जनप्रतिनिधिलाई राष्ट्रपतिको आह्वान ‘स्वार्थभन्दा माथि उठ्नुस्’
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माणको ढोका खुलेको बताउँदै मुलुकको समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आह्वान गरेकी छन् । जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरू र सिंगो संसद् दलगत स्वार्थभन्दा माथि उठेर निष्ठापूर्वक लाग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।
‘जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएकी छु,’ संघीय संसद्को संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद् प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ ।’
भण्डारीले जनभावना एवं व्यवहारबाट अनुमोदित संविधानले समृद्धितर्फको बाटो निर्दिष्ट गरिसकेको बताइन् । विभिन्न तहका निर्वाचनमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले समृद्ध र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व सुम्पिएको उनले बताइन् । ‘पुरानो युगबाट नयाँ युगतर्फको यो संक्रमण सामान्य राजनीतिक परिवर्तन मात्र होइन । यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको छ,’ उनले भनिन्, ‘सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ । विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट संकेत देखिएको छ ।’ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णयअनुसार राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गरेकी हुन् । संविधानको धारा ९५ मा संघीय संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन सुरु भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति भण्डारीले सघीय संसदका सांसदहरूलाई नेपाललाई समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आग्रह गरिन् । उनले राजनीतिक आबद्धताका दृष्टिले कोही सत्तापक्ष र कोही प्रतिपक्ष भए पनि संसदका हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्न‘पर्नेमा जोड दिइन् ।
राष्ट्रपतिले नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन नहुने बताइन् । देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले अग्रगामी रूपान्तरणका दिशामा केन्द्रित भएर अघि बढ्न निर्देशित गरेको उनको भनाइ छ । ‘अब जनताका आवश्यकता र चाहना परिपूर्तिका लागि सबै तहका जनप्रतिनिधिहरू आआफ्ना कर्तव्यमा समर्पित हुन आवश्यक छ,’ उनले भनिन् । राष्ट्रपतिले समुन्नत समाज निर्माण अभियानमा लाग्न पनि सबै पक्षलाई आहान गरिन् । ‘असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ,’ उनले भनिन्, ‘अबको नेपाल कुनै पनि मनोमानी, दमन, अशान्ति, भ्रष्टाचार, उत्पीडनबाट मुक्त हुनुपर्छ । समुन्नत नेपाल निर्माणमा एक भएर योगदान गर्न आहान गर्छु ।’
जनताको संवैधानिक, कानुनी र मानव अधिकारमा जोड दिँदै भण्डारीले न्यायपालिका सुदृढ पार्न सबैको ध्यान पुग्नुपर्ने बताइन् । यातायात, सञ्चार, ऊर्जाको विकास, गुणस्तर र सुलभ शिक्षा, स्वच्छ खानेपानी र वातावरणको विकासमा जोड दिन उनले आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले युवा विदेश पलायन रोक्न आवश्यक कदम चाल्नसमेत आग्रह गरिन् । ‘युवाहरू विदेश पलायन भइरहेका छन्, युवा जोसजाँगरलाई देश निर्माणमा भरपर्दो रूपमा लगाउन भूमिका खेल्नुहुने विश्वास गर्छ‘,’ उनले भनिन्, ‘नेपाल सामाजिक आर्थिक र सांस्कृतिक रूपमा अगाडि बढेको छ । संविधान कार्यान्वयन तथा समृद्धिका लागि सबैले भूमिका खेल्नुहुनेछ ।’ प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुन सक्ने उनले प्रस्ट पारिन् ।
‘लोकतन्त्र भनेको थेगो हैन, यो त जीवन प्रणाली हो । यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन । त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिए लोकतन्त्र अर्थहीन नारा मात्र हुन जान्छ,’ उनले भनिन् ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)









































