You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

जनप्रतिनिधिलाई राष्ट्रपतिको आह्वान ‘स्वार्थभन्दा माथि उठ्नुस्’

- कान्तिपुर संवाददाता
संघीय संसद्को संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा सभामुख कृष्णबहादुर महरा । तस्बिर : किरण पाण्डे

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माणको ढोका खुलेको बताउँदै मुलुकको समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आह्वान गरेकी छन् । जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरू र सिंगो संसद् दलगत स्वार्थभन्दा माथि उठेर निष्ठापूर्वक लाग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।


‘जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएकी छु,’ संघीय संसद्को संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद् प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ ।’


भण्डारीले जनभावना एवं व्यवहारबाट अनुमोदित संविधानले समृद्धितर्फको बाटो निर्दिष्ट गरिसकेको बताइन् । विभिन्न तहका निर्वाचनमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले समृद्ध र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व सुम्पिएको उनले बताइन् । ‘पुरानो युगबाट नयाँ युगतर्फको यो संक्रमण सामान्य राजनीतिक परिवर्तन मात्र होइन । यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको छ,’ उनले भनिन्, ‘सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ । विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट संकेत देखिएको छ ।’ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णयअनुसार राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गरेकी हुन् । संविधानको धारा ९५ मा संघीय संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन सुरु भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।


राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्न सक्ने संवैधानिक व्यवस्था छ ।


राष्ट्रपति भण्डारीले सघीय संसदका सांसदहरूलाई नेपाललाई समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आग्रह गरिन् । उनले राजनीतिक आबद्धताका दृष्टिले कोही सत्तापक्ष र कोही प्रतिपक्ष भए पनि संसदका हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्न‘पर्नेमा जोड दिइन् ।


राष्ट्रपतिले नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन नहुने बताइन् । देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले अग्रगामी रूपान्तरणका दिशामा केन्द्रित भएर अघि बढ्न निर्देशित गरेको उनको भनाइ छ । ‘अब जनताका आवश्यकता र चाहना परिपूर्तिका लागि सबै तहका जनप्रतिनिधिहरू आआफ्ना कर्तव्यमा समर्पित हुन आवश्यक छ,’ उनले भनिन् । राष्ट्रपतिले समुन्नत समाज निर्माण अभियानमा लाग्न पनि सबै पक्षलाई आहान गरिन् । ‘असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ,’ उनले भनिन्, ‘अबको नेपाल कुनै पनि मनोमानी, दमन, अशान्ति, भ्रष्टाचार, उत्पीडनबाट मुक्त हुनुपर्छ । समुन्नत नेपाल निर्माणमा एक भएर योगदान गर्न आहान गर्छु ।’


जनताको संवैधानिक, कानुनी र मानव अधिकारमा जोड दिँदै भण्डारीले न्यायपालिका सुदृढ पार्न सबैको ध्यान पुग्नुपर्ने बताइन् । यातायात, सञ्चार, ऊर्जाको विकास, गुणस्तर र सुलभ शिक्षा, स्वच्छ खानेपानी र वातावरणको विकासमा जोड दिन उनले आग्रह गरिन् ।


राष्ट्रपति भण्डारीले युवा विदेश पलायन रोक्न आवश्यक कदम चाल्नसमेत आग्रह गरिन् । ‘युवाहरू विदेश पलायन भइरहेका छन्, युवा जोसजाँगरलाई देश निर्माणमा भरपर्दो रूपमा लगाउन भूमिका खेल्नुहुने विश्वास गर्छ‘,’ उनले भनिन्, ‘नेपाल सामाजिक आर्थिक र सांस्कृतिक रूपमा अगाडि बढेको छ । संविधान कार्यान्वयन तथा समृद्धिका लागि सबैले भूमिका खेल्नुहुनेछ ।’ प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुन सक्ने उनले प्रस्ट पारिन् ।


‘लोकतन्त्र भनेको थेगो हैन, यो त जीवन प्रणाली हो । यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन । त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिए लोकतन्त्र अर्थहीन नारा मात्र हुन जान्छ,’ उनले भनिन् ।

गृह पृष्ठ

स्वास्थ्यकर्मी नै कडा टीबीको जोखिममा

७ वर्षयता उपचारमा संलग्न २१ जनाको मृत्यु
- अतुल मिश्र

काठमाडौं– मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ । सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको एमडीआर टीबी सरेर मृत्यु भएको हो । ‘हालसम्म एमडीआर टीबीले २१ स्वास्थ्यकर्मीको मृत्यु भएको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले भने, ‘बिरामीको सम्पर्कमा रहँदा उनीहरूलाई रोग सरेको हो ।’


यो रोगको जोखिममा स्वास्थ्यकर्मी मात्र होइन, सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणसमेत रहेको चिकित्सकले औंल्याएका छन् । रोगप्रतिरोधक क्षमता उच्च रहेकामा सामान्य क्षयरोग सर्दैन तर एमडीआर/एक्सडीआर टीबी सर्न सक्छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा बीचमै औषधि उपचार छाडे एमडीआर टीबी हुन सक्छ ।


क्षयरोगमा प्रयोग हुने मुख्य ४ औषधि रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामवुटोल हुन् । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिड मानिन्छ । यी दुई औषधिले पनि काम गर्न छाडे एमडीआर टीबी भएको मानिन्छ । एमडीआर/एक्सडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआर/एक्सडीआर टीबी नै हुन्छ ।


एमडीआर र एक्सडीआर टीबीको उपचारका लागि मुलुकभर १८ केन्द्र र ८१ उपकेन्द्र छन् । राजधानीमा सानोठिमी र कालीमाटीमा दुई केन्द्र छन् । उपचारका लागि केन्द्रमा बिरामी आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि त्यसरी कतिलाई एमडीआर टीबी सर्‍यो वा मृत्यु भयो भन्ने कुनै अध्ययन भएको छैन । ‘राजधानीमा पनि ठिमी र कालीमाटीमा भएको उपचार केन्द्र पुग्न सार्वजनिक सवारीसाधनमा एमडीआर/एक्सडीआर टीबीका बिरामी ओहोरदोहोर गर्छन्,’ राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका वरिष्ठ छाती तथा क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसार्इं भन्छन्, ‘बिरामीहरू सार्वजनिक सवारीसाधन चढेर उपचार केन्द्रमा आउजाउ गर्दा अन्यलाई सर्ने उच्च जोखिम छ ।’


चिकित्सकका अनुसार सुरक्षाका उपाय नअपनाउँदा र कमसल मास्क प्रयोगका कारण स्वास्थ्यकर्मीमा यो रोग सर्ने जोखिम बढी हुन्छ । डा. प्रसार्इं भन्छन्, ‘एमडीआर टीबीको उपचार गर्ने क्रममा यो रोग लागेका ८ स्वास्थ्यकर्मीको मृत्यु भएको मैले नै देखेको छु ।’ एमडीआर/एक्सडीआर टीबीका बिरामीलाई औषधि खुवाउन सुरु गरे पनि खकारमा कीटाणु देखिएसम्म उनीहरूबाट अन्य व्यक्तिमा सर्न सक्छ । केहीमा ३–४ महिना औषधि खाए पनि खकार पोजेटिभ नै देखिन्छ भने कसैकसैमा अन्तिमसम्मै । ‘सार्वजनिक सवारी साधनमा एमडीआर/एक्सडीआर टीबीका बिरामीले खोक्दा स्वस्थ व्यक्तिमा रोग सर्ने उच्च जोखिम हुन्छ,’ उनले भने । राष्ट्रिय क्षयरोग केन्द्रमा विभिन्न खोकीलगायतका लक्षणसहित आएका बिरामीको खकारमा क्षयरोगको कीटाणु देखिएपछि सामान्य क्षयरोगकै रूपमा उपचार गरिन्छ । यस्तो उपचारअन्तर्गत एक–दुई महिनामा समेत रोग सुधारात्मक नदेखिए त्यस्ता बिरामीलाई एमडीआर हो कि भनेर परीक्षण गरिन्छ ।


कालीमाटीको जेनटप क्लिनिककी डा. भावना श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट एमडीआर टीबीको उपचारका लागि आएका दुई जना नर्सिङ स्टाफमा एक जना केही निको भएपछि औषधि नियमित खाने गरी घर फर्किएको र अर्काको भने मृत्यु भएको बताइन् । यस्तै, दुई जना डाक्टर एमडीआर टीबीको उपचारपछि निको भएर फर्किएको पनि उनले बताइन् । मुलुकमा एमडीआर क्षयरोगको उपचार गर्दा सफलताको दर करिब ७० प्रतिशत र एक्सडीआर टीबीको उपचारमा करिब ३० प्रतिशत मात्र सफलता देखिएको डा. शाह बताउँछन् ।


केन्द्रका डा. प्रमोद भट्टराईका अनुसार गत वर्ष एमडीआरका ३ सय ४३, प्रि–एक्सडीआरका ८६ र एक्सडीआरका १९ जना नयाँ बिरामी दर्ता भएका छन् । मुलुकभर हाल औषधि खाइरहेको एमडीआर/एक्सडीआर टीबीका बिरामी करिब ६ सय ६० जना छन् । मुलुकभरका मध्ये करिब एक चौथाइ एमडीआर/एक्सडीआर टीबीका बिरामी राजधानीमै रहेको आकलन छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा रिफाम्पिसिन प्रतिरोधको बर्सेनि करिब ६ लाख नयाँ केस आउँछन्, जसमध्ये ४ लाख ९० हजारलाई एमडीआर टीबी हुन्छ ।


औषधि प्रतिरोधी क्षयरोगीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पहिले जोखिम भत्ता दिने गरिए पनि दुई वर्षदेखि रोकिएको छ । डा. शाहका अनुसार पहिले मासिक १ हजार रुपैयाँ जोखिम भत्ता दिने गरिएको थियो । ग्लोबल फन्डको बजेटअन्तर्गत सरकारले जोखिम भत्ता दिइन्थ्यो ।

कसरी जोगिने ?
एमडीआर/एक्सडीआर क्षयरोग भएका बिरामीले सकेसम्म सार्वजनिक ठाउँमा आउजाउ गर्नु हुँदैन । यस्ता बिरामीसँग आम व्यक्ति सम्पर्कमा नआउनु नै राम्रो हुन्छ । खकारमा कीटाणु देखिँदासम्म बिरामीले अन्य स्वस्थ व्यक्तिसँग अनावश्यक, असुरक्षित सम्पर्कमा आउनु हँुदैन । बिरामीको स्याहार गर्ने व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार कडा सुरक्षाका उपाय अपनाउनुपर्छ । बिरामीले स्तरीय मास्क लगाउनुका साथै खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा सावधानी अपनाउनुपर्छ ।

गृह पृष्ठ

‘स्वीकृतिबिना कूटनीतिक भेट नगर’

स्थानीय तहलाई सरकारको निर्देशन
- चन्द्रशेखर अधिकारी

काठमाडौं– सरकारले स्वीकृतिबिना विदेशी कूटनीतिज्ञ तथा प्रतिनिधिसँग भेटघाट नगर्न स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई निर्देशन जारी गरेको छ । विदेशी कूटनीतिज्ञ तथा प्रतिनिधिसँगको भेटघाटलाई व्यवस्थित बनाउन सरकारले स्थानीय तहसम्म नै निर्देशन दिएको हो । प्रदेश तहका पदाधिकारी र कर्मचारीलाई यसअघि नै यस्तो निर्देशन दिइसकिएको छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र ७ सय ५३ स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्न परराष्ट्र मन्त्रालयको स्वीकृति लिन पत्राचार गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना हुने भेटघाटलाई अवैध मानिने भन्दै यसमा सचेत हुन आग्रह गरेको छ । पदाधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले हेर्ने र सम्बन्धित मन्त्रालयका सचिवले कर्मचारीमाथि निगरानी गर्नेसमेतको जानकारी स्थानीय तहसम्म पुगेको छ । परराष्ट्रको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका निकायलाई परिपत्र गरेको हो ।


यसका लागि संघीय मामिला मन्त्रालयले छुट्टै निर्देशिका तयार गरिरहेको छ । त्यसले भेटघाट मात्र नभई विदेश भ्रमणलाई समेत व्यवस्थित गर्नेछ । ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना कूटनीतिक भेटघाट नगर्न निर्देशन दिइएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाले कान्तिपुरसँग भने, ‘हामीले भेटघाटमात्र होइन, दाम्लै चुँडालेर जथाभावी विदेश भ्रमणमा दौडनेहरूलाई नियन्त्रण तथा स्वीकृतिको नियमनमा ल्याउन निर्देशिका तयार गरिरहेका छौं । छिट्टै यो जारी हुनेछ ।’

 

वैदेशिक भ्रमणसम्बन्धी मापदण्ड र कार्यविधिबारेमा छलफल भइरहेको र केही दिनमा निर्णयमा पुग्ने उनले बताए । विदेशी कूटनीतिज्ञहरू आफ्ना परियोजनाको अनुगमन वा अन्य बहानामा गाउँ–गाउँ पुग्ने र स्थानीय तहका पदाधिकारी र नेता तथा कर्मचारीसँग भेट्न थालेपछि त्यसमा अंकुश लगाउन सरकारले निर्देशन जारी गरेको हो ।


‘बिनास्वार्थ कुनै सहयोग बाहिरबाट आउँदैन तर पनि हामी त्यसैमा नतमस्तक हुने गरेका छौं,’ एक अधिकारीले भने, ‘यसलाई हामीले सम्बोधन गर्न सक्नुपर्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विदेशी नियोग र प्रधानमन्त्री कार्यालयले विभिन्न प्रदेशका प्रमुखलाई यस्तो भेटघाटलाई कूटनीतिक मर्यादामा राख्न निर्देशन दिँदै परराष्ट्रको पूर्वस्वीकृति अनिवार्य गरेको छ । सरकारले गैरसरकारी संस्थामा स्वयंसेवी भएर काम गर्नेलाई नियमन गर्ने र पर्यटन भिसामा आएर काममा जानेलाई निगरानी राखेर ‘कानुनबमोजिम’ कारबाही गर्नेसमेत जनाएको छ । प्रदेश प्रमुख तथा उच्च अधिकारीहरूलाई निर्देशन दिएको पाँच दिनपछि स्थानीय तहका पदाधिकारीलाई निर्देशन दिइएको हो ।


राजनीतिक चलखेलमा समेत विदेशीहरू सक्रिय हुने, आफ्नो केही अन्तर्राष्ट्रिय एजेन्डा लागू गर्ने र मुलुकलाई प्रयोगशाला बनाउने उद्देश्यले विदेशी सक्रिय रहेकाले यसमा सचेत हुन निर्देशन गरिएको अधिकारीहरूले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिपत्रअनुसार नै यस्तो निर्देशन दिएको खुलाइएको छ । संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानुन बन्ने प्रक्रियामा रहेकाले त्यतिञ्जेलसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था रहेको जानकारी निर्देशनमा दिइएको छ ।

Page 2
समाचार

कांग्रेस बैठकमा देउवा पक्ष: ‘अग्रिम महाधिवेशन अस्वीकार्य’

‘नाकाबन्दीमा नबोल्नु हाम्रो गल्ती हो, भारतलाई कन्भिन्स गर्न नसक्दा राष्ट्रियता ओली ब्रान्ड बन्न पुग्यो’
- कान्तिपुर संवाददाता

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् । संस्थापनइतर पक्षले संघीय संरचनाअनुसार रूपान्तरण हुने पार्टीका निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशन माग गरिरहेका बेला देउवापक्षीय सदस्यहरूले यो अस्वीकार्य हुने धारणा अघि सार्दै सभापति देउवाको बचाउ गरेका हुन् ।


कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्ने तयारी छ । कांग्रेसको पार्टी संरचना अहिले ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र झन्डै ४ हजार संख्याका स्थानीय निकायमै आधारित छन् । राज्य संघीय संरचनामा जाँदा ७७ जिल्ला, १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रअनुसारको पार्टी संरचनामा जानुपर्ने हुन्छ । विधान संशोधन गर्नासाथ नयाँ संरचनाअनुरूप पार्टी संरचना तयार गर्न १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितले दबाब दिँदै आएका छन् । तर, संस्थापन पक्षका सदस्यले तत्कालका लागि तदर्थ समिति बनाउन उपयुक्त हुने भन्दै अग्रिम महाधिवेशनको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लिखित रूपमै अग्रिम महाधिवेशनको माग बैठकमा प्रस्तुत गरेका थिए । ‘अर्ली महाधिवेशनमा नलागौं,’ बिहीबारको बैठकमा देउवा पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यही विषयलाई लिएर सभापतिलाई कमजोर बनाउन खोज्दा अन्तत: पार्टी कमजोर हुन्छ ।’ संसदीय दलको नेतामा उम्मेदवार बन्न नदिन धेरै तिरबाट कसरत हुँदासमेत सभापति नै अत्यधिक मतबाट विजयी भएको बताउँदै कार्कीले थपे, ‘अहिले पनि पार्टीभित्र सभापतिकै पक्षमा जनमत छ । सस्तो लोकप्रियताका लागि कोही पनि नलागी पार्टीलाई एक बनाउने दिशामा लागौं ।’


भारतीय नाकाबन्दीमा पार्टी नबोल्नुलाई भने उनले गल्ती भएको सकारे । ‘हामीले भारतलाई नाकाबन्दी नगरी मित्रवत् व्यवहार गर्न कन्भिन्स गर्न सक्नुपथ्र्यो,’ कार्कीले भने, ‘हाम्रो कमजोरी र भूलले राष्ट्रियताको मुद्दा अहिले ओली ब्रान्ड बन्न पुगेको छ ।’


उनले निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको दोष मात्रै नभएको दाबी गरे । ‘मूल कारण एमाले र माओवादी केन्द्रको गठबन्धन नै हो । कांग्रेसले पनि माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गएको भए हाम्रै अवस्थामा एमाले हुने थियो,’ उनले भने, ‘भरतपुरको पाठले पनि हामीले माओवादी केन्द्रसँग गठबन्धन गर्न सकेनौं ।’


राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनका कारण बिहीबार बैठक छोटो समय मात्र बसेको थियो । बैठकमा कार्की, केन्द्रीय सदस्य भीष्म आङदेम्बे, महेन्द्र यादव र रमेश रिजालले मात्रै मन्तव्य राखेका थिए । चारै जना देउवापक्षीय सदस्य हुन् । उनीहरू सबैले नेतृत्वको बचाउ गर्दै पार्टीभित्र विवाद र ध्रुवीकरण नबढाउन आग्रह गरे । रिजालले कांग्रेस मन नपराउनेलाई वैकल्पिक पार्टीमा जाने अवसरसमेत रहेकाले पार्टीले कार्यकर्ता पंक्तिलाई सन्तुष्ट बनाउने गरी काम गर्नुपर्ने बताए । जारी बैठक शुक्रबार बिहानै बस्दै छ ।

Page 3
Page 4
समाचार

नेसंवि र अक्सफोर्डबीच सम्झौता

काठमाडौं (कास)– संस्कृत विश्वविद्यालय (नेसंवि) र अक्सफोर्ड विश्वविद्यालयबीच पठनपाठनलाई स्तरीय बनाउन सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकबीच अनुभव आदान–प्रदान गरिनेछ ।

समाचार

जलवायु परिवर्तनको असर: स्वास्थ्यमा जोखिम बढ्दो

डेंगु, चिकनगुनियालगायतका कीटजन्य रोग २ हजार मिटरभन्दा माथिका सबै भूभागमा
- अतुल मिश्र

काठमाडौं–जलवायु परिवर्तनका कारण नेपालको उच्च पहाडी क्षेत्रमा समेत कीटजन्य रोग देखिन थालेका छन् । डेंगु, चिकनगुनिया, हात्तीपाइले, कालाजारलगायतका कीटजन्य रोग २ हजार मिटरभन्दा माथिका सबै भूभागमा पुगेका छन् भने जिका रोग देखिनसक्ने जोखिमसमेत छ । एक डिग्री तापक्रम वृद्धि हुँदा औलाका बिरामी २७ प्रतिशतले बढ्न सक्ने मानिन्छ । यस्तै, बालबालिकामा पनि झाडापखालामा वृद्धि देखिएको छ ।


विकसित देशबाट हुने हरित ग्यास उत्सर्जनलगायत समस्याको मारमा नेपालजस्ता मुलुक पनि परेको भन्दै यसको रोकथाममा सरकारले विशेष रणनीति अपनाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । बिहीबार काठमाडौंमा पहिलोपटक सुरु भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनमा यस्तो कुरा उठेको हो । ‘डेंगु, चिकनगुनियाजस्ता कीटजन्य रोग काठमाडौंमा मात्र नभई रसुवाको धुन्चेसम्म पुगेको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयद्वारा आयोजित दुईदिने सम्मेलनमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने । उनले जलवायु परिवर्तनले कुपोषणको समस्यामा कमी आउन नसकेको र उदासी रोग (डिप्रेसन) तथा आत्महत्या बढेको पनि उल्लेख गरे ।


जलवायु परिवर्तनले तापक्रममा वृद्घि भई मुलुकको मौसमी चक्रसमेत प्रभावित भएको छ । वातावरण परिवर्तन र प्रदूषणको दोहोरो मारले गर्दा हाल नेपालीको मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या पनि बढेको चिकित्सकहरूले बताए । केही वर्षअघि वर्षायाममा मात्र देखिने रोगहरू हिउँदमा समेत देखिन थालेका छन् । नेपालमा गरिएको अध्ययनले औसत एक डिग्री सेन्टिग्रेडका दरले तापक्रम बढा पाँच वर्षमुनिका बालबालिकामा झाडापखाला ४.४ प्रतिशतले बढ्ने देखाएको सिर्जनलाल श्रेष्ठले बताए ।


देशका विभिन्न भागमा खडेरीमा समेत वृद्घि देखिएको छ । यो समस्यासँग जुध्न लगाइने विशेष प्रकारको बीउ, विजनबाट उत्पादित खाद्यान्न सेवन गर्दा ‘एफ्रोटक्सिन’ ले मिर्गाैला फेल हुने सम्भावनासमेत बढेको डा. धिमाल बताउँछन् । तापक्रममा वृद्घिले गर्दा हाल पहाडी क्षेत्रमा समेत विषादी प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यसले गर्दा क्यान्सर, मधुमेहलगायत नसर्ने रोगमा समेत वृद्घि देखिएको छ ।


तापक्रम वृद्घिले हिमाली क्षेत्रमा समेत प्रभावित पारेको अध्येता धिमाल बताउँछन् । पहिले हिमाली क्षेत्रमा प्रशोधनबिना पानी उपयोग गरिने स्थिति रहे पनि हाल शुद्घीकरण गर्नैपर्ने भएको छ । ‘हाल हिमालमा भरियाहरूले पहिलेको दाँजोमा कम भारी बोक्न सकेका छन्, काम नै कम गर्ने अवस्था, हिउँ छिटो पग्लँदा कम ट्रेकिङ हुनेजस्ता समस्या देखिन थालेका छन्,’ धिमालले भने । नेपालमा २ हजार ३ सय ३२ ग्लेसियर लेक (हिम नदी र हिम ताल) सहित जम्मा ५ हजार ३ सय ५८ ताल छन् । देशमा भएका करिब ६ हजार नदीको लम्बाइ ४५ हजार किलोमिटर छ ।

समाचार

बिदा कटौतीमा जनजातिको विरोध

- कान्तिपुर संवाददाता

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले सरकारले एकलौटी ढंगले सार्वजनिक बिदा कटौती गरेको भन्दै अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारस्थित कार्यालयमा बिहीबार भेट गरी बिदा कटौतीको निर्णय फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।


‘जनजाति सम्बद्ध समुदायहरूसित कुनै प्रकारको छलफल, परामर्श नलिई बिदा कटौतीले महेन्द्रकालीन पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको र यसले असमानताको स्थिति सिर्जना गराई थप द्वन्द्वलाई मलजल पुग्नेछ, जुन समृद्धिको बाधक पनि हो,’ महासंघका अध्यक्ष बराम हस्ताक्षरित विज्ञप्तिमा छ । सरकारले विभिन्न जनजातिको मागअनुसार २०५८ देखि जातीय चाडलाई राष्ट्रिय चाडका रूपमा घोषणा गरी देशभर सार्वजनिक बिदा दिँदै आएको थियो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि आदिवासी जनजाति समुदायलगायतका प्रमुख चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदालाई अबदेखि सम्बन्धित जाति, समुदाय वा भेगविशेषलाई मात्र दिने निर्णय गरेको छ ।


ज्ञापनपत्र बुझाउने टोलीमा महासंघअन्तर्गतका नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, नेवा: देय् दबू, तमू ह्युल छोजधि (गुरुङ राष्ट्रिय परिषद्), किरात याक्थुङ चुम्लुङ, थारू कल्याणकारिणी सभा, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधि थिए । ज्ञापनपत्र बुझै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि काम गर्ने समय बढाउन बिदा कटौती गरिएको बताएका थिए । ‘आदिवासी जनजातिसमेत विकासका साझेदार हौं तर समृद्धि र विकासका नाममा पहिचान नै मेट्न खोज्ने कार्य अस्वीकार्य छ,’ अध्यक्ष बरामले कान्तिपुरसित भने, ‘सबै चाड प्रदेश र एकाइअन्तर्गत मनाइने हो भने दसैं पनि खस आर्यलाई मात्र दिइनुपर्‍यो भनेका छौं ।’ बिदा कटौतीको निर्णय फिर्ता गराउन सरकारलाई दबाब दिन महासंघले आफ्ना सदस्य संस्थाहरूको विस्तारित बैठक बोलाएको अध्यक्ष बरामले जनाएका छन् ।

Page 5
समाचार

सवारीले सास्ती

गणतन्त्रमा पनि राजाकै जस्तो सवारी देख्दा सर्वसाधारणमा आक्रोश
समाजशास्त्री भन्छन्– सत्तासीनहरु अरुको दु:ख देख्दैनन्, सवारीमार्फत शक्ति प्रदर्शन सामन्ती चरित्रकै पुनरावृत्ति हो
- घनश्याम खड्का
संघीय संसद्को पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्न बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवन जाँदै राष्ट्रपति विद्यादेवी भण्डारी । रिसल्ला र कारगेडसहितको सवारीले राजधानीको सडक घन्टौं अस्तव्यस्त बनेको थियो । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं– काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासि गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो । यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो ।


धेरैले राष्ट्रपति रिसल्ला (बग्गी) सहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।


यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ ।


व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? ‘किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति मौका पर्दा आफूलाई अरूभन्दा विशिष्ट देखाउने मानवीय चाहनाकै अभिव्यक्ति भएको ढकालले बताए ।
सत्तासीनहरूलाई सामान्य मानिसको दु:ख गौण लाग्ने हुनाले विशिष्टहरू अरूलाई पीडा दिने गरी व्यवहार गर्ने गरेको समाजशास्त्री चैतन्य मिश्रको बुझाइ छ । ‘हो, संसद्मा सम्बोधन गर्न राष्ट्रपति जानु संवैधानिक कर्तव्य हो तर यो काम बिदाको दिन वा सवारी चाप कम भएका बेला पनि त गर्न सकिन्थ्यो,’ मिश्र भन्छन्, ‘अथवा तामझाम कम पनि त गर्न सकिन्थ्यो । तर त्यसो भएन, किनभने सकेसम्मको रवाफ प्रदर्शन गर्ने सत्तासीनहरूको चरित्र हुन्छ अनि पाएको सास्तीलाई सकेसम्म बढाएर त्यसको आलोचना चाहिनेभन्दा बढी नै गर्ने सामान्यजनको बानी हुन्छ ।’ मिश्रको विचारमा बाटो खाली पारेर रवाफ देखाउने र बाटामा कुर्नुपर्दा रिस देखाउने दुवै पक्षमा ‘अति’ छ ।


पुरानै ढर्रामा राष्ट्रपति चल्नु र अझ बग्गीसहितको सवारी निकालेर सर्वसाधारणलाई सास्ती दिनु शासकहरूमा बदलिन नसकेको चिन्तन मुख्य कारण भएको जिकिर गर्छन् अर्का मानवशास्त्री डम्बर चेम्जोङ । ‘भौतिक परिवर्तनमा समाज अगाडि हुन्छ तर मानिस त्यो परिवर्तनअनुसार आफ्ना आनीबानी बदल्न सक्दैन । यस्तो अवस्थालाई मानवशास्त्रले सांस्कृतिक पछौटेपन भनेर व्याख्या गर्छ,’ चेम्जोङले भने, ‘मोटरको इन्जिन र पाटपुर्जा ठीकठाक राख्नुपर्नेमा सवारी साधनमा भोग दिने भनेर कुखुरा वा बोका चढाउनु सांस्कृतिक पछौटेपनको उदाहरण हो । मोटरगाडी नभएका बेला राजा–महाराजाहरू बग्गीमा सवारी चलाउँथे । अचेल मोटर, अझ हेलिकप्टरको युग छ तर हाम्रा शासकहरू परम्परा थाम्ने नाममा उही बग्गीले घेरिएर मोटर चढ्छन् । यो पनि सांस्कृतिक पछौटेपन नै हो ।’


गणतन्त्र आइसक्दा पनि सामन्ती राजतन्त्रमा झैं हाम्रा सत्तासीनहरूले सडकमा निक्लने प्रवृत्ति बदल्न नसक्नु परिवर्तन पूर्ण रूपमा स्थापित नभएको संकेत पनि हो भन्छन् ढकाल । ‘हिजो राजाको सवारी जसले व्यवस्थापन गथ्र्याे, आज राष्ट्रपतिको सवारी पनि उही संयन्त्रले चलाउँछ,’ उनी भन्छन्, ‘त्यसैले पनि उही ढर्रा र ढाँचामा राष्ट्रपतिको सवारी चलेको हो तर यसमा राष्ट्रपतिको पदमा बस्ने व्यक्ति स्वयंले निर्देशन दिएर यस्तो काम नलाग्ने चलन रोक्न चाहने हो भने सर्वसाधारण पीडित हुनुपर्दैनथ्यो ।’


सत्ता भनेको शक्ति हो र शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ भन्ने बेलायती इतिहासकार/राजनीतिज्ञ लर्ड एक्टनको भनाइ मान्ने हो भने सत्तासीनहरूले देखाउने दम्भ र अनावश्यकको बडप्पन त्यही भ्रष्ट मानसिकताको द्योतक भएको चेम्जोङको विश्लेषण छ । ढकाल पनि यसमा सहमत छन् । ‘सत्ता भनेको प्रदर्शनकारी शक्ति हो । राष्ट्रपति वा प्रधानमन्त्री शक्तिशाली व्यक्ति हो भन्ने कसरी थाहा पाउने त ?’ उनी भन्छन्, ‘आफू हिँड्दा यसैगरी सडक खाली गराएर ।’


तर यस्तो प्रदर्शनकारी शक्ति सामन्ती शासकहरूको पहिचान भएकाले गणतन्त्रमा पनि त्यही देखिनु विडम्बनापूर्ण स्थिति भएको उनले बताए ।

समाचार

कतारमा २४० नेपाली अलपत्र

रेड क्रिसेन्टले दियो राहत
- होम कार्की
५ महिनादेखि तलब र घर फिर्न नपाएका नेपालीसहित विदेशी महिला कामदारलाई खाद्यान्न वितरण गर्दै कतार रेडक्रिसेन्टका अधिकारीहरू ।

काठमाडौं– कतार रेड क्रिसेन्टले दयनीय अवस्थामा रहेका नेपाली महिलासहितका आप्रवासी कामदारलाई बिहीबार खाद्यान्न सहयोग गरेको छ । कतारस्थित युनाइटेड क्लिनिङ कम्पनीबाट तलब पाउन र घर जानबाट वञ्चित भएका ९० जना नेपाली महिलालाई रेड क्रेसेन्टले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । क्रिेसेन्टले प्रतिव्यक्ति तीन सय रियालको भौचर कुपन दिएको हो ।


युनाइटेड कम्पनी धराशायी हुँदा कम्तीमा ५ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कतार राष्ट्रिय मानव अधिकार समिति, अन्तर्राष्ट्रिय मुस्लिम समाज र नेपाल पत्रकार महासंघ, कतार शाखाको समन्वयमा पीडित कामदारलाई क्रिसेन्टले सहयोग गरेको हो ।


क्रिसेन्टले अलपत्र परेका १५० जना नेपाली पुरुष कामदारलाई पनि खाद्यान्न उपलब्ध गराउने तयारी गरेको छ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाँका अनुसार क्रिसेन्टले दोस्रो चरणमा अलपत्र कामदारको स्वास्थ्य जाँच र तेस्रो चरणमा हवाई टिकटको प्रबन्ध मिलाएर उद्धार गर्ने तयारी भइरहेको बताए । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारलाई झन्डै पाँच महिनादेखि तलब भुक्तानी गरेको छैन । कतार सरकारको कालोसूचीमा परेको हुँदा अलपत्र कामदारको आवासीय अनुमतिपत्र (भिसा) नवीकरणसमेत भएको छैन । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।


यो कम्पनीमा गत वर्षको अगस्टबाटै समस्या सुरु भएको थियो । प्रोजेक्टअनुसार तलब भुक्तानीमा समस्या हुन थालेपछि अधिकांश नेपाली आफ्नै टिकटमा स्वदेश फिरिसकेका छन् । पहिला नै दूतावासमार्फत कतारी निकायमा गएका नेपाली कामदारले कम्पनीबाट ‘रिलिज’ लिएर अर्को कम्पनीमा काम गर्न थालिसकेका छन् । ‘आर्थिक अवस्था कमजोर छ । तुरुन्तै नेपाल गए फेरि कतार फर्किनुपर्छ,’ पीडित बुद्धिमाया तामाङले भनिन्, ‘यहीं अर्को कम्पनीमा काम गर्न चाहन्छु ।’ महिला कामदारलाई कतारको अलकिसा र एनखालिदस्थित क्याम्पमा राखिएको छ । पुरुष कामदारलाई सनैयामा राखेको छ । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले पीडितलाई न्याय दिलाउनका लागि भारत, बंगलादेशलगायत राजदूत मिलेर कतार सरकारसँग सामूहिक पहल भइरहेको बताए । ‘कम्पनी सञ्चालकलाई पक्राउ गरिसकेको छ,’ उनले भने, ‘पीडितलाई छिट्टै तलब दिन कम्पनी तयार देखिएको छ ।’


दूतावासले सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टेसन सेन्टर) बाट नेपाल आएका छन् । ‘कम्पनी पहिलेको जस्तो अवस्थामा आउने स्थिति देखिएन । त्यहाँ रिलिज लिएर काम गर्ने अवस्था पनि देखिनँ,’ नेपाल आइपुगेकी सञ्जु सुन्दासले भनिन्, ‘भिसा नभएकाहरू केही आफ्नै खर्चमा सीआईडीमार्फत नेपाल फर्किएका छन् र फर्किने सुरमा छन् । ‘मलाई टिकट सहयोग भएपछि स्वदेश फिर्न सफल भएँ ।’


आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधा त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारको अदालत धाएर अदालतले पीडितका पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन् । कम्पनीले उनीहरूलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा सफाइ मजदुर र कार्यालय सहयोगीका रूपमा काम गर्न पठाउने गरेको थियो । यी निकायमा पुन: कम्पनीले टेन्डर नगरेपछि कामदारलाई तलब दिएर स्वदेश नपठाएको हो ।

समाचार

पत्रकार उपचार कोषमा सहयोग

हेटौंडा (कास)– पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा उद्योगी नवराज अर्यालले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । उद्योग संघका अध्यक्षसमेत रहेका अर्यालले महासंघका अध्यक्ष तथा पत्रकार उपचार कोष संयोजक हरि हुमागाईंलाई चेक हस्तान्तरण गरे । अर्यालले आफ्ना बुबाआमा र आफन्तका नाममा सहयोग गरेको बताएका छन् ।

 

समाचार

बलेवामा राष्ट्रिय ध्वजावाहक

- कान्तिपुर संवाददाता
बागलुङको बलेवास्थित विमानस्थलमा बिहीबार अवतरण गरेको नेपाल एयरलाइन्सको जहाज । तस्बिर : प्रकाश बराल

बागलुङ– निजी कम्पनीले व्यावसायिक उडान सुरु गरेको सातापछि बलेवा विमानस्थलमा नेपाल एयरलाइन्सले पनि सेवा सुरु गरेको छ ।


बिहीबार काठमाडौंबाट १८ यात्रु बोकेर एनएको जहाज बलेवामा अवतरण गरेको हो । यसअघि तारा एयरलाइन्सले परीक्षण र व्यावसायिक उडान गरिसकेको छ । विमानस्थलको प्रशासनिक र सुरक्षा लगायतका कामले अपेक्षित गति नलिए पनि विमानले उडान भने सुरु गरेका हुन् ।


जहाज लिएर आएका क्याप्टेन पेम्बा शेर्पाले विमानस्थलमा खाल्डाखुल्डी सम्याउन आवश्यक रहेको बताए । तारबार नहुँदा घरायसी पशु र कुकुर छिर्ने समस्या हटाउनुपर्ने सुझाव पनि उनले दिए । काँडेतार लगाइएको भए पनि कुकुर, गाईबस्तु र अन्य जंगली जनावर छिर्ने गरेको प्रहरीले जनायो ।
‘क्याप्टेन सापले दिनुभएको सुझाव ठीक हो, हामीलाई पनि यो चुनौती भएको छ,’ इलाका प्रहरी कार्यालय बलेवाका प्रहरी सहायक निरीक्षक धनबहादुर थापाले भने, ‘काँडेतारले मान्छेलाई मात्र रोक्छ, पशुलाई सकिन्न ।’ १ हजार १ सय मिटर लामो धावनमार्गको वरिपरि सबै प्रहरी बस्न नसक्ने भएकाले तारबारलाई मसिनो प्वाल भएको तारले घेर्नुपर्ने उनले बताए ।


क्याप्टेन शेर्पाले पनि घाँसलाई नियमित काट्ने, ढुंगा वा अन्य वस्तु हटाउने र मैदानमा पर्न सक्ने प्वालबारे सचेत रहनुपर्ने सुझाव दिए । बिहीबार उनले जहाज अवतरणपछि धावनमार्ग पैदलै वारपार गर्दै त्यहाँ देखिएका समस्याबारे जानकारी गराएका हुन् ।


पोखरापछि बढी पानी पर्ने स्थान भएको र रातो माटोको मैदान भएकाले चिप्लिने जोखिमबारे उनले औंल्याएका थिए । नियमित जहाज सञ्चालनको अवस्था भएमा आगामी वर्ष भने नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्गलाई पक्की बनाउने आश्वासन दिइसकेको छ । हाल विमानस्थलमा यात्रीलाई मात्र प्रवेश दिने गरी घेरबार छैन । चाहेको समयमा जोसुकै छिर्न सक्ने भएकाले नियन्त्रण गर्न गाह्रो भएको हो । विमानस्थलमा यात्रीलाई जानकारी दिने विद्युतीय सामग्री पनि छैनन् । त्यस्तै तौल मेसिन र लगेज लैजाने बाटो व्यवस्थापन बाँकी नै छ ।


विमानस्थल प्रवेशमा कडाइ

चितवन– भरतपुर विमानस्थलले यात्रुबाहेकका अन्य व्यक्तिलाई विमानस्थल प्रवेशमा कडाइ गर्न थालेको छ । विशिष्ट व्यक्ति आउँदा विमानस्थलको संवेदनशील क्षेत्रमा लाग्ने भीडले सुरक्षा संवेदनशीलता बढाएकाले वैशाख १ देखि कडाइ गर्न लागेको हो । भरतपुर विमानस्थलका प्रबन्धक पवनकुमार गौतमले अति विशिष्ट र विशिष्ट व्यक्तिको स्वागतमा अब सीमित व्यक्ति मात्र जान पाउने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख आउँदा स्वागतका लागि १० जना मात्रै जान पाउने व्यवस्था मिलाउँदै छौं,’ उनले भने, ‘स्वागतका लागि जानेहरूको सुरक्षा जाँच हुनेछ । त्यसपछि मात्र उनीहरूले पास पाउनेछन् ।’


उपप्रधानमन्त्री, मन्त्री र पार्टीका केन्द्रीय पदाधिकारीलाई स्वागत वा बिदाइ गर्न विमानस्थलभित्र पाँच जना मात्रै जाने व्यवस्था मिलाएको गौतमले बताए । कार्यविधिका विषयमा जानकारी दिन विमानस्थल कार्यालयले बुधबार सर्वपक्षीय छलफल राखेको थियो ।


पार्टी प्रतिनिधिहरूले भने स्वागतका लागि जाने व्यक्तिहरूको संख्या बढाउन माग गरेका छन् । ‘स्वागत तथा बिदाइका लागि १५ जनासम्म जाने व्यवस्था गर्दा उपयुक्त होला,’ छलफलमा सहभागी कांग्रेस चितवनका सचिव राजीव न्यौपानेले भने ।


राष्ट्रिय मान्यता प्राप्त पार्टीका प्रमुख आउँदा पनि स्वागतका लागि विमानस्थलभित्र १० जनालाई छिर्न दिने कार्यविधिमा उल्लेख छ । यी बाहेकका भीआईपीहरूलाई बढीमा दुई जनाले मात्रै स्वागत गर्ने विमानस्थल प्रबन्धक गौतमले बताए ।


भीआईपी स्वागत तथा बिदाइका लागि विमानस्थल आउने व्यक्तिहरूको नाम सम्बन्धित पार्टीले भरतपुर विमानस्थल कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।

 

उडान प्रभावित
संखुवासभा– तुवाँलोले तुम्लिङटार विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । नियमित उडान नहुँदा बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य छन् । विमानस्थललाई तुवाँलोले ढाकेको छ । उडान नहुँदा हेलिकप्टर चार्टर गर्न बाध्य भएको बिरामीका आफन्तले बताए । बुधबार मात्रै खाँदबारी नगरपालिका ७ का ६५ वर्षीय नारायण चागापाईंलाई हेलिकप्टर चार्टर गरेर राजधानी लगिएको छ ।


उनी गोपालभगत मेमोरियल अस्पतालबाट रेफर भएका थिए । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको र जहाज आउने सम्भावना नभएपछि हेलिकप्टर चार्टर गर्नुपरेको छोरा अनुजले बताए । ‘सडक सुविधा राम्रो छैन,’ उनले भने, ‘राजधानी पुर्‍याउन धुलाम्मे सडकबाट समस्या भयो । त्यसैले चार्टर गरें ।’ हेलिकप्टर चार्टर गर्न ३ लाख लागेको उनले बताए । सुविधासम्पन्न विमानस्थल भए पनि मौसमको खराबीले नियमित उडान नहुँदा बिरामी मर्कामा परेका छन् । ‘एयरपोर्ट वरिपरि बाक्लो तुवाँलो छ,’ यती एयरका इन्चार्ज शेरबहादुर गुरुङले भने, ‘घाम लागे पनि तुवाँलो हटेन । पानी नपरेसम्म तुवाँलो हट्ला जस्तो छैन ।’


मौसममा खराबी आएपछि बुद्ध, यति र सीता एयरलायन्सले बुधबार पनि उडान भर्न सकेनन् । उडान नहुँदा दैनिक सय बढी यात्रु अलपत्र
पर्ने गरेका छन् । १ हजार ५ सय मिटर लामो धावनमार्ग कालोपत्रे भए पनि उडानका लागि भिजिबिलिटी कम छ ।

समाचार

भर्नाकै दिन विद्यार्थीले किताब पाउने

- सुदीप कैनी

काठमाडौंं– शिक्षा विभागले १० वर्षपछि पहिलोपटक भर्ना गरेकै दिन विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ । आगामी शैक्षिक सत्रका लागि ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पाठ्यपुस्तक ९० प्रतिशतभन्दा बढी छपाइ सकिएको विभागका शैक्षिक सामग्री महाशाखाका प्रमुख देवीराम अर्यालले बताए । विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकबारे जानकारी दिन मुद्रक र वितरकको समेत उपस्थितिमा विभागले बिहीबार पत्रकार सम्मेलन गरेको थियो ।


‘विगतका वर्ष बेलैमा पुस्तक छाप्न नसक्दा विद्यार्थीले पाउँदैनथे, यसपालि समयमै छापेर वितरण केन्द्रहरूमा पठाउन थालेका छौं,’ उनले भने, ‘वितरणमा समस्या नभए भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ स्थानीय तहबाट पाठ्यपुस्तकबापतको बजेट लिएर पुस्तक खरिद गर्न उनले विद्यालयहरूलाई निर्देशन दिए । जिल्ला शिक्षा कार्यालयहरूको साटो विभागले पहिलोचोटि कक्षा १ देखि १० को पुस्तक किन्ने रकम ७ सय ५३ वटै स्थानीय तहको खातामा पठाएको हो ।


५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ स्थानीय तहका खातामा पठाइएको हो । यो वर्षबाट ४ र ५ कक्षाका विद्यार्थीले पनि रंगीन पाठ्यपुस्तक पढ्न पाउनेछन् । यसअघि १ देखि ३ कक्षामा मात्रै रंगीन पुस्तक थिए । कक्षा १ देखि ५ को रंगीन पाठ्यपुस्तक निजी र कक्षा ६ देखि १० को पाठ्यपुस्तक जनक शिक्षा सामग्रीलाई छाप्न दिइएको थियो । विभागका सूचीकृत १७ वटा पुस्तक छाप्ने जिम्मा पाएका निजी कम्पनीहरूले ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि एक करोड ६५ लाख २८ हजार ७० थान र जनक शिक्षाले २२ लाख २४ हजार ९ सय १७ विद्यार्थीका लागि एक करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पुस्तक छपाइ गर्नुपर्ने थियो । निजी कम्पनी र जनक शिक्षाका अनुसार १ देखि ५ कक्षाका लागि ५२ लाख ७८ हजार ७० थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी छ भने ६ देखि १० का लागि ३० लाख ९६ हजार ३ सय ६७ थान पुस्तक छाप्न बाँकी छ । जनक शिक्षाले निजी कम्पनी दुवैले चैत २५ भित्र पुस्तक छपाइ सक्ने जनाएको छ । अर्यालले भने, ‘२५ गतेभित्र किताब छापेर सकिन्छ, त्यसपछि वितरण केन्द्रहरूमा पठाएर वैशाख २ बाट विद्यालयमा पुग्छ ।’


शैक्षिक सत्रबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सँगसँगै गरिने विभागका अनिवार्य शिक्षा शाखाका महानिर्देशक नरहरि अर्यालले बताए । यसपटकबाट सेटै पुस्तक छपाइ गर्ने अवधारणा ल्याइएका कारण विद्यार्थी अपूरो पुस्तक पाउने समस्याबाट समेत मुक्त हुने पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्ण काप्रीले जनाए । जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले बाँकी १० दिनमा सबै पुस्तक छपाइ गरेर वितरण केन्द्रहरूमा पठाइसकिने दाबी गरे ।

Page 6
सम्पादकीय

सहरको स्वास्थ्य

काठमाडौं उपत्यकामा केही वर्षयता डरलाग्दो गरी बढेको वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । अस्पताल पुग्ने नाक, कान र घाँटीका बिरामी मात्रै २० प्रतिशतले बढेका छन् । छालाका बिरामीको चाप उत्तिकै बढेको छ । मापदण्डभन्दा धेरै गुणा बढी प्रदूषित वायुले नगरवासीको फोक्सोमा दीर्घकालीन असर पुर्‍याइरहेको छ । करिब आधा जनसंख्या पैदल हिँड्ने सहरमा भएको यो समस्याप्रति सरकार जसरी बेखबरजस्तै देखिन्छ, त्योचाहिँ उदेकलाग्दो छ । सम्पूर्ण सहरवासी प्रभावित भइरहेको धूलो, धूवाँको यो विकराल समस्या न्यूनीकरणका लागि राज्यका निकायहरूले यथाशीघ्र प्रभावकारी कदम चाल्न ढिलो भइसकेको छ ।


प्रतिकूल वायुमण्डलीय अवस्थितिका कारण राजधानी खाल्डोको वायु प्रदूषण वहन गर्ने क्षमता यसै पनि कम छ । थोरै मात्र वायु प्रदूषण भए पनि उडेर आकाशतिर र उपत्यकाबाहिर सजिलै जान सक्दैन । त्यसमाथि, पछिल्लो समय जारी विकास गतिविधिका कारण अवाञ्छित प्रदूषणजन्य स्रोतको उपस्थिति बढिरहेको छ । थोत्रा तथा डिजेलबाट चल्ने गाडीले फ्याल्ने धूवाँको समस्या पुरानै हो, २०७२ सालको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माण, बाटो विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन सडक खन्ने कामले सहरलाई थप ‘धुलोमान्डु’
बनाएको छ । उपत्यकाभित्रका इँटाभट्टा र छेउछाउका सिमेन्ट फ्याक्ट्रीबाट निस्किएको धूलो, धूवाँ त छँदै थियो । यी सबै किसिमका प्रदूषणको मारमा यहाँका बासिन्दा परेका छन् ।


उपत्यकामा पार्टिकुलेट म्याटर (पीएम) १० र २.५ को मात्रा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ । जबकि, विश्व स्वास्थ्य संगठनले तोकेअनुसार २.५ पीएमको मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । नेपाल सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । यस हिसाबले हेर्दा उपत्यकाको प्रदूषणको मात्रा सरकारी मापदण्डकै तुलनामा पनि झन्डै १० गुणाले बढी छ । यसलाई स्वास्थ्यका हिसाबले धेरै खराब स्थितिका रूपमा लिइन्छ ।


यो स्तरको धूलो, धूवाँले बाल, वृद्ध, गर्भवती, पुरानो दमको समस्या भएका, क्षयरोगी, रोगविरुद्ध लड्ने क्षमता कम भएका र धूमपान गर्नेलाई बढी सताउँछ । यी समस्या भएकालाई यस्तो प्रदूषणका कारण बारम्बार रुघाखोकी लागिरहने, पिनास र टन्सिलाइटिस हुने, घाँटी र कानको संक्रमणले सताउने अनि दम तथा निमोनियाँ हुने सम्भावना अधिक हुन्छ । अरू अवस्थामा सामान्य रुघाखोकीलाई पनि धूलो, धूवाँले जटिल बनाइदिन्छ र समयमै निको हुँदैन । घाँटी खसखसाउने र नाक थुनिने पनि उत्तिकै हुन्छ । छाला र आँखाको समस्याले सताउँछ । मास्कले नछेक्ने धूलोका कणहरू सीधै फोक्सोमा पुग्ने भएकाले श्वासप्रश्वाससम्बन्धी समस्याहरू देखिन सक्छ । तसर्थ सहरको धूलो हटाउन ढिलाइ गरेर सरकारले जनस्वास्थ्यमाथि थप खेलबाड गरिरहनु हुँदैन । यस प्रदूषणका कारण लाग्न सक्ने रोगबाट बच्न सहरवासीले सडकमा निक्लँदा ‘मेडिकेटेड मास्क’ को प्रयोग गर्न आवश्यक छ । एउटा मास्क एक दिन मात्र प्रयोग गर्न मिल्छ । प्रयोग गरिसकेको कपडाको मास्क राम्ररी निर्मलीकरण गरेर मात्र अर्को दिन लगाउन सकिन्छ । तर, यस्ता मास्कले पनि आंशिक मात्र सुरक्षा दिने भएकाले सरकारले अविलम्ब समाधानका उपायहरू अपनाउनुपर्छ ।


भूकम्पपछिका पुृनर्निर्माणका कामलाई जतिसक्दो चाँडो टुंग्याउनुपर्छ । निर्माण सामग्रीलाई सडकमा यसै असरल्ल अवस्थामा राख्न रोक लगाइनुपर्छ । सडक विस्तारका काम छिटो–छिटो सक्नुपर्छ । खन्दै, भत्काउँदै र अलपत्र छोड्दै नगरेर थालेको काम तुरुन्त टुंग्याउनुपर्छ । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याउन जसरी सहरभरि बाटो खन्ने काम भइरहेको छ, त्यसमा पनि पुनर्विचार गर्नुपर्छ । निश्चित स्थानमा सडक खनेर पाइप बिछ्याई पुनर्निर्माण सकेपछि मात्र अन्यत्र खन्नुपर्छ । यसो गरेमा एकपटक सबैतिरका जनता प्रताडित हुनुपर्दैन । सरकारको सबैभन्दा ठूलो कमजोरी भनेको अन्तरसरकारी निकायबीचको समन्वय अभाव हो । एउटै सडक विभिन्न समयमा फरक–फरक सरकारी निकायले आ–आफ्नो प्रयोजनमा खन्ने गर्दा धूलोको समस्या सदाबहार जस्तै बन्ने गरेको छ ।


सरकारी निकायबीच सही समन्वय हुने हो भने कुनै सडक एक पटक खनेकै बेला आवश्यक सबै काम हुन सक्थ्यो र जनताले घरीघरी दु:ख पाइरहँदैनथे । र, दीर्घकालीन समाधानका रूपमा राजधानीका इँटाभट्टालाई अन्यत्र सार्नेतर्फ पनि सरकारले कदम चाल्नुपर्छ । अहिले सरकारसामु एउटै विकल्प छ, जनताको स्वास्थ्यलाई ख्याल गर्दै सहरको स्वास्थ्य सुधार्ने । त्यसका लागि अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरी धूलो, धूवाँ हटाएर बर्सेनि जनसंख्या बढिरहेको राजधानी सहरलाई बस्न लायक बनाउने ।

दृष्टिकोण

अनुदार अनुहार र विश्व राजनीति

भारतमा बीजेपीजस्ता चरम दक्षिणपन्थी असहिष्णुताको प्रतीक दलसित नेपालको ‘वामपन्थी’ सरकारको सम्बन्ध कतै अतिसार त हुने होइन भनी नेपालीहरु सशंकित छन् ।
- ध्रुव कुमार


विश्व इतिहास ठूला शक्तिराष्ट्रहरू बीचको मेल, बेमेल, खटपट र द्वन्द्वले नै रगमगिएको छ । नरसंहारक युद्धको विभीषिका यिनै राष्ट्रहरूबीच द्वन्द्व विस्तारको कारण भएका छन् । हाम्रो विगतमा बिसौं शताब्दी स्वतन्त्र, लोकतान्त्रिक मुलुकको उदयसितै विनाशकारी विश्वयुद्धको विभीषिकाको नीति स्मरणीय रहेको छ । अर्काे सम्भावित महासंग्रामको आशंकासितै जोडिएर आविष्कार गरिएको परमाणु अस्त्र र त्यसको होडबाजीले मानव सभ्यताको विध्वंस भने अझै रोकिएको छ । तर नरसंहार रोकिएको छैन । यो मानव इतिहासको बर्बरताको अकाट्य सन्दर्भ भएको छ ।
एक्काइसौं शताब्दीको यो दुई दशक पनि युद्धग्रस्त रहेको छ । युद्ध सामग्रीको व्यापार बढेको छ । अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनजस्ता विश्व शान्तिको लागि स्थापना गरिएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका पाँच स्थायी ‘भिटो’ शक्तिराष्ट्रहरू नै हतियार व्यापारका अग्रणी राष्ट्र भएका छन् । यी मृत्युका व्यापारीहरूमध्ये निर्यातकर्तामा अमेरिकाको अंश ३४ प्रतिशत, रूसको २२ प्रतिशत, फ्रान्सको ६.७ प्रतिशत, चीनको ५.७ प्रतिशत र बेलायतको ४.८ प्रतिशत छ । अन्यमा जर्मनीको ५.८ प्रतिशत अंश आणविक अस्त्रले सुसज्जित फ्रान्स, चीन र बेलायतको भन्दा बढी छ । खरिदकर्ताहरू भने सम्भावित युद्ध रोक्नकै निम्ति वा युद्ध भएमा जित्नकै निम्ति अत्याधुनिक हतियार भण्डारण गर्दैछन् । हतियार थुपार्ने होडमा एसियाली राष्ट्रहरू अग्रपंक्तिमा छन् । त्यसमा भारत सबैभन्दा बढी हतियार भण्डारण गर्दैछ । तैपनि हतियारको हाहाकार भएको आवाज भारतीय सुरक्षाकर्मीहरूबाटै सुनिँदैछ ।


युद्धको प्रकृति र प्रवृत्ति पनि फेरिएको छ । इराक लगायत अफगानिस्तान जस्ता राष्ट्रहरूमा लोकतन्त्र स्थापनाकै निम्ति अमेरिकाको अगुवाइमा युद्ध भयो । ती मुलुकहरू अझै युद्धबाट आक्रान्त छन् । अफगानिस्तानको युद्धमा हताहती अमेरिकी सेनाको संख्या भियतनाम युद्धको भन्दा कम भए पनि १७ वर्षपछि पनि अमेरिकाले युद्ध जित्नसकेको छैन । निर्वाचित सरकारको अवयव कायम गर्न सफल भए पनि युद्धकै आँकलन गर्दा गत ७ वर्षदेखि चर्केको सिरियाली गृहयुद्ध यमनमा बाह्य संलग्नताले विभत्सता निम्त्याएको छ भने रूसले क्रिमिया अधीनस्थ गरेपछि अमेरिका लगायत युरोपेली राष्ट्रहरूको रूससित बढ्दो तनावले शीतयुद्धकालीन अवस्थालाई नै झकझकाएको छ । पश्चिमी गोलार्धमा बढ्दै गएको द्वन्द्वात्मक अवस्थाले राष्ट्रपतिको चौथो कार्यावधिको निम्ति चुनिएका भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अनिश्चितताको घेराबन्दीमा परेको छ । द्विपक्षीय सम्वादहीनतासितै ह्वाइट हाउसमा बढ्दो भाँडभैलो अनि विदशेमन्त्रीमा अनुदारवादी छविका माइक पोम्पिओ र राष्ट्रिय सुरक्षा सल्लाहकारमा कट्टरपन्थी जोन बोल्टनको नियुक्तिले अमेरिका र रूस बीचको सम्बन्ध धरापमा पर्ने निश्चित छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसको संलग्नताको आशंकाले बढेको विद्वेषसितै ६० रूसी कूटनीतिज्ञहरूको देश निकालाले गर्दा यी दुई मुलुकबीच विश्वासको खडेरी परेको छ । यसैसित अमेरिकाको अन्तर्राष्ट्रिय छवि र प्रभाव खस्किएकै कारण उत्तर कोरिया र इरानसितको सम्बन्ध व्यवस्थापन कार्य दुष्कर हुने सम्भावना बढेको छ । यसो हुनुमा अमेरिकी राष्ट्रपतिसहित विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारमा व्याप्त असहिष्णुता कारक सिद्ध हुनेछ । अर्काेतिर यी तीनै बीचको मतैक्यताले गर्दा चीनसितको कथित ‘व्यापार युद्ध’ चर्किन सक्छ, जुन दुवैको निम्ति लाभप्रद नहुनुसितै विश्व अर्थतन्त्रको निम्ति नकारात्मक हुनेछ । अमेरिकी राष्ट्रिय सुरक्षा रणनीति रूस र चीन दुवै आतंकवादभन्दा बढी खतरायुक्त रहेको अवधारणामा आधारित छ । अमेरिकी सरकारी प्रतिनिधिहरूको ताइवान भ्रमणमा रहेको रोक हटाउनुले पनि चीनसितको तिक्तता बढाएको छ ।


चिनियाँ राष्ट्रपति सी चिनफिङले तेह्रौं राष्ट्रिय जनकांग्रेसको समापन समारोहमा चीनको एक इन्च भूमि पनि टुक्रिन दिइने छैन र चीन ‘हिंसात्मक युद्ध’को निम्ति तयार रहेको सन्देश दिनु ताइवानको स्वतन्त्रता र केही हदसम्म हङकङको लोकतान्त्रिक अभियान विरुद्ध भए पनि चीनसित सीमा विवाद रहेका अन्य मुलुकहरूको निम्ति पनि कडा चेतावनी रहेको छ । यसमा दक्षिण चीन सागरको विवाद चीनको निम्ति संवेदनशील रहिआए पनि अमेरिका र ताइवानबीच बढ्दो हिमचिम नै राष्ट्रपति सीको प्रतिक्रियाको मुख्य कारण रहेको बुझिन्छ । चीन र अमेरिकाबीच बढ्दो तनावकै बीच दक्षिण कोरिया र अमेरिकासित तय भएको वार्ता अघिनै उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङ पुगी राष्ट्रपति सीसितको वार्तापछि प्योङयाङ फर्किसकेका छन् । उनले उत्तर कोरियाली सुरक्षा प्रबद्र्धन भएमा आणविक निशस्त्रीकरण गर्ने वचन दोहोर्‍याएका छन् । किमको बेइजिङ भ्रमणले पूर्वी एसियाली शान्ति प्रयासमा चीनको भूमिका उपेक्षा गर्न नसकिने तथ्य औंल्याएको छ ।


यसैगरी दक्षिण एसियामा पनि आफ्नो उत्तरतिर साँध जोडिएको शक्तिशाली राष्ट्र चीनको भूमिकालाई नकार्न नसक्ने अवस्थामा भारत पुगेको छ । भलै उसको अमेरिकाजस्तो महाशक्ति राष्ट्रसित निकै घनिष्टतम सम्बन्ध रहेको किन नहोस् । यसको ज्वलन्त उदाहरण भारत सरकारको एक वरिष्ठ अधिकारीले ‘आफ्नो प्राथमिक प्रभाव क्षेत्र रहेको दक्षिण एसियामा चीनजस्तो अन्य राष्ट्रहरूलाई उनीहरूको प्रभाव बढाउन रोक्न सक्ने विश्वासका दिनहरू अब रहेनन्’ भनी राखेको विचार इन्डियन एक्सप्रेसले मार्च २८,२०१८ (१४ चैत २०७४) मा छापेको छ । यसैसित ४५ दिनपछि आपत्कालीन अवस्था हटाएको माल्दिभ्समा हस्तक्षेप गर्ने छैन भनी भारतले चीनलाई आश्वस्त पारेको समाचार छ । चीनको लागि भारतका नयाँ राजदूत गौतम माम्वाबाले यही शनिबार हङकङस्थित साउथ चाइना मर्निङ पोष्ट पत्रिकालाई भारतको चीनसित द्विपक्षीय सम्बन्धको अति गम्भीर समस्या नै रेखांकन नभएको सीमा रहेको छ । तर हामी चीनलाई विकास र प्रगतिको साझेदार मान्छौं’ भनेका छन् । यी तथ्यबाट भारतले चीनसित व्याप्त असमझदारी हटाई सम्बन्ध सामान्यीकरण गर्न कस्तो पहल गरिरहेको छ भनी बुझ्न सकिन्छ । यसमा भारतीय विदेश मन्त्रालयको सक्रियता सराहनीय रहेको छ ।


गत फेब्रुअरी २२ मा भारतीय विदेश सचिव विजय गोखलेले चीन जानु एक दिनअघि सरकारका क्याविनेट सचिव पी.के. सिन्हालाई दलाई लामा तिब्बतबाट भारतको निर्वासनमा आएको ६० औं वार्षिकोत्सव समारोह आयोजना गरिने समय भारतको चीनसित सम्बन्धको सन्दर्भमा संवेदनशील भएकोले सरकारी स्तरको प्रतिनिधित्व रोक्न अनुरोध पत्र लेखेका थिए । त्यही अनुरोध अनुरूपको निर्देशनपत्र क्याविनेट सचिव कार्यालयबाट सबै सरकारी निकायहरूलाई प्रेषित गरिएको समाचार प्रकाशित भएको छ । यस्तै निर्देशन ठिक एक दशकअघि मनमोहन सिंह नेतृत्वको कांग्रेस गठबन्धन सरकारको क्याविनेट सचिवले पनि जारी गर्दै गान्धी पिस फाउन्डेसनले दलाई लामाको सम्मानार्थ आयोजना गरिने समारोहमा भाग लिनबाट सरकारी निकायका अधिकारीहरूलाई बर्जित गरेको थियो । (इन्डियन एक्सप्रेस, नोभेम्बर ४, २००७) । त्यसैगरी चीनको सम्वेदनशीलतालाई मध्यनजर गर्दै भारतको प्रतिरक्षा मन्त्रालय अन्तर्गतको प्रतिरक्षा अध्ययन र विश्लेषण संस्थान (आईडीएसए) ले १९९९ देखि लगातार आयोजना गरिआएको एसियन सेक्युरिटी डाइलगको नयाँ शृंखला ‘इन्डिया एन्ड चाइना इन एसिया : मेकिङ अफ ए न्यु इक्युलिब्रियम’ शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी एकाएक खारेज भयो ।


गतवर्ष २०१७ दलाई लामाकै अरुणाञ्चल प्रदेशको भ्रमणले गर्दा डोकलाङमा युद्धोन्मुख तनाव निम्त्यिाएपछि भारत र चीन सम्बन्ध समस्याग्रस्त वर्ष रहे पनि द्विपक्षीय व्यापार प्रबद्र्धन त्यसको अघिल्लो वर्षभन्दा बढी भएको थियो । भारतको प्रमुख व्यापारिक साझेदारको रूपमा रहेको चीनसित व्यापार २०१७ मा ८४ अर्ब डलर नाघेको छ । भारतको पूर्वाधार विकास योजनामा गतवर्ष मात्र चीनको लगानी ८ अर्ब डलर नाघेको छ । एसियन इन्फ्रास्टक्चर बैंकबाट १ अर्ब डलरभन्दा बढी ऋण सहयोग लिने राष्ट्र भारत नै भएको छ । चीनसित भारतको सम्बन्ध नोकरशाह प्रवृत्तिकै कारण बिग्रेको तथ्य पनि खुलेको छ । तर वाणिज्य व्यापारको बढोत्तरीले मात्र सम्बन्ध स्थिर नरहने तथ्य चीन–अमेरिकाको व्यापार युद्धले देखाएको छ । यसको मूलभूत कारण चीनसित अमेरिकाको ३७५ अर्ब डलरको व्यापार घाटा नै अभिशाप सिद्ध भएको छ । भारतको चीनसित व्यापार घाटा ५२ अर्ब डलर पुगेको छ । यही अप्रिल १३–१४ मा बेइजिङमा ‘चीन–भारत आर्थिक सम्वाद’ हुँदैछ । अप्रिलको तेस्रो हप्ता भारतीय विदेशमन्त्री सुष्मा स्वराज बेइजिङ पुग्नेछन् । र महिनाको अन्त्यतिर भारतीय प्रतिरक्षा मन्त्री निर्मला सिथारमनले चीनको यात्रा गर्नेछन् । जूनमा संघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुग्नेछन् । सम्बन्ध बिथोलिने आशंकाकै कारण भारतमा चीन विषयक गतिविधि रोकिएको छ । भारतलाई चीनको महत्ताको आँकलन यसैबाट गर्न सकिन्छ । यसकारण राष्ट्रपति सीलाई मोदीले बधाई दिएका छन् ।


माल्दिभ्समा हस्तक्षेप नगर्ने जानकारी चीनलाई दिनुले साना छिमेकीहरूमाझ भारतको विडम्बनापूर्ण स्थिति उजागर भएको छ । विश्व समुदायमा आफूलाई ठूलो शक्तिराष्ट्रको रूपमा प्रस्तुत गर्न नहच्किने भारतीय नेतृत्व वर्गको असमञ्जस्यताले शक्तिराष्ट्रले गर्ने व्यवहार प्रदर्शन गर्न नसक्दा केही गर्न नसक्ने अवस्थामा पुग्दा साना छिमेकीसामु आफ्नो छवि धमिलिएर जाने तर हस्तक्षेपकारी नीति अख्तियार गरे पनि छिमेकीहरू झन् चिढिने र टाढिने सम्भावनाबीच भारतीय नीतिज्ञहरू रणभुल्लमा परेका छन् । सारांश के भने चीनले आफ्नो नीतिगत उद्देश्य हासिल गर्न सफल भएको सन्दर्भमा भारतले क्षेत्रीय राजनीतिमा समेत आफ्नो मूलभूत हित संरक्षण गर्न असफल रहेको माथि उल्लेखित भारतीय विशिष्ट अधिकारीको स्वीकारोक्तिले स्पष्ट हुन्छ ।


भारतले आफ्नो हित संरक्षण गर्ने सहज उपाय परम्परागत नीतिको पुनरावलोकन गर्दै ‘रिसेट’ गर्ने पहलमा छिमेकको शक्तिहीन तर सामरिक दृष्टिले अति नै महत्त्वपूर्ण मुलुक नेपालसितको सम्बन्ध सुधार्न पनि आतुरता देखाएको छ । निर्वाचन जिती सर्वाधिक सफलता हासिल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनद्वारा बारम्बार बधाई दिनुसितै भावी प्रधानमन्त्री भन्दै भारत भ्रमणको निम्तो दिनु अनि कूटनीतिक मर्यादा कुल्चेरै भए पनि विदेशमन्त्री सुष्मा स्वराजलाई ओली भेट्न काठमाडौं पठाउनाले नीतिगत विचलन प्रतित भए पनि भारतीय स्वार्थ नै सर्वाेपरी रहेको पुष्टि गर्छ । तर यो निम्छरो व्यवहारले भारतप्रति नेपालीहरूको धारणा सकारात्मक हुनसकेको छैन । भलै प्रधानमन्त्री ओली भारतले तोकेकै मितिमा राजकीय भ्रमणको निम्ति नयाँदिल्ली पुग्लान् । नेपालसित अति विशिष्ट सम्बन्ध रहेको देखाउन प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री मोदीले यसपटक कसरी स्वागत गर्नेछन्, त्यो हेर्न बाँकी नै छ : इजरायली प्रधानमन्त्री नेतन्याहुलाई जसरी वा फ्रान्सेली राष्ट्रपति माक्रोँलाई जसरी वा क्यानाडेली प्रधानमन्त्री ट्रुडोलाई जस्तैगरी वा नेपालका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई जसरी † इजरायल र फ्रान्ससित भारतको सम्बन्ध हतियारको पैठारी र विशेषगरी फ्रान्स र भारतबीच हिन्द महासागर क्षेत्रमा सामरिक सहकार्यमा आधारित रह्यो भने क्यानडामा रहेका शिख पृथकतावादीहरूसित ट्रुटोको सम्बन्धको कारण प्रभावित भयो । नेपालसितको सम्बन्धमा भारतको प्राथमिकता हलेदो भनेपछि कोट्याउनुपर्ने अवस्थामा हामी छैनौं । प्रधानमन्त्री ओलीले मंगलबार विश्व समुदायलाई सम्बोधन गर्दै नेपालको नीति र प्राथमिकताहरूमध्ये राष्ट्रियतालाई सर्वाेपरी राखेका छन् । जस अनुसार राष्ट्रिय स्वार्थमा कुनै सम्झौता नगरिने उनले भनेका छन् ।


आपसी विश्वास नै अक्षुण्ण सम्बन्धको कडी भएको भावनासहित ओली नयाँदिल्ली जाँदैछन् । तर पाकिस्तानका प्रधानमन्त्री अब्बासको नेपाल अवतरण भारतलाई पचेको छैन । सार्क सम्मेलनप्रति चासो र द्विपक्षीय सम्बन्धमा मात्र सीमित नभई चीनसितको बीआरआईमा नेपालको सहभागिता र उपयोगिताबारे अब्बासले चर्चा गरेकोमा ओली शंकाको घेरामा परेका छन् । भारतमा बीजेपीजस्ता चरम दक्षिणपन्थी असहिष्णुताको प्रतीक दलसित नेपालको ‘वामपन्थी’ सरकारको सम्बन्ध कतै अतिसार त हुने होइन भनी नेपालीहरू सशंकित छन् । तर द्विपक्षीय सम्बन्ध सधैं एकनाशको हुँदैन भन्ने तथ्य हामीले बिर्सनु हुँदैन । जसरी युद्धोन्मुख भनिएको भारत–चीन सम्बन्ध सामान्यीकरणतिर अघि बढ्दैछ । नेपालले पनि विकसित परिस्थिति कसरी आफ्नो राष्ट्रिय हित अनुकूल पार्न सकिन्छ भनी गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

पाठक मञ्च

धुलाम्य राजधानीमा हैरानी

जसले जेसुकै तर्क गरे पनि काठमाडौंका बासिन्दाको स्वास्थ्य अहिले गम्भीर जोखिममा परिसकेको छ । स्वास फेर्नै अयोग्य वातावरण भएको सहर बनेको छ, काठमाडौं अहिले । तर पनि हामी बाध्य छौं, काठमाडांैको दैनिकी गुजार्न । काठमाडौंका सडकहरूमा हिँड्ने जोसुकैले पनि मास्क प्रयोग गर्नुको विकल्प छैन । काठमाडांैभित्र अहिले सडक र खानेपानी विस्तारको कामले बिगारिएका सडक अलपत्र छाडिनाले काठमाडांैको आकाश धुलाम्य भएको छ भने बाटो हिँड्नेको स्वास्थ्य दिन–प्रतिदिन खस्कँदो छ ।

यसतर्फ सरकारले ध्यान दिएको खोइ ? सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी र मोटरसाइकलमा दैनिक यात्रा गर्नुपर्ने नागरिकले त झनै यो धुलोधुवाँबाट सास्ती खेप्नुपरेको छ । त्यसैको परिणाम हो– नाक, कान, घाँटीका बिरामी २० प्रतिशतले बढ्नु । देशकै राजधानीको यो हालतले विदेशी पर्यटकहरूलाई पनि नकारात्मक असर गरिरहेको छ ।
केही समय अगाडि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र धूलो, धूवाँरहित काठमाडांै बनाउने घोषणा गरे, तर त्यसका लागि अहिलेसम्म कुनै ठोस कदम चालिएको सुनिएन । मेलम्ची खानेपानी आगामी दसैंसम्ममा काठमाडांै भित्रिने गरी काम पूरा हुने भनिएको छ, तर अहिलेसम्म सडक भत्काएर पाइप राख्ने काम सकिएको देखिँदैन । एउटाले सडक बनाउँछ, अनि अर्कोले भत्काउन थाल्छ, अर्कोले काम सक्छ, अनि अर्कोको पालो । सरकारी कार्यालयहरूबीच नै तालमेल नहुने काठमाडांैभित्रको सडकको बेथिति हो यो । अनि कसरी हुन्छ, वातावरण स्वच्छ ? धूवाँ, धूलो लगायत प्रदूषणको काठमाडौंका भित्री सडक र चक्रपथ क्षेत्रमा विशेष समस्या रहेकामा अहिले कीर्तिपुरको विश्वविद्यालय परिसरमा पनि यो समस्या सरेको छ । ढल व्यवस्थित गर्ने भनेर विश्वविद्यालय भित्रको बाटो पनि भत्किन सुरु भइसकेको छ । दैनिक धूलो र प्रदूषणको सिकार बन्नुपर्ने पालो अब सरुवा रोगझैं यतायता सर्दै आउँदैछ । वातावरण संरक्षणमा सम्बन्धित पक्षको चाँडो ध्यान जाओस् ।
– नोदनाथ त्रिताल र दिनेश श्रेष्ठ
त्रिवि, कीर्तिपुर
***


कान्तिपुरमा प्रकाशित ‘प्रत्येक श्वासमा जोखिम’ पढ्दा नै दु:ख लाग्यो । भोग्नेलाई झन् कति पीडा छ, त्यसै बुझ्न सकिन्छ । काठमाडौंको धुलोले ६० वर्ष बाँच्ने नेपालीको आयुलाई ४० वर्षमा झारिसक्यो । काठमाडौं गर्मीमा धुलाम्य, वर्षातमा हिलाम्य हुने गरेको छ । विकासको नाममा काठमाडौंको वातावरणलाई प्रदूषित बनाइएको धेरै भैसक्यो । तर वर्षैपिच्छे फेरिने सरकारले धूलो, धूवाँको प्रदूषण हटाउन कुनै वैकल्पिक उपाय व्यवस्था गर्नसकेको छैन । प्रदूषणले जनस्वास्थ्यमा पारेको असरप्रति कसैको चिन्ता र चासो देखिँदैन । के यस्तै पाराले बन्ला त समृद्ध मुलुक ? धूलो, धूवाँ र हिलोको सकसमा राजधानीवासीले कतिन्जेल र कसरी जीवन चलाउने ? तसर्थ राजधानीको प्रदूषण नियन्त्रणमा सरकारले बेलैमा समाधान गरोस् ।
– राजेश विद्रोही
लहान, सिरहा
***


दुई दशक अघिसम्म यदाकदा राजधानीका अस्पताल पुगेका बेला डाक्टरहरूले मुखमा माक्स लगाएको देख्दा अचम्म लाग्थ्यो र मनमनै सोचिन्थ्यो, ‘ए डाक्टर भएपछि मुखमा माक्स लगाउनुपर्ने रहेछ ।’ तर अहिले माक्स नलगाई मानिस हिँड्न, बोल्न, काम गर्न नसक्ने परिस्थिति बनेको छ । राजधानीमा धुलो र धुवाँको व्यापकता केही वर्षअघि सडक विस्तार गर्ने नाममा भत्काइएका संरचनाका कारण भएको हो । उपत्यका प्राधिकरणले सडक मिचेर बनाइएका र सडक संहिता पालना नगर्नेहरूका नाममा सडक छेउका घरहरू अन्धाधुन्द भत्कायो । कतिका बलपूर्वक भत्काइए त कतिका सल्लाह मुताविक भत्किए । तर भत्काएर असरल्ल छाडिएका निजी घरजग्गाका केही स्थानमा व्यवस्थित तवरले अर्को संरचना तयार भएनन् भने सार्वजनिक सडक पर्खाल ढल निर्माणमा ढिलाइ भयो । त्यसैले राजधानीलाई धुलाम्य वातावरणले गाँज्यो । त्यसैको सेरोफेरोमा भूकम्प गइदियो । त्यसैले मानवीय क्षतिमात्र गरेन, भौतिक संरचनाहरू पनि भत्काइदियो । यस्तै मेलम्ची खानेपानी आयोजनाले सडकको बीच भाग ‘अपरेसन’ गरेर पाइप विछ्याउने काम गर्‍यो । त्यसक्रममा भत्काइएको सडक पिच गर्ने काम पनि ढिला हुनगयो । जसको फलस्वरूप राजधानीमा माक्स लगाउनेको संख्या बढ्दै गयो ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं
***


धूलोकै कारण काठमाडौंमा नाक, कान र घाँटीका बिरामी २० प्रतिशतले बढेका रहेछन् । यसैको कारणले श्वासप्रश्वासका बिरामीमा कष्ट झनै बढेको छ । मास्कले अनुहार छोप्दा सबै अनुहार उस्तै–उस्तै देखिन्छन् । हाल काठमाडौंको वायु धेरै खराब अवस्थामा पुग्नुले सरकारले राजधानीवासी नागरिकको स्वास्थ्यप्रति देखाएको बेवास्तालाई प्रमाणित गर्छ । वायु प्रदूषणले काठमाडौंवासीको दैनिकीलाई मात्र प्रभावित गरेको छैन, काठमाडौंको सौन्दर्यलाई समेत बिगारिरहेको छ । सरकारी, गैरसरकारी, समुदाय र व्यक्ति सबैको प्रयासमा राजधानीलाई वायु प्रदूषणबाट जतिसक्दो छिटो उद्धार गर्नुपर्ने जरुरी देखिन्छ ।
– महेन्द्रसिंह बम
टीकापुर– १, कैलाली
***


राजधानी भन्ने बित्तिकै सबैले सोच्छन्– सफा, हराभरा, सरर मोटर गुड्ने बाटो । तर काठमाडांैमा यसको विपरीत अवस्था छ । बाटो विस्तारका नाममा जताततै घर भत्काएर असरलै छाडिएको छ । मेलम्ची खानेपानीले पाइप बिछ्याउन भत्काएको बाटो धेरैतिर बनाइएको छ । जता गयो, धूवाँ र धूलोमात्रै । माक्स नलगाई घरबाट बाहिर निक्लन सकिने अवस्था छैन् । वर्षौंदेखि धूलोले आक्रान्त जनताले राहत कहिले पाउने हुन् ? हिजोसम्म जनप्रतिनिधि नभएर विकासका काम हुनसकेनन् भन्ने गरिन्थ्यो । तर स्थानीय तहमा जनप्रतिनिध बहाल भएको यतिका महिना बितिसक्यो । विकासको काम गर्न उनीहरूलाई केले रोकेको छ, अहिले ? कम्तीमा भत्किएका बाटो पिचमात्र गरेको भए पनि धूलो त उड्न कम हुन्थ्यो । जताततै घर भत्काएर मात्र भएन, पहिला भत्काएको ठाउँमा बनाउनुपर्‍यो । हरेक ठाउँमा घर भत्काएर त्यतिकै छाडिएको छ । पानी परे हिलो, घाम लागे धूलो । यो अवस्था कहिलेसम्म रहने हो ?
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

पाठक मञ्च

बिदा कटौती स्वागतयोग्य

सरकारले गरेको सार्वजनिक बिदा कटौती स्वागतयोग्य छ । तर विश्वमा मुख्य धर्मले चिनिने इसाई, इस्लाम, हिन्दु र बौद्ध छन् र मुख्य चाडपर्वमा विश्वभरि सार्वजनिक राष्ट्रिय बिदा दिनेहरू गरिन्छ । इस्लाम धर्मको सन्दर्भमा, विश्वभरि अन्तिम सन्देष्ट मोहम्मद (स.) को जन्मजयन्ती, इदउलफित्र (इद) र इदउलअजहा (बक्रिद) मा कहीं एक दिन वा दुई दिनसमेत दिइरहेको देखिन्छ । तसर्थ यसतर्फ ध्यान दिन जरुरी छ ।
– हाशिम अन्सारी
राजविराज, सप्तरी

पाठक मञ्च

विश्वविद्यालयको विश्वसनीयता

प्रदेश नं. २ मा रहेका त्रिभुवन विश्वविद्यालयका नाम चलेका आंगिक क्याम्पसमा खुलेआम चिट चोरी हुने कार्य हुने गरेको तथ्य बाहिर आइसकेको छ । जनकपुरको रारा, वीरगन्जको ठाकुरराम, सिरहाको सत्यनारायण–सूर्यनारायण र राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसहरूमा चोरी हुने र परीक्षा अमर्यादित हुने गरेको निष्कष्र्न त्रिविको अनुगमन टोलीले नै निकालेको हो । कतिपयमा क्याम्पस प्रमुखहरूकै निर्देशनमा चोरी गराएको पाइएको छ । त्रिविका आंगिक क्याम्पसहरूको हालत यस्तो छ भने प्रतिस्पर्धा उच्च हुने र व्यापारिक कम्पनीका रूपमा खोलिएका निजी र सामुदायिक क्याम्पसहरूको हालत कस्तो होला ? यस्ता कुरालाई खुलेआम प्रश्रय दिने हो भने विश्वविद्यालयको विश्वसनीयता कति हुने ?
– तुलसीराम खरेल
विर्तामोड, झापा

पाठक मञ्च

निर्माणाधीन सडकले सास्ती

प्रदेश नं. ५ को नवलपरासी–नारायणचौक निर्माणाधीन सडक खण्डमा सर्वसाधारणले दैनिकजसो सास्ती खेपिरहेका छन् । नवलपरासी जिल्ला सदरमुकाम जोड्ने महत्त्वपूर्ण सडकखण्ड निर्माणको जिम्मेवारी पाएका ठेकेदारको गैरजिम्मेवारीले सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । काम छिटो सक्ने बहानामा ठेकेदारले सडक भत्काए पनि काम पूरा गर्नतर्फ ढिलासुस्ती गरेको देखिन्छ । अहिलेको सडकको धुलोले सर्वसाधारण आजित बनेका छन् । बच्चा र वृद्धहरूको श्वास–प्रश्वासमा प्रतिकूल असर परेको छ । सडक वरपर बसोबास गर्ने सर्वसाधारण र सदरमुकाम नवलपरासीदेखि त्रिवेणी आवत–जावत गर्ने यात्रु बढी मर्कामा परेका छन् । निमार्ण कम्पनीले निर्माणाधीन सडकमा पानी छर्कनुपर्ने भए पनि अटेरी गर्दै आएको छ । सडक बनाउँदा सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्नु हँुदैन । सडक डिभिजन कार्यालय नवलपरासीले तोकिएको मितिमा काम सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरेको जनाएको छ । यस विषयमा सम्बन्धित निकायका साथै बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र रामग्राम नगरपालिकाको ध्यानाकर्षण हुन जरुरी छ ।
– लक्ष्मण आचार्य
बर्दघाट– १३, नवलपरासी

पाठक मञ्च

शिक्षकको अनशन हास्यास्पद

लामो समयसम्म अध्यापन गरेका तर स्थायी हुने अवसर नपाएका शिक्षकहरूको पेसागत सुरक्षाका लागि शिक्षा मन्त्रालय नै लागिपरेको छ । अस्थायी शिक्षकहरूलाई स्थायी गर्न शिक्षा सेवा आयोगले यही चैत २३ गते लिखित परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछ । परीक्षामा २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षक सहभागी हँुदैछन् । एकातिर पेसागत स्थायित्व नभएसम्म उनीहरूको अध्यापनतर्फ आत्मबल गिरिरहन्छ भने अर्कोतर्फ अयोग्य व्यक्ति शिक्षक बन्नु भनेको हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिनु हो । यस विषयमा विभिन्न तवरका तर्कवितर्क पनि आए । तर शिक्षा ऐनलाई संशोधन गरेर अस्थायी शिक्षकहरूलाई स्थायी हुने अवसर दिने सरकारको सदाशयता देखाएको छ । यसलाई सबै अस्थायी शिक्षकले आत्मसात् गर्नु जरुरी छ । तर केही शिक्षक परीक्षा नै नदिई स्थायी हुन पाउनुपर्छ भन्ने माग गर्दै आमरण अनशन बसेका छन् । यो आफ्नो क्षमता मापन गर्ने हैसियत पनि नराखी काँतरपन देखाउनु हो । २२ हजार ७६ पदमा पनि छनोट हुन नसक्ने उम्मेदवार शिक्षक पदमा कसरी योग्य सावित हुनसक्छ ?
– शिवलाल धिताल
लेकसाइड, पोखरा
***


भनसुन र सेटिङका भरमा अस्थायी शिक्षक नियुक्ति गरिएका थिए । उनीहरूलाई स्थायी बनाउन परीक्षालाई सहज पार्ने र फेल भए सुविधासहित बिदा गर्ने सहमति बन्यो । फेरि त्यतिले नपुगेर स्वत: स्थायीको माग आएको छ । यसले शिक्षक जागिर खुल्ने आसमा बसेका हामी विद्यार्थीले के भन्ने ? समृद्धि भनेको पहँुचवालाहरूकै संरक्षणमात्रै हो र ? नयाँ नेपालको नयाँ र आधुनिक शिक्षाको सुरुवात खोइ ?
– सुरेश खतिवडा
सुकुना बहुमुखी, मोरङ

पाठक मञ्च

बेरोजगार भत्ता जरुरी

देशमा अहिले सबभन्दा विकराल अवस्था शैक्षिक बेरोजगारको छ । स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरू पनि शैक्षिक प्रमाणपत्र बोकेर कामको खोजीमा भौंतारिरहेको देखिन्छ । युवा वर्ग भनेको देशको भविष्य हुन् । युवाकै कारण देशमा ठूलठूला राजनीतिक परिवर्तन भएका छन् । अहिले यिनै युवालाई सरकार सञ्चालनमा बसेका नेताहरूले अनदेखा गरेका छन्, जुन अत्यन्त दु:खदायी छ । त्यसैले सरकारले शैक्षिक बेरोजगार युवालाई बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्छ ।
– सञ्जीव वैद्य
सिनामंगल, काठमाडांै

पाठक मञ्च

गीत चोरी लज्जास्पद

कला क्षेत्रमा आबद्ध कलाजीवीहरू सिर्जनशील हुन जरुरी हुन्छ । तर कला र यसको गरिमा अनि महत्त्वबारे परिपक्व ज्ञान नहुँदा केही समययता कला क्षेत्रभित्र नै द्वन्द्व सिर्जना भएको छ । यसले नेपाली कला क्षेत्रलाई नै बदनाम तुल्याएको छ । यो हामी सबै कलाकर्मीका लागि दुर्भाग्य हो । सन्दर्भ ‘उकालीमा अघि–अघि’ बोलको गीतको हो । नेपाली चलचित्र सम्झनाको यो गीत अर्को नेपाली चलचित्र ‘कृ’मा बिना अनुमति व्यावसायिक उद्देश्यले प्रयोग गरिँदा उत्पन्न घटना लाजमर्दो हो । यो विषयलाई क्षतिपूर्ति तिराएर मेलमिलाप गराइए पनि कालान्तरमा यस किसिमका घटना पुन: नदोहोरियोस् भनेर ध्यान दिनुपर्छ ।


‘उकालीमा..’ गीत विवादित हुने स्थिति सिर्जना हुनुमा मुख्य दोषी ‘ट्युनिङ’ नक्कल गर्ने र शब्द पनि दुरुस्तै सार्ने अल्मोडा राणा उप्रेती देखिन्छन् । अनुसन्धान गर्नकै लागि थियो भने प्रहरीले पहिले अल्मोडालाई पक्राउ गर्नुपथ्र्यो । उनी यसअघि पनि गीत चोरीको आरोप लागिसकेका पात्र हुन् । र यो घटनामा पनि सजायको पहिलो भागिदार उनी नै हुनुपर्ने हो । त्यसपछि ‘ओरिजिनल’ गीतका सर्जकसँग अनुमति नलिई आफ्नो चलचित्रमा व्यावसायिक उद्देश्यले प्रयोग गर्ने पात्र दोषी हुन् ।
– नवीन गुरुङ
लेखक, निर्देशक तथा निर्माता

Page 7
विविधा

सेयर बजारका सवाल

नेपालको सेयर बजारमा पछिल्लो समय देखिएका उतार–चढावहरूमा विशेष गरी सामाजिक मनोवैज्ञानिक कारणको प्रभाव बढी देखिन्छ ।
- डा. गुणाकर भट्ट

नोबल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट सिलरले सम्पत्तिको मूल्यमा देखिने फोकालाई सामाजिक प्रवृत्तिको रूपमा चित्रण गरेका छन् । ‘इर्‍यासनल इग्जुबरेन्स’ नामक पुस्तकका लेखक अर्थशास्त्री सिलरले पहिलोपटक सन् २००० मार्चमा यो पुस्तक सार्वजनिक गरेका थिए । संगोगवश यो पुस्तक सार्वजनिक भएको महिनामै संयुक्त राज्य अमेरिकामा डट कम बबल क्र्यास भएको थियो । सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरको मूल्यमा आएको ठूलो गिरावटलाई नै डट कम बबल क्र्यास भन्ने गरिन्छ । इन्टरनेटको प्रयोग बढेसँगै प्रविधिसँग सम्बन्धित कम्पनीका सेयरहरूको माग बढेको, त्यसै क्रममा सेयरको मूल्य अत्यधिक माथि गइरहेको र यो जुन कुनै समयमा विस्फोट हुनसक्ने विषयलाई अर्थशास्त्री सिलरले तार्किक ढंगमा प्रस्तुत गरेका थिए । ‘इर्‍यासनल इग्जुबरेन्स’ को सन् २००५ मा प्रकाशित दोस्रो संस्करणमा हाउजिङ मार्केटमा देखिएको बबललाई उद्धरण गर्दे उनले औसतमा संयुक्त राज्य अमेरिकामा मुद्रास्फिति समेत समायोजन गरिसकेपछिको घरको मूल्य सन् १९९७ देखि २००४ सम्म अर्थात ७ वर्षको अवधिमा ५२ प्रतिशतले बढेको उल्लेख गरेका थिए । उनको आशय हाउजिङ बजारमा भइरहेको बबल दिगो नहुने र यो चाँडै विस्फोटनमुख रहेको भन्ने थियो । नभन्दै सन् २००८ मा हाउजिङ मार्केट नराम्ररी क्र्यास हुनपुग्यो । यसैको परिणाम अमेरिकाले सन् १९३० को दशकपछिको अर्को ठूलो आर्थिक मन्दी भोग्नुपर्‍यो । विश्व वित्तीय संकट नाम दिइएको सन् २००८ को अमेरिकी आर्थिक संकटको असर युरोप र संसारका अन्य देशहरूसम्म फैलिन पुग्यो ।


सन् १९९६ मा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वका तत्कालीन चेयर अलेन ग्रिन्सप्यानले पहिलोपटक उठाएको ‘इर्‍यासनल इग्जुबरेन्स’को विषयलाई अर्थशास्त्री सिलरले पुस्तकाकार दिएर मानिसहरूमा लहडको भरमा लगानी गर्ने प्रवृत्ति हुने, देखासिकी गर्ने र अन्तत: घरजग्गा र सेयरमा गरेको लगानी डुव्ने कुरालाई विश्लेषणात्मक ढंगले प्रस्तुत गरेका छन् । नेपालमा पनि सेयर बजार तथा घरजग्गा कारोबारको आरोह र अवरोह यस्तै प्रवृत्तिको वरिपरि घुमिरहेको पाइन्छ ।

 

पछिल्लो सन्दर्भ
बैंकहरूको तरलतामा देखिएको दबाबसंँगै केही महिनायता सेयर बजार ओरालो लाग्ने क्रम सुरु भएको हो । बैंकहरूसँंग लगानीयोग्य साधनको अभाव हुनासाथ बैंकहरूभन्दा पनि एक कदम अगाडि बढेर बैंकहरूको तरलताबारे चासो राख्ने सेयर लगानीकर्ताहरू थिए । नेपाल यस्तो देश हो, जहा बैंकिङ पहँुच बाहिर रहेका ६० प्रतिशत मानिसलाई बैंकिङ क्षेत्रको तरलताबारे खासै जानकारी हुँदैन । यसैगरी कृषि पेसामा संलग्न ६६ प्रतिशत श्रमशक्ति र निरपेक्ष गरिबीको रेखामुनिका २१.६ प्रतिशत मानिसलाई पनि बैंकिङ क्षेत्रको तरलताले छोएको देखिँदैन । आवश्यकता पर्दा ऋण पाउन अप्ठ्यारो भएको, गाउँमा बैंकहरू पुग्न नसकेको र बैंकमा जागिर खान लरतरो भनसुनले नपुग्ने जस्ता विषयहरूमा आम नागरिक बढी चिन्तित देखिन्छन् ।


अर्थतन्त्रमा साधन परिचालनलाई सहज र प्रभावकारी बनाउन सेयर बजारको विकास र स्थायित्व आवश्यक हुन्छ । तर नेपालको सेयर बजारको गहनता र व्यापकताबारे विचार नपुर्‍याइकनै नेपाल स्टक एक्सचेञ्ज इन्डेक्स (नेप्से सूचकांक) मा हुने उतार–चढावलाई ठूलो चर्चाको विषय बनाउने, बैंकिङ क्षेत्र र अर्थराजनीतिका सबै सरोकारवालालाई पनि त्यसैको पछाडि दौडिन बाध्य बनाउने तथा नेपालको अर्थतन्त्रको उत्थान र पतनको व्यारोमिटरको रूपमा पनि नेप्से सूचकांकलाई नै प्रस्तुत गर्ने प्रवृत्तिदेखि सावधानी अपनाउनुपर्ने देखिन्छ ।


पछिल्लो केही समययताका घटनाक्रमलाई मात्र हेर्दा पनि छोटो समयमा नेपालको सेयर बजारमा ठूलो उतार–चढाव आइनै रहेको हो ।

उदाहरणका लागि २०७३ साउन १२ गते नेप्से सूचकांक १८८१ बिन्दुमा पुगेको थियो । यो नेप्सेको इतिहासमै सबैभन्दा ठूलो उचाइ हो । तर त्यसको छोटो समयमै २०७३ माघतिर आइपुग्दा नेप्से सूचकांक १३०० को वरिपरि घुमिरहेको थियो । अझ २०७२ असारको अन्त्यतिर नेप्से सूचकांक ९६१ बिन्दुमात्रै थियो । आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारको बुलिस ट्रेन्डलाई सहयोग पुग्नेगरी राजनीतिक तथा वित्तीय क्षेत्रमा केही घट्नाक्रमहरू विकसित भएका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकेको पुँजी वृद्धि योजना, संविधानको घोषणासँगै लगानीकर्ताहरूको अपेक्षामा आएको परिवर्तन तथा बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताका कारण दुई वर्षअघि सेयर बजार तेजीको प्रवृत्तिमा थियो ।


पछिल्लो समय १३०० विन्दुको वरिपरिमा रहेको सेयर बजारमा ५०/६० विन्दु तलमाथि हुने बित्तिकै साना लगानीकर्तालाई निराश बनाउने र ठूलो होहल्ला मच्चाउने प्रवृत्तिले सेयर बजारको दिगो विकासमा सहयोग पुर्‍याउँदैन । सेयर बजार घटाउने, साना लगानीकर्तालाई त्रसित बनाउने, आफ्नो पोजिसन बलियो बनाउने अनि तरलता अभावका कारण सेयर बजार खस्केको भन्दै विभिन्न निकाय धाउने प्रवृत्तिले सट्टेबाजीलाई मात्र सहयोग पुर्‍याइरहेको हुन्छ । खेतमा काम गर्ने किसानले सहज ढंगले ऋण नपाउँदा कृषि उपज बढ्न नसकेको र त्यही किसान व्याजको पासोमा फँसेको समाचारले कमैमात्र स्थान पाउने हाम्रो मुलुकमा सेयर बजार जोगाउन दिइने प्रत्यक्ष र अप्रत्यक्ष ऋणले अर्थतन्त्रको समग्र उत्पादकत्व वृद्धि गर्न कत्तिको सहयोग पुर्‍याएको छ भन्ने विषयमा बैंकहरू तथा नियामक निकायहरू सबैले विशेष सतर्कता अपनाउनुपर्ने भएको छ ।


प्रवृत्तिगत जोखिम
सेयर बजार उतार–चढावले नेपालको अर्थतन्त्रको विद्यमान अवस्थालाई कुन हदसम्म प्रतिविम्बित गर्छ भन्ने विषयमा व्यापक बहस हुनु जरुरी छ । सेयर बजारमा लगानी प्रोत्साहित गर्ने भन्दै कहीं हामी गाउँबाट कलेज पढ्न आएको होनहार युवक वा मुलुकको विकासका लागि अत्यावश्यक भनिएका जलविद्युत आयोजनाहरूको एक–दुई सय कित्ता सेयर किनेर आफ्नो नियमित काममा फर्किने किसानलाई सट्टेबाजीको सिकार बनाउन उद्यत भइरहेका त छैनौं ? यही मौकामा राष्ट्रको ढुकुटीबाट तलब खानेहरूलाई हामी राष्ट्र र जनताको हितका लागि नीति निर्माण गर्ने वा दैनिक सेवा प्रवाह गर्ने काममा भन्दा आफ्ना कार्यालयको कम्प्युटरको स्क्रिनमा दिनभरिजसो सेयर बजारको इन्डेक्स हेर्ने वातावरणमात्र बनाई दिइरहेका त छैनौं ? सेयर बजारलाई दिशानिर्देश गर्दै मुलुकमा उपलव्ध सीमित वित्तीय साधनलाई दीर्घकालीन विकासमा उपयोग गर्ने जिम्मेवारी पाएकाहरूलाई नै कतै हामीले आफ्नो कामसँंग सम्बन्धित विषयमा स्वार्थको द्वन्द्व हुनेगरी अल्झाइदिएका त छैनौं ? अझ व्यवसाय विस्तार गर्ने भन्दै बैंकबाट अर्बाैं ऋण लिएर हिँडेको व्यापारी उद्योगधन्दा स्थापना गर्न छोडेर सेयर बजारको चक्रको जोखाना हेरेर बसेको त छैन ? नेपालको सेयर बजारको विकासमार्फत समग्र अर्थतन्त्रको रूपान्तरणमा चासो राख्ने सबैले यी संवेदनशील विषयमा ध्यान दिएनौं भने नेप्से इन्डेक्स जतिसुकै माथि पुगे पनि ४ प्रतिशतभन्दा माथिको औसत आर्थिक वृद्धिदरतर्फ नेपाललाई लैजान सक्ने छैनौं । मुलुकको विकासका लागि पुँजी बजारको आवश्यकता छ र साधन परिचालनमार्फत वास्तविक क्षेत्र अर्थात उद्योगधन्दा, कृषि, जलविद्युत, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा लगानी परिचालन गर्नु पनि आजको आवश्यकता हो भन्ने विषयमा दुईमत छैन । तर सेयर बजारको स्थायित्व र अर्थतन्त्रमा यसको सकारात्मक योगदान बढाउने विषयमा तटस्थ चिन्तन हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।


नेपालको सेयर बजारमा पछिल्लो समय देखिएका उतार–चढावहरूमा विशेषगरी सामाजिक मनोवैज्ञानिक कारणको प्रभाव बढी देखिन्छ । यसैको परिणामस्वरूप लगानीकर्ताहरूमा फ्रेन्जी अर्थात अनियन्त्रित व्यवहार देखिने र सेयरको मूल्यमा ठूलो उतार–चढाव आउने भइरहेको मान्न सकिन्छ । पुंँजी बजारमा देखापर्ने यो प्रवृत्तिले साना तथा सर्वसाधारण लगानीकर्ताहरू ठूला फौबन्जारी समूहको सिकार बन्ने हुन्छन् । यस्तो अवस्थाले अर्थतन्त्रको विकासका लागि आवश्यक पुंँजी परिचालनमा समेत प्रतिकूल प्रभाव पार्ने हुन्छ । सीमित वित्तीय साधन भएको र पछिल्लो समय सरकारी तथा निजी क्षेत्र दुवैतर्फ साधन व्यवस्थापन गर्न असहज हुने देखिएको सन्दर्भमा वित्तीय नीति र सार्वजनिक वित्त नीति दुवैतर्फबाट सेयर बजार स्थायित्वका लागि थप नियमन हुनुपर्ने देखिन्छ ।


भट्ट नेपाल राष्ट्र बैंकका निर्देशक हुन् ।

विविधा

दबाबमा नेपाल प्रहरी

नेतृत्वका लागि उपयुक्त विकल्प रहेको अवस्थासमेत भएकाले नेपाल प्रहरीलाई दबाबमुक्त सुयोग्य साधन बनाउने यो अवसर अब गुमाउनु हुन्न ।
- राजेन्द्रसिंह भण्डारी

‘प्रहरी मोटा भया कानुनी राज्य र लोकतन्त्र बलियो हुन्या छ’, प्रहरी ऐन २०१२ को प्रस्तावनामा नेपाल प्रहरी गठनको औचित्य पुष्टि गर्दै भनिएको छ, ‘अपराध रोक्ने र अपराधी पत्ता लगाउने सुयोग्य साधनका रूपमा नेपाल प्रहरी फोर्सको गठन गरिनेछ ।’ सुयोग्य साधनले मात्र ‘सत्य सेवा सेवा सुरक्षा’को मर्म अनुरूप सेवा प्रवाह गर्न सक्छ भन्ने राज्यको ठम्याइ ठिक हो । तर व्यवहारमा भने नेपाल प्रहरीको सुयोग्यता विकास गर्नेतर्फ राज्यले समुचित ध्यान दिएको देखिन्न । असत्यहरू नै राज्यशक्तिको केन्द्रमा पुग्ने र आफ्नो असत्य कामकारबाहीमाथि कहीं कतैबाट आंँच नपुगोस् भन्ने विषयमा अनविज्ञ नरहेका राज्यशक्तिका पात्रहरूले नेपाल प्रहरीलाई सुयोग्य साधन बनाउने विषय उनीहरूकै लागि आत्मघाती हुनसक्छ भन्ने कुरा राम्ररी बुझेकाले नै उनीहरूले राम्राभन्दा हाम्रालाई प्रश्रय दिने र सुरक्षा प्रदान गर्ने निकायलाई नै असुरक्षाको जोखिममा राख्ने रणनीति अख्तियार गरेकै कारण नेपाल प्रहरीको संस्थागत विकास, प्रणालीगत सुधार, जवाफदेहिताको मुद्दा राज्यको प्राथमिकतामा कहिल्यै परेन ।


मुलुकको राजनीतिक फांँटमा युगान्तकारी घटनाहरू भए, हामीले लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा तय गर्‍यौं । तर ती राजनीतिक उपलब्धिलाई कानुनी रूपमा स्थिरता र स्थायित्व प्रदान गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग नेपाल प्रहरी भने राज्य उपयोग र दुरुपयोगको साधनमै सीमित रहन गयो । परिणामस्वरूप २०१२ सालमा बनेको प्रहरी ऐन यद्यपि कायम छ । उक्त ऐन अन्तर्गत बनेको नियमावलीलाई आफू अनुकूल पटक–पटक संशोधन गरी संगठनको प्रशासनिक संरचना, चेन अफ कमाण्ड नै भत्काउने काम गरिए । संगठनको संस्थागत विकासको प्रयोजनका लागि नियमावलीको संशोधनभन्दा आफू अनुकूलका पदाधिकारीको वृत्तिविकासको सुनिश्चितता गर्न पदावधि, सेवा अवधिजस्ता वृत्तिविकासका मर्मलाई नै धराशायी गर्नेगरी पटक–पटक हेरफेर गर्ने काम सुनियोजित ढंगले गरिएकै कारण नेपाल प्रहरीको आन्तरिक प्रशासनिक प्रणाली अहिलेसम्म व्यवस्थित हुन सकिरहेको छैन । यसले संगठनको चेन अफ कमाण्डमै असर पुर्‍याएको देखिन्छ । वृत्ति विकासको सुनिश्चितता नै नभएको संगठनमा गुण र क्षमताको प्रदर्शन र प्रयोग कसरी सम्भव हुनसक्छ ? मूल्य नै तोकुवा र ठोकुवाको भरमा कायम गरिने संस्कार दह्रोसंँग संस्थागत भइसकेको संगठनमा जतिसुकै वैज्ञानिक मूल्याङ्कन प्रणाली अवलम्बन गरे पनि त्यसले योग्यताको परीक्षण र परिणाम ठम्याउँदैन । राज्यका लागि नै प्रहरी सुयोग्य साधन अपरिहार्य होइन वा छैन भने गुण र दोषको सीमारेखा कसरी तोक्न सकिन्छ भन्ने प्रश्न नै नेपाल प्रहरीको संस्थागत विकास र व्यावसायिक नेतृत्व चयनका लागि हल गरिनुपर्ने सर्वाधिक महत्त्वको प्रश्न हो । गुण–दोषका सीमारेखा राज्यले कसरी तोक्ने र प्रहरीको संस्थागत विकास र क्षमता उपयोगको नीति तय गर्ने भन्ने विषयकै सेरोफेरोमा प्रहरी सुधारको योजना बनाउन आवश्यक छ ।


राज्य प्रणालीमा अयोग्य व्यक्तिको पहुंँच कायम रहुन्जेल नेपाल प्रहरी लगायत राज्यका अन्य निकाय समेतमा व्यावसायिकताको प्रबद्र्धन असम्भव छ । योग्यलाई नै सुयोग्यताको महत्त्व महसुस हुने गर्छ, कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी अयोग्यका लागि प्रतिरोधी शक्ति हुने गर्छ । उसको कानुनी प्रतिरोध नै प्रहरीको व्यावसायिक सुयोग्यताको मापदण्ड रहने गर्छ । विधिसम्मत विषयमा सहयोग गर्ने र अन्य अवस्थामा प्रतिरोध गर्ने क्षमता भएको नेतृत्वले मात्र सत्यको सुरक्षा र पालना गराउने आँंट देखाउन सक्छ । जोसँंग आंँट नै हँुदैन, उसले ढांँट वा गांँठका लागि आफ्नो व्यावसायिक दायित्व अन्यत्र अर्पण गर्ने गर्छन् । प्रहरी नेतृत्व आँंटिलो बनाउने जोखिम सुयोग्य चरित्रको राजनीतिक नेतृत्वले मात्र लिन सक्छ । नेपाल प्रहरीको नेतृत्वलाई अरौटे, भरौटे र लाचार छायाजस्तै बनाउने र आफू अनुकूल परिचालन गर्ने प्रचलन स्थापित हँुदै गएका कारण नेपाल प्रहरीको आन्तरिक प्रशासनिक प्रणाली, संरचनागत विकास, स्वस्थ व्यावसायिक प्रतिस्पर्धाको मुद्दा प्रणालीगत र प्रक्रियागत रूपमा विकसित हुनसकेन । त्यसैले भ्रष्ट र अदक्षले पनि नेतृत्वमा समान दाबी गरिरहेका हुन्छन् । उक्त दाबीलाई प्रक्रियागत रूपमा अडिटिङ गर्ने राज्यको मूल्याङ्कन क्षमता पनि विश्वसनीय छैन । यस्तो अवस्थामा वैधानिक/ अवैधानिक शक्तिकेन्द्रहरू सक्रिय र कहिलेकाहीं निर्णायकसमेत हुने गर्छन् । प्रहरी नेतृत्व तिनै भूमिगत, अर्धभूमिगत र खुल्लागत शक्तिकेन्द्रको लाचार छाया बनिरहेको हुन्छ । पञ्चायत कालमा भूमिगत छाया केन्द्रको दबाब प्रहरीमा प्रस्टै देखिन्थ्यो, प्रहरीको सरुवा, बढुवा लगायत दैनिक प्रशासनमा पनि दरबारको सैनिक सचिवालयको प्रत्यक्ष हस्तक्षेप रहने गथ्र्यो भने लोकतन्त्रमा भूमिगत शक्तिकेन्द्रभन्दा खुल्ला शक्तिकेन्द्रहरू सतहमा यत्रतत्र र सर्वत्र देखापर्न थाले ।


केही समयअघि लोकमानसिंह कार्कीको दबाब यतिसम्म सतहमा देखियो कि उनीकहाँ सरुवा, बढुवा फाइल नलगी सबै प्रक्रिया अवरुद्ध हुने गर्थे । उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मीको संख्या तामझाम हेर्दा राजाको सवारी चलाएको जस्तै देखिन्थ्यो, सुरक्षा प्रमुखले गोप्य प्रतिवेदन उनकै समक्ष पेस गर्नुपथ्र्यो । हतियार खरिदमा पंक्तिकारले हस्ताक्षर गर्न इन्कार गर्दा तत्कालीन प्रहरी नेतृत्वले उनीसमक्ष उपस्थित गराएको र त्यस सम्बन्धमा महसुस गरिएको विषयलाई छुट्टै प्रसंगमा तथ्यगत रूपमा कोट्याउने प्रयास गर्नेछु । प्रहरीलाई आन्तरिक रूपमै कमजोर बनाउने शक्तिकेन्द्रहरूलाई लालनपालन गर्न प्रहरीको उदेकलाग्दो नेतृत्वको निरीहता र लाचारिता पनि उत्तिकै जिम्मेवार रहेको छ । अवहेलना मुद्दाको सुनवाइको क्रममा डा. गोविन्द के.सी.लाई रातारात माथिको आदेश भन्दै थुनामा राखेको र अदालतमा सामान्य ढंगले चलिरहेको कान्तिपुरसमेत विरुद्धको अवहेलना सम्बन्धी मुद्दामा देखिएको सुरक्षाकर्मीको उपस्थिति र अनपेक्षित चलखेलमा अदृश्य तर सबैले बुझ्ने माथिको आदेशको ताबेदारीबाट प्रहरीमाथिको दबाब सहजै महसुस गर्न सकिन्छ । पदप्रतिको आशक्तिबाट अलिकति पनि माथि उठ्न नसक्ने र सिंगो प्रहरी संगठनको हितका लागि व्यक्तिगत त्यागको भावनामा विचलन आएकै कारण प्रहरी नेतृत्वले छुट्टै पहिचान बनाउन सकेन । परिणामस्वरूप प्रहरी नियमावली आफूखुसी ढंगले संशोधन भइरह्यो । व्यावसायिकता विकासको मुद्दा र वृत्तिविकासको सुनिश्चितत्तालाई प्रणालीगत रूपमा स्थापित हुनसकेन । यसै अवसरमा संगठनको आन्तरिक प्रशासनिक प्रणाली फितलो भएको फाइदा उठाउँदै बिभिन्न सक्तिकेन्द्र आआफ्नो स्वार्थ अनुरूप संगठनको मौलिक दायित्व विपरीत अनुचित दबाब दिन सफल भइरहे । अहिले परिस्थिति र परिवेश फेरिएको छ । विगतमा नेपाल प्रहरीलाई संस्थागत रूपमै कमजोर बनाउनेगरी ३० वर्षे सेवा अवधिका माध्यमबाट संगठनमा राजनीतिक हस्तक्षेपको सुरुवात गर्ने र अनावश्यक रूपमा उपल्लो तहमा दरबन्दी सिर्जना गरी सशुल्क पद वितरण गर्ने राजनीतिक शक्तिकेन्द्र आफैं अयोग्य सावित भई बहिस्कृत भएको छ भने श्रेणीविहीन पियन सरहका तहमा रहेका प्रहरी जवानलाई राजपत्र अनंकित चौथो श्रेणी सरहको तहमा बढुवा गर्नेगरी नियमावली संशोधन गर्ने तत्कालीन गृहमन्त्री के.पी. ओली स्वयं प्रधानमन्त्री बनेका छन् र प्रहरी नेतृत्वका लागि उपयुक्त विकल्प रहेको अवस्थासमेत रहेकोले नेपाल प्रहरीलाई दबाबमुक्त सुयोग्य साधन बनाउने यो अवसर अब गुमाउनुहुन्न । अन्यथा अपराधी मोटा भया लोकतन्त्र कमजोर हुन्या छ ।


भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन् ।

विविधा

चिकित्सकीय लापरबाही

- लक्ष्मी बखाद्यो

२०७४ वैशाखदेखि हालसम्मका पत्रपत्रिका पल्टाउँदा ‘बच्चा निकाल्दा आन्द्रा नै काटिदिए’, ‘चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप’, ‘लापरबाहीले सुत्केरीको मृत्यु’, ‘सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा’, ‘देब्रे घुँडामा गर्नुपर्ने शल्यक्रिया दाहिनेमा’ लगायतका चिकित्सकीय लापरबाहीका दर्जनौं समाचार देखिए । यस्ता समाचार महिनामा औसत चारवटा देखिएका छन् । त्यसबाहेकका कतिपय घटना अस्पतालमै गुपचुप गरी मिलाइएका पनि हुन सक्छन् ।


बिरामीप्रति चिकित्सकले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । अर्थात् चिकित्सक वा उपचारकर्मीले आफ्नो जिम्मेवारी पूरा नगरे बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति पुग्नगएको अवस्थालाई चिकित्सकीय लापरबाही हो । लापरबाही ठहरिन चिकित्सकले कर्तव्य उल्लंघन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डमा समेतबाट देखिनुपर्छ । उल्लंघनले बिरामीलाई केही न केही क्षति (मृत्यु, अंगभंग वा अन्य शारीरिक नोक्सानी वा आर्थिक हानि) पुगेको हुनुपर्छ ।


२०७५ भदौ १ गते बाट लागू हुने मुलुकी अपराधसंहिता ऐन २०७४ ले कानुन बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेल्चेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने प्रावधान उल्लेख गरेको छ । कुनै चिकित्सकीय लापरबाहीका कारण बिरामी वा सेवाग्राहीको मृत्यु वा अंगभंग भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र हेल्चेक्र्याइँका कारणबाट मृत्यु वा अंगभंग भएकामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरी सजाय गर्ने व्यवस्था गरिएको छ ।


उपचारका क्रममा चिकित्सकीय लापरबाही डाक्टर, नर्स, औषधि बिक्रेता, औषधि उत्पादक, ल्याब टेक्निसियन, ब्लड बैंकबाट हुनसक्छ । इलाज सम्बन्धी कसुरको परिधिमा लापरबाही/हेलचेक्र्याइँपूर्ण उपचार, मञ्जुरीबिना मानव शरीर परीक्षण पर्छन् । यस्तै इजाजत प्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागूऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री–वितरण गर्नु, औषधिमा मिसावट गर्नु वा मिसावट गरेको औषधि बिक्री–वितरण गर्नु, म्याद नाघेको वा पूर्ण सावधानी नलिई औषधि बिक्री–वितरण गर्नु पनि चिकित्सकीय लापरबाहीमा पर्छन् । एउटा औषधिलाई अर्को भनी बिक्री–वितरण गर्नु तथा मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्दा परीक्षणको गलत वा झुठ्ठा प्रतिवेदन दिनु पनि लापरबाही नै हुन् । उल्लिखित कार्य सबै इलाज सम्बन्धी कसुर अन्तर्गत पर्छन् । त्यसैले डाक्टरमात्रै होइन, औषधि बिक्रेता, परीक्षण गर्ने तथा रिपोर्ट बनाउने ल्याब टेक्निसियन, ब्लड बैंकमा रगत दिन बसेका कर्मचारी, औषधि निर्माण गर्ने तथा बनाउने फर्मासिस्ट पनि इलाजको कसुरभित्र पर्छन् ।


समान्यतया उपचारका क्रममा चिकित्सकीय लापरबाहीका कारण कसैको मृत्यु भयो वा कुनै अन्य शारीरिक, मानसिक वा आर्थिक क्षति भयो भने मोलमोलाइ अर्थात पैसाको कारोबारमा मिल्ने, क्षतिपूर्ति भराइलिने/दिनेमा चिकित्सकीय लापरबाहीको विषय निक्र्योल गर्ने गरिन्छ । आर्थिक क्षतिपूर्ति मात्रैले कसैको ज्यान फिर्ता हुनसक्दैन, न त्यसले चिकित्सकीय लापरबाही नै अन्त्य गर्छ । त्यसैले चिकित्सकीय लापरबाहीको गम्भीरतालाई ध्यानमा राखी दोषीलाई नसिहत दिने, लाइसेन्स खारेज गर्नुका साथै कैद सजाय हुनेसम्मको व्यवस्था गरिनु उपयुक्त हुन्छ ।


कानुनी उपचारमार्फत न्याय खोज्न जान त सकिन्छ, तर मुद्दा दायर गरी फैसला कुरेर क्षतिपूर्ति पाउने बेलासम्म घाउचोटमा खाटो लागिसकेको हुन्छ । चिकित्सकीय लापरबाहीका विषयमा मुद्दा दायर गरेपछि फैसला भएर क्षतिपूर्ति पाउन एक दशकभन्दा बढी समय लागेका उदाहरण थुप्रै छन् । चिकित्सकीय लापरबाहीकै एक मुद्दामा सर्वोच्च अदालतले ‘औषधि दिनहुँ खाएपछि लक्षण र असर देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ, नोक्सानी भएको कुरा जानकारी भएको मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने’ नजिर स्थापना गरेको छ, जुन सराहनीय छ । अदालतले क्षतिपूर्ति भराएर मात्रै फैसला गरेर चिकित्सकीय लापरबाहीको कसुरलाई अपराध ठहर्‍याएको देखिँदैन । यो कतिको उचित छ ? स्वास्थ्य सम्बन्धी अधिकार नेपाली नागरिकको मौलिक अधिकार हो । यो हक हनन गर्ने कार्य आपराधिक हो, नकि सामान्य देवानी प्रकृतिको कार्य । अत: आशा गरौं, अब कुनै चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूले लापरबाही नगरुन्, मानव शरीरलाई परीक्षण गर्ने साधन नमानियोस् । तर कसैलाई चिकित्सकीय लापरबाही वा हेल्चेक्र्याइँका कारण क्षति पुगे त्यसमा संलग्न व्यक्तिलाई आपराधिक दायित्व बहन गराइयोस् ।
बखाद्यो काठमाडौं स्कुल अफ लकी उपप्राध्यापक हुन् ।

विविधा

छिमेक कूटनीतिमा ओलीको परीक्षण

नेपाल भारतसँग नजिक हुन खोज्दा चीन सशंकित हुने र चीनसँग नजिक हुन खोज्दा भारत चिढिने ‘क्याच २२’ को अवस्थामा छ ।
- लेखनाथ पाण्डे

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबारमा तस्बिर सजाउन र इतिहासमा नाम लेखाउन अघिल्लै कार्यकाल काफी थियो । संविधान घोषणापछि नाकाबन्दीका दौरान भारतको दबाब थेग्न, चीनसँग परावहन सम्झौता गर्न र देशभित्र ‘राष्ट्रवादी’ छवि निर्माण गर्न उनी सफल भए ।

पुरस्कारस्वरूप जनताले स्थायित्व र विकासका निम्ति उनलाई पुन: सिंहदरबार डोर्‍याएका हुन् । दोस्रो कार्यकालमा उनका निम्ति सबैभन्दा कठिन परीक्षण छिमेक कूटनीति सञ्चालनमा हुनेछ । पाकिस्तानी समकक्षीलाई स्वागत गर्दै उनले भावी कूटनीति परम्परागतभन्दा पृथक ढंगले अघि बढ्ने छनक दिएका छन् । तर विशेषत: चीन र भारतसँग सम्बन्ध कसरी अघि बढ्छ, त्यसैमा नेपालको शान्ति, स्थायित्व र समृद्धिको गति निर्भर हुनेछ । निर्वाचन अभियानका क्रममा पूर्वाधार विकास र आर्थिक उन्नतिका निम्ति जति पनि वाचा गरिएका छन्, तीमध्ये अधिकांश यी दुई छिमेकीसँग स्वस्थ र हार्दिक सम्बन्धबिना पूरा गर्न सम्भवप्राय: देखिन्न । प्राविधिक र आर्थिक स्रोत जुटाउन पनि यी दुवैको साथ र सहयोग जरुरी हुनेछ ।


धेरैले पछिल्लो निर्वाचन परिणाम र वामपन्थी सरकार गठनलाई भारतको हार या चीनको जितका रूपमा अथ्र्याए । मूलत: त्यो नेपाली लोकतन्त्रको विजय थियो । यसले भारत र चीनसँग नेपालको कूटनीति र ती छिमेकीले हामीसँग गर्ने व्यवहारमा भने परिवर्तन ल्याउनेछ । यो छिमेकीहरूसँग सम्बन्ध नयाँ शिराबाट अघि बढाउने उपयुक्त अवसर पनि हो । तर नेपाल भारतसँग नजिक हुन खोज्दा चीन सशंकित हुने र चीनसँग नजिक हुन खोज्दा भारत चिढिने ‘क्याच २२’ को अवस्थामा छ । सँगसँगै यी छिमेकीसँग सहकार्य गर्दा राष्ट्रिय स्वार्थमा आँच पुगेको कतैबाट महसुस हुनुहुन्न ।


नेपाल–भारत सम्बन्धमा हार्दिकताका निम्ति सबैभन्दा अर्घेल्याइँ भनेकै नेपालप्रति भारतीय ‘प्रभुत्ववादी’ दृष्टिकोण हो । नयाँदिल्ली अद्यापि नेपाललाई आफ्नो ‘सुरक्षा छाता’ वा ‘ब्याकयार्ड’ (करेसाबारी) ‘फ्रेम’बाट हेर्छ । भारतीय विद्वत् वर्गसमेत नेपालले आफ्ना दुवै छिमेकीसँग स्वस्थ र सघन सहकार्य गर्न सक्छ भन्ने स्वीकार्न चाहँदैनन् । बरु उनीहरू कि चीन रोज कि भारत भन्नेसम्मका निम्छरो तर्क गर्छन् । तर नेपालको विकास र स्थायित्वका निम्ति एक छिमेकीमा भर पर्नु वा एउटा विरुद्ध अर्को छिमेकीलाई उपयोग गर्नु दुवै प्रत्युत्पादक हुनेछ । भारतीय भूमिमा चिनियाँ लगानीका लागि ‘लबिङ’ गर्ने तर नेपालमा त्यस्तै लगानी भित्रिए ‘सुरक्षा खतरा’ ठान्ने दिल्लीको विरोधाभाष उक्त ‘ब्याकयार्ड’ मानसिकताको उपज हो । पछिल्लो समय दिल्लीले भारत र नेपालबीच ‘स्पेसल रिलेसन्स’ वा ‘युनिक रिलेसन्स’ रहेको बताउँदै उही मानसिकता अभिव्यक्त गर्दैछ । जबसम्म ‘साउथ ब्लक’ले यो धङधङी त्याग्दैन, नेपालमाथि परम्परागत प्रभुत्व कायम राख्न हर–प्रयास जारी राख्नेछ, जुन नेपालको आन्तरिक मामिला र यहाँ चीनको झाङ्गिँदो स्वार्थसँग टक्राइरहनेछ ।


अर्कोतर्फ नेपालले भारतलाई हेर्ने दृष्टिकोण पनि पुन:परिभाषित गर्नु जरुरी छ । चीनलाई हेर्ने नेपाली ‘न्यारेटिभ’मा लगभग एक किसिमको समझदारी देखिन्छ, तर भारतप्रतिको बुझाइ र व्यवहार दशकौंदेखि विभाजित छ । हाम्रा कतिपय दल र नेताहरूले भारतलाई कि शत्रु ठान्यौं, कि मित्र मान्यौं । हाम्रा सरकार पनि कि भारत–विरोधी, कि भारत–परस्त कहलिए । हामीले अनुकूल हुँदा भारतीय चलखेल पनि ‘सहयोग’का रूपमा अथ्र्यायौं र प्रतिकूल हुँदा हस्तक्षेप ठान्यौं । यस्ता गतिविधिले द्विपक्षीय सम्बन्ध मजबुत बनाउनुभन्दा पनि संशय बढाउन भूमिका खेल्यो । अब राजनीतिक दर्शन र दाउपेचभन्दा पृथक रही भारतप्रति एक छिमेकीका रूपमा न्यूनतम साझा अवधारणा तय गर्नु जरुरी छ । यसका लागि भारतप्रति अक्सर आलोचनात्मक दृष्टिकोण राख्ने वामशक्तिहरूले नै पहल गर्नुपर्छ ।


नेपालका वामशक्ति र नयाँ सरकारसँग चिनियाँ नेतृत्व सकारात्मक भए पनि चीन नेपालमा एउटै शक्तिलाई पूर्ण विश्वास गर्ने अवस्थामा छैन । बेर्टिल लिन्टनेरले ‘चाइनाज–इन्डिया वार’ पुस्तकमा राजतन्त्र अन्त्यपश्चात् चीन कसरी नेपालमा स्थायी र विश्वासिलो शक्ति नपाएर धेरै शक्तिहरूसँग समानान्तर–निकटता बढाउँदैछ भन्ने चर्चा गरेका छन् । विगतमा उच्च चिनियाँ अधिकारीहरू नेपाली समकक्षीहरूसँगका भेटमा नेपाललाई भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सल्लाह दिन्थे । माओ, चाउ एनलाई, जियाङ जेमिन र हु जिन्ताओसम्मले यसैमा जोड दिएको पाइन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको युग सुरु भएपछि र विशेषगरी दिल्लीले छिमेकमा चीनको बढ्दो प्रभाव न्यून गर्न ‘नेबरहुड फष्ट पलिसी’ अघि सारेपछि चिनियाँ नेताहरूको यस्तो अभिव्यक्ति विरलै सुनिन थालेको छ । अर्थात् अब चीन नेपालमा भारतलाई सहजै ‘डोमिनेन्ट एक्स्टर्नल प्लेयर’का रूपमा स्वीकार्ने अवस्थामा छैन । चिनियाँ स्वार्थ पनि तिब्बतको ‘सुरक्षा–चासो’का रूपमा मात्र सीमित रहेन । बरु चीनको रणनीतिक र व्यापारिक स्वार्थ पनि चुलिँदो छ, जुन चीन–भारत–नेपाल त्रिदेशीय साझेदारी र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) का रूपमा मुखरित भएका छन् । सँगसँगै नेपालको भू–राजनीतिक तथा रणनीतिक महत्त्व र चुनौती ह्वात्तै बढेको छ । अर्थात् नेपालमा भारत र चीन आमने–सामने हुँदैछन्, जुन नेपालका निम्ति निकै जटिल रणनीतिक तथा कूटनीतिक मोड हो ।


सरदार यदुनाथ खनाल भन्थे : हात्तीहरू मिल्दा पनि मैदानको घाँस माडिन्छ, जुध्दा पनि माडिन्छ । भारत र चीन मिल्दा सन् २०१५ मा लिपुलेक गुमाइसक्यौं । वास्तवमा त्यो नेपाली भूमिमाथि भारतीय अतिक्रमणको चिनियाँ अनुमोदन थियो । अब यी उदाउँदा महाशक्तिहरू जुध्दाका परिणाम झन् भयावह र दूरगामी हुनेछन् । आर्थिक पुनरोदय सँगसँगै चीनले परम्परागत ‘शान्त कूटनीति’ त्याग्दै आफ्नो अर्थ–राजनीतिक र विकास मोडल छिमेक र संसारभर निर्यात गर्दैछ । बीआरआईमा पक्ष बनेको झन्डै एक वर्ष पुग्दा नेपाल यस अन्तर्गत रेलमार्ग, सडक सञ्जाल र अन्य
पूर्वाधार परियोजना अघि बढाउने प्रक्रियामा छ । तर यी विकास लक्ष्य हासिल गर्ने क्रममा हाम्रासामु २ चुनौती छन् : भू–राजनीतिक र द्विपक्षीय ।


पहिलो, भू–राजनीतिक प्रभावका संकेतहरू देखिइसकेका छन् । अघिल्ला दुई सरकार गठन वा विघटन तथा बुढीगण्डकी जलविद्युत परियोजनाको ठेक्का चिनियाँ कम्पनीलाई स्वीकृत वा अस्वीकृत गर्ने क्रममा यी राम्रैसँग प्रकट भए । आगामी दिनमा यी र यस्ता पूर्वाधार परियोजनामाथि दुई छिमेकीहरूबीच प्रतिस्पर्धा र टकराव जारी रहनेछ । पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले नेपाली समकक्षीसँग बीआरआईका फाइदाबारे मात्रै वकालत गरेनन्, यस अन्तर्गत ‘चीन–नेपाल–पाकिस्तान’ त्रिपक्षीय सहकार्यको सम्भावनासमेत औंल्याए । छुट्टै, कास्मिर मुद्दामा नेपालले मध्यस्थता गर्नसक्ने सार्वजनिक अभिव्यक्ति दिए । भारत स्वयं विवादित कास्मिर हुँदै बीआरआई अन्तर्गत ‘चाइना–पाकिस्तान इकोनोमिक करिडोर’ (सिपेक) परियोजनाले आफ्नो सार्वभौमसत्ता मिचेको भन्दै विरोधमा उत्रिएको अवस्था छ । दिल्लीले तत्काल अब्बासीको भनाइप्रति औपचारिक टिप्पणी नगरे पनि यस भ्रमणको सन्दर्भ र उद्देश्यप्रति सशंकित देखिन्छ, जुन भविष्यमा भूराजनीतिक दृष्टिले पेचिलो बन्नेछ ।


दोस्रो, चिनियाँहरू ठूलो लगानीसहित उच्च व्याजदर र आफ्नै कामदारसहित विदेशमा लगानी गर्न कहलिएका छन् । चीनको लगानीमा परियोजना अघि बढाउँदा सम्भावित ‘डेट ट्रयाप’बाट बच्ने, स्थानीय रोजगारी सुनिश्चित गर्ने र वस्तु निर्यात गर्नेतर्फ बेलैमा सचेत हुनुपर्छ । चीनले नेपालको मायाले मात्रै हिमाल छेडेर रेल ल्याइदिने होइन । उत्तरी भारतमा केन्द्रित झन्डै आधी अर्बको आवादी र बजारसम्म सहज पहुँच विस्तार गर्नु उसको ध्येय हो । तसर्थ नेपालले कति हिस्सा र कुन व्याजदरमा ऋण लगानी गर्ने भन्नेमा सतर्क हुन जरुरी छ । उसै त हामी चीन भन्ने बित्तिकै आँखा चिम्लिन्छौं । अझ वामपन्थीहरूको विश्वास चीनप्रति अधिक छ । नेपालले पारवहनका निम्ति भारतीय परनिर्भरताको विकल्प खोजिरहेको सन्दर्भमा चीनसँग रेल र सडक सञ्जाल विस्तार गर्नु अपरिहार्य बनेको छ । यस्तो दबाबबीच हुने सम्झौताहरूमा मुलुकको आर्थिक हित गौण बन्ने खतराप्रति सचेत रहनुपर्छ । हालैको एक अन्तरक्रियामा एक चिनियाँ प्रध्यापकले बीआरआईबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै, तर यसले नेपालका केही सीमित नेता तथा उच्च अधिकारीहरूलाई निकै छिटो धनी बनाउने जोखिम पनि औंल्याए । अर्थात् व्यक्तिगत आर्थिक लाभका लागि परियोजनाको उच्च मूल्याङ्कन गर्ने र सीमित नेता तथा कर्मचारीहरू मोटाउने प्रवृत्ति बढ्न सक्छ । पोखरा विमानस्थलको सुरुमा १४० मिलियन अमेरिकी डलर अनुमानित ठेक्का २१६ मिलियन डलर पुर्‍याइएबाटै यसप्रति थप सशंकित बन्नुपर्ने स्थिति छ ।


निष्कर्षमा, हाल भारत नेपालमा आफ्नो परम्परागत प्रभुत्व कायम राख्न संघर्षरत छ भने चीन आफ्नो सुरक्षा चासोको परिधिबाट बाहिरिँदै आर्थिक र सामरिक रूपले पनि नेपालमा उपस्थिति बढाउने चरणमा छ । नेपाल भने दशक लामो सशस्त्र द्वन्द्व र जटिल संक्रमणबाट तङ्ग्रिँदै राजनीतिक स्थायित्व, शान्ति र पूर्वाधार निर्माणमा केन्द्रित हुनु पर्नेछ । यसका लागि भारत र चीनको प्राविधिक तथा आर्थिक सहयोग र लगानी खोजेर मात्र पुग्ने अवस्था छैन । उनीहरू दुवैको भरोसा र विश्वास जित्नु पनि उत्तिकै जरुरी छ । आर्थत् ‘हिमाल वारपार’ रेल विस्तार गर्दा भारत ढुक्क हुने र माथिल्लो कर्णाली परियोजनामा चीन विश्वस्त हुने परिस्थिति निर्माण गर्नुपर्नेछ । प्रधानमन्त्री ओलीले छिट्टै भारत भ्रमण गर्दैछन् । उत्तरी छिमेकीसँग पनि उच्चस्तरीय भ्रमण सन्निकट देखिन्छ । यी उच्च कूटनीतिक भ्रमणलाई नेपालको भू–राजनीतिक परिस्थितिलाई लिएर छिमेकीहरूबीच संशय बढाउने होइन, बरु आपसी विश्वास र समझदारी कायम गर्न सदुपयोग गर्नुपर्छ । नेपालका पूर्वाधार परियोजनाहरूमा दुई छिमेकीहरूबीच सहकार्य सुनिश्चित गर्न नसकिए पनि कम्तीमा उनीहरूबीच स्वार्थको लडाइँ निम्तिन दिनुहुन्न । सँगसँगै नेपालको गृह मामिलामा उनीहरूको अनावश्यक ‘चासो’लाई न्यून गर्नुपर्नेछ, जुन ओली सरकारका निम्ति सबैभन्दा जटिल कूटनीतिक परीक्षण हुनेछ ।


ट्वीटर : @PandeyLekhanath

Page 8
समाचार

बाटो खन्न वनमै बास

गोरेटो बाटोको बजेटले दुई मिटर चौडा सडक
- गिरुप्रसाद भण्डारी

प्यूठान– गाउँ पुग्ने पदमार्ग निर्माणका लागि स्वीकृत बजेटले प्यूठान नगरपालिका ५ चान्जाका स्थानीयले दुई मिटर चौडा सडक निर्माण गरेका छन् । बाटो खन्न स्थानीय जंगलमै बास बसे । गत कात्तिकदेखि चार महिना जंगलमै बास बसेर स्थानीय २३ जनाले पैदल यात्रा गर्न मुस्किल टोडके भीर छिचोलेर जुम्रिकाढा ठूलोगाउँदेखि सडक निर्माण गरेका हुन् ।


पिछडिएको बस्तीमा बजेट परेको भन्दै उत्साहित स्थानीय काम खोज्दै भारत नगएर सडक निर्माणमा जुटेपछि पदमार्ग निर्धारित समयमा पूरा भएको वडाध्यक्ष लछुमन भण्डारीले बताए । ‘जुम्रिकाढाकै दुर्गम बस्ती चान्जा पुग्ने गोरेटो बाटोसमेत नहँुदा स्थानीयले निकै दु:ख पाएका थिए,’ उनले भने, ‘पदमार्ग निर्माणका लागि १२ लाख दिएपछि चान्जालीले गाउँसम्म मोटरसाइकल गुड्न सक्ने २ मिटर चौडा बाटो निर्माण पूरा गरेका छन् ।’ गाउँमा पुग्ने सडक योजनाको आफैं काम गरेर रकम भुक्तानी लिने जिल्लामै एकमात्र योजना लिस्ने पदमार्ग भएको भण्डारीले दाबी गरे । निर्माण पूरा भएपछि चान्जावासी मात्र नभएर लिस्ने लेकबाट प्यूठानको झिमरुक, माडी क्षेत्र र रोल्पाको तेवाङ, अरेश सिर्प लगायत क्षेत्र अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई सजिलो भएको भण्डारीले बताए । स्थानीय २३ परिवारका १/१ जना अनिवार्य बाटो खन्न आएको जुम्रिकाढा–ठूलोगाउँ–लिस्ने–ठाकठोके–चान्जा पदमार्ग निर्माण उपभोक्ता समिति अध्यक्ष किमबहादुर घर्तीक्षत्रीले बताए । ‘गाउँमा सडक पनि बन्यो । रोजगारी पनि पाइयो,’ घर्तीले भने, ‘चार महिनामा झन्डै तीन किलोमिटर सडक निर्माण गरेका छौं । काम गर्न सक्नेलाई रोजगारी पनि मिल्यो ।’


दसैं–तिहार मान्न घरमा आएका युवा भारत नगएर सडक निर्माणमा लागेको स्थानीय हस्तबहादुर खड्काले बताए । ‘सडक खनेर बाबुछोराले झन्डै १ लाख २० हजारको काम गरेका छौं,’ खड्काले भने, ‘भारत गएको भए पनि योभन्दा धेरै कमाइ गर्न सकिने थिएन ।’ आफ्नो गाउँमा पुग्ने सडक पनि बन्ने, पैसा पनि कमाइ हुने भएपछि सबै हौसिएर बाटो खन्ने काममा लागेको खड्काले बताए । प्रसादे बैजालीले ६६ हजार रुपैयाँ बराबरको काम गरेकाले यसपालि बर्खा रासन खरिद गर्न कतै ऋण गर्न नपर्ने भएको बताए ।


सडक पुर्‍याउन जुम्रिकाढाको ठूलो गाउँदेखि टोड्केसम्म पुग्दा तीन स्थानमा क्याम्प निर्माण गरेको स्थानीय गुमानसिंह खड्काले बताए । प्राविधिककै सल्लाहअनुसार स्थानीयले पदमार्ग निर्माण गरेको प्यूठान नगरपालिकाका प्राविधिक काशिराम उपाध्यायले बताए ।

समाचार

बौद्ध विश्व सम्मेलन हुने

बुटवल (कास)– बुद्ध जन्मस्थल लुम्बिनीमा वैशाख दोस्रो साता बौद्ध विश्व सम्मेलन हुने भएको छ । ‘लुम्बिनी नेपाल : बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित सम्मेलन हुन लागेको हो । सम्मेलन वैशाख १५ र १६ गते हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठी (भिक्षु मैत्रेय) ले बताए । उनका अनुसार तेस्रो दिन अर्थात् वैशाख १७ गते बुद्ध जयन्ती परेकाले सबैलाई त्यसमा सहभागी गराइनेछ ।


‘लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थल र विश्व शान्तिको मुहानका रूपमा अघि बढाउने र बौद्धधर्मको महत्त्व प्रचारप्रसार र अध्ययनलाई विश्वभर फैलाउने सम्मेलनको प्रमुख लक्ष्य हो,’ सम्मेलन संयोजक समेत रहेका उपाध्यक्ष मैत्रेयले भने । ‘यसबाट धार्मिक एवं सांस्कृतिक पर्यटनको विस्तार र प्रवद्र्धन हुने अपेक्षा छ ।’ सम्मेलनमा उपशीर्षकका रूपमा १५ खण्ड बनाएर छलफल गरिनेछ । सम्मेलनमा सहभागी हुन २३ देशका संस्कृति मन्त्रालयलाई निम्ता पठाइएको छ । सम्मेलनमा २ थरी बौद्ध विद्वान् सहभागी गराइनेछ । त्यसमा एकथरी बौद्धमार्गी भिक्षु तथा लामा र अर्का बौद्ध अध्येता तथा विद्वान् हुनेछन् । परराष्ट्र मन्त्रालयमार्फत बौद्ध देशका प्रमुख बौद्ध संस्था र अध्ययन केन्द्रलाई निम्तो पठाइएको छ ।


कार्यपत्र प्रस्तुत गर्ने बौद्ध विद्वान्लाई भने कोष आफैंले पत्राचार तथा सम्पर्क गरेको विकास कोषका सदस्यसचिवको समेत जिम्मेवारी सम्हालेका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए । सम्मेलनमा १३ विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । दर्जनभन्दा बढी नेपाली बौद्ध ज्ञाताले समेत कार्यपत्र प्रस्तुत गर्न अनुमति मागेका छन् ।

Page 9
अर्थ वाणिज्य

पुनर्निर्माणमा सरकारले खर्चियो १ खर्ब

- कान्तिपुर संवाददाता

 

काठमाडौं– भूकम्प गएको करिब ३५ महिनामा सरकारको बजेट प्रणालीबाट १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको छ ।


सरकार, द्विपक्षीय तथा बहुपक्षीय दाताबाट प्राप्त रकमसहित सरकारले हालसम्म उक्त रकम खर्च गरेको हो । पुनर्निर्माणको पाँचवर्षे अवधिमा खर्च गर्न आवश्यक ९ खर्ब ३८ अर्ब रुपैयाँमध्ये यो करिब ११ प्रतिशत मात्रै हो । हालसम्म भएको खर्चमा अन्य केही गैरसरकारी संस्थाहरूहरूको रकम समावेश छैन । ‘उनीहरूले पुनर्निर्माण क्षेत्रमा गरिरहेको खर्च संकलन हुँदै छ,’ पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले भने, ‘त्यसपछि हालसम्म कति खर्च भएको भन्ने वास्तविक रकम निस्कन्छ ।’ उनका अनुसार केही गैरसरकारी निकायहरूले सरकारको बजेटमा सहभागी नभई सरकारसँग अनुमति लिएर पुनर्निर्माणलाई सघाइरहेका छन् । उनीहरूले खर्च गरिसकेको स्थानमा सरकार अथवा अर्को निकायले खर्च गर्नु पर्दैन ।


प्राधिकरणले बिहीबार गरेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाअनुसार सबैभन्दा बढी नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ । सरकारको ५० अर्ब ७० लाख २२ हजार रुपैयाँ खर्च भएको छ । बाँकी रकम ९ दातृ निकाय तथा विकास साझेदारबाट पुनर्निर्माणमा खर्च भएको हो । हालसम्मको खर्चमध्ये अधिकांश रकम पुनर्निर्माण अनुदामा वितरण भएको छ । सरकारले भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको घर पुनर्निर्माण गर्न पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रोमा डेढ लाख र तेस्रो किस्तामा १ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


प्राधिकरणका अनुसार हालसम्म १ लाख १२ हजार ४ सय ५३ वटा घर निर्माण भइसकेका छन् । पुनर्निर्माण हुनुपर्ने घरहरूमध्ये यो संख्या करिब १५ प्रतिशत मात्रै हो । भूकम्पले ७ लाख ६७ हजार ७ सय ५ वटा घर पूर्ण रूपमा क्षति बनाएको छ । यसमध्ये हालसम्म पहिलो किस्ताको ५० हजार रुपैयाँ ६ लाख ८९ हजार ९ सय १२ परिवारले बुझिसकेका छन् । २ लाख ७९ हजार ३ सय २५ परिवारले दोस्रो किस्ताको १ लाख रुपैयाँ पाइसकेका छन् । तेस्रो किस्ताको १ लाख रुपैयाँ पाउने ६५ हजार ५ सय ४ रहेको समीक्षामा उल्लेख छ । समीक्षामा कतिपय पुनर्निर्माणको कार्यहरूको प्रगति सन्तोषजनक नरहेको औंल्याइएको छ । प्रगतिका लागि तत्काल गर्नुपर्ने केही सुझावसमेत पेस भएका थिए । समीक्षाअनुसार सरोकारवालाबीच समन्वय, ३२ वटै जिल्लाका गुनासालाई प्राथमिकतासाथ व्यवस्थापन गर्ने, जोखिमयुक्त बस्ती स्थानान्तरणलाई तीव्रता दिने, निर्वाचित प्रतिनिधिहरूसँग संवाद र अन्तरक्रिया बढाउने लगायतका कामहरू प्राधिकरणले अघि सारेको छ । ‘घर सम्पन्न भएकालाई एकमुष्ट ३ लाख रुपैयाँ अनुदान दिने व्यवस्थालाई कार्यान्वयनमा लैजाने,’ समीक्षामा भनिएको छ, ‘पुनर्निर्माण लाभग्राहीलाई प्रबलीकरण लाभग्राहीमा र प्रबलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राहीमा परिवर्तन गर्ने व्यवस्थालाई प्रचार प्रसारसहित कार्यान्वयनमा लैजाने । प्रबलीकरणको व्यवस्थापकीय पक्ष सुल्झाउने ।’


प्राधिकरणका अनुसार समीक्षामा पुनर्निर्माणसँग सम्बन्धित सबै मन्त्रालय तथा सरकारी निकायले गरेको प्रगति, समस्या, चुनौती र तिनको समाधानका विषयमा छलफल भएको हो ।


‘स्वास्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, सिँचाइ विभाग, खानेपानी तथा ढल निकास विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पुरातत्त्व विभागका तर्फबाट पनि प्रगति प्रस्तुत गरियो,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूले भौतिक संरचनाहरूको पुनर्निर्माणको प्रगति तथा लक्ष्यबारे जानकारी गराएका थिए ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले समीक्षामा प्रस्ततु समस्याहरू समाधान गर्न प्राधिकरणले पहल गर्ने बताए ।

अर्थ वाणिज्य

बैंकहरूलाई विदेशबाट ऋण लिन बाटो खुल्यो

सबै बैंकले आफूलाई प्राप्त अधिकतम सीमा बराबर ऋण लिने हो भने करिब ७५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम जुट्ने
- यज्ञ बञ्जाडे

 

काठमाडौं– वाणिज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ‘वाणिज्य बैंकहरूलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सम्बन्धी व्यवस्था’ पारित गरेपछि यस्तो बाटो खुलेको हो । विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य रकम अभावको समस्या व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो । नेपालमा पहिलोपटक यस्तो नीति बनेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था थिएन ।


अर्थमन्त्री युवराज खतिवडाले पदभार ग्रहण गरेलगत्तै तरलता व्यवस्थापन गर्न वाणिज्य बैकहरूलाई विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिने बताएका थिए । त्यसपछि सम्बन्धित कानुन बनाउन अर्थ मन्त्रालयलाई निर्देशन पनि दिए । सोही निर्देशनका आधारमा राष्ट्र बैंकले ‘वाणिज्य बैंकहरूलाई वित्तीय स्रोत व्यवस्थापनका लागि परिवत्र्य विदेशी मुद्रामा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउनेसम्बन्धी’ नीति बनाएको हो ।


बैंकहरूले विदेशी बैंकहरूबाट ऋण लिन पाउने सम्बन्धी नीति सञ्चालक समितिबाट स्वीकृत भइसकेको र दुई–तीन दिनमै निर्देशन जारी हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।


नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेर विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् । ‘बैंकहरूले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतसम्म विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन्,’ उनले भने, ‘बैंकहरूले १ देखि ५ वर्षसम्मका लागि यस्तो ऋण ल्याउन पाउनेछन् ।’ यसरी ल्याइएको ऋण बैंकहरूले राष्ट्र बैंकले तोकेको उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न पाउनेछन् । ‘बैंकहरूले जलविद्युत्, कृषि, पर्यटन, रेलवे सेवालगायत भौतिक पूर्वाधारहरूमा लगानी गर्नुपर्नेछ,’ पण्डितले भने, ‘हाम्रो उद्देश्य त्यस्तो ऋण अनुत्पादक क्षेत्रमा नजाओस् भन्ने हो ।’


हाल २८ वटा वाणिज्य बैंकहरूको प्राथमिक पुँजी करिब सवा ३ खर्ब रुपैयाँ छ । सबै बैंकहरूले आफूलाई प्राप्त अधिकतम सीमा बराबर ऋण लिने हो भने तत्काल करिब ७५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम जुट्ने देखिन्छ । यसको अर्थ राष्ट्र बैंकबाट अनुमति पाउँदैमा सबै बैंकहरूले ऋण पाइहाल्छन् भन्ने हुँदैन । ऋण लिनका लागि यहाँका बैंकलाई विदेशी बंैक तथा वित्तीय संस्थाले पत्याउनुपर्छ । यसकारण पनि सबै पैसा आउने सम्भावना नरहेको विज्ञहरू बताउँछन् ।


यसरी ल्याइने ऋणमा नेपाली बैंकहरूले कुनै प्रकारको धितो वा बैंक ग्यारेन्टी दिन नपाइने सहप्रवक्ता पण्डितले बताए । ‘यो क्लिन ऋण हो, बैंकहरूले कुनै प्रकारको धितो वा ग्यारेन्टी दिन पाउँदैनन्,’ उनले भने ।


बैंकहरूले ६ महिनाको लाइबर (लन्डन इन्टर बैंक अफर रेट) दरमा ३ प्रतिशत विन्दु थप गरी ऋण लिने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको पण्डितले बताए । बिहीबारसम्म ६ महिनाको लाइबर दर २.४४ प्रतिशत छ । उक्त दरमा ३ प्रतिशत विन्दु थप गर्दा बैंकहरूको लागत ५.४४ प्रतिशत हुन आउँछ । यस्तो ऋण परिवत्र्य विदेशी मुद्रामा ल्याइने भएकाले जोखिम कम गर्न ‘हेजिङ’ गर्नुपर्छ । यसका लागि करिब डेढदेखि २ प्रतिशतसम्म लाग्ने अनुमान गरिएको छ । यसकारण विदेशबाट ल्याउने ऋणको लागत लगभग ८ प्रतिशत पुग्ने देखिन्छ । तर, उपभोक्ताले भने धेरै सस्तोमा ऋण पाउने छैनन् । राष्ट्र बैंकले सो ऋणलाई पनि अन्य ऋणसरहकै ब्याजदरमा लगानी गर्न छुट दिएको छ । ‘बैंकहरूले तोकिएको उत्पादनमूलक क्षेत्रहरूमा प्रचलित ब्याजदरमा ऋण प्रवाह गर्न पाउँछन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

अर्थ वाणिज्य

बार्कलेजलाई दुई अर्ब जरिवाना

काठमाडौं (एजेन्सीहरू)– अमेरिकी सरकारले बेलायती बैंक बार्कलेजलाई दुई अर्ब डलर जरिवाना तिराएको छ । बैंकलाई सन् २००८ वित्तीय संकटका बेलामा धितोमा आधारित सुरक्षणपत्रको कारोबार गर्दा झुटा विवरण दिएको ठहर गर्दै मुद्दा दायर भएको थियो । ‘बार्कलेज’ ले अमेरिकी सरकारले दायर गरेको मुद्दा सल्टाउन २ अर्ब अमेरिकी डलर भुक्तानी दिन बिहीबार सहमत भएको बीबीसीले जनाएको छ ।


अमेरिकी सरकारले बैंकद्वारा लगानीकर्ताहरूलाई भ्रममा राखेर ऋण लगानीमा अपनाउनुपर्ने सुरक्षा र गुणात्मकतालाई बेवास्ता गर्दै वित्तीय संकटमा पुर्‍याएको आरोप लगाउँदै मुद्दा चलाएको हो ।


भुक्तानी गर्ने सहमति जनाएलगत्तै बार्कलेजका प्रमुख कार्यकारी अधिकृत जेस स्टेलेजले भने, ‘हामीले एउटा निष्पक्ष र मध्यमार्गी समाधानको उपाय अवलम्बन गरेका छौं । समस्या समाधानका लागि हामीले गरेको सहमतिबाट हामी प्रसन्न छौं ।’ बैंकले समस्या समाधान गर्नेबारे आफ्नो सहमति जनाएर प्रचारमा जुटे पनि संस्थागत दायित्वलाई भने अझै स्वीकार नगरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । न्युयोर्कस्थित इस्टर्न डिस्ट्रिकका अमेरिकी न्यायाधिवक्ता रिचार्ड डानोघुले भने, ‘बार्कलेजद्वारा पर्याप्त दण्ड तिर्न र उसका कर्मचारीहरूले राष्ट्रिय अर्थव्यवस्था तथा आवासीय धितोमा आधारित सुरक्षणमा लगानीबाट भएको नोक्सानको क्षतिपूर्ति गर्न महत्त्वपूर्ण कदम उठाएको छ ।’


बार्कलेजले समस्या समाधानबारे अमेरिकी न्याय विभागद्वारा ‘सबै वास्तविक र सम्भावित नागरिक दाबीहरू’ को हल गरेको प्रतिक्रिया दिएको छ । कार्यकारी प्रमुख स्टेलीले भने, ‘समस्या समाधानका लागि बैंकको व्यवस्थापन टोलीले सुरुदेखि नै सम्भव भएसम्मका उपाय अवलम्बन गर्दै आएको छ । त्यसैले यो मुद्दाको समाधान सही समयमा उचित तरिकाले भएको हो ।’ उनले अघिल्लो वर्ष मात्रै कम्पनीले आफ्नो पुनर्गठन गर्दै महत्त्वपूर्ण विषयलाई सही तरिकाले समाधान गर्ने तयारीमा रहेको बताए । उनले थपे, ‘बार्कलेज सही रूपमा अगाडि बढदै बलियो आम्दानी सिर्जना गर्नका लागि अग्रसर छ । समयको मागअनुसार हाम्रा सेयरधनीको आम्दानीको बढीभन्दा बढी हिस्सा फिर्ता गर्नसमेत बैंकले तयारी थालिसकेको छ ।’ मुद्दामा मुछिएका बार्कलेजका पूर्वकर्मचारीहरूले समेत आफ्नो तर्फबाट दुई मिलियन अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएका छन् । बार्कलेजका सबप्राइम सेक्युरिटाइजेसन प्रमुख पउल मेनेफी र जोन क्यारोलले सबप्राइम ऋण अधिग्रहणका क्रममा बैंका मुख्य व्यापारीले उनीहरूविरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीपछि पउल र जोनले रकम दिने सहमति जनाएका हुन् ।


संघीय वकिलहरूका अनुसार कथित योजनामा ३६ वटा आवासीय धितोमा आधारित सुरक्षण सुम्पेका थिए । जुन ३१ अर्ब अमेरिकी डलरभन्दा बढीको थियो । यसका लगानीकर्ताहरूमा क्रेडिट युनियन, पेन्सन योजना, परोपकार र धार्मिक संगठन, युनिभर्सिटी र वित्तीय संस्थाहरू समावेश छन् ।

Page 10
अर्थ वाणिज्य

तीन हजारको स्वास्थ्य बिमा

खोटाङ (रासस)– सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बिमा अभियानमा जिल्लाका ३ हजार १ सय ४२ जनाले नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको कार्यक्रमबाट लाभ उठाउन उनीहरूले बिमा गरेका हुन् ।

अर्थ वाणिज्य

भन्सार सुविधा रोक्ने टर्कीको चेतावनी

कच्चा धागो निर्यात
- सुरेशराज न्यौपाने

नयाँदिल्ली– टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ । एक्रेलिक यार्न (पोलिस्टर र फाइबर कच्चा धागो) नेपाली उद्योगहरूको क्षमताको तुलनामा अस्वाभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको हो ।


स्रोतका अनुसार नयाँ दिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रूपमा नेपाली पक्षलाई दिइसकेको छ । टर्कीले त्यो सुविधा हटाएको खण्डमा शिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ । टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्येमा पर्छ । विशेषगरी उद्योग वाणिज्य संघहरूबाट जारी हुने सर्टिफिकेट अफ ओरिजिन (उत्पत्तिको प्रमाणपत्र) मा लापरबाही गरिएको र त्यसको आडमा मलेसिया, थाइल्यान्डलगायतका उत्पादन निकासी गरिएको आशंका टर्कीले गरेको छ ।


टर्कीले अतिकम विकसित मुलुक (एलडीसी) ले पाउने जनरल प्रिपरेन्सिअल टयारिफ ट्रिटमेन्ट अर्थात् भन्साररहित सुविधा कच्चा धागोको निर्यातमा नेपाललाई दिँदै आएको छ । आकर्षक मूल्य र त्यही सुविधाका कारण नेपाली धागोका लागि टर्की प्रमुख बजार बनेको हो । काठमाडौंस्थित व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार २०१७ बाट भएको नेपालबाट ४ करोड अमेरिकी डलर मूल्यको धागो निकासो भएकामा टर्कीमा मात्रै ३ करोड ४० लाख डलर बराबरको टर्की निर्यात भएको थियो । करिब एक दर्जन मुलुकमा नेपाली धागो निर्यात हुने गरे पनि टर्कीले सबैभन्दा राम्रो भाउ दिने गरेको छ ।


भारतीय बजारमा नेपाली धागोले औसत प्रतिकेजी १.७ डलर मूल्य पाउने गरेकामा टर्कीमा भने उक्त दर ३.२ डलरभन्दा माथि रहने गरेको छ । आकर्षक मूल्य र भन्साररहित सुविधाका कारण पनि नेपाली धागोका लागि टर्की प्रमुख बजार बन्दै गएको हो । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा टर्कीतर्फको नेपालको सिन्थेटिक यार्नको निर्यात औसत ३८ प्रतिशतले र परिमाणमा औसत ४५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा धागोको टर्की निर्यातमा १०९ प्रतिशतले वृद्धि भएको थियो ।


तर, नेपाली उद्योगको क्षमताको तुलनामा पछिल्ला वर्षहरूमा भएको निर्यात वृद्धि अस्वाभाविक भएको भन्दै अन्य मुलुकको उत्पादनलाई आफ्नो टयाग लगाएर पठाएको आरोप लगाउँदै नेपालको धागोमाथि एन्टी सरकमभेन्सन डयुटी लगाउनका लागि प्रक्रिया अगाडि बढाएको जानकारी टर्कीले दिइसकेको छ । त्यसको जानकारी उसले विश्व व्यापार संगठन (डब्लूटीओ) लाई पनि गराइसकेको छ । डब्लूटीओको व्यवस्थाअनुसार अन्य मुलुकको सामानलाई आफ्नो उत्पादन भन्दै निर्यात गरेको खण्डमा एन्टी सरकमभेन्सन डयुटी लगाउन सक्ने व्यवस्था छ । सथ्यतथ्य पत्ता लगाउन टर्की आफैंले पनि अनुसन्धान गरिसकेको छ । स्रोतका अनुसार यस सम्बन्धमा टर्कीले सुरुमा नेपालका उद्योगीहरूलाई पनि सिधै पत्राचार गरेको थियो ।


टर्कीको उक्त पत्रपछि वाणिज्य मन्त्रालयले सहसचिव तथा प्रवक्ता रविशंकर सैंजुको संयोजकत्वमा एक प्राविधिक टोली गठन गरेको थियो । उक्त टोलीले उद्योगहरूमै गएर स्थलगत अध्ययन गरेर प्रतिवेदन पनि तयार पारिसकेको प्रवक्ता सैंजुले बताए । ‘पछिल्लो समय नेपाली उद्योगहरूको क्षमतामा वृद्धि भएर निर्यातमा उल्लेख्य मात्रामा वृद्धि देखिएको’ प्रतिवेदनलाई उद्धृत गर्दै सैंजुले भने, ‘पहिलो धागो बंगलादेश पनि निकासी हुने गरेकामा सडक मार्गबाट हुने त्यताको निर्यातमा रोक लागेपछि त्यो हिस्सा पनि टर्कीतिर सोझिएको हो ।’


२९ डिसेम्बरमा टर्की सरकारले यससम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको थियो । आफूले गरेको अध्ययन र नेपाली पक्षबाट आउने प्रतिवेदनलाई केलाएर आवश्यक निर्णय लिने पक्षमा टर्कीका अधिकारीहरू रहेका छन् । त्यसका लागि नेपाली टोलीलाई आफ्नो प्रतिवेदनसहित मार्चको अन्तिम साता वा अप्रिलको पहिलो सातामध्ये कुनै एउटा समयमा छलफलका लागि आउन टर्कीले निमन्त्रणासमेत गरेको थियो । मार्चको अन्तिम साता जान नसकेपछि आफूहरू अप्रिलको पहिलो साता टर्की जाने तयारीमा रहेको प्रवक्ता सैंजुले बताए । टर्की पुग्ने नेपाली टोलीले निकासीमा वृद्धि, नेपाली पक्षबाट भएको अनुसन्धान र त्यहाँले उठाउने प्रश्नहरूको जवाफ दिनुपर्नेछ र टर्कीका अधिकारीहरूलाई आश्वस्त पार्नुपर्नेछ । टर्कीका अधिकारीहरूलाई आश्वस्त पार्न नसकेको खण्डमा अहिले पाइरहेको भन्साररहित सुविधा हट्ने सम्भावना प्रबल छ ।

अर्थ वाणिज्य

व्यवस्थापनका नाममा नाकामा भारतीय अवरोध

बुटवल (कास)— व्यवस्थापनका नाममा भारतीय प्रहरीले अवरोध गरेपछि सुनौली नजिक समान अलपत्र छन् । भारतीय प्रहरीलाई पैसा दिए मात्र सामान छिटो आउने व्यवसायीले आरोप लगाएका छन् ।


नियमविपरीत रकम मागेर दु:ख दिएको व्यवसायी किरण पाण्डेले बताए । ‘मागेको रकम नदिँदा मैले पाँच दिन लगाएर भन्सार कटाएँ,’ उनले भने । सामान्य अवस्थामा नाकाबाट दैनिक ५ सय हाराहारी मालबाहक ट्रक भित्रिन्छन् । अहिले दैनिक तीन सय आउँछन् । यस्ता ट्रकले सामान्यत १ वा २ दिनमा सीमा पार गर्छन् ।


अवरोधले एक सातासम्म लागिरहेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीले माथिको आदेश भन्दै आउजाउ गर्ने ट्रकलाई कडाइ गरेका हुन् । भारततर्फ अहिले २० किलोमिटर टाढासम्म गाडीको लाइन छ । भारत प्रवेश गर्न सयौं यस्ता गाडी नेपालतर्फ लाम लागेका छन् । नाका अस्तव्यस्त छ । व्यवसायी कृष्ण शर्माले मागअनुसार रकम दिए पालो मिचेर पठाउँछन् । ‘नत्र आफूखुसी रोक्ने र छाड्ने गरेका छन्,’ उनले भने । सहज बनाउन स्थानीय तहमा पहल भए पनि सुधार हुन सकेको छैन ।


सिद्धार्थनगर उद्योग वाणिज्य संघ महासचिव नेत्र आचार्यले उद्योगी व्यवसायीका संघसंस्था, प्रमुख जिल्ला अधिकारी, भन्सार अधिकृतलगायतबाट भन्सार सहज बनाउन प्रयास भएप नि समाधान नभएको बताए ।


अवरोधले मालबाहक गाडी अन्य नाकातर्फ मोडिँदा राजस्व असुली प्रभावित बनेको छ । चालु आर्थिक वर्षमा भैरहवा भन्सारले ८१ अर्ब ४३ करोड राजस्व असुलीको लक्ष्य लिएको छ । चालु बर्षको पुस मसान्तसम्म ३७ अर्ब ४६ करोड १२ लाख लक्ष्य तोकिएको थियो । कार्यालयले ३३ अर्ब ४ करोड ९९ लाख संकलन गरेको छ ।


भन्सार प्रमुख भूपालराज शाक्यले गत आवको तुलनामा जिप, कार भ्यानजस्ता राजस्व संकलनका मुख्य स्रोतमा कमी आएकाले पनि लक्ष्य भेटाउन समस्या परेको बताए ।

Page 11
अर्थ वाणिज्य

क्यासिनो र हिमाल आरोहण संघीय सरकारमै रहने

- सुरज कुँवर

काठमाडौं– पर्यटन क्षेत्रभित्र पर्ने हिमाल आरोहण, तारे होटल र क्यासिनो प्रशासनसँग सम्बन्धित सेवा प्रवाह संघीय सरकारले केन्द्रमै राखेर अन्य पर्यटकीय क्षेत्रका सेवालाई प्रदेश र स्थानीय तहमा दिने भएको छ ।


पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार संघीय सरकारले क्यासिनो प्रशासन व्यवस्थापन तथा सेवा प्रवाह, तारे होटल स्तर वर्गीकरण तथा नवीकरण, सबै हिमाल आरोहण अनुमति र रोयल्टीलगायतका कार्य संघीय सरकारअन्तर्गत नै राख्ने भएको छ । त्यसैगरी पर्यटन क्षेत्रसँग सम्बन्धित प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी कार्य र पर्यटनसँग सम्बन्धित उद्योगलाई भन्सार सुविधा सिफारिस पनि केन्द्रमै रहने भएको छ ।


पर्यटन क्षेत्रमा निमार्ण गरिने ठूला पूर्वाधार पनि केन्द्रीय सरकार मातहतै रहनेछन् । हालै जारी भएको स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसकारी वित्त व्यवस्थापन ऐनले दिएका प्रावधानबारे अध्ययन गर्न गठन गरिएको कार्यदलले पशुपति, लुम्बिनी र जनकपुरमा रहेको जानकी मन्दिर सञ्चालन तथा व्यवस्थापनलगायत ऐनद्वारा सञ्चालित दर्जनभन्दा बढी निकाय केन्द्रमै राख्ने प्रस्ताव गरेको छ । ‘ऐनद्वारा सञ्चालित निकायहरू जस्तै– पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण पनि केन्द्रमै रहनेछन्,’ कार्यदलमा संलग्न एक अधिकारीले भने, ‘कतिपय विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा र क्षेत्रीय संग्राहलय प्रदेश मातहतको सामाजिक विकास मन्त्रालय मातहत रहनेछन् ।’
विदेशी मुद्रा संकलनअन्तर्गत पर्यटन बोर्डले ट्ेरकिङ एजेन्सीहरूको संस्था टानमार्फत विदेशी पर्यटकसँग संकलन गर्दै टिम्स कार्ड शुल्क संकलनको अधिकार अब प्रदेशलाई दिइने भएको छ । अहिलेसम्म यो शुल्क केन्द्रमा संकलन हुँदै आएको थियो ।


कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदाले प्रदेश सरकारअन्तर्गत पर्यटक प्रहरी व्यवस्थापन, ट्राभल्स ट्ेरकिङ एजेन्सी दर्ता, नवीकरण, खारेज, टुर–ट्ेरकिङ–रिभर गाइड, र्‍याफटिङ, ग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ, बर्ड वाचिङ, स्किई, साहसिक मनोरञ्जनात्मक पयर्टन व्यवसाय आदि दर्ता, नवीकरणलगायतको अधिकार सुम्पेको छ । त्यस्तै बन्जीजम्प, क्यानोनिङ, पर्यटकीय क्षेत्र घोषणा, पर्यटन शुल्कको दर निर्धारण, होमस्टेसम्बन्धी कार्य पनि प्रदेशलाई दिने भएको छ । तारे होटलबाहेकका पर्यटकीय होटल सम्बन्धी अधिकार प्रदेशलाई दिइएको छ ।


स्थानीय तहलाई पर्यटकीय क्षेत्र घोषणा, शुल्क असुली, संरक्षण र प्रवद्र्धनको अधिकार दिइएको छ । गठन आदेशबाट सञ्चालित संस्था तथा विकास समितिलाई खारेज गरेर समायोजन गरिनेछ । यस्ता समिति २३ वटा छन् । तर, तारागाउँ विकास समितिलाई भने संघमै राखिएको छ ।
गएको मंसिर १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूको बैठकले संविधानका अनुसूचीहरूमा रहेका संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीकृत र कार्य विस्तृतीकरण गर्न निर्देशन दिएपछि मन्त्रालयले सहसचिव भरतमणि सुवेदीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले मन्त्रालयअन्तर्गत कुन–कुन निकाय कायम राख्ने/नराख्ने वा कुन तहमा पुन:संरचना गर्नेबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको छ ।


यसले सम्पत्ति र दायित्व हस्तान्तरण कसरी गर्नेबारे पनि अध्ययन गरेको छ । यसको प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुनेछ ।

अर्थ वाणिज्य

नेप्सेमा साढे १५ अंकको वृद्धि

काठमाडौं (कास)– सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब साढे १५ अंकले बढेर १ हजार २ सय २०.२९ विन्दुमा उक्लियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १.२८ प्रतिशतको वृद्धि हो । कारोबारमा आएकामध्ये व्यापार र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से १५.४८ अंकले उकालो लागेको हो ।


बिहीबार व्यापार समूहको परिसूचक १.५ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.०३ अंकले ऋणात्मक रहे । तर, जलविद्युत् समूहको परिसूचक २.९४, लघुवित्तको १.५१, बैंकिङको १.४५, विकास बैंकको १.४२ र बिमा समूहको परिसूचक १.२१ प्रतिशतले बढे । करिब साढे ५ हजार कारोबारबाट १ सय ६४ कम्पनीका १४ लाख २७ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भए ।

अर्थ वाणिज्य

४ हजार मेगावाट बढीका

जलविद्युत् आयोजनाको अध्ययन हुँदै
१ सय ७० आयोजनालाई उत्पादन अनुमतिपत्र
- कान्तिपुर संवाददाता

काठमाडौं– विद्युत् विकास विभागले साना ठूला गरी १४ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । हालसम्म विभागले ४ हजार ६ सय ३१ मेगावाट क्षमताका १ सय ७० आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको हो ।


विभागले १ सय मेगावाटभन्दा माथिका ३१ आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ । यी आयोजनाको क्षमता ९ हजार ८ सय ६९ मेगावाटभन्दा बढी छ ।


१ सय मेगावाटभन्दा ठूला आयोजनामा ९ सय मेगावाटको माथिल्लो कर्णाली, २ सय मेगावाटको तमोर, ३ सय मेगावटको उत्तरगंगा, ३ सय १० मेगावाटको लाङटाङ खोलासमेत समावेश छन् । यीमध्ये ६ सय ८८ मेगावाटको बेतन कर्णाली सञ्चय कोषको लगानीमा बन्दै छ ।


एक सय मेगावाटमाथिका आयोजनामा ३ सय मेगावाटको भेरी ४, ४ सय २६ मेगावाटको फुकोट कर्णाली, ४ सय ५० मेगावाटको किमाङथान अरुण, ३ सय ७ मेगावाटको जगदुल्ला, ६ सय १७ मेगावाटको भेरी १, ६ सय ५० मेगावाटको तामाकोसी ३ पनि समावेश छन् । यी आयोजनामध्ये ९ सय मेगावाटको अरुण ३ र माथिल्लो कर्णालीमा लगानी बोर्डले समन्वय गरिरहेको छ ।


१ सय मेगावाट माथिका आयोजनामध्ये २ सय मेगावाट क्षमताको तमोर स्टोरेज, ३ सय मेगावाटको उत्तरगंगा स्टोरेज, १८० मेगावाटको आँधीखोला स्टोरेज, ८ सय ६७ मेगावाटको चैनपुर सेती, ९ सय ३८ मेगावाट क्षमताको बेगनास–रूपा स्टोरेजजस्ता आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणले पाएको छ ।


यस्तै २५ देखि १ सय मेगावाट क्षमताका ४५ आयोजनालाई अध्ययन अनुमति दिएको विभागले जनाएको छ । यस्ता आयोजनाको क्षमता २ हजार ४ सय २३ मेगावाट छ ।


एक मेगावाटदेखि २५ मेगावाटसम्मका १ सय ९६ आयोजनाको सर्वेक्षण अनुमति विभागले जारी गरेको छ । यस्ता आयोजनाको कुल क्षमता १ हजार ८ सय ८७ मेगावाट हुनेछ ।


१ मेगावाटभन्दा साना १९ वटा आयोजनाले सर्वेक्षण लाइसेन्स पाएका छन् । यस्ता आयोजनाको क्षमता १५ मेगावाट छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले १ मेगावाटसम्मका जलविद्युत् आयोजनासम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई दिएको छ । अब भने यस्ता आयोजनासम्बन्धी नीति बनाउने, अनुगमन गर्ने र अनुमतिपत्र जारी गर्ने अधिकार स्थानीय सरकारमा रहनेछ ।


यस्ता आयोजनासम्बन्धी आयोजनाको अनुमतिपत्र दिनेबारे ऊर्जा मन्त्रालयले स्थानीय सरकारका लागि कार्ययोजना बनाउँदै छ । यसअघि १ मेगावाटभन्दा साना आयोजनाको अनुमतिपत्र विद्युत् विकास विभागले नै जारी गर्दै आएको छ ।


१ मेगावाटभन्दा साना आयोजनालाई स्थानीय तहमा सूचीकृत हुन जानकारी गराइएको विभागका प्रवक्ता बाबुराज अधिकारीले जानकारी दिए । जल तथा ऊर्जा आयोगले नेपालको कुल जलविद्युत् उत्पादन क्षमताबारे अध्ययनसमेत गरिरहेको छ ।

अर्थ वाणिज्य

मुआब्जालाई बजेट माग

गोरखा (कास)– मुआब्जा वितरण र पुनर्बासका लागि बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्बास तथा पुन:स्थापना इकाईले सरकारसँग २५ अर्ब रुपैयाँ माग गरेको छ ।


ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको इकाई संयोजक कृष्ण कार्कीले बताए । ‘हामीले माग गरेको एक साता भयो, अर्थ मन्त्रालयको जवाफ पाइसकेका छैनौं,’ उनले भने । पुनर्बास हुने क्षेत्रभित्र संरचना विकास र बाँकी रहेका प्रभावितका लागि मुआब्जा वितरण गर्न रकम माग गरिएको उनले बताए । सबै प्रभावितहरूलाई एकैपटक मुआब्जा बाँड्न स्थानीयले पटक–पटक माग गर्दै आएका छन् । ‘जग्गाको मूल्यांकन भइसकेको छ, गत वर्ष मुआब्जा लिनेले जति रकम पाए यो वर्ष लिनेले पनि उही रकम पाउने भए,’ संयोजक कार्कीले भने, ‘एक वर्ष ढिला हुँदा जग्गाको मूल्य बढ्ने भन्दै पहिलेको मूल्य निर्धारणले समस्यामा परेको गुनासो गर्न प्रभावितहरू आउँछन् ।’ ढिला मुआब्जा पाउनेलाई मूल्यवृद्घि गरेर रकम दिन प्रभावितहरूले माग गरेको उनले बताए । ‘थप रकम निकासा आए अन्य ठाउँका प्रभावितहरूको निवेदन लिन सक्छौं,’ उनले भने । डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाईले जनाएको छ । ‘घर, गोठ, फलफूल सबैको मुआब्जा दिँदा करिब ४५ अर्ब लाग्ने हाम्रो अनुमान हो,’ उनले भने ।

Page 12
अर्थ वाणिज्य

त्रिशूली–गल्छीमा चिनियाँ लगानी

काठमाडौं (कास)– त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भएको छ । छेन्दुस्थित डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले ७५ मेगावाट क्षमताको यो आयोजनामा लगानी गर्न लागेको हो ।


सिद्धकाली पावर लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको सिभिलतर्फको काम पनि चिनियाँ कम्पनीले नै गर्नेछ । कुल १४ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड लगानी गर्नेछ । आयोजनाको प्रवद्र्धक सिद्धकाली पावर र चिनियाँ कम्पनी डोङफाङ इलेक्ट्रिकले बुधबार काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।


प्रवद्र्धक सिद्धकाली पावरले इन्जिनियरिङ, प्रोकुरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (ईपीसी–एफ) मोडलमा यो आयोजना बन्न लागेको जानकारी दियो । यो मोडलमा बन्न लागेको यो दोस्रो आयोजना हो । यही मोडलमा ४८ दशमलव ८ मेगावाटको खिम्ची २ जलविद्युत् आयोजना पनि बन्दै छ ।


त्रिशूली–गल्छीमा चिनियाँ कम्पनीले गरेको लगानी आयोजना सञ्चालन भएको एक वर्षभित्र गर्नुपर्ने सहमति छ ।

अर्थ वाणिज्य

जगदम्बा सिमेन्टमा भीआरएम

छोटकरी

काठमाडौं (कास)– जगदम्बा सिमेन्टले उद्योगमा ‘भर्टिकल रोलेल मिल्स (भीआरएम)’ प्रविधि जडान गरेको छ । आफ्नो उत्पादन बढाउने उद्देश्यले यो आधुनिक प्रविधि जडान गरेको कम्पनीले जनाएको छ । हाल उद्योगको प्रतिदिन उत्पादन ४५ हजार बोरा रहेकामा यो प्रविधि जडानपछि करिब दोब्बरको हाराहारीमा पुग्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

सनराइजको भाइबर बैंकिङ

छोटकरी

काठमाडौं (कास)– सनराइज बैंकले ग्राहकका लागि भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा ग्राहकले आफ्ना मोबाइल, ल्यापटप, टयाबलेट, कम्प्युटरलगायतबाट लिन सक्ने जनाएको छ । भाइबर बैंकिङ सेवा लिन बैंकका ग्राहकको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ सेवामा रजिस्टर गरिएको हुनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

विद्युतीय चेक क्लियरिङ सम्झौता

छोटकरी

काठमाडौं (कास)– नेपाल क्लियरिङ हाउस लिमिटेडले हाथवे फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्ससँग विद्युतीय चेक क्लियरिङ प्रणालीसम्बन्धी भिन्दाभिन्दै सम्झौता गरेको छ । सम्झौताअनुसार हाउसले बैंकलाई विद्युतीय चेक क्लियरिङ प्रणाली सेवा सञ्चालनका लागि एनसीएचएल–ईसीसी प्रणाली उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । क्लियरिङ हाउससँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ प्रणाली सञ्चालनमा रहने बैंक/वित्तीय संस्थाको संख्या ८२ पुगेको छ ।

अर्थ वाणिज्य

प्रभु र मुक्तिनाथको शाखा थप

छोटकरी

काठमाडौं (कास)– प्रभु बैंक र मुक्तिनाथ विकास बैंकले शाखा थप गरेको छन् । प्रभुले बागलुङको बडीगाड र मुक्तिनाथले दाङको तुलसीपुरमा शाखामा सञ्चालनमा ल्याएका हुन् ।

 

Page 13
समाचार

चीन जोड्ने सडक जीर्ण

विकास–निर्माण
- बलराम घिमिरे

रसुवा– चीन जोड्ने पासाङल्हामु मार्गका ठाउँठाउँमा कालोपत्रे उप्किएर खाल्टाखुल्टी परेका छन् । पहिरो खसेको ठाउँमा सामान्य मर्मत समेत गरिएको छैन । भूकम्प र पहिरोले एक लेनको साँघुरो सडक लथालिंग भएपछि जोखिम बढेको छ ।


स्याउबारीदेखि स्याफ्रु हुँदै रसुवागढीसम्मको सडक जीर्ण छ । मर्मत तथा सडक सुधारमा सरकारले चासो नदिएको यात्रुको गुनासो छ । अन्तर्राष्ट्रिय नाका रसुवागढी हुँदै चीन जोड्ने सडक भए पनि मर्मतमा बेवास्ता गरिएको छ । भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प भएपछि रसुवागढी नाका सञ्चालनमा आएको थियो ।


त्यसपछि यो सडकमा सवारी चाप बढेको छ । दैनिक सयौं कन्टेनर तथा गाडी ओहोरदोहोर गर्छन् । साँघुरो सडकको ठाउँठाउँमा गाडीलाई साइड दिन पासिङ जोन नहुँदा चालकले अनेकौं समस्या झेल्नुपरेको छ । ‘सिंगल लेनको साँघुरो घुम्तीमै ट्रक र कन्टेनर बिग्रन्छन् । साइड दिने ठाउँ नहुदा घण्टांैसम्म जाम हुन्छ,’ कन्टेनर चालक मिङमर स्याङबा तामाङले भने ।


सडकका खाल्डाखुल्डी नपुरिँदा स्याउ बोकेका कन्टेनर कोल्टिएर दुर्घटना हुने गरेको उनले बताए । वर्षामा त पासाङल्हामु मार्गमा यात्रा गर्न झनै कठिन छ । ‘ठाउँठाउँमा पासिङ जाने ठाउँ छैन । भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ तामाङले भने ।


यो मार्गको स्याउबारी, राम्चे, ग्राङ, मूलखर्क, खोपाङको भीर र सानुभार्कु लगायत धेरै ठाउँमा पहिरोको समस्या छ । वर्षामा मूलखर्क खण्ड हिलाम्मे हुन्छ । दिनहुँ सवारीसाधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा फसेका सवारीसाधनलाई यात्रु र चालकले डोरीले तानेर निकाल्छन् । यात्रु समस्या झेल्न बाध्य छन् । दुई वर्षअघि बोकेझुन्डा र ठाडेको बीचमा भासिएको कजवेको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । कजवे निर्माण नहुँदा बर्खामा यात्रा गर्न जोखिम छ । बेत्रावतीदेखि स्याउबारीसम्मका खाल्डाखुल्डीमा भने पिच गर्न थालिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यले बताए ।


‘धुन्चेदेखि स्याफ्रुसम्मको सडक मर्मत गर्न ठेक्का लागिसकेको छ । अब छिटै मर्मत हुन्छ । बोकेझुन्डा र ठाडेको विचमा पर्ने खोलामा भासिएको कजवे निर्माण गर्न सूचना निकालिएको छ,’ उनले भने ।


पासाङल्हामु मार्गको ठाउँठाउँमा पासिङ जोन बनाउन र पहिरो रोकिएको ठाउँमा सडक ढलान तथा मर्मत गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरे पनि फाइल फिर्ता भएको उनले बताए ।

समाचार

अध्ययन टोलीलाई अवरोध

कञ्चनपुर (कास)– सुक्खा बन्दरगाह अध्ययनका लागि महाकाली नगरपालिका–७ कञ्जभोज पुगेको टोलीलाई स्थानीय बासिन्दाले अवरोध गरेका छन् । विस्थापित हुने डरले अनुगमन तथा निरीक्षणका लागि बिहीबार त्यहाँ पुगेको टोलीलाई उनीहरूले काम गर्न नदिएका हुन् ।


स्थानीयले भन्सार कार्यालयको म १ झ ८४ नम्बरको जिपमा तोडफोड गरेका छन् । ‘हामीलाई मुआब्जा र पुन:स्थापनाका बारेमा केही भनिएको छैन,’ संघर्ष समिति अध्यक्ष खडकबहादुर चन्दले भने, ‘विस्थापित भएपछि मुआब्जा पाइने वा नपाउने के हो ? हामीलाई पुन:स्थापना कहाँ गर्ने ? यी सबै विषयमा प्रस्ट पार्नुपर्छ ।’ उनले अनुगमन तथा निरीक्षणका लागि आउने प्रतिनिधिहरूले यस विषयमा केही जानकारी नगराएको बताए । वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक लक्ष्मणबहादुर बस्नेत र भारतीय अधिकारीसहितको टोली उक्त क्षेत्रको अध्ययन गर्न पुगेको थियो ।

समाचार

करिडोरको निर्माण रोकियो

ओखलढुंगा (कास)– विवादले दूधकोसी करिडोरको निर्माण रोकिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विपरीत ट्रयाक खनिएको भन्दै स्थानीयले विरोध गरेपछि रोकिएको हो ।


हाल निर्माण गरिएको सडकले बस्तीलाई पहिरोको जोखिम हुने स्थानीयले बताए । उनीहरूले यसअघि सर्भे भएको स्थानभन्दा तलबाट सडक खनिएको भन्दै आक्रोश पोखेका छन् । बस्ती मुनिबाट सडक निर्माण हुँदा पहिरोको जोखिम बढेकाले काम रोकेको स्थानीय जितबहादुर राईले बताए ।
स्थानीयले सडक डिभिजन कार्यालय, गाउँपालिका र जिल्ला प्रशासनमा समेत ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । मानेभन्ज्याङ गाउँपालिका २ मा पर्ने खचापु र सिस्कुबेंसीका सयौं घर जोखिममा पर्ने स्थानीयको भनाइ छ ।


यसअघि निशंखे–मोली–जयरामघाट सडक योजनाअन्तर्गत मसारखोलादेखि खचापुसम्म पाँच किलोमिटर ट्रयाक निर्माण भइसकेको छ । सोही ट्रयाकलाई जोड्ने गरी दूधकोसी करिडोर निर्माण हुनुपर्ने स्थानीयको माग छ । ‘पहिले माथिबाटै नापजाँच गरिएको हो । त्यसरी नै सडक लगिएको भए यसमा विवाद आउने कुरै थिएन,’ स्थानीय प्रवीण राईले भने, ‘अहिले फेरि गाउँमुनिबाट सडक खन्न थालेपछि रोकिएको हो ।’


सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख ईश्वर रिजालले जुन स्थानबाट पहिले सर्भे भई डीपीआर तयार भएको हो, त्यहीँबाट सडक खनिएको बताए । उनले सर्भेभन्दा एक इन्च पनि तलमाथि नखनिएको दाबी गरे । गाउँपालिका प्रमुख मोतीराज राईले सडकबाट स्थानीयलाई राहतको सट्टा आहत पर्न नहुने भएकाले सुधार हुनुपर्ने बताए ।

समाचार

हुग्दीखोलामा ट्रक खस्दा ६ घाइते

धादिङ (कास)– पृथ्वीराजमार्गको मलेखुबाट चितवनतर्फ जाँदै गरेको ना७ख ९४२ नम्बरको ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट बिहीबार नदीमा खसेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।


पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक बोक्ने बा१य १२६४ नम्बरको स्कार्पियो जिप र ट्रक हुग्दीखोलाको मोडमा आपसमा ठक्कर खाएका थिए । दुवै गाडीमा सवार ६ जना घाइते भएका छन् ।


ट्रक चालक मकवानपुर पोखरी–५ निवासी ३३ वर्षीय रमेश परियार सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको छ । बारा, निजगढ ११ बस्ने सहचालक १९ वर्षीय नरेन्द्र परियार पनि घाइते छन् । जिप चालक गोरखा आरुपोखरी–७ का ३१ वर्षीय विरा वरामलगायत अन्य ४ जना भारतीय पर्यटक पनि घाइते भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । मोडमै रहेको उक्त पुलबाट विगत ४ वर्षमा ११ वटा सवारी नदीमा खसेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

समाचार

गाउँपालिकै कर्मचारीविहीन

- हरि गौतम

रुकुम पूर्व– पुथाउत्तरगंगा गाउँपालिकाको कार्यालय र त्यसका १४ वटै वडा कर्मचारीविहीन भएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावत रुकुम पश्चिमको सदरमुकाम रहेको कार्यालयमै बस्छन् । लेखापाल पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतसँगै छन् । १४ वडामध्ये १० नम्बर वडा कार्यालयमा मात्रै वडा सचिव छन् । उनी पनि घर बिदामा रुकुम पश्चिमतिरै झरेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र एकजना सचिव पनि अर्कै जिल्लातिर आएपछि गाउँपालिका कर्मचारीविहीन भएको हो ।


साबिकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङसी गरी ६ गाविस मिलाएर पुथाउत्तरगंगा गाउँपालिका बनाइएको थियो । साबिकका गाविस मिलाएर गाउँपालिका बनाएदेखि नै पुथाउत्तरगंगामा पर्याप्त कर्मचारी थिएनन् । गाविस हुँदाका ५ जना सचिवमध्ये वरिष्ठताका आधारमा तिलकबहादुर रावत निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि १४ वडाको काम ४ जना सचिवको भरमा चल्दै आएको थियो । ४ जना वडा सचिवमध्ये पनि एक जनाको बढुवा, एक जनाको रुकुम पश्चिम र अर्को एक जनाको जाजरकोट सरुवा भएपछि गाउँपालिका १ जना वडा सचिवको भरमा चल्दै आएको थियो । उनी पनि घर बिदामा बसेपछि गाउँपालिका खाली छ । गाउँपालिका कार्यालय र वडा कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् । ९ नम्बर वडा अध्यक्ष सुरबहादुर रोकाले वडा सचिव नहुँदा सिफारिस र पञ्जीकरण लगायतका काममा ढिलासुस्ती भइरहेको बताए । ‘हामी चुुनिएदेखि नै वडा सचिव नियमित पाएका छैनौं, जसले गर्दा सजिलै र छरितो सेवा प्रवाह हुन सकिरहेको छैन,’ अध्यक्ष रोकाले भने ।


गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती मगर पनि हाल गाउँपालिकामा छैनन् । उपचारका लागि भन्दै २ साताअघि काठमाडौं गएका घर्ती फर्केका छैनन् । हाल गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल मात्रै छिन् । अध्यक्ष र कर्मचारी नै नभएपछि गाउँपालिकाबाट पाउनुपर्ने सेवा बन्द जस्तै रहेको लखन पुनले बताए । ‘कर्मचारी लामो समयदेखि हुनुहुन्न, अध्यक्ष पनि नभएपछि हामी त पानी बिनाको माछा झैं भएका छौं,’ पुनले भने । आर्थिक वर्ष सकिने बेला भइसक्दा पनि गाउँपालिकाबाट विनियोजित बजेटबाट काम भए नभएको अनुगमन भुक्तानी लगायतका काम सुरु हुन सकेका छैनन् । गाउँपालिका अध्यक्ष घर्तीले कर्मचारीको लापरबाहीले सबै कुरा व्यवस्थापन हुन नसकेको तर्क गरे । ‘हामीले मात्रै गरेर भएन, स्थायी सरकार भनेको कर्मचारी नै छैनन्, भएकाले पनि सहयोग नगर्दा समस्या छ’ अध्यक्ष घर्तीले स्विकारे । स्थानीय तह बनेदेखि नै गाउँपालिका कार्यालय निमित्त प्रमुख प्रशासकीयको भरमा चल्दै आएको छ ।

Page 14
विदेश

अल सिसी पुन: इजिप्टका राष्ट्रपति

काएरो (एएफपी)– इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुन: निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणामअनुसार अलसिसीले सदर मतको ९२ प्रतिशत प्राप्त गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छन् । निर्वाचनमा २ करोड ३० लाख मतदाताले भाग लिएका थिए ।

 

विदेश

१ लाख २८ हजार विस्थापित

दमासकस (सिन्हवा)– सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटमा एक महिना लामो युद्धका क्रममा एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।


विद्रोहीको नियन्त्रणमा रहेको उक्त स्थानको करिब ७० प्रतिशत भूभाग सरकारले नियन्त्रणमा लिएसँगै १ लाख २८ हजार सर्वसाधारणले उक्त स्थान छाडेको राज्य नियन्त्रित समाचार संस्था सानाले जनाएको छ । सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सानाले विस्थापितमध्ये धेरैजसो इडविल क्षेत्रतर्फ गएको जनाएको छ । इडविल सिरियाको एक मात्र विद्रोहीको पूर्ण नियन्त्रणमा रहेको क्षेत्र हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्वीगुटामा एक महिना अघिदेखि रूसी सेनाको सहयोगमा विद्रोहीविरुद्ध गर्दै आएको कारबाही जारी रहेको जनाएका छन् ।


पछिल्लो विवरणअनुसार कारबाहीका क्रममा १ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सिरियाली टेलिभिजनका अनुसार करिब ४ लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेको संख्या बढिरहेको छ ।

विदेश

दुई कोरियाबीच अप्रिलमा शिखर वार्ता

दक्षिण कोरियाली एकीकरण मन्त्री चो म्युङ–ग्युन (दायाँ) र उनका उत्तर कोरियाली समकक्षी री सन ग्वान बिहीबार दुई देशको सीमाक्षेत्र पन्मुन्जोममा । तस्बिर : रोयटर्स

सोल (बीबीसी/रोयटर्स)– उत्तर र दक्षिण कोरियाबीच आगामी अप्रिल २७ गते शिखर वार्ता हुने भएको छ । दुई देशका शीर्ष नेताबीच १० वर्षपछि वार्ता हुन लागेको हो ।


दुई देशले संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाक्षेत्र पन्मुन्जोममा वार्ता हुने उल्लेख छ ।


बिहीबार दुई देशका अधिकारीबीच भएको वार्तापछि उक्त मिति तय भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।


उत्तर कोरियाली नेता किमले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गरेको भोलिपल्ट शिखर वार्ताको मिति घोषणा गरिएको हो । उक्त भेटमा किमले आफू ‘कोरियाली द्वीपमा परमाणु नि:शस्त्रीकरणका लागि आफू तयार रहेको’ बताएका थिए ।


केही साताअघि उत्तर कोरियाली नेता किमको वार्ताप्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरिसकेका छन् । दुई नेताबीच आगमी मे महिनामा वार्ता हुने जनाइए पनि मिति भने हालसम्म तय गरिएको छैन् ।


उत्तर र दक्षिण कोरियाली प्रतिनिधिमण्डलले दुई कोरियाबीच अप्रिल २७ को शिखर वार्ता ‘शान्ति गाउँ’ का नामले प्रख्यात पन्मुन्जोममा हुने बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाली प्रतिनिधि प्रमुख री सन ग्वानले ‘दुई कोरियाबीच विगत ८० वर्षयताकै सम्बन्ध सुमधुर भएको’ बताएका छन् ।


रीले भने, ‘यदि दुवै पक्षले आफ्नो ऐतिहासिक महत्त्व र शीर्ष वार्ताको अर्थ बुझ्न सके हामीले निश्चित रूपमा सबै समस्याको समाधान गर्न सफल हुनैछौं ।’ दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व भने एकीकरण मन्त्री चो म्युङ–ग्युनले गरेका थिए ।


सन् १९५३ मा कोरियाली युद्धको अन्त्य भएपछि हालसम्म २ पटक मात्र दुई कोरियाली शीर्ष नेताबीच वार्ता भएको छ । यसअघि सन् २००७ मा भएको शीर्ष वार्तामा उत्तर कोरियाका तत्कालीन नेता किम जोङ–इल र दक्षिण कोरियाली पूर्वराष्ट्रपति रो मु–हयुनबीच प्योङयाङमा वार्ता भएको थियो ।


त्यसअघि दुई कोरियाबीच सन् २००० मा शीर्ष वार्ता भएको थियो । गत बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र चिनियाँ नेताबीच भएको भेटवार्ताको स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त भेटवार्तामा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन लागेको वार्ताका एजेन्डाबारे छलफल भएको जनाएका छन् ।


बुधबार किम एक अप्रत्याशित भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उनी सन् २०११ मा उत्तर कोरियाको शासनसत्ता सम्हालेयता पहिलो पटक विदेश भ्रमणमा गएका हुन् ।


बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले दुई कोरिया शिखर वार्ताका लागि मिति तय भएकोमा स्वागत गर्दै ‘उक्त वार्ताले कोरियाली द्वीपमा शान्ति स्थापित हुने आशा व्यक्त गरेका छन् ।

विदेश

भेनेजुएलाको प्रहरी चौकीमा आगजनी

कम्तीमा ६८ को मृत्यु

भ्यालेन्सिया (रोयटर्स/बीबीसी)– भेनेजुएलाको भ्यालेन्सियाको एक प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको दंगापछि गरिएको आगजनीका कारण कम्तीमा ६८ जनाको ज्यान गएको छ ।


काराबोबो सहरको प्रहरी चौकीका बन्दीहरूले थुनुवा कक्ष तोड्ने प्रयासस्वरूप कार्पेटमा आगो लगाएपछि दंगा फैलिएको अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांशको जलेर ज्यान गएको हो ।


प्रहरीले आगलागीको समाचार सार्वजनिक भएलगत्तै प्रहरी चौकी घेर्न भेला भएका आफन्तमाथि लाठी तथा अश्रुग्यास प्रहार गरेका थिए ।


प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाको छानबिन सुरु गरिएको बताएका छन् ।


सरकारी अधिकारी जिसस सन्तन्डेरले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको जनाएका छन् । उनले काराबोबो राज्य शोकमा डुबेको बताए । सन्तन्डेरले एक प्रहरीलाई पनि गोली लागेको बताए ।


अधिकारीहरूले मृत्यु हुनेमा बन्दी भेट्न गएका दुई महिलासमेत छन् । आगलागी फैलिएलगत्तै उद्धारकर्मीले बन्दी कक्षको पर्खाल भत्काएर कतिपयको उद्धार गरेका थिए । घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

विदेश

सार्कोजीविरुद्ध भ्रष्टाचार मुद्दा

पेरिस (बीबीसी)– फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्काेजीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । ले मोन्डे अखबार र एएफपी समाचार संस्थाले अदालत सम्बद्ध स्रोत उल्लेख गर्दै सार्कोजीविरुद्ध आर्थिक सहयोगसम्बन्धी एक मुद्दामा संलग्न न्यायाधीशलाई प्रभावित गर्ने प्रयासमा मुद्दा चलाइएको जनाएका छन् । ती न्यायाधीशले चुनावी अभियानका क्रममा लिबियाली नेता मौम्मर गद्दाफीसँग सार्कोजीले आर्थिक सहयोग लिएको बारे मुद्दा हेरिरहेका थिए ।


एक छुट्टै घटनामा उनीविरुद्ध लिबियाली नेता मौम्मर गद्दाफीबाट सहयोग रकम लिएको आरोप छ । अधिकारीहरूले उक्त आरोपबारे छानबिन भइरहेको जनाएका छन् ।


एक साताअघि बयानका क्रममा सार्कोजीले भ्रष्टाचारको आरोपले आफ्नो जीवन ‘नर्क’ भएको भन्दै आफूले कुनै पनि गलत कार्य नगरेको दाबी गरेका थिए । पेरिस प्रहरीले उनलाई एक साताअघि पक्राउ गरिसकेको छ । यसबारे अनुसन्धान गरिरहेको पेरिस प्रहरीले गत मंगलबार सार्कोजीका पूर्वसहयोगी एलेक्जेन्द्रे जौहरीलाई पनि पटक–पटक सोधपुछ गरिसकेको छ । जौहरीलाई दुई साताअघि बेलायतबाट पक्राउ गरिएको थियो । सार्कोजी सन् २००७ मा फ्रान्सका राष्ट्रपति बनेका थिए ।

Page 15
कला र शैली

“सुश्री सम्पत्ति मनोरञ्जक फिल्म”

लेखनाथ (कास)– फिल्म ‘सुश्री सम्पत्ति’ को छायांकन सकिएको छ । फिल्म युनिटले एक महिनासम्म पोखराका विभिन्न स्थानमा रहेर छायांकन गरेको हो ।


एउटा गीतबाहेक सबै छायांकन पोखरामा भएको निर्देशक सुव्रत आचार्यले बताए । उक्त गीतको छायांकन भने काठमाडौंमा हुनेछ । पोखराका सुन्दर दृश्य, कलाकार र फिल्म युनिटको टिमवर्कका कारण चलचित्रले दर्शकको मन जित्नेमा उनी ढुक्क देखिन्छन् । प्रस्तुतिमा केही नयाँपन दिँदै दर्शकको माया पाउन आफूहरूले निकै मिहिनेत गरेको उनले बताए ।
‘मिश्रित विषयवस्तु रहेको फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन लिन पाउँछन्,’ यसअघि ‘अधकट्टी’ निर्देशन गरिसकेका उनले भने ।


पछिल्लो फिल्ममा दुई युवकको कथा छ । उनीहरूको जीवनमा आउने विभिन्न आरोहअवरोहलाई देखाउन खोजिएको छ । फिल्मको मुख्य पात्रको रूपमा सारा शिर्पाली देखिने छिन् । आगामी भदौमा रिलिज गर्ने तयारी भइरहेको फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशराद बस्नेत, सुनीता श्रेष्ठ, प्रेमवर्षा खडका, रोशनी कार्की, कमल प्यासी देवकोटा, राज न्यौपाने, सन्तोष खनाल लगायतको अभिनय हेर्न पाइनेछ । राउल इन्टरटेन्मेन्टको ब्यानरमा रमेश त्वयनले निर्माण गरेको यो फिल्म सामाजिक हास्यप्रधान फिल्म हो । फिल्ममा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । सुरेश अधिकारीको संगीत रहको फिल्मको निर्मातामा रमेश त्वयन, विज्ञान राई, नुनम सुब्बा, रोमन शिलाकार रहेका छन् । निर्देशक स्वयंको कथा र अभिमन्यु निरवीको पटकथा रहेको फिल्मलाई अर्जुन तिवारीले खिचेका छन् ।

कला र शैली

जीबसिम पुरस्कार

काठमाडौं (कास)– मगर भाषासाहित्यमा योगदान पुर्‍याएबापत हीरासिंह थापा (सामेसेन) मगर, सन्देश मगर र लक्ष्मण घर्ती मगरलाई सम्मान गरिने भएको छ । मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले बुधबार पुरस्कारको घोषणा गरेको हो ।


मगर बृहत् शब्दकोषका संकलक एवं लेखक हीरासिंहलाई यस वर्ष ३० हजार रुपैयाँसहितको ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार’, स्याङ्जाका सन्देशलाई ६० हजार रुपैयाँसहितको ‘जीबसिम साहित्य पुरस्कार’ र बागलुङका लक्ष्मणलाई १० हजार रुपैयाँसहितको ‘जीबसिम नवप्रतिभा साहित्य पुरस्कार’ दिइने भएको हो ।

Page 16
कला र शैली

नाचघरमा दुई देश

- कान्तिपुर संवाददाता

काठमाडौं– भौगोलिक रूपमा नेपालबाट जापान धेरै टाढा छ । तर, बेला–बेलामा फिल्म, संगीत र संस्कृतिका माध्यमबाट दुई देशलाई नजिकबाट जोड्ने प्रयासहरू हुँदै आएका छन् । सांस्कृतिक संस्थान र तोयामा नेपाल कल्चरल एक्स्चेन्ज एसोसियनले बिहीबार जमलस्थित नाचघरमा सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्‍यो । दुवै देशका कलाकारहरूले परम्परागत संगीत र नृत्य प्रस्तुत गरे ।


वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले दुई देशबीचको आध्यात्मिक सम्बन्धबारे पनि प्रकाश पारे । नेपालमा रहेको नौवटा महायानी बौद्ध धर्मग्रन्थहरूमध्ये एउटा ‘सत्धर्म पुण्डरिका सूत्र’ जापानमा निकै रुचाइएको उनले दाबी गरे ।


बुद्ध धर्मले जापानमा प्रवेश पाएदेखि नै नेपाल र जापानको सम्बन्ध जोडिएको पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बताए । ‘लुम्बिनीको विकासका लागि मास्टर प्लान बनाउनेदेखि कपिलवस्तुमा पुरातत्त्व उत्खनन् गर्न जापानीहरूको सहयोग छ,’ उनले भने । राज्यस्तरमा मात्र नभई जनस्तरमा फराकिलो सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रमले सघाउने उनले दाबी गरे । कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरू अञ्जु आले, सुनीता लामा, माया थापा, गीता थापा, खिम बलम्पाकी, श्रीहरि फुँयाल, छवि थापा र रेशम पुन, सवनम सिल्वाल, सुशिला थापा, गोरन चौधरीले पश्चिम नेपालको ‘कौरा’, ‘सतार’ र ‘हुड्केली’ नाच प्रस्तुत गरे । संस्थानकै स्वजन रघुवंशीले ‘चर्या’ नाच प्रस्तुत गरे ।


यसपछि जापानी गायिका सुन्दरी मिकाले ‘रेशम फिरिरी...’ गीतलाई नेपालको नेवार, राई, तामाङ, शेर्पा, मैथिली र जापानी भाषामा गाइन् । १९९३ मा पहिलो पटक नेपाल आएकी उनले नेपालको लोक गीत र कला संस्कृतिको खोजीमा लागिरहेको बताइन् । उनले दाजु र बहिनीको सम्बन्ध झल्काउने जापानी भाषाको गीत पनि गाइन् । गायक रामकृष्ण दुवालले गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन..’ गीत गाए ।


जापानबाट आएका छ कलाकारहरूले जापानको ‘ओवारा’ नाच देखाए । जापानको याचोमा प्रचलित पुख्र्याैली नाचमा प्राकृतिक प्रकोपबाट अन्नबाली बचाऔं भन्ने अभिप्राय प्रस्तुत गरिन्छ । ताम्बा संघका दावा वाङ्गेल लामा, कृपा धावा, सरोज लामा, सोमबहादुर लामा, पासाङ याङ्जो, एनराम याङ्जो, ठेक घिसिङ, कुमारी लामा, डोल्मा मोक्तान र हस्त योञ्जनले तामाङ गीत र नाच प्रस्तुत गरे । बालमुकुन्द प्रजापतीलगायतका गु्रपले विभिन्न जातिका नेपाली राष्ट्रिय गीतहरूमा नृत्य प्रस्तुत गरे । बाँसुरीवादक सुनील श्रेष्ठ र तबलावादक रोशन भासिमाको जुगलबन्दी दर्शकले रुचाएका थिए ।

कला र शैली

पुर्खा खोज्दै एमी

अभिनेत्री एमी ज्याक्सन आफ्ना पुर्खाबारे जान्न उत्सुक थिइन् । उनको यो चाहना चाँडै पूरा हुँदै छ । यसका लागि डीएनए एन्सिस्ट्री टेस्ट गराएकी छन्, जसको परिणाम केही दिनमा आउँदै छ । बलिउडमा सक्रिय बेलायती अभिनेत्रीले बाबुपट्टिको पुर्खा थाहा पाउन वाई क्रोमोजम टेस्ट गराएकी छन् ।
‘मान्छेहरू मलाई कहाँकी हौ भनेर सोध्छन्,’ एमी भन्छिन्, ‘म इंग्ल्यान्ड भन्छु । इंग्ल्यान्ड त ठीक छ तर पुख्र्यौली थलो कता हो भन्छन् । म खाँटी अंग्रेज देखिन्नँ रे ।’ मान्छेका यस्तै जिज्ञासाले उनलाई पारिवारिक जरो खोतल्न कर लगाएछ । बाबुपट्टिका नातागोता खासै नचिन्ने र अघिल्लो पुस्ताबारे थाहै नभएकाले डीएनए एन्सिस्ट्री टेस्ट गर्न लागेको उनले बताएकी छन् ।


हाम्रोमा झैं एमीको समुदायमा चार पुस्ता याद राख्ने चलन छैन । उनलाई त बुबाको पारिवारिक इतिहास पल्टाउन असम्भवप्राय: लागेको थियो । तर, यो जाँचले सम्भव बनाउन लागेको छ । ‘मेरो बुबाको हजुरआमा पुर्चुगिस हुनुहुन्थ्यो,’ उनलाई उद्धृत गर्दै भारतको डीएनए अनलाइन लेख्छ, ‘सन् १९०० को सुरुतिर उहाँ आइजल अफ म्यान सहर आउनुभएछ । र, त्यहीँ नयाँ जीवन सुरु गर्नुभएको थियो । म त्यहीँ जन्मेकी हुँ ।’


एमीका बुबाकी हजुरआमाका पितापुर्खाबारे ज्याक्सन खानदान अनभिज्ञ छ । डीएनए एन्सिस्ट्री टेस्टमार्फत यसबारे थाहा पाइने भएपछि अभिनेत्रीले यो उपाय अपनाएकी हुन् । ‘यो एकदम सजिलो तरिका रहेछ,’ उनले भनेकी छन्, ‘अनलाइन फारम भरेर पठाएपछि सम्बन्धित अधिकारीहरू हाम्रो र्‍याल लिन आउँदा रहेछन् । त्यो जाँचेपछि हाम्रो पारिवारिक इतिहास थाहा पाइँदो रहेछ ।’

के हो डीएनए एन्सिस्ट्री टेस्ट ?
यो यस्तो तरिका हो, जसमार्फत व्यक्तिले आफ्नो वंशबारे ज्ञान बढाउन सक्छन् । अहिलेको विकसित प्रविधिका कारण यो जाँच निकै सहज छ । यसले पैतृक स्रोतको जानकारी दिन्छ । यसमार्फत पारिवारिक जरा र इतिहास थाहा पाउन सकिन्छ । यसमा तीन प्रकारका टेस्ट हुन्छन् । एक, बाबुपट्टिको वंश थाहा पाउन वाई क्रोमोजम टेस्ट गर्न सकिन्छ । दोस्रो, मिटोकन्ड्रियल वा एमटीडीएनए टेस्टमार्फत आमापट्टिको पारिवारिक इतिहास थाहा पाइन्छ । तेस्रो हो, अटोसोमल डीएनए टेस्ट, जसले मातापिता दुवैपट्टिको इतिहास पत्ता लगाउँछ ।

Page 17
वाग्मती प्रदेश

समिति सभापतिद्वारा शपथ

- नगेन्द्र अधिकारी
प्रदेशसभाका विषयगत समितिका सभापतिलाई शपथ खुवाउँदै सभामुख सानुकुमार श्रेष्ठ ।तस्बिर : नगेन्द्र 

हेटौंडा– प्रदेशसभा ३ का विषयगत समितिका नवनिर्वाचित सभापतिले शपथ लिएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठले नवनिर्वाचित समितिका सभापतिलाई शपथग्रहण गराएका हुन् । उनीहरूले शपथ ग्रहणलगत्तै कार्यभार सम्हालिसकेका छन् ।


समितिले सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन कामकारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने गर्छ । समितिले आ–आफ्नो कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र निकायसँग सम्बन्धित प्रत्यायोजित व्यवस्थापनसम्बन्धी र विधेयकउपर दफावार छलफल गरी सोसम्बन्धी प्रतिवेदन सभामा पेस गर्छन् । यसअघि बुधबार बसेको बैठकले सभापति निर्वाचित गरेको थियो । सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिपछि सबै समितिका सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेको थियो । सत्तारूढ एमालेले ३, माओवादी केन्द्रले १ र प्रमुख प्रतिपक्षी दल कांग्रेसले १ समितिको नेतृत्व गरेका हुन् ।


प्रदेश मामिला समितिको सभापतिमा माधवप्रसाद पौडेल, अर्थ तथा लेखा समितिमा सरेश नेपाल र उद्योग, पर्यटन तथा वातावरण समितिमा रमा आलेमगर र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा घनश्याम दाहाल निर्वाचित भएका हुन् ।

वाग्मती प्रदेश

मन्त्रिपरिषद् बैठक आज

हेटौंडा (कास)– प्रदेश ३ को मन्त्रिपरिषद् बैठक शुक्रबार बस्दै छ । बिहान ८ बजे बस्ने बैठकमा स्थानीय तहका पदाधिकारीको सेवासुविधासम्बन्धी विधेयकमाथि छलफल हुने प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्णय भएपछि मात्रै एजेन्डाबारे थप जानकारी हुने बताए ।


चैत १ को मन्त्रिपरिषद् बैठकले स्थानीय तहको सेवासुविधासम्बन्धी विधेयक स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरे पनि विवादका कारण सरकारले प्रदेशसभा दर्ता गरेको थिएन । सेवासुविधा केही परिमार्जन गरेर पेस गर्ने तयारी गरेको हो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा महानगरपालिका प्रमुखको तलब ४६ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी उपप्रमुखको ४० हजार २ सय, महानगर वडाअध्यक्षको २८ हजार, उपमहानगरपालिका प्रमुखको ४० हजार २ सय, उपप्रमुखको ३५ हजार र उपमहानगर वडाअध्यक्षको २५ हजार प्रस्ताव गरिएको छ । नगरपालिका प्रमुखको ३५ हजार, उपप्रमुखको ३१ हजार र नगर वडाअध्यक्षको २२ हजार प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्षको ३१ हजार, उपाध्यक्षको २७ हजार र वडाअध्यक्षको २० हजार सिफारिस गरिएको छ ।

वाग्मती प्रदेश

क्रसर सञ्चालनमा मापदण्ड लागू

नुवाकोट (कास)– जिल्लामा विगत २२ वर्षदेखि मापदण्डविपरीत सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगलाई मापदण्डमा ल्याउने प्रयास सुरु भएको छ ।


बिहीबार बसेको ९ वटै स्थानीय तहको संयुक्त बैठकले ‘ढुंगा, गिटी, बालुवाजस्ता खानीजन्य उद्योगका लागि स्थानीय तहले यथाशीघ्र कानुन निर्माण गर्ने र हालको परिस्थितिको व्यवस्थापन गर्ने’ निर्णय गरेको छ । बैठकमा स्थानीय जनप्रतिनिधिले स्थानीय राजपत्र निकाल्न ढिलाइ हुने भन्दै आगामी असारसम्मलाई क्रसर र बालुवा प्रशोधन गर्ने सहमति गर्न जिसस र स्थानीय प्रशासनलाई दबाब दिएका थिए । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले स्थानीय कानुन (स्थानीय राजपत्र) बनाएर उद्योग सञ्चालन गर्न भनेका थिए । स्थानीय तहका जनप्रतिनिधिले तत्काल कानुन बनाउन नसकिने भन्दै बन्द उद्योग खोल्न भनेका थिए । दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले दर्ता भई नवीकरण नभएका उद्योग तत्काल बन्द गर्न आग्रह गरेका थिए । १० वटा ती उद्योगलाई निस्केको धमिलो पानी थिग्रयाउने ठूलो पोखरी निर्माण गर्न भनिएको छ । अनुगमनको क्रममा जिल्लामा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन (फिरफिरे) उद्योग बन्द गराएका छन् । प्रमुख जिल्ला अधिकारी यादवको अगुवाइमा जिल्लाका अधिकांश बालुवा धुने उद्योगहरूले नियमविपरीत कार्य गरेको पाइएपछि बन्द गरिएको हो ।


त्रिशूली, तादी, लिखु, सामरी, सलाखुखोला प्रदूषित बनाउनुका नियम विपरीत कार्य गर्दै आएका थिए । ‘स्थानीय राजपत्र बनाएर चलाउनुस् भनेका छाँै,’ प्रजिअ यादवले भने, ‘केन्द्रीय सरकारले बनाएको कानुन पनि नमाल्ने अनि स्थानीय सरकारले राजपत्र प्रकाशित गरेर नियमअनुसार चल्न नमानेपछि त प्रशासनले बन्द गरिहाल्छ नि ।’ जिल्लामा सञ्चालित ६० वटा फिरफिरे, १२ वटा क्रसरले अझै कुनै मापदण्ड पूरा गरेका छैनन् । १० वटा क्रसर नवीकरण नगरी सिधै खोलाछेउमा अवैध तरिकाले चलाइरहेका छन् ।

वाग्मती प्रदेश

‘न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्छ’

छोटकरी

दोलखा (कास)– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति सबैको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् । दोलखाको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले न्याय क्षेत्रलाई स्वच्छ, पारदर्शी र जनविश्वासी बनाउन आफूले कदम चाल्ने पनि बताए । ‘प्रधानमन्त्रीदेखि वडा अध्यक्षसम्म, प्रधानन्यायाधीशदेखि जिल्ला न्यायाधीशसम्म र मुख्य सचिवदेखि कार्यालय सहायकसम्मको सम्पत्ति विवरण सार्वजनिक भयो भने मात्रै
सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण हुन सक्छ,’ उनले बताए ।


तामाङले न्यायाधीशहरूले बुझाएको सम्पत्ति विवरणमा तलमाथि देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । न्यायपरिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री तामाङले न्यायालयको विषयमा व्यापक टीकाटिप्पणी हुन थालेकाले सुधारका लागि कदम चालिने बताए । कार्यक्रममा दोलखा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईं, जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जिल्लाको शैक्षिक नेतृत्व गर्ने गौरीशंकर क्याम्पसको प्रगतिका निम्ति योगदान गर्न तयार रहेको बताए ।

वाग्मती प्रदेश

क्याम्पसलाई ५ लाख दान

छोटकरी

दोलखा (कास)– भूकम्पपछि क्षतिग्रस्त कक्षाकोठा निर्माण गर्न गौरीशंकर बहुमुखी क्याम्पसलाई समाजसेवी रामहरि श्रेष्ठले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।


काठमाडौं बस्दै आएका दोलखा मेलुङका सोलार व्यवसायी श्रेष्ठले बुबा नरमान श्रेष्ठ र आमा देवमाया श्रेष्ठको स्मरणमा क्याम्पसलाई सहयोग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले श्रेष्ठलाई सम्मान गरे ।


समाजसेवी श्रेष्ठले आफ्नो जन्मथलो मेलुङस्थित पुख्र्यौली ३१ रोपनी जमिन त्रिभुवन माविको भवन निर्माणका लागि उपलब्ध गराएका हुन् । उनले जग्गा पास गरेर दिएपछि उक्त जग्गामा विद्यालय भवनहरू बनिरहेका छन् । साढे २ करोड लागतको निर्माणाधीन भवनका लागि विभिन्न व्यक्ति र संस्थाबाट सहयोग भइरहेको क्याम्पस प्रमुख शान्त केसीले जनाए । मन्त्री तामाङले दोलखा जिल्लामा स्नातकोत्तरसम्म पढाइ हुने एक मात्र क्याम्पसको भवन निर्माणका लागि २ लाख रुपैयाँ सहयोग गर्नेे विष्णुलक्ष्मी श्रेष्ठलाई सम्मान गरेका छन् । त्यसैगरी क्याम्पसले सञ्चालन गरेको ‘एक विद्यार्थी पढाऔँ अभियान’ मा ५० हजार सहयोग गर्ने कालिञ्चोक गाउँपालिकाका पुरुषोत्तम दाहाललाई पनि सम्मान गरिएको छ । क्याम्पसको भवन निर्माणको ठेक्काबाट बचेको रकमबाट उनले उक्त रकम सहयोग गरेका हुन् ।


अभियानका लागि क्याम्पसका संस्थापक आत्मकृष्ण श्रेष्ठ, सल्लाहकार सोवित उप्रेतीदेखि ३० जनाभन्दा बढी दाताले सहयोग गर्दै आएका छन् । उक्त अभियानअन्तर्गत ५० जनाभन्दा बढी गरिब र जेहेनदार विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

वाग्मती प्रदेश

२४६ केजी गाँजासहित पक्राउ

छोटकरी

हेटांैडा (कास)– लागूऔषधसहित प्रहरीले एक भरियालाई पक्राउ गरेको छ । लागूऔषध बोकेर ल्याइरहेको अवस्थामा प्रहरीले १० वटा बोरामा प्याक गरेको २ सय ४६ केजी गाँजासहित राक्सिराङ गाउँपालिका २ का ४२ वर्षीय पञ्चलाल मोक्तानलाई बिहीबार पक्राउ गरेको हो । मनहरी गाउँपालिका ९ स्थित कालिका सामुदायिक वन हुँदै गाँजा बोकेर ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा गाँजाका बोरा छाडेर भरिया भागेका थिए । प्रहरीले भरियाको खोजी गर्ने क्रममा मोक्तानलाई पक्राउ
गरेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । उक्त गाँजा १० वटा बोरामा प्याक गरिएको थियो ।

वाग्मती प्रदेश

हेटौंडालाई स्थायी राजधानी बनाउन माग

छोटकरी

हेटौंडा (कास)– प्रदेश ३ को राजधानी हैटौंडा नै कायम हुनुपर्ने माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । काभ्रेलाई प्रदेश राजधानी बनाउन प्रस्ताव दर्ता भएलगत्तै मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पस स्वत्रन्त्र
विद्यार्थी युनियनले हेटौंडामा प्रदर्शन गरेका हुन् । क्याम्पसबाट बु्द्धचोकसम्म नारा जुलुसहित आएका विद्यार्थीले हेटौंडालाई नै स्थायी राजधानी कायम गर्न नाराबाजी गरेका थिए । जुलुसपछि आयोजित कोणसभामा हेटौंडा क्याम्पसका स्ववियु सभापति उमेश पुरीले राजधानीको लागि हेटौंडाको विकल्प नभएको दाबी गरे ।

वाग्मती प्रदेश

धादिङमा आर्थिक गणना गरिने

छोटकरी

धादिङ (कास)– जिल्लामा पहिलो पटक आर्थिक गणना हुने भएको छ । जिल्ला तथ्यांक कार्यालयले चैत मसान्तसम्म कार्यालय तथा कर्मचारी व्यवस्थापन गरी वैशाख सुरुबाट गणना थाल्ने जनाएको छ । जेठ मसान्तसम्म हुने गणनामा जिल्लाका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान, व्यापार व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधिको सर्वेक्षण गरिनेछ । पहिलो पटक देशभर हुने गणनाले स्थानीय, प्रदेश र संघीय सरकारलाई नीति तथा कार्यक्रम तय गर्न सघाउन पुग्ने दाबी छ । चैत तेस्रो साता गणकलाई तालिम दिएर गाउँबस्तीमा पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । इन्टरनेट सञ्जालको पहुँच भएका व्यावसायिक संस्था तथा प्रतिष्ठानले अनलाइनबाटै तथ्यांक भर्न सकिने सुविधासमेत दिइएको छ ।

Page 18
वाग्मती प्रदेश

सुनाकोठीमा बालकुमारी जात्रा

ललितपुर (कास)– सुनाकोठीमा बालकुमारी जात्रा सुरु भएको छ । जात्रा चैत शुक्ल त्रयोदशीदेखि तीन दिन पूर्णिमासम्म मनाइन्छ । जात्राको अवसरमा बिहीबार स्थानीय गुठियारले महादेवको प्रतीकका रूपमा ६४ हात अग्लो लिंगो ठड्याएका छन् । पहिलो दिन स्थानीय गुठियारहरूले ‘छ्योला बू’ भनी उत्सव मनाएका छन् । आ–आफ्नो गुठी घरका देवतालाई उनीहरूले पूजा गरेका थिए ।


लिंगो उठाउनुअघि बालकुमारी गुठीका ६ गुठियारले भृगारेश्वर महादेव मन्दिर पश्चिमको ‘योसी गाले’ मा विधिवत् पूजा गरेका थिए । नेपाल भाषामा योसी गाले भन्नाले परम्परागत लिंगो गाड्ने ठाउँ बुझिन्छ भने लिंगो उठाउने र ढाल्ने क्रममा मानवीय क्षति नहोस् भनी क्षमापूजा पनि गरिएको थियो । ऐतिहासिक लिंगो ठड्याउँदा गुठियारहरूले बालकुमारी मन्दिर प्रांगणमा बसेर इन्द्र बाजा बजाएर स्वागत गरेका थिए । स्वागत गर्न इन्द्र बाजाका गुठियार बिहान हातखुट्टाको नङ काटेर नुहाइधुहाइ गरेर उपवास बस्ने चलन रहेको स्थानीय गुठियार काशी महर्जनले बताए ।


भृगारेश्वर महादेव मन्दिर परिसर रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र कागती राखिएको छ । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्रअंकित हल पता (प्राचीन थान्का) ले सजाइएको छ । स्थानीय गुठियार महर्जनका अनुसार जात्राको दोस्रो दिन शुक्रबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिरबाहिर ल्याइन्छ । त्यसपछि पूजा गरेर गरगहनाले सजाइन्छ । देवतालाई मन्दिरबाट निकाल्नुअघि नाय्मा गुठी, सना, हिटी गुठी र दे थकाली (सुनाकोठीका ज्येष्ठ नागरिक) ले पूजा गर्ने चलन छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी जात्रा गरिन्छ । बेलुका गुठियारहरूले बालकुमारीको खटलाई पीठमा लैजान्छन् ।


अन्तिम दिन छ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । यो जात्राको मुख्य आकर्षण मानिन्छ । त्यसपछि आ–आफ्नो डबलीमा पूजा र बलि ग्रहण गर्दै नगर परिक्रमा गराइन्छ । अन्तमा धौ बजी खेल टोलमा चारैवटा खटलाई आपसमा जुधाएर जात्रा गरिन्छ । पूर्णिमाको दिन लिंगो ढालिन्छ । यस दिन लिंगोको टुप्पोमा राखिएको कागती प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । कागती पाउन स्थानीय बीच तँछाडमछाड हुने गर्छ ।

वाग्मती प्रदेश

राजधानीमै बढ्यो बलात्कार

४३ दिनमा २६ उजुरी
हरेक दिन ३ घटना
३ वर्षमा ३ हजार ५ उजुरी
- जनकराज सापकोटा

काठमाडौं– राजधानी जिल्ला काठमाडौंमा पछिल्ला दिन भएका बलात्कारका घटनाले प्रहरी प्रशासनलाई नै झस्काइदिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् । मानव विकास सूचकांक उपल्लो बिन्दुमा रहेको जिल्लामै बलात्कार घटनाको उक्लँदो ग्राफले अन्यत्रको अवस्था अकल्पनीय रहेको संकेत गर्छ ।


प्रहरीका अनुसार दर्ता भएका उजुरीका पीडितमा १० वर्षमुनिका ३ बालिका छन् भने १० देखि १५ वर्ष उमेर समूहका ९ जना, १५ देखि २० वर्ष उमेर समूहका २ जना, २० देखि ५० वर्ष उमेर समूहका १० जना र ५० वर्ष माथिका एक जना महिला बलात्कारको सिकार भएका छन् । प्रहरीले दर्ता भएका २६ मुद्दाका २६ जना नै आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/७१ यताका तीन वर्षमा देशभरको रेकर्डअनुसार बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् जसअनुसार प्रत्येक दिन औसतमा ३ वटा बलात्कारका घटना भएका देखिन्छन् । यो त प्रहरीमा दर्ता भएका घटनाको मात्र तथ्यांक हो । प्रहरीका अनुसार दर्ता वा सार्वजनिक नभएका घटना पनि जोड्ने हो भने कहालीलाग्दो तथ्यांक भेटिन्छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ सय ३५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । त्यसयताका वर्षमा यो संख्या बढ्दो देखिन्छ । २०७१/७२ मा ९ सय ८१ वटा बलात्कारका घटना दर्ता भए भने २०७२/७३ मा बढेर एक हजार ८९ पुगेको देखिन्छ ।


नक्कली डाक्टर बनेर बलात्कार
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ६ चैतमा आइपुगेकी एक युवतीको बयान सुनेर प्रहरी चकित पर्‍यो । ती युवतीले आफूलाई एक जना डाक्टरले झुक्याएर मित्रनगरको एक गेस्टहाउस पुर्‍याई बलात्कार गरेको जाहेरी दिइन् । जाहेरीपछि प्रहरीले घटनाको दिनको सीसीटीभी फुटेजका आधारमा बलात्कारमा संलग्न युवकको खोजी सुरु गर्‍यो । पक्राउ परेका युवक डाक्टर नरहेको, परिचय बदलेर घिनलाग्दो कर्तुत गरेको खुल्दा अनुसन्धानमा संलग्न प्रहरी नै जिल्ल परे । बाँसबारीमा रहेको गंगालाल अस्पतालमा आमाको उपचार गराउने क्रममा भेट भएका एक युवकले आफूलाई डाक्टर सन्तोष घलेको नामले चिनाएका थिए । ती युवकले सामान्य चिनाजानीकै आधारमा आफ्नो अस्पतालका डाक्टरसँग राम्रो चिनजान रहेको र उपचारमा सहयोग गर्ने भन्दै युवतीसँग निकटता बढाए । पीडित युवतीका अनुसार युवकले सामाखुसीमा आफ्नो सानीआमासँग भेट गर्न जाने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर मित्रनगरको गोरखा फूलबारी गेस्टहाउस पुर्‍याए । युवतीले आफूलाई कोठाभित्र थुनेर चुकुल लगाई डरत्रास देखाएर पटकपटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् ।


प्रहरीले सीसीटीभी फुटेजका आधारमा गाेंगबुबाट गत सोमबार सन्तोष भन्ने युवकलाई पक्राउ गरेपछि पो प्रहरीले थाहा पायो, उनी न डाक्टर रहेछन्, न उनको नाम नै सन्तोष रहेछ । महाराजगन्ज वृत्तका डीएसपी योगेन्द्र थापाका अनुसार उनी पाल्पा, तानसेन ११ स्थायी घर भई काठमाडौं महानगरपालिका २६ बस्ने अर्जुन कोइराला रहेछन् । डीएसपी थापाले बलात्कारकै उद्देश्यले प्रेरित भएर ती युवक आफ्नो परिचय ढाँटेर युवतीसँग नजिकिएको बताए ।


प्रहरीका अनुसार कुनै समय नेपाली सेनाको जवान रहेका कोइराला बलात्कारमा संलग्न भएकै कारण बर्खास्तगीमा परेका थिए । महाराजगन्ज वृत्तले थप अनुसन्धान गर्न उनलाई काठमाडांैं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिसकेको छ ।

वाग्मती प्रदेश

‘आन्दोलनमा उत्रिए रुट परमिट खारेजी’

‘आन्दोलन गरिए कारबाही गर्न सरकार पछि हट्दैन’
- प्रशान्त माली

काठमाडौं– सरकारले रुट परमिटविरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिए कारबाही गर्ने भएको छ । अरनिको राजमार्ग यातायात व्यवसायीले मयूर यातायातलाई दिइएको रुट परमिट खारेजीको माग गर्दै आन्दोलनको घोषणा गरेपछि सरकारले कारबाही गरिने जनाएको हो । प्रधानमन्त्री, मुख्य सचिव, यातायात मन्त्रीसहितको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।


यातायात विभागले अरनिको राजमार्गमा सिन्डिकेट तोडेर मयूर यातायातलाई फागुन पहिलो सातामा रुट परमिट दिएको थियो । मयूरले चैत १ देखि पहिलो चरणमा धुखिलेसम्म २० वटा बस सञ्चालनमा ल्याएको थियो । यसविरुद्धमा कोटेश्वर पूर्व यातायात समन्वय समिति मातहतका १३ वटा संघले बिहीबार ललितपुर, भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई चरणबद्ध आन्दोलन गर्ने चेतावनीसहित ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले मयूरको कोटेश्वर पूर्व यातायात सञ्चालन गर्न दिएका इजाजत पत्र खारेज नगरेमा आइतबारदेखि काभ्रे सञ्चालन हुने बस तथा मिनीबस र भक्तपुर मिनीबस ग्रामीण भेगमा सञ्चालन अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् । यस्तै, सोमबार बिहान ९ देखि १० बजेसम्म कोटेश्वर पूर्वका सम्पूर्ण यातायात बन्द गर्ने र मंगलबार सम्पूर्ण यातायात ठप्प गर्ने चेतावनी दिएका थिए ।


यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले सरकार कुनै पनि हालतमा पछि नहट्ने बताए । ‘यातायात व्यवसायीले धम्कीपूर्ण भाषामा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्,’ उनले भने, ‘आन्दोलनमा उत्रिएमा रुट परमिट खारेज गर्नेलगायत कारबाही गर्ने तयारीमा छु ।’ उनले धुलिखेल र बनेपा नगरपालिकाका मेयरहरूको मागअनुसार बस सञ्चालन अनुमति दिएको बताए । ‘ऐनले पनि सिन्डिकेट खारेज गर्न भनेको छ,’ उनले भने, ‘अब अरनिको यातायातको सिन्डिकेट हट्छ ।’


उनले यायायात व्यवसायीलाई आन्दोलन नगरीकन यातायात सुचारु राख्न अनुरोध गरे । धुलिखेल नगरपालिकाले धुलिखेल र बनेपासम्म रुट थप गर्न विभागमा पत्राचार गरेको थियो । यायायात विभागका अनुसार यातायात व्यवसायीले साताअघि सूर्यविनायकमा मयूर कम्पनीका चारवटा गाडी तोडफोड गरेका थिए । अरनिको यातायातमा १३ वटा बस व्यवसायी समिति आबद्ध छन् ।

वाग्मती प्रदेश

पत्रकारको लगनखेल घोषणापत्र जारी

- कान्तिपुर संवाददाता

ललितपुर– नेपाल पत्रकार महासंघ ललितपुरले स्थानीय सञ्चारमाध्यम तथा श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा ललितपुरको पर्यटन र दिगो विकासप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ‘लगनखेल घोषणापत्र–२०७४’ जारी गरेको छ ।


महासंघको बिहीबार भएको विस्तारित बैठकले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न, लोक– कल्याणकारी विज्ञापन शतप्रतिशत बढाउन, समानुपातिक विज्ञापन प्रणाली लागू गराउनेसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पनि माग गरेको छ । त्यस्तै ज्येष्ठ पत्रकारको सम्मान र स्वास्थ्य बिमाको थप योजना अघि बढाउन सरकारसँग माग गरेको छ । महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले बैठकले पत्रकारको पेसागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा पूर्णप्रतिबद्धता जनाएको बताए ।


‘प्रेस स्वतन्त्रताविरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न सरकारसँग बैठकले आग्रह गरेको छ,’ उनले भने, ‘ललितपुर सांस्कृतिक तथा पर्यटकीय सहरको दिगो विकास तथा प्रवद्र्धन गर्न समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्न बैठकले प्रतिबद्धता जनाएको छ ।’

वाग्मती प्रदेश

एकीकृत राजस्व सफ्टवेयर प्रणालीमा

- कान्तिपुर संवाददाता

भक्तपुर– सूर्यविनायक नगरपालिकाले एकीकृत राजस्व सफ्टवेयर प्रणालीबाट संकलन गर्न सुरु गरेको छ । नगरपालिकाको मेरुदण्डका रूपमा रहेको लेखापालन कार्यलाई समयानुकूल सुधार गरी छिटोछरितो, सरल, शुद्ध एवं पद्धतिमूलक बनाउन राजस्व अनलाइन प्रणालीबाट संकलन थालिएको नगरपालिकाले जनाएको छ ।


प्रचलित लेखा प्रणालीलाई सफ्टवेयरमा रूपान्तरण गर्ने, नगरपालिकाको आम्दानी लेखालाई पूर्ण रूपले प्रविधिसँग जोड्नेलगायत कार्यको सुरुवात कार्यालयले गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश
खड्काले बताए ।


सफ्टवेयर प्रणाली अपनाउँदा राजस्व छली नियन्त्रण गर्न सकिने नगरपालिकाको भनाइ छ । सेवाग्राहीले नगरपालिकाभित्र जुनसुकै स्थानमा घरजग्गा भए पनि नगरपालिका तथा वडा कार्यालयबाट राजस्व तिर्न सक्ने उनले बताए । नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘ई–बिलिङ सिस्टम’ जडान गरी नगरपालिकामा उठेको राजस्वसमेत सिधै नगर प्रमुखको कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको खड्काले बताए ।


स्मार्ट हाजिरी प्रणाली सुरु
नगरभित्रका १० वडा कार्यालय, १० स्वास्थ्य चौकी र ९ सामुदायिक विद्यालयको निगरानी नगरपालिकाको कार्यालयले एकैपल्ट गर्न सक्ने विद्युतीय प्रणालीको सुरुवात गरिएको छ । सूचना प्रविधि अधिकृत खड्काका अनुसार नगरपालिकाको कार्यालयमा राखेको कम्प्युटरबाटै अब कुन कार्यालयका कर्मचारीले समयमै हाजिर गरे–गरेनन् भनेर निगरानी राख्न सकिनेछ । सवा १० बजेभन्दा ढिलो आउने कर्मचारीको हाजिरी स्वत: रद्द हुने नगरप्रमुख वासुदेव थापाले बताए । सबै कार्यालयको सर्भर नगरपालिकामा जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गए प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्न सक्ने गरी प्रविधि जडान गरिएको उनले बताए ।


वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकी तथा विद्यालयका कर्मचारीले बिदा बस्नुपरे नगरपालिकालाई अग्रिम जानकारी गराएर स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।


सीसी क्यामेरा जडान
नगरपालिकाले नगरका १० वटै वडा कार्यालयमा सीसी क्यामेरा जडान गरेको छ ।


त्यसको निगरानीसमेत नगरप्रमुख थापाको कार्यकक्षबाट गर्न सकिने खड्काले बताए । जुनसुकै स्थानमा बसेर पनि कार्यालयको निगरानी गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालय र स्वास्थ्य चौकीमा समेत सीसी क्यामेरा जडानको तयारी गरेको नगरपालिकाले जनाएको छ ।

Page 19
Page 20
खेलकुद

मनाङ सेमिफाइनलमा

मदन भण्डारी गोल्डकप
- कान्तिपुर संवाददाता
बुटवलको मानवज्ञान माविको मैदानमा बिहीबार भिड्दै नेपाल पुलिस र मनाङका खेलाडी । तस्बिर : अमृता अनमोल

बुटवल– मनाङ मस्र्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मानव ज्ञान माविको मैदानमा बिहीबार मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको थियो ।


मनाडलाई अन्तिम चारमा पुर्‍याउन दुवै गोल अञ्जन विष्टले गरेका थिए । अग्रता कायम राख्न नसक्दा बुटवलकै तिलोत्तमा गोल्डकपको उपविजेता पुलिस भने पहिलो खेलबाटै विदा भएको छ ।


निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तेजले पेनाल्टी बक्सभित्र प्राप्त बलमा चलाखीपूर्ण पारामा गोल गरेका थिए । मध्यान्तरसम्म थप गोल हुन नसकेको खेलको दोस्रो हाफमा मनाङले सुधारिएको खेल पस्क्यो । मनाङबाट अञ्जनले ६१ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । उनले भिक्टरको पास सदुपयोग गरेका थिए । बराबरीपछि आफ्नो लय समातेको मनाङले फेरि गोल थप्यो । अञ्जनले ७५ औं मिनेटमा गोल थप्दै टोलीलाई २–१ को स्थितिमा पुर्‍याए । कर्नरबाट आएको बललाई भिक्टरले मिलाइदिएपछि अञ्जन गोल गर्न चुकेनन् ।


मनाङले अग्रता लिएपछि बराबरी गर्न पुलिसले निकै प्रयास गर्‍यो । तर सफल भएन । सुमन लामा र रवि पासवानका प्रयास मनाङका गोलरक्षक दिनेश थापाले बचाए । दोस्रो हाफमा पुलिसले रविन श्रेष्ठ र भोला सिलवाललाई मैदान छिराएको थियो । उनीहरूको आगमनले खेल केही सुधारिए पनि गोल हुन सकेन ।


पुलिसका प्रशिक्षक अनन्त थापाले टिममा समन्वय र बलमा फोर्स कम हुँदा हार्नुपरेको बताए । खेलाडीबीच असन्तुलनका बाबजुद निकै सुस्त गतिमा आएको बलसमेत किपरले समात्न नसक्दा गोल खानुपरेको उनले सुनाए ।


मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मध्यम स्तरको खेल खेले पनि जित निकाल्न सकेको बताए । दोहाबाट बुधबार राति फर्केका राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र विशाल राईलाई बिहीबार मैदान उतार्ने भनिए पनि फ्लाइट डिले भएका कारण उनीहरू अनुपस्थित रहे ।

सेमीफाइनलमा उनीहरूसहित केही खेलाडी थप्ने लोप्साङको योजना छ । मनाङले साबिक विजेता सुनौलो संगम रूपन्देहीसँग शनिबार खेल्नेछ ।
मनाङक अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।


शुक्रबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलकुद

डीपीएलको भव्य तयारी

क्रिकेट थप उचाइमा पुग्ने विश्वास
- कान्तिपुर संवाददाता
डीपीएल क्रिकेटबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष सुवास शाही र विराटनगर किंग्सका कप्तान पारस खड्का ।तस्बिर : डीआर पन्त

धनगढी– बहुचर्चित धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेटको भव्य तयारी गरिएको छ । धनगढीमा शनिबार सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी बिहीबारदेखि धनगढी आउन थालेका छन् ।


डेढ महिनाअघिदेखि प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदान तयार पार्ने काम भएको छ भने भने झन्डै ७ हजार दर्शक अटाउने अस्थायी प्यारापिट निर्माण पनि लगभग सकिसकेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । ‘मैदान निर्माण’ को केही कामबाहेक आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ एकेडेमीका अध्यक्ष सुवास शाहीले भने । यस वर्ष हरेक टोलीमा २–२ विदेशी खेलाडी समावेश गर्न पाइने प्रावधान छ ।
प्रत्यक्ष प्रसारणलगायतमा केही नयाँ प्रयास गरेको शाहीले जनाए । उनले भने, ‘डीपीएलमार्फत मुलुकको क्रिकेटमा नयाँ युगको सुरुआत हुनेछ । आठ वर्षको अवधिमा हामीले देशको क्रिकेटलाई एउटा उचाइमा ल्याउन यो आयोजनाले ठूलो मदत पुर्‍याएको ठानेका छौं । अबको आठ वर्षपछि देशको क्रिकेटले थप उचाइ लिने हाम्रो विश्वास छ ।’


डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता प्रदान गरेकाले यो प्रतियोगिताबाट धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने विश्वास शाहीको छ ।


पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले वान–डे मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरू थप उत्साही भएको बताए । विराटनगर किंग्सका कप्तान उनले नेपाली क्रिकेटले पहिलो श्रेणीको आधिकारिक मान्यता पाउनेमा आफू विश्वस्त रहेको बताए । ‘क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव थियो,’ पारसले भने, ‘मुलुकमा हुने साना–ठूला घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको छ ।’


आयोजकले शुक्रबार सबै टिम र खेलाडीको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ । डीपीएलमा ६ फ्रेन्चाइज टोली महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ जित्दा तेस्रो र चौथो स्थान हात प्राप्त गर्ने टोलीले क्रमश: ३ र २ लाख पुरस्कार पाउने छन् । म्यान अफ द सिरिज घोषित खेलाडीलाई मोटरसाइकल र मोस्ट भ्यालुएबल खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिनेछ ।

खेलकुद

उपाधितिर लम्कँदै आर्मी

राजर्षि जनक गोल्डकप
- अमन कोइराला

सर्लाही– वागमती मैदानमा बिहीबार राजर्षि जनक गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनल पुगेको छ । आर्मीको
जितमा दुवै गोल जर्जप्रिन्स कार्कीले गरेका थिए ।


सुरुआतमा आर्मीका खेलाडीले दबाब कायम गर्दै दर्शकलाई आफ्नो पक्षमा तानेका थिए । २१ औं मिनेटमा आर्मीका स्ट्राइकर भरत खवास घुँडामा चोट बोक्दै बाहिरिए । उनको सरस्वतीका जाङ्बु शेर्पासँग बल खोस्ने क्रममा घुँडा ठोक्किएको थियो । उनी बाहिरिएपछि आर्मीको खेल रक्षात्मक हुने अपेक्षा गरिएको थियो । तर २४ औं मिनेटमा आर्मीका जर्जप्रिन्सले दीप लामाको पासमा गोल गरेर टोलीलाई अग्रता दिलाए । गोलपछि आर्मीका खेलाडीले उत्साहित भएर खेलमा दबाब राखे पनि अर्को गतिलो प्रहार गर्न सकेनन् ।


खेलको ३४ औं मिनेटमा सरस्वतीले प्राप्त फ्रि–किकमा गोल गर्दै खेल बराबरी गर्‍यो । योगेश गुरुङको पासमा पियुस हेनरीले हेड गोल गरेका थिए । बराबरीपछि आर्मीमाथि लगातार दबाब राख्दै मध्यान्तरसम्म सरस्वतीले खेल एकतर्फी बनायो ।


सर्लाही ११ लाई हराएर आर्मी र नेपाल पुलिसलाई हराएर सरस्वती अन्तिम चारमा पुगेका थिए । मध्यान्तरपछि दुवै टोली आक्रामक खेल्ने रणनीतिसहित मैदान उत्रिए । लगत्तै आर्मी विपक्षीमाथि हाबी भयो । त्यसै क्रममा आर्मीले तीनपटक गोल गर्ने राम्रो अवसर सदुपयोग गर्न सकेन । स्ट्राइकरको अभाव टोलीमा खट्किएको थियो ।


जर्जप्रिन्सले अन्तिम एक मिनेट बाँकी हुँदा गोल गरेर टिमको जित सुनिश्चित बनाए । इन्ज्युरी समय सदुपयोग गर्दै उनले पेनाल्टी बक्समा पाएको बलमा गतिलो प्रहार गर्दा सिधै गोलमा परिणत भएको थियो ।


शनिबार उपाधिका लागि आर्मी र सुदूरपश्चिम ११ भिड्दै छन् । वागमती युवा क्लबको आयोजनामा भएको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

खेलकुद

मारवाडी लिग अर्को साता

काठमाडौं– नेपाल मारवाडी ब्राम्हण सेवा संघको आयोजनामा टिपटप मारवाडी प्रिमियर लिग (एमपीएल) टान्टी–२० क्रिकेट प्रतियोगिता चैत १९ देखि हुने भएको छ ।


१० टोली सहभागी हुने प्रतियोगिता विजेताले १ लाख ५१ हजार तथा उपविजेताले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक टोलीले मारवाडी समुदायबाहेकका तीन खेलाडी समावेश गर्न पाउने प्रावधान छ । टोलीहरूले काठमाडौंमा रहेका क्रिकेट एकेडेमीका यू–१९ खेलाडीलाई समावेश गरेका छन् । सहभागी मारवाडी समुदायबाहिरका २७ खेलाडीलाई आयोजकले १३ हजार ५ सय रुपैयाँबराबरको खेल सामग्री प्रदान गर्नेछ । यसबाहेक प्रतियोगितामा विधागत पुरस्कार पनि राखिएको छ । मुख्य प्रायोजक टिपटपले म्यान अफ द म्याच, अर्धशतक, शतक, सर्वाधिक छक्का, उदीयमान खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलगायत विधामा ३ देखि ५ हजार रुपैयाँसम्मको फुड कुपनको व्यवस्था गरेको छ । फाइनल वैशाख १ मा हुनेछ ।


सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लिग चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । समूह ‘ए’ मा डीएभी, टिपटप–११, हाम्रो किचेन प्यान्थर्स, बालकुमारी क्रिकेट क्लब र शिखर प्लाई किंग्स तथा समूह ‘बी’ आरएसके लायन्स, बी वान–११, ग्रान्ड एकेडेमी राइडर्स, फाइटर्स र ओनेमिक्स–११ रहेका छन् ।

खेलकुद

पदकधारी खेलाडी फर्किए

काठमाडौं (कास)– भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दुई पदक जितेको नेपाली एथलेटिक्स टोली बिहीबार फर्किएको छ ।


मार्च २७ तारिखमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा विश्वरुपा बुढाले रजत जितिन् । विश्वरुपासम्मिलित रेशु बस्नेत र विन्द्राधान्के श्रेष्ठको टोली (तस्बिरमा) ले कांस्य जितेको थियो । दुवै विधा ८ किलोमिटर दुरीमा थियो । सानुमाया कार्की पदक जित्न असफल रहिन् । पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कटुवाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । सबै पदकविहीन रहे ।

 

खेलकुद

रक क्लाइम्बिङ वैशाखमा

काठमाडौं (कास)– नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघको आयोजनामा सुमन भोम्जन स्मृति स्पोर्ट्स रक क्लाइम्बिङ प्रतियोगिता वैशाख १९ मा हुने भएको छ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको प्रतिष्ठा दिवस तथा २०७२ को महाभूकम्पमा दिवंगत खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतियोगिता गर्न लागिएको हो ।


प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप विधामा प्रतिस्पर्धा हुनेछ । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा करिब ६० खेलाडीले भाग लिने आयोजकले जनायो । महिला र पुरुष दुवैका विजेताले १५ हजार, उपविजेताले १० हजार तथा तेस्रोले ५ हजार प्राप्त गर्नेछन् । विजेता खेलाडीलाई एसियाली खेलकुद तथा ओलम्पिकमा सहभागिता गराउन नेपाल ओलम्पिक कमिटीमा पहल गरिने आयोजकले जनाएको छ ।

खेलकुद

गोदावरीमा खेल महोत्सव हुँदै

काठमाडौं (कास)– गोदावरी मार्सल आर्ट्स सेन्टरको आयोजनामा दोस्रो गोदावरी खेल महोत्सव हुने भएको छ । चैत १७–२४ सम्म हुने प्रतियोगितामा कराँते, तेक्वान्दो, ह्याण्डबल, चेस, फुटबल, रोड रेस, साइक्लिङ्ग र ब्याडमिन्टन समावेश गरिएको छ । नगरभित्रका खेलाडीको प्रतिभाको विकास गर्ने उद्देश्यसाथ आयोजना गर्न लागिएको महोत्सव नगरका ६ वडामा प्रत्येक दिन भिन्नाभिन्नै खेल हुने छ ।

खेलकुद

संकटालाई सफलता

चौथो कटारी मेयर गोल्डकपमा बिहीबार संकटा (नीलो) र गोर्खा ब्वाइजका खेलाडी बल नियन्त्रण लिने दाउमा ।तस्बिर : डिल्लीराम खतिवडा

उदयपुर (कास)– चौथौ कटारी मेयर गोल्डकप फुटबलमा बिहीबार गोर्खा ब्वाइज रूपन्देहीलाई ३–० ले पराजित गर्दै संकटा क्लब काठमाडौं फाइनल पुगेको छ ।


दोस्रो सेमिफाइनलमा संकटाले २९ औं मिनेटमा फ्रि–किकबाट गोलको खाता खोलेको थियो । प्रकाश बुढाथोकीले गोल गरेर संकटालाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अग्रता लिएको संकटाका लागि ८७ औं मिनेटमा विदेशी खेलाडी इब्राहिम क्याउडियाले आकर्षक गोल गर्दै गोल थपेका थिए । त्यसको तीन मिनेटपछि सन्त गुरुङले संकटाका लागि तेस्रो गोल गरेका थिए । रूपन्देहीले पहिलो हाफमा पटक–पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । रूपन्देहीका दीपक राईले दोस्रो हाफमा गरेको आकर्षक प्रहार बारमा लागेर फर्किनु टोलीका लागि दुर्भाग्य बन्यो । त्यसपछि रूपन्देहीले खासै अवसर पाएन । संकटाले सुरुदेखि नै रूपन्देहीलाई दबाबमा राखेर खेलेको थियो । म्यान अफ द म्याच इब्राहिम भए । उनले ५ हजार रुपैयाँ पाए ।


शनिबार उपाधिका लागि संकटाले झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । झापाले अघिल्लो दिन सहारा क्लब पोखरालाई २–० ले हराएर फाइनल पक्का गरिसकेको छ ।

खेलकुद

ह्यान्डबल टोली भारततिर

छोटकरी

काठमाडौं (कास)– दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा भाग लिन नेपाली टोली बिहीबार भारतको लखनउ गएको छ । मार्च ३१ देखि अप्रिल ३ सम्म हुने प्रतियोगितामा नेपालका १४ खेलाडीले भाग लिनेछ । टोलीमा १२ खेलाडी विभागीय टोलीका छन् । दुई खेलाडी उदयपुरका हुन् । आर्मीका मञ्जु राउत, विष्णा बोगटी, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, दुर्गा बोहरा र कल्पना वली, एपीएफका उमा राई, बन्दना राई, पार्वती चौधरी, कविता राई, आइतलमु शेर्पा र संगीता चौधरी तथा उदयपुरका जिना राई र निशा राईले प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुद

तेक्वान्दो टोली बैंकक जाँदै

छोटकरी

काठमाडौं (कास)– चौधौं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा भाग लिन ११ नेपाली खेलाडी शुक्रबार थाइल्यान्डको बैंकक जाँदै छ ।
पुरुषमा कुशल श्रेष्ठ, बसन्त तामाङ, राहुल गुरुङ, आर्जेश सिम्खडा, अर्पण पाण्डे, सौरभ बस्नेत, मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोल छन् । महिलातर्फ नम्रता कँडेल र माया पाण्डे (पुम्से) ले छन् । मुख्य प्रशिक्षकमा नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्का, सहायक प्रशिक्षकमा राजकुमार ठकुरी र व्यवस्थापकमा विशाल कँडेल छन् ।

खेलकुद

ललितपुरमा ब्याडमिन्टन सुरु

छोटकरी

काठमाडौं (कास)– रिमिक्स क्लबका सुरोज महर्जन र दिपेश शाक्यको जोडी प्रथम ललितपुर जिल्ला रनिङ सिल्ड ब्याडमिन्टनमा विजयी भएको छ । उनीहरूले अगिसाल क्लबका रिजन महर्जन र सुजीप महर्जनलाई २१–१९, २१–१८ ले हराए । पवन प्रकृतिका तुलसी पुरी र सुजन सुब्बाको जोडी पनि विजयी भयो । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फकै अर्को खेलमा योङ स्टार्सका सुनील र सुमन शाक्य, फ्लेक्स क्लबका दिनेश राई र सन्तोष भट्टराई, एसवाईसीका विकास र प्रदीप महर्जनको जोडी विजयी भए ।

खेलकुद

अन्तरकलेज बास्केटबल

छोटकरी

काठमाडौं (कास)– द ब्रिटिस मोडेल र एस कलेज बिहीबार अन्तरकलेज छात्र बास्केटबलको सेमिफाइनल पुगेका छन् । त्यस्तै आयोजक जेभियर कलेज र सेन्ट जेभियर्स पनि सेमिफाइनल पुगे ।


ब्रिटिसले क्वेस्टलाई ५०–३० स्कोरले हरायो ।सोनाम लामाले १२ स्कोर जोडे । एसले एसियनलाई ५३–४७ ले हराउँदा आशिष सिंहले १८ स्कोर बटुले ।


कुन्केनजित थिङको १२ स्कोरमा जेभियरले एपेक्समाथि ४५–२२ को जित दर्ता गर्‍यो । मनीष केसीको १४ स्कोरमा सेन्ट जेभियर्सले अक्सब्रिजलाई ४०–३५ ले हरायो ।

खेलकुद

लुम्बिनी लायन्सको जित

छोटकरी

बुटवल (कास)– घरेलु टोली लुम्बिनी लायन्स तेस्रो नेपाल मारवाडी टी–२० क्रिकेटको फाइनल पुगेको छ । बिहीबार सेमिफाइनलमा जनकपुर ब्लास्टर्सलाई ९ विकेटले पराजित गर्दै लुम्बिनी उपाधि नजिक पुग्यो ।

सिद्धार्थ रंगशालामा १ सय ३३ रनको विजय लक्ष्य भैरहवाले १४.४ ओभरमा १ विकेट गुमाई पूरा गर्‍यो । शुभम अग्रवालले ९० र सौरभ अग्रवालले ४२ रन बनाए । जनकपुरका राहुल नाहरले १ विकेट लिए । टस हारेको जनकपुरले ९ विकेट गुमाई १ सय ३२ रन बनायो । राहुलले ४५, चन्दन टेकडीवालले २८ र कुमाल गोयन्काले १२ रन बनाए । भैरहवाका दामोदर शर्मा, सोमेश अग्रवाल र शुभम अग्रवालले २–२ विकेट लिए । शुभम म्यान अफ द म्याच घोषित भए ।

Page 21
हेल्लो शुक्रवार

दूरदर्शी उद्यमी

- विजय तिमल्सिना

अमेरिकी म्यागजिन फोब्र्समा सन् २०१८ को ३० वर्षमुनिको एसियाका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्नका लागि १० हजार बढीले आवेदन दिएका थिए । त्यसबाट फोब्र्सको एसिया संस्करणले ३ सय जना छनोट गर्दै मंगलबार सूची सार्वजनिक गर्‍यो । त्यसमा चार नेपाली उद्यमका ६ जना संस्थापक छन् । फोब्र्सले तीन वर्षयता निकाल्दै आएको यस सूचीमा पर्नुलाई ठूलै उपलब्धि मानिन्छ । फोब्र्सले हरेक वर्ष अमेरिकामा ६ सय, युरोप र एसियाका ३–३ सय प्रभावशाली युवाको सूची तयार पार्दै आएको छ । उसले १० विधामा ३०–३० जनाको सूची निकाल्ने गरेको छ । अघिल्लो वर्ष नेपालका पाँच युवा फोब्र्सको सूचीमा थिए । उनीहरुको दूरदर्शिता, दिगो र फरकखाले प्रभावका आधारमा यो सूची तयार पारिएको फोब्र्सले जनाएको छ ।

 

निशान चण्डी, सचित पण्डित, सुवास श्रेष्ठ
संस्थापक, इको सेल
इको सेलले थाई प्रविधिमा आधारित भएर सिमेन्ट र अन्य सामग्री प्रयोग गरी इँटा बनाउँछ । यी इँटा आपसमा ‘लक’ हुने भएकाले यसबाट निर्मित घर भूकम्प प्रतिरोधी हुन्छन् । यो इँटाको प्रयोगमा प्लास्टरको आवश्यकता पनि पर्दैन । त्यसैले इको सेलको इँटाबाट घर बनाउँदा लागत पनि ३० प्रतिशत कम हुन्छ ।


इको सेलले इँटा पोलेर नभई पानीमा भिजाएर बनाउने भएकाले वातावरणमैत्री भएको यसका एक संस्थापक सचेत पण्डित बताउँछन् । नेपालमा २०७२ सालको भूकम्पले ५ लाख बढी घर ध्वस्त भएको थियो भने करिब तीन लाख घर क्षतिग्रस्त बनेको थियो । भूकम्पका बेला राहत बाँड्न सिन्धुपाल्चोक, दोलखा र गोरखासम्म पुगेका सचित, निशान चण्डी र सुवास श्रेष्ठले गाउँमा घरहरू भत्किएको देखेका थिए । एमबीए अन्तिम सेमेस्टरमा पढिरहेका उनीहरूले लगत्तै इको सेल इन्डस्ट्रिज नाम दिएर उद्योग खोलेका हुन् ।


भूकम्प गएको तीन महिनापछि इन्टरनेटमा खोजेर यस्तो उद्योग खोल्ने आइडिया फुरेको निशानले बताए । ‘पहिला गैरप्राविधिक विषय पढेका साथीहरू मिलेर स्थापना गरेका थियौं । अहिले हाम्रो समूहमा इन्जिनियर साथीहरू पनि समावेश छन् । त्यसैले काम गर्न सजिलो भएको छ,’ उनले भने । बनेपामा इँटा उत्पादनका लागि फ्याक्ट्री स्थापना गरिएको छ । नजिकका जिल्लाबाट अर्डर आउँदा सोही फ्याक्ट्रीमा इँटा बनाएर बिक्री गरे पनि टाढाबाट अर्डर आए त्यहीं गएर सानो इँटा बनाइदिने गरेको निशानले बताए ।


इको सेलले १५ स्थानमा शाखा खोल्ने सम्झौता गरिसकेको छ । पाँच शाखा सञ्चालनमा आइसकेको छ । शाखामा जनशक्ति उत्पादनका लागि तालिम दिने र मेसिन उपलब्ध गराउने काम कम्पनीले गर्छ । भूकम्प पुनर्निर्माणमा काम गरिरहेका गैरसरकारी संस्थाहरू पनि इको सेलका ग्राहक बनेका छन् । इँटा निर्माणमा उनीहरू सिमेन्टबाहेक स्थानीयस्तरमै उपलब्ध बालुवालगायत सामग्री प्रयोग गर्छन् । कम्पनी आफैंले स्थानीयवासीलाई इँटा जोड्ने तरिका पनि सिकाइन्छ । ‘सिकेपछि जोसुकैले पनि आफैं इँटा जोड्न सक्छन्, जसको घर बनाउने हो, उसैले घरको पर्खाल बनाउन सक्छन्,’ निशानले भने ।

आयुषी केसी
संस्थापक/सीईओ, खालीसिसी
फोहोर व्यवस्थापनको लक्ष्यसहित करिब १० महिनाअघि खोलिएको खालीसिसी म्यानेजमेन्टले अहिले काठमाडौं र वरपरका क्षेत्रमा उल्लेख्य नाम कमाइसकेको छ । यसका संस्थापक/सीईओ आयुषी केसीलाई यही कामका लागि सामाजिक उद्यमशीलता विधातर्फ फोब्र्सले एसियाको उत्कृष्ट ३० को सूचीमा समावेश गरेको हो । खालीसिसी केही महिनाअघि गुगलको स्टोरिज सर्च प्रतिस्पर्धामा पनि अन्तिम मनोनयनमा परेको थियो ।


खालीसिसीले अहिले चक्रपथभित्र र वरपरका क्षेत्रका घर, कार्यालय, होटललाई सेवा दिइरहेको छ । ‘रिसाइकल’ गर्न मिल्ने फोहोर किन्ने व्यक्तिहरू घर–घरमा आउने भए पनि खालीसिसीको विशेषता भनेको आफूलाई पायक पर्ने समयमा यस्ता सामान किन्ने मानिसलाई बोलाउन सकिने व्यवस्था हो । यस्ता सामग्री घर–घरमा गएर किन्ने व्यक्तिहरूलाई नै खालीसिसी म्यानेजमेन्टले आफ्नो नेटवर्कमा आबद्ध गरेको छ । अहिलेसम्म १ सय ५० बढी यस्ता व्यक्तिहरू खालीसिसीको सम्पर्कमा छन् । उनीहरूलाई प्रयोग गरी चक्रपथभित्र र केही टाढाबाट पनि सामग्रीहरू संकलन गरिन्छ ।


‘सबै घरमा यस्ता सामग्री हुन्छ जुन हामी बिक्री गर्न चाहन्छौं,’ संस्थापक आयुषी केसी भन्छिन्, ‘त्यसलाई आफूलाई पायक पर्ने समयमा किन्ने मानिस बोलाएर बिक्री गर्दा सजिलो हुन्छ र त्यसको मूल्य पनि पाइन्छ ।’ काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए सकेकी उनले आफू अमेरिका भ्रमणमा गएका बेला त्यहाँको फोहोर व्यवस्थापन प्रणालीबाट प्रभावित भई यस्तो व्यवसाय सुरु गरेको बताइन् ।


स्थापनाको केही समयमा नै खालीसिसी चर्चित बन्यो । फोहोर किन्न आउनुपर्‍यो भने कम्पनीलाई फोन गर्न, फेसबुकमार्फत म्यासेज गर्न सकिन्छ । हालै कम्पनीले आफ्ना नियमित ग्राहकलाई अनलाइन लग–इन उपलब्ध गराएको छ, यसबाट आफूले बिक्री गरेको फोहोरको तथ्यांक पाउन सकिन्छ । फोहोरलाई आफूलाई पायक पर्ने समयमा बिक्री गर्न मिल्ने भएकाले झन्झट नहुने केसीको तर्क छ ।


खालीसिसीले आफूले किनेको यस्ता रिसाइकल गर्न मिल्ने फोहोर बिक्री गरिरहेको छ । ‘हामीसँग यस्ता फोहोर राख्ने गोदाम छैन । त्यसैले घर–घरबाट किनेका फोहोर सोझै बिक्री गर्छौं,’ आयुषी भन्छिन्, ‘पुन: प्रयोग गर्नका लागि किन्नेहरूलाई पनि फोहोर उपलब्ध गराउँछौं ।’ खालीसिसीमा आबद्ध फोहोर संकलनकर्ताहरूको आम्दानी पनि ३० प्रतिशतसम्म वृद्धि भएको केसीको दाबी छ । उनी भन्छिन्, ‘उहाँहरू पहिला घर–घरमा खोज्दै जाँदा कति दिनसम्म बिक्रेता नै नभेट्ने पनि हुन्थ्यो । अहिले हामीलाई आएको अनुरोधका आधारमा उहाँहरू घर–घरमा जान व्यस्त हुनुहुन्छ ।’ व्यावसायिक रूपमा सञ्चालन गर्दा फोहोर संकलनकर्ताको सम्मान पनि हुने उनको बुझाइ छ ।

 

कञ्चन अमात्य
संस्थापक, दिगो माछापालन अभियान
केही महिनाअघि मात्रै अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको ‘क्लिन्टन फाउन्डेसन’ बाट ग्लोबल इनिसिएटिभ प्रेसिडेन्सियल अनर रोल अवार्ड जितेकी कञ्चन अमात्य सामाजिक उद्यमशीलता विधामा फोब्र्सको सूचीमा परेकी हुन् । उनले स्थापना गरेको दिगो माछापालन अभियान (एसएफएफआई) ले नेपालका ग्रामीण भेगमा खाद्य संकट र गरिबी निवारणलाई सहयोग गरेको फोब्र्सले जनाएको छ । उनको अभियानले ग्रामीण महिलालाई आर्थिक उपार्जनका लागि सीपसहित उद्यमशीलताका लागि सहयोग पनि गरिरहेको छ । २३ वर्षीय उनी संयुक्त राष्ट्रसंघअन्तर्गत महिलाको आर्थिक सशक्तीकरण दूत पनि हुन् ।

अन्जल निरौला
महाप्रबन्धक, घाम पावर
नेपालमा लोडसेडिङको समस्या उच्च रहेका बेला स्थापना भएको थियो– घाम पावर । अहिले घाम पावरले विभिन्न स्थानमा साढे २ मेगावाट बढी उत्पादन गर्ने सोलार जडान गरिसकेको छ । घाम पावरका महाप्रबन्धक अन्जल निरौला घर, होटल, कार्यालय आफ्ना ग्राहक भएको बताउँछन् । घाम पावरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ५ सय किलोवाटको सोलार पनि जडान गरेको छ । यसबाहेक सहरी क्षेत्रमा उसका अरू ग्राहक पनि छन् ।


विद्युत् नपुगेका गाउँमा आफ्नै ‘ग्रिड’ सहित सोलारबाट ऊर्जा वितरण गरिएको अन्जल बताउँछन् । उनी उद्योग, उत्पादन र ऊर्जा विधाअन्तर्गत फोब्र्सको ३० वर्षमुनिका ३० जनाको एसियाली सूचीमा परेका हुन् । घाम पावरले खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा सेवा विस्तार गरेको छ । गाउँमा एक ठाउँमा सोलार राखेर आफ्नै ग्रिडमार्फत घर–घरमा ऊर्जा पुर्‍याएको अन्जलले बताए । सेवाग्राहीले एकै पटक वा मासिक रूपमा शुल्क तिर्न सक्छन् । कम्पनीले यसको लागि २ हजार बढी स्थानमा आफ्नो सिस्टम जडान गरेको छ । अब पर्यटकीय रुटमा सोलार प्रणाली जडान गर्ने तयारी पनि गरिरहेको छ ।


घाम पावरले सिँचाइका लागि समेत सौर्य ऊर्जा प्रयोगमा प्रोत्साहन गरिरहेको छ । कैलाली, कञ्चनपुर, रौतहटजस्ता जिल्लामा सौर्य ऊर्जाबाट सिँचाइका उपकरण सञ्चालन गर्न सघाइरहेको छ । यी जिल्लामा ७० बढी स्थानमा सिँचाइका लागि सौर्य ऊर्जा प्रयोग गरिने अन्जल बताउँछन् । जर्मनीको ज्याकोब विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका उनले सन् २०१५ मा चेभेनिङ फेलोका रूपमा इडनवर्ग विश्वविद्यालयबाट ऊर्जा प्रणालीबारे स्नातकोत्तर गरेका थिए ।

twitter : @bjtimalsina

Page 22
हेल्लो शुक्रवार

ब्युँतिँदै पोखरेली पप

दशक अघिसम्म पोखराको पप संगीत खुबै चर्चित थियो । एकल गायन र ब्यान्डहरु निकै चलेका थिए । साठीको दशक भने यहाँको सांगीतिक माहोल सुस्तायो । अहिले फेरि ब्युँतिने प्रयासमा छ । यसबारे राजाराम पौडेल लेख्छन् :

पोखराका केही उत्साहित युवा मिलेर २०४५ सालमा ‘पिस ह्यांकी’ क्लब गठन गरेका थिए । त्यसमा सुनील थापा, विवेक श्रेष्ठ, अम्मर गुरुङ, रवीन पुनलगायतका झन्डै ५० युवा थिए । क्लबमा सांगीतिक क्षेत्रमा रुचि भएका व्यक्तिहरूको बाहुल्य थियो । क्लब गठनसँगै सांगीतिक कार्यक्रम सञ्चालन हुन थाल्यो । तिहारमा देउसीभैलो खेली त्यहींबाट आएको पैसाले भारतको सिलिगुडी गएर ड्रम–सेट, गितार किनेर क्लबलाई ‘पिस ह्यांकी’ ब्यान्डमा स्थापित गरियो । यस ब्यान्डले थुप्रै गीत गाएको छ, त्यसमध्ये ‘मेरी मायालु...’ खुबै
चर्चित भयो ।


पिस ह्यांकी निरन्तर सक्रिय नभए पनि यस ब्यान्डको स्थापनापछि पोखरामा सांगीतिक समूहको ओइरो नै लाग्यो । गीत रेकर्डिङ गर्ने र एल्बम बजारमा ल्याउने यहाँको पहिलो ब्यान्ड बन्यो, योङ टाइगर । यसले ‘एक्लो जीवन’ एल्बम बजारमा ल्याएको थियो । उसका भोकलिस्ट पृथ्वीमान गुरुङ गीत रेकर्डिङ गर्ने पहिलो गायक बनेका थिए । त्यसपछि त पोखरामा ब्यान्डको संख्या ह्वात्तै बढ्यो । गीत रेकर्डिङ गर्ने र एल्बम निकाल्ने सामान्य नै हुन थाल्यो ।


पोखराले एक समय नेपाली संगीतमा सानदार उपस्थिति जनाएको थियो । दैनिकजसो नै नयाँ गीत रेकर्डिङ गर्दै बजारमा आउन थालेको थियो । कन्सर्ट पनि दैनिक नै हुन्थ्यो । २०५७–५८ पछि फेरि पोखराको पप गायन सुक्न थाल्यो । ब्यान्ड खोलेकाहरू विदेशिनु नै त्यसको मुख्य कारण थियो । अहिले फेरि नयाँसँगै पुराना ब्यान्डका सदस्यहरू सक्रिय हुन थालेका छन् । त्यसले पोखरेली पप संगीत फेरि ब्युँतिने संकेत दिएको छ ।
लोकलयमा आधारित पप गीतमार्फत निरन्तर सक्रिय बनेको नेपथ्य ब्यान्ड पोखराको सान हो । नेपथ्यले निरन्तर रूपमा आफ्नो प्रभावशाली उपस्थिति देखाइरहेको छ । द एजको प्रस्तुतिलाई रुचाउने पनि उत्तिकै छन् । पोखराको पहिलो र्‍याप ब्यान्डका रूपमा स्थापित डि–मोर्चाले निरन्तर आफ्ना रचना पस्किरहेको छ । नेपाली पप क्षेत्रमा स्थापित बने पनि कन्दरा निरन्तर सक्रिय थिएन । गायक विवेक श्रेष्ठ बेलायतबाट तीन वर्षअघि फर्केसँगै कन्दरा पनि जागेको छ । यस ब्यान्डले विभिन्न बाजाको धुनमार्फत नयाँपन दिन खोजेको छ । ‘फ्रन्टम्यान’ शान्त बज्राचार्य पनि देउराली ब्यान्डलाई पुन: क्रियाशील बनाउन लागिपरेका छन् ।


‘खुबै चर्चामा रहेको समयमा विदेश गएका थियौं । आर्थिक अवस्थाका कारण जानुपरेको थियो । त्यसैले पोखराको पप संगीत केही खस्किनुमा हाम्रो पनि दोष छ,’ कन्दराका भोकलिस्ट विवेक श्रेष्ठले भने, ‘अब फर्किएको छु । अरू पनि फर्कंदैछन् । हामी सबै मिलेर पोखरेली पपलाई अगाडि बढाउने छौं ।’


पोखराका सक्रिय महिला कलाकारद्वारा स्थापित समूह ‘हार्मोनी’ ले विभिन्न कार्यक्रममार्फत सांगीतिक क्षेत्रमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । द ड्रिमर्ज, द स्कार्च जोर्नी, निनाद, द न्यु विगनर, देश्ना, अदृश्य किरण, ट्रायो माइल्स, ब्ल्यांक पेपर, ओभी र्‍यापर्स, अराइज, जि–नाइन, रावण, आत्मसर्गलगायतको सक्रियताले पनि पोखरेली पपमा फेरि आशा जगाएको हो । यी ब्यान्डको जुट्ने–फुट्ने क्रम चलिरहन्छ । धेरैले साँझ–रातमा रेस्टुराँ–बारमा लाइभ म्युजिक प्रस्तुत गरिरहेका छन् ।


अमेरिकाबाट फर्किएपछि सक्रियता बढाएका कर्णदासले पनि पोखरेली संगीतकर्मीलाई उत्साहित बनाएको छ । गायक रामभक्त जोजिजुको पोखरा आगमनसँगै बढेको सक्रियता, विनोद बानियाँको निरन्तरता, र्‍यापर आशिष राना ‘लाहुरे’ को नयाँ प्रयोगले पोखरालाई चर्चामा ल्याइरहेका छन् । श्यामसुङ तामाङ, धर्मेन्द्र सेवनसँगै नेपाल आइडलका विजेता बुद्ध लामाको आगमनले पनि नेपाली संगीतमा पोखरेली प्रभाव बढाएको छ । देउराली ब्यान्डबाट बाहिरिएका आनन्द बज्राचार्य तथा प्रयत्न श्रेष्ठ, सागर शाह, ओम गुरुङ, सन्तोष बस्याल, कपिल पुन, कौशल्या गुरुङ, अजुदा थापा, रजनी हृदम राई, माया पुन, इतु जोजिजु, विमल पराजुली, प्रिया गुरुङ पनि अगाडि बढिरहेका छन् ।


पोखरामा स्थापना भएका पछ्यौरी, लेकाली, ब्रोसिस, नमस्ते, भ्यागवोन, मोक्ष, तन्त्र, पखेरी, बफिन्स–९८, मंगोल्स, द संस्कार, प्रयास, ग्रुर्मिङ रोज, मनसाय, परिवेश, पञ्चासे, रियाज, इसाबेला, उद्वेग, जी–नाइन पनि एक समय खुबै जमेका थिए । यसमध्ये केही ब्यान्ड फेरि संगीतमा फर्कने तयारीमा लागेका छन् । सोवित बस्याल, सिडी विजय अधिकारी, गंगाधर पराजुली, नरजंग गुरुङ, मनोज गुरुङ, विनित जोजिजु, अरविन तुलाचन, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दीपराज थापा पनि सक्रिय छन् । यहाँ अन्डरग्राउन्ड ब्यान्डको संख्या पनि थुप्रै छ । पोखरामा करिब ४० वटा ब्यान्ड अहिले सक्रिय छन् ।

हेल्लो शुक्रवार

विकेन्ड कसरी बिताउने ?

एक अध्ययनका अनुसार सातामा ५० घण्टा बढी काम गर्ने मानिसको काम गर्ने क्षमतामा विस्तारै ह्रास आउँदै जान्छ । जब कामले ५५ घण्टाको रेखा पार गर्छ, त्यसपछि काम गर्नुको कुनै औचित्य नै हुँदैन । त्यसको अर्थ हो, सातामा ७० घण्टा खटिएर गर्नेबाट हुने काम र ५५ घण्टा गर्नेबाट हुने काम एकै स्तरको हुन्छ ।


त्यसैले त धनाढ्यहरूले विकसित गरेको बिदा बनाउने चलन ‘विकेन्ड कल्चर’ लोकप्रिय भइरहेको छ । उनीहरू त्यो समयमा काममै हुन्छन् र हुँदैनन् पनि । भनाइको मतलब उनीहरूको त्यो समय आनन्दसँग बसेर विगतको साताको समीक्षा गर्छन् र भविष्यको योजना बुन्छन् । यहाँ केही आर्थिक रूपमा सफल व्यक्तिहरूसँग गरिएको कुराकानीमा आधारित भएर सप्ताहन्तमा समय कसरी व्यतीत गर्ने भन्नेबारे केही टिप्स :


१। सधैं एकै समयमा उठ्ने
जो कसैलाई पनि सप्ताहन्तमा अलि धेरैबेर सुत्न मन लाग्छ । तर त्यो केही समयको आनन्दले दैनिक जीवनको क्रियाकलापलाई नराम्रो असर गर्छ । शरीरले हाम्रो दैनिकीअनुसार एक प्रकारको सुत्ने, उठ्ने र काम गर्ने चक्रीय प्रणाली आफैं तयार गरेको हुन्छ । त्यसअनुसार हामी चल्यौं भने हामीलाई काम गर्ने बेला निद्रा लाग्दैन र ताजा महसुस गरिरहन्छौं । एक दिन अबेरसम्म सुत्दा शरीरमा एक प्रकारको थकान रहिरहन्छ, जसले गर्दा बिदाको दिन त बिग्रिन्छ नै आइतबारको दिन पनि अल्छी लागिरहन्छ । किनभने शरीरलाई लाग्छ, उठ्ने समय भएकै छैन । त्यसैले जुनसुकै दिन होस् एकै समयमा सुत्नुस्, एकै समयमा उठ्नुस् ।


२। बिहानको समय आफ्नै लागि
परिवारसँगै छ भने आफूले भनेको समयमा सबै काम गर्न पाइन्छ भन्ने हुँदैन । त्यसैले बिहान सबेरै उठेर केही समय व्यायाम गर्दा शरीरमा फूर्ति आउँछ । सबै नित्यकर्म र व्यायाम सकेर बस्दा लगभग ३­­­­–४ घण्टा भइसकेको हुन्छ । बाँकी समय काम गर्ने उत्कृष्ट समय हो । त्यसैले यो बेला केही दिमागी काममा आफूलाई व्यस्त बनाउनुपर्छ ।

 

३। स–साना साहसिक योजना
केहीले कन्सर्ट हेर्न जानु अथवा नयाँ खुलेको होटल वा रेस्टुराँमा जानु, सधैं ट्रेडमिल वा घर वरपर दौडनुहुन्छ भने त्यो नगरेर हाइकिङ जानुपर्छ । लामो समयदेखि नगरेका वा पूर्ण रूपमा नयाँ केही गर्नुपर्छ । केही राम्रो हुँदै छ वा आउँदै छ भन्ने सोचले पनि शरीरमा सकारात्मक ऊर्जाको विकास हुन्छ । त्यसैले आउँदो शनिबार केही रमाइलो गरिन्छ भन्ने योजना भयो भने साता नै राम्रोसँग कट्छ । त्यस साताभरि ‘मुड फ्रेस’ रहन्छ ।

 

४। आफ्नो लगावलाई स्थान
साताभरिको थकान मेट्ने अर्को राम्रो काम भनेको आफूलाई मन पर्ने काम गरेर दिन बिताउनु पनि हुन सक्छ । हरेक दिनको भागदौडबाट विश्राम लिएर आफूलाई मनपर्ने किताब पढ्ने, गीत–संगीत सुन्ने, गाउने, बजाउने, पकाउने वा बच्चाहरूसँग खेल्ने गरे पनि थकानबाट मुक्ति मिल्छ ।

 

५। काम घरमा नलग्ने
सप्ताहन्तमा कामलाई पूर्ण रूपमा कार्यालयमै छोडेर मात्र घर जानुपर्छ । सप्ताहन्तमा घरमा भए पनि कार्यालयकै फोन उठाउने वा इमेलहरूको जवाफ लेख्ने गरिएको छ भने त्यो पूर्ण रूपमा गलत हो । त्यसो गरे बिदा बस्नुको कुनै अर्थ नै हुँदैन । हो, बिदामा पनि कुनै एक समय आफ्नो कार्यालयको इमेल चेक गरेर अत्यन्त जरुरीको मात्रै जवाफ लेख्दा भने खासै फरक पर्दैन । तर कार्यालयकै लागि २४ दिन, सातै बार उपलब्ध हुनु गलत हो ।

 

६। हरेक साता एकै काम नगर्ने
यदि हरेक साताको सप्ताहन्तमा बगैंचामा काम गर्छ भने त्यो पनि एक प्रकारको काम नै हुन जान्छ । त्यसैले सकेसम्म हरेक साता भिन्न काम गर्नुपर्छ ताकि दिमाग र शरीरलाई यो सधैंको काम हो भन्ने भान नहोस् । शरीर र दिमागले पनि केही सुस्ताउने समय पाऊन् ।

 

७। व्यायाम गर्न नछुटाउने
पूरा साता व्यायाम गर्ने समय पाइँदैन भने पनि सप्ताहन्तमा केही व्यायाम गर्नैपर्छ । व्यायाम शरीरका लागि मात्र नभएर दिमाग स्वस्थ राख्न पनि आवश्यक हुन्छ । व्यायाम गर्दा शरीरमा नयाँ सोच पनि आउँछ । त्यसैले शनिबारको दिन अल्छी भएर बस्ने काम त गर्नै हुन्न ।

 

८। साताभरका कुरा सोच्नुपर्छ
साताभरि गरेका कुराहरू सोचेर के ठीक भयो, के बेठीक भनी पहिल्याउनु भविष्यका लागि राम्रो हो । केही गलत भएको रहेछ भने पनि सच्याउन र पुन: नदोहोरिन दिन के गर्न सकिन्छ भनेर सोच्ने समय मिल्छ । त्यस्तै भविष्यमा के गर्दा उचित हुन्छ भन्ने सोच बनाएर साताको सुरुवात गरेमा साताभरि धेरै काम गर्न सकिन्छ ।

 

९। परिवारसँग समय
माथि उल्लिखित सबै काम गरेर पनि परिवारसँग राम्रो समय बिताउनु निकै उचित हुन्छ किनभने साताभरि परिवारका सबै सदस्य केही न केही काममा व्यस्त हुँदा त्यो दिन कसले के गरिरहेको छ र के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ । परिवारसँग समय व्यतीत गर्दा एक प्रकारको छुट्टै आनन्द पनि त महसुस हुन्छ । समय भएका बेला परिवारसँग बिताइएन भने पछि त्यो समय चाहेर पनि फर्केर आउँदैन ।

 

१०। आउने साताको तयारी
केही नभए पनि शनिबारको दिन सकिनै लाग्दा भोलि आइतबारदेखि अर्को शुक्रबारसम्म आफूले के–के गर्ने भनेर सोच्यो भने पनि काम गर्न सहज हुन्छ । त्यो हिसाबमा धेरै कामहरूको समय मिलाउन वा पूर्वतयारी गर्न पनि दिमागी रूपले तयार भइरहनु हुन्छ ।
–फोब्र्स म्यागजिन

हेल्लो शुक्रवार

क्याम्पाचौरदेखि दिल्लीसम्म

लेग–स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीमा दिल्ली पुगिसकेका छन् । दिल्ली डेरडेभिल्सले भारू २० लाख बोली लगाएपछि उनी आईपीएलमा आबद्ध पहिलो नेपाली क्रिकेटर भएका हुन् । छोटो समयमै ठूलै फड्को मारेका १७ वर्षीय उनको करिअर :

नोभेम्बर २०१४
चितवन क्रिकेट एकेडेमीमा भर्ना


मार्च २०१५
राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेद्वारा उनको बलिङ हेरेको । राष्ट्रिय टिमको प्रशिक्षणमा अवसर ।

जनवरी २०१६
यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध
ह्याट्रिक । प्रतियोगिताको सर्वाधिक विकेट लिने सूचीमा दोस्रो (१४ विकेट) ।

अप्रिल २०१६
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्धको खेलमार्फत राष्ट्रिय
टिममा डेब्यु ।

मे २०१६
अस्ट्ेरेलियाली पूर्वकप्तान माइकल क्लबसँगै हङकङ ब्लिट्जमा काउलुन क्यान्टनबाट खेलेको ।

सेप्टेम्बर २०१६
माइकल क्लार्कसँगै अस्ट्रेलियन क्लब वेस्टर्न सबर्बबाट न्यु साउथ वेल्सको प्रथम श्रेणीको क्रिकेट खेलेको ।

डिसेम्बर २०१६
यू–१९ एसिया कपमा नेपाली टिमको कप्तान नियुक्त ।

सेप्टेम्बर २०१७
आईसीसी इस्टर्न रिजन यू–१९ प्रतियोगितामा म्यान अफ द सिरिज घोषित ।


जनवरी २०१८
आईपीएल अक्सनमा दिल्ली डेरडेभिल्सद्वारा भारु २० लाखको बोल । आईपीएलमा आबद्ध हुने पहिलो नेपाली ।


फेब्रुअरी २०१८
विश्व क्रिकेट लिग डिभिजन २ को सर्वोत्कृष्ट खेलाडी घोषित । क्यानडा र केन्याविरुद्ध नेपाललाई जित दिलाउन महत्त्वपूर्ण योगदान । १३ विकेट ।

मार्च २०१८
क्यारेबियन प्रिमियर लिग (सीपीएल) को अक्सनमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सद्वारा ५ हजार डलरको बोली । सीपीएलमा आबद्ध हुने पहिलो नेपाली ।

Page 23
हेल्लो शुक्रवार

फोहोरमाथि फूलबारी

चारैतिर हरियाली वनको बीचमा सुन्दर फूलबारी । फूलको आकर्षणमा रंगीचंगी चरा र भमरा झुम्मिरहन्छन् । यही बगैंचामा सर्जक बन्नेहरू पनि भेटिन्छन् । सेल्फीमा रमाउने त प्रशस्तै देखिन्छन् । बगैंचाबीचको हरियो दुबोमा बसेर आनन्द लिनेहरू पनि हुन्छन् ।


आन्तरिक तथा बाह्य पर्यटकलाई धनकुटा सदरमुकामनजिक सल्लेरी वनले उसै पनि लोभ्याउने गर्छ । वनको बीचमा फूलबारी त सुनमा सुगन्ध नै बनेको छ । धनकुटा आउने जो–कोही पनि सल्लेरी वनको फूलबारी पार्कमा बरालिन चाहन्छन् । धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने स्थल (ल्यान्डफिल साइड) लाई फूलबारीमा परिणत गरेको हो । यहाँ ४५ प्रजातिका फूल ढकमक्क फुलेका छन् । फोहोर वस्तु कुहाएर बनाइएको थुप्रोमाथि सुन्दर फूलबारी देखेर धेरैले आश्चर्य
व्यक्त गर्छन् ।


फोहोरबाट मोहोर भन्ने उक्तिलाई यहाँ सार्थकता दिन खोजिएको छ । फोहोर व्यवस्थापनको यस कार्यले नगरसमेत सफासुग्घर बनेको छ । त्यसैले हुन सक्छ यस वर्ष नेपालकै सबभन्दा सफा सहर पनि धनकुटा नै घोषित भयो । उसलाई नेपाल सरकारले सर्वोत्कृष्ट सफा सहरका रूपमा १० लाख रुपैयाँ पुरस्कार दियो ।


नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालका अनुसार नगरको फोहोर जम्मा गर्ने स्थललाई सर्वसाधारणले उपेक्षाको दृष्टिले हेर्ने गरेपछि फूलबारी बनाउने जुक्ति निकालिएको बताए । २०६६ सालदेखि ०७० सम्म जम्मा गरिएको फोहोर कुहिएर मलको रूप लिएपछि यस स्थानलाई फूलबारीका रूपमा विकास गरिएको हो । ‘पहिले फोहोरको डंगुर थुप्रिएर उराठलाग्दो बनेको थियो,’ वातावरण अधिकृत खनालले भने, ‘यही स्थानमा फूलबारी बनाइएपछि आकर्षणको केन्द्र बनेको छ ।’


फूलबारीमा पिकनिक मनाउनेदेखि साहित्य फुराउनेसम्मको जम्काभेट हुन्छ । साहित्यकार मुकुन्द प्रयास भन्छन्, ‘सुन्दर शान्त स्थलमा सिर्जना पनि सोचेजस्तै फुर्ने गर्छ ।’ धनकुटा नगरपालिकामा दैनिक १३ टन फोहोर संकलन हुने गर्दछ । ती फोहोरलाई व्यवस्थापन गर्ने क्रममा त्यस फोहोरलाई माटोले पुरेर कुहाउने गरिन्छ । त्यही फोहोर मल बनेपछि त्यसमा फूल तथा दुबो रोपेर बगैंचा बनाइएको हो । फोहोरका रूपमा संकलन हुने फलाम, काँच, प्लास्टिक, धातुजन्य सामग्री, कार्टुन, कागजलगायत ६० प्रतिशत वस्तुलाई छुट्याई बिक्री गरेर वार्षिक १५ लाख कमाइ गरिरहेको फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापाले बताए । अरू वस्तुलाई मलमा परिणत गरिन्छ ।


–रमेशचन्द्र

हेल्लो शुक्रवार

साना स्याटेलाइट परीक्षण

हेलो टेक

अन्तरिक्षको तल्लो तहमा १० हजार साना स्याटेलाइटमार्फत पृथ्वीमा सोझै इन्टरनेट पुर्‍याउने लक्ष्यसहित अमेरिकी कम्पनी स्पेस एक्सले दुई साना स्याटेलाइट प्रक्षेपण गरेको छ । यो प्रक्षेपण परीक्षणका रूपमा भएको कम्पनीले जनाएको छ । अमेरिकी धनाढ्य इलन मस्कको कम्पनी स्पेस एक्सले केही वर्षभित्र यस्ता साना स्याटेलाइटमार्फत पृथ्वीमा द्रुत गतिको इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ ।


स्पेस एक्सले यो साता आफ्नो फाल्कोन हेभी रकेटमार्फत दुई स्याटेलाइटको प्रक्षेपण गरेको हो । रकेटले दुवै स्याटेलाइटलाई अन्तरिक्षको तल्लो तहमा छाडेर पृथ्वी फर्केको हो । सबै स्याटेलाइटलाई यसैगरी अन्तरिक्षमा छाड्ने कम्पनीले तयारी गरेको छ ।


स्याटेलाइटलाई अन्तरिक्षमा छाडेर पुन: पृथ्वीमा सकुशल फर्कन सक्ने रकेटको परीक्षण पनि स्पेस एक्सीले गरिरहेको छ । यस्ता रकेट निर्माणमा उल्लेख्य रकम खर्च हुने भएकाले सकुशल पृथ्वीमा फर्काएर पुन: अर्को प्रक्षेपणमा प्रयोग गर्ने कम्पनीको योजना केही हदसम्म सफल भइरहेको छ । कम्पनीले सन् २०२५ सम्ममा यस्ता इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड पुर्‍याउने लक्ष्य राखेको छ ।

हेल्लो शुक्रवार

इन्स्टाग्राम फिडमा परिवर्तन

हेलो टेक

फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले प्रयोगकर्ताको चाहनाअनुरूप आफ्नो एल्गोरिदममा परिवर्तन गर्ने भएको छ । इन्स्टाग्रामले प्रयोगकर्तालाई नयाँ कन्टेन्ट देखाउने गरी आफ्नो फिड परिवर्तन गर्न लागेको हो ।


सन् २०१६ मा परिवर्तन गरिएको इन्स्टाग्राम फिडमा प्रयोगकर्ताको रुचिअनुसारको सामग्री देखाउने गरिएको थियो । तर, प्रयोगकर्ताले आफ्नो फिडमा नयाँभन्दा पुराना सामग्री बढी देखिएको भन्दै गुनासो गर्दै आएका थिए । अब प्रयोगकर्ताको रुचिअनुसारका नयाँ सामग्री देखाइने कम्पनीले जनाएको छ ।


इन्स्टाग्रामले यसअघि प्रयोगकर्तालाई मनपर्ने सामग्री छुट्न सक्ने भन्दै उनीहरूको रुचिअनुसारको सामग्री फिडमा देखाउन प्राथमिकता दिने भनेको थियो । अब प्रयोगकर्ताले आफ्नो रुचिअनुसारका तर नयाँ सामग्री देख्न पाउने इन्स्टाग्रामका प्रवक्ताले बताएका छन् ।

हेल्लो शुक्रवार

पट्याउन मिल्ने आइफोन !

हेलो टेक

एप्पलले फोल्ड गर्न (पट्याउन) मिल्ने आइफोन बनाउने तयारी गरिरहेको खुलासा भएको छ । आइफोन निर्माण गर्ने विभिन्न कम्पनीसँग एप्पलले गरेको छलफलबाट एप्पलको नयाँ योजना बाहिरिएको हो ।


एप्पलले एसियाली बजारमा रहेका थुप्रै कम्पनीसँग आइफोनको विभिन्न भाग निर्माण गर्दै आएको छ । उसले अघिल्लो वर्ष पनि कोरियाली कम्पनी एलजीसँग पट्याउन मिल्ने खालको स्क्रिनका लागि छलफल गरेको खबर बाहिरिएको थियो ।


पट्याउन मिल्ने आइफोन सन् २०२० मा सार्वजनिक गर्ने तयारी एप्पलले गरेको दाबी गरिएको छ । सामसुङ र लेनोभोले यसअघि नै पट्याउन मिल्ने किसिमका स्मार्टफोनको प्रोटोटाइप परीक्षण गरिसकेका छन् ।

 

Page 24