You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

आइपुग्यो वाइडबडी

- सुरज कुँवर
नेपाल वायुसेवा निगमले बिहीबार ल्याएको वाइडबडी एयरबस ए३३०–२०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : कविन अधिकारी

काठमाडौं– नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान भित्र्याएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग नभई पोर्चुगलको एक कम्पनीसहित तीनवटा एजेन्टमार्फत खरिद गरिएको वाइडबडी ए ३३०–२०० विमान बिहीबार काठमाडौंमा अवतरण गरेको हो ।
यो विमान निर्माण गरिएको स्थान फ्रान्सको टुलुजबाट करिब नौ घण्टा लामो उडानमा सोझै काठमाडौं आइपुगेको हो । विमान बुधबार राति नेपाली समयअनुसार ११ बजे टुलुजबाट उडेर बिहीबार बिहान ८ बजे काठमाडौंमा अवतरण भएको थियो । विमान लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित १९ जनाको नेपाली टोली केही दिनअघि फ्रान्स पुगेको थियो ।


निगमका एक निर्देशकका अनुसार यो विमानको खरिद सम्झौताअनुसारको मूल्य १० करोड ४८ लाख डलर हो । तर, अन्तिम बिल मूल्य भने आइनसकेको उनले जनाए । अन्तिम मूल्य लागतको उतारचढाव (प्राइस स्केलेसन) का आधारमा तय हुनेछ । निगमको दोस्रो वाइडबडी विमान डेढ महिनापछि काठमाडौं आइपुग्ने तालिका छ । यी दुवै विमान खरिद गर्न निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब गरी २४ अर्ब रुपैयाँ ऋण लिने सम्झौता गरेको छ ।


यो रकमको सुरुमा दुवै संस्थाले नौ प्रतिशत ब्याजदर तोकेका छन् । जब दुवै विमानले व्यावसायिक उडान भर्नेछन्, ब्याजदर पुनरावलोकन गरिनेछ । निगमको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान खरिद गरिएको हो । विमानलाई दुई विदेशी पाइलट त्रि भिन्सेन्सो तेर्मान्ने र जोआयो सिसर भियरा दा सिल्भाले ल्याएका हुन् । दुवै विमान पोर्चुगलको हाईफ्लाई कम्पनीमार्फत् खरिद गरिएको हो । यो कम्पनीको सहएजेन्टका रूपमा अमेरिकामा दर्ता भएको एएआर कर्पोरेसन र जर्मन एभिएसन क्यापिटलसहित तीनवटै कम्पनीले ०७३ माघमा नेपाल एयरलाइन्सलाई विमान उपलब्ध गराउने सम्झौता गरेका थिए ।


काठमाडौंबाट लामो दूरीको उडान गर्न निगमले २०७३ असोजमा एयरबस कम्पनीकै विमान खरिद गर्न बढीमा १ हजार घण्टा उडेको वायुयान खरिद गर्ने इच्छा प्रकट गर्दै ग्लोबल टेन्डर
आह्वान गरेको थियो । ११ वटा प्रस्ताव परेकामा हाईफ्लाई, एएआर र जर्मन क्यापिटल छानिएका थिए । निगमको अपरेसन विभागका अनुसार वाइडबडी उडानका लागि ६ जना पाइलटलाई तालिम दिइसकिएको छ । दुवै विमानका लागि कम्तीमा ४० जना पाइलट आवश्यक पर्ने जनाइएको छ । पहिलो चरणमा विदेशी प्रशिक्षक पाइलट लिन साताअघि विज्ञापन गरिसकिएको छ ।


अन्नपूर्ण नाम दिइएको वाइडबडी विमानको रजिस्ट्रेसन नम्बर नाइनएन–एएलवाई रहेको छ । यो विमानमा २ सय ७४ सिट छन्, जसमध्ये १८ बिजनेस र २ सय ५६ सिट इकोनमी श्रेणीका छन् । यसले एक महिनापछि व्यावसायिक उडान थाल्ने निगमले जनाएको छ । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार पहिलो चरणमा दुबई र दोहा उडान गरिनेछ । त्यसपछि जापान, दक्षिण कोरिया, साउदी अरेबियासम्म उडाइनेछ । एयरबस कम्पनीका अनुसार यस प्रकारका ६ सय वटा विमान विश्वका ८३ वटा एयरलाइन्सले उडाइरहेका छन् । प्रतिघण्टा ८ सय ७१ किलोमिटर गतिमा उड्ने यो विमानले एक पटकमा साढे १३ हजार किलोमिटर दूरीसम्मको उडान भर्छ ।

गृह पृष्ठ

भीषण वर्षासँगै पहिरो: ५ को मृत्यु, ११ घाइते, ९ घर बगायो

- हरिहरसिंह राठौर

धादिङ– उत्तरी भेगका खनियावास र नेत्रावती गाउँपालिकामा बुधबार भीषण वर्षासँगै खसेको पहिरोले ९ घर बगाएको छ । पहिरोमा पुरिएर खनियावास ४ र ५ का पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् ।


खनियावास ४, च्युरीबोटमा एक दम्पती तथा खनियावास ५, सत्यदेवी साइस्वारामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । साइस्वाराका राजु गोलेको घर बगाउँदा उनकी बुहारी ३२ वर्षीया वसुधा गुरुङ, नातिनीहरू ८ वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वतीको ज्यान गएको छ । राजुका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा प्राथमिक उपचारपछि सदरमुकाम रेफर गरिएको छ । वर्षाले तिप्लिङ–सांकोस सडक अवरुद्ध भएका कारण उनलाई थप उपचारका लागि सदरमुकाम ल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।


खनियावासकै च्युरीबोटमा गएको पहिरोले घर पुरिँदा ६१ वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्चीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले बताए । पहिरोमा पुरिएका घले दम्पतीको शव स्थानीयवासीको सहयोगमा दार्खाबाट खटिएको प्रहरी टोलीले निकालेको हवल्दार मनोज श्रेष्ठले जानकारी दिए । च्युरीबोटमै पहिरोले दीपक गोतामेको घर बगाउँदा उनीसहित लक्ष्मी, रवि र कल्पना गोतामे घाइते भएका छन् । खनियावास ४, पाख्रीबोटमा रामबहादुर तामाङ, वीरबहादुर तामाङ र अर्जुन तामाङको घर पनि पहिरोले पुरिएको छ ।


त्यसैगरी नेत्रावती गाउँपालिका १, डबजोङ, भाङटारमा दीपक गुरुङ, बलबहादुर गुरुङ, मानबहादुर गुरुङ, वीरबहादुर गुरुङ, सतमान तामाङ र दलमान श्रेष्ठको घर पहिरोले बगाएको छ । पहिरोमा पुरिएका सबैको उद्धार भइसकेको प्रहरीले जनाएको छ ।


घटनास्थल सदरमुकामबाट एक दिन पैदल दूरीमा पर्छ । वर्षाका कारण सदरमुकामबाट उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएका छन् । जिल्ला प्रशासनकै शाखा अधिकृत राममणि मिश्रको नेतृत्वमा राहत सामग्री र चिकित्सक टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए । टोलीमा जिल्ला अस्पतालका चिकित्सकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका २१ जना छन् । सदरमुकामबाट गएको टोलीले मृतकका परिवारलाई एक लाख तथा घर भत्केकालाई १० हजार रुपैयाँका साथै अन्य राहत सामग्री प्रदान गर्ने पाण्डेयले बताए ।

गृह पृष्ठ

सरकारले तोक्यो प्रदर्शन स्थल

हिजो तपाईंहरूले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा गृहमन्त्रीले भने, ‘हिजोको कुरा बेग्लै थियो । अब विधिको शासन चल्छ ।’
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– शान्तिपूर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ । गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।


काठमाडौंमा खुलामञ्च, कोटेश्वरको तीनकुने खुलाचौर, भगवानपाउको भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद्अघिको खुला स्थान र गौशालाको सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकिएको छ । गत चैत ३० मा बसेको जिल्ला सुरक्षा समिति र काठमाडौं महानगरपालिकाको बैठकले विरोध प्रदर्शनस्थल तोकेको हो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले साउन १ देखि यो नियम लागू हुने र पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्ने बताए । भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा तथा ललितपुरमा च्यासल खेल मैदान, बज्रबाराही मन्दिरअघिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैंसेपाटी च्यासीकोटको खुला स्थान, लुभु ससमुच लामाटार र धोबीघाट मुहान पोखरीको छेउलाई विरोध प्रदर्शन स्थल तोकिएको छ ।


मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले नागरिकलाई हिँडडुल गर्न समस्या नपर्ने गरी प्रदर्शनस्थल तोकिएको बताए । तोकिएबाहेकको स्थानमा प्रदर्शन गरे कानुनअनुसार कारबाही गरिने उनले बताए । थापाले शान्ति–सुरक्षा कायम गर्न विरोध प्रदर्शन गर्ने निश्चित स्थान तोकिएको तर्क गरे । ‘हिजोका दिनमा तपाईंहरूले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ ?’ पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोको कुरा बेग्लै थियो । अब विधिको शासन चल्छ ।’ उनले शान्ति र सुव्यवस्था खलबलिन नदिन विरोध प्रदर्शनको निश्चित स्थान तोक्नुपरेको बताए ।


गृहले साउनदेखि लागू हुने गरी विरोध प्रदर्शनस्थल तोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । मन्त्रालयले चैत तेस्रो साता जारी गरेको गृह प्रशासन सुधार मार्गचित्रमा साउन मसान्तभित्र देशैभरि विरोध प्रदर्शनका निश्चित स्थान तोकिने उल्लेख गरिएको थियो ।

Page 2
समाचार

ईपीजी बैठक आज

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठक शुक्रबार सुरु हुँदै छ ।


यही बैठकले हालसम्म भएका विभिन्न आठ बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको ढाँचामा ढालेर सरकारलाई बुझाउने निर्णय गर्नेछ । यद्यपि अझै पनि उक्त प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन । शुक्रबार र शनिबार काठमाडौंमा हुने बैठकमा सहभागी हुन भारतीय पक्षका चारै सदस्य काठमाडौं आइसकेका छन् । यसअघि काठमाडौंमा सम्पन्न पछिल्ला दुई बैठकमा सहभागी हुन नसकेका पूर्वराजदूत जयन्त प्रसाद पनि आएका छन् । उनकै सहभागिताका लागि बैठक एक महिना ढिलो गरी राखिएको हो ।


नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय भएको हो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलगत्तै ‘अन्तिम’ भन्दै दिल्लीमा ईपीजी बैठक बसेको थियो । यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भएको थियो । तर नेपालले भारतकै आग्रहमा मिति सारेर ईपीजीलाई दिइएको समय सीमाको अन्त्यतिर बैठक राखेको हो । असार २० मा ईपीजीको समय सीमा सकिँदै छ । त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदानप्रदानबाट मिलिसक्नुपर्ने भए पनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक हुन लागेको हो ।

समाचार

फर्कियो राष्ट्रसंघीय टोली

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइस नेतृत्वको चार सदस्यीय टोली तीनदिने नेपाल भ्रमण सम्पन्न गरी बिहीबार फर्केको छ । राष्ट्रसंघीय शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या बढाउन आग्रहका साथै राष्ट्रसंघको उच्च पदमा सेनालाई सहभागिताको अवसर दिने विषयमा गम्भीर भएर उनी फर्केका हुन् । तीनदिने भ्रमणक्रममा मंगलबार काठमाडौं आएका उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग दुईपक्षीय डेलिगेट्सस्तरको छलफल गरेका थिए । उनले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री लगायतलाई भेटेका थिए ।


सबै भेटमा उनले नेपाली सेनाले विश्व शान्तिमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

समाचार

‘कलंकी–नागढुंगाका घरटहरा नभत्काऊ’

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक विस्तार क्रममा घरटहरा हटाउने सरकारको निर्णय खारेज गरेको छ । न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सडक विस्तार क्रममा घरटहरा भत्काउने सरकारी निर्णय खारेज गर्दै घरटहरा र जग्गाको मुआब्जासहित उचित क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।


सर्वोच्चले विस्तार क्रममा सडक वरपर रहेका घरटहरा हटाउने निर्णय कानुनसम्मत नहुने ठहर गरेको छ । कलंकी–नागढुंगा सडक निर्माणको काम तत्काल सम्पन्न गर्नसमेत सर्वोच्चले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

 

Page 3
समाचार

गंगामायाको स्वास्थ्य गम्भीर : अस्पताल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई आईसीयूमा राखिएको छ । १३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै उनी अनशन बसेकी छन् । ‘उनको अवस्था गम्भीर भए पनि स्थिर छ,’ अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले भने । उनका अनुसार गंगामायाको रगतको रुटिन परीक्षण प्रतिवेदन सामान्य देखिएको छ ।


संवेदनशील हुन आयोगको आग्रह
मानव अधिकार आयोगले गंगामायाको जीवनरक्षाका लागि संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । आयोग अध्यक्ष अनुपराज शर्माले बिहीबार गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटमा ३० दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै संवेदनशील हुन आग्रह गरेका
हुन् । उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपीलाई कूटनीतिक पहल वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरे । प्रत्युत्तरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार संवेदनशील भएको उल्लेख गर्दै दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गर्ने प्रतिबद्धता जनाए । प्रहरी महानिरीक्षक खनालले रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए ।


यसैबीच नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियन्डले गंगामायाको जीवनरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उनले नेपाल सरकार, मानव अधिकारसम्बन्धी संघसंस्था र अन्य सरोकारवालालाई भेटी गंगामायाको जीवनरक्षाका लागि आग्रह गरेका हुन् ।

समाचार

‘योजना पूरा गराएरै छाड्छु’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी ओलीले समृद्धिका योजना पूरा गराएरै छाड्ने बताउँदै क्षणिक आलोचनामा समय नखर्चिन विपक्षीलाई आग्रह गरेका छन् । ‘आलोचना, टिप्पणी र विरोधको म स्वागत गर्छु तर आलोचना गर्दा ख्याल गर्नुहोस्, १० वर्षपछि दुनियाँले तपाईंलाई मजाक नबनाओस्,’ मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘जति आलोचना गरे पनि केही हुन्न, अब पानीजहाज पनि चल्छ । पूर्वपश्चिम रेल पनि चल्छ ।’


उनले विगतका सरकारले बिगारेको आर्थिक अवस्थालाई ट्रयाकमा ल्याउन कतिपय विषय बजेटमा समेट्न नसकिएको उल्लेख गरे । यो वर्ष आर्थिक अवस्था सुधारेर त्यसपछि विगतमा प्रतिबद्धता जनाइएका विषय कार्यान्वयन गर्दै जाने उनले बताए । उनले छिमेकीसँगको सम्बन्ध सन्तुलित बनाएको र राजनीतिक रूपमा पनि बलियो सरकार रहेकाले धेरै आशंका नगर्न आग्रह गरे । अब नेपालमा कहिल्यै नाकाबन्दी नहुने दाबी पनि उनले गरे । ‘नेपालमाथि बाह्य प्रभाव अन्त्य भयो, सन्तुलित सम्बन्ध कस्तो हुन्छ भन्ने अब मान्छेहरूले थाहा पाए,’ उनले भने, ‘हामी छिमेकीका भावनाको पनि कदर गर्छौं ।’ उनले प्रमुख प्रतिपक्षी कांग्रेस ‘आउटडेटेड’ हुँदै गएको बताए ।


कार्यक्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले धेरै समयपछि बलियो सरकार निर्माण भएकाले यसलाई सहयोग गर्नुपर्ने बताइन् । ‘चुनावपछि बलियो सरकार निर्माण भएको छ, यो सरकारलाई साथ दिन्छौं तर सरकारले पनि सबैको साथ लिन सक्नुपर्छ, सबैको विचार मिलाएर अघि बढ्नुपर्छ,’ उनले भनिन् । उनले संविधान कार्यान्वयनका लागि दलहरूबीच एक तहको एकता आवश्यक रहेको बताइन् ।

समाचार

‘प्रधानमन्त्रीको भ्रमण सफल’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालका हितमा सफल रहेको निष्कर्ष निकालेको हो । ‘मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष निकालेको छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संवाददातासँग भने ।


त्यसैगरी युरोपेली युनियनले ५ अर्ब ६ करोड अनुदान सहायता दिने भएको छ । मन्त्रिपरिषद्ले ईयूको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । यो सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च गरिने जानकारी बाँस्कोटाले दिए । मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

Page 4
वाग्मती प्रदेश

प्रदेशसभा बैठक: विनियोजन विधेयकमा छलफल हुँदै

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– आर्थिक वर्ष २०७५/०७६ को बजेटमा समावेश योजनाको सूची (कार्यक्रम पुस्तिका) वितरण नगरेपछि स्थगित भएको प्रदेशसभा बैठक शुक्रबार बस्दै छ । शुक्रबार र शनिबार लगातार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।


आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को बजेटमा समावेश योजनाको सूची (कार्यक्रम पुस्तिका) प्रदेशसभा सदस्यलाई वितरण गर्न नसकेपछि असार ११ गते बैठक स्थगित भएको थियो । बिहीबार १ बजे मात्रै सबै सदस्यको पिजन होलमा कार्यक्रम पुस्तिका राखिएको सचिवालयले जनाएको छ ।


विनियोजन विधेयक पारित भएपछि मात्रै वितरण गर्ने पक्षमा सरकार देखिएपनि सत्ता पक्षकै विरोधका कारण सरकार पछि हटेको थियो । कार्यक्रम पुस्तिका उपलब्ध नगराइएकै कारण असार ११ गते बोलाइएको बैठक ‘प्राविधिक’ कारणले भन्दै १५ गतेका लागि आहवान गरिएको थियो । सबै सांसदलाई पुस्तिका उपलव्ध नगराईकन बैठक नै नबसाउने भन्दै सभामुख सानुकुमार श्रेष्ठले नै बैठक रोकिदिएका थिए । असार १० गते दिउँसो १ बजेसम्म पनि योजनाको सूची (कार्यक्रम पुस्तिका) पिजन होल हाल्ने व्यवस्था नगरेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरिएको सूचना टाँस्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । विनियोजन विधेयकमा योजनाहरूको सूची समावेश नगरी व्यय
अनुमानको विवरण मात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि ९ गते पनि छलफल स्थगित गरी ११ गतेलाई तोकिएको थियो ।


सरकारले असार ६ गते विनियोजन विधेयक र आर्थिक वर्ष २०७५/७६ को शीर्षक तथा स्रोतगत व्यय अनुमानको विवरण प्रदेशसभामा पेस गरेको थियो । सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफलसमेत सकिसकेको छ । असार १६ सम्ममा बजेट पास गर्ने कार्यतालिका तय गरेको प्रदेशसभाले पुन: असार २१ गतेसम्मको कार्यतालिका तय गरेको छ । विपक्षी दलहरूले भने बजेट वक्तव्य आएको २ साता बित्न लाग्दासमेत योजनाको सूची नलाएको भन्दै आलोचना गर्दै आएका छन् ।

वाग्मती प्रदेश

बिचौलिया रोक्न माग

- हरिहरसिंह राठौर
धादिङमा भएको कृषि प्रदर्शनीको अवलोकन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाललगायत ।तस्बिर : हरिहरसिंह

चरौंदी (धादिङ)– धादिङका तरकारी उत्पादक किसानहरूले कृषिमन्त्री चक्रपाणि खनालसँग तरकारीको बजारमा सक्रिय बिचौलिया तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।


बेनीघाट रोराङस्थित जिल्लाकै सबैभदा ठूलो किसानहरूको सहकारी को २३ औं साधारणसभा उद्घाटनमा पुगेका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री खनालसँग सहकारी अध्यक्ष हेमनाथ थपलियाले ग्राहक र उत्पादक दुवै जनालाई शोषण गर्ने बिचौलिया नियन्त्रण र किसानका उत्थान गर्ने खालका कार्यक्रम लागू गर्न माग गरे । राजधानीको २६ प्रतिशत तरकारीको माग आपूर्ति गर्ने जिल्लालाई मकै जोन लागू गरेकोमा असन्तुष्टि जनाउँदै किसानले धादिङ जिल्लामा तरकारीको सुपर जोन लागू गर्न माग गरे ।


बेनीघाटको चरौंदीस्थित कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थाले बर्सेनि १४ करोड रुपैयाँ बराबरको ताजा तरकारी काठमाडौं, पोखरा, बुटवललगायतका प्रमुख सहरहरूमा तरकारी निर्यात गर्दै आएको छ । उक्त सहकारीमा १ सय ८० जना महिलासहित एक हजार एक सय ६० जना कृषकले गरेको विषादीरहित तरकारी र अन्य तरकारी बाली संकलन गर्ने गरेका छन् । कृषिमा व्यवसायीकरणको आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कृषि पेसालाई सम्मानित, व्यवसायीकरण र मर्यादित बनाए मात्र किसानले गरेको मिहिनेतको फल पाउने बताएका छन् । मन्त्री खनालले सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २.९ प्रतिशत मात्रै कृषिमा लगानी गर्न बजेट विनियोजन गरेकोले यो बजेट ‘हात्तीको मुखमा जिरा’ भएको उल्लेख गरे । कृषिमा उल्लेख बजेट विनियोजन गरी कृषि आधिुनिकीकरणको क्रान्ति गरे मात्र बर्सेनि लाखौं बिदेसिने युवा शक्ति देशमै रोजगार पाउने बताए । अन्य शीर्षकभन्दा कृषिको लगानीमा दोब्बर बनाउनुपर्छ, प्रविधिको प्रयोग, बजार ब्यवस्थापनको कमी, कृषिमा लगानी कम भएको बताउँदै मन्त्री खनालले कृषिलाई प्राथमिकतामा राख्ने बताए ।


‘८० प्रतिशत नेपाली कृषि पेसामा जोडिएका छन्,’ खनालले भने, ‘राज्यले कृषि क्षेत्रमा ३ प्रतिशत भन्दा कम बजेट छुट्टाएको छ ।’ निरन्तर घटदो अवस्थालाई राज्य सञ्चालकले यसको दोष लिनुपर्ने खनालले बताए । किसानका लागि आउने अनुदान ठूलाहरूका लागि नभई कुटो, कोदालो बोक्ने किसानका लागि विनियोजन गर्नुपर्ने अवस्था आइसकेको बताए । ‘कृषि क्षेत्र र किसानका नाममा आएका ठूूला अन्तर्राष्ट्रिय गैससहरूले दिएको अनुदान सानाले भन्दा ठूलाले कब्जा गरेर बजेटको व्यापक र चरम दुरुपयोग भएको पाएका छौं । अब यसो हुन दिन्नौं, ठूला बजेट साना किसान हाम्रो लक्ष्य यही हुनेछ,’ उनले भने ।

वाग्मती प्रदेश

घट्ट बनाउने एक्ला चेपाङ

- प्रताप विष्ट

मकवानपुर– अजंगको चाक्लो ढुंगालाई खोपेरै उनको उमेरले नेटो काटिसक्यो । ढुंगा ताछ्दै खोपेर घट्ट बनाउने गाउँमै उनी एक्ला जीवित छन् । घट्ट बाउने बूढाको नामले परिचित उनै साइँला चेपाङले मकवानपुरको कैलाश गाउँपालिका १० नामटार गोपीराङमा १८ वर्षको उमेरदेखि मनहरी खोलाको ढुंगा खोपेर घट्ट बनाउँदै आएका छन् ।


‘कतिवटा घट्ट बनाइयो गनेको छैन तर कम्तीमा एक वर्षमा ८ देखि १० वटासम्म घट्ट बनाउने गरेको छु,’ ७४ वर्षीय चेपाङले भने, ‘मनहरी खोलामा भएका घट्टहरू मैले बनाएको हुँ । ढुंगालाई घट्टको आकारमा ल्याउन कम्तीमा १५ दिन लाग्छ ।’ साह्रो खालको ढुंगालाई घट्ट बनाउन २५ दिनसम्म लाग्ने गरेको चेपाङले बताए ।


एउटा घट्ट बनाएको २ देखि ३ हजार रुपैयाँसम्म पाउने उनले बताए । सोही भेगमा कृषि क्षेत्रमा काम गर्ने मजदुरले दैनिक तीन सय रुपैयाँसम्म ज्याला पाउँछन् । जिल्लाको कैलाश गाउँपालिकाको नामटार र कालिकाटार अत्यन्त सस्तो ज्यालादर भएको क्षेत्र हो । जिल्लाको अन्य गाउँका कृषि मजदुरहरूले ६ रुपैयाँसम्म दैनिक ज्याला लिने गरेका छन् । ‘मकवानपुरको नामटार र कालिकाटार क्षेत्रमा कृषि मजदुरहरूको ज्याला अत्यन्त सस्तो छ,’ कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, ‘कृषि मजदुहरूको ज्यालाबारे गाउँपालिका एउटा नीति वनाउँदै छ ।’


चेपाङ समुदायको बसोबास भएका क्षेत्रमा ज्यालादर सस्तो छ । ५ वर्ष अघिसम्म कालिकाटारमा एक जना तामाङले घट्ट बनाउने गथ्र्ये । उनको मृत्युपछि कालिकाटारमा घट्ट बनाउने साइँला मात्रै छन् । कालिकाटारका घटेराहरू उनमा नै निर्भर छन् । साविकको नामटार र कालिकाटार दुई गाविसका उनी घट्ट बनाउन सीप भएका एक मात्र कालिगढ हुन् । बिहान उठेदेखि बेलुका अबेरसम्म उनी खोलाको छेउमा हातमा फलामको छिनो र घन लिएर ढुंगा खोपिरहने उनको ज्याला भने अत्यन्त न्यून छ । ‘जवानीमा मोटो र बलियो थिएँ,’ चेपाङले भने, ‘मनहरी खोलाका ठूला/ठूला ढुंगालाई सजिलैसँग ओल्टाईपल्टाई गथ्र्येें, अहिले हल्लाउन पनि मुस्किल पर्न थालिसक्यो ।’ मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने कैलाश र राक्सिराङ गाउँपालिकामा पर्ने साविकका ९ गाविसमा पानी घट्टबाट मकै, कोदो, फापर पिस्ने गरिन्छ । ‘नयाँ पुस्ताले ढुंगालाई ताछेर घट्ट बनाउन छोडिसके,’ नामटारका ६० वर्षीय रामु रिजालले भने, ‘गाउँमा घट्ट बनाउने साइँला चेपाङ मात्र एक हुन्, अहिलेका केटाहरूले यो काम गर्दैनन् । विद्युतीय मिलले जसरी पानी घट्टलाई विस्थापित गर्दै छ ।’

वाग्मती प्रदेश

छोरी हत्यामा आमा पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

चितवन (कास)– आफ्नै छोरीलाई हत्या गरेको आरोपमा चितवन प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । चितवन रत्ननगरको इलाका प्रहरी कार्यालयले कालिका नगरपालिका–६ की शोभा परियारलाई पक्राउ गरेको हो । असार ८ गते कालिका नगरपालिका–६ सूर्यपुर सुन्दरबस्तीकी १४ वर्षीया ममता परियारको मृत्युबारे सोधपुछ गर्न शोभालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘ममताले आत्महत्या गरेको भन्ने थियो, पछि उनको हत्या भएको हो भन्ने कुरा आयो । सोधपुछ गर्न आमा शोभालाई प्रहरीमा ल्याएका हौं,’ रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले भने ।

वाग्मती प्रदेश

वातावरण जोगाउन वृक्षरोपण

छोटकरी
- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– स्वच्छ वातावरण महाअभियानअन्तर्गत बिहीबार वृक्षरोपण गरिएको छ । जिल्ला वन कार्यालयले घरेलु तथा साना उद्योग विकास समितिको जग्गामा वृक्षरोपण गरेको हो । जिल्ला समन्वय समिति उपप्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले धुपीको बिरुवा रोपेर कार्यक्रम सुरुवात गरेका थिए । खुल्ला जग्गामा सल्लो, तेजपात, धुपी, कपुर लगायतका बिरुवा सारिएको छ । वन कार्यालय प्रमुख पद्मराज नेपालले स्थानीय तहका १२ वटै नगर र गाउँपालिकाका स्थानीयवासीले घर नक्सा पास गर्दा एक बिरुवा अनिवार्य लगाउन भनिएको बताए ।

वाग्मती प्रदेश

अवरुद्ध सडक सुचारु

छोटकरी
- कान्तिपुर संवाददाता

रसुवा (कास)– पहिरोको कारण बुधबार साँझदेखि अवरुद्ध रहेको पासाङ ल्हामु मार्ग सञ्चालनमा आएको छ । कालिका गाउँपालिका–१ राम्चेमा बुधबार साँझ पहिरो जाँदा पासाङ ल्हामु मार्ग अबरुद्ध भएको थियो । पहिरो हटाएपछि बिहीबार दिउँसोबाट पासाङ ल्हामु र्मागमा यातायात सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । उनका अनुसार, बिहीबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो । पहिरो पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका थिए । सडक खुलाउन सडक सव–डिभिजन कार्यालय नुवाकोटको डोजर प्रयोग गरिएको थियो ।

 

Page 5
उपत्यका

२ फार्मेसीमा सिलबन्दी

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– औषधि व्यवस्था विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले जिल्लामा सञ्चालित औषधि पसल (फार्मेसी) को अनुगमन गरेका छन् । अनुगमन टोलीले सूर्यविनायक नगरपालिका ५ मा रहेको अरनी हाइवे पोलिक्लिनिक र कटुञ्जेको अर्विषा फार्मेसीमा सिलबन्दीसमेत गरेको छ ।


प्रहरीले चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न नपाइने औषधि बेचेको आरोपमा अरनीका सञ्चालक सिर्जना घिमिरे र अर्विसाका सञ्चालक विक्रम खड्कालाई पक्राउसमेत गरेको छ । यस्तै अरनी फार्मेसीबाटै औषधि खरिदकर्ता मध्यपुर थिमी ९, निकोशेराका २० वर्षीय किरण कासुलालाई पनि प्रहरीले पक्राउ गरेको छ । साथै ट्रमा ९० क्याप्सुल, कोडे टेबल १ सय ३७ ट्याब्लेट, क्लोजेप जेरो १ सय २० ट्याब्लेट, क्लोजेप ९५ ट्याब्लेट बरामद गरेको डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । अर्विषा फार्मेसीबाट औषधि खरिद गर्ने काभ्रे काशीखण्ड २ का २० वर्षीय विकास लामा र सूर्यविनायक २, बालकोटका २३ वर्षीय रूपक खत्री पनि पक्राउ परेका छन् ।

 

उपत्यका

जातीय संस्थाहरू झोलामा

बजेट कटौती
- गणेश राई

काठमाडौं– सरकारले बजेट कटौती गरेपछि आदिवासी जनजातिका सामाजिक संस्थाहरू झोलामा सीमित हुन थालेका छन् । ती संस्थाले कार्यालय व्यवस्थापनका निम्ति डेढ लाख रुपैयाँ पाउँदै आएका थिए । गत आर्थिक वर्षदेखि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत उपलब्ध गराइने उक्त रकम कटौती भएपछि यो परिस्थिति सिर्जना भएको हो ।


प्रतिष्ठानले सूचीकृत ५९ आदिवासी जनजातिका जातीय संस्थाको सिफारिसमा परिचयपत्र प्रदान गर्दै आएको छ । ‘बजेट कटौती भएपछि संस्था नवीकरण हुन सकेको छैन,’ नेपाल राउटे विकास संघ डडेलधुराका अध्यक्ष दानसिंह राउटेले भने, ‘केन्द्रबाट प्रतिष्ठानले बजेट काटियो भन्छ । स्थानीय सरकारलाई भन्न जाँदा केही पनि बजेट दिँदैन, समस्यामा परेका छौं ।’ परशुराम नगरपालिका–१२ आमपानीमा सरकारले उपलब्ध गराएको जग्गामा बनेको टहरामा उक्त संस्थाको कार्यालय छ । बजेट काटिएपछि कार्यालय सहायकका रूपमा रहेका एक कर्मचारीलाई बिदा दिइएको उनले जनाए । संस्थाको तथ्यांकअनुसार त्यस भेगमा ४ सय २५ जना राउटे जनजातिको बसोबास छ । ‘कार्यालय सञ्चालन बजेटका साथै कार्यक्रमसमेत काटिएपछि चेतनामूलक र सीपमूलक तालिम हुन सकेन,’ दानसिंहले भने । उनी लोपोन्मुख राउटे समुदायको संस्थागत प्रतिनिधित्व गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् सदस्य छन् । प्रतिष्ठान सञ्चालक परिषद्को १७ औं बैठकमा सहभागी हुन राजधानी आइपुगेका उनले ‘फर्किएर समाजलाई के जवाफ दिने’ भन्नेबारे अन्योलमा परेको उनले बताए ।


संखुवासभाको उत्तरी भेगका अल्पसंख्यक आदिवासी ल्होमीहरूको संस्था ल्होमी सिङसा कल्याण केन्द्र हो । यो संस्थाको कार्यालय काठमाडौंको बौद्धमा थियो । ‘बजेट काटिएपछि सबै कागजातहरू पदाधिकारी, सदस्यहरूको झोलामा राखेका छौं,’ केन्द्रका महासचिव रिदर नोसाङ भोटेले भने, ‘ल्होमीको परिचयपत्र लिनेहरूका निम्ति व्यक्तिगत रूपमा सम्पर्क गरेर दिने गरेका छौं ।’ उक्त संस्थाले मातृभाषा सचेतना, संरक्षण, अभिलेखीकरण, नेतृत्व विकास गर्दै आएको छ । दुई वर्षदेखि संस्था नवीकरणको काममात्र भएको उनले जनाए । यस्तै, जिरेल संघ नेपाल दुई वर्षदेखि कार्यालयविहीन छ ।


जिरेल दोलखाको जिरी आसपासका आदिवासी हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालमा दर्ता उक्त संस्था अहिले व्यक्तिको झोलामा सीमित रहेको संघका सल्लाहकार युवराज जिरेलले बताए । ‘भाडाको घरमा कार्यालय थियो, बजेट काटिएपछि छैन,’ सहायक कर्मचारीसमेत हटाइसकेको उल्लेख गर्दै जिरेलले भने, ‘कागजात अध्यक्ष, महासचिव, सल्लाहकारको कोठामा राख्ने गरेका छौं ।’ सूचीकृत ५९ आदिवासी जनजातिमध्ये करिब २० संस्थाको मात्र आफ्नै स्वामित्वमा जग्गा तथा घर कार्यालय छन् । काठमाडौं उपत्यकाका आदिवासी नेवारको सामाजिक संस्था नेवा: देय दबु अहिले भाडाको कार्यालयमा छ । उसले पनि बजेट काटिएसँगै कर्मचारीसमेत कटौती गरेको छ । ‘सरकारले सहयोग गर्दा कार्यालय सञ्चालन गर्न सहज थियो, अहिले जातीय संस्थालाई बोल्न नसक्ने र कार्यालय सञ्चालन गर्न नसक्ने बनाइयो,’ दबुका अध्यक्ष नरेश ताम्राकारले भने । उनले सरकारले जातीय संस्थालाई एनजीओ भन्ने गरेको उल्लेख गर्दै जातीय संस्थालाई नियमन गर्ने निकाय प्रतिष्ठानलाई बनाइनुपर्ने बताए । तामाङ संस्थाको पनि आफ्नै कार्यालय भवन छैन ।


प्रतिष्ठानको सञ्चालक परिषद् बैठकले परिषद् सदस्य गोविन्द छन्त्यालको संयोजकत्वमा ‘जातीय संस्थाहरूको अवस्था अध्ययन कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । त्यसका साथै प्रतिष्ठानको औचित्य पुष्टि गर्न परिषद सदस्य नवीन रोका मगरको संयोजकत्वमा ‘नेपाल सरकार राजनीतिक दल समन्वय कार्यदल’ गठनको निर्णय गरेको उपाध्यक्ष चन्द्रबहादुर गुरुङले जनाएका छन् ।

उपत्यका

७१ प्रतिशत पानीमा कोलिफर्म

- कान्तिपुर संवाददाता

काठमाडौं– ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आइरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्यधिक पाइएको छ । कार्यालयले लुभु, भैंसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनार, पोखरी, टयांकीलगायत १० खानेपानी आयोजनाअन्तर्गतका विभिन्न ठाउँमा गरेको खाने गुणस्तर पानी नमुना परीक्षणबाट यस्तो पत्ता लागेको हो ।


कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको ४५ नमुना परीक्षणमा ८६ प्रतिशत कोलिफर्म भेटिएको थियो । बर्खामा यसको जोखिम अझै बढेर जाने कार्यालयका प्रमुख डा. खगेश्वर ज्ञवालीले बताए । ‘जिल्लामा खानेपानीको स्थिति सन्तोषजनक छैन, पानी जस्तो आधारभूत वस्तु निर्धक्क भएर प्रयोग गर्ने वातावरण हुनुपर्छ,’ उनले भने । खानेपानी योजनाले पानी पूर्ण शुद्धीकरण गरेर मात्रै वितरण गर्नुपर्ने उनले बताए ।


दिसा मिसिएको पानीले हानिकारक ब्याक्टेरिया पैदा गर्छ । जसले मानव स्वास्थ्यमा हैजा झाडापखाला, टाइफाइड जन्डिस जस्ता समस्या निम्त्याउँछ । त्यस्तै आँखा, कान पाक्ने, छालामा एलर्जी हुने समस्या पनि हुन्छ । यस्तो पानीले मूत्रप्रणालीमा संक्रमण हुने गरेको छ । कोलिफर्म मिसिएको पानी घरको सामान्य फिल्टरले शुद्ध गर्न नसक्ने कार्यालयका ल्याब अधिकृत शंकर पौडेल बताउँछन् । ‘डेंगुजस्ता लामखुट्टेजन्य रोग पनि फोहोर पानीले निम्त्याउँछ,’ उनले भने ।


विश्व स्वास्थ्य संगठनका अनुसार खानेपानीमा कोलिफर्मको मात्रा शून्य हुँदा मात्रै पानी पिउन योग्य हुन्छ । ललितपुरका बासिन्दा भने ५० प्रतिशतभन्दा बढी कोलिफर्म मिसिएको पानी पिउन बाध्य छन् । जिल्लाका खानेपानी निगरानी गर्दा पानी हेर्दा सफा, गन्धहीन र नुन नभएको हुनुपर्ने जस्ता न्यूनतम गुणस्तर पनि नभएको भेटिएको कार्यालयले जनाएको छ । खानेपानीमा ढल मिसिने, पानीको पाइप फुट्ने र नियमित अनुगमन नहुँदा यस्तो समस्या देखिएको पौडेलको भनाइ छ । ‘पाइपलाइन नै खियाइदिने केमिकल मिसिएको पानीले मानव शरीरमा दीर्घकालीन समस्या निम्त्याउँछ,’ उनले भने, ‘जमिनमुनिको पानी सुरक्षित छैन, सेफ्टीट्यांकी प्वाल परेका छन्, इनारमा दिसा मिसिएर पानी दूषित बनाएको छ ।’ सिधै ढल मिसिएको पानी सेवन रोक्न काठमाडौंमा ढल व्यवस्थापन सुधारिनुपर्ने उनको तर्क छ ।


खानेपानी तथा ढल निकास विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा ८० प्रतिशत जनसंख्यालाई पानी उपलब्ध छ । जसमध्ये ५० प्रतिशतले जनताले पाइपबाट वितरित पानी उपभोग गर्छन् । औद्योगिक क्षेत्र उद्योग कलकारखाना र स्वास्थ्य संस्थाबाट निष्कासित हानिकारक फोहर सिधै पानीमा मिसिँदा पनि उपत्यकाको पानी असुरक्षित बन्दै गइरहेको छ ।

उपत्यका

दरबन्दी समयानुकूल परिमार्जन माग

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– पाटन दरबार स्क्वयारसँग सम्बन्धित लोप भइसकेका देवी नाच पुन: सञ्चालनका लागि गुठीयारहरूले जनप्रतिनिधिसँग माग गरेका छन् ।


नाचसँग सम्बन्धित गुठीयारहरूले महानगरपालिकाले बजेटमा पुराना दरबन्दी रकम समयानुकूल परिमार्जन गर्न अनुरोध गरेका हुन् ।


महानगरपालिकाबाट संस्कृति प्रवद्र्धनअन्तर्गत दरबन्दीमा ५६ पर्व सञ्चालन गर्न रकम निकासा गर्दै आएको छ । दरबन्दी रकममा समानुकूल परिमार्जन नहुँदा ऐतिहासिक नाच लोप हुँदै गएको
र महानगरको मुख्य आम्दानीको स्रोत नाच अवलोकन गर्न आएका विदेशी पर्यटकबाट उठाउने शुल्क सुक्ने खतरा बढेको उनीहरूको ठहर छ ।


लोप भइसकेको ऐतिहासिक पायो (खड्ग) जात्राका गुठीयार सन्तमान महर्जनले महानगरपालिकाले दरबन्दी रकममा समयानुकूल परिमार्जन गरेमा जात्रा पुन: सञ्चालनमा गर्न गुठीयार तयार भएको बताए । ‘लोप हुँदै गएको अमूर्त संस्कृति संरक्षणमा महानगरपालिकाले चासो दिनुपर्‍यो,’ उनले भने, ‘जात्रा नाचहरू पुन: सञ्चालनमा ल्याउन सकेमा पाटनलाई कला र संस्कृतिको सहरका रूपमा परिचित गर्न टेवा पुग्नेछ ।’ दरबारसँग सम्बन्धित जात्रापर्वका अधिकांश गुठीयारले आर्थिक समस्याका कारणले दरबारलगायत नगरमा सञ्चालन हुने पर्वहरू लोप हुँदै गएको बताएका छन् । यसले दसैमा दरबारमा रौनक हराउँदै गएको उनीहरूको भनाइ छ । दरबारमा सञ्चालन गरिने मुख्य तीन पर्व छन् ।


लिच्छविकालिन मू: छेँ आँगन घर गुठीको माजु द्य: पूजा पर्व, मल्लकालीन तलेजु पूजा पर्व र शाहकालीन फूलपाती भित्र्याउने पर्व छन् । मूल पर्वसँग सम्बन्धित अन्य थुप्रै पर्वहरू छन् । पाटनको ग: प्याँख (अष्टमात्रिका नाच), कात्तिक नाच, ठेचोको नवदुर्गा नाच, पायो (खड्ग जात्रा), हरिसिद्धिको हरिसिद्धि भवानी देवी नाच, खोकनाको रूद्रायणी नाच, दशमी पर्व, कालरात्री पर्वलगायत छन् । हाल नकबहिलको अष्टमात्रिका नाचबाहेक अन्य नाच मध्ये कुनै लोप त कुनै जेनतेन सञ्चालन भइरहेका छन् । माजु द्य:गुठी सञ्चालन गर्ने गुठी नास भइसकेको छ ।

Page 6
सम्पादकीय

न्याय मर्न नदेऊ

- कान्तिपुर संवाददाता

छोराको हत्यारालाई पक्राउ गरी कारबाही गरियोस् भन्दै न्यायका लागि वर्षांैदेखि लडिरहेकी गंगामाया अधिकारी पुन: अनशन बसेको महिना दिन नाघिसक्दा पनि सरकारले देखाएको उदासीनता लज्जास्पद छ । आखिर उनले के नै मागेकी थिइन् र † राज्यले विलासी सुविधा देओस् भनेकी थिइनन् । सरकारसँग निवास–गाडी खोजेकी थिइनन् । कसैको जागिर स्वत: स्थायी गराउन आँटेकी पनि होइनन् । उनले त बस्, अनाहकमा मारिएको आफ्नो किशोर छोराको हत्यारालाई कानुनसम्मत कारबाही गरिपाऊँ भनेकी हुन् । यो लोकतान्त्रिक गणतन्त्रमा आफ्नै जिन्दगीलाई दाउमा लगाएर न्यायको युद्ध लडेकी हुन् । दशकदेखिको यसै संघर्षका क्रममा लामो अनशनका कारण अहिले उनकै प्राण खतरामा छ । तैपनि उनी सर्वत्र बेवास्ताकी सिकार भएकी छन् । नागरिकको जिउधनको सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मेवारी बोकेको सरकार उनका संघर्ष र स्वास्थ्य दुवैलाई उदेकलाग्दो गरी चुपचाप अनदेखा गरिरहेको छ । न्यायको अवसान भएको संकेत गर्ने यो घटनाले कानुनीराज्यको त धज्जी उडाएको छ नै, यस तरहको मौजुदा मौनताले नेपाली समाजका हरेक तह र तप्कामा अग्र पंक्तिमा रहेकाहरूको विवेकमाथि पनि व्यंग्य गरिरहेको छ ।


एउटा सामान्य मान्छेको जिन्दगीमा आफ्नो भन्ने के नै हुन्छ र † गंगामायाका पनि सबथोक भनेकै दुई छोरा र पति थिए । एउटा छोरा २०६१ सालमा माओवादी कार्यकर्ताद्वारा मारिए, त्यही अन्यायविरुद्ध न्यायको लडाइँ लड्दा–लड्दै अनशनका क्रममा पति बिते, जसको सद्गतसमेत भएको छैन, शव अझै त्रिवि शिक्षण अस्पतालमा छ । भाइको हत्यापछि विक्षिप्त भएका जोठा छोरा ‘बेपत्ता’ छन् । यसरी आफ्नो ‘सर्वस्व’ गुमिसक्दा पनि गंगामायाले हिम्मत हारिनन् । र, न्यायको संघर्षमार्फत् आशाको दियो जगाइराखिन् । अफसोस, उनको संघर्ष र स्वास्थ्य दुवैलाई अति बेस्वास्ता गर्दै सरकारले आफ्नो चरम लाचारीपन देखाइरहेको छ । यतिविघ्न दु:खान्त भोगेको आवाजलाई सुन्न राज्य किन यसरी हिचकिचाइरहेको हो, बुझिनसक्नु छ । आखिर गंगामायाले कुनै अमुक व्यक्तिहरूलाई पोल्दै उनीहरूलाई थुन भनेकी पनि होइनन् । उनले त केवल सर्वोच्च अदालतले २०७२ पुस ६ गते हत्याका आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग राखेकी हुन् । यसै पनि, सर्वोच्च न्यायालयको आदेश/फैसला कार्यान्वयन गर्नु जुनसुकै लोकतान्त्रिक सरकारको दायित्व हो । त्यसका लागि कसैले दबाब दिइरहनुपर्ने पनि होइन । तर यहाँ त पीडितको यत्रो क्रन्दन छ, तैपनि सरकार कानमा तेल हालेर बसिरहेको छ । उसको यस्तो रवैयाले मुलुकको सर्वोच्च न्यायालयमाथि मात्रै अपमान भइरहेको छैन, आम सर्वसाधारण सबैलाई ‘तिमीहरू राज्य र कानुनद्वारा संरक्षित छैनौ’ भन्ने भयंकर गलत सन्देश दिइरहेको छ ।


गंगामायाको माग र उनको स्वास्थ्यलाई लिएर यसबीचमा राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । करिब डेढ सय मानव अधिकारवादीहरूले पनि कदाचित सरकारको लापरबाहीका कारण उनको ज्यान गए सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरू अन्तर्राष्ट्रिय फौजदारी कानुनबमोजिम व्यक्तिगत रूपमा जिम्मेवार हुनुपर्ने व्यवस्थाप्रति प्रधानमन्त्री र गृहमन्त्रीलाई तथ्यबोध गराएका छन् । सरकारको यस्तो उदासीनताले द्वन्द्वकालीन मुद्दाका पीडितलाई न्याय दिने संक्रमणकालीन न्याय विश्वसनीय र प्रभावकारी हुन्छ भनेर विश्वास गर्न नसकिने मानव अधिकारवादीहरूको धारणामा दम छ । सार्वजनिक वृत्तका यस्ता आवाज सुन्नु लोकतान्त्रिक सरकारको चरित्र हो, जिम्मेवार अधिकारीहरूले यसलाई ध्यानपूर्वक मनन गर्न जरुरी छ ।


तत्कालीन माओवादी र एमाले मिलेर नेकपा बनेको र सोही दल सत्तामा रहेकाले गंगामायाको मागमा सुनुवाइ नभइरहेको बुझ्न गाह्रो छैन । तर पीडकलाई संरक्षण दिइरहेका नेताहरूले बुझ्नुपर्ने तथ्य के हो भने– एक त, मारिएका किशोर कृष्णप्रसाद अधिकारी कुनै द्वन्द्वरत पक्ष थिएनन्, निहत्था सर्वसाधारण नागरिक थिए, अर्को त यो नियमित अदालतमा प्रवेश पाएर आदेशमा गइसकेको विषय हो । फेरि, सत्य निरुपणकै मर्म पनि पीडकलाई उन्मुक्ति भन्ने त हुँदै होइन । पीडितलाई सहमतिमा नलिई न्याय प्रक्रियालाई आफूखुसी बराल्न पाइँदै–पाइँदैन । पीडितको सहमतिबेगर कुनै पनि न्यायको मूल्य रहँदैन । यो गंगामाया एक जनाको मात्र होइन, समग्र पीडितहरूको सामूहिक आवाज हो । तसर्थ सरकारले बेलैमा पीडितहरूको यो ढुकढुकीलाई छाम्न सकोस् । नत्र सम्बन्धित सबैलाई थाहै छ– मानव अधिकार उल्लंघनका घटना छानबिन र दोषीलाई कारबाही गर्ने दायित्वबाट नेपाल च्युत भयो भने द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुन्छ । नेपाली सेनाका कर्णेलकुमार लामा बेलायतमा पक्राउ परेको यही अधिकार क्षेत्रका कारण हो । हामी आस गरौं, मुलुककै छवि धमिलो हुने गरी फेरि–फेरि यस्ता घटना नदोहोरिऊन् । राज्य पक्ष होस् या विद्रोही, दुवैबाट पीडित भएका सबैले अविलम्ब न्याय पाऊन् । गंगामाया अनि उनीजस्ता हजारौं पीडितलाई न्याय दिलाउन सरकारले सार्थक पहल गरोस् । र, न्यायको दियो ननिभोस् ।

दृष्टिकोण

‘पपुलिजम’को अन्तर्राष्ट्रिय प्रवाह

जब लोकप्रिय मतमाथि ‘लोकप्रियतावादी’ प्रवृत्तिले कब्जा गर्छ, तब त्यसलाई न लोकतन्त्र होइन भन्न मिल्छ, न हो भन्न ।
- विष्णु सापकोटा


वर्तमानलाई बुझ्न इतिहास बुझेर मात्र सम्भव छ– यो त सबैले सधंै भनिरहेकै कुरा भयो । तर कहिलेकाहीँ वर्तमानको राजनीतिक प्रवृत्ति र रुझान बुझ्न मान्छेको समग्र जातकै इतिहासबाट कुरा थाल्नुपर्ने हुन्छ । दैनन्दिनको राजनीतिका कोरा ढाँचाहरूलाई बुझ्न त झन् इतिहासका पुरानै खण्डमा जानुपर्ने पनि हुन्छ । अहिले अन्तर्राष्ट्रिय रूपमै एउटा सशक्त धारका रूपमा देखापरेको ‘पपुलिजम’ वा ‘लोकप्रियतावाद’को चरित्र नै त्यस्तो छ कि यसबारे चर्चा गर्न सभ्यताको एउटा पुरानो सन्दर्भबाटै कुरा सुरु गर्नुपर्ने हुन्छ । लोकतन्त्रको ‘आविष्कार’ भएकै लोकप्रिय मतको आधारमा जनताको लागि, जनताकै तर्फबाट शासन चलाउनका लागि हो भनिन्छ । तर जब लोकप्रिय मतमाथि ‘लोकप्रियतावादी’ प्रवृत्तिले कब्जा गर्छ, तब त्यसलाई न लोकतन्त्र होइन भन्न मिल्छ, न हो भन्न । अहिलेको विश्वव्यापी ‘लोकतान्त्रिक’ लहर नै ‘लोकप्रियतावादी’ अर्थात ‘पपुलिजम’वाला छ । त्यसैले यो जटिल र रोचक राजनीतिक ‘फेनोमेना’को प्रकृतिबारे चर्चा गर्न यस आलेखले मानव जातिको एउटा सम्बन्धित प्रसंगबाट कुरा सुरु गरेर मात्र वर्तमानमा आउनेछ । र समृद्वि सपनाको उच्च उडानमा रहेको आजको नेपाल ‘पपुलिजम’को यो प्रवाहमा कहाँ छ भन्नेबारे चर्चा गर्नेछ ।


समकालीन बौद्धिक वृत्तमा अधिक चर्चामा रहेको इजरायली इतिहासविद युवल नोआ हरारीको ‘सेपिएन्स’ नामको पुस्तकले अहिलेका राष्ट्र, राज्य, धर्म, संस्था, व्यापार आदिलाई अस्तित्वमा आउन कसरी सम्भव भयो भनेर एउटा रोचक मानवीय कालखण्डको चर्चा गर्छ । करिब सत्तरी हजार वर्षअघि सुरु भएको इतिहासको त्यो कालखण्डमा अहिले अस्तित्वमा रहेको मानव जातिले सोच्न र कल्पना गर्नसक्ने क्षमताको भाषिक विकास गर्न सुरु गरेको थियो । जनावरका अरू जातिमा नभएको तर मानव जातिले विकास गरेको यो सोच्न सक्ने भाषिक क्षमताले मान्छेको इतिहास नै बदलेर अहिलेको ठाउँसम्म ल्याइपुर्‍यायो । यतिसम्म पनि बुझिराखेकै जस्तो कुरा भो । तर मानव इतिहासको यो प्रसंगमा हरारीको मूल सन्देश भने अर्कै छ । त्यो हो– पृथ्वीका अन्य प्राणीहरूले जे अस्तित्वमा छ, त्यो कुरामा मात्र विश्वास गर्छन् । तर मान्छेको जातमात्र त्यस्तो रूपमा विकसित भयो, जो हुँदै नभएको कुरामा पनि विश्वास गर्ने भएर अगाडि बढ्दै गयो । उदाहरणका लागि, भगवान भन्ने चिज छ कि छैन, थाहा नै छैन, तर आफूले विकास गरेको भाषिक क्षमताका आधारमा, मान्छे आफैँले लेखेका र बनाएका कथाका आधारमा भगवान भएको कुरामा शंका नै नगर्ने मानवहरू यस पृथ्वीमा अर्बाैं थिए र छन् । स्वर्ग–नर्क आदि छ कि छैन, थाहा नै छैन, तर ती विषयमा लेखिएका कथाका आधारमा त्यो कुरालाइ यथार्थ भनेर पत्याउने जात सायद मानवमात्रै हो ।


अर्थात् भन्न त मान्छेले आफैँ घोषणा पनि गरेको छ कि प्राणी मात्रमा सर्वश्रेष्ठ जाति ऊ आफँै हो । तर प्राणी जातिमा सबैभन्दा ‘अविश्वसनीय’ जात पनि सायद मान्छे नै हो, जसले हुँदै नभएको वा देख्दै नदेखेको कुरालाई पनि सत्य ठान्छ । सत्तरी हजार वर्ष पहिले हामी मान्छे पनि अरू प्राणीका जातजस्तै अस्तित्वमा भएको यथार्थलाई मात्रै पत्याउने गथ्र्याैं । तर त्यसपछिको विकासक्रममा अहिलेको मानव वा ‘सेपिएन्स’ जात नै धेरै काल्पनिक यथार्थहरू सिर्जना गरेर त्यसैलाई वास्तविक यथार्थ ठान्दै बाँचिरहेको छ वा काम चलाइरहेको छ । अब यो प्रसंगलाई यसरी बिट मारौं– मानव अधिकार भन्ने कुरा भौतिक रूपमा त कतै अस्तित्वमै छैन । तर मानव जातिले कल्पना गर्‍यो कि मान्छे भएर जन्मेपछि उसका केही जन्मजात अधिकार हुनुपर्छ । यसरी ‘हुनुपर्छ’ भनेर कसैले कल्पना गरेको कुरालाई सबैले मान्न नै थाले कि मानव अधिकार भन्ने अवधारणा हुन्छ । त्यस्तै राष्ट्रहरू कल्पना गरिए । बिभिन्न विचारहरूको कल्पना गरियो र ती कल्पनाहरूको ‘यथार्थीकरण’ गर्दै गइयो । यति भनिसकेपछि वर्तमानको ‘लोकप्रियतावादी यथार्थ’संँग अब यो विषय आफँै जोडिन आउँछ ।
अमेरिका स्वयं आप्रवासीहरूले बनेको देश हो, तसर्थ अरू आप्रवासी र शरणार्थीको लागि पनि ऊ उदार हुनुपर्छ भन्ने काल्पनिकीलाई यथार्थ ठानिन्थ्यो, केही अघिसम्म । अब नयाँ विचारको कल्पना गरिएको छ, जसको यथार्थ अर्कै खाले छ । अमेरिका शरणार्थी शिविर त होइन नि † दोस्रो विश्वयुद्धबाट निक्लेर अगाडि बढिरहेको युरोपका राष्ट्रहरूका कल्पना केही अघिसम्म एक खालका थिए । अहिले त्यहाँ कस्ता खालका शासकहरू निर्वाचित भएर आइरहेका छन्, सबै देखिएकै छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र जर्मनीकी चान्सलर एंगेला मर्केलले अझै पनि लोकप्रियतावादलाई लोकप्रिय मतले थेगिराखेका छन् । तर तिनैका देश लगायत अरू युरोपेली मुलुकमा उग्र राष्ट्रवादी, जातिवादी र असमावेशी चरित्रका नेतृत्वहरू लोकतान्त्रिक विधिबाट सत्तामा आउँदै वा त्यसको नजिक पुग्दैछन् । १९४० को दशकमा अंग्रेज शासनबाट स्वतन्त्र हुँदाताका गान्धी र नेहरूहरूले कल्पना गरेको भारत अहिले नरेन्द्र मोदीले स्थापित गर्न खोजेको मूल्य–मान्यताको भारत त पक्कै थिएन । तर पनि भारत भनेको यस्तो राष्ट्र हो भनेर मोदीले नयाँ विचारको कल्पना गरे र त्यसलाई लोकतान्त्रिक प्रक्रियामार्फत नै अनुमोदित गराए ।


निर्वाचित हुने प्रक्रिया लोकतान्त्रिक नै छ । तर ती निर्वाचित व्यक्तिले प्रतिनिधित्व गर्ने विचार जब अति साँघुरो हुन्छ, त्यहींनेर देखिने हो, लोकतन्त्र र लोकप्रियतावादको सम्बन्धको अन्तरविरोध । यस अन्तरविरोधको अन्तर्य नै के हो भने बहुमतले अनुमोदन गरेको भन्दैमा सबै कुरा सामाजिक न्यायको वा लोकतन्त्रको मर्म अनुसार हुन्छ भन्ने हुंँदैन । तर पनि फेरि कसले, कुन विधिबाट त्यो कुरा स्थापित गर्ने कि बहुमतबाट अनुमोदित विचार लोकतान्त्रिक मूल्य अनुसारको छैन ? यसको एकमात्र उत्तर फेरि माथि चर्चा गरिएको हरारीको थेसिसमै पाउन सकिन्छ । जुन राजनीतिक नेतृत्वले आफ्ना काल्पनिकीलाई राम्रा कथा बनाएर जनताले पत्याउनेगरी बताउन सक्छन्, जनताले त्यही कल्पनालाई सत्य ठान्छन् । अहिलेको नेपालमा आफ्नो कल्पनालाई कथा बनाएर जनतालाई त्यो सत्य हो भन्ने विश्वास दिलाउन नेकपाका अध्यक्ष केपी ओली सफल भएका छन् । कथालाई विश्वसनीय बनाउन सक्ने क्षमताको कुरै छाडिदिउँm, कुनै नयाँ कथाको कल्पनासमेत गर्न नसक्ने नेतृत्व अहिले नेपाली कांग्रेसमा छ ।


लोकतन्त्र आफै कसरी अलोकतान्त्रिक हुनसक्छ भन्ने समकालीन इतिहासका उदाहरणहरू पनि कम्ती रोचक छैनन् । लोकतान्त्रिक प्रणाली अन्तर्गत नै अति शक्तिशाली व्यक्तिको रूपमा हुने एउटा नेताको उदयले लोकतन्त्रलाई नै क्षयीकरण गरेका विश्वव्यापी उदाहरण अहिले धेरै भइसकेका छन् । बेलायतबाट प्रकाशित हुने ‘प्रतिष्ठित’ पत्रिका ‘दि इकोनोमिस्ट’को गत साताको अंकमा उसले लेखेको छ कि २०१७ मा मात्र ८९ वटा देशहरू लोकतान्त्रिक प्रक्रियाका हिसाबले हेर्दा प्रतिगामी अभ्यासतिर गएका छन् । लोकतन्त्र कसरी मर्छ, जनता र लोकतन्त्र कसरी अलग हुन सक्छन् भन्ने शीर्षकका किताबहरू नै लेखिन थालेका छन् । समग्रमा भन्दा, लोकतन्त्र आफैमा अनुदारतन्त्र हुँदै गएका संकेतहरू हैन, प्रमाणहरू नै देखिएका छन् ।


अब नेपालको सन्दर्भतर्फ फर्कौं । हालैका केही वर्षमा दशकौंको राजनीतिक अस्थिरता भोगेको नेपालले जति राजनीतिक स्थिरता र दर्‍हो सरकार अरू कमै देशले खोजेका थिए होलान् । जब खोजेको जस्तो ‘बलियो’ र स्थिर सरकार नेपालको यथार्थ बन्यो, त्यसको आधा वर्ष नबित्दै यहाँ प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रताका ‘स्पेस’मा संकुचन हुनलागेको त होइन भनेर तिनै व्यक्तिहरूले सार्वजनिक चिन्ता व्यक्त गर्न थालिसकेका छन्, जो स्वयम् अहिलेको सरकारको नेतृत्वलाई स्थापित गर्ने आन्दोलनमा अभियन्ता थिए । भर्खर स्थिरताको चरणमा प्रवेश गरेको नेपालको लागि यो विषय पक्कै पनि सुखद होइन कि नागरिक समाजका केही अन्तर्राष्ट्रिय समूहले नेपालमा नागरिक समाजका लागि खुला वातावरणको स्थिति बिगँ्रदैछ भनेर गम्भीर चिन्ता व्यक्त गर्न थालिसकेका छन् (दि काठमाडौं पोस्ट, जून २३ को मुख्य समाचार) । चिन्ता गर्नुपर्ने स्थिति बनिसकेको छ कि छैन, एउटा कुरा, तर वर्तमान सरकारको नेतृत्वले मनन गर्नैपर्ने विषय के छ भने अन्तर्राष्ट्रिय रूपमा त्यस्तो सन्देश जानु वा बुझाइ बन्नु पनि नेपालको छविको लागि राम्रो होइन ।


जनताद्वारा मत दिइएर जितेको नेतृत्व लोकप्रिय हो कि लोकप्रियतावादी भन्ने विषय पनि त्यत्तिकै रोचक छ । नेपालकै सन्दर्भ लिएर एउटा उदाहरण हेरौं । केपी ओली नेतृत्वको नेकपाको अहिलेको सरकार पक्कै पनि एउटा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हो । समृद्व नेपाल र सुखी नेपालीको कल्पना अति नै सुन्दर भिजन पनि हो । नेपालको राष्ट्रियता सुदृढ गर्नुपर्छ, नेपालीहरू नेपाली भएकोमा गर्व गर्नसक्ने हुनुपर्छ वा नेपाललाई त्यस्तो बनाउनुपर्छ । यी सबै सुन्दर कुरा हुन् । त्यस्तो गरिनैपर्छ । तर नेपालमाथि गर्व गर्नुपर्छ भन्दैमा हाम्रो देश संसारका अति गरिब राष्ट्रमध्ये पर्छ भन्ने यथार्थलाई सम्झाउनु पनि नहुने आशयका कुरा कसैले गर्छ भने त्यो लोकप्रियतावाद हो । आफ्नो देशको इतिहासमाथि गर्व गर्नुपर्छ भन्नुसम्म ठिक छ, तर जब नेपालका इतिहासका, यसका थुप्रै शासकहरूका विसंगतिहरूका कुरा गर्दा नेपालको छवि कमजोर हुन्छ भनिन्छ नि, त्यो सोझै लोकप्रियतावाद हो । नेपालमा जातीय छुवाछूत अझै पनि छ भन्दा त्यो त अरू देशमा पनि छ भन्नु अनि नेपालको इतिहासको फलानो राजा यस्तो थियो भन्दा त्यो बेला अरू देशका राजा पनि त त्यस्तै थिए भनेर तर्क गर्नु लोकप्रियतावाद वा साँंघुरो राष्ट्रवाद हो । अरूका समस्याका, अरूका इतिहासका गर्व गरिने वा लाज लाग्ने विषयमा उनीहरू नै कुरा गरुन् । अरू पनि यस्तै थिए, त्यसकारण हामी पनि आफ्ना नराम्रा कुराका इतिहासका बारेमा आलोचनात्मक कुरा गर्न हुंँदैन भनिन्छ भने– त्यो पपुलिजमको अंश हो । पश्चिमा देशमा गोराहरूमात्र ‘सुप्रिम’ हुन् भनिनु, भारत भनेको हिन्दुहरूले मात्र बनाएको हो भनेर ताजमहलसमेत राख्ने कि नराख्ने भनेर बहस गर्नु स्वत: पपुलिजमवाला कुरा हुन् । र यस्ता कुरा मनपराउने पनि जनता नै हुन्छन् र यस्तै मुद्दा बोक्नेहरूलाई जनताले नै चुनावबाट अनुमोदन पनि गर्छन् । त्यही भएर प्रश्न उठ्ने गरेको हो– लोकप्रिय मतद्वारा निर्वाचित सबै सरकार लोकतान्त्रिक हुन्छन् भन्ने छैन । लोकतन्त्रले छानेका सरकारहरू लोकप्रियतावादी मात्र पनि हुन सक्छन् ।


नेपालमा राजनीतिक स्थायित्व कायम गर्न, विकास र समृद्वि हासिल गर्न केपी ओलीको सरकार सफल हुनु अति जरुरी छ । उनले देखाएका रेल र पानीजहाजका सपनाबारे पनि पंक्तिकारको सहानुभूतिशील धारणा नै छ, किनकि त्यस्ता सपनाले कहिलेकाहीं विम्बका रूपमा जनतामा आस जगाइराख्न काम नै गर्छन् । तर रेल र पानीजहाजका सपनाका बीच कलंकी र नागढुंगाको बाटोको बेहालको बारेमा आलोचना गर्दा ओली सरकार कमजोर हुन्छ भन्नेहरू लोकप्रियतावादीहरू हुन् । अहिलेको राजनीतिक समीकरणमा ओली सरकारलाई संसद्मा विपक्षी दलको त धेरै झमेला सामना गर्नुपर्ने देखिंँदैन । तर यदि यो सरकारलाई अलोकप्रिय बनाउन विपक्षीले भन्दा पनि नेकपा समर्थक मध्येका लोकप्रियतावादीहरूको बढी भूमिका देखिने अहिल्यै प्रस्ट भइसकेको छ ।


समग्रमा हेर्दा, संसारभर अहिले राष्ट्र–राज्यले आफ्नो चरित्र फेर्दैछन् । विश्वव्यापी भाइचारा, मानवतावाद आदिका मूल्यलाई आफ्नो राष्ट्रका पनि मूल्य बनाउनेभन्दा पनि मेरो राष्ट्र, मेरो इतिहास अर्थात् मेरो जात, मेरो धर्म भन्ने खालका भावना अहिले सम्बन्धित राष्ट्रलाई बलियो बनाउने लोकप्रियतावादी धार भएका छन् । साँघुरो अवधारणाको राज्यले ‘कमब्याक’ गर्न खोजेको छ, जबर्जस्त रूपमा । र त्यसका पक्षमा सम्बन्धित देशमा जनमत बढ्दो छ । सार्वजनिक मञ्चमा लेख्ने–बोल्नेहरूलाई पनि लोकप्रियतावादी धार समाउन धेरै सजिलो छ, किनकि त्यस्तै कुरामा धेरैको वाहवाही पाइने निश्चित नै छ । यस्तै सन्दर्भमा भारतकी प्रख्यात लेखिका अरून्धती रोयले हालै पनि भनेकी हुन्– लेखक हुँ भन्नेले अलोकप्रिय हुने नैतिक साहस राख्नुपर्छ । उनको भनाइको आशय लोकप्रियतावादबाट लेखकहरू कसरी जोगिनुपर्छ वा आफ्नो समाजलाई त्यता जानबाट रोक्ने प्रयास गरिनुपर्छ भन्नेतर्फ इंगित छ । नामकै मात्र भए पनि नेपालको अहिलेको सरकार कम्युनिष्ट हो । त्यही नामकै कारण र त्यसमाथि माओवादी मिसिएर बनेकाले पनि आफू लोकतान्त्रिक नै भएको चारित्रिक प्रमाणपत्र बेला–बेलामा देखाउनुपर्ने बाध्यता उसलाई छ । त्यसमाथि पपुलिजमवाला कित्ताका धार जति नै प्यारा लागे पनि तिनलाई बोक्ने सहुलियत उसलाई र देश दुबैलाई धेरै नै महँगो पर्न सक्छ । आशा गरौं, ओली नेतृत्वको ‘स्थिर’ सरकार लोकप्रिय नै रहिरहने नैतिक साहसमाथि टिक्नेछ, नकि लोकप्रियतावादमाथि ।

पाठक मञ्च

धान दिवसको महत्त्व

- कान्तिपुर संवाददाता

असार १५ जसलाई धान दिवसको रूपमा मनाउँदै आएका छौं । मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा परिचित यो असार महिना हो । १५ गते दही–चिउरा खाने दिनको रूपमा पनि परिचित छ । कृषिप्रधान हाम्रो मुलुकमा धान दिवसको आफ्नै महत्त्व छ । तर असार १५ मा २/४ जाना नेताले धान रोपेर, कोण सभा गरेर मात्र यसको सार्थकता पुष्टि हुन सक्दैन । वर्षेनि हजारौं टन धान र चामल भारतबाट आयात गरिआएको समयमा धान दिवस हरेक वर्ष मनाउने तर उत्पादन बढाएर आत्मनिर्भर नबन्ने हो भने यसको कुनै महत्त्व छैन । धान दिवस मनाउँदैमा उत्पादनमा वृद्धि हुने होइन । उत्पादनमा वृद्धि गराउन दक्ष जनशक्ति र प्रविधिमा आधारित कृषि प्रणाली हुनु जरुरी छ । जुन देशमा जनशक्तिको खाँचो छ, त्यही मुलुकका युवाहरू कामको खोजीमा विदेशिएका छन् । 

 

धान दिवस र उत्पादन बीचको असमानता नै हाम्रो समस्या हो । आजसम्म कतिपल्ट धान दिवस मनाइयो भन्नुभन्दा पनि धान दिवसबाट के उपलब्धि हासिल गरियो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । त्यसकारण बढ्दो आयातलाई घटाउने र निर्यात बढाउने तथा काम र दामको खोजीमा विदेशिएका युवालाई स्वदेशकै कृषिमा आकर्षित गर्ने नीति अवलम्बन गर्न सक्दामात्र धान दिवसको महत्त्व र आवश्यककतामा वृद्धि हुन्छ । तसर्थ धान दिवसकै दिनबाट यस्ता कार्यक्रमहरूको घोषणा गरी धान, गहुँ, मकै, कोदो लगायत कृषि उत्पादनबाट उब्जिएका खाद्य चिजबिजले स्वदेशलाई आत्मनिर्भरताको परिणाममुखी कार्यान्वयन गर्नेतर्फ सम्बन्धित सबै निकायको ध्यान जानु जरुरी छ ।
– तिलप्रसाद न्यौपाने
माछापोखरी चोक, काठमाडौं

पाठक मञ्च

गरिब देशका सुविधाभोगी नेता

- कान्तिपुर संवाददाता

देश गरिब तर नेताहरू धनी भएको देश हो, नेपाल । यहाँका औंलामा गन्न सकिने इमानदार बाहेक अधिक नेता, मन्त्री, सांसद तथा पूर्व विशिष्टहरू जमिनदार र सम्पत्तिवाल रहेको सबैमा जगजाहेर नै छ । यति हुँदाहुँदै पनि पूर्व विशिष्ट तथा वर्तमान सांसदहरूको सेवासुविधा अझै थप गर्ने कसरतमा रहेका हाम्रा प्रतिनिधिहरूको नियत स्रोतको अभाव देखाउँदै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाएबाट प्रस्ट भइसकेको छ । त्यति मात्र होइन, सरकारी गाडी प्रयोगमा मात्र १४ वर्षमा ५४ अर्ब खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये गाडी खरिदमा २३ अर्ब १४ करोड, इन्धनमा १७ अर्ब ६६ करोड, मर्मतमा १२ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । हाम्रो जस्तो गरिब मुलुकमा यति ठूलो रकम खर्च हुनुलाई सामान्य रूपमा लिन सकिँदैन । त्यसै मध्ये मर्मतको नाममा मात्र १२ अर्ब ९१ करोड रुपैयाँ खर्च हुनु अनौठोमात्र होइन, अस्वाभाविक पनि हो ।
– बद्री सिवाकोटी
सुनखानी, दोलखा

पाठक मञ्च

वैदेशिक सहयोग विवाद

- कान्तिपुर संवाददाता

अहिले न्यायपालिकामा वैदेशिक सहयोग लिने वा नलिने भन्ने विवाद चलिरहेको छ । यस सन्दर्भमा न्यायपालिकाभित्र वैदेशिक सहयोग ग्रहण गर्नुुहुन्न । विगतमा वैदेशिक सहयोग ग्रहण गरेकोमा न्यायपालिकाभित्र के परिवर्तन आयो ? त्यो देखिएको छैन । न्यायपालिका विशुद्ध रूपमा तटस्थ संस्था भएकोमा सरकारको बजेट बाहेक अन्य सहयोग लिनुु उपयुक्त हुँदैन । वैदेशिक सहयोगको नाममा विदेश भ्रमण पनि उपयुक्त होइन । विदेशी न्यायपालिका निरीक्षण भ्रमणले तात्त्विक रूपमा नेपालको न्यायप्रणाली परिवर्तन हुन सक्दैन । नेपालको माटो अनुकूल न्यायसम्पादन उपयुक्त हुन्छ । अदालत सरकारको बजेटबाट मात्र सञ्चालित हुने संस्था हो । बरु अदालतबाट उठेका राजस्व सरकारले सोझै न्यायपालिकाको खातामा जम्मा हुनेगरी न्यायपालिकालाई खर्च गर्न दिए हुन्छ । आज सहयोग ग्रहण गरेका वैदेशिक संस्थाको कुनै विवाद अदालत समक्ष आयो भने त्यसबेला न्यायसम्पादनमा अदालत अप्ठ्यारोमा पर्न सक्छ । तसर्थ अदालत वैदेशिक सहयोगमा नभई सरकारको बजेटले सञ्चालित हुनुुपर्छ । यसका लागि पर्याप्त बजेट उपलव्ध गराइदिनु आजको आवश्यकता हो ।
– जगदीशचन्द्र पाण्डे
अधिवक्ता, सर्वाेच्च अदालत बार, काठमाडौं

पाठक मञ्च

आवाजविहीन विरुद्धको आवाज

- कान्तिपुर संवाददाता

आवाजविहीनको कुरा बोल्ने अखण्ड भण्डारीको ‘किन रोकियो मलेसिया ?’ ले निराश बनायो । यो लेख आवाजविहीनका विरुद्ध लेखिएको छ । मलेसिया र नेपालका शक्तिकेन्द्रलाई प्रभावमा पारेर सिन्डिकेट बनाएर गठीमा संलग्न हर्ताकर्ता मेडिकल व्यवसायीलाई अबोध बालकजस्तै गरी प्रस्तुत गरेको देखेर आश्चर्य लाग्यो । लेखमा बायोमेट्रिक मेडिकल सिन्डिकेट सुरु गर्दा मेडिकलमा एक्सरे मेसिन ल्याएर प्रविधिमा सुधार गरी निवेदन दिएका पछि स्वदेशी/विदेशी विज्ञले हेरेर छनोट गरेको दाबी सत्य होइन । यो ठगीमा मलेसियादेखि नेपालसम्मका सरकारका महत्त्वपूर्ण व्यक्ति र शक्तिकेन्द्रको सहयोग र संरक्षण रहेको कुरा छर्लङ्ग छ । बायोमेट्रिकका नाममा मेडिकल सिन्डिकेटवालाले श्रमिकबाट सवा ३ अर्बभन्दा बढी ठगी गरेको कुरा कसैबाट छिपेको छैन । सबै सिन्डिकेट हटाउन सरकारलाई खबरदारी गर्नुपर्नेमा अन्त पनि सिन्डिकेट भएको भन्दै मलेसियाको मेडिकल सिन्डिकेट जायज भएको तर्क राख्ने कोसिस पूर्वाग्रही देखिन्छ ।


श्रमिकको सुरक्षा, सेवासुविधा लगायतका कारणले मलेसिया श्रमिकको हितका पक्षमा हेर्दा त्यति राम्रो गन्तव्य बन्नसकेको छैन । नेपाल सरकारको कदमपछि मलेसिया सरकारसमेत अन्तर्राष्टिय श्रम संगठनको मान्यता विपरीत श्रमिकबाट उठाउँदै आएका शुल्कलाई हटाउनेतर्फ सकारात्मक रहेको कुरा सञ्चार माध्यममा आएको छ । बरु नेपाल सरकारले चालेको सुधारका कदमलाई विभिन्न हिसाबले निष्क्रिय पार्न उद्यत रहने र हर्ताकर्ता मिलेर सिन्डिकेट बनाई विपन्न नागरिकमाथिको हुने ठगीको शृंखला जारी रहने नियति दु:खद छ । मलेसियाले श्रम सम्झौता नगरी नेपालका श्रमिकलाई लगाउने कुनै पनि शुल्क जायज मान्न सकिन्न । बरु नेपाल सरकारले मलेसिया सरकारसँग कूटनीतिक पहल गरी श्रम सम्झौता गरी सुरक्षित र मर्यादित गन्तव्य प्रभावकारी पहलकदमी लिन ढिला गर्नु हुँदैन । होइन भने मलेसियाको विकल्प खोज्न लाग्नुपर्छ ।
– रामप्रसाद पाण्डे
डिल्लीबजार, काठमाडांै
***


बुधबार प्रकाशित ‘भ्वाइस अफ दि भ्वाइसलेस’ अन्तर्गत ‘किन रोकियो मलेसिया ?’ बोल्न नसक्ने वैदेशिक रोजगार व्यवसायी, मर्कामा परेका मेडिकल सञ्चालक र सबैतिरबाट पेलिएका कामदारको पक्षमा आवाज उठाइदिएर एउटा निष्पक्ष पत्रकारिताको भूमिका निर्वाह गर्दै आवाज भएर पनि बोल्न नसक्नेहरूको कुरा बोलिदिएको छ । मलेसियाको रोजगारीमा जानुपूर्व कामदारहरूसँग झन्डै १३,५०० रुपैयाँ रकम असुल गर्ने माइग्राम, भीएलएन, एओसी, जीएसजी जस्ता संस्थालाई कारबाही गर्नु स्वागतयोग्य कदम हो । तिनै संस्थाको चलखेलबाट प्रभावित हुँदै लाखौं रुपैयाँ घुस खुवाएर स्थापित बायोमेट्रिक प्रणाली अन्तर्गतका मेडिकल सेन्टरका सञ्चालकहरूलाई रातारात कब्जामा लिएर कारबाही गर्नु तर समान हैसियतको र उही प्रकृतिको काम गर्ने गाम्का नेपाललाई कारबाही नहुनु दुर्भाग्य नै मान्नुपर्छ ।
सरकारी अकर्मण्यताका कारण मलेसियाको रोजगारी करिब–करिब गुम्ने अवस्थामा पुगेको छ । कलिङ भिसा प्राप्त भएर मलेसियाको रोजगारीमा जान घरबाट बिदा भएर राजधानी आएका झन्डै २५००० कामदार काठमाडांैका होटलमा अलपत्र अवस्थामा छन् । पछिल्लो समय मलेसिया दूतावासबाट कामदारको भिसा स्ट्याम्पिङ नभएको र वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति रोकिएका कारण ती कामदार मलेसिया जान रोकिएका हुन् । सरकारले ठगी गर्ने संस्थालाई कारबाही गर्नु उपयुक्त कदम नै हो । तर यस्ता कदम चाल्दा आम निमुखा जनताको समस्यालाई पनि केन्द्रबिन्दुमा राखेर बढ्दा बढी प्रभावकारी हुनेछ ।
– यज्ञराज न्यौपाने
पेप्सिकोला, काठमाडौं

पाठक मञ्च

लागूऔषध र विद्यार्थी

- कान्तिपुर संवाददाता

भनिन्छ, नेपालका प्रत्येक ७ घरमध्ये एक घरमा लागूपदार्थ/मदिरा दुब्र्यसनी भेटिन्छन् । पछिल्लो समय विद्यार्थीहरू लागूपदार्थ/औषध सेवनमा ज्यादा आकर्षित हुनथालेका छन् । यदि समयमा नै यसतर्फ ध्यान नदिने हो भने नेपालका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा लागूपदार्थ/मदिरा खडा हुने निश्चित छ । एक तथ्यांक अनुसार स्कुलमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरू लहड र रहरमा चुरोटबाट लागूपदार्थ/औषध प्रयोगमा प्रवेश गर्छन् । अन्तत: त्यो उनीहरूको आदतमा परिणत हुने गर्छ । कक्षा १० को परीक्षापश्चात ती कलिला विद्यार्थीले उपयोग गर्ने छुट्टीको समयले चुरोटबाट प्रारम्भ भएको दुब्र्यसनी अन्तत: गाँजा हुँदै लागूऔषधसम्म पुग्ने गर्छ । कक्षा ११ र १२ को समयमा त्यस्ता धेरै विद्यार्थी कुलतको सिकार बनिसकेका हुन्छन् र उनीहरूको दिनचर्या लागूपदार्थ, लागूऔषध र मदिरा सेवनमा ब्यतित हुन थाल्छ । यसरी एउटा कलिलो बच्चाको जीवन अन्त्यतर्फ धकेलिन सक्छ । हाम्रा घरमा विस्तारै पैसा या सामान हराउन सुरु भएको छ । स्कुल तथा कलेजमा पढ्ने बालबच्चा रिसाउन या झर्किन थाल्छ । घरमा सुत्दा कोठाभित्रबाट चुकुल लगाएर सुत्न खोज्छ । आफ्नो उमेरभन्दा ठूला या साना मान्छेहरूसंँग हिमचिम बढाउन थालेको छ । एकोहोरो र अस्वाभाविक व्यवहार प्रस्तुत गर्न थालेको छ । घर ढिला आउने गर्छ । यस्ता लक्षणहरू उनीहरू लागूपदार्थ/औषधको कुलतमा फँसेका संकेत हुन् । सुरुमा रहर र लहडले प्रारम्भ भएको पहिलो सर्को चुरोट अन्तत: उनीहरूको दु:खद अन्त्यको कारक बन्न सक्छ ।


समयको कालखण्डमा हाम्रो देशमा धेरै ठूला परिवर्तन भए । परिवर्तन संँगसँंगै मौलाइरहेको लागूऔषध तथा मदिरा दुब्र्यसनीको रोकथाममा खासै सरकारी ध्यान जानसकेको छैन । एउटा कलिलो बालक दुब्र्यसनीमा फँस्दा उसको आमाले ब्यहोर्नुपरेको पीडालाई छातीमा हात राखेर सोचौं त । नत आफ्नो छोराले गरेको कर्तुतलाई सामाजिक बहसका रूपमा अघि बढाउन सक्छन्, न लागूऔषध/पदार्थले जीर्ण बनाउँदै लगेको उसको शरीरलाई टुलुटुल हेरेर बस्न नै सक्छिन् । मदिरा पसललाई नियमन गर्ने र स्कुल तथा कलेजहरूमा लागूऔषध तथा मदिराविरुद्ध अभियान सञ्चालन गर्नेतर्फ स्थानीय सरकारको ध्यान किन गइरहेको छैन ?
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं

पाठक मञ्च

लेटर ग्रेडिङ प्रणालीका कुरा

- कान्तिपुर संवाददाता

एसईईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनथालेको ३ वर्ष भइसक्दा पनि यसको बुझाइमा अझै अन्योल देखिएको छ । सुरुको वर्षमा यस प्राणालीबारे छाएको अस्पष्टता र अर्थ बुझाइमा अझै सुधार आएको पाइँदैन । लेटर ग्रेडिङ प्रणालीबारे बुझ्नैपर्ने केही सामान्य जानकारी निम्न छन् :


१) लेटर ग्रेडिङ प्रणालीमा विषयगत प्राप्ताङ्कलाई १०–१० अंकको अन्तरमा समायोजन गरी एउटा निश्चित ग्रेडमा राखेर ईदेखि एसम्मका लेटरद्वारा जनाइन्छ र ०.८ देखि ४ सम्मको निश्चित ग्रेड प्वाइन्ट (जी.पी.) दिइन्छ ।


२) १० अंकसम्मको अन्तरलाई एउटै ग्रेडमा राखिने हुँदा फरक–फरक अंक प्राप्त गरे पनि एउटै ग्रेडमा पर्छ र ग्रेड प्वाइन्ट पनि एउटै हुन जान्छ ।


३) ईदेखि एसम्ममा लेटरहरू विषयगत अंकलाई मात्र ग्रेडमा हेर्नका लागि दिइएका आधार हुन्, जीपीएलाई होइन ।


४) जीपीए कुल ग्रेड प्वाइन्टको औसत अंकमात्र भएकोले यसलाई फेरि ग्रेडमा लगेर मूल्याङ्कन गर्नु सरासर गल्ती हो ।


५) जीपीएलाई अंकको आधारमा मात्र हेर्न सकिन्छ । यसको ग्रेड र प्रतिशत दुवै हुँदैन ।


६) प्रतिशत थाहा पाउन वास्तविक प्राप्ताङ्क थाहा पाउनुपर्छ । तर ग्रेड प्वाइन्ट भनेकै वास्तविक प्राप्ताङ्क होइन भने ग्रेड प्वाइन्टको औसत जीपीएबाट कसरी सही प्रतिशत निकाल्न सकिन्छ ? यो बुझ्नु जरुरी छ ।


७) केही विद्यालयमा राम्रा विद्यार्थीले कम जीपीए प्राप्त गरेका छन् र उनीहरूलाई विद्यालय र अभिभावकहरूले समेत हतोत्साहित गरेको पाइन्छ, यो ठूलो अन्याय हो । जीपीए उच्च हुँदैमा उच्च प्रतिशत आएको नहुन सक्छ । कम जीपीए पाएको विद्यार्थीले पनि उच्च प्रतिशत प्राप्त गरेको हुनसक्छ । यसको कारण हो– १/२ अंकको अन्तरले गर्दा पनि ग्रेड प्वाइन्ट फरक पर्छ र जीपीए बढ िदेखिन्छ । यस अर्थमा भन्नुपर्दा ४ जीपीए प्राप्त गरेको विद्यार्थीले पनि सबैभन्दा उच्च अंक प्राप्त गरेको निश्चित हुँदैन ।


८) प्राप्त जीपीए २५ गरेर आजकाल प्रतिशत निकालेको पाइन्छ । यो सूत्र एकदमै त्रुटिपूर्ण छ । किनकि यसो गर्दा हरेक विषयको ग्रेडमा माथिल्लो अंक प्राप्त गरेको भन्ने बुझिन्छ । सबै विषयमा यो कुरा सम्भव हुँदैन ।


पद्धतिको वास्तविकता नबुझी अन्धाधुन्द गलत जानकारी प्रकाशित गर्नु/गराउनु शिक्षाजस्तो संवेदनशील र मर्यादित क्षेत्रसंँग सम्बद्धहरूका लागि सुहाउँदो कार्य होइन । यसबारे सम्बन्धित निकायले अझ प्रस्ट रूपमा जानकारी दिए फैलिंँदो भ्रमको अन्त्य हुने थियो ।
– श्याकृष्ण बोहरा
गोदावरी नपा–१२, ठेँचो, ललितपुर

Page 7
विविधा

अधिनायकवाद आउने आशंका

शासकीय स्वेच्छाचारिताको आकांक्षा अधिनायकवादतर्फ चालिने पहिलो पाइलो हो ।
- श्रीकृष्ण अनिरुद्ध गौतम


कम्युनिस्टहरू एकजुट भएकाले हुनुपर्छ, नागरिक जीवनका कतिपय कोणमा अचेल देशलाई तिनीहरूले अधिनायकवादतर्फ धकेल्ने यत्न गर्दैछन् भन्ने चर्चा छ । राज्यका तीनवटै तह केन्द्र, प्रदेश र स्थानीयमा निर्वाचित प्रतिनिधि र पदाधिकारी छन् । जनादेश प्राप्त शासन व्यवस्था छ । जनताले रोजेका र कतिपय समावेशिताका नाममा पार्टीहरूले समानुपातिक अन्तर्गत राखेका मानिस शासनमा छन् । जो जेजस्ता भए पनि तिनले जनताप्रति नै उत्तरदायी हुनुपर्छ । तिनीहरू संविधानको परिधिभित्रै बस्नुपर्छ । ख्याल के रहिरनुपर्छ भने तिनले आवधिक जनादेश पाएका हुन्, आजीवन होइन । तिनीहरूलाई यस्तो बोधबाट विमुख हुने अधिकार छैन । तर विमुख भए के हुन्छ ? प्रश्न त छ ।


जनादेश पाउनु, राज्यका संस्थाहरूमा प्रतिनिधित्व पाउनु लोकतन्त्रमा शासनाधिकार प्राप्तिको प्राविधिक पक्ष हो । तर प्राविधिक पक्षमै पनि केही गुणहरू निहित हुन्छन् । ती गुणहरूमध्ये प्रमुख निर्वाचित हुनलाई जनतासामु गरिएका वाचाहरू हुन् । नागरिकका अधिकारहरू अनतिक्रम्य हुन्छन्, तिनको सुरक्षाको दायित्व हो, राज्यको । यी गुणहरूको अभावमा जनादेशबाट प्राप्त वैधता निरर्थक हुन्छ । अधिनायकवादमा शासक संस्थाहरूभन्दा माथि हुन्छ । लोकतन्त्रमा शासक राज्यका संस्थाहरूभन्दा माथि हुँदैन, ऊ पालन गर्नुपर्ने नियमहरूले बाँधिएको हुन्छ । शासकको रुचि/अरुचि आधारमा नागरिक जीवन सञ्चालित हुनुपर्छ भन्न थालियो भने त्यही नै स्वेच्छाचारको प्रारम्भ हो । शासकीय स्वेच्छाचारिताको आकांक्षा अधिनायकवादतर्फ चालिने पहिलो पाइलो हो ।
यस कोणबाट हेर्दा निश्चय नै वर्तमान सरकारमा स्वेच्छाचारिताप्रति झुकाव देखिन थालेको अस्वीकार गर्न सकिँदैन । सरकारलाई संविधानले सुनिश्चित गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता मन नपरिरहेको देखिन थालेको छ । जस्तै– सरकारी स्वामित्वको नेपाल टेलिभिजनको एउटा प्रत्यक्ष वार्तामा प्रश्न सोधेकै निहुँमा कार्यक्रम नै बन्द गराइयो । त्यस्तै मान्छे मन नपर्दा होस् अथवा राजनीतिक विचार नमिल्दा राज्यका जिम्मेवार पक्षबाटै नानाथरी आक्षेप र आरोप लगाउने क्रिया र कर्म प्रारम्भ भएको छ, यी भनेका स्वतन्त्र अभिव्यक्तिको पक्षधर पत्रकारिता राज्यको आँखामा बिझाउन थालेका लक्षण हुन् ।


शासनमा असहिष्णुता देखिएको र यता आएर त्यसको पारो अझ बढ्दो छ । वैशाख अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका एउटा राजनीतिक दल, विवेकशील साझाको कार्यालयबाट जबर्जस्ती ब्यानर निकालियो । नागरिक आवाजप्रति कटुता र विशेष गरेर २०६२/६३ पछि विरोध प्रदर्शन गरिँदै आएका स्थलहरूमा भेला हुने अधिकारमाथि रोक लगाउन थालिएको छ । आएदिन बोलीवचनमा प्रतिपक्षी दलहरूको अवमूल्यन, प्रतिपक्षको भूमिका नै नभए जस्तोगरी फलानो दल सरकारको सहयोगी हो, प्रतिपक्ष होइन भन्ने धृष्टता त स्वयं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नै गरेका छन् । यी राम्रा लक्षण होइनन् ।


सार्वजनिक सरोकारप्रति अवहेलना तथा नागरिकले यो बोल्न पाइन्छ, त्यो बोल्न पाइँदैन जस्ता धम्कीपूर्ण भाषाको प्रयोग व्यक्तित्वमा कम्युनिस्ट आचरणको प्रभावका कारण बोल्नै नजानेर गरिँदैछ भने प्रधानमन्त्री आफ्ना मन्त्रीहरूसहित सच्चिनुपर्छ । जहाँसम्म नागरिकले के गर्नुपर्छ, के गर्नु हुँदैन यसको किटानी सरकारले गर्ने होइन, संविधानले दिएको परिधिभित्र बोल्न, हिँडडुल गर्न, स्वउन्नतिका निम्ति कर्म गर्न हरेक नागरिक स्वतन्त्र छ । वैश्विक मान्यता छन् । वाणी स्वतन्त्रता लोकतन्त्रमा अविभाज्य हुन्छ । नागरिकप्रति राज्यको दायित्व उसको निजत्वको सम्मान र सुरक्षा हो । लोकतन्त्रमा सचेत नागरिकको दायित्व सरकारसँग हरमामिलामा होमा हो मिलाउनु होइन । हो, सरकारमा कम्युनिस्ट छन् भन्दैमा अरू सबैले उनीहरूकै आचरण, बोलीवचन पछ्याउनुपर्छ भन्ने हुँदैन । सरकारका सञ्चालकहरूको स्वभाव, भाव र उनीहरूमा जेसुकै वैचारिक प्रभाव परेको होस्, त्यसले लोकतन्त्र प्रदूषित हुनुहुँदैन ।
लोकतन्त्रलाई निर्वाचनद्वारा प्राप्त बहुमतीय वैधताकै आधारमा स्वेच्छाचारिताको प्रमाणपत्रका रूपमा बुझ्ने प्रवृत्तिले अचेल निश्चय नै यहाँमात्र होइन, अन्यत्र पनि प्रश्रय पाइरहेको छ । नेपालको त झन् लामो अधिनायकवादी, शासकहरूको स्वेच्छाचारी अतीत छ । त्यसैले लोकतन्त्र आदर्शले, सिद्धान्तले, परिभाषाले जनताकै सर्वोच्चता स्थापित र सुनिश्चित गर्ने पद्धति हो भनिरहँदा के बिर्सन मिल्दैन भने लोकतान्त्रिक वैधता प्राप्त गर्ने व्यक्ति–प्रवृत्तिबाट नै यसले बारम्बार आहत हुनुपरेको छ ।


निश्चय नै लोकतन्त्र बुझ्न सरल, सहज छ । संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले त्यहाँको गृहयुद्ध (सन् १८६१–६५) अन्त्य गर्दै यसलाई जनताद्वारा, जनताकै लागि र जनताकै शासन पद्धति भनेका थिए । मान्यता हो, जे जनताद्वारा निर्मित हुन्छ, त्यो जनताकै लागि र त्यसमा जनताकै स्वामित्व रहेको हुन्छ । जहाँ लोकतन्त्रका लागि संघर्ष भएको छ, त्यहाँ उनको यो कथन अत्यन्त लोकप्रिय रहेको छ । शाश्वत छ । अध्येता, शोधकर्ताहरूले यसलाई दोहोर्‍याइ–तेहोर्‍याइ उद्धृत गर्ने गर्छन् । समाज विज्ञानको क्षेत्रमा यो कथन समाविष्ट नभएको पाठ्य–पुस्तक बिरलै पाइन्छ । लिंकनको यो कथन सुन्दा, पढ्दा अति मनमोहक लाग्छ । तर अभ्यास के भइरहेको छ, कस्तो भइरहेको छ, यतातिर ध्यान नदिने, अन्वेषण नगर्ने हो भने यी मिठा शब्दहरू किताबमै राम्ररी सुशोभित रहनेछन् । व्यवहारमा उल्टो भइरहे पनि मानिस त्यही पढेर सन्तुष्ट हुन बाध्य भइनै रहनेछन् ।


वर्तमान विश्वमा जहाँ–जहाँ लोकतन्त्र छ, ती मुलुकहरूमा यस सरल कथनको के कति पालना भएको छ, अमेरिकामै यस मान्यताको के कस्तो दशा–दुर्दशा भइरहेको छ, पुन: अवलोकन गर्नुपर्ने अवस्था आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएदिन लोकतन्त्रका मूल्य पद्धतिसँग अभिन्न रूपमा गाँसिएको मुक्तचेता मानवीय अस्मिता विरुद्ध बोलिरहेका हुन्छन् । उनी लोकतान्त्रिक पद्धतिबाटै विधिवत चुनिएका हुन्, अमेरिकी संविधानको सपथ लिएका छन्, तर व्यवहार एकदमै उद्दण्ड छ, अलोकतान्त्रिक छ । बात–बातमा नश्लीय छन्, मेक्सिकोसित जोडिएको सिमानामा पर्खाल लगाउने योजना सुनाएर निर्वाचित भएका हुन् ।


अमेरिका मूलत: युरोपीय आगन्तुकहरूको देश हो, त्यहाँका मूल निवासी त झन्डै मासिइसकेका छन् । ट्रम्प तिनै आगन्तुकका सन्तति हुन् । कहिले पश्चिम एसियाका कतिपय मुलुकका मानिसलाई प्रवेशाज्ञा नदिने फरमान जारी गर्छन् । कहिले आप्रवासीहरू विरुद्ध असभ्य टिप्पणी गर्छन् । अमेरिका भनेर हुरुक्कै हुँदै आफ्नो देश त्याग्नेहरू फर्कुं कि बसुँ दोधारमा छन् । तिनका आफ्नै देश पनि कहाँ उदार छन् र ? कोही फर्किहाले तिनलाई स्वघोषित रैथानेहरूले आत्मा नै चिथोर्नेगरी खेदो खन्छन् । जताततै स्थानीयता, क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता जस्ता ससाना घेराहरूले लोकतन्त्रको गला निमोठिरहेका छन् ।


लोकतन्त्र मुक्तचेता, स्वतन्त्रताको संवाहक हो भन्दाभन्दै कतै मानव जाति यसको मर्मप्रति रत्तिभर संवेदना नभएका निर्वाचित तानाशाहहरूको हैकममा जकडिइरहेको छैन ? यसबारे गम्भीर मन्थन गर्नुपर्ने भएको छ । नजिकै भारतमा पनि अचेल यही चिन्ता बढ्दो छ । भारत गणराज्यको स्थापना अत्यन्त उदारचेता व्यक्तिहरूबाट भएको थियो । स्वातन्त्रय त्यसको मूलमन्त्र थियो, यहाँसम्म कि केही पहिलासम्म नागरिकता जनाउने कुनै लिखत पनि हुन्छ भन्ने धेरैलाई थाहै थिएन । भारत मान्छे चिन्थ्यो । भारतको अन्तर–चेनताले मान्छे सबै उस्तै त हुन् भन्थ्यो । भारतका सरहद मान्छेका लागि खुला थिए । नागरिक त बसेपछि हुन्थ्यो, नबनी पनि बस्न पाउँथ्यो । लाखौं नेपाली, पाकिस्तानी, बर्मी, थाई, यहाँसम्म कि त्यहाँ चिनियाँहरू पनि बिना कुनै लिखत बसेका थिए । तर आज भारत त्यस्तो छैन, न त्यहाँको शासन नै त्यति उदार छ । उदारचरिता नाम वसुधैव कुटुम्बकम् भन्छन् भन्नलाई तर व्यवहार दिनानुदिन संकीर्ण बन्दै गएको छ ।


निर्वाचन निश्चय नै लोकतन्त्रमा अविभाज्य हुन्छ, शासनमा प्रतिनिधित्वका लागि यसको विकल्प छैन । तर जनताद्वारा निर्मित शासन प्रणालीले जनताकै सर्वोपरि हितमा काम गरिरहेको छ कि प्रणाली सञ्चालन गर्ने जिम्मा पाएका यसका प्रतिनिधिले आफ्नो धनतृष्णा, कामतृष्णा, ऐश्वर्य तृष्णाको परिपूर्ति गरिरहेका छन् ? यस प्रश्नमाथि गम्भीरतापूर्वक मनन नगरी फ्याट्ट जवाफ दिनु उचित हुने छैन । लोकतन्त्र यदि व्यवहारमा शब्दानुचित अनुदित भइदिएन भने यसका उपदेष्टाहरूलाई बडो कष्ट, अत्यन्त अकथ्य, अथाह असह्य पीडा हुन्छ । जनता कुशासनमा फँस्न पुग्छन् । प्रतिनिधिमार्फत चल्ने लोकतन्त्रमा लोकतन्त्र प्राप्तिका लागि मरिमेट्ने कमैमात्र, त्यो पनि झुक्किएर मात्र शासनमा पुग्छन् । ल्याउने अरू नै, अध्येता अरू नै, मर्मज्ञ पाखा पर्छन् । पुग्ने प्रायश: मध्यम र कतिपय निम्न कोटी हुन्छन् । किनभने प्रतिनिधि छान्ने जुन निर्वाचन प्रणाली प्रचलित छ, यसले गुण र गणितबीच तादात्म्य स्थापित नगरिरहेको परिलक्ष्यित भइरहेको छ ।


लोकतन्त्रमा आदर्शत: मतदाताले गुणवत्ताका आधारमा आफ्ना प्रतिनिधि चुन्ने हो । तर यो आदर्शलाई विस्तारै लोभ र लाभले विस्थापित गर्दै गएको छ । यसको यथार्थ उत्तरका लागि आज दूर, सुदूर देशका दृष्टान्तको खोजी गरिरहनु आवश्यक छैन, प्रमाणहरू समिपै र प्रत्यक्ष छन् । आएदिन देखिन्छ ऐन, नियम, बनाउन अर्थात् राज्य व्यवस्थापनका लागि चुनिएका अधिकांश प्रतिनिधिहरू संसद्मा बसेर घमासान बहस, परामर्श, विमर्श गर्दैनन्, कहाँ अतिरिक्त लाभ पाइन्छ, त्यहाँ लडिबुडी गर्दै भए पनि पुगिरहेका भेटिन्छन् । सांसदहरू आफूखुसी खर्च गर्न पाउनुपर्छ भनेर छुट्टै रकम निकासा गराउन दबाब दिन्छन् । पूर्व राष्ट्रपति, उपराष्ट्रपति तथा निर्वाचित पदाधिकारी र प्रतिनिधिहरू आजन्म अवकाश भत्ता र सुविधाका लागि मरिहत्ते गर्छन् ।


अर्थात् गणित जब गुणवत्ताले सिञ्चित हुन छाड्छ, स्वेच्छाचारले त्यहींबाट प्रश्रय पाउँछ । साइनबोर्ड लोकतन्त्रकै राखिए पनि स्वेच्छाचारिता हावी हुन्छ । यहाँ वर्णित प्रवृत्तिले आश्रय पाइरहे, भन्नैपर्छ, अधिनायकवाद आउने आशंका निराधार होइन । किनभने अधिनायकवादको प्रमुख आधार–स्तम्भ नै शासकीय स्वेच्छाचार हो ।

विविधा

‘अधिनायकवाद’को विनिर्माण

आलोचना र बहसलाई नियन्त्रण गर्ने होइन, सामना गर्न सक्नुपर्छ, त्यो चाहे पार्टीभित्र होस् वा बाहिर ।
- लेखनाथ पौडेल

२०४७ सालको लोकतान्त्रिक परिवर्तनपछिका करिब ४ दशकमा पहिलोपटक ठूलो जनअपेक्षा सहित दुई तिहाइको स्थिर सरकार बनेको छ । त्यो जनचाहनालाई सम्बोधन गर्नु यो सरकारको मूल जिम्मेवारी हो । नेपालमा स्थिर सरकार बनाउने अवसर नै नजुरेको पक्कै होइन । नेपाली कांग्रेसले बहुमतको सरकार चलाउने अवसर पाएकै हो, तर गुमायो र देश अस्थिरतामा धकेलियो । तर आज लोकतन्त्र भनेकै कांग्रेस बुझ्नेहरूले, पार्टीका आन्तरिक भेला–बैठकदेखि सबै तहका सदन, सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरू, सबैतिर नेकपाको सरकारलाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाइरहेका छन् ।


राज्य सञ्चालन, विकास र लोकतन्त्रका मूल्य–मान्यताहरूमा नेकपाको प्रतिबद्धता जनअनुमोदित भएर बनेको सरकार हो, यो । यसका बाबजुद किन अधिनायकवाद आरोप लाग्दैछ ? निर्वाचन स्वीकार्य तर नतिजा अस्वीकार्य, आफू जित्दा लोकतन्त्र, अरू जित्दा अधिनायकवाद । सरकारमा अरूलाई देख्नै नसक्ने, वैचारिक भिन्नतालाई स्वीकार्नै नसक्ने, तर अब्बल लोकतान्त्रिक ठान्ने ? फरक व्यक्ति तर एउटै भाष्य, एकै खालको लेखन विधि र शैली, अनेकन दृष्टान्त र तुलना तर सुसंगति छैन । जसले सजिलै भ्रमपूर्ण आमधारणाको विन्यास होस् । यो विचार–शृंखलाको परिचित स्वरूप, उद्देश्य र संगठित राजनीतिक अभिप्राय छ । समाज तरंगित हुनेगरी यो प्रतिध्वनिको पुनरावृत्तिको प्रयत्न भइरहेको छ, मानौं कि यो नै शाश्वत सत्य हो । यसरी नै संकथनको विन्यास हुन्छ । तर संकथनले आफू अनुकूल भ्रमको वास्तविकता निर्माण गर्ने यो प्रयास खतरनाक छ । त्यसैले यो संकथनको सैद्धान्तिक विनिर्माण गर्न जरुरी छ ।


यो संकथनको जग बलियो छैन । किन ‘अधिनायकवादी’ त भन्दा केही विभागलाई प्रधानमन्त्री कार्यालयमा सारियो, टेलिभिजनको कार्यक्रम बन्द गरियो, सभामुख/उपसभामुखमध्ये १ पद छाडेनन्, ३३ प्रतिशत महिला सहभागिता भएन, बजेटको विरोधमा आएका सांसदका स्वर नियन्त्रण गरियो, अमूक नेताले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्यो । यत्तिकैमा ‘अधिनायकवाद’ आउने भए, कांग्रेसले चलाएको करिब ३ दशक लामो शासनलाई के भन्ने ? अनि प्रश्न उठ्छ, नेपालमा लोकतन्त्र कहिले थियो ?


भनिएका संरचनाहरू प्रधानमन्त्री कार्यालयमा सार्ने सुरक्षा सुधार आयोगले एक दशकअघि नै दिएको प्रतिवेदनको कार्यान्वयन हो । जुन अस्थिरताका कारणले हुनसकेको थिएन । लोकतन्त्रमा कुनै मन्त्रीलाई प्रश्न सोधेकै भरमा, कार्यक्रमनै बन्द गर्नु अक्षम्य छ । त्यसलाई नत मन्त्रीले होइन, अमूक अधिकारीले बन्द गर्‍यो भन्ने औपचारिकताले छोप्न मिल्छ, न प्रश्न मिलाएर सोध्नुपर्छ भनेर प्रश्नमा अंकुश नै लगाउन मिल्छ । यो घटनाले प्रेस स्वतन्त्रताको प्रतिबद्धतामा आँंच पुर्‍याएको पक्कै छ । तर विगत योभन्दा खराब छैन र ? पक्कै एउटा खराबले अर्को खराबलाई पुष्टि गर्दैन । जिम्मेवारीमा बस्नेले आफ्नो उत्तरदायित्व बहन गर्ने सामथ्र्य राख्नुपर्छ, गरेका काममा पारदर्शी र जवाफदेही बन्नैपर्छ, अन्यथा आफू गल्ती गर्दै जाने अनि प्रश्न पनि सुन्न नसक्ने चरित्र निरङ्कुशताको अभिलाशा नै हो । जसलाई प्रतिकार गर्नैपर्छ । रह्यो कुरा समावेशिता र आन्तरिक बहसको । नवगठित पार्टीले विगतको
एमालेको अभ्यासलाई आत्मसात गर्दैछ, जहाँ आलोचनात्मक चेत, लोकतान्त्रिक विधि र सामुहिक नेतृत्वको अभ्यास छ, सापेक्षतामा । संघीयताको मर्मको कार्यान्वयन, समावेशिताको, बजेटमा असमानताका विषयमा पार्टीभित्रै संघर्ष छ । जुन लोकतन्त्रको जिम्मा लिएकाहरूले पनि सिक्नलायक छ । थप, कांग्रेस आफैमा कति समावेशी र लोकतान्त्रिक छ ?


यसको अर्थ अहिलेको सरकारले जे गरेको छ, सबै ठिक वा सबै बेठिक भन्ने होइन । सरकार बनेको यो अवधिमा केही सकारात्मक थालनी भएकै छन् । वैदेशिक रोजगार, नागरिक उड्डयन, निर्माण र यातायातका क्षेत्रमा रहेको बेथितिको नियन्त्रणको पहल, वैदेशिक सम्बन्धमा सन्तुलन र निर्भरताको विविधीकरणको प्रयत्न सराहनालायक छन् । भलै नतिजा के होला, केही समय अवश्य कुर्नैपर्छ । सँंगै उठाउनुपर्ने थुप्रै सवाल पनि छन् । बढ्दो महँंगीको मार, समृद्धिको बहस पूर्वाधारमुखी भयो, जनजीविका छोएन, प्रश्न गर्न सकिन्छ । दाइजो, छाउ, बोक्सीजस्ता गलत परम्परा तोडेर प्रगतिशील समाज बनाउनेहरू नै दाइजोमा सम्पत्ति देखाउने ढोंँगी हुन्, समाजवादी होइनन् भन्न सकिन्छ । जनताको समृद्धिको कल्पना सवाल्टर्नहरूको समावेशीबिना सम्भव छैन, आलोचना गर्नुपर्छ । निजी स्वार्थको जहाज चढेर समृद्धिको लागि चाहिने सबल राज्य पनि बन्दैन । यो त लुट पुँजीवाद भयो, खबरदारी गर्नुपर्छ । बजेटले विगतकै बाटो र मन्त्रीमुखी पञ्चायत–कांग्रेस शैलीलाई पछ्यायो, प्रहार गर्नुपर्छ । बेरोजगारी, बेथिति, असमानता, निसासिँदो धुलो, अत्यासलाग्दो हिलोजस्ता जनसरोकारका विषय कैयांै छन् । तर यस्ता विषयले छुँदैन, एकोहोरो अधिनायकवाद भनिरहेको छ, एउटा वर्ग–समूह । पक्कै जनजीविकाका सवालहरू उठाउँदा, बेथितिका विषयमा बोल्दा त्यो वर्ग–समूहलाई विगतको बोझले थिच्छ । तर त्यतिमा मात्र सीमित छैन, अधिनायकवादको संकथनको रहस्य, सुदूर गहिराइमा खोज्नुपर्छ । यसको निश्चित वर्गीय स्वार्थ र विधि छ, निश्चित आधार र अधिरचनाहरू छन्, शक्ति सम्बन्धहरू र शक्ति संरचनाहरू छन् । र राज्यको प्रकृति र त्यसमाथिको बर्चस्वको संघर्षसँंग जोडिएको छ ।


राज्यसत्ता निश्चित आर्थिक–सामाजिक सम्बन्धहरूमा अढेको शक्ति सम्बन्ध र शक्ति संरचनाहरूको गतिशील समुच्च हो । यो अधिरचनाको आर्थिक–सामाजिक आधारसँंग पनि गतिशील र द्वन्द्वात्मक सम्बन्ध हुन्छ । त्यसैले राज्यसत्ता माथिको बर्चस्व नै शासनको मूल आधार हो । राज्यसत्ता केवल राजनीतिक सत्तामात्र होइन, त्योसंँग जोडिएको सामाजिक–सांस्कृतिक सत्ता पनि हो । हिंसा र शासनको एकाधिकार निहित रहेको राजनीतिक सत्ताको नियन्त्रण सरकारले गर्छ । तर आचारविचार, शिक्षा, ज्ञान, संस्कृतिको उत्पादन सामाजिक–सांस्कृतिक सत्ताले गर्छन् । सञ्चार माध्यम, शिक्षालय, कलाकौशल आदि त्यही सामाजिक–सांस्कृतिक सत्ताका हिस्सा हुन् । सांस्कृतिक उत्पादनमा एकाधिकार जमाएका पत्रकार, लेखक, प्राज्ञ आदि त्यो सत्ताका सञ्चालक हुन् । सत्तामाथिको बर्चस्व, हैकम र अनुपालन र सहमतिको संयोजनकारी गतिशील प्रक्रिया हो । जसमा राजनीतिक सत्ताले हैकमको अभ्यास गर्छ भने अनुपालन र सहमतिको निर्माण सामाजिक–सांस्कृतिक सत्ता अर्थात बौद्धिकहरूले गर्छन् । र यी दुबैले एकअर्काको सेवा गर्छन् । यही संघर्षमा हैकम गुमाएको वर्ग समूहले सामाजिक–सांस्कृतिक सत्तामा स्थापित उसको एकाधिकारको बलमा गुमेको सत्ता फर्काउने कोसिस गर्छ । तर हैकमभन्दा अनुपालन र सहमतिको जरा समाजका नसा–नसामा गाडिएको हुन्छ । समाजमा रहेका विभिन्न वर्ग–समूहहरूबीच सत्तामाथिको बर्चस्व जोगाउन वा प्रतिबर्चस्व स्थापित गर्न निरन्तर संघर्ष भइरहन्छ । यही संघर्षमा हैकम गुमाएको वर्ग–समूहले सामाजिक–सांस्कृतिक सत्तामा स्थापित उसको एकाधिकारका बलमा गुमेको सत्ता फर्काउने कोसिस गर्छ । यो नै बर्चस्वका लागि हुने शक्ति संघर्षको निरन्तर प्रक्रिया हो ।
कांग्रेस नेतृत्वको करिब २ दशक लामो राज्यसत्ता माथिको नवउदारवादी बर्चस्व संकटमा परेको छ । बर्चस्व–प्रतिबर्चस्वको संघर्षमा, त्यो वर्ग–समूहले कम्तीमा ५ वर्षका लागि राजनीतिक सत्ता गुमाएको छ । तर त्योसंँग जोडिएको सामाजिक–सांस्कृतिक सत्तामा नवउदारवादी बौद्धिकहरूको एकाधिकार कायमै छ । आम जनजीविकाका विषयहरूले ती बौद्धिकहरूलाई नछुनु स्वाभाविक छ । किनकि उनीहरू शक्ति सम्बन्ध र शक्ति संरचनाहरूमा पैठ जमाएर बसेका सत्तासिनहरू हुन् । उनीहरूको धेय गुमेको हैकमको पुन: प्राप्ति हो । त्यसैका लागि हो, ‘अधिनायकवाद’को संकथन । यो संकथनले आम जनजीविकाका महत्त्वपूर्ण सवालबाट ध्यान हटाएर एउटा यस्तो भ्रमको वास्तविकता निर्माण गर्न अग्रसर छ, जसले आफ्नो कलंकित विगत बिर्साएर जनमानसमा ‘अधिनायकवाद’को त्रासदी फैलाओस् । त्यही त्रासको भरमा सामाजिक–सांस्कृतिक सत्तामा रहेको उसको एकाधिकार–नवउदारवादी अनुपालन र सहमति जोगाइराख्ने र हैकम जमाउने संघर्षलाई संगठित गर्ने प्रयास हो, यो । अर्थात सम्भ्रान्तहरूले हैकमको पुन: प्राप्तिका लागि संगठित गर्न खोजेको शक्ति संघर्षको वैचारिक पहलु हो ।


परिचित रणनीति, भाष्य, शैली र स्वरूप छ । लोकतान्त्रिक विधिबाट निर्वाचित समाजवादी पार्टीहरूले विश्वव्यापी रूपमा भोग्दै आएको नवउदारवादी निषेधको पुनरावृत्ति हो । डिलेजिटिमाइजेसन’को प्रयास हो, ‘अधिनायकवाद’को संकथन । तसर्थ अनौठो हुने छैन, यदि कुनै अन्तर्राष्ट्रिय शक्तिले केही समयभित्र यस्तै आशयको अभिव्यक्ति दिएमा । किनकि यो संकथनका प्रवक्ता उनीहरूसंँग जोडिएकै छन् । आफ्नो दलिल पुष्टि गर्नका लागि ट्रम्प, मोदी, नितो (मेक्सीकन राष्ट्रपति) आदिको उदाहरण दिएर होस् वा विख्यात नवउदारवादी प्राज्ञहरूको उद्धरण गरेर विश्वासिलो बनाउने शैली प्रयोग गरिएको छ । र कतै भनिएको छ, माक्र्सवाद– गरिब उत्पादन गर्ने, यान्त्रिक, समय सकिएको आदि त कतै सरकारले देखाउन खोजेको समृद्धिको आशाप्रति खनिँदैछ । माक्र्सवाद नबुझी बनाइएका यस्ता धारणाका सवालमा अलग्गै बहस गरौंला । समृद्धि जनपक्षीय भयो कि भएन, बहस हुनुपर्छ । तर सधंैको अस्थिरता, अराजकता र निराशाबाट मुक्त गरेर आम नागरिकलाई आशा देखाउनु पनि त सरकारको जिम्मेवारी हो । यसर्थ पनि जनतामा देखाएको आशालाई ‘अधिनायकवाद’को त्रास फैलाएर ‘डिलेजिटिमाइज’ गर्ने प्रयास गलत हो । जुन निराशाको सामाजिक मनोविज्ञान निर्माण गरेर सरकार विरोधी– नवउदारवादी अनुपालन र सहमति वा आमधारणा बनाउने लक्ष्यले अभिप्रेरित छ । जुन सामाजिक–सांस्कृतिक सत्ताले चलाएको शक्ति संघर्षको प्रकटीकरण हो ।


के तुलनायोग्य छन् त ट्रम्प, मोदी, नितो लगायतका दृष्टान्तहरू ? पक्कै छैनन् । मानवशास्त्र/समाजशास्त्र, राजनीतिशास्त्रको आधारभूत ज्ञान हुनेहरूले पनि बुझ्ने कुरा हो, फरक इतिहास, संस्कृति, भुराजनीतिक अवस्थिति, आर्थिक–सामारिक सामथ्र्य रहेका मुलुक र समाज बीचको तुलना सम्भव छैन । अझ विषयका ज्ञाताहरूले त बुझ्नुपर्ने हो, कहींका घटनामा आधारित यस्ता व्याख्यानका नजरबाट नेपाललाई बुझ्ने तुलनाको विधि ज्ञान पद्धतिमा रहेको औपनिवेशिकता हो । त्यसैले यहाँं–उहाँका उदाहरण र उद्धरणका सहारामा पुष्टि गर्न खोजिएको ‘अधिनायकवाद’, उद्देश्यपूर्ण छ । थप तात्त्विक आधारबिना संकथनका भरमा भ्रमको वास्तविकता निर्माण गर्ने प्रयत्न हो, सामाजिक–सांस्कृतिक सत्तामा प्रभुत्व जमाएका बौद्धिकहरूको । यसको संगठित प्रतिवाद आवश्यक छ । जसका लागि सरकारले रूपान्तरणकारी कार्यभार पुरा गरेर आफूलाई सावित गर्नुपर्छ भने आलोचनात्मक चेत भएको पङ्क्तिले बहसमा श्रेष्ठता सावित गर्नुपर्छ, सामाजिक–सांस्कृतिक सत्तामा रहेको नवउदारवादी एकाधिकार तोड्न । तर मौलाउँदै गरेको आलोचना सुन्नै नचाहने, जवाफदेही र पारदर्शी बन्नै नखोज्ने, दाइजोमा सम्पत्ति देखाउने जस्ता प्रवृत्तिहरूले स्वेच्छाचारिता, रुढिवाद र भ्रष्टाचारी विगतको बदलिएको अनुहारमात्र बन्ने पो हो कि भन्ने खतरा भने कम छैन । त्यसबाट मुक्त हुनसकेन भने यो सरकार नत रूपान्तरणकारी कार्यभार पुरा गर्न सक्छ, न यो शक्ति संघर्षमा आफूलाई खरो उतार्न सक्छ । अझ सामाजिक–सांस्कृतिक सत्ताले चलाएको वैचारिक संघर्षमा त झन् संगठित आलोचनात्मक पहलकदमीको आवश्यकता पर्छ । जुन अन्धसमर्थनको मानसिकताबाट सम्भव छैन ।


नवउदारवादी सामाजिक–सांस्कृतिक सत्ताले ‘अधिनायकवाद’को संकथन निर्माण गर्न सफल भयो भने यो सरकार घेराबन्दीमा पर्छ । अनि रूपान्तरणको युगिन जिम्मेवारी पुरा गर्न सक्दैन । अनि अनुपालन र सहमतिको सहारामा नवउदारवादी हैकम फेरि बौराउनेछ । त्यो अवस्थामा केवल यो सरकारमात्र असफल बन्दैन, सिंगो नेपाली समाजवादी आन्दोलन नै खतरामा पर्छ । त्यसैले आलोचना र बहसलाई नियन्त्रण गर्ने होइन, सामना गर्न सक्नुपर्छ, त्यो चाहे पार्टीभित्र होस् वा बाहिर । यो बर्चस्व–प्रतिबर्चस्वको शक्ति संघर्षमा जनतालाई सुसूचित गर्न र समाजवादी र प्रगतिशीलहरूको मोर्चा बलियो बनाउन पनि खुल्ला बहस जरुरी छ ।

विविधा

बेरुजु, भ्रष्टाचार र वित्तीय अनुशासन

सन्दर्भ : महालेखा परीक्षकको हीरक जयन्ती
बेरुजु बढ्दै जाँदा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रामा वृद्धि हुँदै जान्छ भने कम हुँदा भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुनगई समग्र आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्छ ।
- महेश पौड्याल

भ्रष्टाचार र बेरुजु नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्दै लोकतन्त्रका लाभ जनतासम्म पुर्‍याउने वातावरणको सिर्जना गर्न महालेखा परीक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ । महालेखा परीक्षक ५९ वर्षदेखि यो कार्यमा निरन्तर छ र शुक्रबारदेखि ६० वर्षमा प्रवेशमा गरेको छ । यो अवधि आइपुग्दासम्म महालेखा परीक्षक ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । जसमा सरकारी रकममा कारबाही गरी टुङ्गो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यसमा बजेट अनुशासन, खरिद व्यवस्थापन, आयोजना व्यवस्थापन, जिम्मेवारी र जवाफदेहिता, आन्तरिक नियन्त्रण, राजस्व प्रशासन, संस्थान सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या उजागरमात्र गरेको छैन कि सुधारका लागि निकायका निम्ति ध्यानाकर्षण समेत गराएको छ ।


महालेखा परीक्षकले केही गम्भीर र भ्रष्टाचारजन्य आर्थिक क्रियाकलाप हुनसक्ने क्षेत्र पहिचान गरी सरोकारवाला निकायबाट थप छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । जसमा मुख्यगरी वर्षान्तको खर्च, स्रोत सुनिश्चितताको आधारमा भएको खर्च, मूल्य अभिवृद्धि करको संकलन र फिर्ताको व्यवस्था, न्यून भन्सार विजकीकरण, सुन तथा बहुमूल्य धातुको अवैध र गैर–बैंकिङ च्यानलमार्फत हुने कारोबार, राजस्व संकलनमा चुहावट छन् । त्यस अतिरिक्त सार्वजनिक खर्चमा भएको अनियमितता, सार्वजनिक सम्पत्तिको अतिक्रमण, वस्तु वा सेवामा एकाधिकार, सार्वजनिक निर्माण र सेवा प्रवाहको गुणस्तर लगायतका विषय समावेश छन् ।


महालेखा परीक्षकले लेखापरीक्षण मार्फत सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन र कानुन पालनाको स्थिति, आर्थिक अनुशासन, राजस्व चुहावटमा नियन्त्रण, सार्वजनिक खर्चको अधिकतम उपयोग, सेवा प्रभावमा सुधार, जवाफदेहिता र जिम्मेवारी लगायतका विषयहरूको मूल्यांकन र विश्लेषण गरी आलोचनासहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यद्यपि प्रत्येक वर्ष प्रतिवेदनमार्फत कमी–कमजोरी उजागर गरेर सुझावसहितको प्रतिवेदन कार्यान्वयन नभएसम्म उद्देश्य हासिल हुन सक्दैन । लेखापरीक्षणबाट उद्घाटित मुद्दाहरू कार्यान्वयन गरिनुपर्छ । संविधान सबै सरकारी कार्यालय, स्थानीय तथा कानुनद्वारा तोकिएका अन्य संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी महालेखा परीक्षकबाट लेखापरीक्षण हुने संवैधानिक व्यवस्था छ ।


महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक निकायको लेखापरीक्षण सम्पन्न गरेपश्चात् प्रारम्भिक, अन्तिम र वाषर््िाक गरी तीन प्रकारका प्रतिवेदन जारी गरिन्छ । जसमा प्रारम्भिक र अन्तिम प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकाय समक्ष पेस गरिन्छ भने वाषर््िाक प्रतिवेदन संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष पेस हुने व्यवस्था छ । राष्ट्रपति समक्ष पेस भएको वार्षिक प्रतिवेदनउपर संसद्को सार्वजनिक लेखा समितिमा छलफल भई समितिबाट आवश्यक निर्देशन दिनसक्ने व्यवस्था छ । जस अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन/नतिजामार्फत संघीय संसद्ले आफूद्वारा स्वीकृत नीति तथा कार्यक्रमको कार्यान्वयन र सरकारका समग्र क्रियाकलापबारे संसदीय निगरानी गर्ने संसदीय अभ्यास रहेको छ ।


लेखापरीक्षणबाट प्रचलित कानुन विपरीत खर्च गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको जस्ता व्यहोरालाई बेरुजुको रूपमा औंल्याउने गरेकोमा हाल यसको सैद्धान्तिक अवधारणा र क्षेत्रमा व्यापक विस्तार भएको छ । यसका अलावा लेखापरीक्षणको नतिजा र यसमार्फत सुधारको अपेक्षामा समेत सरोकारवालाको चासो बढ्दै गएको देखिन्छ । परिवर्तित अवधारणा अनुसार लेखापरीक्षण मार्फत सार्वजनिक सेवा प्रवाह, सार्वजनिक स्रोत संकलन र उपयोगको अवस्था, आन्तरिक नियन्त्रण, जिम्मेवारी र जवाफदेहिता, वित्तीय अनुशासन लगायत सार्वजनिक निकायबाट सम्पादित समग्र कार्यको मूल्यांकन र विश्लेषण गरी प्रतिवेदनमार्फत सुधारका उपायहरूसमेत सुझाउने गरिन्छ । प्रचलित कानुन बमोजिम बेरुजु फस्र्योट गरी प्राप्त सुझावको कार्यान्वयन गर्ने दायित्व सम्बन्धित निकायका जिम्मेवार पदाधिकारी र लेखाउत्तरदायी अधिकृतमा रहने गर्छ ।


भ्रष्टाचार भ्रष्टाचार मूलत: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले आफ्नो निजी लाभ वा स्वार्थका लागि गर्ने पदको दुरुपयोग हो । बेरुजु र भ्रष्टाचारबीच प्रत्यक्ष र सकारात्मक सम्बन्ध रहेको हुन्छ । बेरुजु बढ्दै जाँदा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रामा वृद्धि हुँदै जान्छ भने कम हुँदा भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुनगई समग्र आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्छ । लेखापरीक्षणका क्रममा कायम भएका बेरुजु सम्बन्धी सबै रकम कलम भ्रष्टाचार होइनन् । बेरुजुमा नियम कानुन विपरीतका खर्च, रकम कलम नमिलेका, बढी भुक्तानी भएका, असुल गर्नुपर्ने, राजस्व अपचलन भएका, प्रमाण कागजात नभएका, पेस्की बाँकी, सोधभर्ना प्राप्त हुन बाँकी लगायतका व्यहोराहरू समावेश गरिन्छ ।


लेखापरीक्षणका नतिजामार्फत गम्भीर प्रकृतिका भ्रष्टाचारजन्य क्षेत्रको पहिचान गरी जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन र वित्तीय अनुशासन कायम गर्न सम्बन्धित तालुक निकायलाई सहयोग पुग्छ भने बेरुजुको प्रकृति र गम्भीरताका आधारमा थप छानबिन गर्न तथा अनुसन्धानको दायरा र क्षेत्र पहिचान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सहयोग पुग्ने देखिन्छ । आयोगको प्रभावकारी भूमिकाले आर्थिक अपचलन र बेरुजु न्यूनीकरणमा सहयोग पुर्‍याउँछ । मुलुकमा वित्तीय अनुशासन कायम गरी सार्वजनिक स्रोतको चुहावटलाई न्यूनीकरण र सार्वजनिक खर्चको अधिकतम उपयोग गरी मुद्राको सार्थकता हासिल गर्ने कार्यमा महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्त्वपूर्ण रहेको छ । त्यसैले यी दुई संवैधानिक निकायबीच सूचना आदान–प्रदान र प्रभावकारी कार्यगत सम्बन्धका लागि एक स्थायी संयन्त्रको विकास गर्न आवश्यक देखिन्छ । यसका अलावा भ्रष्टाचार र अनियमित कार्य नियन्त्रण गर्न सदाचार नीतिको अवलम्बन गर्दै आर्थिक अनुशासन कायम गर्ने विषयमा राष्ट्रिय सदाचार प्रणालीसँग सम्बद्ध निकायको सामूहिक जिम्मेवारी तथा लक्ष्य बनाउनुपर्ने देखिन्छ ।

 

वित्तीय अनुशासन
सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता, स्वच्छता र मुद्राको सार्थकता हासिल गरी सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गरी विकास र अमनचैनको वातावरण सिर्जना गर्न राज्यको सम्पूर्ण निकायको एकीकृत र समन्वयात्मक प्रयास हुनुपर्छ । फलस्वरूप परिवर्तित संघीय स्वरूपको दिगोपना र समृद्धि हासिलको लक्ष्य प्राप्त गर्न मार्गप्रशस्त हुने देखिन्छ ।


सरकारले सार्वजनिक खर्च कटौती गरी मितव्ययिता र वित्तीय अनुशासन कायम गर्न २०७५ वैशाख २६ मा ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता सम्बन्धी निर्देशिका, २०७५’ जारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले समेत वित्तीय अनुशासनका विषयलाई विशेष जोड दिएको छ । राजस्व संकलनमा कडाइ तथा कर प्रशासनमा सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था खारेज, निर्वाचन क्षेत्र विकास कार्यक्रममा कडाइ, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, मोबिलाइजेसन पेस्की र खरिदका कतिपय प्रावधानहरूमा परिवर्तन लगायतका विषयलाई बजेटले प्राथमिकता दिएको छ । यद्यपि बजेटमार्फत वित्तीय अनुशासन कायम गर्न यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्छ । जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन लामो समयदेखि छलफलमा रहेको वित्तीय जवाफदेहिता सम्बन्धी कानुनको तर्जुमा गरी त्यसको कार्यान्वयनमा ल्याउनुपर्छ । त्यसैगरी सरकारका समग्र कार्यप्रक्रिया र कार्यक्रम कार्यान्वयनका सम्बन्धमा संसदीय निगरानीका लागि तोकिए बमोजिम सार्वजनिक लेखा समिति गठन गरी यसको क्षमता र प्रभावकारिता वृद्धि गर्न ध्यान दिनुपर्छ ।


लेखापरीक्षणको विश्वसनीयता कायम गर्दै गुणस्तर सुधारमा सुधार हुन आवश्यक छ । यसै सन्दर्भमा वर्तमान महालेखा परीक्षकको नियुक्तिपश्चात् महालेखा परीक्षकको ६ वर्षे कार्ययोजना (२०७४–२०८०) कार्यान्वयनमा ल्याइएको छ । जसमा संगठनात्मक व्यवस्था र कार्यप्रणाली सुधार, नीतिगत तथा कानुनी सुधार, लेखापरीक्षण प्रक्रियामा सुधार, लेखापरीक्षणको प्रभावकारिता र गुणस्तर सुधार, वित्तीय अनुशासन तथा जवाफदेहिता र संस्थागत सम्बन्ध र सञ्चारसँग सम्बन्धित ११० क्रियाकलापहरू समावेश समावेश गरिएको छ । हालका महालेखा परीक्षकको १ वर्षे कार्यावधि पुरा भएको छ । उक्त अवधिमा आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई दबाब दिने, तोकिएका पदाधिकारीको बढुवा गर्दा तथा विशेष जिम्मेवारी दिँदा महालेखा परीक्षकको कार्यालयले उपलब्ध गराउने वित्तीय अनुशासन पालनाको स्तर समेतलाई आधार लिने, बेरुजु सिर्जना गर्ने जिम्मेवार पदाधिकारीको नाम र समयावधि प्रतिवेदनमार्फत सार्वजनिक गर्ने, अन्तिम लेखापरीक्षणको गुणस्तर वृद्धि गर्न यसका विभिन्न पक्षलाई सबलीकरण गर्ने जस्ता कार्यहरू सम्पादन गरिएका छन् । यसका अलावा लेखापरीक्षणको पहुँच र प्रभाव अभिवृद्धि गर्न तथा प्रतिवेदन कार्यान्वयनलाई बाध्यकारी बनाउन कानुनी व्यवस्थामा आवश्यक सुधारमा गर्नुपर्छ ।


पौड्याल महालेखा परीक्षकको कार्यालयका निर्देशक हुन् ।

Page 8
समाचार

निर्वस्त्र पारेर कुट्नेलाई ६ महिना कैद

- दुर्गालाल केसी

दाङ– सार्वजनिक स्थलमा महिलालाई निर्वस्त्र बनाएर कुट्ने २ जनालाई जिल्ला प्रशासनले जनही ६ महिना कैद र २५/२५ हजार रुपैयाँ जरिवाना तोकेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले अर्घाखाँचीको शीतगंगा ९ ठाडोखोलाकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका १ भालुबाङका रेखा गुप्ता र अनिता गुप्तालाई बुधबार उक्त सजाय तोकेका हुन् ।


प्रजिअ श्रेष्ठले जनही ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउन पनि आदेश दिएका छन् । गुप्ताद्वयले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेपछि पुनलाई गत जेठ २५ गते भालुबाङमा कपडा च्यातिदिएर कुटेका थिए । घटनाका दिन प्रहरीले सामान्य झगडा भन्दै मिलापत्र गराएर छाडेको थियो । तर, अपमानजनक तरिकाले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई घटनाको २ दिनपछि पक्राउ गरेको हो ।


पुन गत जेठ २५ गते भालुबाङमा रहेको जग्गा हेर्न अर्घाखाँचीबाट आएकी थिइन् । सधियार गुप्ता परिवारले केही दिअघि पुनकी दिदीको जग्गा किनेको थियो । छेउमा रहेको अर्को जग्गा पनि किन्ने योजनामा गुप्ता परिवार थियो । ५ लाखभन्दा बढी मूल्य पर्ने ७ धुर जग्गा सधियारद्वयले ५० हजारमा बिक्री गर्न पुनलाई दबाब दिएका थिए । पुनले दिदीको जग्गा पनि सस्तोमा किनेको र अहिले आफूलाई पनि कम मूल्यमा बिक्री गर्न दबाब दिएको भनेपछि भनाभन भयो । गुप्ताद्वयले साँधमै रहेको जग्गा बेच्नैपर्ने दबाब दिइरहे । पुन जग्गा नबेच्ने अडानमा रहिन् । त्यसपछि कुटपिट गरेर कायल पार्ने र किनेरै छोड्ने योजनामा गुप्ता परिवार पुग्यो । केहीबेर जग्गा भएकै स्थानमा कुटपिट गरे । पुन भागेपछि लखेट्दै निर्माणाधीन बसपार्कमा छोपेर थप कुटपिट भयो । मुडकी र लात्तीले निरन्तर कुटे । कुटाइकै क्रममा पुनको कुर्ता च्यातेका थिए । पुनले च्यातिएको कुर्ताले लाज छोप्न खोज्दा पनि तानेर च्यातचुत पारी फालिदिएका थिए ।


सस्तो मूल्यमा जग्गा बिक्री गर्न नमानेपछि लखेट्दै कुटपिट गरेको पीडितले बताएकी छन् । ‘म जग्गा हेर्न आएकी थिएँ । मलाई ५० हजारमा जग्गा दिनुपर्‍यो भने । ५ लाखमा नदिएको जग्गा ५० हजारमा कसरी दिनु भनेर मैले अस्वीकार गरेँ,’ पुनले भनिन्, ‘हामीले भनेको नमान्ने ? हाम्रो छेउमा पर्ने जग्गा बेच्नैपर्छ भनेर कुट्न थाले । म भागेर बच्न खोजेँ । तैपनि, भेटाएर कुटे, कपडा च्यातिदिए । मेरो सार्वजनिक बेइज्जत गरे ।’ दोषीलाई कारबाहीको आदेश भएपछि न्यायको महसुस भएको पीडितले बताइन् ।

समाचार

समिति गठन कार्यसूचीबाटै हटाइयो

- राजेश मिश्र

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा रहने सदस्यहरूको नाम नदिएपछि बिहीबारको राष्ट्रिय सभा बैठक समिति गठनसम्बन्धी कार्यसूचीमै प्रवेश गर्न सकेन । कार्यसूचीको पहिलो नम्बरमै समितिका सदस्यको मनोनयनको विषय राखिएको थियो । तर, कांग्रेसको असहमतिका कारण अध्यक्षले कार्यसूचीबाट उक्त विषय नै हटाउन लगाए । राष्ट्रिय सभामा ४ वटा विषयगत समिति गठन गर्नुपर्नेछ । जेठ २७ मा राष्ट्रिय सभा नियमावली पारित भएयता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति गठनका लागि प्रयास गर्दै आएका छन् । कांग्रेसले आफूले पाउने समितिको संख्या स्पष्ट नभएसम्म सदस्यको नाम नदिने अडान लिएको छ ।


बिहीबार पनि राष्ट्रिय सभामा कांग्रेसका नेताहरूले समिति गठनमा प्रतिपक्षीको सम्मानजनक उपस्थितिको स्पष्टता नभएसम्म नाम दिन नसकिने अडान लिए । सत्तारूढ दल नेकपाका नेता दीनानाथ शर्माले कांग्रेसले सदस्यको नाम दिन आनाकानी गरेकै कारण समिति गठनमा ढिलाई भइरहेको बताए । ‘राष्ट्रिय सभा अध्यक्ष र दलीय रूपमा हामीले पनि प्रयास गर्‍यौं । तर, कांग्रेसले कतिवटा समितिको नेतृत्व पाउने भन्ने विषय स्पष्ट नभएसम्म नाम दिन नसकिने अडान राख्यो,’ उनले भने, ‘समिति गठनको अवरोध हटाउन प्रधानमन्त्री र कांग्रेसका सभापतिबीच पनि कुरा भइरहेको छ ।’


सत्तारूढ दलले प्रतिनिधिसभा, राष्ट्रिय सभा र संयुक्त गरी बन्ने १६ वटा संसदीय समितिमध्ये सार्वजनिक लेखा समितिको नेतृत्व मात्रै प्रतिपक्षी दललाई दिन सकिने मनसाय राखेको छ । कांग्रेसले भने संघीय संसदमा रहेको २३ प्रतिशतको आफ्नो उपस्थितिअनुसारै समितिको नेतृत्वमा भागबन्डा हुनुपर्ने भन्दै आएको छ । राष्ट्रिय सभामा कांग्रेसका नेता सुरेन्द्र पाण्डेले समिति गठनका सन्दर्भमा प्रतिपक्षी दललाई पनि साथै लिएर अघि बढ्ने पहलकदमी सरकारका तर्फबाट नदेखिएको आरोप लगाए । ‘संसदभत्रको उपस्थितिअनुसार प्रतिपक्षीलाई समितिको नेतृत्व र स्थान दिइनुपर्छ भन्ने हाम्रो अडान यथावत् राखेका छौंं,’ उनले भने, ‘तर, सरकारका तर्फबाट त्यस सन्दर्भमा कुनै पहलकदमी नहुँदा ढिलाइ भएको हो ।’


चीन भ्रमणबारे जानकारी
राष्ट्रिय सभाको बिहीबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणबारे जानकारी गराएका थिए । उनले चीन भ्रमणका क्रममा महत्त्वपूर्ण सहमति र सम्झौताहरू भएको बताए । रेल्वे सम्झौता, ऊर्जा पूर्वाधार, रसुवा मितेरी पुल निर्माणजस्ता दीर्घकालीन महत्त्वका सम्झौता भएको उनले उल्लेख गरे । त्यस्तै, कानुनमन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न तयार पारिएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

Page 9
विश्वकप अपडेट

कोलम्बियासँगै जापानको नकआउट यात्रा

- कान्तिपुर संवाददाता
नकआउट चरणका लागि छनोट भएपछि जापानी टोलीका खेलाडी । तस्बिर : रोयटर्स

सामरा, रुस (एएफपी)– बार्सिलोनाका येरी मिनाको सशक्त हेडर गोलसँगै कोलम्बिया समूह ‘एच’ को प्रतिद्वन्द्वी सेनेगललाई १–० ले हराएर बिहीबार विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अनुशासन तथ्यांकमा जापानसँग पछाडि परेपछि सेनेगल भने समूह चरणबाटै बाहिरियो ।


यस समूहबाट कोलम्बिया पहिलो र जापान दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरे । अब उनीहरूले बेल्जियम वा इंग्ल्यान्डविरुद्ध खेल्नेछन् । चार वर्षअघि ब्राजिलमा क्वाटरफाइनल पुगेको दक्षिण अमेरिकी टिम कोलम्बियाको यसपालि समूह चरणबाटै बाहिरिने डर बढेको थियो । तर निराशाजनक पहिलो हाफपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा कोलम्बिया विश्वकपको अन्तिम १६ मा पुगेको हो । कर्नरमा पाएको बलमा खेल सकिन १३ मिनेटअघि मिनाले हेडद्वारा प्रहार गरेर बललाई खादिम एन्डिययेको गोलपोस्ट जाली चुमाएका थिए । पोल्यान्डले जापानमाथि १–० को सान्त्वना जित पार्‍यो । त्यसले जापान र सेनेगलको समान ४–४ अंक भयो । तर ६ पहेँलो कार्ड पाएकाले सेनेगल निराशाजनक रूपमा प्रतियोगिताबाट बाहिरियो । जापानले चार पहेँलो कार्ड पाएको थियो ।


यसअघि पोल्यान्डमाथि ३–० को जित निकालेको जोसे पेकरम्यानको टिमलाई सामरामा भाग्यले पनि साथ दियो । जुआन क्विन्टेरो, हामेस रोड्रिग्वेज र जुआन काड्राडोले फरवार्ड राडामेल फाल्काओलाई साथ दिएका थिए । रमाइलो रहेको पहिलो हाफको अन्त्यपछि पेकरम्यान चोटका कारण रोड्रिग्वेजलाई परिवर्तन गरेर लुइस मुरियललाई मैदान पठाउन बाध्य भएका थिए । त्यसपछि सेनेगलले आक्रामक खेलमा प्रतिभा देखाएको थियो तर डेविड ओस्पिनालाई चुनौती दिएर गोल गर्न असफल भयो । पोल्यान्डविरुद्ध प्रभावशाली रहेका युभेन्ट्सका काड्राडोले सेनेगलसँग भने खासै केही गर्न सकेनन् । काड्राडोले मध्यक्षेत्रमा गुमाएको बल केइटा बाल्डेले साडियो मानेलाई दिएका थिए । तर लिभरपुलका फरवार्डले डिफेन्डर डेविड्सन सान्चेजको चुनौती पार गर्न सकेन ।

 

पोल्यान्डको सान्त्वना जित
भोल्गोग्राडमा ‘ब्लु सामुराई’ र पोल्यान्डबीच अन्तिम १० मिनेटको खेल ट्रेनिङजस्तै देखिएको थियो । त्यसमा जान बेडनारेकले गोल गरे ।


जानले ६० औं मिनेटमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको पोल्यान्डलाई अग्रता दिलाएका थिए । थोरै पहेँलो कार्ड पाएकाले समूह उपविजेताका रूपमा नकआउटमा जापानको भाग्य खुलेको हो । उसले अन्तिम १० मिनेटमा थप पहेँलो कार्ड नबेहोर्नका लागि खेलेजस्तो देखिएको थियो ।


जापानी प्रशिक्षक अकिरा निसिनोले ६ खेलाडी परिवर्तन गरेर सिन्जी ओकाजाकी र योसिनोरी मुतोलाई विश्वकप डेब्यूमै पहिलो रोजाइमै अग्रपंक्तिमा मौका दिएका थिए । ३६ डिग्री सेल्सियसको तापक्रममा पहिलो आक्रमण १२ औं मिनेटमा बुनिएको थियो ।


सेनेगलविरुद्ध २–२ मा टुंगिएको खेलमा बिर्सनलायक प्रदर्शन गरेर पनि गोलकिपर इजी कावासिमाले निरन्तर अवसर पाएका थिए । उनले पहिलो हाफमा केही उत्कृष्ट प्रदर्शन गर्दै निसिनोको विश्वास पूरा गरेका थिए ।

 

अन्तिम १६ का प्रतिस्पर्धी

फ्रान्सविरुद्ध अर्जेन्टिना, जुन ३०
उरुग्वेविरुद्ध पोर्चुगल, जुन ३०
स्पेनविरुद्ध रुस, जुलाई १
क्रोएसियाविरुद्ध डेनमार्क,जुलाई १
ब्राजिलविरुद्ध मेक्सिको, जुलाई २
जापानविरुद्ध इंग्ल्यान्ड वा बेल्जियम, जुलाई २
स्वीडेनविरुद्ध स्वीट्जरल्यान्ड,जुलाई ३
कोलम्बियाविरुद्ध इंग्ल्यान्ड वा बेल्जियम, जुलाई ३

Page 10
विश्वकप अपडेट

पहिलो चरणमै घर फर्केका च्याम्पियन

- कान्तिपुर संवाददाता
मस्कोस्थित भेनुकोभो विमानस्थलबाट घर फर्केने क्रममा रहेका जर्मन टोलीका खेलाडी । तस्बिर : रोयटर्स

कजान (एएफपी)– जर्मनी दोस्रो विश्वकपयता पहिलोपल्ट विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरियो । यो शताब्दीमा डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको यो चौथोपल्ट हो । उरुग्वेले सन् १९३० मा भएको पहिलो संस्करण जितेको थियो । तर उसले १९३४ को संस्करणका लागि इटालीको यात्रा गरेन । त्यसलाई छाडेर विश्वकपको इतिहासमा छैटौंपल्ट डिफेन्डिङ च्याम्पियनको चुनौती पहिलो चरणमै समाप्त भएको हो । पहिलो चरणबाटै बाहिरिएका डिफेन्डिङ च्याम्पियन :

 

१९५० : इटाली
दोस्रो विश्वकपअघि इटालीले लगातार दुईपल्ट विश्वकप जितेको थियो । ब्राजिलमा १९५० मा विश्वकप आयोजना हुँदा टिममा थुप्रै परिवर्तन भइसकेको थियो । मे १९४९ को विमान दुर्घटनामा इटालीका टोरिनोको महान टिमका केही अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएपछि इटालीले एटलान्टिक समुन्द्रबाट डुंगामा यात्रा गर्न अस्वीकार गरेको थियो ।
लामो सामुद्रिक यात्रापछि लयमा नरहेको इटालीले सुरुका दुई खेलमध्ये पहिलो नतिजा स्वीडेनलाई ३–२ ले गुमाएको थियो । त्यसपछि पाराग्वेसँग २–० ले हार्‍यो । स्वीडेन समूह विजेता बन्यो र इटाली घर फर्कियो ।

 

१९६६ : ब्राजिल
पेलेको महान टिम ब्राजिल उत्कृष्ट खेल पस्कँदै अघिल्ला दुई विश्वकपको उपाधि जितेर इंग्ल्यान्ड पुगेको थियो । यो टिमले १९७० को विश्वकप पनि जित्न सक्थ्यो तर १९६६ मा विपद् नै पर्‍यो ।


पेले र गारिन्चाको गोलसँगै ब्राजिलले पहिलो खेलमा एभरटनको मैदान गुडिसन पार्कमा बुल्गेरियालाई २–० ले हरायो । तर बुल्गेरियाले खराब व्यवहार गर्‍यो र पेलेले अर्को खेल छाड्न बाध्य भयो । पेले मैदानबाहिरै भएको खेल हंगेरीले ३–१ ले जितेको थियो ।


उनी समूह चरणबाट माथि उक्लिनका लागि निर्णायक खेलमा युसेबियोको टिम पोर्चुगलविरुद्धको खेलमा फर्किए । तर उनी फेरि अर्को डरलाग्दो टयाकलको सिकार भए । उनी मैदान छाड्न बाध्य बनाइएको खेलमा ३–१ ले हारेसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरियो ।

 

२००२ : फ्रान्स
फ्रान्स घरेलु भूमिमा १९९८ मा भएको विश्वकप र युरोपियन च्याम्पियनसिप २००० को ट्रफी कब्जा गरेर उत्कृष्ट टिमका रूपमा दक्षिण कोरिया र जापान पुगेको थियो । तर लेस ब्लुजका लागि केही पनि राम्रो भएन । खेलाडीका खुट्टा गोल गर्न असफल भए र उसले खेल नजित्ने पनि सोचिएको थिएन ।


जिनेदिन जिदानलाई चोटको कारण फ्रान्सले सेनेगलसँग १–० ले हारेको पहिलो खेलमा गुमाएको थियो । त्यसपछि फ्रान्सले उरुग्वेसँग गोलरहित बराबरी खेल्यो र त्यसमा थिएरी हेनरीलाई रातो कार्ड देखाइएको थियो । अन्तिम खेलमा जिदान टिममा फर्किए तर उनले डेनमार्कविरुद्ध २–० को हार टार्न सकेनन् । त्यसैले फ्रान्स उपाधि रक्षाको अभियानमा सबैभन्दा खराब नतिजा लिएर घर फर्कियो ।

 

२०१० : इटाली
जादुयी रूपमा इटालीले २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो । त्यसपछि ‘क्याल्सियोपोली स्क्यान्डल’ का कारण अजुरीको घरेलु फुटबल प्रभावित भयो । त्यसैले हुनसक्छ, २०१० मा दक्षिण अफ्रिकाको यात्रा इटालीका लागि वास्तवमै खराब रह्यो ।


मार्सेलो लिप्पीको टिममा जियानलुइजी बुफोन र फाबियो कानाभारोजस्ता भेट्रान खेलाडी बेन्चमा रहे पनि समूह चरणमा जितको भोक भएजस्तो देखिएन । उसले कुनै पनि खेल जित्न पनि सकेन । पाराग्वे र न्युजिल्यान्डविरुद्ध पछाडि परेको स्थितिमा सुधार गरेर बराबरी गरे पनि इटालीको भाग्य स्लोभाकियाविरुद्ध ३–२ को लज्जास्पद हारसँगै समाप्त भयो ।

 

२०१४ : स्पेन
च्याम्पियन टिम फेरि पनि चार वर्षअघि ब्राजिलमा स्तब्ध भयो । सबै किसिमबाट रोकिने त्यो टिम बन्यो स्पेन । भिसेन्ट डेल बस्कको टिम सन् २००८ देखि २०१२ सम्म लगातार तीन उपाधि जितेर दक्षिण अफ्रिका पुगेको थियो । तर त्यसले सफलताका लागि भोकोपन टिमले गुमाएको साबित भयो ।


उपाधि रक्षाको अभियानमा दुई खेलमा लज्जास्पद नतिजा बेहोरेसँगै स्पेन घर फर्किने पक्का भइसकेको थियो । उसले नेदरल्यान्ड्सको हातबाट ५–१ को हार बेहोर्‍यो । स्पेनको असफलतालाई माराकानामा चिलीको २–० को जितले निरन्तरता दियो । त्यसले इकर कासियास, जाभी हर्नान्डेज, जाभी अलोन्सोको युग समाप्त गरिदियो । स्पेनको लागि अन्तिम खेलमा अस्ट्रेलियामाथि ३–० को जित सान्त्वना बन्यो ।

 

२०१८ : जर्मनी
जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै २०१४ मा ब्राजिलमा भएको विश्वकपको ट्रफी चुमेको थियो । त्यसपछि उसको प्रदर्शन राम्रै रह्यो । विश्वकपको तयारीका रूपमा गत वर्ष रुसमा भएको कन्फेडेरेसन्स कप पनि जर्मनीले नै जित्यो । त्यसबेला जर्मनीले जुनियर खेलाडीलाई अवसर दिएको थियो ।


कन्फेडेरेसन्स कप र चार वर्षअघि विश्वकप जित्दाका खेलाडीलाई समिश्रण गरिएको जोचिम लोको टिम रुसमा भने खासै चल्न सकेन । पहिलो खेलमै मेक्सिकोले उसलाई १–० ले स्तब्ध बनाइदियो । टोनी क्रुसको अन्तिम क्षणको गोलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्यो । अन्तिम खेलमा दक्षिण कोरियाले २–० को सिकार बनाएर जर्मनीलाई घर फर्काइदियो । यससँगै मेसुट ओजिल, थोमस मुलर, म्यानुयल नोयरको युग समाप्त भएको छ ।

विश्वकप अपडेट

रोचक तथ्य: पेरुको खुसी

- कान्तिपुर संवाददाता

विश्वकपप्रति आकर्षण नै बेग्लै हुन्छ । त्यसैले त ३६ वर्षपछि विश्वकपमा छनोट हुँदा पेरुमा राष्ट्रिय बिदा दिइएको थियो । सुरुका दुई खेलमा फ्रान्स र डेनमार्कविरुद्ध एक गोलले हारेपछि पेरु समूह चरणबाटै बाहिरिने निश्चित भयो । हारे पनि उसको प्रदर्शन भने राम्रो थियो । दक्षिण अमेरिकी देशले राम्रो प्रदर्शनलाई अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि कायम राख्यो र २–० को जित निकाल्यो । उसले सन् १९७८ यता विश्वकपमा पहिलो जित हात पारेको हो । रुसका ब्ल्याक–सी किनाराको रंगशालामा उपस्थित ४४,०७३ दर्शकमा पेरुबियनकै वर्चस्व थियो । पेरुका कप्तान पाउलो गुइरेरोलाई शक्तिवद्र्धक औषधी प्रयोग गरेकामा विश्वकपअघि प्रतिबन्ध लगाइएको थियो । तर समूहका प्रतिद्वन्द्वी फ्रान्स, डेनमार्क र अस्ट्रेलियाका कप्तानको अनुरोधमा उनलाई विश्वकप खेल्न दिइएको हो । अस्ट्रेलियाविरुद्ध गोल गरेर उनी हिरोका रूपमा स्वदेश फर्किए ।

 

विश्वकप अपडेट

Player to watch: डिएगो गोडिन, उरुग्वे

- कान्तिपुर संवाददाता

उरुग्वेले समूह चरणका तीनै खेलमा विपक्षीलाई गोल गर्न दिएन । ती सबै खेलमा सेन्टर–ब्याक डिएगो गोडिनले उत्कृष्ट प्रदर्शन गरेका थिए । स्पेनी क्लब एट्लेटिको म्याड्रिडका लागि सन् २०१० यता निरन्तर खेलिरहेका उनले विश्वकपको अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि उत्कृष्ट लयलाई निरन्तरता दिने आस गरिएको छ ।

 

विश्वकप अपडेट

Player to watch: पेपे, पोर्चुगल

- कान्तिपुर संवाददाता

स्पेनी महारथी रियल म्याड्रिडबाट एक दशक खेलेपछि गत वर्ष टर्किस क्लब बेसिक्टास पुगेका ३५ बर्षीय पेपेले सन् २००७ यता पोर्चुगलका लागि सेन्टर–ब्याकमा सशक्त खेल प्रदर्शन गरिरहेका छन् । दुई वर्षअघि पोर्चुगललाई युरोपियन च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका उनले यो विश्वकपमा पनि गतिलो प्रदर्शन गरिरहेका छन् ।

 

विश्वकप अपडेट

‘अर्जेन्टिना र बार्सिलोनाका मेसी फरक हुन्’

- कान्तिपुर संवाददाता

लियोनल मेसी

इस्ट्रा (रोयटर्स)– अर्जेन्टिनालाई विश्वकप अन्तिम १६ मा उछिन्ने फ्रान्सको आशा लियोनल मेसीमा भर पर्न सक्छ । तर मेसीलाई बार्सिलोनाबाट खेल्दा जस्तो साथ राष्ट्रिय टोलीमा नरहने उनकै क्लबका सहपाठी सामुइल उम्टिटीले बिहीबार बताएका छन् । 

 

फ्रान्सका सेन्टर ब्याक उम्टिटी पछिल्लो दुई सिजन मेसीको सहयात्री रहँदैआएका छन् बार्सिलोनामा । तर शनिबार फ्रान्स र अर्जेन्टिनाबीच निकै प्रतीक्षित खेल हुँदा मेसीको पासमा उम्टिटीले बाधक बन्ने प्रयास गर्नेछन् ।


डेनमार्कसँगको फ्रान्सको समूह चरणको अन्तिम खेलमा आराम गर्न दिइएका उम्टिटीले कजान एरिनामा अर्जेन्टिनासँग पहिलो रोजाइमा खेल्ने सम्भावना छ । ‘मैले उसलाई प्रत्येक दिन हेरेको छु । उनलाई रोक्नु धेरै कठिन छ । उनीसँग असाधारण क्षमता छ,’ उम्टिटीले भने, ‘हामी उनलाई रोक्न खोज्ने छौं । उनी अर्जेन्टिनामा एक्लो स्ट्राइकर होइनन्, उनीहरूसँग अरु पनि छन् ।’
बार्सिलोनामा मेसीसँगै लुइस स्वारेज रहने गरेका छन् । अर्जेन्टिनामा भने सबै मेसीप्रति भर परेको छ । स्ट्राइकर गोन्जालो हिगुइनले अर्जेन्टिनाबाट पछिल्ला ८ खेलमा कुनै गोल गरेका छैनन् । अर्जेन्टिनाको सबै आशा मेसीमा देखिन्छ । सम्भवत: उनी विश्वकपमा अन्तिमपल्ट पनि खेलिरहेका छन् ।

सामुइल उम्टिटी


‘बार्सिलोनाका मेसीभन्दा अर्जेन्टिनाका मेसी फरक छन्,’ उम्टिटीले भने, ‘उनीसँग यहाँ खेल्दा त्यही खेलाडी छैनन् जुन बार्सिलोनामा थिए, त्यसले उनको खेल फरक बनाएको छ । तर उनले धेरैपल्ट अर्जेन्टिनालाई उकासेका छन् । अर्जेन्टिना उनीमा टिकेको छ । तर उनी सँधैं एकरुपले त्यस्तो गरिरहन सक्दैनन् ।’


उम्टिटीसँगै रिएल म्याड्रिडका राफेल भारोनले फ्रान्सको रक्षापंक्ति सम्हाल्ने छन् । त्यसैले मेसीलाई रोक्ने जिम्मेवारी उम्टिटीलाई आउन सक्छ । समूह चरणको पहिलो दुई खेलमा मेसीको प्रदर्शन खासै देखिएको थिएन । तर मेसीकै पहिलो दुई गोलप्रेरित अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गरी नकआउट चरणमा पुगेको थियो ।


‘उम्टिटीलाई कुनै दबाब छैन, उनी शान्त छन्,’ फ्रान्सका मिडफिल्डर थोमस लेमारले भने ।

विश्वकप अपडेट

आजको तस्बिर

- कान्तिपुर संवाददाता
पोल्यान्डसँग पराजय हुनुका बाबजुत जापान विश्वकपको दोस्रो चरणमा छनोट भएपछि जापानी समर्थकको उत्साह । खेलमा जापान १–० ले हारेको थियो ।तस्बिर : रोयटर्स

.

 

Page 11
विश्वकप अपडेट

ब्राजिलले मेक्सिकोसँग खेल्ने

- कान्तिपुर संवाददाता
पाउलिन्होले गोल गरेपछि ब्राजिली खेलाडीको खुसी ।

मस्को (रोयटर्स)– पाउलिन्हो र थिएगो सिल्भाको गोलमा ब्राजिलले बुधबार सर्बियालाई २–० ले पराजित गरी विश्वकपको प्रिक्वाटरफाइनलमा मेक्सिकोविरुद्धको भेट तय गरेको छ । यस विजय तथा स्विट्जरल्यान्ड र कोस्टारिका बीचको खेल २–२ को बराबरीमा टुंगिएपछि ब्राजिल समूह ‘ई’ को विजेता बन्ने तय भएको हो ।


ब्राजिलले ७ अंक बटुल्यो र टोलीको स्वीट्जरल्यान्डभन्दा २ अंक बढी रहयो । स्वीट्जरल्यान्डले अन्तिम १६ को खेलमा स्वीडेनको सामना गर्नेछ । ३ अंक बोकेका सर्बिया र १ अंक बोकेका कोस्टारिका समूह चरणबाटै बाहिरिए ।


शारीरिक रूपमा केही अग्ला देखिएका सर्बियाली टोलीविरूद्ध ब्राजिललाई सुरुमा केही अप्ठेरो परेको थियो । तर फिलिप कोटिन्होको सुन्दर पासमा पाउलिन्होले ३६ औं मिनेटमा गोलको खाता खोलेपछि ब्राजिल खेलमा हाबी हुनपुग्यो । ६८ औं मिनेटमा नेयमरको कर्नरमा सिल्भाले हेडबाट दोस्रो गोल गरे ।


‘खेलका निश्चित समयमा हाम्रा केही कठिनाइहरू थिए, हामीले आज त्यही भोग्नुपर्‍यो । तर हामीमाथि आक्रामण हुँदा त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने थाहा थियो,’ सिल्भाले भने, ‘यो विश्वकप हो र सबै प्रतिद्वन्द्वीको आफ्नै विशेषता हुन्छ । जब हामी दबाबमा थियौं कसरी खेलमा केन्द्रित हुनुपर्छ भन्ने थाहा थियो ।’


यसअघिका खेलमा भने ब्राजिलको खेल यसरी खुलेको थिएन । टोलीलाई स्वीट्जरल्यान्डले १–१ को बराबरीमा रोकेको थियो । कोस्टारिकालाई पराजित गर्न भने ब्राजिलले इन्ज्युरी टाइमको दुई गोलको सहायता लिनुपरेको थियो । बुधबार पनि ब्राजिलको खेल पहिलो हाफमा लगभग त्यस्तै देखिएको थियो ।


कोउटिन्होले आफ्नो मध्यभागबाटै दिएको सानदार लफ्टेड पासले खेलको नक्सा परिवर्तन गर्‍यो । बलका लागि अगाडि बढेका पाउलिन्होले गोलरक्षक भ्लादिमिर स्टोजकोभिकमाथिबाट बललाई गोलको दिशा दिए । ब्राजिलले पछिल्ला १३ खेलमा ३ गोलमात्र खर्चेको छ र सर्बियाविरुद्ध कमैमात्र टोलीले कमै चुनौती सामना गर्नुपर्‍यो ।

विश्वकप अपडेट

मेक्सिको–कोरिया ‘दाजुभाइ’

- कान्तिपुर संवाददाता

मेक्सिकन सिटी (बीबीसी)– एसियाली टिम दक्षिण कोरियाले विश्व फुटबलको ठूलै आश्चर्यको रूपमा २०१४ को विश्वविजेता जर्मनीलाई २–० ले बुधबार हराएको थियो । त्यसमा अन्त्यतिरका गोलले मेक्सिकोलाई समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग हारेर पनि विश्वकपको नकआउट चरणमा पुर्‍याइदियो ।


मेक्सिकोको अघिल्लो चरण प्रवशेलाई ठूलो संख्यामा मेक्सिको सिटीस्थित दक्षिण कोरियाली दूतवास नजिक भेला भएर खुसीयाली मनाएका थिए । उनीहरूले कोरियनलाई ‘दाजुभाइ’ भन्दै नारा लगाएका थिए । दक्षिण कोरिया–मेक्सिकोको मिसाइएको झण्डा फहराइएको थियो । मित्रता र प्रसंशाका टीटहरू आएका छन् । मेक्सिको समर्थकले के–पप सुन्न पनि थालेको अनलाइनमा पोस्ट गरिएको छ ।


‘धन्यवाद कोरिया, यो कहाँ छ भन्ने पनि थाह छैन तर पनि धन्यवाद, धन्यवाद,’ मेक्सिको सिटीका २२ वर्षीय विद्यार्थी सेसिलिया गोन्जालेजले भने । रुसको विश्वकपको ‘फ्यान पार्क’ रुस, स्वीडेन र मेक्सिकोका समर्थकले आफ्नो अर्को चरणको यात्रासँगै ‘बाईबाई जर्मनी’ भन्दै संयुक्त रूपमा खुसी मनाएका थिए ।


मेक्सिको समूह चरणको अन्तिम खेलमा स्वीडेनको हातबाट ३–० ले हारेको थियो । त्यसैले अब उसले अर्को चरणमा पाँचपल्टको च्याम्पियन मेक्सिकोको सामना गर्नुपर्ने भएको छ । मेक्सिकोको हरियो, सेतो र रातो रङलाई दक्षिण कोरियाली झण्डासँग मिलाएर टीटहरूमा लोकप्रिय बनाइएइको छ । धेरै दक्षिण् कोरियालीले घरबाटै आफ्नो उत्साहलाई इन्टरनेटमार्फत् व्यक्त गरेका छन् । जर्मनी हारेको टीट ट्रेन्डिङमा निरन्तर छ ।


‘म धेरै फुटबललाई वास्ता गर्दिनँ तर जब आफ्नो देश विश्वकपमा जर्मनीलाई पराजित गर्ने पहिलो एसियाली टिम बन्यो । खुसी मनाउनैपर्‍यो,’ एक समर्थकले भने, ‘दक्षिण कोरियाली भएकोमा निकै गर्व गर्छु ।’ दक्षिण एसियाली सामाजिक सञ्जाल प्रयोगकर्ताले गोलकिपर जो ह्योन–वुतर्फ पनि ध्यान दिएका छन् । उनलाई ‘हिरो एउटा देशको मात्र होइन, दुई देशको हो’ भनिएको छ ।

Page 12
विश्वकप अपडेट

कमजोर जर्मनी

विश्वकप विश्लेषण
- नवीन न्यौपाने
नवीन न्यौपाने

विश्वकप २०१८ मा जर्मनी उपाधिको एक प्रबल दाबेदार थियो । त्यसमाथि डिफेन्डिङ च्याम्पियन पनि । तर जोचिम लोको यही टिम लिग चरणको समाप्तिमा घर फर्केको छ । यो धेरै फुटबल प्रशंसकका लागि स्तब्धपूर्ण नतिजा भएको छ । बुधबार राति समूह ‘ई’ मा जर्मनीलाई कुनै पनि स्थितिमा खेल जित्नु थियो । तर मेरो दृष्टिकोणमा टिम जित्ने मनसायले मैदानमा उत्रेकै देखिएन । जर्मनीले दक्षिण कोरियामाथि लगातार आक्रामक त बुन्यो । तर यो आक्रमण विपक्षी टिमको पेनाल्टी एरियाभन्दा मिडफिल्डमा बढी केन्द्रित रह्यो । जर्मनीसँग राम्रा स्ट्राइकरको स्पष्ट कमी देखियो । यसपल्टको विश्वकपबाट जर्मनी बाहिरिनुको कारण ‘ल्याक अफ स्ट्राइकर’ प्रमुख कारण रह्यो । जर्मनीको ‘फिनिसिङ’ वास्तवमै कमजोर देखियो ।


दक्षिण कोरियाका लागि २–० को जित ऐतिहासिक रह्यो । भलै एसियाको यो टिम दोस्रो चरण पुग्न सकेन । लिग चरणको अन्तिम खेलमा प्राप्त जितले उसलाई खुसी तुल्याएको हुनुपर्छ । जर्मनीविरुद्धका उसका दुवै गोल इन्ज्युरी समयमा भए । त्यतिबेला जर्मनीलाई जसरी भए पनि गोल चाहिएको थियो र सबै अगाडि बढेर खेलिरहेका थिए । जर्मन गोलरक्षक म्यानुयल नोयरसमेत अगाडि आएर खेलिरहेका थिए । यस्तोमा दक्षिण कोरियाले काउन्टर आक्रमण रच्न सक्ने स्थिति बन्यो । दक्षिण कोरियाका लागि हाङ मिन–सुनले गरेको दोस्रो गोल ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को नमुना बन्यो ।


समूहको अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हरायो र समूह विजेता बन्न सफल रह्यो । स्वीडेनलाई यो खेल जसरी पनि जित्नु थियो र त्यहीअनुसार खेल्यो पनि । बलमाथि नियन्त्रण राखेर स्वीडेनले लगातार आक्रमण गरिरहेको थियो । गोल निकाल्न सफल पनि रह्यो । मेक्सिकोले छनोट भइसकेको मानसिकताले खेलेको हुनुपर्छ, जबकि त्यस्तो स्थिति थिएन । यसअघिका दुई खेलमा राम्रो गरेको मेक्सिकोले त्यस्तै खेल पस्कन सकेन । यो समूहबाट स्वीडेन र मेक्सिको दोस्रो चरण पुग्नेछन्, जर्मनी अन्तिम स्थानमा हुनेछ भनेर धेरै कमैले मात्र सोचे होलान् । जर्मनीको यो प्रदर्शनले त्यहाँको फुटबललाई धेरै घाटा हुनेछ ।


जित्ने दबाबमा रहेको ब्राजिलले त्यसैअनुसार खेलेर नतिजा निकाल्न सफल रह्यो । ब्राजिल ७ अंकसहित समूहको शीर्षस्थानमा रह्यो । सर्बियाविरुद्ध ब्राजिलले गरेका दुई गोल स्तरीय थिए । त्यसमा ब्राजिलका लागि पाउलिन्होले गरेको पहिलो गोल निकै राम्रो थियो । यो पनि ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को अर्को उदाहरण बनेको छ । स्वीट्जरल्यान्ड यो समूहको दोस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रहयो । उसले कोस्टारिकालाई २–२ को बराबरीमा रोक्यो । स्वीस टोलीले अग्रता लिएर पनि दुवै अवसर गुमाएर दबाबमा आयो ।

खेलकुद

सुनसरीलाई सगरमाथा कप

- कान्तिपुर संवाददाता
तस्बिर: रमेशचन्द्र अधिकारी

धनकुटा (कास)– जिल्लाको चौबिसे गाउ‘पालिकामा प्रदेश स्तरीय ‘प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगितामा सुनसरी च्याम्पियन भएको छ । फाइनलमा सुनसरीले ओखलढुंगामाथि २५–१६, २५–२३, २५–२७, १९–२५, १५–९ को नतिजा निकालेको थियो ।


प्रतियोगितामा प्रदेश १ अन्तर्गत ९ टोलीको सहभागिता रहको सहआयोजक चौबिसे गाउ‘पालिकाका प्रमुख खजिन्द्र राईले जानकारी दिए । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा भएको प्रतियोगिता विजेता सुनसरीले ५० हजार, उपविजेता ओखलढुंगाले ३० र तेस्रो भएको भोजपुरले २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितालाई रारा क्लब चौबिसेको संयोजन, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति धनकुटाको समन्वय रहेको थियो । म्यान अफ द म्याच भोजपुरका सन्जिव कट्टेल भए ।

 

Page 13
समाचार

बाढीले कोदारी राजमार्ग ठप्प

- कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक (कास)– कोदारी राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी खण्डको लार्चामा बाढीले सडक बगाउँदा सवारी आवागमन ठप्प छ । पैदल आउजाउ गर्नसमेत मुस्किल भएको छ । वर्षासँगै बुधबार राति भैरवखुण्ड खोलामा आएको बाढीले सडक बगाएको हो ।


दैनिकजसो भइरहेको वर्षाका कारण राजमार्गका सिरिसे, डाक्लाङ, झिर्पुलगायत दर्जनांै स्थानमा पहिरो जान थालेको छ । नयाँ पुल, मंगलबारेमा पहिरो झर्न थालेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ । बाह्रबिसे–तातोपानी (२६ किमि) खण्ड दैनिक भासिन थालेपछि सुक्खा बन्दरगाह निर्माण गरिरहेका कम्पनी र आयोजनाको एक्साभेटर पहिरो हटाउन तयारी अवस्थामा राखिएका छन् । सडक बगेको स्थानमा बन्दरगाह निर्माणकर्ता कम्पनीकै एक्साभेटर लगाएर डाइभर्सन खोल्ने प्रयास भइरहेको भैरवकुण्ड आयोजनाका पुष्पराज डाँगीले बताए । ‘वर्षा धेरै भएको दिन यस्तै अवरोध भइहाल्छ, सडकको समस्या दोहोरिरहन्छ,’ उनले भने ।


पहिरोले यात्रु बाटैमा अलपत्र पर्ने गरेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए । उनका अनुसार बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जस्तो पहिरो झर्न थालेको छ । पहिरोको जोखिमले स्थानीय त्रासमा छन् ।

समाचार

जिप खस्दा २ बेपत्ता

- कान्तिपुर संवाददाता

म्याग्दी (कास)– सदरमुकाम बेनीतर्फ गइरहेको लु२च २४५४ नम्बरको डबल क्याबिन भएको बोलेरो जिप बिहीबार दिउँसो रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ नजिक नदीमा खस्दा चालक रवि खड्का र सविता परियार बेपत्ता भएका छन् ।

 

समाचार

पुल बगेपछि विद्यालय बन्द

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– बाढीपहिरोले बाटो थुनेपछि काठेखोला–८ कादेशको लेखानी मावि बन्द गरिएको छ । डांग्रेखोला र दोबिल्ला खोलामा बाढीसँगै खसेको पहिरोले सडक र पुल बग्दा सातादेखि पढाइ ठप्प भएको हो ।


उक्त विद्यालयमा १ सय २० विद्यार्थी पढ्छन् । बालबालिका आउन सक्ने अवस्था नभएकाले बर्खे बिदामा कटाउने गरी पढाइ रोकिएको विद्यालयले जनाएको छ । लेखानीबाट कादेश जोड्ने सडक दुई ठाउँ भासिएको छ । रूख ढलेका छन् । ठाउँठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । स्थानीय बासिन्दा जंगलको बाटो घुमेर सास्ती बेहोर्न बाध्य छन् । झन्डै एक किमिमाथिको काफलठुटादेखि खसेको पहिरोले ठूलो मात्रामा खेतीयोग्य जमिन पुरेको छ । खोला बढेर तर्न नसकिने अवस्था छ ।


कादेशको वडा कार्यालय आउने, सदरमुकाम झर्ने तथा विद्यालय र स्वास्थ्य चौकीलगायतमा सेवा लिन जाने बाटो यो एउटै हो । बारीमा फलाएको तरकारीसमेत बजार पठाउन नसकेको लालकुमारी पुनले बताइन् । बाढीले वडा नम्बर ५ को गैह्रीखेत कर्लिम जोड्ने सडकसमेत बगाएको छ । खोला गहिरिएकाले स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

 

समाचार

विषाक्त मदिराले थप २ को मृत्यु

- श्यामसुन्दर शशि

जनकपुर– कमला नगरपालिकाको लक्करमा विषाक्त मदिरा सेवनले थप दुईको मृत्यु भएको छ । बुधबार मध्यराति भट्टी सञ्चालकसमेत रहेका कमला नगरपालिका–५ का ५२ वर्षीय गंगा पासवान र ६ का ३८ वर्षीय राजवीर महतोको मृत्यु भएको हो । गंगाको उपचार क्रममा जनकपुर अञ्चल अस्पताल र राजवीरको सिरहाको मिर्चैयास्थित मंगल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बुधबार बिहान विषाक्त मदिरा सेवनकै कारण ४ जनाको ज्यान गएको थियो भने ४ जना गम्भीर बिरामी छन् । जिल्ला प्रहरीका डीएसपी दीपेन्द्र शाहीका अनुसार सबैजनाले लक्करस्थित भट्टी पसलहरूमा मदिरा सेवन गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा घरेलु मदिराको अवैध उत्पादन र बिक्रीमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।


यसअघि बुधबार बिहान कमला नगरपालिका–५ लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६ सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको थियो । लक्करकै ४० वर्षीय जामुन पासवान, विन्देश्वर पासवान, असलदेव पासवान, वडा–६ का ४५ वर्षीय विनयकुमार ठाकुर र भारत मोतिहारीका ३३ वर्षीय मनोज साहको उपचार भइरहेको छ ।


छिमेकी दुई गाउँका ६ जनाको विषाक्त मदिरा सेवनले मृत्यु भएपछि कमला नगरपालिका क्षेत्रमा शोक छाएको छ । कांग्रेस धनुषाका सचिव तथा स्थानीय विशेश्वर यादवले दुई दिनदेखि सिंगो गाउँ शोकमा डुबेको बताए । ‘कसैका घरमा पनि खाना पाकेको छैन । विषाक्त रक्सी उत्पादकविरुद्ध स्थानीय आक्रोशित छन्,’ उनले भने । प्रहरीले मदिराको नमुना संकलन गरी परीक्षणका लागि फोरेन्सिक ल्याबमा पठाएको छ । डीएसपी शाहीले परीक्षण रिपोर्टपछि घटनाबारे थप रहस्य खुल्ने बताए ।


हँुदैन कारबाही
विषाक्त मदिरा सेवनले सर्वसाधारणको ज्यान गएको यो पहिलो घटना होइन । २०४८ मा जनकपुरमा १९ जनाको मृत्यु भएको थियो । २०६२ मा पनि ६ जनाले अकाल ज्यान गुमाए । प्रहरी–प्रशासनको मिलेमतो र राजनीतिक संरक्षणमा अवैध मदिरा उत्पादन खुलेआम हुने गरेको स्थानीय बासिन्दाको आरोप छ ।


धनुषा प्रहरीमा काम गरिसकेको एकजना तत्कालीन प्रहरी सहायक निरीक्षकका अनुसार १९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा प्रकरणमा त्यतिबेला ७ जना अवैध रक्सी उत्पादक तथा बिक्रेतालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । प्रमाणको अभाव देखाउँदै सबै अदालतबाट छुटे । २०६२ मा विक्रेता प्रमाणकै अभावमा कारबाहीबाट जोगिए ।
स्रोतका अनुसार जनकनन्दनी गाउँपालिका–२ पोखरिया टोलका विन्देश्वर साह र फुलवा साहको घरेलु मदिराको अवैध उद्योग छ । इलाका प्रहरी कार्यालय खजुरीको मिलेमतो र राजनीतिक दलका नेताको संरक्षणमा सञ्चालित दुवै उद्योगमा उत्पादित मदिरा जनकनन्दनी गाउँपालिका, कमला र विदेह नगरपालिकासँगै सीमावर्ती भारतीय गाउँसम्म पुग्छ ।

‘जनकनन्दनी गाउँपालिको कार्यालयबाट ५० मिटरको दूरीमा स्थानीय काले भुजेलले पनि घरेलु मदिरा उत्पादन गर्छन्,’ स्रोतले भन्यो । सवैला नगरपालिकामा रामचन्द्र जयसवाल पनि अवैध रक्सी उत्पादनमा संलग्न छन् । त्यहाँको मदिरा धनुषाको हंसपुर र सहिदनगर नगरपालिकासँगै सिरहा जिल्लासम्म बिक्री–वितरण हुन्छ ।

समाचार

‘मदिरामुक्त प्रदेश बनाऊँ’

- कान्तिपुर संवाददाता

जनकपुर (कास)– प्रदेशसभा सदस्यहरूले प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न दबाब दिएका छन् । धनुषाको पूर्वाेत्तर कमला नगरपालिकामा विषाक्त मदिरा सेवनले ६ जनाको ज्यान गुमेको भन्दै उनीहरूले दोषीलाई कडा कारबाहीको माग गरे ।


प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै नेकपामा सांसद रामचन्द्र झाले घरेलु रक्सी बिक्री–वितरण गर्नेलाई कारबाही हुनुपर्ने माग गरे । उनले धनुषाको लक्कर, सिंग्याहीमडान, बलहागोठ, इनर्वा र पोखरियामा अवैध भट्टी सञ्चालनमा रहेको बताए । ‘अवैध भट्टी नियन्त्रण गर्न र लक्कर घटनाका दोषीलाई कडा कारबाहीको माग गर्छु,’ उनले भने ।
कांग्रेस सांसद नरेश यादवले प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न सभामुखको ध्यानाकर्षण गराए । ‘मदिराले स्वास्थ्य र समाज दुवैलाई नोक्सानी पुर्‍याइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारले विशेष तयारी गरेर प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्नुपर्छ ।’ उनले रक्सी सेवनले मानिसको ज्यान नै जान थालेपछि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।


अर्का सांसद पारसप्रसाद साहले पनि यो प्रकरणको गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गरे । उनले भारतको बिहार राज्यजस्तै प्रदेश २ मा पनि मदिराको बिक्री–वितरण र सेवनमा रोक लगाउनुपर्ने सुझाव दिए । ‘लक्करको जस्तो घटना अरू ठाउँमा नहोस् । यस्तो दुखद् घटना रोक्न पनि प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्नुपर्छ,’ सांसद साहले भने, ‘प्रदेश सरकार तुरुन्तै एक्सनमा गएर मदिरा नियन्त्रणको व्यवस्था गरोस् ।’


प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद साहले खुलेआम बिक्री हुने घरेलु रक्सीको लतले धेरै परिवारको बिजोग भएको उल्लेख गर्दै प्रदेश २ मा मदिरा नियन्त्रण गर्नुपर्ने बताए । ‘सर्वसाधारणलाई मदिराको सहज पहुँचबाट टाढा राख्नुपर्छ,’ उनले भने, ‘लाइसेन्स प्राप्त पसलबाट मात्रै बिक्री–वितरण खुला गर्नुपर्छ ।’

Page 14
समाचार

‘द्रुतमार्गमा समस्या रहनुहुन्न’

अन्तत: जिरोप्वाइन्ट खोकना नै
विभिन्न आठ विषयमा अनुगमन समितिमा छलफल
- चन्द्रशेखर अधिकारी

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको रणनीतिक/आर्थिक महत्त्वको दु्रतमार्ग (एक्सप्रेस वे) निर्माणमा कुनै समस्या रहन नहुने बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित बैठकमा उनले नेपाली सेनाको जिम्मा रहेको भए पनि मुलुककै महत्त्वपूर्ण परियोजना भएकाले सहकार्यमा काम अघि बढाउन मन्त्रालयगत जिम्मवारी लिएका निकायलाई निर्देशन दिएका हुन् । बैठकमा परामर्शदाता नियुक्ति, सुरुङमार्ग, आयोजना तथा जोखिमभत्ता, ऐलानी जग्गा, भोगाधिकार, जग्गा अधिग्रहण एवं पुनर्वास, खोकना–बुंगमती रेखांकन, निर्माणसामग्री उपयोग र खरिद सम्झौता संशोधनलगायत विषयमा छलफल भएको थियो ।


यस्तै, खोकनालाई नै जिरोकिलो मानेर काम गर्न निर्देशन भएको अधिकारीहरूले बताए । ५० प्रतिशतभन्दा बढी खोकनावासीलाई मुआब्जा बुझाइसकेपछि उत्पन्न विवाद समाधान नगरी विकल्पका रूपमा फर्सिडोल पुर्‍याउन लागिएको विषयमा छलफल भएको थियो । जिरोकिलो अन्यत्र सार्न मन्त्रीस्तरीय निर्णय चाहिन्छ । तर त्यहीर् स्थानलाई जिरो मानेर काम गर्ने निर्णय यसअघि भएकाले अर्को निर्णय आवश्यक छैन । पुरानो कार्यविधि परिवर्तन गर्दै रक्षामन्त्रीको नेतृत्वमा अनुगमन, मूल्यांकन र समन्वय समिति बनेपछि सम्बन्धित सबै पक्षलाई बोलाएर मन्त्रालयमा पहिलो बैठक बसेको थियो । नेपाली सेनाको परियोजना हेर्ने विभागले प्रगति विवरण र समस्याका विषयमा प्रस्तुतिसमेत दिएको थियो ।


५४ किलोमिटर क्षेत्रमा २८ ठेकेदार कम्पनीले काम अघि बढाइसकेको उक्त मार्गको काठमाडौं उपत्यका जोड्ने जिरो प्वाइन्टका विषयमा भएको विवाद टुंगिएको र यसको केही सामान्य पक्षसमेत आगामी बैठक सम्ममा टुंगो लगाइसक्ने बताइएको छ । नयाँ निर्णय नलिएमा पुरानो स्थानमा मुआब्जा दिएको खण्डमा समस्या नरहने बताइएको छ । लामो समयसम्म समस्या नसल्टिएपछि सेनाले खोकनाको जिरोकिलोलाई फर्सिडोल सार्ने योजना बनाएको थियो । स्थानीयको अवरोधका कारण विभिन्न विकल्प खोज्न बाध्य भएको निर्माण पक्षको भनाइ रहे पनि अन्तत: खोकनालाई जिरो प्वाइन्ट बनाउने गरी काम अघि बढेको बैठकमा सहभागीले बताए । रक्षासचिव विष्णु लम्सालले विभिन्न समस्या समाधानका लागि अनुगमन समितिमा छलफल भएको बताए । उनका अनुसार सेनालाई दिइएको जिम्मेवारीको २५ प्रतिशत काम भइसकेको छ भने वर्षामा पनि काम अघि बढिरहेको छ । रक्षामन्त्री पोखरेलले स्थलगत अध्ययन अनि जनताको धारणा लिएर कार्यविधि परिवर्तन गराएका थिए । स्थानीयलाई मर्का नपर्ने गरी उक्त द्रुतमार्ग निर्माण गरिने बताइएको छ । निजगढबाट जिरोकिलो आउने र त्यहाँबाट तीन सहर सजिलै पुगिने गरी योजना अघि बढ्ने निर्माण पक्षको धारणा छ ।


नेपाली सेनाले एसियाली विकास बैंकको अध्ययनलाई आधार मानेर द्रुतमार्गको काम अघि बढाएको हो । अहिले सेनाले डीपीआरमा पनि काम गरिरहेको छ । कम्पनी छनोट गरी काम अघि बढेको सेनाले बताएको छ । खोकनावासीले पुरानो सिकाली मन्दिर, कुदेश (हजार वर्ष पुरानो सभ्यता र बस्तीको पुरातात्त्विक स्थान) र त्यहाँको घाट तथा बस्तीलाई असर नगर्ने गरी काम अघि बढाउन आग्रह गर्दै आएका छन् । यही विषयलाई ध्यान दिएर काम गराउने पक्षमा सरकार रहेको धारणा छलफलका सहभागीले व्यक्त गरेका थिए ।

जोखिमस्तरमा काम गर्ने सेनालाई त्यसअुनरूपको भत्ता र खाजाखर्च उपलब्ध गराउने विषयमा समेत अनुगमन समितिले सिफारिस गरेको छ । प्रदेशको अधिकारका आधारमा कुनै समस्या नरहोस् भनेर त्यहाँ प्राकृतिक स्रोतसाधन उपयोगमा स्पष्ट नीति लिने बताइएको छ ।


सेनाले दस स्थानमा शिविर खडा गरेर काम अघि बढाएको भए पनि खोकना क्षेत्रको विवाद सम्बोधन नहुँदा त्यस क्षेत्रमा भने काम अघि बढ्न सकेको छैन । अब त्यहाँ पनि अन्यत्रझंै काम अघि बढाउन रक्षामन्त्रीले निर्देशन दिएका छन् ।

समाचार

‘सुन अनुसन्धानबारे बोल्न मिल्दैन’

सरकारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठित सुन तस्करीमाथि सरकारले गठन गरेको विशेष समितिले केही उच्चपदस्थ प्रहरीमाथि अनुसन्धान गरिरहेका विषयमा बोल्न नमिल्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै खनालले आफू नियुक्त हुनुअघि गठित समितिको कामकारबाहीबारे टिप्पणी गर्ने कानुनी आधार नभएको बताए । उनले भने, ‘सरकारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।’


सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेपछि उच्च प्रहरी अधिकारी पक्राउ परेका थिए । प्रहरीको सेटिङमा सुन तस्करी हुने र तस्करीको सुनको लाभांश प्रहरी अधिकारीले पनि पाउने देखिएको भन्दै एसएसपी श्याम खत्री, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसमेत मुछिएका छन् ।


आईजीपी खनालले वर्षौंदेखि रोकिएको सरुवाबढुवाको प्रक्रिया सुचारु गर्नुलाई आफ्नो विशेष कामका रूपमा प्रस्तुत गरे । खनाल आईजीपी भएपछि प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षकसम्मका ९ हजार ७ सय ४३ प्रहरीको सरुवा तथा पदस्थापन भएको छ भने २ हजार ५ सय १९ जनाको बढुवा भएको छ । त्यस्तै, प्रहरीमा रिक्त दरबन्दी पूर्ति गर्न यही अवधिमा ४९ प्राविधिक प्रहरी नायब निरीक्षक भर्ना गरिएको छ । प्रहरी सहायक निरीक्षकको पनि भर्ना प्रक्रिया चलिरहेको छ । १ हजार १ सय १५ रिक्त प्रहरी जवानको पूर्तिका निम्ति प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगसँग सहमति लिइसकेको छ ।


मानव बेचबिखन र साइबर अपराध हेर्न छुट्टै विभाग
खनालले संगठनात्मक सुधारका क्षेत्रमा काम सुरु भएको बताउँदै मानव बेचबिखन र साइबर अपराधको मुद्दा हेर्न छुट्टै विभाग गठन गर्ने प्रक्रिया अघि बढेको बताए । उनले संघीय संरचनामा प्रहरीलाई लैजान संगठनात्मक सुधारको काम अगाडि बढिरहेको बताए । संघीय संरचनामा जाँदा प्रहरीलाई जनशक्ति अपुग हुन सक्ने भन्दै जेठ २७ को मन्त्रिपरिषद्ले ३ हजार १ सय १ नयाँ दरबन्दी थपेको छ ।


खनालले प्रदेश कार्यालय स्थापना हुन बाँकी रहेका २ र ५ मा छिट्टै स्थापना गरिने जानकारी दिए । उनले प्रहरी संगठन सुदृढीकरणका विभिन्न बुँदासमेत सार्वजनिक गरेका छन् । प्रशासनिक सुधार, भौतिक पूर्वाधार, मानव स्रोत विकास, प्रविधि र आर्थिक अनुशासनका क्षेत्रमा सुदृढीकरण गरिने योजना आईजीपी खनालले अगाडि सारेका छन् जसमा भदौदेखि लागू हुने फौजदारी आचारसंहिता कार्यान्वयनका लागि तयारीदेखि आर्थिक अनुशासनमा कडाइ गर्नेसम्मका सुधार योजना समेटिएका छन् । सुदृढीकरण योजनामा प्रहरीका लागि जिल्ला स्तरसम्म फिटनेस सेन्टर निर्माणदेखि प्रहरी एकाइका लागि थप दरबन्दीसम्मका योजना समेटिएका छन् ।


प्रहरी इकाइ नभएका चार नगरपालिका र २६ गाउँपालिकामा आगामी आर्थिक वर्षभित्र इलाका प्रहरीस्तरका कार्यालय स्थापना गरिने र तिनमा १ हजार ६५ प्रहरी जनशक्ति रहने आईजीपी खनालले बताए । रिक्त ती स्थानमध्ये १४ वटामा प्रहरी निरीक्षकको कमान्डमा कार्यालय रहनेछ भने १६ स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा कार्यालय रहनेछ । आईजीपी खनालले भने, ‘संघीय संरचनाअनुसार प्रहरी संरचनालाई अगाडि बढाउन कानुन निर्माणदेखि अन्य काम भइरहेको छ ।’

समाचार

मन्त्रिपरिषद् निर्णय हेर्न अलग्गै शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मन्त्रिपरिषद्बाट भएका निर्णय कार्यान्वयनबारे मन्त्रालयहरूलाई घच्घच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलग्गै शाखा गठन भएको छ । मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखाअन्तर्गत ‘मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन शाखा’ गठन गरिएको हो । शाखाले फागुन ३ पछिका निर्णयको अवस्थाबारे सबै मन्त्रालयसँग ‘अपडेट’ माग गरिएको छ । शाखाको जिम्मेवारीमा उपसचिव बुद्धबहादुर गुरुङ छन् ।


शाखा गठनसँगै केपी ओली नेतृत्वको सरकारले फागुन ३ पछि गरेका मन्त्रिपरिषद् निर्णय कार्यान्वयनको पछिल्लो अवस्थाबारे सरोकारवाला मन्त्रालयले लिखित जानकारी गराएका छन् । फागुन ३ को पहिलो बैठकले प्रदेश सदरमुकाममा सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो । शाखाले उक्त निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी मागेकामा खेलकुद मन्त्रालयले यसै साता जवाफ लेखेको छ । खेलकुद मन्त्रालयका अनुसार प्रदेश १ को इटहरी, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र ७ को धनगढीमा रंगशाला निर्माणका लागि जग्गा पहिचान भइसकेको छ । यस्तै, आगामी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ र प्रदेश ७ का लागि बजेटसमेत विनियोजन गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।


यस्तै, फागुन ३ कै मन्त्रिपरिषद्ले ‘प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम स्थापना गर्ने’ निर्णय गरेको थियो । त्यसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनको अवस्थाबारे शाखालाई जानकारी गराएको छ ।


प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन अवस्थाबारे सबै मन्त्रालयसँग जानकारी माग गरिएको बताए ।

Page 15
अर्थ वाणिज्य

सत्तापक्ष सांसद भन्छन् ‘स्थानीय तहबाट आयोजना ल्याऊ’

सत्तारूढ दल र सरकार संघीयताविरोधी बाटामा : प्रतिपक्षी
- कान्तिपुर संवाददाता

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रदेश र स्थानीय तहको क्षेत्राधिकार परेका निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजना केन्द्रले नै निर्माण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राखेका छन् ।


उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेका चालु आव २०७५/७६ सम्म सरकारको छनोटमा परेका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना केन्द्रले सम्पन्न गरी सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राखेका हुन् ।
उनले संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँट गरेअनुरूप निमार्णाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना तलका सरकारको क्षेत्राधिकारमा हस्तान्तरण गरिए पनि प्रदेश र स्थानीय तहमा आवश्यक उपकरण, स्रोत, साधन र जनशक्तिको कमी भएकाले केन्द्र सरकारले सम्पन्न गरेर मात्र हस्तान्तरण गर्नुपर्ने जिकिर गरे ।


उनले प्रदेशमा समेत त्यस्ता आयोजना केन्द्रीय सरकारले सम्पन्न गरोस् भन्ने मान्यता रहेको समेत दाबी गरे । सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ मा संघीय सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि बिहीबार छलफल भएको हो ।


उक्त प्रस्तावका समर्थक नेकपाकै सांसद विशाल भट्टराईले एउटा सरकारले सुरु गरेको आयोजना उही सरकारले अविछिन्न रूपमा सम्पन्न गर्नुपर्ने र निर्माणाधीन आयोजनालाई बेवारिसे अवस्थामा छाड्न नहुने बताए ।


नेकपाकै सांसद यज्ञराज सुनुवारले सार्वजनिक महत्त्वको प्रस्ताव महत्त्वपूर्ण भएकाले संसद्ले गम्भीरतापूर्वक लिई सुनुवाइ गर्नुपर्ने बताए ।


नेकपाकै सांसद गणेश पहाडीले खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी निर्माणाधीन योजना बजेटबिना स्थानीय र प्रदेश तहमा हस्तान्तरण गर्दा पूरा गर्न कठिन हुने भएकाले केन्द्रबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका निर्माणाधीन आयोजना केन्द्रीय सरकारबाटै सम्पन्न गर्नुपर्ने बताए ।


संघीयताविरोधी प्रस्ताव : कांग्रेस
प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सरकारले संघीयताविरुद्ध काम गर्दै अघि बढिरहेको र अधिकारीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव त्यसको ज्वलन्त उदाहरण भएको उल्लेख गरेको छ । नेकपाका सांसद अधिकारीले ‘केन्द्र सरकारबाट निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न’ आग्रह गर्दै संसद्मा प्रस्तुत गरेको सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्दै उनीहरूले ओली सरकार संघीयताविरुद्ध गइरहेको आरोप लगाएका हुन् ।


कांग्रेस सांसद गगन थापाले मुलुक संघीय संरचनामा गइसके पनि सत्तारूढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएको भन्दै सरकारलाई संघीयता विरोधीको संज्ञा दिए ।


‘संघीयता विफल हुन्छ भन्न प्रधानमन्त्रीले पाउनुहुन्न । संघीयता चल्दैन, काम गर्दैन भनेर संसदलाई साक्षी राख्न खोजिएको हो भने त्यसको साक्षी संसद् बस्न सक्दैन,’ थापाले भने, ‘त्यसको संरक्षण गर्न सरकार सक्दैन भने हामी (प्रतिपक्ष) तयार छौं ।


हामी संघीयतालाई सफल पार्न उभिन्छौं । सरकारको संघीयताविरोधी प्रस्ताव चाहिँदैन, प्रदेश सरकार र स्थानीय तहले काम गर्न सक्दैनन् भन्ने धारणा हो भने त्यो गलत हो ।’
कांग्रेसकै सांसद मीनबहादुर विश्वकर्माले बजेट विनियोजनमाथिको छलफल चलिरहेका बेला त्यसलाई प्रभावित गर्ने गरी सत्तापक्षकै सांसदबाट सार्वजनिक महत्त्वको प्रस्ताव आउँदा शंका उत्पन्न भएको बताए ।


उनले सार्वजनिक महत्त्वको प्रस्तावका विषयवस्तु महत्त्वपूर्ण भए पनि सरकारले बजेट विनियोजनमा गरेको भेदभावपूर्ण व्यवहारको परिणामस्वरूप सत्तारूढ दलकै सांसदले असन्तुष्टि पोख्न यस्तो प्रस्ताव ल्याएको दाबी गरे ।


सार्वजनिक महत्त्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा अधिकारीले राखेको सार्वजनिक महत्त्वको प्रस्तावले विनियोजनमाथिको छलफललाई प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् । सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको आफूले बुझेको बताए ।


‘यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पुर्‍याउने विश्वास छ,’ उनले भने । सरकारका सामु असंख्य योजना र सीमित स्रोत साधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको उल्लेख गर्दै खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा साना योजना सम्बन्धित प्रदेश तथा स्थानीय तहले निर्माण गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए ।

अर्थ वाणिज्य

कमोडिटी एक्सचेन्जलाई ५ आवेदन

ऐनमा कमोडिटी एक्सचेन्जको चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था छ
- यज्ञ बञ्जाडे

काठमाडौं– वस्तु बजार सञ्चालन अनुमतिका लागि हालसम्म पाँच कम्पनीको आवेदन परेको छ । एक्सचेन्ज कम्पनी सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ती कम्पनीहरूले आवेदन दिएका हुन् ।


हालसम्म नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फयुचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँचवटा कम्पनीको आवेदन प्राप्त भएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डमा प्राप्त आवेदनहरूमध्ये तीनवटा पुराना र दुईवटा नयाँ छन् । कमोडिटी बजारसम्बन्धी ऐनमा कमोडिटी एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी न्यूनमत ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।


पुराना कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीले पनि कारोबारका लागि धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था नियमावलीमा छ । वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीमा पुराना कम्पनीहरूबारे कुनै व्यवस्था नरहेकाले सबै कम्पनीहरू नयाँ दर्ता प्रक्रियामा जानुपर्ने भएको हो । यही व्यवस्थामा टेकेर यसअघि सञ्चालनमा रहेका कम्पनीले पनि बोर्डमा आवेदन दिएका हुन् । वस्तु बजारसम्बन्धी ऐन जारी भएपछि कुनै पनि कम्पनीले बोर्डबाट सञ्चालन अनुमति पाएका छैनन् । यसकारण हाल सञ्चालन भएका कमोडिटी एक्सचेन्ज कम्पनीहरूको कानुनी आधार छैन । यद्यपि पुराना धेरै कम्पनीहरू सञ्चालनमा छैनन् । यदाकदा सञ्चालनमा रहेका भए पनि तीनको कारोबार गैरकानुनी हो ।


विदेशी रणनीतिक साझेदारको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी नेपाल कमोडिटी एक्सचेन्ज कम्पनीले बोर्डमा आवेदन दिएको छ । वस्तु बजारसम्बन्धी कानुन लागू भएपछि यो कम्पनीले बोर्डमा पहिलो आवेदन दर्ता गरेको हो । बेलायतस्थित ‘जिमेक्स ग्रुप’ र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना हुने गरी आवेदन परेको बोर्डले जनाएको छ । ‘नेपाल कमोडिटी एक्सचेन्ज लि’ को नामबाट सञ्चालनमा आउन चाहेको यो कम्पनीमा खासगरी गैरआवासीय नेपालीहरूको लगानी छ । यो कम्पनीमा पुराना कम्पनीहरू डेरिभेटिभ एन्ड कमोडिटी एक्सचेन्ज र कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपालको पनि सेयर स्वामित्व रहेनछ । नेपाली कमोडिटी एक्सचेन्जमा लगानी गर्न आउने विदेशी साझेदारले अनिवार्य रूपमा कमोडिटी बजारसम्बन्धी कारोबार गरेको हुनुपर्नेछ । नेपाल मर्केन्टाइल एक्सचेन्जमा दुईवटा वाणिज्य बैंक, दुईवटा इन्भेस्टमेन्ट कम्पनी, तीनवटा अन्य कम्पनी र बाँकी सर्वसाधारण (व्यक्तिगत) को लगानी छ । ५० करोड चुक्ता पुँजी रहेको यो कम्पनीमा सर्वसाधारणको ७० प्रतिशत, अन्य कम्पनीको १२ प्रतिशत, इन्भेस्टमेन्ट कम्पनीको १० प्रतिशत र वाणिज्य बैंकहरूको ८ प्रतिशत सेयर स्वामित्व रहनेछ ।


कमोडिटी फयुचर्स एक्सचेन्ज पुरानै कम्पनी हो । दुईवटा संस्था र ३१ जना सर्वसाधारण मिलेर यो कम्पनीले अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । ६० करोड चुक्ता पुँजी रहेको यो कम्पनीमा ९४.०६ प्रतिशत सेयर सर्वसाधारणको छ । बाँकी ५.९४ प्रतिशत सेयर दुईवटा संस्थाको रहने बोर्डमा पेस भएको आवेदनमा उल्लेख छ ।


अनुमतिको पर्खाइमा रहेको मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल यो क्षेत्रमा नयाँ हो । ७ वाणिज्य बैंक, ३ विकास बैंक, ५ बिमा कम्पनी, ३ इन्भेस्टमेन्ट कम्पनी, १ अन्य कम्पनी र १९ जना सर्वसाधारण गरी ३८ जना मिलेर यो कम्पनी सञ्चालन गर्न थालेका हुन् । ६८ करोड २५ लाख चुक्ता पुँजी रहने गरी यो कम्पनी स्थापना हुन लागेको हो ।


परेका आवेदनमध्ये सबैभन्दा पछिल्लो रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज कम्पनी हो । ५६ जना सर्वसाधारणको लगानीमा सञ्चालन हुन लागेको यो कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ ।


नियमावलीमा कमोडिटी एक्सचेन्ज कम्पनी सञ्चालनका लागि बोर्डका अनुमति लिनुपर्ने व्यवस्था छ । सोही कारण मंसिरयता पुराना कमोडिटी एक्सचेन्ज कम्पनीहरू पनि अवैध भएका छन् । ती कम्पनीहरूले हालसम्म पनि सञ्चालन अनुमति मागेका छैनन् । कमोडिटी एक्सचेन्ज पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था ऐनमा छ । स्वदेशी व्यक्ति तथा संस्थाले कमोडिटी एक्सचेन्ज कम्पनीमा ५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने व्यवस्था गरिएको छ । यसले कमोडिटी एक्सचेन्ज ठूलो कम्पनीका रूपमा स्थापित हुनुपर्ने र कम्पनीमा कुनै एक व्यक्ति वा संस्थाको एकाधिकार रोक्ने देखिन्छ ।


विदेशी पुँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनका लागि रणनीतिक साझेदारका रूपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लिन सक्ने व्यवस्था ऐनमा छ ।


वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन अनुमति पाएको पाँच वर्षसम्म कम्पनी बिक्री गर्न नपाइने व्यवस्था छ । पाँच वर्षपछि पनि कम्पनी बिक्री गर्दा बिक्रेता र क्रेता दुवैले नियामक निकाय धितोपत्र बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।


औपचारिक रूपमा करिब ११ वर्षअघिदेखि नेपालमा कमोडिटी बजारको सुरुवात भएको हो । ०६३ मंसिर २८ गते (सन् २००६ डिसेम्बर १४ तारिक) कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन) ले पहिलोपटक कमोडिटी कारोबार सुरु गरेको थियो । त्यसपछि थप ८ वटा कम्पनी सञ्चालनमा आए ।

Page 16
अर्थ वाणिज्य

कुलेखानीको जेनेरेटर नेपालीले बनाउने

- प्रताप विष्ट

हेटौंडा– विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् ।
फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिकले दुई साताअघि बिग्रेको जेनेरेटरको निरीक्षण गरेका थिए । उनीहरूले जेनेटरको मर्मत सम्भार गर्न १ करोड ३० लाख रुपैयाँ लाग्ने कोटेसन विद्युत् प्राधिकरणलाई दिएपछि प्राधिकरणका वरिष्ठ प्राविधिकहरूले थोरै लगानीमा र आफैंले छिटो मर्मत सम्भार गर्न सक्ने बताएका छन् ।


नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमा प्राधिकरणकै प्राविधिकले नै मर्मत सम्भार गर्ने निर्णय गरिसकेको छैन । प्राधिकरणका प्राविधिकहरूले नै मर्मत सम्भार गर्ने लगभग टुंगो लागिसकेको कुलेखानी २ का एक वरिष्ठ प्राविधिकले बताए । प्राधिकरणका प्राविधिकले मर्मत सम्भार गरेमा रकम पनि कम खर्च हुने र छिटो पनि हुने दाबी उनले गरे । जापानी प्राविधिकहरूले मर्मत सम्भार गर्न तीन साता लाग्ने बताएका छन् ।


फुजी इलेक्ट्रिक कम्पनी जापानका चारजना प्राविधिकहरू आएर कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको युनिट २ को बिग्रेको जेनेरेटरका सबै पाटपुर्जाको निरीक्षण गरेर जापान फर्केका थिए । ती प्राविधिकहरूले मर्मत सम्भारको लागत र समय कोटेसन प्राधिकरणलाई आइतबार बुझाएका हुन् । तर, नेपाली प्राविधिकहरू आफैंले मर्मत सम्भार गर्न सक्ने बताएका छन् । विगतमा कुलेखानी २ जेनेरेटरको मर्मत सम्भार प्राधिकरणको प्राविधिकहरूले नै गरेका थिए ।


जापानको फुजी कम्पनीले नै कुलेखानी पहिलो र दोस्रोको जेनेरेटर जडान गरेको थियो । विगतमा मर्मत सम्भार उनीहरूले पनि गरेका थिए । आयोजनाका प्राविधिकहरूले चार दिन लगाएर जेनेरेटर खोलेका थिए । नेपाली प्राविधिकहरूले जेनेटर खोलेको यो पहिलो हो ।


कुलेखानी दोस्रोको युनिट २ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि गत जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । स्टपर रिङ र स्टेटर वाइन्डिङ फेरेमात्र जेनेरेटर सञ्चालनमा ल्याउन सकिने प्राविधिकहरूले जनाएका छन् । ‘कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेपछि कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको छ । कुलेखानी पहिलोका २ वटा जेनेरेटर सञ्चालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको हो ।


कुलेखानी दोस्रोको युनिट २ को २२ दिनदेखि जेनेरेटरमा समस्या आएकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा युनिट १६ मेगावाटको जेनेरेटर बिग्रेको छ ।


कुलेखानी दोस्रोको युनिट २ को ‘स्टेटर वाइन्डिङ’ को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । बाँकी ४६ मेगावाट उत्पादन गर्न सकिँदैन । कुलेखानी जलाशयको पानी खेर फाल्ने हो भने ७६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । जलाशयको पानी खेर फालेर विद्युत् उत्पादन गरिहाल्नुपर्ने अवस्था अहिले नभएको कुलेखानी दोस्रोका प्रमुख आभाष ओझाले बताए ।


‘एउटा युनिट बन्द भएको अवस्थामा पहिलो ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ,’ उनले भने । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत्गृह सञ्चालन हुन्छ । दोस्रोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट तेस्रो कुलेखानी विद्युत् गृहबाट १४ मेगावाट विद्युत् निस्कन्छ । कुलेखानी ३ निर्माणाधीन अवस्थामा छ । केही महिनाभित्र काम सकिँदै छ ।


कुलेखानी आयोजना पहिलो र दोस्रो विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन जडान गरिएका छन् ।


कुलेखानीको पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । अहिले दुवै विद्युत्गृहका एउटा/एउटा मात्र टर्बाइन सञ्चालनमा छन् । वर्षा सुरु भएकाले खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको छ । ‘यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदा पनि विद्युत् प्राधिकरणलाई खासै समस्या भएको छैन,’ प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने, ‘चैत–वैशाखमा भएको भए समस्या हुन्थ्यो ।’ कुलेखानी २ को जेनेरेटर बिग्रेका कारणले पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न खासै समस्या नपरेको प्राधिकरणले जनाएको छ ।

अर्थ वाणिज्य

ओपोको एफसेभेन युथ भित्रियो

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ओपोले एफ सेभेनको नयाँ भ्यारियन्ट एफ सेवेन युथ सार्वजनिक गरेको छ । यसमा एआई ब्युटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन पनि उपलब्ध रहेको जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमन्ड ब्ल्याक गरी तीन रङमा उपलब्ध हुनेछ । युवा लक्षित नयाँ फोन ओपोद्वारा प्रमुख प्रायोजन गरिएको चर्चित डान्स रियालिटी सो बुगिवुगीको मञ्चमार्फत सार्वजनिक गरिएको हो ।

अर्थ वाणिज्य

सामसङ मोडलको टीभीमा अफर

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबलप्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेको जारी विज्ञप्तिमा छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङका टेलिभिजनहरूको खरिदमा विशेष अफर दिएको जनाएको छ । यो योजनामा ग्राहकले ८२ इन्चको प्रिमियम एमयू ८००० फोरके यूएसडी टीभी, ७५ इन्चको एमयू ६१७२ स्मार्ट फोर के यूएचडी टीभी र ६५ इन्च एमयू ७००० स्मार्ट फोर के यूएचडी टीभी मोडलहरूमा अफरहरू प्राप्त गर्ने जनाएको छ ।

अर्थ वाणिज्य

भित्रियो ब्राभोजको एलईडी टीभी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पीके ट्र्रेडर्सले नेपाली बजारमा विभिन्न मोडलका ब्राभोज एलईडी टीभीहरू भित्र्याएको छ । यी टीभी सेट उपभोक्ताहरूको चाहनाअनुसार विभिन्न साइजमा उपलब्ध छन् भने स्मार्ट र नन स्मार्ट गरी दुई श्रेणीमा उपलब्ध बजारमा किन्न सकिने यसमा स्मार्ट एन्ड्रोइड सिस्टमसमेत प्रयोग गरिएको जारी विज्ञप्तिमा छ । कम्पनीले भित्र्याएका टीभीहरूमा वाइफाई, १०८० पिक्सेलफुल एच्डी, कोरटेक्स ए सेभेन डुअल कोर प्रोसेसरजस्ता विशेषताहरू रहेको जनाएको छ ।

 

Page 17
अर्थ वाणिज्य

कोलम्बियामा धेरै स्वरोजगार

- दिनेश यादव

 

काठमाडौं– विश्वको स्वरोजगारी (सेल्फ इम्प्ल्योइड) क्षेत्रमा युरोपेली मुलुकहरू अब्बल रहेको एक प्रतिवेदनले देखाएको छ । १५ मुलुकलाई समेटेर जारी तथ्यांकमा दक्षिण अमेरिकी मुलुक कोलम्बिया सबैभन्दा माथि रहेको उल्लेख छ । उसको स्वरोजगार दर ५१ दशमलव ३ प्रतिशत रहेको छ ।


तथ्यांकमा दुई एसियाली मुलुक दक्षिण कोरिया र जापान पनि परेका छन् । यी दुई मुलुक क्रमश: २५ दशमलव ५ प्रतिशतका साथ छैठौं र १० दशमलव ६ प्रतिशतका साथ ११ औं स्थानमा छन् । ५७ वर्षअघि विश्वको आर्थिक प्रगति र विश्व व्यापारलाई उत्प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको संगठन ‘ओईसीडी’ द्वारा सार्वजनिक तथ्यांकमा युरोपका ८, उत्तर अमेरिकाका ३ र एसिया तथा दक्षिण अमेरिकाका २–२ गरी १५ मुलुकको स्वरोजगार दर उल्लेख गरिएको छ ।


सूचीमा अफ्रिकाबाट कुनै पनि मुलुकको प्रतिनिधित्व छैन ।


अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कुनै पनि व्यक्तिले साताको एक घण्टाभन्दा बढी काम गर्नुलाई रोजगारीकै रूपमा गणना गरेको ‘फोब्र्स’ अनलाइनमा डेटा जर्नलिस्ट निअल म्याकार्थीले लेखेका छन् । उनका अनुसार केही मुलुकहरूमा स्वरोजगारको दर अन्त्यन्तै उच्च हुनुका कारणका रूपमा यसलाई पनि लिन सकिन्छ । उनी लेख्छन्, ‘खासगरी विश्वका केही मुलुक, जहाँ कयौं पारिवारिक सदस्यहरू परिवारको स्वामित्वमा रहेको खेतमा कृषि कार्य गर्नमा एकअर्कालाई सहयोग गर्छन् । ती मुलुकहरूमा स्वरोजगारी विकसित गर्न मानिस जीवित रहने रणनीतिका रूपमा लिने गरिन्छ, जबकि अधिक विकसित अर्थव्यवस्थामा यो एउटा रचनात्मक र उद्यमशीलताको प्रतीक हुन सक्छ ।’


फोब्र्सका अनुसार आईएलओको परिभाषालाई मान्ने हो भने साना फर्महरूले पनि स्वरोजगारीमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने गरेका छन् । ती मुलुकहरूमा केही कृषिजन्य फर्ममा परिवारका सदस्यहरूको सहभागिता धेरै रहने गरेकै छ । ‘गरिब मुलुकहरूमा बाँच्नका लागि एउटा रणनीतिका रूपमा स्वरोजगारलाई लिन सकिन्छ । किनभने ती मुलुकहरूमा आयस्रोत सिर्जना गर्ने अवस्था हुँदैन,’ अखबारले म्याकार्थीलाई उद्धृत गर्दै लेखेको छ, ‘ विकसित अर्थतन्त्र भएका मुलुकहरूमा भने उद्यमशीलता र सिर्जनशीलताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।’


अर्गनाइजेसन फर इकोनमिक को अपरेसन एन्ड डेभेलपमेन्ट (ओईसीडी) को पछिल्लो प्रतिवेदनले कोलम्बियाका बढी कामदारहरू श्रममा अनौपचारिकता, आम्दानीमा असमानता र गैरनियमित अनुबन्धले दक्षिण अमेरिकी मुलुकहरूलगायत अन्य देशको तुलनामा अब्बल रहेको उल्लेख छ । युरोपमा ग्रिसजस्ता दक्षिणी मुलुकमा उच्चतम स्वरोजगार दर रहेको पाइन्छ, जबकि उत्तरका मुलुकहरूमा खासगरी स्क्यान्डिनेभियामा सबैभन्दा कम रहेको पाइएको छ ।


जापानमा मुलुकका कुल कामदार जनसंख्यामध्ये १० दशमलव ६ प्रतिशत आफैं मालिक हुने गरेको पाइएको छ । अमेरिकामा भने कुल कामदारमध्ये स्वरोजगारको दर ६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । सन् १९६१ मा ३७ सदस्य राष्ट्रसहित स्थापना गरिएको ‘ओईसीडी’ को तथ्यांकले विश्वका अर्थविद्हरूलाई आश्चर्यजनक परिणामसँग परिचय गराएको छ । विश्वका डलर अर्बपतिहरू सबैभन्दा बढी रहेको अमेरिका, चीन र भारतलगायतमा मुलुकहरूमा स्वरोजगारीको अवस्था चिन्ताजनक रहेको छ ।


जर्मनीको हयामबर्गमा मुख्यालय रहेको ‘स्टेटिस्टा’ अनलाइन तथ्यांक पोर्टलले सार्वजनिक गरेको सन् २०१६ को डाटाअनुसार सबैभन्दा उच्च स्वरोजगार दर रहेका १५ मुलुकमध्ये कोलम्बिया अग्रस्थानमा छ । त्यसपछि ३४ दशमलव १ प्रतिशतका साथ ग्रिस दोस्रो, ३२ दशमलव ९ प्रतिशतका साथ ब्राजिल तेस्रो, ३२ दशमलव ४ का साथ टर्की चौथो र ३१ दशमलव ५ प्रतिशतका साथ मेक्सिको पाँचौं स्थानमा रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा उल्लेखित १५ मुलुकहरूमध्ये अमेरिका ६ दशमलव ४ प्रतिशतका साथ सबैभन्दा पुछारमा रहनुले धनाढयहरू थप धनी बन्ने गरेको, श्रमिक वर्गहरू रोजगारी/स्वरोजगारीमा पछि रहेको पुष्टि गर्छ । यो सूचीमा ठूलो अर्थतन्त्र भएको एसियाली दुई मुलुक चीन र भारत समावेश छैनन् ।


आर्थिक वृद्धि दरका हिसाबले यी मुलुकहरू माथि रहे पनि स्वरोजगारी क्षेत्रमा पछाडि रहेको तथ्यांकले प्रमाणित गर्छ । यसैगरी सूचीमा इटाली २३ दशमलव ९ प्रतिशतका साथ सातौं, स्पेन १६ दशमलव ९ प्रतिशतका साथ आठौं, १५ दशमलव ४ प्रतिशतका साथ बेलायत नवौं र ११ दशमलव ८ प्रतिशतका साथ फ्रान्स दसौं स्थानमा छ । त्यस्तै सूचीमा १० दशमलव ४ प्रतिशतका साथ जर्मनी १२ औं, ८ दशमलव ६ प्रतिशतका साथ क्यानाडा तेह्रौं र ७ दशमलव ५ प्रतिशतका साथ रसिया १४ औं स्थानमा रहेका छन् । (एजेन्सी)

 

स्वरोजगार बढी भएका मुलुक
स्थान मुलुक स्वरोजगारको दर
१ कोलम्बिया ५१.३
२ ग्रिस ३४.१
३ ब्राजिल ३२.९
४ टर्की ३२.४
५ मेक्सिको ३१.५
६ उत्तर कोरिया २५.५
७ इटाली २३.९
८ स्पेन १६.९
९ बेलायत १५.४
१० फ्रान्स ११.८
११ जापान १०.६
१२ जर्मनी १०.४
१३ क्यानाडा ८.६
१४ रसिया ७.५
१५ अमेरिका ६.४
स्रोत : ओईसीडी/फोब्र्स/स्टेटिस्टा

 

अर्थ वाणिज्य

विद्युत् ऐन संशोधनको तयारी

- कान्तिपुर संवाददाता

काठमाडौं– ऊर्जा मन्त्रालयले विद्युत् ऐन संशोधनको तयारी थालेको छ । ऐन संशोधनका लागि सरोकारवालाहरूसँग छलफल सुरु गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
२०४९ मा बनेको विद्युत् ऐनलाई समयसापेक्ष बनाउने भन्दै मन्त्रालयले संशोधनको तयारी गरेको हो । नयाँ संविधानअनुसार बनेको स्थानीय तह, प्रदेश र संघलाई अधिकार छुटयाउने गरी ऐन संशोधनको तयारी गर्न लागिएको हो ।


२५ वर्षअघि जारी भएको ऐन समयसापेक्ष छैन । ऐनको दफा ३८ मा उल्लेख गरिएको सजायसम्बन्धी व्यवस्थामा ऐन उल्लंघन गर्ने प्रवद्र्धकहरूलाई बढीमा ५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । ऐन र ऐनपछि बनेको नीति र नियमावलीमा उल्लेख भएका व्यवस्थासमेत बाझिएको ऊर्जाका अधिकारी बताउँछन् । विद्युत् ऐनको दफा ३५ मा सरकारले करार गरी विद्युत्को उत्पादन, प्रसारण वा वितरण गर्न सक्ने व्यवस्था उल्लेख छ ।


ऐनको दफा ३५ ले सरकारले प्रतिस्पर्धा नगराई विद्युत् आयोजनाको जिम्मेवारी कुनै व्यक्ति वा कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ ।


तर, ऐनपछि बनेको जलविद्युत् विकास नीति २०५८ मा भने ठीक कुनै आयोजना निर्माणका लागि अर्को कम्पनीलाई दिँदा प्रतिस्पर्धात्मक रूपमा दिनुपर्ने व्यवस्था गरिएको छ ।
‘नेपालभित्र विद्युत् खपत हुन सरकारीस्तरबाट सम्भाव्यता अध्ययन भइसकेका १० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरूको विस्तृत सर्वेक्षण र विद्युत् उत्पादन गर्ने अनुमति प्रस्ताव आह्वान गरी प्रतिस्पर्धाका आधारमा प्रदान गरिनेछ,’ जलविद्युत् विकास नीतिमा भनिएको छ । ऐनको यो व्यवस्था सार्वजनिक खरिद ऐनसँग पनि बाझिन्छ ।
ऐनमा उल्लेख गरिएको यही आधारमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय गर्दा तत्कालीन व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले सरकारलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । दुई समितिको निर्देशनलाई आधार बनाउँदै त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्झौता खारेज गर्ने निर्णय गर्दै स्वदेशी लगानी र प्रविधिमा बनाउने निर्णय गरेको थियो । २०७४ जेठमा चिनियाँ कम्पनी गेजुवालाई दिने भनी गरिएको सम्झौता मंसिरमा खारेज गरिएको हो ।


विद्युत् ऐन र जलविद्युत् विकास नीतिमा जलविद्युत् आयोजनाले तिर्ने रोयल्टीको विषयमा पनि फरकफरक व्यवस्था छ । ऐनमा जलविद्युत् आयोजनाले १५ वर्षसम्म प्रतिकिलोवाट वार्षिक १ सय रुपैयाँ रोयल्टी तिर्नुपर्ने र प्रतियुनिट बिक्री मूल्यको २ प्रतिशत तिर्नुपर्ने प्रावधान छ । १५ वर्षपछि क्रमश: १ हजार रुपैयाँ र १० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, जलविद्युत् विकास नीतिमा भने आन्तरिक खपतको परियोजनामा १ देखि १० मेगावाटसम्म, १० देखि सय मेगावाटसम्म र सय मेगावाट माथिका आयोजनाका लागि फरकफरक रोयल्टीको व्यवस्था गरिएको छ । नीतिमा निर्यातमूलक आयोजनालाई झन् बढी रोयल्टी तिर्नुपर्ने व्यवस्था गरिएको छ । २०५० मा बनेको विद्युत् नियमावलीलाई भने चौथोपटक संशोधन गरिसकिएको छ । नियमावलीको पछिल्लो संशोधनले ऊर्जा सचिवका केही अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिएको छ । नियमावली चौथोपटक २०७३ असोजमा संशोधन गरिएको थियो ।


२०५८ मा जलविद्युत् नीति सार्वजनिक भएपछि ऐन संशोधनको चर्चा भए पनि यसले पूर्णता पाएको छैन । पूर्वऊर्जामन्त्री राधा ज्ञवाली, विष्णु पौडेल र जनार्दन शर्माको पालामा पनि ऐन संशोधनको तयारी गरिएको थियो । तर, तत्कालीन राजनीतिक दलहरूबीच मस्यौदामा सहमति नजुटदा ऐन संशोधन हुन सकेन ।


ऊर्जामन्त्री पुनले वास्तविक प्रवद्र्धकले मात्रै विद्युत् आयोजना निर्माणको जिम्मा पाउने गरी ऐन संशोधन गर्न लागिएको बताए । मन्त्री पुनले बुधबार संसदमा मन्त्रालयको विनियोजित विधेयकमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूलाई ऐन संशोधन गर्न लागेको जानकारी गराएका थिए ।

Page 18
विदेश

‘चीन शान्तिका लागि प्रतिबद्ध’

आफ्नो भू–भागको रक्षा गर्न जुनसुकै कदम चाल्न तयार रहेको सीको भनाइ
- कान्तिपुर संवाददाता
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस र चिनियाँ राष्ट्रपति सी चिनफिङ बेइजिङमा बिहीबार
भेटवार्ता गर्दै । तस्बिर : गेटी इमेजेज

बेइजिङ (बीबीसी)– चिनियाँ प्रधानमन्त्री सी चिनफिङले ‘चीनले आफ्नो भूभाग एक इन्च पनि नछाड्ने’ चेतावनी दिएका छन् । चीन भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटमा सीले तर ‘शान्तिका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । 

 

चीन र अमेरिकाबीच हालैका दिनमा साउथ चाइना सीका कारण तनाव बढेको छ । गत महिना उक्त क्षेत्रमा बम वर्षक विमान अवतरण गरेपछि अमेरिका सार्वजनिक रूपमा चीनको आलोचनामा उत्रेको थियो ।


म्याटिस एसियाली सहयोगी राष्ट्रको भ्रमणका क्रममा बुधबार चीन पुगेका हुन् । उनी सन् २०१४ यता चीन भ्रमण गर्ने पहिलो अमेरिकी रक्षामन्त्री हुन् । उनले दक्षिणपूर्वी एसियाका विभिन्न राष्ट्रको भ्रमण गर्ने बीबीसीले जनाएको छ ।


रक्षामन्त्री म्याटिसले चिनियाँ राष्ट्रपति सी तथा अन्य उच्च पदस्थ अधिकारीसँग आफ्नो ‘निकै राम्रो’ भेटवार्ता भएको जनाएका छन् । साथै उनले ‘अमेरिकाले चीनसँग उच्च तहको सैनिक सम्बन्धलाई महत्त्व’ दिएको दाबी गरे ।


भेटका क्रममा सीले ‘चीनको शान्ति कायम राख्ने अभिप्राय रहेको तर चिनियाँ जमिनको रक्षा गर्नका लागि कुनै कसर बाँकी नराख्ने’ बताए । ‘चीनले आफ्ना पुर्खाले दिएको एक इन्च भूभाग गुमाउन चाहन्न,’ चिनियाँ सञ्चारमाध्यममा प्रकाशित सीको भनाइलाई बीबीसीले उल्लेख गरेको छ, ‘हामीलाई अन्य देशको पनि कुनै भू–भाग चाहिन्न ।’ अमेरिकाले बारम्बार साउथ चाइना सीमा चीनले अतिक्रम तथा सैनिकीकरण गरेको आरोप लगाउँदै आएको छ । उक्त विवादित क्षेत्रमाथि विभिन्न देशले आफ्नो दाबी गर्दै आएका छन् । साउथ चाइन सी क्षेत्रमा पानीजहाजको मुख्य व्यापारिक मार्ग पर्छ ।


अमेरिकी रक्षामन्त्री म्याटिस गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच भएको शिखर बैठकपछि पहिलो पटक एसिया भ्रमणमा निस्केका हुन् । भ्रमणका क्रममा बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेका म्याटिसले कोरियाली समकक्षी सङ योङ–मुसँग पनि भेटवार्ता गरेका छन् ।


म्याटिसले सङलाई ‘कोरियाली द्वीपको शान्तिका लागि अमेरिका प्रतिबद्ध रहेको आश्वस्त पारेका’ थिए । उनले कोरियाली प्रायद्वीपमा हुँदै आएको संयुक्त सैनिक अभ्यास रद्द गरेर ‘कूटनीतिक वार्ताको वातावरण बनाएको’ दाबी गरे ।


यसअघि गत जुन १२ मा सिंगापुरमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच कोरियाली प्रयाद्वीपलाई परमाणु नि:शस्त्रीकरण गर्ने सहमति भएको थियो । यद्यपि, ट्रम्प र किमबीचको शिखर वार्तामा परमाणु नि:शस्त्रीकरण कसरी गर्ने भन्नेबारे विस्तृत विवरण भने उल्लेख छैन ।


उत्तर कोरिया तथा चीनले कोरियाली प्रायद्वीपमा नियमित रूपमा हुने गरेको सैन्य अभ्यासको अन्त्यका लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए । तर अमेरिकाका एसियाली सहयोगी दक्षिण कोरिया र जापानले भने सैन्य अभ्यास निकै महत्त्वपूर्ण हुने गरेको बताउने गरेका थिए । दक्षिण कोरियामा तैनाथ २९ हजार अमेरिकी सेनाले हरेक वर्ष ठूलो सैन्य अभ्यास गर्दै आएका थिए । १७ हजार ५ सय अमेरिकीसहित दुई देशका सेनाले आगामी महिना सैन्य अभ्यास गर्ने जनाएका थिए ।

विदेश

आगलागीमा १५ को मृत्यु

७० भन्दा बढी घाइते
- कान्तिपुर संवाददाता
केन्याको राजधानी नैरोबीस्थित गिकोम्बा बजारमा बिहीबार भएको आगलागी नियन्त्रण गरिँदै । तस्बिर : एपी

नैरोबी (बीबीसी)– केन्याको राजधानी नैरोबीस्थित एक बजारमा भएको आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ४ बालबालिका छन् ।


अधिकारीहरूले आगलागीमा परी कम्तीमा ७० जना घाइते भएको जनाएका छन् । अधिकारीहरूले उनीहरूको आगोले डढेर तथा विषालु बाफका कारण मृत्यु भएको हो ।


स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राति भएको आगलागीका कारण कैयौं भवन ध्वस्त भएका छन् । स्थानीय द स्टयान्डर्ड अखबारका अनुसार नैरोबीको ठूलो बजार गिकोम्बामा राति आगलागी भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


सेन्ट जोन एम्बुलेन्स सेवालाई उद्धृत गर्दै बीबीसीले स्थानीय समयअनुसार बुधबार राति २ बजेर ३० मिनेट जाँदा आगलागी फैलिएको उल्लेख गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बजारबाट सुरु भएको आगलागी केही क्षणमै नजिकैका अवासीय घरहरूमा फैलिएको थियो ।


आगलागी नियन्त्रणमा लिन स्थानीय प्रहरी तथा उद्धारकर्मीलाई करिब ९० मिनेट लागेको बीबीसीले उल्लेख गरेको छ । समाचार संस्था रोयटर्सले आगलागीपछि उद्धारकर्मीहरूले खरानीका थुप्रो तथा भग्नावशेषहरूमा मृतकहरूको खोजी गरिरहेको उल्लेख गरेको छ । उसका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विदेश

भारतमा जहाज दुर्घटना

- कान्तिपुर संवाददाता
भारतको मुम्बईमा भएको विमान दुर्घटनामा खटिएका उद्धारकर्मी । तस्बिर : एपी

मुम्बई (एएफपी)– भारतको आर्थिक राजधानी मुम्बईमा बिहीबार भएको जहाज दुर्घटनामा ५ को मृत्यु भएको छ । मृत्यु हुनेमा जहाजमा रहेका ४ र एक पैदलयात्रु छन् ।


अधिकारीका अनुसार दुर्घटनामा जहाजका चालक, ३ यात्रु र जहाज खसेपछि लागेर बाटोमा हिँडिरहेका व्यक्तिको समेत ज्यान गएको हो । मुम्बईको घना बस्ती रहेको घटोपर क्षेत्रमा जहाज खसेलगत्तै आगलागी भएपछि केहिसमय आतंक मच्चिएको थियो ।


‘म आफ्नो मोटरसाइकलमा गइरहेका बेला अकस्मात् जहाज झरेको देखें,’ एक प्रत्यक्षदर्शी प्रथामेस लोखन्डेले भने, ‘म दौडँदै घटनास्थलतर्फ गएँ र अग्निनियन्त्रकलाई सहयोग गरी शवलाई अस्पताल लैजान सहयोग गरें ।’


भारतीय वायुसेवा मन्त्री सुरेश प्रभुले घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारले अनुसन्धान गर्ने उल्लेख गरेका छन् ।


भारतीय अधिकारीले उक्त जहाज उत्तर प्रदेशको राज्यका एक नागरिकको भएको जनाएका छन् । मुम्बई प्रहरीले जहाज दुर्घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । उनीहरूले दुर्घटनाको कारण हालसम्म पत्ता लाग्न नसकेको जनाएका छन् ।


दुर्घटनालगत्तै घटनास्थलमा पुगेका प्रहरी तथा अग्निनियन्त्रकले आगो नियन्त्रण गरेका थिए ।

विदेश

बाढीले २२ को मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

हनोइ (सिन्हवा)– भियतनामको उत्तरी भागमा पर्ने पहाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बाढीका कारण ९ जना बेपत्ता भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जनाएको छ । भियतनामका ३ प्रान्तमा केही देदिनदेखि आएको बर्षाका कारण बाढी तथा पहिरो गएको अधिकारीहरूले जनाएका छन् ।


एक सातायता भियतनाममा भारी अधिकारीहरूले बाढी पहिरोका कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको जनाएका छन् ।

विदेश

एसियाली खेलमा २कोरियाको संयुक्त टिम

छोटकरी
- कान्तिपुर संवाददाता

जकार्ता (एएफपी)– उत्तर र दक्षिण कोरियाले यसै वर्ष हुने एसियाली खेलकुद प्रतियोगितमा संयुक्त टोली बनाउने भएका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक इन्डोनेसियाले उक्त जानकारी दिएको हो । एसियाली खेल आगामी अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियाको राजधानी जकार्तामा हुँदै छ । खेलकुदका क्यानोइनिङ, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम बनाई भाग लिन लागेको जनाइएको छ । त्यसैगरी दुई देशले उद्घाटन र समापन समारोहमा पनि संयुक्त मार्चपास गर्ने जनाइएको छ । विगतका साढे ६ दशकदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका २
कोरियाबीच गत वर्ष भएको हिउँदे ओलम्पिकपछि सम्बन्ध सुधार भएको हो ।

विदेश

ट्रम्प–पुटिन वार्ता जुलाईमा

छोटकरी
- कान्तिपुर संवाददाता

मस्को (एएफपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी महिना शिखर बैठक हुने भएको छ । रूसी अधिकारीका बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार उनीहरूबीच जुलाई १६ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा हुने भएको हो । दुई नेताबीचको वार्ता लामो समयदेखि प्रतीक्षा गरिँदै आएको थियो । रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा दुई नेताबीचको शिखर वार्ता, मिति र स्थान ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लामिर पुटिन जुलाई १६ मा हेलसिन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले ‘ट्रम्प र पुटिन आगामी जुलाईको ११ र १२ तारिखमा हुने नेटो सम्मेलनपछि भेटवार्ता गर्न
सहमत भएको’ जनाएको छ ।


ह्वाइटहाउसका अनुसार बुधबार रूस पुगेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुटिनसँगको भेटका क्रममा वार्ताको मिति र स्थानबारे सहमति भएको हो ।

Page 19
कला र शैली

सालिकमा भेडीखर्के साइँला

- आश गुरुङ
ठाडोभाका गायक भेडीखर्के साइँलाको सालिक शिलान्यासका क्रममा नाचगान गर्दै कलाकार । तस्बिर : कान्तिपुर

लमजुङ– केहीअघि दिवंगत ठाडोभाका गायक भेडीखर्के साइँला (दीर्घराज अधिकारी) को सुन्दरबजार नगरपालिका ८, भोटेओडार बगैंचामा सालिक निर्माण थालिएको छ ।

नागरिकस्तरबाट ‘शिरोमणि’ उपाधि पाएका भेडीखर्केले ठाडोभाकामार्फत लोक कलासंस्कृतिको संरक्षणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै भेडीखर्के स्मारकस्थल निर्माण समितिले ३२ लाख ७३ हजार ५ सय ४५ रुपैयाँको लागत इस्टिमेट तयार पारेर काम अघि बढाएको हो ।


समितिका अध्यक्ष एवं भेडीखर्के साइँलाका छोरा गंगाप्रसादका अनुसार माया र सम्मान गर्नेसँग आर्थिक सहयोग जुटाएर सालिक निर्माण गरिनेछ । ‘हामीले सालिक निर्माण सुरुवातसँगै आर्थिक सहयोग अभियान सञ्चालन गरेका छौं । उहाँ र ठाडोभाकालाई माया गर्नेबाट आर्थिक संकलन गरी सालिक निर्माण गर्नेछांै,’ उनले भने ।


सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले भेडीखर्के सिंगो राष्ट्रकै गौरव भएको बताए । नेपाली लोक कलामा एउटा छुट्टै सांगीतिक विधाको पहिचान भेडीखर्केले गराएकाले सम्झना र सम्मानका लागि सबै जुट्न आवश्यक रहेको उनको भनाइ छ । रचनात्मक कार्यमा नगरपालिकाको सहयोग हुने उनले बताए । ‘ठाडोभाका हाम्रो मौलिक पहिचान बनेको छ । देशले गौरव गर्न लायक व्यक्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं,’ उनले भने । सालिक निर्माण समितिका उपाध्यक्ष वीरसिंह घलेका अनुसार सालिक निर्माणपछि उक्त ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ ।

कला र शैली

झमक सम्मानित

- कान्तिपुर संवाददाता

दमक (कास)– साहित्यकार झमक घिमिरे सम्मानित भएकी छन् । दमक पब्लिक
लाइब्रेरी र हिमालय बोर्डिङ स्कुल, दमकले बिहीबार घिमिरेलाई दमक सम्मान प्रदान
गरेका छन् ।


लाइब्रेरीले आफ्नो सातौं स्थापना दिवस अवसर पारेर दमकमा सम्मान गरेको हो । विशेष गरी युवा पुस्ताका लागि घिमिरेको योगदान प्रेरणादायी रहेकाले यस वर्षको दमक सम्मान उनलाई प्रदान गरेको लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताए । प्रमुख अतिथि प्रदेश १ का सांसद अर्जुन राईले नगद १५ हजार र ताम्रापत्र हस्तान्तरण गरेका थिए ।

 

कला र शैली

‘नि:सन्तानलाई उत्प्रेरणा’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– डा. उमा श्रीवास्तव ‘सन्तान सुख’ सहित आएकी छन् । नि:सन्तानहरूले सन्तान पाउँदाको सुख र दु:ख समेटिएको पुस्तकको राजधानीमा वरिष्ठ चिकित्सक एलबी थापाले लोकार्पण गरे । गीतकार डा. भोला रिजालले ‘नि:सन्तानबारे लेखनमा आफू पनि लामो समय लागिरहेको’ जनाउँदै श्रीवास्तवले बाजी मारेको बताए । डा. सानुमैया दलीले पनि पुस्तकको प्रशंसा गरिन् ।

कला र शैली

नदियाका कविता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अमेरिकामा बसोबास गर्दै आएकी कवि नदिया लिबाङ पहिलो कविता कृतिसहित आएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले उनको ‘नदिया लहर’ कविता संग्रह हालै लोकार्पण गर्‍यो । न्युयोर्कस्थित ज्याक्सन हाइटमा नेपाली महावाणिज्य दूत तथा कवि कृषु क्षत्री, अनेसासकी पूर्वअध्यक्ष गीता खत्री, राजेन्द्र श्रेष्ठ, विश्व थापालगायतले कृति सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । ज्योति पौडेल, पुनम काफ्ले, धन लामा, संगीता उप्रेती, अर्जुन दाहाल, शारदा क्षत्री, विकास विष्ट, ज्योतिकुमार श्रेष्ठले कृतिमाथि टिप्पणी गरेका थिए । गोर्खा बुक्सद्वारा प्रकाशित ‘नदिया लहर’ भित्र ५६ कविता छन् ।

Page 20
कला र शैली

वल्र्डकप ट्रोल

- कान्तिपुर संवाददाता

कान्तिपुर संवाददाता, काठमाडौं
हेऽऽ जापान टोकियो
ब्राजिल र जर्मनीले जित्छन्
भन्दै खोक्नु खोकियो
अहिले गुफाभित्र लुक्नुपर्दा सासै रोकियो...
वल्र्डकप हेर्ने र सामाजिक सञ्जालतिर पनि सक्रिय हुनेहरूलाई यो प्यारोडीबारे थाहै होला । रूसमा जारी फिफा विश्वकपलाई लिएर नेपालमा यस्ता गीत मात्र होइन, अनेक थरी अभिव्यक्ति चर्चित भइरहेका छन् ।


पेले र केपी ओलीको संवाददेखि प्रिंयका कार्कीको मन दुखाइ फेसबुक, टीटरतिर देख्न सकिन्छ । ‘नेपाल किन फिफा वल्र्डकपमा छैन ?’ ब्राजिलियन फुटबल सुपरस्टार पेलेको यो प्रश्नमा नेपालका प्रधानमन्त्री ओलीको जवाफ सटिक छ । उनी भन्छन्, ‘नेपालले झिनामसिना समारोहमा भाग लिने गर्‍या छैन ।’ प्रधानमन्त्रीको जवाफले गोर्खालीको सान बढाएको भन्दै सामाजिक सञ्जालमा लाइक्स बर्साइएको छ ।


नेपालका सेलेब्रिटीहरूमाझ वल्र्डकपको माहोल नदेखिनुपर्ने कारण छैन । तर, अमेरिका र यूएसएलाई फरक देश मान्ने अभिनेत्री प्रियंका कार्कीले भने विश्वकपलाई लिएर पुन: हाँसोलाग्दो अभिव्यक्ति दिएकी छन् । उनी भन्छिन्, ‘नेदरल्यान्डस् वल्र्डकपमा नछानिँदा त्यति दु:ख लागेन जति हल्यान्ड नछानिँदा लाग्यो ।’ एकै देशलाई दुई मान्ने यिनको कला देखेर सबैजसो जिल्ल परेका छन् ।


तपाईंले बुझिसक्नुभयो होला, यी सबै ट्रोल हुन् । विश्वकपसम्बन्धी यस्ता हँसिला रसिला किस्सा सामाजिक सञ्जालमा छाएका छन् । ट्रोल फुटबल नेपाल, ट्रोल फुटबलजस्ता फेसबुक समूह र अन्य प्रयोगकर्ताले हरेक दिनका म्याच, खेलाडी र समर्थकमाथि ट्रोल र मिम बनाएर दर्शक हँसाइरहेका छन् । प्राय: खेलाडी र समर्थकहरूको खिल्ली उडाएर बनाइने यस्ता सामग्री निकै सेयर हुन्छन् ।


आइसल्यान्डसँगको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पेनाल्टी मिस गरेपछि उनलाई ट्रोलरहरूले ‘मिस पेनाल्टी’ टाइटल दिएका थिए । पोर्चुगल भर्सेस इरानको खेलमा पर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि पेनाल्टी मिस गरे । त्यसयता मेसीले आफ्नो ताज क्रिस्टियानोलाई सुम्पँदै गरेको मिम बनाइएको छ । पहिलो खेलमा स्पेनविरुद्ध पेनाल्टीबाटै गोल गर्दा रोनाल्डोलाई त्यो बेला ‘पेनाल्डो’ टाइटल दिइएको थियो, अहिले उनी ट्रोलरमाझ ‘पेनाल्टी मिस्लान्डो’ बनेका छन् ।


नेपालीलाई पढाउने नाममा जापान लगेर राम्रो तलब दिई काम लगाएको नाताले जापानको समर्थन गरिन्छ भन्ने ट्रोलमा लभहाङ लिम्बूको प्रतिक्रिया रोचक थियो । उनले लेखेका छन्, ‘यिनीहरू त हाम्रै दाजुभाइ हुन्, आँखा हेर न । पूरा समर्थन छ ।’


रोनाल्डोले गोल्डेन बुटमा आफ्नो दाबी गरेपछि बेल्जियमका लुकाकुले ‘भो, धेरै हतार नगर न रोनाल्डो दाजु’ भन्दै गरेको मिम बनाइएको छ । त्यसमा इंग्ल्यान्डका हयारी केन लुकाकुलाई भन्छन्, ‘चुप लागेर बस् काले भाइ । तिमीहरूले जित्ने गोल्डेनबुट हैन गोल्डस्टार बुट मात्रै हो ।’


मैदानमा पटक पटक लडिरहने भएकाले नेयमारमाथि पनि बग्रेल्ती ट्रोल बनेका छन् । टीटरतिर त भिडियो नै बनाएर मजाक गरिएको छ । इजिप्टका मोहम्मद सलाह, बेल्जियमका इडन हाजार्ड, ब्राजिलका कौटिन्हो, जर्मनीका थोमस मुलरजस्ता सेलेब्रिटी फुटबलरहरू ट्रोलरको निसानामा परिरहेका छन् । जर्मनी र मेक्सिकोको खेलमा ‘टलक जंग भर्सेस टुल्के’ फिल्मबाट अभिनेता खगेन्द्र लामिछानेको तस्बिर लिएर ट्रोलरले मेक्सिकोका पक्षमा लेखेका छन्, ‘बाबुसा’बलाई नमस्ते नगरेपछि के हुँदो रहेछ थाहा पाइस् ?
मुन्छे चिन्ने अरेस् ।’

कला र शैली

आशावादी धीरज–साम्राज्ञी

- कान्तिपुर संवाददाता

काठमाडौं– फिल्म ‘ड्रिम्स’ बाट ब्रेक पाएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यसपछि ‘ए मेरो हजुर २’ मा डेब्यु एक्टर सलिनमान बानियाँसँग देखिइन् । पछि ‘तिमीसँग’ मा आकाश श्रेष्ठ र नाजिर हुसेनसँग देखा परिसकेकी साम्राज्ञी यसै साता रिलिज फिल्म ‘कायरा’ को ट्रेलरमा आर्यन सिग्देलसँग रोमान्टिक मुडमा देखिएकी छन् । बिहीबार पुन: उनलाई डेब्यु एक्टर धीरज मगरसँग फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को टिजरमा देखियो । उनले टिजर हेरेपछि खुसीले दंग परेको बताइन् ।


‘यस्तो एक्साइटेड सायद यसअघि कुनै फिल्ममा भएको थिइनँ,’ साम्राज्ञीले भनिन्, ‘मैले यस फिल्मको स्क्रिप्ट सुन्दैदेखि नै कहिले सुटिङमा जान पाइएला भन्ने भएको थियो ।’ फिल्म सुटिङमा गएको झन्डै डेढ वर्षको अवधिमा बल्ल टिजर आएको छ । साम्राज्ञीले ढिलो हुनुको जवाफ फिल्मले नै दिनेमा विश्वस्त देखिइन् । यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै गरेकी कोरियोग्राफर रेनेशा वान्तवा राईले केही बाधा, कठिनाइका कारण पर्खाइ लामो हुन गएको स्वीकार गर्दै आफ्नो निर्देशनबाट स्वयंले पनि अपेक्षा राखेको सुनाइन् । भनिन्, ‘जसरी कोरियोग्राफर भएर मैले केही परिवर्तन दिन सकें । निर्देशकका रूपमा पनि सानै भए पनि परिवर्तन ल्याउने कोसिस गरेको छु । जेहोस्, फिल्मले तपाईंलाई खुसी बनाउनेछ ।’ आईकोर फिल्मसकै ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफी थालेकी रेनेशाले दस वर्षपछि पुन: सोही ब्यानरबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । प्रज्ज्वलशमशेर राणा र प्रभुशमशेर राणाको संयुक्त निर्माण रहेको फिल्मको पटकथामा रेनेशाले अभिमन्यू दीक्षितसँग सहकार्य गरेकी हुन् । नायक धीरजले राम्रै ब्यानरबाट ब्रेक पाएकोमा खुसी व्यक्त गरे ।


असोज ५ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘इन्टु मिन्टु लन्डनमा’ मा सारुक ताम्राकार, विजय लामा सुनिसा बजगार्इं, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, रुबी राणा शाह, विवेक लिम्बूलगायतको अभिनय रहेको छ । शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी रहेको फिल्ममा सुजिल कर्माचार्य, हर्कुलश बस्नेत, वसन्त सापकोटा र स्वप्नसुमनको संगीत रहेको छ ।

कला र शैली

‘मायांक’ घोषणा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– फिल्म ‘मायांक’ को निर्माण घोषणा गरिएको छ । प्रेमकथामा बन्ने उक्त फिल्ममा प्रशान्त ताम्राकार, सुशील उप्रेती र ज्योत्सना योगी मुख्य कलाकारका रूपमा रहने बताइएको छ । अर्को मुख्य कलाकारका रूपमा रहने नायिकालाई भने निर्माण पक्षले गोप्य राख्न चाह्यो । उनको भूमिकाबारे समेत खुलासा गरिएन । कथाको मागअनुसार उक्त नायिकाको नामसमेत खुलाउन नमिलेको बताइयो ।


रोमी मानन्धरले डेब्यु निर्देशन गर्ने उक्त फिल्मका लागि डेढ वर्षदेखि कडा मिहिनेत गरेको नवनायक सुशीलले बताए । ‘ऐश्वर्य’ बाट चर्चामा आएका अभिनेता प्रशान्त ताम्राकारले पनि ‘मायांक’ अन्य फिल्म भन्दा पृथक् रहेको बताए । त्यसो त नायिका ज्योत्सनाले पनि आफूले खोजेको जस्तै भूमिका पाएको भन्दै फिल्मको तारिफ गरिन् । जितेन्द्र खतिवडाको निर्माण रहेको ‘मायांक’ भदौ पहिलो साताबाट छायांकनमा जाने बताइएको छ ।

 

 

कला र शैली

पूर्वप्रेममा फर्किए जस्टिन

- कान्तिपुर संवाददाता

क्यानेडियन गायक जस्टिन बिबर अहिले पुरानी प्रेमिकासँग नयाँ सम्बन्ध विस्तार गर्दै छन् । सेलेना गोमेजसँगको सम्बन्ध टुक्रिएपछि उनी पुन: हाली बाल्डविनतिर फर्किएका छन् । उनीहरू एकसाथ विभिन्न ठाउँ पुगिरहेका छन् । त्यहाँका तस्बिर र भिडियो पनि समाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ ।


भूपू मायालुमध्ये जस्टिनले अमेरिकी मोडल एवं टेलिभिजन प्रस्तोता हाली नै छान्नुको विशेष कारण रहेको बताइन्छ । यी दुई पार्टी लभर्स हुन् र चर्चमा गएर सेवा गर्न रुचाउँछन् । समान रुचि भएकाले पुन: एकचोटि सम्बन्ध गाँसेको हुनुपर्ने अनुमान गरिएको छ । हालसालै पनि उनीहरू मायमी र कर्कल्यान्डका चर्चमा एकसाथ पुगेका थिए ।


तातो पोखरीमा स्विमिङ खेलेको, चर्चमा प्रस्तुति दिएका भिडियो दुवैले इन्स्टाग्राम र फेसबुकमा सेयर गरेका छन् । दुईको हिमचिम बढिरहे पनि सम्बन्ध सुचारु भएको हो वा होइन भन्नेबारे चाहिँ आधिकारिक जानकारी मिलिसकेको छैन । त्यसमाथि जस्टिन आफ्ना प्रत्येक नयाँ गर्लफ्रेन्डलाई चर्च लग्दै आएका छन् । तसर्थ यो सम्बन्धलाई कुन रूपमा लिने भन्नेमा गसिप भइरहेको छ ।

 

कला र शैली

‘तीनवटै प्रज्ञा प्रतिष्ठान प्रभावशाली बनाउँछु’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्ने कि नगाभ्ने भन्ने विषय यति बेला बहसमा छ । सरकारले बजेट भाषणमार्फत गाभ्ने घोषणा गरेपछि प्राज्ञिकजगत् झस्केको थियो । केहीले गाभ्नुपर्ने तर्क अघि सार्दै छन् भने केहीले २०६२/६३ को जनआन्दोलनले निर्माण गरेको इतिहास मेटाउन नहुने दाबी गर्दै छन् । बालुवाटारस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ‘तीनवटै प्रज्ञा प्रतिष्ठानलाई अझ प्रभावशाली र सशक्त बनाएर लैजाने’ बताएका छन् । प्रतिष्ठानमै आयोजित भेटघाटमा मन्त्री अधिकारीले प्रदेशहरूमा पनि प्रतिष्ठानलाई कसरी संरचनागत गर्नेबारे पनि योजना बनाउनुपर्ने बताए ।


मन्त्री अधिकारीले प्रतिष्ठानको अवस्था र क्रियाकलापबारे जानकारीसमेत लिएका थिए ।

प्रतिष्ठान ऐनअन्तर्गत संस्कृति मन्त्री प्रतिष्ठानहरूको संरक्षक रहने व्यवस्था छ । प्रतिष्ठानका कुलपति सरुभक्तले मन्त्री अधिकारीलाई स्वागत गर्दै प्रतिष्ठानको प्रतीकचिह्न प्रदान गरे । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा अन्य प्रकाशन हस्तान्तरण गर्दै उनले प्रतिष्ठानको गतिविधि र अवस्थाबारे बोले । उपकुलपति शम्भुजित बाँस्कोटा, प्राज्ञ परिषद् सदस्य रमेशरञ्जन झा, माधव प्रधान, उदयचन्द्र श्रेष्ठ, उन्नति बोहरा ‘शिला’ ले आ–आफ्ना विभागले गरेका विभिन्न कार्यक्रम तथा परियोजनाबारे जानकारी दिए ।


मन्त्री अधिकारीले सीमित साधन र स्रोतबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत धेरै काम भएको भन्दै प्रतिष्ठानको लागि भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा प्राज्ञ खेम नेपालीले प्रतिष्ठानहरूको महत्त्वबारे बोल्दै गाभ्न नहुने तर्क अघि सारेका थिए ।

Page 21
हेल्लो शुक्रवार

नयाँ कमान्डर

अभिनय मात्र होइन, नाटक निर्देशनमा पनि युवतीको हस्तक्षेप दरिलो बन्दै छ । यसका प्रतिनिधि पात्र हुन्, आकांक्षा कार्की र नम्रता केसी ।
आफू दबिने वा चाहेको कुरा नाटकमा व्यक्त गर्न नसक्ने भन्ने नै हुन्न ।
- गोकर्ण गौतम

 

राजधानीको टेकुमा नयाँ नाटकघर खुलेको छ, कौसी थिएटर । संस्थापक हुन्, आकांक्षा कार्की । महिलाले आफ्नो एकल लगानीमा स्थापना गरेको नेपालको पहिलो नाटकघर हो यो । कौसीमा ‘दयालु रूख’ मञ्चन भइरहेको छ, जसको परिकल्पना तथा निर्देशन आकांक्षा आफैंले गरेकी हुन् ।
अनामनगरस्थित मण्डला थिएटरमा चाहिँ डान्स ड्रामा ‘राजेन्द्रलक्ष्मी’ चलिरहेको छ । नेपालकी पहिलो महिला शासनकर्ताका रूपमा चिनिएकी रानी राजेन्द्रलक्ष्मी देवी शाहको जीवन कथामा आधारित यस नाट्य प्रस्तुति परिकल्पना र निर्देशन नम्रता केसीले गरेकी हुन् । नाटकमा नम्रता पनि देखिन्छिन् ।


कुनै जमाना यस्तो पनि थियो, नाटकमा महिला चरित्र निर्वाह गर्ने कलाकार हुन्थेन । पुरुष कलाकारले नै सारी–चोलो, धोती–फरिया लगाएर महिलाको अभिनय गर्थे । निशा शर्मा, सरिता गिरीको पुस्ताले त्यो नियति तोडिदिए । कलाकार अभावमा महिलाको चरित्र पुरुषले निर्वाह नगरेको वर्षौं बित्यो तर महिलाहरू अभिनयमै सीमित भए । निर्देशनमा महिलाको उपस्थिति शून्यप्राय: थियो । पछिल्लो समय भने नाटक निर्देशनमा पनि महिला अघि बढेका छन् । यसैका प्रतिनिधि पात्र हुन्, आकांक्षा र नम्रता । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा लुनिभा तुलाधर निर्देशित ‘कोरा’ मञ्चन सकिएको दुई साता बितेको छैन । अभिनय र निर्देशनमा उत्तिकै सक्रिय आकांक्षा भन्छिन्, ‘निर्देशन कठिन काम हो । महिलाले गर्न सक्दैनन् कि भन्ने भ्रम थियो । विस्तारै तोड्न खोज्दै छौं । यसमा पुरुषको साथ उत्तिकै उल्लेखनीय छ ।’


‘दयालु रूख’ आकांक्षाको तेस्रो नाटक हो । यसअघि उनले ‘यौनीका कथाहरू’ र ‘लाइन’ निर्देशन गरेकी थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तीन वर्षयता लगातार मञ्चन भइरहेको ‘यौनीका कथाहरू’ मा त अभिनयसमेत गरेकी थिइन् । नाटकघर टिकाउन मुस्किल छ । उनलाई भेउ नभएको होइन तर नाटकघर खोल्नुको आफ्नै कथा/व्यथा र सपना छ उनीसँग ।


आकांक्षा मनोविज्ञानमा स्नातकोत्तर गरेर सन् २०१५ भारतबाट नेपाल फर्केकी थिइन् । स्नातकमा नाटक अध्ययन गरेकी उनको रंगमञ्च प्रेम पुरानै हो । ‘पार्ट टाइम’ भए पनि नाटक जारी राख्ने योजनामा थिइन् । त्यहीअन्तर्गत ‘यौनीका कथाहरू’ गरिन् । तर यतिले मात्र तिर्सना मेटिएन । एक निजी विद्यालयमा परामर्शदाताको जागिर थियो । त्यसैले नाट्यकर्मलाई समय छुटाउन मुस्किल पथ्र्यो । छटपटी मात्र हुने । एक वर्ष ‘फ्रस्टेसन’ मा बित्यो । फेरि विदेश पढ्न जाने ध्याउन्नमा लागिन् । आकांक्षा भन्छिन्, ‘आफ्ना लागि आफैंले अवसर सिर्जना गर्नुपर्छ जस्तो लागेर जागिर छोडें र रंगमञ्चमै होमिएँ ।’


उनले सुरुमा आफ्नै घरको माथिल्लो तलामा काम गर्ने ठाउँ बनाइन् । सामान जुटाउँदै जाँदा लगानी बढ्दै गयो । अनि लाग्न थालेछ, नाटकघर नै किन नबनाउने ? र, नाटकघर नै तयार भयो । ‘दयालु रूख’ को सुरुवाती शोबाट उत्साही आकांक्षाले सुनाइन्, ‘यो यात्रा अप्ठ्यारो छ नै तर सन्तुष्टि र सफलता मिल्नेमा ढुक्क छु ।’


सेल स्लिभरस्टेनको ‘द गिभिङ ट्री’ बाट नेपालीमा रूपान्तरण गरिएको नाटक हो, ‘दयालु रूख’ । यसलाई आकांक्षाले भारतमै हुँदा निर्देशन गरेर तारिफ पाएकी थिइन् । नेपाली भाषामा गर्ने लोभ यसपटक पूरा गरिन् । नाटकमा भीमनिधि तिवारी, माधव घिमिरे, कमलमणि दीक्षित र रमेश खकुरेलद्वारा लिखित पाँच छन्द कविता प्रयोग गरिएको छ । नेपाली नाटकमा कविताको यस्तो सुन्दर प्रयोग असाध्यै विरलै हुन्छ । खासमा रूख र एउटा केटाबीचको करिब ५० वर्षको भावनात्मक सम्बन्धको कथा हो यो ।


‘कलाकारसँग आमाको जस्तो व्यवहार गर्छु,’ निर्देशक आकांक्षाले भनिन्, ‘मिलेर काम गर्न मज्जा आउँछ । आफू दबिने वा चाहेको कुरा नाटकमा व्यक्त गर्न नसक्ने भन्ने नै हुन्न । दयालु रूखमा शारीरिक भावभंगी, कोरस र संगीत प्रयोग गरिएको छ । नाटकमा इंगी होपो कोइज सुनुवार, रोशनी स्याङ्बो, आयान खड्का, अर्चना पन्थीलगायतले अभिनय गरेका छन् ।
नम्रता पनि भारतमा कत्थक नृत्यमा स्नातकोत्तर गरेर फर्किएकी हुन् । सन् २०१३ मै उनले मण्डलामा नाजिर हुसेनसँग सहकार्य गरेर डान्स ड्रामा ‘सन लेक’ निर्देशन गरेकी थिइन् ।

त्यसबाट उत्साहित उनले अघिल्लो वर्ष सरुभक्तको खण्डकाव्य ‘ज्यानमायामाथि’ नृत्य नाटिका नै गरिन् । भन्छिन्, ‘डान्स ड्रामा हाम्रो मौलिक शैली हो । तर विदेशबाट अन्य थिएटर फर्म भित्रिएपछि छायामा परिरहेको छ ।’ उनी डान्स ड्रामालाई ब्युँताउने प्रयास गरिरहेकी छन् ।


स्कुल छँदै नम्रताले राजेन्द्रलक्ष्मीका बारेमा पढेकी थिइन् । तर त्यो पात्रप्रति चित्त बुझेको थिएन । किनभने बहादुर शाहलाई सशक्त र उनलाई निरीह जसरी चित्रण गरिएको छ इतिहासमा । कतिसम्म भने उनको जन्ममिति समेत भेटिन्न । परिवारका बारेमा पत्तो छैन । बाबुको नाममा समेत एकमत छैन । पाल्पा कहाँ जन्मिएको उल्लेख छैन । पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तार अभियानकी एक अभियन्ताका रूपमा मात्र नेपाली इतिहासमा छिटफुट अध्ययन गरिएको छ ।


‘तर पुरुषप्रधान समाजमा पुरुष दृष्टिकोणबाट हेर्दा उनको योगदान एकदमै धमिलो देखिन्छ । उनलाई एक हिसाबले बहिष्कार र बेवास्ता गरिएको छ,’ नम्रता भन्छिन्, ‘त्यसैले राजेन्द्रलक्ष्मीको जीवन संघर्षलाई स्वयम् उनकै र समकालीन महिलाहरूको दृष्टिकोणबाट हेर्ने प्रयास गरेकी छु ।’ दुई सय वर्ष अगाडि सती जान इन्कार गरेकाले पनि राजेन्द्रलक्ष्मीलाई उनी साहसी मान्छिन् ।


यो नाटकमा पुरुष पात्र पनि छन्, तर स्टेजमा महिला कलाकारलाई मात्र देखिन्छन् । कत्थक नाच्ने पुरुष नभेटाएकी उनी भन्छिन्, ‘पहिले केटाहरूले केटीको चरित्र गर्थे । अहिले हामी केटीहरू केटाको चरित्र गर्दैछौं ।’ ‘राजेन्द्रलक्ष्मी’ मा निश्मा घिमिरे, कुन्ती सिमाली, मनीषा बस्नेत, पवन पाठक, निशा कार्कीलगायतले अभिनय गरेका छन् ।
नेपालको पहिलो महिला नाटक निर्देशक महिलाका रूपमा सुशीला कोइराला परिचित छिन् । उनकै नाममा विराटनगरमा सुशीला कोइराला नाटकघर खोलिएको छ । बिर्सन नहुने अर्को नाम हो, शकुन्तला शर्मा । जर्मनमा जन्मिएकी सविन लेमनले नेपालमै बसेर ‘थ्री पेन्नी अपेरा’, ‘लिटिङ प्रिन्स’ लगायत दुई दर्जन नाटक निर्देशन गरिन् । नाटक निर्देशनमा महिला उपस्थिति अपेक्षाकृत बाक्लो भएन तर विस्तारै आउन, बढ्न थालेको छ । शिल्पी थिएटरमा आबद्ध लुनिभा भन्छिन्, ‘महिलाका बारेमा पुरुषको दृष्टिकोणबाट मात्र नाटक बन्यो । अब
हामीले महिलाको दृष्टिकोणबाट आफ्नो कथा भन्ने मात्र होइन, पुरुषका कथाहरू पनि भन्नुपर्छ ।’

[email protected]

 

नाटकमा महिला निर्देशक

 

Page 22
हेल्लो शुक्रवार

युथलिंकको पर्खाल

अमेरिकाबाट आएका ३६ जना युवाले गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा एक साता पर्खाल निर्माण, सिलाइ–बुनाइ, चित्र कोर्ने, कपाल काट्ने तथा सीप र ज्ञान साट्ने काम गरे । युथलिंकले सन् २०१४ यता बर्सेनि यस्ता समूह काठमाडौं ल्याउने गरेको छ ।
- सजना बराल

मेरिकाको वान्डिआगो क्याथोलिक, लोनपिक, वेस्ट, स्काइल्यान्ड, कर्नरक्यानोइनलगायत विभिन्न हाई स्कुलका २६ विद्यार्थी गएको साता काठमाडौंमा थिए । उनीहरू बिहान ९ देखि ४ बजेसम्म बौद्धको होटलबाट अलि परको गोकर्ण पुगेर पर्खाल लगाउने, सिलाइ–बुनाइ गर्ने, चित्र कोर्ने, कपाल काट्नेलगायत काम गर्थे ।


कतिले चाहिँ सुन्ताखानस्थित भीमदेव आधारभूत विद्यालयमा अङ्ग्रेजी भाषा पढाए । विद्यालय वरिपरि भाटाको बार लगाएर त्यसमा रंग भरे, भित्तामा नेपालको नक्सा र राष्ट्रिय झन्डा कोरे । व्यावसायिक तरकारी खेती र पशुपालन गर्दै आएका स्थानीयलाई मार्केटिङका नयाँ शैलीबारे जानकारी दिए । स्वास्थ्य, संस्कृति, निर्माण, व्यवसाय, मौखिक र शैक्षिक समूहमा विभाजित किशोरकिशोरीले यी विषयमा आफूसँग भएको सीप र जानकारी बाँडेका थिए ।


‘मलाई एक हप्ताको समय धेरै छोटो लागिरहेको छ,’ युटास्थित वान्डिआगो हाईस्कुलकी आलिया बासले भनिन्, ‘यति समयमा हामी केही काम टुंगो लगाउन सक्दैनौं । म सबैथोक मिलाएर मात्र फर्किन चाहन्छु । मैले सक्नेजति सबै सहयोग गर्ने इच्छा छ ।’ उनले गोकर्णकै संयुक्त अपांग एकता आवाज केन्द्रको आँगन वरिपरि पर्खाल लगाउने काम गरिन् । एक समय पशुपतिमा मागेर संकलित रकमबाट तिलबहादुर कार्कीद्वारा स्थापित यस केन्द्रमा उनी बालुवा मुछ्नेदेखि गारो ठड्याउन तम्सिइन् । त्यहाँका केटाकेटीसँग रमाइन्, हाँसिन्, खेलिन् । आफ्नो सहरमा झैं यहाँका बालबालिका उस्तै अबोध र प्रिय लागेको बताइन् ।


यो टोलीलाई अमेरिकाको युथलिंक नामक संस्थाले स्वयं सेवाका लागि नेपाल पठाएको रहेछ । संस्थाले सन् २०१४ देखि बर्सेनि यस्ता समूह काठमाडौं उतार्ने गरेको छ । हरेक पटक बेग्लाबेग्लै विद्यालयका छात्रछात्रा यहाँ आएर सामुदायिक हितको काम गरेर स्वदेश फर्किन्छन् । ‘हामी उता पनि यस्ता काम गर्छौं,’ युथलिंककी बोर्ड सदस्य एवं प्रशिक्षक स्टेफानी चार्डले भनिन्, ‘एकअर्कालाई सहयोग गर्ने बानी बसाल्न खोजेका हौं ।’


रोटरी क्लब अफ काठमाडौं मेट्रोसँग सहकार्य गर्दै स्टेफानीको सल्लाहमा यसपालि गोकर्णेश्वर नगरपालिकामा युथलिंकका स्वयंसेवकले एक हप्ता बिताए । टिम लिडरसहित ३६ जना अमेरिकी त्यहाँ खटिएका थिए । स्थानीयको आतिथ्यपन देखेर आफू नतमस्तक भएको स्टेफानीले बताइन् । ‘हामीलाई सजिलै स्वीकार गरेर घरभित्र पस्न दिनुभयो,’ उनले भनिन्, ‘यो सत्कारले हाम्रो मन छोयो ।’


भर्खर कक्षा १२ सकाएका लोनपिक हाईस्कुलका जोन फ्लानागेन जागिरबाट छुट्टी लिएर नेपाल आएका थिए । युटास्थित साल्ट लेक सिटीमा कार वासिङ (गाडी धुने) को काम गर्ने उनी पहिलो पटक अमेरिका छोडेर एसिया आएको बताउँदै थिए । ‘क्यानडा गएको थिएँ एकचोटि,’ उनले भने, ‘अमेरिकी महादेश छोडेको यो मेरो पहिलोपटक हो । नेपाल अनौठो लाग्यो ।’


जोनलाई काठमाडौं उनकै शब्दमा ‘व्यवस्थित तर अव्यवस्थित’ लागेछ । यहाँका किशोरकिशोरी आफूहरू जत्तिको स्वतन्त्र नभएको अनुभव गरेछन् । भने, ‘हामी कार लिएर घण्टौं टाढा एक्लै टुरमा निस्किन्छौं । यहाँ त्यस्तो देखिएन । नेपाल भन्नेबित्तिकै हिमालै हिमाल होला जस्तो लागेको थियो । तर, काठमाडौं फरक रहेछ । यसपालि स्वयं सेवातिर लागियो, अर्को पटक घुम्न आउँछु ।’


अमेरिकी टोलीसँग मिसिएर काम गरेकी नेपाली किशोरी, उरुषा थापालाई उनीहरू गम्भीर र मिहिनेती लागेछन् । तिनको लगन, उत्साह र आत्मविश्वास देखेर आफूलाई ऊर्जा मिलेको बताइन् । बेलायतको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी (एसीसीए) मा अध्ययनरत उनी पनि बिदा लिएरै स्वयंसेवाका लागि स्वदेश आएकी थिइन् । यसअघिका टोलीसँग पनि उनले सहकार्य गरेको बताइन् ।


वेन्डी स्विट्जरको नेतृत्वमा अमेरिकी युवा टोलीले यहाँ काम गरेको थियो । अपांगता भएका बालबालिकाको आश्रमका लागि केही गर्न पाउँदा खुसी लागेको वेन्डीले बताइन् । ‘उनीहरूको जिन्दगी कष्टकर रहेछ,’ उनले आँसु खसाल्दै भनिन्, ‘शौचालय सुविधा राम्रो छैन । स्कुल टाढा छ । यति स–साना नानीबाबुहरू बिहान–बेलुकै ३ किलोमिटर हिँडेर विद्यालय आउजाउ गर्दारहेछन् ।’ दु:खमा पनि अबोध हाँसो देख्दा आफूले मन थाम्न नसकेको उनले बताइन् ।


एक हप्ताको बसाइपछि युथलिंक टोली आइतबार सबैसँग बिदा माग्दै थियो । जानुअघि भीमदेव विद्यालयमा केहीबेर नाचगान गरे । छुट्टिने बेला कोही रुन थाले भने कोही बालबालिकालाई अँगालो हाल्दै भावुक बने । भीमदेव विद्यालयका पूर्वप्रधानाध्यापक बालकृष्ण भण्डारी टोलीको भ्रमणले विद्यालयमा उत्साह थपेकोमा प्रसन्न देखिन्थे । युथलिंकका कन्ट्री कोअर्डिनेटर नवीन पाँडेले यस्तै अर्को समूह जुलाईमा फेरि नेपाल आउने अवगत गराए ।


‘युवा वर्गलाई सामाजिक हितको काममा सहभागी गराउँदा तिनले मानवताको भाव बुझ्लान् र समाज सेवामा निरन्तरता देलान् भनेर यो कार्यक्रम गरिएको हो,’ पाँडेले भने, ‘यहाँ आउनुअघि उनीहरूलाई प्रशिक्षण र तालिम दिइन्छ ।’ युथलिंकले कम्बोडिया, ग्वाटेमाला, केन्या, माडागास्कार, नेपाल, पेरु, थाइल्यान्ड र फिजीमा यसरी सहयोग गर्दै आएको छ । यसमा सहभागी हुने युवायुवतीले तोकिएको ठाउँमा ८० घण्टा समाज सेवा गर्नुपर्छ । अहिलेसम्म आठ वटा टोलीले ६४० घण्टा नेपालमा बिताइसकेका छन् ।

[email protected]

हेल्लो शुक्रवार

एडेलको ‘कमब्याक’

गत वर्ष बेलायती गायिका एडेलको ‘भोकल कोर्ड्स’ मा समस्या भएपछि उनको संगीत करिअर नै समाप्त हुने हो कि भन्ने डर थियो । अहिले स्वस्थ भएकी उनी संगीतमा फर्किने तयारीमा छन् ।
- कान्तिपुर संवाददाता

गत वर्ष इंग्लिस गायिका तथा गीतकार एडेलका लागि सुखद रहेन भन्दा हुन्छ । ‘भोकल–कोर्ड्स’ मै क्षति पुगेपछि उनको संगीत करिअर नै समाप्त भएको डर पनि उत्पन्न भएको थियो । त्यसबीच धेरै हल्ला बाहिर आए, यस्तो हुन्छ, यस्तो हुनेछ भनेर । एडेलका प्रशंसकका लागि त यो निकै डरको स्थिति थियो, साँच्चै के एडेलले फेरि गाउन नसक्ने भएकै हो त ?


कम्तीमा तय थियो, यी ३० वर्षीया गायिका केही समयका लागि हराउने छिन् । फेरि यी गायिका परिन्, पारम्परिक सोचकी । उनको अनुहार र पहिरन त त्यसै पनि पारम्परिक देखिन्छ नै, त्यसमाथि आमा बनेपछि छोरालाई हुर्काउन दस वर्ष खर्चिने दाबी पनि गरेकी थिइन् । अर्को बच्चाको तयारी भइरहेको पनि खुलासा गरिन्, उनले । त्यति बेला उनको आशय थियो, घरपरिवार चलाउने सुखद तनाव र पीडा अगाडि किन गीत गाइरहने ? किन गीत लेखिरहने ?
तर मूल कुरा के नै थियो भने ‘भोकल–कोर्ड्स’ मै समस्या भएपछि त त्यसले एडेल जस्ता गायिकालाई समस्यामा पर्ने भयो नै । यसै कारण उनले वेम्बलीमा तय गरिएका दुई लाइभ शो पनि स्थगित गरिन् । त्यसैले फेरि उनका नयाँ गीत सुन्न नपाइने डर पनि थियो । कम्तीमा यो साता यी डरको बादल हटेका छन् । हो, एडेल ‘कमब्याक’ गर्दैछिन् । खेलमा मात्र कहाँ हो र, संगीत क्षेत्रमा पनि यस्तो पुनरागमन आम चर्चाको विषय हुने गर्छ ।


त्यसमाथि एडेल जो परिन् । खासमा सबैले गरेको अपेक्षाभन्दा पनि एडेल चाँडै स्वस्थ भएकी हुन् । उनको इच्छा शक्ति पनि बेजोड छ, त्यसैले त उनी फेरि आफूलाई सबैभन्दा मन गर्ने काम गीत लेख्ने र गाउने काममा फर्कन लागेकी हुन् । त्यसो त अहिलेसम्म हल्ला नै हो, गाइँगुइँ नै हो । तर लगभग पक्का पनि हो, एडेल नयाँ एल्बम तयार पार्दैछिन् । यसका लागि गीत लेख्न पनि सुरु गरिसकेकी छन् । अब त्यसमा संगीत भरेयता स्वर दिन एडेललाई अब कसले पो रोक्न सक्छ र ?


केही समय अगाडिसम्म उनी यूएसतिर थिइन् । त्यता खुबै मोजमस्ती गरिन्, पेज–थ्रीमा बाक्लो समाचार हुने गरेर आफ्नो जन्मदिन पनि मनाइन् । अब गहन काम गर्ने पालो, लन्डन फर्केयता उनका कलम फेरि सलबलाउन थालेका छन् । एडेलको संगीत जीवनको सबैभन्दा ठूलो विशेषता नै उनी अब्बल दर्जाकी गीतकार हुन् ।


पश्चिमेली संगीततिर कसैको सहयोगमा गीत लेख्ने चलन हुन्छ, एक प्रकारले जोडी मिलेर । तर एडेलको प्रसङ्गमा उनी प्राय: एक्लै गीत लेख्छिन् । अब पनि सायद यस्तै होला । हुन सक्छ, नयाँ एल्बम अबको क्रिसमससम्म तयार हुन्छ कि ? अबको एल्बम उनको चौथो ‘स्टुडियो एल्बम’ हुनेछ । सन् २०१५ यता उनले केही नयाँ गरेकी छैनन् पनि । त्यति बेला उनको एल्बमको नाम थियो, ‘ट्वान्टी फाइभ’ । त्यसैको त हो चर्चित गीत, ‘हेलो’ । यी दुईले त्यति बेला धेरै कीर्तिमान आफ्नो नाममा लेखाए ।


उनको यसअघिका एल्बम हुन्, ‘नाइन्टिन’ र ‘ट्वान्टी वान’ । एल्बमको नाम नै अंकमा राख्ने उनको बानी छ । अनि यो अंक पनि उनको उमेरसँग सम्बन्धित हुन्छ । अर्थात् उनले जुन उमेरमा एल्बमलाई लिएर काम गरेको थियो, त्यही नाम । एडेलले नै दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने यसको नाम हुन सक्छ, उनकै नाममा ‘एडेल’ । नाम जेसुकै होस्, त्यो उनको इच्छा । तर यो प्रतीक्षायोग्य भने निकै हुनेछ किनभने उनी विशेष छिन् ।
–हिमेश

Page 23
हेल्लो शुक्रवार

विश्वकप २०१८: रुसमा जे देखियो

- कान्तिपुर संवाददाता

 

वाह जापान र सेनेगली समर्थक
त्यसै पनि जापानीहरू धेरै सफा रहन रुचाउने खालका हुन्छन् । यसको राम्रो उदाहरण त विश्वकप २०१८ कै बेला देखियो । जापान र सेनेगलबीचको खेल तनावपूर्ण रह्यो, दुवै टिम आक्रामक रूपमा प्रस्तुत भए । तर खेल सकेपछि एकटेरिनबर्गमा जे देखियो, त्यो भने उदाहरणीय रह्यो ।
जापानी समर्थकहरूले रंगशालाको सफा गर्न सुरु गरे । त्यो देखेर पूरा विश्वबाट आएको पत्रकार दंग परे । जापानी समर्थक मात्र के कम र, सेनेगली समर्थकले पनि यही काम गरे । अझ एक सेनेगली समर्थकको भनाइ सबैलाई सुनाउन लायक रह्यो । ती समर्थक भन्थे, ‘सेनेगलमा खेल सकेपछि समर्थकले रंगशाला सफा गर्ने त संस्कृति नै हो ।’

 


रियलको प्रभाव
स्पेनी फुटबल भनेपछि कि त रियल म्याड्रिडको नाम आउँछ, होइन भने बार्सिलोनाको । स्पेनी फुटबलको विशेषता नै यही हो । यसपल्टको विश्वकपमा पनि यो प्रभाव कायमै रह्यो, अझ भनौं भने रियलको प्रभाव केही बढी ।
स्पेनका अहिलेका प्रशिक्षक फर्नान्डो हिएरो नै रियलका ‘लेजेन्डरी’ खेलाडी हुन् । उनले लामो समय रियलको कप्तानी पनि सम्हाले । स्पेनले समूह ‘बी’ जितेर अन्तिम १६ को यात्रा गर्दा यसको केही न केही श्रेय त उनलाई दिर्नै पर्छ । फेरि स्पेनी टिमका ६ प्रमुख खेलाडी रियलकै हुन् । अझ समग्रमा भन्दा रियलका १५ खेलाडीले विश्वकप खेलिरहेका छन्, जसमा प्रमुख त क्रिस्टियानो रोनाल्डो नै भए ।


स्वारेज र कभानीको कमाल
विश्वकप जित्ने आठ भाग्यमानी देशमा पर्छ, उरुग्वे । उरुग्वेसँग समृद्ध फुटबल इतिहास छ । यसपल्टको विश्वकप खेलिरहेको उरुग्वेले समूह ‘ए’ मा उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणका सबै तीन खेल जित्यो । टिमको यसखाले प्रदर्शनको प्रमुख कारण हो, अगाडि खेल्ने दुई खेलाडी लुइस स्वारेज र एडिनसन कभानी ।
अचेल स्वारेज बार्सिलोनाका लागि खेल्छन् भने कभानीले पीएसजीका लागि । उनीहरूको जोडीलाई विश्व फुटबलमै सबैभन्दा आक्रामक साझेदारी मानिन्छ । यसैक्रममा यी दुवै खेलाडीले लिग चरणमा गोल गरे । अनि यसै क्रममा के पनि कीर्तिमान बनेको छ भने उनीहरू विश्वकपका तीन संस्करणमा गोल गर्ने खेलाडी भएका छन् । यस्तो कीर्तिमान बनाउने उरुग्वेका यी दुई मात्र हुन् ।


कान्छो खेलाडीमा नजर
यसपल्टको विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन्, ड्यानिएल अरजानी । आक्रामक मिडफिल्डरको भूमिकामा मैदानमा उत्रने अरजानी भर्खर १९ वर्षका भए । उनलाई विश्वकप खेल्ने अस्ट्ेरलियाली टिममा समावेश गरिँदा कसैले आश्चर्य मानेनन् किनभने उनको खेल नै यसका लागि योग्य थियो ।
अहिले उनले आफ्नो टिमका लागि रूसमा खेलिसकेका पनि छन् । खासमा उनी इरानी मूलका हुन् । उनको जन्म नै इरानमा भएको थियो, पछि उनको परिवार अस्ट्ेरलिया सरेको थियो । यी खेलाडीको एउटा ठूलो विशेषता हो, पर्सियन भाषामा राम्रो दखलता । ए लिग क्लब मेलबर्न सिटीमा रहेका उनलाई अहिले म्यानचेस्टर सिटीसहित युभेन्ट्स, बायर लेभरकुजन, स्लाभिया प्राग, अल्कमर, पीएसभीले अनुबन्ध गर्न चाहेका छन् ।

 

भाग्यमानी केन कि बेइरान ?
एउटा तथ्य निश्चित भएको छ, पेनाल्टीमा गोल गर्ने अवसरबाट लियोनल मेसी मात्र चुक्ने होइन, क्रिस्टियानो रोनाल्डो पनि हुन् । रोनाल्डो इरानविरुद्धको खेलमा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहे । उनको प्रहारलाई इरानी गोलरक्षक अलि बेइरानभान्दाले मीठो ढंगले जोगाए । त्यसैले कम्तीमा बार्सिलोना र अर्जेन्टिना समर्थकले भन्न थालेका छन्, यी गोलरक्षक भाग्यमानी छन् है ।
तर यसपल्टको विश्वकपमा सर्वाधिक भाग्यमानी त इंग्लिस कप्तान ह्यारी केन हुन् । उनले कोस्टारिकाविरुद्ध ह्याट्रिक नै गरे । तर यो ह्याट्रिकको तेस्रो गोल उनको खुट्टामा डिफ्लेक्ट भएर मात्र सम्भव भएको थियो । यसमा उनको कुनै योगदान नै थिएन, गोलको श्रेय उनलाई गयो । भाग्यले खेलाडीलाई पछ्यायो भने यस्तै हुन्छ ।

Page 24
हेल्लो शुक्रवार

अब फेसबुक पनि बूढो !

अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चको भर्खरै प्रकाशित एक रिपोर्टले भन्छ– अहिले १३ देखि १७ वर्ष उमेर समूहका ठूला अमेरिकी प्रयोगकर्ताको फेसबुक एकाउन्ट त छ तर उनीहरु यसको प्रयोग विरलै गर्छन् । उनीहरुको रोजाइमा अरु नै छन् । यो सन्दर्भ नेपालीसँग पनि मिल्छ कि ?
- हेलो शुक्रबार

सन् २०१५ मा १३ देखि १७ वर्ष उमेर समूहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता फेसबुक नियमित प्रयोग गर्थे । सन् २०१८ मा भने फेसबुकलाई जित्दै युट्युब, इन्स्टाग्राम नयाँ पुस्तामाझ लोकप्रिय बनेका छन् ।


अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चले भर्खरै सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार अमेरिकी नयाँ पुस्तामाझ फेसबुकको साटो अन्य सोसल मिडिया लोकप्रिय बनेका छन् । १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताहरूले फेसबुक एकाउन्ट खोलेका भए पनि उनीहरू नियमित रूपमा भने युट्युब, इन्स्टाग्राम र स्न्यापच्याट प्रयोग गर्न रुचाउँछन् ।
अध्ययन प्रतिवेदनअनुसार टिनएजरहरू आफ्नो स्मार्टफोनमा सबैभन्दा बढी युट्युब प्रयोग गर्न रुचाउँछन् । उनीहरूलाई फोटो सेयरिङ साइट इन्स्टाग्राम सबैभन्दा धेरै मन पर्छ र स्न्यापच्याट पनि उनीहरूले खुबै प्रयोग गर्छन् । प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले इन्स्टाग्राम, ६९ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने बताएका थिए ।


तीन वर्षअघि पिउ रिसर्च सेन्टरले नै गरेको यस्तै खालको अनुसन्धानको परिणाम भने फरक थियो । उक्त अध्ययनमा १३ देखि १७ वर्ष उमेर समूहका धेरै स्मार्टफोन प्रयोगकर्ताले सबैभन्दा बढी फेसबुक प्रयोग गर्थे । त्यो बेला यो समूहका फेसबुक प्रयोगकर्ता ७१ प्रतिशत थिए । अहिलेको अध्ययनअनुसार भने यो प्रतिशत ५१ मा झरेको छ ।


तीन वर्षअघि यो उमेर समूहका फेसबुक पछि सबैभन्दा लोकप्रिय इन्स्टाग्राम र स्न्यापच्याट थियो । यिनका प्रयोगकर्ता क्रमश: ५२ र ४१ प्रतिशत थिए । अहिले भने दुवैका प्रयोगकर्ता बढेर फेसबुकलाई उछिनेका छन् । प्रतिवेदनअनुसार यसका प्रयोगकर्ता घटेका मात्रै होइन, नयाँ पुस्ताका प्रयोगकर्ताले अन्य एपका लागि जति समय दिन्छन् त्यति समय फेसबुकलाई दिँदैनन् ।


अहिले पनि संसारमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया फेसबुक नै हो तर पिउ रिसर्चले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनले भने फेसबुकले नयाँ पुस्ताका उल्लेख्य प्रयोगकर्ता गुमाउँदै गएको संकेत गर्छ । यो अनुसन्धान अमेरिकी प्रयोगकर्तामाझ मात्रै केन्द्रित रहेको भए पनि यसले सम्भवत: सोसल मिडियाप्रति संसारभरका प्रयोगकर्ताको प्रतिनिधित्व गर्छ ।


नयाँ पुस्ताले कम फेसबुक चलाउनुमा एक मात्रै कारण नभएर विभिन्न हुन सक्ने विश्लेषकहरूको अनुमान छ । जस्तो: फेसबुकमा आफ्ना सबै आफन्तहरू जोडिएका हुनाले यसमा आप््mना कुरा राख्न टिनएजरहरूलाई मन नलाग्नु, अन्य सोसल मिडिया साइटका फिचरले नयाँ प्रयोगकर्तालाई आकर्षित गर्नु ।


हुन पनि फेसबुकमा आउने विज्ञापन, मन नपर्ने मानिसको स्ट्याटस, फोटो र भिडियोको ओइरोले प्रयोगकर्तालाई दिक्क बनाउन पनि सक्छ । झन् यसमा आफूले कुनै बेला लाइक गरे पनि याद नभएका पेजबाट आउने अपडेट, समाचारका लिंकले पनि प्रयोगकर्तालाई वाक्क बनाइरहेको छ ।


तर, सबै प्रयोगकर्ताहरू फेसबुक छाडेर गइहालेका भने छैनन् बरु कम उमेरका प्रयोगकर्ताले फेसबुक कम चलाए पनि अन्य उमेर समूहका लागि भने फेसबुक नै अहिले सबैभन्दा चल्तीको सोसल मिडिया हो । तर, नयाँ पुस्ताले फेसबुकप्रति देखाएको कम चासो भने कम्पनीको भविष्यका लागि चिन्ताको विषय हुन सक्छ ।


अमेरिकाकै कुरा गर्ने हो भने सन् २०१८ को जनवरीसम्मको तथ्यांकअनुसार १३ देखि १७ वर्ष उमेर समूहका ९५ प्रतिशतसँग स्मार्टफोन छ । स्मार्टफोनमा अभ्यस्त यो पुस्ताको फेसबुकप्रतिको वितृष्णाले आगामी पुस्ताको सोसल मिडियाको रुचि बदलिएको संकेत गर्छ ।


तर अहिले पनि २ अर्ब २० करोड प्रयोगकर्तासहित फेसबुक विश्वकै नम्बर एक सोसल मिडिया कम्पनी हो । मार्चसम्मको तथ्यांक हेर्ने हो भने स्न्यापच्याटका प्रयोगकर्ता करिब ११ करोड हाराहारीमा मात्रै छन् । ट्वीटर प्रयोगकर्ता ३३ करोड बढी छन् । यस्ता सोसल मिडिया कम्पनीले फेसबुकलाई चुनौती दिन प्रयोगकर्ताको संख्याको आधारमा भने धेरै गर्न बाँकी छ ।

हेल्लो शुक्रवार

गुगल अर्थमा दूरी मापक

हेलो टेक
- कान्तिपुर संवाददाता

बानेश्वरदेखि बौद्ध कति किलोमिटर छ ? स्वयम्भूदेखि रत्नपार्क कति टाढा पर्ला ? प्रयोगकर्ताको यस्तै खालको जिज्ञासा मेटाउने गरी गुगल अर्थले नयाँ फिचर सुरु गरेको छ । दूरी नाप्ने यो सुविधा अहिले गुगल अर्थको क्रोम र एन्ड्रोइड भर्सनमा मात्रै उपलब्ध छ ।


यसमा प्रयोगकर्ताले डिस्ट्यान्स मेजर अप्सनमा छानेर कुन ठाउँदेखि कुन ठाउँसम्मको दूरी जान्नुपर्ने हो छान्न सक्छन् । यसमा एक ठाउँदेखि अर्को एक ठाउँसम्मको दूरी मात्रै होइनन् कि प्रयोगकर्ताले विभिन्न ठाउँको दूरी एकै पटक नाप्न पनि सक्छन् । एउटा पार्क वा चोकको गोलाइ, लम्बाइ, एउटा बस्तीको क्षेत्रफलसमेत यसमा नाप्न सकिन्छ ।

हेल्लो शुक्रवार

गुगल क्रोममा अफलाइन फिचर

हेलो टेक
- कान्तिपुर संवाददाता

गुगल क्रोमले नयाँ फिचर सुरु गरेको छ जसले प्रयोगकर्ताको मोबाइल वाईफाईमा जोडिएका बेला उनीहरूलाई मन पर्न सक्ने खालका आर्टिकलहरू डाउनलोड गरेर राखिदिन्छ । यो फिचरले प्रयोगकर्तालाई अफलाइन हुँदा पनि मोबाइलमा विभिन्न आर्टिकल पढ्ने सुविधा दिन्छ । तत्काललाई यो फिचर एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।


ब्राउजरमा प्रयोगकर्ताको क्रियाकलाप र लोकेसनका आधारमा यस्ता आर्टिकल निर्धारण गरिन्छन् । तर, क्रोममा सेभ भएर बसेको सबै आर्टिकल प्रयोगकर्तालाई मनपर्ने खालका हुन्छन् भन्ने छैन । यो फिचर महँगो डाटा चलाउने प्रयोगकर्ताका लागि उपयोगी हुनेछ ।
मोबाइलमा रहेको क्रोम ब्राउजरको डाउनलोड अप्सनमा गएर त्यहाँ सेभ भएका आर्टिकलहरू हेर्न सकिन्छ ।

हेल्लो शुक्रवार

इन्स्टाग्राममा आईजीटीभी

हेलो टेक
- कान्तिपुर संवाददाता

इन्स्टाग्रामले यो साता नयाँ फिचर सुरु गरेको छ । प्रयोगकर्ताका लागि लामो भिडियो राख्न र हेर्न मिल्ने सुविधालाई उसले आईजीटीभी नाम दिएको छ । इन्स्टाग्राममा लोकप्रिय रहेको छोटा–छोटा भिडियोभन्दा फरक यसमा लामा भिडियोहरू हेर्न सकिन्छ । इन्स्टाग्राम एपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर भेट्न सक्छन् ।


यसले हरेक प्रयोगकर्तालाई आफ्ना च्यानल बनाउने र लामो भिडियो अपलोड गर्ने सुविधा दिन्छ । साथै, अरूले अपलोड गरेका लामा भिडियो हेर्न पनि सकिन्छ । यसमा भर्टिकल भिडियो मात्रै अपलोड गर्न मिल्छ ।


मोबाइलमा लामो भिडियो हेर्न सजिलो होस् भन्नका लागि यसो गरिएको इन्स्टाग्रामले जनाएको छ । प्रयोगकर्ताले च्यानल बनाउन मिल्ने, अरूले च्यानल बनाएर राखेको भिडियो हेर्न मिल्ने भएकाले भविष्यमा यसले लोकप्रिय भिडियो सेयरिङ साइट इन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्ने विश्लेषकहरूको अनुमान छ ।