You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

इजरायलबाट नेपालीको शव पठाउन अनिश्चित

शव पहिचान र व्यवस्थापन अहिले इजरायलको प्राथमिकतामा नरहेकाले १० नेपालीको शव ल्याउन ढिलाइ हुने
डीएनए, फिंगरप्रिन्ट र दाातको पहिचान गर्नुपर्ने भएकाले चुनौती
गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मारिएका छन्, जसमा १ हजार ३ सयभन्दा बढी इजरायली र २ हजार २ सयभन्दा बढी प्यालेस्टिनी
- होम कार्की

(तेलअभिभ, इजरायल)
दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ । इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनलाई प्राथमिकता दिएको छैन । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।
इजरायलमा ठूलो संख्यामा हताहती भएकाले शव पहिचान र व्यवस्थापन चुनौती छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । ‘१३ सय शवको पहिचान भइसकेको छैन, जसमा विदेशी नागरिक पनि छन्,’ स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘सबै नागरिकको पहिचान गर्न समय लाग्नेछ । डीएनए, फिंगरप्रिन्ट र दाँत हेरी पहिचान गरिनेछ ।’ इजरायलमा विदेशीसहित सबैको फिंगरप्रिन्ट राखिन्छ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाली मारिएको खबर पाएलगत्तै उचित ढंगले शव व्यवस्थापन गर्न इजरायली पक्षसँग समन्वय गरिएको बताइन् । ‘घटनास्थलबाट नेपालीको शव संकलन गर्ने बेला नै हामीले राहदानीको कपी पठाइदिएका छौं,’ उनले भनिन्, ‘शवलाई क्षेत्रगत हिसाबले अलगअलग रूपमा छुट्याएर राखिएको छ ।’
विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षीसँगको संवादमा पनि नेपाली विद्यार्थीको शव यथासक्य छिटो पठाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
‘शव पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पहल भइरहेको छ । उच्च तहबाट समन्वय गरिरहेका छौं,’ रिजालले भनिन् । आक्रमणमा घाइते भएकामध्ये सल्यानका विधान सेजवाल, दाङका प्रवीन डाँगी, गोरखाका हिमाञ्चल कट्टेलको उपचार जारी छ । कैलालीका धनबहादुर चौधरी घाइते अवस्थामा स्वदेश फर्किसकेका छन् । कञ्चनपुरका विपिन जोशी भने अझै बेपत्ता छन् ।
इजरायल–हमास द्वन्द्वपछि २ सय ५४ नेपाली विद्यार्थीलाई स्वदेश फर्काइएको छ । उनीहरूलाई हवाई उद्धारमार्फत शुक्रबार बिहान नेपाल पठाइएको हो । उनीहरूलाई स्वदेश फर्काउन सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी विमान तेलअभिभ पठाएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल आएका थिए ।
इजरायलमा मारिएका र स्वदेश फर्किएका सबै विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आएका थिए । मारिएका १० सहित ४९ विद्यार्थीको टोली एक महिनाअघि मात्र इजरायल आएको थियो । उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हुन् । विद्यार्थीहरूका अतिरिक्त इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन् ।
गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मारिएका छन् । जसमा १ हजार ३ सयभन्दा बढी इजरायली र २ हजार २ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
यसैबीच, इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख बासिन्दालाई सहर छाड्न दिएको म्याद लगभग सकिएको छ । यतिबेला हजारौं प्यालेस्टिनी बालबच्चा र सरसामानसहित दक्षिणी गाजातर्फ गइरहेका छन् । आफ्नो थातथलो छाडेर सुरक्षित स्थानतर्फ गइरहेको प्यालेस्टिनी चढेको गाडीमा इजरायली आक्रमणसमेत भएको छ, जसमा २ देखि ५ वर्षका बालबालिका मारिएको बीबीसीले उल्लेख गरेको छ । उत्तरी गाजा र दक्षिणी गाजामा गरी करिब २२ लाख मानिसको बसोबास छ ।
यस्तै, शुक्रबार अबेर उत्तरी गाजा क्षेत्रबाट निस्किएको प्यालेस्टाइनीको समूहमाथि इजरायलले आक्रमण गरेको बीबीसीले पुष्टि गरेको छ । बीबीसीका अनुसार सलाह–अल–दिन सडकमा आक्रमण भएको थियो, जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मर्नेमा अधिकांश महिला तथा बालबालिका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले भने यो घटनामा ७० जनाको मृत्यु भएको दाबी गरेको छ । इजरायलले भने यो घटनाबारे जाँच गरिरहेको बताएको छ ।
युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका सहित ११ पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको हो । रोयटर्सका अनुसार अल्मा अल–साबनजिकैको आक्रमणमा अल जजिरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।
इजरायली सेनाले भने घटना दुःखद् भएको बताएको छ । इजरायली सेनाले मृत्युको जिम्मा भने लिएको छैन । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । त्यस्तै राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड इर्दान युद्धमा यस्ता घटना हुने बताएका छन् । उनले भनेका छन्, ‘निश्चय पनि हामी काम गरिरहेका कोही पत्रकारलाई गोली हान्न वा मार्न चाहँदैनौं । तर तपाईंलाई थाहा नै छ, हामी युद्धमा छौं, घटना हुन सक्छ ।’
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार छन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधानसम्पादक सइद अल तविलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटो पत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।
कमिटीले युद्धमा अरू पत्रकार परे/नपरेकोबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । सीपीजेका मध्यपूर्वका संयोजक शरिफ मन्सुरले गाजामा पत्रकारहरू परिवारका सदस्य घाइते र मारिएको अवस्थामा समेत सूचना संकलनमा खटिइरहेको बताएका छन् । उनले भनेका छन्, ‘उनीहरू सबैभन्दा जोखिममा छन् तर अहिले तिनीहरूकै बढी खाँचो छ । अहिलेका दृश्य बताउने हाम्रा आँखा उनीहरू नै हुन् ।’

मुख्य पृष्ठ

शव कुर्दै आफन्त

- अर्जुन शाह,भवानी भट्ट,विप्लव महर्जन,सन्तोष सिंह,प्रदीप मेन्याङ्बो

(धनगढी), (कञ्चनपुर), (सल्यान), (धनुषा) र (सुनसरी)

राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् । घरमा पुगेकाहरूसँग हरिकृष्ण न्यौपाने हरक्षण भक्कानिरहन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारका आँखा साता दिनदेखि ओभाएका छैनन् । ६ कक्षा पढ्ने कान्छो छोरा पनि भक्कानिँदै हरिकृष्णलाई अँगालो मार्दा मन थाम्न नसकेर वरिपरिका सबैका आँखा रसाउँछन् ।
टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान स्नातक तह अन्तिम वर्षमा पढिरहेको माइलो छोरा नारायणको इजरायलमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएपछि न्यौपाने परिवार विक्षिप्त छ । शुक्रबार न्यौपाने परिवारलाई भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मन्त्री रमेश धामीले सान्त्वना दिने प्रयास गर्दा हरिकृष्णले केही बोल्न सकेनन् । ‘मानिस देख्दा भक्कानिन्छन्, एकोहोरो रोइरहन्छन्,’ नजिकै रहेका आफन्तले भने, ‘सास त पाएनौं पाएनौं, लास ल्याइदिनुपर्‍यो ।’
हरिकृष्णका माइला छोरा नारायणले बाल्यकालमै जन्म दिने आमा गुमाएका थिए । कान्छी आमाले हुर्काइन् । नारायणका दाजु धर्मराज भारतको बैंग्लोर बस्छन् । भाइको घटना सुनेपछि उनी तीन दिनअघि घर आएका छन् । शोकमा डुबेका धर्मराज पनि केही बोल्दैनन् ।
हरिकृष्णका भतिजा मोतीलालले शव ल्याउन जति ढिला गर्‍यो, पीडा त्यति धेरै लम्बिने बताए । ‘जेठा बुबा बेलाबेला नारायण छँदै छ होला, उसलाई केही भएको छैन होला भन्दै रुनु हुन्छ,’ मोतीलालले भने ।  

‘उहाँ राम्ररी ननिदाएको र नखाएको पनि सात दिन हुन थाल्यो,’ उनले थपे । दुई दिनअघि इजरायलबाट उद्धार गरी ल्याएका नेपालीहरूसँगै शव पनि आउने आस गरेको परिवारजनले बताए । ‘अब त हाडछाला पाइएला भन्ने विश्वास पनि नलाग्ने भइसक्यो,’ मोतीलालले भने ।  
कैलालीकै जोशीपुर–५ मैनपोखरीका ७० वर्षीय कन्हैयालाल चौधरीको पीडा पनि उस्तै छ । श्रीमती उहिल्यै बितिन्, एक्लो छोरा सुरज ०५४ सालदेखि पक्षघात भएर अपांग छन् । कान्छी छोरीको छोरा आशिष चौधरी बालकदेखि आफूसँगै बस्ने बुढेसकालको एक्लो सहारा थिए । आशिषलाई बाल्यावस्थादेखि नै कन्हैयालालले आफैंसँग राखेर हुर्काए, पढाए । ‘त्यही एक्लो सहारा पनि दैवले चुँडिहाल्यो,’ उनले भने, ‘जिउँदो मुख त देख्न पाइएन पाइएन, अब सरकारले चाँडै लास ल्याइदिए हुन्थ्यो ।’
बझाङको जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीको परिवार पनि शोकमा छ । छोरा गणेशको इजरायल घटनामा मृत्यु भएको हो । ‘छोरा छँदै छ भन्ने सोच्छु । छैन भनेर कसरी पत्याऊँ,’ बोल्दाबोल्दै भक्कानिने धनलालले भने, ‘ज्युँदो मुख देख्न नपाए नि लास त चाँडै ल्याइदिए हुन्थ्यो ।’
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित पटवारी टोलका २६ वर्षीय राजेश स्वर्णकारको परिवारमा वृद्ध आमा कैलाशदेवी र बुबा राजकुमार रातदिन रोइरहेका छन् । सरकारले शव ल्याउन ढिलाइ गर्दा स्वर्णकार परिवारमा शोक र आक्रोश एकसाथ बढेको छ । ‘सरकारले शव ल्याउने पहल गर्दै छौं भनेर आश्वासनमात्र दियो । एक साता बितिसक्दा पनि नल्याइदिएपछि परिवारमा पीडा थपिएको छ,’ राजेशका दाजु मुकेशले भने, ‘हामी वैष्णवमार्गी परिवार भएकाले अन्तिम संस्कार गर्नमा अलमल भइरहेको छ ।’ विश्वविद्यालयले इन्टर्नसिपमा इजरायल पठाउँदा अभिभावकलाई कुनै जानकारीसमेत नदिएको उनीहरूको आरोप छ । ‘विश्वविद्यालयले इन्टर्नमा पठायो । अचानक मारिएपछि खबर फैलियो । अहिलेसम्म हामी अभिभावकलाई विस्तृत जानकारी दिन सकेको छैन,’ राजकुमारले भने ।  

धनुषाको सपहीमा प्रहरीको गाडी आएको थाहा पाए सोमन साह र शिवकली दम्पती छोराको शव आएको हो कि भनेर सोधीखोजी गर्छन् । इजरायलमा मृत्यु भएका २५ वर्षीय आनन्दको शव पर्खंदै उनीहरू दाहसंस्कार गर्ने पर्खाइमा बसिरहेका छन् । स्नातक अध्ययनरत आनन्दकी दुई बहिनी सरस्वती र आरतीको शरीर पनि कमजोर बनेको छ ।
घटनाको भोलिपल्ट घरमा आएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शव ल्याउन पहल भइरहेको बताएका थिए । ‘चाँडै लास ल्याइदिएको भए परम्पराअनुसार दाहसंस्कार गर्थ्यौं,’ सोमनले भने, ‘सहारा, आशा, भरोसा त गुम्यो नै अब एकमात्र चाहना आनन्दको मुख हेरेर दाहसंस्कार गर्नुछ ।’ ८ कामा लगाएको धान फल्ने बेला पानी लगाउनसमेत नसकेको उनले बताए । ‘वर्षौंसम्म मलेसिया र कतारमा पसिना बगाएर छोराको उज्यालो भविष्यको सपना देखें । अहिले यो अवस्था व्यहोर्नुपर्‍यो,’ उनी भन्छन् ।
आनन्दलाई सम्झेर परिवारका सदस्यहरू छिनछिनमै मूर्च्छित हुँदा छिमेकीले सम्हाल्ने गरेको स्थानीय ६८ वर्षीय रामनारायण साहले बताए । आक्रमण हुनुअघि अन्तिम पटक अघिल्लो शुक्रबार राति ८ बजेतिर आनन्दले भिडियो कलमा आमा शुभकली र बहिनीसँग लामो कुराकानी गरेका थिए । इजरायलमा मारिएका १० विद्यार्थीको शव एकैसाथ ल्याउने प्रक्रियामा परराष्ट्र मन्त्रालय रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

आमा पार्वती अचेतजस्तै भएर एउटा कोठामा टोलाइरहेकी छन् । छिमेकीले सम्हालिरहे पनि उनी बोल्न सक्दिनन् । अर्को कोठामा ७१ वर्षीया हजुरआमा ईश्वरी पल्टिइरहन्छिन् । उनको अवस्था पनि पार्वतीको जस्तै छ । एक साताअघि इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दीपेशराज विष्टको शव नआउँदा परिवारमा पीडा झन् बढ्दै गएको छ । ‘सरकारले लास ल्याउँछ कि ल्याउँदैन केही जानकारी छैन, हामीलाई कसैले केही सोधेका पनि छैनन्, बताएका पनि छैनन्,’ दीपेशका हजुरबुबा ७४ वर्षीय घनश्यामले भने, ‘लास नआउँदा काजकिरियाको पनि समस्या भयो, अन्तिम संस्कार नगरी कसरी किरिया गर्नु ?’
घटनाका दिन घनश्याम श्रीमती र बुहारीसँगै पुर्ख्यौली घर दार्चुलाको लेकम गाउँपालिका–५ रिठाचौपातामा थिए । पार्वती गाउँमा शिक्षक हुन् । बुहारी र सासूससुरा सँगै बस्छन् । कञ्चनपुरको भीमदत्त–१८ निम्बुखेडास्थित घरमा कान्छो छोराबुहारी र नातिनातिना बस्छन् । घटनाको दोस्रो दिन मात्रै उनीहरू महेन्द्रनगर आएका हुन् ।
घनश्यामले २० वर्षअघि छोरा (दीपेशका बुबा) गुमाए । दीपेशका भाइ वसन्त अहिले धरानमा एमबीबीएस अध्ययनरत छन् । आमा र हजुरबुबाले निकै मिहिनेत गरेर दुई भाइलाई हुर्काए । नातिहरू हेरेर छोरालाई बिर्सेका घनश्यामलाई इजरायल घटनाले फेरि ठूलो पीडा दियो । ‘पीडा बिर्सिंदै नातिहरू हेरेर अब ठिकठाक हुन्छ भन्ने थियो,’ उनले भने, ‘सुख दिने बेला जेठो नातिले पनि छाडेर गयो । विद्यार्थीसँगै लास पनि आउँछ भन्ने सोचेका थियौं, तर त्यसो भएन, अब त चाँडो गरिदिनुपर्‍यो ।’

पढाइका सिलसिलामा इजरायल पुगेका २४ वर्षीय छोरा प्रवेशको मृत्युको खबर सुनेयता सल्यानको शारदा नगरपालिका–३ सिरुवारका चक्रबहादुर भण्डारी र चन्द्रिका भण्डारी दिनभर पिँढीमा बसिरहन्छन् । एक्लो छोराको मृत्युको पीडाले सातादेखि मुखमा अन्न नहाल्दा चन्द्रिका कमजोर भएर बोल्न नसक्ने भएकी छन् । ‘घर फर्कनेलाई ल्याउन इजरायल गएको जहाजमा छोराको लास आउँछ कि भन्ने आशा थियो । अब त चाँडै आउला भन्ने लाग्दैन,’ चक्रबहादुरले भने, ‘दाहसंस्कार नगर्दासम्म न काजकिरिया गर्न सकिन्छ, न अरू काम ।’
सरकारले शव ल्याउने सक्रियता नदेखाएको र मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरेर जिम्मेवारबाट पन्छिन खोजेको उनको गुनासो छ । छोरा इजरायल जाने तयारी गर्दा पटकपटक सम्पर्क गर्दै आएको क्याम्पसले घटनापछि सम्पर्क नगरेकामा धेरै दुःख लागेको उनले बताए ।

 

विपिनको अवस्था पत्ता लगाउन परिवारको माग
इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको परिवार अन्योलमा छ । एक सातादेखि सम्पर्कविहीन छोराको अवस्थाले पीडा बढेको आमा पद्माले बताइन् । ‘आक्रमणकारीले अपहरण गरेको हाम्रो अनुमान छ, सञ्चारमाध्यममा पनि त्यही कुरा देखेका छौं, तर आधिकारिक कतैबाट पनि जानकारी पाएका छैनौं,’ उनले भनिन्, ‘यो अन्योल कहिलेसम्म ? हामीले छोराको अवस्था पनि थाहा पाउन नसक्ने भयौं ।’
उनका अनुसार बिहीबार राति इजरायलबाट आएका विपिनका साथीहरूले समेत अपहरण भएको जानकारी दिएका छन् । सञ्चारमाध्यममा आउने फरक–फरक सूचनाले झनै पीडा दिएको विपिनका बुबा महानन्द बताउँछन् । ‘कसैले अस्पतालमा उपचार भइरहेको भने, कसैले अपहरणमा परेको भने तर वास्तविकता कसैले भनेनन्,’ उनले भने, ‘आफन्तले फोन गरेर विपिनको बारेमा यस्तो आयो, उस्तो आयो भनेर सोध्छन् ।’
हमासले सुरुमा आक्रमण गर्दा विपिन १७ जना साथीसँग एउटै बंकरमा थिए । आक्रमणकारीले हानेको पहिलो ग्रिनेडलाई विपिनले समातेर उनीहरूतिरै फर्काएका थिए । त्यसपछि भने उनलाई अपहरण गरेर लगेको साथीहरूले जानकारी दिएको पद्माले बताइन् । ‘सरकारले चाँडोभन्दा चाँडो विपिनको अवस्था पत्ता लगाइदिनुपर्छ, हामीलाई यो अन्योलबाट मुक्त गर्नुपर्छ,’ उनले भनिन्, ‘अपहरणमा परेको कि कतै अस्पतालमा छ कि खोजी गर्ने काम त सरकारकै हो ।’ मानव अधिकारवादी अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत छोराको खोजी गरिदिन उनले आग्रह गरेकी छन् ।

मुख्य पृष्ठ

कोशी मुख्यमन्त्रीमा कार्की

पुस ११ देखि साढे नौ महिनायता मात्र कोशी प्रदेशमा ५ जना मुख्यमन्त्री, कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने
- देवनारायण साह

(मोरङ)
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त कार्कीले शपथ भने आइतबार लिनेछन् ।
कांग्रेस नेता शेखर कोइराला निकट कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन् । कोशीमा पुस ११ देखि सुरु भएको दोस्रो प्रदेशसभाको साढे नौ महिने कार्यकालमा कार्की ५ औं मुख्यमन्त्री नियुक्त भएका हुन् । यो अवधिमा हिक्मत कार्की र उद्धव थापा २/२ पटक मुख्यमन्त्री भइसकेका हुन् । सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएका एमाले नेता हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि असोज २० मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसपछि कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की र गठबन्धन दलको सिफारिसमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले शुक्रबार मुख्यमन्त्रीका लागि आ–आफ्ना दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेसका लागि दिएको सातदिने समय शुक्रबार ५ बजे समाप्त भएपछि शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म दुवै दाबेदारलाई समर्थन गर्ने सांसदहरूको सनाखतका लागि उपस्थित हुन आह्वान गरेका थिए । कार्कीले मुख्यमन्त्रीमा दाबी पेसका लागि समर्थन गरेका ४७ सांसदसहित उपस्थित भएर प्रदेश प्रमुख खापुङको उपस्थितिमा सनाखत गराएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमत ४७ सांसदको सनाखत प्रमाणित गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे ।
संस्थापन पक्षसँग विद्रोह गरेका ८ जना कांग्रेस सांसदको ‘फर्जी हस्ताक्षर’सहित गठबन्धन दलको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेस गरेका माओवादी नेता आङ्बो सनाखतका लागि उपस्थित भएनन् । बहुमत सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा अर्का दाबेदार आङ्बोको सनाखत गराइरहनु नपर्ने भन्दै प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्ति लिएपछि पत्रकारसँगको कुराकानीमा कार्कीले सांसदहरूको मध्यावधि रोक्ने कदमका कारण आफू मुख्यमन्त्री बनेको बताएका छन् । ‘कोशीमा नयाँ गठबन्धन वा दलीय गठजोड नभएर प्रदेशलाई मध्यावधि चुनावमा जानबाट रोक्न सांसदहरूले चालेको सामूहिक कदमले मुख्यमन्त्री भएको छु,’ कार्कीले भने, ‘सांसदहरूको सामूहिक एकताले मध्यावधि टरेको र अब स्थिर सरकार बन्ने भएको छ ।’
नवनियुक्त मुख्यमन्त्री कार्कीले गठबन्धन दलको निर्णयविपरीत आफूले कांग्रेसमा विद्रोह गरेको भन्न नमिल्ने जिकिर गरेका छन् । सरकार बनाउने दलीय प्रयास विफल भएपछि संविधानको धारा १६८ को उपधारा (५) बमोजिम विश्वासको मत प्राप्त गर्न सक्ने कुनै पनि प्रदेश सांसद मुख्यमन्त्री बन्न पाउने व्यवस्थाअनुसार सांसदहरूले प्रयोग गरेको विवेकले मुख्यमन्त्री नियुक्त भएको उनले बताए । ‘गठबन्धन दलका सांसदको मात्रै समर्थनले सरकार नबन्ने यसअघि नै प्रमाणित भइसकेकाले दलीय स्वार्थबाट माथि उठेर प्रदेशसभा जोगाउन र संविधान कार्यान्वयनका लागि प्रदेश सांसदहरूको सामूहिक प्रयासमा विकल्प खोज्यौं,’ उनले भने, ‘मध्यावधि रोक्ने सांसदहरूको अठोटले प्रदेशसभा जोगाउन सफल भएकाले यसमा सबै दल सकारात्मक छन् ।’ मुलुक संघीयतामा गइसकेको अवस्थामा पनि केन्द्रकै निर्णयमा आश्रित रहने प्रदेशमा संवैधानिक हक प्रयोग गरेर सांसदहरूले प्रदेशको निर्णय प्रदेशबाटै गरेको दृष्टान्त स्थापित भएको उनले बताए ।
कार्कीले गठबन्धन दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कोशीमा सत्तारूढ गठबन्धनबाट मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको’ भनी दिएको अभिव्यक्तिले हामीले गरेको निर्णय सही सावित भएको बताए । प्रधानमन्त्री दाहालले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले समर्थन र विश्वासको मत दिने अभिव्यक्तिले पनि प्रदेश सांसदहरूको सामूहिक निर्णयप्रति कसैको विमति रहेको स्पष्ट भइसकेको उनले बताए । प्रधानमन्त्री दाहालले शनिबार बिहान चितवनमा उक्त अभिव्यक्ति दिएका हुन् । गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशी प्रदेशमा समस्या आए पनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको प्रतिक्रिया दिएका छन् । ‘केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा–परिचर्चा चलेको थियो त्यस्तो छैन,’ दाहालले भनेका थिए, ‘चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धनभित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’
गठबन्धनलाई बलियो बनाउनका लागि माओवादी र कांग्रेस नेताहरू दृढ रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । कोइराला समूहका कार्कीले कांग्रेस र गठबन्धनको निर्णय अस्वीकार गरी एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि सत्तारूढ गठबन्धनमध्ये कांग्रेस र माओवादीका शीर्ष नेताहरूले शनिबार बिहान सहमति गरेका थिए । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ बालुवाटारमा बसेको दाहाल, देउवा र कोइरालाको हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।
कार्कीले मुख्यमन्त्री नियुक्तिका लागि कठोर कदम चालेका सांसदहरूको सामूहिक निर्णयअनुसार सरकार गठन गर्ने बताएका छन् । उनले विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने बताए । उनी सरकार गठनलगायतका विषयमा परामर्शका लागि शनिबारै काठमाडौं पुगेका छन् । कोइरालाले पार्टी जोगाउनका लागि कोशीमा विद्रोह गरेर कार्कीलाई मुख्यमन्त्री बनाएको बताएका छन् । तर आउँदो पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका कोइरालाले आफ्नो गृह प्रदेश कार्कीलाई मुख्यमन्त्री बनाएर बलियो उपस्थिति देखाउन पार्टी र गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका हुन् ।

संसदीय दलबाट थापाको राजीनामा
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् । पार्टीका प्रदेश सभापतिसमेत रहेका थापाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । पार्टी र प्रदेशसभा संसदीय दलको निर्णयविपरीत विद्रोह गरेर मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका कार्कीलाई मुख्यमन्त्री स्वीकार गरेको उनले बताए । ‘कोशी प्रदेशमा अहिलेसम्मको राजनीतिक घटनाक्रम विकास भएको अवस्थामा नैतिकताका आधारमा संसदीय दलको नेतामा बसिरहन नमिल्ने भएकाले राजीनामा दिएको हुँ,’ उनले भने, ‘दल र गठबन्धनको निर्णय दलको नेता भएर कार्यान्वयन गराउन नसकेकाले पदमा बसिरहन नैतिकताले मिलेन ।’
मुख्यमन्त्रीको दाबेदारसमेत रहेका थापाले आफूले यसअघि नै दलको नेताबाट राजीनामा दिन खोजे पनि उपयुक्त अवसर नमिलेकाले ढिलाइ भएको सुनाए । उनी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनको पहिलो पटक सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर भएको मुख्यमन्त्री नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो । त्यसपछि दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि सभाध्यक्षको समेत मतले विश्वासको मत लिएपछि पुनः सर्वोच्चले असंवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरिदिएको थियो । दुई पटकसम्म मुख्यमन्त्रीबाट पदमुक्त हुँदा पनि थापाले यसअघि संसदीय दलको नेता छोड्न तयार भएका थिएनन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि दलका प्रदेश सांसदहरूसँग छलफल गरेर संसदीय दलको नेता चयन गर्ने बताएका छन् ।

को हुन् नवनियुक्त मुख्यमन्त्री कार्की ?
विद्रोही स्वभावका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी राजनीतिबाट मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका छन् । आमा स्वर्गीय ईश्वरी र बुवा प्रेमबहादुर कार्कीका तीन छोरामध्ये कान्छो केदारको जन्म २०३० पुस ७ गते सप्तरीको धरमपुरमा भएको हो । उनको बसोबास अहिले मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकिसिनुवारीमा छ । सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेशमा अध्ययन गर्ने क्रममा २०४४ सालमा नेविसंघको इकाइ सभापति भएर मध्यम वर्गीय परिवारका कार्कीले विद्यार्थी राजनीति सुरु गरेका थिए । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका कार्की २०५२ सालमा नेविसंघ क्याम्पस इकाइ सभापति, क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्य भएर विद्यार्थी राजनीति टुंग्याएका थिए । त्यसपछि पार्टी राजनीतिमा होमिएका उनी जिल्ला सभापतिमा डिगबहादुर लिम्बूसँगको प्रतिस्पर्धामा र पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।
कार्कीले मोरङ ६ (२) मा पहिलो प्रदेशसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका हुन् । पहिलो प्रदेशसभामा संसदीय दलमा प्रमुख सचेतकको भूमिकासँगै आन्तरिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दोस्रो प्रदेशसभामा सोही क्षेत्रबाट एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गरेर पुनः निर्वाचित भएका उनी अहिले एमालेको नै समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । दोस्रो पटक निर्वाचित भएका कार्की संसदीय दलको नेतामा भने उद्धव थापासँग पराजित भएका थिए । राजनीतिका साथै नवनियुक्त मुख्यमन्त्री कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि सक्रिय छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयका पूर्वसिनेट सदस्य हुन् । जुडो संगठन मोरङ जिल्ला अध्यक्षका हैसियतमा पनि उनले काम गरिसकेका छन् । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी र २ छोरा छन् ।

Page 2
म्यागेजिन

कांग्रेसमा 'कोशी विद्रोह' को सन्देश

एमालेसागको सहकार्यमा कांग्रेसका शेखर कोइराला समूहको विद्रोहले सत्ता गठबन्धनमा हलचल
- कलेन्द्र सेजुवाल,मणि दाहाल

(काठमाडौं)
कांग्रेस पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेको समर्थनमा कांग्रेस सांसद केदार कार्कीले बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि एकाएक राष्ट्रिय राजनीतिमा हलचल उत्पन्न भयो । उनको दाबीलाई निस्तेज पार्न कांग्रेस र गठबन्धनले सबै हत्कण्डा प्रयोग गर्ने आकलन गरिएको थियो । अझ कांग्रेसले पार्टी निर्णयविरुद्ध विद्रोह गरेका सांसदहरूलाई कारबाही गर्नेसम्मको अनुमान थियो । तर, शुक्रबार दिनभर कांग्रेस सभापति शेरबहादुर देउवा र गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले विद्रोहमा उत्रेका सांसद समूहका नेता शेखर कोइरालालाई फकाउने प्रयास गरे । दुवै नेताले ‘कार्कीलाई नै मुख्यमन्त्री मान्न तयार भएको, तर एमालेको चंगुलबाट बाहिर निस्किनुपर्ने’ सर्त राखे । कोइराला अडानबाट टसमस भएनन् । कांग्रेससमेत विद्रोहप्रति मौन बसेपछि शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे ।
कांग्रेसको १४ औं महाधिवेशदेखि कोइरालानिकट कार्की प्रदेशको मुख्यमन्त्री भएपछि त्यसले राष्ट्रिय राजनीति तरंगित बनाएको छ । कोशीको विद्रोहको भेल एकैपटक कांग्रेससँगै गठबन्धनभित्र पसेको छ । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल कोशीको पछिल्लो राजनीतिले संसदीय अंकगणितको खेलमा मनपरी गरिरहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवामाथि ठूलो चेतावनी दिएको बताउँछन् । ‘पछिल्लो समय शीर्ष नेताहरूले  प्रदेशको राजनीतिमा समेत मनपरी गर्दै निर्णय लादिरहेका थिए, शेखरजीको आडमा कोशीका सांसदहरूले त्यसलाई चुनौती दिएका छन्,’ उनले भने ।
प्रदेशको राजनीति केन्द्रबाटै निर्देशित र नियन्त्रित हुने अभ्यासले पछिल्लो समय संघीयतामाथि वितृष्णा उब्जेको थियो । प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सभामुख र राजनीतिक नियुक्तिहरू केन्द्रमै भागबन्डा हुँदा प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठ्ने गरेको थियो । कोशीकै सन्दर्भमा दुईपटक मुख्यमन्त्री नियुक्त भई दुवै पटक सर्वोच्चको आदेशबाट पदमुक्त भएका उद्धव थापालाई कांग्रेसले तेस्रोपटक मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै कांग्रेसकै कार्कीले दाबी पेस गरेपछि गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको थियो । ‘तर कोशीका कांग्रेस सांसदहरूले काठमाडौंमा तय भएका आफ्नो दल र गठबन्धन दल (माओवादी) का उम्मेदवारलाई अस्वीकार गरेर गलत निर्णयको प्रतिवाद गरेका छन्,’ प्राध्यापक बरालले भने ।
कोशीमा एमालेसँगको सहकार्यमा कोइराला समूहको विद्रोहले सत्ता गठबन्धन पनि असुरक्षित भएको छ । पछिल्लो समय कांग्रेसभित्र कोइरालाका साथै महामन्त्री गगनकुमार थापाले माओवादीसँगको गठबन्धन तोड्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । यही पृष्ठभूमिमा कोशीमा कोइराला समूहले एमालेसँग सत्ता–सहकार्य गरेपछि गठबन्धनको जग हल्लिएको महसुस नेताहरूले गरेका छन् । त्यसैले शनिबार बिहान प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले कोइरालालाई बालुवाटार बोलाएर गठबन्धनप्रति प्रतिबद्ध भएको लिखित ग्यारेन्टी मागेका थिए । दाहाल–देउवा–कोइरालाले हस्ताक्षर गरेको एकबुँदे हस्तलिखित सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’
स्रोतका अनुसार कोइराला सहमतिमा तयार भएको सूचनापछि मात्र प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्ति प्रक्रिया थालेका थिए । आफ्नो निर्णयमाथि चुनौती दिँदै मुख्यमन्त्री नियुक्त भए पनि गठबन्धनले कार्कीलाई मुख्यमन्त्रीको रूपमा स्विकारेको छ । शनिबार चितवन पुगेका प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक विवादका कारण कोशीमा समस्या आए पनि त्यसलाई ‘सुरक्षित अवतरण’ गरिएको बताएका छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य एमाले र कोइराला समूहबीच कोशीमा भएको गठबन्धनले नेपालको सन्दर्भमा सबै पार्टी सबैका लागि ग्राह्य हुने गरेका सन्देश पनि दिएको बताउँछन् । भित्री स्वार्थ जेजस्तो भए पनि प्रदेशलाई मध्यावधिमा जानबाट रोकेर राजनीतिलाई सहज निकास दिएको उनको भनाइ छ । ‘हुन त एमालेले गठबन्धनभित्र खेल्ने रणनीतिअनुसार कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गरेको हुन सक्छ, तर यसले त्यहाँको राजनीतिलाई निकास दिएको छ,’ उनले भने, ‘अर्कोतर्फ माओवादी केन्द्रले हैसियतभन्दा बढी माग गर्दा त्यसलाई अन्य दलले अस्वीकारसमेत गरेका छन् ।’
कांग्रेस राजनीतिबारे जानकार राजनीतिक विश्लेषक आचार्य कोशी विद्रोहलाई स्थानीय स्तरमा सत्तास्वार्थको रूपमा व्याख्या गरिए पनि बृहत्तर रूपमा हेर्दा यसले कांग्रेसभित्र एकोहोरो निर्णय गर्ने नेतृत्वको स्वेच्छाचारितामा ‘ब्रेक’ लगाएको बताउँछन् । यसले पार्टीभित्र कोइरालाको प्रभाव बढाएको उनी बताउँछन् । ‘कसको शक्ति कति भन्ने आफ्नो ठाउँमा छ, तर पार्टी चलाउने क्रममा त्रुटि भएपछि विद्रोह हुन्छ भन्ने सन्देश दिएको छ,’ भने, ‘यसरी भएको विद्रोह नेतृत्वलाई रोक्न गाह्रो छ भन्ने सन्देश पनि सँगसँगै गएको छ ।’ यसले कांग्रेसभित्र इतर समूहका नेता कोइरालालाई प्रभावशाली बनाएको उनले बताए ।
कोशी विद्रोहलाई अहिले कांग्रेसभित्र २०५१ सालमा भएको विद्रोहकै सरह व्याख्या गर्ने गरिएको छ । महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणलाई ०५१ पछिको ठूलो विद्रोह भन्दै यसलाई स्विकार्न नसकिने बताएका थिए ।
अर्कोतर्फ कोशी विद्रोहले कांग्रेसको प्रदेश शक्ति सन्तुलनमा पनि बदलाव ल्याएको छ । कोशीमा संस्थापन, कोइराला र कृष्णप्रसाद सिटौला समूहको समानखाले हैसियत रहेको छ । १४ औं महाधिवेशनपछि देउवासँग निकट रहेका सिटौलालाई कोशीमा देउवाले साथ दिँदै आएका छन् । त्यसैले सिटौलाकै जोडबलमा देउवाले तेस्रोपटक पनि थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । देउवाको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै उनको समूहमा रहेका संसदीय दलका उपनेता हिमाल कार्कीले बिहीबार पदबाट राजीनामा दिएर कार्कीलाई समर्थन गर्न पुगेका थिए । पछिल्लो घटनाले कोशीमा सिटौला र संस्थापनमाथि कोइराला समूह हाबी भएको छ । कार्की मुख्यमन्त्री बनेपछि प्रदेशमा कोइरालाको प्रभुत्व बढेको कांग्रेसका संस्थापन पक्षीय एक प्रदेश सांसदले बताए ।
‘शक्ति संघर्षमा कोइराला र सिटौलाबीच प्रमुख प्रतिस्पर्धा छ, यस विद्रोहबाट शेखर दाइले एकै पटक प्रदेशमा सिटौला र केन्द्रमा देउवामाथि प्रहार गर्नुभएको छ,’ ती सांसदले भने । १४ औं महाधिवेशनमा कोशीको प्रदेश सभापतिमा सिटौला पक्षका उम्मेददार उद्धव थापाले कोइराला पक्षका गुरुराज घिमिरेलाई सभापतिमा हराएका थिए । थापालाई देउवा पक्षले पनि सहयोग गरेको थियो । शनिबार कार्की मुख्यमन्त्री बनेसँगै थापाले नैतिकताको आधारमा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । ‘मुख्यमन्त्रीको लागि भएको विद्रोहले कोशीमा कोइरालाको वर्चस्व स्थापित गरेको छ भने सिटौलालाई सिथिल बनाएको छ,’ ती प्रदेश सांसदले भने ।

मुख्यमन्त्रीको  एमालेसँग ३ बुँदे समझदारी
कोशी प्रदेशमा कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमाले गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिबाट झस्किएको छ । एमालेले कार्कीको भूमिकाअनुसार आगामी दिनको समर्थन निर्धारण गर्ने भएको छ ।
कोशी एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री इमान्दार रहुन्जेल समर्थन जारी रहने बताए । ‘केन्द्रमा सहमति भएको समाचार आएको छ र प्रधानमन्त्री पनि बोल्नुभएको कुरा आएको छ,’ कार्कीले भने, ‘मुख्यमन्त्री इमान्दार रहुन्जेल सहकार्य गर्छौं ।’ उनले तीन विषयमा मुख्यमन्त्रीसँग सहमति रहेको बताउँदै भने, ‘मध्यावधि चुनावमा तत्काल नजाने, सुशासन प्रत्याभूति र सरकारमा सहभागिताको विषय छ ।’ उनले कांग्रेससँगै सहकार्य गर्न तयार रहे पनि संस्थागत रूपमा केही नआएकाले कार्कीलाई साथ दिएको बताए ।
‘उहाँ (केदार कार्की) ले केही माननीय लिएर आउनुभयो, हाम्रो संख्याले पुग्दैनथ्यो, हामीले थपेर सरकार बनाएका हौं,’ उनले भने, ‘कांग्रेस र हामी भएको भए दुई तिहाइ हुन्थ्यो, सरकार पनि राम्रोसँग चल्थ्यो । कांग्रेसले इच्छा नदेखाएकाले माओवादीलाई सरकार बनाऔं भन्यौं । हामीबीच सुविधाजनक बहुमत हुने थियो ।’ सिन्धुली पुगेका एमालेका महासचिव शंकर पोखरेलले पनि मुख्यमन्त्री कार्कीको भूमिकाले सरकारमा सहभागिताको विषय टुंगो लाग्ने बताएका छन् । ‘भोलि एमाले मन्त्रिपरिषद्मा सहभागी हुने वा नहुने कुरा मुख्यमन्त्रीको भूमिकामा भर पर्छ,’ पोखरेलले भने, ‘हामीले स्वाभाविक रूपमा वैकल्पिक सरकारका लागि साथ दिएका छौं । उहाँ गठबन्धनतिर नफर्किए एमालेले साथ दिन्छ ।’

म्यागेजिन

'संकट तत्काललाई टर्‍यो'

- गंगा बीसी

(काठमाडौं)
एमालेले कोशी मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई समर्थन गरेपछि प्रधामन्त्री निवास र कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सानोतिनो भुँइचालो नै गयो ।
 कांग्रेसभित्रबाट विद्रोह भए पनि त्यसको असर गठबन्धनलाई समेत पर्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाले कार्कीलाई समर्थन गरी संकट तत्कालका लागि टारेका छन् । प्रदेश प्रमुखले नेपालको संविधान १६८ (५) अनुसार प्रदेश सरकार गठनका लागि गरेको आह्वान गरेपछि सर्वोच्चको २०७८ असार २८ मा सांसदले स्वतन्त्र रूपमा समर्थन गर्न सक्ने प्रावधानमा टेकेर एमालेले कार्कीलाई समर्थन गर्दै गठबन्धनमा फाटो ल्याउने रणनीति लियो ।
कोशीमा एमालेको समर्थनमा कांग्रेसका शेखर कोइराला पक्षका कार्की मुख्यमन्त्री भए त्यसको ‘साइड इफेक्ट’ अरू प्रदेश र अन्ततः संघमा पर्न सक्ने अनुमान गर्दै दाहाल र देउवाले हतारहतार शेखरसँग सहमति गरे । ‘हामी यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं’ कार्की नियुक्ति भएसँगै यो सहमति भएको थियो । माओवादी उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री, कांग्रेस सभापति र कांग्रेस नेता कोइरालबीच भएको सहमतिले कोशीको राजनीतिक संकट टरेको बताए ।
‘राजनीतिक दलहरूबीच निर्वाचनमा जाने कि गठबन्धनमा सहमति गर्ने भन्ने दुई विकल्प थिए’ उनले भने, ‘हाम्रो पार्टीका आङ्बोलाई समर्थन गरेर गएको भए राप्रपाको साथ पाउने सम्भावना पनि थियो । तर कांग्रेसको आन्तरिक समस्याका कारण इन्द्रजीको सट्टा कार्कीजीलाई समर्थन गरी गठबन्धन बलियो बनाउने सहमति भएको छ ।’ उनले कोशीमा मध्यावधिमा जाने संकट टरेको बताए ।
‘शीर्ष नेताले नै गठबन्धन कमजोर हुन दिन्नौं भनेर लिखित सहमति गरेपछि अब समस्या छैन,’ उनले थपे । गठबन्धनमा संकट आउने भएपछि विगतको सहमतिबाट पछि हटेर इन्द्र आङ्बोलाई फिर्ता गराइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीबाट मन्त्री बनाई अघि बढ्नुपर्ने बताए । ‘सहमति भएकाले अब मुख्यमन्त्रीले कांग्रेस, माओवादीबाट मन्त्री बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘त्यसो भएन भने फेरि संकट आउन सक्छ । त्यो हुन दिनु हुँदैन ।’
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार एमालेको कोशीमा गठबन्धन टुटाएर अन्य प्रदेशमा आक्रमण गर्ने प्रयास विफल बनाउन रातभर कसरत गर्नुपरेको थियो । एमालेसँग सहमति भइसकेकाले पछि हट्न नसकिने बताएका शेखर शनिबार बिहान कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउन तयार भए । ‘कोशीमा सतहमा हेर्दा कांग्रेसको समस्या जस्तो देखिए पनि त्यो गठबन्धनका लागि घातक कदम एमालेले चालेको थियो’ दाहालनिकट एक नेताले भने, ‘कोशीको समस्या समाधान नगरेको भए त्यसको असर प्रदेश हुँदै संघीय सरकारमा पर्न सक्ने जोखिम थियो ।’
दाहालनिकट स्रोतले मध्यावधिमा जाने अवस्थामा राप्रपाले सघाउने दाबी गरेको छ । तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा तटस्थ रहने बताउँदै भने, ‘प्रमुख दल मिलेर सरकार चलाउनुस् भनेका छौं ।’

Page 3
समाचार

न्यायका लागि धर्ना बस्दा लछारपछार

- मधु शाही

(काठमाडौं)
छोरी आरती साहको न्यायका लागि भन्दै गत असार २ देखि काठमाडौंको माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बसिरहेकी निर्मलालाई शनिबार बिहान प्रहरीले लछारपछार पार्दै दुर्व्यवहार गरेको छ ।
बिहान सुतिरहेकै अवस्थामा प्रहरीको टोली अचानक आएर ‘माथिको आदेश छ, यो ब्यानर हटाउनुपर्‍यो’ भन्दै आरती साहको न्यायको अपिल गरिएको ब्यानर एकाएक च्यात्न थालेका थिए ।
२ सय २१ दिनदेखि धर्नामा बसेकी निर्मला रुँदै हारगुहार गर्न थालिन् । ‘आरतीलाई न्याय दे’ भन्दै उनका बुबा विनोद र भाइ प्रेम चिच्याउन थाले । तर प्रहरीले भने उनीहरूलाई जबर्जस्ती भ्यानमा राखी सिंहदरबार प्रहरी बिटमा पुर्‍यायो । प्रेमले कान्तिपुरसँग भने, ‘बिहानैदेखि भोकभोकै प्रहरी बिटको चिसो भुइँमा राखिएको छ ।’ जनकपुरधाम–९ की आरतीका माइती पक्ष छोरीको दाइजोका नाममा हत्या भएको जिकिर गर्दै धर्नामा बसेका हुन् ।
स्नातक तह दोस्रो वर्षमा पढ्दापढ्दै मोतीबाबुसँग बिहे भएको थियो । बिहेअघि विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए पनि बिहेपछि फेरि दाइजोकै नाममा आरतीलाई यातना दिएर हत्या गरिएको परिवारको दाबी छ । माइती पक्षले मोतीबाबु र ससुरा मदनमोहनविरुद्ध धनुषा प्रहरीमा किटानी उजुरी गर्न पटकपटक जाँदा पनि जाहेरी दर्ता गर्न नमानेपछि न्याय खोज्दै माइतीघर मण्डलमा धर्ना बस्न थालेका थिए । जसोतसो उजुरी दर्ता भए पनि अभियुक्त दुवै साधारण धरौटीमा छुटेका छन् ।
आरतीका मामा सन्तोष साहका अनुसार धर्नामा बसिरहेका बेला चार दिनअघि पनि संगठित रूपमा अज्ञात व्यक्तिहरू आएर आरतीका परिवारमाथि हमला गर्न खोजिएको थियो । होहल्ला गरेपछि भागेका थिए । भाग्ने क्रममा एउटा मोबाइल भेटिएको र प्रहरीलाई अनुसन्धान गर्न भनी दिइएको सन्तोषले सुनाए । मेडिकल काउन्सिलले समेत पोस्टमार्टम रिपोर्टमा त्रुटिपूर्ण भएको बताएको छ । त्यही त्रुटिपूर्ण पोस्टमार्टमको आधार मानेर अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारिखमा छोडिदिनु न्यायोचित नभएको आरतीका परिवारले गुनासो गरेका छन् ।

Page 4
युवा ग्यालरी

‘म्लेच्छ’मा आदिवासीका कथा

झापा (कास)– झापाको परिवर्तन थिएटरले आदिवासी समुदायको कथालाई नाटक ‘म्लेच्छ’ प्रदर्शनमा ल्याएको छ ।
सीमान्त सहर काँकडभिट्टामा सक्रिय परिवर्तनको नाट्य टोलीले असोज २५ गतेदेखि नाटक
म्लेच्छ प्रदर्शन गरिरहेको छ ।
नाटकमा आदिवासीको विगतदेखि वर्तमानसम्मका कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ । राज्यसत्ताबाट उनीहरूले वर्षौंदेखि भोग्दै आएको विभेद र ताडनाको कथा नै ‘म्लेच्छ’ को मूल कथा हो ।
‘अनार्थ जातिमाथि राज्यले गरेको सांस्कृतिक र सामरिक दमन नाटकमा चित्रित छ,’ नाटक हेरिसकेपछि प्राज्ञ तथा कवि मुनाराज शर्माले भने, ‘आदिवासीमाथि राज्यसत्ताले गरेको जालझेल र तिकडमलाई नाटकमा रोचक ढंगले प्रस्तुत गरेको पाइयो ।’ पत्रकार पर्वत पोर्तेलले लेखेको नाटकलाई युवा निर्देशक गणेश बस्नेतले निर्देशन गरेका हुन् ।
नाटकमा कविता नेपाल, गणेश बस्नेत, लोमस पौडेल, लीला विष्ट, प्रतीक्षा आचार्य, गगन क्षत्री, राजन जिरेल, एन्जल खड्का, कविता पौडेल, सञ्जोग राई, अनिश बस्नेत, सुष्मा पोखरेल, झरना खनाल, भावना न्यौपाने, कृष्ण पौडेल र नवराज पाठकलगायतले अभिनय गरेका छन् । नाटक कात्तिक ३ सम्म प्रदर्शन हुनेछ ।

युवा ग्यालरी

क्याटालोनियामा स्पेनको प्रत्यक्ष शासन

सन् २०१७ मा आजकै दिन

सन् २०१७ मा आजकै दिन (अक्टोबर १५) मा स्पेनले क्याटालोनियामा क्षेत्रमा प्रत्यक्ष शासन सुरु गरेको थियो ।
२०१७ को अक्टोबर १ मा क्याटालोनिया क्षेत्रमा स्वतन्त्रतासम्बन्धी जनमत संग्रह गरिएको थियो । क्याटलोनियाका सरकार प्रमुख कार्लस पुइगडेमोन्टले जनमत संग्रहमार्फत क्याटलोनियालाई अलग राज्य घोषणा गर्ने जनमत मिलेको दाबी गर्दै स्वतन्त्र राष्ट्र घोषणाको तयारी गरेका थिए । जसका कारण स्पेनको केन्द्र सरकारले क्याटालोनियमाथि प्रत्यक्ष शासन सुरु गरेको थियो ।
जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले अवैधानिक ठहर गरेको थियो । त्यसका साथै, क्याटालोनियालाई स्वतन्त्र राष्ट्र घोषणा गर्ने तयारी गरेपछि संसद् बैठकसमेत स्थगित गरिदिएको थियो । केन्द्र सरकारले २०१७ को डिसेम्बरमा चुनाव गराएर क्याटालोनियामा शासन हस्तान्तरण गरेको थियो ।
स्वतन्त्र राष्ट्र घोषणा अभियानमा सक्रिय पुइगडेमोन्टसहित स्वतन्त्र क्याटालोनिया पक्षधर १२ नेतालाई राज्यद्रोह, अवज्ञा र सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी अभियोग लगाइएको थियो । तीमध्ये ९ नेता राज्यद्रोहमा दोषी ठहर भएका थिए । तर चार नेता भने सार्वजनिक कोषको दुरुपयोगमा समेत दोषी ठहरिएका थिए । उनीहरूलाई ९ देखि १३ वर्षसम्मको जेल सजाय तोकिएको थियो ।
सार्वजनिक कोष दुरुपयोगमा दोषी अन्य ३ नेतालाई भने अदालतले जरिवाना सुनाएको थियो । छुट्टै प्रहरी, संसद्, झन्डा र सरकार प्रमुख भएको क्याटालोनियामा दूरसञ्चार नियामक निकाय, विद्यालय, स्वास्थ्यजस्ता महत्त्वपूर्ण सार्वजनिक सेवाको पनि प्रबन्ध छ ।

युवा ग्यालरी

लयमा फर्कंदै पोखराको प्याराग्लाइडिङ

- दीपक परियार

(पोखरा)
कास्कीको सराङकोट डाँडाबाट रंगीचंगी प्याराग्लाइडिङ उडेर फेवाताल किनारमा झर्दै गरेको दृश्य पछिल्लो समय देखिँदैन । यसको कारण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थल सञ्चालनमा आएपछि हवाई सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान स्थल सराङकोटबाट ८ किलोमिटर पश्चिमपट्टि मान्द्रेढुंगामा सारिएको थियो । सराङकोटबाट उड्दाजस्तो ग्राहकको चाप भने मान्द्रेढुंगामा देखिँदैन । हिमशृंखलाको अवलोकन गर्दै तालमाथि उड्न पाइने भएकाले प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट स्थलमध्येमा पर्थ्यो पोखरा ।
कोभिड महामारी मत्थर भएसँगै दैनिक दुई हजारसम्म व्यावसायिक उडान हुन थालेका थिए सराङकोटबाट । ती उडानमा औसतमा दैनिक तीन सय पर्यटक प्याराग्लाइडिङमा रमाउने गर्थे । मान्द्रेढुंगा सरेपछि भने उक्त संख्या एक सयमा झरेको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) पोखरामा प्याराग्लाइडिङलाई पुरानै लयमा फर्काउने कसरतमा निकै जुट्यो । हवाई सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ उडान (टेकअफ) र अवतरण (ल्यान्डिङ) स्थललाई वैकल्पिक स्थानमा सार्ने तयारीमा छ संस्था । यसअघि सराङकोटको ब्लु स्काई, सनराइज र प्यारानोभा टेकअफबाट उड्ने ग्लाइडर फेवातालमाथिबाट खपौंदीस्थित इन्ड अफ दि लेकमा अवतरण गर्थे । सराङकोटबाट ६ किलोमिटर परको तोरीपानी टेकअफबाट प्याराग्लाइडिङ गर्दै चंखपुर झरिन्थ्यो । हाल मान्द्रेढुंगा सरेपछि अवतरणस्थलसमेत पामेमा सरेको छ ।
हाल मान्द्रेढुंगा एकमात्र टेकअफ स्थल रहेकामा संस्थाकै पहलमा क्षेत्र विस्तार भएर तोरीपानी टेकअफसमेत प्रयोगमा आउने भएको छ । संस्थाका अध्यक्ष सुनील भट्टराईले तोरीपानीबाट टेकअफका लागि नागरिक उड्डयन प्राधिकरणले सहमति जनाइसकेको बताए । उनका अनुसार संस्थाले प्राधिकरणकै सहयोगमा गत वैशाखमा सुरक्षा जोखिम मूल्यांकन प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन र स्थलगत अध्ययनपछि तोरीपानी टेकअफ सुरक्षित रहेको प्राधिकरणको निष्कर्ष छ ।
संस्थाका प्रतिनिधि, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका निर्देशक राजु श्रेष्ठबीच तोरीपानी टेकअफ सञ्चालनमा ल्याउने निर्णय भएको छ । उक्त निर्णय एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा प्रकाशित भइसकेको छ । ‘मान्द्रेढुंगाबाट टेकअफ गर्दा मौसम, हावाको वेगले साथ दिइरहेको छैन,’ संस्थाका अध्यक्ष भट्टराईले भने, ‘तोरीपानी टेकअफ सुरु भएपछि पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किन्छ भन्नेमा आशावादी छौं ।’ अवतरणस्थल पनि पामेबाट फेवातालनजिक भकुन्डेमा सार्न प्राधिकरणलाई प्रतिवेदन बुझाएको बताउँदै उनले त्यसप्रति प्राधिकरण सकारात्मक रहेको सुनाए ।
प्याराग्लाइडिङमा अत्यधिक चाप रहेकै बेला व्यावसायिक उडान (टेन्डम फ्लाइट) का क्रममा भएको दुर्घटनामा ०७७ मंसिरमा पाइलट राजु गैरे नेपालीको निधन भएको थियो । ग्लाइडरमा सवार यात्रु गम्भीर घाइते भएकी थिइन् । गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा सहभागी सोलो (एकल) पाइलट निसिम थापाको पनि दुर्घटनामा निधन भएको थियो । त्यसयता संस्थाले प्याराग्लाइडिङलाई सुरक्षित बनाउन उच्च प्रविधिको प्रयोग गरेको छ । जीपीएस/लाइभ ट्र्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फी रेडियो सञ्चार, हटलाइन सेवाको व्यवस्था संस्थाले गरेको छ । उडान कर्मचारीले जीपीएस/लाइभ ट्र्याकर, रेडियो लिएर मात्रै उडान भर्न पाउनेछन् । उडान सामग्रीको जाँच प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गर्छ ।
विभागका निर्देशक राजु श्रेष्ठ प्याराग्लाइडिङ सुरक्षित हुँदा त्यसको प्रभाव समग्र पोखराको पर्यटनमा पर्ने बताए । ‘सुरक्षित रहेको सन्देश दिन सके पर्यटक आउँछन्,’ उनले भने, ‘त्यसको लाभ प्याराग्लाडिङ कम्पनीले मात्रै पाउँदैनन्, होटलदेखि रेस्टुरेन्टसम्मले पाउँछन् ।’ सुरक्षा जोखिम मूल्यांकन प्रतिवेदन सन्तोषजनक देखेर नै प्राधिकरणले तोरीपानी टेकअफलाई स्वीकृति दिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत बताउँछन् ।
‘सुरक्षाको सवालमा यो एक वर्षमा निकै सुधार भएको छ,’ उनी भन्छन्, ‘पोखरामा प्याराग्लाइडिङ जोगिँदैन कि भन्ने थियो, जोगियो । अब पर्यटकको संख्या वृद्धिमा ध्यान दिनुपर्छ ।’ पहिला सराङकोटमा उडिरहेको प्याराग्लाइडिङ लेकसाइडबाटै देखिन्थ्यो । सराङकोटमा चराका बथानसरी उडेका प्याराग्लाइडिङ देखेरै पोखरा आउने पर्यटकप्रति चासो भएको राउत बताउँछन् । अहिले मान्द्रेढुंगाबाट गरिने प्याराग्लाइडिङ लेकसाइडबाट देखिँदैन । तोरीपानीबाट सुरु भएपछि अहिलेको तुलनामा प्याराग्लाइडिङ गर्नेको संख्या ३० प्रतिशतले बढ्ने उनको अनुमान छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विस्थापित हुने भयबीच प्याराग्लाइडिङको व्यवस्थापन हुनुले पोखराको पर्यटनमा सकारात्मक सन्देश दिएको बताए । ‘फेरि पहिलेकै ठाउँबाट उडान सुरु हुँदा पर्यटकको संख्यामा वृद्धि हुन्छ,’ उनले भने, ‘पर्यटन व्यवसायीको अथक प्रयासले यो सम्भव भएको हो ।’ नवौं राष्ट्रिय खेलकुदको क्रममा भएको दुर्घटनापछि प्राधिकरणले सोलो उडानको अनुमति दिएको छैन । सोलो उडान बन्द हुँदा विदेशी पाइलट नआएकोले अनुमति खुला गर्नुपर्ने व्यवसायीको माग छ ।
‘विदेशी पाइलट नआउँदा सरकारले राजस्व गुमाएको छ,’ नाका अध्यक्ष भट्टराईले भने, ‘विदेशी पाइलटसँग नेपाली पाइलटले सीप, ज्ञान, अनुभवको आदानप्रदान गरेर क्षमता अभिवृद्धि गर्न पाएका छैनन् ।’ हाल पोखरामा ६२ र देशभर ७३ प्याराग्लाइडिङ कम्पनी छन् । पोखरामा मात्रै ३ सय ९९ लाइसेन्सप्राप्त पाइलट छन् । पोखराबाहेक काठमाडौं, ललितपुर, मकवानपुर, चितवन, सिन्धुली, सुनसरी, उदयपुर, इलाम, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पा, सुर्खेत, कैलालीमा पनि प्याराग्लाइडिङ सञ्चालनमा छ ।

Page 5
समाचार

तीन महिनामै मनाङ एयरको अर्को हेलिकोप्टर दुर्घटना

गम्भीर घाइते पाइलटलाई थप उपचारका लागि मुम्बई लगियो
मनाङ एयरको इजाजतपत्र निलम्बन
- सुरज कुँवर

(काठमाडौं)
सोलुखुम्बुको लोबुचेमा शनिबार भएको हेलिकोप्टर दुर्घटनासँगै २६ वर्ष पुरानो कम्पनी मनाङ एयर जहाजविहीन भएको छ । तीन महिनाअघि मात्रै मनाङकै एयरबस बीथ्री–ई हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा डरलाग्दो दुर्घटनामा परेको थियो । गत असार २६ मा भएको उक्त दुर्घटनामा अनुभवी तथा वरिष्ठ पाइलट चेतबहादुर गुरुङसहित ५ मेक्सिकन पर्यटकको निधन भएको थियो । शनिबारको दुर्घटनामा हेलिकोप्टर कामै नलाग्ने गरी आगोले ध्वस्त भएसँगै मनाङ एयर हेलिकोप्टरविहीन भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना बेहोरेको मनाङलाई प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको छ । विदेशी पर्यटक लिन जानेक्रममा लोबुचेमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकोप्टर रित्तै थियो । सगरमाथा आधारशिविरसम्मको पदयात्राबाट फर्किंदै गरेका विदेशी पर्यटक लोबुचेबाट पैदल फर्किन नसक्ने भएपछि काठमाडौंको एभरेस्ट एक्सपिरिअन्स् एन्ड असिस्ट कम्पनीले मनाङ एयरको हेलिकोप्टर चार्टर्ड गरेको थियो । कम्पनीका प्रबन्ध निर्देशक मुक्ति पाण्डेका अनुसार, काठमाडौंको आरुसी बुटिक होटलको अनुरोधमा कम्पनीले पर्यटकलाई लोबुचेबाट लुक्लासम्म सटल गरेर ल्याउने जिम्मा लिएको थियो ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार, उक्त कम्पनीको एयरबस बीथ्री–ई (अल्फा नोभेम्बर जुलियट) हेलिकोप्टरलाई शुक्रबार साँझ लुक्लाका लागि काठमाडौंबाट पठाइएको थियो । तर, इनरुटको मौसम खराब भएका कारण शुक्रबार राति ओखलढुंगाको रुम्जाटारमै रोकिएर शनिबार बिहान मात्रै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरण भएको उक्त विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले बताए । हेलिकोप्टरलाई लुक्लामै रहेका कम्पनीका क्याप्टेन प्रकाश सेढाईंले शनिबार बिहान लोबुचेका लागि पहिलो उडान गरेका थिए । १६ हजार ४ सय फिट उचाइमा रहेको लोबुचे लुक्लाबाट उत्तरतर्फ १० मिनेटको हवाई दूरीमा पर्छ । प्राधिकरणका अधिकारीहरूले अवतरणका क्रममा हेलिकोप्टर असन्तुलित भई दुर्घटनामा परेको अनुमान गरेका छन् ।
‘डेढ सय किलोग्राम तौल बराबरको सामानबाहेक अन्य थप लोड थिएन । मौसम पनि सफा थियो । के कारणले दुर्घटना भएको हो ? खुलेको छैन,’ मनाङका प्रबन्धक राजु न्यौपानेले भने । दुर्घटनामा हेलिकोप्टर आगलागी भई ध्वस्त भएको छ भने क्याप्टेन सेढाईंलाई शरीरका विभिन्न भागमा आगोको लप्काले डढाएको अवस्थामा उद्धार गरिएको थियो । २५ वर्षदेखि मनाङमै उडानमा रहेका क्याप्टेन सेढाईंले ७ हजार घण्टाभन्दा बढी आकाशमा बिताएका छन् ।
शनिबारको दुर्घटनासँगै छोटो तथा दुर्गम उडानका लागि सहज मानिने हेलिकोप्टर दुर्घटना यो वर्ष सर्वाधिक भएको छ । मनाङको हेलिकोप्टर दुर्घटनासँगै २०२३ मा देशभर हेलिकोप्टर दुर्घटनाको संख्या ५ पुगेको छ । यसअघि सिम्रिकको हेलिकोप्टर संखुवासभामा दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने धौलागिरि आधार शिविरमा हेली एभरेस्ट, ह्याम्स अस्पताल काठमाडौंमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका थिए । धौलागिरिमा हेलिकोप्टरमा क्षति पुगेको थियो भने पाइलट घाइते भएकी थिइन । ह्याम्समा भने हेलिकोप्टरमा मात्रै क्षति पुगेको थियो ।
नेपालमा हेलिकोप्टर उडान सुरु भएको करिब ५ दशकयता सबैभन्दा धेरै हेलिकोप्टर दुर्घटना सन् २००६ मा भएका थिए । त्यस वर्ष ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एमआई–१७ दुर्घटना हुँदा बहालवाला मन्त्रीसहित २४ जनाको निधन भएको थियो । त्यसै वर्ष श्रीसहित हेली हंस, कर्णाली एयर, एयर डाइनेस्टी र सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेका थिए । पोखरामा भएको यतिको विमान दुर्घटनालाई समेत जोड्दा यो वर्ष ६ वटा हवाई दुर्घटना भइसकेका छन् । प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनमा यत्रो हवाई दुर्घटनाको संख्या विगतका कुनै पनि वर्षमा भएको थिएन । हवाई दुर्घटनामा यो वर्ष ७९ जनाको मृत्यु भएको छ । यो मानवीय क्षति २०४९ सालमा १ सय १३ जनाको ज्यान जाने गरी नुवाकोटको घ्याङफेदीमा भएको थाई एयर र २०४९ मै १ सय ६७ जनाको ज्यान जानेगरी ललितपुरको भट्टेडाँडामा भएको पीआइएको हवाई दुर्घटनापछिको तेस्रो हो । २०७५ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशको यूएसबंगला विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।
हेलिकोप्टर दुर्घटना दर लगातार वृद्धि भएपछि वायुयान कम्पनी, नियामक निकाय तथा उड्डयनकर्मीहरूका लागि चुनौती थपिएको छ । प्राधिकरणका सहप्रवक्ता भुल विमान निर्माता कम्पनी, नियामक निकाय प्राधिकरण र उडान सुरक्षाका लागि स्ट्यार्डड अपरेसन प्रोसिडर (एसओपी) बनाउने वायुयान कम्पनीका नियम तथा कार्यविधिलाई अक्षरशः पालना गरेमात्रै पनि दुर्घटना नगन्य हुने बताउँछन् । ‘पाइलट तथा वायुसेवा कम्पनीले प्राधिकरणका लागि नियम मानिदिनुभएन,’ सहप्रवक्ता भुलले भने, ‘नेपालको उडानमा नियमको कमी छैन । पेसागत दक्षता भएका पाइलटले प्राविधिक विषयमा तदारुकता देखाउनुपर्‍यो र अपरेटरहरूले पैसाका पछि मात्रै दर्गनु भएन । यति गरे नेपालको हवाई सुरक्षामा धेरै सुधार हुन्छ ।’ नेपालमा १२ वटा हेलिकोप्टर कम्पनी छन् । यी कम्पनीसँग कम्तीमा एकदेखि बढीमा ८ वटासम्म हेलिकोप्टर छन् ।
क्याप्टेन सेढाईंलाई थप उपचारका लागि श्री एयरलाइन्सको सीआरजे विमानमा मेडिकल चार्टर उडानमार्फत मुम्बई लगिएको छ । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार, शरीरको आधाभन्दा बढी भाग आगलागीमा परेकाले उनको थप उपचारका लागि ह्याम्स अस्पतालले मुम्बईस्थित बर्न अस्पतालमा रिफर गरेको हो । बिहान ७ः१३ मा भएको दुर्घटनामा लगत्तै लुक्लामै रहेको फिसटेल कम्पनीको हेलिकोप्टरबाट क्याप्टेन सेढार्इंलाई उद्धार गरी पौने ९ बजे ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

समाचार

गेटामा मेडिकल विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा

- सुदीप कैनी

(काठमाडौं)
कैलालीको गोदावरी नगरपालिका स्थित गेटामा चिकित्सा शिक्षाको पठनपाठन कुन मोडेलमा गर्ने अन्योलबीच सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० अघि बढाएको छ ।
गतसाता राष्ट्रिय सभामा दर्ता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव शुक्रबार सर्वसम्मतिले पास भयो । दफाबार छलफल गर्दै राष्ट्रिय र प्रतिनिधिसभासहित दुवै सदनबाट विधेयक पारित भए सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने उक्त विश्वविद्यालय चिकित्सा शिक्षा मात्रै पठनपाठन गराउने मुलुककै पहिलो विश्वविद्यालय हुनेछ । यद्यपि हाल विश्वविद्यालय हैसियतकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, पोखरा, कर्णालीलगायतका केही प्रतिष्ठानहरूले अध्ययनअध्यापन गराउँदै आएका छन् । गेटामा मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार विकाससहितका सुरुवाती काम शिक्षा मन्त्रालयअन्तर्गत गरिएकाले शिक्षा मन्त्रालयले नै विश्वविद्यालयको विधेयक अघि बढाएको थियो । प्रतिष्ठानमा सहकुलपति स्वास्थ्यमन्त्री रहने व्यवस्था छ । विश्वविद्यालयमा शिक्षामन्त्री सहकुलपति रहने प्रस्ताव गरिएको छ ।
विज्ञ र सरोकारवालाले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था बदल्नुपर्ने आवाज उठाइरहेका बेला विधेयकमा कुलपति प्रधानमन्त्री नै रह्ने र उपकुलपतिले कुलपतिसमक्ष सपथ लिनुपर्ने व्यवस्था गरिएको छ । हाल सञ्चालित अधिकांश विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहने प्रावधान रहे पनि नियुक्तिका बेला शपथ लिनुपर्ने व्यवस्था छैन । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आंगिकबाहेक कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था गरिएको छ । चिकित्सा शिक्षा ऐनमा मेडिकल विधाका कक्षा सञ्चालन गरेका विश्वविद्यालयले ५ वटासम्म मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने व्यवस्था गरिएको छ । हाल मेडिकल शिक्षामा निजी सम्बन्धन दिएका त्रिभुवन र काठमाडौं विश्वविद्यालयले ५ भन्दा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कारण भरपर्दो नियमन र अनुगमन गर्न नसकेको आरोप छ ।
मेडिकल संकाय सञ्चालन गरेका अन्य विश्वविद्यालय नभएका कारण हाल निजी लगानीमा नयाँ मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धनका कारण रोकिएको छ । विधेयक जस्ताको तस्तै सदनबाट पारित भए निजी सम्बन्धनमा मेडिकल कलेज स्थापना र सञ्चालन गर्न अझै रोकिने छ । २०७५ सालमा पारित ऐनले काठमाडौं उपत्यका भित्र १० वर्षसम्म मेडिकल कलेज स्थापना गर्न रोक लगाए पनि बाहिर खुला छाडेको छ । सम्बन्धन दिने विश्वविद्यालय नभएकाले बाहिर पनि नयाँ मेडिकल कलेज खुल्न सकेको छैन ।
उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिमा केही सामान्य नयाँ व्यवस्था गर्दै सञ्चालनमा रहेका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान मोडलमा नै उक्त विश्वविद्यालयको विधेयक अघि बढाइएको हो । गेटामा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश २०७१ अनुसार पूर्वाधार निर्माणको काम भइरहेको छ । पूर्वाधार निर्माण लगभग पूरा भए पनि मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने विषयमा द्विविधा हुँदा शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । मेडिकल कलेज सञ्चालन गर्न समय लाग्ने भएपछि सरकारले तत्कालका लागि सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले सय जनाभन्दा बढीको दरबन्दी स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषद् बैठकले गत माघमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयले मस्यौदा तयार गरेर विधेयक अघि बढाएको थियो । शिक्षा मन्त्री अशोककुमार राईले मन्त्रिपरिषद् हुँदै विधेयक असोज १९ मा राष्ट्रिय सभामा दर्ता गराएका थिए । स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र नवप्रवर्तन सम्बन्धी काम गर्न र सर्वसाधारणलाई सहज रूपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विधेयक अघि बढाइएको छलफलमा शिक्षामन्त्री राईले बताए । विश्वविद्यालयको केन्द्रीय कार्यालय कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा रहनेछ । अन्य प्रतिष्ठान र विश्वविद्यालयमा जस्तै सभा, प्राज्ञिक, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षणसंस्था र शिक्षण अस्पताल सञ्चालन गरिने विधेयकमा उल्लेख छ ।
उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक पदाधिकारी रहने व्यवस्था गरिएको छ । विश्वविद्यालयमा महिनौंसम्म उपकुलपति रिक्त रहने समस्या रोक्न सहिद दशरथ चन्द विश्वविद्यालयमा तीन महिनाअघि नै नियुक्ति प्रक्रिया थाल्नुपर्ने प्रावधान राखिएको छ । चिकित्सा शिक्षा विधामा विद्यावारिधि उपाधि प्राप्त गरेको व्यक्ति मात्र उपकुलपति नियुक्ति हुन सक्नेछन् । उमेरहद ३५ देखि ६१ वर्ष पूरा नभएको तोकिएको छ । सभाले मनोनीत गरेको ३ सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा सभाले उपकुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको छ । सभाबाट मनोनीत सभाको सदस्यको संयोजकत्वमा उपकुलपति सिफारिस समिति गठन हुने विधेयकमा उल्लेख छ । विदेशी नागरिक पनि उपकुलपति हुन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

Page 6
दृष्टिकोण

भुइँ राजनीतिका अनुभूति र अफवाह

- कृष्ण खनाल

गएका दुई साता मैले नेपालको सबैभन्दा होचो ठाउँ भनेर चिनिएको झापाको केचनादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भ्रमण गरें । केचना भारतसँग जोडिएको गनगाई, राजवंशी, मुसलमान र पहाडे समुदायको मिश्रित बस्ती भएको सुदूर पूर्व–दक्षिणको सीमावर्ती गाउँ हो भने ओलाङचुङगोला चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सुदूर पूर्वोत्तर सीमान्तमा अवस्थित सानो शेर्पा गाउँ । नेपालको सुदूर पूर्वमा उत्तर र दक्षिणका यी दुई बस्तीबीच यात्राका क्रममा मलाई नेपाली समाज, संस्कृति, राजनीति र विकास–निर्माणको विविध अनुभूति भयो । तर यहाँ यात्रा विवरण लेख्ने मेरो मनसाय होइन, त्यो छुट्टै लेखिनेछ । यसको एउटा पाटो राजनीतिको भुइँमा जनताका धारणा कस्ता छन्, कसरी बनेका छन् भनी देख्ने–सुन्ने अवसर हो । आज यो स्तम्भलाई त्यसकै सेरोफेरोमा केन्द्रित गर्नु सान्दर्भिक होला भन्ने लागेको छ ।
ताप्लेजुङ भ्रमणको उद्देश्य राजनीतिक थिएन, ओलाङचुङगोला पुग्ने हुटहुटी थियो । तर राजनीतिको अध्ययन–अनुसन्धानमा जीवन बिताएको व्यक्ति भएकाले भुइँ राजनीतिमा के भइरहेछ भनी जान्ने उत्सुकता नहुने कुरा भएन । म आफ्नो कुरा सुनाउन होइन, मौन रहेर अरूका कुरा सुन्न चाहन्थें । एकदुई सन्दर्भमा बाहेक मैले आफ्नो परिचय पनि दिएको थिइनँ । तथापि यो अवधिमा राजनीतिक दलका मानिसहरू, बाटामा भेटिएका सहयात्रीहरूसँग पनि देशको स्थितिबारे भलाकुसारी भए । सार्वजनिक यातायात र चियापसलमा मानिसहरू राजनीतिबारे खुलेर टीकाटिप्पणी गरिरहेका हुन्छन् । गोलामा एक जना शिक्षक भन्दै थिए, ‘नेता त बालेन (बालेन्द्र शाह) जस्तो चाहिन्छ ।’ ताप्लेजुङको सदरमुकाममा भेटिएका एमाले युवा भन्दै थिए, ‘दस वर्ष पनि नटिक्ने संघीयता किन चाहियो ?’ कांग्रेसका मानिसहरू भन्दै थिए, ‘गठबन्धन र माओवादीसँगको यो यात्रा कहिलेसम्म चल्छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक कार्यकर्ता गर्वसाथ दाबी गर्दै थिए, ‘अबको चुनावमा हामी पहिलो पार्टी बन्ने हो । मुलुकमा स्थिरता, सुशासन र समुन्नति कायम गर्ने हो ।’
फर्किने क्रममा धरानदेखि चतरा, गाईघाटको बाटामा म माइक्रो बसमा थिएँ । केही सिट खाली थिए । चालक र सहयोगी दुवै थप यात्रु पाइन्छ कि भनेर बाटो हिँड्नेलाई कहाँ जाने भनेर सोधिरहन्थे । केही यात्रुहरू बीचमा चढ्ने र ओर्लने क्रम चलिरहेको थियो । गाईघाटमा एक महिला चढिन् । गाडीभित्र छिरेपछि उनको अविराम प्रवचन हुन थाल्यो । इजरायलमा मारिएका नेपालीबाट प्रारम्भ भएको उनको एकोहोरो प्रवचन दुर्गा प्रसाई, रवि लामिछाने, हर्क साम्पाङ, बालेन्द्र शाह, ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही हुँदै नेपालटार पुग्नुअघिको घुम्ती बाटामा रात–साँझ हुने चमत्कार र रहस्यमयी घटनाको विवरण हुँदै उनी आफ्नो गन्तव्यमा नझरेसम्म जारी रह्यो । समथर भए पनि बाटाको त्यो एउटा सानो खण्ड टाउकै रिँगाउने नागबेली परेको रहेछ, खास गरी बाइक र स्कुटीचालक सावधान नभए लड्ने सम्भावना बढी हुन्छ । त्यसैलाई अदृश्य शक्तिको खेल हो भन्ने स्थानीय धारणा बनेको रहेछ । बाइकबाट मान्छेलाई नै तानेर छुट्याइदिन्छ भन्थे ।
ती महिला यात्रु रवि लामिछाने संगठन विस्तारमा अलमलिए भनेर असन्तोष व्यक्त गर्दै थिइन् । माइक्रो बसको सहयोगी भाइले ‘हो, हो’ भन्दै उनको कुरामा सही थापे, बाँकी हामी यात्रुहरूले निर्विवाद उनका कुरा सुनिरह्यौं । खासै नयाँ थिएनन्, कथित सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइने कुरा नै हुन् । तर यसले गर्दा मेरो मस्तिष्क अरू खलबलिन थाल्यो । चालु राजनीतिमा विचार, सिद्धान्त र प्रक्रियाभन्दा अफवाहको मात्रा ज्यादा हुन्छ । यसलाई फिल्टर गर्ने काम बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूको हो । तर अहिले जनधारणा बनाउने माध्यम भनेको मानिसका हातहातमा रहेका मोबाइल फोनका सोसल एप्स हुन् । सामाजिक भन्ने कि असामाजिक, यी सञ्जाल अहिले राजनीतिक–सामाजिकीकरण (पोलिटिकल सोसलाइजेसन) को नयाँ तर चुनौतीपूर्ण एजेन्सी भएका छन् । राजनीतिक धारणा बनाउने पुराना स्थापित माध्यमहरू दिन–प्रतिदिन निरीह र असान्दर्भिक भइरहेका छन् । सिद्धान्त र दर्शनका कुराहरू किताबका पानामै सीमित भएका छन् । यो नेपालमा मात्र होइन, विश्वव्यापी समस्या हो ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिइसकेका थिए, अर्को नियुक्तिका लागि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्य र दलहरूलाई आह्वान गरेका थिए । सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो नयाँ मुख्यमन्त्री बन्ने चर्चा आइरहेको थियो । तर ती महिला यात्रुको धाराप्रवाहमा कोशी प्रदेशको अस्थिर राजनीति र मुख्यमन्त्रीको अदलबदलबारे चर्चा थिएन । अर्थात्, उनी कांग्रेस, कम्युनिस्टभन्दा पृथक् नयाँ राजनीतिक अवतारको प्रतीक्षामा थिइन् । ती यात्रुले दुर्गा प्रसाईले ‘बैंकको ऋण मास्दैन, तिर्छ, केही ढिलो हुनु कुनै अपराध होइन’ भनेर उनको प्रतिरक्षा पनि गर्दै थिइन् । उनी आफू प्रसाईको व्यवसायमा संलग्न नभएको, तर अर्को कुनै व्यवसायीको नाम लिँदै उसको व्यवसायमा कोशी प्रदेश हेर्छु भन्दै थिइन् । उनले गाउँमा ठूलो आर्थिक शोषण लघुवित्तबाट भइरहेको भन्दै त्यसविरुद्ध प्रसाईको आक्रमणको पनि समर्थन गरिन् । उनको कुरा सुन्दै जाँदा मलाई लाग्यो, अहिलेसम्म केपी ओली, पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई खेलाउँदै आएका दुर्गा प्रसाई वा यस्तै अरू कोही कोशी प्रदेशको राजनीतिमा नयाँ आवतारका रूपमा देखा पर्दै छन् ।
काठमाडौंमा मात्र होइन, ताप्लेजुङमा पनि मैले कांग्रेस–एमाले सत्ता सहकार्यको चर्चा सुनेको थिएँ । यो स्तम्भ लेख्दालेख्दै कोशी प्रदेशमा यो अभ्यासको प्रारम्भ भएको छ । मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला समूह र एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । यसको परिणाम अनुमान त गर्न सकिन्छ तर कहाँसम्म पुग्छ, भन्न सकिन्न । देउवा नेतृत्वको भस्मासुरे चालमा कांग्रेस विभाजन नहोला भन्न सकिन्न । यी दुवै पार्टी अहिले समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा मुखरित भइरहेका छन् । समानुपातिकको अंश हटाउने हो भने एक दलको बहुमतीय सत्ता बन्ने र स्थिरता हुन्छ भन्ने बुझाइ छ, जुन यथार्थ होइन । समानुपातिक नहुँदा पनि प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नहुन सक्छ । त्यसका उदाहरण विगतमा नेपाल, संयुक्त अधिराज्य बेलायत, भारत, जापान पनि छन् । अर्को कुरा, संघीयता, समानुपातिक प्रतिनिधित्व उनीहरूको रोजाइबाट आएको होइनÙ चाहेर पनि उनीहरूले त्यसलाई रोक्न नसकेका हुन् । त्यसको प्रतिरोध वा उल्टाएर समस्या समाधान हुँदैन, सकारात्मक अभ्यास र सुधार आवश्यक छ । कांग्रेस, एमाले र माओवादीका वर्तमान नेतृत्वले जनतामा प्रचारात्मक रूपमा फैलिँदै गएका धारणालाई सम्बोधन गर्न सक्तैनन्, साथ पनि पाउँदैनन् । जनता वाक्कब्याक्क हुनुको कारण पार्टीभन्दा पनि नेतृत्व हो । बेलैमा नयाँ नेतृत्वले ठाउँ पाउन सके अर्को चुनावमा यी पार्टी जोगिन पनि सक्छन् ।
राजनीतिमा वैकल्पिक शक्ति, वैकल्पिक विचार, वैकल्पिक नेतृत्वजस्ता विकल्पका कुरा सकारात्मक हुन् । त्यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने), जनमत पार्टी (सीके राउत) को उदय सकारात्मक सूचक हुन् । सहमति–असहमति आफ्नो ठाउँमा छ, तर यसले विकल्प मात्र होइन, राजनीतिलाई नै जीवन्त र गतिशील बनाउन सहयोग गर्छ भन्ने मेरो बुझाइ छ । यात्रा क्रममा सुनिएका यी कुराले राजनीतिको भुइँमा मानिसहरू विकल्प होइन, चमत्कारी अवतारको खोजीमा छन् भन्ने देखाउँछन् । बालेन असंगठित र प्रतिक्रियात्मक राजनीतिको एउटा अवतार हुन् । हर्क साम्पाङको सामाजिक चेहरा धरानमा परिचित छ, जुन बालेनको छैन । तर बालेनको चमत्कारी रूप देशभर फैलिएको छ ।
यसै दैनिक (असोज १२) मा सुधीर शर्माले नेपालीले हरदम चमत्कारी नायक खोजिरहने प्रवृत्तिको चर्चा गरेका रहेछन् । यस्तै, घनश्याम ओझाले (नयाँ पत्रिका, २६ असोज) जनताले ‘स्ट्रङ म्यान’ खोजेको कुरा उठाएका छन् । अस्थिर राजनीति र नेतृत्वमा बस्नेले जनतालाई विश्वासमा लिन नसक्दा यस्तो प्रवृत्ति बढ्नु स्वाभाविक हो । नेपोलियन, हिटलर, मुसोलिनीको उदय अस्थिर राजनीति र अनिश्चित संक्रमणको परिणाम थियो । नेपालमै पनि जंगबहादुरको उदय यस्तै एउटा दृष्टान्त हो । गत चुनावमा रवि लामिछाने, बालेन, हर्क साम्पाङहरूको उदय यसका प्रतिनिधि रूप हुन् । तर यो बृहत् नाटक मञ्चनको कास्टिङ हो वा राजनीतिक असन्तोषका क्षणिक छिटा मात्र, छुट्याउनु जरुरी छ ।
हिन्दु पौराणिक कथाहरूमा जब समाजमा अधर्म अर्थात् अत्याचार, अन्याय बढ्छ, नयाँ अवतारको चक्र नै दिइएको पाइन्छ । गीतामा श्रीकृष्ण भन्छन्, ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ... धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।’ भागवत पुराणमा भनिएको कल्क अवतारको भविष्यवाणी कति सार्थक छ, म भन्न सक्तिनँ । धार्मिक ग्रन्थका सामाजिक सन्दर्भहरू अहिले पनि छन्, तर तिनले राजनीतिलाई निर्देशित गर्ने कुरा अब पुरानो भइसक्यो । राजनीतिका नयाँ सिद्धान्त र प्रयोगहरू स्थापित भएका छन् । आजको समाज र सभ्यतालाई अगाडि बढाउने आधार भनेको विज्ञान हो, यसको अभ्यासमा हामीले आर्जन गरेको ज्ञान र अनुभव हो । हाम्रो सामाजिक–राजनीतिक प्रगतिको बाटो पनि यही हो । योबाहेक अर्को बाटो ग्राह्य छैन । त्यो टिक्ने कुरा पनि होइन ।
राजनीतिक अस्थिरता बढेका बेला कतिपय देशमा संवैधानिक प्रक्रियाहरू विचलित भएका छन् । यस्तो बेला सेना अगाडि आएका दृष्टान्तहरू पनि छन् । दक्षिण एसियामै पाकिस्तान र बंगलादेशमा सैनिक ‘कू’ को लामो शृङ्खला पाइन्छ । अफ्रिकामा यो क्रम अहिले पनि जारी छ । नेपालमै पनि सेनापति बरखास्तगी प्रकरणमा यस्तो सम्भावनाको चर्चा नभएको होइन । वास्तवमा पहिलो संविधानसभाको अन्त्य र केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको समय सैनिक हस्तक्षेप (कू) का लागि उर्वर थियो । तर नेपालको भूराजनीति त्यसका लागि अनुकूल छैन । त्यसका लागि बाह्य, खास गरी दायाँ वा बायाँ छिमेकीको आडभरोसा चाहिन्छ जुन सहज छैन । त्यस्तो कदम सेनाकै लागि पनि प्रत्युत्पादक हुन्छ । राजनीतिमा म संविधान र लोकतन्त्रभन्दा अर्को बाटाको कल्पना गर्न सक्तिनँ, त्यो बाटो हामीलाई स्वीकार्य छैन ।
मलाई पनि लाग्छ, स्थापित संवैधानिक राजनीतिक प्रक्रिया गतिहीन भयो । यसले समाजलाई अग्रगति दिन सकिराखेको छैन । नयाँ इतिहास निर्माण गर्ने परिवर्तनहरू उद्देश्यहीन साबित हुँदै गएका छन् । परिवर्तनका वाहक दल र नेतृत्व नाकाम सिद्ध भएका छन् । कांग्रेस, एमाले, माओवादी कसैका प्रति जनताको विश्वास छैन । राजनीतिप्रति नै व्यापक वितृष्णा बढेको छ । राजनीति भुइँ कुहिरोले ढाकेको छ । कहाँ पुग्छ त अबको नेपाली राजनीति ? कसले डोर्‍याउन सक्छ यसलाई ? निरन्तरको राजनीतिक अस्थिरता र सरकार अदलबदलबाट आजित भएको फ्रान्सेली संसद्ले सैनिक पृष्ठभूमिका चार्ल्स दे’गाललाई विशेष अधिकारसहित पहिले प्रधानमन्त्री र त्यसलगत्तै राष्ट्रपति चुन्यो । त्यतिखेर फ्रान्सको अवस्था यति तरल थियो कि दे’गाल तानाशाह पनि बन्न सक्थे । तर उनले संसदीय र राष्ट्रपतीय व्यवस्थामिश्रित नयाँ राजनीतिक प्रणालीको प्रयोग गरे । पाँचौं फ्रान्सेली गणतन्त्रका रुपमा परिचित त्यो व्यवस्थाले फ्रान्समा राजनीतिक स्थिरता दिँदै आएको छ । कतिपय देशका लागि नमुनासमेत भएको छ ।
नेपालको वर्तमान अवस्था दे’गालको समयको फ्रान्सको जस्तो होइन । संवैधानिक प्रणाली क्रियाशील छ । यसको सकारात्मक र प्रगतिशील संस्थागत अभ्यास गर्न सकिन्छ । संविधानले त्यसका लागि पर्याप्त ठाउँ दिएको छ । अहिले राजनीतिमा जेजति नयाँ अनुहार र पार्टी उदाएका छन्, ती सबै संविधान र निर्वाचन प्रक्रियाभित्रैका उपज हुन् । चुनावका माध्यमबाट सत्तामा परिवर्तन गर्न सकिन्छ भन्ने जनताको विश्वास बलियो भएको छ । त्यसका सम्भावनाहरू पनि बढिरहेका छन् । तर राजनीति गर्नेहरूको अनुहार सधैं खुला र चिनिएको हुनुपर्छ । आम जनताले सोसल मिडियामा कस्तो बोली प्रयोग गर्छन्, त्यो धेरै चिन्ताको विषय होइन, तर जनताको मतबाट नेतृत्वमा पुगेका कसैलाई पनि मनपरी बोल्ने, रिसको आगो ओकल्ने छुट छैन । यसले विकृत राजनीतिक संस्कृति मात्र मौलाउँछ, जनमत बन्दैन । तीव्र प्रतिक्रियाले तत्काल केही परिणाम दिए पनि त्यो टिक्दैन ।

सम्पादकीय

कोशीमा दलहरूको विवेकको परीक्षा

कोशीमा प्रदेशसभा निर्वाचनपछिका १० महिनामा पाँच पटक मुख्यमन्त्री हेरफेर भएको छ । यस क्रममा सरकार गठनका लागि संविधानमा उल्लेख गरिएका सम्भव सबै विकल्प प्रयोग भइसकेका छन् । पछिल्लो पटक शनिबार अन्तिम विकल्पबाट कांग्रेस नेता केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । तैपनि राजनीतिक दलहरूले स्थिरताको प्रत्याभूति गराउन सकेका छैनन् । अब कार्की नेतृत्वको सरकारलाई बाँकी चार वर्ष टिकाउने कि प्रदेशलाई मध्यावधि निर्वाचनमा होम्ने भन्ने विषय राजनीतिक दलहरूकै विवेकमा निर्भर रहने भएको छ ।
प्रदेशसभाको अंकगणितीय जटिलतालाई राजनीतिक दलहरूले बुझ्न नसक्दा कोशीमा सरकार अस्थिर बन्न पुगेको हो । ९३ सदस्यीय प्रदेशसभामा कुनै एक दलको स्पष्ट बहुमत छैन । संघ र अन्य प्रदेशमा सरकार चलाइरहेका गठबन्धन दलसँग कोशी प्रदेशसभामा बहुमत छ तर विश्वासको मत सुनिश्चित छैन । विपक्षमा रहेका दल एमाले र राप्रपासँग बहुमत पुग्दैन । त्यही कारण सरकार गठनको एकपछि अर्को अभ्यास भइरहेको छ । सुरुमा एमाले, माओवादी, राप्रपा र जसपाको गठबन्धन बनेपछि एमाले संसदीय दल नेता हिक्मतकुमार कार्की गत पुस २४ मा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनको संघारमा केन्द्रमा बनेको कांग्रेस, माओवादी, जसपा लगायतको गठबन्धनले संघ र अन्य प्रदेशमा सरकार गठन गरे पनि कोशीमा एमाले–माओवादी सहकार्य चलिरहेको थियो । केन्द्रकै गठबन्धन अनुसार सहकार्य गर्न माओवादी गत जेठ २३ मा सरकारबाट बाहिरिएपछि सत्ता राजनीतिको चर्को खेल चलिरहेको छ ।
संवैधानिक व्यवस्था अनुसार सरकार गठन गर्नु स्वाभाविक संसदीय अभ्यास भए पनि कोशीमा केही विद्रूप अभ्यास पनि भए, जसलाई सर्वोच्च अदालतले सच्याइदिएको थियो । कार्कीपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा तत्कालीन सभामुख बाबुराम गौतमको समर्थनमा गत असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि गौतमको राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री भए । विश्वासको मतको प्रस्ताव राख्ने दिन एमालेले उपसभामुख अनुपस्थित गरायो । सभामुख–उपसभामुख पदमा बहाल तर अनुपस्थित रहेको अवस्थामा अध्यक्षता गर्न प्रदेशसभाले पहिले नै बनाएका चारसदस्यीय अध्यक्षमण्डलमा रहेका एमाले र राप्रपाका सांसद पनि गयल भइदिए । सत्ता गठबन्धनसँग बहुमतका लागि चाहिने ठिक्क ४७ सिट मात्र रहेकाले प्रदेशसभा बैठकमा अध्यक्षता गरेका सत्तारूढका इस्राइल मन्सुरीले मतदान गरे । अध्यक्षता गर्ने व्यक्तिलाई मत बराबर भएको अवस्थामा बाहेक मताधिकार नहुने भएका कारण त्यसलाई सर्वोच्च अदालतले बदर गरिदियो । सर्वोच्च अदालतको परमादेशबाट सबैभन्दा बढी सांसद रहेको दल एमालेका संसदीय दल नेता हिक्मत कार्की संविधानको धारा १६८ (३) अनुरूप गत भदौ २२ मा मुख्यमन्त्री भए । ३० दिनभित्र विश्वासको मत प्राप्त नहुने देखेपछि उनले असोज २० मा राजीनामा दिए । त्यसपछि विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने भन्ने धारा १६८ (५) को व्यवस्था अनुसार कांग्रेसका केदार कार्कीले नियुक्ति पाएका हुन् । उनले पनि ३० दिनभित्र विश्वासको मत पाएनन् भने मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा विघटन हुन्छ, प्रदेश मध्यावधि निर्वाचनमा जान्छ ।
कार्की कांग्रेसभित्र विद्रोह गरेर मुख्यमन्त्री भएका हुन् । त्यही कारण कोशी प्रदेशको राजनीति कसरी अघि बढ्छ भन्ने अझै छ्यांग भएको छैन । कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसबाट उनीसहित आठ र एमालेका ३९ सांसद एक ठाउँ आएका थिए । नियुक्तिपछि कार्कीकै पक्ष लिने संकेत गठबन्धनले गरेको छ । एमालेको साथ निरन्तर रहे मध्यावधि निर्वाचन टर्न सक्छ । यस्तो अवस्थामा सबै दल मिलाएर सरकार सञ्चालन गर्ने कौशल खास गरी मुख्यमन्त्री कार्कीले देखाउनुपर्नेछ । आर्थिक मन्दीबाट मुलुक गुज्रिरहेका बेला एक वर्ष नपुग्दै मध्यावधि निर्वाचनमा होमिनु उपयुक्त हुँदैन । गत वर्षको निर्वाचनको सन्देश पनि सर्वदलीय सरकार गठन नै हो । राजनीतिक दलहरूको केन्द्रीय नेतृत्वले पनि प्रदेशसभाको विशिष्टता अनुसार सरकार गठन र सञ्चालन गर्ने जिम्मा त्यहीँको नेतृत्वलाई दिनुपर्छ, केन्द्रबाट हस्तक्षेप गरेर गिजोल्न बन्द गर्नुपर्छ ।
राजनीतिक दलहरू सत्ता राजनीतिमा अलमलिँदा प्रदेश सरकारको कामकारबाही प्रभावित छ । नियमित प्रक्रियाबाट बजेट ल्याउन नसकेर अध्यादेशको सहारा लिनुपरिरहेको छ । कानुन निर्माण प्रक्रिया ठप्प छ । अब यसअघि खेर गएको समयको समेत क्षतिपूर्ति हुने गरी प्रदेश सरकार र प्रदेशसभाले कामकारबाही अघि बढाउनुपर्छ । प्रदेशसभाको जटिल अंकगणीतका बीच पनि थप दाउपेचमा नलागी सरकारलाई स्थिरता दिन सके राजनीतिक दलहरूप्रति नै विश्वास बढ्छ । दलहरूप्रति जनविश्वास बढ्नु भनेको लोकतन्त्र बलियो हुनु हो ।

सम्पादकलाई चिठी

कर्मचारीतन्त्र र राजनीतिज्ञका गुण

गत २३ गतेको कान्तिपुरमा प्रकाशित उमेशप्रसाद मैनालीद्वारा लिखित ‘कर्मचारी परिवर्तनका वाहक कि बाधक’ शीर्षकको आलेख सटीक लाग्यो । प्रशासन क्षेत्रका अनुभवी लेखकले २००७ सालको राणकालीन शासन व्यवस्थाको अन्त्यदेखि २०१७, २०४७ र २०६३ का राजनीतिक परिवर्तनहरूलाई नेपालको कर्मचारीतन्त्रले परिवर्तन र सुशासनका लागि खेलेको भूमिकालाई सामाजिक, राजनीतिक, आर्थिक मान्यताहरूमा आमूल परिवर्तनको अनुकूल वातावरणको नाजुक अवस्थामा भनी विश्लेषण गरेका छन् ।
कर्मचारीतन्त्र सामान्यतया यथास्थितिवादी संस्था हो, जसले परिवर्तनलाई आफ्नो अस्तित्वमाथिको खतरा मानेर प्रतिरोध गर्दछ । तर माओवादी द्वन्द्वकालमा कर्मचारीतन्त्रले नै देशभरि सरकारको उपस्थिति देखाएको थियो । बंकरबाटै जनतालाई सेवा पुर्‍याउँदा पुर्‍याउँदै कति कर्मचारीले आफ्नो जीवन उत्सर्ग गरेको इतिहास साक्षी छ । राजनीतिक परिवर्तनपछि रूपान्तरणकारी काममा भने राजनीतिज्ञसँगै कर्मचारीनन्त्रसमेत असफल देखिन्छ । देशमा सुशासन प्रवर्द्धन गरेर सरकार र राजनीतिक प्रणालीको वैधानिकता सिद्ध गर्ने काम राजनीतिक नेतृत्वको हो । निर्धारित नीतिहरूको वैधानिक रूपमा काम गर्ने संयन्त्र कर्मचारीतन्त्र हो । तर राजनीतिज्ञहरूमा रूपान्तरणकारी सोच र कर्मचारीतन्त्रमा इच्छाशक्तिको कमी देखिएको छ । नेताहरू दूरदर्शी भएनन्, क्षणिक सत्ता र व्यक्तिगत स्वार्थमा लिप्त हुँदै गए । नत्र जनआन्दोलनबाट जनताको आकांक्षा सम्बोधन गर्नुपर्नेमा शासन र प्रशासनको शासकीय शैलीको हुँदा जनतामा चरमा निराशा बढेको छ । सुशासनका सूचकहरूले राजनीतिज्ञ र यसको डेलिभरी विङले काम गर्न नसकेको विश्व बैंकको सुशासन सूचकांक २०२२ का ६ वटा सूचकमा नेपालको नतिजा निराशाजनक छ । अन्य निकायहरूको सूचक पनि अति न्यून छ । यसबाट राज्यको परम्परागत सेवाका रूपमा रहेको शान्ति सुव्यवस्था, कानुनको कार्यान्वयनसमेत कमजोर रहेको प्रमाणित भएको छ । यसका राजनीतिज्ञ र कर्मचारीतन्त्र दुवैले एकआपसमा आक्षेप मात्र लगाएर आफू निर्दोष देखिन खोजेका छन् । राजनीतिज्ञहरू देशलाई स्वर्ग बनाउन खोजे पनि प्रक्रियामुखी कर्मचारीतन्त्रले काम नगर्दा केही गर्न नसकेको भाषण गरी पानीमाथि ओबानो बन्छन् । तर राजनीतिक नेतृत्व नै परिवर्तनको प्रायोजक भएकाले साधन अर्थात् कर्मचारीतन्त्रमाथि दोष थोपरेर आफू उम्किन पाउँछ र ? उनीहरूबीचको पारस्परिक आस्था र विश्वास भएमा मात्र नीति–स्वीकार्यता बढाउँछ, कानुनको कार्यान्वयन गराउँछ । उदाहरणका लागि सिंगापुरको विकासको एक मात्र कारक उच्च योग्यतावान् कर्मचारीतन्त्र र क्षमतावान् मन्त्री हुन् । जापानमा राजनीतिज्ञभन्दा कर्मचारीतन्त्रको क्षमताले गर्दा विकास भएको हो । त्यसैले द्वन्द्वकाल वा अन्य परिवर्तनका लाभ जनताका पुर्‍याउन सुशासनको महत्त्वपूर्ण पात्रका रूपमा कर्मचारीतन्त्रले ठूलो भूमिका रहेको विभिन्न कालखण्डका घटनाले नै पुष्टि गरेका छन् ।
नक्कली भुटानी शरणार्थी काण्डमा मन्त्री र नेतालाई सघाउने सचिव टेकनारायण पाण्डे, ललिता निवास प्रकरणमा नारायणगोपाल मलेगो, चेतनका हत्यारा रिगललाई सजायमुक्त गर्न सघाउने गृह मन्त्रालयका सचिव दिनेश भट्टराई आदिले प्रक्रिया नपुर्‍याइदिएको भए नेताहरूको स्वार्थसिद्धि कसरी हुन्थ्यो ? कर्मचारीतन्त्र ल्याकत, लगनशील, लोकचारमा उम्दा र गलत काम नगर्ने अडान लिने गरेमा मात्र जनप्रिय र असल प्रशासक बन्न सक्छ । राजनीतिज्ञको जनताप्रति सकारात्मक धारणा र नैतिकता तथा विवेक, विचार पुर्‍याई प्रवर्द्धनचालित सरकारको अवधारणा अनुरूप काम गर्नु, सरल–सरकार–सहज सेवाको नारालाई मूर्तरूप दिनु, सांस्कृतिक रूपान्तरण गर्नु, नयाँ सार्वजनिक शासनको अवधारणा लागू गर्नु, समावेशी र प्रतिनिधिमूलक कर्मचारीतन्त्र बनाउन सक्नु र ‘नबिराउनु र नडराउनु’ को सिद्धान्तमा अडिग रहनुनै कमचारीतन्त्रका गुणका साथै आजका आवश्यकता पनि हो ।

गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

सम्पादकलाई चिठी

'दाहाल, देउवा र कोइरालाबीच गठबन्धन कमजोर हुन नदिने सहमति' समाचारमा facebook.com/ eKantipur बाट लिइएका केही टिप्पणी :

बिचरा ! हाम्रा प्रधानमन्त्री हेर्दाहेर्दै एउटा कागजको खोस्टोमा समेत हस्ताक्षर गर्न भ्याउनुभएछ । अलि राम्रा योजना, परियोजना, नीति निर्माण, सन्धि सम्झौतामा हस्ताक्षर गरेछन् कि भनेको त !
– शिवराम पोखरेल

कठै, प्रचण्ड सरकारको आयु ! प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चुनेर पाँच वर्ष ढुक्कले नेतृत्व गर्न दिनुपर्छ । दलगत भागबन्डाको राजनीतिले मुलुक डुब्यो ।
– दीपकप्रसाद चौलागाई

गठबन्धन गठबन्धन भनेर दिनहुँजसो रोइलो गरिरहनुभन्दा बरु पार्टी एउटै बनाए सबै समस्या समाधान हुन्छ ।
– प्रमोद रानाभाट

कठै कुर्सीका लागि हेरहेर झापाली केपीलाई जति गठबन्धन गरे पनि सक्दैनन् ।
– प्रशु बोहोरा

२५ जना कांग्रेस सांसद तयार हुनुपर्‍यो माहोल त्यतै जान सक्छ । कांग्रेसको २५ जना तयार भए भने १३८ को सहमतिका लागि सहमति हो । शेखरको हिजोआजको भाषण सुनौं ।
– गोस्मान श्रेष्ठ

कांग्रेस, एमाले र माओवादीको ‘महागठबन्धन’ ले आज कोशीमा सार्थकता पाएछ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ?
– सिद्धार्थ कन्दङ्वा सुब्बा

शेखर कोइराला समूह र मुख्यमन्त्री केदार कार्कीले पुष्पकमलले झैं एमालेको सहयोगमा प्रधानमन्त्री भैसकेपछि बेइमानी गरेर ‘अराजनीतिक राजनीतिक प्रवृत्ति’ देखाएका थिए । त्यसोचाहिँ नगरून्, मुख्यमन्त्री केदार कार्कीलाई सफलताको शुभकामना ।
– पुष्करनाथ पाण्डे

पाँच वर्ष लगाएर लेखेको संविधानले त नेपालमा उपलब्धि भएन, जाबो तीन जना मिलेर लेखेको सहमतिपत्रले केही हुनेवाला छैन ।
– कुलप्रसाद ढकाल

नेपालका वर्तमान राजनीतिक दल र तिनका अहिलेका बेइमान नेताहरू हुँदासम्म केही हुँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नभएसम्म जो आए पनि लछारपाटो लगाउँदैन । घुमीफिरी पालैपालो ढुकुटी रित्याउने र फोटो झुन्ड्याउन मात्रै तानातान हो ।
– सिजली मगर

लेखाइको प्रकृति र यसमा प्रयोग भएको कागज हेर्दा एवं भाषा पढ्दा गठबन्धन धेरै दिगो होला जस्तो लागेन मलाई त ।
– प्रेमकुमार राई

Page 7
अन्तर्वार्ता

'मृगौलासम्बन्धी रोग आप्रवासी कामदारको ठूलो स्वास्थ्य समस्या हो'

जनस्वास्थ्य अनुसन्धानकर्ता डा. निर्मल अर्याल बेलायतको बर्नमथ विश्वविद्यालय र नेसनल हेल्थ सर्भिस (एनएचएस) मा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्यरत छन् । उनले जनस्वास्थ्य अनुसन्धान (इपिडिमियोलोजी) विषयमा बेलायतको एबरडिन विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । नसर्ने रोगहरू र जीवनशैलीका कारण यसमा पर्ने असरमा विज्ञता हासिल गरेका अर्यालको समूहले पछिल्ला आठ वर्षदेखि आप्रवासीहरूको स्वास्थ्यबारे बेलायत, नेपाल, भारत र मलेसियामा अनुसन्धान गरिरहेको छ । खाडी मुलुकहरू र मलेसियामा कार्यरत नेपाली र दक्षिण एसियाली कामदारहरूको स्वास्थ्यमा उनको विशेष रुचि छ । स्कोपस साइभलको तथ्यांकमा उनी र उनको समूहका वैज्ञानिकहरू आप्रवासी स्वास्थ्य अनुसन्धानमा विश्वकै उच्च ५ प्रतिशतभित्र पर्दछन् । आप्रवासी कामदारहरूको स्वास्थ्य जोखिम र यसका आयामहरूबारे कान्तिपुरका लागि जनकराज सापकोटा र स्वरूप आचार्यले गरेको कुराकानीको सम्पादित अंश:

आप्रवासी कामदारको स्वास्थ्य समस्याबारे नेपाल सरकार र सरोकारवालाहरूले नै ध्यान नदिएको अवस्थामा यस विषयको अनुसन्धानमा कसरी अभिप्रेरित हुनुभयो ?
आप्रवासी कामदारहरूलाई मृगौला समस्या हुने गरेको समाचार पढेपछि नै यस विषयमा अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लागेको हो । यो हामीले आफ्नै वरिपरि पनि देखिरहेकै समस्या हो । तर, हाम्रो ध्यान त्यता गएको थिएन । अर्को कुरा, हामीकहाँ कुनै पनि विषयको प्रमाणित तथ्यांक वा सूचना भेट्न निकै कठिन हुन्छ; यो विषयमा त झन् कसैले केही गरेकै छैन । त्यसैले पत्रपत्रिकामा आएका कुराहरू पनि वैज्ञानिक रूपमा प्रमाणितभन्दा पनि अनुमानित नै हुन् । यस्तो कुराले नीति निर्माण तहमा खासै प्रभाव पार्दैन । विश्वका विकसित देशहरूमा नीति निर्माण गर्नका लागि वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको तथ्य आवश्यक पर्छ । उदाहरणका लागि, मैले न्युजिल्यान्डमा अध्ययन गरेको विश्वविद्यालयले नै त्यहाँको धूमपान सम्बन्धी नीति बनाएको हो । न्युजिल्यान्डलाई आगामी केही वर्षमा धूमपानरहित बनाउने उनीहरूको लक्ष्य छ । कुनै पनि देशको थिंक ट्यांक भनेको त्यहाँको विश्वविद्यालय हो । तर हाम्रोमा त्यस्तो छैन । त्यसैले पनि हामीले आप्रवासीहरूको स्वास्थ्यलाई लिएर राजनीतिक तहमा कुनै निर्णय लिँदा त्यसलाई बाहिरी दुनियाँले मान्ने अवस्था छैन । हामीले हालै मात्र मलेसियामै नेपालीहरूको अचानक मृत्यु किन हुन्छ भनेर अध्ययन गरेका थियौं । तर त्यहाँ अनुसन्धान गर्दा नेपालमै पनि यसरी अचानक मृत्यु हुनेको संख्या ठूलो छ भनेका थिए; नेपालमा रहेकाहरूमा पनि मुटुरोगको जोखिम धेरै छ भन्ने सुनेका छौं भन्ने उनीहरूको तर्क हुन्थ्यो । हामीसँग त्यस्तो हो या होइन भन्नका लागि ‘उमेर र लिंग’ विशेषको कुनै तथ्यांक नै छैन ।

अहिले नेपालमा मात्रै होइन, दक्षिण एसियामै युवावस्थामै हृदयाघात भएर मृत्यु हुनेको संख्या बढेको जस्तो देखिन्छ । यस्तो अवस्थामा कसरी आप्रवासी कामदारमा यो समस्या बढ्दो छ भनेर स्थापित गर्न सकिन्छ ? किनभने हाम्रो देशमै यस विषयमा कुनै प्रमाणित तथ्यांक छैन ।
मुटु सम्बन्धी समस्याका लागि विभिन्न जोखिमयुक्त अवस्थाहरू हुन्छन् । तर त्यो जोखिम हुँदैमा मुटु सम्बन्धी समस्या भएर मान्छे मरिहाल्ने भन्ने हुँदैन । त्यो अवस्था आउन लामो समय लाग्छ । तर अहिले कुनै जोखिम नभएका व्यक्तिको पनि हृदयाघात भएर मृत्यु भइरहेको छ । मैले सन् २०१५ देखि नै यस सम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको छु । अचानक हृदयाघात भएर मृत्यु हुने भनेको केही समयअघिसम्म केही पनि भएको थिएन तर १५–२० मिनेटमै असहज अनभुव गरेको बताउन नपाउँदै व्यक्तिविशेषको मृत्यु हुन्छ । यसको कारण छुट्टै हुन्छ, मुटु सम्बन्धी जोखिम भएको समूहभन्दा बाहिरको । कामदारहरूको अचानक मृत्यु हुनुमा कामको प्रकृति र बस्ने स्थानको अवस्था प्रमुख हुन्छ । गर्मीमा धेरै काम गर्नुपर्छ, पिउने पानी हुँदैन, सानो ठाउँमा कोचिएर बस्नुपर्छ । कामदारहरूकै जीवनशैली पनि यसमा कारक हुन्छ । मलेसियामा अचानक मृत्यु भएका ५० नेपालीमाथि अध्ययन गर्दा ७७.५ प्रतिशत कामदारले दैनिक अत्यधिक मद्यपान गर्ने गरेको पाइयो । मदिराको गुणस्तर पनि अत्यन्तै खराब थियो । त्यसमा विषाक्त मिथानोलको मात्रा धेरै थियो । हाम्रो अध्ययनमा नेपालीले खाने रक्सी कि त नक्कली कि अवैध रूपमा बजारमा बिक्री हुने र कडा खालको हुने रहेछ ।

तपाईंले कामदारहरूको मृगौला र मुटु सम्बन्धी समस्याबारे अध्ययन गर्नुभएको छ । त्यसमा के कारणले गर्दा त्यस्तो समस्या भएको पाउनुभएको छ ? कुन समस्यालाई प्रमुख ठान्नुहुन्छ ?
हामीले सबै विषयलाई सँगसँगै लिएर जानु जरुरी छ । कुनै पनि कुरामा रातारात परिवर्तन हुने अपेक्षा गर्न पनि सकिँदैन । पहिलो त, विदेश जानुअघि हुने स्वास्थ्य परीक्षणलाई नै व्यवस्थित र भरपर्दो बनाउनुपर्‍यो । अहिले जुन हिसाबमा भइरहेको छ, त्यसमा त कसैलाई पनि विश्वास छैन । अर्को कुरा, हामीले स्वास्थ्य जाँच गर्दा केही समस्या फेला पार्‍यौं भने उसलाई काम गर्न जानबाट रोक्नु हुँदैन । बरु उच्च रक्तचाप वा सुगर वा मृगौला सम्बन्धी के समस्या छ, त्यो बताएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर सिकाउनुपर्छ ।
अहिले त स्वास्थ्य परीक्षण नै नक्कली हुन्छ । त्यसमै सुधार गर्नुपर्‍यो । कामदारहरू फर्किएर आएपछि पनि स्वास्थ्य परीक्षण गर्नु जरुरी छ । उनीहरूको अवस्था जाँदा कस्तो थियो र आउँदा कस्तो भयो भन्ने त थाहा हुनुपर्‍यो नि ! त्यो तथ्यांक भयो भने पो हामीलाई कुन देशमा कस्तो समस्या हुँदो रहेछ भनेर थाहा पाउन सहज हुन्छ । र, ती दुवै स्वास्थ्य परीक्षणको तथ्यांक इलेक्ट्रोनिक हुनुपर्‍यो । यहाँ बस्दाभन्दा वैदेशिक रोजगारीबाट फर्किंदा रक्तचापको समस्या दोब्बर भएको हाम्रो अध्ययनले देखाएको छ । तर त्यही व्यक्तिमा रक्तचापको समस्या पहिला थियो कि थिएन भनेर हामीले हेर्ने आधार नै भएन । हामीले अध्ययन सकेसम्म ‘पूर्वाग्रह’ नहोस् भनेर गर्ने हो । तर गोल्ड स्ट्यान्डर्डमा हामीले गर्न सकेका छैनौं ।

हालै तपाईंसहितको समूहले धनुषाका दुई स्थानीय तहमा गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूमा मृगौला रोगको जोखिम रहेको देखायो । यो अध्ययनमा अरू के कुरा मुख्य देखिए ?
हामीले धनुषाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७१८ जना र स्थानीय ७२० जनाबीच तुलनात्मक अध्ययन गरेका थियौं । अनुसन्धानमा वैदेशिक रोजगारीमा कम्तीमा दुई वर्ष बसेका र फर्केको १२ महिनाभन्दा कम अवधिभित्रका कामदारहरू समेटिएका थिए । यो अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूका मृगौलामा रगत फिल्टर गर्ने (ग्लोमेरुलर फिल्ट्रेसन) क्षमतामा कमी आएको देखियो । अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन क्षमता वैदेशिक रोजगारीबाट फर्केकाहरूमा ५.८ प्रतिशत र स्थानीयमा ३.६ प्रतिशत देखियो । स्थानीयमा भन्दा वैदेशिक रोजगारीबाट फर्केकाहरूको पिसाबमा प्रोटिनको मात्रा धेरै देखियो ।

त्यस्तो किन भयो भनेर पनि थाहा भयो ?
एउटै अध्ययनले सबै कुरा निर्क्योल गर्न सक्दैन । हामी अब त्यो किन भयो भनेर अध्ययन गर्ने तयारी गर्दै छौं । रक्तचापलाई नै मुख्य मानेर त्यसको कारण पत्ता लगाउन हामीले काम गर्नुपर्छ । प्रारम्भिक रूपमा भन्नुपर्दा, कामदारको जीवनशैली र कार्यस्थलमा नै समस्या छ । हाम्रो अध्ययनले उनीहरू समस्यामा छन् भन्ने देखियो ।
वैदेशिक रोजगारीमा रहेका र पहिला रोजगारीमा गएर फर्केकाको जोखिमको अवस्था लगभग एकै रहेको पनि देखिएको छ, जुन आफैंमा डरलाग्दो अवस्था हो । धेरैमा शारीरिकका साथै मानसिक समस्या पनि देखिन थालेको छ । एचआईभीको समस्या झन् ठूलो छ । त्यसबारे त अनुसन्धान गर्नै पनि कठिन छ, किनभने हामीले खाडीका केही विश्वविद्यालय र अस्पतालसँग कुरा गर्दा उनीहरू औपचारिक रूपमा केही बोल्दैनन् । सन् २०१४ को कतारको तथ्यांक अनुसार, अचानक मृत्यु हुने अनुपात अन्य देशका नागरिकको तुलनामा नेपालीको धेरै छ । कतार विश्वकपका बेला कामदारहरूको समस्याबारे धेरै कुरा उठाइयो, त्यसमा अन्य देशको राजनीतिक स्वार्थ पनि गाँसिएको हुन सक्छ, तर खाडीकै अन्य देशमा रहेकाहरूबारे कुरै उठेन । त्यसैले यो निकै पेचिलो विषय बनेको छ ।

अन्य देशको राजनीतिक स्वार्थ भनेर के इंगित गर्न खोज्नुभएको हो ?
आप्रवासी कामदारको स्वास्थ्यको विषयमा राजनीति पनि मिसिएको छ । विश्वकपकै बेला कतारबाहेकका अन्य देशमा भएकाहरूको स्वास्थ्यको विषय पूरै ओझेलमा पर्यो । अन्तर्राष्ट्रिय अखबारहरूले पनि एकपछि अर्को गर्दै कतारकै विषय मात्रै उठाइरहे, जबकि आप्रवासी कामदारको समस्या त अन्य देशमा पनि उस्तै र जटिल नै छ ।

तपाईंले अध्ययन–अनुसन्धानमा आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषय पनि समेट्नुभएको छ ?
आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषयमा केन्द्रित भएर हामीले अनुसन्धान गरेका छैनौं । तर सन् २०१९ मा नवलपरासीमा आप्रवासी कामदारका श्रीमतीहरूको मानसिक स्वास्थ्यबारे अनुसन्धान गरेका थियौं । त्यसमा आप्रवासी कामदारहरूका श्रीमतीहरूको मानसिक स्वास्थ्यको अवस्था आम बुझाइभन्दा राम्रो रहेको देखियो । यसका पछाडि केही कारण पनि थिए । किनकि उक्त क्षेत्रका युवाहरूमा आंशिक सीप भएको र उनीहरू अलिक धेर तलब हुने चालक, इलेक्ट्रिसियनजस्ता काम गर्न प्रवास गएको देखियो । तुलनात्मक रूपमा राम्रो कमाइ र कार्यस्थलको सुरक्षाका कारण उनीहरू श्रीमतीसँग निरन्तर टेलिफोन कुराकानी गर्ने रहेछन् । अनि तिनका श्रीमतीहरू पनि स्थानीय तहमा कुनै न कुनै अर्थोपार्जनमा संलग्न भएका थिए । यसका साथै श्रीमान्को अनुपस्थितिमा उनीहरूले विभिन्न सामुदायिक कामको नेतृत्व पनि सम्हालिरहेका थिए । यस्ता तथ्यहरूका कारण पनि उनीहरूको मानसिक स्वास्थ्य राम्रो भएको हुन सक्छ भन्ने देखियो ।

आप्रवासी कामदारको मानसिक स्वास्थ्य सूक्ष्म रूपले नियाल्न वा तिनको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि हामीले केके गर्न सक्छौं ?
हामीले गर्नुपर्ने पहिलो काम भनेकै विदेश जानुपुर्व नै कामदारहरूको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाउनु हो । यसरी संकलन गरिएका स्वास्थ्य सम्बन्धी तथ्यांकहरू विश्लेषण गर्ने अभ्यासले पनि केही नयाँ जानकारी पाउन सकिन्छ । अघि नै भनें, वैदेशिक रोजगारीबाट फर्केकाहरूको पनि स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गर्नुपर्छ । यसो भयो भने काम गर्न जानुअघिको स्वास्थ्य सूचकांकमा फर्केपछि केके बदलाव आयो भनेर तुलनात्मक अनुसन्धान गर्न सकिन्छ । समुदायमा गई उनीहरूका स्वास्थ्य सूचकहरू ल्याउनुपर्दैन, हामीसँग भएकै तथ्यांकबाट विभिन्न निष्कर्षमा पुगेर नयाँ अनुसन्धानको बाटो खोल्न सकिन्छ ।
एकीकृत तथ्यांकको अभावमा हामीले आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा धेरै काम गर्न सकिरहेका छैनौं । विदेश जानुअघि स्वास्थ्य परीक्षणकै क्रममा उनीहरूलाई दैनिक आनीबानी र जीवनशैलीले स्वास्थ्यमा पार्ने जोखिमहरूबारे पनि बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणमा पनि कडाइ गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको विदेशस्थित नेपाली दूतावासहरूको भूमिका पनि हो । हामीले मलेसियामा अनुसन्धान गर्दा थाहा पायौं, फिलिपिन्स दूतावासले त्यहां कार्यरत फिलिपिनो महिलाहरूसँग हरेक साता मनोपरामर्श गर्दो रहेछ । हामीले यस्ता राम्रा अभ्यासहरूबाट पाठ सिक्न सक्छौं । फिलिपिनो आप्रवासी कामदारहरू गल्फभरि छरिएका छन् तर उनीहरूमा स्वास्थ्य समस्या किन धेरै हुँदैन ? किनकि फिलिपिन्स दूतावाससँग कामदारहरूको स्वास्थ्य सुधार्ने सहायता प्रणाली छ । हाम्रो दूतावासले पनि त कामदारहरूको स्वास्थ्य सुधार्न यस्तै भूमिका खेल्न सक्छ नि ! कतैकतै नेपाली दूतावासहरूले यस्तो प्रयास गरेका छन् तर त्यो व्यवस्थित र प्रणालीगत रूपमा छैन । कामदारको मृत्यु भइसकेपछि मात्रै दूतावासले भूमिका खेल्ने होइन कि जीवित छँदै उनीहरूको स्वास्थ्य सुधार्ने काम गर्नुपर्छ । दूतावासले तालिका नै बनाएर कहिले कामदारको मृगौला, कहिले रक्तचाप, कहिले सुगर, कहिले मनोस्वास्थ्य परीक्षणजस्ता कामहरू गर्न सक्छ ।

खाडी र मलेसियामा कार्यरत नेपालीको मुख्य स्वास्थ्य समस्या के हो ?
अहिले खाडी र मलेसियामा रहेका नेपालीहरूको अचानक मृत्युको जुन भयावह अवस्था छ, यस्तै स्थिति सन् १९८० को मध्यतिर सिंगापुरमा कार्यरत थाई कामदारहरूको पनि थियो । त्यतिखेर थाइल्यान्डको विदेश मन्त्रालयले मेरो घरको कुकुरभन्दा सिंगापुरमा कार्यरत थाईहरूको अवस्था दयनीय छ भनेर टिप्पणी गर्दै सिंगापुरले कार्यस्थल र अधिकारमा सुधार नगर्ने हो भने कामदार नपठाउने भनेपछि सिंगापुरले कामदारहरूको अवस्था सुधार्न धेरै प्रयास सुरु गर्‍यो । सन् १९९० पछि आप्रवासी कामदारहरूको अवस्थामा व्यापक सुधार आयो ।

के यसरी हुने मृत्युको कारण पत्ता लगाउन अटोप्सी गरिन्छ ? गरिँदैन भने त मृत्युको कारण अज्ञात भयो नि ?
हाम्रो अहिलेको अध्ययन प्राविधिक भाषामा भन्दा भर्बल अटोप्सी अर्थात् मौखिक अटोप्सी हो । मलेसियामा पोस्टमार्टम त हुन्छ तर अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिँदैन । जस्तो कि, अत्यधिक तातोका कारण कसैको मृत्यु भयो भने पोस्टमार्टम गर्दा पछ्याउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ तर त्यहाँ त नाम, ठेगाना, कम्पनी, उमेर, मृत्यु हुँदाको समय र जे भएर मृत्यु भए पनि कार्डियोभास्कुलर डिजिज भनेर कारण लेख्ने चलन छ । यो विषयमा बिमाको कुरा पनि जोडिन्छ । अचानक मृत्यु भयो भने कतिपय केसमा बिमाले कभर नगर्दो रहेछ । त्यसैले उनीहरू कार्डियो भास्कुलर डिजिज भनेर लेखिदिन्छन् । गल्फको अवस्था पनि यो भन्दा फरक छैन ।

भनेपछि त मलेसियामा भएका नेपालीहरूको मृत्युमा अन्तर्राष्ट्रिय मापदण्डहरू पछ्याएर अटोप्सी गर्न जरुरी देखिन्छ ?
अचानक मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम मात्रै पनि पर्याप्त नहुने रहेछ । यो विषयमा मैले अन्तर्राष्ट्रिय विज्ञहरूसँग पनि धेरै परामर्श र छलफल गरें । कार्डियोलोजीमा एउटा विधा छ—इन्टरभेन्सनल कार्डियोलोजी । यसले मुटुका चालहरूको व्याख्या गर्छ । एक जना वरिष्ठ कार्डियोलोजिस्टले मसँग अचानक हुने मृत्युको कारण पोस्टमार्टमबाट मात्रै पत्ता नलाग्ने बताएका थिए । यद्यपि अहिले थप अनुसन्धान नहुनुभन्दा पोस्टमार्टम नै पनि एउटा विकल्प भने हो ।
हामीले मलेसियाका नेपालीमा भएको अचानक मृत्युको विषयमा थप बुझ्न नेपालका डाक्टर हरिहर अवस्थीदेखि मलेसियामा कार्यरत केही फरेन्सिक विज्ञहरूसँग सल्लाह लिएका थियौं । हामीले बनाएको प्रश्नावलीमा थप सुझाव पाएका थियौं । हामीले ५० नेपालीको मृत्युको अध्ययनपछि मदिरा पनि एउटा मुख्य कारक रहेको पत्ता लगायौं । अब उनीहरूले कुन ब्रान्डको मदिरा खाने गरेका छन, कति मात्रामा खाइरहेका छन्, उनीहरूको डाइट कस्तो छ भन्नेजस्ता विषयमा थप अनुसन्धान गर्नुपर्ने देखियो । कामदारहरूमा प्रोटिनको अवस्था के छ भनेर पनि हेर्नुपर्ने देखियो । ५० नेपालीको मृत्युमध्ये एकतिहाइ कारकचाहिँ अत्यधिक तनाव पनि देखियो ।

आप्रवासी कामदारहरूको स्वास्थ्य किन गम्भीर विषय हो र यसमा राज्यको गहिरो ध्यान किन जरुरी छ ?
अहिले आप्रवासी कामदारहरूमा सबैभन्दा धेरै देखिएको स्वास्थ्य समस्यामा प्रमुख मृगौला सम्बन्धी छ । मैले त भन्ने गरेको छु— किड्नी डिजिजेज अ डेथ ट्र्याप । आप्रवासी कामदारको हकमा मात्रै होइन, तपाईं–हाम्रो परिवारकै एक सदस्यमा मात्रै मृगौला सम्बन्धी रोग देखियो भने सिंगो परिवारमा असर पर्छ । केही दिनको अन्तरमा डायलसिसमा लैजानका लागि कमाउने एक सदस्य नै खटिनुपर्दा त्यसको असर परिवारको कमाइमा सोझै पर्छ । त्यसमा पनि आप्रवासी कामदारहरू त समाजको पनि तल्लो वर्गका हुन्छन् । सन् २०१९ मा पोखरामा गरिएको एक अध्ययनले डायलसिसको बिरामीले मासिक ३२ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखाएको थियो । यसैले आप्रवासी कामदारको स्वास्थ्य सिंगो समाजको चासोको विषय हो ।

कामदारहरूका अरू केकस्ता स्वास्थ्य समस्या देखिएका छन् ?
यसमा थप अध्ययन–अनुसन्धानको खाँचो छ । काठमाडौंको सिभिल अस्पतालका डाक्टर विशेष पौडेलले एउटा कुराकानीमा सुनाउनुभएको थियो— वैदेशिक रोजगारीबाट फर्केकाहरूमा रक्त क्यान्सर सम्बन्धी समस्या पनि देखिएको छ । विदेशमा रङ र पेट्रोलियमसम्बन्धी काम गरेकामा यस्तो समस्या देखिएको छ । यसले अब वैदेशिक रोजगारीबाट फर्कर्कोहरूको स्वास्थ्यमा नयाँ समस्या देखिन थालेको संकेत गर्छ ।

भनेपछि कामदारहरूको स्वास्थ्यको मुद्दालाई सिंगो परिवार र समाजसँग पनि जोड्नुपर्ने भयो ?
अचानक मृत्युको विषयले भन्दा मृगौला सम्बन्धी वा रक्त क्यान्सरजस्ता रोग लिएर फर्केकाहरूको विषय बढी गम्भीर छ । किनकि त्यसको असर सिंगो परिवारमा लामो समयसम्म रहिरहन्छ । हाम्रो अनुसन्धानमा समेत संलग्न वीर अस्पतालमा कार्यरत मृगौला रोग विशेषज्ञ डाक्टर अरुण सेढाईले आफूकहाँं विमानस्थलबाट सोझै डायलसिस गर्न आउने कैयन् आप्रवासी कामदार रहेको सुनाउनुभएको थियो । अहिलेसम्म हेर्दा आप्रवासी कामदारको सबैभन्दा ठूलो स्वास्थ्य समस्या मृगौला सम्बन्धी रोग नै हो । मृगौला रोगले त मान्छेलाई मृत्युसम्म दुःख दिइरहन्छ । यस्तो रोग लागेकाहरूले आफ्नै मृत्युको कामना गर्नुपर्ने दुःखद अवस्था छ ।

कामदारको स्वास्थ्यको विषयले रेमिट्यान्सको उल्लासमा रमाइरहेको नेपाली समाजमा अर्को खतरनाक अवस्थातर्फ संकेत गरिरहेको छ ?
यो त टाइम बम जस्तो हो, टिकटिक गरेर खतरातर्फ संकेत गरिरहेको टाइम बम । तर नकारात्मक कुराहरू मात्रै छैनन् । आप्रवासी कामदारहरूको स्वास्थ्यमाथि सुरु भएका छलफल, अध्ययन र अनुसन्धानबाट सकारात्मक कुराहरू पनि आइरहेका छन् । कतारले आप्रवासी कामदारका पक्षमा धेरै सुधार गरेको छ । गत वर्ष मात्रै एमनेस्टीको रिपोर्टले पनि दक्षिण एसियाका कामदारहरूको स्वास्थ्य सम्बन्धी समस्यामा कार्डियाक डेथ र किड्नी मुख्य समस्याका रूपमा रहेको निष्कर्ष निकालेको छ । अर्को सकारात्मक कुरा भनेको, प्रमाणहरूमा आधारित अनुसन्धानहरू अघि बढेका छन् । मलेसियामा हामी आप्रवासी कामदारहरूको जीवनशैलीसम्बद्ध जोखिमहरू घटाउने उपायमाथि काम गर्ने योजनामा छौं ।

तपाईंहरूले गरेको अध्ययन–अनुसन्धानलाई नेपाल सरकारले चाहिँ कसरी लिइरहेको छ ?
पछिल्लो अनुसन्धानको रिपोर्ट प्रकाशित भएपछि योजना आयोगले आगामी योजनामा आप्रवासी कामदारहरूको स्वास्थ्यको विषय पनि समेट्ने भनेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने तालिम सम्बन्धी पाठ्यक्रममा पनि हामीले केही सुधार गर्न खोजेका छौं । नेपालका अनुसन्धानकर्मीहरूले पनि आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा केही गर्न खोजिराख्नुभएको छ । प्रमाणमा आधारित अनुसन्धानका नयाँनयाँ काम सुरु भएका छन् ।

दृष्टिकोण

दलित अधिकार कार्यान्वयनमा संकट

- मेघेन्द्र विश्वकर्मा

हिन्दुधर्मीय राज्यसत्ताले वर्णाश्रम व्यवस्थामा आधारित जातप्रथाका नाममा सदियौंदेखि दलित समुदायमाथि थोपरेको जातीय विभेद र असमानताविरुद्ध दशकौंदेखि दलित संघर्षहरू हुँदै आए । २०६२–६३ सालको तेस्रो जनआन्दोलनको सफलतापछि जारी अन्तरिम संविधान–२०६३ मा दलित समुदायले दशकौंदेखि उठाउँदै आएका विशिष्ट मागहरू समेटिए । अन्तरिम संविधानमा दलित समुदायका सन्दर्भमा समानुपातिक समावेशी प्रतिनिधित्व वा आरक्षणको प्रबन्धअनुरूप व्यवस्थापिका (संविधानसभा) मा उल्लेख्य सहभागिता हुन गयो । विडम्बना, अन्तरिम संविधानमा गरिएको समानुपातिक समावेशी प्रतिनिधित्वको प्रबन्धलाई २०७२ को संविधानले १३ प्रतिशतबाट ९ प्रतिशत (कोटा) मा सीमित गर्‍यो । त्यसपछि दलित अधिकारले ठोस आकार ग्रहण नगर्दै खतरामा पर्न थाल्यो । त्यससँगै, राज्यले दलित विकास समिति र वादी विकास समितिजस्ता निकायलाई खारेजीको प्रक्रियामा लग्यो । संवैधानिक भनिए पनि राष्ट्रिय दलित आयोगको कार्यक्षेत्रलाई संकुचित मात्रै पारिएन, प्राधिकारविहीन नै बनाइयो ।
संविधानको धारा ४० मा भूमिहीन दलितलाई एक पटकका लागि राज्यले भूमि उपलब्ध गराउने भनिएको छ । संविधान निर्माणको आठ वर्ष भैसक्दा पनि उक्त व्यवस्था कार्यान्वयनमा राज्यले तदारुकता देखाएको छैन । संविधानको धारा ४० मै दलित समुदायका विद्यार्थीलाई छात्रवृत्तिसहित निःशुल्क उच्च शिक्षा, आवासविहीन दलितका लागि आवासको प्रबन्ध र परम्परागत पेसाहरूको संरक्षण, आधुनिकीकरण एवं व्यवसायीकरण तथा बेरोजगार दलितका लागि रोजगारीमा प्राथमिकताको विषय उल्लेख गरिएको छ । जबकि संवैधानिक रूपमा प्रबन्ध गरिएका दलित अधिकारहरूको कार्यान्वयनका निम्ति कानुन निर्माण अनिवार्य गरिनुपर्ने हुन्छ । भूमि सम्बन्धी कानुन बने पनि अन्य कानुन निर्माण गर्न राज्यले आनाकानी गर्दै आइरहेको छ ।
अर्कातर्फ, राजनीतिक दलहरू दलित अधिकारका सम्बन्धमा संविधान असाध्यै प्रगतिशील रहेको र ती अधिकारहरू लिपिबद्ध गराउन आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्न छोड्दैनन् । संविधानमा दलित अधिकार समावेश गरेको जस लिन चाहने तर तिनको कार्यान्वयनमा चाहिँ रत्तीभर चासो नदिने दलहरूको चरित्र आफैंमा विरोधाभासपूर्ण देखिन्छ । राजनीतिक दलहरूको दलितप्रतिको विभेदपूर्ण दृष्टिकोणले दलित अधिकारको कार्यान्वयनको सवाल निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
नेपालका दलित समुदायको अवस्था असाध्यै भयावह छ, जुन केही तथ्यांक हेर्दा स्पष्ट हुन्छ । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले सन् २०२० मा गरेको अध्ययन अनुसार, देशमा १५ लाख दलित घरपरिवार भूमिहीन छन् । सन् २०१८ मा अर्थ मन्त्रालयले गरिबीको अवस्था सम्बन्धी गरेको अध्ययन सर्वेक्षण अनुसार, २१.६ प्रतिशत दलित गरिबीको रेखामुनि छन् । अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले सन् २०१८ मै गरेको अध्ययनले भने गरिब दलितको संख्या ४२ प्रतिशत देखाएको छ । समता फाउन्डेसनले सन् २०२० मा गरेको अध्ययनअनुसार निजामती सेवामा २.२२ प्रतिशत र न्यायालयमा १ प्रतिशत दलित प्रतिनिधित्व छ । प्रतिनिधिसभामा दलित समुदायको उपस्थिति ६.९१ प्रतिशत मात्रै छ । यसले दलित समुदायको समानुपातिक समावेशी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा राज्यसत्ता अनुदार रहेको पुष्टि गर्छ ।
राष्ट्रिय समावेशी आयोगको अध्ययन प्रतिवेदन–२०७९ ले आरक्षणको औचित्यमाथि नै प्रश्न उठाउँदै सरकारलाई विवादास्पद सिफारिस गर्‍यो । सरकारी सेवामा खुला आवेदनद्वारा पदपूर्ति गरिने ४५ प्रतिशतलाई शतप्रतिशत मान्दा हुन आउने ९ प्रतिशत कोटा आरक्षित गरी लागू गरेको चौध वर्षमा १,३०८ जना दलितलाई लोकसेवा आयोगले नियुक्तिका लागि सिफारिस गरेको देखिन्छ । समावेशी आयोगले भने दलित समुदायबाट सरकारी सेवामा प्रतिनिधित्व भएको उक्त संख्या देखाउँदै आरक्षणको दीर्घकालीन प्रभाव नकारात्मक हुन सक्ने सम्भावनातिर औंल्याउँदै भ्रामक र तथ्यहीन तर्कसहित सिफारिस गरेको पाइन्छ ।
आयोगले बहुसंख्यकविरुद्धको असमान व्यवहार हुने, बहुसंख्यकले राज्यले अन्याय गरेको महसुस गर्ने, आरक्षणको छुट्टै टापु बन्ने दुश्चक्र सुरु हुने, अदक्षता भित्रिने र सेवाको गुणस्तर कमजोर हुने भन्दै आरक्षण खारेजीयोग्य रहेको आशयको प्रतिवेदन सरकारलाई सिफारिस गर्‍यो । तर उसले ठानेको बहुसंख्यक कथित (अ)योग्यले गरेको भ्रष्टाचारले देश टाट पल्टिएको तथ्यलाई भने किन र कसरी नजरअन्दाज गर्‍यो ? बुझिनसक्नु छ । आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले समेत संविधानको प्रतिकूल हुने फैसला गरिदियो । राष्ट्रिय समावेशी आयोग र न्यायको प्रत्याभूति गराउने जिम्मेवार निकाय सर्वोच्च अदालत आफैंमा असमावेशी छन्, जसले समावेशी सिद्धान्तको मर्मविपरीत सरकारलाई आरक्षण खारेजीको आशयको सिफारिस र फैसला गर्नुबाट दलित समुदायले पाएको अधिकारलाई उल्टाउन राज्यले नै षड्यन्त्र गरिरहेको देखिन्छ ।
अर्कातर्फ, छुवाछुतको आवरणमा लोकतन्त्र स्थापनायता मात्रै ६५ जना दलितको गैरदलितद्वारा हत्या भएको विभिन्न तथ्यांकले देखाउँछन् । दलित समुदायमाथि समाज निर्मम रूपमा प्रस्तुत हुनु र राज्यसंयन्त्र दलित अधिकार कार्यान्वयनको साटो खारेज गर्न लालायित देखिनुले दलित समुदाय र राज्यसत्ताबीच गहिरो असमझदारी पैदा हुँदै गैरहेको बुझ्न कठिन छैन ।
जातव्यवस्था यत्ति जटिल र शक्तिशाली छ, कैयौं राजनीतिक–सामाजिक संघर्ष, विद्रोह र आन्दोलनहरू छुवाछुत प्रथाको जरालाई काट्न असफल भए । जातीय विभेदविरुद्धका सामाजिक संघर्ष मात्रै नभई राजनीतिक क्रान्तिहरूसमेत सुधारवादी बने । खासमा आर्थिक–समाजिक र राजनीतिक रूपान्तरणका निम्ति आमूल संघर्ष अनिवार्य हुन्छ । दलित समुदायको बृहत्तर मुक्तिको अपेक्षा गरिएका विभिन्न राजनीतिक क्रान्तिहरूबाट दलित मुक्ति नहुनुको कारण आन्दोलनहरूले संरचनागत परिवर्तन गर्ने तागत नराख्नु हो ।
दलित समुदायमाथि चौतर्फी विभेद र असमानता शासकहरूले नै थोपरेका हुनाले उनीहरूको मुक्तिको दायित्व पनि राज्यकै हुन्छ । दलित मुक्तिका सन्दर्भमा राज्यका मुख्यतः तीन वटा प्रमुख कार्यभार छन् । पहिलो, दलित समुदायमाथि लादिएको विभेदको अन्त्य गर्ने संवैधानिक व्यवस्थालाई बिनासर्त कार्यान्वयन गर्न राज्यले अग्रसरता लिनुपर्छ । छुवाछुत प्रथालाई व्यवहारमै उन्मूलन गर्न अझ कठोर दण्ड–सजायको व्यवस्थासहितको कानुन निर्माण गर्नु अपरिहार्य छ ।
दोस्रो, शताब्दियौं लामो शोषणको क्षतिपूर्तिसहित जनसंख्याका आधारमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था संविधानमै सुनिश्चित गरिनुपर्छ । त्यसका लागि यथाशीघ्रसंविधान संशोधन गर्नुपर्छ । र तेस्रो, जातीय विभेद र आर्थिक रूपमा सीमाहीन शोषणको दुश्चक्रभित्र पिसिँदै आएका दलित समुदायका लागि राज्यले उत्पादनका स्रोत र साधनमाथि पहुँच सुनिश्चित गर्नुपर्छ । उत्पादनका स्रोतहरूको समानुपातिक र न्यायपूर्ण पुनर्वितरण गर्नबाट समाजवादको दुहाई दिने दलहरू कसै गरी भाग्न मिल्दैन ।
अन्त्यमा, दलित समुदायले राज्यप्रति विश्वास गरिरहने तर शासकले चाहिँ उनीहरूलाई भुलभुलैयामा पारिरहने प्रवृत्ति छ । शासक र शासितबीच बढ्दो अविश्वास र तनावले द्वन्द्वको खतरा बढ्छ । संविधानमा उल्लिखित दलित अधिकारहरूको कार्यान्वयन नै दलित समुदायको प्रमुख सरोकार हो । सशक्त दलित आन्दोलनबिना प्राप्त अधिकारहरूको रक्षा र कार्यान्वयन हुनेमा गम्भीर आशंका उब्जेको छ । तसर्थ, दलित समुदायसँग राज्यसत्ताविरुद्ध संघर्ष गर्नुको विकल्प देखिँदैन । अबको संघर्ष दलितले आफ्नै तागतले सञ्चालन गर्नुपर्छ ।

Page 8
Page 9
अर्थ वाणिज्य

सेयर बजार घट्दा ८ अर्बभन्दा बढी राजस्व गुम्यो

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेप्से परिसूचक घट्यो, कारोबार रकममा पनि उल्लेख्य गिरावट
- यज्ञ बञ्जाडे

(काठमाडौं)
सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज २४ सम्म) सेयर बजारबाट सरकारलाई प्राप्त राजस्वमा आएको कमीका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा सेयर बजारबाट सरकारलाई कुल ३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ मात्र राजस्व (पुँजीगत लाभकर र अग्रिम कर कट्टी) प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ८ अर्ब रुपैयाँले कम हो । आर्थिक वर्ष ०७८/७९ मा सेयर बजारबाट ११ अर्ब ४० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेप्से परिसूचक घट्नुका साथै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएपछि सेयर बजारबाट उठ्ने करमा ठूलो गिरावट आएको जानकार बताउँछन् । चालु आर्थिक वर्षको तीन महिना (गत साउन, भदौ र असोज २४ सम्म) मा सेयर बजारबाट ८२ करोड ६४ लाख ७५ हजार रुपैयाँ कर प्राप्त भएको छ । उल्लिखित कुल राजस्व रकम सेयर बजारबाट प्राप्त पुँजीगत लाभकर (सीजीटी) र अग्रिम करकट्टी (टीडीएस) मार्फत संकलन भएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा सीजीटीमार्फत ७३ करोड ४ लाख ६ हजार र टीडीएसमार्फत ९ करोड ६० लाख ६८ हजार रुपैयाँ कर प्राप्त भएको छ । पछिल्ला वर्षमा समग्र सेयर बजार नै घटेपछि सरोकारवाला (नेप्से, सीडीएस, ब्रोकर कम्पनी आदि) को आम्दानी घटेपछि टीडीएसमा पनि कमी आएको हो ।
०७८ भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९ बिन्दु) मा थियो । नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक, बजार पुँजीकरण, कारोबार रकमलगायत सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजार ओरालो लाग्न थाल्यो । यही कारण उच्च बिन्दुको तुलनामा अहिले नेप्से करिब ५९ प्रतिशत र कुल बजार पुँजीकरण करिब ६४ प्रतिशतले घटिसकेको छ ।
नेप्सेले हालसम्मकै उच्च बिन्दुमा रहँदा सेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियो । गत भदौसम्म आइपुग्दा मासिक औसत दैनिक कारोबार रकम पनि घटेर १ अर्ब ९८ करोड रुपैयाँमा सीमित छ । कारोबार रकममा उल्लेख्य गिरावट आएपछि सेयरबाट संकलन हुने राजस्व पनि घटेको हो । हाल सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ देखि साढे ७ प्रतिशतसम्म प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
यसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । तर संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ ।
गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब १६ खर्ब रुपैयाँले घटेको छ । ०७८ भदौदेखि गत बिहीबार (असोज २५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । उक्त अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ९६ अर्ब रुपैयाँले घटेको छ ।
०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । गत बिहीबारसम्म यो २८ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ । नेप्सेमा सूचीकृत कुल सेयरलाई तिनको पछिल्लो बजार मूल्यले गुणन गरेर कुल बजार पुँजीकरण निकालिन्छ, जसलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घट्दो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको सरकारी तथ्यांकले देखाएको छ ।
यसअघि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ अंकसम्म पुगेको सेयर बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन । यसैबीच बजारमा तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको जानकारहरूको तर्क छ । तर, गत आर्थिक वर्षको पछिल्लो ६ महिना यता वित्तीय प्रणालीमा तरलता अवस्था सहज छ । ब्याजदर अपेक्षित रुपमा नघटेपनि बढ्न सकेको छैन । तरपनि बजारमा अपेक्षित रूपमा सुधार आएको छैन ।
सेयर बजारको सुधारका लागि भन्दै गत साता नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएको छ । तर त्यसपछिका तीन कारोबार दिन (आइतबार, सोमबार, मंगलबार र बिहीबार) नेप्से उच्च अंकले घटेको छ । बिहीबार सामान्य अंकले बढे पनि बाँकी सबै कारोबार दिन घटिरहेको थियो । नेप्सेको यो प्रवृत्तिलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएका रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रूपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो ।

सेयर बजारबाट कुन वर्ष कति राजस्व ?
०७७/७८    १५ अर्ब ५४ करोड ३२ लाख
०७८/७९    ११ अर्ब ४० करोड ८५ लाख
०७९/८०    ३ अर्ब ३८ करोड ४२ लाख
०८०/८१    ८२ करोड ६४ लाख
    (असोज २४ सम्म)

अर्थ वाणिज्य

नागढुंगा सुरुङमा भ्वाङ परेपछि काम ठप्प

- विमल खतिवडा

(काठमाडौं)
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा काठमाडौंतर्फ निर्माणस्थल चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा भ्वाङ परेपछि एक सातादेखि काम ठप्प छ । निर्माणका क्रममा रहेको सुरुङको मुखबाट ८३ मिटर पर बाहिरी जमिनमा भ्वाङ परेपछि स्थानीयले काम गर्न रोकेका छन् । सुरुङबाहिर भ्वाङ देखिएपछि स्थानीयले उचित मुआब्जासहित आसपासका घर स्थानान्तरणको माग गरिरहेका छन् ।
यस क्षेत्रमा अहिले ९ घर प्रभावित भएकाले स्थानान्तरण र मुआब्जा नदिएसम्म काम गर्न नदिने स्थानीयको चेतावनी छ । लामो समयसम्म काम रोकिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवाला निकायको उपस्थितिमा शुक्रबार मन्त्रालयमा प्रभावित घरलाई तत्काल अस्थायी स्थानान्तरण गर्ने र भ्वाङ परेको ठाउँमा भूगर्भविद्सहितको विज्ञ टोलीद्वारा अध्ययन गर्ने सहमति भएको थियो । सुरुङ निर्माणस्थलमा कसरी भ्वाङ पर्‍यो, कति घर चर्किएका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितलाई स्थानान्तरणको व्यवस्था गर्न सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीको नेतृत्वमा समिति गठन गरिएको छ ।
छलफलमा मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय भए पनि स्थानीयले शनिबार विज्ञसहित गएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको टोलीलाई काम अघि बढाउन दिएनन् । उनीहरूले प्रभावित घरलाई स्थानान्तरण र मुआब्जा नदिएसम्म काम गर्न नदिने जनाएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जनाए । ‘दसैं आइसक्यो, एकदुई दिन भए पनि काम हुन्छ, अहिले काम गर्न दिनू, तपाईंहरूको माग सम्बोधन गर्न मन्त्रालयमा भएको छलफलबाट सहमति भइसकेको छ भन्दा पनि स्थानीयले अवरोध गरिरहे,’ उनले भने, ‘पटक/पटक फिल्डमा गएर आग्रह गर्दा पनि स्थानीयले नदिएपछि काम रोकिएको छ ।’ भ्वाङ परेको ठाउँलाई यत्तिकै छाडिरहे भविष्यमा पानी पर्दा खतरा हुन सक्ने उनको भनाइ छ । तसर्थ पहिला भ्वाङ परेको ठाउँको व्यवस्थापन गर्न दिनुपर्ने उनले बताए ।
मन्त्री ज्वालाले भने एक महिनाभित्र मुख्य सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ गर्नसमेत निर्देशन दिए पनि काम भने अघि बढ्न सकेको छैन । समस्या समाधान नभएकाले निर्माणको काम थप लम्बिने देखिएको सडक विभाग स्रोतले जनायो । ‘दैनिक ५ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको थियो,’ उनले भने, ‘अचानक सुरुङ नजिकै भ्वाङ देखिएपछि काम रोकिएको हो । दसैंलगत्तै मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने भनिए पनि अहिले सम्भव भएन, मंसिर पुग्ने स्थिति भयो ।’
अहिले धादिङ र काठमाडौं दुवैतिर काम रोकिएको छ । मुख्य सुरुङ २९२ मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले बताएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किमि दूरी रहेको उक्त आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणमा सबैको चासो छ । मुख्य सुरुङको कुल दूरी २.६८८ किमिमध्ये २.३९६ किमि खनिसकिएको छ । सुरुङ खन्ने काम सकिएपछि फिनिसिङ गर्न समय लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए । निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा यातायात चल्ने आयोजनाको दाबी छ ।
अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भएको हो । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् ।
सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउनेछैनन् । सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएपछि त्यसभित्र अक्सिजन, बत्ती व्यवस्थापन, सडक कालोपत्र, लाइनिङलगायत काम गर्न समय लाग्नेछ । समग्रमा सुरुङ खन्ने काम ९३.७० प्रतिशत सकिइसकेको छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ६१.३११ प्रतिशत छ । २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो । सुरुमा कोभिडका कारण तोकिएकै समयभित्र निर्माण नसकिएको आयोजनाको भनाइ छ । त्यसको प्रभाव पछिसम्म रहँदा सुरुङ निर्माणको कामले गति लिन नसकेको सडक विभागले बताएको छ । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । अहिले थप भएको समयभित्र पनि काम नसकिने भएकाले थप ६ महिना समय लाग्ने प्रमुख श्रेष्ठले जनाए । ‘अहिले थपिएको समयभित्र पनि काम सकिने देखिँदैन । रफ्तारमा भइरहेको काम अहिले आएर रोकिएको छ,’ उनले भने, ‘फेरि सुरु खन्नेबित्तिकै काम सकिने होइन, यसको फिनिसिङ गरेर व्यवस्थापन गर्न समय लाग्छ, पछि ६ महिना थप गर्नुपर्ने हुन्छ ।’
सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ ।
फ्लाईओभर भने निर्माणकै चरणमा छ ।

अर्थ वाणिज्य

प्रसारणलाइन निर्माणमा समस्यै समस्या

४१ वर्ष पुरानो तार फेर्न पनि स्थानीयको अवरोध
- कमल धिताल

(काठमाडौं)
वीरगन्ज क्षेत्रको विद्युत् प्रवाहका लागि अत्यावश्यक माानिएको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन स्तरोन्नतिमा अवरोध भएको छ । करिब ४१ वर्षअघि निर्मित प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने काममा अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरेपछि असोज १९ बाट प्रसारण लाइन स्तरोन्नति ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको (तार फेर्ने) काममा अवरोध गरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किमि खण्डमा पर्ने कम क्षमताको पुरानो तार बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको जनाएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरिक्त विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किमि लाइनमध्ये एउटा सर्किटको करिब ३६ किमि तार फेरिएको र लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किमि तार फेर्ने काम रोकिएको प्राधिकरणको भनाइ छ । कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायत समस्याले विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘नयाँ प्रसारण लाइन निर्माणमा जताततै अवरोध छ, अब ४०/४१ वर्षअघि बनेर चालु अवस्थामा रहेको लाइनमा समेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ? अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो प्रयास र पहल भइरहे तापनि सफल हुन सकिरहेका छैनौं,’ घिसिङले भने, ‘तत्काल काम गर्न सकेनौं भने ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायत क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन आग्रह गर्दछु ।’
तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रूपमा बाँधी राखिएको प्राधिकरणको भनाइ छ । एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको प्राधिकरणले जनाएको छ ।
अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दालगायतसँग पटक–पटक छलफल गरिए तापनि कुनै निष्कर्ष आउन नसकेको आयोजना प्रमुख राजेन्द्र कोइरालाले बताए । स्थानीयले माग पूरा नभएसम्म उनीहरूको जग्गामा टेक्दै नटेक्न चेतावनी दिएको उल्लेख गर्दै प्रमुख कोइरालाले समस्या समाधानका लागि स्थानीय तह, प्रशासनसँग समन्वय भइरहेको भएको जनाए । १३२ केभी प्रसारण लाइनको मध्यबिन्दुबाट दायाँबायाँ ९/९ मिटर मार्गाधिकार तोकिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको समेत धितो नलिने गरेको स्थानीयको गुनासो छ । तार फेर्ने कार्यलाई खण्ड–खण्डमा विभाजन गरी काम भइरहेको छ । पहिलो खण्डमा हेटौंडाबाट पथलैयासम्मको काम सकिइसकेको प्राधिकरणले बताएको छ । दोस्रो खण्डमा ढल्केबरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ । तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथलैयासम्मको तार पर्ने काम अगाडि बढाइनेछ ।
एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालु गरी अर्को सर्किटको तार फेर्न सुरु गरिने प्राधिकरणको भनाइ छ । १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता ४ साउन ०७९ मा कार्यान्वयनमा आएको थियो । आयोजनाको काम ०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
 
अरुणमा ऋण दिन विश्व बैंक सकारात्मक
सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा जलविद्युत् आयोजनामा विश्व बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन सकारात्मकता देखाएको छ । यसअघि विश्व बैंकले ५० करोड डलर र बाँकी ५० करोड डलरका लागि मध्यस्थता गर्ने समझदारी भएको थियो ।
अर्थमन्त्री प्रकाशशरण महत र विश्व बैंकका प्रतिनिधिबीच भएको वार्तामा विश्व बैंकले लगानी थप गर्ने आश्वासन दिएको हो । माथिल्लो अरुण आयोजनाका लागि सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी साता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायता (आईडीए) को २१ औं बैठक राखेको प्रस्तावमा विश्व बैंक सकारात्मक भएको अर्थ मन्त्रालयको भनाइ छ । महतले शनिबार विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको ऋण थपको प्रस्ताव गरेका थिए ।
यसअघि नै विश्व बैंकले ५० करोड डलर प्रतिबद्धता जनाइसकेको छ । बाँकी ५० करोड डलरका लागि अग्रसरता लिने बताएको थियो । माथिल्लो अरुण आयोजनाको अनुमानित लागत १७ सय ५० मिलियन अमेरिकी डलर (करिब २ खर्ब ३० अर्ब) छ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा निर्माण हुने माथिल्लो आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहनेछ ।
आयोजना निर्माण गर्न स्थापित अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीमा प्राधिकरणको सबैभन्दा बढी सेयर स्वामित्व रहनेछ । माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको सबैभन्दा ठूलो आयोजना हो । विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने र आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको तयारीका लागि गत भदौ अन्तिममा सरकारले विश्व बैंकबाट करिब ८० करोड ऋण लिने बताएको थियो । भदौ २९ को मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्विकार्ने निर्णय गरेको थियो ।

Page 10
अर्थ वाणिज्य

दूध किसानले पाएनन् १६ करोड भुक्तानी

- देवनारायण साह

(मोरङ)
इलामको सूर्योदय नगरपालिका–१२ स्थित मलिन श्रीकृष्ण दूध उत्पादक सहकारी संस्थाले दैनिक किसानसँग संकलन गरेर विराटनगर दुग्ध वितरण आयोजनालाई बिक्री गर्दै आएको छ । तर आयोजनाले असारदेखि दूधको भुक्तानी नगरेकाले किसान मर्कामा परेका छन् । सहकारीका अध्यक्ष काछुम सुब्बाले किसानले ल्याएको दूध संकलन गरेर विराटनगर दुग्ध वितरण आयोजनालाई दिँदै आएको तर असारदेखिको करिब २० लाख रुपैयाँ भुक्तानी नदिएकाले समस्या भएको गुनासो पोखेका छन् ।
‘किसान गाईबस्तुलाई खुवाउने दानालगायत गर्जो टार्न पैसाका लागि ताकेता गर्न आउने गरेका छन्,’ उनले भने, ‘आयोजनालाई पटकपटक ताकेता गर्दै आएको तर आजभोलि भन्दै आएकाले किसान मर्कामा छन् ।’ किसानले उधारोमा दूध बिक्री गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सुब्बाले सरकारसँग माग गरे ।
सूर्योदय–१२ का आचार्य पशुपालन कृषि तथा डेरी फर्मका सञ्चालक तीर्थ आचार्यले दुग्ध वितरण आयोजनाले असारदेखिको २५ लाख रुपैयाँ भुक्तानी नदिएपछि भदौ ७ बाट दूध दिन बन्द गरेको बताए । दसैंलाई लक्ष्य गरी आफैंले घिउ र छुर्पी उत्पादन थालेको उनको भनाइ छ । ‘दुग्ध वितरण आयोजनाले दूधको पैसा नदिँदा किसानको ताकेता सहन नसकेर दूध दिन बन्द गर्न बाध्य भएँ,’ आचार्यले भने, ‘गाई–बस्तुलाई दाना खुवाउन र किसानबाट संकलित दूधको भुक्तानी दिन दसैंलक्षित गरी घिउ र छुर्पी उत्पादन थालेको छु ।’
सरकारले दूधको मूल्य बढाएपछि दूध र दुग्धपदार्थको बिक्री घट्दै गएको आचार्यले जनाए । ‘मूल्यवृद्धिअगाडि ७५० रुपैयाँमा प्रतिकिलो घिउ र १ हजार ५० रुपैयाँमा बेच्दै आएको छुर्पीको मूल्यवृद्धि भएर प्रतिकिलो १५० थपेर उपभोक्ता र व्यापारीलाई बेच्नुपर्ने बाध्ता छ,’ उनले भने, ‘यसअघि ग्राहकले महँगो भएको भन्दै किन्न आएको थिएन । तर दसैंमा बिक्री होला कि भनेर पुनः उत्पादन थालेको छु ।’ दूधको उत्पादन पनि बढेको छ । तर खपत वृद्धि हुन नसकेकाले दूध उत्पादक किसान चर्को समस्या झेल्न बाध्य रहेको आचार्यको भनाइ छ । सरकारले दूधको बजार विस्तारका लागि ठोस सरकारी योजना तथा नीति आवश्यक रहेको उनले जनाए ।
सुनसरीको इटहरी–१ स्थित कामधेनु दुग्ध विकास सहकारीको दुग्ध वितरण आयोजनाबाट ७५ लाख रुपैयाँ दूधको भुक्तानी लिन बाँकी छ । १० हजार किसान आबद्ध रहेको संस्थाको ७५ लाख रुपैयाँ भुक्तानी रोकिँदा निकै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको सहकारीका व्यवस्थापक परशुराम कार्कीको गुनासो छ । आयोजनाले समयमै भुक्तानी नदिएपछि पछिल्लो समय दूध दिन बन्द गरेको उनले सुनाए ।
‘सहकारीमा दैनिक १८ हजार लिटरसम्म दूध संकलन हुन्छ,’ उनले भने, ‘त्यसमध्ये ९/१० हजार लिटर दूधको विभिन्न दुग्धजन्य उत्पादन बजारमा बिक्री गरिरहेको र ८/९ हजार लिटर दूधको पाउडर बनाएर राख्ने गरेका छौं । पाउडर बनाएर पुँजी नै थन्किने भएकाले अब पुनः आयोजनालाई नै उधारोमा दूध बिक्री गर्नुपर्ने अवस्था छ ।’ विराटनगरका निजी डेरी सञ्चालक डिल्लीराम बरालले बजारमा अहिले किसान आफैं खुला दूध बेच्दै हिँडेको जनाए । ‘गाउँगाउँमा अहिले पशुपालन फर्म खुल्नुका साथै किसानले पनि व्यावसायिक गाई–भैंसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको छ । तर त्यसको व्यवस्थित बजारीकरण हुन नसकेकाले अवैध रूपमा खुला दूध बेच्न बाध्य छन्,’ उनले भने, ‘सरकारले देशमा उत्पादन भएन र व्यापार घाटा भएको भन्ने तर भएको उत्पादनलाई व्यवस्थित गर्न नसक्ने अवस्थामा कोही पनि उत्पादनमूलक काममा लाग्दैन ।’
यहाँ दूधको मूल्य बढेपछि भारतभन्दा प्रतिलिटर ७/८ रुपैयाँ महँगो भएकाले सीमावर्ती भारतीय किसानले नेपाली बजारमा ल्याएर बिक्री गरिरहेको बरालको भनाइ छ । नेपाली किसानको दूध बिक्री नभइरहेको अवस्थामा भारतीय किसानले अवैध रूपमा दूध बेचिरहेकोलाई सरकारले नियन्त्रण नगरेको भन्दै आक्रोश पोखे । दूध बिक्री घटेपछि अहिले निजी डेरीले मूल्य घटाएर आआफ्नो उत्पादन बजारमा पठाउने गरेको बरालले सुनाए ।
यसअघि १७५ रुपैयाँमा दुई सय ग्राम पनिर बिक्री गर्दै आएको कामधेनु निजी डेरीले अहिले १६० मा बेच्न थालेको उनले जनाए । उनीहरूको जस्तै अवस्था कोशी प्रदेशका प्रत्येक दूध उत्पादक किसानको छ । किसानले उत्पादन गरेको दूध बिक्री हुनै कठिन भएको गुनासो पोख्छन् । यहाँका किसानले दुग्ध वितरण आयोजना विराटनगर र निजी डेरीहरूलाई दूध बेच्दै आएका छन् । तर कसैले पनि समयमा किसानलाई दूधको भुक्तानी दिने गरेका छैनन् ।
दूधको सुक्खा सिजन मानिने वैशाखदेखि भदौसम्म यस वर्ष अत्यधिक उत्पादन भएकाले समस्या भएको दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख प्रमेश्वर चौधरीले बताए । ‘दूध उत्पादन वृद्धि हुँदा खुसी हुनुपर्नेमा अहिले त्यो समस्याका रूपमा आएको छ,’ उनले भने, ‘राजनीतिक दबाबमा कहीँ नबिकेको दूध यस आयोजनालाई किन्नैपर्ने बाध्यताले समस्या भएको हो ।’ उद्योगका रूपमा सञ्चालित यो आयोजनाको बजार, उत्पादन लक्ष्यलाई वास्ता नगरी जबर्जस्ती किन्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले किसानलाई समयमा भुक्तानी दिन नसकेको चौधरीले गुनासो गरे । गत वर्षको साउन र भदौमा ७ लाख २० हजार ७३७ लिटर दूध संकलन भएको आयोजनाको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा १३ लाख ६१ हजार ९३६ लिटर दूध संकलन भएको छ । आयोजनाले गत वर्ष संकलन गरेको ७० लाख ४५ हजार २४४ लिटर दूधबाट दूध, दही, पनिर, आइसक्रिम, फ्रेस मिल्क बिक्री गरिएको थियो । बाँकी दूधबाट ३ लाख १६ हजार ३ किलो पाउडर दूध उत्पादन गर्न बाध्य भएको थियो ।
मखन १ लाख ६९ हजार ५८५ किलो र घिउ ९६ हजार ३५५ किलो उत्पादन गरेको आयोजनाको तथ्यांक छ । चालु आर्थिक वर्षमा पाउडर दूध ५० हजार १५० किलो, मखन ५० हजार ९४३ र घिउ ५ हजार ९३९ किलो उत्पादन भएको छ । आयोजनामा उत्पादित पाउडर दूध २८ हजार किलो, मखन ७५ हजार किलो र घिउ ६ हजार ५ सय किलो आयोजनाको गोदाम अनि बाँकी हेटौंडा र काठमाडौंको गोदाममा पठाएको प्रमुख चौधरीले बताए ।
दूध उत्पादनमा वृद्धि, दूधको मूल्यवृद्धि, आर्थिक मन्दीले उपभोक्ताको खरिद क्षमता घट्नु, चिज र छुर्पीको उचित बजारीकरण अभाव र सीमावर्ती भारतीय किसानको दूधले यहाँका किसानलाई बजार अभाव भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक पशुपति ढुंगानाले जनाए ।

अर्थ वाणिज्य

सिद्धार्थ राजमार्ग मर्मतमा लापरबाही

सिद्धबाबा खण्डमा झन्डै ५० मिटर सडक ढलान गर्ने क्रममा कमसल ढुंगा प्रयोग गरेको, बालुवा, ढुंगा प्रयोगमा लापरबाही गरेको गुनासो
- माधव अर्याल

(पाल्पा)
सिद्धार्थ राजमार्ग मर्मत सुधारका काममा लापरबाही भएको छ । वर्षायामअघि गरेका कालोपत्रमा खाल्डाखुल्डी भइसकेको छ । अधिकांश स्थानमा सडक एकतर्फी सञ्चालन हुँदासमेत पहिरो पन्छाउने, गतवर्ष बिग्रेका सडकको मर्मतसम्भारमा समेत ध्यान दिइएको छैन । पछिल्लो पटक सडक डिभिजन पाल्पाले निकालेको ठेक्काको काममा समेत लापरबाही भएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडक खण्डमा रेनफोर्स सिमेन्ट कंक्रिट अर्थात् रिजिट पेभमेन्ट गर्ने क्रममा निर्माण व्यवसायीले लापरबाही गरेको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए । ‘दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्ने सडक मर्मत तथा स्तरोन्नतिमा लापरबाही ढंगले काम हुुनु भएन,’ उनले भने, ‘मैले पानीले गल्ने (स्यान्ड स्टोन) ढुंगा सडक ढलानका क्रममा नराख्न आग्रह गर्दागर्दै अटेरी गरे ।’ सडक डिभिजन, प्रमुख जिल्ला अधिकारी, तिनाउ गाउँपालिकासमेत सरोकारवाला निकायलाई जानकारी गराएको उनको भनाइ छ ।
सत्यवती कन्स्ट्रक्सन प्रालिले सिद्धार्थ राजमार्गको सिद्धबाबा, प्रभास, पिपलडाँडाको सेरालगायत स्थानमा रिजिट पेभमेन्ट, कालोपत्रलगायत कामका लागि ५ करोड ७५ लाखमा सम्झौता गरेर ठेक्का लिएको छ । लापरबाही ढंगले काम गरेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयमा उजुरी गरेका थिए । उजुरीका आधारमा अनुगमन गरेर लापरबाही ढंगले गरेको काम सच्याउन लगाइएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटले बताए । दोभाननजिकै सिद्धबाबा खण्डमा झन्डै ५० मिटर सडक ढलान गर्ने क्रममा कमसल ढुंगा प्रयोग गरेको, बालुवा, ढुंगा प्रयोगमा लापरबाही गरेको गुनासाका आधारमा अनुगमन गरिएको हो ।
स्यान्ड स्टोन प्रयोग गरेकाले त्यसलाई हटाएर बलियो ढुंगा राख्न लगाइएको र अन्य काममा पनि पुनः लापरबाही नगर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख खनालले जानकारी दिए । सडक डिभिजनबाट खटिएका सुपरभाइजरले कमसल ढुंगा प्रयोग नगर्न आग्रह गर्दागर्दै निर्माण व्यवसायीले जबर्जस्ती कमसल ढुंगा राखेर ढलान गर्न बिछ्याएका हुन् ।
स्थानीय, जनप्रतिनिधिले सरोकारवाला निकायमा जानकारी गराएर रोक्न माग गरेका थिए । त्यसैका आधारमा अनुगमन गर्दा निर्माण व्यवसायीबाट गल्ती भएको भेटिएकाले पुराना कमसल सबै ढुंगा निकालेर बलियो राख्न लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख सापकोटाको भनाइ छ । ठेक्कामा भएको सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही हुने सडक डिभिजनले बताएको छ । ‘जानकारी पाउनासाथ अनुगमन गरिएको छ,’ उनले भने, ‘गलत भएका कामलाई सच्याउने र अटेरी गरेमा भुक्तानी रोकिनेछ ।’
गलत काम गर्ने निर्माण व्यवसायीको मूल्यांकन नगरिने उनले जनाए । राजमार्गमै गलत ढंगले काम गरेको र यसलाई सच्याउन लगाइएको तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको भनाइ छ । ‘सबैको आँखा पर्ने राजमार्गमै यस्तो हालत छ,’ उनले भने, ‘अन्यत्र कस्तो काम गरेका होलान् भन्ने जस्तो भयो ।’ गलत गरेको छ भने सच्याउन लगाउने र अटेरी गरे सडक डिभिजनले कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । राजमार्ग छेउकै बलियो ढुंगा भनेर राखेको तर प्राविधिक रूपमा कमजोर भएकाले खोलाको ढुंगा राखेर सोलिङ गरेको सत्यवती कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि निम्नप्रसाद ढकालको भनाइ छ । प्रोजेक्ट मेनेजर र श्रमिकका कारण सामान्य गल्ती भएकाले सच्याउन लगाइएको कन्स्ट्रक्सनका प्रालिका प्रमुख किसन आचार्यले जनाए । करोडौं रुपैयाँको काम गर्दा एक टिप्पर ढुंगा जोगाएर केही नहुने उनको भनाइ छ ।

मध्यरातमा ढुंगा चोरी
प्रहरीले राजमार्गको दोभान नजिकै राति १२ बजे अवैध रूपमा ढुंगा निकासी गर्ने जेसीबी र टिपर नियन्त्रणमा लिएको छ । तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नागमन्दिर नजिकै सिद्धार्थ राजमार्गमा दुईवटा जेसीबीको प्रयोग गरी मध्यरातिको समयमा अवैध रूपमा ढुंगा उत्खनन गरेको अवस्थामा प्रहरीले चेनवाला जेसीबी, अर्को जेसीबी साथै दुई वटा टिपर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
वाग्मती प्रदेश ०१–००३ प ९१९४ नम्बरको चेनवाला जेसीबी, प्रदेश ३ ०१–०३ क ६७७७ नम्बरको जेसीबी साथै लु २ ख ३६६२ र लु २ ख ३९६४ नम्बरको १० चक्के टिपर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षकसहितको प्रहरी टोलीका साथै स्थानीयको सहयोगमा मध्यरातमा अवैध ढुंगा खानी सञ्चालन गरेर निकासी गर्न लाग्दा पक्राउ परेका हुन् । जेसीबी र टिपरलाई गाउँपालिकामा बुझाइएको छ । दुई वटा टिपरबाट २५ हजारका दरले जरिवाना लिइएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ ।
राति १२ बजे ढुंगा निकालेको भेटिएकाले शंकास्पद देखिएको उनले बताए । सत्यवती कन्स्ट्रक्सनले एक वर्षमा सक्नुपर्ने काम सिद्धार्थ राजमार्गको दोभान खण्डमा तीन वर्षसम्म ठेक्काको काम नगरी ढुंगाखानी सञ्चालन गरेको थियो । सडक डिभिजन कार्यालयका कर्मचारी भने निर्माण व्यवसायीसँगको मिलेमतोमा काममा ढिलाइ गर्दासमेत बेवास्ता गर्दै आएको छ । यही कन्स्ट्रक्सनले रूपन्देहीलगायत स्थानमा सञ्चालन गरेको योजनामा समेत ढुंगा चोरी निकासी गर्दै आएको थियो । जनप्रतिनिधिलाई व्यक्तिगत रिसइबी भएकाले बाटो सफा गर्ने, ढुंगा उठाउने कामलाई ध्यान दिएकाले प्रक्रिया नपुगेकाले राजस्व तिरेको सत्यवती कन्स्ट्रक्सनका प्रमुख आचार्यले बताए ।
दसैंको मुखमा राजमार्ग एकतर्फी दसैंको मुखमा अत्यधिक सवारी गुड्ने सिद्धार्थ राजमार्गका धेरै स्थान एकतर्फी छन् । तर सडक डिभिजनले समयमै मर्मत र सुधारको काम अघि बढाएको छैन । दसैंको मुखमा निर्माण व्यवसायीले सडक ढलानको काम गर्दा सवारी र यात्रुलाई थप सास्ती भएको छ ।
दोभान सिद्धबाबा खण्ड, सिसुवा, हिउँदेखोलालगायत स्थानमा सडक ढलाको काम अघि बढेको छ । जसले गर्दा सवारीसाधन दुईतर्फी गुड्न नसकेको सडक डिभिजन कार्यालयका इन्जिनियर शिव खनालले जनाए । राजमार्गको सिद्धबाबा, भुतखोला, सिसुवा, हिउँदेखोला, कालीमाटी, डुम्रे, पिपलडाँडालगायत स्थानमा पनि सडक एकतर्फी छ ।
सडक भासिने, पहिरो जाने भएकाले ती स्थानमा सडक एकतर्फी गरिएको सडक डिभिजनका इन्जिनियर खनालले जनाए । ‘अघिल्लो वर्षदेखिकै काम बाँकी छन्,’ उनले भने, ‘चाडपर्वका बेला सकेसम्म दोहोरो सवारी गुड्न मिल्ने गराउँछौं ।’ इन्जिनियर खनालले भने जस्तो तत्काल दुईतर्फी यातायात सञ्चालन हुने अवस्था भने छैन । पाल्पा–गुल्मी सडकका ठाउँठाउँमा सडक बिग्रने, भत्कने, पहिरो जाने भएको छ । अधिकांश स्थानमा सडक बिग्रेर दुईतर्फी सवारी चल्न सक्ने अवस्था छैन । तानसेनको ढुंगाखानी, रिब्दीकोटको जोर्ते, मालमुल, लघुवालगायत स्थानमा सडकमा खसेको पहिरो नै पन्छाइएको छैन । राजमार्गमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, म्याग्दी, मुस्ताङसम्म दैनिक १० हजारभन्दा बढी ठूलासाना सवारी गुड्छन् ।

Page 11
खेलकुद

भारतको सजिलो जित

५० ओभरको विश्वकपमा पाकिस्तानको भारतसाग लगातार आठौं हार

अहमदाबाद (एएफपी)– रोहित शर्माको ८६ रनसँगै बलरहरूको सटीक प्रदर्शन मद्दतले भारतले विश्वकप क्रिकेटमा शनिबार पाकिस्तानमाथि ७ विकेटको जित निकालेको छ । अहमदाबादको १ लाख ३२ हजार दर्शक क्षमताको रंगशालामा भारतले सुरुमा पाकिस्तानलाई १ सय ९१ रनमा समेटेको थियो ।
एक समय दुई विकेट गुमाएर १ सय ५५ रनको स्थितिमा रहेको पाकिस्तान त्यसपछि पतनको सिकार बन्यो । भारत १ सय १७ बलको खेल बाँकी छँदै जितसम्म पुग्यो र ५० ओभरको विश्वकपमा पाकिस्तानमाथि लगातार आठौं जित दर्ता गर्‍यो । रोहितले ६३ बलको इनिङ्समा छ चौका र छ छक्का प्रहार गरे ।
यो जितपछि भारत उपाधिका लागि बलियो दाबेदार बनेको छ र अहिलेसम्म खेलेका सबै तीनै खेलमा सजिलो जित निकालेको छ । कुल १० टिम सम्मिलित प्रतियोगितमा दुई जितपछि पाकिस्तानले पहिलो हार बेहोर्‍यो । भारतीय तीव्र बलर जसप्रित बुमराहले १९ रन मात्र खर्चेर दुई विकेट लिए र जितपछि प्रतिक्रिया दिए, ‘म खुसी महसुस गरिरहेको छु ।’
उनी खेलको प्लेयर अफ द म्याच पनि भए । रोहितले भने मैदानका चारैतर्फ शट प्रहार गरे । आफ्नो सुन्दर शट मद्दतले उनले भारतीय समर्थनको मन पनि जिते । भारतले सुबमन गिल र विराट कोहलीलाई भने सस्तोमै गुमएको थियो । दुवैले १६ रन मात्र बनाउन सके । श्रेयस ऐरले विजयी चौका प्रहार गरे र ५३ रनमा अविजित रहे ।
उनले तेस्रो विकेटका लागि केएल राहुलसँग निर्णायक ७७ रनको साझेदारी गरे । टस जितेर पहिले बलिङको निर्णय गरेको भारतका लागि बुमराहसँगै मोहम्मद सिराज, हार्द्धिक पान्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजा सबैले दुई–दुई विकेट लिए । पाकिस्तान ४२.५ ओभर मात्र टिक्न सफल रह्यो र उसले ८० बलमा अन्तिम आठ विकेट ३६ रनमा गुमाएको थियो ।
विश्वकपमा यो भारतविरुद्ध तेस्रो सबैभन्दा कम स्कोर रह्यो । पाकिस्तानी इनिङ्स कप्तान बाबर आजमको ५० र मोहम्मद रिजवानको ४९ रन वरिपरि घुमेको थियो । उनीहरूले ८२ रनको साझेदारी पनि गरे । आजमले ५७ बलमा आफ्नो अर्धशतक पूरा गरे, तर लगत्तै सिराजको बलमा बोल्ड भए ।

खेलकुद

रोयल स्पोर्ट्स एनबीएलमा दोस्रो

काठमाडौं (कास)– रोयल स्पोर्ट्स सेन्ट्रलले नेसनल बास्केटबल लिगमा दोस्रो स्थान हात पारेको छ । रोयल स्पोर्ट्सले शनिबार लिगको अन्तिम दिनको खेलमा बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०२–९१ स्कोरमा पराजित गर्‍यो ।
रोयल स्पोटर्स र त्रिभुवन आर्मी क्लबको समान १२ अंक भए पनि हेड टु हेडका आधारमा रोयल स्पोर्ट्स दोस्रो स्थानमा रह्यो । राउन्ड रोबिन लिगमा भएको लिगको खेलमा यसअघि रोयल स्पोटर्सले आर्मीमाथि जित हात पारेको थियो । रोयल स्पोर्ट्सले ५ खेल जित्यो भने २ मा हार बेहोर्‍यो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा विजय दिलाउने क्रममा रोयलबाट देव करणले ३६ स्कोर गरे । बूढानीलकण्ठले पहिलो क्वाटरमा २३–२१ को अग्रता बनाए पनि रोयल स्पोटर्सले दोस्रो क्वाटर ५०–४४ र तेस्रो क्वाटर ७८–७० को अग्रताका साथ खेल जितेको थियो । अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले हाउन्ड्स एकेडेमीलाई ६५–६१ स्कोरमा पराजित गर्‍यो । गोल्डेनगेटका प्रज्वल महर्जनले १७ स्कोर गरे ।
अघिल्लो दिन नै टाइम्स इन्टरनेसनल कलेजले अपराजित रही लिगको उपाधि जितेको थियो । टाइम्सलाई शनिबार ट्रफी प्रदान गरिएको थियो ।

खेलकुद

मानन्धरलाई उज्ज्वल तारा सम्मान

काठमाडौं (कास)– उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथन धावक वैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशिसहितको उज्ज्वल तारा खेल सम्मान २०८० प्रदान गरेको छ ।
विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५ सय ५५ रुपैयाँ राशिमा अरू ९ हजार ४ सय ४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँसहितको सो सम्मान उज्ज्वल तारा दसैं रन फर गुड हेल्थको सातौं संस्करणको अवसरमा शनिबार धावक मानन्धरलाई प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले धावक मानन्धरलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।
उज्ज्वल तारा रनको शनिबार बिहान धावक मानन्धरले उद्घाटन गरेका थिए भने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्की तथा स्थानीय वडाध्यक्षहरू सहभागी थिए ।
विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दूरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडका रूपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक विष्णु कार्कीले बताए । करिब ७ सय धावकको सहभागिता रहेको सो दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई, अजितकुमार यादव र श्रीकेश राई तथा महिला खुलातर्फ निर्मला केसी, पदमकुमारी सुनुवार र स्वस्तिका तिन्वा पहिलोदेखि तेस्रो भई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाए ।

खेलकुद

होमले जिते काठमाडौं म्याराथन

- कान्तिपुर संवाददाता

(काठमाडौं)
अन्तिम ६ किलोमिटरमा निर्णायक अग्रता लिएका होमलाल श्रेष्ठले शनिबार काठमाडौं म्याराथन जितेका छन् । आर्मीको होमले निर्धारित दूरी २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गरे । यसपल्टको दौड १५ औं संस्करण थियो भने होम १२ औं संस्करणका विजेता पनि थिए, तर उनले यसपल्ट निकालेको समय भने राम्रो रहेन ।
होमले लिएको अग्रता भने ठोस रह्यो र उनले आफ्नो प्रतिद्वन्द्वी सन्तोष विष्टलाई सात मिनेटले पछाडि छाडे । एपीएफका सन्तोष २ घण्टा ३७ मिनेट र १ सेकेन्डमा दौडा पूरा गर्दै दोस्रो भए । एपएीफकै राजन चौधरी तेस्रो भए । उनले २ घण्टा ४३ मिनेट र १ सेकेन्डको समय निकाले ।
विजेताले एक लाख रुपैयाँसँगै इन ड्राइभले प्रदान गरेको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सन्तोषको भागमा ५० हजार रुपैयाँ रह्यो भने राजनले २५ हजारमै चित्त बुझाए ।
हाफ म्याराथनतर्फ आर्मीका खड्गबहादुर खड्का विजयी रहे । उनले १ घण्टा ७ मिनेट र २७ सेकेन्डमा दौड पूरा गरे । एपीएफका किरण सिंह १ घण्टा ८ मिनेट र ५६ सेकेन्डमा दोस्रो भए ।
यस्तै १ घण्टा १४ मिनेट ३७ सेकेन्डमा एपीएफकै राजेन्द्र तामाङ तेस्रो भए । महिलातर्फ एपीएफकी विन्द्रा श्रेष्ठ विजयी रहिन् । उनले हाफ म्याराथनको दूरी १ घण्टा २५ मिनेट र ४१ सेकेन्डमा पूरा गरिन् । उनको पछाडि आर्मीकी पूर्णलक्ष्मी न्यौपाने र पुलिसकी सुमित्रा चौधरी रहे । दौड एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको थियो ।

Page 12