्स इन्स्टिच्युटले सन् २०१३ मा गरेको एउटा अध्ययन अनुसार नेपालमा एलजीबीटीआईको संख्या करिब नौ लाख छ । आधिकारिक तथ्यांक नत सरकारसँग छ, न गैरसरकारी निकायसँग नै । नेपाल सरकारले २०६८ सालको जनगणनामा तेस्रोलिंगी भनेर सम्बोधन गरे पनि तथ्यांक संकलन गर्न भने सफल हुन सकेन ।


नेपालमा यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायको पहिचान सहितको अधिकारका लागि आन्दोलन सुरु भएको दुई दशक पुग्नलागेको छ । यस समुदायको अधिकारका क्षेत्रमा केही उपलब्धि पनि भएका छन् । तर पनि आफ्ना मुद्दाहरूलाई अन्य समुदायले प्राथमिकता नदिएको गुनासो एलजीबीटीआईको छ । हाम्रो समाजले महिला र पुरुष बाहेकका फरक यौनिकता र लैंगिकता भएका समुदायलाई बुझ्नसकेको छैन । जसका कारण यी समुदायका मानिस जटिल सामाजिक संरचनामा बाँचिरहेका छन् । देश विकासको मूलप्रवाह भन्दा बाहिर छन् । राज्यले उचित संरक्षण गर्न नसक्दा मानवअधिकारका आधारभूत पक्षहरू यो समुदायमा कमजोर देखिन्छ ।

 

अवधारणा र विकास
नेपाली समाजमा फरक यौनिकता हुनुलाई असामान्य रूपले लिइन्छ । यस्तो अवस्थालाई मानसिक रोग वा सामाजिक विकृति भनेर बुझ्ने गरिएको छ । सन् १९७० मा अमेरिकी मनोवैज्ञानिक संघ र अमेरिकी मनोरोग चिकित्सक संघले एलजीबीटीआई हुनु भनेको कुनै मानसिक रोग नभएको पुष्टि गर्दै मानसिक रोगहरूको सूचीबाट यसलाई हटाइसकेको छ । त्यस्तै सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले पनि तेस्रोलिंगीलाई मानसिक रोगीको सूचीबाट हटायो । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा जन्मजात रूपमा एलजीबीटीआईको अवस्था देखापर्छ । कुनै व्यक्तिले चाहेर पनि आफ्नो यौन स्वभाव, अपेक्षा वा यौनिकता बदल्न सक्दैन । यसकारण सबैभन्दा पहिला हामी यसलाई प्राकृतिक, सामान्य तर फरक यौनिकता भनेर बुझ्न जरुरी छ ।


यौनिक अल्पसंख्यक समुदायको विवाह, सामाजिक सम्बन्ध र पहिचानका लागि विश्वभरि विभिन्न प्रयत्न भएका छन् । उन्नाइसौं शताव्दीमा खासगरी दोस्रो विश्वयुद्धपछि बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता युरोपेली देशमा तेस्रोलिंगी तथा समलिंगी समुदायको पहिचानका लागि विभिन्न समूहले आवाज उठाएको देखिन्छ । होमोफाइल मुभमेन्ट भनिने ती अभियानलाई त्यसबेलाको युरोपेली समाजले सहजै स्वीकार गरेको थिएन । सन् ६० को दशकपछि बढेको महिला मुक्तिका आन्दोलन र काला जातिको सशक्तीकरण प्रक्रिया र आन्दोलनले पनि एलजीबीटीआई आन्दोलनलाई थप सहयोग पुर्‍याएको देखिन्छ । त्यसपछि संगठित रूपमै तेस्रोलिंगी समुदायहरू पहिचानको अधिकारका लागि संघर्षरत रहे ।
सन् १९७२ मा स्वीडेनले यौनिक अल्पसंख्यक समुदायलाई कानुनी अधिकार प्रदान गर्‍यो । यसपछि सन् १९८५ मा क्यानाडेली अधिकार र स्वतन्त्रता पत्रमार्फत क्यानाडाले समलिंगीय व्यवहारलाई कानुनी अधिकार दियो । २०१७ सम्म आइपुग्दा अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानाडा, कोलम्बिया, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, लक्जमवर्ग, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका, ताइवान, अष्ट्रिया, उरुग्वे लगायतका देशले समलिंगी विवाहलाई मान्यता दिइसकेका छन् ।


तर धेरै राष्ट्रले अझै पनि एलजीबीटीआईको पहिचान स्वीकार्न र अधिकार स्थापित गर्न हिच्किचाइरहेको अवस्था छ । इन्डोनेसियाको आसेह प्रान्तमा केही समय यतादेखि समलिंगी विवाह विरुद्ध कानुन निर्माण गरेर कार्यान्वयन गरिएको छ । सन् २००८ मा समलिंगीय विवाहलाई मान्यता दिने सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र जारी गर्ने सम्बन्धी प्रस्तावलाई ७७ राष्ट्रले गैरकानुनी भन्दै अस्वीकार गरेका थिए ।


परिवर्तन र उपलब्धि
सन् २००१ मा नीलहीरा समाज स्थापना हुनुअघि नेपालमा यौन अल्पसंख्यक समूहको पहिचान र अधिकारका लागि संगठित रूपमा कुनै पनि आन्दोलन भएको थिएन । त्यसबेला नेपालमा तेस्रोलिंगी तथा समलिंगी सार्वजनिक हुनसक्ने अवस्था थिएन । उनीहरू स्कुल, जागिर, घर–परिवारबाट अपहेलित हुन्थे र कतिपयले आत्महत्यासम्म गरेका थिए । एलजीबीटीआई अधिकारका अभियन्ता सुनिलबाबु पन्तले यी समुदायको सम्मान सहितको पहिचान र हक–अधिकारका लागि विस्तारै नेपालमा रहेका यौनिक अल्पसंख्यक खोजी संगठन बनाउने प्रयास गरे । समाजले स्वीकार गर्न नसक्दा–नसक्दै पनि यी समुदाय संगठित भए र नीलहीरा समाज नामको संस्था दर्ता भयो । यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सुनिलबाबु पन्त विसं २०६४ को संविधानसभामा सदस्य भए । त्यही वर्ष सर्वोच्च अदालतले तेस्रोलिंगीहरूको पहिचानसहित नागरिकता दिन एवं समलिंगी विवाहबारे अध्ययन गरी प्रतिवेदन तयार पार्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्‍यो । यी दुई घटनाक्रमलाई नेपालका तेस्रोलिंगी तथा समलिंगी समुदायले निकै उपलब्धिका रूपमा स्वीकारेका छन् । नीलहीरा समाजका अनुसार २०६४ यता करिब २ सय जनाले महिला वा पुरुषको सट्टा ‘अन्य’ उल्लेख गरेको नागरिकता लिएका छन् ।


सर्वोच्च अदालतको आदेशपछि गठन भएको समितिले दुई वर्षअघि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन मन्त्रिपरिषदको कार्यालयमा बुझाएको थियो । यसैबीच कैलालीका मोनिका शाही र डडेलधुराका रमेशनाथ योगीले नेपालमै पहिलोपटक समलिंगी विवाह दर्ता गराए । यसलाई यौनिक अल्पसंख्यक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । संविधानको धारा १२ मा लंैगिक पहिचानसहित नागरिकता प्राप्त गर्न सकिने, धारा १८ मा धर्म, वर्ण, लिंग, जाति, अपांगता, भाषा वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगरिने उल्लेख छ । साथै यौन अल्पसंख्यक समुदाय सहितका अन्य सिमान्तकृत समुदायको संरक्षण, सशक्तीकरण वा विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख छ । त्यस्तै धारा ४२ मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसमेत समेटेर समावेशी सिद्धान्तका आधारमा राज्यको सम्पूर्ण निकायमा सहभागिताको हक हुने व्यवस्था छ ।


नेपालले सन् २०१२ मा पहिलो दक्षिण एसियाली एलजीबीटीआई खेलकुद महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सन् २०११ देखि निजी क्षेत्रहरूमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक एवं एनसेल नेपालले कार्यालय प्रयोजनका दस्तावेजहरूमा लैंगिक पहिचानसहित ‘अन्य’ उल्लेख गर्न सुरु गरे । समाजले परिवर्तनलाई विस्तारै स्वीकार्दै गइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा लंैगिक मैत्री सार्वजनिक शौचालय निर्माण भएका छन् ।


मितिनी नेपाल, साइनो नेपाल, सहारा समाज, संगिनी नेपाल, एकता नेपाल, परिवर्तन नेपाल लगायतका सामाजिक संस्थाहरूले पनि तेस्रोलिंगीका अधिकारका लागि स्थापना भई विभिन्न कार्य गर्दै आएका छन् । मिस पिंकी, मिस्टर गे ह्यान्डसम जस्ता प्रतियोगिताहरूको आयोजनाले पनि समलिंगी तथा तेस्रोलिंगीहरूको आत्मबल बढाउँदै लगेको छ । यौनिक अल्पसंख्यक समूहको अधिकार सुनिश्चित गर्ने राष्ट्रको सूचीमा दक्षिण एसियामा नेपाल अग्रस्थानमा छ ।

 

चुनौती
तेस्रोलिंगीको पहिचानका कारणले सामाजिक हिंसा र बहिष्कार सहन बाध्य हुनेहरूको संख्या उल्लेख्य छ । तेस्रोलिंगीको पहिचानसहित विसं २०६८ को जनगणनामा सुरु भए पनि सामाजिक डरका कारण धेरैले आफ्नो पहिचान खोल्न चाहेनन् । नेपालमा लैंगिक पहिचान सहितको अधिकार भनेर संविधानमा व्यवस्था गरिए पनि अन्य आवश्यक नीतिहरू निर्माण हुनसकेको छैन । कतिपय सरकारी दस्तावेजमा महिला र पुरुषमात्रै उल्लेख गरिँदा पनि तेस्रोलिंगी आफू पीडित भएको महसुस गर्छन् । यौनिकता खुलाउँदा सार्वजनिक स्थानहरूमा धेरै समस्या झेल्नुपर्ने अवस्था छ । यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सामाजिक तथा यौन जीवनलाई घृणा, तिरस्कार र लाञ्छनाले चारैतिरबाट घेरिरहेको छ ।


उल्लिखित चुनौतीका बाबजुद नेपालमा यौनिक अल्पसंख्यक समुदायको पहिचान तथा अधिकार स्थापना गर्ने दिशामा उल्लेखनीय प्रगति भएको छ । फलस्वरुप यस समुदायको आन्दोलनले पहिचान र अधिकारको कानुनी हैसियत प्राप्त गरेको छ । पहिचान सहित खुलेर बहस गर्ने वातावरण तयार भएको छ ।

विविधा

आत्मनिर्भर अर्थतन्त्र आवश्यक

आत्मनिर्भर अर्थतन्त्रका लागि आयात बढाउने होइन । निर्यात बढाउने हो । देशभित्र वस्तुका सेवाको उत्पादनमा लगानी बढाउने हो ।
- शिवराज अधिकारी

परिवर्तित राज्य संरचनाको लागि साविक सरकारी खर्चमा कम्तीमा २५ प्रतिशत थप खर्च लाग्ने देखिन्छ । उक्त खर्च राजस्व वृद्धिबाटै गर्नुपर्ने हुन्छ । राजस्व वृद्धि आर्थिक वृद्धिलाई तीव्रता दिएर पनि गर्न सकिन्छ । जनतालाई अतिरिक्त करको भारमा नपारी राजस्व वृद्धि गर्ने यो उपयुक्त माध्यम हो । विगत ४० वर्षको तथ्याङ्कलाई लिई गरिएको विश्लेषणले एक प्रतिशतले थप आर्थिक वृद्धि गर्दा करिब ०.६७ प्रतिशतले थप राजस्व वृद्धि हुने तथ्य देखाएको छ । यस अर्थमा राज्य संरचनाको सफल कार्यान्वयन गर्न कम्तीमा ७.३७ प्रतिशतले आर्थिक वृद्धि आवश्यक पर्छ । यो अनुमान ९५ प्रतिशत राजस्व सरकारी खर्चमा प्रयोग हुन्छ । साविकमा यो प्रतिशत ८८ प्रतिशत छ र बढीमा ९ प्रतिशतमात्र मूल्यवृद्धि हुन्छ भन्ने मान्यतामा आधारित छ ।


आर्थिक वृद्धिका लागि अति अवाश्यक तत्त्व निजी लगानी हो । वस्तु र सेवाको उत्पादनभन्दा आयातित वस्तुको व्यापारमा निजी लगानी एकत्रित भएको छ । हेरिटेज फाउन्डेसन र वाल स्ट्रिट जर्नलले सन् १९९६–२०१७ सम्म प्रकाशित गरेको व्यापार स्वतन्त्रता र लगानी स्वतन्त्रता सम्बन्धी नेपालको सूचांकहरूको सह–सम्बन्ध मापन गर्दा ऋणात्मक देखाउँछ । यसको अर्थ नेपालमा व्यापारले औद्योगिक लगानीलाई विस्थापित गरेको छ । आयातित वस्तुको व्यापारले देशभित्रको लगानीलाई दुरुत्साहित गरेको छ ।
सन् २००२ पछि उक्त आयातित व्यापारले झन् ठूलो मात्रामा लगानीलाई दुरुत्साहित गरेको छ ।


वास्तवमा देशभित्र वस्तु वा सेवाको उत्पादन हुने र त्यसको व्यापार देशभित्र हुने भएमा व्यापार र लगानी एकअर्कामा सहयोगी हुन्छन् । सह–सम्बन्ध मापन गर्दा सकारात्मक देखाउँछ । देशभित्र लगानी बढाउन आयातमा आधारित व्यापार बाधकको रूपमा देखापरेको छ । आयात बढ्दै गइरहेको छ । आर्थिक विकासले तीव्र गति लिनसकेको छैन भने निर्यात घट्दै गइरहेको छ । फलत: वार्षिक व्यापार घाटा झन्डै १० खर्ब हुनलाग्यो । निर्यातलाई प्रोत्साहन गर्न नेपाल सरकारले नगद अनुदान दिँदै आएको छ, तर पनि निर्यात बढ्न सकेन । कुल वैदेशिक व्यापारमा निर्यातको अनुपात घट्दो छ । हाल यसको हिस्सा ७.२ प्रतिशत छ ।


वैदेशिक व्यापारमा नेपाललाई दैनिक २ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ घाटा भइरहेको तथ्य विभिन्न सञ्चार माध्यममा आएका छन् । यसरी दिनहुँ व्यापार घाटा बढ्दै जानु र व्यापारले लगानीलाई विस्थापित गर्दै जाँदा आर्थिक वृद्धि गर्ने सम्भावनालाई क्षयीकरण गरेको छ । यसरी तीव्र रूपमा व्यापार घाटा बढ्दै जानु र पुँजी देशभित्र वस्तु वा सेवाको उत्पादनमा लगानी गर्नुभन्दा वस्तुको आयात व्यापारमा प्रोत्साहित हुनुमा विद्यमान विनिमय नीति जिम्मेवार छ । अहिलेको विनिमय दर १ सय भारतीय रुपैयाँ (भारु) बराबर १६० नेपाली रुपैयाँ (नेरु) छ । ६५ प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार कुल आयात व्यापारको ३५ प्रतिशत अनौपचारिक व्यापार भारतसँग हुन्छ । यसको अर्थ वास्तविक रूपमा भारतसँग व्यापार घाटा ८५ प्रतिशतभन्दा बढी छ । यति धेरै एउटै देशसँग व्यापार घाटा छ र त्यसै देशसँग विगत २२–२३ वर्षदेखि विनिमय दर निश्चित गरिएको छ । सामान्यतया दुई देशको मूल्यवृद्धिको अवस्था, आर्थिक वृद्धिको अवस्था र आयात–निर्यात व्यापारको अवस्थाले विदेशी विनिमय दर निर्धारण गर्छ । नेपाल–भारतबीच खुला सिमाना र निश्चित विनिमय दर भएको कारणले नेपाल र भारतको मूल्यवृद्धिको विगत २०/२२ वर्षको अवधिमा औसत रूपमा लगभग समान छ । अझ भनौं मूलत: नेपालको मूल्यवृद्धिको अवस्था भारतीय मूल्यवृद्धिको अवस्थाले निर्धारण गर्छ । नेपालको आर्थिक वृद्धिदर भारतको भन्दा निकै कम छ ।


यी तथ्यले स्पस्ट गर्छन् कि भारतीय रुपैयाँसँग गरिएको विनिमय दर परिमार्जित गर्नुपर्छ । अनुभव सिद्ध आँकलनका आधारमा उक्त विनिमय दर सय भारतीय रुपैयाँ बराबर कम्तीमा १७० नेपाली रुपैयाँ हुन आवश्यक छ । यसरी हुनुपर्ने दरभन्दा कम विनिमय दर प्रचलनमा भइरहँदा वस्तुको आयातलाई प्रोत्साहन दियो भने निर्यातलाई निरुत्साहित गरायो । जस्तै– १७० नेपाली रुपैयाँमा आयात गर्नुपर्ने वस्तु १६० नेपाली रुपैयाँमा आयात गर्न पाएपछि नेरु १० अनुदान दिएर बराबर भयो । अर्थात नेरु १०० बराबरको वस्तु आयात गर्दा नेरु ६.२५ अनुदान दिए बराबर भयो ।


यस आर्थिक वर्षको विगत ६ महिनामा भारतबाट मात्र ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको आयात भएको छ । उक्त आयातमा लगभग २२ अर्ब विद्यमान विनिमय दरको कारणले अनुदान प्राप्त हुनगयो । उक्त अवधिमा २३ अर्ब २६ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु भारत निर्यात भयो । विद्यमान विनिमय दरको कारणले भारत निर्यात भएको वस्तु झन्डै डेढ अर्ब रुपैयाँले महङ्गो पर्न गयो । फलत: नेपालको वस्तुले अन्य दक्षिण एसियाका वस्तुसँग प्रतिस्पर्धा गर्न सकेन र उक्त वस्तुहरूको मागमा कमी आयो । त्यसैले निर्यातमा नकारात्मक प्रभाव देखियो । निर्यात क्रमश: घट्दै गयो । सन् २००० सम्म भारतले दक्षिण एसियाका देशहरूबाट गर्ने कुल आयातको लगभग ५० प्रतिशत आयात नेपालबाट गथ्र्यो । नेपालबाट गर्ने आयातको प्रतिशत क्रमश: घट्दै गई अहिले २० प्रतिशतभन्दा कम रहेको छ । त्यसैगरी नेपालबाट भारतमा निर्यात प्रवृत्ति पनि घट्दै गइरहेको छ । भारतबाट हुने आयात बढ्दो छ ।


विद्यमान विनिमय दरको अन्य देशमा वस्तु निर्यात गर्दा पनि उस्तै प्रभाव पर्छ । आ.व. २०७३/७४ मा भारत बाहेक अन्य देशमा १८ अर्ब ८२ करोड १० लाख रुपैयाँको नेपाली वस्तु निर्यात गरिएको थियो । यसरी वस्तु निर्यात गरेकाले नेपाल सरकारले निर्यातकर्तालाई २९ करोड नगद अनुदान दिएको थियो । तर विद्यमान विनिमय दरको कारणले १ अर्ब १८ करोड बराबर वस्तु निर्यात गर्न निरुत्साहित गरेको थियो । फलत: अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनगयो । यसरी एउटा नीतिले निर्यातलाई प्रोत्साहन दिँदै गर्दा अर्को नीतिको अवाञ्छित प्रभावले निर्यातलाई निरुत्साहित गरेको छ । यदि विनिमय दर ठिक तरिकाले निर्धारण गरियो भने आयातको तीव्र वृद्धिलाई निरुत्साहित गर्छ भने निर्यातलाई प्रोत्साहन दिन्छ । नेपाली मुद्राको अवमूल्यन गर्दा आयातित वास्तुहरूको मूल्य बढ्छ । आयातित वस्तुहरूको मागमा कमी आउँछ । नेपालमा उत्पादित वस्तुहरूको माग बढ्छ । विलासिताका वस्तुहरूको मूल्य बढेर नेपालको अर्थतन्त्रलाई खासै असर पर्दैन । तर आयात गरिने कृषि औजारहरू तथा अन्य उत्पादनका साधनहरूमा नकारात्मक प्रभाव देखिन सक्छ । उक्त प्रभावलाई हटाउन कृषि औजारहरूमा हाल दिँदै आएको अनुदानलाई वृद्धि गर्न सकिन्छ ।


आत्मनिर्भर अर्थतन्त्रका लागि आयात बढाउने होइन । निर्यात बढाउने हो । देशभित्र वस्तुका सेवाको उत्पादनमा लगानी बढाउने हो । बेठिक विनिमय दरका कारण देशभित्र लगानीमा कमी, रोजगारीमा कमी र अन्तत: आर्थिक वृद्धिमा कमी आयो । आत्मनिर्भर अर्थतन्त्रका लागि विद्यमान कतिपय आर्थिक नीति सहयोगी छैनन् । वास्तवमा उक्त नीतिहरूले आत्मनिर्भर अर्थतन्त्र हुने क्षमतालाई लुकाएका छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि अर्थतन्त्रका इन्जिनमा कतिपय नटबोल्टहरू (आधारभूत आर्थिक नीतिहरू) खुकुला छन् । कतिपय बढी कसिएका छन् । ती नटबोल्टहरू (मौद्रिक नीति, विनिमय नीति, वित्तीय नीति आदि) को गहन रूपमा विश्लेषण आवश्यक छ । उक्त नटबोल्टहरूलाई ठिक अवस्थामा राखेर अर्थतन्त्रलाई ठिक बाटो र गतिमा हिँडाउनुपर्छ । रङरोगनले टल्किएका तर नटबोल्ट ठिक नभएका अर्थतन्त्रको इन्जिनले अर्थतन्त्रमा गति प्रदान गर्दैन ।
अधिकारी अर्थशास्त्रका सह–प्राध्यापक हुन् ।

Page 8
समाचार

मुद्दा छिन्दै जनप्रतिनिधि

- अर्जुन शाह

धनगढी– कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले हालसम्म २३ वटा उजुरीमाथि सुनुवाइ गरिन् । २२ वटामा झगडिया पक्षबीच मिलापत्र गराएकी उनी एउटा मुद्दा भने कानुनी कारबाहीका लागि अघि बढाउने तर्खरमा छिन् ।


थुप्रै कानुनी जटिलताका बीच पनि जनप्रतिनिधिहरू न्यायिक निरूपणको अभ्यास गरिरहेका छन् । स्थानीय तहको न्यायिक समितिले गत भदौमा पूर्णता पाएसँगै काम थालेको हो । ‘त्यसयता लेनदेन, जग्गा तथा सिमाना विवाद, सम्बन्ध विच्छेदलगायत उजुरीमा मिलापत्र गराइएको छ,’ कडायतले भनिन् ।


धनगढी उपमहानगरकी उपप्रमुख सुशीला मिश्र भट्ट ढिलै भए पनि न्यायिक समितिमा उजुरी आउने क्रम सुरु भएको बताउँछिन् ।
हालै सम्पन्न नगरसभाबाट उपमहानगरको न्यायिक समितिले पूर्णता पाएको हो । उपप्रमुखसहित ३ सदस्यीय समितिमा रत्ना मिश्र र अर्जुन चौधरी सदस्य छन् । समितिको पूर्णताअघि अनौपचारिक रूपमा उजुरीहरूमा छलफल चलाइँदै आएको मिश्रले बताइन् । ‘समितिले पूर्णता पाएकाले अब आउने उजुरी व्यवस्थित ढंगले निरूपण गर्छौं,’ उनले भनिन्, ‘विवादको न्यायिक निरूपण सहज भने छैन ।’


संविधानले स्थानीय तहमा न्यायिक समितिको प्रावधान कायम गरे पनि त्यसको व्यवस्थापन कठिन रहेको समिति संयोजकहरू बताउँछन् । कुनै पनि नगर तथा गाउँपालिकामा हालसम्म समितिअन्तर्गत कर्मचारी, कानुन व्यवसायी मेलमिलापकर्ता बन्दोबस्त नभएको मिश्रले जानकारी दिइन् । ‘बिनापूर्वाधार काम गर्न सकिन्न,’ उनले भनिन्, ‘मैले निर्णय सुनाउने हो, अनुसन्धान गर्ने होइन । अनुसन्धान र वकालत गर्न अनुसन्धान अधिकृत, कानुन व्यवसायी र बेग्लै डेस्क खडा गर्नुपर्ने हुन्छ ।’


यहाँका प्राय: सबै स्थानीय तहमा उपप्रमुख महिला छन् । कानुनी ज्ञान तथा अभ्यास नभएका उपप्रमुखलाई न्याय निरूपण गर्न अझ कठिन भएको उनीहरू बताउँछन् । न्यायसम्पादनको तरिकासहित कार्यविधि, न्यायिक समितिको काम, कर्तव्य तथा अधिकारबारे हालसम्म कुनै तालिम–गोष्ठीसमेत नभएको गोदावरी नगरपालिका उपप्रमुख कडायतले बताइन् । ‘यस अवस्थामा न्यायिक समिति सक्रिय हुन सक्दैनन्,’ उनले भनिन् । स्थानीय तहमै न्यायिक निरूपणका लागि उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहनेबारे स्थानीय बासिन्दाले सुनेका छन् । तर, समितिले गर्ने कामबारे भने नागरिकदेखि जनप्रतिनिधिसमेत अनभिज्ञ देखिन्छन् ।


स्थानीयले न्यायका लागि न्यायिक समितिको उपयोग गर्नेमा धेरै चासो नदेखाएको समिति संयोजकहरू बताउँछन् । अछामको साँफेबगर नगरपालिकाको न्यायिक समितिमा हालसम्म एउटा मात्रै उजुरी दर्ता भएको नगर उपप्रमुख वीरमला बुडथापाले जानकारी दिइन् ।


काम, कर्तव्य र अधिकार क्षेत्र प्रस्ट नहुँदा समितिले कस्ता न्यायिक र कानुनी कार्य गर्ने भन्नेमा समिति संयोजकहरू अन्योलमा छन् । ‘न्यायिक समितिको कार्य सञ्चालन कार्यविधि नहुँदा कस्ता विषयको सुनुवाइ गर्ने भन्ने समस्या छ,’ बाजुराको बूढीगंगा नगरपालिकाका उपप्रमुख तारा
खातीले भनिन् ।

समाचार

ट्रिपर चालकलाई दमकल जिम्मा

आगलागी नियन्त्रणमा जनशक्ति अभाव
- भवानी भट्ट
भीमदत्त नगरपालिकाको वारुण यन्त्रका कर्मचारी उपकरण व्यवस्थापन गर्दै । तस्बिर : भवानी

कञ्चनपुर– गर्मी र हावाहुरीको मौसमसँगै जिल्लामा आगलागीका घटना बढे पनि सरोकारवाला निकायले नियन्त्रणको पर्याप्त तयारी गरेका छैनन् । विभिन्न नगरपालिकासँग दमकल रहे पनि जनशक्ति र आवश्यक उपकरण अभावमा चलाउन सकिएको छैन ।


कतिपय नगरले अग्नि नियन्त्रक अभावमा अन्य सवारीसाधनका चालकलाई दमकल जिम्मा लगाइरहेका छन् । ‘गत वर्षै दमकल खरिद गरिएको हो,’ महाकाली नगरपालिका कर्मचारी सुर्जकला रोकायाले भनिन्, ‘ट्रिपर र
ट्याक्टर चालकले नै दमकलमा पनि काम गर्छन् ।’ उनका अनुसार अग्निनियन्त्रक अझै भर्ना गरिएको छैन ।


महाकाली नगरमा गत आवमा आगलागीका ८/१० घटना भएका थिए । यस वर्ष पनि ५/६ घटना भइसकेका छन् । फागुनयता नै तीन ठाउँ आगो लागिसकेको छ । गत वर्षै नयाँ दमकल खरिद गरेको शुक्लाफाँटा नगरपालिकाले पनि जेनतेन काम चलाइरहेको छ । दमकल खरिद गरे पनि तालिमप्राप्त जनशक्ति अभावमा अन्य सवारीसाधनका चालकलाई खटाइने गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी बताउँछन् । ‘ट्रिपरकै चालकले दमकलको पनि काम गरिरहेका छन्,’ उनले भने, ‘यस वर्ष कार्यपालिकाले नयाँ जनशक्ति भर्ना गर्ने निर्णय गरेको छ, त्यसपछि उनीहरूलाई तालिम तथा अन्य उपकरण खरिद गरिनेछ ।’ उनका अनुसार शुक्लाफाँटा नगरपालिकाको झलारी बजार क्षेत्रसँगै ग्रामीण भेगमा पनि आगलागीका घटना भइरहन्छन् । गत वर्ष उक्त क्षेत्रमा २ ठूला आगलागी भएका थिए । जिल्लाको पुरानो नगरपालिका भीमदत्तसँग ३ दमकल छन् । छुट्टै वारुण यन्त्र शाखा पनि छ । तर, कर्मचारीले अझै प्राविधिक ज्ञान र सीप पाएका छैनन् । न त आगलागी नियन्त्रणको तालिम नै दिइएको छ ।


‘हामी नगरपालिकामा दमकल आएदेखि नै काम गरिरहेका छौं,’ भीमदत्तको वारुण यन्त्र शाखा इन्चार्जसमेत रहेका चालक भोजराज पनेरूले भने, ‘तर, अहिलेसम्म आफ्नै सीप र अनुभवले काम गरिरहेका छौं, न कहिल्यै तालिम पायौं न त नयाँ प्रविधि आउँदा त्यसबारे जानकारी ।’ उनले सिलिन्डर ग्यास र इन्धनका कारण हुने आगलागी नियन्त्रणमा प्रयोग हुने सिलिन्डर र त्यसमा कार्बनडाइअक्साइड भर्न सक्ने सीप आफूहरू कसैमा नभएको बताए ।


भीमदत्तको वारुण यन्त्र शाखामा २ चालकसहित ८ जनाको टोली छ । तर, उनीहरूमध्ये कसैले पनि कार्बनडाइअक्साइड भर्न सक्दैनन् । ‘त्यही भएर भरेका सिलिन्डर मगाउने गर्छाैं,’ पनेरूले भने, ‘यसबारे तालिम नपाउँदा समस्या भएको हो ।’ भीमदत्त नगरपालिकामा २०५१ देखि दमकल सेवा सुरु भएको हो ।


कतिपय नगरपालिकासँग अझै पनि एउटै दमकल छैन । भएकामा पनि समयमा नपुग्ने, आगलागी नियन्त्रणमा प्रभावकारी नहुने सर्वसाधारणको गुनासो छ । ५ वर्षअघि महेन्द्रनगर बजारको एक फर्निचर उद्योगमा लागेको आगो दोस्रो दिन मात्र नियन्त्रणमा आएको थियो । गत वर्ष महेन्द्रनगर तथा आसपास क्षेत्र आगलागीका ५५ घटना भए ।


सवारीसाधनको बढ्दो चाप, साँघुरा सडक र दक्ष जनशक्ति अभावले सेवा दिन समस्या भइरहेको पनेरू बताउँछन् । २ दिनअघि भीमदत्त नगरपालिकाको भुजेलाको एक घरमा भएको आगलागी नियन्त्रणमा जाँदा दमकल नै जाममा पर्ने अवस्था आएको उनले सुनाए ।

समाचार

अवैध फिरफिरे बन्द

नुवाकोट (कास)– प्रशासनले मापदण्डविपरीत सञ्चालनमा रहेका बालुवा धुने उद्योग (फिरफिरे) बन्द गराएको छ । प्रजिअसहितको टोलीले बुधबार बेलकोटगढी नगरपालिका र बिहीबार विदुर नगरपालिका क्षेत्रमा अनुगमन गरी अवैध फिरफिरे सञ्चालनमा रोक लगाएको हो ।


फिरफिरेले मापदण्डबाहिर गएर काम गर्दा त्रिशूली नदी धमिलिएको गुनासो बढेपछि अनुगमन गरिएको हो । बुधबार बेलकोटगढीका ५, ७ र ८ वडा कोल्पुटारदेखि देवीघाटसम्म अनुगमन गरिएको थियो । त्यसक्रममा भेटिएका ४७ वटा बालुवा प्रशोधन उद्योगमध्ये ३१ वटा दर्ता पाइए । बाँकी १६ वटालाई तत्काल बन्द गर्न पत्र काटिएको छ ।


अधिकांश उद्योगले मापदण्डविपरीत कार्य गरेको अनुगमनमा भेटिएको छ । बालुवा प्रशोधन गर्दा धमिलो पानी छुट्टै खाल्डोमा थिग्य्राउनुपर्ने र सफा पानी मात्र नदीमा पठाउनुपर्ने प्रावधान कमैले पालना गरेका छन् ।


विदुर नगरभित्रका ८ वटा फिरफिरेमध्ये पाँचवटा बिनादर्ता सञ्चालित भेटिए । ‘ती उद्योगले धमिलो पानी प्रशोधित नगरी सिधै खोलामा फालेका छन् । ती सबैलाई बन्द गर्न पत्राचार गरेका छौं,’ प्रजिअ वीरेन्द्रकुमार यादवले भने, ‘उद्योगहरू कानुनसम्मत ढंगले चलेनन् । त्रिशूली स्वच्छ भएन ।’ अनुगमन क्रममा धमिलो पानी व्यवस्थापन भर्खर खाल्डो खनिएको भेटिएको थियो ।


बन्द गर्न पत्र काटिएका फिरफिरे फेरि सञ्चालन गरिएको पाइए सामग्री जफत गर्ने प्रहरीले जनाएको छ । ‘पहिला विधिभित्र जाऔं,’ जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले भने, ‘मापदण्ड पुर्‍याऔं, त्यसपछि सञ्चालन गर्नुस् ।’ घरेलु तथा साना उद्योग शाखाका प्रमुख विजय भट्टराई पनि उद्योगले मापदण्डअनुसार काम नगरेको बताउँछन् । ‘दर्ता उद्योगले थिग्य्राउने पोखरी बनाएर काम गर्नुपथ्र्यो, त्यो पाइएन,’
उनले भने, ‘स्थानीय निकायसँग समन्वय गरेर आउन पत्र दिएका छौं । मापदण्ड पूरा गरे काम गर्न पाउँछन् ।’


बेलकोटगढीका मेयर राजेन्द्ररमण खनालले नियमविपरीत सञ्चालित उद्योग बन्दै गरिने बताए । ‘उद्योगबाट निस्केको पानीले त्रिशूली नदी प्रदूषित बनाएको छ,’ उनले भने । भूकम्पपीडितका लागि स्थानीय सरकारले कानुन बनाएर नदीजन्य पदार्थ उपलब्ध गराउने तयारी गरिरहेको खनालले जानकारी दिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पनि प्राकृतिक स्रोत दोहन नगरी नियमसंगत ढंगले भूकम्पीडितका माग सम्बोधन गरिने बताए ।

समाचार

सिम वितरणमा लापरबाही

सुर्खेत (कास)– डेढ महिनाअघि पश्चिम बाबियाचौरमा भएको शंकास्पद मृत्युसम्बन्धी घटनाको अनुसन्धानका क्रममा प्रहरीले मोबाइल डिटेल झिकायो । सिम ग्राहक अभिलेखमा उल्लेख भएका व्यक्ति चार वर्षदेखि वैदेशिक रोजगारीमा थिए । तर, यहाँ ती व्यक्तिको नाउँमा हालसालै सिम निकालिएको पाइयो ।


केही दिनअघि जिल्ला प्रहरीमा एउटा अर्को उजुरी पर्‍यो, ‘टेलिफोनबाट धम्की आयो । ज्यान सुरक्षा गरिपाऊँ ।’ अनुसन्धानका क्रममा धम्की आएको मोबाइल नम्बर खोजी गर्दा अर्कैको नाउँमा थियो । टेलिकमले नमस्ते मोबाइलका सिम जथाभावी बिक्री वितरण गर्दा यस्तो समस्या सिर्जना भएको प्रहरी अनुसन्धानले पुष्टि गर्‍यो । ‘टेलिकमले प्रमाणपत्र, ग्राहकको फोटोबिनै सिम एक्टिभ गराउने गरेको पाइयो,’ जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चुतर्वेदीले भने, ‘एउटैका नाउँमा धेरै ग्राहकका लागि सिम ‘एक्टिभेट’ गरिँदोरहेछ ।’


प्रहरीका अनुसार अर्कैको नाउँमा ‘एक्टिभेट’ गरिएका सिमलाई व्यवसायीले बजारमा एक सय ५० रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । टेलिकमको नेपालगन्जस्थित मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयअन्तर्गत व्यापार शाखाले यस क्षेत्रमा सिम बिक्री–वितरण गर्दछ । सुर्खेतमा टेलिकम शाखा कार्यालय र दुई व्यावसायिक फर्मलाई अधिकृत विक्रेताको जिम्मेवारी दिएको छ । अधिकृत विक्रेता र टेलिकम कर्मचारीसँगको मिलेमतोमा अन्य व्यवसायीले समेत अनधिकृत रूपमा सिम बिक्री गर्दै आएका छन् । वास्तविक ग्राहकको परिचयपत्रबिनै सिम बिक्री गरिँदा अपराधजन्य क्रियाकलापलाई टेवा पुगेको प्रहरीको भनाइ छ ।

समाचार

गाँजासहित २ पक्राउ

छोटकरी

धादिङ (कास)– प्रहरीले १० केजी गाँजासहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगर–३ का सुमित शिल्पकार र पवनमणि लामिछाने छन् । पृथ्वी राजमार्गको मझिमटारबाट पक्राउ परेका उनीहरू ग६प ९४३१ नम्बर मोटरसाइकल र ना५४प ६४५ स्कुटरमा
सवार थिए ।

समाचार

पर्यटक मृत फेला

छोटकरी

पोखरा (कास)– लेकसाइटस्थित एक होटलमा बिहीबार युक्रेनी नागरिक अन्पोन कुज्निपभ मृत फेला परेका छन् । गत सोमबारदेखि उक्त होटलमा बस्दै आएका २८ वर्षीय कुज्निपभको शव भेटिएको हो । प्रहरीले बिहान ११ बजे पश्चिमाञ्चल अस्पतालमा शव परीक्षणका लागि पुर्‍याएको थियो । चिकित्सकले उनको मृत्यु करिब आठ घण्टाअघि भएको बताएका छन् ।

समाचार

४ करोड बजेट

छोटकरी

धादिङ (कास)– धुनीबेंसी नगरपालिकाले ४ करोड ३ लाख ५ हजारको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभामा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बिहीबार नगरको विकासका लागि विनियोजित बजेट सार्वजनिक गरेका हुन् । नगरसभाले भौतिक, आर्थिक तथा सामाजिक तथा समावेशी क्षेत्रको विकासका लागि ८२ वटा विकास योजना स्वीकृत गरेको छ ।

Page 9
अर्थ वाणिज्य

राजस्व संकलन साढे सात अर्ब कम

सरकारी अधिकारी र व्यवसायीबीचको मिलेमतोमा चुहावट हुने क्षेत्रमा अर्थमन्त्रीले कडाइ गरेपछिको प्रभाव राजस्व संकलनमा देखिएको छ
एकजनाले गल्ती गर्ने ९९ प्रतिशतलाई अप्ठयारो पार्ने काम भइरहेको छ । विश्वमै नभएको प्रणाली लागू गर्दा समस्या : निजी क्षेत्र
- कृष्ण आचार्य

काठमाडांै– अर्थमन्त्री युवराज खतिवडाको कडाइसँगै राजस्व संकलन थप गिरावट देखिएको छ । सरकारी अधिकारी र व्यवसायीबीचको मिलेमतोमा चुहावट हुने क्षेत्रमा खतिवडाले कडाइ गरेपछि त्यसको प्रभाव राजस्व संकलनमा देखिएको हो ।


फागुन मसान्तसम्म लक्ष्यको तुलनामा ७ अर्ब ४६ करोड ७५ लाख रुपैयाँले कम राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखाका अनुसार फागुन मसान्तसम्म ४ खर्ब ३९ अर्ब ४६ करोड ७४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन हुने लक्ष्य निर्धारण गरिएको थियो । यसको करिब ९८ प्रतिशत अर्थात् ४ खर्ब ३२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको हो । ‘संकलन हुन नसकेको करिब साढे ७ अर्ब आगामी महिनामा असुल गरेर पूर्ति गर्नुपर्ने हुन्छ,’ अर्थका एक अधिकारीले भने ।


फागुन मात्रैको लक्ष्यमा करिब ९ प्रतिशतले कम राजस्व संकलन भएको छ । उनका अनुसार ४ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ कम राजस्व संकलन भएको हो । लक्ष्य ५३ अर्ब १३ करोड ४० लाख रुपैयाँ निर्धारण गरिएकामा ४८ अर्ब ३८ करोड रुपैयाँ मात्रै संकलन भएको हो । ती अधिकारीका अनुसार पछिल्लो समय भन्सार विन्दुमा राजस्व संकलन कम भइरहेको छ । सरकारी अधिकारी र व्यवसायीबीचको मिलेमतोमा भन्सारको सन्दर्भ मूल्यसूची (रिफरेन्स प्राइस) भन्दा कम देखाई राजस्व छली गर्ने विषयमा कडाइ भएपछि राजस्व असुलीको प्रभाव भन्सारमा देखिएको हो । यो कडाइसँगै व्यवसायीहरूले भन्सारबाट सामान छुटाउन छाडेका छन् । कतिपय सामग्रीहरू भन्सार विन्दुमा अड्किएर बसेका छन् ।


सन्दर्भ मूल्यमा धेरै नै कडाइ गरेपछि भन्सारमा सामानहरू रोकिन थालेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘एकजनाले गल्ती गर्ने ९९ प्रतिशतलाई अप्ठयारो पार्ने काम भइरहेको छ,’ उनले भने, ‘कुनै पनि वस्तुको मूल्य दैनिक परिवर्तन भइरहेको छ । यो सन्दर्भ मूल्यको सट्टा अर्को विकल्प सरकारले नअपनाउँदा यस्तो समस्या आइपरेको हो ।’ उनका अनुसार खासगरी भन्सारमा चिनी रोकिन थालेको छ । चिनीको अन्तर्राष्ट्रिय बजारमा प्रतिटन ४ सयदेखि ४ सय ५० अमेरिकी डलर छ । भन्सारमा भने प्रतिटन ४ सय ६० डलरभन्दा बढीमा छुटाउनुपर्ने भनेपछि सामानहरू रोकिएको उद्योगीले बताएका छन् ।


‘विश्वमै नभएको प्रणाली लागू गर्न भएन । यसले झन् बढी विकृति ल्याउने काम भइरहेको छ भनेर पटकपटक सरकारको ध्यानाकर्षण गराएका छौं,’ गोल्छाले भने, ‘सरकारले सन्दर्भ मूल्य वर्षमा एकपटक निर्धारण गर्ने गरेको छ । त्यो पनि हामीसँग छलफल गरिँदैन । यो मूल्य लागू गर्ने भनेर कुनै ऐनमा लेखिएको पनि छैन । एउटा अभ्यास मात्रै हो ।’ यसले आयातमा समस्या सिर्जना गर्ने उनले बताए । सामान आयात कम हुँदै गएपछि सरकारले निर्धारण गरे अनुसारको भन्सार लक्ष्य असुल हुन नसकेको हो ।


माघसम्म (सात महिना) राजस्व संकलनको लक्ष्य ३ खर्ब ८५ अर्ब १० करोड रुपैयाँ निर्धारण गरिएको थियो । यसको करिब ९९ प्रतिशत मात्रै असुली भयो । विगतका वर्षहरूमा लक्ष्यभन्दा दुई/चार प्रतिशत बढीले राजस्व संकलन हुने गरेको थियो । यो वर्ष भने प्राय: महिना सरकारले राजस्वको लक्ष्य भेटाउन सकेको छैन । विगत ८ महिनामध्ये फागुनमा सबैभन्दा बढी रकम उठ्न नसकेको हो । अर्थ मन्त्रालयले राजस्व कम उठ्नुको कारण तत्कालै भन्न नसकिने जनाएको छ । अर्थका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले विगतका महिनादेखि नै राजस्व संकलनमा समस्या देखिइरहेको बताए । ‘यो महिनामा झन् किन घटयो समीक्षापछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘राजस्व संकलनको समीक्षा ६ गतेभित्र गरिसक्ने छौं ।’


राजस्व संकलन कमीको प्रत्यक्ष असर भने सरकारलाई खर्च व्यवस्थापनमा पर्नेछ । संघीयता कार्यान्वयनका कार्यक्रमहरूका लागि तत्काल ठूलो रकम आवश्यक, स्थानीय तहलाई अनुदान, ३५ जिल्लाको बाढीपहिराका लागि अबका कार्यक्रम, भूकम्पपीडतका लागि अनुदानलगायत शीर्षकमा खर्चको चाप सरकारलाई परेको हो । राजस्व उल्लेख्य संकलन हुन नसकेको र खर्च गर्ने क्षेत्र धेरै भएकाले सरकार अहिले घाटा बजेटमा चलिरहेको छ । राजस्व कम संकलन र स्रोतका अन्य विकल्पहरू सरकारसँग नभए पनि अर्थ मन्त्रालयले मितव्ययी कार्यक्रम ल्याउँदै छ । आगामी साता उक्त कार्यक्रम घोषणा गर्ने तयारी रहेको छ ।

अर्थ वाणिज्य

सञ्चयकर्ताको बोनसबाट पौने ३ अर्ब

वेतन कर्णाली जलविद्युत् आयोजना
- विजय तिमल्सिना

काठमाडौं– वेतन कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्न कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको बोनसबाट दुई वर्षमा पौन २ अर्ब रुपैयाँ जम्मा भएको छ । यो रकम सञ्चय कोषको मुनाफाबाट संकलन गरिएको हो ।
यो वर्ष कर्मचारी सञ्चय कोषले १ अर्ब ८९ करोड खुद नाफा कमाएको छ । सञ्चय कोषका कायममुकायम प्रशासक दीपक रौनियारका अनुसार खुद मुनाफाको ८१ प्रतिशत हुने गरी १ अर्ब ५३ करोड रुपैयाँ सञ्चयकर्ता सेयर लगानी कोषमा जम्मा गरिएको हो ।


अघिल्लो वर्ष खुद मुनाफाबाट १ अर्ब २९ करोड रुपैयाँ यो कोषमा जम्मा भएको थियो । कोषमा २ अर्ब ८२ करोड जम्मा भएको रौनियारले जानकारी दिए ।


सञ्चयकर्ताले जम्मा गरेको रकमबाट कमाएको नाफा पुन: सञ्चयकर्ताको हितमा लगाउन विद्युत् आयोजनामा लगानी गर्न लागिएको रौनियारले बताए । ‘विद्युत् आयोजना निर्माण गर्दा सञ्चयकर्ताले सेयर पनि पाउँछन्,’ उनले भने, ‘यसले आन्तरिक स्रोतबाट ठूलो जलविद्युत् आयोजना पनि बन्छ ।’


सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणको लगानीमा ६ सय ८८ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजना बन्न लागेको छ । यसका लागि वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी स्थापना भइसकेको छ । यसमा ४० प्रतिशत सेयर सञ्चयकर्ताको रहनेछ । सुर्खेतमा बन्ने आयोजनाको कुल लागत ७० अर्ब हुने अनुमान छ । आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने काम भइसकेको कायममुकायम प्रशासक रौनियारले जानकारी दिए । ‘१८ महिनामा काम सकाउने गरी चार महिनाअघि नै डीपीआरको काम सुरु भइसकेको छ,’ उनले भने, ‘आयोजनाका लागि अधिकांश लगानी सञ्चय कोषले गर्ने भएकाले स्रोतको अभाव हुन्न । डीपीआरलगत्तै आयोजना सुरु हुन्छ ।’ उनका अनुसार आयोजनामा ४० प्रतिशत सेयर सञ्चयकर्ताको हुनेछ । त्योमध्ये ८ अर्ब सञ्चयकर्ता, ३ अर्ब सञ्चय कोष, २ अर्ब नेपाल विद्युत् प्राधिकरण, २ अर्ब प्रवद्र्धक कम्पनी र ५ अर्ब सर्वसाधारणको लगानी रहनेछ । बाँकी ६० प्रतिशत कोषले नै ऋण लगानी गर्नेछ ।


सञ्चयकर्ताको लगानी ८ अर्ब सञ्चयकर्ता सेयर लगानी कोषबाट गर्ने तयारी छ । सञ्चय कोषले कमाएको ४ वर्षको नाफाबाट यो लगानी उठ्ने अनुमान छ ।


वेतन कर्णालीको प्रवद्र्धक कम्पनीलाई सञ्चय कोषले आयोजनामा लगानीका लागि ५० अर्ब ऋण दिने भएको छ । यो रकम लगानीको ६० प्रतिशत हुन आउँछ । ५ लाख ६० हजार सञ्चयकर्ता रहेको सञ्चय कोषले जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रतिबद्धता जनाएको छ ।
जसमध्ये १४ अर्ब लगानी गरिसकेको कोषले जनाएको छ । कोषले माथिल्लो तामाकोसी, स्याङ्जेन, रसुवागढी, माथिल्लो भोटेकोसीमा लगानी प्रतिबद्धता जनाएको छ ।


सञ्चय कोषले कमाएको खुद मुनाफाको ११ प्रतिशत करिब २१ करोड रुपैयाँ सञ्चयकर्ता कल्यणकारी कोषमा दाखिला गरिएको रौनियारले बताए । कल्याणकारी कोषबाट संस्थाले सञ्चयकर्तालाई काजकिरिया खर्च ३० हजार, दुर्घटना क्षतिपूर्तिबापत १ लाख २५ हजार, औषधोपचारका लागि ५० हजारसम्म, सुत्केरी खर्च दुईपटकसम्म ७ हजार ५ सयका दरले उपलब्ध गराउने मानव संसाधन विभाग प्रमुख अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार कडा रोगको उपचारका लागि सञ्चयकर्तालाई सहयोग गर्ने उद्देश्यले सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना लागू गर्ने तयारीमा छ ।


वैदेशिक रोजगारीमा गएकालाई समेट्ने योजना
रेमिटयासबापत भित्रिने रकमलाई समेत अवकाश कोषमा जम्मा गर्न मिल्ने गरी कार्यविधि निर्माण भइरहेको सञ्चय कोषले जनाएको छ । स्वरोजगार र वैदेशिक रोजगारीमा गएका नेपालीलाई समेट्न नयाँ योजना ल्याउने तयारी भएको कोषको मानव संसाधन विभाग प्रमुख अर्जुन गौतमले जानकारी दिए ।


उनका अनुसार कोषको सञ्चालक समितिले निर्णय गरेर अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि यो योजना लागू हुनेछ । जसअनुसार वैदेशिक रोजगारीमा गएकाहरू वा स्वउद्यम गर्ने जो कोहीले आफूले चाहेको रकम अवकाश कोषमा राख्न सक्नेछन् ।


कार्यविधिमा वर्षमा एकपटक रकम जम्मा गर्नेलाई पनि नियमित सञ्चयकर्ता मानिने प्रावधान भएको गौतमले जानकारी दिए । जम्मा गरेको रकम अवकाशपछिको अवधिमा एकैपटक झिक्ने वा पेन्सनका रूपमा लिन सक्ने सुविधा हुनेछ । ‘कति वर्ष उमेर पुगेपछि झिक्न मिल्ने भन्ने विषयमा छलफल हुँदै छ,’ उनले भने, ‘अवकाश कोषमा राखेको रकम सञ्चयकर्ताले निश्चित उमेर कटेपछि मात्रै झिक्न पाउनेछन् ।’ यो आर्थिक वर्षको अन्त्यसम्ममा यो योजना कार्यान्वयन गर्ने कोषको तयारी छ ।

अर्थ वाणिज्य

अस्ट्रेलियासँग व्यापार घाटा उच्च

- नारायण खड्का

अस्ट्रेलिया– नेपाल र अस्ट्रेलियाबीचको व्यापारमा नेपालले गत आर्थिक वर्षमा उच्च घाटा व्यहोरेको छ ।


अस्ट्रेलियाको विदेश विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०१६/१७ मा दुई देशबीच ५८ मिलियन डलर करिब (४ अर्ब ६४ करोड रुपैयाँ) बराबरको व्यापार भएको थियो । यो व्यापारमा नेपालले जम्मा ८ मिलियन डलर (करिब ६४ करोड रुपैयाँ) बराबरको निर्यात गरेको छ भने अस्ट्रेलियाले ५० मिलियन डलर बराबर (४ अर्ब रुपैयाँ) को सामग्री नेपाल निर्यात गरेको छ ।


विभागको तथ्यांकअनुसार नेपालसँगको व्यापार आर्थिक वर्ष २०१५/१६ मा ५० मिलियन डलरको थियो । उक्त अवधिमा अस्ट्रेलियाले ८ दशमलव २ मिलियन डलर बराबर आयात गरेको थियो भने निर्यात ४२ मिलियन डलरको थियो । नेपाल अस्ट्रेलियाले व्यापार गर्ने देशहरूको सूचीमा ९२ औं नम्बरमा थियो । नेपाल अस्ट्रेलियासँगको व्यापारमा अघिल्लो वर्षको तुलनामा एक स्थान माथि उक्लिएको हो । नेपाल अस्ट्रेलियाको निर्यातकर्ता देशहरूको सूचीमा ७४ औं स्थानमा पर्छ भने आयातकर्ता देशहरूको सूचीमा भने १ सय १३ औं स्थानमा पर्ने गरेको छ ।


तथ्यांकअनुसार नेपालबाट मुख्य गरेर कार्पेट, गरगहना, महिलाका कपडाहरूका साथै टेक्सटायल र अन्य लत्ताकपडाहरू आयात हुने गरेको छ भने अस्ट्रेलियाले सागसब्जी, तेल, तेलका कच्चा पदार्थहरू, जहाज, जहाजमा प्रयोग हुने सामानहरू र वनस्पती घिउ निर्यात गर्ने गरेको छ ।


नेपालले लामो समयदेखि अस्ट्रेलियासँग घाटाको व्यापार गर्दै आएको छ ।

Page 10
अर्थ वाणिज्य

कालीगण्डकी करिडोरमा प्रसारण लाइन बन्दै

- घनश्याम खड्का

म्याग्दी– कालीगण्डकी करिडोरमा जलविद्युत् आयोजना जोड्न सबस्टेसन र प्रसारणलाइन निर्माणले तीव्रता पाएको छ । म्याग्दीको अन्नपूर्ण ३ को दानादेखि पर्वतको कुस्मा नगरपालिकाको खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म १ सय ४२ किमि लम्बाइको २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारणलाइनमध्ये पहिलो चरणमा दाना–खुर्कोट ४२ किमि खण्डमा सबस्टेसन र लाइनका टावर धमाधम निर्माण
भइरहेका छन् । कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाका अनुसार दाना–खुर्कोट खण्डमा १ सय १० वटा टावर राख्न आवश्यक जग्गाको व्यवस्थापनसँगै निर्माण कार्य सुरु भएको छ । आयोजना प्रमुख चन्दन घोषका अनुसार जलविद्युत्को ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘समय सीमाभित्रै पूरा गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘ठूलो कुनै अवरोध आएन भने हामीले छिट्टै काम पूरा गर्छौं ।’


कालीगण्डकी करिडोरका सबै जलाधार क्षेत्रमा निर्माणाधीन आयोजनाहरूको उत्पादन थाल्ने मितिभित्र लाइन जोड्न मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन तयार हुने उनले बताए । टावर राखिने कुनै पनि ठाउँमा हालसम्म अवरोध नरहेको उनले जनाए । मुस्ताङ र म्याग्दीका जलविद्युत् आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङका आयोजनाबाट उत्पादित बिजुली पर्वतको खुर्कोट सबस्टेसनमा जोडेपछि खुर्कोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट लैजाने प्राधिकरणको योजना छ ।


प्राधिकरणले दाना र खुर्कोट २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न भारतीय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटा–चिन्ट जेभी ठेकदार कम्पनीलाई २ अर्ब ९० करोडमा ठेक्का दिएको छ । आयोजना र ठेकदारबीच सन् २०१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो ।


कालीगण्डकी करिडोरको दाना सबस्टेसनमा जोड्ने भनिएको मुस्ताङको १० मेगावाटको थापाखोला जलविद्युत् आफ्नो बिजुली राष्ट्रिय प्रसारणमा पठाउन नपाएर अलपत्र छ । कालीगण्डकी प्रसारण लाइनमा जोड्ने भनिएको अर्को ५ मेगावाटको घलेम्दीको निर्माण अन्तिम चरणमा छ । ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण ५० प्रतिशत पुगेको छ । त्यसैगरी कालीगण्डकी करिडोरको दाना सबस्टेसनमा जोड्ने गरी ३२ मेगावाटको राहुघाट, १४ मेगावाटको घारखोला, ६४ मेगावाटको कालीगण्डकी अपर, १४६ को कालीगण्डकी गर्ज, ३८ मेगावाटको नीलगिरि, मुस्ताङमा निर्माणाधीन २.४० को ताङछर खोला र ४५० मेगावाटको कोबाङ–कालीगण्डकी आयोजनाबाट उत्पादन हुने विद्युत्लाई जोड्ने योजना छ ।

अर्थ वाणिज्य

दक्षिण एसियाको वृद्धिदर ८.३ प्रतिशत पुग्ने

काठमाडौं (कास)– फ्रस्ट एन्ड सलिभनले वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी ‘दक्षिण एसियाली सम्मेलन २०१८’ राजधानीमा सम्पन्न गरेको छ ।

 

सम्मेलनमा ‘डिजिटल रूपान्तरण : व्यावसायिक तथा सामाजिक प्रभाव’ शीर्षकको सेरेफेरोमा रही सम्बन्धित उद्योगका विज्ञ, फ्रस्ट एन्ड सलिभनका विषय विज्ञ र उदाहरणीय काम गरेका प्यानलिस्टहरूबाट उत्प्रेरक मन्तव्य तथा सत्रहरू सञ्चालन भएको जारी विज्ञप्तिमा उल्लेख छ । २५ भन्दा बढी सम्बन्धित उद्योगका चर्चित व्यक्तित्वहरूले उक्त शीर्षकमा आधारित आफ्नो धारणा राखे । डिजिटल दक्षिण एसियाको परिकल्पना गर्न डेढ सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।


फ्रस्ट एन्ड सलिभनका प्रबन्ध निर्देशक मंगेशलाल श्रेष्ठले सम्मलेनको यहाँसम्मको यात्रा र विश्वव्यापी अर्थतन्त्रमा अघि बढ्न सबै सूत्रधारहरूका लागि आजको समयमा नवीनतम रणनीतिहरू किन जरुरी छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । फ्रस्ट एन्ड सलिभनका अनुसार सन् २०२५ सम्म दक्षिण एसियाली क्षेत्रको समग्र आर्थिक वृद्धिदर ८ दशमलव ३ प्रतिशत कायम रहनेछ भने अर्थिक क्षेत्रमा सार्क राष्ट्रहरूले गर्ने योगदान सन् २०२५ सम्ममा ५ दशमलव ३ प्रतिशत पुग्नेछ । गत वर्ष उक्त योगदान ३ दशमलव ६ प्रतिशत रहेको थियो । वरिष्ठ विज्ञ तथा सम्बन्धित उद्योगका विज्ञहरूले यस क्षेत्रमा रहेको सम्भावना जस्तै ऊर्जा, कृषि तथा पर्यटनका बारेमा चर्चा गरेका थिए ।


सम्मेलनमा सार्क–चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुरज वैद्य, सार्क–चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका भूतपूर्व अध्यक्ष डासो उगेन सेछुप दोर्जी, माल्दिभ्सका लागि वाणिज्यदूत तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गैरआवासीय नेपाल महासंघको अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र सार्क–चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका कार्यकारी सदस्य तथा उद्योग वाणिज्य महासंघ पाकिस्तानका भूतपूर्व अध्यक्ष जुबैर अहमद मलिकलगायतले आफ्नो धारणा राखेको विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

कोकाकोलाद्वारा विजेता घोषणा

छोटकरी

काठमाडौं (कास)– कोकाकोला नेपालले ‘कोक खाम्, रसिया जाम्’ क्याम्पेनको दोस्रो साताको चारजना विजेताको नाम घोषणा गरेको छ । यस योजनाअन्तर्गत उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने जारी विज्ञप्तिमा छ । अभियानमा दुईजना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजनसमेत जित्न सक्ने योजना रहेको जनाएको छ ।

अर्थ वाणिज्य

नेबिलको शाखा विस्तार

छोटकरी

काठमाडौं (कास)– नबिल बैंकले पोखरास्थित न्युरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ६२ शाखाहरूको बृहत् सञ्जाल, १०५ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

चाँदीको सिक्का निष्कासन

छोटकरी

काठमाडौं (कास)– ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा स्वर्ण जयन्तीको लोगो अंकित चाँदीको सिक्का बिहीबार निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकको सहयोगमा स्वर्ण जयन्ती लोगो अंकित १ हजार रुपैयाँको चाँदीको सिक्का र मंगलबजारको ऐतिहासिक ढुंगेधारा अंकित १ रुपैयाँ सिक्का निष्कासन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

एनएमबी माइक्रोफाइनान्सको वार्षिकोत्सव

छोटकरी

काठमाडौं (कास)– एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था छैटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ७५ शाखामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान र मठमन्दिर सफाइलगायतका विविध कार्यक्रम आयोजना गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

आईएमई र मुथुतबीच रेमिटयान्स सेवा

छोटकरी

काठमाडौं (कास)– नेपालस्थित आईएमई लिमिटेड र भारतको मुथुत फाइनान्सले चैत १ देखि नेपाल–भारत रेमिटयान्स सेवा सुरु गरेका छन् । यो सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका नेपालीले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने जारी विज्ञप्तिमा छ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आईएमई एजेन्टबाट भुक्तानी लिन सकिने जनाएको छ ।

अर्थ वाणिज्य

मनिग्रामको दोब्बर रकम योजना

छोटकरी

काठमाडौं (कास)– मनिग्रामले ग्राहकलाई दोब्बर रकम प्राप्त गर्ने अफर फेरि ल्याएको छ । विदेशमा रहेका आफन्तहरूको सम्बन्ध अझ बलियो बनाउन कम्पनीले यो विशेष योजना ल्याएको कम्पनीले जनाएको छ । मनिग्रामबाट ३१ मे २०१८ सम्ममा कारोबार गर्ने प्रत्येक ग्राहक यो योजनाअन्तर्गत लक्की ड्रमा समावेश हुन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । मनिग्रामले प्रत्येक साता २ जना विजेता गरी उक्त योजना अवधिभर जम्मा २४ विजेताको रकम दोब्बर गरिदिने जनाएको छ ।

अर्थ वाणिज्य

रिलाइन्स लाइफ इन्स्योरेन्स सेवा सुरु

छोटकरी

काठमाडौं (कास)– रिलाइन्स लाइफ इन्स्योरेन्सले राजधानीबाट बिहीबार आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले सुरुवातबाट ३ वटा जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा थप ४ बिमा योजना सञ्चालनमा ल्याउने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ‘खुलेर जिऔं–लिभ लाइफ’ भन्ने नाराका साथ सञ्चालनमा आएको जनाएको छ ।

अर्थ वाणिज्य

स्मार्ट सेलको सेन्टर विस्तार

छोटकरी

काठमाडौं (कास)– स्मार्ट टेलिकमले भक्तपुरको सूर्य विनायकमा बिहीबार स्मार्ट सेन्टर सुरु गरेको छ । सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरूको जानकारी सहजै प्राप्त हुने दाबी टेलिकमले गरेको छ ।

अर्थ वाणिज्य

चिया महोत्सव हुने

छोटकरी

काठमाडौं (कास)– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्टिय चिया महोत्सव आयोजना गर्दै छ । चैत २३ देखि २५ सम्म राजधानीको याक एन्ड यती होटलमा महोत्सव आयोजना गरिने बोर्डले जनाएको छ । महोत्सवमा १३ मुलुकका २५ प्रतिनिधि सहभागी हुने जारी विज्ञप्तिमा छ । महोत्सवको एक मात्र उद्देश्य विश्व स्तरको चिया ब्रान्डका रूपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ ।

 

Page 12
अर्थ वाणिज्य

इन्टरप्रिनरसिप कनक्लेभ अर्को साता

काठमाडौं (कास)– नेपाल र भारतका युवा उद्यमीहरूबीच सहकार्य गर्दै प्रोत्साहन गर्न ‘इन्टरप्रिनरसिप कनक्लेभ’ हुने काठमाडौंमा तय गरिएको छ ।

 

कनक्लेभमा युवा उद्यमीहरूको विभिन्न व्यावसायिक विचारलाई प्रस्तुत गराउँदै यसमा लगानीकर्ताको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । व्यापारिक अवधारणा बोकेका र लगानीको अभावमा रहेकाहरूलाई विशेष अवसर दिने गरी यो कार्य अघि बढाउन लागिएको भारतीय दूतवासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । नेपाल र भारतका युवा उद्यमीहरूबीच पहिलोपटक यस्तो सम्मेलन हुन लागेको हो ।


दूतावासको प्रवक्ता रुवि जसप्रित सहभागी रहेर नेपाल र भारतका उद्यमी एवं लगानीकर्तालाई राखेर गरिएको पत्रकार सम्मेलनमा उनले यसबाट नेपाल भारत सम्बन्धलाई जनस्तरमा थप उत्साहित बनाउने बताइन् । भारतीय दूतावास र क्लव बी विजनेस इनोभेसनको संयुक्त आयोजनामा युवा उद्यमीलाई प्रोत्साहन र विकासका लागि यस्तो कार्यक्रम गर्न लागिएको जनाइएको छ । नेपालमा युवा उद्यमीहरू धेरै रहेका भए पनि यस प्रकारको कार्यक्रम भने पहिलो पटक हुन लागेको हो । नेपाल र भारतका उद्यमीहरूबीच सहकार्य गराउने मात्र होइन सफल बनाउनको लागि यो काम आवश्यक रहेको उपस्थितहरूले बताएका थिए ।


नेपालका युवा उद्यमीहरूको सफलताको कथासमेत प्रस्तुत गर्दै उनीहरूबाट बनेको एक समूहले तीन सय नेपाली युवा उद्यमीहरूको नयाँ अवधारणालाई चयन गर्नेछ । व्यापारका नयाँ आयामहरू पत्ता लगाई उनीहरूलाई बाटो देखाउने सबै कार्य हुनेछ ।

अर्थ वाणिज्य

महिन्द्राको डेलिभरी इन्स्पेक्सन सेन्टर

छोटकरी

काठमाडौं (कास)– अग्नि ग्रुपले वीरगन्जमा पीडीआई (प्रि–डेलिभरी इन्स्पेक्सन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्र स्थापना गरेको छ । सेन्टरबाट गुणस्तरको सय प्रतिशत सुनिश्चितता प्राप्त हुनुका साथ साथै गाडीको फिनिसिङ, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने जस्ता कार्यहरू गरिनुका साथै बोल्टहरूलाई कस्ने लगायतका सेवा प्राप्त हुने विज्ञप्तिमा छ । महिन्द्रा एन्ड महिन्द्रा साउथ एसियाका उपाध्यक्ष इन्टरनेसनल अपरेसन प्रमुख सञ्जय जादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले केन्द्रको बिहीबार सामूहिक उद्घाटन गरे ।

अर्थ वाणिज्य

बजाजको ‘युगारम्भ’ योजना

छोटकरी

काठमाडौं (कास)– एचएच बजाजले नयाँ वर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारासहित नयाँ योजना सुरु गरेको विज्ञप्तिमा छ । यो योजनाको विशेषताहरूमा ‘७५ सय रुपैयाँ स्योर सट अफर’ स्किमअन्तर्गत कुनै पनि बजाजका बाइकहरू खरिदमा हरेकले तत्काल ७५ सय नगद छुट पाउनेछन् । यसैबीच कम्पनीले दाङको तुलसीपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने दाबी कम्पनीको छ । सोरुमको शुभारम्भसँगै ग्राहकहरूका लागि आकर्षक पुरस्कारहरू पनि प्रदान गरेको जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

यामाहाको ‘आमन्त्रण’

छोटकरी

काठमाडौं (कास)– यामाहाले नयाँ वर्ष ०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको बिक्रेता एमएडब्लूले यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क््रयाच बुक पाउने कम्पनीले जनाएको छ । जसमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ ग्राहकले पाउने विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

सेन्चुरीको ५ प्रतिशत बोनस सेयर

छोटकरी

काठमाडौं (कास)– सेन्चुरी कमर्सियल बैंक लिमिटेडको सातौं वार्षिक साधारणसभाले सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयर जारीपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड पुगेको जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच बैंकले तुलसीराम गौतमलाई वैशाख १९ देखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

अर्थ वाणिज्य

सनराइजको स्वास्थ्य बिमा सेवा

छोटकरी

काठमाडौं (कास)– सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकका बचत खाताका ग्राहकलाई स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

सिद्धार्थको नगद फिर्ता योजना

छोटकरी

काठमाडौं (कास)– सिद्घार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता हुने ‘क्यास ब्याक’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत यस बैंकका भिसा कार्डका नयाँ ग्राहकले भिसा डेबिट कार्ड एक्टिभ गरेको १५ दिनभित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा पहिलो कारोबारअन्तर्गत भएको कुल खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्मको नगद आफ्नो खातामा फिर्ता पाउने जारी विज्ञप्तिमा छ ।

 

Page 13
विदेश

रुसले बेलायती कूटनीतिज्ञ निष्कासित गर्ने

मस्को (बीबीसी)– रुसले बेलायती कूटनीतिज्ञलाई निष्कासित गर्ने तयारी गरेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले उक्त निर्णयमा राष्ट्रपतिले अन्तिम हस्ताक्षर गर्न मात्र बाँकी रहेको जनाएका छन् ।


राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले यसबारे विदेश मन्त्रालयले अन्तिम तयारी गरिसकेको बताए । उनले भने, ‘वास्तवमा यसको अन्तिम निर्णय गर्ने राष्ट्रपतिले हो ।’ रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले राजधानी मस्कोमा बोल्दै बेलायती कदमको जवाफमा रुसले पनि कुटनीतिज्ञलाई ‘चाँडै नै’ निष्कासित गर्ने बताए ।


बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले रुसका पूर्वगुप्तचर सर्गेइ स्क्रिपल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोग भएको घटनाबारे व्याख्या गर्न अस्वीकार गरेपछि २३ कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन् ।


रुसले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ल्याभरोभले बेलायती प्रधानमन्त्री टेरेजा मे को आरोप ‘पागलपूर्ण’ भएको बताए । कूटनीतिज्ञलाई कहिले निष्कासन गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा ल्याभरोभले भने, ‘चाँडै नै, म तपाईसँग वाचा गर्छु ।’ उनले बेलायती आरोपहरू ‘पूर्णतया अशिष्ट’ भएको बताए । ल्याभरोभले बेलायतले रुसमाथि आरोप लगाउनुको आंशिक कारण ब्रेक्जिट सम्बन्धी सरकारको समस्या पनि रहेको दाबी गरे । रुसले बेलायती आरोपको कुनै प्रमाण नभएको जनाएको छ । साथै उसले बेलायतलाई अनुत्तरदायी भएको आरोप लगाएको छ ।


६६ वर्षीय पूर्व गुप्तचर स्क्रिपल र उनकी ३३ वर्षीया छोरी युलिया ४ मार्चमा भएको आक्रमणपछि गम्भीर बिरामी भएका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त आक्रमणमा ‘नोभिचोक’ नामक रसायनको प्रयोग भएको पत्ता लागेको थियो ।


बेलायतले रसायनिक प्रतिरक्षा केन्द्र खोल्ने
बेलायतले नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ । आधुनिक प्रतिरक्षा कार्यक्रमको महत्त्वपूर्ण हिस्साका रूपमा ७ करोड डलर लगानीमा उक्त केन्द्र स्थापना गरिने बेलायतले जनाएको छ । केन्द्र दक्षिणी बेलायतस्थित पोर्टन डाउनमा स्थापना गरिनेछ । पूर्व रुसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायु प्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न वैज्ञानिकले उक्त केन्द्रमा मद्दत गर्नेछन् । ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रुसबाट मात्रै नभई उत्तर कोरियाजस्ता देशबाट पनि भएकोबारे सचेत गराउने तयारी गरेको छ । खोप सावधानीस्वरूप हजारौं बेलायती फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइनेछ । पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो ।


बेलायतले बुधबार २३ जना रुसी कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । बेलायती प्रधानमन्त्री टरिजा मे ले साल्सवरीमा रुसका पूर्वगुप्तचरमाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोग भएकोबारे व्याख्या गर्न ती कूटनीतिज्ञले अस्वीकार गरेपछि उनीहरूलाई निष्कासित गरिएको बताएकी हुन् ।


सुरक्षा परिषद् बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आफ्नो शान्त सहरमा रुसले युद्धमा पनि प्रतिबन्ध लगाइएको घातक अस्त्र प्रयोग गरेको बताएको थियो । रुसले भने ती पूर्वजासुसको हत्या प्रयास गरेको आरोप अस्वीकार गर्दै उपयुक्त ढंगले त्यसबारे प्रतिक्रिया दिने जनाएको छ ।


बेलायतलाई अन्तर्राष्ट्रिय समर्थन
पूर्व रुसी गुप्तचर र उनकी छोरीलाई आक्रमण गरिएको विषयमा बेलायतलाई विभिन्न देशले समर्थन व्यक्त गरेका छन् । अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशले विज्ञप्ति जारी गर्दै उक्त आक्रमण ‘बेलायतको सम्प्रभुतामाथिकै हमला’ को संज्ञा दिएका छन् ।


विज्ञप्तिमा भनिएको छ, ‘यो बेलायतको सम्प्रभुतामाथिकै हमला मात्र नभई रसायनिक हतियारसम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन हो, यसले हामी सबैको सुरक्षामाथि नै खतरा उत्पन्न गरेको छ ।’ विज्ञप्ति मार्फत रुसलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदो सदस्यका हैसियतमा आफ्नो उत्तरदायित्व पूरा गर्न ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले सुरक्षा परिषद्लाई आक्रमणमा रुसको हात भएको अमेरिकालाई लागेको बताइन् ।

विदेश

बन्दुकको विरोधमा उत्रे अमेरिकी विद्यार्थी

फ्लोरिडा गोलीकाण्ड
अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै विद्यार्थीले फ्लोरिडामा बिहीबार गरेको विरोध प्रदर्शन । तस्बिर : रोयटर्स

फ्लोरिडा (बीबीसी)– अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा गत महिना भएको गोलीकाण्डको विरोधमा बिहीबार अमेरिकाका विद्यार्थी तथा विद्यालयका कर्मचारीले देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।


फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयमा भएको गोलीकाण्डमा मारिएका १७ विद्यार्थीको सम्झनामा उनीहरूले १७ मिनेट पठनपाठन रोकेर विरोधमा सहभागी भएका हुन् । गत महिना फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुजले गरेको आक्रमणमा १७ जनाको ज्यान गएको थियो । मारिनेमा १४ जना उक्त विद्यालयका विद्यार्थी थिए ।


बिहीबारको विरोध प्रदर्शनमा सहभागी विद्यार्थी तथा विद्यालयका कर्मचारीले अमेरिकी संसदले बन्दुकको नियन्त्रणमा चासो नदिएकाले हिंसात्मक आक्रमण बढेको आरोप लगाएका थिए ।


गतसाता फ्लोरिडा राज्यमा बन्दुक किन्न पाउने उमेरलाई १९ बाट बढाएर २१ पुर्‍याइएको थियो । उक्त निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकसम्बन्धी नीतिअन्तर्गत भने नभएको बीबीसीले जनाएको छ ।


यद्यपि फ्लोरिडा गोलीकाण्ड अमेरिकाका विद्यालयमा हुने आक्रमण रोक्न सशस्त्र शिक्षकको व्यवस्था गर्नुपर्ने विवादित अभिव्यक्ति दिएका थिए । ‘नेसनल स्कुल वाकआउट’ का आयोजकले विद्यार्थी, शिक्षक, विद्यालय प्रशासक, अभिभावक लगायतलाई सहभागी हुन आग्रह गरेका थिए ।
फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल विद्यार्थीले अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएका छन् ।


फ्लोरिडाको पार्कल्यान्डस्थित विद्यालयका विद्यार्थीले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने बहसलाई निर्णायक विन्दुमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीले बन्दुक नियन्त्रणका लागि कडा कानुन बनाउन दबाब दिने उद्देश्यले र्‍याली आयोजना गर्ने जनाएका छन् ।

विदेश

फिनल्यान्ड विश्वकै खुसी देश

छोटकरी

हेलसिन्की (बीबीसी)– फिनल्यान्ड यस वर्षको विश्वकै सबैभन्दा खुसी देश घोषित भएको छ । बिहीबार संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको ‘विश्व खुसी मापक प्रतिवेदन’ मा फिनल्यान्ड शीर्ष स्थानमा परेको हो ।


कुल ५५ लाख जनसंख्या रहेको फिनल्यान्ड आप्रवासीको समेत पहिलो रोजाइमा परेको छ । गत वर्षको तथ्यांकअनुसार फिनल्यान्डमा ३ लाख आप्रवासी छन् । विश्वकै खुसी देशको सूचीमा लगातार ‘नर्डिक’ (उत्तर अमेरिकी) देशहरू शीर्ष स्थानमा पर्दै आएका छन् । यसअघि उक्त सूचीको प्रथम स्थानमा रहेको नर्वे दोस्रोमा झरेको छ । डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा, न्युजिल्यान्ड, स्विडेन र अस्ट्रेलिया क्रमश: दस स्थानमा परेका छन् ।


अफ्रिकी र द्वन्द्वग्रस्त मुलुकहरू उक्त सूचीको पुछारमा देखिएका छन् । मध्य अफ्रिकी देश बुरुन्डी १ सय ५६ औं अर्थात् अन्तिममा छ । अमेरिका र बेलायत भने क्रमश: १८ औं र १९ औं स्थानमा पर्न सफल भएका छन् भने नेपाल उक्त सूचीको १ सय १ औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा परेको हो । भारत १ सय ३३ औं स्थानमा छ ।

विदेश

गुटा छाड्दै हजारौं सर्वसाधारण

छोटकरी

दमास्कस (बीबीसी)– सिरियाको द्वन्द्वग्रस्त पूर्वी गुटामा सरकारी फौजले महत्त्वपूर्ण सफलता हासिल गर्दै गएपछि उक्त क्षेत्रबाट हजारौं सर्वसाधारण बाहिरिएका छन् । सरकारी टेलिभिजनमा प्रसारित दृश्यहरूमा महिला र बालबालिकासहित झोला बोकेका हजारौं पुरुषहरूले हमोरिया सहर छाडेको देखिन्छ । उक्त सहरमा हालैका दिनहरूमा रुसी सेनाको सहयोगमा सरकारी फौजले बमबारी गर्दै आएको थियो ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत महिनायता गरिएका आक्रमणपछि उक्त क्षेत्रबाट हालसम्मकै बढी सर्वसाधारणहरू बाहिरिएका हुन् । बीबीसीका अनुसार सहायता संस्थाले २५ लरी सहयोग सामग्री वितरण गरेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार उक्त सामग्री द्वन्द्वग्रस्त क्षेत्रका लागि आवश्यकमध्ये
निकै कम हो । रेडक्रसका अनुसार पूर्वी गुटामा अझै पनि करिब ४ लाख सर्वसाधारण राहतको पर्खाइमा छन् ।

Page 16
कला र शैली

धेरै मेकअप गर्नेहरू “नेतृत्वमा कमजोर”

‘मेकअप नगरी हिँड्दा सबैले बिरामी जस्ती देखियौ भन्छन् । त्यसैले मेकअप गर्नु हाम्रो बाध्यता हो ।’ – गायिका मेलिना राई

मेकअपलाई महिलाको सौन्दर्यसँग जोडिन्छ । राम्री बन्न अनेक क्रिम, पाउडर लगाउँछन् । ब्रान्डेड प्रसाधनले भनेजस्तै परिणाम दिने अपेक्षा गरिन्छ । विदेशमा गुणस्तरीय प्रसाधन पाइने भएकाले उताकाले गज्जबै गर्छन् भन्ने विश्वास छ । तर, जतिसुकै ब्रान्डेड भए पनि मेकअपलाई सौन्दर्य वा साहससँग जोड्नु उचित नहुने रहेछ ।


बेलायतको अबर्ते युनिभर्सिटीका अनुसन्धाताहरू यसै भन्छन् ।
भरमार मेकअप गर्ने महिलाहरू नेतृत्वकर्ताका रूपमा कमजोर हुने उनीहरूले बताएका छन् । अनुसन्धानका सहभागीलाई एउटै महिलाका अनेक तस्बिर देखाएर कुन अवस्थामा यिनले राम्रो नेतृत्व गर्लिन् भनी सोधिएको थियो । सोह्र जोडी तस्बिरमध्ये एउटामा मेकअपरहित र अर्कोमा पार्टी जानुअघिको तस्बिर राखिएको थियो । कम्प्युटर सफ्टवेयर प्रयोग गरी मेकअप घटी/बढी पनि गरिएको थियो ।


सहभागीले अनुहार हेरेकै आधारमा कसले कति प्रतिशत राम्रो नेतृत्व गर्लिन् भनी मनखुसी अंक दिए । फेस पर्सेप्सन टास्क (अनुहार हेरेर आकलन गर्ने कार्य) मा उनीहरूले मेकअपसहितको अनुहारलाई कम अंक दिए भने मेकअप नगरेकालाई धेरै । यसबाट मेकअप र महिला–नेतृत्वसम्बन्धी आमबुझाइ छर्लंग भएको बताइयो ।


‘यसअघिको अनुसन्धानमा हामीले महिलालाई प्रभावशाली देखाउन मेकअपले धेरै सहयोग गर्छ भन्ने निष्कर्ष निकालेका थियौं,’ भारतीय अनलाइन डीएनएले उक्त विश्वविद्यालयका क्रिस्टोफर वाटकन्सलाई उद्धृत गर्दै लेखेको छ, ‘तर, हामी गलत रहेछौं । मेकअपले महिलाको नेतृत्वकारी भूमिका प्रबल बनाउन कुनै भूमिका नखेल्ने प्रमाणित भएको छ ।’


मनोविज्ञानका सन्दर्भमा यो अनुसन्धानलाई उदाहरणीय मानिएको छ । यसमा पहिलो प्रभाव (फस्ट इम्प्रेसन) नाप्न अनुसन्धानको मेजरमेन्ट स्केल प्रयोग गरिएको थियो । अनुसन्धानका अनुसार नेतृत्व तहमा रहेका महिला कम मेकअपमा देखिए भने मानिसले तिनमा बढी विश्वास गर्छन् । वा, शृंगारपटारमा ध्यान नदिनेलाई असल नेतृत्वकर्ता मानिँदो रहेछ ।


हामीकहाँ बढी मेकअप गर्ने महिलालाई ‘नक्कली’ भन्ने चलन छ । बाहिरी सौन्दर्यमा चाख राख्नेले राम्रो काम गर्दैनन् कि भन्ने आशंका गरिन्छ । कामकाजीलाई नक्कलझक्कल गर्ने समय हुन्न भन्ने आमविश्वास पनि छ । तसर्थ, यो अनुसन्धानको निचोड हामीकहाँ सान्दर्भिक हुने छाँट देखिन्छ । यद्यपि, कतिपय महिलाले मेकअपलाई आत्मबल बढाउने आधार मानेकै छन् ।


‘मेकअप नगरी हिँड्दा सबैले बिरामी जस्ती देखियौ भन्छन्,’ गायिका मेलिना राईले कान्तिपुरसँग भनिन्, ‘त्यसैले मेकअप गर्नु हाम्रो बाध्यता हो ।’ यस्तोमा महिलाको क्षमतालाई मेकअपसँग दाँजिनुलाई उनले निको मानिनन् ।


‘भित्री क्षमता र बाहिरी शृंगार फरक कुरा हुन्,’ उनले भनिन्, ‘मेकअप नगर्दैमा क्षमतावान् हुने र गर्दैमा नक्कली हुने भन्नु गलत हो ।’

कला र शैली

विश्व र साबु सँगै

साहित्य

काठमाडौं (कास)– लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिना गर्दै आएको ‘हामी कवि र कविता’ शृंखलामा यसपटक कविद्वय विश्व सिग्देल र साबु गदाल कार्की प्रस्तुत भए । ५५ औं शृंखलाको पहिलो चरणमा कवि कार्कीले आफ्ना कवितासँगै र गीत पनि सुनाइन् । उनले कार्यक्रममा ‘जन्म र मृत्यु’, ‘जिन्दगी’, ‘मन र तन’, ‘गुलाफको फूल’, ‘म त बाँचिराछु’, ‘गल्ती थिएन तिमीलाई हेर्नु’ लगायत गीत र कविता सुनाइन् । उनका रचनाहरू प्राय: मायाप्रेम र बिछोडका भावमा
केन्द्रित थिए ।


दोस्रो चरणमा प्रस्तुत कवि सिग्देलले समसामयिक विषयवस्तुमा आधारित कविताहरू सुनाउँदा दर्शकदीर्घाबाट तालीको साथ मिलिरह्यो । ‘बजार र तेस्रो विश्व’ कविताबाट प्रस्तुति थालेका उनले ‘सार्वजनिक शौचालय’, ‘कैंचीको मुटु’, ‘पत्र साथी र शासकलाई’, ‘नांगो साबुन’, ‘शिक्षकको बकपत्र’, ‘जुस पसलमा’, ‘छापामारको प्रेमगीत’, ‘जब विचार ओरालो लाग्छ’, ‘कीर्तिपुर’, ‘दुर्लभ आशीर्वाद’, ‘म्यानेकिङ र उसको तरबार’ र ‘तालीको समाजशास्त्र’ गरी १३ कविता सुनाए ।


उनका कविताहरूमा विश्वव्यापीकरणको चेपुवामा परेको तेस्रो विश्वको समाज, संस्कृति, मनोविज्ञान अभिव्यक्त थियो । मौलाउँदो उपभोक्तावादी संस्कृतिका कारण हराउँदै गएको समवेदना, सामाजिक विसंगतिसँगै विभेद र मायाप्रेमका सन्दर्भलाई पनि उनले कवितामा उठाएका थिए ।

कला र शैली

एकसाथ कविता र मुक्तक

साहित्य

काठमाडौं (कास)– कवि मुकुन्द पौडेलले एकसाथ कविता र मुक्तकका दुई कृति बजारमा ल्याएका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कविता संग्रह ‘मझधार’ र मुक्तक संग्रह ‘मन सिन्धु’ सार्वजनिक गरे । कार्यक्रममा पौडेलले साहित्य, त्यसमा पनि कविताले हरेक समयको सोचलाई कलामार्फत व्यक्त गर्ने बताए । कार्यक्रममा साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेल तथा कविहरू विष्णुविभु घिमिरे र रमेश पौडेलले पनि बोलेका थिए ।
‘मझधार’ मा १८० कविता तथा ‘मन सिन्धु’ मा २०४ मुक्तक छन् ।

कला र शैली

‘परिभाषा’ मा सुरज

काठमाडौं (कास)– गायक सुरजकुमार थापा एकल एल्बमसहित
आएका छन् ।


आमाबाबुलाई डेडिकेट गरेर गीतकार राखी गौचनले निकालेको ‘परिभाषा’ एल्बममा सबै गीत सुरजले नै गाएका छन् भने संगीत किरण कँडेलले दिएका छन् । एल्बममा ‘जति छन् पर्दा पछाडि...’, ‘नामबिना....’, ‘भनौँ भने मेरा कथा...’, ‘नपढ आज तिमी मलाई...’, ‘खाली हुँदा भरिन मन लाग्छ...’ गरी पाँच गीत छन् । गीत ‘नपढ आज तिमी मलाई..’ गीतमा उनलाई गायिका बानिका प्रधानले साथ दिएकी छन् । केही महिनाअघि उनको ‘नामबिना’ गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको थियो । आधुनिक गीतका पारखीहरूले राम्रो प्रतिक्रिया दिएका थिए ।


सुरज स्वयंमा राम्रा गायक र संगीतकार पनि हुन् । उनी स्लो रक, रोमान्टिक, आदर्श, आधुनिक, शास्त्रीय, देशभक्ति, गजल लगायत सबै प्रकारका गीत गाउँछन् भने संगीत पनि गर्छन् । उनकी आमा तीर्थकुमारी थापा नेपालकी वरिष्ठ गायिकाहरूमध्येकी एक हुन् । २०४८ मै रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे र त्यही वर्षदेखि रेडियोमा गाउन थालेका थिए उनले । ‘अवला’ र ‘घरसंसार’ फिल्मका लागि पनि उनले स्वर दिएका छन् ।

सुरजकुमार चर्चित लोकरक ब्यान्ड नेपथ्यमा २०५९ मा प्रवेश गरेका थिए । त्यसयता लगातार नेपथ्यमै आबद्ध छन् । उनलाई ब्यान्डका लिड सिंगर अमृतले नै बोलाएका थिए । संगीत क्षेत्रमा लागेको २३ वर्षपछि उनले पहिलो एल्बम ‘चिनारी’ निकालेका थिए ।

कला र शैली

‘जय मायाप्रेम’

काठमाडौं (कास)– गायक तथा संगीतकार चेतन सापकोटा, गीतकार अर्जुनरत्न भिखारी र गायक नारायण धितालको आधुनिक गीति एल्बम ‘जय मायाप्रेम’ आएको छ । बिहीबार वरिष्ठ कलाकार नीर शाह र शास्त्रीय संगीत गुरु चन्दनकुमार श्रेष्ठले एल्बम लोकार्पण गरे । एल्बममा ‘मरें भने दिनु है दाउरा उपहार....’, ‘जरुवाको पानी सार्‍है मिठो...’, ‘बिहे गरी लाने हो...’ र ‘चिसो चीसो मन्द मन्द बतास...’ गरी चार गीत छन् । चारै गीतमा संगीत चेतनले दिएका छन् भने शब्द अर्जुनको हो । स्वर नारायणको रहेको छ ।
एल्बमका तीन गीतको म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । भिडियोमा अभिनेत्री प्रियंका कार्की, बेनिशा हमाल, गायक स्वयं नारायण, चेतन, सुस्मा अधिकारी, सोनी घर्ती, विल्सन थापा, गीतकार भिखारी लगायतको अभिनय छ ।

कला र शैली

दिवाकरको दोस्रो

काठमाडौं (कास)– सुगम संगीतमा झन्डै तीन दशकदेखि लागिपरेका दिवाकर शर्माले दोस्रो गीति एल्बम ‘तिर्खाकी पानी’ बजारमा ल्याएका छन् । संखुवासभा घर भएका दिवाकरले थुप्रै फुटकर गीतमा स्वर दिएका छन् । ‘तिर्खाकी पानी’ मा भने उनको एकल स्वर छ ।


एल्बममा पाँच गीत छन् : ‘तिर्खाको पानी...’, ‘रुँदै काखमा...’, ‘मैले बसाइँ सरेपछि...’, ‘उसको नजरमा...’ र ‘अब मायाको...’ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, सुवासचन्द्र ढुंगेल, डा. नवराज लम्साल, गोविन्द कुइँकेलले लेखेका गीतमा शक्ति बल्लभ, बुलु मुकारुङ र राजु सिंहको संगीत सुन्न सकिन्छ ।

कला र शैली

‘भीमसेन’ बन्ने

काठमाडौं (कास)– भोमान कटुवालको निर्देशनमा फिल्म ‘भीमसेन’ बन्ने भएको छ । राजधानीमा एक कार्यक्रममार्फत घोषणा गरिएको उक्त फिल्मलाई कला राईले निर्माण गर्ने भएकी छन् । युवी फिल्म्स ग्यालरीको ब्यानरमा बन्ने ‘भीमसेन’ कमेडी, लभ र एक्सनले भरिपूर्ण हुने बताइएको छ ।


राजु किराती राईको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजन ढुंगेलको संवाद, भोमनकै कथा, पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन र
ओम सुनुवारको संगीत रहनेछ । संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहनेछ । मंगलबार नै फिल्मको मुहूर्त समेत गरिएको थियो । चैतको पहिलो सातादेखि फ्लोरमा जाने फिल्म काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिनेछ ।

Page 17
वाग्मती प्रदेश

प्रबलीकरण अनुदान अलपत्र

- प्रताप विष्ट

हेटौंडा– भूकम्पपछिको पुनर्निर्माण तथा प्रबलीकरणमा ढिलाइ हुँदा भूकम्पपीडित जोखिमयुक्त घरमै बस्न बाध्य छन् । भूकम्पले सामान्य क्षति पुर्‍याएका घर तथा भवनको मर्मत सम्भारका लागि सरकारले १ लाख दिने निर्णय गरेको थियो ।


उक्त निर्णयअनुसार मकवानपुरमा ४ हजार १ सय ५० लाभग्राहीले प्रबलीकरणका लागि निवेदन दिएकामध्ये १ हजार १ सय ९ जनाले अनुदान सम्झौता गरिसकेका छन् । तर कार्यविधिको अभावले हालसम्म कुनै पनि घरको प्रबलीकरण भएको छैन । सरकारले पहिलो किस्ताबापत दिने ५० हजार रकम ८ सय २६ लाभग्राहीले लिए पनि दोस्रो किस्ता कसैले पाएका छैनन् । आफ्नै ढंगले प्रबलीकरण गरेका केही लाभग्राहीले दोस्रो किस्ताको रकम माग गरे पनि कार्यविधि नभएकाले रकम पठाउन नसकेको सहरी विकास मन्त्रालय जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका इन्जिनियर रवीन पाठकले बताए ।


भूकम्पीय आवास विकास आयोजनाअन्तर्गतको कार्यान्वयन इकाई मकवानपुरका सामाजिक विकास विशेषज्ञ अञ्जय कँडेलका अनुसार मकवानपुर जिल्लामा ३१ हजार ८ सय १७ जना भूकम्पपीडित छन् । भूकम्पले घर भत्केको ३४ महिनामा जम्मा १० हजार ९ सय ५९ जनाले लाभग्राहीले मात्र घर बनाउन सृुरु गरेका छन् । बनाउन सुरु गरेका घरमध्ये ३ हजार ६ सय ९५ जना भूकम्पपीडितले मात्र घरको निर्माण कार्य पूरा गरेका छन् । दोस्रो किस्ताको रकम १० हजार १ सय ६० लाभग्राहीले बुझेर लगिसकेका छन् । तेस्रो किस्ता सरकारी र गैरसरकारी संस्थाका तर्फबाट ३ हजार ३ सय ५१ लाभग्राहीले मात्र लिएका छन् । सरकारीबाट २ हजार २ सय १४ र गैरसरकारी संस्थाबाट १ हजार १ सय ३५ लाभग्राहीले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सुदीप आचार्यले बताए ।


मकवानपुर ३१ हजार ८ सय १७ लाभग्राही छन् । तीमध्ये २४ हजार २ सय १० लाभग्राहीले अनुदान सम्झौता गरेका थिए । तीमध्ये २२ हजार ९ सय ४७ ले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसकेका छन् । दोस्रो किस्ता सरकारी र गैरसरकारी संस्थाबाट १० हजार १ सय ६० जनाले मात्र लगेका छन् । १२ हजार १ सय ४० जना पहिलो किस्ता लिने लाभग्राही के गर्दैछन्, अत्तोपत्तो छैन । ‘पहिलो किस्ता लिनेमध्ये १० हजार ९ सय ५९ जना लाभग्राहीले सुरु गरेको पुनर्निर्माणको कार्य पनि कछुवाकै गतिमा छ,’ गैरसरकारी संस्था मकवानपुरका अध्यक्ष कृष्ण धितालले भने, ‘यस्तो गतिले पुनर्निर्माण कार्य ५ वर्षमा सकिन्न ।’


अनुदान सम्झौता हुन नसकेका ७ हजार ६ सय ७ जना लाभग्राहीहरू अहिलेसम्म पनि अन्योलमा छन् । पहिलो किस्ता रकम लगेका अधिकांशले पुनर्निर्माण कार्य गरेका छैनन् । यसैगरी भूकम्पीय आवास विकास आयोजनाअन्तर्गत शिक्षातर्फको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार सरकारले गत वर्ष दिएको लक्ष्यअनुसार ६० प्रतिशत मात्रै काम भएको छ । सरकारले ६८ वटा विद्यालय पुनर्निर्माणका लागि लक्ष्य तोकिएको र ६० भन्दा बढी विद्यालयको अनुदान सम्झौता भइसकेको तथा ३५ वटा विद्यालयमा काम सुरु भइसकेको पौडेलले बताए । गत आर्थिक वर्षमा आएको ५५ करोड अनुदानमध्ये करिब १४ करोड निकासी भइसकेको बताए ।

वाग्मती प्रदेश

स्थानीय तहका पदाधिकारीको तलब सिफारिस

मन्त्रिपरिषद् बैठक
- नगेन्द्र अधिकारी

हेटौंडा– प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले स्थानीय तहका पदाधिकारीको तलब सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको सेवा सुविधासम्बन्धी विद्येयक प्रदेशसभामा पठाउने निर्णय गरेको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले महानगरपालिका प्रमुखको तलब ४६ हजार प्रस्ताव गरेको छ । उपप्रमुखको ४० हजार २ सय र महानगरका वडाअध्यक्षको २८ हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिका प्रमुखको ४० हजार २ सय, उपप्रमुखको ३५ हजार र उपमहानगरका वडाअध्यक्षको २५ हजार प्रस्ताव गरिएको छ । नगरपालिका प्रमुखको मासिक तलब ३५ हजार, उपप्रमुखको ३१ हजार र नगरका वडा अध्यक्षको २२ हजार प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्षको ३१ हजार, उपाध्यक्षको २७ हजार र वडाअध्यक्षको २० हजार सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जानकारी दियो । जिल्ला समन्वय समितिको प्रमुखको ४६ हजार र उपप्रमुखको ४० हजार २ सय प्रस्ताव गरिएको छ ।


महानगर कार्यपालिका सदस्य र वडा सदस्यलाई बैठक भत्ता २ हजार, उपमहानगरकालाई १ हजार ५ सय, नगरपालिकालाई १ हजार २ सय र गाउँ कार्यपालिका सदस्य र वडा सदस्यलाई १ हजार बैठक भत्ता प्रस्ताव गरिएको छ । महानगर र उपमहानगर कार्यपालिका सदस्यलाई मासिक १२ सय र गाउँ र नगर कार्यपालिका सदस्यलाई प्रतिमहिना १ हजार सञ्चार खर्च प्रस्ताव गरिएको छ । वडा सदस्यलाई सञ्चार सुविधा छैन ।
महानगर र उपमहानगरका वडा सदस्यलाई दैनिक भ्रमण भत्ता २ हजार र गाउँ र नगरका वडा सदस्यलाई १६ सय दैनिक भ्रमण भत्ता प्रस्ताव गरिएको छ । सबै पदाधिकारीलाई विदेश भ्रमणमा जाँदा १ सय ५० अमेरिकी डलर र १० लाखको यात्रु बिमा हुने प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीको सेवा सुविधा र केही सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिएका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । उनका अनुसार बैठकले आर्थिक कार्यविधिसमेत पारित गरेको छ ।


मन्त्री ढुंगेलका अनुसार मन्त्रिपरिषद् बैठकले आगामी चैत २० गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको छ । प्रदेश सभाका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए । उनले आर्थिक विधेयक चैत २० गतेभित्र पेस गरिसक्ने बताए । बैठकले ढुंगेललाई सरकारको प्रवक्ताको समेत जिम्मेवारी तोकेको छ ।

वाग्मती प्रदेश

पानीले ल्यायो कृषकमा हाँसो

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटीमा ८ लाख खर्चमा बनाइएको खानेपानी ट्ंयाकी । तस्बिर : अनिश तिवारी

सिन्धुपाल्चोक (कास)– त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत चोकटीगाउँकी मन्जु थामीले गाउँमा पानीको ट्ंयाकी बनेलगत्तै घर वरपर हराभरा बनाइन् । भूकम्पपछि गाउँभर पानीको मुहान सुकेपछि व्यावसायिक रूपमा तरकारी लगाउन नपाएकी उनले आँगनमै पानी आएपछि हर्षित छिन् ।


‘खानेपानी आयोजनाले गाउँलाई उर्वरजस्तै बनाएको छ,’ थामीले वरिपरिको भूभाग देखाएर भनिन्, ‘पानी लिन भनेर घण्टांै हिँडेर माथिको च्यान्धारा डाँडा पुग्नुपर्ने समस्या हटेको छ ।’ पानीको बलियो स्रोत पाएपछि धारामा दुई घण्टा लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताइन् ।


व्यावसायिक तरकारी खेती गरिरहेकी उनले पानी नभएकै कारण निकै समस्या झेलेकी थिइन् । ‘यसरी ट्यांकी बन्ला र खानेपानी सहज होला भनेर सोचेका पनि थिएनौं,’ उनले भनिन् । खानेपानीको समस्या टरेपछि व्यावसायिक रूपमा तरकारी खेती अगाडि बढाएको उनको भनाइ छ । गाउँभर पानी आएलगत्तै सबै उब्जनी लगाएर राम्रो उत्पादन भइरहेको चोकटीकै कबोल तिमल्सिना बताउँछन् । ‘अलैंची, अदुवा, बेसारदेखि अन्य खेतीबालीमा पानीका कारण बाधा पुगेको थियो,’ उनी भन्छन्, ‘अब आनन्द लागेको छ ।’


गाउँको मुख्य समस्या खानेपानीको समस्यासँगै यहाँका कृषकलाई राहत पुगेको उनले जनाए । अलैंची र तरकारीबाट घरबार चलाइरहेका अब्बल कृषक उनले पानीकै अभावले तरकारीलाई व्यावसायिक बनाउन सकेका थिएनन् ।


भूकम्पपछि आपतमा परेका यहाँका कृषकले पानी स्रोत पाएपछि धमाधम नयाँ उत्पादन लगाइरहेको तिमल्सिनाले बताए । ६५ घरधुरी रहेको गाउँको समस्याको जड खानेपानी रहेको बताए । ‘गाउँ परपरसम्म खानेपानीको मुहान नभएकाले पल्लो गाउँको मुहानबाट सानो पाइपबाट गौरुङटोल हँुदै बस्तीसम्म पानी ल्याइएको थियो ।

Page 18
वाग्मती प्रदेश

उत्सवमय बन्यो पशुपति

- प्रशान्त माली

काठमाडौं– राजधानीका नेवारको महत्त्वपूर्ण पर्व पाहाँ चह्रे (पिशाच चतुर्दशी) शुक्रबार मनाइँदै छ । यस वर्ष तिथिअनुसार दुई दिन बिहीबार राति र शुक्रबार बिहान चतुर्दशी परेको छ । हनुमान ढोका दरबार स्क्वायरस्थित तलेजु मन्दिरका पुजारीले बिहीबार मनाएका छन् । तलेजु मन्दिरका पुजारी उद्धव कर्माचारीले राति पिशाच पन्छाउनुपर्ने भएकाले बिहीबारै पूजा गरिएको बताए । ‘तलेजुमा राति शक्ति आराधना गर्नुपर्ने परम्परा छ,’ उनले भने, ‘शिवरात्रि राति मनाएजस्तै हो ।’


मन्दिरमा त्रिबलिसहितको तान्त्रिक पूजा १० पुजारी र अन्य गरी ४२ जनाले मिलेर गरेका थिए । मानन्धर समुदायले पनि तलेजु मन्दिरमा अखण्ड दीप प्रज्वलन गरी बिहीबारै मनाएका छन् । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्य: (लुकिराखेको महादेव) लाई खोस्रिएर बाहिर निकाली पूजा गर्ने प्रचलन छ । त्यसकै वरिपरि व्रतबन्ध नगरेका केटा र इही (बेलविवाह) नगरिएका केटीहरूलाई भात खुवाउने गरिन्छ । लुकुमाद्य:को प्रसादका रूपमा त्यसरी भात खुवाउन दिएमा केटाकेटीलाई रोगव्याधिले छुन सक्दैन भन्ने जनविश्वास छ । चाडमा विवाह भइसकेका चेलीबेटी, आफन्त साथीभाइलाई पाहुना गर्ने चलन छ । ३२ टोलका ज्यापू समुदायले मरजा: (तान्त्रिक विधिपूर्वक पकाइएको भात) खुवाउने गरिन्छ । अन्तिम दिन आइतबार कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुघाउने परम्परा छ । त्यस्तै नरदेवीस्थित डबलीमा राति श्वेतकाली देवीको नाच प्रदर्शन गरिन्छ ।


पशुपतिमा वत्सलेश्वरी पूजा
पशुपति आर्यघाटको किनारमा रहेको वत्सलेश्वरी मन्दिरमा पूजाअर्चना गरिन्छ । प्रत्येक वर्ष चैत्रकृष्ण औंसीको दिन बिहान एक जनालाई स्याल कराउन लगाई पूजा गरी जात्रा मनाउने परम्परा छ । जात्राको अवसरमा पशुपति क्षेत्रमा पशुपतिनाथ र वत्सलेश्वरीको संयुक्त मूर्ति (शिव–शक्ति) को पनि रथयात्रा गर्ने चलन छ ।


त्यसैगरी संगीतमय चाड मनाउन ललितपुरका भीमसेन गुठियारले पनि तयारी थालेका छन् । पाहा: चह्रेलाई बडादसंैंपछिको ठूलो चाडका रूपमा मनाइन्छ । चाडको अवसरमा पाटनमा मल्लकालीन राजदरबारबाट एकल घोडा बालकुमारीमा दौडाएर लगिन्छ । जात्राका लागि सिंहदरबार तबेलामा घोडा उपलब्ध गराउन जानकारी गराइसकेको भीमसेन गुठीले जनाएको छ । सिंहदरबारबाट ल्याइएको घोडा बालकुमारीतर्फ लैजाँदा त्यसको पछिपछि मल्लकालीन राजकीय खडगलाई पनि झल्लरवाला छत्रले ओढाएर लैजाने गरिन्छ । गुठियारले फलैंचा (पाटी) मा पुर्‍याइने पाटनका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग, घोडा र घोडचढीलाई भीमसेन मन्दिरबाट ल्याइएको फूलमाला पहिर्‍याएर स्वागत गर्ने परम्परा छ ।


पशुपति महामहोत्सव सुरु
काठमाडौं– पशुपतिनाथ ग्वल पुच: समाजले बिहीबारदेखि ८ दिन जात्राको अवलोकन गर्न आउनेलाई लक्षित गरी धार्मिक महोत्सव आयोजना गरेको छ ।


महोत्सवका अवसरमा सात दिनसम्म भुवनेश्वरी चोकमा भागवत महापुराण लगाइनेछ । गोल पुच समाजका संयोजक केदारमानसिंह भण्डारीका अनुसार सनातन हिन्दु धर्म संस्कृतिको जागरण, पाशुपत क्षेत्रमा मनाइने विभिन्न धर्मिक/सांस्कृतिक गतिविधिको प्रचार तथा वर्ष आरम्भको अवसर पारेर महोत्सव गर्न लागिएको हो ।


यस अवसरमा संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नि:शुल्क ध्यान तथा योग शिविर, नेपाल तथा भारतका विभिन्न कलाकारद्वारा शास्त्रीय तथा भक्ति संगीत प्रस्तुति, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, फुड फेस्टिबल, पशुपति तथा जात्रासम्बन्धी वृत्तचित्र र फोटो प्रदर्शनी, विशिष्ट धार्मिक गुरुबाट वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झन्डाको विशाल रूपको प्रदर्शनी, शिव–पार्वतीको ताण्डवसहित मूर्तिको प्रदर्शनीजस्ता कार्यक्रम राखिएका छन् । यसलाई विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति, विभिन्न धार्मिक संघसंस्थालगायतले सहयोग गरेका छन् ।

वाग्मती प्रदेश

शंखपार्क बनाइने

- कान्तिपुर संवाददाता

काठमाडौं– सार्वजनिक जग्गा उपयोग गर्ने नीतिअनुरूप महानगरपालिकाले धुम्बाराहीस्थित शंखपार्क निर्माण थाल्ने जनाएको छ । आइतबार पार्क निर्माण गुरुयोजना सार्वजनिक गर्दै वडा ४ का अध्यक्ष मोहन विष्टले एक वर्षभित्र निर्माण सक्ने बताए ।


चक्रपथसँगैको करिब २२ रोपनी जग्गामा फैलिएको उक्त पार्क निर्माणमा तीन करोड चार लाख खर्च हुने महानगरले बताएको छ । कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले पार्कलाई ‘बहु विशेषतायुक्त’ बनाइनुपर्ने बताए । उनले सार्वजनिक जग्गा संरक्षण कार्य चुनौतीपूर्ण रहे पनि महानगरलाई यसतर्फ लाग्न सुझाव दिए ।


मेयर विद्यासुन्दर शाक्यले महानगरका अन्य खाली स्थानलाई पनि यसैगरी पार्कको रूप दिई हरियाली विकास गर्दै लगिने बताए । उक्त पार्कमा बालबालिका खेल्ने, व्यायाम, ज्येष्ठ नागरिकका लागि समय व्यतीत गर्ने स्थान हुने गरी गुरुयोजना ल्याइएको महानगरको भनाइ छ ।


२०४३ सालमा पञ्चायत पार्कका रूपमा रहेको यो पार्क प्रजातन्त्र स्थापनापछि ‘शंख पार्क’ को नामले चिनिन थालेको स्थानीय बताउँछन् । अहिले उक्त स्थान वनभोज, विवाह–व्रतबन्ध जस्ता सामाजिक कार्यमा प्रयोग हुँदै आएको छ ।

वाग्मती प्रदेश

धरहरा पुनर्निर्माणमा अन्योल

कम्पनीको लाभ, लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुला क्षेत्र अधिक राख्नुपर्ने, व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको डिजाइन सरकारले स्वीकृत नगरेको जस्ता कारण देखाउँदै टेलिकमले हात झिकेको थियो
- दामोदर न्यौपाने
भुइँचालोले क्षतिग्रस्त धरहराको भग्नावशेष । भग्नावशेष पानीले गल्दै गएको छ ।तस्बिर : दामोदर

काठमाडौं– भुइँचालोले भत्काएको तीन वर्ष पुग्न लाग्दा पनि धरहरा पुनर्निर्माण अझै टुंगो लागेको छैन । नेपाल टेलिकमले हात झिकेपछि यसको पुनर्निर्माणमा अन्योल भएको हो । ६ महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको थियो ।


कम्पनीको लाभ, लागत, पुरातत्त्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुला क्षेत्र अधिक राख्नुपर्ने, व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको डिजाइन सरकारले स्वीकृत नगरेको तथा स्थानीय बासिन्दाहरूको परम्परागत रीतिरिवाजलाईसमेत कारण देखाएर टेलिकमले हात झिकेको थियो ।


पुरातत्त्व विभागले भने टेलिकमले राखेको सर्त पूरा गर्न सकिने अवस्थामा नरहेको जनाएको छ । ‘हामीले ४ अर्ब रुपैयाँको लागत स्टिमेट दिएका थियौं तर टेलिकमले सात अरब लाग्ने अनुमानित लागत पेस गर्‍यो,’ पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने । धरहराबाट हात झिके पनि उपत्यकाका सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने वचन भने पुरातत्त्वले दिएको छ । टेलिकमले काठमाडौं/ललितपुर/भक्तपुर दरबार स्क्वायरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुनर्निर्माणका लागि आगामी तीन वर्षभित्र १ अर्ब सहयोग गर्ने प्रतिबद्धता भने कायम रहेको प्राधिकरणले जनाएको छ ।


यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणमा बढी लागत लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो । दुई साताभन्दा बढी समय बितिसक्दासमेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले ५ दिनभित्र धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेस गर्न निर्देशन दिएको थियो । टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनर्निर्माणबारे थप निर्णय गरिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।


सरकारले गत पुसमा टेलिकमलाई धरहरा पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । धरहरा पुनर्निर्माणका लागि ‘ड्रइङ डिजाइन,’ र ‘कस्ट स्टिमेट’ तयार भएको पुरातत्त्व विभागले जनाएको छ । विभागका अनुसार धरहरा पुनर्निर्माणको जिम्मा टेलिकमलाई दिन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबीच सम्झौतापत्रसमेत तयार भइरहेको थियो ।


सरोकारवाला निकायसँग छलफल
धरहरा पुनर्निर्माण अघि बढाउने विषयमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार सरोकारवाला निकायसँग छलफल गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरू डा. हरिराम पराजुली, डा.चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, विष्णु भण्डारी, पर्यटन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख डण्डुराज घिमिरे, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत थिए । बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणका प्रवक्ता भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताए ।


धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत दिइसकेको छ । पहिला धरहरा भएको ५ रोपनी जग्गामा मात्रै पुनर्निर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्त्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो । गौश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहरा बनाउन दिने निर्णय सरकारले गरिसकेको छ । अन्यत्र जग्गा दिने सर्तमा टक्सार विभाग र गोश्वारा हुलाक उक्त जग्गा दिन राजी भएको थियो । जग्गा पाएपछि पुरातत्त्व विभागले पूरै क्षेत्रफलमा संरचना बनाउने गरी विस्तृत डिजाइन गरेको विभागका महानिर्देशक दाहालले बताए । धरहरा पुरानै स्वरूपको तर सुविधाजनक हुने गरी यसको स्टिमेट भएको थियो । तर प्राचीन स्वरूप मास्न लागेको भन्दै स्थानीयवासीले समेत विरोध गरेका थिए ।


भुइँचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन भएको हो । पहिला भत्केकोलाई सफा गरिनेछ । यसलाई रङरोगन गरेर संरक्षण गरिने पुरातत्त्वको योजना छ । गोश्वारा हुलाक कार्यालयको आकाशे पुलबाटै धरहराको क्षेत्र सुरु हुनेछ । धरहरा पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एसोसिएट्स जेभीलाई पुरातत्त्वले जिम्मेवारी दिएको थियो ।
तयार गरिएको डिजाइनअनुसार गार्डेनको छेउमा तीनतले पार्किङस्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ । सुन्धारलाई पुनर्निर्माण गरेर भर्‍याङ बनाइने छ । खुला यो भर्‍याङ तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुनेछ । यहाँ फोटो खिच्ने ठाउँ हुनेछ भने पानीको फोहोरा राखिनेछ । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामान संग्रहालयमा राख्न सकिनेछ । संग्रहालय दुई तलाको हुनेछ । यसबाहेक गिफ्ट सप, सानो थियटरलगायतका पूर्वाधारसमेत बनाइने डिजाइनमा उल्लेख छ ।


बनाइने धरहराको उचाइ २ सय ४५ फिटको हुनेछ । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार भीमसेन थापाले धरहरा बनाएर पहिलोपल्ट पाश्च्यात्य शैलीको संरचना नेपाल भित्र्याएका थिए । भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै १८८१ सालमा धरहरा बनाएका थिए । भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरासुन्दरीले १८८२ मा अर्काे धरहरा बनाउन लगाइन् । वज्राचार्यका अनुसार १९९० सालको भुइँचालोले यी दुईमध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । अहिलेको धरहरामा चाहिँ आंशिक क्षति मात्रै पुगेको थियो । १९९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए । धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गारो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए । अब बन्ने धरहरा पनि मुगल आर्टिटेक्टले गरेको डिजाइनकै आधारमा हुनेछ ।’


अब ८ रेक्टरसम्मको भुइँचालोले भत्काउन नसक्ने गरी यसको पुनर्निर्माण गरिने महानिर्देशक भेषनारायण दाहालले दाबी गरे । दैवीप्रकोपलाई ध्यान दिएर अब भन्ने धरहरासम्म उद्धार साम्रग्री पुग्न सक्ने व्यवस्था हुनेछ । ऐतिहासिक स्थल टक्सार मास्ने निर्णयको भने स्थानीयवासीले विरोध गर्दै आएका छन् । ‘पुरातत्त्वले एकपक्षीय रूपमा ड्रइङ डिजाइन गरेको हो,’ सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘स्थानीयवासीको धारणा के हो भनेर बुझिएको छैन । हामी ऐतिहासिक स्थल मास्न दिंदैनौं । आफ्नो निर्णयलाई पुरातत्त्व विभागले सच्याउनुपर्छ ।’

वाग्मती प्रदेश

बिरामीलाई ‘गेट वेल सुन’ कार्ड

छोटकरी

भक्तपुर (कास)– अस्पतालमा बिरामी भेट्न जाँदा अब फलफूल, पुष्पगुच्छा, जुसको साटो ‘गेट वेल सुन’ कार्ड दिन सकिने भएको छ । समाजवाद अध्ययन केन्द्र भक्तपुरको सहयोगमा भक्तपुर अस्पताल, मानव अंगप्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती कर्मचारी अस्पतालमा उक्त कार्डको व्यवस्था गर्न लागिएको हो । उक्त कार्ड बिहीबार सार्वजनिक गरिएको छ । बिरामीलाई आर्थिक सहयोग गर्न र अस्पताल सरसफाइमा सहयोग गर्ने अवधारणाअनुरूप उक्त कार्डको व्यवस्था गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुँयालले बताए । उक्त कार्ड चैत २४ बाट वितरण गर्ने फुँयालले बताए ।

वाग्मती प्रदेश

भक्तपुर अस्पतालमा आँखा परीक्षण सेवा

छोटकरी

भक्तपुर (कास)– भक्तपुर अस्पतालले आँखासम्बन्धी परीक्षण सेवा सुरु गरेको छ । भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रूपमा सेवा शुभारम्भ गरेको भक्तपुर अस्पतालका मेडिकल डाइरेक्टर सुधा देवकोटाले बताइन् । योयो युनिटीको १६ लाख रुपैयाँ सहयोग, भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्ने गरी सेवाको थालनी गरेको युनिटीका सचिव अरुण साँयजुले बताए । सेवाग्राहीलाई सहुलियत दरमा चस्मा वितरण गर्ने समेत उनले बताए । अस्पतालले आँखाको शाखा गठन गरी बिहीबारबाट सेवा सुरु गरेको छ ।

वाग्मती प्रदेश

खुकुरी प्रहारबाट एक घाइते

छोटकरी

भक्तपुर (कास)– सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारमा खुकुरी प्रहारबाट भक्तपुर नगरपालिका–१० महालक्ष्मीका १८ वर्षीय निश्चल खाइजु घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंका अनुसार घाइतेको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ ।

वाग्मती प्रदेश

सिक्किमको नेवा:गुठी सम्मानित

छोटकरी

ललितपुर (कास)– भारतको सिक्किमस्थित नेवा: गुठी सम्मानित भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिले नेपालको पहिचान बोकेको इन्द्रजात्रा भारतमा बसेर पनि सञ्चालन गर्दै आइरहेको भन्दै सिक्किम पुगेर सम्मान गरेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले नेपाल सरकारले गर्नुपर्ने काम समितिले गरेको बताए ।

Page 19
खेलकुद

मेसीको सय गोल

बार्सिलोना (एएफपी)– लियोनल मेसीले चेल्सीको गल्ती उपयोग गर्दै च्याम्पियन्स लिग फुटबलमा एक सय गोल गरेसँगै बुधबार बार्सिलोनाले क्वाटरफाइनल यात्रा पक्का गरेको छ ।


मेसीको दुई गोल सहयोगमा बार्सिलोनाले नोउ क्याम्पमा भएको अन्तिम १६ को दोस्रो लेगमा ३–० ले नतिजा आफ्नो पक्षमा पार्‍यो । टोली समग्रमा ४–१ को जितसहित अगाडि बढ्यो ।


चेल्सीविरुद्ध मेसीले १ सय २९ सकेन्डमै गोलको खाता खोलेका थिए । त्यति बेलासम्म चेल्सीले पास खेल्न पनि पाएको थिएन । उनले करिअरकै सबभन्दा छिटो गोल गरेका हुन् । उनले ओसिमन डेम्बेलेका लागि पनि आकर्षक रूपमा गोल अवसर सिर्जना गरिदिए । त्यसपछि मेसीले च्याम्पियन्स लिगमा गोलको शतक पूरा गरे ।


युरोपकै सबभन्दा माथिल्लो प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल गर्ने मेसी दोस्रो खेलाडी हुन् । उनले १ सय ५२ खेलमा १ सय १७ गोल गरेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछयाइरहेका छन् ।


स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेग १–१ मा टुंगिएको थियो । नोउ क्याम्पमा खेल सकिएपछि चेल्सीका व्यवस्थापक एन्टोनियो कोन्टेले मेसीलाई बधाई दिएका थिए । कोन्टेको टिमले विशेष गरी पहिलो हाफमा अवसर पाएको थियो तर खेलमा बार्सिलोना नै हाबी भयो ।
म्यानचेस्टर युनाइटेडलाई सेभियाले हरायो । टोटेनहमविरुद्ध युभेन्टस्ले जित निकाल्यो । चेल्सी पनि हारेपछि प्रिमियर लिग प्रतिनिधिका रूपमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुल र म्यानचेस्टर सिटीमात्र रहे । स्पेनबाट बार्सिलोनासँगै रियल म्याड्रिड र सेभिया छन् भने जर्मन महारथी बायर्न म्युनिख पनि निरन्तर अन्तिम आठमा पुग्यो ।


बायर्न टर्कीमा भएको दोस्रो लेगमा बेसिक्टासलाई ३–१ ले पन्छाउँदै लगातार सातौंपल्ट क्वाटरफाइनल प्रवेश गर्‍यो । पहिलो लेग ५–० ले जितेको उसले समग्रमा ८–१ को सफलता हात पार्‍यो ।

च्याम्पियन्स लिग क्वाटरफाइनल पुग्ने टोली
बार्सिलोना (स्पेन)
बायर्न म्युनिख (जर्मनी)
युभेन्ट्स (इटाली)
लिभरपुल (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
रियल म्याड्रिड (इंग्ल्यान्ड)
एएस रोमा (इटाली)
सेभिया (स्पेन)

खेलकुद

थ्रीस्टार फाइनलमा

२० औं तिलोत्तमा गोल्डकप
- अमृता अनमोल
म्यान अफ द म्याच थ्रीस्टारका बुद्ध चेम्जोङ ।तस्बिर : अमृता

बुटवल– रुस्लान थ्रीस्टार क्लब बिहीबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीलाई २–१ ले पराजित गर्दै २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबलको उपाधि नजिक पुगेको छ । उपाधिका लागि थ्रीस्टारले शनिबार प्ुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


जारी सिजनमा थ्रीस्टारको मनाङमाथि तेस्रो जित हो । थ्रीस्टारले इटहरी गोल्डकप फाइनल र नारायणगढमा विकास रनिङ सिल्डको सेमिफाइनलमा मनाङलाई हराएको थियो । बिहीबार थ्रीस्टारको जितमा बुद्ध चेम्जोङ र नीराजन खडकाले गोल गरे । मनाङबाट विदेशी खेलाडी फ्लोरेन्सले एक गोल फर्काए ।


खेलको २३ औं मिनेटमा फ्लोरेन्सले गोल गर्दै मनाङलाई अग्रता दिलाए । विशाल राईको पासमा उनले गोलमा परिणत गरे । त्यसको एक मिनेटमै थ्रीस्टारका बुद्धले गोल फर्काए । उनले मार्टिनको पासमा गोलमा गरेका थिए । बराबरी धेरै समय टिक्न सकेन । पहिलो हाफको ३९ औं मिनेटमा थ्रीस्टारका कप्तान नीराजनले गोल थप्दै टोलीलाई अग्रता दिलाए । रेजिन धिमालको फ्रिकिक प्रहारमा नीराजनले हेड गर्दै गोल गरे । त्यसपछि दुवैले अवसर आए पनि गोल गर्न सकेनन् । घरेलु मैदानमा थ्रीस्टारका विमल घर्तीमगरले गतिलो प्रदर्शन गर्न सकेनन् ।


मनाङको तर्फबाट विदेशी खेलाडी सोलो, भिक्टोरसहित अन्जन विष्ट, सुजल श्रेष्ठ र विशाल राई गोल गर्ने अवसरबाट चुके । फितला प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले सजिलै बचाए । थ्रीस्टारले खेलअवधिमा पाएका ५ अवसर सदुपयोग गर्न सकेन । रेजिन धिमालसहित विदेशी खेलाडी अजायी मार्टिन र लावाल वोलाकानको गोल प्रयास पनि सफल भएन ।


मनाङका प्रशिक्षक शैलेन्द्र कर्माचार्यले यो वर्षका सबै खेलमा थ्रीस्टार बाधक बन्दा उपाधि दौडमा रोकिनुपरेको बताए । खेल जित्ने रणनीतिअनुसार मैदानमा दबदबा राख्दा पनि गोल अवसर चुकेको उनले बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको उच्च प्रदर्शनकै कारण जित निस्केको बताए । थ्रीस्टारका बुद्ध चेम्जोङ म्यान अफ द म्याच बने ।

खेलकुद

रत्नजितको जोडी च्याम्पियन

काठमाडौं (कास)– चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टनको पुरुष युगलमा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी च्याम्पियन भएको छ ।


उनीहरूले बिहीबार एपीएफ क्लबका दीपेश धामी र विजित थापामगरको जोडीलाई २१–१६, १९–२१, २२–२० हराएका थिए ।


महिला युगलमा एपीएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी च्याम्पियन भएको छ । उनीहरूले फाइनलमा आर्मीका नङसलदेवी तामाङ र अनुमाया राईको जोडीलाई कठिन प्रतिस्पर्धामा २१–२३, २१–१४, २१–१६ ले हराए ।


मिश्रित युगलमा एपीएफका पूजा र दीपेशको जोडी विजेता भयो । उनीहरूले आर्मी क्लबका नङसल र रत्नजित तामाङको जोडीलाई १७–२१, २१–१९, २१–१७ को सेटमा हराए ।


दार्चुलाका प्रिन्स दाहालले १७ वर्षमुनिको फाइनलमा आर्मीका प्रफुल्ल महर्जनलाई २१–१४, २१–१९ ले पराजित उपाधि जितेका छन् ।
भेट्रान ४५ वर्षमाथि युगलको फाइनलमा जेष्ठ ब्याडमिन्टन एकेडेमीका नवीनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडीले ग्यालेक्सी क्लबका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीलाई २१–१७, २१–१७ ले हराएर उपाधि जित्यो ।


पुरुष एकलको फाइनलमा शुक्रबार एपीएफका दीपेश धामी र आर्मीका रत्नजित तामाङबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद

गुरिल्ला म्याराथनमा अर्जुन विजयी

- हरि गौतम

रुकुम (पश्चिम)– सानीभेरी गाउँपालिकाद्वारा आयोजित पहिलो सानीभेरी–मौराखारा गुरिल्ला म्याराथन अर्जुन बस्नेतले जितेका छन् । उनले २२ दशमलब ६ किलोमिटर दूरीको म्याराथन ३ घण्टा १५ मिनेटमा पूरा गरेका थिए ।


सानीभेरी–३ का २१ वर्षीय अर्जुनले ५० हजार नगद पुरस्कार हात पारेका छन् । मुसीकोट नगरपालिका–६ का २८ वर्षीय दुर्गाराज बुढाले ३ घण्टा १७ मिनेटबाट दोस्रो स्थान प्राप्त गरे । उनले ४० हजार पुरस्कार पाए । नौबहिनी गाउँपालिका–१, प्यूठानका ४२ वर्षीय दामोदर बुढा ३ घण्टा १९ मिनेटमा दूरी पार गर्दै तेस्रो भए । उनले ३० हजार रुपैयाँ पाए । म्याराथनमा १७ जनाले भाग लिएका थिए । सानीभेरी नदी किनारबाट सुरु भएको दौड तीन हजार उचाइमा रहेको मौराखारा लेक हुँदै फेरि ओरालो झरेको छ । पर्यटकीय महत्त्वको मौराखाराको प्रचारमा म्याराथन दौड आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । सशस्त्र द्वन्द्वमा लडाकुलाई पहिलोपल्ट तालिम दिएको ठाउँसमेत मौराखारा हो । ‘मौराखारा यसै पनि ऐतिहासिक ठाउँ हो,’ गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने, ‘गाउँपालिकाले मौराखाराको प्रचारप्रसार गरेर पर्यटकीय मुभमेन्ट बढाउने योजना बनाएको छ ।’


मौराखारा लेकबाट रुकुम, जाजरकोट, डोल्पालगायत धेरै जिल्लाका ठाउँहरू पनि अवलोकन गर्न सकिन्छ ।

खेलकुद

न्यु डायमन्ड र एपीएफ भिड्ने

छोटकरी

काठमाडौं (कास)– सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुला महिला भलिबलको उपाधि लागि आयोजक नेपाल एपीएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमी भिड्ने भएका छन् । फाइनल शुक्रबार हुनेछ । एपीएफले हल्चोकस्थित घरेलु कोर्टमा त्रिभुवन आर्मीलाई २५–९, २५–९, २५–१० ले हराएको थियो । न्यु डायमन्डले नेपाल पुलिस क्लबमाथि २५–१०, २५–२२, २५–१३ विजय प्राप्त गर्‍यो ।

खेलकुद

जनप्रेमी सफल

छोटकरी

काठमाडौं (कास)– चौथो उपत्यकाव्यापी अन्तरस्कुल एजे कप भलिबलमा छात्रातर्फको उपाधि जनप्रेमी मावि कौशलटारले जितेको छ । आदर्शज्योतिविरुद्ध फाइनलमा जनप्रेमीले ३–० को सोझो सेटमा जित पायो । छात्रतर्फ ग्लेसियरले आदर्शज्योति माविलाई फाइनलमा ३–१ सेटले हराएर उपाधि जित्यो । छात्रामा दिव्यदीप र छात्रमा बागेश्वरी मावि तेस्रो भए । उत्कृष्ट खेलाडी जनप्रेमीकी अशोका देवकोटा र ग्लेसियरका विशाल बस्नेत घोषित भए । उत्कृष्ट प्रशिक्षकमा जनप्रेमीका रुपेश विष्ट चुनिए ।

खेलकुद

अमरज्योतिलाई उपाधि

छोटकरी

संखुवासभा (कास)– मोरङको अमरज्योति क्लबले मादी कप फुटबलको उपाधि जितेको छ । मादीमा बिहीबार सम्पन्न फाइनलमा आयोजक हाङथुम क्लबलाई ४–३ ले हराउँदै अमरज्योति च्याम्पियन भयो । हाङथुमका विशाल जिमी सर्वाधिक गोलकर्ता, अमरज्योतिका विरेश गुरुङ सर्वोकृष्ट खेलाडी र विशाल चेम्जोङ उत्कृष्ट गोलरक्षक भए ।

 

Page 20
खेलकुद

प्ले–अफमा नेपालको रवाफ

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्न बिहीबार पपुवा न्युगिनी (पीएनजी) विरुद्धको जित अत्यावश्यक थियो । विश्वकप छनोटअन्तर्गत प्ले–अफको उक्त महत्त्वपूर्ण खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै नेपालले ६ विकेटको जित हात पार्‍यो । अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यता पक्का भएको छ ।


जिम्बावेस्थित हरारे मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले २८ ओभरमै पीएनजीलाई १ सय १४ रनको सामान्य स्कोरमा अलआउट गर्‍यो । नेपालका सोमपाल कामीले तेस्रो ओभरमै ओपनर असद भालाको विकेट लिँदै उत्कृष्ट सुरुआत दिलाए । अर्का ओपनर टोनी उरा पनि आठौं ओभरमा ११ रन जोड्दै करण केसीको बलमा कट बिहाइन्ड भए । त्यसपछि सन्दीप लामिछानेले मध्यक्रम ध्वस्त पार्ने क्रममा ४ विकेट लिए ।


१३ औं ओभरमा चाड सोपरलाई १० रन जोड्का एलबीडब्लू धरापमा पारेका सन्दीपले अर्को ओभरमा सेसे बाउलाई बोल्ड गरे । १६ औं ओभरको पहिलो बलमा माहुरु दाइलाई आउट गरेका सन्दीपले अर्को ओभरमा किप्लिन डोरिगालाई बोल्ड गर्दै पीएनजीलाई ७८–६ को स्थितिमा पुर्‍याए ।
अर्का स्पिनर दीपेन्द्रसिंह ऐरीले तल्लोक्रमका ब्याट्सम्यानलाई आउट गरेसँगै पीएनजी २८ औं ओभरमा १ सय १४ रन जोडेर अलआउट भयो । दीपेन्द्रले सर्वाधिक १९ रनमा खेलिरहेका चाल्र्स अमिनीलाई एल्बीडब्लू आउट गरे । जेसन किला १५ रनको स्थितिमा दीपेन्द्रको बलमा बोल्ड भएलगत्तै अर्को बलमा नर्मन भानुआ पनि बोल्ड हुन पुगे । त्यसपछिको ओभरमा जोन रेभाले विकेटकिपर अनिल साहलाई क्याच थमाएपछि पीएनजी अलआउट भयो । जवाफमा नेपालको ओपनिङ जोडीले दोहोरो अंक छुन सकेन । उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमा १ रन जोड्दै पेभेलियन फर्कंदा अनिल शाह ९ रन हुँदा तेस्रो ओभरमा भानुआको बलमा एलबीडब्लू आउट भए । कप्तान पारस खड्का प्रतियोगिताका अन्य खेलझैं आक्रामक शट खेल्दै २ चौका र १ छक्कासहित २० रन जोडे पनि सातौं ओभरमा टप–एज लाग्दै क्याचआउट भए ।


चौथो विकेटमा दीपेन्द्र र आरिफ शेखले ६७ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ उन्मुख गराए । ४२ बलमा १ चौकासहित २६ रन जोडेका आरिफ जित हासिल गर्न १३ रन बाँकी छँदा भानुआको बलमा एल्बीडब्लू आउट भए । दीपेन्द्रले २३ औं ओभरको अन्तिम बलमा विजयी रनका रूपमा छक्का प्रहार गरेर व्यक्तिगत अर्धशतक पनि पूरा गरे । नटआउट ५० रन बनाएका दीपेन्द्रले ७६ बल खेले । त्यसमा उनले ३ छक्का र १ चौका प्रहार गरे । बलिङमा ४ विकेट लिएका दीपेन्द्र म्यान अफ द म्याच चुनिए ।


अर्को खेलमा नेदरल्यान्ड्सले छाडेको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४३ औं ओभरमा १ सय ३० रन जोड्दै अलआउट भयो । हङकङका कप्तान बाबर हायातले ९४ बलमा ५२ रन जोडे पनि राम्रो साथ नपाउँदा नेदरल्यान्ड्स विजयी भयो । त्यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले म्यान अफ द म्याच म्याक्स ओडाउडको ६२ रन मदतले ४८.२ ओभरमा अलआउट हुनुअघि १ सय ७४ रन जोडेको थियो ।
नेपालले सातौं स्थानका लागि शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

जित दिवंगतप्रति समर्पित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पीएनजीविरुद्धको जित सोमबार त्रिभुवन विमानस्थलको धावनमार्गमा भएको यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी दिवंगत भएकाप्रति समर्पित रहेको बताएका छन् । नेपाली टोली उक्त दुर्घटनामा दिवंगत भएकाको सम्मानमा बिहीबार पाखुरामा कालोपट्टि बाँधेर मैदानमा उत्रिएको थियो ।


वेस्ट इन्डिजविरुद्ध अफगान विजयी
विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बिहीबार अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले हराएको छ । हरारेमा सम्पन्न खेलमा वेस्ट इन्डिजले छाडेको १ सय ९८ रनको लक्ष्य अफगानिस्तानले १४ बल बाँकी छँदै ७ विकेट गुमाएर भेटेको थियो । म्यान अफ द म्याच मुजिब उर रहमानले ओपनर क्रिस गेलसहित तीन विकेट लिँदै वेस्ट इन्डिजलाई ठूलो योगफलतर्फ अग्रसर हुन दिएनन् । जवाफमा रहमत साहको ६८ रन मदतले विजयी अफगानिस्तानले सुपर सिक्समा महत्त्वपूर्ण २ अंक जोड्यो ।

Page 21
हेल्लो शुक्रवार

रक अन

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा घुइँचो बढ्ने क्रम अझै सुरु भइसकेको छैन किनभने गर्मी अझै चर्किएको छैन । गर्मीमा यहाँ पौडी खेल्नेको बाक्लै उपस्थिति रहन्छ । स्विमिङ पुलबाहिर शनिबार दिउँसो करिब चार हजार पाँच सय युवायुवती भेला भइसकेका थिए । उनीहरूको चाहना पौडी थिएन, थियो त बाइक स्टन्ट हेर्ने ।


स्लोभेनियाली स्टन्ट राइडर रक बागारोस विश्वमै चर्चित छन् । बाइक स्टन्ट गर्दै विभिन्न कला प्रदर्शन गर्दै उनले दर्शकलाई मुग्ध पार्ने गर्छन् । उनले सातदोबाटोमा त्यस्तै स्टन्ट देखाए, जसरी विश्वका धेरै सहरमा देखाइसकेका छन् । केटीएम रोअरिङ गियर्समा उनको ४० मिनेटको प्रदर्शनले वाहवाही नै लुटेको थियो । उनले २५० सीसीको ड्युक बाइकमार्फत स्टन्ट गरेका थिए ।


अस्ट्रेलियन बाइक केटीएमले पहिलोपल्ट नेपालमा आयोजना गरेको अरेन्ज स्टन्ट च्याम्पियनसिपमा आठ नेपाली युवाले प्रतिस्पर्धा गरेका थिए । केटीएमका ड्युकलगायत विभिन्न बाइकमार्फत उनीहरूले ५–५ मिनेट स्टन्ट गरेका थिए । २२ वर्षीय भीम होना च्याम्पियनसिपमा पहिलो भए । करिब चार घण्टा सञ्चालित कार्यक्रममा लेडी स्टन्ट राइडर आरजु सिंह ठकुरीको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो ।

Page 22
हेल्लो शुक्रवार

गाइडको मुन्धुम मोह

दृश्यावलोकनका लागि टेम्केडाँडा पुनहिलभन्दा कम छैन । टेम्केबाट आठ हजार मिटरमाथिका सात हिमाल सिसापाङ्मा, चोयु, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, मकालु, कञ्चनजंघाका लोभलाग्दा दृश्यहरु नियाल्न सकिन्छ ।
- विद्या राई

सोलुखुम्बुमा जन्मिएका इन्सुहाङ राई २०५५/०५६ सालताका एसएलसी सकेर संगीत सिक्ने चाहले काठमाडौं छिरेका थिए । उनलाई सानैदेखि गीत–संगीतमा रुचि थियो । गाउँमा सांगीतिक कार्यक्रममा भाग नलिएको कुनै कार्यक्रम हँुदैनथ्यो । संगीतमा भविष्य राम्रो भनेको सुनेपछि उनी १७ वर्षको छँदा काठमाडौं छिरेका थिए ।


तर कथा यथार्थ फरक भयो । संघर्ष गरेअनुसार उनले संगीतमा फल पाएनन् । मुख्यत: आर्थिक समस्या पर्‍यो । अनि उनी मोडिए । नासेचिएको पेसा टुरिस्ट गाइडतिर लागे । ‘सुरुमा संगतले आएँ । अहिलेचाहिँ यस पेसाप्रति पागल नै भएको छ । यति राम्रो काम अरू छैन जस्तो लाग्छ,’ उनले भने ।


हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पाहरूको बाहुल्य छ । यहाँका शेर्पाहरूको मुख्य पेसा पर्यटकका भारी बोक्ने र उनीहरूलाई डुलाउने हो । इन्सुलाई पनि शेर्पाहरूकै संगतले गाइड बनाइदियो । उनी पदयात्रा (ट्ेरकिङ) र पर्वतारोहण (माउन्टेनियरिङ) दुवैका गाइड हुन् । उनलाई यो काम अन्तर्राष्ट्रिय सम्बन्ध बढ्ने, कमाइ हुने, इज्जत हुने, सबै हिसाबले राम्रो लाग्छ ।


गाइडको पहिलो ५/६ वर्ष उनले भरियाका रूपमा बिताए । ‘त्यसबेला बुझियो पर्यटकले जीवनमा कति आनन्द लिँदारहेछन् भन्ने, त्यसपछि मैले गाइडको तालिम लिएँ,’ उनले भने । उनलाई ट्ेरकिङ गाइड सहज लाग्छ भने पर्वतारोहण गाइड जोखिमपूर्ण । उनी फ्रेन्च, जापानिज, चाइनिज, युरोपियन पर्यटकहरूलाई गाइड घुमाउने काम गर्छन् । उनी फ्रेन्च, जापानिज, अंग्रेजी भाषा बोल्छन् । गाइडका लागि भाषा र जस्तोसुकै परिस्थितिमा पनि जुध्न सक्ने क्षमता हुनुपर्ने उनको अनुभव छ । आधुनिक प्रविधिसँग पनि उत्तिकै अपडेट हुनुपर्छ ।


कामको चापमा छुट्टी मनाउन शान्त र सुन्दर ठाउँको खोजी गर्दै नेपाल आउने पर्यटक धेरै भएको उनले बताए । ३९ वर्षीय उनले एक जनादेखि २२ जनाको टिमलाई ट्ेरकिङमा लगेका छन् । उनी मुस्ताङ, अन्नपूर्ण क्षेत्र, सगरमाथा बेसक्याम्प, लाङटाङ क्षेत्रमा एक सिजनमा ३/४ पटकसम्म पुग्छन् । १५ दिनको यात्रामा ५०–६० हजार कमाइ हुने उनले बताए । एक ट्रेकमा ५–६ लाखसम्म पनि आर्जन हुन्छ । उनले कुकिङ, क्लाइम्बिङ, लिडरसिपलगायतको तालिम पनि लिएका छन् । ‘अहिले पनि पुनर्ताजगीका लागि तालिम लिने गर्छु,’ उनले सुनाए । उनी ट्रेकिङ एन्ड माउन्टेनियरिङ गाइडका संस्थापक अध्यक्ष पनि हुन् । अरू थुप्रै संस्थामा पनि आबद्ध छन् ।


पर्यटक घुमाउने काममा लागे पनि उनको संगीत मोह भने मरेको छैन । नुम्बुरमा हिउँ पर्दा खुसी यो मनभरि, तिमीलाई माया दिन्छु, काइँयोले कपाल कोरी लगायत दर्जन बढी गीत उनले गाएका छन् । ‘पहिले आर्थिक अभावले गायन व्यवस्थापन गर्न सकिएन । अहिले समय अभावले,’ उनले भने । उनले अग्ला स्थानमा हुने कन्सर्टमा गीत पनि गाइरहेका छन् । उनले पहिलो लाइभ कन्सर्ट १७ वर्षअघि नाम्चेबजारमा गरेका थिए । नाम्चेमै सन् २००४ मा चर्चित गायकहरू राजु लामा, धीरज राई, आप्पा शेर्पा, शान्तिराम राई, आनन्द कार्कीसँग पनि उनले गाएका थिए । दुई वर्षअघि ६ हजार ४ सय ७० मिटरको मेरापिकमा पनि लाइभ कन्सर्ट गर्न भ्याए । त्रिशूली किनारमा पनि गीत गाइसकेका उनका २० वर्षीय छोरा गायक बन्ने प्रयासमा छन् ।


उनी पर्यटकीय गन्तव्यहरूको खोज–अनुसन्धानमा पनि सक्रिय छन् । ०५६/०५७ सालतिर नाम्जेबजारमा बेकरी स्थापनामा पनि उनको हात छ । उनले भारतको लद्दाक, चीनको तिब्बतमा पनि काम गरेका छन् । अहिले नेपालमा १८ हजार बढी गाइड छन् । इन्सु भोजपुरका पर्यटकीय क्षेत्रलाई उजागर गर्नुपर्ने अभियानमा पनि लागेका छन् । परम्परागत पर्यटकीय गन्तव्यको विकल्प आवश्यकता भइसकेको उनको बुझाइ छ । ‘पर्यटक भित्र्याउन नयाँ गन्तव्यहरू पनि पहिल्याउनुपर्छ,’ उनले भने ।


पर्यटकहरूलाई आफ्नो अघिपछि लगाएर कहिले अन्नपूर्ण क्षेत्र त कहिले सगरमाथा बेसक्याम्प तथा मनास्लु पुग्न व्यस्त हुने उनी हालै पूर्वी पहाडको ‘कर्णाली’ का रूपमा प्रख्यात भोजपुर पुगेका थिए । उनले समुद्री सतहदेखि ३१ सय मिटर उचाइमा रहेको टेम्केडाँडादेखि मैयुङ हाँसपोखरी, साल्पा सिलिचुङसम्मको ट्रेकिङ रुटको सम्भावना नियालेका थिए । दृश्यावलोकनका लागि टेम्केडाँडा पुनहिलभन्दा कम नभएको उनले बताए । ‘टेम्केबाट आठ हजार मिटरमाथिका सात हिमाल सिसापाङ्मा, चोयु, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, मकालु, कञ्चनजंघाका लोभलाग्दा दृश्यहरू नियाल्न सकिन्छ,’ उनले भने, ‘त्यस्तै, लाङटाङ, रोल्वालिङ क्षेत्रका साना–ठूला ३२ हिमाल पनि यहाँबाट हेर्न सकिन्छ ।’ सूर्योदय र सूर्यास्तको आकर्षक दृश्य अवलोकन गर्नका लागि टेम्के लोभलाग्दो स्थान भएको पनि उनले बताए ।


मुन्धुम ट्रेल रुटको मुख्य विशेषता र आकर्षण भनेको नेपालमा कम उचाइबाटै देख्न सकिने मनमोहक दृश्यावलोकन हो । कम्तीमा १९ सय मिटरदेखि बढीमा ४ हजार १ सय ५६ मिटरको उचाइमा रहेको यो रुट बाहै्र महिना पर्यटक जान र लान सकिन्छ । यहाँको हरेक सिजन आफ्नै आकर्षण छन् । जस्तै– धार्मिक, सांस्कृतिक, जैविक विविधता । किरात राईहरूको बाहुल्य रहेकाले साकेला सिलीले थप मनोरमता थप्न सकिन्छ । हिमाल चढ्न नचाहने तर एकै ठाउँबाट धेरै हिमालको अवलोकन गर्न चाहनेका लागि मुन्धुम ट्ेरल सबभन्दा राम्रो विकल्प भएको इन्सुले बताए ।


‘पहिले विदेशी पर्यटक १५–२० दिनका लागि नेपाल घुम्न आउने गर्थे । अहिले छोटो अवधिका लागि आउँछन्,’ उनले भने, ‘छोटो अवधिका नयाँ गन्तव्य खोज्नुपर्ने भएको छ । अव्यवस्थित सडक विस्तारले पनि पदमार्गको आकर्षण घटेको छ । त्यसैले पदमार्ग र सडकलाई बेग्लाबेग्लै किसिमले विस्तार गर्नुपर्छ ।

हेल्लो शुक्रवार

नयाँ गायक

आरजेबाट भीजे बनेका नारायण कडरिया अब गायक भएका छन् । उनको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । उनले गाएका मात्रै छैनन्, कम्पोज, संगीत साथसाथै अभिनयमा पनि आफैं अगाडि आएका छन् ।


बोल्ड आवाजका कारण रेडियो र टीभीका श्रोतामाझ नारायणको अलग्गै छवि छ । दमदार आवाजका धनी नारायण अनुभव साट्छन्, ‘आफ्नो गायनप्रति ठूलो अपेक्षा छैन, प्रयत्न मात्रै गरेको छु ।’ झापाको देहाती गाउँ बाहुनडाँगीका नारायणले रेडियोबाट करिअर सुरु गरेका हुन् ।
उनी सिमाना एफएममा काम गर्दै थिए । जिन्दगी जेनतेन चलेकै थियो । तर, सञ्चारमाध्यममा छाउने यिनको भोक बढ्दै गयो । सात वर्षअघि राजधानी उक्लिए । रेडियोबाट आएका उनले सुरुमै टीभीमा काम गर्ने मौका पाए । कान्तिपुर टीभीको लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा यिनको स्वर सुनिन थाल्यो । रजटपटमा केही समय काम गरेपछि सगरमाथा टीभीमा ‘प्ले इट अन’ कार्यक्रम चलाए । उनी आफैंले डिजाइन गरेको यो कार्यक्रम लोकप्रिय भयो । तर, प्ले इट अनमा यिनको यात्रा लामो भएन । उनले एनटीभी प्लसमा ‘युथ टक शो’ चलाए । अनि गायन रोजे ।
नारायणमा फाट्टफुट्ट गीत लेख्ने, कम्पोज पनि गर्ने बानी थियो । एक वर्षअघि अनायासै एउटा गीत फुर्‍यो, ‘जाम पारि पारि, कसैले नदेख्ने ठावैमा...’ । फुरेको गीतलाई पूरा गर्न केही समय लाग्यो । कम्पोज पनि आफैं गरे । कालीप्रसाद बाँस्कोटा, शिव परियारलगायतका संगीतकार/गायकलाई पनि सुनाए । दुवैले मन पराए ।


गीत सुनेर कालीप्रसादले प्रतिक्रिया दिएछन्, ‘यो गीत नेपाली जनजिब्रोमा झुन्डिने खालको छ ।’ यस प्रतिक्रियाले नारायण हौसिए । सुरुमा कालीप्रसादलगायतका अहिलेका चर्चित गायकलाई पो गाउन दिने कि भन्ने सोचेछन् । तर, केही साथीहरूको सुझावपछि उनी आफंै गाउन तयार भए । नयाँ अनुभव सँगाल्दै गीत रेकर्ड गराए । जमाना गीत सुन्नेभन्दा हेर्ने छ । अनि म्युजिक भिडियो पनि बनाए । लोकप्रिय नायिका केकी अधिकारीसँग आफैं अभिनयको अनुभव लिए । ‘गायक आफंै भएपछि अभिनयको मोह पनि भयो,’ नारायणले सुनाए ।
–पर्वत

हेल्लो शुक्रवार

पूर्णिमाको छलाङ

मैले आफैंले रोजेको क्षेत्र मोडलिङ हो । यसमा सन्तुष्ट छु ।

चितवनकी पूर्णिमा श्रेष्ठ काठमाडौंमा संघर्ष गरिरहेकी मोडल हुन् । उनी लोक नृत्यमा पनि पारंगत छिन् । लोकदोहोरी गायक/गायिका पशुपति शर्मा र राधिका हमालको चर्चित गीत ‘क्याम्पस पढ्न आउनी...’ को म्युजिक भिडियोमा मोडलिङ गरेपछि उनी चर्चामा आएकी हुन् ।


‘मालती’ फिल्ममा बाल कलाकारका रूपमा अभिनय गरेकी पूर्णिमा २०६७ सालमा नेपाल टेलिभिजनको नृत्यसम्बन्धी प्रतियोगिता ‘छमछमी’ मा दोस्रो भएकी थिइन् । उनी एक दशकयता नेपाल पुलिस क्लबको सांस्कृतिक शाखामा कार्यरत छिन् । यसमा उनी नृत्य सिक्छिन्, नयाँलाई सिकाउँछिन् पनि । उनी कौडा, घाटु, झ्याउरेमा पारंगत डान्सर हुन् ।


विभिन्न जनजातिहरूको लोक संस्कृतिलाई नृत्यमार्फत बचाउने र प्रवद्र्धन गर्ने काम आफूहरूले गर्दै आएको उनले सुनाइन् । ‘छमछमीमा सहभागी भएपछि सबैले चिन्ने भए,’ उनी भन्छिन्, ‘त्यसपछि मोडलिङका लागि प्रस्ताव आउने क्रम बढ्दै गयो ।’ नृत्य प्रतियोगितामा सहभागिता जनाउने क्रममा उनी कहिल्यै रित्तो हात फर्किनन् । उनले ५ सय बढी दोहोरी र आधुनिक गीतका म्युजिक भिडियोमा मोडलिङ गरिसकेको बताइन् ।
उनी क्लासिकल डान्स मन पराउँछिन् । अभिनय गरेको पहिलो म्युजिक भिडियो अञ्जु पन्त र वीरेन्द्र जोहारीको ‘हे आमा नेपाल...’ हो । तर यसले उनको खास पहिचान बनाएन । सिर्जना कलेज अफ फाइन आटर््समा स्नातक तहमा अध्ययनरत उनलाई सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै चिन्ने भएकी छन् ।


‘म कुन क्षेत्रमा लाग्दै छु, मैले रोजेको क्षेत्र ठीक छ छैन भनेर पहिला सोचेर मात्र कुनै पनि पेसामा लाग्दा राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘मैले आफैंले रोजेको क्षेत्र मोडलिङ हो । यसमा सन्तुष्ट छु । यसैले मलाई चिनाएको छ ।’


रामजी खाँड र विष्णु माझीले गाएको ‘चिसो हिउँले...’, कृष्णा गुरुङ र रामजी खाँडकै ‘एक एक जोडे दुई हुन्छ...’, एकादशी बजारमा...’ ले उनलाई हिट बनाइदियो । रामचन्द्र काफ्ले र जुनु रिजालले गाएको ‘झिम्काइदेऊ परेली...’, कोमल वली र शिरीष देवकोटाको ‘दुर्गा हौ कि भवानी...’ को म्युजिक भिडियोले पनि उनलाई थप उचाइ दियो ।


‘एक एक जोडे दुई...’ बाट पूर्णिमाले नेपाल लोकदोहोरी प्रतिष्ठानको अवार्ड पनि जितिन् । उनी नारायणगढको नारायणी कला मन्दिरमा आधारभूत नृत्य सिकेपछि मोडलिङमा लागेकी थिइन् । उनका बुवा नारायण श्रेष्ठ पनि प्रहरीको सांस्कृतिक विभागमा काम गर्थे । बुबाकै सहयोगमा उनी प्रहरीमा पुगेकी हुन् । पाँच छोरीमध्येकी यी माइली २०७५ सालमा आठ वर्षयताको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजनामा छिन् । उनको लक्ष्य लोकभाकामा धेरै अभिनय गर्ने नै हो ।
–विमल

Page 23
हेल्लो शुक्रवार

स्टेवार्टको चाहना

बेलायती गायक रड स्टेवार्टले नयाँ एल्बमको काम लगभग पूरा गरिसकेका छन् र यसको नाम पनि जुराइसकेका छन् ‘ब्लड रेड रोजेस ।’ नयाँ एल्बम रिलिजको दिन भने तोकिएको छैन ।
- हिमेश

रड स्टेवार्टको स्वर अरूको भन्दा धेरै फरक छ, यसमा कुनै शंका छैन । त्यसैले त उनी धेरैका लागि विशेष छन् । त्यसमाथि उनको ‘हेयर स्टाइल’ पनि विशेष छ र ५० वर्षदेखि उनी यसमै कायम छन् । यी बेलायती रक गायकले गाउन थालेको पनि धेरै भयो । बूढा पनि भए, स्टेवार्ट । हेर्दाहेर्दै ७३ वर्षका भइसकेका छन् । तर लाग्छ, उनको संगीतप्रतिको जोस भने उस्तै छन्, युवाजत्तिकै । केही न केही नयाँ गरिरहने उनको बानी नै छ । त्यसैले त उनले घोषणा गरेका छन्, ‘म नयाँ एल्बमको तयारीमा छु । प्रतीक्षा गर्नुहोला ।’ 

 

नयाँ एल्बम, उत्सुकता त हुने नै भयो । र, यो विशेष पनि हुनेछ । यस्तो किन भन्दा यो स्टेवार्टको ३० औं एल्बम हुनेछ । त्यसो त यो वर्ष उनी निकै व्यस्त पनि रहनेछन् । सिन्डी लपरसँग उनको लगातार कन्सर्ट गर्ने कार्यक्रम छ । दुई वर्ष भयो, उनी यी गायिकासँग मिलेर सँगै कन्सर्ट गरिरहेका छन्, जुन धेरैले मन पराएका पनि छन् । तर त्यसको अर्थ उनी स्टुडियोबाट टाढा रहने भन्ने पनि होइन । खासमा उनले नयाँ एल्बमको काम लगभग पूरा गरिसकेका छन् र यसको नाम पनि जुराइसकेका छन् ।


र, यो हो, ‘ब्लड रेड रोजेस ।’ नयाँ एल्बम रिलिजको उनले निश्चित दिन भने तोकेका छैनन् । सन् २०१५ मा उनको अन्तिम एल्बम निस्केको, ‘एनोदर कन्ट्री’ को नाममा । नयाँ एल्बमलाई लिएर स्टेवार्ट स्वयम् पनि उत्साहित छन् । उनले हालैको अन्तर्वार्तामा भनेका छन्, ‘त्यसो त यो मेरो एल्बमबारे म आफैं बोलिरहेको छु । तर यो पक्का हो कि यो राम्रो छ ।’ उनले भने जस्तै यसमा १२ गीत हुनेछन्, त्यसमध्ये ११ गीत उनी आफैंले लेखेका हुन् ।


खासमा स्टेवार्टको विशेषता नै यही हो । उनी जति राम्रा गायक हुन्, उत्तिकै राम्रा गीतकार पनि । भनिन्छ, आफ्नै शब्दमा गीत गाउँदा त्यसले दिने मज्जा बेग्लै हुन्छ । धेरै अर्थमा यो भनाइ स्टेवार्टमा मिल्छ । अब प्रश्न, के उनले लपरसँगको टुरमा यी नयाँ गीत प्रस्तुत गर्नेछन् त ? उनको उत्तर रहेको छ, छैन । यसका लागि उनले विशेष कारण पनि दिएका छन् । उनकै भाषामा, नयाँ गीतलाई एकैपल्ट कन्सर्टमा प्रस्तुत गर्दा सुन्नेलाई
अप्ठ्यारो हुन सक्छ ।


राम्रै गीत रहे पनि उत्ति राम्रो नसुनिने हुन सक्छ । चलिसकेका गीत प्रस्तुत गर्नु नै कन्सर्टका लागि राम्रो हुने गर्छ, स्टेवार्टले बटुलेको यो अनुभव हो । त्यसैले उनी पहिले ‘ब्लड रेड रोजेस’ नै रिलिज गर्न चाहन्छन् र चाहन्छन्, यी गीतप्रति उनका प्रशंसक अभ्यस्त होओस् । त्यसपछि मात्र यी गीतलाई कन्सर्टमा गाउन चाहन्छन् । स्टेवार्टको यो गज्जब तर्क हो । जति बेला सुन्नेलाई पनि गीतका शब्द याद हुन्छ, त्यति बेला मात्र गाउनेलाई पनि मज्जा हुन्छ ।


स्टेवार्टको फ्यान हो भने यो एल्बम निश्चित रूपमा प्रतीक्षा गर्न लायक हुनेछ । यति बेला एकपल्ट पुराना दिन सम्झँदा ठीकै हुनेछ । ‘न्युज पेपर डेलिभरी ब्वाई’ का रूपमा सानो उमेरमै काम सुरु गरेको स्टेवार्टले सन् सत्तरीतिर प्रसिद्धि कमाउन सुरु गरेका थिए । उनका रेकर्ड्स दस करोडभन्दा बढी बिक्री भइसकेको तथ्यले पनि देखाउँछ, उनी कत्तिको सफल छन् भनेर । उनको प्रख्यात गीत हो, ‘सम गाइज ह्याभ अल द लक ।’ उनी खासमै भाग्यमानी गायक हुन् । यो गीतका शब्द उनको संगीत यात्रामा पनि मिल्छ, भाग्यमानीको अर्थमा ।

 twitter : @himeshratna

हेल्लो शुक्रवार

नारी शक्ति

नारी । अबला नारी । यस्तै–यस्तै शब्दले गरी नेपाली समुदायमा नारीलाई कमजोरका रूपमा देखाउने गर्छ । तर देवीहरूका कथा सुन्ने हो भने उनीहरूका मूर्ति, चित्र हेर्ने वा कथा पढ्ने–सुन्ने हो भने हाम्रा चेलीबेटी कमजोर नभएको प्रस्टै हुन्छ ।


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तीकरणका लागि ‘पिरियड पावर अन्तरक्लब महिला स्क्वाड’ प्रतियोगिता आयोजना गरिएको थियो । गत साता ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको प्रतियोगितामा नारी कति बलिया छन् भन्ने उनीहरूले उचालेको भारले देखाइरहेको थियो । राजधानी र मोफसलका २३ क्लबका महिला सहभागी थिए ।


ज्यास्मिन फिट्नेस सेन्टर तथा आइडिया सप मिडिया एन्ड एन्टरटेनमेन्टद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा ६० केजीमुनि र ६० केजीमाथि प्रतिस्पर्धा भएको थियो । ६० केजीमुनि नेहा बानु पहिलो भइन् । उनले १ सय २० केजी तौल उठाएकी थिइन् । ६० केजीमाथिको स्पर्धामा १ सय ४० केजी उठाउँदै सेलिना हाडा पहिलो स्थानमा रहिन् ।

 

 

 


तस्बिरहरू : हेमन्त श्रेष्ठ

हेल्लो शुक्रवार

बिग फाल्कन रकेट अर्को वर्ष

हेलोटेक

अमेरिकी व्यवसायी इलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो महत्त्वाकांक्षी रकेट बिग फाल्कन रकेट अर्को वर्ष परीक्षण गर्ने भएको छ ।

यसका मालिक मस्कले यसको खुलासा गरेका हुन् । यसले एक सय ५० टनको कार्गो बोकेर मंगल ग्रहसम्म पुग्न सक्छ । बिग फाल्कन रकेटको विशेषता भनेको रकेट उडाउन प्रयोग गरिने अन्य रकेट पुन: फर्किएको पृथ्वीमा आउन सक्छन् । जम्मा एक सय ६ मिटरको रकेट हवाईजहाजको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । मंगल ग्रहमा मानव पठाउने योजनासहित स्पेसएक्सले बिग फाल्कन रकेट बनाएको हो ।


सुरुवाती केही पटक सामान मात्र पठाएर मानिस पठाउने कम्पनीको योजना छ । सन् २०२२ सम्ममा मानवलाई रकेटमार्फत मंगल ग्रह लैजाने कम्पनीले जनाएको छ । केही साताअघि मात्रै स्पेसएक्सले एउटा कारसहित फाल्कनहेभी रकेटलाई मंगल ग्रहमा पठाउन सफलतापूर्वक प्रक्षेपण गरेको छ । फाल्कन हेभी मंगल ग्रहमा पुग्न अझै केही महिना लाग्नेछ ।

हेल्लो शुक्रवार

गुगल सर्चमा फोटो क्याप्सन

हेलोटेक

गुगलले केही साताअघि आफ्नो सर्च रिजल्टबाट भ्यु इमेज सुविधा हटाएको थियो । भ्यु इमेजले प्रयोगकर्तालाई गुगल सर्चमा भेटिएको फोटो ठूलो बनाएर हेर्ने सुविधा दिन्थ्यो । यो फिचरले अरूलाई गुगलबाट फोटो डाउनलोड गर्न सजिलो बनाएको भन्दै आलोचना भएपछि गुगलले यो सुविधा हटाएको हो । अहिले प्रयोगकर्ताले गुगलमा फोटाहरू सानो आकारमा मात्रै देख्छन्, थप जान्न चाहनेका लागि सोझै वेबसाइटमा पुग्ने सुविधा भने छ ।


गुगलको इमेज सर्चमा देखिने सानो फोटोको सन्दर्भ बुझ्न सजिलो होस् भनेर फोटोको तल क्याप्सन पनि देखाउने कम्पनीले जनाएको छ । गुगलले केही सातामै यो सुविधा एन्ड्रोइड, आईओएस एपसहित मोबाइल ब्राउजरमा राख्ने जनाएको छ । तर, यो सुविधा डेस्कटप सर्चमा हुन्छ कि हुन्न भन्ने खुलाइएको छैन ।

हेल्लो शुक्रवार

ह्वाट्सएपमा नयाँ फिचर

हेलोटेक

मोबाइल म्यासेजिङ एप ह्वाट्सएपले पठाएको म्यासेज एक घण्टापछि पनि डिलिट गर्न सकिने नयाँ फिचर सुरु गरेको छ । तत्कालका लागि यो फिचर आईओएस एपमा मात्रै उपलब्ध छ । प्रयोगकर्ताले व्यक्तिगत वा ग्रुपमा गरेको म्यासेज एक घण्टा ८ मिनेट १६ सेकेन्डसम्म डिलिट गर्न सक्नेछन् । यसअघि प्रयोगकर्ताले पठाएको म्यासेज ७ मिनेटभित्र डिलिट गर्नुपर्ने हुन्थ्यो ।


एक घण्टापछि पनि डिलिट गर्ने सुविधा अहिले आईओएसमा सुरु भए पनि यो चाँडै नै एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि खुला हुनेछ । ह्वाट्सएपको नयाँ अपडेटको बेटा भर्सनमा यो सुविधा पाउन सकिन्छ । बेटा भर्सनलगत्तै रिलिज हुने अपडेटमा एन्ड्रोइड प्रयोगकर्ताले यो सुविधा पाउनेछन् ।


पठाएको म्यासेज डिलिट गर्ने सुविधा ह्वाट्सएपसहित म्यासेजिङ एप भाइबरमा पनि छ । तर, पठाएको एक घण्टापछि डिलिट गर्ने सुविधा भने ह्वाट्सएपमा मात्रै हुनेछ ।

हेल्लो शुक्रवार

ट्रम्पले रोके क्वालकमको बिक्री

हेलोटेक

अमेरिकी चिप मेकर कम्पनी क्वालकमलाई सिंगापुरको प्रतिस्पर्धी ब्रोडकमले किन्ने योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेका छन् । बिक्रीले अमेरिकी राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै राष्ट्रपतिले यो योजना रोकेको रिपोर्ट सार्वजनिक भएको छ । ब्रोडकमले किनेको भए यो प्रविधि कम्पनीमध्ये ठूलो कम्पनी किनबेच हुने थियो । रिपोर्टअनुसार ब्रोडकमले एक सय ४० बिलियन डलरमा किन्ने योजना बनेको थियो ।


फाइभजी प्रविधि विकासमा अवरोध हुने डरले राष्ट्रपतिले यो कदम चालेको अनुमान गरिएको छ । अमेरिकाले देशभर आफ्नै प्रविधिको फाइभजी नेटवर्क विस्तार गर्ने योजना बनाएको छ । चिनियाँ कम्पनीमा निर्भर टेलिकमको पूर्वाधारमा आत्मनिर्भर हुने योजना अमेरिकी सरकारको छ । अमेरिकी कम्पनी क्वालकमले पछिल्लो समय फाइभजी प्रविधिमा अनुसन्धान गरिरहेको छ । ऊभन्दा एक कदम अघि बढेर चिनियाँ कम्पनी हुवावेले फाइभजी चिप सार्वजनिक गरिसकेको छ ।

Page 24
हेल्लो शुक्रवार

आर्मीको रवाफ

त्रिभुवन आर्मी क्लब नकआउट फुटबलमा सबभन्दा राम्रो लयमा देखिएको छ ।
- राजु घिसिङ

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बिर्तामोडमा यसपालि लोभलाग्दो खेल पस्किएन । उसलाई सनसनीपूर्ण पहिलो खेलमा अर्को विभागीय टिम पुलिसले कडा टक्कर दिएको थियो । अर्को खेलमा मनाङमस्र्याङ्दीको वर्चस्व थियो । र, अन्त्यमा घरेलु मैदानमा झापा ११ जोसिलो देखिएको थियो । तर, तीनै खेलको नतिजा आफ्नो बनाउँदै आर्मी तेस्रो झापा गोल्डकप च्याम्पियन नै बन्यो ।

 

आर्मीले उपाधि यात्रामा जम्मा दुई गोलमात्र गर्‍यो र फाइनलमा झापालाई पराजित गर्न अतिरिक्त समय, टाइब्रेकर हुँदै सडनडेथसम्मै पुग्नुपरेको
थियो । यसमा आर्मीलाई भाग्यले पनि साथ दियो । हुन त फुटबलमा दर्शक लोभ्याउने सुन्दर खेल प्रदर्शन गरेरमात्र हुँदैन, पेनाल्टी सुटआउटमा नै किन नहोस्, जित्नका लागि गोल नै गर्नुपर्छ । करिब १२ हजार दर्शकसामु झापालाई स्तब्ध पारेपछि आर्मीका खेलाडीले खुसियाली मनाउँदै नारा लगाएका थिए, ‘आर्मीलाई जित्ने कोही छैन, कोही छैन ।’


अवस्था आर्मीको नाराजस्तै छ पनि । घरेलु फुटबलमा २०७४ सालमा भएका ठूला प्रतियोगितामा आर्मीकै वर्चस्व रहेको छ । उसले झापा गोल्डकपको उपाधि दोस्रोपल्ट जितेको हो । उसले पहिलो संस्करणको फाइनलमा पनि झापालाई नै हराएको थियो । र, यसपालिको झापा गोल्डकप आर्मीको यो सालको सातौं उपाधि हो । यसले उसलाई घरेलु फुटबलमा सबभन्दा शक्तिशाली टिम साबित गरेको छ ।


वैशाखमा वीरगन्जमा भएको विशाल स्मृति गोल्डकपको फाइनलमा संकटालाई हराएर आर्मीले यसपालि उपाधि यात्रा सुरु गरेको थियो । उसले त्यसयता सताक्षी, काँकडभिट्टा, खप्तड, सिमरा, हेटौंडा र झापा गोल्डकपको ट्रफी कब्जा गर्‍यो । उसको आहा–रारा गोल्डकप च्याम्पियन बन्ने सपना भने यसपालि पनि अधुरै रह्यो । उसलाई पहिलो चरणमै धरान फुटबल क्लबले स्तब्ध पारेको थियो । आर्मीलाई दुहबी गोल्डकपको फाइनलमा मनाङले सिकार बनाएको थियो । उसले इटहरी गोल्डकपमा सेमिफाइनलको नतिजा थ्रीस्टारलाई सुम्पिएको थियो ।


आर्मी बूढासुब्बा गोल्डकपमा भने सहभागी भएको थिएन । आर्मीले राखेप च्याम्पियनसिपमा रजत पदक जितेको थियो भने फाल्गुनन्द गोल्डकप, १३ औं विकास रनिङ शिल्ड र २० औं तिलोत्तमा गोल्डकपमा प्रतिस्पर्धा गर्दै पहिलो चरणबाटै बिदाइ लिएको थियो । तर ती प्रतियोगितामा दोस्रो रोजाइको टिम खेलाएको त्रिभुवन आर्मी क्लबले जनाएको छ । त्यसलाई मान्ने हो भने आर्मीले २०७४ सालमा १० प्रतियोगिता खेल्यो र त्यसमा ७० प्रतिशत सफलता हात पार्दै सात उपाधि पनि जित्यो ।


आर्मी अहिले जुन रफ्तारमा सफल भइरहेको छ, यस्तो सफल टिम घरेलु फुटबलमा विरलै पाइन्छन् । मोफसलका नकआउट फुटबलमा यस्तो सफलता एक समय मनाङमस्र्याङ्दी र पुलिसले हात पारेका थिए । यसपालि मनाङले दुहबी गोल्डकप र जेसिज कप, थ्रीस्टारले इटहरी र बूढासुब्बा गोल्डकप, एपीएफले १३ औं विकास रनिङ शिल्ड, पुलिसले १६ औं आहा–रारा गोल्डकप र राखेप च्याम्पियनसिप, संकटाले राइनो संरक्षण गोल्डकपको उपाधि जितेका थिए ।


यो सिजन अब बाँकी रहेका मुख्य प्रतियोगिता विराट गोल्डकप, राजर्षि जनक र माई भ्याली गोल्डकप हुन् । यी प्रतियोगिताले एउटै टिमले जित्यो भने पनि त्यसले उसलाई सफलताको दाँजोमा आर्मीभन्दा माथि पार्ने छैन । तर त्यसमा आर्मीले गर्ने प्रदर्शन र हात पार्ने नतिजाले भने उसको हैसियतको परीक्षण गर्ने नै छ ।


आर्मीले पाँच दिनभित्र तीन खेल खेलेर जितेको उपाधि हो झापा गोल्डकप । यसले उसको ‘स्टामिना’ पनि देखाउँछ । तर सधैं यसरी खेल्ने क्षमता हुँदैन । तीव्र गतिमा दौडिएर खेल्न सक्ने क्षमता आर्मीको परम्परागत हतियार हो । यसमा पछिल्लो समय प्राविधिक खेल पनि थपिएको छ । त्यसैले पनि आर्मीको टिम बलियो भएको हो । वैशाख २०७३ यता टिम सम्हालिरहेका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘बाह्रै महिनाको प्रशिक्षण, आफ्नै मैदान र सन्तुलित टिम आर्मीका बलियो पक्ष हुन् । खेलाडी अनुशासित छन् र रणनीतिअनुसार खेल्छन् । प्रशिक्षक, व्यवस्थापक र खेलाडीको समन्वय एकदमै राम्रो छ । त्यसैले सफल भइरहेका छौं ।’


मनाङका पूर्वमिडफिल्डर नवीनको प्रशिक्षक करिअरको पहिले सिजन आर्मीले २०७३ सालमा १० प्रतियोगिताको फाइनल खेलेर तीन उपाधि जितेको थियो । उनीअघि मेघराज केसीको कार्यकालमा पनि आर्मी बलियो भइसकेको थियो । ट्रफीको ओइरो भने २०७४ सालमा आएर लाग्यो । नवीन बिरामी भएकाले झापा गोल्डकपमा चुनबहादुर थापाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । आर्मीमा २०५५ सालमा भर्ती भएका यी फुटबलरले भने, ‘नतिजाको हिसाबले अहिलेको टिम आर्मीको इतिहासकै सबभन्दा राम्रो हो ।’


आर्मीले फरवार्ड भरत खवासलाई फुटबल टिम बलियो बनाउनकै लागि भर्ती गरेको थियो । आन्तरिक प्रतियोगिताबाट आएका नवयुग श्रेष्ठ नेपाली टिमले बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपको उपाधि जित्दाका हिरो हुन् । गोलकिपर विकेश कुथु राष्ट्रिय टिमका नियमित खेलाडी हुन् । पछिल्लो राष्ट्रिय टिममा भरत, नवयुग, विकेशसँगै नयाँ फरवार्ड जर्जप्रिन्स कार्की र डिफेन्डर जितेन्द्र कार्की पनि थिए । अहिले एसियन कप २०१९ छनोटमा यमनविरुद्ध दोहामा हुने खेलको प्रारम्भिक टिममा आर्मीका दीपक गुरुङ, टंक बस्नेत र सुमन अर्याललाई पनि बोलाइएको छ ।


मिडफिल्डमा सन्तोष तामाङ छरिता छन् । साफ यू १९ च्याम्पियन नेपाली टिमका विंगर/फरवार्ड दिनेश हेम्जन, डिफेन्डर विकास खवास, मिडफिल्डरद्वय एरिक विष्ट र सेसेहाङ आङदेम्बेको आगमनले पनि आर्मी टिम बलियो भएको छ । प्रतियोगितामा सहभागी हुँदा आउने दैनिक भत्ता र पुरस्कारको ठूलो हिस्सा खेलाडीलाई दिइने भएकाले पनि आर्मी टिमको मनोबल उच्च भएको बताइन्छ ।


त्रिभुवन आर्मी क्लबको व्यवस्थापन सम्हालिरहेका महासेनानी प्रकाशराज थापा भन्छन्, ‘क्लबमा करिब ५० जना फुटबल खेलाडी छन् । टिम–वर्क नै हाम्रो सबभन्दा बलियो पक्ष हो ।’ प्रधानसेनापति ट्रफीलगायत आन्तरिक प्रतियोगिताबाट आएकालाई क्लबमा प्राथमिकता दिएको पनि उनले
बताए । ‘नभई नहुने पोजिसनमा मात्र बाहिरबाट ल्याउँछौं,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य लिगको उपाधि जित्ने हो । स्वदेशी खेलाडीकै बलमा लिग जित्न चाहन्छौं ।’


युद्धको मोर्चामा जस्तै मैदानमा पनि आर्मी जोसिलो हुने गर्छ । तर त्यो जोस फुटबल मैदानमा अलि बढी नै देखिन्छ । कप्तान भरत खवास र स्टार फरवार्ड नवयुग श्रेष्ठले झापा गोल्डकपको फाइनलमा गरेको व्यवहार पटक्कै सुहाउँदो थिएन । नवयुगले दर्शकलाई दुव्र्यवहार गरेका थिए भने भरत रेफ्रीप्रति आक्रामक देखिएका थिए । झापाका खेलाडीले त रेफ्रीलाई पिट्नेसम्मको धम्की दिएका थिए । यस्ता व्यवहारले खेलाडी आफैंलाई मात्र होइन, टिम र समग्र फुटबललाई नै बिगार्ने गर्छ । त्यसैले आर्मीका खेलाडीले मैदानमा जोसलाई अनुशासित तवरले व्यवस्थापन गर्नु जरुरी देखिएको छ ।

 

२०७४ सालमा आर्मी
प्रतियोगिता स्कोर प्रतिद्वन्द्वी उपलब्धि
विशाल मेमोरियल गोल्डकप, वीरगन्ज २–० संकटा च्याम्पियन
सताक्षी गोल्डकप, झापा २–१ मनाङमस्र्याङ्दी च्याम्पियन
तेस्रो काँकडभिट्टा गोल्डकप, झापा ०–० (टाइब्रेकर ३–२) मनाङमस्र्याङ्दी च्याम्पियन
दोस्रो दुहबी गोल्डकप, सुनसरी १–२ मनाङमस्र्याङ्दी उपविजेता
दोस्रो खप्तड गोल्डकप, धनगढी ०–० (टाइब्रेकर ५–४) एपीएफ च्याम्पियन
इटहरी गोल्डकप, सुनसरी १–१ (टाइब्रेकर ३–५) थ्रीस्टार सेमिफाइनल
१६ औं आहा–रारा गोल्डकप, पोखरा १–१ (टाइब्रेकर ४–५) धरान पहिलो चरण
नवौं सिमरा गोल्डकप, बारा २–० थ्रीस्टार च्याम्पियन
तेस्रो हेटौंडा गोल्डकप, मकवानपुर ०–० (टाइब्रेकर ४–३) पुलिस च्याम्पियन
तेस्रो झापा गोल्डकप, बिर्तामोड १–१ (सडनडेथ ८–७) झापा ११ च्याम्पियन
‘बी’ टिम
राखेप च्याम्पियनसिप, दाङ ०–० (टाइब्रेकर ४–५) पुलिस रजत पदक नवौं फाल्गुनन्द गोल्डकप, पाँचथर १–१ (टाइब्रेकर २–४) मोरङ पहिलो चरण
१३ औं विकास रनिङ शिल्ड, चितवन १–१ (टाइब्रेकर १–३) फ्रेन्ड्स पहिलो चरण
२० औं तिलोत्तमा गोल्डकप, बुटवल ०–३ मनाङमस्र्याङ्दी पहिलो चरण

twitter: @rghising